Showing posts with label कार्य पत्र. Show all posts
Showing posts with label कार्य पत्र. Show all posts

Monday, March 25, 2019

आफैलाई फर्किहेर्दा-६ (सार संक्षेप ; आफ्नै इतिहासको )

आफैलाई फर्किहेर्दा-६ (सार संक्षेप ; आफ्नै बंशबृक्षको )


प्राक्कथन

हाम्रो समाजमा ईतिहासलाई  समष्टिमा बुझेर ब्याख्या गर्ने चलन छैन । कतिपयले काल्पिनिक रुपमा पनि इतिहासका कुरा गर्छन् । यसकारण धेरै पुराना कुराहरु थाहा नभएका अवस्थामा पनि छन् । एकांकी अध्ययन ईतिहासका लागि प्रयाप्त हुदैन । तत्त्कालिन समयलाई हेरेर ईतिहास लेखियो भने त्यो राजनीति बन्छ । बंशावलीलाई मात्र आधार बनाएमा ईतिहास मिथक कथा जस्तो हुन सक्छ । यसकारण यहाँ लेखिएका सबै बिबरणमा निरन्तर सुधारको सम्भावना बिद्यमान छ । अधोलिखित  पुराकथनलाइ यसै अर्थमा बुझिदिए यो लेखाइले सार्थकता पाउने थियो ।
नेपालको बर्तमान सम्बिधानले नै सुदुर पश्चिममा बस्ने हामीहरुलाई खस-आर्यमा बर्गीकृत गरेकोछ । यद्यपि यसमा  बिबाद छ । आर्यहरु अग्लो, लामो चुच्चो नाक भएका हुन्छन् । नेपालका खस र भारतका आर्य फरक हुन् । संविधानमा खस र आर्यलाई एकै ठाउँमा मिसाइ  खसआर्य लेखिएकोले झन गन्जागोल भएकोछ ।

नेपालमा मानव जातिहरुको बिस्तारक्रम

मानिसको उत्पतिका बिषयमा थुप्रै बाद र बिबाद छन । ऐतिहासिक साक्ष्यका आधारमा मेसोपोटामियाबाट उत्पत्ति भएको एक मानव जाति युराल पर्वत हुँदै अफगानस्तिान आइपुगेको हो । त्यो क्रममा मान्छेको एक शाखा गंगाको तटतिर झर्छ । अर्को शाखा चाहिँ त्यता नओर्ली कछाडैकछाड काश्मिर तिर उक्लिन्छ । खस्गीर भन्ने पर्वतको नामबाट  त्यहाँ बस्नेहरु पछि खस कहलिए । त्यो बेला मानिसहरु यायाबर हुन्थे । खैबर भञ्ज्याङबाट तल नझरिकन कछाडैकछाड काश्मिरको भूूगोल हुँदै कुमाउगढवालतिर आइपुग्ने खस भए । खैबर भञ्ज्याङबाट तल ओर्लेर गंगाको मैदानमा आउनेहरु आर्य भए ।
खस्गीरबाट पहाडको कछाडैकछाड कुमाउगढवाल आइपुगे पछि त्यहाँ खसहरुले चार सय वर्ष शासन गरे । यिनिहरु इसाको छैठौ शताब्जीमा मानसरोबर हुदै सिञ्जा वा कर्णाली पुगे  । यहिँ मस्टोको पुजाको विधि, शाखा प्रशाखा उत्पति भयो । खस परम्पराले जरो हाल्यो । खस मान्यतामा मस्टो भनेको जमिन र चराचर मानव जगतको श्रृष्टिकर्ता हो । खस जातिले इष्टदेवताको रुपमा मस्टोलाई नै पुज्छन् ।  महाभारतको युद्धमा लडेका हुनाले खसहरुलाई लडाकु पनि भन्ने गरिन्छ ।
वैदिक सनातन धर्मसँग जोड्दै नजोडिएका  खसहरु बलियो हुन्छन । नाक धेरै चुच्चो पनि हुँदैन । खसहरु प्रकृतिपुजक र धामीझाँक्रीमा आधारित हुन्छन् । ‘ओम् मणि पद्य्मो हुम्’ भन्ने मन्त्र खसहरुको पनि हो  । तर शिवालयहरुमा यो मन्त्र लेखिनु चाहिँ शासकहरुले देखाएको सहिष्णुता हो । पछि शासकहरु नै हिन्दु हुनाका कारण खसहरुले मस्टो मान्न छाडेर क्रमशः हिन्दु देवता पुज्न थाले   ।
खसहरुको कुनै धर्म थिएन । उनीहरू वर्षको एकपल्ट निराकार सत्य मानेर मस्टो पूजा गर्थे । आफ्नो फरक अस्तित्वलाई जनाउन  वर्षको एकपल्ट कुलपूजा गर्थे । यो सामुहिक कुलपूजामा पनि कुनै देवी देवता होइन, लोहोरो जस्तो लाम्चो ढुंगाको पूजा हुन्थ्यो । किराँत र खशहरूको नेपालमा उपस्थिति वैदिक कालभन्दा धेरै पुरानो छ ।
आर्यहरू इरानबाट पूर्वदक्षिण लागे । सिन्धु घाँटीको उन्नत सभ्यतालाई पराजित गरेर दक्षिण लागेको समूह नै अहिलेका आर्य हुन् । इशाको पाँचौं शताब्दीमा केही आर्यहरू आफ्ना महागुरु शंकराचार्यसँगै कैलाशतिर जाने पश्चिम नेपालको बाटो उत्तरतिर पनि फैलिए  । शंकराचार्य आफ्नै पिठतिर फर्किए । तर बाठा आर्यहरूलाई यहाँको सुन्दर प्रकृतिले यतै बस्न लोभ्यायो । खशहरू उनीहरूका लागि अनार्य शत्रु थिए । त्यसैले आर्यावर्त भन्ने शब्दले नेपाललाई वेष्टित गर्दैन । तर नेपालमा आर्य पनि फैलिए । राजाको सल्लाहकार पुरोहित , राजगुरु, धर्माधिकारी, प्रशासक लगायतका पदमा बसेर राज्यको उपभोग  समेत गरेका कैयौ दृष्टान्त छन ।
आर्यहरूले नेपाल भित्रिँदा  देवदेवीहरूका मन्दिर स्थापित हुने नै भए । धर्मको आडमा शासन गर्न सजिलो हुन्छ भन्ने ज्ञान उनीहरूसँग थियो । भक्तिमार्गमा लाग्नेहरू स्वर्गमा बास पाउँछन् भन्ने शिक्षा यिनै आर्यजनले दिएका हुन् । उनिहरुले नै मानिसको गुणकर्मका आधारमा श्रम बिभाजन गरि सामाजिक ब्यबस्थामा नयाँ पध्दति बिकास गरे ।  भारतमा मुगल र मुसलमानको शासन आएपछि झुन्ड झुन्ड भएर पनि आर्यहरु पहाडतिर पस्न थाले । यसरी यो क्षेत्रमा खस र आर्यहरुको मिश्रित बसोबास भयो ।
समष्टिमा नेपालमा बिभिन्न सभ्यताहरु  हुर्केका छन् । जस्तो, काठमाडौं उपत्यकामा नेवा सभ्यता , जनकपुरतिर विदेह सभ्यता, कपिलवस्तुमा शाक्य सभ्यता, सुदूरपश्चिममा खस सभ्यता, पुर्बोतरमा किरात सभ्यता आदि । जनजाति भनिएकाहरु र मुसलमानहरुका पनि आआफनै प्रकृतिका सभ्यता देखिन्छन । अर्को शब्दमा भन्नु पर्दा नेपाली सभ्यताको चित्र यस्तो देखिन्छ ।  पहिलो– उत्तरको ह्वाङ्हो र याङ्सी नदीको मैदानमा विकसित भई तिब्बत हुँदै नेपाल प्रवेश गरेको मङ्गोल सभ्यता । दोस्रो– युरोपबाट मध्य एसियाको ककेसिया हुँदै मस्टोपुजक संस्कृतिसहित पश्चिम नेपाल आइपुगेको खस सभ्यता। तेस्रो– युरोपबाट इरान हुँदै सिन्धुघाटी गङ्गा मैदानमा पुगेर वेदको रचना गरी नेपाल आइपुगेको वैदिक आर्य सभ्यता । चौथोँ– मोहेनजोदेडो   र हडप्पाजस्ता भव्य सभ्यता निर्माण गरेका द्रविड र आस्ट्रिक जातिको सभ्यतामाथि आर्यहरूको हमलापछि पराजित भएर नेपाल आइपुगेको द्रविड र आस्ट्रिक सभ्यता । र पाँचौ– चौध सय वर्षअघि अरबबाट थालनी भई नेपाल आइपुगेको इस्लाम सभ्यता । यसरी विभिन्न संक्रमणमा खारिदै अचेलको नेपाल बनेको हो ।
नेपाल यस्तो देश हो जहाँ नाम र थरको आधारमा मात्र अमुक समुदायलाई  प्रष्ट चिन्न असम्भव छ । लामा थर लेख्ने नेपालमा दर्जन भन्दा बढी जाति छन् । मण्डल, चौधरी, लगाएतका थर लेख्ने पनि थुप्रै जात/जाति छन् । शर्मा थर लेख्नेहरु त आर्य–खस, नेवार र मधेसमा समेत धेरै समुदाय छन् ।  किराँत राई या राय दुवै पदीय थर हुन्, जुन दनुवार, किराँत, यादव, नेवार र क्षेत्रीको पनि हुन्छ। बुढाथोकी पनि मगर, कामी, क्षेत्री समेतमा हुन्छन् । पौडेल थर ब्राह्मणदेखि बादीसम्म हुन्छन् । राउत पहाडिया क्षेत्री, मधेसी वैश्य र धोवी दलितसम्मको हुन्छ । तसर्थ, थरहरूको आधारमा मात्र नेपालमा जाति वा जात प्रष्ट हुन्छ भनी बुझ्ने बुझाइ नै गलत छ, त्यस बुझाइलाई फेर्नु पर्छ ।

गोत्र, जाति र थर


नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा धेरै  भ्रम र अन्यौल छ । यसो हुनमा मूलतः दुई कारणले मुख्य भूमिका खेलेको देखिन्छ । एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु  पाँच हजार वर्षभन्दा अघिदेखि विकसित भई आजसम्म आइपुगेका महासभ्यताहरुको महासङ्गम भएको समाज हो । यहाँ फरक–फरक सभ्यतासँग सम्बन्धित दर्जनौ जाति र समुदाय छन ।  उनीहरूका आ—आफ्नै वंश परम्परा, पुर्खा सम्बन्धी मान्यता एवं विश्वास र जीवन दृष्टिकोणहरू छन् । ती विषयहरू एक आपसमा फरक छन् । एउटा जाति वा समुदायका गोत्र, थर, वंशावली वा पुर्खा सम्बन्धी दृष्टिकोणबारे अर्को जाति वा समुदायलाई ज्ञान हुँदैन वा अत्यन्तै कम ज्ञान हुन्छ । गोत्र, थर, वंश परम्पराजस्ता विषयमा एक समुदायले अर्को समुदायसँग अन्तरक्रिया गरि रहने स्थिति जनजीवनमा बिरलै आउछ । यसो हुँदा एकअर्काका बारे भ्रमहरू बाँकी नै रहन्छन् । यसैकारण आफ्नो गोत्र, थर, वंश परम्परालाई गर्वका साथ भन्न नसकि रुग्ण हिनताबोध पालेर येनकेन परम्परा धानेको दुर्भाग्यपूर्ण अवस्था देखिन आएकोछ ।
हाम्रो समाजमा थर गोत्र र जातको सुरुआत  र तिनले समाज विकासमा खेलेको भूमिका जेजस्तो भए पनि आज तिनको रूप र अवस्था त्यही रूपमा छैन भन्ने प्रष्टै छ । नेपालमा रहेका सबै जाति समुदायको थर गोत्र परम्पराको अवशेष र रूप अचेल कुन अवस्थामा छ भनी गंभीर अध्ययन जरुरी छ । यस्ता परम्पराका कथा भने एक प्रकारले रोचक पनि देखिन्छन ।
गोत्र वास्तवमा हिन्दू उच्च जातीय परम्परा हो । त्यसभित्र दलितहरूलाई राखिदैन । गोत्र भनेका ऋषिहरूका नाम हुन् अर्थात फरक फरक ऋषिका सन्तानहरू नै हिन्दू  हुन् भन्ने दावी त्यसमा पाइन्छ । ती मुख्य ऋषिका चेला वा उपऋषिहरूको नामलाई प्रवर भन्ने गरिन्छ । यसरी जो एक ऋषिका सन्तान हुन्, ती सबै एकै गोतियार मानिन्छन् ।  दलितहरूको गोत्र र प्रवर ऋषिको नामसँग सम्बन्धित हुन दिइएको छैन । जात घटुवामा परेर अछूत बनेकाहरुको पनि पुरानो गोत्र क्रमशः खोस्दै लगेर आम ‘अछूत’ को परम्परागत गोत्रमै कायम गरिदिने प्रचलन देखिएकोछ ।
जात भनेको हिन्दू वर्णव्यवस्था अनुसार तोकिएको पेशागत नाम र तह  हो। सुरुका -चार वर्ण ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र- भनेको पेशागत क्षेत्रको मानव समुह र तहगत व्यवस्था थियो । त्यसमा क्रमशः पेशा थपिदै गए र त्यही  पेशाकै आधारमा जातको नाम र त्यसको तह निर्धारण गर्दै लगियो । ब्राह्मण र क्षेत्रीयहरूको ज्ञान दिने र सत्ता चलाउने पेशा थियो । ज्ञान र शासनको मूल श्रम क्षेत्रमा बिबिधता आएन । वैश्य र शूद्रहरूको श्रम क्षेत्र बढ्दै जाँदा पेशागत क्षेत्रहरू पनि बढ्दै गए । ब्राह्मणभित्र उपाध्याय, जैशी, पूर्वीया, कुमाई र क्षेत्रीमा  झर्रो, घर्ती , ठगुरी, खस, हमाल जस्ता केही उपभेद छन । श्रम वा स्थान विशेषसँग सम्बन्धित हुने हुँदा वैश्य र शुद्रमा धेरै उपभेद छन । जस्तै, कर्मीबाट कामी, दमाह बजाउने दमाहीबाट दमाई , वाद्य अर्थात बाजाको काम गर्ने वाद्येयीबाट बादी, गाउनेबाट गाइने, द्य (देउता) को मन्दिर सफा गर्ने, रखवारी गर्ने द्यला; चर्म अर्थात् छालाको काम गर्ने चमार आदि ।
थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । वंश र थर पुरुषबाट सन्तानमा जाने पितृसत्तात्मक परिपाटीका कारण यथार्थमा पुरुष वंशगत लहरोको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ। सामान्यतया कूलको अर्थ बोकेका एउटै थरकाबीच विवाह हुँदैन । हिमाली भोटे जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन । तर अहिले  अरु थरहरुसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन् । जनजातिमा र मुस्लिम समुदायमा पनि थरले महत्वपूर्ण स्थान ओगटेकै छ। त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरक फरक हुन्छन् भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ । थरहरू सामान्यत: निम्नानुसार बनेका छन्ः
क) उद्गम स्थानसँग सम्बन्धित जस्तै, दुल्लुबाट हिँडेका दुलाल, पौडीबाट हिडेका पौडेल।
ख) पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की, चरामार्ने चिडिमार , सुनको काम गर्ने सुनार ।
ग) पदसँग सम्बन्धित जस्तै, मन्त्री खलक अमात्य, मुन्शी, भट्ट ।
घ) पदबीसँग सम्बन्धित जस्तै, दीक्षित गर्ने आचार्य, लामा, पण्डित ।
ङ) सामाजिक हैसियतको सङ्क्रमणकालसँग सम्बन्धित जस्तै विटुला, ढाँट ।
च) जाति वा जातसँग सम्बन्धित, सीधै जात नै नाम थर हुने । जस्तै बाहुन,  बैश्य आदि ।
छ) राष्द्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली।
ज) आस्था, मान्यतासँग सम्बन्धित जस्तै शिवभक्ति, खेवा।
झ) ऐतिहासिक घटना वा कूलसँग सम्बन्धित जस्तै वर्मशाखा, गिरी,पुरी ।
नेपालका आर्य–खस, मधेसी र नेवारभित्रका दलितहरूको थर निर्माणको प्रक्रिया र विद्यमान थरहरू पनि अन्य सबै जाति समुदायको जस्तै नै हो।

जातीय श्रेष्ठताको बिषबृक्ष


एउटा बेला थियो, जन्मदा मान्छे शुद्र नै जन्मन्छ र पछि कर्मले ब्राह्मण या छेत्री या वैश्य जे हुने हो त्यो हुन्छ भनिन्थ्यो । यो साँच्चै ठिक कुरा थियो ।  हुनुपर्ने पनि त्यही हो । हामीले राजाको छोरो राजा हुने र जन्मदै जरनेल हुने भन्ने चलन मास्यौँ । तर जन्मँदै जात बोकेर ल्याउने चलन भने बाँचेकै छ, बचाएकै छौँ । आज त्यही चलनका कारण हुनुसम्म भएको छ ।
जातिभेद दक्षिण एसियामा सबै धर्म र समाजमा एउटा ठूलो समस्याको रूपमा देखापरेको छ । हिन्दुत्व सबैभन्दा प्राचीन संस्कृति भएको हुनाले समाजिक असन्तुलन भयो कि त्यसको दोषारोपण हिन्दु धर्ममाथि लगाइन्छ । मनुस्मृति नीति र धर्म निर्धारण गरिने पहिलो ग्रन्थ मानिन्छ र यसमाथि सधैं जातिप्रथा लादेको  आक्षेप लाग्दै आएको छ । अहिलेको अवस्थामा वैदिक संस्कृतिका पुस्तकहरूमा सबैभन्दा विवादित पुस्तक नै मनुस्मृति हो । जबकि मनुस्मृति लेखिएको समयमा जाति व्यवस्था भन्ने विचारको अस्तित्व नै थिएन । महर्षी मनुले वेदमा परिभाषित मानिसको गुण, कर्म र स्वभाबमा आधारित समाजको व्यवस्थालाई व्याख्या गरेका छन् । वर्ण शब्द ‘वृण’ धातुले बन्छ, जसको अर्थ छान्नु/चयन गर्नु हुन्छ । यसको सामानार्थी शव्द वरण गर्नु पनि हो । सामान्यतया जुन ब्राह्मणादि बर्णको कुुरा गरिन्छ, त्यो न कुनै व्यक्ति हो, नत कुनै वाद । त्यो स्वाभाविक, सांस्कारिक कमी-कमजोरी, गुणदोष, श्रेष्ठता र निचतामा आधारित जीवनमार्ग हो  । हो, मनुस्मृतिले वर्ण व्यवस्थाको वकालत गरेको छ । तर मनुस्मृतिको प्रथम अध्याय हेर्ने हो भने यसमा जाति र गोत्र शब्द कतै छैन । यसले चार वर्णको उत्पत्तिको वर्णन गरेको छ । मनुका अनुसार ब्राह्मणको छोराले पनि विद्या प्राप्त गर्न सक्दैन, वेदको ज्ञान छैन भने ऊ शूद्र हुन जान्छ । शूद्रको छोरा पनि विद्या प्राप्त गरेपछि ब्राह्मण, वैश्य वा क्षत्रीय वर्णमा जान सक्छ । अर्थात सम्पूर्ण वर्ण व्यवस्था विशुद्ध रूपमा कर्म र गुणमा आधारित छ ।
पौराणिक तथा उपनिषदकालका केही नामहरू हेरौँ, धृतराष्ट्र, युधिष्ठीर, अर्जुन, कपिल, एकलव्य, रावण आदि । यस्तै, ऐतिहासिक नामहरू यलम्वर, स्थुन्को, मानदेव, अंशुबर्मा,  आदि । यी नामहरू पढेर को कुन जातको हो, कसले भन्न सक्छ ? अर्थात् यी नामहरूका पछि कुनै जात जनाउने नाम उल्लेख छैन ।
जातथर जोडेर नाम लेख्ने चलन तब मात्र सुरु भयो जब समाज सामन्तवादी युगमा प्रवेश गरेर जातका आधारमा हेलाहोचो सुरुभयो, छुवाछूत सुरुभयो । ठुलो जातकाहरूले नाम मात्र भन्दा आफ्नो जातीय श्रेष्ठता नदेखिने भएकाले जात उल्लेख गर्न थाले । नामबाटै श्रेष्ठ देखाउने लोभ फैलिएकै कारण नामका अगाडि र पछाडि अनेक फुर्काहरू जोडन र  ‘श्री’ को लस्कर लगाउन थालियो ।
यति भैकन पनि मानिस ज्ञान र विवेकले प्रौढ बन्दै आडम्बरहीन भएपछि ती अगाडिपछाडिका गहनाका फुर्काहरू छोड्दै जान्छ ।  आज बाल्मिकी, व्यासहरुलाई कुनै विशेषण दिएर चिनाउनु पर्दैन । अहिले पनि ती ऋषिमुनिहरू, महात्माहरू तीनचार अक्षरी नामले चिनिने भएका छन् । विश्वामित्र, वृहस्पति, वशिष्ठ कुन जातका थिए ? न्यूटनको धर्म के थियो ? आर्किमिडिसको गोत्र के परेछ भनेर जाति ,थर वा गोत्रमा गलफती गर्नुको कुनै अर्थ छैन ।
तर सामन्तवादी रुढीग्रस्त दिमागको मानिसले यस्तो सोच्दैन । उहिले घडी लगाएको नारी दौराको बाहुलाले छोपियो भने बाहुलो पट्याएर भए पनि त्यो घडी देखाए जस्तो  अचेल पनि ठुलो जातको जनाउन नाममा फुर्को थपिएको तथाकथित फुर्के शब्द थुप्रै देखिन्छन ।

बिभेदका बिबिध बान्की

समाजमा प्रचलित उचनीचको बिभेदको जरोले गाँजेको थियो नेपालका शासक घरानाहरुलाइ पनि । यस्तो उदाहरणको रुपमा जङ्ग बहादुरलाई लिन सकिन्छ । उनी जन्मले खश थिए र अगोरखाली भारदारमा पर्थे। उनी तीनडोरे जनै लाउँथे । ६ डोरे जनै लाउने र धोतीपाटा फेरेर भात खाने तत्कालिन चौतरिया खलक जंगसँग वैवाहिक सम्बन्ध त परै जाओस्, पानी पनि चलाउँदैनथे ।
यसबाट सामाजिक समस्यामा परेका जंगले सत्तामा पुगेपछि वंशावली तयार लेख्न लगाउँदा आफ्ना एक कुलपुर्खाको नाम उदयपुर (भारत) का महाराणाप्रतापको वंशवृक्षको अभिलेखमा पारेको भनिन्छ । यसरी आफ्नो थर कँवर वा कुँवर नभएर राणा भएको प्रमाणित गराएर उनी उच्च घरानाका झर्रा क्षत्री भए। अब जंगकुलको प्रशस्ति श्रीमद्राजकुमार कुमारात्मज राणाजी भयो । सामाजिक मान्यता पाउन जंगले गरेका कसरतको विस्तृत विवरण प्राचीन नेपाल पुस्तकमा छन । कान्छी आमाको षडयन्त्रबाट आफ्नो राजसत्ता जोगाएको र बाबु (श्री ५ राजेन्द्र) छँदै राजा बन्न पाएकोले राजा सुरेन्द्र जंगप्रति कृतकृत्य थिए, जे भन्यो त्यही मान्थे। जंगले त्यसरी रिझाएका राजाका छोरीहरूको विवाह आफ्ना छोरासँग गरेपछि राणाहरु कोभन्दा को कम भैदिए ।  जंगबहादुरका ४५–५० वटी त महारानी, रानी दर्जा पाएकै श्रीमती थिए।
उनले आफ्नो जातलाई ‘राणा (उच्च वर्गका क्षत्री)’ को रुपमा परिणित गरे तथा मुलुकी ऐनमा ‘खश’ लाई ‘क्षत्री’ लेख्न लगाए (बुर्घार्ट, रिचार्ड : सन् १९९६ : पृ. २५४-२५५) !” उनैको शासनकालमा नेपालका सम्पूर्ण खश जातिका मानिसहरुलाई सन् १८५४ को मुलुकी ऐन अनुसार आफ्नो खश जात छोड्न र थर लेख्दा ‘क्षत्री’ लेख्न बाध्य बनाइयो । राणाहरुका दरबारमा पठाउन लायक सुन्दर कन्या कुनै ठगुरीका घरमा देखे जाहेर गरि निकाशा भए बमोजिम मात्र बिबाह गर्न दिनु भन्ने गौडामा परीपत्र नै गरिएको थियो । जबकि भिमसेन थापाको पालासम्म उनीहरु शानका साथ आफुलाई खस भन्थे ।
जंगबहादुरका पिता, प्रपिता कुँवर थिए । अहिले पनि सगोत्रीहरु कोहि कुँवर छन, कसैलाई कोर भनिन्छ, कोहि चन्द बनेका छन । कतिपय राणाहरु नै पछि शमशेर ज ब रा लेख्न थाले  । राणा शासनसंगै खसहरु हिन्दु हुन थाले । अचेल अधिकांश खसहरुले आफ्नो उद्गम र पहिचान बिर्सिसकेका छन् । उनीहरु आफू गैरवैदिक, गैरहिन्दु हौं भन्ने स्वीकार गर्दैनन् । अब हिन्दु धर्मबाट फर्किने अवस्था पनि छैन ।
अर्को उदाहरण,नेपालको पछिल्लो शासक वंश शाह  भारतको राजस्थान चितौडगढबाट नेपाल प्रवेश गरेको भनिन्छ । शाहहरुको पनि आठ वटा शाखा नेपालमा देखिन्छन् । जाजरकोट, रुकुम, गल्कोट, गोर्खा, लमजुङ आदि । सबैका विभिन्न खाले ईतिहास छन । कुलमंडनका पुर्खाका खाँन्चा खान र मिचा खान नाम भएकाले उनीहरु मुसलमान हुन् कि भन्ने पनि गरिन्छ । मगर भाषामा खाँन्चा र मिचा भनेको जेठाकान्छा हो । त्यसैले मगर हुन पनि भन्छन । गोत्र परिबर्तन गरि विभिन्न उपाधि धारण गर्दा पनि शाह बंशको वास्तविक ईतिहासमा एकरुपता देखिदैन ।
मुलुकी ऐन आउनु अघि जात घटबढ गरि काम तोक्न र सजाय दिन आवश्यकताअनुसार राजाहरूले लालमोहर तथा रुक्का जारी गरेर आदेश दिन्थे, त्यसैलाई कानुनसरह मानिन्थ्यो ।  त्यही लालमोहर तथा रुक्कामा लेखिए बमोजिम शासकीय काम सम्पादन गरिन्थ्यो । अहिले हेर्दा यी रुक्का या कानुन बहुलठ्ठीपुर्ण पनि लाग्न सक्छन ।
उदाहरणका लागि रणबहादुर शाहको समयको लालमोहरको आधारमा तय गरिएको कानुनरूपी आदेशलाई  हेरौं ।
१. ‘...यतिन्जेल वहर जति सजनु सज्यौ आजर्उप्रान्त वहरलाई नसजिकन षेतीकिसान अरू काजलाई गोरु ल्याई जोतन्या काज लावन्या र अवर्उप्रान्त हाम्रा भर मुलुकमा जो वहर सजौला तस्को हात काटियला । ’ इति सम्वत् १८५६ साल श्रावण वदि ४ रोज १ (पुर्णिमा, पुर्णाङ्क ९८ः४८)।
त्यस्तै तत्कालीन राजा राजेन्द्रविक्रम शाहले जारी गरेको रुक्का हेरौ ।  
२. ‘...कसाई कुसल्या धोवी कुलुका छोरीलाई स्वास्नी तुल्याउन्या पानि चलाउन्यालाई काएल मुकाएल गरि डंड गर्नु । ’ इति सम्वत् १८६३ साल वैशाख वदि ३ रोज १ (पुर्णिमा, पुर्णाङ्क २४ः२४१)
लालमोहरबाट जारी गरिएको आदेशअनुसार पहिलो आदेशले बहरलाई गोरु (परम्परागत नेपाली प्रविधिअनुसार बाच्छाको अण्डकोश काम नलाग्ने) बनाएर मात्र जोत्न पाइने र यसो नगरिए बहर जोत्नेको हातै काटिने आदेश वि.सं. १८५६ साउनदेखि कानुन सरह लागु हुन पुग्यो ।
दोस्रो आदेशअनुसार जसले कसाई, कुसले, धोवी र कुलुका छोरी विवाह गर्छ वा उनीहरूले छोएको पानी खान्छ, ती व्यक्ति दण्डित हुने अर्थात् उल्लिखित जातिको पानी र उनीहरूकी छोरीचेलीसँग विवाह नचल्ने आदेश वि.सं. १८६३ वैशाखदेखि कानुनसरह लागु भयो ।
बेलाबेलामा राजा–महाराजाहरूले कानुनका रूपमा जारी गर्ने यस्ता आदेश,रुक्का र प्रचलनका आधारमा चलेको देशमा विसं. १९०३ मा प्रधानमन्त्री बनेका जंगबहादुर राणाले विसं १९१० मा मुलुकी ऐन बनाए । यो ऐनले तागाधारी अर्थात् जनै लगाउनेलाई समाजको सबैभन्दा माथिल्लो तहमा राख्यो । यो वर्गमा तराई र पहाडका ब्राह्मण, क्षेत्री,राजपुत, ठकुरीलाई राखिएको छ । यसपछिको तहमा जनजाति छन् । तर, जनजातिलाई पनि दुई तहमा विभाजन गर्‍यो– मासिन्या मतवाली र नमासिन्या मतवाली । नमासिन्या मतवालीअन्तर्गत मगर, गुरुङ, राई, लिम्बु र सुनुवार राखिए । बाँकी रहेका तामाङ, थारु, भोटे लगायत सबै जनजाति मासिन्या मतवालीभित्र परे। मासिन्या मतवालीलाई दास बनाउन पाइने भनेर यो ऐनले परिभाषित गर्‍यो ।
ऐनले समाजको सबैभन्दा तल्लो तहमा 'अछुत' समुदायलाई राख्यो, जसलाई अहिले दलित भनिन्छ। यो समुदायलाई पनि दुई तहमा वर्गीकरण गरियो- पानी चल्ने (छोइछिटो हाल्नु नपर्ने) र पानी नचल्ने (छोइछिटो हाल्नुपर्ने)। छोइछिटो हाल्नुपर्ने जातका त व्यक्तिलाई पनि छुन नमिल्ने भनेर कानुनमा लेखियो। जाति व्यवस्था नै नभएको मुस्लिम समुदायलाई पनि अछुत भनेर किटान गरियो ।
त्यो युगमा माथिल्लो जातमा पनि कुमाई, पूर्वीया, जैसी, बाहुन, खत्री, क्षत्री अथवा झर्रा, ठकुरी, खस क्षत्री हमाल आदिमा  विभेद थियो । यो ऐनले जाति भेद र त्यसभित्रका उपभेदलाई पनि मलजल गरेकोछ । एउटालाई अब्बल दर्जाको अर्थात् उच्च कुलको प्रथम र अरुलाई दोस्रो देख्ने, भन्ने र भनाउने यस्तै चलनले पुरोहित बाहुन र जैसीबाहुन ( घिउ पोल्ने र घिउ खाने ) को समेत भात भान्सा अद्यापि मिलिरहेको छैन ।
यो हुनुको पछाडी केही ऐतिहासिक कारण पनि उल्लेख गरि हालौ  ।
पृथ्बीनारायण शाह  अत्यन्त दुःखपूर्वक आफूले खडा गरेको राज्यलाई विखण्डनमा पुगेको देख्न चाहँदैनथे । उन्कै निरन्तरको परिश्रम, पारिवारिक मोहबाट टाढा बस्न सक्ने व्यक्तित्व आदि कारणले नै कोपुण्डोलको मानिसले थापाथलीको र थापाथलीको मानिसले कोपुण्डोलको जोतभोग गर्न नसक्ने स्थितिमा रहेका हामी नेपालीले मेचीदेखि महाकालीसम्मको ऐश्वर्य निर्बाधरूपमा भोग्न पाएका हौ । तर उन्का भाइहरु समेत बिजित राज्यमा भाग खोज्दै थिए । उनका छोरा सिंहप्रताप शाह  बसन्तपुर दरबारमा तन्त्रमन्त्र साधनामा लागेका थिए । तन्त्रानुष्ठानमा पंचमकारको सेवन गरिन्थ्यो । मैजु रानी लगायतका नेवार कन्याहरु दरबार भित्रिएका थिए । यस मार्गमा उनलाई सघाउनेमा गोर्खाली थरघरहरु बाहेकका पृथ्बीनारायण शाहकै रानीका गुरुपुत्र ब्रजनाथ पौडेल र सेन राजाका पुर्ब सरदार स्वरुपसिंह कार्की आदि थिए । पृथ्बी नारायण शाह युबराजको चालामाला देखेर मुरमुरिएका थिए र दहचोकमा दरबार बनाउन चाहेका थिए । उनले वि.सं. १८३१ मा देहान्त हुनुअघि टिपाएको तथ्य वृत्तान्त (दिव्योपदेश) मा अर्ति आदेश आफना भाइ छोराहरुलाइ नदिइ भारदारहरुलाई भनेर गएका छन । उनको उपदेशको सुरुको वाक्यबाट पनि हामी यो कुरा बुझ्न सक्छौँ-
।। बुढा मरै भाषा सरै भनि भन्छन्, तिमिहरू सबैछेउ सुनाइगयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउने र यो राजे थामि षानन् ।।
यिनले यसै सन्दर्भमा यो पनि भनेका छन ।
।। पुर्ब पसिमका खस बाहुनहरुलाइ दरबारमा पैठ हुन नदिनु । यिनले बेथिति गराउछन ।।
त्यसबेला युबराजको मतोमा रहेका भनीएका केहि खस बाहुनहरु राजाको कोपभाजनमा परे । उनीहरु पुरोहित हुन पुजाआजा गराउन नपाउने भए । केहिलाइ जैसीमा झारी मृत्यु दण्ड दिइयो । सिंहप्रतापको मृत्युपछि बहादुर शाहको नायबीमा भने कुनै राजकुमारीलाइ करणी गरेको बात लगाई मुख्य बाहुन ब्रजनाथलाई  चारपाटा मुडेर देश निकाला गरियो । सर्बजीत रानालाई रानीसंग सल्केको बात लगाई मारियो । राजा मरेको एक महिना पछि नेवार कन्या मैजुरानीलाई सति पठाइयो । रानी राजेन्द्र लक्ष्मी थुनिइन । तर १० महिनापछि न्याय पसाइ रानी थुनामुक्त भइन । बहादुर शाह भागेर बेतियातिर लागे । मेरा बाबालाइ तन्त्रमन्त्र प्रयोग गरि अल्पायु गर्ने यी गाथगादिको दागा गर्ने हुन भनी राजा रणबहादुर शाहले पनि धेरै आचार्जे बाहुनहरुलाइ जैसी बनाएर इन्द्रायणि थानमा लगी काटन लगाए । यो कुरा बुझेका जंगबहादुरले पुजाआजामा जैसी बाहुनलाई नराख्ने नियम बनाएका थिए ।
तर अर्कोतिर जैसी पद प्राप्तिका लागि ठूलो विद्वत्ता हुनु पर्ने भनी दरवारमा जैसी कोठाको व्यवस्था गरिएको थियो । बिदेशसंगको लेखापढी जैसी कोठाबाट मात्र हुन्थ्यो । काठमाडौंको बसन्तपुरनजीक जैसीदेवलको समेत निर्माण भएको पाइन्छ । यसैले सायद जैसी पद प्राचीन नेपालमा धेरै प्रतिष्ठीत पदको रुपमा रहेको हुनाले नै देवल र कोठाको व्यवस्था भएको होला । हालसमेत नेपालमा बसोवास गर्ने तिनै जैसीका सन्तानहरुले  पैतृक थर नै प्रयोग गरेका छन ।
पश्चिम नेपालमा जैसीहरूबाट वेद पढ्ने तथा हवन र पूजापाठ गराइदैन । यिनिहरू ब्राहमणहरूबाट तल खसेको वा खटकिएको मानिन्छ । यसरी तल खस्नुका धेरै कारणहरू भएपनि कुनै पनि ब्राह्मणले ब्राह्मत्व (ब्राहमणहरूले पालना गर्नु पर्ने विशेष नियमहरू) छोडेर भ्रष्ट भएमा वा उपाध्याय ब्राहमणले जैसीकी छोरी या बिधुवा ब्राह्मणीसँग बिवाह गरी सन्तान जन्माएमा तिनीहरु एक तह खसेको मान्छन ।  बाहुनको जात गामनसँग खस्छ भन्ने उखान छ । गुन्युँलाई पश्चिम नेपालको भाषामा गामन भनिन्छ । माथिको उखानको अर्थ बाहुन जातले निषिध्द महिला विवाह गरेमा जात खस्छ भन्ने बुझिन्छ । तर पूजा पाठ गराउनबाट पर सारिए पनि जैसी हरू ज्योतिषको काम भने अपनाउन सक्छन् । "जैसी" ज्योतिष अथवा "जोशी" शब्दको प्रयायवाची शब्द पनि हो । प्राचिन तथा मध्यकालमा ज्योतिषी हेर्नेहरू हाल आएर आफ्नो जिवीकोपार्नका लागी अन्य पेसा पनि अपनाएका छन् । ब्राह्मणले ठकुरीको छोरीबाट जन्माएका संतानहरूलाई हमाल र अन्य क्षेत्रीहरूको छोरीबाट जन्माएका सन्तानहरूलाई खत्री (के.सी.) भनिन्छ  । खसहरु एक अर्काको पकाएको खाँदैनथे । त्यसैले नौ खस्स्या एघार रोस्या भन्ने उखानै छ ।
यसै सन्धर्भमा योगी, नरहरिनाथले आफ्नो रचना ‘इतिहासप्रकाशमा सन्धिपत्र संग्रह’ मा खशहरुलाई ‘क्षत्री’ बनाएको अर्को उदाहरण निम्न अनुसार प्रस्तुत गर्नु भएको छ :
“राजा सुरेन्द्रविक्रम शाहले सम्पूर्ण ठाकुर राजपुत हरुलाइ सम्बोधित गर्दै संवत् १९२० साल कार्तिक वदी ६ रोज १ को मितिमा लेखेको पत्रमा निम्न बमोजिम उल्लेख छ ;
“प्राइम मिनिष्टर कमान्डर इन चिफ जङ्गबहादुर ले १९११ सालमा भोटको लडाईंमा र १९१४ सालमा लखनउको लडाईंमा मदत गरे बापत खशहरुलाई “क्षेत्री” तुल्याई बराबरको दर्जा बढाई बक्सनु भएको छ (योगी, नरहरिनाथ : २०१२ वि.स. : पृ. ६११) I”
आर्यहरुले किराँत, हूण, यवन र शक हरुलाई जस्तै खशहरुलाई पनि आफूभन्दा तल्लो तहमा राख्ने गरेकाले यसैको प्रभाव परी पछि-पछि बाइसी र चौबीसी राज्यका खश राजाहरुले पनि आफूहरुलाई खश भन्न आनाकानी गरि "ठाकुर" वा "ठकुरी" भनाउन थालेको स्पष्ट देखिन्छ I
वि.स. १९१० मा जारी भएको मुलुकी कानून त्यसबेला व्यापक छलफल गरी बनाएको र त्यसको आफ्नै महत्व भए पनि कतिपय व्यवस्थाहरु मानवअधिकारको दृष्टिले न्यायोचित थिएनन् । तर, पनि कानूनद्वारा शासन गर्ने प्रणालीको प्रारम्भ  यसै ऐनबाट भएकोहो । यो ऐन बेला बेलामा संशोधन हुँदै लागू हुँदै आइरहृयो । वि.सं. २००९ सालभन्दा पहिले पाँच भाग ऐनको नामले पनि चिनिन्थ्यो । यो ऐनले नेपाली समाज हिँड्ने एउटा निश्चित बाटो बनाइदियो, जुन बाटोबाट को कहाँ पुग्ने भन्ने त्यतिबेला नै किटान भयो । जस्तैः तामाङ जाति आजको समयमा आइपुग्दा कुन अवस्थामा हुने भन्ने त त्यही ऐनमा लेखिएको छ। उनीहरुलाई नेपाली सेनामा जागिर खान निषेध गरियो, यही कारण ब्रिटिस सेनामा समेत जान पाएनन्। जसलाई मासिन्या वा दास बनाउन पाइने भनेको छ, उसको संस्कृतिको रक्षा गर्ने त कुरै आएन।
कतिपयलाई यो पनि भ्रम छ कि सबै तागाधारी शासक वा शोषक हुन् । वास्तविकता त्यो पनि होइन, तागाधारी भित्रका निश्चित खलकचाहिँ शासक हुन् । जस्तो कुँवर थर भएका जंगबहादुरले काशी गएर गोत्र फेरेपछि आफूलाई राणा बनाए । उनले नै नेपालमा राणा शासनको जग हाले। अब कुँवरहरु सबै जंगबहादुर हुन् भन्नु त भएन। तागाधारीभित्रबाट विकसित भएका केही खलक शासक र शोषक भए, बाँकी तागाधारी त उनीहरुबाट पनि शोषित भए । जंगबहादुरको मुलुकी ऐनमा नेवारमा पनि श्रेष्ठदेखि माथिका जातलाई तागाधारी नजिकै राखिएको छ । उनीहरु ज्यापु र त्यसमुनिका जातभन्दा निकै अगाडि छन्।
यसरी १६३ वर्षअघि जारी भएको जंगबहादुरको मुलुकी ऐनले नेपाली समाजलाई अहिले पनि जबर्जस्त रुपमा आफ्नो प्रभावभित्र राखेको छ । नेपाली समाज उक्त ऐनले निर्धारण गरेको दायराबाहिर निस्कन सकेको छैन । तर, पनि यो ऐनबारे युवाहरूमध्ये असाध्यै कमलाई जानकारी छ। यो ऐन  आजको राजनीतिक, सामाजिक छलफलको निम्ति बहसको बिषय बन्नु पर्ने हो । समाजमा हिजो गरिएको बेइमानीबारे नयाँ पुस्ताले थाहा पाउनुपर्ने हो । त्यो ऐन यस्ता धेरै बेइमानीको पोल खोल्ने दसी हो । त्यसैले आजको पुस्ता सबैले त्यो ऐन कहाँ छ, किन पढाइएन भनेर सोधखोज गर्नु जरूरी देखिन्छ ।

पश्चिम नेपालमा मेरा पुर्खाहरु


“ म को हुँ ? ” भन्ने प्रश्नले मानव मात्रमा अद्यापि विभिन्न बाद र बिबाद जन्माएकोछ । मेरा पुर्खा को थिए ? प्रश्नको पनि एकै खाले उत्तर आउदैन । म जन्मेको परिवारको ढाँचाले मेरा पुर्खा पर्गेल्नु पर्ने स्थिति छ ।   हालको पश्चिम नेपाल पहाडखण्डभरि प्राचीन कालमा क्रमस: किरात, मंगोल तथा खसहरुको मिश्रित बस्ती रहेको मानिन्छ । पौराणिक कालमा यसलाइ मानसखण्ड पनि भनिन्थ्यो । अर्थात मानसरोबरको जलबाट सिंचन भएको भुखण्ड । आदि शंकराचार्यले यस खन्डमा आई केदारमठको स्थापना गरेसंगै आर्यहरुले यहाँ आउन र बस्न शुरु गरे । मुसलमानहरुको शासन हुँदा बाह्रौ शताब्दितिर गंगा किनारका मैदानीआर्यहरुको यस पहाडी प्रदेशमा तिब्र रुपमा आगमन भयो  । यही असपष्ट कालखण्डमा ( बाह्रौ शताब्दितिर ? ) यहाँ आएकाहरु मध्ये तत्कालिन कान्यकुब्ज (हाल भारतको कन्नौज अर्थात कानपुर) बाट आत्रेय गोत्री ब्राह्मण शक्ति भट्ट   गढवालको श्रीनगर, पौडी हुँदै कुर्मान्चलमा आए । यिनी जोधपुर परम्पराका  प्रतिहार बंशीय भट्ट थिए । बंशावली अनुसार यिनका पाँच भाई थिए । यिनका बुवाको नाम पृथ्बी भट्ट र बाजेको नाम उदय भट्ट थियो ।  शक्ति भट्टका छोरा पृथ्बी र नाति उदय भट्ट हालको भारतिय उत्तरांचल हुदै डोटी प्रदेशमा प्रबेश गरेका थिए । यसै बंशका बत्सराजले डोटीका राजाकी छोरिसंग बिबाह गरि यहाँको राजपाट समेत चलाएका थिए। यिनका छोरा उपबत्सराज र त्यस पछिका केहि पुस्तासम्म डोटी र जुम्ला राज्यसम्म यो बंशको शासन थियो ।  आर्यहरु कुमाउ हुँदै नेपालतिर प्रबेश गरेसंगै यहाँ सांस्कृतिक र सामाजिक समायोजनको कैयौ सिलसिला शुरु भए । मेरो ग्रामिण बस्तीको ज्ञात ईतिहास त्यसैताकाको धमिलो रेखाबाट शुरु हुन्छ ।

कालू भट्ट र त्यसपछि

{ १- कालू भट्ट  } -भारतमा मुसलमानहरुको चकचकी निरन्तर बढन थालेपछि त्यतातिरका आर्यहरुको पहाडतिर सर्दै आउने क्रम अझ बढन थाल्यो । सपादलक्षमा सगोत्रीहरुको राज्य भएर होला,सम्भबत: चौधौ शताब्दीताका काशि बनारसबाट कुमायु हुदै काली पश्चिमका बायुतटिय बस्तिमा कालु भट्ट नामका ब्राह्मण पनि आई पुगे  । कालू भट्टबाट तीन छोरा- त्रिपुर, जासु र उदासु - जन्मेका थिए  । जासु र उदासुका बारेमा जानकारी छैन । त्रिपुरराजबाट एक एक छोरा हुँदै यो बंशको बिस्तारले वायु पर्बत वरपरका बायुतटीय बस्तीमा जरो हाल्यो । कालू भट्टका पाँच पुस्ताले यसै भुगोलमा आश्रय लिएर नीरन्तरता पायो । यो बसाइसराइ बारे केही किम्बदन्ति बाहेक एकिन र प्रामाणिक जानकारी छैन । भारतमा मुसलमानी शासनको बिगबिगी हुँदा त्यहाँबाट यता आउनेहरुका कैयौ समूहहरुले पहाडलाई सुरक्षित ठानेर यतै सरे । भनिन्छ, यसरी दुइसय भन्दा बढि समुहहरुले उतराखन्डमा प्रबेश गरेका थिए ।
कालू भट्टपछिको बंशबिस्तारको क्रम निम्नानुसार रहेको बंशावलीमा उल्लेख छ ।
{ २- त्रिपुर राज भट्ट  }
{ ३- काशीराज भट्ट  }
{ ४- गजराज भट्ट  }
{ ५- श्यामराज भट्ट  }
श्यामराज भट्टकै पालामा श्रीकेदार आलमा असिमकेदार मन्दिरको निकट यो बंशले पहिलो बासस्थल बनायो । यस अघिकाहरु सेरोफेरोका कतिपय स्थानमा बसाइ सरे होलान, त्यसको आधिकारिक जानकारी छैन । यिनका छोरा मोति  भट्ट भए ।

बडाभट्टको पद

१ - [  १- मोति बडू / मोति भट्ट  ] श्यामराज भट्टका छोरा मोति भट्ट भए । यिनी बिक्रम सम्बत १५९५ तिर जन्मेका मानिन्छन् । ( हालसम्मका १६ पुस्ताको औसत ३०/३५ बर्ष कायम गर्दा सरदर उल्लेखित समय मिल्दछ । ) बिद्वान श्यामराज भट्टको परीवारमा जन्मेका मोतिले युबाबस्थामै ततकालिन सँङौडकोटका रजौटाहरु लाइ प्रभावमा पारे र बडाभट्ट कहलिन थाले । यिनै मोति भट्ट अर्थात मोति बडू ले बायुतट पर्बतको छत्रछायामा गोपकानन को पुर्बी पार्श्वलाई आफनो कार्य थलो बनाई बंश परम्परा चलाए ।  त्यो समयमा यो स्थान भरि २२ थरि जाति-उपजातिको बसोबास थियो रे । ओलीगाउ, कठायतबुङा, डुमखोला, चतुवाइजर, सुनी गाड. रावलाघाट, दियालगाउ जस्ता स्थान नामले यो बहुजातिय स्थल थियो भन्ने प्रमाणित हुन्छ । केही बर्ष पछि दियालगाउका बोहरा बाहेक अरुहरु यहाँबाट पलायन भए । मोति भट्टको पद-बोधक बडाभट्ट शब्द नै  कालान्तरमा जाति-बोधक ‘बडूभट्ट’ मा अपभ्रंशित भयो। उनका सन्तानहरुले बडू थर नै कायम गरे । यद्यपि कालक्रममा यहाँबाट अन्यत्र बसाइ सरेका कसैले जोशी वा भट्ट थर लेखेको पाइन्छ । केहिले बैशिष्ट्यता बोधक उपाध्याय वा शर्मा जस्ता थर लेखी सामान्यिकृत पनि गराएकाछन । जे होस, कालान्तरमा बडाभट्ट बाट अपभ्रंशित भै बडुभट्ट र पछि मोति बडूको नामबाट बंशावलीको माला उन्न, बुन्न  र केही गुन्न समेत हामीलाइ दरिलो आधार प्राप्त भएकोछ । बंशावलीमा यिनलाई मोति भाट, मोति बडोभाट र मोति बडुका नामबाट समेत सम्बोधन गरिएको छ । यिनको काशी पन्डितका नाति, सुनकी जनै मोतिउको पानी भनेर बिरुदावलि ( बरम ) बनाइएको भेटिन्छ । यसको आधारमा यिनले काशी नगरमा शिक्षादिक्षा लिएका थिए  । वैदिक धर्मशास्त्र र तन्त्र शास्त्रमा समेत दखल थियो भन्ने बुझिन्छ । बडूबंश श्रृंखला शुरु गरेका छैठौ पुस्ताका मोति भट्ट अर्थात मोति बडूका दुइटा पत्नीबाट ४ छोरा र एक छोरी जन्मेका थिए ।
यसैताका बि सं १६१६ तिर लमजुङे राजकुमार द्रब्यशाह गोर्खाको लिगलिगकोटका मगरहरुसंग दौडमा जितेर राजा बनेका थिए ।  मोति भट्टको बस्ती नजिकैका स्वराडको सङौणकोट र बैतडीको कुल्लेक कोटमा समेत बैमनष्यता थियो । केन्द्रीय शक्ति कोहि बनेकै थिएन । विभिन्न नाम रुपमा खोले टाकुरे राजाहरु उम्रिने र बिलाउने क्रम चलेको थियो ।
मोतिले शास्त्रबल र तन्त्रबल दुबैमा नाम कमाएका थिए । यहाँको पुराना सनदहरुमा " सङौण कोट दुर्ग निकटे" ( सङौणकोटको किल्ला नजिक) भन्ने शब्द राखिएको देखिएकोले एकीकरण पुर्ब  सायद सङौणकोटकै मातहत को बस्तीमा मोति बाजे बसेका थिए ।
मोतीबाजेले बसालेको बस्ती कुनै काल्पनिक वा मायावी बस्ती थिएन  । विश्व मानचित्रको निर्देशांक - 29°25′N 80°30′E / 29.41°N 80- मा रहेको श्री असिमकेदार मंदिरको केन्द्र वरपर सरदर ५ किलोमिटर  क्षेत्रलाइ उहिले असिमकेदार आल (क्षेत्र) भनिन्थ्यो । यहि "श्रीकेदारको आल" को विशेषण कालक्रममा संक्षेपीकरण र अपभ्रंश हुँदै सुरकाल भनिन थाल्यो । हालको प्रशासनिक पुनर्गठनमा यो समग्र क्षेत्र दशरथचन्द नगरपालिका - ७, बैतडी (नेपाल) मा राखिएकोछ । यसभन्दा अगाडि दुर्गास्थान गा बि स को वा नं ४,५,६,७ मा बिभक्त थियो । अझ त्यसभन्दा अगाडि डोटी गौंडा अन्तरगत बैतडी जिल्लाको उपल्लो स्वराड गर्खामा पर्ने श्रीकेदार देवताको गुठी कायम भएको  सुर्काल मौजा मानिन्थ्यो । बि सं १९४५ मा गुठी कायम गरिएको ब्यहोरा उल्लेखित सनद प्राप्त भएकोछ । सोह्रौ शताब्दिदेखि आज पर्यन्त यहाँ मोति बडूका सन्तान दरसन्तानका बस्तीहरुको रजगज जारि छ । यहाँको भुगोलमा आधा बन जंगल र एक चौथाइ घासे ढलान छन् । प्राचीन गोपकानन ( हालको ग्वाल्लेक बन ) बाट पुर्ब बग्ने खोलानाला मार्फत अपार जलसम्पदाको श्रोत उपलब्ध छ । यो गाउँमा श्री र सहकालका देवता असिमकेदारको बास भएको कारण यहाँको उब्जाउ र मलिलो माटोको धार्मिक महत्व पनि कायमै छ । कसैलाइ अन्याय प-यो भने "माटि घत्याउने" ( माटोलाइ पुकार्ने) चलन अद्यापि कायमै छ । यो आल भरि पुराना शासक ठगुरीमध्येका केहि  " राठ" ( बंश/ शाखा ) हरुलाइ यहाँको माटोमा प्रबेश गर्न र पानी प्रयोग गर्न निषेध गरिएका प्रचलन पनि अझै देखिन्छन् ।

मोति बडु पछिको बंशक्रम

मोतिका ४ छोरा थिए ।
१ - रतनदेव-  पहिलो पत्नीबाट यी एक मात्र सन्तान थिए ।   यिनका छोरा- नातीहरु परके, चमणे र खली बडू हुँदै हाल सुरकालको माइखर्कमा बस्ने  गरेकाछन् ।
२- लखनदेव -माइखर्क र कोइराली बाहेक सुर्कालका बडू यिनकै शाखासन्तान हुन् ।  सुर्कालको मुख्य गाउँ लगायत ऐचेकाँडा, पुजारागाउँमा पनि यिनका शाखा सन्तान बस्दछन ।
३- सतनदेब-  कपुरे, रतन, धर्मा, नख्वा , हिरुवा हुँदै यिनका बंशज हाल कोइरालीमा   सिमित छन् ।
४- प्रतापदेव- यिनी सर्बशास्त्र प्रबिण थिए । भनिन्छ गाउँको देबभन्डार लुटन  आएको तत्कालिन डोटेली राजा नागी मल्ललाइ झुक्याएर यिनले उतै फर्काइ दिएका थिए । यिनका कोही शाखासन्तान थिएनन् । यिनको जीबनको उत्तरार्ध बारेमा यथेष्ट जानकारी अद्यापि अप्राप्त छ । बजुवा मुठी भनेर यिनकै नामले असिमकेदारमा पोखल चढाउने चलन भने कायम छ ।
२ - [  २- लखनदेव  ] लखनदेवका ३ छोरामा काशी, शंकरदेव र दुल्लप हुन् ।यिनी बि संं-१६२५तिर जन्मेका थिए ।
  १- काशी -  यिनका दुई छोरा-  बासु र भानी(४) मध्ये जेठा बासुका २ छोराका बंशज गैर  भन्ने स्थानमा बस्दछन । कान्छा भानिका दुई छोराका सन्तान  चाल र डाङामाइ भन्ने ठाउमा बसोबास गर्छन्। हरीका दुई छोराका पनि क्रमस: डाडा र डोबरामा बस्दछन् ।       
२- शंकरदेव -  यिनका दुई छोरा थिए । यिनका शाखासन्तान पुजारागाउ, चौरा,देउला र परीगाउमा बस्दछन् । थप बिबरण तल दिएकोछ । गाउँका दुई मुखिया यिनकै शाखा ( राठ) बाट हुने चलन छ ।
३- दुल्लप- यिनका १ छोरा दासी बडू र ४ नाति थिए । २ नाति निसन्तान रहे भने बाँकी मानी बडूका डङाली    तिर र सुन्नरेका मटेखोला र तूणातिर बस्छन् । यिनी मध्येका धेरै जसो बेलौरी, महेन्द्रनगरतिर सरीसकेका छन ।
३- [  ३- शंकरदेव  ] १६६५  बि सं तिर जन्मेका  शंकरका कपुरे बडू र मगी बडू नामका २ छोरा  भए । कपुरे बडूको बिस्तृत बिबरण तल राखिएकोछ । मगी बडूका छोरानातीमध्ये सरङैका पुजारागाउ, नानखाली, चौटा र चोऽरा, देउला, भुइसीखर्क एबम् जगतेका देउला,डङाली र कलुवाखोलामा बस्दछन् । बिस्तार भयले अन्य हांगाहरुको बिबरण बेग्लै अनुसुची / पादटिप्पणिमा राखिएकोछ ।

 हामी कपुरेका सन्तानहरु

४- [  १- कपुरे बडू   ] कपुरेबाट जसि, हिरा र रामी जन्मिए । यिनका सन्तानहरु परीगाँउमा बस्दछन । यिनी बि सं १६९५ तिर जन्मेका थिए  । त्यसबेला गोरखामा राजा रामशाहको शासन थियो । रौला र ढिककोटमा पनेरुको राज्य थियो  (१७०५) । सङौणमा जैतु चन्दले राज्य समालेका थिए र खेेम चन्द मारिएका थिए । खेमचन्दकै छोरा लछि चन्दलाइ सुर्कालकै सिमाना लाछमारेमा गिडेर मारिएको थियो । यिनका तीन छोरा थिए ।
१ - जसी बडू(५) को थप बिबरण तल राखिएकोछ ।
२- हिरा बडू(५)को बंशक्रम क्रमस:(६) नारद , (७) गोबडे, (८) नरसिङ, (९) हरी , (१०) धनी  (११) जवाहर (१२) कालो हुँदै हाल कालो बडुका दुइ छोरा (१३-१)दामोदर र(१३-२) नंदराममा आइ पुगेकोछ । दामोदरका ३ छोरा (१४)रमेश, प्रकाश र केशब छन भने नन्दरामका लोक र---- गरि २ छोरा छन् । एकपल्ट १०/१२ परीवारमा पुगेको यो हाङ्गो धेरै जनाको अपुताली पर्न गै अचेल दुई परीवारमा सिमित भएकोछ ।
३- रामी बडू-यिनी बेद बेदाङ्गका मर्मज्ञ, मेघाबि र जोशिला युवक थिए । शास्त्र मर्यादा अनुसार केदारको पुजा नचलाएकोले असिमकेदारका तत्कालिन पुजारी पालीका बिना भट्टलाई मन्दिरबाटै गलहत्याइ स्वयंले पुजारीको हैसियतमा वैदिक बिधिले पुजापाठ चलाएका थिए । पछि कूटमन्त्रबाट बिनाभट्टले यिनको र यिनका नाबालक छोराको अनाहक हत्या गरि अपुताली पारी दिएका कारण परिगाउबासीले अद्यापि बिना भाटका सन्तानका हातको पानी खाने गरेका छैनन्  । केही बर्ष स्वयम् पण्डा भै बेद बिधान अनुरुप कामकाज चलाएपछि लोकसम्मति गरि पैतोला ( पाण्डेय ) बाट पुजारी हुने थिति बसालेका थिए ।
५- [  १- जसी बडू  ] जसि बडूका कालो र हिमरे २ छोरा भए  । बि सं १७३५तिर जन्मेका थिए ।
१- कालो बडू- यिनको बिबरण तल दिइएकोछ ।
२- हिमरे बडू- यी मल्लाघरी परिगाँइका बाजे हुन् । यिनका(७) झुसे, ( ८)खट्टे र (९) पति बडू क्रमस: छोरा, नाति र पनाति भए । पतिका जयराम, किस्ने, हरी, धनी र संग्राम गरि ५ छोरा थिए । हरी र संग्राम निसन्तान रहे । धनी का धौले र बेसरो दुई छोरा भए । धौलेका नरी र नरीका भवानी र राजु गरि २ छोरा छन् । बेसरोका नंदराम र बिरादत दुई छोरा बाट क्रमस: तारा र हरी तथा तिलक र --- गरि ४ नाति छन । किस्नेका भने छोरा पर्ते, नाति कमले, पनाति गंगा र खनाति कैलाश र ---मा बंशक्रम पुगेकोछ । उता हरीका छोरा मौरे, नाति कल्से, पनाति मुखिया रामदत्त हुदै हाल खनातिहरु गोपाल, हरी र नवराजमा बंशबिस्तार भएकोछ ।
६- [  १- कालो बडू ] यिनका १ छोरा थिए । तल्ला घरपट्टिका बाजे हुन । यी बि सं १७६५ तिर जन्मेका थिए । । यसैताका १७७९ मा पृथ्बी नारायण शाह जन्मेका थिए  ।

७- [  १-रतन बडू ] -२ सन्तान, धनी र लाटो भए । धनी निसन्तान रहे ।यिनको १८०५ तिर जन्म समय मानिन्छ ।
८ - [  १- लाटो बडू  ]१ सन्तान मनुवा बडू मात्र भए  ।यिनी-१८३५ बि सं तिर जन्मेका थिए । यिनकै समयमा रैका राज्यको पतनभै स्वराड र बैतडी नेपाल अधिराज्यमा गाभिएको थियो ।
९ - [  १-मनुवा बडु   ] बडुको ज्ञात बंशक्रमका यी चौधौ पुस्तामा पर्छन । १८७० तिरको समयमा जन्मेका थिए ।  गोर्खालीको बिजय अभियान,सुगौलीको सन्धी र कोत पर्ब समेत यिनकै जीबनकालका घटना हुन । यिनका ४ छोरा थिए
१- गुमानी बडू- बिबरण तल छ ।
२- सकते बडू- निसन्तान भए ।
३- काशी बडु- निसन्तान भए  ।
४- दामू बडू(१०) -मोती बडूपछिको दशौ पुस्ताका दामुका ४ छोरा थिए । ११रौ बंशक्रममा यिनको नाम क्रमस: रिउले, बिरुवा, भानु र झकणो थियो । रिउलेको अपुताली भयो । (११)बिरुवाको एक छोरा(१२) चिमडे र एक नाति(१३) किसनानंद , दुई पनाति  (१४)अम्बा र परमा एबम चार खनातिहरु क्रमस: मनोहर र हर्के एबम नब्बी र भास्कर छन ।(१२) भानुका एक छोरा (१३)जुरा / कानु र एक नाति (१४)नफ्वाबाट दुई पनाति देब र मनोरथ छन् । (११)झगणोका(१२) रने छोरा र(१३)दत्राम, रामदत्त र धौले गरि ३ नाति भए । दतरामका (१४)देबदत्त एक नाति र उसको एक खनाति छ । रामदत्तका (१४)बिरा, पर्मानंद, जगदीश र नवराज गरि ४ छोरा छन । यिनीहरु कंचनपुरको बाणिमा बस्छन । धौलेका भने (१४)पदम र नवराज गरि दुई छोरा छन ।
१० - [  १- गुमानी बडू ]-  बि सं १९०५ तिर जन्मेको ठानिन्छ । यिनले खर्कबटा नै बसोबास बनाए । यिनकै पालामा मुलुकी ऐन १९१० लागू भएको थियो । नयाँ मुलुकका चार जिल्ला नेपालमा गाभिएका थिए । एक मात्र छोरा नन्दराज भए । यिनी एक्ला परेकाले अप्ठ्यारो अबस्थामा हुँदा यिनको पत्नीले ग्वाल्लेक बाट सिध्दिबुटि प्राप्त गरेकी थिइन भन्ने जनश्रुति छ ।
११- [  १- नन्दराज ]-  बि सं १९३५ तिर जन्मेका थिए । यिनका पनि एक मात्र छोरा मनिदत्त भए । यी धर्मानुरागी थिए । उत्तरार्धमा योगी बनेर हँसेखोलामा कुटिया बनाइ बसेका थिए  ।
१२ - [  १- मनिदत बडू   ] ( पत्नी- लक्ष्मी )- तीन छोरा दुई छोरी थिए । यी पनि सन्यास लिएर स्वर्गबास भए । सम्भवत: बिक्रम १९६५ मा जन्म भएको थियो ।
१- दामोदर बडू ( आजन्म ब्रह्मचारी । उतरार्धमा मात्र योगीको पहिरनमा जन्मभुमी फर्केर यतै प्राण त्यागे ।  माहात्माजीका नामले सुप्रसिध्दि पाएका थिए । )
२- धर्मानन्द बडू ( पत्नी- नर्मदा )- थप बिबरण तल छ ।
३- रामदत्त बडू ( पत्नी- कुन्ती ) -आफनो समयमा असिमकेदारका प्रख्यात धामी ।
यिनका ५ छोरा१- कमलापति( हाल- धनगढी ), २-इश्वरदत्त( हाल बम्बैमा), ३- पुर्ब    प्र स नि खिमानन्द( हाल- महेन्द्रनगर), ४-जयदत्त र ५-जगदीश ( हाल- नेपाल आर्मी )  तथा भए । यिनबाट क्रमस: (१) इ.द्वय सिबराज र पुष्पराज (२) कृष्ण(३)आशीष-(४) रोहित र (५) प्रकाश गरि ६ नाति  एबम् २ छोरी अना जोशी र जमुना भट्ट छन ।
४- छोरी कुन्ती पाण्डेय ( जर्ग )।
५- छोरी- काली पाण्डेय ( ठणकुणा )

पछिल्लो पुस्ता


१३- [  २- धर्मानन्द बडू   ] बीस १९९०मा जन्मेका थिए । पत्नी- नर्मदाभट्ट । यिनकै जीबनकालमा राणाशासन समाप्तभै प्रजातन्त्र आएको थियो । पंचायती ब्यबस्था ढलेर बहुदलीय ब्यबस्था आएपछि २०५२ सालमा यी स्वर्गबासी बने । हालसम्म ३ छोरा १ छोरीबाट १० नाति ४ नातिनी ४ पनाति र ४ पनातिनी छन ।
१- भानदेव बडू ( पत्नी- राजेश्वरी बोकटी  ) = यो आलेखको लेखक स्वयम् हुन् । त्यसैकारणले मात्र सुबिधाका लागि बंशबिबरणलाइ आफुसंग आबद्ध गरि प्रस्तुत गरिएकोछ । ज्ञात  पछिल्लो बिबरणलाइ समेत अपडेट गर्दै लगिनेछ। थप बिबरण तल छ ।
२- दत्तराम बडू- नायब  सुब्बाबाट सेवा निबृत , ( पत्नी- कलशा भट्ट )= छोरा द्वय सुरेश( स्वास्थ्यसंस्था ब्यबस्थापनमा स्नातक र मुकेश( हाल कार्यरत- मेगा बैंक )र छोरी डम्मरी पाण्डे ।
३- कृष्णदत्त बडू - केदारशिला आ बि मा सिक्षक ।( पत्नी- हिरा ) = छोरा द्वय दिनेश ( ब्यबस्थापनमा स्नातकोतर गर्दै ) र लक्ष्मण । छोरी कान्ति भट्ट र अन्शु बडू ।
४- छोरी- रमा जोशी ( जोशीबुङा )। यिनका २ छोरा एक छोरी छन ।
१४ - [  १- भानदेव बडू   ]- बि सं २०१३/१/२८ मा जन्मेका भानदेब सुर्कालका बडूहरु मध्ये पहिलोपल्ट एस एल सी उतिर्ण गरि पहिलोपल्ट स्नातक पनि भएका ब्यक्ति हुन । यिनले सुदुर पश्चिमको दिपायल केन्द्रमा लोकसेवाको जाँच दिनेमध्येबाट पहिलोपल्ट नै अधिकृत पदमा सिफारिस पाएका थिए । प्रबल गोरखा दक्षिण बाहु पदक, दीर्घसेवा पदक, जानपदसेवा पदक आदिबाट बिभुषित हुनु भएका यिनले नेपाल सरकारको उपसचिवबाट सेवा निबृती पाएका छन। सरकारी सेवामा रहदा विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी लगायतका महत्वपुर्ण पदको जिम्मेवारी सम्हालेका थिए । यिनका २ वटा कृति प्रकाशित छन र थुप्रै रचना विभिन्न पत्रपत्रिकामा छापिएका छन । करीब ५ वटा अप्रकाशित कृति प्रकाशनको पर्खाइमा छन । यिनका ४ छोरा छन् ।-दीपेन्द्रदेब(२०३६), कैलाशदेव(२०३९), दिलिपदेव(२०४३) र बासुदेव बडू(२०४८)---४ जना छन  ।
    १५- १-इ. दीपेन्द्र देव बडू/ पत्नी-अन्जना ।(२ छोरी- अद्रिका र आभा )- हाल सबै परीवार अष्ट्रेलियाको  सिडनीमा बस्छन् ।
      १५-२- इ.कैलाशदेव बडू / पत्नी - डा. प्रतिष्ठा । ( १ छोरी - प्रदिप्ता ) हाल काठमाण्डौमा कार्यरत छन र उतै बस्छन ।
       १५- ३- दिलिपदेव बडू- अष्ट्रेलियाको सेन्ट्रल क्विन्सलैन्ड युनिभर्सिटिमा अध्ययन पुरागरी हाल अष्टेलियामै कार्यरत छन ।
        १५-४-इ. बासुदेव बडू- हाल काठमाडौंमा  अध्ययन पूरा गरि बसेकाछन ।
यसरी मोति बडूको सबभन्दा पछिल्लो पुस्ता हाल बस्ति बाहिर नै कर्मथलो खोज्ने क्रममा छ । सम्पर्क अभावले पछिल्लो सम्पुर्ण  बिबरण अद्याबधिक भएको छैन । सामान्य नाम र बिबरणहरु पनि फरक पर्न सक्छन् । निरन्तर संशोधन गरीरहने वाचा गर्दै यसबारे सुझाव र सुचना अपेक्षित छन् । कोष्ट भित्र राखिएको संख्याले पुस्तैनी-क्रम (पुस्ताङ्क ) संकेत गर्छ । बंशक्रम नासिएकाहरुको बिबरण र मातृनाम अप्राप्य रहे । बिबरण छोट्याउनु पर्ने बाध्यता बुझिदिनु हुदै यो अधुरो र अपरिमार्जित आलेखका बारेमा प्राप्त हुने प्रतिकृयाको स्वागत छ ।
यसरी कालक्रममा एक ठाऊँमा  जन्मि हुर्केको मानिस को को संग लडदै भिडदै कसरी आफुलाई समायोजन गर्दै बित्छ , यसको लेखाजोखा नै सामाजिक अध्ययनको बिषय हो । यसरि नै अमुक ब्यक्तिको, ठाउको र राष्टको इतिहास बन्दछ होला । यसरि नै नित नया सभ्यताको जन्म हुन्छ होला । सोच्यो भने लाग्दछ,एउटा विशेष नाममा परिचय पाएका हामि मानब मात्र हौ, जो अनुमानित बुँदा जोडेर संस्कारोचित मर्यादा अनुकुल आफु परिभाषित हुन खोजीरहेकाछौ ।
धन्यबाद ।।


Sunday, May 13, 2018

समुन्नत सुर्काल ; एउटा बिकास परीकल्पना -३

समुन्नत सुर्काल ; एउटा परीकल्पना-३

                                                                           
  बिकास चर्चा
   सुदूर पश्चिमको मध्यपहाडमा पर्ने मेरो गाऊँमा बिकासको अर्थ  समय अनुसार बदलिदै गएको बुझिन्छ । अचेल पनि समकालीन राजनीतिले  ब्यक्ति वा समुहको स्वार्थ अनुकुल हुनेगरि बिकासलाई आआफनै पाराले परिभाषित गराएकोछ । २०१५/२० साल उता सस्तोमा नुन, गुड र लताकपडा भारतको झुलाघाटबाट ल्याउन सकिएमा र भन्सारका कर्मचारीले दुर्व्यवहार नगरेमा त्यहि नै बिकास र सुशासनको सपना थियो होला । त्यसपछि अक्षर सिकाउने पाठशाला र हिडन सजिलो हुने गोरेटो घोरेटो बिकासका लक्ष्य बने । केही बर्ष अघिसम्म पनि सायद  बुझेको विकासको अर्थ बाटो र बिजुली थियो, हो अहिले हाम्रा धेरै गाउँहरूले त्यो पाएका छन् । बिध्यालय, बाटो र बिजुली आफैंमा विकास थिएन, त्यो त मात्र विकासको पूर्वाधार थियो । अहिले पनि हामी पुर्बाधार बिकासमा नै जोड दिइराखेकाछौ । वास्तबिक  विकास भनेको जीवनस्तरको सकारात्मक परिवर्तन हो, विकास भनेको देशको र देशबासीको आयमा वृद्धि हो ।
     हरेक गाउमा नयाँ पुस्ता जन्मिएकैछ, हुर्किएकैछ र केही पढे सिकेको पनि छ । तर अलि बुझ्ने भएपछि नवयुवाहरु शहर पस्छन् , बिदेश जान्छन र यथार्थबाट भाग्नुलाइ नै सफलता ठान्दछन् । जो गाउँमै बसे, ती आफुलाइ असफल सम्झन्छन र कुण्ठित भएर बस्छन् । यसरी गाउघर गाडी कुरिरहेकाहरु यात्रु थुप्रिएको बसपार्क जस्तो बनेकोछ । गाडी पाइयो कि हिड्यो । एबंप्रकारले जनशक्तिको पलायन अहिलेको प्रमुख समस्या बनेकोछ ।
प्राय: भन्ने गरेको पनि सुन्छु कि गाउँमा केही भएको छैन, पैसा छैन, सब गरिब छन् आदि आदि । प्रश्न गर्न मन लाग्छ, यो तडकभडक, यो बढदो उपभोगबादमा नाँचीरहेको पैसा कहाँबाट आउदैछ ? ब्यापारीहरु ढोकामै कुटेको चामल र फलेको दाल किन पु-याइरहेकाछन ? गाउँको आधुनिक पहिरनले यसको कुन सुदूर भबिष्य बताइरहेकोछ? यी यक्षप्रश्नहरुमा घोत्लिनु पर्ने समय आएकोछ  ।
     नेपालमा विकास भएन, अवसर पाइएन भनेर विदेश जाने र गाउँको विकास भएन, अवसर पाइएन भनेर सहर पस्नेहरूमा केही न केही समानता छ । म भन्छु, तमाम बेथितिका बाबजुद् पनि अधिकांश नेपालीले मीठै खाएका छन् । राम्रै लाएका छन् । विकसित देशका जनताका लागि एकादेशको कथा बन्ने घरजग्गा, जमिन र अलिकति अन्न अपबाद बाहेकका नेपालीको जन्मसिद्ध अधिकारभित्र पर्ने गरेको छ ।
भारतभित्रकै  महाभारत हेरौं त । त्यहाँ लाखौं किसान बैंकको ऋण तिर्न नसकेर मर्छन् । बाउबाट छोराछोरी असुरक्षित छन् । सामाजिक बिकृतिहरु हिलोमा गाडिएको किलो भएकोछन्  । दरिद्रतामा आम मानिस यसरी भासिएको छ कि करोडौं बाँचेर मरेका छन् । सामाजिक चेतनामा भारतभन्दा हामी लाख गुना माथि छौं । त्यो भूमिमा भारतीयले भारतीयलाई विश्वास गर्दैन । भारतभित्र दर्जनौं देश छन् । विश्वको समृद्ध मुलुक अमेरिका जहाँ बिग्रिएको गँजडी छोरो पेस्तोल बोकेर स्कुलको कक्षा कोठामा निर्दोषमाथि गोली बर्साउँछ । युरोपेली मुलुक जहाँ दुई घन्टा न्यानो घाम लाग्दा त्यहाँका बासिन्दाका लागि दशैं आएजस्तो हुन्छ । ती देशमा ५० वर्षमा बढ्ने बनस्पति हाम्रोमा पाँच वर्षमा हुर्कन्छ । नेपाल त्यो सक्कली फूल  हो, जसमा अत्तर छर्कन जरुरी छैन । खाँचो व्यवस्थापनको हो । हामी कहि कतै त्यसैमा चुकेका छौ ।
त्यसो भए के हामी माल भएर पनि चाल नपाएका हौ त ? बर्णित गाउँकै बिकास चर्चाबाट यसतर्फ पनि बिचार गरौ ।
संक्षेपमा हाम्रो बिकासको केही बलियो र कमजोर पक्ष निम्नानुसार हुन सक्दछन् ।

सबल आधार / अनुकूलता

#बैतडी जिल्ला सदरमुकामबाट १४ कि मि मात्र टाढा रहेको यो गाउँ गत बर्षमात्रै सडक संजा्लसंग जोडिएकोछ । यो नयाँ ग्रामिण सडकमा देहिमाण्डौको पक्की राजमार्ग हुदै टेक्टर, जीप र मोटरसाइकलहरु निर्बाध चलिरहेकाछन् । समुद्र सतहबाट झण्डै ८२२-११६६ मिटर सम्म उचाईमा रहेको यो गाउँ  सबैभन्दा बढि जनसंख्या भएको उपयुक्त मनोरम बस्ती हो ।  यो गाउँमा बिद्युत र संचारसेवा उपलब्ध छ ।
# ग्वाल्लेकधुराको पश्चिमी पार्श्वबाट बग्ने खोलाहरुले गर्दा पुरै बस्तिमा पानीको सुबिधा प्राप्त छ । ससाना कुलाहरुको मर्मत हुनसके सबै जसो जमिनमा सिँचाइ पुग्न सक्ने अबस्था छ । यहाँबाट बग्ने बगडागाड नै रौलाघाट हुँदै स्याडीगाडमा मिसिएकोछ र यसै गाडबाट निकालिएका कुलाहरुले पुजारागाउँ, स्याडी, कपर्त, धनचुलि र बगाउँसम्म सिन्चन गरिरहेकाछन् । हाल निर्माणाधिन बृहत्तर सुर्काल खानेपानी योजना तयार भएमा गाउँभरि सिचाईको यथेष्ट सुबिधा प्राप्त हुने  आशा गर्नसकिन्छ । सारांशमा यहाँ जल, जमिन, जंगल र जनश्रमको छेलोखेलो छ ।
## पर्व बिशेषमा देखिने सांस्कृतिक गतिबिधिले हाम्रो जनजिवनको झलक दिएको हुन्छ । यहाँका थुप्रै मन्दिरहरुमा बर्षैभरि यस्ता सांस्कृतिक अवसर जुर्न सक्छन् । यिनै पर्बहरुको क्यालेण्डर तयारगरि आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । " खस आर्य सभ्यता " को अध्ययनका लागि यहाँ सांस्कृतिक पर्यटन क्षेत्र बन्ने प्रशस्त सम्भावना छ । पर्यटनमैत्री परिधिमा रहेकोले पर्यटनको अवसर देखिन्छ ।
#तरकारी खेती र नगदेबालीका लागि उचित वातावरण छ । लोक्ता, खरी ढुंगा, गिट्टी बालुवा, जटिबुटी प्रशोधनका संभावना प्रशस्त छन। अचेल  देखिएको जागरुकतालाई सबल पक्ष मान्न सकिन्छ  ।
# संरक्षित बनक्षेत्र बाहिरका खुल्ला मैदानहरुलाई आबश्यकता र सम्भावना हेरि मनोरञ्जनस्थल, बनभोजस्थल वा अध्यात्मिक साधनास्थलका रुपमा बिकास गर्न सकिन्छ । यसो भए नजिकको सदरमुकाम र वरपर तथा निकटबर्ति भारतिय नगरहरुबाट समेत पर्यटक आउने सम्भावना देखिन्छ । दीर्धकालमा केबलकार संचालनको सम्भावना रहेको समेत यस सम्बन्धि बिशेषज्ञहरुको राय छ ।
# मुलत: ग्रामिण पर्यटन प्रबर्धन नै यो क्षेत्रको पर्यटन बिकासको मेरुदण्ड हो । यसका लागि होटल , होमस्टे, पाहुनाघरहरुको व्यापक बिकास, गाउमा सरसफाइ र शिष्टाचारको तालिम, ग्रामिण संस्कृति र बेशभुषाका प्रदर्शनी, एकीकृत पर्यटन बिकासका कार्यक्रम, ग्रामिण महोत्सब संचालन, विशेष पहिचानका लागि सुचना प्रबिधिको सहयोगमा बिज्ञापन समेतको व्यापक सुप्रबन्धन भएमा पर्यटकिय सम्भावनामा उल्लेख्य वृद्धि हुने सुनिश्चितता देखिन्छ । यहाँका चाडपर्ब र जैबिक उत्पादनहरु  ग्रामिण पर्यटनका आधार हुन सक्दछन । गाउँपर्यटनलाई यहाँको जिबनशैलीसंग जोडन सकिए पर्यटकीय सम्भावनामा समेत बढोत्तरी हुनेछ ।

प्रतिकुलता/ चुनौति/ समस्या/ जोखिम र यसका असर

*यस क्षेत्रको जैबिक बिबिधता, जलाधार क्षेत्र, जडिबुटि र धार्मिक बनको निरन्तर दोहन ।
*अनियन्त्रित र खुला चरिचरन, काठदाउराको अब्यबस्थित संकलन, जडिबुटीको अबैध निकासि, बनक्षेत्रको अतिक्रमण र चोरि शिकार जस्ता समस्या ।
*स्थानिय रैथाने केही बनस्पति त हराइ रहेका र  पानिमुहान सुकिरहेका ।
*अब्यबस्थित धार्मिक गतिबिधिले  पुराना सम्पदा लोप हुदैगर्दा सांस्कृतिक सम्पदाहरुमाथि निरन्तर नकारात्मक संक्रमण जारि  ।
*केही पुरातात्विक सम्पदा हराइसकेकाछन् । सांस्कृतिक सम्पदाहरुको मूल केन्द्रिय तत्व नै बिलुप्त
*पर्यटन पुर्बाधारहरुको कमीले गर्दा पर्यटक मैत्री वातावरण बनाउन नसक्नु
*आधुनिक प्रबिधीका उपकरण सहजै उपलब्ध हुन नसक्नु
*कृषक समूह सक्रीय नहुनु र समन्वय- सहकार्यको अभाव
*दक्ष जनशक्तिको कमी
*पहुँच एबं श्रोत साधनको कमी ।
*कार्यान्वयन पक्षमा दलगत खिचातानीको समस्या र सरोकारवालाहरुको उदासीनता
*पुर्बाधार निर्माणमा अनपेक्षित ढिलाइ
*लैंगिक र सामाजिक विभेद ।
*अनुगमन मुल्यांकनबारे अभीमुखिकरण नभएको ।
*श्रमप्रतिको निष्ठा र सम्मानमा आएको ह्रास ।
*अती वर्षा/वृष्टि जस्ता प्राकृतिक प्रकोप ।

समस्याका समाधानका लागि उपाय

**सामुदायिक / सामाजिक/आर्थिक गतिबिधिको समीक्षा गरीरहने परिपाटीको शुरुवात ।
**स्थानिय तह/निकाय/ संस्थाहरुको कार्यालय सबलीकरण ।
**स्थानिय बजारको बिकास ।
**बिकास ब्यबस्थापनको अभिलेखीकरण ।
**लक्ष्यित बर्ग/ समुदायको सहभागिता बृध्दि
**कृषकहरुको माँग र आपुर्तिमा सामन्जस्यता/ अनुदानमा बृध्दि । कृषिबजारको ब्यबस्था ।
**घास खेति प्रणालीमा सुधार ।
**प्राबिधिक ब्याबसायिक शिक्षामा जोड ।

उपलब्धि / प्रतिफल/ सूचक/ पुष्ट्याइ

  • स्वरोजगारीमा बृध्दि  हुनेछ। प्रतेक क्षेत्रमा आयस्तर बृध्दि भै प्रतिब्यक्ति आय बढनेछ । गरिबीदर घटेर समुदायमा क्रयशक्ति वृद्धिभै चेतनाको स्तर बढनेछ ।
  • पर्यटक आगन्तुकहरुको संख्या बृध्दि भै बैकल्पिक रोजगारी बढने र समुन्नत शिष्ट समाजको श्रृृजना हुनेछ ।
  • कृषिमा आधुनिक प्रबिधिको प्रबेशसंगै कृषि उत्पादनमा बृध्दि भएपछि खाद्यान्न, तरकारी,दूध, फलफूलको उत्पादन बढनेछ ।
  • सारभूत रुपमा बिद्यालयहरुको सुसंचालन भै साक्षरता दर बढनेछ र गाउँमै प्राबिधिक कक्षा शुरु हुने छन् ।
  • ब्यबस्थित प्रणालीबाट खानेपानीको उपयोग भै सरसफाई बढनेछ। न्युनतम सुबिधासम्पन्न स्वास्थ्यसंस्था स्थापना भएपछि बालमृत्यु/ मातृमृत्यु दर घटने र औसत आयु बढनेछ ।
  • नमुना रुपमै सबै संस्था /कार्यालयको सेवाग्राही मैत्री कार्यशैली हुनेछ।
  • पर्याबरण र जैबिक बिबिधताको संरक्षण हुनेछ ।
  • धाार्मिक र सांस्कृतिक सम्पदाहरुको समुचित सुप्रबन्धन हुनेछ  । पुरातात्त्विक सम्पदाहरूको स्वरुप बिग्रने छैन र संरक्षित हुनेछन् ।
आशा गरौ, श्रम निष्ठामा फुले फलेको गाउको गौरबपुर्ण इतिहासका बर्तमान संस्करणहरुले पुर्खाको प्रेरणा लिइ आफनो सोचलाइ नबिनता दिनेछन। गाउँमा चिन्तन बिउझिनेछ,चरित्रले यात्रा गर्नेछ । यहाँ सुन्दर सोचिनेछ र सुन्दर रचिनेछ।


कार्यक्रम र लागत बजेट

बिस्तृत प्राबिधिक अध्ययन पछि मात्र लागत तोक्न सकिन्छ । योजना छनौटका प्राथमिकता तथा कार्यक्रमको पहिचानमा आबश्यकता बमोजिम थपघट गरेर स्थानिय  निकाय/जनभेलाको निर्णयानुसार कार्यान्वयन गर्न सकिन्छ
==





बिकास पुर्बाधारहरुको सुदृढ सञ्जाल  ;  बिकृतिमुक्त, सदाचारयुक्त,सभ्य र सुन्दर सुर्काल ।।