Thursday, February 13, 2014

भ्रष्टाचार ; एउटा मनो-सामाजिक समस्या


१. भ्रष्टाचार के हो ?

भ्रष्टाचार उज्यालोमा ओईलाउने र अँध्यारोमा मौलाउने मनो-सामाजिक रोग हो ।
भ्रष्ट्राचार शव्द भ्रष्ट्र र आचार दुई शव्द मिलेर बनेको छ । जहां भ्रष्ट्र भन्नाले पतित, निच,खराव काम गर्नु भन्ने बुझिन्छ भने आचार भनेको व्यबहार,वानी,संस्कृति हो । तसर्थ भ्रष्ट्राचार भनेको खराव काम गर्ने वानी,व्यवहार शैली हो । खराब वा विग्रिएको व्यवहारलाई भ्रष्टाचार र त्यस्तो व्यवहार गर्नेलाई भ्रष्टाचारी भनिन्छ । जनजिव्रोमा घुस खाने कामलाई भ्रष्टाचार भन्ने गरेको पाईन्छ। भ्रष्टाचारका कैयन् प्रकार मध्ये घुस खानु एउटा प्रकार हो। यो नै बढी चलनचल्तीमा आउनुमा सामाजिक मनोविज्ञानको ठूलो हात छ। सामाजिक मूल्यको दृष्टिकोणबाट अन्य बस्तुको भन्दा पैसाको महत्व बढी भएको हुँदा पैसाको माध्यमबाट गरिने भ्रष्टाचार प्रचलित भएको हो। अन्यथा मूल्य, मान्यता, नैतिकता, व्यवहार, धर्म, कानुन आदिले वर्जित वा निरुत्साहित गरेको कुनै पनि काम गर्नु भ्रष्टाचार हो
 वास्तवमा यस्तै असंख्य अदृष्य प्रकारका भ्रष्टाचारले समाज प्रणालीलाई बढी जर्जर पारिरहेको हुन्छ। देखिएको भ्रष्टाचार त छाला बाहिर देखिएको पिलो जस्तो मात्र हो, जुन चाहेको बेला निचोरेर फाल्न सकिन्छ। तर अदृष्य र अप्रत्यक्ष भ्रष्टाचार त शरिरभरी फैलिएको विष जस्तो हो । यसलाइ न सर्वसाधारणले देख्न सक्छ न त तुरुन्त निकालेर फाल्न सकिन्छ। विशेष ज्ञान, साधन, समय, धैर्यता र पीडा सहन सक्ने क्षमता भए मात्र त्यसलाई हटाउन सकिन्छ ।
नेपालको सन्दर्भमा पूर्व मेचीको भन्सारमा भ्रष्टाचार छ, पश्चिम कालीको धन्सारमा पनि छ। उत्तरको हिमाल चढ्नेदेखि दक्षिणको चारकोसे फाँड्नेसम्म भ्रष्टाचार भैरहेको हुन्छ। यसरी भ्रष्टाचार चारै दिशामा हुने भएकाले भ्रष्टाचार भएको हो। एक ठाउँ वा एक दिशामा मात्र हुने भए त्यो 'भ्रष्टएक' हुन्थ्यो ।.

राणाशासनले भ्रष्टाचारको बीउ छर्‍यो । पञ्चायती व्यवस्थाले त्यसमा मलजल गर्‍यो। बहुदलीय व्यवस्थाले गोडमेल गरेर हुर्काएको भ्रष्टाचारको वृक्षलाई गणतन्त्रले संरक्षण गरिरहेको छ। यो देशमा एउटै व्यवस्था हुन्थ्यो भने भ्रष्ट एकमात्र हुन्थे। तर, व्यवस्था नै चार भोग्नुपरेकाले त्यो भ्रष्टाचार भएको हो पनि भन्ने गरिन्छ ।  
२. भ्रष्टाचार कति किसिमका हुन्छन ?
भ्रष्टाचार कति प्रकारका हुन्छन् भन्ने कुनै निश्चितता छैन। यसबाट उत्पन्न असर वा नोक्सानको मात्रा, त्यसबाट प्रभावित व्यक्ति, समाज वा राज्य, भ्रष्टाचार गर्न प्रयोग गरेको तौर तरिका वा माध्यम, त्यसवापत लिएको अनुचित प्रतिफलको प्रकृति आदिका आधारमा हेर्ने हो भने भ्रष्टाचार अनगिन्ति प्रकारका हुन्छन् ।
ü  प्रत्यक्ष अप्रत्यक्ष,
ü  ठूलो सानो,
ü  तत्काल दिर्घकाल,
ü  सकृय निस्कृय,
ü  राष्ट्रिय अन्तर्राष्ट्रिय,
ü  आर्थिक भौतिक,
ü  नीतिगत व्यवहारगत,
ü  हाकाहाकी लुकीछिपी,
ü  नीजी सामुहिकससक्तसुस्त,
ü  जानीजानी अन्जानमा,
ü  स्वेच्छिक जर्वजस्ती,
ü  राज्यविरोधी व्यक्तिविरोधी,
ü  व्यापक संकुचित आदि ।
अनगिन्ति प्रकार र तरीकाका भ्रष्टाचार हुन्छन्। यी मध्ये पछिल्लो समयमा नीतिगत भ्रष्टाचार ज्वलन्त रुपमा पंञ्जा फैलाउँदै छ हाम्रो समाजमा। यो यस्तो प्रकारको भ्रष्टाचार हो जसमा नीति निर्माणमा बस्नेले वा बसाउनेले आफू, आफ्ना मान्छे, आफूलाई आजै वा दिर्घकालमा लाभ हुनेगरी नीति, कार्यक्रम, योजना, नियम कानुन बनाई राज्य र जनतालाई चुस्दछन् र यो कुरा पत्ता लगाउन पनि गाह्रो हुन्छ। उच्च ओहदामा बस्नेले आर्थिक उथल पुथल हुने गरी ठूलो रकम हिनामिना गर्नु मात्र भ्रष्टाचार हो भनी बुझ्नु हुँदैन। घुसखोरी र भ्रष्टाचारलाई पर्यायवाची शब्दका रुपमा हेर्ने गरेको हुँदा यस्तो लाग्दछ। घुसखोरी त भ्रष्टाचारको एउटा प्रकार मात्र हो। परिचित र नातागोताकालाई लाइनमा नबसी वा लाइन मिचाएर सेवा उपलब्ध गराउनु पनि भ्रष्टाचार हो रिफिल गरेर पुरानो डटपेन प्रयोग गर्ने स्थिति हुँदाहुँदै नयाँ डटपेन किन्नु पनि भ्रष्टाचार हो । तर यस्ता व्यवहारको त्यसको तत्काल आर्थिक प्रभाव नदेखिने हुँदा त्यसबारे चर्चा हुँदैन र कसैलाई दण्डित पनि गरिदैन ।  
३. प्रचलित कानूनमा भ्रष्टाचार भन्नाले के के बुझिन्छ ?
 भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ मा भ्रष्टाचार भन्नाले निम्न कामहरुलाई जनाउदछ ।
ü  रिसवत लिने दिनेले
ü  बिना मूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिने ।
üसेवाग्राहिबाट  दान, दातव्य, उपहार वा चन्दा लिने।
ü  गैर कानुनी लाभ वा हानि पु-याउने बदनियतले काम गर्ने
ü  लत लिखत तयार गर्ने।
ü  गलत अनुवाद गर्ने ।
ü  सरकारी कागजात सच्याउने
ü  सरकारी वा सार्वजिनक संघसंस्थाको कागजात नोक्सान गर्ने ।
ü  प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल गर्ने
ü  गैर कानुनी व्यापार व्यवसाय गर्ने ।
ü  नपाएको ओहदा पाएँ भन्ने ।
ü  झुट्टा विवरण दिने।
ü  सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने।
ü  गैर कानूनी दवाब दिने।
ü  गलत प्रतिवेदन दिने।
ü  भ्रष्टाचारको उद्योग गर्ने र यस्ता काममा मतियार हुने।
४. अनुचित कार्य भन्नाले के बुझिन्छ?

सार्वजनिक पद धारण गरेको व्यक्तिले जानी जानी वा लापरवाही साथ देहायको कुनै
कार्य गरेमा अनुचित कार्य गरेको मनिनेछः
(क) आफ्नो अधिकार भित्रको कुनै काम गर्न इन्कार गरेको वा आफ्नो अधिकार नभएको कुनै  काम गरेको,
(ख) कुनै निर्णय वा आदेश गर्दा वाध्यात्मक रूपले अपनाउनु पर्ने कार्यविधिको पालन नगरेको,
(ग) आफूलाई प्राप्त अधिकार सम्बन्धित कानून, निर्णय वा आदेश विपरीत अर्कै उद्देश्य वा कार्यमा प्रयोग गरेको,
(घ) आफ्नो तजबिजी अधिकार बदनियत साथ वा स्वेच्छाचारी रूपमा प्रयोग गरेको,
(ङ) अन्य कार्यालय, अधिकारी वा कर्मचारीको कार्यमा अनाधिकार बाधा उत्पन्न गरेको वा त्यस्तो कार्यालय, अधिकारी वा कर्मचारीलाई दवाब दिई कुनै अनधिकृत कार्य गराएको,
(च) आफूले गर्नु पर्ने कुनै काम नगरी अन्य कार्यालय वा अन्य अधिकारी कहाँ पठाई आफ्नो  उत्तरदायित्व पन्छाएको,
(छ) आफ्नो पदको प्रकृति अनुसार पालन गर्नु पर्ने कुनै पदीय कर्तव्य पालन नगरेको,
(ज) आफ्नो मातहतमा रहेको कर्मचारी वा आफ्नो प्रभावमा रहेको व्यक्तिलाई अनुचित दबाब  दिई वा प्रलोभनमा पारी आफ्नो अनुकूलको काम गराएको, वा
(झ) आफूलाई पदीय हैसियतले प्राप्त उन्मुक्ति, सुविधा वा सहुलियतको दुरुपयोग गरेको ।

. समकालिन विश्व र नेपालमा भ्रष्टाचारको मात्रा कति छ ?

भष्टाचारको चर्चा सर्वत्र छ, भ्रष्टाचार पनि सर्वत्र छ । यसलाई आमछलफलको विषय पनि बनेको छ । भ्रष्टाचारमा आपराधिक र राजनीतिक संगठनको साँठगाँठ भएपछि भने मुलुकले भयावह अवस्थाको सामना गर्नुपर्ने हुन्छ। नेपालमा अहिले त्यही प्रक्रिया अगाडि बढेकाले सर्वत्र चिन्ता, चर्चा र भयको सञ्चार भएको छ ।तर  सदाचारी र असल नियत राख्नेहरुले निराश नै हुनुपर्ने अबस्था पनि छैन।
भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार यो वर्ष नेपाल दक्षिण एसियाली राष्ट्रहरूमध्ये कम भ्रष्टाचार गर्ने सूचीको चौथो स्थानमा उक्लेको छ ।  
ट्रान्सपरेन्सी इन्टरनेसनलनेपालले सार्वजनिक गरेको प्रतिवेदन२०१३ मा नेपाल त्यो स्थानमा उक्लिएको जनाइएको छ ।  दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा कम भ्रष्टाचार गर्नेमा भुटानले ६३ अङ्क, श्रीलङ्काले ३७, भारतले ३६ र नेपालले ३१ अङ्क प्राप्त गरेको छ ।  सन् २०१२ मा नेपाल २७ अङ्क प्राप्त गरी १३९औँ स्थानमा रहेको थियो ।  यद्यपि ५० अङ्क प्राप्त नगर्ने सबै मुलुकलाई भ्रष्टाचारग्रस्त मुलुकका रूपमा पहिचान गरिएको ट्रान्सपरेन्सीले जनाएको छ ।  
सन् २००४ देखि उक्त सूचीमा नेपाललाई समावेश गरिँदै आएको छ ।  नेपालले सन् २००४ मा २८, सन् २००५ मा २५, सन् २००७ मा २५, सन् २००८ मा २७, सन् २००९ मा २३, सन् २०१० मा २२, सन् २०११ मा २२ र सन् २०१२ मा २७ अङ्क प्राप्त गरेको थियो ।
विश्वभरिका १७७ मुलुकमा गरिएको सर्वेक्षणअनुसार नेपाल यसपालि सूचकाङ्कको ११७औँ स्थानमा छ ।  दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान सबैभन्दा बढी भ्रष्टाचार गर्ने मुलुकमा देखिएको छ ।  उसले जम्मा आठ अङ्क प्राप्त गरेको छ ।  सोपछि बङ्गलादेशले २७ र पाकिस्तानले २८ अङ्क प्राप्त गरेको छ ।
 
सूचकाङ्कअनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने अन्य मुलुकमा उत्तर कोरिया र सोमालिया रहेका छन् ।  उनीहरूको पनि आठ अङ्क मात्र छ भने क्रमशः १७६ र १७७औँ स्थानमा छन् ।  यस्तै, सबैभन्दा कम भ्रष्टाचार गर्नेमा डेनमार्क र न्युजिल्यान्ड छन् ।  उनीहरूको कुल अङ्क ९१ छ ।  भ्रष्टाचार कम गर्ने राष्ट्रमा क्रमशः फिनल्यान्डले ९१ अङ्क, स्वीडेनले ८९ अङ्क, नर्वेले ८६ अङ्क, सिङ्गापुरले ८६ अङ्क, स्वीट्जरल्यान्डले ८५ अङ्क, नेदरल्यान्डले ८३ अङ्क, अष्ट्रेलियाले ८१ अङ्क, क्यानाडाले ८१ अङ्क र लक्जेम्बर्गले ८० अङ्क पाएका छन् ।  यस्तै, धेरै भ्रष्टाचार गर्ने राष्ट्रमध्ये उत्तर कोरियाले आठ अङ्क, सुडानले ११ अङ्क, लिबियाले १५ अङ्क, इराकले १६ अङ्क, सिरियाले १७ अङ्क, यमनले १८ अङ्क, हाइटीले १९ अङ्क, भेनेजुयला, इरिट्रिया र कम्बोडियाले २०÷२० अङ्क प्राप्त गरेका छन् । 

सर्वेक्षणबाट प्राप्त सूचकाङ्कअनुसार प्रायः सबै मुलुकमा भ्रष्टाचार हुने गरे पनि मात्रात्मक रूपमा फरक रहेको देखिन्छ ।
५० अङ्क प्राप्त नगर्दासम्म भ्रष्टाचारग्रस्त मुलुकमा सूचीकृत हुने हुनाले नेपालले त्यसमा सतर्क हुनुपर्ने स्थिति छ । पाँच संस्थाले गरेको सर्वेक्षणले सार्वजनिक पदको दुरुपयोग गर्नेमाथि कारबाही, सार्वजनिक क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार, व्यावसायिक कार्यका लागि दिने घूस, सरकार, न्यायालय, संसद्का प्रतिनिधिहरूले निजी स्वार्थका लागि गरेको पदको दुरुपयोग, व्यापारमा भ्रष्टाचारजस्ता विषयलाई सर्वेक्षणको आधार बनाई यो प्रतिवेदन तयार गरिएको हो ।

६.  भ्रष्टाचार र समाजको अन्तसम्बन्ध कस्तो छ ?
जे गर्नु हुन्छ त्यो नगर्ने वा गर्न नहुने गर्नु नै भ्रष्टाचार हो। यो एउटा कृया हो। हरेक कृयाको पछाडि कारण र अगाडि त्यसको नतिजा जोडिएको हुन्छ। भ्रष्टाचार गर्नुका धेरै कारण हुन सक्छन्। त्यस मध्ये सामाजिक मनोविज्ञान पनि एउटा कारक तत्व हो। हरेक व्यक्ति भित्र स्वभाविक रुपमा लुकेको ठूलो, राम्रो, प्रतिष्ठित, बलियो, उच्च बन्ने अभिलाषा र कस्तो व्यक्तिलाई ठूलो, राम्रो, प्रतिष्ठित, बलियो, उच्च मान्ने भन्ने सामाजिक मूल्य प्रणाली र यी दुई वीचको अन्तरसम्वन्ध नै भ्रष्टाचारको एउटा कारक हो। अझ हाम्रो जस्तो मुलुकमा त यसको ठूलो भुमिका छ। धन कमाउनेलाई राम्रो मान्छे मान्ने सोचाइ त संस्कारकै रुपमा विकास भईसक्यो। त्यसैले त वार्षिक डेढ् दुई लाख तलब खाने व्यक्तिले पाँच वर्षकै सेवा अवधिमा '' श्रेणीको जीवनस्तर बाँचेर पनि २४ करोडको सम्पत्ति जोडेको विषय उसका आमा बुबा, मामा माइजु, सासु ससुरालाई गर्वको विषय बन्न पुग्छ। यहि नै ठूलो विडम्बना हो। ट्युसन पढाउने समय पनि सरकारी स्कुल, क्याम्पस मै खर्च गरी विद्यार्थीलाई उँभो लगाउन तल्लिन शिक्षकको सानो झुपडी कै सामुन्ने बस्ने भ्रष्टाचार गरी कमाएको धनले बनेको आलिशान महल प्रतिष्ठित हुन गयो भने भ्रष्टाचारलाई मलजल पुग्दछ । यो सवै हुनेलाई ठूलो मान्ने संस्कारको उपज हो ।
कानुनको शासन, लोकतन्त्र, गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता एवं सुशासन प्रवर्द्धन गर्ने सरकारको अभिष्ट पुरा गर्नमा आज विश्वभर नै स्वेतपोशी अपराधको रुपमा रहेको भ्रष्टाचार एक प्रमुख अवरोधको रुपमा स्वीकार गरिएको छ । खासगरी नेपाल जस्ता विकासोन्मुख मुलुकमा राजनीतिक अस्थिरता, सामाजिक तथा सांस्कृतिक विकृति एवं आर्थिक अनियमितता बढ्दै जानुमा भ्रष्टाचार प्रमुख कारकको रुपमा रहेको छ । मुलुकमा संक्रमणकाल लम्बिदै जाँदा राज्य र यस अन्तर्गतका निकायहरुको शासकीय क्षमतामा ह्रास आउने र विभिन्न क्षेत्रमा अस्थिरता बढ्ने हुँदा यि परिस्थितिले भ्रष्टाचारलाई नै प्रश्रय दिने गर्दछन ।

७. भ्रष्टाचार नियन्त्रणमा अख्तियारले के गर्छ ?

     अख्तियार दुरुपयोग अनुसन्धान आयोग सार्वजानिक पद धारण गरेको व्यक्तिवाट हुने विभिन्न किसिमको अख्तियार दुरुपयोग अनुचित कार्य एवं भ्रष्टाचार विरुद्ध कार्यरत उच्च संवैधानिक निकाय हो । देशको सर्वोच्च कानून नेपालको अन्तरिम संविधान २०६३ ले आयोगका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । भ्रष्टाचार तथा सार्वजनिक पद धारण गर्ने व्यक्तिको अनुचित गतिविधि जस्ता अख्तियार दुरुपयोग सम्बन्धी विषयमाथि अनुसन्धान गर्ने र अदालतमा मुद्दा चलाउने विषयमा आयोग केन्द्रित छ । यसका लागि आवश्यक अन्य कार्य गर्न पनि आयोगलाइ सशक्त पारिएको छ ।

नेपालको अन्तरिम संविधान, २०६३ को भाग ११ धारा ११९, १२० र १२१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरी सार्वजनिक पदधारण गरेका पदाधिकारीहरुद्वारा हुने अनुचित कार्य भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ द्वारा प्रदत्त अधिकार अनुसार आयोगले आफ्नो स्थापना काल देखी नै भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा विभिन्न दण्डात्मक, निरोधात्मक र प्रवर्द्धनात्मक उपायहरु अवलम्वन गरी मुलुकमा भ्रष्टाचारमुक्त विधिको शासनको प्रत्याभूति दिन प्रयत्नशील रही आएको छ ।