Monday, April 30, 2018

श्रीभावर लेकमा मृत्युस्पर्श !

श्रीभावर लेकमा मृत्युस्पर्श ! –विजय चालिसे

(मधुपर्क–५६१, वर्ष ४८ अङ्क १० मा फागुन २०७२ मा प्रकाशित) २०३६ माघ २८ गते, साँच्चिनै त्यो दिन मृत्युको संत्रासले नजिकैबाट छोइएको थिएँ म । धेरै पुरानो त्यो सम्झना मनको क्यानभासमा तैरिएको छ आजसम्म । यतिपुरानो यात्राको सम्झना यात्रासंस्मरण हुन्छ, हुँदैन मलाई थाहा छैन तर धेरै वर्षपछि पल्टिएका यी विगत पन्नामा लाग्छ, मेरा यात्राका गतिशीलता छन् र छन् भ्रमणआर्जित अनुभूतिका स्पन्दन पनि छ ! अघिल्लो वर्ष त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय विकास सेवामा डोटीबाट फर्केपछि लगत्तै जुटेको सुदूरपश्चिमका तीन जिल्लाको भ्रमणमा थिएँ म यतिबेला । सन्दर्भ थियो प्रवेशिका परीक्षाको प्रश्नपत्र तीनजिल्लाका सम्बन्धित जिल्ला शिक्षा कर्यालयमा सुरक्षित पु¥याइदिनु । शुरुमा त द्विाविधा थियो । काम अलि जोखिमको । तर डोटी, बझाङ र बैतडी गइसकेको भएपनि दार्चुला नितान्त नौलो थियो । त्यसमाथि पनि दार्चुलाको नाउँबाट केटाकेटीदेखि नै सम्मोहित थिएँ म । पिताजी म आठ वर्षको छँदै पुग्नु भएको थियो दार्चुृला १९९८ सालको कुनै समय । हजूरबा मालको डिठ्टा भएर दार्चुला बस्दा पुग्नुभएका पिताजीले त्यहीँका एकजना प्रतिष्ठित अवस्थी परिवारका खिमानन्दसँग मीतलाउनु भएको थियो । तिनै मीतबा कहिलेकाहीँ आरुबारीमा झुल्किने गर्नुुहुन्थ्यो । कहिले जेठी छोरी नारा साथ हुन्थिन, कहिले आफूमात्रै । नारा पछि सानो ठिमीमा शिक्षासम्बन्धी अध्ययनगर्दा केही दिन यहाँ पनि बसेकी थिइन । विहेपछि जोशी बनेकी नारा अहिले महेन्द्रनगरमा आफैं प्रतिष्ठित जीवन बिताइरहेकी छन् र सुदूरपश्मिकी स्थापित शिक्षिका र आशालाग्दो साहित्यिक प्रतिभाको परिचय स्थापित गर्दै अघि बढिरहेकी छन । एउटा लघुकथा सङ्ग्रहको प्रकाशन गरिसकेकी छन् उनले । त्यतिबेला म मीतबाद्वारा काखमा लिएर सुम्सुम्याउने न्यानो मायाबाट बढी छोइन्थेँ ंसायद । आकर्षणको अर्को दरिलो कारण भने उहाँ आउँदा खानपाइने दार्चुलाका स्थानीय र अरु हलुवाई पसलका थरीथरी मीठा मिठाई पापा बन्थे । तिनै आकर्षणले मीतबा आउँदा हामीमा पनि खुसीयाली आउँथ्यो । प्राय घरमैं नबस्ने पिताजीलाई कहिलेकाहीँ आउने मीतबाको जस्तो हामी केटाकेटीलाई काखमा खेलाएर माया देखाउने समय कहाँ हुनु । सके त्यही अभावको बालमनोविज्ञानले हामीलाई मीतबाको आगमन बढी आकर्षक बन्ने गथ्र्याे पनि ! सानैदेखि मनको कुनै कुनोमा रहेको यही मीतबाको दार्चुला आकर्षणका कारण जोखिमकै भएपनि यो कामको जिम्मा लिएर बझाङ हुँदै बैतडी आइपुगेको थिएँ मेरो वाल्यकालीन कल्पनाभूमि दार्चुला पुग्न ! माघ २५ गते काठमाडौंबाट ११ बजे नेपालगन्ज उत्रिएर पन्धै्र मिनेटमा अर्को विमानद्वारा मध्याह्नतिर बझाङको माटो छोएदेखि नै यात्राका एकपछि अर्को रोचक यथार्थसँग साक्षात्कार हुँदै थिएँ । विमानस्थलमैं यस्तै रमाइलो यथार्थ पर्खिरहेको थियो । त्यो यथार्थ थियो बझाङगी समाजको सम्भ्रान्त दम्भ ! विमानस्थलमा उत्रिएपछिको मेरो पहिलो काम थियो प्रश्नपत्रको गोप्य पोका जिल्ला शिक्षा कार्यालयसम्म लगिदिने भरिया खोज्ने । हातमा नाम्लो बोकेर बसेको एकजना भरियालाई अनुरोध गरेँ– “जिल्ला शिक्षा कार्यालय पु¥याउनुपर्ने, जाने हो” प्रश्नकर्तातिर राम्ररी हेर्दा पनि नहेरी जवाफ मिल्छ– “हामी जान्या होइन.....!” एकजना होइन, दुईजना होइन । जतिलाई सोध्यो एउटै जवाफ– – “हामी जान्या होइन.....!” त्यो देखेर निकै अघिदेखि मेरो समस्या नियालिरहेका एकजना मेरो नजिकै आए । काठमाडौ ंितरैका जस्तो देखिन्थे । उनले भने– तपाईँ यता नौलो देखिनुहुन्छ । यहाँको कुरा राम्ररी बुझ्नु भ’को छैन । यी ठकुरी भरिया आफूलाई खान्दानी ठकुरी ठान्छन्, पुराना शासक वर्गका सन्तान । हिङ नभएपनि हिङ्को टालो त छ नि भन्ने मानसिकताबाट ग्रसित यी ठकुरीलाई दरबारी भाषाको प्रयोग गर्नुपर्छ ।” अनि उनैले मलाई अर्को एकजना भरियाको नजिकै लगेर भने– “यी नेपालबाट आएका गोर्खाली पाहुनाकन जिल्ला शिक्षा कार्यालय पुग्नुपर्ने रे, अलिकति सामान लगिदिने हो कि बाउसाप् !” उनले प्रयोग गरेका शब्द यिनै थिए कि थिएन््, अहिले यकिन भन्न सक्दिन । तर भाव भने यस्तै थियो । दरबारिया र खान्दानी ठकुरी परिवारमा प्रयोग हुने शासकीय भाषा ! त्यति भन्नु के थियो, उनी भारी समाउन तयार भइहाले । प्रष्ट थियो, भारी बोकेरै जीवन बाँच्न वाध्य भए पनि उनीहरू आफूलाई अझै सम्भ्रान्त ठकुरी शासक ठान्छन् र खान्दानी गौरवको भ्रम बोकेर बाँच्छन् । सम्भ्रान्तताको अझै विद्यमान् त्यो भ्रामक यथार्थसँग साक्षात्कार गरेर शिक्षा शाखाको आतिथ्यमा बित्यो त्यो रात ! यहाँ बुझाउनुपर्ने कुरा हिजै जिम्मा लगाइसकेको थिएँ । अब को पहिलो गन्तव्य थियो बैतडी । त्यहाँ प्रश्नपत्रको पोका जिम्मा लगाएर त्यही जिम्मेवारी पूरागर्न पुग्नुपर्ने मेरो दोश्रो गन्तव्य दार्चुला ! त्यसैले जिल्ला प्रहरी कार्यालय र शिक्षा कार्यालयले व्यवस्था गरिदिएका प्रहरी र भरिया एकएक जना साथ लिएर भोलिपल्ट माघ २६ गते विहान ११ बजेतिर बझाङको चैनपुर छाडँ ! अहिले त्यतैका बासिन्दालाई समेत कथा लाग्ला । तर त्यतिबेला यी भूभागका यात्रा कम रोमाञ्चक थिएनन । कम कष्टकर बन्दैनथे यस्ता यात्रा । मोटर बाटोको त कल्पनै नगरा,ैं पैदल यात्राका लागि समेत सहजमार्ग कतै थिएन । रात बिताउन बास पाउनु चिठ्ठा पर्नु सरह ! त तिनै रोमाञ्चक र कष्टकर यात्राको मार्गमा प्रवृत्त थिएँ म यतिबेला । बझाङ आउँदा जस्तो विमानको सुविधा थिएन अबको यात्रामा तर पनि सोचेजति कठिन थिएन थिएन आजको हिँडाइ । सेतीको कलकलसँगै किनारैकिनार लमतन्न पस्रिएको बाटो हिँड्दा हिँड्दा कहिल्यै नसकिने । कतिबेला साँझ निम्त्यायो त्यो पट्यारिलो बाटोले, राम्रो हेक्का समेत थिएन । त्यसमाथि जति अगाडि बढे पनि न नदी किनारामा लम्बेतान पस्रिएको त्यो बाटो कतै टुङ््िगन्छ, न बस्ने बासै भेटिन्छ । आठ बजे झोता पुग्दा समेत भरपर्दो बास भेटिएन । एउटा झुप्रोबाहिर पुरानो मोट्टो मागेरै मेरो सयनको व्यवस्था गरे सहयोगी साथीहरूले । बास खुला आकासमुनि धूलोमाथिको थोत्रो मोट्टो, खान्की बाटाम किनेको माछा र भरियाले बोकेको चामलको सामल जोरजाम पारेर तिनै सहयोगीले तयार गरेका चौरासी व्यञ्जन ! माघको महिना, खुला आकाश मुनिको रात्रिशयन ! चिसोले कठ्याङ्ग्रिएर मरिने त होइन ? मन आशङ्कित भए पनि अर्को कुनै उपाय थिएन तर अचम्म ! खासै चिसो अनुभव भने भएन । थोत्रो मोट्टोबाट आक्रमणमा उत्रिएका उपियाँका टोकाइ भने रातको चिसोभन्दा पनि असह्य थियो । जसरीतसरी रात बित्यो । यो मानिस परिआउँदा जस्तोसुकै परिस्थितिसँग पनि सम्झौता गरेर बाँच्ने सामथ्र्य राख्छ भन्ने यतिखेर मैले सिकेको अमूल्य पाठ थियो यो । कष्टकर रात्रि विश्रामपछि विहान साढे छबजे नै छाडियो झोता, रोमाञ्चक अनुभ समेटेर ! बाटोमा बजु¥यालहरूको हातले बुनेको सुन्दर भाङ्ग्रो चिनोस्वरूप किनेर हिजोदेखि लगातार पछ्याइएको सेतीकिनार छाड्यौं । त्यहाँबाट एकघन्टा जतिमा पुगियो तत्कालीन रायल गाउँ पञ्चायतमा पर्ने चौडामको एउटा सानो दोकानमा । सेतीको किनारा पछ्याउँदै जाँदा तलारा–ढुङ्गाड हुँदै डँडेल्धुरा पुगिन्थ्यो । हामी त्यो छाडेर बैतडीको झुलाघाट जाने बाटो समात्यौं– कलङ्गागाडको किनारै किनार ! यही चौडानको दोकानमा खाना खाएर लागियो बाटो । बाटोभरि डँडेल्धुरा जाने–आउने भरिया र भेडाबाख्राको दोहोरो लाम छ । अहिलेसम्म त्यति उकालो चढ्नु परेको थिएन, गाडपारि पुगेपछि भने हामीलाई ठाडो उकालो पर्खिरहेको थियो । बगाउनु बगायो पसिना त्यो थोरै तेर्साे, धेरै उकालो बाटोले ! हिँड्दा हिँड्दा साँझ पाँच बजिहाल्यो देउलेक पुग्दा । हिजो हिँडेदेखि भेटेको सर्वाधिक सुन्दर ठाउँ थियो देउलेक । पाँच कक्षासम्मको पढाइहुने स्कुल र हेल्थ पोष्टसमेतको सुविधा कमै गाउँमा हुन्थे त्यतिखेर ! त्यहाँबाट अलि अघि बढेर चिरडुङ्गीको एउटा दोकानमा जु¥यो आजको बास ! भरिया र प्रहरी मिलेर खाना त बनाए, तरकारी केही छैन । पारितिर बाक्लै हिउँपरे छ, यहाँसम्म हिउँको हावाले टिप्पा दिइरहेछ । त्यत्तिकैमा त्यही पसलसँगैका एकजना बम थरका मानिस आए, नाउँ बिर्सिएँ । नौलो मानिस देख्दा जिज्ञासा जाग्नु स्वाविकै थियो । उनै अघि सरे कुराकानीका लागि । सुृरुमा टप्न खोजेका थिए । उनी त्यही द्यौलेक गाउँ पञ्चायतका प्रधानपञ्च रहेछन् । पछि राम्रै कुराकानी भयो । चिसोबाट कसरी बच्ने जस्तो लागेको थियो, तिनै बमले चाहिँदैन भन्दाभन्दै कुस्त ओढ्ने ओच्छ्याउने पठाइदिए । रात आरामले कट्यो । देउलेकको बास छाडेर लेर्मामा चिया खाँदै थियौं, एउटा नमीठो खबर रेडियोबाट तरङ्गित हुँदै सिंगो वातावरण भिजाउन आइपुग्यो । अस्ति २६ गते नेपाली जागृत्तिको शङ्खघोष गर्नेमध्येका श्रद्धेय कवि धरणीधर कोइरालाको निधन भएछ । चियास सकेर केहीबेर तेर्सोलाग्दा नलाग्दा उकालोले चुनौती दिइहाल्यो । माघ महिनामा समेत पसिनाले नुहाएका हामीलाई बित्थड भन्ज्याङले चिसो हावाको सिरसिरसहित न्यानो स्वागत र केही राहत दियो । भन्ज्याङमाथि सिरसिर बग्दो हावा, दायावायाँ चाँदी झैं टल्किने धवल हिमशिखरको बीचबाट अघि बढिरहेका हामी ! साँच्चि नैं सुन्दरथियो प्रकृति । उकालो चड्दाको गर्मीलाई बिस्तारै हिउँको ठन्डीले धपाउँदैथियो । विहानको साढे आठ बजेको थियो, हामी भन्ज्याङ छाडेर फेरि अघि बढ्यौं । बीचमा फेलापरेको सानो चियापसलमा चियाको तलतल मेटियो । त्यही पसलमा मासु देखेछन् थापाले; फर्मास गरिहाले – अलिकति मासु पनि लिउँ सर !” लौ न त भनेर मासु किनी हिँड्ने तर्खर ग¥यौं । थापा भने आँखा छलेर रक्सी धोक्न थाले छ ! यति गिलाँसको सकेर आइहाल्छु भनेको थापा अहिले आउला छैन, भरे आउला छैन । माथि थली पुगेर भरिया खाना बनाउन थाल्यो, बोकेको मासु समेत उही जँड्याहा थापाको साथमा । के गर्नु हरामदेखि दैव डरा भनेजस्तै भयो । बाटो हिँडनेले दिएको अलिकति घिउसँग भात खाएर भोक मेटाइयो । खाना खाएर १२ बजेतिर उकालो लाग्नासाथ हिउँ जमेको चिप्लो बाटो सुरु भइहाल्यो । हिँड्ने त के कुरा, कहिल्यै हिउँ नदेखेको मान्छे– लगभग एकफिट हिउँ जमेको चिप्लो न चिप्लो उकाली ओराली– जीवनकै कष्टकर यात्रा थियो मेरालागि यो आजको यात्रा । जमेको हिउँ फलाम झैं साह्रो, खुट्टै नअड्ने गरी सुलुत्त चिप्लिहाल्ने । भ्रियाले टुप्पो ताछेर हिउँमा गाड्दै टेक्न भनी बनाइदिएको लट्ठी पनि केहीबेरमैं कुच्चिएर गाडिँदै नगाडिने भयो ! खुट्टा एकठाउँमा अड्दैन, चिप्लिएर लडियो भने बाह्र–पन्द्र सयफिट तल भिरमा खसेर हाडखोर समेत फेला नपर्ने ! चारहात खुट्टा टेकेर बामेसर्दै, छेउछाउको बुटयान समातेर अघि बढ्नुको विकल्प थिएन । त्यसै गरेर अघि बढ्दै थिएँ । हातले भर लिएको बुट्यानको हाँगा चँुडियो । चिप्लिँदै पाँच फिट जति तल खस्नपुगेँछु ! तै जीवनसङ्घर्षको आयु सकिएको रहेनछ र एउटा अर्को सानो बुट्टोमा अडकिन पुगेछु । नत्र सयौं फिट तल खसेर..... ! भरियाले सकी नसकी हातदिएर माथि तान्यो र लामो सास तानेँ– तै बाँचियो ! अझैं सकिएको थिएन सङ्घर्षपूर्ण यात्रा । बामे सर्दै अर्को पन्द्रमिनेट जति चढेपछि बल्ल सकिएछ, लगभग एक घन्टाको हिउँ जमेको ज्यानमारा उकालो ! त्यहाँ मुत्युलाई पराजित गरेर अघि बढेको यात्रा त्यो श्रीभावर लेक पार गर्दैं बैतडीको चौखाम पञ्चायतस्थित श्रीभावरमा पुगेर रोकियो केहीबेरका लागि । योसँगै बझाङको भूमिले पनि बिदा माग्यो । तीन दिनको रोचक बझाङ यात्रापछि बल्ल भेटियो बैतडी ! बझाङको बाटो विकट भनेको, उताको पनि कम थिएन ! कहिले ठाडौ उकालो चढ्छ, कहिले ठाडै झर्छ ओरालो फेदीतिर ! जीवन पनि त यही उकाली ओरालीको यात्रा न हो । हामी जीवनकै पर्याय यो बाटोसँगै कहिले उकालो चढ्छौं, कहिले ओरोलो झर्छाैं । यात्रा रोकिँदैन । आखिर यात्रालाई निरन्तरता त दिनु नै छ ! बिहानदेखि हराएको पुलिस थापा बेलुका चार बजे बल्ल हामीलाई भेट्न आइपुग्छ ! साफ झपारँे, तेरो हाकिमलाई कम्प्लेन गरेर कडा सजाय दिउँछु भनँे । थेत्तरो पुलिस खुट्टा समातेर रुन पो थाल्यो– साप्, एकपल्टलाई माफपाउँ । अब यस्तो गर्दिन ।” उसको यस्तै यस्तै माफीनामाका शब्द, लर्बराएको स्वर र आँखाबाट निस्केका आँसुका धारा सच्चा थिए कि, जाँडमा मातिएको प्रलाप– मलाई थाहा थिएन । मनमा रिसको राँको बलेपनि लाग्यो– बिचरो जिल्ला छाडेर वर्षौं बिदासम्म नपाइ आफन्त र पे्रयसीको न्यानो अँगालो सम्झँदै बिताउन बाध्य साधारण प्रहरी ! उसको मनोविज्ञान सम्झेँ मैले एकपटक आफैंलाई उसको ठाउँमा राखेर । अनि कुरा अघि नबढाउने आश्वासन दिएपछि बल्ल खुट्टा छाड्यो । त्यहाँबाट अघि बढेर सातबजेतिर पुगियो बल्लबल्ल राउलेश्वर गाउँ पञ्चायतको राउलीबरायल । त्यहीँका अर्का पुलिस केशव जोशीले एउटा पसलको माथिल्लो तलामा मेरोलागि बासको व्यवस्था गरिदिए । हिउँको चिसोले होला एउटा खुट्टा रातभर दुखिरह्यो । वैतडी सदरमुकाम पुग्ने लक्ष राखेर विहानै राउलीबरायल छाडियो । खोलाको बाटो, कतै उकालो कतै ओरोलो । मस्याचौरमा एघार बजेतिर खाना खाएर अघि बढ्दा बाटामा एटा भव्य नर्सरी देखियो । गएको वर्ष त्यसबाट साठी लाखको बीउ बेर्ना विक्री भएको थियो रे । रमाइलो थियोे गाउँ । वर्षेनी झ्याउ मात्रै भारततिर लाखौंको निकासी हुँदोरहेछ । झ्याउ सङ्कलन गरेर रामै्र आमदानी गर्दारहेछन् यहाँका मानिस । एक केजी झ्याउको अढाईदेखि साढे तीन रूपियाँसम्म पारिश्रमिक पाउँदारहेछन् । यहाँसम्म आएपछि सूदूर पश्चिमाञ्चलकै प्रसिद्ध देवी निगालासैनी भगवतीको मन्दिर पुग्नैप¥यो । त्यसैले मइसा चौरमा खाना खाएर लाग्यौं देहीमाडौ । पूर्व पश्चिम लम्बिएको मन्दिर, हेर्दा पनि कलात्मक र भव्य थियो । मन्दिर बहिर प्रवेशद्वारको छेउमैं अर्को एउटा सानो मन्दिर थियो । मन्दिरमा सिंहासनारूढ अष्टभुज भगवतीको भव्य मूर्ति ! यो पछि बनेको रे । मुल मन्दिर अगाडि शिवलिङ्ग र शिवजीको मूर्ति थिए । देवीको पूजाआजा चलाउन स्थानीय नाप अनुसार करिब २० राइडा (करिव ८ रोपनी) गुठीजग्गा रहेछ । असोज पूर्णिमा र कात्तिक, पुस, चैत गरी वर्षमा चारपटक देवीको भव्य जाँत (जात्रा) लाग्ने मन्दिर क्षेत्रमा दोहोरो लाइनको बाक्लै बजार देखिन्थ्यो ! त्यहाँबाट अघि बढेर चारबजेतिर पुगियो सदरमुकाम । बैतडीको सदरमुकाम खलङ्गा गढी भनिए पनि यतिबेला जिल्लाका सरकारी कार्यालयहरू शाहीलेक, खलङ्गा र गोठालापानीमा छरिएका थिए । शाही लेक बझाङबाट आउँदा सुरुमै पूर्वपश्चिम लम्बेतान पस्रिएको थियो । वीरेन्द्र बहुमुखी व्यवसायिक माध्यमिक विद्यालय यहीँ थियो । २०११ सालदेखि यस क्षेत्रमा विद्याको उज्यालो बाँड्दै आएको थियो यसले । नजिकै एउटा निम्नमाध्यमिक र प्राथमिक विद्यालय पनि थिए । शाहीलेक भन्दा पश्चिमतिर निकै उचाइमा अवस्थित थियो गढी । तलैदेखि निकै बाक्लो बजार, चारैतिर खुला देखिने रमाइलो ठाउँ ! यहीँबाट तल झर्दा गोठालापानी जाने बाटैमा पथ्र्यो शहीद दशरथचन्दको सालिक ! उनको घर पनि त यही बास्कोटमा रहेछ ! प्यूठानका गिरिराज रिजाल कामु जिल्ला शिक्षा अधिकारीका रुपमा कार्यरत थिए । पुलिस र भरिया दुवै झुलाघाट पुग्ने भी बिदा भए । रिजालजी बडो रमाइला र मिलनसार ! उनकै भान्छामा खानपिन गरेर अतिथि कक्षमा बिताइयो आरामले रात । विहान चिखा खाएर जिशिअसँगै प्रमुखजिल्ला अधिकारी भेट्नजाँदा काठमाडौ ंजिल्ला शिक्षा कार्यालयका पूर्वपरिचित अधिकृत भुवनेश्वर जोशी भेटिए । खाना जिल्ला शिक्षा अधिकारीकहाँ नै खाएर कार्यालयकै पियन र एकजना प्रहरी साथ लिई लागियो दार्चुलातिर । गोठालापानीबाट डरलाग्दो ओरालो झर्दै कन्सनगाड पुगेर फेरि झालाकोटको ठाडो उकालो चढ्नु कम कष्टकर थिएन । पीपलकोट भन्ज्याङ, शिल्लेक खानी पार गर्दै नुवालीदोली पुगेपछि भने एकजना ज्येष्ठ नागरिक भेटिए अर्जुन कार्की । उनको हार्दिक स्वागतले सबै थकाइ बिर्साइदियो । भोक र थकाइले लोथ भएको बेला उनले प्रेमपूर्वक दिएका बनाउँदा बनाउँदैको तात्तातो ताजा गुड (चाक्कु वा सख्खर)सँग त्यहीँ किनेको केरा अमृतभन्दा कम लागेन ! ठाडो उकालो ओरालो पार गरेर ठीकगाड तर्न नपाउँदै त्योभन्दा पनि ठाडो उकालो पर्खिरहेको थियो सेल्ली र चम्तडी उता । चौलानीगाड भेटिएपछि नदी किनारै किनारको बाङ्गोटिङ्गो हुँदै बगर भएर आयो समथर बाटो । हिँड्दा हिँड्दा साँझ परिसक्यो बास कतै भेटिँदैन ! टर्चको मधुरो प्रकाशमा अघिबढ्दै जाँदा बाटामा फाट्टफुट दोकान देखिन्छन्, तर सबै बन्द !ं बास बस्ने ठाउँ कतै छैन । खुट्टा दुखेर असह्य भैसक्यो । हिँड्दा हिँड्दा चौलानीगाड, धाप र बाङ्गा बगर काटेर बल्ल बल्ल नौ बजेतिर गोकुले पुगेपछि बल्ल सास आयो । गोकुले सुदूर पश्चिमका बैतडी र दार्चुलादेखि भारतको मथुरा र अरु सीमावर्ती सहरसम्म उत्तिकै परिचित र प्रसिद्ध धार्मिक स्थल ! बैतडी र दार्चुलाको सीमास्थलमा थियो यो । यहाँ हरेक महाशिवरात्रिको अवसरमा तीनदिनसम्म भव्य मेला लाग्दोरहेछ । यस क्षेत्रकै ठूलो र प्रसिद्ध मेला ! संयोगले यतिबेला शिवरात्रिकै अघिल्लो साँझ आइपुगेको छु म । सम्पूर्ण बगर पालैपाल र मानिसको भीडले भरिएको छ । चारैतिर चिया, मिठाई, खाना, लत्ताकपडा– चूरापोतेका पसलै पसल । अधिकांश भारततिरका व्यापारीहरूले उतैबाट सामान ल्याएर बेच्दा रहेछन् । कतै कतै स्थानीय उत्पादन पनि देखिने ! बगर लाल्टिन र मेन्टोलको मधूरो उज्यालोमा नुहाएको छ । चहलपहले भर्खरै बैंस छोएजस्तो देखिन्छ । भोलि दर्शनगर्न र मेला भर्न जम्मा भएका छन् आजै हजारौं मानिस । कोही दर्शनार्थी, कोही दुकानदार र कोही वर्षभरको सामल जोगाडगर्न आएका स्थानीय बासिन्दा ! साँझ मस्तीमा थियो, हामीभने थकाइले अधमरो । केशव (साथ आएको अर्को प्रहरी) ले हुलाकका हाकिमलाई भेटेर बस्ने बासको व्यवस्था गरेपछि बिसाएँ थकित शरीरि ओछ्यानमाथि । हुलाकका हाकिम भनेका वैदार बूढा रमाइला र सहयोगी पनि । उनैले खाना बनाइतुल्याई ख्वाए, आरामले बिताइयो रात । “मान्छे कहाँ कहाँबाट त आउँछन्, मौकाले आइपुगिएकोछ । आज यतै बसेर मेला हेरौं सर ! भोलि लागौंला दार्चुला, हुन्न ?” केशव अनुनयकै स्वरमा अनुरोध गर्छ । भरियाले पनि उसैलाई साथ दिएपछि लाग्यो– हो त नि मौकाले आइपुगिएको छ । एकदिन बस्दा थकाइ पनि त मर्छ ! मेरो स्वीकृति पछि दुवैको अनुहारमा खुशी देखियो । हुनपनि यताका मानिसका लागि शिवरात्रिका दिन गोकुलेको शिवदर्शन गर्नपाउनु अत्यन्त महत्वको कुरा ठानिन्थ्यो । बैतडी र दार्चुलाको सीमा चौलानी गाडको बगरमा थियो गोकुले । नदीवारि बैतडी र पारि दार्चुला जिल्ला । मेला लाग्ने बगर पनि पनि त्यसरी नै दुवैतिर विभाजित । “तीनचारपुस्ता अगाडि स्थापना भएको भन्छन् मन्दिर ! पहिला यहाँ बगरमैं थियो । पाँचवर्ष अगाडि आएको बाढीले भत्कायो । अनि यहीँकै महानन्द विर्जीले दश हजार खर्च गरेर बनाएका यो केदारेश्वर मन्दिर !” एकजना स्थानीय भद्रपुरुषले जानकारी दिए । यसकै वारिपटि अर्को शिवालय थियो । २००२ सालतिर त्यहीँका स्वर्गीय रामचन्द निर्माण गरेका यो रमेश्वर शिवपञ्चदेव मन्दिरमा चतुरवर्गाकार बुर्जा देखिन्थे । पक्की र आकर्षक मन्दिरबीच एउटा ठूलो र चार कोणमा अरु चारवटा साना मूर्ति थिए । सुन्दर फूलबारी थप आकर्षण थियो । यी दुवै मन्दिर उस्तैउस्तै देखिन्थे । मेला आखिर मेलै हो । हरेक मेलाको प्रमुख आकर्षण खानपिन रामरमाइलो नै हँुदोरहेछ, चाहे धार्मिक होस् वा अन्य व्यापारिक मेला ! यहाँ पनि यस्तै थियो । मन्दिर पुगेर दर्शन गर्ने भन्दा खानपिनमैं मस्त देखिन्थे धेरैजसो । त्यो पनि मादकपदार्थ विक्री हुने पसकै वरिपरि ! अनि यसको अत्यधिक सेवनले झैझगडा निम्त्याउने भैहाल्यो ! देउडा र नाचगानको चहलपहल भने खासै देखिएन । भोलिपल्ट विहान परिरहेको झम्झम् पानीमैं बाटो लाग्यौं एकएकवटा प्लाष्टिक ओढेर । बाटो उस्तै । केही बेर समथर हिँड्दा नहिँड्दै नान्तडको चिप्लो उकाले भेटिहाल्यो । चिप्लियो भने आठ नौ सय फिट तल भिरमा खसेर हाडखोर समेत फेला नपर्ने अवस्था थियो । त्यसमाथि बाटो भुलिएछ ! केहीबेर जङ्लेबीच हराएर बाटो फेला पर्दा जति खुशी कहिल्यै लागेन ! भोकले पेटमा छुत्ती खेल्दै थियो । बल्ल बल्ल गोकुले पञ्चायतकै अर्को गाउँ आगर पुगेपछि एउटा घरमा चामल र रायोको साग फेला प्यो । साथीहरूले खानपिनको जोरजाम गरे । खाना खाइवरि आगर छाड्यौं । खोलाकिनारको ढुङ्ग्यानै ढुङ्ग्यान बाटो हिँडेर बर्मिडे गाउँ उताको उकालो चढ्दा त थकाइले चुर बनाइसकेको थियो । ३ बजेतिर निसिलेको भञ्ज्याङकोथाप्लोमा बाटोको दुवैतिर किनारमा देखिएका ढुङ्गाका राससँगै भरियाले एउटा साँचो घटना भन्दै किम्वदन्ती सुनाए । धेरैवर्ष अगाडि एकजना साधु यहीबाटो हुँदै मध्यवर्षां मा आइपुगेछन् । वर्षाको बेला लेकमा हिँड्दा रुखरुखबाट झेरेका जुकाबाट बच्नु कम कठिन हुँदैन । मान्छेको शरीर ढपक्कै ढाकेर रगत चुस्छन् । ती साधुलाई पनि त्यस्तैभयो । उनले चाहिँ “जुकाले पनि बाँच्नका लागि खान पाउनुपर्छ” भन्दै जोगिने कुनै उपाय गरेनछन् । अनि त के थियो, यही भन्ज्याङमा आइपुगेपछि उनको मृत्यु भएछ । त्यसैले अरु जीवको लागि आत्मत्यागसमेत गर्न पछि नपरेका तिनै योगीको सम्मानमा थुपारिएका रे यी ढुङ्गा ! दायाँवायाँ ठूलो लेक । हिस्रक जनावरको प्राबल्य । दुवैतिर हिउँले ढाकेका अग्ला अग्ला पहाड र तिनैबाट आएका सिरेटोसँगै मुटु छेड््ने हिउँको चिसो ! चिप्लो ओरालो बाटो सकेर केहीबेर वगरैबगर हिँडेपछि भेटिएको एउटा चियापसलको चियाले केही भए पनि त्राण दियो । पाँच बजेतिर धापगाउँ पुगेर बिसाइयो आजको यात्रा ! दार्चुलाको यो धापगाउँ तलतिर महाकाली अर्थात् शारदा नदी बगिरहेको थियो उता नदीपारि इख्याइरहेको थियो झकीझकाउ भारतीय शहर धार्चुलाले ! ं विहान सबेरै धाप छाडेको, दश बजेतिर त सदरमुकाम खलङ्गा पुगिहालियो । यता पुग्ने जोकोहीलाई नमीठो लाग्ने– महाकाली पारि भारतीय क्षेत्र झकीझकाउ छ, यता फुंग उडेको ! उता पक्की सडकमा दिनहुँ बस गुड्छन् । ठूलो बजारमा आवश्यकताका सबै कुरा उपलब्ध छन् । अस्पताल छ, औषधि पसलहरू छन् । होटेल रेस्टुरा र मनोरञ्जनका लागि सिनेमाघर छन् ! यता आफ्नोतिर हे¥यो केही छैन । जे कुरामापनि उतैको भरपर्नु पर्ने वाध्यता रहेछ ! आफ्नो जिम्मेवारी बिसाएर मोहन दाइलाई भेट्न घरेलु अफिसतिर लागियो । मोहन दाइ अर्थात मोहन मिश्र । त्यतिबेला उहाँ त्यहीँको घरेलु कार्यालयमा प्रमुख हुनुहुन्थ्यो । भाउजुलाई डाक्टर देखाउन धार्चुला जानुभएको रहेछ, क्वार्टरमा रविन मात्रै । रविन (आजका वि.वि.सी. सञ्चारकर्मी रवीन्द्र मिश्र) त्यतिबेला विदा मनाउन काकाकहाँ यता दार्चुला आएका रहेछन् । मोहन दाइ मेरा गुरु, प्रवेशिका परीक्षाताक मैले उहाँसँग अङ्ग्रेजी ट्युसन पढेको थिएँ । त्यतिबेला मनुज दाइ (मनुजबाबु मिश्र) पाकिस्तान हुनुहुन्थ्यो । मन्जु, रविनहरू केटाकेटी नै थिए । तिनै रविनलाई दार्चुलामा देखेर खुशी लाग्ने नै भयो । केहीबेरमा मोहन दाइ आइपुगेपछि बसाइ पनि यतै हुने भयो ! गाउँका अर्का एकजना दाइ कृष्णप्रसाद ढुङ्गाना समेत यहीँ जिल्ला कार्यालयमा भेटिएपछि त रमाइलोको सीमा नै भएन । आजै सूर्यग्रहण परेकोले त्यो पनि हेरेर सानै देखिको आकर्षण मीतबा महेन्द्रनगर बस्न थालेकाले उनकै भाइ गणेशदत्तलाई भेटेर मेटियो मनको एउटा धोको ! २०७१ चैत १७ गते विजय निवास, आरुबारी

Saturday, April 28, 2018

News And Technology: इतिहास त्रिपुरासुन्दरी भगवती रणशैनी माताको

News And Technology: इतिहास त्रिपुरासुन्दरी भगवती रणशैनी माताको: माता  रणशैनी त्रिपुरासुन्दरी भगवती माताको ईतिहास हामीलाई जानकारी भएअनुसार.........  TripuraSundari Baitadi (photoMix) by Admin:Bhatt धे...

सुदूरपश्चिमको ओझेलमा परेको धार्मिक स्थल ः निगंलाशैनी मन्दिर - Chartara

सुदूरपश्चिमको ओझेलमा परेको धार्मिक स्थल ः निगंलाशैनी मन्दिर - Chartara:   धार्मिक तथा ऐतिहासिक महत्वका हिसावले महत्वपूर्ण मानिने सूदूरपश्चिमाञ्चल को बैतडी जिल्लामा अवस्थित निङलासैनी मन्दिर सांस्कृतिक विविधताका कारण सबैको आस्थाको केन्द्र रहेको छ । तर ...

Friday, April 27, 2018

धार्मिक पर्यटनको सम्भावना विशाल, प्रयास शुन्य | Corporate Nepal

धार्मिक पर्यटनको सम्भावना विशाल, प्रयास शुन्य | Corporate Nepal: | नेपालको पर्यटन क्षेत्रमा धार्मिक तथा आध्यात्मिक क्षेत्रले प्रत्यक्ष र परोक्ष ठूलो भूमिका खेलेको छ । नेपाल आउने प्रायः सबै पर्यटक कुनै न कुनै रुपमा नेपालको धार्मिक र आध्यात्मिक विषयहरुबाट प्रभावित भएकै हुन्छन् । यदि त्यस्तो छैन भने पनि साइड सिनका लागि भए पनि कुनै न कुनै धार्मिक, आध्यात्मिक तथा ऐतिहासिक क्षेत्रमा

जनता जुटे के सम्भव हुँदैन ?




Sunday, April 8, 2018

पुरानो बेला; अचेलको समय

पुरानो बेला ; अचेलको समय





( लेखक-भानदेब बडू )
प्यारा भाइ बहिनीहरु!
के तपाईंलाई यस्तो प्रश्न थाहा छ, जसको उत्तर क्षण क्षणमा बदलिदै जान्छ । निसन्देह यो प्रश्न र यसको उत्तर तपाईंलाई रमाइलो लाग्नेछ । किन भने हाम्राे पुरानो भनाई अनुसार निरन्तर परिबर्तन भैरहने स्वरुप नै रमणीय हुन्छ । यस्तो रमाइलो प्रश्नको रमाइलो उत्तर खोज्न धेरै टाढा जानुपर्दैन । अचेल भित्ता मात्र हैन, हात हातमा यस प्रश्नको उत्तर टाँसिएका हुन्छन् । तर जतिपल्ट प्रश्न सोधियो, त्यतिपल्ट अलग अलग उत्तर प्राप्त हुन्छ ।
हो, भाइ बहिनीहरु!
यसरी प्रतेक पल बदलिइ रहेको अबस्थालाई हामी समय भन्ने गर्दछौ । समयको नाप क्यालेण्डर, घडी वा पात्रबाट लगाइरहेका हुन्छौ । तपाइँले यो लेख पढ्दापढ्दै समयको सानो अंश बदलिएको हुनेछ । हामी जन्मेर मर्दासम्म कैयौ दशक लाग्दछ । यो धर्ती करोडौ बर्ष पुरानो छ । हाम्रा सभ्यताहरु हजारौ बर्षमा बिकसित भएकाछन । र समयको कुनै दिन यो सब सकिनेछ ।
सारांशमा भन्न खोजिएको कुरा केहो भने समय गतिशील छ । हिजो जस्तो आज छैन, आज जस्तो भोली रहनेछैन । समयको नापखोजको खेल बडो मनोरंजनपुर्ण छ । किनकि बर्तमान चलायमान छ, भबिष्य अनिश्चित छ र अतीत सम्झनामा मात्र रहन्छ ।
आउनोस, आज हामी पनि आधा शताब्दी अगाडीको हाम्रा गाउँको स्कुले जीबनतिर अन्तर-दृष्टि लगाउँ । त्यसबेला आकाशको घाम हेरेर समयको अडकल काटिन्थ्यो । कंप्युटरको कल्पना समेत गारो थियो । कागज कलम मुश्किलले पाइन्थे । तर गाउघरमै बनाउन सकिने शैक्षिकसामग्रीमा आधारित त्यो पढाइ पुर्णत: स्वाबलम्बी थियो  । मसीनो माटो फिंजाएर कुनै छेस्काले धर्सा कोर्न मिल्नेगरी बनाइएको एकप्रकारको लामोपाटिमा लेखेर अक्षरारम्भ गराइन्थ्यो । सजिलै लेख्न र मेटन सकिनेहुदा पुराना ज्योतिषीहरु अद्यापी यस्तै धुलौटोमा हिसाब गरेर ग्रहदशा निकाल्ने गर्दछन् । यसै गरि कमेरो माटो पानीमा भिजाएर निंगालाको कलमले लेख्न मिल्ने काठको सानो तख्तीलाई पाटी भनिन्थ्यो। चौकोर पारिएको स्लेट पत्थरमा खरीढुङ्गाले लेखेर गणित सिक्नुको आनन्द नै अर्को थियो ।
हुनेखानेले मात्रै बर्णमालाको किताब किनेर राख्न भ्याउथे । सामान्यतया अक्षर चिनाउने तरिका समेत आफ्नै खालको हुन्थ्यो । यसमा प्रयोग गरिने बस्तु वा बिम्ब पुर्णत: स्थानिय हुन्थे र सजिलै बुझिन्थे । " ए फोर एप्पल " भनेर अक्षर चिनाइने यो जमानामा त्यो पुरानो तरिकाको उल्लेख गर्नु पनि सान्दर्भिक नै हुने ठानी यहाँ प्रस्तुत गरेकोछु ।
यथा-
कपुरी- क, पेटथोप्ले- ख, गाईगोडे- ग , घरजस्तो- घ , बिन्दा- ङ ।
तीखो- च,  छपरे- छ,  जङण्या-- ज,   झकुल्या- झ,  खम्या -  ञ ।
टाठो- ट, कण्ठ मिलायो- ठ, डेणबाङो- ड, कुकुरपुछणी- ढ, तिनधणके- ण ।
ताली जसो- त, मुंडोमोण्यो- थ, देलिजसो- द, कन्जठ्या- ध, नफरे- न ।
प-या- प , फाउण्या- फ, पेट फाण्यो- ब,   भकारी- भ,   मुख मिलायो - म ।
बूढो- य , औल्या- र , लुलो- ल , बाटुलो- व, मोटो- श, पेट फाण्यो- ष, पातलो- स ।
हलो जसो- ह,  क्षेत्री - क्ष, दुई औले- त्र, ज्ञानी- ज्ञ ।।
यति मात्रै हैन, बाह्रखरी, दुनोट, संस्कृत र नेपालीका लामालामा श्लोक मुखाग्रै पार्नु पर्थ्यो ।
अचम्भ लाग्छ, भाइबहिनीहरु! हाम्रा बेद शास्त्रहरु सुनेर मुखाग्र पारि अर्को पिढीलाइ हस्तान्तरण गरिदै हजारौ बर्षसम्म सुरक्षित राखिएका हुनाले श्रुति भनिन्छन् । मानिसहरुले भोजपत्र, बाँसका बोक्रामा लेख्न सिके पछि मात्र किताबको चलन आयो । स्थानिय बिरुवा लोक्ताबाट बनाइने " नेपाली कागज" देखेकै होलाउ । मसी समेत आँप, काफल, बाँज वा किरमणाका बोक्राबाट बनाइन्थ्यो ।
त्यसबेलाका गुरुहरु अहिलेका ब्याबसायिक जस्ता थिएनन । आफ्नै श्रमनिष्ठामा बिश्वास राखने, बिद्यार्थिहरुका हितका लागि निरन्तर क्रियाशील गुरुहरु समाजका गहना थिए, प्रेरणाका श्रोत थिए । उनका प्रतेक आदेश अकाट्य हुन्थे ।
आजभन्दा ५०-६० बर्ष पहिले समेत अहिले जस्तो बाटोघाटो थिएन । छापाका किताब कम पाइन्थे । घरमै पंडित राखेर पढाउने चलन पनि थियो । शासकबर्गमा समेत स्कुल खोल्नु भनेको समस्या निम्त्याउनु हो भन्ने मानसिकता थियो । महेन्द्रनगरदेखि काठमाडौं पुग्न २०९ कोष पैदल हिडनु पर्थ्यो ।
उहिलेका कुरा सम्झिदा अहिले प्रारंभिक शिक्षाको अबसर सबैलाई उपलब्ध छ । बिद्यालयका आआफ्ना भवन छन । विभिन्न शैक्षिक सामग्रीसमेत उपलब्ध छन । शहरका बिद्यालयहरु मा त साधारण जोडघटाउ देखि जटिल गणितीय समाधान खोज्न समेत अदभूत बिद्युतीय यन्त्र छन ।
तर समय फेरी पनि रोकिनेवाला छैन । हाम्रो समाज तिब्र रुपान्तरणको क्रममा छन । आआफ्ना परिबेशमा सबै सचेत छन । अहिले शिक्षा, ज्ञान वा शक्तिको पनि परिभाषा फेरिएकोछ । नेपालमा पनि त्यो दिन टाढा छैन, आफनै कोठामा बसी दुनियाको नामि बिश्वबिद्यालयको कक्षा-कोठाको अवलोकन गर्न सकिनेछ र त्यहा भैरहेको छलफलमा समेत सहभागी हुन सकिनेछ । पृथ्बीको एक कुनामा बसी अर्को कुनाको गतिबिधि नियाल्न सकिनेछ । यसै अर्थमा बिद्यार्थीहरुले पनि ज्ञानको नयाँ क्षितिज उघार्नु आबश्यक भएकोछ । कहिले नरोकिने समयको भरपुर प्रयोग गरेर मात्र यो सब संभव छ ।
अचेल युवा बिद्यार्थिहरुलाई तताएर, सु-याएर, सडकमा उतारेर आफनो दुनो सोझ्याउन असंभव आशा देखाउने  तत्वहरु समेत समाजमा सक्रीय छन् । बाधा ब्यबधान र तडकभडकबाट सतर्क भएर निरन्तर बगीरहने समयसंगै समयकै सदुपयोग गर्नु नै विद्यार्थी जीबनको महतम कर्तब्य हुन आउँछ । ब्यबस्थित र प्रतिबद्ध जीवन बाच्ने अभ्यास गरीरहनु पर्दछ । गतिमान समयले हामीलाई यहि भन्दछ । याद गरौ- न समय यस्तो थियो, न यस्तो रहनेछ।
********