Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

Monday, April 13, 2020

शुभकामना हामी आफैंलाई

नवबर्षाभिनन्दन २०७७
 नूतनाभिबादन  विवाह बार्षिकोत्सब ४५


ओ हो,
झन्डै आधा शताब्दि समेटिएर
त्यो सुखद संयोग नै सिंगै जीबनको आधार बनेछ । 
संझन्छु, 
दुई बीस पाँच बर्ष अगाडि,
लुस्सुक तिमीले यौटो औंठी दिएकी थियौ ,
 खुस्सुक्क मैले त्यो स्विकारेको थिए ।
त्यसपछि,
 हामी हिड्यौ त बाटो बन्यो ।
हामी बस्यौ र पो बास भयो ।
अरुलाइ हेरि नक्कल गर्दा
आफु हराउने हो कि भन्ने ठान्यौ ।
 बुझ्दै गयौ,
 संगसंगै हिडदै गयौ ।
कहिले बर्ष पनि अल्प भयो, 
कहिलेको दिन पनि कल्प भयो ।
मायाप्रेमका बजारीकृत बिकाउ परिभाषा भन्दा पर
एक अर्काका आदर्श, आबश्यकता,प्रेय र श्रेय बन्यौ ।
जीबनयात्रामा लागेका कतिपय चोटहरुले 
अरुले औंल्याउने एकाङ्की खोटहरुले ,
 न कहिले रुमलियौ, 
न कहिले बदलियौ ।
स्थिर सत्यले भरिएको
आफनै जमीनमा उभिइ रह्यौ ।
अहिले पनि,
 कालक्रमले केही नयाँ सिकाउदैछ, सघाउदैछ।
अझै सिकाउनेछ, सधाउनेछ ।
 आउ!
 संगै हिडौ, संगै पुरुषार्थ गरौ ।
जीवन बिणाले सँधै नयाँ गीत गुनगुनाइ रहोस ।
र यो क्रम चलि रहोस………. चलि रहोस् ।>>>>>>
 नौलो बर्ष २०७७ को पहिलो दिन
हाम्रो विवाहको ४५ सौं  बार्षिकोत्सबमा
नूतनाभिबादन ।
हामी आफैंलाई,
हाम्रा सबैलाइ ।
 &&&&


Saturday, February 1, 2020

तिम्रो देउतासँग के बर माग्दैछौ ? 

तिम्रो देउतासँग के बर माग्दैछौ ? 
( कबिता)

गरिबीको च्यादर ओढिरहेको मुटुमा 
टेकाउँदै धर्मका पाइताला
फलाक्दै शान्तिको मन्त्र
चढाउँदै सूर्यलाई अर्घको पानी
तम्रा देउतासँग के बर माग्दैछौ गोसाइँ
देउता त हाम्रा पनि छन् 
हाम्रा पुर्खाले पनि पुजेका हुन्
र, हामी पनि पुजिरहेकै छौं
तर हामीले त पूजामा 
मात्र मन चढाउँछौ मालिक
आकाशका तारा गन्दै बगर नाप्दै
दिन बताइरहेको फिरन्तेको बाटै बन्द गरेर
अग्निकुण्डको नक्सा कोर्दै 
जिन्दगीको दोबाटोलाई धुवाँदार बनाएर
कस्तो आकृति खोज्दैछौ मालिक ?
छाँद हालेर रुन खोज्दा गरिबले
थापेजस्तो गरेर अञ्जुली
धक्क्याउँदै उसको जिन्दगीकै ढिस्को
कर्मकाण्डको कुनचाहिँ पाना बढी पल्टाउँछौ ?
कयौंका मुटु मिचेर कचोल बनाइसकेका 
तिम्रा कपटी हात
टुनामुना लगाउने तिम्रो हेराइ
सबै बुझेको छु मालिक 
तिमीले योजनाका ड्याम बाँध्दै गर्दा
यता मजस्ता कयौंका मनमा परिसक्छ भुमरी
भत्किन सुरु हुन्छ जिन्दगीको सिँढी
देख्न सक्छु अचेल सजिलैसँग
सेती नदीको खोँचमा बनेका खुनिकुण्टाझंै
तिम्रा मनका खुनिकुण्टाहरु 
सेतीले त दिन्छ तैरिने अवसर 
कम्तीमा मृत्युपछि नै भए पनि 
तर सोझा मनहरु सक्दैनन् रे 
तिम्रो चातुर्यको भुमरीबाट उम्किन
यथार्थका टपरी जति पाइतालामुनि लुकाएर 
कस्तो टपरीमा राख्न लगाउँछौ छाक धान्ने चामल 
अनि कुनचाहिँ दुनामा बाल्न लगाउँछौ जिन्दगीको दियो ?
भन न गोसाइँ
चढाउन सिकाएर सूर्यलाई अर्घको जल
तम्रा देउतासँग के बर मागिदिन्छौ ?
( साभार- बाह्रखरी)
 रचनाकार- हेमन्त बिबश
फोटो साभार- गुगल
**-**

Tuesday, October 29, 2019

लय संगीत हराएका दमाहा र घण्टहरु देखेर ( कबिता)

लय संगीत हराएका दमाहा र घण्टहरु देखेर 



सम्बेदनाहीन सम्बन्धहरु भित्र
 केही बिचार मरीरहेकाछन
केहि बादहरु अबैध हुँदैछन् ।
 पुरानो, भद्दा र रुपहीन बनेर
बूढो पुस्ता सभ्यता र संस्कृति बिहीन हुदैछ। 
मन्दिरको वरपर
असरल्ल टाङ्गिएका घन्टहरु जस्तै 
प्रकाश नछिर्ने कोठाभित्र थन्किएका दमाहा जस्तै
व्यापारी युगमा हिडने मान्छेदेखि
उडने  चरासम्ममा
न लय छ, न कुनै संगित छ ।
मुक्ति गितका नाममा
आदिम संग्रामका कर्कश स्वरहरुबाट
वेद उपनिषदका अर्थ मरीरहेकाछन
तन्त्र तान्त्रिकताका बिम्बहरु हराइ रहेकाछन ।
कैदी थुनुवा जस्ता  स्वाभिमान गुमाएका
पंचैबाजाका रागहरु
मन्दिरका शहर 
देवताका गाउँ भित्र 
कुँडिइ बसेकाछन्,
सभ्यताहीन हुदैछन्  ।
मूल्य मान्यताको बिघटन भएपछि
मनुष्मृतिले थिचेको सिङ्गै  समाज
बैधब्यका दिन भोग्दैछ ।
मेरो ईतिहास श्रृंखला 
मेरा बुढा पुस्ता क्रमस: पहेलो हुदैछ ।
 पानी र बतासले समेत
धर्म परिबर्तन गर्दैछ रे ।
नयाँ पालुवा कुन रुपमा उम्रिने हो?
 कुन रंगमा मुस्कुराउने हो? 
बिधवा बासी बिचार अलमलिन थालेकोछ ।
यो कलमलाइ पनि बुढ्यौली लागेछ ।
ए, पहेलो पात त झर्नै पो लागेछ ।
यौटो युग सकिनै लागेछ ।।
*********************



- भाइटीका २०७५, काठमाण्डौ ।

Saturday, June 22, 2019

म ( कबिता)


म ( कबिता )

साभार:-
 - भूपी शेरचन
१.
म एक पुत्र
एक पति
र एक पिता हुँ
२.
एक न्वारान
एक विवाह
र एक चिता हुँ
३.
म एक होटल
एक बोतल
र एक प्याला हुँ
४.
म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ
५.
म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ
६.
म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ
७.
म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ
८.
म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ
९.
म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ
१०.
म एक आवश्यकता
एक माग
एक विरोध
र एक डण्डा हुँ
११.
म केवल एक जुत्ता
एक सुरुवाल
एक कमीज
र एक कोट हुँ
१२.
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।
(साभार: घुम्ने मेचमाथि अन्धो मान्छे) 

Thursday, June 20, 2019

समर्पण तिमीलाई !



मेरो भ्रम समर्पण छ ,तिमीलाइ

हे महाराज ! हे इष्ट देब ! हे कुलदेवता!
यदाकदा  अन्तर्मनमा सुट्टुक्क आएर
जे भनेका थियौ, सहजै सकारे,
जे दिएका थियौ, सहर्ष स्विकारे ।
उकालोको अन्तिम उज्यालोमा
जीबनको त्यो गोधुली पारीको जोरजाममा
कुनै भारी बोक्नु छैन मलाइ,
पाउन सकिने सबै पाइसकेपछि
उधारो राखेर केही माग्नु छैन मलाइ ।
मात्र केही प्रश्न बाँकी छन नै
थोरै जिज्ञासा थाति छन ,
तिमी छौ र पो म पनि छु जस्तो
केही भ्रमहरु चिर्न बाँकी छन ।
यो धर्तिको विशाल परिधिमा
मैले बेहोरेको परीक्रमा पथमा
सँधै बाटो देखाइ रहने तिमीलाइ
फगत केही प्रश्न सोध्नु छ मैले ।
फरक फरक मानिस भेटेकोछु  मैले
फरक फरक लेखिएको देखेकोछु मैले ।
कतै लामा कपालवाला भेटेकोछु
कतै मुडुला चिल्ला टाउका देखेकोछु ।
तिम्रै नाममा उफ्रिएका बिबिध मानब समूह मध्ये
कसको नायकत्व लिएकाहौ तिमीले ?
आर्तनादको आवाजलाई कुन ठाउमा उभिएर
निर्णायक बनेर सुनेकाछौ तिमीले ?
तिम्रो नाममा बनाइएका यी मुर्त सम्पदाहरु
तिम्रो नाममा रचिएका यी अमुर्त सम्पदाहरु
यो हुनु नहुनुको सिमाभन्दा माथि उभिएर
कसलाइ स्विकारेकाछौ तिमीले ?
जिन्दगीको अन्तिम पाइलो धर्तिमा छाडेर
जब म उक्लिनेछु कुनै अज्ञात भावभुमीमा
मलाइ स्वागत गर्न कुन रुपमा देखिनेछौ तिमी ?
के तिमीसंगको नाता यै जिन्दगी सम्मको हो त?
मलाई भ्रमित नहुनु परोस केहि गरि कसै गरी
के तिमी मान्छेपिच्छे फरक छौ र ?
के तिमी खास कसैका मात्र नजिक छौ र ?
के मैले र उन्ले देखेका देवता अलग अलग हुन र ?
मात्र केही प्रश्न बाँकी छन , थोरै जिज्ञासा थाति छन ।

***
काठमाडौं
०७६/०२/३२/७
***

Monday, June 10, 2019

मैसापको सारी ( कबिता)

मैसापको सारी-

रचनाकार-रूपेश श्रेष्ठ
 (कविता सेतो पर्दा डटकमबाट साभार गरिएको हो । )
जब मैसाप नयाँ सारीमा झुल्किसिन्छ
चलिरहेका कुरा टक्क रोकिन्छन् र कताताबाट बतास चल्न थाल्छ
त्यस्तो बेला मैसापलाई हेर्दा यस्तो लाग्छ कि
बतास चलिरहोस र मैसापलाई गाह्रो परिरहोस सारी संहाल्न
त्यस्तो बेला सारी भरीको फूल मैसापको अनुहारमा सर्लक्कै सरेको हुन्छ
र मैसाप भरीको सुगन्ध नयाँ सारीमा सरेको हुन्छ ।
मैसाप सारीमा झुल्केको अर्को दिन
चलिरहेको बतास टक्क रोकिन्छ
र कता कताबाट कुरा चल्न थाल्छ
त्यस्तो बेला मैसापलाई हेर्दा यस्तो लाग्छ कि बतास र कुरा दुवै टक्क रोकिउन
मैसापलाई गाह्रो परिसकेको हुन्छ कुरा सम्हाल्न
त्यस्तो बेला मैसापको सुगन्धलाई अत्तरले छ्यप्पै छोपेको हुन्छ
मैसापको घाँटिको ठिक मुन्तिर हिज लगाएको सारीको रङ निलो डाम भएर डामिएको हुन्छ
र मैसापको अनुहार भरीको फूल साहेबको ओठ जस्तै चिथ्रा चिथ्रा परेको हुन्छ
सबैलाई थाहा छ नयाँ सारी लगाउँदा मैसापलाई साहेबले खुब मन पराइसिन्छ

Wednesday, April 10, 2019

तिमी जिउदैछौ ( कबिता)


तिम्रो चिहानमा
म मृत्यु इच्छा पढ्न आएको होइन
मलाई थाहा छ
तिमी मर्न सक्दैनौ ।
तिम्रो मृत्युको साँचो खबर जसले सुनायो
त्यो झूटो थियो - त्यो तिमी कहाँ थियौ र?
कुनै सुकेको पात हावासित हल्लिँदै टुटेको थियो
त्यो दृश्यमा कैद छ अझै
म जे पनि देख्छु वा सोच्छु
जुन तिम्रो इज्जत र बदनामीको दुनियाँ थियो
कहीँ केही पनि बदलिएको छैन
तिम्रो हात मेरो औंलामा सास फेर्दछ
म लेख्नको लागि जहिले पनि
किताब कलम उठाउँछु
तिमीलाई मेरै नजिक बसेको पाउँछु
शरीरमा जति पनि मेरो रगत छ
त्यो तिम्रै कामना र कमजोरीका साथ बग्छन्
मेरो आवाजमा लुकेर
तिम्रो आत्म बस्दछ
मेरो बिमारीमा तिमी
मेरो लाचारीमा तिमी
तिम्रो चिहान झूटो हो
तिम्रो चिहानमा
म गाडिएको छु
तिमी ममा जीवित छौ
कहिले फुर्सद पायौ भनें
मेरो चिहानमा मृत्यु इच्छा पढ्न आउनू।

Saturday, March 23, 2019

फेेरी पहाडतिर ( कबिता )

फेरी पहाडतिर
        (कबिता )



पुरानो परिचित जस्तै लाग्ने
तर बिरानो र बेरसिलो
खस्रो हावा बग्दैछ
रोगी पहाडहरुका चेपबाट
भुनभुनाउदै हिडेको पानीको
मीठो सुगन्ध छरेर तातो मैदानमा ।
**
उता पहाडमा भने
मरीसकेका बाआमाको मुर्दाघर समालेर
ख्वै, को कुरेको होला र मलाइ ?
आगनको छेउमै उभिएको
खरी, काप्रो र भिमलको
ती तिनवटै पुराना रुख बाहेक ।
**
एक हुल भङेराहरु
एक जोडी गौथलीहरु
गासबासको ठेगान निश्चित गर्दै
भौतारि रहेका होलान
दिशाहीन भएर
नांगो र कुरुप बनेको सानो आगन भरी ।
**
अनुहार सकिएका उजाड डाडाहरुसित
जन्मेको ठाउ रुङदै र काल कुर्दै
           जोरीपारीका जस्ता लाग्ने बुढाबुढीहरु
           आहालमा हेलिए जत्तिकै होलान ।
          ***
            करक्क हुन्छ छातिभित्र,
            खोलामा राजगरेका भ्यागुताहरुको
            थला परेको बैँस तथा बर्कतबाट
             सँधै साँझ बिहान पाएको लातले
             र भोली बिहान फेरी पहाडतिरै
              फर्केर जाउ जस्तो लाग्दैछ ।
                ***
                                     बागडोल, काठमाडौं
                                       १० चैत ,२०७५

Thursday, March 21, 2019

केही हाइकु

हाइकु


(१)
गाउँका बूढ़ा बाजे
बाली काटदै
हँसिया जस्तै झुकेर ।
(२)
नाशपातीका सेता फूल
चाँदनी रातमा नबयौबना
पढ़दैछिन चिठ्ठी ।
(३)
एक मोमबत्तीबाट
दोस्रोमा सर्दैछ–
वासन्ती साँझ ।
(४)
सेता सुन्दर फूल
डराउदैछ कैची
एक क्षण ।
(५)
एकाबिहानै –
कौवाले छोडेको भ्यागुतो
दुलाको मुखैमा ।
(६)
बेलुकाको हावा–
पानीका छाल
बकुल्लाको खुट्टा नजिक ।
(७)
खडिगका स्याउला-
सुखेको झरना नजिक
मिल्किएका ढुङ्गा ।
(८)
छोटो रात –
बारुलाको जालीमाथि
ओसको थोपा  ।


( जापानका कवि योसा बुसोन का हाइकुहरुको भावानुबाद  । तस्बीर सौजन्य गुगल । )



मंदिरको ठुलो घंटीमा
निदाउन लागेको
पुतली ।



Thursday, February 21, 2019

बिर्सन नसकिने तिमीलाइ !

बिर्सन नसकिने तिमीलाइ !
====


उहिलेदेखि अहिलेसम्म
कुनै प्रतिक्षित बटुवा जस्तो
बेला कुबेला उन्मादी उराठिला दिन आउछन्,
अनायासै नसम्झौ भन्दा पनि
सम्झी रहेको हुन्छु तिमीलाई ।
बिर्सनै नसकिने तिमीलाई ।।
मीठो गरि मुस्कुराउथ्यौ,
स्वादिला कुरा गर्थ्यौ र
सदैब मेरै प्रतिक्षामा पो हुन्छ्यौ कि?
जस्तो लागि रहन्थ्यौ ।
तर दुनिया बैरी बन्दै गयो,
कुरौटेहरुले काम पाए,
कसैले आँखा तरे, कसैले मजाक उडाए ।
अवसरका कुरा सम्झिए,
षडयन्त्र संग डराए ।
एकान्तमा रोएर म छुट्टिए ।
त्यसबेलाको
जातपात कुलघरान, इज्जत हैसियतका अगाडी
मैले आत्मसमर्पण गरे ।
कमाइ थिएन,
कतै घर घडेरी थिएन ।
आफनो स्तरको आफै अबमुल्यांकन गरे,
हामी लुकेरै श्वास गनीरह्यौ ।
आज लामो बर्षपछि पनि
बेकार लागि रहेकाछन
ती सोचहरु
र सम्झीरहेकोछु तिमीलाइ
सबैभन्दा अभाव खटकीरहेको  तिमी
सिर्फ तिमी
यादमा आउछ्यौ र सझिएकोछु तिमीलाइ ।
कहिले बिर्सन नसकिने तिमीलाइ ।
अपरिचित बटुवा जस्तै
न टारिने नियति जस्तै ।
मतिर आँखा सन्काउदै
तिमीले गाएको गीतको बोल
" यो ठिटोको फाटेको जाङिया
जङ्याभित्र लुकेको लामकान्या " ले
कुतकुति लगाएको पहिलो न्यानो स्पर्श ।
बाटो हिडदा पनि कुइनेटामा भेटिने
तिम्रो जब्बर प्रेम।
हरिया बारीमा फुलेको फलेको
हाम्रो बैसालु मन ।
लाग्छ,
ती घुम्तिहरुमा
त्यसै गरि बसी रहेका होलान ।
र मन  अझै बैसमा बसे जस्तो लाग्छ ।
नत्र भने
अहिलेको बासी जिन्दगीको
फाटेका गोजी भित्र
ती निर्दयी निर्मोही सम्झना यादहरु
एकान्तमा उग्राउन मात्र
ढुकी रहेका हुन्छन ।
कहिले भुु्ल्न्न नसकिने तिमीलाइ ।।