Tuesday, February 12, 2013

इन्ड अफ बाहुनिज्म

-देश सुब्बा-
नित्सेको 'ईश्वरको मृत्यु', रोलाँ बार्थको 'लेखकको मृत्यु', फुकुयामाको 'इतिहासको अन्त्य', ल्योतारको 'महाख्यानको अन्त्य', 'केन्द्रको अन्त्य'। यसैलाई जोडेर मैले भर्खरै एउटा रेडियो अन्तरवार्तामा 'बाहुनवादको अन्त्य' भनेँ। कसैले आज नभए भोलि भन्ला।
सबैतिर अन्त्य र मृत्युको कुरा उठिरहँदा सम्झेँ- ठीक बोलेँ या बेठीक! सुन्नेलाई लाग्ला- कति उग्र भनाई! यथास्थितिमा रहेको समाजलाई अमान्य हुन सक्छ। युरोपलाई अन्धकारमा राखी धर्मको हावी भएका बेला दार्शनिक रेने डेकार्तले दर्शनलाई जब धर्मको पन्जाबाट छुटाए, त्यतिखेर विरोधमा आवाज उठेको थियो। चार्ल्स डार्बिनले 'विकासवाद'को घोषणा गर्दा संसारलाई ईश्वरको सृष्टि मान्नेहरू हान्ने गोरुजस्तै रन्थनिएका थिए। ती सबै मिलाएर आफैलाई प्रश्न गरेँ।
नेपालमा पनि धेरै यथास्थितिवादी छन्। 'इन्ड अफ बाहुनिज्म'ले उनीहरूलाई रन्थनाउन सक्छ। के रन्थनाउँछ भनेर डेकार्त, डार्बिन चुप बसेको भए संसार नयाँ अर्थबाट बु‰न सकिन्थ्यो? अवश्य सकिँदैनथ्यो। त्यसो भने किन दुरगामी महŒव राख्ने बाहुनवाद अन्त्यको कुरा नगर्ने! हाम्रा समालोचकलाई पाश्चात्य मृत्यु ल्याएर नेपाली समालोचनामा मिसाउन कति सजिलो! आफ्नै देशमा वर्षौंदेखि जेलिएको जालोबारे बोल्न, लेख्न र समालोचना गर्न किन सास जालाजस्तो भएको! अब त साहित्यिक समालोचनाको एउटा पाटो मृत्यु र अन्त्य भइसक्यो। केन्द्रहीनता भइसक्यो। मलाई मृत्युको यस खेलमा बाहुनवादको अन्त्य बोल्न मन लाग्यो, बोलेँ। मैले यसलाई कुनै जाति, क्षेत्र, विशेष ठानिनँ। कुनै कालखण्डमा उमि्रएको समाजको कुसंस्कार, अन्धविश्वास ठानेँ। यस खेलमा धेरै लिलिपुट र कम्ती गुलिबर छन्। यस्तो भत्काउन आए- संरचनावाद उल्टाउँदै उत्तर संरचनावाद, निर्माण भत्काउँदै विनिर्माण। थोरै शासक धेरै शासितको ठाउँमा अब शासित शासक र शासक शासित हुनुपर्छ भन्ने 'सबाल्टर्न स्टडिज' आयो रणजीत गुहाको नेतृत्वमा।
मैले 'अपमान' उपन्यासलाई पाठकको कठघरामा उभ्याएँ। के यसको अपराध 'इन्ड अफ बाहुनिज्म' हो? त्यो बाहुनवादले एउटा घरेलु सर्पजस्तै लिम्बू, राई, गुरुङ, मगर, शेर्पा, मधेस, पहाड, लिम्बुवान, खम्बुवान, पूर्वपश्चिम सबैतिर डसिरहेको छ। आफूभन्दा कमजोर, निरीह, दुर्बल, नारी, तेस्रो लिंगी, आदिवासी, जनजाति, उत्पीडित, बाहुन, क्षेत्री सबैमा। जातको उपजातभित्र पसेर डसिरहेको छ। संस्कार, स्वतन्त्रता, न्याय, अधिकार सबैतिर। लिम्बू राईले दलितलाई, बाहुनले आफ्नै बाहुनलाई। सबैले उत्पीडित र नारीलाई। दलित जातिभित्र पनि 'तँ सानो, पानी नचल्ने, छुवाछुत' जस्ता विषय उठ्छन्। लिम्बूको सुनौली रुपौली, जार उठाउने र गैर लिम्बूमा दाइजोप्रथामा आइरहेको छ। राई, लिम्बू, गुरुङ, मगरको गाउँमा आफूजस्तै मान्छेलाई सानो जात भनेर पढ्न, लेख्न नदिने, मन्दिर पस्न नदिने, पानी थाप्न नदिने संस्कारमा देखिन्छ। हिन्दुलाई हिन्दुले रामायण, महाभारत, वेदजस्ता ज्ञानगुनका पुस्तक पढ्न नदिने प्रचलन। पाश्चात्य साहित्य समालोचनामा ठेलीका ठेली पुस्तक लेखेर आफूलाई उम्दा साहित्यकार, समालोचक ठान्ने साहित्यिक गुरुको समालोचनामा किन परेन! किन परेन अनिता चमार, गोल्छे सार्की, मानबहादुर विश्वकर्माको भेदभावपूर्ण जीवन। सधैं पाश्चात्य अर्थ र भनाई ल्याएर वाचल हुने पण्डित्याइँको अन्त्य हुनुपर्छ। मैले बोलेको बाहुनवाद अन्त्य ती सबै विचार, व्यवहार, कुसंस्कार, अन्धविश्वास, साहित्य विलासी, रुढीको विरुद्धमा हो। मैले लेखेको अपमान नयाँ नेपालको पूर्व परिकल्पना हो। कुनै व्यक्ति, जाति विशेषलाई अपमान गर्नु होइन। गल्ती देखाउनु अपमान हुँदैन, सम्मान हुन्छ। म ऐतिहासिक गल्ती सच्याउन खोजिरहेको छु।

डिस्को, म्याक्डोनाल्ड केएफसीजस्तै स्वादिष्ट भनाई ल्याएर साहित्य गर्ने नामी साहित्यकारको नेपालमा हालीमुहाली छ। खोई बाहुनवादको अन्त्य लेख्ने साहसी साहित्यकार, समालोचक, पत्रकार! भनिन्छ- उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट जोगाउन सक्छ। कस्तो साहित्यलाई उत्तम मान्ने, कुन साहित्यिक कृति उत्तम छ भनेर बु‰न केही 'टचस्टोन' अथवा छानिएका, मानिएका 'राम्रा' शेक्सपियर, वर्ड्सवर्थ, किट्सजस्ता लेखकका कृतिलाई मापदण्डको रूपमा लिनुपर्छ। त्यस्ता कृतिले 'टचस्टोन' वा मापदण्डको काम गर्छन्। कुनै नयाँ कृति उत्तम छ वा छैन भनेर बु‰न ती कृतिलाई विश्वप्रसिद्ध 'टचस्टोन' सँग तुलना गरेर हेर्नुपर्छ। यदि नयाँ कृतिले पुराना 'टचस्टोन'झैं अनुभूतिको गहिराई वा शब्द संयोजनको सौन्दर्यशास्त्र प्रतिविम्बित गरेका छन् भने भन्न सकिन्छ- हो, यी नयाँ कृति उत्तम साहित्यिक र सांस्कृतिक कृृति हुन्।'
के म्याथ्यु आर्नोल्डले यस्तै समालोचना गरेर आफूलाई अमर बनाए? नेपाली साहित्य सधैं यही धारले चल्छ? कि बाहुनवाद अमर पक्ष हो? कुनै दिन सबाल्टर्न, दलित, उत्पीडित, मधेसी, आदिवासी, जनजाति, नारीको पक्षधर रेमन्ड विलियमजस्ता समालोचक, रणजीत गुहाजस्ता सबाल्टर्न स्टडिज आउँदैन? अवश्य डेरिडाजस्तो पुरानो संरचना भत्काउने उत्तरसंरचना समयको उड्ने घोडामा चढेर आउँछ। बेलायतमा पनि आयो। बेलायती मार्क्सवादी विचारक रेमन्ड विलियमले आर्नोल्डले औंल्याएको उच्च संस्कृति तथा लोकप्रिय संस्कृतिमध्येको विभाजनलाई प्रश्न गर्दै भने- आर्नोल्डले भनेको सांस्कृतिक विभाजन वर्गीय विभेदमा आधारित छ। के शेक्सपियर, किट्स, वर्ड्सवर्थजस्ता लेखक आफैं पनि उच्च वा मध्यमवर्गीय परिवार थिएनन्? विश्वविद्यालयका पाठ्यक्रममा 'प्रख्यात' लेखकका रचना उच्च वा मध्यमवर्गकै पाठकले पढ्दैनन्? मजदुर तथा किसानजस्ता वर्गकाले पढ्ने, सुन्ने लोकगीत वा कविता 'उच्च साहित्य'का भागमा हुनै सक्दैनन्? शेक्सपिएरकै समयमा अस्ट्रेलियाको कुनै आदिवासीले लेखेको साहित्य 'टचस्टोन' हुँदैन?
नेपाली साहित्यमा माओवादी राजनीति सुरु हुनुअगाडि २०५२ सालदेखि जातीय सवाल, संघीयताको धारणा, गणतन्त्रको वकालत गर्ने उत्तरनेपाली साहित्य 'अपमान' आयो। अपमानले वर्षौंदेखि चलिआएको बाहुनवादमा भएको कुसंस्कार, कुरीति, अन्धविश्वास, रुढिवादलाई उल्टाउने साहस गर्यो। नेपाली समाजमा राजनीति, धर्मसंस्कार यति बिघ्न विस्तार भएको छ। न यसको जरा काटेर हुन्छ न हाँगाबिगा। जति फैलियो उति विष हुन्छ समाजमा। कुनै व्यक्ति विशेषको आनुवांशिकता पनि होइन। जसले यसमा अंश दावी गर्छ उसलाई पनि यसले भष्म बनाउँछ। समाजमा यस्तो हानिकारक भष्मे राख्नु हितकर हुँदैन। यसलाई उन्मूलन नगरी समाजमा फैलिएको हत्या, हिंसा, बलात्कार, छुवाछत, भेदभाव समाधान हुन सक्दैन। दिनदिनै निर्दोष छोरीचेली बलात्कारको शिकार भइरहेका छन्, छाउपडीको कारण गोठतिर मरिरहेछन्। गरिब हुँदा बोक्सीको आरोपमा जलाइन्छ। उच्च जातको गर्भ बोकेर अनिता चमार प्रशासन र सञ्चारको संरक्षणमा आइपुगिन्। कसले भन्न सक्छ यसमा बाहुनवादको वीर्य छैन भनेर? जातीय, लैंगिक भेदभावको बीज कुनै जंगलमा पनि उमि्रन सक्छ। शिशुपाललाई कृष्णले धेरै अपमान गरेको फल दियो महाभारतमा। भेदभावकारी समाजको 'अपमान' उपन्यासले मात्र होइन, धेरै-धेरै अपमानले धावा बोल्नुपर्छ। देशमा विद्यमान आर्थिक, सामाजिक, राजनैतिक सबै समस्याको रुढ बाहुनवाद होइन र? सबैतिर जातीय समन्वय, सहअस्तित्व, प्रेम, सम्मान, आदरको भावना विकास गर्न सबै जातमा भएको 'बाहुनवाद' को अन्त्य हुनुपर्छ तब मात्रै साँच्चैको 'नेपाल' बन्छ।
(साभार-नागरिक १फागुन २०१३)