जहाँ ढुङ्गा ढुंगामा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ,
यो देश मेरो हो---यो देश मेरो हो।
यो राष्टप्रेमले भरिएको गीतको भाव-भुमीलाइ स्वाभिमानी सबै नेपालीले महसुस गरेको हुनुपर्दछ। ढुंगा ढुंगामा देवता बसेका कारण स्वर्गको आभास पाइने हाम्रा थुम-थुम्का, खोला-खोच,कोट-किल्ला,लेक-बेसीहरुको मनमोहक सुन्दरता प्रकृतिबाटै नैसर्गिक भावले रचना गरिएको हो।
यस्तो शस्यश्यामला धर्तिमा कहाँ-कहाँको माटोको सुवास हाम्रा जोर पयरले चाखेछन् ? घुमघामको नाममा तोकिएको वा काम बिशेषले जानै पर्ने चल्तिका रुटको ओहोरदोहोर बाहेक अन्यत्र कतै गइएकोछ त? एकपल्ट हिसाब गरि हेरौं। गाडीले जता थेचा-यो,त्यति मै सिमित हुनुलाइ हामि घुम्नु भन्दछौ। पर्यटकिय भ्रमणको कुरो निस्किनासाथै हाम्रो मानसिकतामा टाढाको सयर भन्ने सोच आउछ। कुनै टोलमा भएकाहरूले आफ्नो टोल नाघेर अर्को टोलतिर टहलिने , कुनै जिल्लामा रहेकाहरूले अर्कै जिल्ला घुम्ने, एउटा विकास क्षेत्रमा रहेकाहरूले अर्को क्षेत्रमा पुग्ने सोच नै आउन बाँकी छ। घुमघाम भन्नेबित्तिकै देशै काटेर परदेशतिर लम्किने हाम्रो सुर हुन्छ । पर्यटनलाइ पऽऽऽरै गएर फन्को मार्नुपर्ने घुम्ती लीलाको रूपमा बुझिएको छ । त्यही मर्म छामेर होला, संस्कृतबाट आएको 'पर्यटन' शब्दको अर्थ पनि नेपाली शब्दकोशमा "दर्शनीय र महत्वपूर्ण स्थानहरू हेर्न वा मन बहलाउनका निम्ति देशविदेशमा गरिने भ्रमण वा यात्रा "भनेर दिइएको छ।
आन्तरिक पर्यटन
हामी नेपालीहरूको घुमफिर गर्ने बानी छैन भन्ने थेगोले थिचिरहेको समयमा आन्तरिक पर्यटनको 'गफ'ले पछिल्लो समयमा बिस्तारै केही काम गरेको देखिन्छ । मान्छेहरू व्यस्तताको बिटो थामथुम पारेर र घरमा डामडुम ताल्चा ठोकेरै भए पनि चिसो ढुंगा जस्तो खेलखाल गरिने खाल्डो बाहिर पूर्व र पश्चिममतिर टहलिन निस्किन थालेका छन् । यो कर्म बढदै गएमा फुर्सदिलो समयमा पनि बेफुर्सदिलो मानसिकता बोकेर आफनै आगनमा कुणिएर बस्नु पर्ने छैन। घुम्ने जाँगर नचल्नुको थकथकी र दिक्दारी थुपारीने छैन। छोटो जिन्दगानी र साँगुरो वृत्तमा सीमित भएर कोक्याइलो सोचले कन्याइ रहनुपर्ने पनि छैन। उही रुटीन र उहि लिकमा फटफटाइरहने बिचित्रका घरघुगु (बाँझो घरभित्र मात्र बस्ने लाटोकोसेरो) भएर बस्नुपर्ने दिन अब सकिदैछन ।हाम्रा सहरिया-खलंगे युवा डिस्कोथेक र मुठीभरको पार्कमा सीमित भएर रमाइरहेको बेला कहाँ तिनलाई खबर होस् मोफसलतिरको पर्यटनको। नजिकको तीर्थ हेलाको नियति भोग्दै मोफसलका मनोरम गन्तव्यहरू रैथानेहरूको हेराइमा पनि रूखोसुखो झाडीसमान बन्न पुगेकाछन। थानकोट भन्दा टाढाको नेपाललाइ राजधानीले पाखेमा दरेकैछ। होला,कतिपयलाई परिवारको नियमित खर्च धान्नै धौधौ हुन्छ। घुम्ने कुरा तिनका दैनिकीमा पर्दैनन। तर धेरैजना पैसो भएर पनि, रहर भएर पनि बरू ठूला योजना बुनेर बस्छन् । वरपर स्वदेशको तीर्थाटनमा निस्किने 'कष्ट' उठाउँदैनन्।
घुम्न आफ्नै देशभरिका ठाउँहरू पर्याप्त छन् । तर टाढा रहेका उस्तै ठाउँका लागि जति पनि खर्चिन तयार हुने हाम्रो मन हाम्रै छेउछाउ भएका ठाउँमा जान-बस्न भने थकथकी मान्दै निचोरिन्छ । यो भनेको घरको कुखुरा दाल बराबर जस्तै हो।
नजिकको तिर्थलाइ हेला गर्ने,बाहिरको जोगीलाइ मात्र सिद्ध मान्ने र परायाको माल मात्र राम्रो ठान्ने एकथरिको हिनताग्रस्त सोच हुन्छ। के हाम्रा गाऊठाउमा केहि पनि उल्लेखनिय छैन र? सुदूर दुर्गम जिल्लाहरुको मात्रै कुरा गर्ने हो भने पनि मध्यकालिन नेपालमा समेत त्यहाका स्थानिय उत्पादनले प्रसिद्धि पाएको देखिन्छ। अद्यापि केहि स्थान बिशेषका सामानले ब्रान्ड नाम नै पाएकाछन। बैतडीको चिउराको गुड, स्वराडको उखुकोगुड र खुदो, बझांगको चुक, दार्चुलाका च्यांग्रा,घोराहिका घोडा , जुम्लाका खच्चर,डोल्पाको जडीबुटी, ताराकोटको स्वेटर, अछामका गाइ,ब्यासका काम्ला अहिले पनि उत्तिकै प्रसिध्द छन। त्यस्तै जोरायल-तोरि,तलकोट-कस्तुरि,बाजुरा-बाज,पुर्चौडी-फलामका भाडाकुडा,देहिमाण्डौ-निगालाका डोका,ढणौन-दहि दुध,सुरकाल-घिउ,सिमनाथ-घट्ट या जाँतोको ढूंगा,खोडपे-आलु,जर्ग-तरकारि, खप्तड-निगालो,मुगु-मह, सतबाँज –स्याऊ, जोगबुडा-काठका भाडा, छचोडा-तामाकाभाडा र जुलाघाट- माछाकालागि ख्याति पाएकै ठाउँ हो।
नेपालदेखि नेपालसम्म
गाउनै गाँउको देशमा एकागाँउका भाइबैना अर्का गाँउमा घुम्न जाँदा साँच्चै रमाइलो हुन्छ होला। आतिथ्यका लागि गाँउलेलाइ कुनै प्रायोजित प्रशिक्षणको आवश्यकता पर्दैन। यो उनीहरुको जन्मजात गुण हो। ग्राम्य पर्यटनले रोजगारीका बैकल्पिक उपायहरु खोज्न सघाउ पु-याउछ। ग्रामिण कला र ग्राम्य उद्योगले समेत आन्तरिक पर्यटनबाट टेवा पाउछ। टाढा किन जानु र? आफनै जिल्लाभरिको कान्लाकान्ली फेरो मार्दै पर्यटनको स्वाद लिन सकिन्छ। डाडा-काँडादेखि माल-मदेशसम्मको यात्रा सारै रोचक हुनेछ ।
कल्पना गरौ,नेपालगंजका भाइ बैनाहरु मात्र पाँच दिनको भ्रमण प्याकेजमा डडेल्धुरा पुगुन। यस्तै दार्चुलाको एउटा टोलि सातदिनका लागी सुर्खेत उपत्यका पुगोस । यति मात्रै हो र? बैतडी सिमनाथका पर्यटनप्रेमीहरु चमेलिया जलबिद्युत निर्माणस्थल हेर्न जाउन र गोकुलेबासीलाई आफनो ठाउँको घट्ट खानी देखाउने निम्तो दिउन । यो सुरुचीपुर्ण आन्तरिक पर्यटन हुनेछ। ने मुनिले तलाउको पानी सुकाइ बस्ति बसाइएको कथाबाट शुरु भएको नेपालको ईतिहास भन्दा हाम्रा आफनै गाउ ठाउका पुरातन ऐतिहासिक कथ्य कम्तिका छेनन। खप्तड,शुक्लाफाँटा, बडिमालिका,ब्यास क्षेत्र, मल्लिकार्जुन,ग्वाल्लेक केदार, मेलौली,सिमनाथ,पत्तालभुमेश्वर,सुर्मा सरोवर नामी पर्यटकीयस्थलको गिन्तिमा आउने ठाउँ हुन। सुदूर पश्चिमकै अन्य सन्दर्भ लिउ। अश्वलायन ऋषिका साथ खेचराद्रिहुदै पास्तोलिका ३ छहराको पानिको मुलबाट निस्केको कैलाश नदिको किनारमा तपश्या गर्न आएका अक्षाम नामका ब्रह्मचारिको नामले अछामको नामाकरण भएको हो। देवताहरु घुमि रहने ठाउ (देबाटपि=-डोटि, देबा=देउ>द्यौ>डो+टबि=टि) डोटी र डोटि राज्यको मुल थलो अजयमेरू निकटको डडाल्नु आकारको डाडामा बसेको डडेल्धुराको सौर्य गाथाहरु सदा स्मरणिय छन। दुइ धारको चुला जस्तो दार्चुला र बउ (बयालो,बतास) चलने किनार या बायु उत्तड(उन्मुख) पर्बत (ग्वाल्लेक पर्बत) को नजिकको बैतडीका प्राकृतिक रहस्य-रोमान्च एकपल्ट हेर्नै पर्ने खालकोछ। बज्र जस्तो बलियो शरिर भएको बज्रेश्वर माहादेव(कोट भेरब)बाट संरक्षित बझांग तथा बार्जु गाडको सिरानमा पर्ने, बाजुर(जुनेलो) हुने र जुर्रा बाज पाइने ठाउ भनेर कहलिएको बाजुरामा घुम्न-हेर्न लायक थुप्रै स्थान छन।
यसै प्रसंगमा लक्ष्मीप्रसाद देवकोटाको 'के नेपाल सानो छ ?' निबन्धका हरफहरू ताजा भएर आउछन - "यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेंडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मेरो वनमा हेलेन केलेरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन ।"
देवकोटाकालीन नेपालदेखि समय चिप्लिँदै अहिलेको नेपालसम्म आइपुग्दा कति धेरै शेक्सपियर र सोक्रेटिजहरू हलो जोत्दाजोत्दै, गुफामा घोत्लिँदा घोत्लिँदै खेर गए होलान्, हिसाब छैन । अरूहरूबाट उपेक्षाको सिकार भएका कुना कन्दराका सिमान्तकृत मानिसहरू आफ्नै जीवनको वेगमा पनि छेउकिनारमा फुर्सदी भावले आफू र आफ्नो बहलाउने रहरलाई स्वयम्बाट उपेक्षित गराइरहेकाछन् । अब सांकृत्यायनहरु पनि आँगनबाट निस्किएर टोलतिर, जिल्लातिर र आफ्नै देशको मेची महाकालीतिर घुम्न निस्कियुन भन्ने पंक्तिकारको बिनम्र आग्रह हो।
सरकारले २०११ लाइ पर्यटन बर्षको रुपमा मनाउदैछ । बिदेशीहरुलाइ नेपाल चिनाउने, नेपाल बोलाउने र उनीहरुको नेपाल बसाई लम्ब्याउने कार्यक्रम त छँदैछ । आन्तरिक पर्यटन र धार्मिक पर्यटनलाइ समेत प्रोत्साहित गर्नु यस सन्दर्भमा अझ समय सापेक्ष काम हुनेछ।