Wednesday, August 25, 2010

गौरा पर्ब : सुदूर पश्चिमको सांस्कृतिक सम्पदा

बिबिध संस्कृतिले सजिएको यो देशको पश्चिमी सिमान्त पाटो भाद्र महिनामा गौरा पर्बको रमाइलोमा रंगिएको हुन्छ । पर पश्चिमेहरु अचेल काठमाण्डौको खुल्ला मन्चमा समेत गौरा मनाउन थालेका छन । यसै गरि राजधानीबाट टाढा रहेका पश्चिमी पहाडका गाऊ गर्खामा सुनिने गौराका गीतहरुको रन्को क्रमस: देश भरि पुग्दैछ । सुदुरका शैल शिखरहरुलाइ नमन गर्दै सम्पुर्ण आफन्तहरुलाइ शुभकामना दिन गौरी पार्बति यहि अवसरमा हाम्रा गाऊँँ घरमा आउने गर्छिन भन्ने लोक बिश्वास छ ।

गौरा सुदूरपश्चिमाञ्चलको धार्मिक एवं साँस्कृतिक पर्व हो । यो पर्वको पहिलो दिन बिरुडा पंचमीमा गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडा नै अक्षता र प्रसादका रूपमा प्रयोग हुन्छ । बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रति-मूर्ति बनाई गौराघरमा भित्र्याउँछन् । बिबिध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्र्याइ सकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा हुन्छ । यस पछि विसर्जन नगरिएसम्म गौराघर नजिकको चौरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक- आस्था र आपसी-सद्भाव बढाउन मद्दत पु-याउने मात्र नभई यस पर्बमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने तथा ईष्ट-कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

निख्रिदो झरिसंगै पन्चान्न ( पाँच अन्न )को बिरुडा उमारेर गौराको सांस्कृतिक यात्रा शुरु हुन्छ । भाद्र शुक्ल अष्टमी भन्दा अघि नै अगस्त उदय भएकोमा बाहेक सामान्यतया भाद्र शुक्ल पक्षमा यो चाड पर्दछ । गौरा एकादसि ( पुत्रदा एकादसि ) बाट नै यो पर्बका अनुष्ठान शुरु हुने भए पनि बिरुडा पञ्चमीदेखी भने प्रत्येक घर आगनमा गौराको रमझम आइसकेको हुन्छ ।

दसैको जमरा जत्तिकै गौराको बिरुडालाइ पनि सौभाग्यसुचक मानिन्छ । कैलाशपतिकी अर्धांगिनि एबम् हिमालयकी पुत्री पार्बती यो गौरा पर्बको अबसरमा माइत आउछिन भन्ने बलियो जन बीश्वास छ । वास्तवमा हाम्रो देश सीता र पार्बतिको माइति देश पनि हो । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुन ले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरू मारिदिए पछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछि सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा यो पर्व मनाउन थालिएको भन्ने भनाइ समेत छ ।

यो पर्बका नालिबेलिबारे कैयौ कथा किम्बदन्ति छन । यस्ता किम्बदन्ति प्रकारान्तरले हाम्रो इतिहास र संस्कृतिको अंग बनिसकेका हुन्छन । यस्ता गणितहीन कुरालाई शुष्क तार्किकताबाट बुझ्न सकिदैन । फगत कथा मात्रै मान्दा यस भित्रको लोकतत्व मर्दछ र हामी बेरसिला बन्न सक्दछौ ।

यस्ता पर्ब बिशेषका अनुष्टान भित्र स्थानगत र जातिगत भेद देखिए पनि यसमा निहित लोक कल्याणकारी भाबना एकनासकै हुन्छ । यो स्थानियता भित्र सार्बभौमिकता समेत लुकेको हुन्छ । मुलत: गौरा महिलाहरूले शिव-पार्वतीको सम्झनामा गर्ने व्रत एवं पर्व हो । समय गतिका साथसाथै गौरोत्सवमा पनि परिवर्तन आएकोछ । तर गीत, नृत्य, अतीत-स्मृति तथा लोकमानसभित्रको अज्ञात, अलिखित, काव्यको सौन्दर्य यो उत्सब भरि छचल्किएको टडकारै देख्न सकिन्छ । गौरादेबीको लिला क्षेत्र निश्चित गाऊ गर्खाको सिमामा मात्र आबद्ध छैन ।

फाग (उत्सब -पर्बमा गाइने मंगल गीत )मा गौराले आफनो परिचय स्वयम यसरि दिन्छिन ।

-कालि मेघ बाबा मेरा धरति हुन माई,

चन्द्र सुर्ज मेरा छन पिठि पिठ्या भाई ।

(अर्थात कालो मेघ मेरा पिता हुन, धरति मेरि माता हुन । चन्द्र सुर्य मेरो पिठ्युका भाइबहिनी हुन ।)

गौराको मुर्ति डालोमा राखेर गौरालाई गाऊँमा ल्याउने दिन स्थानिय चेलिहरुद्वारा गाइने गीतको अर्को बोल यस प्रकार छ ।

काँ रे ऊब्जिन लोली गमरा,

धर्ति लोक उब्जिन, मन्धालोक पुजिन। ----आदि आदि ।

यस चाडमा बिबाहित महिलाहरु नया दुब्धागो (दुबो सहित सात ग्रन्थी रहने डोरी ) फेर्दछन । रातो पहेलो शुद्ध धागोबाट बनेको यो पबित्र डोरि बिबाहित महिलाकोलागि पुरुषले लगाउने जनै जस्तै हो ।

यसै पर्बमा आदरणिय मान्यजनबाट बिरुडा सहित आशिर्बचन थापिन्छ । चेलिबेटी माइत आऊछन, केटाकेटी नया लुगा फेर्छन । ऋण सापटि मात-बन्धकि लिने दिने र नया काम शुरु गर्ने गरिन्छ । यस दिन जुन काम शुरू गरे पनि साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यो श्रीपञ्चमी जत्तिकै शुभ दिन हो ।

गौराकै अबसरमा सांस्कृतिक गायन र बादनका अनन्त श्रृखलाहरु छन । यि गायनहरुमा पट्यारलाग्दो शास्त्रियता छैन । यिनमा अत्यन्त स्वाभाबिक र नैसर्गिक प्रबाह छ । नृत्य सम्बन्धमा सपष्ट बिधान नदेखिए पनि समुह गायनलाइ खेल खेल्ने भनिन्छ । बृताकार अर्धबृताकार घेरामा दुइ समुह बनाइ खेल खेलिन्छ ।

गायनका बिषयबस्तुमा अत्यन्तै ब्यापकता छ । दोहरी गित वा डेउडा ( देव-दा अर्थात देवतामा समर्पित या देव-राग अर्थात देवताको संगित ) गीतमा मात्रै यो सिमित छैन । शास्त्रियतामा आधारित लोक गीत र गीति कथाहरु, धार्मिक र ऐतिहासिक गीत गाथाहरु, परिसम्बादात्मक दोहरि गीतहरु प्रमुख रुपले गाइन्छन । गिदारा (आशु लोक-कबी )हरुले दोहरि गीतको माध्यमबाट तत्काल जस्ताको तस्तै चित्रण गरी यस पर्बलाई अझ जिबन्त बनाई राखेका हुन्छन ।

गौरोत्सबको गायन र नृत्य बिधानमा खास बिशिष्टता छन । एउटा कण्ठ वा कण्ठ समुहबाट अर्को कण्ठ वा कण्ठ समुहमा गायन बिस्तारको क्रम निरन्तर चलिरहदा पनि स्वर र आबेगको परस्पर सम्बन्ध बनी रहन्छ । संगितका समस्त बन्धनहरु स्वाभाबिक मनोबेग अनुकुल खोल्न र बाँध्न सकिने हुन्छन । लयपुर्ण पदयोजनाको निम्ति कुनै कुनै गायनमा भइरहने लालित्यपुर्ण शब्दको आबृति सार्है कर्णप्रिय लाग्दछ ।

नृत्य बिधान भने गितको भाव अनुसार अलग अलग हुने गर्दछ । मन्द मन्थर गतिमा खुट्टाको ताल मिलाउदै पुन: पुन: पहिलो गतिमा फर्कनुलाइ ठाडो खेल भनिन्छ । प्राय: अठार बर्णको प्रयोग हुने ठाडो खेल भन्दा त्वरित गतिको खेललाइ ढुस्को भनिन्छ । कटु बार्तालाप वा बिरतापुर्ण प्रसंगमा ‘ इन्द्र बज्रा” छन्द संग साम्यता राख्ने एघार बर्णको गायन संगै धुमारी खेलिन्छ । सर्बाधिक गतिपुर्ण नृत्यलाइ चाली भनिन्छ ।

पौराणिक आख्यानहरुले स्थानिय रुप लिएर यहाका धार्मिक लोक गाथा बनेकाछन । लोक कबिहरु दुरुह शास्त्रीयतामा सरल स्थानियता भर्दछन । ऊदाहरणार्थ सीता रानी अयोध्याको राजमहलमा मात्र बस्दिनन, यहाका हरिया खर फागलाहरुमा घास काटन पनि गएकि हुन्छिन । यथा,

सीता रानि घास काट्ली, हरिया फगला ।

स्थानिय बीर (पाईक )हरुका गाथा र लोक जिबनले बेहोरेका आपत बिपतका घटना समेत गायनका बिषय बस्तु हुन सक्दछन । स्थानिय डोटेलि फौजले हाल भारतको चम्पावतमा पर्ने किल्लामा आक्रमण गर्दाको बर्णन यसरी गरिएको छ ।

चम्पा रे वति दर रे वार बासली—घुगुत,---कठै बासळि घुगुत ।

चम्पा रे वति घेरी रे हाळि फूलकि जुगुत---कठै फूलकि जुगुत । ।

(चम्पावतीको दरबारमा अपसगुन बोल्ने चरा-घुगुत बास्न थाल्यो । चम्पावतीको दरबार फुल जस्तै घेरामा परेको छ । )

बिरुडालाइ शिरमा राखि दिइने आशिर्बचन पनि सुनि हालौ ।

होइ रयेइ,पलुइ रयेइ, गुबा जसो फलेइ, दुबा जसो फैलि रयेइ ।

पन्युकि चन्नरमा जसो,सरकका तारा जसो होइ रयेइ।

हिमान्जल हिउ छन्जा ,गङ्ङाठाँट पानी छन्जा,

मट्टिखण्ण माटो छन्ज्या बाँची रयेइ ।

केलाकि थुमडि जसो रोकिइ रयेइ,

पोडाइनका झाल जसो झालताल भएइ ।

सर्ग जति उच्चो धर्ति जसो बिथरो भएइ ।

सात बैनी भगबती चारधाम केदार फलि बसौन ।

देबी देवता फलि बसौन, गौराको बिरुडा फलि रहोस----------आदि आदि।

गोरा बिसर्जनको तिथिमिती भने स्थानिय चलन अनुसार तोकिन्छ । बिसर्जनको बेलाका अनुष्ठान छोरि बिदाइ गरेझै भावुकताका साथ पुरा गरिन्छन् ।

यस प्रकार गौरा महापर्बका बिशेषताहरुको लामो बर्णन एकै खेपमा गरि नभ्याउने हुन्छ । लोकतन्त्र संगै लोकसंस्कृति, लोककला, लोककथा,लोकगाथा, लोकगित,लोकपाल,लोकोदय, लोकानुराग, र लोकाचार जस्ता शब्दहरु ब्यापक रुपमा प्रचलनमा आएकाछन । वास्तबमा गौरा लोक-पर्ब हो, लोक संस्कृति हो र लोकाचार पनि हो ।

बस्तुत: “ लोक “ शब्द संस्कृत धातु “लोक्” बाट आएको हो । यसको अर्थ हेर्नु या प्रत्यक्ष ज्ञान प्राप्त गर्नु हो । आँखा खोल्नासाथ सर्ब साधारणको दुनिया देखिन्छ । त्यहि नै लोक हो । पृथ्बीमा मनुष्यको समुहलाइ मात्र लोक भनिन्छ । भाषा बैज्ञानिकका दृष्टिमा यो शब्दले अंग्रेजीको Look र संस्कृतको लोचन शब्द संग पनि अर्थ-साम्यता राख्दछ । संसारले लोक शब्दलाइ स्थुल अर्थमा लिए पनि चिन्तक बिचारकहरुले गरेको परिकल्पनाले तीन लोकको सृजना गरेकोछ । धर्म ग्रन्थहरुमा त अझ चौध लोकको कुरा पनि आउछ । यो चौध लोकमा सात लोक पृथ्बि भन्दा माथि ( भू, भुबुर् ,स्वर, महर्,जन, तप र ब्रह्मलोक ) र सात पृथ्बी भन्दा तल ( अतल, बितल, सतल, रसातल , तलातल, महातल र पाताल ) छन् भन्ने मानिएकोछ ।

जहाँ सम्म संस्कृतिको कुरा छ,यो परिबर्तनशील हुन्छ । यसलाइ समयसंग जोडनु ठिक हुदैन, किनकि संस्कृति संगै परम्पराको स्वत: संस्मरण हुन्छ । लोकमा श्रम संस्कृतिको प्रधानता हुन्छ । प्रत्यक्ष सम्पर्कमा आउने श्रमको बिबशता, दैनिन्दिनिको कार्य प्रणालि र कलाको रञ्जकता नै लोक संस्कृतिका अंग हुन । यस्तैमा उनिएका बिशिष्ट अबसरहरु लोकपर्ब भए, शैलिलाइ लोकाचार भनियो ।

बिरुडा भिजाएर पुजा आजा गरिने,गौरी-महेश्वर आगमनको दिन मानिने, महिलाहरुले दुबधागो लगाउने, लोक देवताहरुको पुजापाठ गरिने र महिलाहरुको बिशेष सहभागिता रहने यो पर्बका आफनै बिशेषता हुन । यसबाहेक लोक गीत, लोकगाथाको गायन- बादन-नर्तन परम्परालाइ यसले जिबित राखेकोछ । गौरा पर्ब पुर्खाहरु प्रति सम्मान देखाउने सामाजिक सांस्कृतिक सम्मिलनको अबसर पनि हो । यसलाइ मनोरञ्जन र भेटघाटको बिशेष अबसर पनि मान्न सकिन्छ । बैभब र स्वांगको प्रदर्सन किमार्थमा पनि यो पर्बको ऊद्देश्य कहिले रहेन । कुलाचार र क्षेत्राचारमा केहि सामान्य अनुष्ठानहरु फरक पर्न गए पनि यो र यस्ता पर्बहरुको लोक-तत्व सामाजिक सद्भाव कायम राखनु नै हो । यो लोकपर्बले हामी सबैलाई यहि सद्भाव प्रदान गरोस् । गौरा पर्बको हार्दिक मङ्गलमय शुुभकामना !!!

Thursday, August 12, 2010

ओल्के संक्रान्ति ; सम्मान र सद्भावको पर्व

डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित ब्यक्तिलाइ दिइने केहि बस्तु वा उपहारलाइ जनाउछ । यस्तो सम्मानोपहार दिने " बिशेष दिन" नै ओल्के संक्रान्तिका नामले सुदुर पश्चिममा धुुमधामसंग मनाइन्छ । यो पर्ब सिंह संक्रान्ति अर्थात भदौ १ गते पर्दछ।

ठुलालाइ सम्मान र सानालाइ माया गर्नु हाम्रा पर्बहरुका त मुख्य बिशेषता नै हुन । यो सबै खाले समाजमा पाइन्छ । त्यसै गरि उपहार लिने दिने प्रचलन पनि प्राय: सबै समाजमा प्रचलनमा छ । तर हाम्रो ओल्कोलाइ शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै सिमित गरि दिदा समकालिन सामाजिक मनोभावको ठ्याक्कै अभिब्यक्ति नहुन सक्छ । ओल्को लिनु दिनु त्यहाँको संस्कृति, परम्परा र आस्थाको प्रतिक पनि हो ।


सुदुरको लोक जिबनमा बर्षाको यामलाइ अतीव बिपत्तिको एकांकी समय मानिन्छ । बाढि पहिरोले गाऊँहरुको आपसि सम्पर्कमा बाधा पुग्दछ । प्रकृतिको रुप-रंग फेरिन्छ । खोला नाला सुसाएका हुन्छन । हरियालिले पाखा पर्बत ढाकेको हुन्छ । कामको चटारोले कसैलाइ फुर्सत हुदैन । “साउनकि कालि रात”का डरलाग्दा किस्साहरु गाउ गर्खामा सुन्न पाइन्छन । निसन्देह यो परिबेशले कर्मयोगी लोक जिवनलाइ भावबिह्वल बनाएको होला । उ आफन्तहरुलाइ सम्मान स्वरुप उपहार सहित ढोग भेट गर्न गएकोहोला । शायद यसै पृष्ठभुमीमा यो पर्बको शुरुवात भएको हुनु पर्दछ । यो शास्वत भावमा ओल्कोको परम्परा अहिले अझ सान्दर्भिक हुन गएकोछ ।

यो पर्ब बिशेषमा ओल्कोकोरुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहा पठाइन्छ । शिल्पकर्मीहरुले आ-आफ्ना सिर्जना समेत पठाउन सक्दछन । अचेल लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहार समेत दिने प्रचलन बढ्दोछ । यति मात्रै होइन, गुठियारहरुले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालिको ओल्को चढाउछन । बिभिन्न जनजातिहरुमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ । यस्ता दिनमा मिठो मसिनो खानपिनको जोहो त हुने नै भयो । कुमाऊँँतिर यस पर्बलाइ घिउ तिहार भनिदो रहेछ । यसदिन घिउ खानै पर्ने हुन्छ रे । त्यहाँको लोकमान्यतामा  ओल्केइसगरारान्ति नमानेमा अर्को जुनीमा शंखेकिरो ( गड्याल ) भइन्छ रे । कतै कतै चतुर्मासको बेला कैलाशतिर गएका देउताहरुलाई सम्झदै देवस्थलमा बत्तिबालि नयाँ अन्नको कोसेली चढाइएको हो भन्ने मान्यता पनि छ।

ओल्के संक्रान्तिका दिन गाउँँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्दछन । यो बूढीलाइ असोज संक्रान्तिका साँझ प्रत्येक घर-घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर 'बूढी पोल्ने' पर्व मनाउने परम्परा छ । यस अनुष्ठानलाइ द्वापरकालिन मथुराकी पुतना को कथासङ्ग पनि जोडिएकोछ । सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो 'बूढी पोल्ने' पर्व मनाइने गरिन्छ । घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ । घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ । यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोग-व्याधीबाट परिवारजन मुक्त हुने मान्यता छ ।

कालक्रममा केहि बर्ष अघि सम्म ठुलाबडालाइ साना जातकाले चिनो बस्तु चढाउने दिनका रुपमा समेत ओल्कोको ब्याख्या गरिएको देखिन्छ । कथित ठुलाठालुहरुले ओल्को ल्याउनेलाइ बक्शिस दिन्थे रे । तर यो मनोदसा अब समाप्तिको क्रममा छ । अब नयाँ अर्थमा यो पर्बलाइ परिभाषित गर्नु पर्दछ । ठुलो सानोको त्यो संस्तरणमा अन्यायपुर्ण श्रम सम्बन्ध वा जाय जन्मको आधार लिने पुरानो ब्याख्याको समय भिट्की सकेकोछ । इतिहासबाट कुँडिदा सांस्कृतिक बिच्छिन्नताको भय रहन्छ, समभावको वास्तबिक पहिचानमा गौरब र आनन्दको अनुभुति हुन् ।  ।

भनिन्छ, ओल्के संक्रान्तिताका सतरति ( सातरातको झरि) पर्दछ । यो समयमा आकासमा तारा देखिएमा वा बन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने संभाबना रहन्छ । यसैताका ऋतुमति धर्तिले नबीन श्रृजना गर्न थाल्छिन । प्रकृतिमा नयाँ नयाँ किसिमका बनस्पति र किरा फट्याङ्ग्राहरु देखिन थाल्छन । धुलो धुवा र फोहोर पखालिन्छ । पाखा पखेरामा नवधार (पानीका नयाँँ मुहान) फुट्न थाल्छन । पृथ्बी पुन: शस्यश्यामला र कञ्चन बन्छिन । सुदुर पश्चिममा के बीश्वास छ भने यो बेला पहाडका खोलानाला समेत समुद्रलाइ ओल्को पु-याउछन । शुष्कप्राय: खोलानाला यति हौसिएका हुन्छन कि महाकालिलाइ समेत हल्लाउन भ्याउछन । एउटा स्थानिय लोक गितमा भनिएको छ, कालि गङ्ङा हचको दिनछै धन्न बुका खोला ( अर्थात कालि नदिलाइ समेत हचको दिने बुको खोलालाइ धन्यबाद छ)।

यसरी साउनको रात वा पुष को परभात वा जेठको दोफरि जस्तो अप्ठ्यारो समय सकिए पछि एउटा नयाँ समय आउँछ । हाम्रा पर्बहरू यस्तै समयमा नयाँँ लय दिन्छन् । ओल्के संक्रान्ति पछि नै शुरु हुन्छ गौराको पावन पर्ब । देवराग ( अर्थात डेउडा ^ देउडा^ देउरा ) गायनको महान अबसर । यस्ता अबसरहरुलाइ समयानुकुल समाबेशि बनाइ लोक परम्परालाइ जिबित राखनु सबैको कर्तब्य हुन आउछ ।

यसै सन्दर्भमा त्यहाको एउटा लोकआख्यान पनि भनी हालौ । भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थाले पछि मैदानका महानदीले यिनलाइ निक्कै फुरुङ्ग्याउछन् । कुरैकुरामा आफ्नी छोरिको बिबाह यि फुर्तिला शैल-सरिताका छोरासंग गरिदिने बचन पनि दिन्छन । तर बिहे भने हिउदमा मात्र हुने निधो हुन्छ । बिचरा सोझा पहाडी खोलाहरु रातदिन बिबाहको जोरजाममा खटिन्छन । बिडम्बना, हिउँद आउदा नआउदै पानिको मूल शुष्क प्राय: हुन्छ र ठुला घरसंग साइनो जोडने यिनको मनसुबा कहिले पनि पुरा हुदैन । यो प्रतिकात्मक उपकथामा बर्णित पहाडको प्रकृति र सुदुरको बर्तमान नियतिमा गजबको साम्यता छ ।

प्रिय शैबालिनी ! अब यसरी न ठगिनु । नयाँ भुमीमा बसेर मलाइ लाग्दैछ, पुरानै साथी भाइ र पुरानै ठाऊँ ठेगान आत्मीय हुदा रहेछन । नया ठाउमा घरजम गर्नु आजिबन गर्भबति भएर बस्नु जस्तै रहेछ । म अहिले पनि बिगतमा पाएको सिन्का मुठा, कर्कलो गाभा, पक्वानहरु, जनेउ र मस्यौराको ओल्कोलाइ सम्झि रहेकोछु ।

समय नयाँँ संस्कृति निर्माण गर्दैछ । मेरो सुदुरको फुलबारीमा पनि झुसिल्किरा नष्ट भएर पुतली जन्मियुन् ।  यहि शुुभभावसहित ओल्के संक्रान्तिको शुुभ अवसरमा हार्दिक  मंगलमय कामनाको ओल्को अर्पण गर्दछु । स्विकार होस् । धन्यबाद् ।

Tuesday, August 10, 2010

के म टाढाको मानिस हुँ र ?

नेपालीशब्दकोष अनुसार सुदूरको अर्थ टाढा हुन्छ । सिधा हिसाबमा सुदुरको बासिन्दा भन्नाले टाढाको मानिस बुझीन्छ । नेपालको सुदुर पश्चिमांचल बिकास क्षेत्रको बासिन्दाको हैसियतमा बोल्दा मैले आफुलाइ टाढाको मानिस मान्नु पर्दछ । त्यसैले यो सुदूर शब्द श्रुतिमधुर भए पनि मेरालागि असाध्यै कर्णकटु र पिडादायक भएकोछ । म आफै टाढा बसेको हैन । अनि कथित सदरबासीले सित्तैमा सुदुरबासीको बिल्ला भिराएको आधारमा राज्यको मुलधार मानिएको राजधानी केन्द्रित मनोबिज्ञानले मलाइ दोस्रो दर्जामा ग्रेडिंग गर्नु दुर्भाग्यपुर्ण होइन र ? मेरो गाउँ ठाउँलाइ दिइएको अन्यायपुर्ण सम्बोधन गर्ने यो शब्द नै क्षेत्रिय उत्पिडनको पहिलो शुरुवात हो जस्तो मलाइ लाग्दछ । सुदूर पश्चिमप्रति राज्यले अद्यापि हेपाहा प्रवृत्ति देखाएकोछ । बिगतका राज्यसत्ताहरुको पनि सबैभन्दा धेरै कोपभाजन बनेको भूखण्ड सुदूर पश्चिम नै हो । दशरथचन्द, जयपृथ्वीबहादुर सिंह, डा के आइ सिंह,ओमजंग, रामजंगले तत्कालिन प्रभुत्वलाई दिएको चुनौती र भीमदत्त पन्तले सामन्तवाद विरुद्ध गरेको प्रहारले काठमाडौं सधैं सशंकित हुने अवस्थामा रह्यो ।

सुदूर पश्चिमांचलको सन्दर्भमा सुदूर शब्दले आफुलाइ केन्द्र मान्ने कथितहरुको दृष्टिकोण सपष्ट देखाउछ । अमुक ठाउ टाढा को हो भन्ने बाहेक यसले कुनै बिशेषता जनाउदैन र वास्तबिकतालाइ सम्बोधन गर्दैन । यो बोलाइले अन्य क्षेत्रको तुलनामा यहाँ जटिल र असमान परिस्थिति छन भन्ने जनाउछ । मेरो बिचारमा यसले टाढाको नियतिलाइ अझ अतिरिक्त उत्पिडन दिएकोछ र ‘ हामी टाढाका हौ, केहि पाउँ” भनेर बिन्तिपत्र हाल्नेगरि केहि जमातलाइ कज्याएर राखेकोछ । बिशेषता अभिब्यक्त गर्ने कैयौ शब्द हुदाहुदै सुदुर शब्दले यो क्षेत्रलाइ पहिचान दिने अन्य आधार सिमित गरि दिएकोछ । टाढा रहेका कारण भेदभाव अर्थात राजनैतिक बन्चितिकरण गरेर राष्टिय र सार्बजनिक जिवनमा सहभागि हुदा ल्याइते र ब्याइतेको जस्तो बिभेदीकरणको परिस्थिति पैदा गराइएकोछ । यसअघि गर्ने भनिएका विकेन्द्रीकरणका योजना कार्यान्वयन गरिएन, सधैँ केन्द्रबाट नियन्त्रण गरियो। त्यसकारण तत्कालिन राज्य ब्यबस्था असफल भयो। संघीय प्रदेश बनाउँदैमा सबै समस्या समाधान हुन्छ भन्ने पनि होइन। त्यसबेला पनि प्रभावकारी र इमानदार कार्यान्वयनको आवश्यकता पर्छ।

सुदूर पश्चिम शब्दले अभाव, अशिक्षा र अन्धकारलाई परिभाषित गर्छ भन्ने मान्यता स्थापित हुनलागेको हो कि भन्ने लाग्छ । यो पंक्तिकारले डेढ बर्ष बझांगमा काम गरे पछि डोल्पाको सरुवा-पत्र पाउदा अन्यायमा परिएको ठानी म तत्कालिन सुपरिबेक्षक आचार्य थरका एक जना सहसचिवसंग गुनासो पोख्न गए । ए बा, उनले त सुदुर पश्चिमका मानिसलाइ टाढा नपठाइ सहुलियत दिएकोजस्तो कुरा पो सुनाए । मैले “तपाइको सहुलियत तपाइकै प्रिय पात्रलाइ दिनुस, म न्याय खोज्न माथिल्लो निकायमा जान्छु” भनेर बाझेपछि मात्रै एक महिना नपुग्दै मेरो सरुवा सुगममा भयो । राजाको शासनकालमा एक बर्ष नपुग्दै काठमाण्डौबाट म पुन: दिपायल खेदिए । माथिल्ला अधिकारीहरुको जमघटमा मैले उपत्यकामै राखिदिने अनुरोधगर्दा सुदुरको मान्छेलाइ सुदुरै पठाउदा केहि फरक पर्दैन भनियो । सुदुर भन्नासाथ एकातिर हाउगुजी बनाएर अतिरिक्त फाइदा लिने प्रबृति तथा अर्कोतिर थप सुबिधाका कुरा उठाउनु सामान्य भएकोछ ।

अचेल हामीले अधिकारका बारेमा थुप्रै कुरा भन्ने र सुन्ने गरेकाछौ । थुप्रै मानबाधिकार मध्ये मानबिय मर्यादामा बाँच्ने अधिकार पनि पर्दछन । यस भित्र मानबका नाताले बिना भेदभाव बाँच्ने नागरिक र राजनैतिक अधिकार र धार्मिक, भाषिक, सांस्कृतिक पहिचानसंग सम्बन्धित अधिकार पर्दछन । केन्द्रियसत्ताको उन्मादद्वारा स्थापित सदर राजधानीका सम्भ्रान्तहरुले सिर्जना गरेको यो सुदूर नामको निरिह परिचयमा मानबिय मर्यादा रहदैन । यो नामका पछाडी राजधानी केन्द्रित मिचाहा र ठिमाहा प्रबृतिको कालो भुमिका दृष्टिगोचर हुन्छ । बिभेदयुक्त सत्तालाई बिभेदमुक्त पार्न सुदूर र सदरको यो गंजागोललाइ मिलाउनै पर्ने हुन्छ । पछिल्लो जनगणनाका तथ्यांकहरूहेर्दा सुदूर पश्चिममा ५० वर्षमाथि उमेर भएका जनताको संख्या १५ प्रतिशतभन्दा कम छ भने करिब ३ प्रतिशत घरधुरीले अहिले पनि खोला तथा नदीको पानी पिउँछन् । ८९ प्रतिशत घरधुरीको इन्धनको स्रोत अहिले पनि दाउरा नै हो भने २२ प्रतिशत घरमा मात्रै बिजुली छ । ३६ प्रतिशत जनसंख्या निरक्षर छन् ,३८ प्रतिशत जनसंख्यामात्रै आर्थिक रूपमा क्रियाशील छन् । यो अवस्था कायम रहनु नै हामीलाइ राज्यले दिएको उपहार हो । उल्टो हामी नै टाढाको मानिस रे ।

प्रदेशको नामाकरणको लागि हामीसंग थुप्रै आधारहरु छन । यो पश्चिमपट्टिको सिमान्त क्षेत्र हो ।राष्टिय सुरक्षाकालागि समेत सिमानाका बासिन्दाहरु उच्च मनोबलयुक्त र राष्टिय स्वाभिमानले ओतप्रोत हुनु पर्दछ । अपि र सैपाल जस्ता उच्च हिमश्रृंखलाबाट प्रसवित सेति र महाकाली नामका हिमनन्दिनीहरुले यो पुरै क्षेत्रको परिभ्रमण गर्दछन । भारतमा मनसुनको पहिलो बादल देखिने ठाउँलाई मेघालय भनिए जस्तै बायब्य कुनामा अवस्थित यो क्षेत्रलाइ बारुणेय प्रदेश वा बायुतटीय क्षेत्र भन्दा पनि फरक पर्दैन ।बारुणी प्रदेशको अर्थ हुन्छ जलको दिशा । खप्तड, बडीमालिका, सुर्मा जस्ता थुप्रै मनोरम ठाउँले भरिएको यो सुदर्शन क्षेत्र त हो नै । मानसरोवरको नजिक पर्ने मानस भुमी र नेपालका पहाडमा आर्यहरुको पहिलो प्रबेशद्वार मानिएको हिमाली आर्यावर्त- आर्यभुमी पनि हो । यो सनातन खण्डलाइ अब सुदूरको सम्बोधन दिनु हुदैन ।

प्रदेश निर्माणको सरगर्मी बढ्दै जाँदा विभाजन र विकृतिको कुरालाई पनि खेलाँची गर्नुहुँदैन। यो देश हामी सबैको हो भन्ने भावना राखेर प्रदेशहरूको खाका कोर्नुपर्छ। जातिगत र भाषागत रूपमा अघिबढ्ने हो भने जातीय मनमुटाव सिर्जना हुनसक्ने र त्यसबाट जातीय विद्वेष फैलिन गई ठूलो क्षति हुनसक्छ। घृणा होइन, घुलमिलको भावना जागृत गर्ने खालको संघीय संरचना बनाउनुपर्छ।
प्रदेश निर्माण गर्दा हिमाल, पहाड र तराईको संयोजन हुनैपर्छ। यी विकास इकाइहरूबीचको आर्थिक अन्तर सम्बन्ध, स्रोतसाधन, जाति, भाषा आदिको आधारमा अपि सैपाल, कर्णाली, लुम्बिनी, बागमती, गौरीशङ्कर, मिथिला र सगरमाथा जस्ता उत्तर-दक्षिण फैलिएका प्रदेश बनाउँदा वेश हुन्छ।

लौकिकता र मानव–निर्मित ऐतिहासिकतासँग गाँस्नु नै समकालिन समाजको रुपान्तरण हो। काठमाण्डौले सुदूर भनेको ठाऊबाट ६ घन्टाभन्दा कमको यात्रा गरेर भारतको राजधानी नयाँदिल्ली पुग्न सकिन्छ, तर सरकारले दिल्लीबाट आयात हुने मालसामानको नाका वीरगन्ज तोकेको छ । दिल्लीसँगको कारोबारका लागि गड्डाचौकी वा गौरीफन्टा नाका सबैभन्दा सहज र किफायती भए पनि काटमाण्डौले दिल्लीभन्दा ‘सुदूर” लाइ टाढा देख्दछ। साम्प्रदायिक तनाव र विखण्डनको खतराबाट सुदूर पश्चिम मुक्त छ र बाहिरबाट कच्चापदार्थ आयातको दृष्टिले सस्तो हुनसक्छ भन्ने यथार्थ कसैले बुझ्नै चाहदैन । बिडम्बना, सुदूर पश्चिममा न सुख्खा बन्दरगाह छ, न औद्योगिक कोरिडोर । महेन्द्रनगर-टनकपुर लिंकरोड बनाएर आवागमन खुल्ला र सहज पार्ने हो भने एशियन राजमार्गको प्रबेशबिन्दु रहेको सुदूर पश्चिम पर्यटक आगमन र बहिर्गमनको नाका पनि बन्न सक्छ । शायद त्यसपछि मात्रै हामी सुदूरको सम्बोधनबाट मुक्त भै सदरसंग दाँजिन सकौला कि ?