Saturday, November 28, 2009

"आफनै सेरोफेरोको पर्यटन"




जहाँ ढुङ्गा ढुंगामा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ,
यो देश मेरो हो---यो देश मेरो हो।
यो राष्टप्रेमले भरिएको गीतको भाव-भुमीलाइ स्वाभिमानी सबै नेपालीले महसुस गरेको हुनुपर्दछ। ढुंगा ढुंगामा देवता बसेका कारण स्वर्गको आभास पाइने हाम्रा थुम-थुम्का, खोला-खोच,कोट-किल्ला,लेक-बेसीहरुको मनमोहक सुन्दरता प्रकृतिबाटै नैसर्गिक भावले रचना गरिएको हो।
यस्तो शस्यश्यामला धर्तिमा कहाँ-कहाँको माटोको सुवास हाम्रा जोर पयरले चाखेछन् ? घुमघामको नाममा तोकिएको वा काम बिशेषले जानै पर्ने चल्तिका रुटको ओहोरदोहोर बाहेक अन्यत्र कतै गइएकोछ त? एकपल्ट हिसाब गरि हेरौं। गाडीले जता थेचा-यो,त्यति मै सिमित हुनुलाइ हामि घुम्नु भन्दछौ। पर्यटकिय भ्रमणको कुरो निस्किनासाथै हाम्रो मानसिकतामा टाढाको सयर भन्ने सोच आउछ। कुनै टोलमा भएकाहरूले आफ्नो टोल नाघेर अर्को टोलतिर टहलिने , कुनै जिल्लामा रहेकाहरूले अर्कै जिल्ला घुम्ने, एउटा विकास क्षेत्रमा रहेकाहरूले अर्को क्षेत्रमा पुग्ने सोच नै आउन बाँकी छ। घुमघाम भन्नेबित्तिकै देशै काटेर परदेशतिर लम्किने हाम्रो सुर हुन्छ । पर्यटनलाइ पऽऽऽरै गएर फन्को मार्नुपर्ने घुम्ती लीलाको रूपमा बुझिएको छ । त्यही मर्म छामेर होला, संस्कृतबाट आएको 'पर्यटन' शब्दको अर्थ पनि नेपाली शब्दकोशमा "दर्शनीय र महत्वपूर्ण स्थानहरू हेर्न वा मन बहलाउनका निम्ति देशविदेशमा गरिने भ्रमण वा यात्रा "भनेर दिइएको छ।
आन्तरिक पर्यटन
हामी नेपालीहरूको घुमफिर गर्ने बानी छैन भन्ने थेगोले थिचिरहेको समयमा आन्तरिक पर्यटनको 'गफ'ले पछिल्लो समयमा बिस्तारै केही काम गरेको देखिन्छ । मान्छेहरू व्यस्तताको बिटो थामथुम पारेर र घरमा डामडुम ताल्चा ठोकेरै भए पनि चिसो ढुंगा जस्तो खेलखाल गरिने खाल्डो बाहिर पूर्व र पश्चिममतिर टहलिन निस्किन थालेका छन् । यो कर्म बढदै गएमा फुर्सदिलो समयमा पनि बेफुर्सदिलो मानसिकता बोकेर आफनै आगनमा कुणिएर बस्नु पर्ने छैन। घुम्ने जाँगर नचल्नुको थकथकी र दिक्दारी थुपारीने छैन। छोटो जिन्दगानी र साँगुरो वृत्तमा सीमित भएर कोक्याइलो सोचले कन्याइ रहनुपर्ने पनि छैन। उही रुटीन र उहि लिकमा फटफटाइरहने बिचित्रका घरघुगु (बाँझो घरभित्र मात्र बस्ने लाटोकोसेरो) भएर बस्नुपर्ने दिन अब सकिदैछन ।हाम्रा सहरिया-खलंगे युवा डिस्कोथेक र मुठीभरको पार्कमा सीमित भएर रमाइरहेको बेला कहाँ तिनलाई खबर होस् मोफसलतिरको पर्यटनको। नजिकको तीर्थ हेलाको नियति भोग्दै मोफसलका मनोरम गन्तव्यहरू रैथानेहरूको हेराइमा पनि रूखोसुखो झाडीसमान बन्न पुगेकाछन। थानकोट भन्दा टाढाको नेपाललाइ राजधानीले पाखेमा दरेकैछ। होला,कतिपयलाई परिवारको नियमित खर्च धान्नै धौधौ हुन्छ। घुम्ने कुरा तिनका दैनिकीमा पर्दैनन। तर धेरैजना पैसो भएर पनि, रहर भएर पनि बरू ठूला योजना बुनेर बस्छन् । वरपर स्वदेशको तीर्थाटनमा निस्किने 'कष्ट' उठाउँदैनन्।
घुम्न आफ्नै देशभरिका ठाउँहरू पर्याप्त छन् । तर टाढा रहेका उस्तै ठाउँका लागि जति पनि खर्चिन तयार हुने हाम्रो मन हाम्रै छेउछाउ भएका ठाउँमा जान-बस्न भने थकथकी मान्दै निचोरिन्छ । यो भनेको घरको कुखुरा दाल बराबर जस्तै हो।
नजिकको तिर्थलाइ हेला गर्ने,बाहिरको जोगीलाइ मात्र सिद्ध मान्ने र परायाको माल मात्र राम्रो ठान्ने एकथरिको हिनताग्रस्त सोच हुन्छ। के हाम्रा गाऊठाउमा केहि पनि उल्लेखनिय छैन र? सुदूर दुर्गम जिल्लाहरुको मात्रै कुरा गर्ने हो भने पनि मध्यकालिन नेपालमा समेत त्यहाका स्थानिय उत्पादनले प्रसिद्धि पाएको देखिन्छ। अद्यापि केहि स्थान बिशेषका सामानले ब्रान्ड नाम नै पाएकाछन। बैतडीको चिउराको गुड, स्वराडको उखुकोगुड र खुदो, बझांगको चुक, दार्चुलाका च्यांग्रा,घोराहिका घोडा , जुम्लाका खच्चर,डोल्पाको जडीबुटी, ताराकोटको स्वेटर, अछामका गाइ,ब्यासका काम्ला अहिले पनि उत्तिकै प्रसिध्द छन। त्यस्तै जोरायल-तोरि,तलकोट-कस्तुरि,बाजुरा-बाज,पुर्चौडी-फलामका भाडाकुडा,देहिमाण्डौ-निगालाका डोका,ढणौन-दहि दुध,सुरकाल-घिउ,सिमनाथ-घट्ट या जाँतोको ढूंगा,खोडपे-आलु,जर्ग-तरकारि, खप्तड-निगालो,मुगु-मह, सतबाँज –स्याऊ, जोगबुडा-काठका भाडा, छचोडा-तामाकाभाडा र जुलाघाट- माछाकालागि ख्याति पाएकै ठाउँ हो।
नेपालदेखि नेपालसम्म
गाउनै गाँउको देशमा एकागाँउका भाइबैना अर्का गाँउमा घुम्न जाँदा साँच्चै रमाइलो हुन्छ होला। आतिथ्यका लागि गाँउलेलाइ कुनै प्रायोजित प्रशिक्षणको आवश्यकता पर्दैन। यो उनीहरुको जन्मजात गुण हो। ग्राम्य पर्यटनले रोजगारीका बैकल्पिक उपायहरु खोज्न सघाउ पु-याउछ। ग्रामिण कला र ग्राम्य उद्योगले समेत आन्तरिक पर्यटनबाट टेवा पाउछ। टाढा किन जानु र? आफनै जिल्लाभरिको कान्लाकान्ली फेरो मार्दै पर्यटनको स्वाद लिन सकिन्छ। डाडा-काँडादेखि माल-मदेशसम्मको यात्रा सारै रोचक हुनेछ ।
कल्पना गरौ,नेपालगंजका भाइ बैनाहरु मात्र पाँच दिनको भ्रमण प्याकेजमा डडेल्धुरा पुगुन। यस्तै दार्चुलाको एउटा टोलि सातदिनका लागी सुर्खेत उपत्यका पुगोस । यति मात्रै हो र? बैतडी सिमनाथका पर्यटनप्रेमीहरु चमेलिया जलबिद्युत निर्माणस्थल हेर्न जाउन र गोकुलेबासीलाई आफनो ठाउँको घट्ट खानी देखाउने निम्तो दिउन । यो सुरुचीपुर्ण आन्तरिक पर्यटन हुनेछ। ने मुनिले तलाउको पानी सुकाइ बस्ति बसाइएको कथाबाट शुरु भएको नेपालको ईतिहास भन्दा हाम्रा आफनै गाउ ठाउका पुरातन ऐतिहासिक कथ्य कम्तिका छेनन। खप्तड,शुक्लाफाँटा, बडिमालिका,ब्यास क्षेत्र, मल्लिकार्जुन,ग्वाल्लेक केदार, मेलौली,सिमनाथ,पत्तालभुमेश्वर,सुर्मा सरोवर नामी पर्यटकीयस्थलको गिन्तिमा आउने ठाउँ हुन। सुदूर पश्चिमकै अन्य सन्दर्भ लिउ। अश्वलायन ऋषिका साथ खेचराद्रिहुदै पास्तोलिका ३ छहराको पानिको मुलबाट निस्केको कैलाश नदिको किनारमा तपश्या गर्न आएका अक्षाम नामका ब्रह्मचारिको नामले अछामको नामाकरण भएको हो। देवताहरु घुमि रहने ठाउ (देबाटपि=-डोटि, देबा=देउ>द्यौ>डो+टबि=टि) डोटी र डोटि राज्यको मुल थलो अजयमेरू निकटको डडाल्नु आकारको डाडामा बसेको डडेल्धुराको सौर्य गाथाहरु सदा स्मरणिय छन।‍ दुइ धारको चुला जस्तो दार्चुला र बउ (बयालो,बतास) चलने किनार या बायु उत्तड(उन्मुख) पर्बत (ग्वाल्लेक पर्बत) को नजिकको बैतडीका प्राकृतिक रहस्य-रोमान्च एकपल्ट हेर्नै पर्ने खालकोछ। बज्र जस्तो बलियो शरिर भएको बज्रेश्वर माहादेव(कोट भेरब)बाट संरक्षित बझांग तथा बार्जु गाडको सिरानमा पर्ने, बाजुर(जुनेलो) हुने र जुर्रा बाज पाइने ठाउ भनेर कहलिएको बाजुरामा घुम्न-हेर्न लायक थुप्रै स्थान छन।
यसै प्रसंगमा लक्ष्मीप्रसाद देवकोटाको 'के नेपाल सानो छ ?' निबन्धका हरफहरू ताजा भएर आउछन - "यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेंडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मेरो वनमा हेलेन केलेरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन ।"

देवकोटाकालीन नेपालदेखि समय चिप्लिँदै अहिलेको नेपालसम्म आइपुग्दा कति धेरै शेक्सपियर र सोक्रेटिजहरू हलो जोत्दाजोत्दै, गुफामा घोत्लिँदा घोत्लिँदै खेर गए होलान्, हिसाब छैन । अरूहरूबाट उपेक्षाको सिकार भएका कुना कन्दराका सिमान्तकृत मानिसहरू आफ्नै जीवनको वेगमा पनि छेउकिनारमा फुर्सदी भावले आफू र आफ्नो बहलाउने रहरलाई स्वयम्‌बाट उपेक्षित गराइरहेकाछन् । अब सांकृत्यायनहरु पनि आँगनबाट निस्किएर टोलतिर, जिल्लातिर र आफ्नै देशको मेची महाकालीतिर घुम्न निस्कियुन भन्ने पंक्तिकारको बिनम्र आग्रह हो।
सरकारले २०११ लाइ पर्यटन बर्षको रुपमा मनाउदैछ । बिदेशीहरुलाइ नेपाल चिनाउने, नेपाल बोलाउने र उनीहरुको नेपाल बसाई लम्ब्याउने कार्यक्रम त छँदैछ । आन्तरिक पर्यटन र धार्मिक पर्यटनलाइ समेत प्रोत्साहित गर्नु यस सन्दर्भमा अझ समय सापेक्ष काम हुनेछ।

Thursday, November 26, 2009

महाकालीपारिको नेपाल


महाकाली पारिको नेपाल भनेर चिनिने दोधारा चाँदनीलाई महेन्द्रनगर कंचनपूरसंग जोडने झण्डै २ कि मि लामो झोलुङ्गे पूलको यो मनमोहक दृश्य हो । अस्ताउनलागेको सूर्यको छाया शुष्कप्राय: नदिमा परेपछि बिचित्रको भावोत्पादक दृश्यावली निर्माण भएकोछ । नेपालको माया गर्नेहरुलाई यसले केहि भन्न खोजे जस्तो छ । त्यो के होला? हामी तपाईको बिचारको प्रतिक्षामा छौं।

Friday, November 20, 2009

तिमलो: फूल नदेखिने तर लटरम्म फल्ने रूख



तिमली पातको दुनो असौज्या दै कि लाइ,
क्याकि रुन्छै पापी मन कोछ र कैकि लाइ?

यो सुदुरपश्चिममा बहुप्रचलित लोकगीतको पंक्ति हो। तिमलोका पातको दुनामा राखिएको असौज महिनाको दहीको सुन्दर संयोग सम्झदै लोककबि पापी मनलाइ बुझाउने गर्दछन, “किन रुने? कसकालागी को पो छ र?”
प्रसंग सुदूर लोकजिवन र तिमलो नामको बिशेष बृक्षको मात्र हो। लोकगीतहरुमा समेत स्थान पाएको तिमलोको पातको दुनो र तिमलोको फलका उपयोगिता सम्बन्धमा यो भेगमा धेरै लोकचर्चा सुनिन्छन। तिमलोको फूल देख्ने मानिस भाग्यमानी हुन्छ रे। यो आधारातमा फुल्छ र तुरन्तै झर्छ भनिन्छ। तिमलोका चिल्ला पातका दुनाले धार्मिक अनुष्ठानमा महत्वपुर्ण ठाँऊ पाएका हुन्छन।
अछाममा तिमला धेरै फल्ने सैनो (मैदान ठाऊ)मा बसेको गाउलाइ तिमलसैन नाम दिइएकोछ। बिधवा ब्राह्मणिबाट नागी मल्लको पुत्र जन्मेको मानिने यो ऐतिहासिक गाऊमा कान्ला पिच्छेनै तिमिलाका रुखहरु देखिन्छन। लेकाली गाँउमा धेरथोर यो दृश्य सामान्य मानिन्छ। ठुल्ठुला खस्रा पात र सेतो बोक्रा हुने यो बनस्पतिको काँधबाट निस्केका हांगामा खनिउ (खनायो)जस्तो फल लाग्ने गर्छ। हांगामै लटरम्म फल्ने हुनाले स्थानिय आशिर्बचनमा समेत “तिमिलाइ जनि फलि रयेइ” (तिमला जस्तै फल लागोस) भन्ने गरिन्छ।
चर्चा र वास्तविकता
बिना फूल नै फल कसरी लाग्छ होला? के भाग्यमानीले मात्रै तिमिलाको फूल देख्छन त? यी प्रश्नले यो पंक्तीकारलाइ सानै देखि कुत्कुत्याएको थियो। वास्तबमा फूललाइनै मानिसहरुले फल मानेका रहेछन। फल जस्तै गुच्छामा लाग्ने फूललाइ मानिसहरु फल भन्दा रहेछन । वैज्ञानिकहरु अझै द्विबिधामा छन, यो फूल या फल के हो भनेर। बन्द फूल हुनाले यसलाइ फल भन्ने गरिएकोहो। ठुलो दाना जस्तो देखिने यो बन्द फूलभित्रका ससाना बीजहरु वास्तबिक फल हुन। बीज काचो अवस्थामा हुन्जेल बाहिरको दाना हरियो र पाकेपछि खैरो रातो हुन्छ। बीज पाके पछि भित्र बाक्लो मिटो रस बन्ने गर्दछ । गुदीसंगै यो रसलाइ मानिसहरु मिठो मानेर खाने गर्दछन। जंगली चराहरुको पनि यो प्रिय भोजन हो। शायद मह जत्तिकै मिठो यो पुष्परसका सम्बन्धमा धेरै शोध भएकैछैन ।
तिमलाले पानीको श्रोत पनि संरक्षण गर्दो रहेछ। एउटा लोकगाथामा रामले बनबास ताका लक्ष्मणलाई पानीको श्रोत खोज्ने उपाय बताएकाछन। “ जाँ हुन्ना तिमलिका बोट, वाँ होलो पानीको निकाश” अर्थात जहाँ तिमलाको रूख हुन्छन, त्यहाँ पानीको मूल भेट्टिन्छ। यो गाथामा यसै गरि तुषारा, गरङला वा गोगन जस्ता रैथाने रूख जहाँ हुन्छन,त्यहाँ पानीको श्रोत संरक्षित हुने कुरा बताइएकोछ।
तिमिलोको उपयोग
तिमलोको बहुबिध उपयोगिता माथिका प्रसंगबाट पनि धेरै प्रष्टिन्छ। सुदुर पश्चिम भेगमा यसका बारेमा एउटा अर्को भनाइ पनि प्रचलित छ। जै का बुवा बैस्याउन लाग, उ लेक तिम्लि खोज अर्थात जसको बाबुलाइ आउमासी लाग्छ, उसले लेकमा तिमलोको लागी नगइ धरै छैन। तिमलालाइ आउमासीको पक्का औषधि मानिन्छ। काचो तिमलाको तरकारी र अचार सारै मिठो हुन्छ। यसले पेटको गर्मी शान्त हुन्छ। यसले पशुहरुमा दूध बढाऊछ। अरु फल भन्दा यसमा बिटामिन इ र सी पनि ज्यादा पाईन्छ। प्राय लेकतिर हुने यो डालेघास पशुको लागि उत्तम आहारा मानिन्छ। यसमा अन्य फल भन्दा चार गुना अधिक बिटामिन र कैल्सियम हुन्छ। तिमलाको फलमा ८४%गुदो र १६% बोक्रा हुन्छ। यसबाट जाम जेली समेत बनाउन सकिन्छ ।
तिमिलाको नालिबेली
अधिकांशत: ६००देखि१६००मिटरको उचाइमा पाईने नेवारो प्रजातीको यो बनस्पतिका पाँच प्रजाति पत्ता लागेकाछन। सुदुर पश्चिममा पाइने तिमलाको खलक यो समुहको सबभन्दा पुरानो प्रजाति हो। यसका कुनै रुखमा फल नै नलागने हुन्छ। यस्ता रुखलाइ अखजी भनिदो रहेछ। तिमलाका पात १५ ईन्च लामा र १२इन्च चौडा सम्म हुन्छन । नेवारो प्रजातीको यो रुखलाइ हिन्दीमा जंगलि अंजीर भनिदो रहेछ। स्थानभेद अनुसार तिमलो, तिमिलो,तिम्लो,तिमिला,तिम्ली या तिम्ला जस्ता कतिपय नामबाट चिनिने यो बनस्पतिको बानस्पतिक नाम फाइकस केरिया र लेट्रिन नाम औरक्युलाटा हो।
बिकासका नाममा झिकाइने नाना थरि हाइब्रीड बिदेशि डालेरुख भन्दा यो रैथाने बनस्पतिलाइ ग्राह्यता दिएर यसकोबारे थप शोधखोज गरिनु पर्दछ। यो स्वदेशि पहिचानहो, समयको माँग हो र लोकसरोकारको बिषय पनि हो।

Sunday, November 15, 2009

उहिले र अहिलेका केदारस्तुति



















स्थानिय लोकसाहित्यमा केदारगाथा



तम गुसाइ केदार कौन चलाइ भै मनेषु हमी कै का,
मनेषु हमि कैका-- गुसाइ मेरा-- मनेषु हमी कैका।।
रागस पुरिको राज्य होलो भाइ मनेषु हमी कैका,
मनेषु हमी-------- ------------------------।।
तम गुसाइ ससालिंङ क्यान चलाइभै मनेषु हमी कै का,
मनेषु हमि कैका---------------------------।।
रागसपुरीको राज्य होलो भाइ मनेषु हमी कै का,
मनेषु हमी कैका-------------------------‍।।
(यसप्रकार प्रतेक देवताको नाम पुकार गर्दै “तपाइ मेरा मालिक किन अन्यत्र जान थाल्नु भयो? हामी मनुष्यहरु कता जाने हो? यहाँ त राक्षसहरु पो राज गर्ने भए!” भन्दै लोकपर्बको अवसर पारेर लोक लयमा गितीनृत्यको आयोजन हुन्छ।)
(१)
शिखर सियालो घाम गुसाइ मेरा शिखर सियालो घाम,
बगणा सिमसिम्या पानी गुसाइ मेरा बगणा सिमसिम्या पानी।।
भोका तिसा तेरा द्वार अया गुसाइ मेरा भोका तिसा तेरा द्वार अया,
मन शुद्ध तन शुद्ध भयो गुसाइ मेरा मन शुद्ध तन शुद्द भयो ।।
तेरो दियो तोइलाइ चणौलो गुसाइ मेरा तेरो दियो तोइलाइ चणौलो ,
हम तेरा काखका बला गुसाइ मेरा हम तेरा काखका बला।।
(२)
तेरि सेवा आयो केदार ,मेरि सेवा मानिदे केदार
भोका पेट आयो केदार, मेरि सेवा मानिदे केदार
तिना केश आयो केदार, मेरि सेवा मानिदे केदार
मै तेरा भाणिको फुल, मेरि सेवा मानिदे केदार
मै तेरा काखको बालो, मेरि सेवा मानिदे केदार
मै हिट्या बिराना बाटा, ऐतिर लागेइ केदार
मै कभै एकलो भया, डिठिमाइ भएइ केदार
सुखदुक जे भया पनि,जुणि जन छाणेइ केदार
दिन रात काममा हौला, तै छाया दियेइ केदार
लटागणा हम तेरा पूत, बोलिमाइ बसेइ केदार
हम तेरा भाणिका फूल,पुजामाइ लायेइ केदार
माला माइ औणिन्या फुल,धुलामाइ जन झौ केदार
तेरा थात मेरो खुट्टा पण्या,हातकि छाया दे केदार
पुजाकि बकत होइगे मेरि सेवा मानिदे केदार
भाणिका फूलको रंङ,ओइलान जनदे केदार
भाणिका फूलकि बास,मण्णल राखिदे केदार।।
 (३)
 

      शंकराचार्यविरचित दशश्लोकी शिवस्तोत्र



न भूमिर्न तोयं न तेजो न वायुः
न खं नेन्द्रियं वा न तेषां समूहः
अनेकान्तिकत्वात् सुषुप्त्येकसिद्दः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥१॥

न वर्णा न वर्णाश्रमाचारधर्मा
न मे धारणाध्यानयोगादयोपि
अनात्माश्रयाहंममाध्यासहानात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥२॥

न माता पिता वा न देवा न लोका
न वेदा न यज्ञा न तीर्थ ब्रुवन्ति
सुषप्तौ निरस्तातिशून्यात्मकत्वात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥३॥

न साख्यं न शैवं न तत्पाञ्चरात्रं
न जैनं न मीमांसकादेर्मतं वा
विशिष्टानुभूत्या विशुद्धात्मकत्वात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥४॥

न चोर्ध्व न चाधो न चान्तर्न बाह्यं
न मध्यं न तिर्यँ न पूर्वाऽपरा दिक्
वियद्व्यापकत्वादखण्डैकरूपः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥५॥

न शुक्लं न कृष्णं न रक्तं न पीतं
न कुब्जं न पीनं न ह्रस्वं न दीर्घम्
अरूपं तथा ज्योतिराकारकत्वात्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥६॥

न शास्ता न शास्त्रं न शिष्यो न शिक्षा
न च त्वं न चाहं न चायं प्रपञ्चः
स्वरूपावबोधो विकल्पासहिष्णुः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥७॥

न जाग्रन् न मे स्वप्नको वा सुषुप्तिः
न विश्वौ न वा तैजसः प्राज्ञको वा
अविद्यात्मकत्वात् त्रयाणं तुरीयः
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥८॥

अपि व्यापकत्वात् हितत्वप्रयोगात्
स्वतः सिद्धभावादनन्याश्रयत्वात्
जगत् तुच्छमेतत् समस्तं तदन्यत्
तदेकोऽवशिष्टः शिवः केवलोऽहम् ॥९॥

न चैकं तदन्यद् द्वितीयं कुतः स्यात्
न केवलत्वं न चाऽकेवलत्वम्
न शुन्यं न चाशून्यमद्वैतकत्वात्
कथं सर्ववेदान्तसिद्धं ब्रवीमि ॥१०॥
इति श्रीमद्शंकराचार्यविरचितं दशश्लोकी समाप्तंम्

Saturday, November 7, 2009

WELCOME to GWALLEK KEDAR




we are introducing GWALLEK KEDAR DHAM, THE LAND OF LEGEND as a new destination for tourism . Gwallek shikhar is situated in  Baitadi district, nearly 20 kilometre east from district headquarter .
-------

  • Now, This heavenly land is realizing the wave of change.
  • We are refining our old, date expired and meaning less pride.
  • We know, Our land is land of legends. It is fit to be home of divinity, land of holiest of holy.
  •  Mother Nature riches it.
  • It is destination for wild life lovers.
  • Its Topography ranges from foothills to high range.
  • Here religion is life, land is lord’s citadel.
  • Holy rivers, gushing streams, hush fields prefer to make home of sanctuary.
  • This is a land, where original wind of culture lurks and where the ancient culture lives.


 Term kedar itself indicate a rock formation or FUTLINGA or glacial moraine.
 Kedarnath,chief seat of kedars lies in uttaranchal,near by Indian state, uttaranchal .
 Kedarkhand is a holy land where Pandavas past their last days way back to kailash.
 Different kedar temple established after that. Folk lures says so.
 Devotee who die here became a part of shiva.
 Kedar mandir dedicated to lord Shiva,Kedarsila term is vary famous.
 Quite virgin land, itself a host of northern India and western Nepal .
 Being one with nature. Plant communities. Flora, fauna and large number of woodland.
 Scaling the height of yoga and mental health.
 Instead of artificial life,-man made synthetic life , where we are fighting for disease, locking in green house effect, eating toxic waste and building block of DNA-we can march to spiritual life.
 Here we can manage spiritual crisis( beyond the humdrum of every day life, we feel the need of nature. pay heed to inner voice) Natural and inevitable realm of mind, body and soul.
These are some views of our holy land and holy temples .



























असिमकेदार धामको यात्रा ; एउटा अलग्गै अनुभब

भनिन्छ , शिब-भक्तिको रंग चढेपछि मानिसले असीम शान्ति पाउछ । यस्ता शान्ति प्रदायक  शिबस्थलहरु थुप्रै भेट्टिन्छन, जो अतिव प्राचिन  र चमत्कारि छन । यस्तेेै  शिबस्थलमा रमाउन चाहनेेेेहरुका लागि यो आलेख मार्फत यस्तै एउटा बिशिष्ट क्षेत्रको बारेमा सामान्य जानकारी दिने जमर्को गरिएकोछ  ।
यो अभिष्ट गन्तब्य सुदूर पश्चिमको सिमान्त जिल्ला बैतडीमा अवस्थित ग्वाल्लेककेदार धाम क्षेत्र र त्यसको पुर्बी पार्श्वमा रहेको असिमकेदार मन्दिर हो । करिब सातसय बर्ष पुरानो यो मन्दिरको महत्व यहाँको चहलपहलबाट पनि प्रमाणित हुन्छ । केदार शैलीमा निर्मित यो मन्दिरका गुठियारहरुका पुर्खाहरुले हालको स्थानमा मन्दिर स्थापना गरेको भए पनि असिमकेदार देवता यस क्षेत्रकै प्राचिन शक्तिशाली देवता मानिन्छन । यहाँका पुजापर्बका परम्पराहरु पुर्णत: सहभागितामुलक र समाबेशी छन । असिमकेदारलाई श्री र सहकालका देवता मानिन्छ । अद्यापि पुराना घटनाहरुसंग सम्बन्धित प्रचलनहरुका बारेका कैयौ किम्बदन्तिहरु यस भेगमा प्रचलित छन ।

चारैतिर हरियाली

कुनै बिशेष रैथाने बनस्पतिलाइ लोकदेवताको प्रतीकका रुपमा हेरिने सुदुर पश्चिमको लोकप्रिय परम्परा हो। उदाहरणार्थ बाँजलाइ ग्वाल्लेक केदार, निगालोलाइ निगलासैनी भगवती,मेललाइ मेलौली भगवति,देवदारलाइ डागेश्वरी, जाइफललाइ समैचीको प्रतीक  बृक्ष मानिन्छ । यसै गरि हरेक स्थानिय देवताहरुलाइ प्रकृतिसङ्ग जोडिएको हुन्छ । यिनै मान्यताहरुबाट ससम्मान जोगाइएको हरियो पहाडको किनार हुदै दशरथचन्द राजमार्ग बैतडीको देहिमाण्डौमा पुगेपछि ग्वाल्लेक केदारधाम तिरको पैदल हरित यात्रा शुरु हुन्छ । पहाडहरुको मनोरम दृश्य अवलोकन गर्दै असिमकेदारको मन्दिरतर्फ पैदल भ्रमणमा जाँदा ८ कि मि जति हिडनु पर्दछ। । निर्माणाधिन देहिमाण्डौ सलेना सडकको डोरो थपिदै जाँदा हाल देहिमान्डौबाट  यहाँसम्मको सडक यात्रा १२ कि मि मा पुगेकोछ । बाटोमा दुइ-तीन पुराना गाँउ देखिनेछन, जो बिस्तारै शहरी सभ्यतातिर पाइलो बढाउदैछन। ग्रामिण नेपालको नैसर्गिक परिदृश्य र ग्रामीण जन-जीवनलाइ नजिकबाट हेर्ने यो राम्रो मौका हुनसक्दछ । यदि तपाइ बर्षा ऋतुमा यहाँ आउनु भएकोछ भने यो यात्रा अझ शानदार हुनेछ, किनकि सडक-बाटो वरिपरिको हरितिमाले अर्कै लोकको झझल्को दिनेछ। कुहिरि भित्र लुकामारि गरिरहने प्रकृतिको लिलाले पानी दिने देवताको रुपमा प्रचारित असिमकेदार यात्रा सँधैको लागी संस्मरणिय बन्नेछ ।

हरिया पहाडका फेदीमा छ, असिंमकेदारको माण्डौ

झरिका महिनामा यो मन्दिरले हरियो च्यादर ओढेका पहाडको फेदमा रहस्य र रोमान्च पैदा हुने गरि खास प्रभाव पारेको हुन्छ । मन्दिर अबस्थित दोभानमा दुइ वटा नदि मिसिएका छन। धरावति र गौबर्धिनि गोदावरी। लोक भाषामा धारी र गोदा गाड। मान्यता के छ भने जतिसुकै पानी बर्षे पनि ग्वाल्लेक धामबाट निश्रृत गौबर्धिनी सँधै सुकिली र शान्त हुन्छिन तर धराधाममै जन्मेकी धारावति भने थोरै पानी पर्दा पनि गडगडाहटको आवाजका साथ मन्दिरको दक्षिणि पार्श्वमा ताण्डब गर्न थाल्छिन । मन्दिर गाऊँ भन्दा डेढ दुइ कि मि टाढा एकान्त ठाऊमा छ । हरिया पहाडको फेद र दुई नदीको दोभान, अनि एक तमासको नैसर्गिक एकान्त । अचेल मन्दिरसम्मै बिजुुली र सडकको पहुँच छ । सामान्य पाहुनाघर, स्नानघर, शौचालय, र भान्छाको ब्यबस्था समेत गरिएकोछ । यो  स्थान भावोत्पादक त छ नै, रहस्यमय पनि छ। गाउँबाट यहा पुग्न छोटो पक्की पेैदल बाटो पनि छ ।  यो सानो ऊपत्यकाको खोला किनारमा ऊभिएका बृक्षहरुको लहरदार दृश्य हरिया खेत,हरियो जंगल हुदै शिखरको बनस्पतिबिहिन चट्टानमा गएर सकिन्छ । किम्बदन्ति के छ भने कुमौं ( कुमायू) को अठौति मल्ल भन्ने कुनै बिधर्मी सेना नायकले यस सोराड भेगका देवताहरुसंग पौठेजोरि गर्दै असिम(ससालिंग ) देवतालाइ दोभानमा भए बगाइ दिने धक्कु लगाएको थियो रे । फलत: तत्कालिन युद्धस्थल रहेको ऐचेकाँडाको डाडाबाट असिमकेदार यहाँ सरेका थिए ।
यहाँ मन्दिरको छेवैबाट बग्ने गौबर्धिनि गंगाको शुद्ध पानिमा पादप्रक्षालन गरि श्रद्धालुहरु मन्दिरमा पुग्दछन । लगभग प्रतिवर्ष भारी बरसातका बेला नदिमा पानि भरिए पनि यहाको जलराशि कहिले धमिलो नहुनुलाइ आश्चर्य नै मान्नु पर्दछ ।
यहाँको शिबलिंगलाइ फुटलिंग भनिन्छ । जमिनमा उम्रिएको यो प्राकृतिक प्रस्तर-लिंगको आकारमा यदाकदा बृद्धि पनि हुने गर्छ रे । यसो भएमा बिशेष किसिमको ढुगाबाट यो लिंगलाइ बार्नु पर्ने बिधान रहेकोछ।‍

कुन मौसममा यहाँको यात्रा ठिक हुन्छ?

सामान्यत: शिबजीको दर्शनको लागी पर्ब बिशेष कुरि रहनुु पर्दैन । त्रिगुणातीत भोले बाबाको पुजा पाठको निम्ति कुने बिशेष अनुष्ठान पनि आबश्यक छैन । तर भाद्र र माघ महिनामा पर्ने बिशेष पर्बहरुमा यो यात्रा उपयुक्त हुन्छ । बडा दशै, चैते दशै, गौरा पर्ब,न्वागी(नयाँ अन्न) चढाउने पर्ब या स्थानिय जाँतको बेला परेछ भने अझ राम्रो हुनेछ । श्रावण  महिनामा त बत्ति बाल्नेहरुको लर्कोले यो यात्राको बिशिष्टता बताउछ । प्रतेक औसी, पुर्णिमा र संक्रान्तिमा पनि पुजाआजा चलाइने गरि बि सं १९४५ देखि गुठि ब्यबस्था कायमै छ ।

अन्य दर्शनीय स्थानहरु


मंदिर र यसको वरपर थुप्रै दर्शनीय स्थलहरु छन । आधुनिक सुबिधाहरुको सन्दर्भमा यहाँको यात्रा अप्ठ्यारो मानिन सक्दछ । तर नैसर्गिक प्राकृतिक बाताबरण र पर-पश्चिम नेपालको शानदार प्राचिन संस्कृतिलाइ नजिकबाट हेर्ने अर्थमा यो भ्रमण उल्लेखनिय रहनेछ। ग्वाल्लेकपर्बत केदारको मुख्य बासस्थान हो र बगडाको दोभानमा दर्शनकालागी मन्दिर बनाइएको हो भन्ने यथार्थ केदारको एउटा गिति गाथामा समेत प्रष्ट्याइएकोछ । गीतको बोल भन्दछ,
काँ रे गुसाइका रै राज स्थान , काँ रे रोकिया काला खाम ।
शिखर गुसाइका रै राज स्थान, बगडा रोकिया काला खाम
गुसाई-----बगडा रोकिया काला खाम।।
यो मन्दिर बाहेक मुल गाँउको शिर्षमा समेत फलाँट भनिने रैथाने बृक्षको फेदमा आदिम शिलाहरुबाट मात्र निर्मित केदारको सानो मन्दिर स्थापित छ । गाऊँको दक्षिणको उच्च समस्थली ऐचेकाँणाको मनोरम डाडामा असिमकेदारको पुरानो स्थापना स्थल रहेकोछ । अठौति मल्ल( खपरे )संगको युद्धमा केदारले घुँडा धस्दा पर्न गएका ठुला ठुला खाडलहरुले यो ठाऊको महत्व अझै प्रमाणित गरिराखेकाछन । दाहिने घुँडाले पारेको भिमकाय खाडलको बिचोबिच एउटा गुफा छ । भनिन्छ, यो गुफा सुरनैया किनारको सलेना सम्म पुग्दछ । यस आधारमा यसको लम्बाइ कम से कम दश किलो मिटर हुन आऊछ । गुफाकै आगनमा सानो प्राकृतिक ताल संरक्षणको पर्खाइमा छ । किम्बदन्ति सुनिन्छ, यसैको छेउछाउमा अत्रि अनुसुयाको आश्रमहरु थिए । आश्रमको यज्ञकुण्डबाट निस्किएका भस्माबशेषहरु भसमबाटा भनिने दक्षिणी ढलानमा भेट्टिन्छन रे । पंक्तिकार के ठोकुवा गर्न सक्दछ भने यो स्थानमा पुगे पछि महर्षि अत्रीकै शब्दमा “भाव-बल्लभ भगवान” को चमत्कार देखेर रोमान्चित नहुने कोहि होओइन ।
यस बाहेक हाल यस श्रीकेदारको आलमा बस्ने बडू ब्राह्मणका पुर्खाहरुले लडाइमा मारि धपाएका पुर्बबर्ति मट्टे बडबाब(माटोकाधनी ठुला बाजे)को संझना स्वरुप बनाइएको स्थापना स्थलहरु र सङौणकोटका आततायी ठगुरी लछिचन्दलाइ मारेको स्थान लाछमारे ऐतिहासिक दृष्टिकोणले हेर्न लायक छन । भिन्ना भिन्नै अर्थमा गौबर्धिनी गंगाको शिरो भाग तिर वारिपारि पर्ने दूध जस्तै श्वेत जल बग्ने दुदपोखरि र दुर्घटना भै प्रतेक बर्ष रगत(लोइ अर्थात लहु) बगने भिर(भिटो) या लोइभिटाको महत्व पनि कम नहोला । यसै गरि सुधो गाइले बाघसंग लडाइ गर्दा ढुङ्गामा परेका गाइका पैतालाका छाप(खोज) रहेको गाइखोजको देउरालि होस या खापरे मारी धपाउदाको खुशियालीमा बिजय दुन्दुभि बजाइएको दमाउहाण्णाको डाडो होस, दृश्याबलोकनकालागि राम्रा गन्तब्य हुन सक्दछन ।अतिबृष्टि या अनाबृष्टि रोक्न लौह किला हालिने भन्तोलिको थुम्कोको आफ्नै बिशिष्टता छ। ग्वाल्लेककै दक्षिणि पार्श्वमा रहेका काला चुच्चे ढुङ्गाको लामबद्द लहरदार दृश्यलाइ तालिमे पल्टनको जत्था बताएर पन्ध्रौ शताब्दीका प्रतापि डोटेलि राजा नागी मल्ललाइ तत्कालिन बडू बंश नायक प्रतापदेवले झुक्याएका कथाहरुलाइ ति शिलाखण्डहरुले अझै भनिरहे जस्तो लाग्दछ । मष्टामाणौ,थरौट,कैलपाल स्थान,देवखोली गुफा, बुढिकेदार स्थल जस्ता कतिपय स्थानको बर्णन लेख-बिस्तार भयले यसै खेपमा राख्न नसकिए पनि दुई तीन दिनको पर्यापर्यटनकालागि प्रशस्त मनोरमस्थल हेर्ने मौका एउटै भ्रमणमा भेेेेट्टाउन सकिन्छ ।

हेर्न र बुझ्न लायक धेरै कुरा छन यहाँ

पुराना परम्पराहरुलाइ जिबित राखेका कतिपय प्रथा,परम्परा र रितिरिवाज यहाँ हेर्न पाइने भएकोले यो यात्रालाइ सांस्कृतिक यात्रा समेत भन्न सक्नु हुन्छ । जाँत बरियाँतमा नाचिने छलिया नाच,तरवार नाच, धामी नाच्ने चऽलो, गौरा पर्बमा खेलिने ठाडो खेल, हत्जोण्या खेल, ढुस्को र चाली जस्ता नृत्यहरु एबम् रुनसिङा (रणसिंहा) दमाउ,ढोलङा भोकर र बिकुल जस्ता परम्परागत बाजाहरु यहाँ हेर्न सक्नु हुनेछ। सुरम्य बन प्रान्तरमा बन्य जिबनलाई नजिकबाटै हेर्न पाइने नै हुन्छ। यहाँ आखेट भने परम्पराबाटै बर्जित रहेकोछ।।

खाने र बस्ने ब्यबस्था


साधारण तर पौष्टिक खाना यहाँको अर्को बिशेषता हो । खानपानको परम्परागत तरिकाहरु यहा देखिनेछन। आधुनिक होटेल र रेष्टुराको सुबिधा नपाइए पनि केहि घण्टाको पुर्ब सुचना भए स्थानियहरुले राम्रो खानपिन र बसोबासकोको जोहो मिलाउन सक्दछन । सामान्य होटेल  रेष्टुुुुरा नजिकैका गाउँमा थपिदैछन् । हाल मन्दिर परिसरमा नै अतिथि गृह समेत निर्मााण भएकोछ । होमस्टे संचालन गर्न पनि केही जागरुक युबा जु्मुराउदै छन् । मिठो आतिथ्यबाट लाग्ने मोहिनी यस भेगकै अर्को आकर्षण हो । खानाकालागी सुदुर पश्चिममा प्रचलित कुनै पनि खानाको प्रबन्ध सजिलै हुन सक्दछ।

सत्य, शिब र सुन्दरको खोजीमा यो यात्रा

सुसंस्कृत प्राचिन समाजको महत्व बुझनु छ भने यस्ता अपेक्षाकृत दुर्गम गाऊको भ्रमण अध्येताहरुलाइ राम्रो अबसर हो । सौभाग्य वा दुर्भाग्य, जे भनौ, हाम्रा ग्राम्याञ्चलहरुलाइ आधुनिक सभ्यताले अझै सम्पुर्ण बिदिर्ण गरि सकेको छैन। ग्राम्य पर्यटनले अधिक समय, धैर्य, निष्ठा,श्रम र साधनको माग गर्दछ । बाहनहरुमा गुडेर पाइने झलक भन्दा यो पर्यटनले पाइलै पिच्छे नया जिबन दर्शन दिनेछ । त्यसैले यसको महत्व टुक्रे दृष्यहरुको छायांकन भन्दा समष्टिमा बुझिनु पर्दछ ।
मानसिक शान्ति र आध्यात्मिकतालाइ समग्र स्वास्थ्यको निम्ति अनिर्बचनीय बिषय मानिरहेको समकालिन बिश्वमा भौतिकताको भागदौड बाट केहि दिन टाढा रहन खोज्नेहरुलाइ पनि यस्ता स्थान राम्रा गन्तब्य हुन सक्दछन । पुराना तिर्थयात्राका उपक्रमहरुलाइ पनि नया अर्थमा परिभाषित गर्नु पर्दछ । यहाका बन्य प्रान्तमा अबस्थित पुराना मन्दिरहरुले आधुनिक आश्रमहरु भन्दा फरक र बिशिष्ट उदाहरण दिने हैसियत राख्दछन ।
अधिकांश बाहुन क्षेत्रि र केहि दलितहरु बस्ने यहाँको समाजमा दुइ अढाइ सय बर्षको गोर्खालि सासनले षडयन्त्र र फोस्रा आस्वासनका केहि कथा-अकथाहरु बाहेक थप केहि दिएको जस्तो लाग्दैन । किशोर बयमा स्वत: जुङ्गा उम्रिए जस्तै समयको परिबर्तनका असरहरु देखिने नै भए । यहाँ पनि अचेल नुतन परिबर्तनको हावा बग्दैछ । पुरातन-परम्परा र सुसमृद्ध प्राकृतिक बिबिधताले गर्दा यो स्थान नजानिदो गरी भरिपुर्ण छ । यहाँको पर्यटकीय तिर्थाटन सत्य, शिब र सुन्दरको सन्निकट रहने नै छ । आगन्तुकहरुको स्वागतार्थ यहाँको सिङ्गो समाज तम्तयार भएर पर्खिरहेको जस्तो लाग्छ ।