Monday, September 13, 2010

हाम्रो भाषा भासिदैछ

भाषा- अभिव्यक्तिको माध्यम
नेपाली विकिपेडियाका अनुसार मानव-मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो । भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरुलाई व्यक्त गर्छौं । विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरुको उपयोग गर्छौं ति सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन । प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरुको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। भाषा बिना मनुष्य सर्वथा अपूर्ण छ । भाषा नरहे आफ्नो इतिहास तथा परम्परादेखि विच्छिन्न भइनेछ । सामान्यतः भाषालाई वैचारिक आदान-प्रदानको माध्यम भन्न सकिन्छ।
सन्दर्भ- नेपाली भाषाको
जहाँसम्म नेपालि भाषाको कुरा छ, दार्जिलंगका विद्वान पारसमणि प्रधानले भनेका थिए- नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन । यसलाई बाहुन, क्षेत्री लगायत गरुङ,मगर, र्राई, लिम्बु, नेवार, तामाङ आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मात्तृभाषा भनी अपनाएका छन् । यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ । पहिलेको खस बोली खसभाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा बन्यो । अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेकोछ । यति मात्र होइन भारतका आसाम, मणिपुर, दार्जिलिङ्ग, उत्तराञ्चलको देहरादून, अलमोडा लगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीहरुको लागि यो प्रिय भाषा पनि हो । भारत सरकारले सरकारी भाषा सरह्को मान्यता दिएर नेपाली भाषालाई अन्तराष्ट्रिय स्वरुप प्रदान गरेकोछ ।
बदलिदैछ- नेपाली बोलचाल
भाषा पनि परिवर्तनशील हुन्छ। पृथ्बीनारायण शाहको पालामा वोलिने नेपाली र आजको नेपालीमा धेरै भिन्नता आईसकेकोछ । आजको नेपाली भाषा भोलिको नेपाली भाषा भन्दा निकै पृथक होला । अहिले नै पनि गाउँघरमा वोलिने नेपाली भाषा र शहरमा वोलिने नेपाली भाषा विचमा अन्तर देखा पर्न थालेको छ। यस्तो लाग्छ सहरको नेपाली गाउँमा बुझिदैन र गाउँको नेपाली सहरमा वुझिदैन। यसकालागि बेग्लै लेख तयार हुन सक्दछ । तर कुरा के हो भने नेपालीमा अन्य भाषाको प्रतिकुल प्रभाव पर्न थालेको छ।
आजको नेपाली भाषाको रुप हेरौ । राम्रो स्कुलमा पढेको होनहार नेपाली छोरोको भाषाको आमस्वरुप बडो बिद्रुप देखिन्छ । जस्तै- "मम्मी, आजको ''ईक्जाम'' राम्रो हुन सकेन,कस्ता हार्ड ''कोइसनहरु'', ''सल्भ'' गर्न नै सकिन। सरले ''पास''सम्म गराउलान् भन्ने ''होप'' त छ तर मलाई विस्वास नै छैन कि ''आई विल पास'' के। त्यसैले आज ''आई एम सो स्याड'', माँम"। यसता अधकल्चो प्रयोगले मलाई असाध्यै चित्त दुखाउछ । वाक्यहरुमा अंग्रेजी मिसिनु अब अनौठो हैन । अंग्रेजीभाषाका शव्दहरु नराखी वोल्ने हो भने असहज लाग्छ सक्छ । तर भाषाको यो दुर्गतिले हाम्रो हालत के होला ? अनुमान कहालि लाग्दो देखिन्छ ।
सन्दर्भ-मेरो मातृभाषाको
मेरो पितृभुमी र मेरो मातृभाषाको सन्दर्भमा बोल्नु पर्दा सुदुर पश्चिमान्चल नेपाली भाषाको मूल जन्मथलो मानिन्छ । यहाँको भाषामा प्रयोग हुने शब्दलाइ स्थानिय उच्चारणमा नै लेख्दा अधिकांश ब्यञ्जनान्त् र थोरै अकारान्त् शब्द देखिन्छन् । नेपालि भन्दा फरक मानक, अन्त्य स्वर लोप हुने प्रबृति र ला प्रत्ययमा संभाबनात्मक संकेत देखिनु यस भाषाका टडकारा बिशेषता हुन् । यस भाषाका शब्द र वाक्यमा ध्वनिगत, अर्थगत र ब्याकरणगत बिलक्षणताहरु छन । संस्कृतबाट प्राकृत हुदै खस भाषा बनेको सन्दर्भमा पर पश्चिमेली भाषालाइ खस भाषाको बरद र बिकसित स्वरुप भन्न मिल्छ । जुनसुकै भाषाका पनि स्थानिय भेद र परिष्कृत स्वरुप हुन्छन । नबौ शताब्दिमा डोटिबाट पुर्ब सरेका सिजालि,गोरखालि र नेपालि भाषाको माउभाषा भएकोले यो मानक नेपालि भाषाको आधार पनि हो । बिक्रमको पाँचौ देखि नवौ सम्म कालखण्डलाइ यो भाषाको निम्ति अपभ्रंश भाषा काल या प्रबुध्द काल पनि भनिएकोछ । यस भाषाका सामान्य अन्तर सहित कतिपय स्थानिय भेदहरु छन । बोलचालमा समस्त पर पश्चिमेलि भाषा भन्डारलाइ डोटेली भाषा भनिने गरिएकोछ । बिशिष्ट मनोभावलाइ अभिब्यक्ति दिन समर्थ रहेका सुदूर पश्चिमको भाषाभण्डार राष्ट्रकै सम्पदा हो । मानबीय संबेगको सुक्ष्मतम मनोदशालाइ समेत भाषाको माध्यमले संप्रेषण गर्नमा यि शब्द-संपदा सर्बत्रका लागि अनुकरणिय र संग्रहणिय हुन सक्दछन । मलाइ नेपालीमा यसता मानवीय संबेगको ठ्याक्कै अभिब्यक्ति दिनसक्ने शब्दहरुको ज्ञान छैन । नेपालीमा यस्ता शब्दहरुको प्रयोग भएमा राष्ट्रभाषाको श्रीबृद्दि नै हुनेछ । जस्तै-गुगुल्डी( अतृप्त आकांक्षा ),उचटा (दिकदारि), छुद्दी(सानो कुरामा नियत डगाउनु),झ्यारी(आक्रोश),निफ्फि(था्म्नै नसकिने आक्रोस,नाकका पोरा फुलाएर ब्यक्त आक्रोस), झुक्कुर(मनको थाम्न नसकिएको बेदना),झस्को(चस्को, झझल्को,शंका),होस्को(अर्काको देखासिकि) , दमदमी( के गरौ,कसो गरौ लागेको ), झलेलि( केहि गर्न नसकेकोमा जिउ चिलाएको जस्तो भएको), दचौका (कुराबाट मनभित्र गरिएको चोट ),झिजोण (ससानो पिरलो),नकचोडाइन( अस्विकृतिबोधक तरिकाले नाक खुम्च्याएको) आदि ।
चुनौति-भाषा संरक्षणको
वास्तबमा भाषा भन्ने कुरा पनि विचित्रको छ । आफ्नो कुरा अरुलाई सुनाउन, अरुको कुरा सुन्न भाषाको प्रयोग हुन्छ। अझ मातृभाषाको महत्वको त कुरै नगरौ। संवेदनाहरु पोख्नको लागि मातृभाषा भन्दा अरु कुनै भाषा सहज हुन्छ जस्तो लाग्दैन। दोस्रो भाषा भनेको दोस्रै हुन्छ, जति नै जाने पनि सवैकुरा व्यक्त गर्न सकिदैन ।
आजकल गुन्युचोलो लगाउने महिलालाई, भोटो लगाउने किसोरीहरूलाई सहर वजारमा वस्ने उन्नत जातका लुगा लगाउनेहरूले “पाखे” भन्न थालेका छन। तर त्यो नेपाली महिलाहरूको राष्ट्रिय पोशाक हो। यि उन्नत जातको लुगा लगाएर अंग्रेजी भाषाको अभ्यास गर्नेहरूले भोली आफ्नो राष्ट्रिय भाषा वोल्नेलाई पनि “पाखे” वा त्यसको समकक्षी अंग्रेजी शव्दको प्रयोग नगर्लान भन्ने के तर्क छ? डोटेली भाषामा आमाकोनिम्ति प्रयोग हुने “ईजा” शव्दलाई धेरै सम्मानित मानिन्थ्यो। त्यस्तै भाइ बैनीहरुलाइ बुदि भनिन्थ्यो । तर अहिले ईजा वा बुदि भन्ने शव्दको उत्तर खोज्न उहिलेका कितावका पाना पल्टाउनु वा वुढापाकालाई सोध्नु वाहेक तेश्रो बिकल्प छैन। भोली आमा भन्ने शव्दको पनि त्यही हालत हुने छ। 'ह्वाट इज आमा ?' भन्ने छन हाम्रा भावी पुस्ताहरूले। यो कल्पना मात्र पनि डरलाग्दो छ ।

आज हरेक मान्छेहरु अदृस्य बन्धनले बाँधिएका छन। फुत्कन खोज्यो,झन झन पासोमा परिन्छ। यस्तो अबस्थामा कोहि पनि रमाउन सक्दैन ।त्यसकारण समयमै नेपाली भाषीहरूले भाषा संरक्षणका लागि पहल गर्नु जरुरी छ। डलर पुगे पछि स्थानिय संस्कृति नाश हुने प्रबृति नेपालमा छ । त्यो नहोस भन्नेतर्फ सतर्क हुनु पर्ने बेला आएकोछ । गैससकर्मीहरूले पनि अव प्लान होईन योजना वनाउन जान्नु पर्छ, ब्रेकफास्ट-लंच-डिनर होइन, खाना खान जान्नु पर्छ। राजनीति गर्नेहरूले पनि ग्राइन्ड डिजाइन वा फ्युजनको नेपाली अर्थ बुझ्न सक्ने नेपाली उत्पादन गर्न सक्नु पर्छ,.होइन भने चुनौतीका रुपमा रहेको भाषिक हस्तक्षेपले नेपाली भाषालाई निल्ने छ।

Monday, September 6, 2010

म एउटा भ्रम बाँच्दैछु


हाम्रा पुराना ग्रन्थहरुमा अचंभका कथाहरु पढन पाइन्छन् । देबर्षि नारदलाइ एकपल्ट आफु सारै सुन्दर छु भन्ने भ्रम परेछ । कुनै सुन्दरीको स्वयंवरमा आफुलाइ योग्य बर सम्झि उनले भाग लिएका रहेछन । तर बरमाला अरुले नै पाएपछि पानिमा छाया हेर्दा उनको अनुहार त बानरको जस्तो पो रहेछ । यथार्थमा सुन्दर अनुहारको बरदान माग्दा भ्रम-तत्वको ज्ञान दिन उनलाइ बानरको स्वरुप दिइएको रहेछ । जीवन भ्रम हो भन्ने गहिरो कुरा बुझाउनका लागि यस्ता कथाहरु रचिएका होलान ।

मलाइ लाग्छ, गोल सुडौल, स्वस्थ र श्वेत स्वरुपलाइ सुन्दर र बानरको झुसी चाउरे रातो मुहारलाइ असुन्दर भन्नु पनि त भ्रम हो । जिबनलाइ आआफ्नो परिभाषामा अल्झ्याएर राखिएको हुनाले महाभारतमा जिवनको अस्थायिपन नबुझनुनै सबभन्दा आश्चर्यको कुरा हो भनेर यक्ष युधिष्टिर सम्बादमा बोलिएको छ ।

हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ यसै प्रश्नको अल्झोमा म अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै विषयहरूमा फसिरहेको छु । तर “जे फुल फुल्यो तेइ रामणो जे खायो तेइ मिठो” (जुन फूल फक्रिन्छ त्यहि राम्रो हो र जे खाइन्छ त्यै मिठो हो ) मान्ने लोकबाङमय को सम्यक दर्शन ले मलाइ सम्झौता गर्न सिकाइ रहेको हुन्छ ।

हामी आफूलाइ चेतनसिल प्राणी भन्दछौ । यहि चेतना वा ज्ञानकै माध्यमले साँचो र झुठो थाहा पाउछौं। तर जीवनमा एक ठाउँमा उभिएर एउटा सत्य स्वीकारेको तथ्य अलि पर पुगेर हेर्दा अर्कै देखिँदो रहेछ । अझ अलि पर गएर हेर्ने हो भने दृश्यको अर्कै पाटो देखिँदो रहेछ- झन् अर्को सत्य । यात्रामा हिँडेको यात्रुले हिँड्दाहिँड्दै दृश्यचित्र बदलिँदै गएर रोमाञ्चकता थपिएजस्तो जीवन पनि उमेरको प्रवाहमा बगेर जतिजति पर पुग्छ, त्यतित्यति नै सत्यको रूप, आकार र अर्थ बदलिँदो रहेछ । यात्रा अर्थपूर्ण लागेजस्तै जीवन पनि झन्झन् रोमाञ्चक र अर्थपूर्ण लाग्दै जाँदो रहेछ । यसरी निरन्तर हामी भ्रमलाई सत्य र सत्यलाई भ्रम ठानेर बेकारमा मक्ख पररिहन्छौँ, रुन्छौँ, झगडा गर्छौं र दौडन्छौँ, रमाउँछौँ ।

सत्य र भ्रमका सम्बन्धका बारेमा गहिरन थालेपछि कहाँनेर सत्य सकिन्छ र भ्रमको प्रारम्भ हुन्छ अथवा कतिबेला भ्रमको अन्त्य हुन्छ र सत्यको प्रकाश आलोकित हुन थाल्छ भनेर विचार गर्दा झन अलमलमा परिन्छ। कहाँकहाँ सत्य र भ्रम दुवै सँगसँगै हिँड्छन् र कहाँ ती दुवै मिसिएर एकाकार हुन्छन् भनेर छुट्याउनु बर्षातको बेला लेकाली जंगलमा कुहिरोको सिमारेखा निर्क्यौल गर्नु जस्तै हो। यसरी जतिजति सोच्तो रहेछु, त्यतित्यति नै अलमलिएर भुमरीमा घुमिरहेको हुन्छु । भ्रम र सत्यको बीचमा त्यस्तो स्पष्ट सीमारेखा देख्दिनँ । तर, हामी यात्रुहरू भने यात्रामा हिँडिरहँदा कहिले बीचबाट, कहिले अलि दायाँ ढल्कँदै र कहिले अलि बायाँतिर पनि ढल्कँदै बिभिन्न दृष्टिकोण तयार पार्दछौ ।

जीवन अनुभवहरूको संग्रह हो भनेर मैले आजसम्म मानिआएको छु । अनगिन्ती विषयहरू छन् जीवनमा, जसलाई हामी जान्न चाहन्छौँ , भोग्न चाहन्छौँ र रङ्गीन चाहन्छौँ । यही चाहनालाई जिजिविषा अर्थात जिबन प्रतिको भोक मानिन्छ । यसैले मान्छेलाई उफार्छ, थेचार्छ, दौडाउँछ र भगाउँछ । भाग्दाभाग्दै, उफ्रिंदा-उफ्रिंदै, रमाउँदा-रमाउँदै र दुःखी हुँदाहुँदै जीवन छोटिँदै जान्छ ।

जिवनमा कतिपय यस्ता अवस्थाहरू पनि आउँदा रहेछन् जतिबेला कठोर परीश्रम, सीप र रुपियाँ खर्चेर आर्जेको ज्ञान र विवेक, मन र भावनासँग पराजित भइदिँदा रहेछन् । यस्तो बेलामा कुन बलियो हो कुन कति सत्य हो भन्नेबारेमा अलमल उत्पन्न हुन्छ । मान्छे उमेरले वृद्ध हुन्छ र एकदिन उमेर पुगेपछि जान्छ । तर, जब पर्छ, त्यसबेला त्यो ज्ञान र विचार भन्ने कुरा छुमन्तर हुदोरहेछ। आफूलाई साथ दिने त तिनै संवेदना, भावना र भावुकता मात्रै रहेछन् । भावनाको यहि बाढीमा आंशिक सत्य मिसिएका भ्रमहरू पनि पर्दारहेछन् । मान्छे भन्नु वास्तवमा यहि शरिर, भावना, संवेदनाको योगफल हो ।

समय गतिवान हुँदा सपनाले अङ्कुराउने ठाउँ पाउछ । सपनाको खेति गर्न हामीसँग 'माया'हरू छन् । त्यसैले हामी हिँड्दाहिँड्दै पनि, जाँदाजाँदै पनि, बन्दाबन्दै पनि र भत्कँदाभत्कँदै पनि रमाइरहेका हुन्छौँ । थकाइ र गुनासाहरूका बीचमा पनि धेरै त सन्तुष्ट नै हुन्छौँ । कहिलेकाहीँ मनमा कुरा खेल्छ, जीवनमा भ्रम नभइदिएको भए जीवन कस्तो हुन्थ्यो होला । जताततै माया नै माया भएको मायिक यथार्थमा मायालाइ इश्वर भन्दा बलियो किन नमान्ने भन्ने चार्वाकीय दर्शन मनन योग्य छ ।

हिरण्यमयेन पात्रेन सत्येनाबिहितम् मुखम् भन्ने एउटा दर्शन सम्झन्छु । अर्थात सत्य भित्र सारमा हुन्छ र भ्रम भनेको सत्यको बाहिरी आवरण मात्र हो । यस भनाइ उपर विचार गर्दा पनि लाग्छ सत्य एकदम नांगो हुँदा होइन तर केही आवरणले छोपिँदा सुन्दर र अझ सर्वश्रेष्ठ हुन्छ । हामी जीवनलाई सुन्दर बनाउन चाहन्छौँ र सर्वश्रेष्ठ तरिकाले बाँच्न चाहन्छौँ । यसप्रकार जीवनमा सत्य र भ्रम दुवै आवश्यक हुँदा रहेछन् । यी दुवै मात्रात्मक हिसाबले कति चाहिन्छ भन्ने निष्कर्ष निकाल्न गारो छ । त्यसैकारण हरिभक्त कटुवालले “सपनाहरु खोसेर लैजाने बिहानीलाइ अर्को सलाम” दिएका होलान । सलाम यो मायालाइ, यो जिन्दगी लाइ । सलाम यो सत्यलाइ र भ्रान्तिलाई ।।