Sunday, March 30, 2014

काकाकुल सुदूर


 
( चित्रांग थापा, डीआर पंत, अर्जुन शााह, खगेन्द्र अवस्थी, भवानी भट्ट, मोहन वुढाऐर ; चैत्र १५, २०७०- कान्तिपुर )
गर्मीयाम सुरुवातसँगै सुदूर पहाडी भेगका गाउँबस्ती र तराईको चुरेफेदीका फाँटहरूमा पानीको हाहाकार हुन थालेको छ । हिउँदभरि जेनतेन पानी आउने धारा र कुवाका मूलहरू चैतदेखि विस्तारै सुक्दै गएका छन् । यही कारण केही गाउँबस्ती पानीकै कारण बर्सेनि मानवरहित हुन थालेका छन् ।
खेतीपाती, सिँचाइ र अन्य प्रयोजनका लागि त परै जावस् खानेपानीसमेत नपाउने अवस्था आएपछि कतिपय पहाडी क्षेत्रमा पूरै बस्ती नै बसाइँ सरेको छ । गाउँनजिक पानीको स्रोत सुक्दै र मासिँदै जाँदा खानेपानीका नयाँ आयोजना सञ्चालन सम्भव हुन सकेको छैन । पुराना आयोजनाहरू मूल सुक्दै गएपछि बन्द भएर ग्रामीण बस्ती काकाकुल हुन पुगेको हो ।
सुदूर पहाडको सुगम मानिने डडेलधुरामात्र होइन कर्णाली, सेती, महाकाली, बूढीगंगाजस्ता ठूला नदी र सयौंको संख्यामा मझौला र साना नदी बग्ने सुदूरपश्चिमका मध्य पहाडी क्षेत्रका अन्य जिल्लामा पनि पानीको चर्को समस्याले विस्थापन र बसाइँसराइ बढाएको हो । 'महाभारत पर्वत शृंखला नै मध्य पहाडको पानीको मूल स्रोत हो,' २७ वर्षदेखि सुदूर पहाडका जिल्लामा खानेपानीको काम गर्दै आएका पानी विशेषज्ञ परिक्षित श्रेष्ठ भन्छन्, 'सही व्यवस्थापन हुन नसक्दा समस्या गम्भीर बन्दै गएको छ ।'
 'तराईमा बढ्दै गएको जनसंख्याको चापका प्रमुख कारणमध्ये मध्य पहाडी क्षेत्रमा पानी समस्या पनि एक हो,' श्रेष्ठले भने, 'सरकारले एकीकृत जलस्रोत व्यवस्थापन नीति बनाउन नसक्दा यी बस्ती खानेपानीविहीन बन्दै गएका हुन् ।' 'भविष्यको पुस्तालाई कहाँबाट पानी ल्याउने ?' ग्रामीण जलस्रोत व्यवस्थापन कार्यक्रमका सुदूरपश्चिम हेर्ने प्राविधिकसमेत रहेका श्रेष्ठ भन्छन्, 'गाउँगाउँमा बिनाकुनै प्राविधिक सर्भे ठूला उपकरण प्रयोग गरी बनेका सडक, चर्को रूपमा हुने वन फँडानी र भूबनोट नै खल्बलिने गरी हुने निर्माण योजनाले भूमिगत जलस्रोत व्यवस्थापन हुन नसक्दा समस्या गम्भीर बनेको छ ।'
खानेपानीका लागि सर्छन् बस्ती
डडेलधुरा, डोटी र बैतडीका कतिपय गाउँबस्ती खानेपानी समस्याले विस्थापित हुन्छन् । डडेलधुराको बगरकोट गाविसको पोखरी र बुर्साका जनजाति परिवार पानीको समस्याले विस्थापित हुन थालेका छन् । मूलस्रोत मानिने महाभारत पर्वतको मध्यभागको यो गाउँसँगै पानी अभावले बसाइँसराइ गर्ने गाउँहरूको सूची लामो बन्दै गएको छ ।
आलीतालको न्वाली होस् या जोगबुढाको मलास क्षेत्रका आधा दर्जन गाउँ, शीर्षका पहाडी क्षेत्रका बसौटी, ग्वानी, सुर्काल, लदौलीलगायत लेक क्षेत्रका गाउँसमेत पानीकै कारण मानवरहित हुन थालेका छन् । 'पुर्खाले खोरिया फाँडेर बनाएको यो बस्ती पानी नभएर छोड्नुपर्ने भयो,' जनजातिका अगुवा जंगबहादुर थापा मगरले भने, 'दस वर्षयता महाभारत पर्वतका पानीका मूल एकाएक सुक्न थाले ।' कोही तराई ओर्लिए कोही भित्री मधेस छिरेको थापा बताउँछन् । खेतीपाती सिँचाइ हुने कल्पना त कसैले कहिल्यै गरेनन्, काकाकुल भएपछि गाउँ छोड्न बाध्य हुनुपरेको उनले बताए ।
केही परिवार ठूलीगाड नजिक सरेका छन्, केही परिवारचाहिँ अन्यत्र बसाइँ सरे ।
गर्मी बढेसँगै डोटीको लक्ष्मीनगर गाविस ८ थली गाउँका बासिन्दालाई छटपटी बढ्न थाल्छ । गाउँमा पानीका मुहान भटाभट सुकेका छन् । गाउँबाट आधा घन्टाको दूरीमा खोप्चे पानी र पूर्वेली मुहान भए पनि पर्याप्त छैन । झिसमिसे बिहानैबाट स्थानीयवासी मुहानबाट चुहिने थोपा संकलन गरेर मध्य दिनमा र्फकन्छन् । वैशाख, जेठमा त त्यही थोपा पनि झर्दैन ।
त्यही समस्या झेल्न नसकेर चैत वैशाखमा थली गाउँको पूरै बस्ती सरेर ठूलीगाड र्झछ । पानीकै कारण बस्ती सर्न थालेको चार दशक भएको स्थानीय ऐनबहादुर रोकामगर सुनाउँछन् । 'पानीका लागि कसको खुट्टा ढोगेनौं, कुन नेता कहाँ पुगेनौं,' उनले चित्त दुखाउँदै भने, 'दशकौंदेखि हाम्रा समस्या उस्तै छन्, हाम्रो पुस्ता त दुःखमै बित्यो, सन्ततिले कष्ट भोग्दैछ ।'
३६ परिवार बसोबास गर्ने गाउँमा ०५८ तिर हेल्भटासले वर्षातको पानी जम्मा गर्ने घैंटा बनाइदिएको छ । तर चुहिने भएकाले वर्षात सकिएसँगै पानी हाहाकार हुन्छ । त्यसो त यो पानी पिउन त्यति योग्य नभएको स्थानीयवासी बताउँछन् । ठुलीगाडमा बस्ती सरेका बेला गाउँमा घर कुर्ने बुढापाका तथा अशक्तमात्र बस्ने गर्छन् । खोलामा बसाइँ सरेका आफन्तले थलीगाउँमा बसेकालाई दुई/तीन दिनमा भाडामा पानी बोकेर पुर्‍याइदिन्छन् । यो अस्थायी झुपडीमा उनीहरू चार/पाँच महिना बस्छन् ।राजमार्ग आसपासमा उही समस्या
बझाङ, बैतडी र दार्चुला प्रवेश मार्गको खोड्पे बजारमा ६० होटल व्यवसायी र १ सय ५० भन्दा बढी परिवारको खानेपानी स्रोत एकमात्र ढुंगेधारा हो । त्यो पनि सुक्दै गएको छ । गाडीमा अन्यत्रबाट पानी ल्याएर व्यवसाय गर्नुपरेको होटल सञ्चालक इन्द्रसिंह बोहरा बताउँछन् । 'पानीकै समस्याले विस्थापित हुने अवस्था आइसक्यो,' उनले भने । पानी अभावमा यात्रु पनि उत्तिकै सास्ती खेप्दै आएका छन् । पिउनसम्म पानी अभाव हुन थालेपछि होटलमा ग्राहक राख्न छाडिएको छ । शौचालय प्रयोग गर्न पनि नपाएको गुनासो गरेका छन् ।
बैतडीको खोड्पे, श्रीभावर, सतबाजलगायतका व्यापारिक स्थलमा पानीको चर्को समस्या छ । निर्माण भएको एक वर्षमै खानेपानी योजना बिगि्रएपछि दार्चुला-बैतडी प्रवेश मार्गको सतबाज चौराहा बजारमा हाहाकार छ । सतबाजमा योजना बनेको वर्ष दिनमै बिगि्रएपछि १५ होटल र त्यत्तिकै संख्यामा व्यापारीसहित बासिन्दा समस्यामा परेका छन् ।
व्यवसायी पलायन हुन थालेका छन् । पुरानो मुहानमा पानी घट्दै जानु र जनसंख्या बढ्नु अभावको मुख्य कारण भएको खानेपानी तथा सरसफाइ कार्यालयले जनायो । जिल्लामा भएका ३५ प्रतिशत पानीका मुहान सुकिसकेका छन् । ६५ प्रतिशत घरधुरीले व्यवस्थित खानेपानी पाएको तथ्यांक भए पनि आधाजसो योजनामा नियमित आपूर्ति हुँदैन ।
दुर्गम पहाडी जिल्ला बाजुराका थुप्रै बस्ती पानी नपाएर काकाकुल बनेको छ । कोल्टीको सिराडीका झन्डै ६० परिवारले खानेपानी लिन घन्टौं हिँड्नुपर्छ । सदरमुकाम नजिकैको घाघर गाउँ पनि यो अवस्थाबाट टाढा छैन । वर्षौअघि मुहानमा पहिरो गएपछि ४३ परिवार डेढ घन्टा हिँडेर बूढीगंगा किनार धाउँछन् । खानेपानी कार्यालयको पुरानै तथ्याङ्कमा कुल जनसंख्याको ८४ प्रतिशतले सेवा पाएका छन् । यो तथ्याङ्क भने अद्यावधिक छैन । 'अहिले कति प्रतिशतले पानी पाएका छन् भन्ने सर्वेक्षण भएको छैन,' कार्यालय प्रमुख घिमिरेले भने । 'गाउँमा धारा छन् पानी आउँदैन,' खानेपानी सरसफाइ स्वच्छता समन्वय समिति सचिव शेरबहादुर शाहीले भने ।
८० प्रतिशत मूल सुके
'गाउँमुनि दुई-दुई वटा खोला बग्छन् । गाउँमा भने जहिल्यै पानीको हाहाकार छ,' जिल्लाकै सुगम मानिने डडेलधुरा बगरकोट डुंगरीका नरबहादुर साहु भन्छन्, 'पानीकै समस्याले त्यो गाउँमा छोरी नदिनु भन्ने उखान बनेको छ ।' दस वर्षयता यो गाउँमा विभिन्न निकायबाट १ करोडभन्दा बढी खानेपानीमा खर्च भएको छ । समस्या जस्ताको तस्तै रहेको साहुले बताए । खानेपानीको समस्याले मोटर, बिजुली, विद्यालयजस्ता सुविधा भएको गाउँ रित्तिँदै छ ।' वारिपारिको डाँडाका बस्तीमा अझै बिचल्ली छ । २७ किलोमिटर टाढाको मूलबाट खानेपानी जोहो गरेका भागेश्वर बोगटाका दानबहादुर ऐडी पनि गाउँका गाउँ रित्तिने प्रमुख कारण पानी भएको सुनाउँछन् । 'सरकारले मध्य पहाडबाट विस्थापन र बसाइँसराइ रोक्न निर्माण सुरु गरेको मध्य पहाडी लोकमार्ग र त्यो बीचमा दसवटा नयाँ सहरको कल्पना पनि सार्थक हुन सक्दैन,' पानी विज्ञ श्रेष्ठले भने, 'सिँचाइ, खानेपानी, कृषि, योजनाहरूको एकीकृत रूपमा काम नहुँदासम्म समस्या समाधान हुन सक्दैन ।' अहिले देखिएको मूल अर्को वर्ष बाटो परिवर्तन गरेर गायब हुन्छ । युगौंदेखिका मूल ८० प्रतिशत बढी सुकिसकेका छन् ।
मूल सुक्ने कारण
अव्यवस्थित बसोबास र वन फँडानी
कैलालीस्थित खानेपानी डिभिजन इन्जिनियर गणेश उपाध्याय पनि जंगल फँडानी र अव्यवस्थित पानीको प्रयोगले समस्या बढ्दै गएको बताउँछन् । मुख्य गरी चुरे माथिको जंगल सखाप हुनु, महाभारत रेन्जका सल्लाका घना जंगल मासिनु र मापदण्डबिना हेबी इक्युमेन्ट प्रयोग हुनुले मूलहरू जमिनमै गायब हुन थालेका छन् । 'कतै मूल सुक्दैछन् भने कतै जमिनभित्रै बाटो परिवर्तन गरी हराए,' उपाध्यायले भने, व्यवस्थापनको पाटो कमजोर बनेर समस्या उत्पन्न भएको हो ।
 दार्चुला सदरमुकामलगायत ग्रामीण क्षेत्रमा समेत खानेपानीको चर्को समस्या छ । यो वर्ष महाकाली नदी र अन्य खोलामा आएको बाढीले बगाएपछि झन् अभाव भएको हो । ५० प्रतिशत घरधुरीमा पुगेको व्यवस्थित खानेपानी अहिले ३० प्रतिशतभन्दा बढीले प्रयोग गर्न पाएका छैनन् । बाढीले हिकिला, हुती, नौगाड, मर्मा, खार, लाली, उकु, महाकाली नदी किनारका ५६ मुहान बगाएको खानेपानी कार्यालयले जनायो ।
तराईमा पनि बेहाल
कञ्चनपुरको भीमदत्त नगरपालिकामा खानेपानी योजना सुरु भएको ३४ वर्षसम्म ४ वडामा मात्रै पुगेको छ । लाइन विस्तारको स्पष्ट नीति र बजेट अभावका कारण सबै वडामा स्वच्छ खानेपानी पुग्न नसकेको हो । नगरपालिका क्षेत्रमा ०३६ देखि लाइन विस्तार गर्ने योजना सुरु भए पनि अहिलेसम्म ३, ४, ६ र १८ वडामा मात्रै विस्तार भएको छ ।
संस्थानले हाल दैनिक ६० लाख लिटर खानेपानी उत्पादन गरे पनि लाइन विस्तार नहुँदा १ लाख ८० हजार लिटरमात्रै खपत भएको छ । लाइन विस्तार भएका ४ वडामा मात्रै दैनिक १६ देखि १७ लाख लिटरसम्म माग हुन्छ । तर लाइन मर्मत अभावमा मागअनुसार पूर्ति गर्न नसकिएको प्राविधिक अधिकृत हरिकुमार श्रेष्ठले बताए । 'लाइन नभएकै कारण उत्पादित पानी खेर गइरहेको छ,' उनले भने । कञ्चनपुरको कुल जनसंख्याको ८७ प्रतिशतले मात्र पानी पाएको कार्यालयले जनाएको छ । चुरे फेदीका बस्तीमा भने पानीको हाहाकार नै छ ।
कैलालीमा पानीको समस्या अधिकांश चुरे क्षेत्रका बस्तीमा छ । सहजपुर, निगाली, मोहन्याल, खैराला गाविसका पल्टुडे, भासुलगायत केही वडा र गाउँको बस्तीमा पानीको स्रोत नै सुकेको छ । स्रोत नसुकेको ठाउँमा चुना र बाढी तथा पहिरोको समस्याले पानी धारामा नियमित बगाउन नसकिएको खानेपानी कार्यालयका प्रमुख काशीनाथ भट्टले बताए । कैलालीका ७ प्रतिशत बासिन्दामा अझै खानेपानीको योजनामा पहुँच हुन सकेको छैन । गोदावरी गाविसमा पर्ने चुरे फेदीको ओलानी गाउँमा वर्षौंदेखि पानीको हाहाकार हुने गरेको