( साभार- रोसन शेेरचन, कान्तिपुर ; पुस २५, २०७१-)
ओ प्रिय लेखकहरू, काठमाडौंबाहिरका तिमीहरू आफ्नो उन्नतिका निम्ति काठमाडौं आउँछौं कि आत्महत्या गर्न ? उन्नति गर्न नै आएका हौ भने तिमीहरूलाई उन्नतिको कारक बनिदिने देउता हन्छ कि राक्षस ? चर्चित निबन्धसंग्रह सोह्र साँझ का लेखक गोविन्द वर्तमानले मेरो निबन्धसंग्रह धोबीघाट एक्सप्रेस को पाण्डुलिपिमा यस्तो प्रतिक्रिया लेख्नुभएको थियो । संग्रहको एउटा निबन्ध काठमाडौं ः राक्षस खाल्टो प्रति उक्त प्रतिक्रिया लक्षित थियो । सुरुमा त मलाई पत्यारै भएन । मैले त्यस्तो प्रतिक्रियाको आशा गरेको थिइनँ । म झस्कें । पाण्डुलिपिमा प्रतिक्रियास्वरूप लेखिएका रातो मसीका उक्त हरफहरू ह्वारह्वार्ती बलिरहेझैं मानें । काठमाडौं ः राक्षस खाल्टो निबन्धमा मैले काठमाडौं उपत्यकालाई राक्षसखाल्डो भनेको थिएँ । काठमाडौंको चरित्रलाई दानवसँग दाँजेको थिएँ । काठमाडौंप्रति रिस पोखेको थिएँ । झोंक फेरेको थिएँ । तितो पोखेको थिएँ । तितो बिषकै स्तरमा थियो कि ? निरंकुश, चिसो र केन्द्रीकृत भन्दै काठमाडौंलाई सत्तोसराप गरेको थिएँ । धेरै स्रष्टाहरूले काठमाडौंलाई, काठमाडौंवादको रूपमा गाली गरिरहेको सन्दर्भमा म पनि त्यही लाममा उभिएको देखेर वर्तमानलाई सहिसक्नु भएनछ सायद । उनी काठमाडौंलाई सत्तेसराप गर्नेहरूको विपक्षमा सार्वजनिक रूपमै उभिन्छन् भन्ने मैले सुनेको थिएँ तर भोगेको थिएन । त्यो दिन राम्ररी भोगें । अर्थात् नराम्ररी नै भोगें । वर्तमान दाइको प्रश्न थियो, काठमाडौं किन राक्षस ? किन खराब ? के काठमाडौंको चरित्र एकपक्षीय मात्र छ ? मैले आफ्नो तर्क राखें । तर, उनको धारणा थियो- राक्षस भनेपछि त्यसले खराब, दुष्ट, क्रूर चरित्र नै इंगित गर्छ । आफैंसँग चित्तबुझ्दो तर्क नभएपछि, मनमा कतै लाग्यो, अलि आवेशमा लेखिएछ कि ? उनको रिस नथामिने देखेपछि मैले भनें, तपाईलाई त्यस्तो लाग्छ भने, त्यो निबन्धलाई म केही समय परीक्षणकालमा राख्छु । तपाईको विचार सही लागे पुनर्लेखन गरुँला । नत्र संग्रहमा राख्छु । मैले भन्न सक्ने त्यति नै थियो । त्यसपछि संग्रहका विषयमा सामान्य कुराकानी गरी पाण्डुलिपिको ठेली लिएर फर्कें । ठूलो अहम् धक्का अनुभव भइरहेको थियो । त्यसको केही समयपछि मनमा लस्कर प्रश्नहरू देखिए । लेखकहरू ठूलो सहरसँंग किन आफ्नो असन्तुष्टि पोख्छन् ? किन विद्रोहभाव वा विग्रह राख्छन् ? के यस्तो हाम्रो देशमा मात्र हुन्छ ? कि अन्य देशमा पनि ? यसमा लेखकको कस्तो मनोविज्ञानले काम गर्छ ? वा लेखकको मनोविज्ञानलाई त्यस्तो बनाउन सहरको अर्थराजनस्तिक, सामाजिक, सांस्कृतिक संरचनाले कसरी काम गर्छ ? सन्तुष्टि वा विग्रहभावमा मनोगत आवेगहरू बढी छन् कि वस्तुगत तथ्यहरू ? बग्रेल्ती प्रश्नहरू तँछाडमछाड गर्दै आए । सायद यी प्रश्नहरूको विवेचना एकै ज्ञानप्रणाली -डिसिप्लिन) अन्तर्गत रहेर गर्न नसकिएला । सम्रग र वस्तुपरक निष्कर्षको निम्ति बहुज्ञानप्रणाली नै आवश्यक पर्ला । काठमाडौंको केन्द्रीकृत राज्य प्रणाली र निरंकुशतालाई मैले पनि गाली गरे । सरापें । मस्तिष्कहरूको मृत्यऽमा त उपमा दिदै भने- मैथुनजस्तो काठमाडौं । असहमति राख्नेहरूलाई प्रस्ट्याउँदै भनें- काठमाडौंलाई हैन, काठमाडौंवादलाई हिर्काएको हुँ । सिंहदरबारलाई हानेको हुँ । फोहोरी राजनीतिलाई हिर्काएको हुँ । मानौं राजनीति निश्चित भूगोलमा बाँधिएर बस्छ र सिंहदरबार काठमाडौंको रैथानेले मात्र चलाएका हुन् ! केही दिन गमेपछि पाएँ, त्यस्तो लेख्नुको पछाडि काठमाडौंवादको संरचनागत कारणभन्दा व्यक्तिगत असन्तुष्टिहरूको प्रभाव बढी थियो । त्यसमा सायद निरन्तर दुई, तीन वर्षसम्म राष्ट्रिय कविता महोत्सवमा सर्ट लिस्ट मा नपर्नुको पीडा थियो । कमजोर लाग्ने कविता विजयी भएको झोंक मिस्सिएको थियो । काठमाडौंबाट निस्कने साहित्यिक प्रकाशनमा निकैपटक लेख पठाउँदा पनि नछापिएको रिस थपिएको थियो । केन्द्रका लेखकहरूले प्राप्त गरेको मञ्च सञ्चारमाध्यमको ध्यान र अवसरप्रतिको ईश्र्या थियो । उमेरजन्य तीव्र महत्त्वाकांक्षाले ल्याउने नैराश्यता पनि थियो सायद । चेतन मनले नदेखेका अन्य पनि कारण हँँदो हो, अवचेतन मनको तहमा । विगतमा काठमाडौंवाद यथार्थ थियो । मोफसल पनि । काठमाडौंवाद अचाक्ली निरंकुश, केन्द्रीकृत र निरपेक्ष थियो । मधुपर्क, गरिमा र समकालीन साहित्य प्रकाशनको एकाधिकार लिएर बस्थ्यो । यसका अधिकांश सम्पादकहरू यथार्थको धरातलमा उभिएका थिएनन् । उनीहरू चिनियाँ घोस्ट स्टोरी मा देखाइने बादल टेकेर उड्ने शक्तिशाली मानव थिए । उनीहरू प्रायशः वरिष्ठ दरिएका स्थापित लेखकका रचना छाप्नतिर मात्र उन्मुख देखिन्थे । सत्ताको चाबुक समातेका हुन्थे । साझा प्रकाशन, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, गोरखापत्र संस्थान, मधुपर्क काठमाडौंवादको सांस्कृतिक विम्ब थियो । काठमाडौंवाद हातमा शासकीय पाइन हालेको तरवार बोकेर मोफसलका सिर्जनाका प्वाँखहरू काट्दथ्यो । पश्चिम क्षेत्रमा काटिएका प्वांखहरू कालीगण्डकीले तल्तिर बगाउँदै लगेको म उदास भएर हेर्थें । लेखक बन्ने सपना बोकी हिँड्ने युवाहरू साहित्यिक हवाइपत्र प्रकाशन प्रज्ञापन, सम्प्रेषणमै छपाएर आफूलाई बचाउन बाध्य थिए । मधुपर्कले मात्र पत्याइदिए, कत्रो उत्साह सञ्चार हुन्थ्यो, सोच्दा अहिले पनि विसंगतबोध हुन्छ । गरिमा त कल्पनाभन्दा धेरै परको कुरा थियो । तर अब समय फेरिइसकेको छ । समय फेर्ने काम कसैको चिन्तनले भन्दा पनि सूचना प्रविधिको विकासले गरेको छ । चिन्तनले लेख्न सकिएला, छाप्न नसकिने रहेछ । छाप्न त साहित्यिक प्रकाशन वा सामाजिक सञ्जाल नै चाहिने रहेछ । अगि सर्पको काँचुलीसँग दाँजेर समय फेरिएको उपमा दिइन्थ्यो तर अब सर्प पनि सुस्त भइसक्यो । सूचना प्रविधिको फराकिलो राजमार्गमा यत्तिविधि तीब्र गतिमा समय कहिल्यै दगुरेन । समयसँग साहित्यका केन्द्रहरू, केन्द्रका चरित्रहरू, सौन्दर्यका मानकहरू, स्रष्टा र समाजका मनोविज्ञानहरू पनि फेरिएका छन् । अहिले काठमाडौंवाद र मोफसल मृतप्रायः छ । साइबरसंसार भौतिकसंसारभन्दा पनि बढी यथार्थ बनेको छ । सामाजिक सञ्जालीकरणले शक्ति संरचनाहरूको तीब्र गठन र विघटन भइरहेको छ । अहिले एउटा कविता फेसबुकमा ट्याग गरिदिए पुग्छ, दर्जनौं वा सयौंसँग संवाद गर्न सकिन्छ । सम्पादकको एकाधिकार फेसबुक र ब्लगले तोडेको छ । यो धेरै सुखद छ । त्यो घटनापछि मैले काठमाडौंउपर रचिएका कविता र गद्य लेखहरू भेटेजति सङ्कलन गरें । लेखकहरूले काठमाडौंलाई कसरी अथ्र्याएका रहेछन् ? कस्ता विम्बहरूले अभिव्यक्ति गरेका रहेछन् ? खोज्नतिर लागें । म अचम्ममा परे । काठमाडौंलाई रिस गर्दै लेखिएका रचना बग्रेल्ती रहेछन् । वासुदेव लुइँटेल, कृष्णभूषण वल, रामकुमार पाण्डे, अशेष मल्ल, हेम अर्याल, रमेश तुफान, उपेन्द्र श्रेष्ठ, ईश्वरवल्लभ, ध्रुव मधिकर्मी, वानीरा गिरी, शिव अधिकारी, शैलेन्द्र साकार, कुन्दन शर्मा, ध्रुवचन्द्र गौतम र अरुण सायमी आदि । धेरै नै कालो पोतिएको रहेछ, काठमाडौं विम्बमा । केही विषवमन त कुण्ठाकै स्तरमा पोखिएको देखिन्छ । यस्ता प्रवृत्ति दुर्भाग्यवश समकालीन लेखकहरूमा पनि पाइन्छ । गांैडा ढुक्दै साहित्यको मौसमी कित्ताकाटमा विश्वास गर्नेे अतिवादी लेखकहरूमा यो प्रवृत्ति प्रचुर देखिन्छ । पिपल्स पोलिटिक्स भन्दा पनि पार्टी पोलिटिक्स गर्ने लेखकहरूमा यो स्पष्ट देखिन्छ । सामाजिक आन्दोलनप्रति मौन रहने तर पार्टी विशेषको झन्डा समाउने झोले लेखकहरूमा यो मुखर देखिन्छ । काठमाडौंलाई ठोक्ने सवालमा कविता विधामा ज्यादती नै भएको रहेछ । कविता पनि हैरानै हुन्छ होला, सोच्दा म पनि साँच्चै हैरानै भएँ । यो एकहोरो सत्तोसराप देख्दा काठमाडौंप्रति मभित्र माया पलायो । लेखकहरूबाट कहिलेकाहीं कृतज्ञताभावको दुई चार शब्द आउनुपर्ने होइन र ! कवि लेखकहरू गुणग्राही पनि हुनुपर्ने होइन ? प्रश्न उभ्भिन थाल्यो । एकतर्फी खिसिटियुरीले आजित भएरै वर्तमानले आफूलाई विपक्षमा उभ्याएका हुन् कि ! सायद उनको आक्रोश अस्वाभाविक छैन । चाकडी नरुचाउने, प्रायोजित पुरस्कारबाट सधैं टाढा भएकाले नै उनले त्यसो भन्ने नैतिक साहस प्राप्त गरेको होला । काठमाडौं भूगोल मात्र हो भने त्यसलाई कोर्रा हान्नुको अर्थ छैन । काठमाडौं प्रवृत्ति हो भने काठमाडौंका रैथानेले भन्दा बाहिरबाट आएका लेखकहरूले धेरै निर्माण गरेको प्रवृत्ति हो । तर विडम्बना, अझसम्म हस्तक्षेपको नाउँमा कोर्रा हान्न छोडिएको छैन । विगतमा पनि काठमाडौंवाद र मोफसल रेखीय र स्थुल थिएनन् नै । हामीले कहिल्यै त्यसलाई पत्रहरूमा खोज्न चाहेनौं । काठमाडौंभित्रकै मोफसल र मोफसलको केन्द्र हामीले देखेनौं । फेरिँदो सौन्दर्य निबन्धसंग्रहमा निबन्धकार राजन मुकारुङले कवि अमोघ काफ्लेहरू काठमाडौंमा पनि मोफसलको नियति भोग्न बाध्य भएको लेखेका छन् । एक समय सुन्दर कविता लेखेर गम्भीर पाठकको ध्यान खिच्न सफल युमा पनि काठमाडौंकै मोफसलमा छन् । बरु मोफसलमै बसेर क्षेत्रीय काठमाडौंवादको रचना गर्ने र प्रकारान्तरले लाभ लिने कतिपय कवि लेखकहरू हामी धेरै देख्छौं । उनीहरूको खोजी हुनु आवश्यक छ अब । केन्द्रमा ओझेलिनुको जम्मै पीडा लेखक आफैंले सम्हाल्नुपर्छ । केन्द्रमा बसेकैले उनीहरू सहानुभूतिको योग्य पनि ठानिँदैनन् । बरु मोफसलको पीडा सामूहिक छ । कम्तीमा पनि त्यो ठाउँ, पीडाको अंशियार बन्छ । प्रवृत्तिको तहमा मोफसल आफ्नो क्षेत्रको काठमाडौं त बनिरहेको छैन ? सैद्धान्तिक प्रश्न उठाउन सकिन्छ । शिक्षाविद् पाओलो फ्रेरेले यो अवधारणाको बारेमा आफ्ना चर्चित पुस्तक पेडागोजी अफ अप्रेस्ड मा विस्तारमा लेखेका छन् । उत्पीडनको आत्मसातता -इन्टरनलाइजेसन अफ अपरेसन) सिद्धान्तका नाममा । मुक्ति प्राप्तिपश्चात्, उत्पीडितहरू नै कालान्तरमा फेरि उत्पीडकको भूमिकामा देखा परेको धेरै देखेपछि उनी अचम्भित भएका थिए । र, उनले त्यसका अन्तरनिहित कारणहरू खोजेका थिए । उत्पीडित हुँदा, उत्पीडनलाई नै आत्मसात् गरेकाले, मुक्त भएपछि आफैं उत्पीडकको भूमिकामा देखा पर्ने गरेको निष्कर्ष फ्रेरेले निकालेका थिए । काठमाडौंवादको डिस्कोर्स चल्दै गर्दा, पोखराले पर्वत, वागलुङ, स्याङ्जा, तनहँँ, मुस्ताङका स्रष्टाहरूलाई कति समेटेको छ ? महत्त्वको प्रश्न बन्छ । साथै धरान, इटहरी, चितवन, दाङ, हेटौंडाले वरपरका क्षेत्र, गाउँबस्ती, देहात, कस्बाका स्रष्टाहरूप्रति कस्तो दृष्टिकोण राख्छ, महत्त्वका विषय हुन् । नत्र काठमाडौंवादको भत्र्सना गर्ने यी सहरहरू आफैं क्षेत्रीय काठमाडौंवादको प्रतीक बन्न जान्छन् । फ्रेरेको मत छ- संरचनागत कारणले व्यक्ति, वर्ग र समुदाय विभेद र उत्पीडनमा पर्दछन् । उत्पीडकविरुद्धको लडाइँमा उत्पीडन थाहा नपाई नै आत्मसात् हुने जोखिम सधैं रहन्छ । आलोचनात्मक दृष्टिले मात्र त्यसबाट बच्न सकिन्छ । नजिकबाट नियाल्ने हो भने काठमाडौंको बाहिरी अनुहार बिरूप देखिए पनि भित्री हृदय उदार छ । धेरै कवि लेखकले यहीँ नै आफ्नो सपना अड्याउने जमिन भेट्टाएका छन् । पूर्वबाट स्वप्नील स्मृति, चन्द्रवीर तुम्बापो र रसुवाका रावत यहीं आएरै कविको रूपमा स्थापित भएका छन् । मौवा पाँचथरकी कवि शकुन्तला जोशीले आफ्नो कविताको आदिम सिमाना यही चार भञ्ज्याङभित्र कोरेकी हुन् । तर काठमाडौले नै उनीहरूलाई कवि बनाएको भने होइन । उनीहरूसँग यथेष्ट काव्यिक चेतना र सामथ्र्य नभएको भए काठमाडौंले मात्र केही गर्न सक्दैनथे । तर, यौटा लेखिखाने र समकालीन कविहरूसँग विचारविमर्श गर्ने अवसर र जमिन, जति नै प्रदूषित र कोलाहलपूर्ण किन नहोस्, काठमाडौं दिएको सत्य हो । समाजशास्त्री चैतन्य मिश्रको मतमा सहर जहिल्यै गाउँको तुलनामा उदार र अग्रगामी हुन्छ । सहरमा युवाहरू वृद्धहरूको पञ्जाबाट मुक्त हुन्छन् । परम्परागत ओहोदाहरू क्षीण हुन्छन् । उत्पादनको सम्बन्धहरू फेरिन्छन् । मानिसले आफ्नो सम्भावनाहरू भेट्टाउँछ । सहरका बेथितीहरू छन् नै तर मान्छेका व्यक्तिगत स्वतन्त्रतालाई सहरले सम्मान गर्छ । विस्तृतमा थाहा पाउन त मिश्रको आलेख प्रोस्पेरिटी एन्ड द अर्बन नै पढ्नुपर्छ । आख्यानकार बुद्धिसागरले आफ्नो औपन्यासिक लेखनीको पाइन यहीँ चढाएका हुन् । चौर झाडी, नेपालगन्ज र सिन्धुली हुँदै खोलामा बग्दै गरेको पातजस्तो सतत् नगरकोटीको टुँडाल, मृत्यु र घाटको चमत्कारी वृत्तान्त काठमाडौंमै सम्भव भएको छ । भलै विश्वविद्यालयका केही प्राडाहरू शास्त्रीय ढाँचामा चलिरहेका होलान्, उच्चशिक्षाका निम्ति देशैभरिबाट आएका लाखौं जिज्ञासु विद्यार्थीको जमात नै काठमाडौंको सौन्दर्य हो । केही लेखक अन्यत्र बसेर पनि काठमाडौंप्रति नकारात्मक विचार राख्दैनन् । उनीहरू द्वेषरहित साहित्यिक कर्ममा विश्वास गर्छन् । भूपिन चितवनमै बसेर काव्य र निबन्धमा सक्रिय छन् । काठमाडौंप्रति कुनै नकारात्मक सोच छैन उनको । काठमाडौंसँग मात्र होइन, मेचीपारि पनि शब्दको साँगु हाल्न तम्सन्छन् । अघि पोखरा र अहिले चितवनलाई कर्मभूमि बनाएका धौलागिरीका उनी साहित्यिक यायावर नै हुन् । कवि मनु मञ्जिल इटहरीमा बसेर काव्यकर्म गर्छन् । निकै बलिया निबन्धहरू लेख्छन् । मनु भन्छन्, साहित्यिक कार्यक्रममा काठमाडौं आउँदा पाठक र लेखकहरूको प्रेम पाएको छु । गुरुकुलमा उनको एकल कविता वाचन धेरै रुचाइएको थियो । कवि सरस्वती प्रतीक्षा पोखरामै बसेर बौद्धिक र गम्भीर कविताको रचना गर्छिन् । र, काठमाडौंको उदार चरित्रलाई सकार्छिन् । थप दर्जनौं नाम लिन सकिन्छ । पत्रकार, निबन्धकार शेखर खरेलले काठमाडौंको चरित्रलाई औंल्याउँदै भनेको एउटा कुराले म स्पर्शित भइराख्छु- सायद काठमाडौं एक मात्र सहर हो, जहा भेट्न पनि सजिलो छ, लुक्न पनि सजिलो छ । लेखकहरू योजना बनाएर महिनौंसम्म हराउन सक्छन् र फेरि इच्छा भए एक घन्टामै जति कुनामा बस्नेले पनि अर्कालाई भेट्न सक्छन् । बरु सोचौं न, देशैभरका स्रष्टालाई उपत्यकामा आउन आह्वान गर्दै मञ्जुश्रीले चोभारको डाँडा काटेर बिषालु नागहरू ब्ााहिर पठाएका हुन् । सरकारले हिमवत् खण्डमा विचरण गर्दै साहित्यमा पर्वतमालाको सुगन्ध ल्याउन मुस्ताङ, मनाङसम्म सडक पुर्याइदिएका हुन् । बरु सोचौं न, ग्रेट हिमालयन ट्रेल नै लेखकहरूको सपना दगुर्ने त्यस्तो फराकिलो मार्ग हो जसले देशभरकै भूदृश्य, सांस्कृतिक विविधता र जैविक विविधतालाई जोड्नेछ । बाध्यताले नै किन नहोस्, काठमाडौं आउने स्रष्टाहरूले विभिन्न प्लेटर्फम र सिर्जनात्मक संगतिको अवसर पाउनेछन् र सिर्जनामा लागिराख्न ऊर्जा पाउनेछन् । आँखा चिम्लँदा म स्वप्नवत् देख्छु, समयको सुदूर राजमार्गमा मजस्तै हजारौं युवाहरू जो प्रारम्भमा काठमाडौंलाई गाली गर्छन्, रोष प्रकट गर्छन्, साला भन्छन्, बिस्तारै गुणग्राही बन्दै यो सहरको उदारतालाई मनन गर्छन् । समयको खुड्किला चढ्दै गएपछि निर्माण भएका पाइतालाका पुराना डोबहरू पछिल्तिर देख्दा भावुक बन्छन् । वातावरणीय प्रदूषणले कोपारेका मैदानहरू सम्झँदै द्रवित हुन्छन् । म अर्को दृश्य पनि समानान्तर देख्छु, समयशंृखलाको अनन्त राजमार्गमा अर्का खाले हजारौं युवाहरू अन्तसम्मै काठमाडौंलाई आक्षेप लगाइरहन्छन् । सत्तोसराप गरिरहन्छन् । साँगुरो गल्लीमा त्योभन्दा साँगुरो मानसिकता बोकेर दारु पिइरहन्छन् । कुण्ठा पोखिरहन्छन् । बाह्य कारणहरू निखि्रसकेपछि कृत्रिम कारणहरूभित्र निर्माण गर्दै, गाली गरिरहन्छन् । गरिरहन्छन् । तर म भन्छु- काठमाडौं तिमी महान् छौ, कारण तिमी उदार छौ । मानवजन्य प्रदूषणले घेरिए पनि, धूलो धूवाँले आँखा छोपिए पनि तिमी सपनाको आगो बोकेर आउने उदियमान लेखकहरूलाई ओत दिन्छौ । अर्धमुदित नयनको छेल पारेरै भए पनि हेर्छौ । हत्केलाको परेवा बनाएर आगो निभ्नबाट बचाउँछौ । सडक, थियेटर, बजार, गल्ली, मम पसल, म्यानपावर, पत्रकारिता, ट्युसन, एफएम कतै गरिखाने टेको दिन्छौ । बाङदेलको विशद क्यानभासजस्तो तिम्रो उदार हृदयको यथार्थ वर्तमानसम्मै टाँगिएको देख्छु । नाट्यकर्मी अनुप बरालको भाषामा, तिमी सपनाको नेगेटिभ धुलाउन सहयोग गर्छौ । काठमाडौं, तिमीप्रति कवि लेखकको प्रेम र घृणाको सम्बन्ध सायद कहिल्यै सकिने छैनन् । यी विपरीत यथार्थ हुन् । विपरीतलाई यथार्थ बनाउन सकेकाले नै तिमी महान् हौ । कोलकातालाई अतुलनीय जीजीविषाको कारणले फ्रेन्च लेखक डोमिनिक लापियरले सिटी अफ ज्वय भने । म लापियर होइन, म केही भन्न सक्दिनँ । बरु मलाई यतिखेर प्रायश्चित्त गर्नँ छ । काठमाडौंः राक्षसखाल्डो विम्बलाई पुनर्लेखन गर्नु छ । र, कवि निबन्धकार वर्तमानलाई मानसमा साक्षी राखेस् भन्नु छ- काठमाडौं, मलाई माफ गर । प्रकाशित: पुस २५, २०७१
http