Sunday, March 20, 2011

के हो यो ?




मशानघाटका छारमाइ अउँरेको
न्याराइ कुक्कु जसो यो,
कँणाँनका बीचमाइलै एक्कलोइ हाँसि रन्छ,
उब सास ऊन सास फेद्दोइ,
न बाँच्या जसो,न मरे जसो,
भरमकि मालामाइ
झुण्णिरन्छ ।

शुख्खको साथ खोज्जोखोज्जोइ,
खुशिले हाँस्स्या समय पर्खनोइ,
चिन्ताकि चद्धरले बेणिरन्छ ।

कसैलाइ नपयालइ,
कसैले नधेक्यालइ,
आफु आफुइ लुकामारि खेलिरन्छ ।

जून माँनौ कि,
ठण्ण बताश भणौ,
धुनिको आगो माँणौ कि,
हिउनको घाम भणौ,
सम्ज्या बरे त, शाँच्चि,
भितर भितरै पोलिरन्छ ।

कन्ज्याई मानसौनकि भीण खोजन्छ,
कन्ज्याँइ एकान्त सुनसान चाईन्छ,
निखली आसमाइ,
अलिना प्यासमाइ,
कभै टुट्ट्या, कभै जोणिन्या,
यो त अनकसोइ अनकसोइ लागिरन्छ ।

महलकि बारदलि भयालै,
घरको पटकन भयालइ,
खोज्या त यो जाँ लै पाइन्छ होलो,
तब लै
बलन पस्याबरे
देणाका दियामाइ बस्या जसो
रुक् रुक् बलि ब रन्छ ।

मेरा भायौ ! भण्णा कन,
तमरा जिबन जसो,
मेरा जोबन जसो,
आएको गएको केइ नजाणिन्या,
के हो यो ? हो के यो ? यो के हो ?

Thursday, March 17, 2011

पितृभुमीका पहाडहरु


बर्षा सकिएपछिको निलो आकाशमा तितरिपंखी बादल छरपष्ट थियो । सोह्रौ शताब्दिको समापन सन्निकट रहेको तरल परिवेशमा सवालाख गांऊ ओगटेको (सपादलक्ष) डोटी प्रदेश भरि नागराजकुमार नागी मल्लको चकचकि कायमै थियो। स्वराड र डोटीको सिमानाको सर्बोच्च स्थल घनघस्या लेकमा निर्माण र बिनिर्माणको क्रमसंगै समयका डरलाग्दा पदचापहरु निरन्तर बजिरहेका हुन्थे। शताब्दिमा एकचोटि आएको यसैताकाको त्यो एक दिनको कुरा हो।
भावबिहिन सतर्क आंखाहरु,एकसरो स्वस्थ जिउडाल र बलिया लामा हात पाउ भएका एक जना प्रौढ पश्चिमी पार्श्वबाट एक्लै उभो आउदै थिए। उन्को बान्कि,बिन्यास र बस्त्रबाटै ब्राह्मणपन सपष्ट देखिन्थ्यो। धवल धोतीमाथि लामा बाहुला भएको सेतै बस्त्रलाइ घरबुनाको मोटो मट्मैलो चादरले ढाकेका थिए। दाँया काँधमा झुण्ड्याइएको सानो कुटुरोमा खासै सामान नभएको जस्तो लाग्दथ्यो। उनको हिडाइमा आत्म बिश्वास थियो। कुनै मानसिक द्विबिधामा भएजस्तो एकसुरे हिडाइमा यिनले वरपरको बाताबरणमा खासै ध्यानदिएका थिएनन्। उनको पिठ पछाडिको क्यानभासमा देखिने स्वराडका शेरि खेतहरु,कोट किल्लाहरु, बुङाका घरहरु,लेकका खर्कहरु, सेला तापड- तोलिहरु र रोच- पातलहरुले बिचित्रको बिम्ब बनाइ रहेका थिए।
अकस्मात पुर्बि पार्श्वमा खैलाबेला सुनियो। तेजस्वी ब्राह्मण गणेशधुराको उच्च समस्थलीमा पनढलो रेखा ननाघी टक्क उभिए । लेक भरि बांज बज्रांठको घनघोर जंगल चलमलाएझैं एक हुल मानिस हरु फौजी छाँटकाँटमा हिडिरहेका देखिए ।बाटो छेकि उभिएका ब्राह्मणको ओजस्वी अनुहारमा के जादु थियो कुन्नी,अग्रपंक्तिका पैकेलाहरु साबधानीपुर्वक यथास्थान रोकिए। दोस्रो पंक्तिको मध्यमा अरु भन्दा बेग्लै झिलिमिली बागोले बिभुषित बलिष्ट ब्यक्तित्वले सबैलाइ सतर्क गरायो। बाताबरण एकाएक चकमन्न बन्यो।
नजिकैको अजयमेरुकोट र बन्दै बिग्रदै गरेको इतिहासको बारेमा ब्राह्मणलाइ यथेष्ट जानकारी थियो। डोटी प्रदेशका अतिरिक्त कालि कुमाउ,कत्युर ,सोर,सिरा, अस्कोट, रस्कोट,दारमा र ब्यास छेत्रमा समेत अजयमेरु नरेश नागी मल्लका बहुरंगी गाथाहरुको ब्यापक प्रचार प्रसार थियो। यो राजा नागी मल्लको स्वनामधन्य डोटेली पल्टन हो भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्थ्यो।
स्थानिय करद सामन्तहरु,किल्ला कोट समालि बस्ने कटकवाल काजीहरु,शासक बंशसंग जोरिएका नातागोतावालाहरु, गाउ गर्खाका मुखिया जिम्वावाल,टाठाबाठा ठालुहरु र लडन सिपालु पाइकहरुले सुसज्जित यो फौजसंग एक्ला बाहुनको यो पहिलो जम्का भेट थियो। भिन्न कोणबाट आएका भिन्न बिचारहरु बोक्ने दुइवटा समय हाँक्ने सारथीहरु संयोगबसात् यसै लेकमा एक अर्काको नजिक हुदै थिए। समय र परिस्थिति बुझेर काम गर्दा नै सफल भइन्छ भन्ने शास्त्र बचन संझेर एक्ला ब्राह्मण अझ सतर्क भए। सेना नायकले अकस्मात बडो कर्ण कटु स्वरमा सोधनि गरे,’’यो डोटी अधिराज्यको सरहदमा एक्लै निर्द्वन्द घुम्ने यो बाहुन काँ जाँदैछ? भन,तिमि कोहौ? के गर्दैछौ ?”।
ब्राह्मणले बडो अदबका साथ जवाफ पल्टाए।
“हो, जजमान! म बामन हु। सौराष्टबासी आत्रेय गोत्री मेरा पिताजीका पुर्खाहरु कन्नौजबाट काशी बनारसहुँदै घुम्दैफिर्दै यस पुण्यस्थलमा आइ पुगेका हुन । त्यसैले निश्चित भुगोलसंग मात्र मेरो साइनो छैन,न यायावरि मात्रै पनि मेरो परिचय हो। पल्लवग्राही यो बबुरो अहिले देशाटनका लागी पुर्वाभिमुख भएको हो। यसमा मेरो बिगार भयो र जजमान ? ”
सेनानायकको निधारमा छाला खुम्चिएर केहि थप धर्साहरु बन्दै गए। उनले अझ उग्र भएर भने, “स्वराड जालि फटाहाहरु बस्ने ठाँउ हो। यहाँ उड्ने कौवालाइ समेत फाली लगाउन सक्ने धुर्त मानिस हुन्छन रे। त्यसैमा पनि जोगी, बैरागी,साधु , बाहुन ,राइभाट गाईने ,दमाइ ,भांण र बादिहरुलाइ त यत्रतत्र एक्लै घुम्न सक्ने हुनाले उहिले देखि राज्यले जासुसीकालागी प्रयोग गर्दै आएकोहो। देशाटनका लागी यो बिरान बन-पथ रोज्नुको रहस्य के हो? सपष्ट गर ।”
ब्रामणको भृकुटिमा पनि बल थपियो। एक छिन रोकिएर उनले स्थितिको पुनर्मुल्यांकन गरे। ब्यक्तिगत अहमबाट प्रभाबित युद्ध झन भयंकर हुने कुराको आकलन गर्दै स्थिर तर शिष्ट सम्यक बाणीमा उनले बेलिबिस्तार लगाए।
“आफ्नो प्रभाब छेत्रबाट टाढा नपुगि वास्तबिकता र बस्तुताको मुल्यबोध हुन सक्दैन। जिम्मेवारिको नाममा टाउको दुखाउदै भौतिक प्राप्तिको गन्हाउने थुप्रोमा उभिएर उचाइको भ्रम पाल्नमै अहोरात्र खटिनु पर्दा जिवनलाइ नभोग्न सकियो न चिन्न नै। त्यसैले देश दर्शनको क्रममा देवताहरुले परिभ्रमण गरि रहने यो देबाटपि छेत्र तिरलागेकोहु। दैब संयोगले म अहिले सिमान्त क्षेत्रमाछु। नियतिको संयोग नै भनौ,हामीले परिचयका प्रथम पलमा शिष्टताको सिमा उलंघन गरेकाछौ। यो आर्य आचरण अनुकुल छैन। यदि मेरो अनुमान ठिक छ भने यो शैल शिखरमा यसरी घुम्न सक्ने नागराजा नागीमल्ल बाहेक अर्को कोहि हुन सक्दैन। राजन्, रिसानी माफ होस। सौभाग्यबश प्राप्त भएको यो शुभ संयोगमा मेरो अभिबादन स्विकारहोस। खेचराद्रि हुदै उरु पर्वतको बाटो उत्तरापन्थ तिर जाने बिचारछ। यस बाहेक मेरो कुनै अभिलाषा छैन अभिष्ट छैन।,’’अरुको बसे राज , नागी मल्लको उठे राज’’ भन्दछन। केहि दिनको लागि मलाइ आफ्नो क्षेत्रमा घुम्न सक्ने अनुमतिका लागि बिन्ति चढाउछु। ”

‘’ निक्कै बाठा रहेछौ,स्वस्ति बाजे! मैले पनि अभिवादन टक्र्याए। तपाइहरु अंधकारबाट शासित हुनुहुन्छ। आफुभित्र कतिपय कथित बिश्वासहरु उमारेर आफैंलाइ बांधेकाछौ,आफैंलाइ बज्याएकाछौ। तिम्रा गाउँठाउँमा लोक देउताहरुका नाममा राखिएका बिभिन्न बर्चनाहरु र लोक संस्कृतिको आडमा पुजारि, धामि र भण्डारेहरुले फैलाएको मानसिक आतंक ब्याप्त छ। यो सांस्कृतिक संक्रमणको समय हो बाजे! सोल सय डोटी र बार पाटा कुमाउ भरि अचेल नबिन चेतना फैलिएकोछ। क्षेत्रियता र स्थानियताको रुढ संकिर्णता भित्र नक्कलि जिवन सारै टिठ लाग्दो हुन्छ। म पनि बिनिर्माणको क्रममा घुम्दैछु र नया इतिहास रचदैछु। यो काममा मलाइ सहयोग गर र मेरो क्षेत्रमा आरामसंग स्वाध्ययन गर”।
ब्राह्मणले स्थितिको संबेदनशिलता प्रष्टसंग बुझे। राजा नागी मल्ल जुन ठाउमा जान्थे,त्यहां एक किसिमको आंधीबेहरि नै चल्दथ्यो। उनी आफ्ना अति बिश्वस्त पैकेलाहरुका साथमा गाउगर्खा डुल्दै लोक देउताहरुको शक्ति परिक्षण गर्दथे। समाजलाइ ब्यबस्थित गर्ने क्रममा आफ्नो बर्चस्व राख्दै कोट किल्ला खडा गर्दथे। उनको कोपभाजनमा पर्ने देबस्थान भत्काइन्थे,देवभण्डार रितिन्थे।
शक्ति परिक्षण गर्ने,मुद्दा फैसला गर्ने,नेकि बदि बुझ्ने र सजाय दिने उनका आफनै खालका अनौठा तरिका थिए। रिठाका दाना माथि उभ्याउने,बिशाल शिलाखण्ड उचाल्नु पर्ने,बन्द मुठी भित्र राखेको बस्तुका बारेमा बताउनु पर्ने,तुरुन्तै पानी बर्साउनु पर्ने वा बेमौसमका फलफुल फलाउनु पर्ने जस्ता सन्काहा माग राख्दथे। उनको दण्डबिधान पनि आफ्नै खालको हुन्थ्यो। आफनै माहारानी मौलालाइ समेत ओखलमा टाउको राख्नेर मुसल ले कुटेर मार्न लगाएका थिए। कोटको नजिकै गोरिल थानमा नर बलि दिने गरिहुदै । यसरि कैयौ मानिस मारिएका थिए, कैयौ घर रित्ता भएका थिए।
यसै कालक्रममा नागीमल्लले सङौडकोटबाट सुरक्षित स्वराड(सौराष्ट) मा धावा बोल्ने बिचार गरेका रहेछन। यस्कालागी बिश्वासिला मानिसहरु मार्फत गुप्ति बाटो र ठौर ठेगाना पत्तो लगाइ सकेका रहेछन। गणेशधुरामै थर्पु खडा गरि स्वराडको भौगोलिक स्थिति ठम्याउने र ठुल्ठुला देव भण्डार लुट्ने दाउ निकाल्नकालागी यो यात्रा रचिएको रहेछ।
ब्रामणले आसन्न स्थितिको झलझलि आकलन गरे। बिशाल डोटी राज्यका अधिपति र मायाबी शक्तिका धनी एबं प्रतापि र सौर्यबान राजा नागि मल्ल को अभियान रोकन तत्काललाइ असंभबप्राय थियो। जन्मे देखिनै युद्ध र षडयन्त्रलाइ शिरमा बोकेर ल्याएको राजा नागिमल्ललाइ शान्त र सजिलो जिबनमा फर्काउन पनी त्यति सजिलो काम थिएन। तर एकला बाहुनले पनि फरक किसिमले मारक बिन्दुमा प्रहार गर्न जानेका थिए। यद्यपि युद्धले मातिएको मष्तिष्कका अगाडी परेको रुख बिरुवा समेत बैरि मानिन्छ भन्ने कुराको समेत उनलाइ हेक्का थियो। उनले तत्काल मनमनै कुटयुद्दको घोषणा गरेर भन्न थाले।
‘’सुर्यबंसी शौनक गोत्रि माहाराज नागिमल्लसंग बादबिबाद गर्ने मेरो हैसियत छैन। माहाराजको जस्तो स्वर्ग जान भरयाङ लाउने वा कालिगंगा जङार लाउने जस्ता असंभब मनसुबा पनि मैले राखेको छैन। तै पनि म ठोकुवा गरेर भन्न सक्दछु,सत्य पनि समय सापेक्ष हुन्छ। एउटा क्षितिजमा पुगेपछि अर्को क्षितिज उघ्रिएजस्तै नया सिमानामा आए पछि एउटा बिचार भत्किन्छ, अर्को बिचार जन्मिन्छ। एककिसिमले म यो लेकमा आउनु स्वयंमा बैचारिक बिद्रोह नै हो। हो –अन्यायका स्वरहरुले थिलथिलो भएको यो काल खण्डलाइ हाहाकारको स्पर्शले झन बिटुलो बनाउदैछ। बर्तमान च्यात्दैमा पुरानो इतिहास च्यातिन्छ जस्तो लागदैन। तैपनि इतिहास जित्नेको घोडा हो र यसलाइ फेरि लेख्न्न सकिन्छ।‍‍‌ कालजयी निर्णय गर्नलाइ थुप्रो बिचारबिमर्श गर्नु पर्दछ राजन!”
“तिम्रा बिचार र वाक्पटुताबाट म प्रभावित भए।भावलाइ दमन गरेर कोहि पनि मुक्त हुन सक्दैन। बामन देवता!जिवन आफ्नालागि मात्र होइन भन्ने लागेर नै म यी समर क्रिडामा रमाउन थालेकोहुँ। मलाइ पनि दायित्व बोध र कर्तब्यबोधका भारीहरु एवं स्वार्थका भकारिहरु बोक्दैमा हैरानछ। तै पनि बत्ति आफैं नबलि उज्यालो छर्न सक्दैन। म स्वयं यस्तै कारुणिक अवस्था पार गर्दैछु।”
यसरि अनायासै दुइवटा सत्यहरुले यो लेकमा एकाकार भएर लामो अन्तरक्रिया गरि रहे। दुबैले आफ्ना सिमाना बुझेका थिए र दुबैका आफ्ना अभिष्ट थिए। राजाको आदेश पाएपछि डोटेली फौजले लेकको उच्च समस्थलिमा झाडी फाँडेर बस्न लायक बनायो। पल्टन रसद पानिको बन्दोबस्ति काममा लाग्यो। डोटेली राजा र स्वराडी बाहुनका बिचमा बार्ता चलि रह्यो।


सिगास,उदयदेव,माहारुद्र,निगलासैनी,मेलौली,सिमनाथ,समैची,भुमीराज, कैलपाल,केदार जस्ता अनेकौ नामी देवताहरुका मन्दिर भएको सौराष्टको रसिलो भरिलो उपत्यकाका लडाका शासकहरुसंग जोरी खोज्नु ख्यालख्यालको कुरा थिएन। कुमायुको खस सेनाधिपति अठौतिमल्लसंगको लडाईमा यहाँको जनएकताले खेलेको भुमिका र यहाँका पैकेलाहरुको गौरबगाथालाइ डोटीनरेशले पनि सराहना गर्दथे।राजनैतिक अब्यवस्थाको समयमा पनि धर्म प्राण गाउलेहरुलाइ लोक देवताहरुले मानसिक उर्जा प्रदान गर्दथे। गुठियारहरुमा अदभुत सामाजिक सदभाव हुन्थ्यो र गाँउहरु दीर्घकाल पर्यन्त संगठित बनि रहन्थे। लोक देवताहरुले ग्रामिण भेगलाइ संगठित सुदृढ बनाइ लोक मानसलाइ आत्म बिश्वासि बनाएका थिए। मन्दिरहरुमा अकूत देवस्व जम्मा थियो। सुनचादिका छत्र सिहासन तोमर, भाला बर्छा,छडी, आशागुर्जा,प्रतिमा, माला,त्रिशुल, गजुर,तामापितलका नगारा,दमाहा,भोकर कुणि,कलस, गाग्रि,घण्ट,पानस र प्रतिमाहरुको कुनै लेखाजोखा थिएन। आम जनसमुदाय धर्मभिरु र कर्मयोगी थियो। देवताका कारिन्दा हरु पनि बिशिष्ट बर्गमा गनिन्थे।
उत्तरतिर सङौणकोटको बलियो किल्ला र प्रतेक थुम थुम्का, दोमिल्ला-दोभानमा रहेका गाँउ गुठियारहरुलाइ संगठित गरिराख्ने लोकदेवताहरुका मन्दिरहरुमा सामरिक दृष्टिकोणबाट समेत झट्टै हात हाल्ने ह्याउ नागिमल्लले गर्न सकेका थिएनन्। दक्षिणको मेलौलि मन्दिर र वरपरको क्षेत्रमा शक्तिशाली सामन्त दिपचन्दको हैकम थियो।माहाकालि पारि गुमदेशका पैकेला धौनीहरुसंग समेत यिनको राम्रो संबन्ध थियो,। तल्लो र माथिल्लो स्वराडको बिचोबिच पर्ने गरि घनघस्सयाबाट सोझै सुरनैया झरेर स्याडीखोलाको किनारै किनार ग्वाललेक धुरामा उक्लने र त्यहाँबाटै बैतडीको कुल्लेककोट र कुमायुको सोर चम्पावत समेतको स्थिति हेर्ने निधो उनले गरेका थिए। राज्य बिप्लबमा परि सङौणकोटबाट भाग्दा लछीचन्दले पनि यहि बाटो रोजेका थिए।यो नाकामा डोटेली प्रभुत्व कायम भएमा बैतडी सजिलै पस्न सकिन्थ्यो,स्वराडलाइपनि तल्लो र माथिल्लो गरि टुक्र्याउन सकिन्थ्यो। ग्वाल्लेक धामको वरपर रहेको घनघोर जंगलमा फौजी गतिबिधि सुचारु राख्न सजिलो हुने उनको बिश्वास थियो।
त्यहि भेगको बाहुनचरिबाट सबै कुराको सुचना लिन सकिने सुनौलो मौकालाइ राजा नागी मल्ल पुरापुर उपयोग गर्न चाहन्थे। घर ब्यबहारबाट बिरक्त भएका जस्ता धर्मप्राण प्रौढ ब्राह्मणको निर्दोष भाव भंगिमा देखेर नागीमल्लले उनबाट कुनै अनिष्टको आशंका समेत गर्न सकेनन्।
यता ब्राह्मणदेवताको अन्तर्मनमा अर्कै द्वन्द चलेको थियो। प्रशंसा गर्दै शत्रुलाइ कमजोर बनाइ लक्ष्यबाट बिचलित गराउन सकियो भने आधा युद्ध त्यसै जितियो भन्ने उनको सोच एकातिर थियो भने दर्प कुपित भएर प्रतिकारको उपाय सोच्नु आफ्नो सुरिएको अहम मात्र हो भन्ने द्विबिधा पनि थियो। कुनै पनि संकल्प स्वयंलाइ बाध्ने बंधनमात्र हो,त्यसैले म संकल्प गर्दैन भनेर कहिले मन दृढ गर्दथे। कहिले भने मान्छे भएर जन्मे पछि देवता बन्न खोज्नु राम्रो होइन,माटोसंग मिल्ने काम गर्नु पर्दछ र धरतिसंग नाता राख्ननै पर्दछ भनेर गम्न पनि थाल्दथे।
यस्तै मनोबादमा रुमल्लिदै उनले मनमनै माटोको कसम खाए र बिषयान्तर गरे।
‘यो ठाउको हावापानी बोटबिरुवा सबै इश्वर का अंश जस्ता छन। हामी सबै ईश्वरका सुन्दर रचना हौं। हामी माथिको आकास, जंगलमा गाइने गीत,चराका ध्वनीहरु सबै प्रकृतिमय छन। तर मनमा खालिपन भए पुर्णताको कुनै अर्थ हुदैन। सत्य शिव र सुन्दर मनमा हत्या मारकाटको बिचार उठनै सकदैन। युद्ध बिचारमा लडनेहो भने अहिले हामीमा पनि लडाइ चलि रहेकोछ। हैन त माहाराज!,
“ ठिक हो,प्रत्येक बस्तुको आफ्नै उच्चतम बिशेषता हुन्छन।अस्तित्वमा आएका प्रतेक बस्तुमा आफ्नै सत्यबोध हुन्छ। यस्तै युद्द र प्रेमका पनि आफ्नै नियम हुन्छन। मेरोलागि यहि सत्य हो।’’राजा नागीमल्लले आधा समर्थन गरे।
“हो,प्रेम र युद्धबाटनै नयाँ कहानी बन्दछ। त्यसमा शिबत्व समाबेस गर्न सकिए त्यो सुन्दर हुन्छ र अमरत्व पाउछ,यहि सनातन सत्य हो।”
ब्राह्मणले फेरि आफनो कुरा माथि पारे।
ब्राह्मण चाहन्थे,उनको गाउँको उर्बर फाँटमा बगेको पसिनाको एउटा बिन्दु पनि खेर नजावस। त्यो पबित्र माटोमा कहिले रगत नबगोस। जिबन सृष्टिको प्रथम कोपिलाहरु सबैका लागि उज्यालो छर्ने मोति बनुन्। त्यो महान धर्तिका प्रत्येक ब्यक्ति अन्धकार चिर्ने ज्योतिबनुन। आफु एकलोको जिबन दाउमा लगाएर भएपनि उनले आफ्ना पितृभुमीलाइ जोगाउने निधो गरें। यात्रा कष्टप्रद भयो भन्दै शिखरको ढुङ्गो चोइटिन थाल्यो भने त्यो शालिग्राम बन्न सक्दैन। कुरै कुरामा उनले राजा नागिमल्लको नाडी छामी सकेका थिए। एउटा हत्याराले हत्या गर्न पाएन भने एकान्तमा उ आफ्नै हत्या गरिरहेको हुन्छ र पछुतोमा बलि रहेको हुन्छ भन्ने मनोबिज्ञान पनि ऊनले बुझेका थिए।
निदानत: बिद्वान ब्राह्मण-पुत्रले नागराजलाई संशयमा पार्ने गरि पहिलो प्रहार गरे।
’’गुणकारि कामको बढाइचढाइ गर्नु दुर्गुण हो। जुन ब्यक्तिमा दुर्गुण छैन उससंग सदगुण पनि थोरै हुन्छ। त्यसैले म उदाउदो सुर्यको प्रसस्ति गाउदैन,नमन मात्र गर्दछु। पुर्बस्थापनाहरुलाइ भत्काउदै नया बाटोबाट गढ कुमायुँ पस्ने योजना बनाउने चतुर भाइ भैयादहरुको आन्तरिक मनसुवा मलाइ थाहा भएन। तर माहाराज!सच्चा हितैषि आउछन- जान्छन, दुश्मनहरु भने छेउछाउमै लुकिरहेका हुन्छन भन्ने हेक्का हुनै पर्दछ।‘’
राजा नागिमल्लको निधारमा बल परयो । उनले निधार खुम्च्याए।
‘’ किन बाजे, यो बाटोमा कुनै अनिष्ट देख्नुहुन्छ र?” उनले सोधे।
‘’माहाराज,ठुलाबडाले काम थालनि गर्दा ठुलै सोच राखेको होलान्। झिनामसिना काममा अल्झिनेहरु दुनियादारिमै अलमलिन्छन। कुलिनहरुले स्वार्थपुर्तिका लागी अनेक परिपंच मिलाउन जानेका हुन्छन्। भाकल गर्दा बोकाको भाग्य कहिले हेरिएकोछ र? ।,,
“मलाइ प्रष्ट कुरा बताउ । सांचो भए थप सम्मान दिउला, झुटो ठहरिएमा सुलि चढाउला ।तिम्रो निर्धक्क कुरा गराइबाट म प्रसन्न छु। भन,यो बाटोको बारेमा तिमिलाइ के थाहाछ ? नाना थरिका नबुझ्ने कुराहरु बोलेर मलाइ भ्रममा नहाल । तिमिले यो बाटोमा के देखेकाछौ?मलाइ खुलस्त बताउ । यस्तो बेलामा मेरो मनस्थिति अस्थिर हुन्छ । अस्थिर मनमा बिबेक हुदैन । बिबेक नगुमाउन परोस भनेर नै राज परम्परामा ब्राह्मणलाइ ससम्मान शिरोपर राखिन्छ। यो बाटोको बेलि बिस्तार मलाइ भन ।,,
“माहाराज रिसानि नहोस। राजानागीमल्ल जस्तो सपना देखाउन सक्ने अगुवाले केहि गर्न पनि सक्दछन। बाटो निरापद छ र समय अनुकुल छ । चन्द र कत्युराहरुको झगडाले गर्दा बिभिन्न जाति उपजातिहरुले टाउको उठाएकाछन । आफुले देखि सुनी जानेका यावत ब्यहोरा जाहेर गर्नेनैछु। बाटोका संबन्धमा म के बिन्ति चढाउ,आफै नजर होस ।“
राजा र बामन संगसंगै पश्चिमाभिमुख भए ।
कहिल्यै नझुकेको निधार र स्वाभिमानी शिर जस्तो क्षितिज भरिको सर्बोच्च टाकुरो ग्वाल्लेक धुरालाइ ब्राह्मणले मनमनै नमस्कार गरे । पश्चिमबाट आउने चिसो हावालाइ रोक्ने हुनाले यो पर्वत श्रृंखलालाइ बायुपर्बत पनि भनिन्थ्यो । बायुपर्वतको छेउछाउको तटीय क्षेत्रलाइ बायुतट भनिने भएकोले कालान्तरमा यसैको अपभ्रंस बैतडी बन्न गएको थियो ।
यसै धुराको दक्षिणतिर बलियो पाखुरा जस्तो लमतन्न धारैधार भरि घनघोर कालो जंगल देखिन्थ्यो । भगौडा अनार्य थरघरहरुको आश्रयस्थल बनेको यो डाडाको भिरालो घासे मैदान अचेल बिरान थियो । बांगा टिंगा ढुंगे बाटाहरु, अजंगका ओडार र भिर पहराहरुले यो बन्य क्षेत्रलाइ दुर्गम र दुर्भेद्य बनाएको थियो ।
प्रौढ ब्राह्मणले बेलिबिस्तार लगाए ।
”राजन् ! अगाडी उभिएको यो भासुलेकको पुर्बिपार्श्वलाइ यस भेगमा श्रीकेदारको आल भन्दछन । पुराणमा वायु पर्वतका नामले प्रख्यात त्यो शिखरको तटीय बस्तिलाइ समुच्चमा बायुतट अर्थात बैतडी भने जस्तै श्रीकेदारको आललाइ आजभोलि सुरकाल भन्दछन । यहि नामको एउटा पबित्र गाँउ यो आलमा अवस्थित छ । यसैगाउमा ग्वाल्लेक श्रीकेदारको मन्दिर स्थापित छ । लोकमानसमा यि आराध्य देवता असिमकेदार , असिग्राम, ससालिंग, सहस्रलिंग आदि नामले प्रख्यात छन । स्थानिय आर्य इतर खस र जनजातिहरुलाइ हटाएर बडाभट्टहरुले त्यहा अलग्गै थिति बसाएकाछन । आर्य धर्मानुरागि यी ब्राह्मणहरुलाइ समयले बहुतै जोधा र साहसि बनाएको छ । सङौडकोटको शासकिय खलकमा समेत यिनीहरुको राम्रो पहुच छ । त्यहाँको राज्य बिप्लबमा भागेका लछिचन्द लाइ यिनीहरुले यसै आलमा मारेका थिए । त्यहि गाउँको लेकमा केदारको पुरानो स्थापना स्थल छ । स्वराड भरिका देवताहरु र खापरे दैत्यको लडाइको जिउदो साक्षी यहाँको माटोमा केदारले घुँडा धस्दाका पबित्र प्रतिक चिन्ह अझै प्रत्यक्ष छन । माहाराजले रोजेको यो बाटो सहज र छोटो छ ।‘’
“हो;---थोरबहुत मलाइ पनि यो जानकारि छ । बडाभट्ट भनिएका पण्डितबर मोतिका बारेमा लोकचर्चाहरु बहुतै सुनिन्छन। असिमकेदारका मन्दिरमा रहेका अकुत भन्डारको बिषयमा समेत मैले केहि सोचेकोछु । यो बाटोको अरु गुह्य कुरा मलाइ बताउने गर ।“
राजा नागिमल्लले के सोचेका होलान? ब्राह्मणले सहजै अनुमान लगाई भ्याए । नियतिको त्यो क्रुर मुकाममा बाहुनको मनदेवता बहुतै उदिग्न थियो । जुनसुकै हालतमा पनि आफ्नो गाउँमा जाने गरि उठिरहेको यो आँधि बेहरि लाइ यहि रोक्ने बिचार गरि सकेका थिए । यसका लागी आफु बलिदान हुन समेत ब्राह्मणपुत्र तयार थिए । यस्तो परिक्षा जिन्दगिमा धेरै पल्ट दिनु परेको थियो र उतिर्ण पनि भएका थिए । “ भजामी भाव बल्लभम्,, भन्ने आदि गुरु अत्रीको आदर्श वाक्यलाइ मनन गरि मनमनै कुलदेवतालाइ नमन गरेर ग्वाल्लेक तिर बाहुनले सजल नेत्र लगाए । उनले सोचे,जिवन मृत्युसम्मको यात्रा न हो। बिभिन्न बिबाद र बाध्यताहरु संगै प्रियजनका बिछोड ब्यहोरेर म खण्ड खण्ड भएर मरि रहेकैछु । हाम्रा रगत पसिनाले आर्जेको माटोमा परचक्रीहरु घुम्न थालेमा त्यो नै हाम्रो सामुहिक बिभत्स मृत्यु हुनेछ।


उनले चुनौति हरुलाइ स्विकार गर्ने निधो गरे । चुनौति नभएको जीवन मृत समान हुने र चुनौति स्विकारनु मै शिबत्व -अमृतत्व रहेको उनले देखे । शितल भएर एकै दिन को भए पनि जिबन भोगि हाल्ने र प्रेम मय बनेर आफ्नो जिवन लक्ष्यमा केन्द्रित हुने बिचार गरे। यहि अठोटलाइ आफना आराध्यबाट अनुप्राणित गराउन ग्वाल्लेकतिर गहिरो दृष्टि दिए ।
मुख्य धुराको दक्षिणी पार्श्वमा रहेको थरौटको जंगलमा भीरालो घांसे मैदान भरि पंक्तिबद्ध रुपमा धमिलो कालो छायाहरु चलमलाए जस्ता देखिए । ब्राह्मणले ठम्याएर हेरे। बिशाल मानब सागर जम्मा भएजस्तो लाग्दथ्यो । उनले अचंभ मानेर एक टक लगाए। उनको अनुहार भरि बिभीन्न प्रकारका भाव हरु देखिन थाले। राजा नागीमल्लले पनि सशंकित भएर त्यसै दिशामा दृष्टि दिए।
ब्राह्मणले भावातिरेकमा टाढाबाट आ‍एकोजस्तो आवाजमा सोधे ।
“नागराज! केहि देख्नुभयो? थरौटको घासे मैदानमा केहि देखियो?”
लामो बार्तालाप पछि उभिएर बायुतट कहलिएको ग्वाल्लेक शैलश्रेणी तिर हेर्न लागेका राजा र अपरिचित बाहुनको वरिपरि त्यतिन्जेल केहि बिश्वाशिला चर अनुचरहरु आइसकेका थिए। उनिहरुले पनि गहिरिएर त्यतैतिर हेरे ।
अकस्मात यो फौजि अभियानका लागि खडागरिएको थर्पुका जिम्मावाल कार्किले भय आबेस मिश्रित स्वरमा लगभग करायरै सोधे ।
“ओहो, जंगलका बिचमा त्यत्तिका मानिस ---।राजन! अचंभ भयो। धोका भयो---।,,
यस पछि बाताबरण पुरै बदलियो। एकले अर्कालाइ त्यो दृश्य देखाउन र अर्थ्याउन थाले । नानाथरि अडकल काटिन थाले । आआफ्नो अनुमानलाइ सत्य प्रमाणित गर्न सबैले तर्क बितर्क गर्न थाले। राजा र बाहुनले मुखामुख गरि चुप चाप सुनि मात्र रहे। मिथक र प्रतिकहरुको प्रयोगबाट आफुलाइ मानबेत्तर दैबि शक्तियुक्त प्रमाणीत गर्न सफल नागिमल्ल यसपालि भने लल्याक लुलुक गलेर भन्न थालेे ।
“भगवानले जानुन,कुन प्रयोजनकालागि यो निर्णायक घडीमा हाम्रो भेट भयो? मेरो अनुमानका बिपरित पहिलो पटक म यो दृस्य देख्दैछु। अजयमेरु , उदम्बरपुर, माल, मलास र अन्य नाका गौंडाका मानिस जम्मा गरेर पनि म संग यत्रो सैन्य संरचना पुग्दैन । गाउगर्खाका आममानिसहरुलाइ कटकमा ल्याउन केहि महिना अरु लाग्न सक्दछ। छिटो काम भ्याउन जोरजबरजस्ति गरेमा जनबिद्रोहको प्रबल संभावना छ। यो अप्रत्यासित युद्ध मोर्चाबन्दि कसरि संभव भयो? केहि थाहाछ?, बाजे!”।
बढार्नुपर्नेलाइ हावाले उडाउन थालेपछि ब्राह्मणले लामो सास फेर्दै युधिष्ठिर-सत्य बोले।
“डोटी नरेश! कहिलेकाहि दिन भन्दा क्षण लामो र महत्वपुर्ण हुन्छ । समय संधै एउटैको अधिकारमा हुदैन । यसलाइ हाँक्ने नयाँ नयाँ ब्यक्तिहरु आइ रहन्छन। कत्युर र चन्दहरुको झगडा सकिएपछि चन्दहरु आफैमा काटिन मारिन थालेका थिए।सङौणकोटलाइ ताराकोट नामाकरण गरे पछि जैतु चन्द राजा हुदा गरिएको भबिष्यबाणी क्रमश: सत्य प्रमाणित हुदैछ । जैतेउल पछि दैत्येउल र कुकुरेउल हुन थालेकोछ । बिधिबसात पछिल्ला दिनहरुमा स्वराडी र बैतडा राजाहरु मिलेकाछन भन्ने खबर सुनेको थिए । संयुक्त सैनिक अभ्यासका उडन्ते खबरहरु पनि आएकै हुन। अचेल जंगलमा तोपबन्दुक चलेका आवाज सुनिन थालेका चर्चा व्यापक थिए। तर यो सैनिक पडाव को जानकारि मलाइ थिएन । डोटेली सभासदहरुलेनै यसमा विचार गरुन।”
यसरि बाहुन आफु पंछिए। राजानागीमल्लले सबैसंग बिचार बिमर्श गरे। पैकेला र पल्टनको अन्यमन्यस्कता देखेपछि उनले तत्काल घोषणा गरे।
“स्वराड अर्को हिउँदमा हानौला । आज फर्कौं । ,,
द्विबिधाग्रस्त नागिमल्ल फर्के,डोटेली पल्टन फर्कियो। दुर्भाग्य वा सौभाग्यले त्यो अर्को हिउँद कहिल्यै आएन । इतिहास कुनै मैदान बिशेषको घटना होइन ।चाहे जस्तो मोडलिने, अडकलेको यात्रा र खोजेको इच्छा पनि होइन । बिरोध बिसंगति, क्रिया प्रतिक्रिया को द्वन्दमा ठोकिदै फुटने ससाना थुम्काहरुको अनुसुचि मात्र हो। यिनै थुम्काहरुबाट हामि बिगतलाइ नियाल्दछौ। केहि सिक्छौ,केहि गल्ति गर्छौ र कालखण्डले एउटा बाटो लिन्छ। यस प्रसंगमा अरु थुप्रै घटना क्रम र कथाहरु अस्तित्वमा आए, बिलाए। ईतिहासले नित्य नयाँ मोड लिदै गयो। यसपल्ट भने स्वराड आसन्न लुटमारबाट यत्तिकै जोगियो ।
** ** **
पाठकबृन्द! यदि तपाइ कहिल्यै घनघस्स्याको लेकमा पुग्नु भयो भने ब्राह्मणपुत्रको पावन पितृभुमीका पहाडतर्फ अबश्य हेर्नु होला। गाउँको पहरा भरी लहरै उभिएको देखिएका ती चलायमान मानबाकृतिहरु अहिले पनि जस्ताको तस्तै त्यसै ठाउमा त्यसै गरि उभिएको देखिने छन । यथार्थमा चुच्चे काला ढुङगाको त्यो लहरदार दृश्य टाढाबाट हेर्दा पल्टनले कवाज खेलेको जस्तो लाग्दछ। त्यसै रहस्यमय बान्कीको ब्याख्या गरि नागिमल्ललाइ दिग्भ्रमित गर्ने ति बिद्वान ब्राह्मण त्यसै गाउँका महानायक मोति बडाभट्टका कनिष्टतम चतुर्थ पुत्र प्रतापदेब थिए। भनिन्छ, यो घटनापछि उनी लगत्तै उतराखण्ड कैलाशको बाटो लागेका थिए। त्यस पछि उनको कुनै खोज खबर गरिएन। उनको नाममा उनका गाउँबासी आफन्तहरुले कुलदेवताको पुजामा अचेल पनि बजुवामुठी भनेर पोखल चढाउने गर्दछन र थरौटको घासे मैदानलाइ देवभुमी मानेर टाढैबाट ढोग्ने गरेकाछन.।
***
(महेन्द्रनगरबाट प्रकाशित साहित्यिक मासिक “आफन्त’’मा यहि शिर्षकबाट र डोटेली मासिक “गुगुल्डी’’मा “उन आजीलै उत्तेइछन” तथा बिचारका बिस्कुन ब्लगमा यहि शिर्षकबाट प्रकाशित ऐतिहासिक कथाको परिष्कृत पाठ्य सारांश। )

Monday, March 14, 2011

सरकारी नौकरी;नखाउ भने दिनभरिको शिकार



ग्रे-कोट लगाउन थालेपछि
उसको मुटु हराउन थालेको छ
मान्छे उही हो
पहिले पहिले
घर-परिवारका कुरा गर्थ्यो,
आराम-विरामका कुरा गर्थ्यो ,
ऐँचोपैँचो र गर्जोका कुरा गर्थ्यो
मानवता र परम्परा सहयोगका कुरा गर्थ्यो
ग्रे-कोट लगाउन के थालेथ्यो
औचित्य विचार्दैन
मात्र आदेश गर्छ ।
“ग्रे-कोट भित्रको मान्छे” शिर्षक राखिएर २०६६ चैतको मधुपर्कमा प्रकाशित यो कबितांश एउटा बर्तमान सचिवले कुनै बर्तमान सचिवलाइ नै बिम्बमा राखेर लेखिएको भनिन्छ । हालै फेसबुकमा एउटा मित्रले “नेताहरु जनसेवक, कर्मचारीहरु राष्टसेवक, अनि डनहरु समाजसेवक… एकदम सिक्वेन्स मिलेको रैछ…हाहाहाहाहाहा” भनेर ब्यंग कसे । यो बिरोधाभास भित्रै हुनेखाने परिवारका युवाहरूलाई जागिरको लोभमा फँसाउने र पछि कुमारीचोक लगाई 'गोर्खे लौरी' कसेर अपमान गर्ने राणाशासकहरूको रणनीतिको निरन्तरता स्वरुप कर्मचारीहरूको अपमान गर्न र उनीहरूको सातो लिनमा आफ्नो पुरुषार्थ मान्ने प्रवृत्ति अहिले पनि यथावत छ । लाग्छ, बर्तमानमा कर्मचारीहरूलाई सेवक र दासको रूपमा मात्र हेरिन्छ ।
राजनीति भनेको कर्मचारीहरूको निर्दयी अभिभावक हो । मन्त्रीहरू नै कर्मचारीहरूको अपमान गर्न र शारीरिक, मानसिक हिंसा गर्न उद्यत भएपछि कर्मचारीहरू अभिभावकविहीन हुने नै भए । त्यसो त विश्वको कुनै पनि मुलुकमा कर्मचारीतन्त्र जनताको प्रिय हुनसकेको छैन । नेपालमा पनि यो संस्था जनताबाट झन् टाढा हुँदै गएको छ । कर्मचारीहरूको आचरणगत पक्षहरूले त झन् जनताको विश्वास गुमाइसकेको छ । जिम्मेवारी पन्छाउने प्रवृत्ति र सर्वसाधारणले नपचाउने घुमाउरो रकमी भाषाको प्रयोग गरेर कर्मचारीहरू जनताप्रति संवेदनशील हुन नसकेको यथार्थ हो । तर यति महत्त्वपूर्ण भूमिका रहेको कर्मचारीतन्त्रको मनोबल गिराउने कामभन्दा यसभित्र रहेका विकृतिहरू हटाई जनउत्तरदायी संस्थाको रूपमा परिवर्तन गर्न नसक्नु नै बर्तमान राजनितिको असफलता हो । पेशागत हकहित अर्थात उचित पारिश्रमिक वा ज्याला, कार्य शर्तहरु, कार्य वातावरण, कार्य प्रक्रिया, सेवा सुबिधा, स्वास्थ्य सुरक्षा लगायतका विषयमा सामयिक सुधार गरि कर्मचारीभित्रको बिकृतिलाइ कमगर्दै जानसकिन्छ ।
विगत केही वर्ष यता लोकसेवा आयोगले अधिकृत स्तरका कर्मचारीका लागि गरेको विज्ञापनमा अधिकांश उम्मेदवार सेवारत कर्मचारी नै हुने गरेको तथ्याङ्कले निजामती सेवामा सर्वसाधारणको आकर्षण घट्दै गएको आभास मिल्दछ । अधिकांश उम्मेदवारबाट पनि सम्बन्धित मन्त्रालय, कार्यालयप्रति सन्तुष्ट देखिन्नन् । किनभने सिफारिस गरिएका उम्मेदवारहरू सेवारत अत्यधिक र नयाँ अनुहार विरलै हुन्छन् । विद्यमान ऐन नियमले दिएका सुविधा र थप गरिएका आकर्षणबाट समेत सर्वसाधारणले निजामती सेवालाई किन प्राथमिकतामा राख्न सकेनन् भन्ने विषयमा गहन अध्ययन विश्लेषण हुनु जरुरी छ ।
कर्मचारीको पदस्थापना, सरुवा, बढुवा आदि वृत्ति विकासका तमाम खुड्किलामा सेवाभित्रै राजनीतिक चलखेल व्यापक पाइन्छ । हाकिमको सधैँ तावेदारी गर्नुपर्ने, अमुक ट्रेड दुनियाको सदस्यता लिनैपर्ने, सो नगरेमा पदस्थापना बढुवा प्रभावित हुने आदिका कारण विशुद्ध सेवाभावले निजामती सेवामा प्रवेश गर्ने कर्मचारीले कार्यालयभित्र काम गर्न सहज ठान्दैन । गरिमामय पदमा राजनीतिक भागबण्डा हुनु, आस्थाका आधारमा अवसर दिइनु आदि प्रकरणले गर्दा स्वाभिमानी र सक्षम बर्ग निजामती सेवाप्रति विमुख हुनु स्वाभाविक देखिन्छ ।
नेपालको निजामती सेवामा कार्यरत कर्मचारीले प्राप्त गर्ने मासिक तलब भत्ता सार्क राष्ट्रकै न्यून हो भनिन्छ । विद्यमान तलबभत्ताले एक आदर्श परिवारको १५ दिनको खर्च धान्न पनि दुष्कर छ । यसैकारण समेत विदेश जान नरूचाउने अथवा सो अवसर नपाएका युवा निजामती सेवाको तुलनामा वित्तीय संस्थान, गैरसरकारी संस्था वा निजी सङ्गठनमा काम गर्न उत्साहित हुन्छन् । कार्यालयभित्र अतिरिक्त आम्दानी गर्ने अवसर पनि सबैलाई जुर्दैन ।
मानिस विवेकी र प्रगतिशील प्राणी हो । ऊ अग्रगमन चाहन्छ । तसर्थ अभाव, सङ्कट र कष्टमय जीवन बिताइरहेको सङ्घर्षशील प्राणी विकसित समाज र देशमा पुग्ने बित्तिकै ऊ त्यहीं रमाउँछ, अभ्यस्त हुँदै जान्छ । यो प्रकरण गाउँघरका बस्ती, सहरबजार र सम्पन्न ठाउँमा बसोबास गर्न लागेपछि पुनः गाउँ फर्कन नचाहने प्रवृत्ति जस्तै हो ।
निजामती सेवामा सर्वसाधारणको आकर्षण कम हुनुका अन्तिम कारण भने होइनन् । एक आदर्श परिवारको भरणपोषणका लागि चाहिने न्यूनतम रकम नदिई न त यस सेवातर्फ सर्वसाधारणलाई आकषिर्त गर्न सकिन्छ न त भ्रष्टाचार नै न्यून गर्न सकिन्छ ।महत्त्वपूर्ण पदमा पदस्थापना गर्दा आस्थाका आधारमा निर्णय नलिई कर्मचारीले आˆनो सेवाकालमा पुर्या्एको योगदानको आधारमा यो कार्य हुनुपर्दछ । उपयुक्त व्यक्तिलाई उपयुक्त काम सुम्पने थिति बसाल्नु जरूरी छ । बैदेशिक छात्रबृति र पुरुस्कारका कुरालाइ पारदर्शि बनाउनु पर्दछ ।पहिलो चरणका उपरोक्त अनुसार मात्र गर्न सके निजामती सेवामा आकर्षण बढ्ने मात्र नभई यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नसमेत सहज हुनेछ ।कर्मचारीमा पेसागत स्वभावलाई वृत्तिका रूपमा परिणत गर्नमा अवरोध पुर्यासउने विविध कारणमध्ये न्यून तलबमानबाट सिर्जित नैराश्यता प्रमुख हो । प्रविधिमा हुने विकास उपयोग र उपभोगमा देखापरेका परिवर्तनका कारण पनि राष्ट्रसेवकको आवश्यकतामा परिवर्तन हु“दै जान्छ ।
राष्ट्रबैंकको पारिवारिक बजेट र्सर्वेक्षण अनुसार सम्पुर्ण क्षेत्रको औसत खर्च १५ हजार १ सय ३५ रुपैया“ छ । त्यमध्ये ५ हजार ९ सय २ रुपैया“ खाद्यान्नमा मात्र खर्च हुन्छ ।यो तथ्यांक हर्ेदा सामान्य कर्मचारीको तलब खर्च धान्न सक्ने अवस्था छैन । त्यसैले न्यूनतम खर्च धान्न सक्नेगरी कम्तीमा ९ हजार ५ सय ७४ रुपैया“ बढ्नुपर्ने आवश्यकता छ । परिवर्तित परिस्थितिमा निजामती सेवा राज्यसंयन्त्रको मूलधार सेवाप्रदायकका रूपमा विकसित हुनुपर्ने अवस्था छ । यसको भूमिकालाई अझ प्रभावकारी बनाउ“दै राष्ट्रलाई अग्रगामी दिशा प्रदान गर्न निजामती सेवामा संलग्न जनशक्ति उच्च मनोबलयुक्त, कामप्रति अभिप्रेरित, जिम्मेवार र उत्तरदायी भई सेवाप्रदायक संयन्त्रका रूपमा विकसित हुन सक्नुपर्छ ।
सरकारी सेवामा संलग्नलाई दिइएको तलबबाट न्यूनतम जीवन निर्वाहसमेत हुन नसकेकाले आफ्नै सेवामा निर्भर हुनसकेका छैनन् । यसले कर्मचारीको सामाजिक प्रतिष्ठामा निरन्तर क्षय हु“दै गइरहेको छ । खुला र प्रतिस्पर्धी समाजमा कर्मचारीलाई पर्याप्त मौद्रिक प्रोत्साहन हुन नसक्दा प्रतिभावान कर्मचारी सरकारी सेवामा आकर्षित नभई र्सार्वजनिक सेवा प्रभावकारी गुणस्तर युक्त र प्रतिस्पर्धी हुनसकेको छैन । त्यसैले राष्ट्रसेवक कर्मचारीको कार्यक्षमता र कार्यदक्षता अभिवृद्धि गरी उच्च मनोबल कायम गर्न, मर्यादित सामाजिक जीवनयापन गर्न, प्रतिभावान व्यक्तिलाई निजामती प्रशासनमा आकषिर्त गर्न र पलायन रोक्न तलब-भत्तामा पुनरावलोकन एउटा आधार बन्न सक्छ ।

Thursday, March 10, 2011

ग्वाल्लेक क्षेत्रका बनौषधिहरु : सामान्य टिपोट


जिल्ला विकास योजना २०६३/०६४मा उल्लेख भएअनुसार "बैतडीको वरिपरि पहाडहरुमा चार वटा केदार देवताहरुको देवस्थल छ । ती चारवटा केदार मध्ये दक्षिणमा ग्वाल्लेक केदार पूर्वमा रौलाकेदार उत्तरमा देउलेक केदार र पश्चिममा ध्वज केदार पर्दछन जुन आराध्यदेव महादेवका रुप हुन भन्ने भनाई छ । यसरी शक्तिशाली देवताको छत्रछाँयामा रहेको यो हिन्दुहरुको आध्यात्मिक तवरले ज्यादै पवित्र र पुण्यभूमी हो भनेर पुराणकालमा वर्णन गरेको पाईन्छ । यी चारैवटै केदारको देवस्थलमा यात्रा गर्न सके चारधाम गरे सरह हुन्छ भन्ने भनाई पनि छ । देवस्थलहरुमा बैतडी सदरमुकामबाट सहज ढंगले यात्रा गर्न सकिन्छ । हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले वायोत्तड पर्वत भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ । बढी हावा लाग्ने भएकोले संस्कृतमा वायोत्तड (वाय+त्तड) अर्थात वायु चल्ने ठाँउ पछि वायुत्तडबाट बायोत्तड र बैतडी पछि शब्दको अपभ्रंस हुदै गई अन्तमा बैतडी नाम रहेको हो" ।
जिल्लाका अन्य प्रमुख धार्मिक स्थलहरु तथा पर्यटकीय क्षेत्रमा जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम,त्रिपुरासुन्दरी,मेलौली भगवती डिलाशैनी,दोगडा धाम न्वाली, सिगास सिगासधुरा, निङ्गलाशैनी देहीमाण्डौं, रौलकेदार मन्दिर रौलेश्वर, ग्वाल्लेक केदार ग्वाल्लेक, पाताल भुमेश्वर भूमेश्वर, मल्लादेही मेलौली, देउलेक केदार देउलेक,अशिम केदार दुर्गास्थान, उदयदेव मन्दिर पाटन पर्दछन ।
कुनै बिशेष रैथाने बनस्पतिलाइ लोकदेवताको प्रतीकका रुपमा हेरिने सुदुर पश्चिमको लोकप्रिय परम्परा हो। उदाहरणार्थ बाँजलाइ ग्वाल्लेक केदार, निगालोलाइ निगलासैनी भगवती,मेललाइ मेलौली भगवति,देवदारलाइ डागेश्वरी, जाइफललाइ समैचीको प्रतिक बृक्ष मानिन्छ । यसै गरि हरेक स्थानिय देवताहरुलाइ प्रकृतिसङ्ग जोडिएको हुन्छ । बैतडीका बनक्षेत्रमा बहुमुल्य बनौषधिहरु पाइन्छन । यो लेखमा बैतडी र खासगरि ग्वाल्लेक क्षेत्रमा पाइने बनौषधिको बिबरण समेटेकाछौ ।
यहाँ पाइने बनौषधिको लामो बिबरण बन्न सक्दछ । उदाहरणकालागि नेपालीमा चुत्रो भनिने एक पहाडी फलको कुरा गरौ। यसको फलको आकार जौ को दाना जस्तै अलि ठुलो हुन्छ। यसको पात र हाँगाहरुमा काँडाहरु हुन्छन्। यसको हाँगाहरुमा त्रिषुल जस्तै तिन मुख भएको काँडा हुने हुनाले कतै कतै यसलाई "तिर्खुला" भनेको पनि सुनिन्छ। यसको फलको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो र पाकेपछी कालो हुन्छ। यसलाई नेपालको सुदुर पश्चिम र भारतको कुमाउ गढवालमा "किर्मोडी या किरमणा" पनि भनिन्छ। यसको रुखको बोक्रा पहेँलो रंगको हुन्छ। यसको बोक्रा तितो हुनुको साथै धेरै बिमारीहरुको ओखती पनि हुन्छ।
यसैगरि दालचिनी सुगन्धित पार्न र उत्तेजक र वायुशमन गर्न उपयोग गरिन्छ । यसले बमन र वाक वाक रोक्दछ । सतुवा (सतावर) को पात बाँकोको जस्तै हुन्छ। यसको जरा अदुवाको जस्तै हुन्छ। सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी हो। पेट दुखेमा सतुवा खाएमा छिटै ठिक हुन्छ, पाकेको घाउमा सतुवाको जराको धुलो अथवा जरालाई अलिकती पानीको साथमा ढुङ्गामा घोटेर लगाए घाउ छिटै पुरिन्छ, बान्ता भएमा अथवा पखाला लागेमा सतुवा खाएमा छिटै ठिक हुन्छ, यस्तै धेरै किसिमका साना ठुला बिमारीको लागी सतुवा निकै उपयोगी जडीबुटी हो।
बर्षौ अघिदेखि ग्राम्यान्चलहरुमा यस्ता प्राकृत औषधिहरुको प्रयोग हुदै आएकोछ ।अचेल समेत यस बिषयमा थुप्रै अनुसन्धान भएका रहेछन । तर स्थानिय तहमा यसको कुनै ब्यबस्थित जानकारी उपलब्ध गराइएको हुदैन । त्रिभुवन बिश्वबिद्यालय बाट गराइएको बैतडी र दार्चुलाका बनौषधिहरुको सर्बेक्षण www.ethnobotanyjournal.org/vol7/i1547-3465-07-005.pdf मा राखिएको रहेछ । खासगरि बैतडीको ग्वाल्लेक क्षेत्रमा केन्द्रित रहि गरिएको यो सर्बेक्षणको प्रतिबेदनमा उल्लेखित थुप्रै बनौषधिहरु मध्ये केहिको बिबरण चार्टमा राखेकोछ । भाषागत अप्ठ्यारोका कारण छोटकरी बिबरण अंग्रेजीमा लेखिए पनि E = English, L = Local Nepali dialect, N = Nepali, S= Sanskrit. ले शब्द संकेत गरिएकोछ । बनौषधिहरुकाबारेमा जानकारी चाहनेहरुलाइ यो काम लाग्ला भन्ने बिश्वास लिएकोछु ।
मानसिक शान्ति र आध्यात्मिकतालाइ समग्र स्वास्थ्यको निम्ति अनिर्बचनीय बिषय मानिरहेको समकालिन बिश्वमा भौतिकताको भागदौड बाट केहि दिन टाढा रहन खोज्नेहरुलाइ पनि यस्ता बनौषधिहरुले भरिएका स्थान राम्रा गन्तब्य हुन सक्दछन । पुराना तिर्थयात्राका उपक्रमहरुलाइ पनि नया अर्थमा परिभाषित गर्नु सामयिक हुनेछ । यहाँका बन्य प्रान्तमा अबस्थित पुराना मन्दिरहरुले आधुनिक आश्रमहरु भन्दा फरक र बिशिष्ट उदाहरण दिने हैसियत राख्दछन ।
अधिकांश बाहुन क्षेत्रि र केहि दलितहरु बस्ने यहाको समाजमा दुइ अढाइ सय बर्षको गोर्खालि सासनले षडयन्त्र र फोस्रा आस्वासनका केहि कथा-अकथाहरु बाहेक थप केहि दिएको जस्तो लाग्दैन । किशोर बयमा स्वत: जुङ्गा उम्रिए जस्तै समयको परिबर्तनका असरहरु देखिने नै भए । यसै कारणले यहा अचेल नुतन परिबर्तनको हावा बग्दैछ । पुरातन-परम्परा र सुसमृद्द प्राकृतिक बिबिधताले गर्दा पनि यो स्थान नजानिदो गरी भरिपुर्ण छ।