Showing posts with label आत्म-कथ्य. Show all posts
Showing posts with label आत्म-कथ्य. Show all posts

Friday, May 1, 2020

अतित उत्खनन -५ ( फेरि बैतडी )



थरीथरीका भोगाइहरु
बैतडी सदरमुकाममा डेरा खोजी आफनो पाँच सदस्यीय परिवार ब्यबस्थित गर्दाको दिन असाध्यै थाकियो । निधारका पसिना पुछ्दै अस्ताउनै लागेको सूर्यलाई हेरे । आखिर यो पनि त अब डुब्न लागिसक्यो । तर, भोलि बिहान उदाउँदा उस्तै उज्यालो, सबै अँध्यारो हटाउँदै रोशनी बाँड्नेछ  । स्वयम् कल्पनामा रमाउनु पनि दैनिकी बन्दैछ ।
सूर्य अस्ताएको देख्दा  उसै गरी थकाइ मेट्न लागेको हुँदो हुन भनेर सोच्छु । आफुले गर्ने विश्राममा भने सन्तानका सपना अधुरा भएको पाउथें । आफू थिचिने भारी बोकेर बन खेत धाउँदा नाम्लोले तालुमा गहिरो खाल्डो बनेको र त्यसमाथि नाम्लोको दुखाइले निधार खुम्चिएर बनेका मेरा मातापिताजीका  निधारका रेखा सम्झेर मैले पनि सन्तानको खुसीका लागि केही गरेकोछु भन्ने भ्रम पालेको थिए ।
आफ्नो छोराहरुको भविष्यमा कहिल्यै प्वाल नपरोस्  भनेर पालिएका खुसीका सुन्दर सपना मनभरि उफ्रिन्थे । निधारबाट बगेका पसिनामा ती स्वैरकल्पना सिन्चिन्थे । अनि आफैसंग प्रश्न गर्थे, के म महत्वाकांक्षी भए ? के म असामाजिक हुँदैछु ? आदि ।
आफनै मनले जवाफ दिन्थ्यो ,"पक्कै होइन " ।  यी आनीबानी आफैमा खराब होइन । कतिपय व्यक्तिलाई तामझाम मनपर्दैन । भिडभाडमा बस्न असहज हुन्छ । उनीहरु एकान्तप्रिय हुन्छन् । मदिरा र मोजमस्तीमा रमाउन सक्दैनन् । उनीहरु लजालु  अन्तरमुखी भएर अलग दुनियामा मग्न रमाउने किसिमका हुन्छन् । शायद म यस्तै पो हुँदै थिए कि? धेरै सोच्ने भए पनि लोभी, कञ्जुस भन्दा पनि मीतब्ययि भनिन सक्थे । धेरै साथी बनाउन नचाहने , अनावश्यक खर्च नगर्ने र ऐकान्तिक तर्कनामा लेख्नु मेरो शौक बन्यो  । सम्भवत: यहि लेखाइ मेरो जीवन जिउने तयारी पनि थियो ।
आजसम्म आइपुग्दा मैले पढाइलाई जिवनका भोगाइहरुबाट मात्र सिकेकोछु । गलत के हो सहि के हो , छुट्याउन सक्ने भएको छु । खुशी हुन  आजकल अरुमा भर परिदैन । ब्याबहारिक उद्देश्य बोकेर सकेसम्म विवेकशिल हुन खोज्छु । आफ्नो सिमाना थाहा सदैब थाहा पाइराख्नु पर्छ र यो संसारमा सबै प्रश्नहरुको उत्तर हुंदैन भन्ने पनि बुझेको छु । सबैलाइ समान व्यवहार पनि गर्छु । ठुलो मान्छेलाइ भेट्दा धनुष्टंकार परी नमस्कार गर्दैन । अफिस सफा गर्ने स्विपरलाइ सानो पनि ठान्दैन । आजसम्म जीवन चलेकोछ , चलि रहेकोछ ।
यसपल्टको काम गराइमा अफिसको मुद्दा फाँटमा काम पाएपछि केही स्थानिय दलालले निन्याउरो मुख लगाएको प्रष्टै देखियो। कार्यालयको निरिक्षण को जिम्मा समेत पाए । भर्खर खुलेको भिडियो घरको निरीक्षण गर्न गएको त आधा दर्जन " चलता फिर्ता  कर्मचारी " छडकेमा परे । यस्ले चर्चा मचिन्छ सदरमुकाममा । सरकारी वकिल बनेर आएका कवि दिनेशहरी अधिकारी संग केही काव्य चर्चा हुन्छ । केही सिकाइ माग्छु । सुधीर कुमार शाह कामु प्रजिअ हुनुहुन्थ्यो । वहाँको काम गराइको गतिसंग मैले पनि अनुकुलन गरिसकेको थिए ।
यसरी  निरिक्षणका काम र ठाडो उजुरी मात्र हेरे । जेठ मसान्ततिर  पाटन र सतबाँज तिर पनि निरिक्षण गरियो । मेलौलीका नर्सरीहरु पनि हेरिए । आफनै ग्वाल्लेक बनमा खयरको नर्सरी लगाएको रेकर्ड समेत देखियो। उहिले म डढेल्धुरा हुँदा जोगबुडाबाट खयरको मुसल ल्याइ दिन बुवा करकर गर्नुहुन्थ्यो । यसरी आफनै बनमा खयर पाइने कुरा बताए पछि वहाँले यस्तो हुनै नसक्ने कुरा बताए । बुझ्दै जाँदा कथित नर्सरी र खयरको बृक्षारोपण त कागजी कारवाहि मात्र रहेछ । छानबिन पछि बन कर्मचारी माथि मुद्दा चलाउन विशेष प्रहरीमा लेखी पठाएको सम्झना छ । यसरी बैतडी हाजिर भएका एक महिना र एक हप्ता बित्यो । साउन २ मा शाखा अधिकृतको लिखित परिक्षामा पास भएको खवर आयो । डोटीबाट खुलामा पास हुने पहिलो रेकर्ड रे । ग्वाल्लेकतिर हात जोडी नमन गरे । सपरिवार बैतडी सदरमुकाममै खुशी मनाइयो ।
अन्तरबार्ताको अप्ठ्यारो
तिनवटा चिचिला  सन्तान बैतडी सदरमुकाममा थुुपारेर जेठो छोरालाइ दिपकलाइ  स्कुल भर्ना मात्र गरेको थिए, फेेरि काठमाण्डौको चक्कर लाउनु पर्ने भयो । यस पछि  हतारो गर्दै अज्ञात यात्राको जोरजाममा लागियो । मुलत: भेटन आउनेहरुका पत्का ( ब्यर्थका कुरा),  सकि नसकि राजसी ऐठन बोकेका राजाहरु, श्रमसाध्य कामले लखतरान हुँदा लाटो देखिने आधा आकाश -मैले यहाँ साक्षात्कार गर्ने बिषय थिए  । त्यस बेला बैतडीका उदीयमान नेतृत्वमा लोकेन्द्र बहादुर चन्दज्यू हुनु हुन्थ्यो ।बिडम्बना, वहाँका बुवाज्यू महाबीर चन्द स्वर्गबास हुँदा लोकेन्द्रबहादुर चन्द यसपटक प्रधानमन्त्री हुन नपाएको अवस्था थियो । त्यसपछि मरीचमान श्रेष्ठ प्रधानमन्त्री हुनु भएको थियो । 
म लोकसेवामा अन्तर्बार्ता दिन पहिलो पल्ट काठमाण्डौ जानुपर्दा पनि पहिले जस्तै केही तारतम्य मिलेकै थिएन । प्र जि अ जिल्ला भ्रमणमा थिए । जि बि स सभापति जयसिंह महताज्यूबाट काज पाएर  पेश्की २०००/- बुझेपछि बल्ल एक समस्या समाधान हुने भयो । लोकसेवाकै यहि लिखित परिक्षामा उतिर्ण साथी हरिदत्त पाण्डेयजीसंग सम्पर्क सल्लाह गरे । बिधिबसात बैतडीबाट मात्र त्यो ब्याचमा हामी पाँच जना साथी भयौ, दुई दार्चुला र एक अछाम गरि सुदूर पश्चिमका आठ जना थियौ । 
काठमाडौ जानुपर्ने दिन सम्पुर्ण ब्यबधानहरु इष्टशक्तिमा समर्पण गरेर प्रस्थान गरे झुलाघाटतिर ।अर्को दिन बिहानै बसबाट हिडेकोमा बाटो ब्लक भै एक कि मी पैदल हिडेर बल्लतल्ल पिथौरागढ हुँदै बेलुका टनकपुर पुगे । रु ३०/- बाबुजीलाई टक्र्याएर रेल रिजरबेसन पाए । टनकपुर लखनौ गोरखपुर ट्रेन । गोरखपुर भैरहवा थोत्रो बस। सुनौली काठमाडौं रात्री बस । १३ सावनमा काठमाडौं पुगीयो । संगै गएका उद्योगी लछी चन्दज्युको डेरामा खाए । बेदप्रकाशको डेरामा बसे । नयाँ पैन्ट सिलाए, कपाल कटाए । मेरो तयारी यहि थियो ।
१६ गते लोकसेवा आयोगमै गै जानकारी लिदा बैज्ञानिक ब्यक्तित्व परिक्षण, सामुहिक योजना, तर्कपुर्ण अभिब्यक्ति  पछि मात्र अन्तर्बार्ता हुने रहेछ । शुरुमै सर्टिफिकेटमा झमेला खडा भयो । सरकारी अफिसमा नियमित काम गर्दागर्दै लगालग तीन बर्षमै आइ ए /बिए कसरी पास गर्न सकिन्छ?भन्ने शंका गरिएको थियो शायद । शंकै त हो, कसैको षडयन्त्र र खुराफात थियो भन्ने शंका  मलाइ पनि लाग्दछ । मसंग मार्कसीट र बिदा स्वकृतिका पत्रहरु मात्र थिए । कुमायुँ युनिभर्सिटिबाट प्रोभिजनल प्रमाणपत्र पनि ल्याउनै पर्ने भयो । माननीय सदस्य गौरीसंकरलाल दास समक्ष १५ दिनभित्र म यो कागज पेश गर्नेछु , अन्यथा मेरो रेजल्ट रद्द गरिदिए मंजुरी छ भनेर निबेदन दिए । मेडिकल टेस्ट गराउनु पर्ने अर्को झंझट आयो । वीर हस्पिटलले चेक गर्नै २ दिन लगायो । अन्तमा मुटुको बायाँतिर साइज बढेको भन्ने पो लेखिदिएछ । साँच्चै  मुटु सुनिएको छ कि क्या हो भनेर सिढी चढदा पनि स्वाँ स्वाँ हुन थाल्यो । साथी हरीदत्त पाण्डेयजीको सहयोगमा डा पदमबहादुर चन्दजीसंग बिस्तृत सल्लाह लियौ । अन्तत: रिपोर्ट बदलियो । 
२३ गते आइ क्यु टेस्ट दिए । सन्तोषजनक भएन । दिक्क लागेर दिनभर फिल्म हेरे । ग्रुप डिस्कसन ठिकै भयो । राति पूर्ब प्र जि अ चुडामणी उपाध्यायज्युको घरमा बसियो । तर्कपुर्ण अभिब्यक्ति ठिकठिकै लाग्यो ।
 २९ गते अन्तर्बार्ताको दिनको अघिल्लो रात भरि निन्द्रा नपर्नाले टाउको भारी थियो । सर्टिफिकेटबारे भएको सोधपुछका कारण दिक्दार लागेर मुड नै विग्रेपछि के गर्नु र ? तर मरता क्या नहि करता भने जस्तो बिस्तारै म सुरिए । 
राम्रोसंग नेपाली बोल्न नआउने हामी परपश्चिमेलीहरूको निम्ति लोकसेवाको ठुुलो हाउगुजि हुन्थ्यो । झन टेक्ने समाउने  हाङ्गो नै नभएको मेरालागि त यो ठुुलै महाभारत थियो । आफुु बिषयबस्तुुमा त्यती पोख्त पनि परिएन । सुदुरको डोटि केन्द्र बाट बिरलै पास हुने मध्ये यसपालाको एक्लो उमेदवार पनि थिए । राष्टिय पंचायत सेवा र प्रशासन सेवा गरि दुई बिज्ञापनको लिखित परिक्षामा पास भएकोले एक ठाउँँमा त कसो पास नहोइएला भनेर आत्म बिश्वास पनि कायमै थियो । जेहोस, अन्तर्वार्ताको घडी आयो ।
प्रशासन सेवाको अन्तर्बार्ता बोर्डमा लोकसेवा आयोगका तत्कालिन अध्य्यक्ष उपेन्द्रमान मल्लज्यू स्वयंले अध्यक्षता गर्नु भएको थियो । एकजना बोर्ड सदस्यले बैतडीको समाजमा प्रचलित बहुतै बदनाम एउटा सामाजिक कुप्रथाको बारेमा केही जानकारी छ कि ? भनेर प्रश्न गरे । उनको यो हेपाहा प्रश्न थियो भन्ने कुरा शरीर-संकेत ( body  language ) ले बताई सकेको थियो । मैले प्रतिप्रश्न गरे " नेपालको जुनसुकै समाजमा पनि कुप्रथाहरु बिद्यमान छन् । मात्रात्मक रुपमा वा नीजि दृष्टिकोणले समेत ती समस्या ठुुला साना लाग्न सक्दछन् । बैतडीको हकमा पनि त्यहाँ थुुप्रै त्यसता समस्या छन् । ती मध्ये केही पहिचानमा छन्, केही नहुन पनि सक्छन् । कुन समस्याको बारेमा कुरा गरौ, म अलमलमा परे । यहाँको संकेत देउकी प्रथा तर्फ हो भने म केही जानकारी दिन सक्छु । "
उनले हो भने । यो मेरालागि अप्रत्यासित थियो । यसको  बारेमा बोर्ड सदस्यहरु भन्दा मसंग बढि जानकारि छ भन्नेमा म ढुुक्क थिए । सौभाग्यबश त्यसताका म मेरा तत्कालिन हाकिम चुुडामणि उपाध्यायज्युले बढुवा प्रयोजनको लागि लेखिरहनु भएको" देउकी प्रथा " नामको किताबका लागि सामग्री संकलन पनि गरिरहेको थिए  । मैले बुझेको कुरा बोर्ड समक्ष राखेे । यसै सन्दर्भमा हिमाली भेेगतिरको झुुमा प्रथा, काठमाडौंको कुमारी प्रथा वा बैतडीको देवकी प्रथा प्रकारान्तरले लगभग एउटै कित्ताका कुरा हुन् पनि भने । यो कुरा काठमाडौंका खाँटि रैथाने अध्य्यक्षज्युलाई चित्त बुझेनछ क्या रे । उनले यो कसरी हुनसक्छ? तर्क सहित पुष्टि गर्नोस भनेर अह्राए । " कुमारि गुठिको समुचित ब्यबस्था नभएमा र निबृत कुमारीको जीवन निर्बाहको अरु कुनै उपाय पनि नहुने एबं बिबाह पनि गर्न नपाउने परिस्थिति निर्माण भएमा के हुन्थ्यो? हामी सबैले सहजै अनुमान गर्न सक्छौ "  यसै लाइनमा कुरा राखे । केही बस्तुगत जानकारि पनि दिए । अध्य्यक्षज्यू " पख्नोस, केही कुरा टिप्नु पर्ने भयो " भन्दै डायरीमा नोट गर्न थाल्नु भयो । यसै सिलसिलामा ४०/४५ मिनेट विभिन्न प्रश्न गर्दै बुँदा टिपोटमा लाग्नु भयो । अरु कुरै हुन पाएन । अन्तमा मैले धेेरै समय लिए, कसैको केही सोध्नु पर्ने छ कि भन्दा अरुहरुले छैन भन्ने संकेत गरे । बस्... मेरो इन्टरभ्यु सकियो ।
अन्तर्बार्ता दिदा शुरुमै मेरो अध्यनको बिषय समाजशास्त्रका सैध्दान्तिक कुरा आए । त्यसपछि सामाजिक समस्या देउकीका प्रसंग झिकियो । यो समस्यामा मेरो अध्ययन थियो नै । बोर्डमा प्रभाव पार्न सकेजस्तो लाग्यो । त्यसै राति कसैलाई केही नबताई खुरुक्क भैरहवा लखनौको बाटो नैनीताल हिडे । सुनौली लखनौको रु ४३/- भाडा थियो । बसमा  साधुभेषको कुइरेले बस नरोकेको झोकमा ठाडटाडै बसभित्रै finish भनेर दिशै गरिदियो । बसबाटै साकेत हेरे । लखनौ पुगेर उनै पुर्ब प्रजिअका छोरा बिनितमणि उपाध्यायको डेरामा बसे । साउन ३२ मा झरीसंगै ११ बजे नैनितालको वसन्त होटेलमा कोठा लिइ सोझै भी सी बंगला पुगेर निबेदन लेखि त्यसै दिन प्रोभिजनल लिए । यसपछि लामो सास फेरेर सरोबर शहरलाई  टुलुटुलु हेरे । रु सातको तरकारी मात्र खाएर रात काटे । खर्चको तामझाम लगभग सकिएको थियो ।
ओलके संक्रान्तिको बिहान नुहाई धोई सकिवरी १.३० मा काठ गोदाम झरेर रिजर्बेसनमा सोझै लखनौ राति ९ बजे पुगे । लगत्तै गोरखपुरको ट्रेन समाते ।  यौटा रानीखेते इन्डियनले कपडाको व्यापारी सम्झेर बाटोभरी चिया नास्ता ख्वायो । " गोरखे साले बदमास होते है " पनि भन्यो । पत्रकार बताउने गाजियाबादको शायद २ नं को काम गर्ने व्यापारी समेत साथी बन्यो । ३०००/- सजिलै कमाइन्छ भन्ने गारमेन्टमा काम गर्ने टेलर  समेत ४ जनाको जत्थामा मिसिएर भारततिरको यात्रा निरापद गराईयो । सुनौली काठमाण्डौको टिकट काट्दा मसंग मुश्किलले ५ /- बचेको होला । सस्तो खालको चाइनिज डिजिटल घडी बाहेक बेचेर गुजारा हुने सामान थिएन । कागजका केही प्रमाणपत्र र थोरै ब्यक्तिगत सामान बाहेक मसंग गुमाउनु पर्ने केही थिएन । हलुका भएर हिडन कति आनन्द ! गफ गरेरै यात्रा सकाए। ५ भाद्रमा चुडामणि उपाध्यायको घर पुगेर बिनित समेतको खबर सहित बाटोमा बेखर्ची भएको बताएर रु १००/- सापट लिइ बाँकी दिनको खर्च त्यसैले चलाए ।  लोकसेवामा प्रोबिजनल प्रमाणपत्र बुझाएपछिको एक हप्ता अबधिमा ल क्याम्पसमा भर्ना हुन मुडकोर्टका कक्षा पनि लिए । कृष्णजन्माष्टमी मनाए । काठमाडौंको गोऽरा हेरे। गृह मन्त्रालयमा काज हाजिर भए ।
… र भइयो अफिसर 
भदौ १४ गते पुर्ब प्र म लोकेन्द्र बहादुर चन्दज्युलाई भेटन गएको त बधाई पो पाए । पास भएको खवर लोकसेवाकै माननीय सदस्य सत्यनारायण झा ले भनेका रे । त्यो राति निन्द्रै परेन । १५ गते बिहानै पुर्ब कन्जरवेटर बलराम भट्टलाई भेटन गए, खबरको सत्यापन गराउन । माननीय सत्यनारायण झालाई सोझै सोध्न लगाए ।  हो रै छ । १० बजे सुचनै टाँस्दै छ होला भन्ने जानकारी पाए । 
यो घटनाक्रमले मलाई नतिजा प्रकाशित नहुन्जेल बडो सकसपुर्ण छटपटिमा राखेको थियो  । के भयो? कस्तो भयो? भन्नै नसकिने, अनुमानै गर्न नसकिने । रेजल्टको लागि आयोगको कमलपोखरि स्थित कार्यालयमा सुचनाको प्रतीक्षा बाहेक अरु के गर्न सकिन्थ्यो र ? । धेरै दिनपछि टेक्सी चढेर कमलपोखरी गए । 
तात्तातै सुचना हेर्दा आफनो नाम नै नभेट्टिने । दोह-याएर हेरे । अँँ हँ, देखिदैन त । तेस्रोपल्ट फेेरि सुचनापाटिमा टाँसिएको लिष्ट पढ्दा बल्ल नाम देखियो, ७३ नम्बरमा। सौभाग्यबश हाम्रो भेेगका सबै सिफारिसमा परेका रहेछौ । 
यसरी एउटा लामो पर्खाइ सकियो ।  अफिसरको परीक्षा पास भएछु । जीवन यसरी नयाँ लिगमा प्रबेश ग-यो । उर्बादत्तजी समेत भै स्टाफ कलेज गयौ । ५ असौजबाट बेसिक तालिम रे । रु १०००/- सरसापट मागेर सहयोगी हितैषिहरुलाई कृतज्ञता सहित मिठाई दिइ सामान्य झरफर गरे । मुडकोर्ट सकि १८ गते गृ मंबाट काजफिर्ता भए । त्यसै राति भैरहवा । अर्को दिन लखनौ- पिथौरागढ  झुलाघाट हुँदै सोझै २१ गते राति ससुरालीमा तीन छोरा र एक श्रीमतिसंग खुशि बाँडे । यसरी म अफिसर बन्ने चरणमा पुगे । 
बिहानै छोरा दिपक साथमा लिई जिल्ला कार्यालयमा उक्ले । वास्तविक सहयोगी र चेपारे मित्रहरुको अनुहार ठाडै चिनिने रहेछ । जि पं को पेश्की फर्छयौट गरे । भिडभाड जस्तै बधाई पाउछु । २६ भाद्रमा घर जाँदा बाटैमा घाङल नाउलामा नुहाएर असिमकेदार मन्दिरमा पुजा गरे । भलो चाहनेहरुले खुशी प्रदर्शन गरे । नचाहनेहरुले पनि नखरा देखाए । आमाबुवासंग बिदा भै २८ गते घरबाट कार्यालय फर्किए । फेरि मैले गाउगर्खा छोडनु थियो । यसैको तारतम्य मिलाउनमा लागे । 
भदौ २९ मा अफिसले  बिदाइ दियो । ससुरालीमा सासुले बिमार परेको खबर पठाएपछि श्रीमती उता लाग्छिन । दिपक गोठलापानी भाइको डेरातिर सारिन्छ । ३० गते बिहान अफिस छाडछु । कान्छा ससुराज्यूले पनि बल्ल साइनोसहित टीका लाउछन ।  ठकुरिहरुसंग सचेत हुनु भनेर अर्ति पनि दिन्छन । म यसभित्रको कूट अभिब्यक्ति बुझ्दछु । दीपकसंग समेत नबोलेका ती बुढासंग सम्बन्धित घटना याद आउछन । सहयोगी दामबहादुरको सहयोगमा झुलाधाटतिर सर्छु । राति पिथौरागढ पुगेर साथी हरीदत्त पाण्डेयजी संगको सहयात्रा शुरु हुन्छ ।  
जिन्दगीको यौटो अर्कै पाटो
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह मा दरबन्दि राखिएको रहेछ । मिति ०४३/६/६ देखि प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ( staff  college ) मा प्रशिक्षार्थीको हैसियतमा प्रबेश गरियो । मेरालागि कुनै पनि कलेज नामधारि संस्थामा प्रबेश पाएको यो नै पहिलो र अन्तिम घटना भयो । ९० जनासंगै मैले पनि प्रशासनिक प्रशिक्षण शुरु गरे ।
यो संस्मरण लेख्न बस्दा केही मनोबादहरुको लाम लाग्दैछ । सानो छंदा आकाशमा देखेको हवाइजहाजमा धेरैपटक चढिसके । तर जहाजको छायांलाइ पछ्याएर दगुर्दाको जस्तो आनन्द  कहिले पाइएन । चिल्ला सडकमा गुडाइएको गाडीभन्दा गाउँको काठे पांग्रा गुडाएको र पैदल कुदेको जस्तो आनन्द कहिल्यै पाएन । भौतिक सुखसयलका सबै माध्यमहरु क्रमस: सांगुरा हुन्छन् । त्यसैले हामी फराकिलो ठाउं खोज्दछौ ता कि स्वच्छन्द रुपमा फुल्न पाइयोस ,चाहेको जीवन जिउन सकोस् र आफुले सिकेको कुरा नयां पुस्तालाइ सिकाउन सकोस् । म पनि आफु हुर्केको गाउं, शहर र राजधानीलाइ जोडेर फराकिलो पार्न चाहन्थे । फालिएका चिजहरुमा उसको सिर्जना प्रयोग गरी उपयोग गर्न चाहन्थे । आफु जन्मेको ठाउंलाइ भौतिक रुपमा मात्र हैन सामाजिक रुपमा पनि फराकिलो बनाउन चाहन्थे  । उसले सिकेका मुल्य र मान्यताहरुलाइ त्यहां स्थापित गर्दै सांगुरो जन्मभूमिलाइ हरेक हिसाबले चौडा पार्न चाहन्थे । अर्को शब्दमा भन्नु पर्दा गाउं फर्केर ‘पाखे’ नै रहन चाहन्थे । 
तर नाटक नै भए पनि रामलीला जस्तो खास रंगले जीबन रंगियो । केही महिनाको तालिममा नाटकको कुनै पात्रको मनोदशामा  रंगिएपछि त्यो निकाल्न गारो हुँदोरहेछ । कुनै पात्र बनेर गरिएको नाटक मन्चनको दुरगामी प्रभाव पर्न जाँदो रहेछ ।  पदीय हैसियत लिएर थातथलोको प्राकृत जीबनबाट टाढा जानू पर्दा अनायासै मनमा रामलिलाका पदहरु गुन्जिएका थिए ।
  " उतारू राज के कपडे , 
बनाऊ वेश मुनियन का।  "
जे भने पनि आफनै माटो आफनै बाटोमा हिडनुको मजा नै बेग्लै छ ।आनन्दकी पगडंडियामा स्वामी रामतिर्थले जीबनका बिबिध बिसौनीहरुको व्याख्या गरेकाछन् । क्रमस: आमाको काख, खेलकूद, साथी, किताब, तरुण/ तरुनी , पैसा, पुत्र र आत्माको खोजीमा जीवन दौडिदो रहेछ । आत्मालाई अंतिम आनन्द पनि आफु जन्मिएको, आफनो ईतिहास बोकेको माटो नै हुने रहेछ । 
म खुशी मनले गाउँ फर्कन चाहन्थे  । जागिरका बिबिध यात्रा मेरोलागि जीवन धान्ने उपक्रम मात्रै हो भन्ने लागेको थियो  । यति मात्रै हो, यो यात्रासंगै केही जीवन सिकेको थिए - केहि बोलेको थिए । जहाँ भए पनि मूलत: म उहीँ माटोको थिए, जुन माटोमा पहिलोपल्ट टेकेको थिए ।
***

Monday, April 13, 2020

शुभकामना हामी आफैंलाई

नवबर्षाभिनन्दन २०७७
 नूतनाभिबादन  विवाह बार्षिकोत्सब ४५


ओ हो,
झन्डै आधा शताब्दि समेटिएर
त्यो सुखद संयोग नै सिंगै जीबनको आधार बनेछ । 
संझन्छु, 
दुई बीस पाँच बर्ष अगाडि,
लुस्सुक तिमीले यौटो औंठी दिएकी थियौ ,
 खुस्सुक्क मैले त्यो स्विकारेको थिए ।
त्यसपछि,
 हामी हिड्यौ त बाटो बन्यो ।
हामी बस्यौ र पो बास भयो ।
अरुलाइ हेरि नक्कल गर्दा
आफु हराउने हो कि भन्ने ठान्यौ ।
 बुझ्दै गयौ,
 संगसंगै हिडदै गयौ ।
कहिले बर्ष पनि अल्प भयो, 
कहिलेको दिन पनि कल्प भयो ।
मायाप्रेमका बजारीकृत बिकाउ परिभाषा भन्दा पर
एक अर्काका आदर्श, आबश्यकता,प्रेय र श्रेय बन्यौ ।
जीबनयात्रामा लागेका कतिपय चोटहरुले 
अरुले औंल्याउने एकाङ्की खोटहरुले ,
 न कहिले रुमलियौ, 
न कहिले बदलियौ ।
स्थिर सत्यले भरिएको
आफनै जमीनमा उभिइ रह्यौ ।
अहिले पनि,
 कालक्रमले केही नयाँ सिकाउदैछ, सघाउदैछ।
अझै सिकाउनेछ, सधाउनेछ ।
 आउ!
 संगै हिडौ, संगै पुरुषार्थ गरौ ।
जीवन बिणाले सँधै नयाँ गीत गुनगुनाइ रहोस ।
र यो क्रम चलि रहोस………. चलि रहोस् ।>>>>>>
 नौलो बर्ष २०७७ को पहिलो दिन
हाम्रो विवाहको ४५ सौं  बार्षिकोत्सबमा
नूतनाभिबादन ।
हामी आफैंलाई,
हाम्रा सबैलाइ ।
 &&&&


Sunday, March 29, 2020

अतित उत्खनन-४ ( गइयो डोटी)

अतीत उत्खनन-४ (गइयो डोटि, ……..)
तत्कालिन क्षेत्रीय सदरमुकाम
२०४१ माघमा म सपरीवार दिपायल पुगे । राजपुरमा तत्कालिन शाही  सेनाको बाहिनी समेत सिभिल तर्फ लोकसेवा आयोगको सुदूर पश्चिम क्षेत्रीय कार्यालय, हुलाक सेवा बिभागको क्षेत्रीय निर्देशनालय, स्थानिय बिकास मन्त्रालय, क्षेत्रिय कार्यालय र नगर बिकास समितिको अफिस मात्र  थिए । केही क्षेत्रीय कार्यालय सेती पारी दिपायल र माथि सिलगढीमा समेत स्थापित थिए । सडकको डोरो भरखर पुग्न लागेको समुवागाडमा टिन र खरले छाएका पसल खुल्न थालेका थिए । त्यहाँबाट रोड कता जाने हो निश्चित थिएन । सबैका आआफना तर्क थिए । 
सिमित कर्मचारिलाइ समेत राजपुरमा बस्न खान धौ धौ हुन्थ्यो । तरकारी  त पटक्कै नपाइने भने पनि हुने थियो । यहि गंजागोलमा सपरिवार म राजपुर बस्ने भए । कुमालीबटाका  जम्मा ३ घर मध्ये एउटामा डेरा पाइयो । केही दिनपछि कार्यालयले नै स्टोरको नाममा एउटा घर भाडामा लियो । त्यतै डेरा सरे ।  घरपट्टी थिए राम बहादुर कठायत । हाल धनगढीका स्थापित उद्यमीहरु उत्तम र रतनका पिताजी । मैले डेरा सारेकै दिन गेटामा क्षेत्रीय आँखा अस्पताल खुलेको समाचार सुनिएको थियो । फागुन अन्तिम हाताको होरीको रमाइलोबाट डोटीको क्षेत्रीय सदरमुकामको टुहुरे बसाई ब्यबस्थित गरेको थिए । दुइ बच्चा बोकेर शारिरिक र मानसिक कमजोरीले अशक्त बन्दै गएकी पत्निलाई संगसंगै स्याहार्नु कम्तिको उकालो काम थिएन । त्यसैमा बिपन्नतम घर र ससुरालीका समस्या बेग्लै थिए । हाइस्कुलसम्म स्थानिय परीबेशमै स्थानिय भाषाको माध्यमबाट नेपाली पढियो ।उच्च माध्यमिक र स्नातक शिक्षा ब्यक्तिगत अध्ययनमै हिन्दी माध्यमबाट लिए । यसरी म अलि अलि सबै जान्ने पूरा केही पनि नजान्ने अधकल्चो मान्छे बनेको थिए । कुनै भाषामा पनि शुद्ध  र सपष्ट लेखाइ थिएन । डेरामा पनि अध्ययनको वातावरण बनेन ।
बैतडीमा खान पुग्ने नै थियो । कहिलेकाहि घर गइन्थ्यो । माइततिर पनि हेरिने थियो । बेकारमा धोती न टोपी हुन यता आइएछ भन्ने पत्निमा पिरलो पलायो ।  रिक्त पद खोज र जाँच लेउ भन्ने मात्र आयोगको क्षेत्रीय कार्यालयको सनातनी कार्यादेश भए जस्तो देखियो । कहिले समुवागाड ओर्लियो, कहिले सिलगढी उक्लियो । कहिले लोकसेवा परिक्षाको नाममा नयाँ नयाँ उमेदवारसंग गफिएर  दिन काटिन्थ्यो ।
दिपायलको लोक सेवा
लोक सेवा आयोग, प्रादेशिक कार्यालयमा खासै काम थिएन । कार्यालयमा  दुई अढाइ सय किताब भएको पुस्तकालय नै दिन काटने मेसो बनेको थियो । यिनै पुस्तकहरुको आधारमा शाखा अधिकृतको परिक्षा दिन सकिन्छ कि भन्ने सोचाइ उम्रियो  । तर हातमुख जोडन सघाउने नौकरी बाहेक न कुनै थप पाठ्यसामग्री उपलब्ध थियो न कुनै परामर्श पाइने अवस्था थियो । डोटी बसेर शाखा अधिकृत को लोकसेवाको तयारीमा लागियो । जनकबि केशरी धर्मराज थापाले लेखेको मेरो नेपाल भ्रमणबाट पुस्तक उधिन्ने क्रमको शुरुवात गरे । स्वाध्यायबाट स्थापित हुने क्रममा एक खुटकिलो उक्लिन सकि पो हालिन्छ कि भन्ने झिनो तरंग मनमष्तिष्कमा उठन थाले । 
बर्ष ४२ को पहिलो दिन राजराजेश्वरी र कादम्बिनी पढेर तथा पल्लाघर श्राद्धको भात खाएर बिताउछु । गर्मी ४३°` नाघ्छ। येनकेन जुगाण गरेर पुरानो ऋृण तिर्न  रु १६००/- घरमा पठाउछु । पहिलोचोटी शाखा अधिकृतको फाराम भर्छु । भाग्यदेवता सम्झन्छु र पहिलोपल्टको ट्रायल भने जस्तै परिक्षामा बस्छु । रेजल्टआउदा पहिलो प्रयास खेर गए पछि अर्कोपल्ट कोशिश गरे पास हुन सकिन्छ जस्तो लाग्यो । दैनिन्दिनीका केही रुटिन बदले । बिबिसी हिन्दी सर्भिस आद्योपान्त र नियमित सुन्ने गरे , विशेष गरि रत्नाकर भारतीको आजकलको रिपोर्ट कहिले छुटेनन होला । नियमित नोट गर्ने तथा नेपालीको लेखाइ सुधार्ने उपक्रममा लागेपछि  केही निखारिए । 
त्यसबेला ६/६ महिनामा शाखा अधिकृतको निम्ति बिज्ञापन खुल्थे । दोस्रो पल्ट भने साथी गणेश बहादुर खडका र मेरो संयुक्त तयारीको सिलसिला चलायौ तर कुनै कार्ययोजना थिएन । उनी हाम्रै कार्यालयमा लेखापाल थिए ।  कनिकुथि आफनै तरिकाले प्रशासन सेवा, परराष्ट सेवा र राष्ट्रिय पञ्चायत सेवामा दिपायल केन्द्रबाट नै परीक्षा दिने उपक्रममा लागियो । 
०४२ को दोस्रो बिज्ञापनमा ३१ असौज शुक्रबारको दिन रौ नं ७ कायम हुने गरि डोटि केन्द्रबाट फाराम भर्छु र कतै नगइ  तयारीमा लाग्छु । दिपायलको निम्छरो बसाइमा खासै केही पाइदैनथ्यो ।तर पनि दशै आयो । श्रीमतिले धान खोजेर ल्याइन । ओखल कुटेको धानको भात खाँदै सामान्य रुप मै दशैतिहार गयो । कहिले नुन बिनाको खाना कहिले नून मात्रै भनेजस्तो जिन्दगी यस्तै चलिरह्यो ।
२३ गते मन्सिरदेखि लिखित परीक्षा शुरु भयो । आफनै बनिबुतो बाहेक कतैबाट सहयोगको गुन्जाइस नै थिएन । कार्यालय स्टाफहरुसंग गफैगफमा कुनै दिन ` कि पास भइन्छ, कि फेल भइन्छ,तर बैकल्पिक बनेर बसिदैन  ´ भनेर गफ लाएको रहेछु । संयोगबश आफनै कार्यालयका सेकेनम्यान बैकल्पिकबाटै नियुक्ति पाएका रहेछन । छुल्याहाहरुले बढाइ चढाइ कुरा लगाउदा बेकारमा उनको कोपभाजन बन्नु पर्यो । 
जाँचको दिन डोटी केन्द्रमा कुल २६ मा १६ जनामात्र उपस्थित रहे । रचना, सामान्य ज्ञान र ऐन कानून लगालग भ्याइन्छन । ईतिहासमा आफनो किसिमले ऐतिहासिक तथ्यहरुको व्याख्या गरियो । जान्न त सबैले जानेकै हुन्छन । तर बिस्तृत अध्ययन, अभिब्यक्तिको शैली सुधार र तर्क प्रधान प्रस्तुति परीक्षा उतिर्ण गराउने प्रमुख पक्ष हुन जस्तो लाग्छ । आफू सबै मामिलामा पछाडी नै छु भन्ने अनुभुति संगै  केही हुन्छ कि भन्ने आशा गरेर थप राष्टिय पन्चायत र परराष्ट सेवाको पेपर पनि दिए ।
पन्चायति प्रजातन्त्रको रजत जयन्ती बर्ष थियो यो । पंचहरुकालागी नयाँ आचार संहिता आएको थियो ।पुस ३ मा परिक्षाको भूत धपाइयो राष्टिय पन्चायत सेवाको पेपर दिएर । 
०४२ सालमै ९ पुषमा पहिलोपल्ट डोजर राजपुर पुग्छ । छोरा दीपक असाध्यै रमाउछ । पहिलो ट्रेक खुलेपछि आइ रहने जीप टेक्टर डम्फर ट्रकहरुो नाम नम्बर कण्ठस्थै गरेर राखेकोछ । यसरी हेलेको धुम्रकेतु देखिएको यो अंग्रेजी बर्ष हिउदे झरी ल्याएर सकिन्छ । 
पुस १७ गते २०४२ तदनुसार 1 जनवरी 1986 को डायरीमा कोरिएका शब्दहरु यस्ता थिए । 
" अंग्रेजको अर्को साल  बादल बोकेर आउछ । सानो छोरा कैलाशको बाल- लहरसंगै बिहान गै सक्छ । ८ बजेसम्म पनि घामको अतोपतो छैन तुवाँलो जस्तो लागेर । हिजो दुर्घटना भएको सेनाको RNA23 skyvan बारे थप जानकारी दिनुको साटो रेडियो नेपाल धुमधामसंग शुभजन्मोत्सब समारोह मनाइएका खवर थप्दै लान्छ । बिहानको ब्रह्मकार्य दिशानिबृति र मुखप्रक्षालनमै सिमित गर्दछु । अनि सोझै समुवागाड गै एकजनासंग पैसा माग्दछु । लाग्छ- यो सापट फिर्ताहुने कुनै काँटछाँट छैन । गत सप्ताहान्तको झरीले बाटो बिगारेपछि समुवागाड बजारको पलाएको फूर्ति त्यसै पहेलिएकोछ । चामल र नून समेत प्राप्य छैन । फाटफुट बसेका पसलहरुमा होटल र त्यसमा पनि होटलवालिहरुको बढि बोलबाला देखिन्छ । शाही डिस्टिलरीको आफनो ठाँट छँदैछ । जेहोस दुइटा साबुन  किनेर फर्किन्छु । दिपक स्कुल हिडन हतारिएको हुन्छ । फर्कदा बाटैमा सिमका एक जना सिपाही परिचय लाउछन । खाना खान्छु सुदामाले दिएको तरकारीसंग । ट्र्याकसुटमै अफिस जान्छु । साधारण काम गरिन्छ । नेपाली भाषाको बिकासक्रममा खस र खसानको महत्व बारेको लेख पढछु । मोंपासाको लन्च कहानी हेर्छु । साथिहरुसंग चेस खेल्दै महेन्द्रनगरबाट आएको नायबसुब्बाहरुको नामावली हेर्छु । थुप्रै परिचितहरुले लेखापालमा फाराम भरेका रहेछन । अफिसबाट फर्कदा दिपकसंगै लिएर फर्किन्छु । भटमासको नास्ता खाई दिनचर्या सक्छु । एकाउन्टेन्ट काठमाडौबाट आजै फर्केकाछन । म ले प को ध्वाँस र आफनै हाकिमसंग भेट नपाएर खाएको धोका तथा मुद्राको अवमुल्यनपछि बढेको महंगाइ बारे गफियौ । बेलुका हरीभक्त कटुवालको मनु दिदी कथा पढे । दिपकलाई संख्याज्ञान र हाम्रो नेपाल कबिता सिकाउदै सन्ध्या प्रहर ठिक्क भयो । ग्वाल्लेक केदारको दयादृष्टि पाए बाँकी ३६४ दिन पनि यसैगरी बित्नेछन भन्ने बिश्वासमा छु । हरीको जो इच्छा ।"
यु एन ओ ले 1986 लाई शान्ति बर्षको नाम दिएछ । 1985 को युवा बर्ष हिजो बिलायो । यो बर्ष दक्षिणएशियामा केही शुभखबर सुनिएका छन । पाकिस्तानमा सैनिक शासन हटेकोछ । बंग्लादेशमा राजनैतिक पार्टिहरु उपरको प्रतिबन्ध उठेकोछ । श्रीलङ्कामा सिरीमाओ बन्दरानायकेलाई नागरिक अधिकार वापस दिइएकोछ ।( सरकारी भाषामा क्षमादान दिएको ) 
यस देशको उर्लाबारीमा आजसम्मकै सबभन्दा ठूलो मानिने मर्स्याङदी जलबिद्युत योजना ( 62 MW ) को उद्घाटन भयो । बिश्व समाचारमा क्युबाको कम्युनिष्ट पार्टीले बर्षगाँठ मनाएकोछ । ब्रिटेनले २० बर्ष अघिका गोप्य दस्तावेज हेर्न पाउने नियम ल्याएकोछ । युरोपियन युनियनमा स्पेन र पुर्तगाल थपिदा १२ सदस्य पुगेकाछन । दक्षिण एशियामा SARC स्थापना भएकोछ । श्रीलंकामा तमिलसमस्या चर्किदैछ । राजिब गान्धी राजनैतिक जगद्गुरु बन्ने अभियान चलाएका छन । भुटान Land of sangrila  नै रहने निश्चित छ । नेपालमा शिक्षक र छात्र असन्तोष बढदैछ । पंचायत इतर( कम्युनिष्ट समेत) एकजुट भएर पंचायतको जग नै हल्लाइ रहेकाछन । पंचायतको गुटबन्दी र गिर्दो समर्थनले ब्यबस्था धरमराएकोछ । भारतिय रुपियासंगको १७०/- को बिनिमय दरले अर्थ ब्यबस्था समेत चरमराएकोछ ।
ब्यक्तिगत मुल्यांकन गर्दा ना सु र बि ए बर्ष ८५ मै भइयो । डोटेली बनियो ।शाखा अधिकृतको जाँच दिइयो । घरपरीवारप्रति लापर्वाहिको आरोप लाग्यो । पारिवारिक ऋण जेनतेन तिरिदैछ । पत्निलाइ पनि  एकतोला सुन किनेर हालिदिन सकेकोछु । दिपक कक्षा २ उक्लिएको छ । तेस्रो सन्तानको सम्भावित आगमनले घरब्यबस्था थप चरमराए पनि बर्ष86 को यात्रा शुभ नै रहला भन्ने बिश्वास गरेकोछु । हरी शरणम् । "
यात्राभित्रका उपयात्रा
दिपायलमा बस्दा पनि पत्नीको औषधिका लागि पोलिगन्ज अस्पताल पुग्नु नियमित बाध्यता थियो । मुख्यत: यहि कामको लागि चैत्र २५ गते काज बनाई क्षेत्रीय प्रमुखसंग प्लेनबाट महेन्द्रनगर गयौ । २००/- को औषधिको लागि १५००/- बाटो खर्च लाग्ने देखियो  । हाकिम काठमाडौं जाने भए । म भिडभाडयुक्त बसको बोनटमा बसेर भत्काँडा ओर्लिए ।
त्यस बखत भात्काँढा बजारबाटै डोटी सडक काटिएको थियो । नयाँ नयाँ होटेल थपिएका थिए । बल्लतल् एउटामा बास पायो । ३०/३१ सालतिर भर्खर  हामी नयाँ नयाँ जागिरे बनेर डडेल्धुरा आएको बेला बाख्रा चराउदै " सुर्खेत बुलबुल ताल , माया मै सानी हुदैमा छुट्यो माया जाल " भन्ने त्यसबेलाको लोकप्रीय गीत दुरुस्तै भाकामा गाउने सानी फुच्चीले खोलेको होटेलमा पो बास परेछ । ड्राइभर लोग्नेबाट पाएका ६ वटा केटाकेटी स्याहारेर उत्साहका साथ होटेल चलाएकि रहिछन  । लाग्यो, समय त बुर्कुसि पनि मार्दो रहेछ । मान्छेमा आँट मात्रै चाहिन्छ । अर्को दिन ट्रक चढेर ३ बजे समुवा गाड पुगे । हिडनु नपरि ट्रकमा चढेर २ दिन मै दिपायल पुग्ने हामी त भाग्यमानी रे । त्यस बेलाको अनुभव सुनाए साथीहरुले ।
एकपल्ट निरीक्षणको काममा काज खटिएर म पनि घरतिर बैतडी गएको थिए  । साथमा खरिदार हर्क बहादुर बोहरा पनि थिए । पोखरा पाटन सन्तोली हुँदै घर पुग्दा बुवा थला परेका, आमा पिल्सिएकी, भाइ बुहारी अहमले उकासिएकी । मात्र एक दिन बस्न सके । आमा बोल्नु भन्दा बढि रुनु भयो । खासगरी  नातिहरुका बारेमा र पहिलोपल्ट जेठीबुहारीको सन्चो बिसंचो बारे पनि सोध्नु भयो । ससुरालीमा भने सासुलाई शेषपछि जग्गा, फलफूल र भाडाकुडाको बढि चिन्ता थियो ।
बैतडीका केही कार्यालयको पदपुर्ति कारवाही निरिक्षण गर्छु । असौज १३ गते आइतबार दार्चुला जानेक्रममा झुलाघाट ओर्लनु पर्ने भयो । रेडियो साथमा हुदा नेपाल टु नेपालको परमिट बनाउनु पर्ने हुन्थ्यो । यो नाका कैयौ चोटी ओहरदोहर गरेको परिचित नाका थियो नै । मसंग परिचित भन्सारका पुराना कारिन्दा पनि प्राय पुरानै थिए । तर कर्मचारीका घुमाइमा परी रेडियोको अनुमति बनेन । यसरी काम रोकेकोमा बदला लिएको जस्तो केहिको आँखामा चमक आएको थियो । झुलाघाटका मामा न भान्छा भन्ने उखान त्यसै चलेको होइन रहेछ । अर्थात त्यो घाटमा कुनै नाता सम्बन्धले काम हुदैन । मात्र मतलबसंग सम्बन्ध रहन्थ्यो । मेरो पुर्ब परीचयले त्यहाँको स्वार्थी कारिन्दाको बृतलाइ कुनै असर परेन । 
त्यस दिन भंसारकै निरिक्षण गर्ने भनी त्यहि रोकिनु पर्ने भयो  । तत्कालिन अर्थमन्त्रीको आदेशमा नुवाकोटका एकजना बहिदार ठाडै भर्ना गरेका रहेछन  । त्यस बारेमा प्रतिबेदन लिए । आयोगको बार्षिक प्रतिबेदनमा त्यो ब्यहोरा समाबेश भएको थियो  । अर्को दिन मात्र परमिट बनाइ पिथौरागढ हुँदै दार्चुला गयौ । दार्चुलामा निरिक्षणको सामान्य काम भयो । चिनजान नबिकरण भयो । जानकारी लिए । २० गते महेन्द्रनगर पुग्यौ । प्लेन टिकट र उडान रद्दका समस्या छँदै थिए । अन्तत: अछामको टिकटमा उडनु पर्ने बाध्यता आयो । उड्यौ र पाइलटलाई समस्या बतायौ । बडो मनकारी चालकले रुटमै पर्ने दिपायल एयरपोर्टमा आकस्मिक अवतरण गराई सात जना यात्री ओरालेर बडो नभुलिने गुन लगायो । 
सबै मानिस एकै स्वभावका कहाँ हुन्छन र । सामान्य काममा एक दिन ढिलो गराइ दिने झुलाघाटको प्रबृति र अर्काको मर्का बुझी बाटैमा प्लेन ओरालेर सहयोग गर्ने पाइलटको सहयोगी भावनाका आआफनै बृत छन ।
डेरामा पचासौ बाल्टिन पानी बोकी उमारेको रायो भ्वाँ लगाएका गाइले चट पारेपछि केही गर्ने जागर नै सकियो । नियतिले बिना तरकारी निर्बाह गर्ने भनेपछि के लाग्यो र? । कोतेधन्दाका किचलोहरुको स्टक परान रहुन्जेल बाँकि रहने लेखान्त छ जस्तो लाग्छ । केही नयाँ परिचय थपिन्छन । केही पुराना बिर्सिदै जान्छन । मान्छेको मेमोरीनै कति होस र ? बिस्तारै समुवागाडमा ट्रक आउन थालेपछि महंगै भएपनि समान पाउन थालेकोछ । चामल साढे पाँच को एक किलो आउन थाल्यो । आलोपालो पारिवारिक स्वास्थ्य बिग्री नै रहने दिनदशा बाँकी नै छ । सरस्वति पुजा गरि बसंतपंचमीको दिन माइलो छोरा कैलाशको अक्षरारम्भ भयो । एउटा अर्को हिउद सकियो ।
फागुनमा ज्वरो आएर दिपकको बेहाल भयो । सि डि ओ बैतडीले समेत सहमति दिएकोले सरुवाको लागि निबेदन पठाए । फेरी बैतडी जाने भन्दा पनि स्वास्नी ठुस्किन्छे । यी महिला जातको कुरै बुझ्न गारो । कहिले बैतडीबाट सरुवा किन गराएको भन्ने सवाल आयो कहिले किन जाने भन्ने कचकच आयो ।  पछि थाहा पाए,सुत्केरीको बेला घर गाउँ जान नै डराएकी रे । 
सरुवाकै लागि २०४२ फागुन ७ मा १० बर्ष पछि काठमाडौं जाने भए । प्लेनबाट नेपालगंज पुगेर ज्ञान सुपर कोचको बस यात्रमा अगाडि बसेको शायद कुनै  सैनिक अधिकृत सब कुरामा आफू मात्रै जान्ने भइरहेको देखियो, बेहोरियो । अर्को दिन त्रिपुरेश्वरमा और्लि ट्रलीबाट बवर महल । महालेखामा काम गर्ने बेदप्रकाश भेटिएनन् । रु २५/- कोठा भाडा तिरी सप्तकोशी लजमा बसियो । 
बालुवाटार जाँदा प्रधानमन्त्रीज्युसंग भेट हुन सकेन । पि ए हरुलाई सोध्दा सरुवा भै सकेकोले गृहबाट चिठ्ठी बुझेर ळैजान भनेर पठाए । ११ गते बल्ल  प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दज्युलाई भेटदा जेठमा मात्र सरुवा गरिदिने र त्यतिनजेल काज हुने कुरा पो बताए । लोकसेवाबाट सरुवा सहमति माग्दा परिक्षणकाल नसकिएकोले त्यसपछि मात्रै सहमति दिन सकिने भनेर  पत्र पठाएको बुझियो । यहि चक्करमा केही दिन कटे । अन्तमा गृह मन्त्रालयलेले परिक्षणकाल सकिएकै मितिदेखि लागू हुनेगरी जिल्लाप्रशासन कार्यालयमा सरुवापत्र दियो । फर्केर नेपालगंजमा २ दिनबस्दा पशुपति दर्शनका लागि प्लेनबाट झरेका यात्रुदलसंगै बुवा पनि भएकोले सामान्य किनमेल गराई बसबाट काठमाण्डौ जाने ब्यबस्था मिलाइ  म डोटीतिर लागे । सब यथावत थियो । शिबरात्रीको मेला हेरियो दिपायलको । त्यसै दिनको मेलामा अत्यधिक भीड भै भाँचिएको सेतिको पुलबाट झन्डै बाबू छोरा गैसकेका थियौ । भाग्यले मात्र बाँच्यौ ।
राजपुरका केहि रमाइला पात्र र प्रबृति
जीवन ससाना प्रसंग बोकेर हिडदो रहेछ । यस्ता सन्दर्भ नुन मसाला जस्तै जीवन भोगाइको स्वाद नै बदलि दिन्छन । समयक्रमले केही स्वाद सम्झन लायक हुने नै भए । 
त्यसताका लोकसेवाको केन्द्रीय कार्यालयबाट सरुवा भै आएका एक जना  पियनले लोकसेवाको नाममा असाध्यै फुर्ति लगाएको देखिन्थ्यो । खाइलाग्दो जिउडाल भएको चटक्क ठाँटिएर बस्ने सुदामाको शान कुनै हाकिमको भन्दा कम्ति थिएन । सामान्य मानिसलाइ फुर्ति देखाएर झुक्याउन उनी सिद्धहस्त थिए । यदाकदा आफुलाइ अधिकृत भन्दै आबेदन फाराम स्वीकृत वा अस्वीकृत गरिदिने धाक लाउन समेत बाँकी राख्दैनथे । लगत्तै केन्द्रबाटै सत्यनारायण मानन्धर  नामका नयाँ ना सु पनि सरुवा भएर आए । मानन्धर मिलनसार भोलाभाला मान्छे थिए । ती सुदामा त कुनै सचिबजीको भान्छामा काम गर्ने पियन भए पनि चल्ताफिर्ता मानिस हो रहेछ । आजभोलीको भाषामा सेटिङ मिलाउन सक्ने । नभन्दै ३/४ जनाको यस्तो ग्रुप बनेको अडकल हामीहरुले गरेका थियौ । 
कोडभाषामा हामी ( साथी खडकाजी र म )ले टि एम जी ( तेलमालिस गर्ने ) भनी नाम दिएका त्यो ग्रुपले ती पियनलाइ एक महिना भित्रै  गेस्नर अपरेटर बनाइए सकेछन । त्यसबेला लिथोबाट प्रशनपत्र निकालिन्थे । गेष्टेटनर कम्पनिले निकालेका मेशिनहरु चलाउने जान्ने मानिसहरु लिथो मेशिनको अपरेटर भनेर नियुक्ति पाउँदा रहेछन । यो बहिदार सरह पद हुन्थ्यो । छडके इन्ट्रीबाट यसरी तथाकथित आफनाहरु स्थायि सेवामा प्रबेश पाउथे । त्यसै कार्यालयमा भएपनि हामीलाइ यसको छेउभेउ पत्तै हुदैनथ्यो । गेष्टनर अपरेटर बनेपछि त सुदामाजी दौरा सुरुवाल लाउन थाले । गे . अ .लाइ गेजेटेड अफिसर भनेर अर्थ्याइदो रहेछ , यदाकदा । यही  पद नामको आडमा उ सवारी शिबिर पनि पस्न भ्याएको थियो रे । 
डायरी भन्छ, सुर्यमुखी राम्रैसंग फुलेको बल्ल देखियो । यो केही स्टाफप्रति लक्षित थियो । चाहना राखे दैबले पुर्याउदो रहेछ । काम निकाल्नु परे मात्र उ बिहान नमस्कार गर्थ्यो । साथी गणेश खडका र म उसको बिहानैको प्रस्तुति र बडी ल्यांगवेजबाट दिउँसो गर्नुपर्ने र गरिने कामको अनुमान लगाउथ्यौ । यो एक प्रकारको निशुल्क मनोरंजन नै हुन्थ्यो हाम्रा लागि । तर सुदामा आफनो धुनको पक्का थियो । आफनो विशिष्ट मिसन बाहेक अरु कुनै कुराको मतलब हुँदैनथ्यो उसलाइ । यस्तै प्रबृतिहरुसंग पौठेजोरी खेल्दै र काम परेको बेला ट्वाक्क प्लेन चढेर आउने हाकिमहरुको  निमित्त भएर काम सम्हालदै पदपुर्ति र परीक्षा संगै लोकसेवाको नाममा जिन्दगी हिडि रह्यो ।
तत्कालिन बाहिनिपति नर बहादुर बुढाथोकी अर्का सम्झिनै पर्ने ब्यक्तित्व थिए ।  देशभरि जम्मा ५/७ बाहिनि भएका त्यसबेलाका बरिष्ट सैनिक अधिकारी जिबन्त र उर्जाबान त थिए नै । सबैलाइ समानरुपले व्यवहार गर्ने र प्राय: अश्लील गाली गरेर पनि मयालु ब्यबहारका कारणबाट सर्बसाधारणले मनपराइएका जर्सापसंग मेरो पनि परिचय भयो । कार्यप्रकृति र दर्जाका हिसाबले हामी फरक कित्ताका मानिस थियौ । त्यसबेलाका न्यूजविक जस्ता स्तरीय बिदेशी पत्रपत्रिका  ब्यारेकमा मात्र नियमित आउदा रहेछन । विशेष लेख भएका यस्ता पत्रिकाका पुराना अंक उनले मेरो निम्ति पठाइदिनु हुन्थ्यो । यदाकदा बाटोमा भेटिदा अमुक लेखको बारेमा कमेन्ट गर्न अराउनु हुन्थ्यो । यो मेरोलागि गारो काम थियो । तर लोकसेवाको जाँचको लागि फलदायि पनि मानिन्थ्यो । 
मलाइ संकेत गर्दै उनले  हाम्रो हाकिमलाई एकदिन अह्राए, " यो जाँठालाइ ठिक्क ठाउमा राख्नु है, यो साला रिएक्सन गर्ने औषधि जस्तो छ। "  एकदिन भर्ना खुलेपछि आर्मिको सेकेन लप्टनमा आउनु पर्छ भनेर पनि आश्वासन दिएका हुन्थे । 
एकदिन त गजबै भयो । झोलामा दाल चामल जस्ता खत्याङखुत्रुङ बोकेर डेरा लाग्दा उनैसंग जम्काभेट भयो । ४/५ जनाको सैनिक जत्था सिभिलमा अगाडि पछाडी लगाएर राजपुरको उकालोमा जरसाप स्वयं घोडा चढेर उक्लदै रैछन।
"  ए डोट्याल, झोलामा के ल्यायौ ? " उनले हकारे जस्तै सोधे । मैले " डेराको लागि दालचामल हो हजुर " भने ।
 "ए, डेरामा खान्छौ । कति पर्छ ए, मैनाको " उनले सोधे ।
" पर्छ हजुर ८/९ सय जति ।" मैले जबाफ दिए ।
" माँ चि….ने , फुर्ति लाउछस् । सुनै सुन खान्छस कि क्या हो । कसरी पर्छ, लौ बता।" उनले टक्क घोडा रोकेर ठाडो गालि गरे । मेरो त नौ नाडी गले । जवाफ नै आएन । के गल्ति भयो, ठम्याउनै सकेन । पसिना काढेर बाटो किनारमा उभिए । संगै हिडिरहेका अर्का कुनै सैन्य अधिकृतले झन्न कुरा मिलाए ।
" हो हजुर । त्यति त पर्छ होला । दिपायलमा सारै महंगो पो छ त बजार भाउ । झन सामान पनि पाउदैन।"
 यस पछि जरसापले बजारभाउको सामान्य जानकारी उनै अफिसरबाट लिए । रातो मुख लगाएर उभिएको मलाइ हेरेर आफनो कुरा प्रष्ट्याए।
" तोकिएको राशन खाने म माँ चि… ने भाते सिपाहिलाई के थाहा त । महंगो छ है । नरिसाउनु है, डोट्याल। यो मा चि … को बानी नै यस्तो! " हाँसेरै बाहिनीपति ब्यारेक हिडे ।
 कहिले कसैले यस्तो सम्बोधन गरेको नसुनेको मलाइ धेरै दिनसम्म  रन्थमोल बनायो । यस्तै हाकिमहरु बेहोर्नु पर्ने ठहराएर सेनाको जागिरमा जाने बिचार नै आएन । उमेरले सेनामा जान नसक्ने भनेर उनलाइ सुनाएको दिन त गाली गर्दै उनी निकै जंगिएका थिए ।
 तर ती जरसापलाइ मैले जीवन पर्यन्त भुल्नै सकिन । उनको सदाशयता र सहयोग मलाइ सँधै प्राप्त रह्यो । झण्डै दुई दशकसम्म एउटै पदमा बस्नुपर्दा सेनातिर नगएकोमा पछुतो पनि लाग्थ्यो । 
दिलिपको जन्म
भन्छन,जगतले देखाउछ मात्र, सिकाउदैन  । त्यसैले आफैै सिकिरहनु पर्छ भन्ने धारणा राखेर यतिका बर्ष बिते । सिक्ने क्रम चालु छ । 
राजपुरमा बस्दा श्रीमतिको नछुने रोकिएको ढिलै गरि थाहा पाएको थिए  । आफनै टाउको समाउन बाहेक केही गर्न सक्ने र बर्षातको मौसममा दिपायल छोडेर जान सक्ने अवस्था थिएन । उनी भने भातको सीता नचाख्ने तर काँचो चामल मात्र खानमा जोड गर्न थालीन् । म आफै मानसिक समस्यामा परुँला जस्तो भयो । इश्वरको सहारामा छोडियो जीवन डुङ्गालाई । कैयौ रात भोकै सुतियो । लोकसेवाका जाँच चल्दै गरे । अति स्नेह र आदर गरि डेरामा राखेका गुरु भानदेव  पाण्डेजीलाई समेत अन्तर्बार्ताले अनुतिर्ण बनाइ दिएपछि झन नरमाइलो लागेकै थियो ।
डोटीको जागिर पनि ख्यालख्यालमै सकिएको थियो । ३ बैशाखमा बैतडीकोलागी रवाना बुझेको थिए । चैत्राष्टमी पछि रामनवमीको दिन ५ गते सबै जना नुहायौ ।  न्वाइ धोई सक्ना साथ श्रीमतिलाई प्रसबब्यथाले च्याप्यो । घरपट्टी आमैले भरपूर सहयोग गरिन । २ घन्टा लामो ब्यथापछि ६.३० मा तेस्रो बच्चा जन्मियो , पुत्रकै रुपमा । ईश्वरलाई धन्यबाद दियौ,हामी सबैलाई सुरक्षित अवतरण गराएकोमा । साहिलो छोरा जन्मेको थियो । अब सुत्केरी स्याहार्ने  र दुई जेठा छोराहरु ख्वाउने धन्दा मेरो जिम्मा भयो । सबैको पुर्ण सहयोगमा येनकेन काम भ्याउदै गए । नुहाउने अलग धारा बनाउनु प- यो । छ दिनपछि चिना हेराएकोमा अश्लेषाको पहिलो पाउ हुदा राम्रो छ रे । १५ बैशाखमा न्वारानको कर्म पं गणेशदत्त भट्टजी बाट गराए । रघुकुलका आदिपुरुष र दिपायलका राजा मानिएका राजा दिलिप को नामबाट नामाकरण गरियो ।  बिधिबत दिपायल बसेका दिनहरु पनि यहि न्वारानसंगै सकिए । आयोगकै कार्यालय सहयोगी प्रेमले काममा भरपुर सघायो । तयारी म्यादमा पुस्तकालयका किताबहरुको बरबुझारथ सके । केही किताब फिर्ता आएकै थिएनन । लगत पेश गरे । यसरी दिपायलको बसाइले बीट मार्यो ।
र फेरी बैतडी तिर
१७ गते तीनवटा बच्चासहित सद्य प्रसुता श्रीमतिलाई बैतडी पुगाउन सकिने अवस्था थिएन । अरुलाइ यतै छाडी दीपकलाई संगै बोकेर ट्रकको पछाडी बसेर हिड्यौ । मुस्याचोराबाट भने  घोडा भाडामा लिएर ३ बजे घर पुग्यौ बाबू छोरा । राष्टिय पंचायत सदस्यको निर्वाचनको बेला थियो । गुरुखोला कलौन बुथमा मतदान अधिकृतमा खटाएको खवर पाइसकेको थिए । बैतडीमा यो मेरो दोस्रो कार्यकाल थियो । यसरी अन्धाहरुले हात्ती छामे जस्तै म जिवनलाई बुझ्दै आएको थिए  ।
दिपकलाई घरमा छोडी २१ गते हाजिर हुन गए । प्र जि अ ज्युको बदलिएको ब्यबहारको कारण बुझिएन । ३ दिनपछि भेट पाए । शायद ढिलो गरि आएकोमा ठुस्किएका होलान । तालिम नै नलिई  खाली निर्वाचन अधिकृतसंग भेट गरि भत्ता रकम रु ८१३/- बुझे । गाउँगर्खामा हाकिम भै खानपल्केको स्थानिय पुरानो बनपालेलाई पियनमा खटाएका रहेछन । ती बुढा बनपालेको फुर्ति नै बेग्लै । हजार बहाना बनाउछ काम एउटै पनि गर्दैन । झोलै बोक्न नसक्ने रे । अझ कोठे राजनीति गरेर ठूलो हुनुपर्ने । हप्काइ दप्काइ बल्ल काममा लगाउनु पर्ने भयो  ।
उहिले आफुले चिनेको गाउँ पर्दा समस्या केही परेन । एउटा दलित बस्तीको त पुरै नाम छुटेको रहेछ । येनकेन कुरा मिलाए । ५९% मत खस्यो । चाउचाउ र रोटी खाएर ५.३० मै केन्द्र छाड्यौ । ११ बजे बाकस बुझाइयो । अन्तत: लोकेन्द्र बहादुर चन्द र डम्बर बहादुर चन्द रा प स माननीयमा बिजयी भए । जुलुशसंगै बिजुली गारदका गण जस्ता हुल कता कताबाट थपिन्छन । निर्बाचनको चटारो कम भएपछि एकीकृत ग्रामिण बिकास परीयोजनाको गाडीमा भात्काँणा र त्यसपछि हिडेरै जेठ ९ गते दिपायल पुगे । सब ठिकठाकै रहेछन । महेन्द्रनगर जान प्लेनटिकट १८ गतेको मात्र पाइयो । A glimpse of world's history पढेर दिन काटे । दिपकको सर्टिफिकेट ल्याए । २ बच्चा बोकि ऐ मितिमा महेन्द्रनगर  उत्रियो । रेन्बो होटलमा बास बसि अर्को दिन उपचारार्थ खटिमातिर लाग्यौ । साइत नै बिग्रिएछ जस्तो लाग्यो । बनबसासम्म टाँसिएर बस्न खोज्ने महारोगीसंग रिक्सामा पालो परेछ । पोलिगंजमा दिलिप र श्रीमती बसभित्र लोटेर रक्ताम्य भए । फर्कदा खटिमामा बस चढदा कैलास खस्छ सडकमा । बनबसामै रात परेपछि रोयोको रोयै दिलिपलाई ९.३० मा महेन्द्रनगर पुर्याइन्छ । बल्ल ज्यान बचेजस्तो लाग्यो । एक महिनाको औषधि लिएर आयौ । लाग्छ जिन्दगी भाडामा लिएका हौ । २१ गते प्लेनबाटै बैतडी पुग्यौ । भरिया नपाउदा आलोपालो बोक्दै जोइपोइ घर पुग्यौ । २४ जेठमा बैतडी पुग्दा त टुहुरो जस्तो बनेको दिपक रुन थाल्यो । यसपछि जेठ २५ मा मात्र बैतडीको पहिलो हाजिर लाग्छ मेरो। डेरा खडबडानी नरीको घरमा बनाउछु । भाईले शाहिलेकतिर बेग्लै डेरा बनाइ सकेको रहेछ । मैले साबिक खडबडानीमै डेरा गरे । बल्ल जिन्दगी ब्यबस्थित जस्तो बन्यो ।
बिडम्बना, बुवा महाबीर चन्द स्वर्गबास हुँदा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुन नपाएको दिन थियो यो । त्यसपछि मरीचमान श्रेष्ठ प्रधानमन्त्री बनाइए । 
अफिसमा मुद्दा फाँटमा काम पाएपछि केही स्थानिय दलालले निन्याउरो मुख लगाएको प्रष्टै देखियो। कार्यालयको निरिक्षण को जिम्मा समेत पाए । भर्खर खुलेको भिडियो घरको निरीक्षण गर्न गएको त आधा दर्जन " चलता फिर्ता  कर्मचारी " छडकेमा परे । यस्ले तहल्कै मचिन्छ सदरमुकाममा । सरकारी वकिल बनेर आएका कवि दिनेशहरी अधिकारी संग केही काव्य चर्चा हुन्छ । केही सिकाइ माग्छु । 
अफिसमा  निरिक्षणका काम र ठाडो उजुरी मात्र हेरेर दिन काटे । जेठ मसान्ततिर  पाटन र सतबाँज तिर पनि निरिक्षण गरियो । मेलौलीका नर्सरीहरु पनि हेरिए । । यसरी बैतडी हाजिर भएका एक महिना र एक हप्ता बित्यो । साउन २ मा शाखा अधिकृतको लिखित परिक्षामा पास भएको खवर आयो । डोटीबाट खुलामा पास हुने पहिलो रेकर्ड रे । ग्वाल्लेकतिर हात जोडी नमन गरे । सपरिवार बैतडी सदरमुकाममै खुशी मनायौ ।
यो अवधिमा १० बर्षपछि काठमाडौ यात्रा गरे । शाखा अधिकृतको एउटा उधारो जाँच दिए । पिताजीको पनि  पशुपतियात्राको इच्छा पूरा भयो । उता घरमा भताभुङ र आफुलथालिङ्ग भइए पनि केही उधारो तिरियो । नयाँ ठाउ नया कार्यालय देखियो ।त्यति हो।
परिक्षणकाल नसकिदै ०४२ सालको अन्ततिर फेेरि जिल्ला प्रशासन कार्यालय, बैतडी  को नायब सुब्बा पदमा सरुवा गरिएको थियो । दोस्रो राउण्डमा फेेरि बैतडी पु-यायो ।
लाग्छ,जागिरे जीवन एउटा बन्धन पनि हो, यहाँ केही मान्यता र मूल्यले बाँधेको हुन्छन । नौकरी गर्न थालेको पछिल्लो आठ बर्षले एघार ठाउँ चहार्न लगायो । खैै यो जागिरेबृतिलाई के नाम दिउँ? अलमलमा पर्छु । राजाको सिन्दुर भनेर मान मनितो भए पनि तलब भने खरिदारको मासिक रु २५५/- बाट शुृुृरू गरेको थिए, दोस्रो पल्ट बैतडी सुब्बा बनेर आउदा रू  सातसय चानचुन थापिन थालिएछ । डेरा गरेर घरपरीवार सदरमुकाममै पाल्नु पर्दा हात लाग्यो शुुन्य मात्र हुन्थ्यो । जेहोस् गुजारा चल्दै थियो । जिन्दगिले तीन दशक नाघ्दै थियो । जिवनको खुुटकिलो चढदै जादा उमेर र उर्जा पनि घटबढ हुने नै भयो । यो देखाइ र भोगाईलाइ अक्षरमा कैदगर्दा नोष्टाल्जिक भइदैछ । र जीवन आफनै विशिष्ट लयमा चलि नै रहेकोछ ।
&&&&

Monday, February 17, 2020

कालापानी सिमानाका पुराना सम्झना

कालापानी सिमानाका पुराना सम्झना

  कालापानी- कल्लाताल
बैतडी दार्चुलातिर धेरै होहल्लालाइ कल्लाताल भनिन्छ । आजभोली सुदुर पश्चिमोत्तरको त्रिदेशीय सीमाक्षेत्र कालापानी- लिम्पियाधुरा-लिपुलेक क्षेत्रका बारेमा देशैभरि कल्लाताल भएको अवस्था छ । यो उहिले हुनु पर्थ्यो । तर थाहै नभएर होइन, निहित स्वार्थका कारण लामो समयसम्म नेतृत्वले धुँवाएको समस्यामाथि पातपतिंगर हाली रह्यो । आगो बल्न थालेपछि बल्ल पानी खोज्न थालेकोछ । देशभरी हल्लैहल्ला भएकोछ ।
  कालापानी त्यसै पनि श्रुतिमधुर शब्द लाग्दैन । अती दुर्गम अस्वास्थ्यकर टाढाको अप्ठ्यारो ठाउलाई पनि बोलचालमा कालापानी भनिने प्रचलन छ । तर चर्चित कालापानी क्षेत्र दुर्गम भए पनि हेर्न बुझ्न लायक थियो र अझै सामरिक महत्वको छ । यस बारेमा भैरहेको कल्लाताल सुनेर त्यहाँको पुराना अस्पष्ट बिंबहरुले शब्दचित्र कोर्न थाल्दा अझै पुर्ब- सम्झनाले शरीरमा काँडा उम्रिन्छन् । 
उहिलेको पहिलो कालापानी यात्रा
 बिक्रम सम्बत २०३६ को कुरा हो । एक छोराको बाबू भैसक्दा पनि उमेरले गधेपच्चिसी नाघेको थिएन । एस एल सी सकेर तीन बर्ष जति ग्राम समितिमा काम गरेको मात्र अनुभव थियो । लोकसेवा आयोगको जाँच दिदा दार्चुलाको जिल्ला प्रशासन कार्यालयमा सिफारिस पाए । सरकारी नौकरीतर्फको यो पहिलो यात्रामा त अर्कैै संयोग जुरेको रहेछ। अफिस पुगेपछि मात्र थाहा भयो, हाजिर नहुँदै मेरो पदस्थापन उत्तरी सीमा प्रशासन व्यासमा  भैैसकेको थियो । केही चलाक मित्रहरुले आफुु अनुकुल हुने दाउ हानिसकेका रहेछन् । 
तीन दिनको बिकट बाटो । दार्चुला सदर मुकामबाट झण्डैै सय किलोमिटर टाढाको छांग्रुमा गर्मी  ६ महिना र जाडो ६ महिना खलंगामा कार्यालय खोल्नुपर्ने प्रचलन रहेछ । अती बिकट ब्यास गर्खामा जानुपर्ने गरि दरबन्दि पारेकोमा त्यहाँ नजाउ कि जस्तो पनि लाग्यो । साथीहरुसंग सल्लाह गरे । नियतिले यसपालि हिमालयकै हावा खान खटाएको मानेर चित्त बुझाए । 
  निदानत: सीमा प्रशासन शाखामामा जानै पर्ने भएको हुदा ब्यासबाट खलंगा आउने भएका सीमा प्रशासन अधिकृतलाई पर्खि बसे ।  उनले हाजिर भएको मितिदेखि तलब भत्ता खाने गरि नियुक्ति दिने भनेर ठाडो तोक आदेश लेखी दिए र आफु लुस्सुक्क काठमाण्डौ लागे । ब्यासमा एक जना मुखिया मात्र अफिस कुरुवा बस्नु भएको रहेछ । त्यहाँ हाजिर हुन जान ३ दिन हिडनु पर्ने थियो ।  न माथि न तल हुने गरि सदरमुकाममै झुन्डिएर केही दिन सारै तनावमा बिताए । २८ भाद्रमा सीमा प्रशासन कार्यालयमा मेरो बारे भएको निर्णय पत्र पठाए । असौजमा कार्यालय नै तल खलंगामा सर्ने भएकोले ` देखा जायेगा´ भन्दै आफू भने बैतडी फर्के र घर कुरेर बसे ।
  दशै  सकिएपछि घरमा कामको चटारो थियो । सौका मात्र बस्ने अति टाढाको अपरिचित गाउँठाउँमा जान कसैको सहमति थिएन ।  भेडाको बथानमा करपछ भरी बोकेर ल्याइएको ढिके नून अनाजसंग साटन हिउदमा हाम्रा गाउँतिर पनि आइरहने सौका ब्यापारीलाइ  हुनिया( हुण ) बस्ने दूरदेशका बासिन्दा मानिन्थे । 
त्यहि जान हिडेको बिहान गजाल( खरबारी ) को बाटोमा शीतका दाना चम्किदै थिए । झ्याउकिरी कराउदै केही भनि रहेको थियो । उदास मन लिएर बुवा आमा र घरलाई ढोके । इष्ट कुलदेवता बस्ने ग्वाल्लेकधाम तिर हात जोडे । तिहारको रमझम नकुरी म ब्यासभुमीको यात्रामा निक्लिए । झन्डै आधा घन्टा हिडेर पदमपुरबाट फर्कि हेरेको त सानो कुटुरो पिठ्युमा र अढाइ महिने शिशु तेर्सो गरि काखमा बोकेर आफनै घरवाली हुत्तिदै ओरालो झरी रहेकी देखे । पर्खिए । एक्लै बस्न नसक्ने ठानेर छोरो बोकी जिद्दी गरेर आएकी रे । नाना विधि हप्काए, सम्झाए । अन्तत: उनलाइ माइतमा छोडेर झुलाघाट  पिथौरागढको बाटो दोस्रो दिन धारचुला हुँदै दार्चुला पुगे । नयाँ नौकरी र नयाँ परीबेशसित जुध्नु पर्ने जो थियो ।
  पहिलो ब्यास बसाइ सर्नका लागि केही जोरजाम गरियो । ०३६ असौज २३ गते जिबनको  लामो र बिकट उत्तरापन्थको यात्रामा सहयात्री बन्यौ - म र हरीदत्त २ खरिदार, १/१ मुखिया, पियन, जुनियर हेल्थवर्कर, हवल्दार र कन्सटेबल । जम्मा ७ जना । दार्चुलाको उत्तरी सीमा प्रशासनमा खटिएको यस सिजनको अन्तिम सरकारी टोली थियो यो ।
श्रीभावर, बडुगाँव, स्याकु, हुति, सुनसेरा, राप्ला, दुमलिङ,थिँ ,निगु, बुदि, छियालेक, गर्ब्याङ, सितापुल जस्ता कैयौ स्थान छिचोल्न पुरै तिनदिन लाग्यो । विहान साढे चार बजे अँध्यारोमै उठिन्थ्यो । कहिले त राति आठ बजेसम्म हिडिन्थ्यो । बिकट भिर, निपट जंगल, बाँदर लोटने बाटो, सुनसान बस्ति, तिंकर घोडेटो काटने काममा खटिएका ज्यामीहरु बसेका ओढार । यात्रा दुष्कर थियो । यात्रि हौसलावान थियौ । र पो महाकालीको किनारै किनार बुदिबाट प्रबेशाज्ञा बेगर भारत प्रबेश गरि सितापुलबाट सुटुक्क नेपालको छांगरु छिरेका थियौ । यो कालापानी पुग्ने नेपालको निकटतमबस्ती थियो । यहि थियो सीमा प्रशासन कार्यालय,मेरो पहिलो जागिरे थलो र मेरो पहिलो पाँचदिने यात्राको अन्तिम गन्तव्य । 
  आगनमै हिमालय । चौरी र झुपुका बथान । सौकाहरुको भावभुमी । कालिदासको मेघदुत पिथौरागढबाट किनेर लगेको थिए । थकित शरीर र आल्हादित मनले आद्योपान्त पढें । पुराना साथिहरुले खानपिनको जुगाडबाजी मिलाउथे । भ्याङ्कर, चिपु  भनिने सिङ्गै तिब्बतियन खसी सय पचासमै पाइन्थे । च्याक्ति भनिने मत्ताउने घरेलु मदिराको छेलोखेलो थियो । गोर्खाली जागिरेको चल्तिको खान्गी नै यहि हुन्थ्यो । काम गराइ यस्तो थियो कि गत महिनाको निर्णयको आधारमा आफुले आफुलाइ नै नियुक्तिपत्र दिनुपर्ने भयो निमित्त हाकिम बनेर । नियुक्ति पहिला लिने कि निमित्त हाकिम पहिला बन्ने प्रश्नमा पहिलो निर्णयबाट एक थान अर्को जागिरको श्रीगणेश गरियो । मेसको सहभोज चलाएका थियौ । खाँदिएर लहरै सुत्थ्यौ । मन लागे जति तास खेलिन्थ्यो  । कसैसंग वा भनौ शेष दुनियासंग सम्पर्क थिएन । रेडियो समेत सपष्ट नसुनिने एउटो मायावी संसार थियो । 
  हिउँका सेता चुुचुराहरु मुनिका बृक्षबिहीन पखेरा । त्यस मुनि ससाना झाडी हुँदै कहालिलाग्दा लेकहरु । तल बेसीमा जता हेर्यो त्यतै राम्रो लाग्ने फूूलका मैदानहरु । नेपाल यति विशाल छ र यहाँ विबिध भाषा-उपभाषा, संस्कृति- उपसंस्कृतिहरु भए पनि एक अर्काको हृदयको भाषा सबै नेपालीले बुझ्छन भन्ने मैले पहिलोचोटि महसूस गरे ।  जिब्रोले मात्र हैन, आँँखाले, औलाले, दाँत-ओठ, अनुहारले पनि बोलिदो रहेछ । स्थानिय बोली पट्टकै नआउने हुदा यस्तै " सार्बभौम " भाषाले काम चलाए । हिमाली पर्वतहरुको सियालोमा २०३६ को तिहार ब्यास क्षेत्र रुङेर सकियो ।
  आजभोलि प्रेस रिपोर्टको भरमा बनेका कालापानी बारेका थुुप्रो जानकार भेेट्टिन्छन् । हामीले त्यसबेलाको  त्यो विषम परिस्थितिमा पनि सरकारलाई स्थलगत प्रतिबेदन दिएका थियौ । कालापानीको अतिक्रमण र महाकाली मूलको निरुपणबारे सरकारको सपष्ट निर्देशन चाहन्थ्यौ ।  सुनेका थियौ, पहिले भारतको प्राइमरि कक्षाको भुुगोलमा समेत " महाकाली नदि जोलिङकाङ पर्बत से निकलति है" भनेर पढाइन्थ्यो रे । हामीले नेपाली बिश्वज्ञान अनुसार सबभन्दा ठुलो भनेर फेवा ताल र महाकालीको मुहान भनेर कालापानीलाई जानेका थयौ ।  विडम्बना, कालापानी(?!) बाट काली नदि निक्लिएको बिबादित तथ्य बारे एकीन गरेर केही भन्न सक्ने अझै भएका छैनौ । सरकारी नौकरीको पहिलो चरण त्यहि कालापानीबाट मात्र १०/१५ किमि तल छांग्रु स्थित जिल्ला प्रशासन कार्यालय, सीमा प्रशासन शााखा, ब्यासको खरिदारको हैसियतमा धेरै कुरा देखि जान्ने भएर खेपियो  ।
  पहिलो खेपको यो यात्राबाट खलंगातिर फर्कदा भारतको मात्र बाटो हिडेर धारचुलाबाट दार्चुला छिर्ने योजना बनाए । एक जना मुखिया र स्वास्थ्यकर्मि साथमा लिई  गर्ब्याङ, छियालेक, बुदि माल्पा, सिर्खा सिरदाङ, रङलिङटाप, पाङ्गु र तावाधाटको बाटो हिडियो । बाटोमा भारी बोकाएका कुन्जाहरु ( झुपु खच्चरका बथान) देखिन्थे । अप्ठ्यारा मोडहरुमा " साबधान, खच्चर गिरनेका भय है" भनेर ळेखिएको देखिन्थ्यो । सबै ठाउँमा नेपालको जस्तै भुगोल  थियो । तावाघाट माथि घोडेटो बाटो नजिक ठाउठाउँमा सरकारी डाकबंगला( गेष्ट हाउस ) थिए । आपतको बेला बिजुली बाल्नका लागी बिजुलीका तारहरु तान्न मिल्ने गरि पोल समेत गाडिएका र ठाउ ठाउमा ब्यारेक बङ्कर देखिन्थे । तीन दिनपछि धारचुलाबाट दार्चुला सदरमुकाम पुगेर मात्र पहिलो कुल तलबभत्ता ५२८/- बुझियो  । नियुक्ति लिएको ४ महिनापछि हाकिमको मातहत काम गर्ने मौका मिलेको थियो । बस्तुस्थितिको जानकारी गराउने बिषयको काज लिएर काठमाण्डौ गएर फर्केका हाकिमको गफ सुन्नुपर्ने बाहेक केही नयाँ काम थिएन । त्यो हिउद दार्चुला सदरमुकाममा काटियो ।
  यसैताका ब्यास जाने बाटोतिर राप्लापारीको एक जना भारतिय चेकपोष्ट अफिसरले रक्सी खान र रमाइलो गर्न अबैध पुलबाट सिमावारी नेपाल पसेर उधुम मचाएछ । गाउलेहरुसंग झगडा परेर राति भाग्न खोज्दा लडेर खुट्टा भाँचिइ पक्रिएको थियो  । सीमाक्षेत्रको घटना हुँदा यो काण्ड ब्यबस्थापन गर्न केही दिन लाग्यो । टुटेको खुट्टा सहित भारतलाइ बुझाउदा उ “पशुपतिनाथ ने मुझे मेरी करनी कि सजाय दि है “ भनेर रुदै थियो । यस्तै पशुपतिनाथले रक्षा गर्नेछन भन्ने बिश्वासका साथ हामीले पनि अफिसको  काम यथाक्रम मिलाएका थियौ । पाक्षिक र मासिक प्रतिबेदन नियमित पठाउथ्यौ । प्राय: " कालापानी सीमानामा अतिक्रमण भएकोछ, हुदैछ । आबश्यक कारवाहि यथाशिघ्र शुरु गरियोस " भनेर एउटै कुरा केही शब्द फरक पारेर लेख्न छुटाउदैनथ्यौ ।
 त्यसै बर्ष पुस १ गते पंचायति सम्बिधान संशोधन भै बालिग मताधिकाारको प्राबधान राखिएको थियो । दलीय कि निर्दलिय भन्नेमा जनमत संग्रह हुनुपर्ने थियो । यो जनमत संग्रह बैसाख २० मा तय भयो । म चैत्र १४ गतेदेखि नै निर्बाचनमा काज गए । दिनचर्याले गियर बदल्यो । जनमतसंग्रहको कारण दोस्रो  बर्ष गर्मीमा ब्यास जान नपर्ने होला कि भनेर उत्साहित थिए । प्रतिदिनको सातरुपैया ओभरटाइममा चुनाव आयोगमा थप काम समेत गरेको थिए । केही दिन तत्कालिन अंचलाधिश ऋतुबर्ण तुम्बाहाम्फे र अंचल प्रहरी उपरिक्षक को मुकाम दार्चुलामै राखिएको थियो । 
  मलाइ पनि पहिलो पल्ट कनिष्ट कर्मचारीबाटै जनमत संग्रहको काममा खंडेश्वरी गाउँ पन्चायतको घुसा मतदान केन्द्रमा  मतदान अधिकृत तोकियो । ब्यास गर्खाको पुर्बमा पर्ने अपि हिमालको दक्षिणी पाखो । ठ्याक्कै ब्यासको जस्तै भुगोल भएका तीन बस्ति थिए-लिथि, पाटु र घुसा । चमेलिया सिरानका उतरी अन्तिम बस्ती मध्येका थिए यी गाउँहरु । विशेष भत्ता १४/-, ढुवानी १३५/-, मसलंद३२/-, बुथ निर्माण १५०/-, टि ए १९८/-, डि ए ३२५/- गरि ८५४/- रुपिया बुझे । चुनावमा सहयोगी थिए मु खेमराज भट्ट पियन मनोरथ बडु , प्र ह बहादुर बोहरा समेत छ जना । दल्लेक, सिप्टि, सेरि चौलानेको किनारै किनार लटिनाथ मकरिगाड हुँदै घुसा पुग्न चार दिन लाग्यो । भीरमा अडिएको सानो स्कुल अपि नाम्फा हिमालको फेदमै थियो । मतदान केन्द्र यहि स्कुल तोकिएको थियो ।५ कक्षासम्म २ शिक्षकले पढाउथे। नजिकै हेल्थपोष्ट  थियो । बैसाख २० मा रमाइलो बाताबरणमा भोटिङ भयो । ३३१ अर्थात ७३% मत खसेर । तेस्रो दिन आठ बजे राति मतबक्स बुझाउन भ्याए । 
दोस्रो पटकको यात्रा ; हिमालपारी मानसरोबरसम्म
    २४ गते मार्शल टिटो को अवसानमा राष्टिय शोकको बिदा थियो । मलाइ भने दोस्रोपल्ट पनि ब्यास जानैपर्ने आदेश भयो । तयारीस्वरुप कपडा धुदाधुदै छाला खुइलिएर हातमा रगत आएको थाहा भएन । २ दिन आराम गर्नु पर्ने भयो । चलेका औलाले लेख्दैजादा पछि आँसुले यसलाई पखाल्न सक्दैन भन्ने लागेर डायरीमा मनोबाद लेखेको रहेछु  । ब्यासतिर पठाउन लागि सामान किनमेल गरि ६ क्विन्टलसम्मका बोझा भरिया कुन्जावालहरुको जिम्मा लगाउने प्रबन्ध मिलाएर भेटघाट गर्न बैतडी घरतिर लागे ।
   मानसरोबरको नजिक पर्ने ब्यास क्षेत्रमा फेरी फर्कनुपर्ने कुरागर्दा गाउँमा गुरुजी र पिताजीले मानसरोबर तिर्थाटनका कुरा निकाले । त्यतिबेला मानसरोबर जाने एकमेब मार्ग यहि थियो । पाण्डबहरु पनि यसै बाटो स्वर्ग गएका थिए रे । मलाई पनि उत्तरी सीमासम्म जानै पर्ने थियो । सबै सामान्य तयारी पूरा गरी  पिताजी, गुरुजी, म र प्र ह बहादुर बोहरा मानस यात्री हुने भयौ । पछि एक जना भगत भट्टजी बाटोमा थपिए । सेकेन सटरडेको बिदा हुदा पिथौरागढबाट पास ( अनुमतिपत्र) बनाउन तीन दिन लाग्ने भयो । त्यसबेला जोलजीबीभन्दा उभो जाँदा पिथौरागढको जिल्ला मजिष्ट्रेटबाट यात्रा अनुमति लिनु पर्दथ्यो । जे जस्तो पर्ला भन्दै यतिकै हिडियो । जोलजीबी चेकपोष्टमा पुलिससंग अनुनय बिनय गरेर धारचुला पार ग-यौ । आफनै अफिसमा बासको ब्यबस्था मिलाइयो ।   साउन संक्रान्ति दार्चुला सदरमुकाममा मनाई अर्को दिन लागियो कैलाश मानसरोबरको यात्रामा । भंसारका एक जना बहिदार हामीसंगै जाने भए । प्र जि अ द्वारिकानाथका पिताजी, प्रशासकीय अधिकृत भुबनेश्वर जोशी र दार्चुला तिंकर घोडेटो बाटोका केही कर्मचारीको अर्को ग्रुप पनि हाराहारीमै हिडेका हुन्थे । श्रीबगर, बडुगाँव, स्याकू हुँदै सुनसेरा पुग्दा झमक्कै रात परिसकेको थियो । घोडेटोको गोदाममा थन्कियौ । येनकेन खाना पकाउने जुगाड पनि गरियो । तुषरपानि, राप्ला हुँदै राङथलमा नुहाई खाना खाइयो । बेलुका दुमलिङ बस्यौ । अर्को दिनको बाटो पुर्णरुपमा निर्जन थियो । बाटोमा उदरपुर्तिको मेसो  मिलाउन सकिएन । बाँकी ईश्वरेच्छामा छोडी अगाडी लाग्यौ । तंबाकुबाट २ जना भरिया भेटिए । हाम्रा निम्ति ती पथप्रदर्शक भै दिए । दिनभर थिङको ठाडो उकालो, अनि त्यस्तै ओरालो । बोकेको भुटेको पिठोको भरमा हिड्यौ । राति निगुको गीताभवनमा बाटो भन्दा एकडेढ कि मि पर गएर एउटै घर थियो । त्यतै लाग्यौ । हामीजस्तै २०/२५ जना पहिले नै जम्मा थिए । बृद्ध सौका दम्पतिको नित्यचर्या नै यस्तै तीर्थयात्री सम्हाल्नु रहेछ । रात आगो तापेर काटियो । 
  बुदि र कुन्तिसाउको घुमाउरो बाटो काट्न कम्ति सकस थिएन । छायालेक उक्लिए पछि देखियो ब्यास उपत्यकाको उपबन । हिमालपारी जाने पुर्ब तयारीको निम्ति एक दिन छाग्रुमा आराम गरियो । अर्को दिन साउन ६ गते तिङ्कर मुकाम भयो। अर्को ग्रुपले घोडाको ब्यबस्था गरेको रहेछ । तर तिर्थयात्रा भएकोले पैदल नै बेश भन्ने मानेर तिङ्करबाट पैदल हिड्यौ ।  
  जिबनमा पहिलोचोटी तेस्रो मुलुक जाँदै थिए । हावा शुष्क हुँदै गयो । ( चल्तीको भाषामा बीख लाग्न थाल्यो । ) लिपुको बिकट उकालोमा बान्ता आएर बेहोशै हुने स्थितिमा पुगेछु । बुवा र भगतजी बाहेक सबै लथालिङ्ग हुँदै गयौ । बुवाले नसक्ने भए फर्कने प्रस्ताव राखे । मेरो कारणले यात्रा स्थगित नहोस भन्ने हिम्मत गरेर येनकेन लिपु भंज्याङ कट्यो । तिब्बततिरको ओरालोमा होस बेहोस हुँदै ओर्लियो । ज्युँज्युँ खोलाको किनारमा पुगेपछि संयत भयौ । दिउँसो पग्लिएको हिउँ बोकेर ल्याएको हिमाली खोलामा खुट्टा हाल्नै धौ थियो । गुरुजी बैतरणि नदि यहि हो भनेर व्याख्या गर्न थाले ।  टाढा कतै हिमशिला बगेका गडगड डमडम आवाज आउथे । भगतजी गाँजाको सूरमा शिब- डमरुको आवाज आएको बताउथे । हुण समुदायका भयंकर डिलडौल भएका यदाकदा भेटिने गोपकुमार गरुडपुराणका दूत जस्ता लाग्थे । यात्रा रोमान्चक हुँदै थियो । अर्को ग्रुपको घोडचढीको पिछा गर्दै राति ताक्लाकोटको कुनै पालमुनि तेर्सियौ । यहि तेर्सिने ठाउ पाउनु पनि ठूलो उपलब्धि थियो ।
ताकलाकोट मध्यकालमा पश्चिम नेपाल हिमाली प्रान्तका हिमाली मल्लहरुको कोट बनेको थियो । कशमीर ( खशमिहिर)बाट ताक्लाकोट , जुम्ला र दुल्लुमा समेत उनीहरुले राजधानी बसालेका थिए । हामीले ताक्लाकोट टेकेकोबेला तिब्बततिर माओको पतलून - बुसर्ट र क्याप मात्र लगाएको भेटिन्थे । टाढा परम्परागत शिबलिङ गुम्पाको भग्नाबशेष देखिन्थ्यो । ताकलाकोट उपत्यकामा घरहरु फाटफुट खर्कहरु जस्ता लाग्थे । सोचिन्थ्यो,कालिदासका किन्नर कन्या यतै कतै होलान ।
  दोस्रो दिन दोभाषे मार्फत कुरा गरि अनुमति लिएर सरकारीगेष्ट हाउसमा बस्यौ । ८ कोठा , प्रतेक कोठामा तीन बिस्तर । परंपरागत चीनी तरिकाको सजावट,एक मेच दुई सोफा र चिनिया भोजन । गेष्टहाउसमा पनि भाषा बुझ्ने इन्टरपेटरको ब्यबस्था थियो । सीमासमस्या बारे समकक्षीहरुसंग गेष्टरुममै बार्ता पनि गरियो । बेलुका चिनियाँ सांस्कृतिक क्रान्तिको कुनै बिषयबस्तुमा आधारित फिल्म  देखाइयो । कम्युनिष्ट संस्कृतिका केही मर्मस्पर्शी परीदृश्य पनि देखिए । 
  बेलुका ससानो रमाइलो काण्ड भयो ।  मैले दोभाषे मार्फत तिर्थयात्रामा स्वयम् पकाएको मात्र खाने हुदा सुत्ने ५ जना भएपनि दुई जना मात्र खाना खाने कुरा सपष्ट गरिसकेको थिए । चिनिया बाहेक अरु भाषा नबुझ्ने चिनिया बुढीलाइ  आफुखुशी बढि मानिस गेष्टरुममा राखेको जस्तो शंका परेछ । उनी डराइन र कराउन थालिन, हामी केही बताउन नसक्ने थियौ । कम्पाउन्डमा ताला लगाएर हैरान पारीन ।हुँदा हुँदा बुढी त उफ्रन थाली । हैरान भएर मैले इन्टरपेटर बोलाउन अनुरोध गरे । बल्ल  कतै फोन गरिन । ५/१० मिनेटमा नेपाली बुझ्ने सरकारी मानिस आई पुगे । सबै कुरा बताए । उनले कागजपत्र हेरे । चिनियाँ लबजमा बुढियालाई सम्झाए । त्यसपछि भने सुनदाँते प्रौढा हाँसिन । सँरी भन्दै हात मिलाउन आइन । तिर्थस्नानको पुर्बसन्ध्यामा यसरी अज्ञात कुलशीला नारिको स्पर्श गर्नु पनि गुरुजी र पिताजीलाई मन्जुर थिएन । बुढी वर सर्दा वहाँहरु पर पर सर्न थाल्नु भयो । मैले हाँस्दै फेरि कुरा सपष्ट गरे । यसपछि पाहुनाघरको टोली सारै खुशि देखियो । हात जोडेर माफी मागे । हाम्रा निम्ति पाहुनाघर परिसर असाध्यै सहयोगी र आत्मीय बनिदियो  । तातो पानी र राम्रो गाडीको ब्यबस्था भयो । अर्की चिनिया पुतलीले त अंग्रेजि बुझे पनि बोल्नु हुदैन, माथिबाट हेरेको हुन्छ भन्ने दुखेसो पोखिन एकान्तमा । कुनै गल्ति देखिए कष्टकर काममा कतै पठाइन्थ्यो रे ।यो माओको मृत्यु पश्चात् ह्वाको समय थियो । माओकालिन ब्यबस्था त अझ कडा रे । त्यसबेला चिनियाहरु भारतीय घडीका लागि असाध्यै शौकीन हुन्थे । नेपाली ब्यापारीहरु लुकाएर घडी त्यहाँ लैजाने र चोरेर घडी बेच्दा रहेछन ।
  अर्को  बिहान गाडीबाटै हाम्रो टोली मानसरोबर हिड्यो । प्राणिशुन्य ढुङ्गेबाटो । निर्जन तिब्बति पठारमा टाढा कतै झुल्किन्थे त भेडाका झुन्ड र गोठाला मात्र । राबणको तपोभुमी (११६ किमी) राक्षसतालको छेउ हुँदै मान्धाता श्रृंखला काटेर डेढ घन्टामा मानसरोबर किनारामा उभिएका थियौ हामी । नेबि ब्ल्यु, निख्खर नीलो  मानसरोबरको ५१८ बर्ग किमी क्षेत्रफल र गहिराई औसत ९० मिटर मानिन्थ्यो । चारैतिरका पहिला आठ मठ अचेल खंडहर भएका थिए रे । श्राद्धकर्मका लागि अरुले कपालक्षौर गरे । मैले यतिकै नुहाए । किनारमा बसि गायत्रि जप गरि ध्यानमा बसे । कैलाशाधिपतिको संस्मरण गरे । आँखा खोल्दा त मानसको महाप्रसाद मानिने माछा पो भेटाएछु । शिरोपर गरे । सप्पै नबुझिने भएपनि ड्राइभरसंग जानकारी लिए । त्यसताका यात्रुहरुकालागि कैलाश खुला गरिएकै थिएन । मानसरोबर किनार बिल्कुलै खाली थियो । टाढा राजहंस कराएको स्वर मानसका छालसंग मिसिएर आउथे । जिउज्यान असाध्यै हलुङ्गो भएको थियो । बेलुका ऐजन पाहुनाघर परिसरमा फर्क्यौ र एउटा अर्को डकुमेन्टरी हेरेर बितायौ । मानसरोबर देखेर स्वर्गको कल्पना गर्नु सायद गलत मानिदैन । यहाँ मानिस र प्रकृति एकाकार हुन्छन । मानसरोबरलाई स्वयममा यौटा पौराणिक परिकल्पना, कबिता, संगीत भरिएको अल्कापुरको आश्चर्य नै भन्दा पनि हुन्छ ।  लाग्थ्यो समय थामिइ दिएको भए पनि हुन्थ्यो । तर तोकिए भन्दा कतै पनि बढि वस्न नपाइने ।
  दोस्रो दिन नेपाल फर्किदा सबै पैदल जाने भए । मैले भने घोडाको ब्यबस्था मिलाए । २ बजे लिपुलेक काट्यौ । ९ बजे राति तिङ्कर पुग्दा  बान्ता नै नगरे पनि टाउको र जिउ असाध्यै दुखेको थियो । तर ठूलो काम भ्याएको जस्तो मन भने मयुर बनेर नाचीरहेको थियो । सोच्दै थिए, मन, शरीर र आत्माको सत्ता नै फरक फरक रहेछ । बिचारमा नयाँ नयाँ दर्शन पलाएका थिए । तबै त यसलाई मानस यात्रा भनिएको होला । यसरी फरक फरक सत्तामा आफुलाई अभिब्यक्त गरिरहेको म को हुँ त ? यहि प्रश्नको उत्तर खोज्नमा अलमल छ, बिबाद छ ।
  यस्तै रङमङिएर छांग्रु आफ्नै अफिसमा आएपछि म हाकिम बने । बाटोमा गुरुजीको अगाडी शिष्य थिए । बुवाको अगाडी छोरा थिए । भगतजी मित्र थिए । हवल्दार सहकर्मि । यो विभिन्न अभिनयमा मेरो म को थियो त ? आफुलाई अभिब्यक्त्याउनु पनि त समय स्थान सापेक्ष हुँदो रहेछ  । ४० बर्षपछि यो संस्मरण लिपिबद्ध गर्दा म यस्तै सोच्दैछु । 
  छांग्रुमा एक दिन आराम गरियो । साउन १२ मा भारतिय पासको ब्यबस्था मिलाई चारै जनालाई गर्ब्याङ( भारत ) सम्म पुगी बिदा गरेर आफु सीतापुल हुँदै छांगरु फर्के । मानसरोबर आउने जाने ग्रुप बरोबर अफिसमा आइरहन्थे । अफिसका साथीहरु को नयाँ खेप आइ पुगेको थियो । हामी पुराना दार्चुला झर्ने तरखर गर्दै थियौ । 
०३७ सालको भुकम्प र कालापानी
साउन १४ गते भुकम्पका ठुलठुलै धक्काहरुले थरहरी गरायो । रेडियो समेत सपष्ट नसुनिने भयो । चिन्ता लागेर रातभरि निन्द्रै परेन । यसै अन्योलमा अर्कोदिन प्र.जि.अ द्वारिकानाथ ढुगेलको टोली समेत मानसरोबर यात्रा गर्न भनेर ब्यासमा आइपुग्यो । बाजागाजा सहित स्वागत भयो । मुकाम हाम्रै अफिस बन्यो । भुकम्पका जाहेरी आउन थाले ।  छाङ्गरुमै छ घर चर्केछन । तिङ्कर पनि त्यस्तै । सितापुल चेकपोष्ट निरीक्षण गरि प्र जि अ टोली तिंकर प्रस्थान ग-यो । बेलुका डी एफ ओ र रेन्जरहरुको टोली आइपुग्यो । तेस्रो दिन बल्ल् रेडियोले थप खबर सुनायो " सुदूरमा भुकम्प । दार्चुला ब्यारेक ध्वस्त । बैतडी जिल्ला कार्यालय पनि ध्वस्त । जम्मा ८३ जनाको ज्यान गयो । ७०० भन्दा बढि घर भत्के । आदि " । परिगाउको आफ्नो जिर्ण घर थियो । बुवा बाटोमै कतातिर अलपत्र होलान ? भाईको आफनो अलग्गैपन छ । पत्नीको आपति र छोराको बाल कोमलता याद आयो  । कति मात्रै सम्झनु र ? म ब्यास क्षेत्रमै कल्पेर बस्न बाध्य थिए ।
  साउन १७ मा प्र जि अ ज्यू मानसरोबर यात्रा रद्द गरि सदरमुकाम फर्कनु भयो । नेपालपट्टि बाटै बिग्रिएकोले भारतको बाटो झर्नु भएछ । पछि भारततिेर पनि बाटो बिग्रेको खवर सुन्यौ । केही गर्न सकिने अवस्था थिएन । यो भुकम्पले बझांङमा मात्रै ३० जना बिते रे । कुल जम्मा डेढसय जति परेछन । दार्चुलाका ९०% घरमा क्षति । गृहमन्त्री स्वयम् भ्रमणमा निक्लनु भएको छ रे । आदि जस्ता खबर सुनिए ।  तै साउन २२ गते बनको टोलीसंग कौवासम्म पुगियो । हिउदमा भारतीय पक्षले नेपालतर्फका रुख काटेका सुचना पाइएका थिए । जंगलमा क्षति सपष्टै देखिन्थ्यो । टाढा खेतबारीमा गहु जौ फापर र नप्पल देखिन्थे । कालापानी पनि टाढैबाट हेरियो । गुमनाम भएर कुनै सुचना बेगर साच्चिकै अजनवी भएको अनुभव भयो । भारतिय चेकपोष्टमार्फत आएका अफवाह अझ भयावह लाग्थे । ठाउँठाउँमा पैरोले महाकाली थुनिएका जस्ता प्रायोजित खवर समेत आइरहन्थे ।
  निबारक नजरबन्दीमा परेका जस्ता ती दिनमा २० दिनसम्म त नुहाउन नै जागर चलेन । यसैताका सुर्खेतमा बिखालु च्याउ खाएर ४५ जना मरे । मुरादाबादको हन्दु मुस्लिम दंगामा १०५ जना काटिए भन्ने खवर पनि रेडियो बाटै सुनियो ।
  भदौ १ को ओलके संक्रान्तिमा भने नुहाइ धोइ सौकाहरुको सगुन खाँदै बिताइयो  । ब्यास मन्दिरमा महर्षि दर्शन गरे । कुमारी केटिहरुको महफिलमा नाच पनि हेरियो । खानपिनमा मन खोलेर खाए । पहिलो हप्ता सुखसागर पढे । अनि बदनाम गली उपन्यास ।  रक्षाबन्धनको दिन सितापुल ब्यास मन्दिरको मेला हेरियो । राखि पनि बाधे छागरुकी बहिनीहरुबाट । राति नाचगानको प्रोग्राम थियो । बेलुका त कसैले केही गर्न नसक्ने, पचासौ हजार कमाएको , हाकिमलाइ हप्काएर ४०० रुपिया लिएको , कहिले भारी नबोकेको र आफु  भन्सारको परिचर भएको जस्ता धक्कु लाउदै मेरो अफिसको सज्जन कार्यलय सहयोगीका अगाडी ठूलो हुनपर्ने भन्सारको एक जना परिचरलाई सौकाहरुले राम्रै गरि भकुरेछन । मध्यस्थता गरि आधाराति पछि छुटाएर मेरै अफिसमा राखे ।
  भाद्र १२ गते मेरो पालो अफिसको कागजपत्र मिलाई गर्ब्याङकै बाटो बुदी हुँदै फेरी  खलंगा झरे । रुघाखोकीले ग्रस्त थिए । म हिडेको एक घन्टा पछि अंचलाधिश र गृह सहायक मन्त्रीले हेलिक्याप्टरबाट ब्यास भ्रमण गरेछन । पर्खिएको भए निश्चित पनि हेलिलिफ्टमा परिन्थ्यो । म छिटो हुन खोजेर बल्ल भदो १५ मा सिकिस्त बनेर सदरमुकाम पुगे । मेरो सामान राखेकै घर भत्किएको रहेछ । साथिहरु भुकम्प पिडितको उद्धारमा थिए । आफुले भने राम होटलमा शरण लिए । कतै खटिने शक्ति थिएन । बिदा मागी पिथौरागढको बाटो घरतिर लागे । गौरा पर्व घरतिरै मानियो ।
तेस्रोपल्ट फेरी छांग्रुतिर ; राजाको सम्भावित सवारीका लागि
तर  राजाको सम्भावित भ्रमणका कारण असौज ६ गते तेस्रो पल्ट फेरी ब्यासतिर जानु पर्ने भयो । जे पो होलाको मुडमा म पनि फेरी कसिए । जे भने पनि हुन्छ भन्ने तर रक्सी खाएपछि सबै भुल्ने तत्कालिन चेकपोष्ट अफिसर डम्मरसिंह खत्रीको रमाइलो तालमा परि २ दिन यतिकै बरालिए ।आखिर राजाको सवारीको मुकाम बैतडी पाटन निश्चित भयो । पहिलो भ्रमण कहाँ हुन्छ , एकीन थिएन । आआफ्नो स्थानमा तयार हुनुपर्ने थियो  । म पनि पुलिस टोलिसंग हतार गरेर जंगी दौडमा सहभागी भए । 
 त्यसबेला मौसम अनुसार ६/६ महिना तिङ्कर र हुतिमा प्रहरी चेकपोष्ट पनि सरि रहन्थ्यो ।  सी पि ओ को साबिक चीनजान हुँदा तीन दिन हुतितिरै सकियो । चौथो दिन बिहानको खाना नजिकै सुनसेरामा खायौ । तर बेलुका राप्लामै महफिल जम्यो । हरियो काँक्रोको सितनसंग अघाउन्जेल स्थानीय च्याक्ती खाएका आधा ग्रुप हिडनै नसक्ने भएपछि  चेकपोष्ट इन्चार्जसमेत बोकाएर राङ्थलमा लैजान धौ धौ भयो । यहाँ पनि रक्सी र नाचगानको रमिता । अर्को दिन भने बिहान दुमलिङबाट निर्जन प्रदेशको बिकट यात्रा शुरु भयो । थिङ्को आधा उकालोमा बोकेको खाना खायौ । मलाई त चिसो र ज्वरोले ग्रस्त गरेको थियो  । स्थानिय भाषामा बाटोको बलियो भूतले नै समात्यो रे ।राजाको सवारी बैतडीमा भैसकेको खबर प्रसारित भयो । अब भने टोलि २ ग्रुपमा बाँडियौ । एक टोलीले रातभरि हिडेर त्यसै दिन ब्यास पुग्ने गरि टाप ठोक्यो । म समेत ३ जना असंचोका कारण बिस्तारै आउनेमा पर्यौ । राति  पोला भन्ने ठाऊमा बाख्रावालाले टेन्ट हालेको देखियो । हिड्नै नसकेर त्यहि शरण माग्यौ । महाकाली किनारको हिमाली झाडी । चिसो बाताबरणमा खुला आकाश मुनी थाकेका बिमार यात्री । तीन जना एक कम्बल ओछ्याई अर्को एक साझा कम्बल ओढेर रात काट्यौ । बिहान भोक र रोगले कामीरहेका खुट्टा बाटोमा नसर्ने पो भए । जिउ झन झन कठ्यान्ग्रिन थाल्यो । म मनमनै अर्कोलोकको यात्राको लागि तयार हुँदै गए । केही नचले पछि साथमा रहेका प्रहरी भाइहरुले दाउरा खोजे । आगो बाले । जिउ सेकाए । एक जना यायाबर सौका भाईसंग केही खाना माँगे । बल्ल यो लोकको याद आयो । पाइला गन्दै कुन्तीसाउ उक्लियौ । त्यहाँ नून हालेको भोटे चिया खाएपछि अलि जोश आयो । चिया दिने युबति मासिक धर्ममा रहिछन क्यारे । अधोबस्त्रको पछाडी रगत लतपतिएको देखिन्थ्यो । टन्न चिया खाइसकेपछिको दिगमिग ब्यहोर्दै बान्ता गर्दै टर्च बालेर ३ घंटा राति नै हिडदा प्रहरी चेकपोष्टमा  होस बेहोसको अवस्थामा थियो ।
आफ्नो अफिस  मात्र आधा घंटाको बाटो भए पनि अर्को दिन पुगे । शाखा अधिकृत ओथारोमा बसेजस्ता देखिन्थे ।  २ मुखिया, १ पियन र त्यसबेला घोडेटोमा काम गर्ने प्रधानजी भनेर चिनिने दार्चुला सदरमुकामका चर्चित ब्यक्ति बिष्णु अवस्थी अर्को कोठामा थिए । म पनि बिमार बोकेर यसै समुहमा थपिए । बाटैबाट ज्वरो आउने खाना नरुच्ने आङ दुख्ने निन्द्रा नपर्ने ब्यथा लागेको थियो ।
राजाको सवारी-मुकाम सक्रीय भएको थियो । भुकम्पग्रस्त क्षेत्रमा जहाँ पनि हेलिक्याप्टरबाट निरिक्षण हुनसक्थ्यो । मुखियाहरु पनि सदरमुकाम लागे । बिष्णु अवस्थीजीलाइ पनि ज्वरो आयो । लामा झारफुकेहरु बोलाइए । नाडी हेरे । मलाइ त भूत नै लागेको  तय भयो । सेतो कपडा र सवा माना खिचडी र एक भाले माग्छ रे भन्न थाले स्थानिय लामा झाँक्री ले । तदनुसार ब्यबस्था मिलाए । नभन्दै तनिक हलुका भयो ।
अर्को दिन शाखा अधिकृतज्युले  मौखिक उपदेश र निर्देशन दिएर खलंगातिर काज बनाए । म एकलिए मात्र एकजना सहयोगीको भरमा । ब्यथा त बढन पो थाल्यो । चेकपोष्टको प्रहरी टीमले खुबै सहयोग गरे । लामाहरु र बिष्णुजीको सक्रीयतामा फेरी  लामा झाँक्री बोलाइए । तथाकथित भूतले खिचडी पाएन रे । पियन लालबहादुरले दिशा लगाएर फालेको रहेछ । अमुक ठाउमा खिचडी नपुगेको ठहरियो । प्रहरी टोलीका साथ खिचडी पकाएर फेरि पठाए । तर म झन झन सिकिस्त भए । नराम्रा सपनाहरु देखिन थाले । बरबराउन पनि थालेको रहेछु । सीतापुल भन्सारको सहयोगमा सीमाबर्ति भारतीय गाउँ गर्ब्याङका आयुर्बेद चिकित्सक मगायौ । जाँच्दा फोक्सो सुनिएको र जुकापरेको ठहराइ औषधि दिए । दुईवटा कुन्नी के इन्जेक्सन पनि लगाए । प्रहरी आ वा बाट सिकिस्त परेको खबर मजकूर कार्यालयहरुमा पठाई नियतिलाई पर्खेर बस्नु बाहेक अर्को उपाय थिएन ।  त्यहि गरे । त्यस पछि लगातार जसो २/२ का दरले १० इनजेक्सन लिए भारतिय बैद्यबाट । जुकाहरु परेकै रैछन ब्यासको काचो मासुले । आन्द्रामा घाउ परेपछि ज्वरो आउने नै भयो । बिस्तारै तन्ग्रीदै गए । असौज २६ गते प्र जि अ ज्यूले पठाएका औषधि सहित हेल्थ असिष्टेन्ट रिजन रायको नेपाली स्वास्थ्यकर्मी टोली पनि आइपुग्यो । तीन सय नगद पनि पठाउनु भएको रहेछ । बिस्तारै खाना रुच्न थाल्यो । हेल्थपोष्ट टीम पनि हाम्रै अफिसमा बस्यो । रु ४५/- मा सिङ्गै तिब्बति भेडा किनेर फेरी भोज चल्यो जंगलमा मंगल भने जस्तै ।  
  मौसममा चिसोपन थपिएसंगै क्रमस: गाउँ खाली हुन थालेका थिए । असौज मसान्तमा बाँकी रहेको एक मन(४० केजी) गहुँ घरपट्टि बुढियालाइ दिएर लालसिं र मैले पनि अफिस बन्द गरि ब्यास क्षेत्र छोडेका थियौ  । भारत गर्ब्याङको बाटो गएर भारतिय बैद्यलाई केही सामान्य उपहार सहित धन्यबाद दिएर बुदि तरी नेपाल भित्रिए । थिंमा चिया खाएर तम्बाकु झरे । भुतले उजाड पारेको ठाउ रहेछ यो । प्रतेक बर्ष एक हल गोरु भिरमा लोटाएर भूतलाई खुवाउनु पर्ने रहेछ । मलाई यहिको भूत लागेको भन्थे । झर्दा भने बिचरा भूतले केहि गरेनछ । अझ बाटोमा दर्माका भोटेको लस्कर समेत हामीसंगै मिसियो । उहीँ दुमलिङ बसि उहीँ बाटो श्रीबगर पुग्दा कार्तिक ३ भैसकेको थियो । दशैको जमरा हाले । तातोपानीमा मजाले नुहाए । केही लुगा धोए । केही महाकालीमा बगाए । एक हप्तासम्म धारचुलाको दुग्ताल डाक्टरसंग  उपचार गराएपछि बिशेक भयो । 
निर्बाचनका लागि चौथो चोटी तिङ्करतिर
यसरी  सन 1980 सकिनै लाग्दा चीनमा माओको आलोचना शुरु भैसकेको थियो । श्रीमती माओलाई सजाय निश्चित थियो  । यता दार्चुला ब्यासका बरिष्टतम ब्यक्तित्व बहादुरसिंह ऐतबालको पुस १३ मा मृत्यु भयो । यसै महिना महाकाली अंचलाधिशमा पशुपतिदेब पाण्डे नयाँ नियुक्ति भएर आए । राष्टिय पन्चायतको निर्बाचन हुने भयो । मेरो सरुवाको तारतम्य बिग्रेको जस्तो लाग्यो । बाङाबगर डेरा । खलंगाको अफिस । हिउद सकिएपछि ब्यासतिर जानुपर्ने बाध्यता टडकारै थियो । 
 ०३८ बैशाखमै निर्बाचनको खटनपटन हुँदै थियो । भुकम्पपछि जनमतसंग्रहको परकम्पमा परी म त सबभन्दा टाढाको केन्द्र ब्यासको तिङ्कर पो खटिनु प-यो । भएको के थियो भने निर्बाचनको  कन्ट्रोल रुममा काम गर्ने गरि जगेडामा राखिएको थिए । देश दर्शनको कार्यक्रममा दरबारमा बोलाइएका तिंकर गुम्बाका लामाले जनमतसंग्रह ताका आफनो गाउमा बुथ नराखिएको गुनासो जाहेर गरेका रहेछन् । त्यसैकारण अन्तिम तयारी पूरा भएपछि दरबारबाट हरहालतमा छांग्रु र तिङ्करमा बुथ कायम गर्ने भन्ने हुकुम बकस भएको रहेछ । हुकुमको जवाफ थिएन । सोधखोज गर्दा २३ जनामात्रको भोटरलिष्ट तयार भयो । भान्छामा बस्नेले कि राम्रो खान पाउछ, कि भोकै बस्नुपर्छ भन्दै प्र जि अ ज्युले मेरै नाम प्रस्तावित गर्नु भएको रहेछ । यसरी निर्बाचनको काममा घर न घाटको पण्डा बनी केही दिन काटे । निर्बाचन खर्च- टिएडिए-७२७/- भाडा१३०/- बुथ निर्माण ७५/- प्रकाश६०/- अन्य खर्च २२२/- स्वयमसेवक६० /-=८३०/- खर्च पाइएको थियो । मैलै नै छाने अनुसारको युबा निर्वाचन टोली टिंकरतर्फ प्रस्थान ग-यो । त्यो दिन दाहुतिमा खाना खाई सुनसेरा बस्यौ । अर्को दिन सुनसेरा राप्ला राङ्थल हुँदै दुमलिङ पुगेर खाना खायौ । निर्माणाधिन घोडेटो बाटोले ट्रयाक खोलिसकेको सुचना पाएर अब थिङ्को एकदिने उकालो हिडनु पर्ने भएन भन्ने ठान्यौ । त्यसैले घाटिबगर पुगिएला भन्ने हिसाब लगाएर अबेर गरि हिड्यौ । तम्बाकु पुग्दा नपुग्दै असिनापानी पर्न थाल्यो । पानी रोकिएपछि माथि भिरबाट बन्यजन्तु बाँदर लंगुरहरुका बथान ओतबाट निक्लि बासबस्नपट्टि लागेका बेला लोटाएका ढुंगा बर्षन थाले । पाखामा टाउको जोगाउदै टेक्नमात्र पुग्ने अक्कर भीरमा सम्हालिदै हिडनु पर्ने भयो । साँझ पर्न थालेको थियो । छंगाछूर भीरमा अलिकति यताउति टेकियो भने जीउ महाकाली पारी भारततिर र ज्यान माथि स्वर्गतिर जाने निश्चित थियो । आधा भिर कटि सके पछि आधा ग्रुपले भिर छिचोली सक्दा अर्को आधाग्रुप हिडनै नसक्ने देखिएकोले एउटा ठाडो सानो ओडारमा बास बस्न बाध्य थियौं  । 
  तल नेपाल भित्र पसेको महाकालीको कर्कस आवाज आउथ्यो । माथि भोजपत्रको जंगल । निंगालाका मुल्जाको अडेस लाएर पहरामुनि ओत लागेका थियौ । प्रहरी भाइको टोपीमा थापेको भीरबाट चुहिएको पानी र बोकेर ल्याएका थोरै बिस्कुट बाडिचुडी गर्ने निर्णय भैसकेको थियो । अकस्मात गहुँको रोटी डढेको मीठो गन्ध फैलियो बाताबरणमा । केही रहस्य पो हो कि भनेर डरायौ पनि । तल माथि केही छ कि भनेर २/२ जनाको टोली खोजिमा खटियो । हो रै छ । हामी बसेको थुम्को मुनि बडेमाको ओडार भित्र त घोडेटोका ज्यामीहरु पो बस्दा रहेछन। खाना पकाउदै खादै नाचगान चलिराखेको । हामी विशिष्ट अतिथि बन्यौ । रात रमाइलो गरि बित्यो । अर्को बिहानै हिजो राति छुट्टिएको ग्रुपलाइ निगालाको झाडी भित्र चिसोले अनुहार सुन्निएको अवस्थामा भेट्टायौ । र निर्बाचन टोली सकुशल ब्यासतिर लाग्यो ।
  माथि नेपालपट्टि बाटो खुलेकै रहेनछ । हिउँ पग्ली चौरी हिडेपछि मात्र हिमाली बाटो निरापद मानिन्छ । यहिकारण जनाई भारतीय इन्डो तिब्बतियन बोर्डर पुलिसको स्थानीय कमानलाई भारतिय बाटो हिडने लिखित अनुमाति मागेका थियौ । सो पाइयो पनि । तर हामीसंग रिबाल्बर, क्यामरा, रेडियो समेत भएको कारण लफडा पर्नसक्ने आशंकाले खतरा भए पनि आफनै बाटो हिडने निर्णय गरि कुन्तिसाँउको उकालो लाग्यौ । आंशिक हिउँ पग्लेर ठुल्ठुला खाडल परेका थिए । हामी कुनै पनि खाडलमा खसेर सोझै पाताल प्रबेश गर्न सक्थ्यौ । तै उम्कियौ । राति छांग्रु सीमा प्रशासनको बाँझो घरको बास भयो । गर्ब्याङका  आइ टि बि पि क्याम्प कमान्डर नेपाली मित्र बालाराम गुरुङजीसंग अनुभव आदानप्रदान गरेर केही खानपिनका सामानको भौतिक सहयोग माग्यौ । ब स नि सितारामजीको टोली छांग्रुमा बस्यो । हामी अर्कोदिन हिमपैरोको कठीन बाटो जसरी तसरी तिङ्कर पुग्यौ । त्यहाँको समुच्चा गाउँमा हुम्ला माइत भएकी एउटी महिलाले मात्र अलि अलि नेपाली बुझ्ने रहिछन् । उनकै मध्यस्थतामा खाने बस्ने ब्यबस्था मिल्यो।
  बैशाख २७ गते  कर्मचारी सहित जम्मा २९ भोटर भएकोमा २३ जनाले भोट हाले । बहुपति प्रथाका कारण बाँकी मध्ये धेरै खर्क तिर रहेछन । मतदान सकेर सोही दिन हिडियो। दोस्रो दिन राप्ला र तेस्रो दिन राति राति ९ बजे खलंगा पुग्दा सबै  हाम्रो अन्तिम टोलीको प्रतिक्षामा रहेछन । बैशाख ३१ गते आएको निर्बाचन परिणाममा कुल ३७४४ भोट पाएर ४४ भोटले कम्मान बहादुर पाल राष्ट्रिय पन्चायत सदस्यमा निर्बाचित भएका थिए । 
पाँचौ पटक ब्यास क्षेत्रमा ; प्र जि अ को भ्रमण टोलीसंग
   यसपछि म जिल्ला प्रशासन कार्यालयमै काज राखिए । प्र जि अ द्वारिकानाथ ढुङ्गेलले मलाई जिल्ला प्रशासन कार्यालयमै सरुवाको प्रकृया पनि चलाएका थिए । उनको नेतृत्वमा मैले धेरै कुरालाइ नयाँ अर्थमा बुझन थालेको थिए । त्यसताका मुद्दाको काममा खप्पिस एक जना बुढा सुब्बाको मातहत बसेर काम सिक्न अह्राइयो । तर सुब्बा सापले लेखेको अक्षर  बुझ्न नै गारो हुन्थ्यो, उनले आफु बाहेक अरुलाइ केही सिकाउन नै नचाहने । कागतपत्र त अरुलाइ हेर्नै नदिने । यो समस्या मैले प्र जि अ ज्यूमा जाहेर गरे । “ के लेखे भनेर पढनु भन्दा किन लेखे भनेर नियत बुझ्ने कोसिस गर्नु “ भन्ने निर्देशन पाए । यो निर्देशन मेरोलागि भविष्यको पथप्रदर्शक बन्यो । यसैताका ब्यक्तिगत परीक्षार्थीको हैसियतमा जाँच दिन भारतको धारचुला स्थित इन्टर कलेजबाट आइ ए को प्राइभेट फर्म समेत भरेर पढाइलाइ निरन्तरता दिए ।       
  यसैताका प्रशासकीय अधिकृत को हैसियतमा सीमा प्रशासन कार्यालयका हाकिम पनि काजमा यतै आए । उनीसंग सीमामा बस्दाताका त्यति खुल्नै सकिएको थिएन । भएको के थियो भने तिङ्करमाथिको लिपुलेक तिर बम जस्तो देखिने केही बस्तु राखिएकोछ भनेर खवर पाइएको थियो । हाकिमले मलाइ सहयोगी लालबहादुर सहित त्यो बिकट ढलाने पाखो जान अह्राएका थिए  । साथै कुनै शंकास्पद बस्तु भेट्टिएमा त्यो जिनिस टिपेर ल्याउन समेत आदेश दिए । तर मैले त्यस्ता अज्ञातबस्तुलाइ साबधानी नअपनाइ छुन नहुने तर्क राखे । हाकिमले रुमाल निकालेर " ल यसमा बाध्नु " भने । अलि अलि च्याक्ति सबैले चढाएकै थियौ । मेरो पालो टोपी निकालेर " ल, टिपेर यो टोपिमा तपाईं राखिदिनोस । हामी बोकौला । साइडमा संगै जाउ । " भने । गलफत्ति भयो । अन्तमा पुलिस चेकपोष्टलाइ खवर गर्यौ । प्रहरीले पनि हात हाल्ने आँट गरेन । दार्चुलास्थित रणभीम गुल्मबाट आएको टोलीले त्यो बस्तु उठायो । चिसोले निष्क्रिय भेसकेको ठुलै बम थियो रे । खम्पा काण्डताका छोडिएको अनुमान गरिन्थ्यो । यो काण्डपछि आफनै हाकिम मसंग बमबम हुन थालेका थिए । रित पुर्याउन मात्र छांगरु पुगेर बाँकि दिन बस्तुस्थिति जाहेर गर्ने नाममा सदरतिर काज खटिने प्रबृतिप्रतिको झिनो बिरोध थियो मेरो ।
  तर पनि त्यो साउनमा प्र जि अ स्वयम् ब्यास जाने कार्यक्रम बनेकोले  फेरी ब्याससम्म जानू पर्ने भयो । साउन ५ मा जन्तिजस्तै २५ जनाको टोली प्र जि अ द्वारिकानाथको नेतृत्वमा ब्यासतर्फ हिड्यो । यो भ्रमणको चहलपहल विशेष हुने नै भयो । विशेष गरि तिङ्कर भंसारमा भएका भ्रष्टाचारजन्य कारवाहीको निगरानी गर्ने काम समेत मैले पाएको थिए  । त्यहाँका खरिदारको उखरमाउलो ज्यादै सहि नसक्नु देखियो । ताक्लाकोटबाट भारी बोकेर ल्याउने हुलका हुल खच्चर मध्ये ठुला साहुका खच्चर गिन्ति गरेर हिसाब राखी छोडीदिने तर फुटकर साना भरियाका भारी खोतलेर हेर्ने र भन्सार काटने गरिदो रहेछ । मानसरोबरको यात्रा पूरा गरि फर्कदै गर्दा प्र जि अज्यू मा सोही ब्यहोरा सपष्ट जाहेर गरे । भंसारको चार्ज अरुलाई बुझाई नीज खरिदारलाई जिल्ला प्रशासनमा उपस्थित हुन पठाउने आदेश भयो । साउन २१ गते प्र जि अ टोली फर्कियो । पुन: म ब्यासमै एक्लिए । बल्लतल्ल तिङ्करको चार्ज अरुलाई दिएर साबिक हाकिमलाई कारवाही चलाइएको थियो ।  एकपल्ट रक्सी खाएर मस्त भएका चेकपोष्ट हाकिमको पिस्तोल नै स्थानियले खोसेर लगिदिएका रहेछन । हामीले मध्यस्त बनेर छुटाएका थियौ । 
२४ साउनका दिन आधा कपाल दुखेर म इन्तु न चिन्तु थिए । यस्तैमा मानसरोबर यात्राको क्रममा एक जना बाबा मेरो अफिसमा आएका थिए । म एक्लै थिए । सकी नसकी उनको सिफारिस लेखी दिए । उनले आफुलाई शिव चैतन्य ब्रमचारी नेपाली बाबाको नाम दिएका थिए । मेरो स्थिति देखेर थोरै जडिबुटि दिए । यो बुटि खाएपछि कहिले कपाल नदुख्ने भनेका थिए । मात्र २ मात्राले आजपर्यन्त यसरी आधा कपाल दुखेको छैन । ती बाबाको दोस्रोपल्ट दर्शन  पाइएन । अभिसप्त अश्वत्थामा यी पहाडमा घुम्छन भन्थे । उनै पो थिए कि ! अहिले सोच्दैछु ।
  त्यहि सालको हिउदमा शाही  नेपाल चलचित्र संस्थानले राष्टियता सम्बर्धन गराउन नेपाली लोकनृत्य सहितका केही डकुमेन्टरीको निशुल्क प्रदर्शन गरेको थियो  । राजा रानीको शाही भ्रमण पनि थियो । तर पुस २२ मा दार्चुलाको ब्यारेकमा मात्र आएर यो भ्रमणको अनुष्ठान पूरा भयो । त्यतैबाट फुर्र फिर्ति सवारी भयो ।  प्र जि अ लाई पनि खासै सरिक गराइएन । बाहिर विभिन्न अडकल काटिए । तत्कालिन प्र जि अ को भनाईको सम्झना आलै छ । भनेका थिए , जिल्ला प्रमुखलाई कुनै सुचना नदिइएबाट प्रमुख भएर बस्नुको औचित्य सकिएकोछ । नभन्दै केही दिनमा वहाँको एकीकृत बिकास  परीयोजनाको कोअर्डिनेटरमा सरुवा गरियो । चुरीफुरी देखाउने सीमा प्रशासन अधिकृतलाइ पो बिभुषित गरिएको रहेछ । स्थानिय निर्बाचन हुने तरखरमा थियो । यसपालाको निर्बाचनमा म कामबिहीन बनाइए । आइ ए को तयारीकोलागी यो पेलाइ पनि मेरो निम्ति अनुकूल हुन गयो ।
अधुुुुरो पढाइलाइ निरन्तरता र परिवारमा दोस्रो पुत्रको आगमन
  भारतमा आइ ए को परीक्षा र नेपालमा स्थानिय निर्बाचनको समय एउटै परेको थियो । ०३९ जेठ ११ गते बिहान ७ बजेदेखि ईतिहास र बेलुका ३ बजे नागरिक शास्त्रको  जाँच एकै दिन परेका थिए । पत्नी राति देखि नै छटपटिएकि थिइन । प्रसब ब्यथा पो रै , छ । बिहान ठिक ६.१५ मा दोस्रो सन्तान जन्मियो । छेउमै बस्ने प्रहरी परीवार भगत र भट्टजीलाई बच्चा भएकोले खबर गरि दिनु होला भन्ने अनुरोध गरि कलेज दौडिए । ५/७ मिनेट ढिलो भए पनि जाँच दिन पाए । ११ बजे घर पुगे । छोरा जन्मेेेको रहेछ ।  जेठो छोरा, नवजात शिशु र नवप्रसुतिलाई सम्हाली फेरि अर्को पेपर दिन भारततिर लागे । जे होस जाँच छोडिएन र कामको दोहरो तेहरो पेलान बेहोरियो । कोठामा कपडाको पार्टिसन गरि ब्यबस्थित गरे सुत्केरीलाई । त्यो दिन नुहाएर राति १२ बजे एक छाक मात्र खाए । अर्को दिन पारीबाट सरसामान किने । खाना ख्वाए । अफिस जाँदा हाकिम त माथि ब्यास जाने तयारी गर्नोस पो भन्छ  । सिमित उपस्थितिमा न्वारानको औपचारिकता पुरा गरियो । अबिस्मरणिय शिबस्थलको यात्रापछि पाएको छोरा भनेर कैलाश नाम राखे । 
श्रीमती स्वयम् खाना पकाउन थाल्छिन । जेठको अत्यधिक गर्मीमा सद्यजात छोराको आँखा र नाइटोमा संक्रमण देखियो । थप अर्को पात्र अस्पताल लैजानुपर्ने भयो । जेठ २४ गते चिकित्सकको प्रमाणपत्र सहित बिमारी बिदाको निबेदन दिएर थकित गलित भएर घरमै बसि दिए । २५ गते आफनो हाकिमलाई २/४ कुरा सुनाए । त्यसपछि बोलचाल नै बन्द भयो । यसपछि भने एकान्तबास बसे । निर्बाचनको धामधुम सकिए लगतै ५ आषाढमा बिदाबाटै महेन्द्रनगर झरे । अंचलाधिश क्वार्टरमै गएर बिहानै अंचलाधिश पशुपतिदेब पाण्डेज्युसंग कुरा राखे । चाखसंग कुरा सुन्नु भयो । जिल्लाबारे केही बुझ्नु पनि भयो । १० बजे अफिसमा भेटन अह्राउनु भयो । भेटे । २ बजे सरुवाको काम सकेर फर्किए । 
अफीस गै हाकिम द्वयलाई फुर्तिसाथ सरुवाको कुरा सुनाए । १५ दिनको बाटो म्याद र ४ दिनको बिदा बल्लतल्ल स्वीकृत भयो । पत्रकारिता तथा कहानी लेखन महाबिद्यालय अम्बालाबाट पत्राचारको माध्यमबाट कोर्स गर्दै थिए । त्यसको पनि परीक्षा सकाए । १४ साउनमा आइ ए को रेजल्ट खुल्यो । ४५% पास रे ।  क्रस लिष्ट आईपुगेपछि १६ गते कलेज पुग्दा मेरै बारेमा कुरा गरिरहेका प्निन्सिपलबाट आफु राम्रो नम्बरले पास गरेको छडके जनाउसम्म पाए । प्राइभेटबाट मेरो नै राम्रो नम्बर रे । लगत्तै मेरो रवाना लिएर बैतडीतिर लागे ।
फेरी दार्चुलातिर; बीस बर्षपछि
यसरी  नयाँ आयाम लिएर जिन्दगीले कोल्टे फेर्दै गयो । कता कता पु-यायो, कहिले हँसायो ..कहिले रुवायो  । अलमस्त, सुस्त, आकांक्षा बिहीन र ब्यस्त भएर तिब्र गतिमा बर्षहरु बग्दै गए ।
०५८मा आइपुग्दा महेन्द्रनगरमा नयाँ घर बनाउन शुरु गरेको थिए । महेन्द्रनगरमै सरुवा भएको थियो ।
०५८ जेठ १९ को दरबार हत्याकान्डले भावनाको जगै हलायो । " हावा लाग्छ, हेलिक्याप्टरसम्म नआउ फर्क, भनेर बिदाइका हात जोडने राजा कहाँ पाउनु अब । बिक्षिप्त जस्तै भए । जागिरका जिन्दगीका केही बाँकी बर्ष छोडेर चाँडै घर जाउ जस्तो लागि रह्यो । छोरा कैलाशले पनि आइएस्सी सकेर एपेक्स काठमाडौंमा भर्ना लिएको थियो । मैलौ  कुमायुँ बिश्वबिद्यालयबाट प्राइभेट अध्ययन गरि स्नातकोतर उतिर्ण गरेको थिए । खुल्लाबाट अधिकृत पास गरेको पनि डेढ दशक बित्दै थियो । बढुवामा यस बर्ष पनि परिएन । उल्टो बिदा नै नलिएको अवधिमा परीक्षा दिएको देखिएकोले जाली सर्टिफिकेटको शंका गरि परेको उजुरीको छानबीनमा पो परियो । सबै सक्कल प्रमाणपत्र मन्त्रालयमा बुझाएको थिए  । छानबिन पश्चात प्रमाणपत्र फिर्ता पाएको लगत्तै का मु प्रमुख जिल्ला अधिकारी तोकेर ०५९ कातिक २० गते फेरी दार्चुला पठाएको पत्र पनि पाए । 
त्यसताका माओबादी जनयुद्ध चरमोत्कर्षमा थियो । सुचना नै नदिइ दार्चुलाका तत्कालिन प्रजिअले जिल्ला छोडेका रहेछन । जिल्ला प्रशासन नै अस्तब्यस्त रहेछ । मलाइ बलिको बोका बनाइएको जस्तो लाग्यो । यथार्थ स्थिति बुझ्न तत्कालिन अन्चल प्रहरी कार्यालय का एसएसपीलाइ भेटन गए । उनले त सबै भगवति र धुराहरुका शिबशक्ति पीठमा पुजा गराइ भाकल समेत गरि सकेकोले ढुक्क भएर जान सल्लाह दिए । जे पो होस भन्दै माइलो छोरा कैलाश साथमा लिइ झन्डै २० बर्षपछि पुन: दार्चुला हाजिर भए । गएकै केही दिनमा ३ जना माओबादी जेलबाट छोडिए । ८ जना  थुनामा राखिए । 
यसै बीच जुम्ला र गोरखामा आक्रमण भए । कैलालीका माननीय चक्र डगौरा मारिए । ( अछाम घटनामा सहृदयी मोहन खत्री मारिएका घटना आलै थिए । )  माओबादीहरु धापसम्म आइ पुगेका खाल्डो खनिएका खबर सुनिन थाले । पुस ९ गते त दल्लेकमै माओबादि सशस्त्र टोली आइपुगेको खबर आयो । नजिकै गाउका कर्मचारी समेत सदरमुकाम मै डेरा गर्न थालेका रहेछन । 
यस्तैमा एक दिन  सुरक्षा समितिले रात भरी अतिरिक्त सतर्कतामा बस्ने निर्णय गर्यो । मृत्युको आसन्न सन्त्रास कति डरलाग्दो हुँदो रहेछ, बुझियो । बातबिकारले हिउँदको चीसोमा अररिएको जिउमा खलखली पसिना आउन थाल्यो । वाकवाकी लागेजस्तो पो भयो । हाम्रो धर्मशास्त्रमा अन्धकारका पनि देवता छन । अन्धकार पनि रक्षा कवच हुन सक्दछ । आज त उज्यालोका भन्दा अध्यारोका देवतासंग त्राण मागियो । बति निभाएर चुपचा्प बसी रहे । छतमा  हतियारधारी सुरक्षाकर्मी थिए । झन ब्लफ कल आउन थाले । म मरे पछि के होला भनेर पनि सोचिन थाल्यो । जेठो छोरा लापरवाह छ, सामाजिक सम्बन्धमा चासो राख्दैन , कसले घरेलु मिसन समाल्ने होला भन्ने सोचिन थाल्यो । निदानत: २ बजे खतरा टरेको खबर दिए डि एसपीले । तै पनि घाम नलागुन्जेल उनिदै थिए । दुनिया त्यसै दिन क्रिसमस मनाइरहेको थियो । म पनि रातभर जाग्राम थिए । उठदा रिङठा चलेर ढलेछु । तर थर्मस फुटे पनि म फुटिन । जीवन चली रह्यो । सदरमुकाम छाडेर जिल्लातिर जाने वातावरण नै थिएन ।
  प्रशाशकीय संगोष्ठिमा छिमेकी भारत र महेन्द्रनगर सम्म भने आउजाउ चलि रहन्थ्यो । यसै क्रममा काठमाडौ पुगेर तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दज्युसंग समेत दुखेसो सुनाए । उनले अन्यमनस्कता देखाए । तर माघ १९ मा अनायास युद्धबिराम भयो । माओबादीहरु सदरमुकाममा पनि देखिन थाले । माओबादी पक्षका क.खगराज भट्टलाई अफिसमै बोलाएर कुरा गरे । सदरमुकाममा सभा गर्न नदिने भने पनि बाङगाबगरमा उनिहरुले सभा गरे । हराएका सीडीओ, सहायक सिडिओ पनि सम्पर्कमा आउन थाले । दार्चुलाको  न बसु जस्तो पनि लागेकै थियो । धार्चुला गै गृह सचिबज्यूसंग फोनमा अनुरोध गरे, तर उनले चुपचाप बसिरहन मात्र आदेश दिए । 
यसरी युध्दबिरामसंगै मौसम उघ्रियो । गृहमन्त्री र गृहसचीवले जिल्ला भ्रमण गर्नु भयो । कैयौ अनुगमन र निरिक्षण टोलीहरु पनि जिल्लामा देखिए । कैयौ दिवस र जात्राहरु मनाइए । यहि मौकापारि चैतको पहिलो हप्ता  धेरै बर्षपछि म पनि घर पुगेर आमालाई भेटन भ्याए । गाउँ बदलिएछ । एउटा नयाँ घाम उदाए जस्तो । आवरण तरल थियो । तर गर्भमा ज्वालाहरु थिए । माओबादको नाममा अर्को अब्यबस्था समाज हुडल्दै थियो । कुनै मार्गचित्र सपष्ट थिएन ।
२०५९ चैत २२ गते तत्कालिन श्री ५ महाराजाधिराजको मल्लिकार्जुनन्दिरमा सवारी हुने औपचारिक खबर चैत १९ गते मात्र पाइयो । २० गते रातारात त्यसतर्फ हिड्यौ । जिल्ला न्यायाधीश, स्थानिय बिकास अधिकारी, प्रहरी नायब उपरिक्षक, जिशिअ समेत ४०/५० जनाको टोली दत्तु भर्तोला हुँदै जाँदै थियौ । बाटोमा माओबादी जत्थाले ब्यबधान हाल्ने प्रयास समेत गरे । हामीसंग झंडै ६ दर्जनको सशस्त्र जत्था थियो। एकाध दर्जन माओबादी माइकमा वारीपारीबाट नारा लगाउथै। मुठभेड नहोस, सिधा गाउले घानमा नपरुन भन्नेमा ज्यादै सतर्क थियौ । टोली नेता बनेर २१ गते बिहान मलिकार्जुन धामको दर्शन गरे । सेनाले सबै तयारी गरेको थियो । स्वागत समिति गठन गरे । शान्तिसुरक्षामा राम्रो समन्वय थियो ।  झरी र चिसोमा औपचारिक पोशाक समेत मागेर सिउरेको थिए । प्रधानसेनापति प्यारजङ्ग थापाको निरिक्षण भ्रमण पछि सबै कुरा थान्को लाग्यो । वहाँ मार्फत नै सबै कुरा जाहेर गरे । प्रफुल्ल मुद्रामा सरकारको भ्रमण निरापद सकियो । बिदाइ दर्शनमा दुनियालाइ पनि धन्यबाद भनी दिनु , म अहिले जाउ है , भन्ने हुकुम भयो । यहिक्रममा मैले पनि मलिकार्जुनको पुजा गरे । प्रसाद पाए । भोकर लगाइयो । फर्कदा भगवतिको पनि दर्शन गरेर बजानीको लेक र थपला हुँदै फर्कियो ।  
यसै मेसोमा मसान्ततिर हामी सुरक्षा टीमका साथीहरु चैत्र २९ गते नारायण आश्रमको भ्रमणमा निक्लियौ । नारायण स्वामीको साकार परिकल्पना । धौलागाडको बिद्युत परीयोजनाबाट बिस्फोटक पदार्थ ठुलो मात्रामा नेपालतिर चोरी निकासी हुने गरेको खबरको पुष्टि गरियो । पछि जुम्ला आक्रमणमा सो बिष्फोटक प्रयोग भएको अनुमान गरिएको थियो । नारायण आश्रमबाटै घरमा फोन गरेको त श्रीमति रुन पो थालीन् । कान थापेकी बाटो हेरेकी रे । कस्तो भ्रम  । यसरी आफुले गरेको कामको प्रगतिलाई आफनै ठुलो ऐनामा राखी नहेर्दा किमार्थ प्रगति पुरुषार्थ भेटिदो रहेनछ । अर्कासंग दाँज्दा तत्जन्य परीबेश पनि दाँज्नु पर्ने हुन्छ । लाग्छ दुनिया समथर छ । नियतिले सबैलाई सम्याउछ । हामी पनि त्यहि समयको पर्खाइमा बस्नुपर्दोरहेछ ।
 १५ पुषमा परीचय लुकाइ पिथौरागढको बाटो महेन्द्रनगर आयौ डिएसपी कृष्ण गौतम सहित । चल्थीमा गाडी बिग्रियो । राति बालुवा बोक्ने ट्रकको पछाडी बसेर १२ बजे टनकपुर पुग्यौ । यसरी राति हिडने वातावरण नेपालमा कहिले होला र भन्ने लागीरह्यो । दोस्रो दिन बल्ल दस बजे महेन्द्रनगर पुग्यौ र सीमा सम्बन्धी मिटिङमा सहभागी बन्यौ । त्यो मिटिङमा भएका दुइटा प्रसंग सान्दर्भिक छन ।
भारतीय पक्षका नापी सर्बेयरले ब्रह्मदेब सीमाको  पिलर भारततिर हुनुपर्ने जिकिर गर्दा त्यहाँका डिएमले हस्तक्षेप गरे। 
उनले भनेका थिए " मिष्टर खत्री! आप किस पक्ष में क्या बोल रहे है? क्या आप सपष्ट है?" । सेनाबाट खटिएका ती नापी सर्भेयरले तत्काल तन्केर जवाफ दिए, " मै नहि बोल रहा हुँ , सर! मेरा गणित ऐसा बोल रहा है । और मेरे साथ मे संयुक्त सीमा टोली के नेपाली समकक्षी भी रहते है । गणित एक हि बात बोलता है सर!।"
अर्को कुरा, हामीले धौली गंगा परीयोजनाबाट बिस्फोटक नेपालपट्टि बाहिरिएको जनाउ दिदा पिथौरागढको डिएमले " ऐसा हो हि नहि सकता " भनेर अडान लिए । तर एसएसबी कमान्डेन्डले हाम्रो कुरामा समर्थन जनाउदै बाटोका चियापसलमा समेत बिष्फोटक सामग्री ढुवानीकर्ताका ड्राइभरहरुले सो सामान बेचेर जाने गरेको खुलासा गरे । निदानत : धौलीगंगाको बिस्फोटक पदार्थ राखिएको गोदाममा छापा हानेर कारवाही चलाइएको थियो । 
आजपर्यन्त ; उस्तै जाँतोमा उस्तै जौं पिसिदै
 अचेल गणतन्त्र र संघीयतासंगै घरमा आगो लगाएर खरानीको व्यापार गर्ने प्रबृति भएकाहरु नेतृत्वमा हाबी छन । कोटमा भन्दा किलामा ध्यान दिने समुदाय छ । बिरालोको काम होइन रंग हेर्ने प्रचलन बढि छ ।अतीत खोस्रेर बसेका बुढाहरु सिहदरबारमा गजधम्म छन । त्रासद तरवारहरु वारीपारीबाट धारेहात लाउदैछन । आफनै मुलढोका पनि पसुँ कि नपसुँ जस्तो हुन थालेकोछ ।
  उहिले हामीहरुलाइ नेपालको सबभन्दा ठुलो ताल फेवाताल भनेर पढाइन्थ्यो । अहिले राराताल ठुलो मानिएकोछ । त्यसै गरि महाकाली नदिको उद्गमस्थल कालापानी हो भनेर पढाइन्थ्यो, पढाइदैछ । तर काली नदि जोलिङकाङ पर्बतबाट निक्लिन्छ । कुटियाङदि, काली, शारदा, सरयु हुँदै यो सीमा नदि गंगामा मिसिन्छ भन्ने तथ्यसंग थोरै नेपालीमात्र परिचित छन  । सुगौली सन्धी हुँदा नेपालका राजाले काली नदि पश्चिमको भुभाग छाडनेछन भनिएको थियो । महाकाली सन्धीले महाकालीको पानीलाइ समेत फिफ्टि फिफ्टि गरि दियो । टाढा लिपियाधुरा तिरको जिरो पिलरका त कुरै छोडौ । झापाको जंगे पिलर देखि ब्रह्मदेब स्थित टनकपुर बाँध नै सन्धी/सहमतिको नाममा वरपर गरिएका छन । यसरी कुटियाङदि देखि कुतियाकवरसम्मको सीमारेखा नै बिबादित र चर्चित बन्न गएकोछ ।
  सुन्छु, हाल पनि ब्यास गाउपालिका-१ मा रहेको उहि सीतापुल प्रहरी चौकि पश्चिमोत्तर सीमानाको अन्तिम  सुरक्षा पोष्ट हो रे । त्यहाँ उसै गरि १ दर्जन प्रहरी बसीरहेका होलान जस्तो लाग्छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकको चर्चा चुलिएसंगै भारततिर भने अन्तिम बिन्दु कौवाबाट  कालापानी पुग्दा ९ वटा सुरक्षा पोष्टमा १० हजार जति जनशक्ति काममा खटिएर त्यता कालापानी लिपुलेक मोटरबाटो बनिरहेकोछ । हाम्रोतिर पंचायत कालमै बन्न थालेको खलंगा तिङ्कर सवासय कि मि घोरेटो बाटो पनि अस्तब्यस्त छ । सशस्त्र द्वन्दकालमा त राज्यको उपस्थिति नै रहेन । स्थानियले दिएको सुचना माथिल्लो निकायमा पठाइदिने काम सम्हालदै प्रहरीका दुई युनिट अझै ६/६ महिनामा तलमाथि गर्छन होलान । धेरै कुरा थाहा नपाएझै गर्नु पर्ने बाध्यता छँदैछ ।  सौकाहरुलाइ कुन्जा सार्न पनि उस्तै समस्या होला । यो आलेख लेख्न बस्दाा १५ दिसम्बर २०१९ को दैनिक जागरण नामको भारतिय पत्रिकाको ब्यानर न्यूजको शिर्षक थियो, अन्तिम भारतिय गाँव कुटि मे पेय जल लाइन जमी. १५० से मी बरफ । हाम्रा रक्षा मन्त्रीज्यूले भने आज यो ब्यासतिर १५ मिनेटको हेलि निरिक्षण भ्रमण गरेको खबर छ।
  तर  अझै पनि आफनै बाटो आफनो सदरमुकामसंम हिडन सकिने स्थिति छैन । सीमाक्षेत्रमा सुरक्षा स्थिति बलियो बनाउन कुटनैतिक पहल चालु रहोस भन्ने जनचाहना स्वाभाविकै हो । सीमाप्रतिको नागरिक सतर्कता सलामयोग्य छँदैछ । धेरै कुरा बुझेर पनि बुझ पचाइरहेका दुइजिब्रे  नक्क्ली नेतृत्वले आफुसंग भएको भारतिय मुद्रा सटहि गर्न नसकिरहेको अबस्थामा बाँकी के कुरा गर्नु र । झापामा अरबौको लागतले बन्ने भ्युटावरभन्दा महाकाली करिडोरमा बन्नुपर्ने तिंकर लिपुलेक खन्डको सडक राष्टको लागि धेरै महत्वपुर्ण छ भन्ने राष्टिय सोच बन्नु पर्छ । अनि सक्कली राष्टबाद आउछ । यसैमा मात्र हामी सबैको कल्याण छ । 
*==&¿?&==*

- ०७६ फागुुन ५
महेन्द्रनगर