Tuesday, November 19, 2019

कालापानी कोलाज



कालापानी कोलाज


  बैतडी दार्चुलातिर धेरै होहल्लालाइ कल्लाताल भनिन्छ । आजभोली सुदुर पश्चिमोत्तरको त्रिदेशीय सीमाक्षेत्र कालापानी- लिम्पियाधुरा-लिपुलेक क्षेत्रका बारेमा देशैभरि कल्लाताल भएको अवस्था छ । यो उहिले हुनु पर्थ्यो । तर थाहै नभएर होइन, निहित स्वार्थका कारण लामो समयसम्म नेतृत्वले धुँवाएको समस्यामाथि पातपतिंगर हाली रह्यो । आगो बल्न थालेपछि बल्ल पानी खोज्न थालेकोछ । देशभरी हल्लैहल्ला भएकोछ ।
  कालापानी त्यसै पनि श्रुतिमधुर शब्द लाग्दैन । अती दुर्गम अस्वास्थ्यकर टाढाको अप्ठ्यारो ठाउलाई पनि बोलचालमा कालापानी भनिने प्रचलन छ । तर चर्चित कालापानी क्षेत्र दुर्गम भए पनि हेर्न बुझ्न लायक थियो र अझै सामरिक महत्वको छ । यस बारेमा भैरहेको कल्लाताल सुनेर त्यहाँको पुराना अस्पष्ट बिंबहरुले शब्दचित्र कोर्न थाल्दा अझै पुर्ब- सम्झनाले शरीरमा काँडा उम्रिन्छन् । 
 बिक्रम सम्बत २०३६ को कुरा हो । एक छोराको बाबू भैसक्दा पनि उमेरले गधेपच्चिसी नाघेको थिएन । एस एल सी सकेर तीन बर्ष जति ग्राम समितिमा काम गरेको मात्र अनुभव थियो । लोकसेवा आयोगको जाँच दिदा दार्चुलाको जिल्ला प्रशासन कार्यालयमा सिफारिस पाए । सरकारी नौकरीतर्फको यो पहिलो यात्रामा त अर्कैै संयोग जुरेको रहेछ। अफिस पुगेपछि मात्र थाहा पाए, हाजिर नहुँदै मेरो पदस्थापन उत्तरी सीमा प्रशासन व्यासमा  भैैसकेको थियो । केही चलाक मित्रहरुले आफुु अनुकुल हुने दाउ हानिसकेका रहेछन् । 
तिन दिनको बिकट बाटो । दार्चुला सदर मुकामबाट झण्डैै सय किलोमिटर टाढाको छांग्रुमा गर्मी  ६ महिना र जाडो ६ महिना खलंगामा कार्यालय खोल्नुपर्ने प्रचलन रहेछ । अती बिकट ब्यास गर्खामा जानुपर्ने गरि दरबन्दि पारेकोमा त्यहा नजाउ कि जस्तो पनि लाग्यो । साथीहरुसंग सल्लाह गरे । नियतिले यसपालि हिमालयकै हावा खान खटाएको मानेर चित्त बुझाए । 
  सीमा प्रशासन शाखामामा जानै पर्ने भएको हुदा ब्यासबाट खलंगा आउने भएका सीमा प्रशासन अधिकृतलाई पर्खि बसे ।  उनले हाजिर भएको मितिदेखि तलब भत्ता खाने गरि नियुक्ति दिने भनेर ठाडो आदेश लेखी दिए र आफु लुस्सुक्क काठमाण्डौ लागे । ब्यासमा एक जना मुखिया मात्र अफिस कुरुवा बस्नु भएको रहेछ । त्यहाँ हाजिर हुन जान ३ दिन हिडनु पर्ने थियो ।  म न माथि न तल हुने गरि सदरमुकाममै झुन्डि रहे । केही दिन सारै तनावमा बिताए । २८ भाद्रमा सीमा प्रशासन कार्यालयमा मेरो बारे भएको निर्णय पत्र पठाए । असौजमा कार्यालय नै तल खलंगामा सर्ने भएकोले ` देखा जायेगा´ भन्दै बैतडी फर्के र घरमै कुरेर बसे ।
  दशै  सकिएपछि घरमा कामको चटारो थियो । सौका मात्र बस्ने अति टाढाको अपरिचित गाउँठाउँमा जान कसैको सहमति थिएन ।  त्यस दिन बिहान गजाल( खरबारी ) को बाटोमा शीतका दाना चम्किदै थिए । झ्याउकिरी कराउदै केही भनि रहेको थियो । उदास मन लिएर बुवा आमा र घरलाई ढोके । ग्वाल्लेकधाम तिर हात जोडे । तिहारको रमझम नकुरी म ब्यासभुमीको यात्रामा निक्लिए । झुलाघाट  पिथौरागढको बाटो दोस्रो दिन धारचुला हुँदै दार्चुला पुगे । नयाँ नौकरी र नयाँ परीबेशसित जुध्नु पर्ने जो थियो ।
  ब्यास बसाइ सर्नका लागि केही जोरजाम गरियो । ०३६ असौज २३ गते जिबनको  लामो र बिकट उत्तरापन्थको यात्रामा हिडियो । सहयात्री बन्यौ - म र हरीदत्त २ खरिदार, मुखिया, पियन, जुनियर हेल्थवर्कर, हवल्दार र कन्सटेबल । जम्मा ७ जना । दार्चुलाको उत्तरी सीमा प्रशासनमा खटिएको सरकारी टोली थियो यो ।
श्रीभावर, बडुगाँव, स्याकु, हुति, सुनसेरा, राप्ला, दुमलिङ,थिँ ,निगु, बुदि, छियालेक, गर्ब्याङ, सितापुल जस्ता कैयौ स्थान छिचोल्न पुरै तिनदिन लाग्यो । विहान साढे चार बजे अँध्यारोमै उठिन्थ्यो । कहिले त राति आठ बजेसम्म हिडिन्थ्यो । बिकट भिर, निपट जंगल, बाँदर लोटने बाटो, सुनसान बस्ति, तिंकर घोडेटो काटने काममा खटिएका ज्यामीहरु बसेका ओढार । यात्रा दुष्कर थियो । यात्रि हौसलावान थियौ । र पो महाकालीको किनारै किनार बुदिबाट प्रबेशाज्ञा बेगर भारत प्रबेश गरि सितापुलबाट सुटुक्क नेपालको छांगरु छिरेका थियौ । यो कालापानी पुग्ने नेपालको निकटतमबस्ती थियो । यहि थियो सीमा प्रशासन कार्यालय,मेरो पहिलो जागिरे थलो र मेरो पहिलो पाँचदिने यात्राको अन्तिम गन्तव्य । 
  आगनमै हिमालय । चौरी र झुपुका बथान । सौकाहरुको भावभुमी । कालिदासको मेघदुत संगै लगेको थिए । थकित शरीर र आल्हादित मनले आद्योपान्त किताब पढिरहे । पुराना साथिहरुले खानपिनको जुगाडबाजी मिलाउथे । भ्याङ्कर, चिपु  भनिने सिङ्गै तिब्बतियन खसी सय पचासमै पाइने । च्याक्ति भनिने मत्ताउने घरेलु मदिराको छेलोखेलो थियो । गोर्खाली जागिरेको चल्तिको खान्गी नै यहि हुन्थ्यो । काम गराइ यस्तो थियो कि गत महिनाको निर्णयको आधारमा आफुले आफुलाइ नै नियुक्तिपत्र दिनुपर्ने भयो निमित्त हाकिम बनेर । नियुक्ति पहिला लिने कि निमित्त हाकिम पहिला बन्ने प्रश्नमा पहिलो निर्णयबाट एक थान अर्को जागिरको श्रीगणेश गरियो । मेसको सहभोज चलाएका थियौ । खाँदिएर लहरै सुत्थ्यौ । मन लागे जति तास खेलिन्थ्यो  । कसैसंग वा भनौ शेष दुनियासंग सम्पर्क थिएन । रेडियो समेत सपष्ट नसुनिने एउटो मायावी संसार थियो । 
  हिउँका सेता चुुचुराहरु मुनिका बृक्षबिहीन पखेरा । त्यस मुनि ससाना झाडी हुँदै कहालिलाग्दा लेकहरु । तल बेसीमा जता हेर्यो त्यतै राम्रो लाग्ने फूूलका मैदानहरु । नेपाल यति विशाल छ र यहाँ विभिन्न भाषा-उपभाषा, संस्कृति- उपसंस्कृतिहरु भए पनि एक अर्काको हृदयको भाषा सबै नेपालीले बुझ्छन भन्ने मैले पहिलोचोटि महसूस गरे ।  जिब्रोले मात्र हैन, आँँखाले, औलाले, दाँत-ओठले पनि बोल्छन नि है । स्थानिय बोली पट्टकै नआउने हुदा यस्तै " सार्बभौम " भाषाले काम चलाए । हिमाली पर्वतहरुको सियालोमा २०३६ को तिहार ब्यास क्षेत्र रुङेर सकियो ।
  आजभोलि प्रेस रिपोर्टको भरमा बनेका कालापानी बारेका थुुप्रो जानकार भेेट्टिन्छन् । हामीले त्यसबेलाको  त्यो विषम परिस्थितिमा पनि सरकारलाई स्थलगत प्रतिबेदन दिएका थियौ । कालापानीको अतिक्रमण र महाकाली मूलको निरुपणबारे सरकारको सपष्ट निर्देशन चाहन्थ्यौ ।  तत्कालिन प्र जि अ द्वारिकानाथ ढुंगेल स्वयमले त्यहाँ पैदल भ्रमण गर्नुभएको थियो । सुनेका थियौ, पहिले भारतको प्राइमरि कक्षाको भुुगोलमा समेत " महाकाली नदि जोलिङकाङ पर्बत से निकलति है" भनेर पढाइन्थ्यो रे । विडम्बना, कालापानी(?!) बाट काली नदि निक्लिएको बिबादित तथ्य बारे एकीन गरेर केही भन्न सक्ने अझै भएका छैनौ । सरकारी नौकरीको पहिलो चरण त्यहि कालापानीबाट मात्र १०/१५ किमि तल छांग्रु स्थित  जिल्ला प्रशासन कार्यालय, सीमा प्रशासन शााखा, ब्यासको खरिदारको हैसियतमा खेपियो ।

  पहिलो बर्ष खलंगातिर फर्कदा भारतको मात्र बाटो हिडेर धारचुलाबाट दार्चुला छिर्ने योजना बनाए । एक जना मुखिया र स्वास्थ्यकर्मि साथमा लिई  गर्ब्याङ, छियालेक, बुदि माल्पा, सिर्खा सिरदाङ, रङलिङटाप, पाङ्गु र तावाधाटको बाटो हिडियो । सबै ठाउँमा नेपालको जस्तै भुगोल थियो । तावाघाट माथि घोडेटो बाटो बनाइएको थियो । ठाउठाउँमा सरकारी डाकबंगला( गेष्ट हाउस ) थिए । आपतको बेला बिजुली बाल्नका लागी  बिजुलीका तारहरु तान्न मिल्ने गरि पोल समेत गाडिएका देखिन्थे । ठाउ ठाउमा ब्यारेक देखिन्थे । तीन दिनपछि धारचुलाबाट दार्चुला सदरमुकाम पुगेर मात्र पहिलो कुल तलबभत्ता ५२८/- बुझिएको थियो । नियुक्ति लिएको ४ महिनापछि हाकिमको मातहत काम गर्ने मौका मिलेको थियो  । बस्तुस्थितिको जानकारी गराउने बिषयको काज लिएर काठमाण्डौ गएर फर्केका हाकिमको गफ सुन्नुपर्ने नयाँ काम मात्र थपिएको थियो । त्यो हिउद दार्चुला सदरमुकाममा काटियो ।
  यसैताका ब्यास जाने बाटोतिर राप्लापारीको एक जना भारतिय चेकपोष्ट अफिसरले रक्सी खान र रमाइलो गर्न अबैध पुलबाट सिमावारी नेपाल पसेर उधुम मचाएछ । गाउलेहरुसंग झगडा परेर राति भाग्न खोज्दा लडेर खुट्टा भाँचिइ पक्रिएको थियो  । सीमाक्षेत्रको घटना हुँदा यो काण्ड ब्यबस्थापन गर्न केही दिन लाग्यो । टुटेको खुट्टा सहित भारतलाइ बुझाउदा उ “पशुपतिनाथ ने मुझे मेरी करनी कि सजाय दि है “ भनेर रुदै थियो । यस्तै पशुपतिनाथले रक्षा गर्नेछन भन्ने बिश्वासका साथ हामीले पनि अफिसको  काम यथाक्रम मिलाएका थियौ । पाक्षिक र मासिक प्रतिबेदन नियमित पठाउथ्यौ । प्राय: " कालापानी सीमानामा अतिक्रमण भएकोछ, हुदैछ । आबश्यक कारवाहि यथाशिघ्र शुरु गरियोस " भनेर एउटै कुरा केही शब्द फरक पारेर लेख्न छुटाउदैनथ्यौ ।
 त्यसै बर्ष पुस १ गते पंचायति सम्बिधान संशोधन भै बालिग मताधिकाारको प्राबधान राखिएको थियो । दलीय कि निर्दलिय भन्नेमा जनमत संग्रह हुनुपर्ने थियो । यो जनमत संग्रह बैसाख २० मा तय भयो । म चैत्र १४ गतेदेखि नै निर्बाचनमा काज गए । दिनचर्याले गियर बदल्यो । जनमतसंग्रहको कारण दोस्रो  बर्ष गर्मीमा ब्यास जान नपर्ने होला कि भनेर उत्साहित थिए । प्रतिदिनको सातरुपैया ओभरटाइममा चुनाव आयोगमा थप काम समेत गरेको थिए । केही दिन तत्कालिन अंचलाधिश ऋतुबर्ण तुम्बाहाम्फे र अंचल प्रहरी उपरिक्षक को मुकाम दार्चुलामै राखिएको थियो । 
  मलाइ पनि पहिलो पल्ट कनिष्ट कर्मचारीबाटै जनमत संग्रहको काममा खंडेश्वरी गाउँ पन्चायतको घुसा मतदान केन्द्रमा  मतदान अधिकृत तोकियो । ब्यास गर्खाको पुर्बमा पर्ने अपि हिमालको दक्षिणी पाखो । ठ्याक्कै ब्यासको जस्तै भुगोल भएका तीन बस्ति थिए-लिथि, पाटु र घुसा । चमेलिया सिरानका उतरी अन्तिम बस्ती मध्येका थिए यी गाउँहरु । विशेष भत्ता १४/-, ढुवानी १३५/-, मसलंद३२/-, बुथ निर्माण १५०/-, टि ए १९८/-, डि ए ३२५/- गरि ८५४/- रुपिया बुझे । चुनावमा सहयोगी थिए मु खेमराज भट्ट पियन मनोरथ बडु , प्र ह बहादुर बोहरा समेत छ जना । दल्लेक, सिप्टि, सेरि चौलानेको किनारै किनार लटिनाथ मकरिगाड हुँदै घुसा पुग्न चार दिन लाग्यो । भीरमा अडिएको सानो स्कुल अपि नाम्फा हिमालको फेदमै थियो । मतदान केन्द्र यहि स्कुल तोकिएको थियो ।५ कक्षासम्म २ शिक्षकले पढाउथे। नजिकै हेल्थपोष्ट  थियो । बैसाख २० मा रमाइलो बाताबरणमा भोटिङ भयो । ३३१ अर्थात ७३% मत खसेर । तेस्रो दिन आठ बजे राति मतबक्स बुझाउन भ्याए । 
    २४ गते मार्शल टिटो को अवसानमा राष्टिय शोकको बिदा थियो । मलाइ भने दोस्रोपल्ट पनि ब्यास जानैपर्ने आदेश भयो । तयारीस्वरुप कपडा धुदाधुदै छाला खुइलिएर हातमा रगत आएको थाहा भएन । २ दिन आराम गर्नु पर्ने भयो । चलेका औलाले लेख्दैजादा पछि आँसुले यसलाई पखाल्न सक्दैन भन्ने लागेर डायरीमा मनोबाद लेखेको रहेछु  । ब्यासतिर पठाउन लागि सामान किनमेल गरि ६ क्विन्टलसम्मका बोझा भरिया कुन्जावालहरुको जिम्मा लगाउने प्रबन्ध मिलाएर भेटघाट गर्न बैतडी घरतिर लागे ।
   मानसरोबरको नजिक पर्ने ब्यास क्षेत्रमा फेरी फर्कनुपर्ने कुरागर्दा गाउँमा गुरुजी र पिताजीले मानसरोबर तिर्थाटनका कुरा निकाले । त्यतिबेला मानसरोबर जाने एकमेब मार्ग यहि थियो । पाण्डबहरु पनि यसै बाटो स्वर्ग गएका थिए रे । मलाई पनि उत्तरी सीमासम्म जानै पर्ने थियो । सबै सामान्य तयारी पूरा गरी  पिताजी, गुरुजी, म र प्र ह बहादुर बोहरा मानस यात्री हुने भयौ । पछि एक जना भगत भट्टजी बाटोमा थपिए । सेकेन सटरडेको बिदा हुदा पिथौरागढबाट पास ( अनुमतिपत्र) बनाउन तीन दिन लाग्ने भयो । त्यसबेला जोलजीबीभन्दा उभो जाँदा पिथौरागढको जिल्ला मजिष्ट्रेटबाट यात्रा अनुमति लिनु पर्दथ्यो । जे जस्तो पर्ला भन्दै यतिकै हिडियो । जोलजीबी चेकपोष्टमा पुलिससंग अनुनय बिनय गरेर धारचुला पार ग-यौ । आफनै अफिसमा बासको ब्यबस्था मिलाइयो ।   साउन संक्रान्ति दार्चुला सदरमुकाममा मनाई अर्को दिन लागियो कैलाश मानसरोबरको यात्रामा । भंसारका एक जना बहिदार हामीसंगै जाने भए । प्र जि अ द्वारिकानाथका पिताजी, प्रशासकीय अधिकृत भुबनेश्वर जोशी र दार्चुला तिंकर घोडेटो बाटोका केही कर्मचारीको अर्को ग्रुप पनि हाराहारीमै हिडेका हुन्थे । श्रीबगर, बडुगाँव, स्याकू हुँदै सुनसेरा पुग्दा झमक्कै रात परिसकेको थियो । घोडेटोको गोदाममा थन्कियौ । येनकेन खाना पकाउने जुगाड पनि गरियो । तुषरपानि, राप्ला हुँदै राङथलमा नुहाई खाना खाइयो । बेलुका दुमलिङ बस्यौ । अर्को दिनको बाटो पुर्णरुपमा निर्जन थियो । बाटोमा उदरपुर्तिको मेसो  मिलाउन सकिएन । बाँकी ईश्वरेच्छामा छोडी अगाडी लाग्यौ । तंबाकुबाट २ जना भरिया भेटिए । हाम्रा निम्ति ती पथप्रदर्शक भै दिए । दिनभर थिङको ठाडो उकालो, अनि त्यस्तै ओरालो । बोकेको भुटेको पिठोको भरमा हिड्यौ । राति निगुको गीताभवनमा बाटो भन्दा एकडेढ कि मि पर गएर एउटै घर थियो । त्यतै लाग्यौ । हामीजस्तै २०/२५ जना पहिले नै जम्मा थिए । बृद्ध सौका दम्पतिको नित्यचर्या नै यस्तै तीर्थयात्री सम्हाल्नु रहेछ । रात आगो तापेर काटियो । 
  बुदि र कुन्तिसाउको घुमाउरो बाटो काट्न कम्ति सकस थिएन । छायालेक उक्लिए पछि देखियो ब्यास उपत्यकाको उपबन । पहिले यहाँ अमृत ताल र कल्पबृक्ष थिए रे । त्यो बर्ष आइ टि बि पी ( इन्डोतिब्बतियन बोर्डर पुलिस ) सक्रिय राखिएको रहेछ । यहाँबाटै बनस्पति कम हुन्छ र श्वास लिनमा समस्या पर्छ ।  हिमालपारी जाने पुर्ब तयारीको निम्ति एक दिन छाग्रुमा आराम गरियो । अर्को दिन साउन ६ गते तिङ्कर मुकाम भयो। अर्को ग्रुपले घोडाको ब्यबस्था गरेको रहेछ । तर तिर्थयात्रा भएकोले पैदल नै बेश भन्ने मानेर तिङ्करबाट पैदल हिड्यौ ।  
  जिबनमा पहिलोचोटी तेस्रो मुलुक जाँदै थिए । हावा शुष्क हुँदै गयो । ( चल्तीको भाषामा बीख लाग्न थाल्यो । ) लिपुको बिकट उकालोमा बान्ता आएर बेहोशै हुने स्थितिमा पुगेछु । बुवा र भगतजी बाहेक सबै लथालिङ्ग हुँदै गयौ । बुवाले नसक्ने भए फर्कने प्रस्ताव राखे । मेरो कारणले यात्रा स्थगित नहोस भन्ने हिम्मत गरेर येनकेन लिपु भंज्याङ कट्यो । तिब्बततिरको ओरालोमा होस बेहोस हुँदै ओर्लियो । ज्युँज्युँ खोलाको किनारमा पुगेपछि संयत भयौ । दिउँसो पग्लिएको हिउँ बोकेर ल्याएको हिमाली खोलामा खुट्टा हाल्नै धौ थियो । गुरुजी बैतरणि नदि यहि हो भनेर व्याख्या गर्न थाले ।  टाढा कतै हिमशिला बगेका गडगड डमडम आवाज आउथे । भगतजी गाँजाको सूरमा शिब- डमरुको आवाज आएको बताउथे । हुण समुदायका भयंकर डिलडौल भएका यदाकदा भेटिने गोपकुमार गरुडपुराणका दूत जस्ता लाग्थे । यात्रा रोमान्चक हुँदै थियो । अर्को ग्रुपको घोडचढीको पिछा गर्दै राति ताक्लाकोटको कुनै पालमुनि तेर्सियौ । यहि तेर्सिने ठाउ पाउनु पनि ठूलो उपलब्धि थियो । ताकलाकोट मध्यकालमा पश्चिम नेपाल हिमाली प्रान्तका हिमाली मल्लहरुको कोट बनेको थियो । कशमीर ( खशमिहिर)बाट ताक्लाकोट , जुम्ला र दुल्लुमा समेत उनीहरुले राजधानी बसालेका थिए । हामीले ताक्लाकोट टेकेकोबेला तिब्बततिर माओको पतलून - बुसर्ट र क्याप मात्र लगाएको भेटिन्थे । टाढा परम्परागत शिबलिङ गुम्पाको भग्नाबशेष देखिन्थ्यो । ताकलाकोट उपत्यकामा घरहरु फाटफुट खर्कहरु जस्ता लाग्थे । सोचिन्थ्यो,कालिदासका किन्नर कन्या यतै कतै होलान ।
  दोस्रो दिन दोभाषे मार्फत कुरा गरि अनुमति लिएर सरकारीगेष्ट हाउसमा बस्यौ । ८ कोठा , प्रतेक कोठामा तीन बिस्तर । परंपरागत चीनी तरिकाको सजावट,एक मेच दुई सोफा र चिनिया भोजन । गेष्टहाउसमा पनि भाषा बुझ्ने इन्टरपेटरको ब्यबस्था थियो । सीमासमस्या बारे समकक्षीहरुसंग गेष्टरुममै बार्ता पनि गरियो । बेलुका चिनियाँ सांस्कृतिक क्रान्तिको कुनै बिषयबस्तुमा आधारित फिल्म  देखाइयो । कम्युनिष्ट संस्कृतिका केही मर्मस्पर्शी परीदृश्य पनि देखिए । 
  बेलुका ससानो रमाइलो काण्ड भयो ।  मैले दोभाषे मार्फत तिर्थयात्रामा स्वयम् पकाएको मात्र खाने हुदा सुत्ने ५ जना भएपनि दुई जना मात्र खाना खाने कुरा सपष्ट गरिसकेको थिए । चिनिया बाहेक अरु भाषा नबुझ्ने चिनिया बुढीलाइ  आफुखुशी बढि मानिस गेष्टरुममा राखेको जस्तो शंका परेछ । उनी कराउन थालिन, हामी केही बताउन नसक्ने थियौ । कम्पाउन्डमा ताला लगाएर हैरान पारीन ।हुँदा हुँदा बुढी त उफ्रन थाली । हैरान भएर मैले इन्टरपेटर बोलाउन अनुरोध गरे । बल्ल  कतै फोन गरिन । ५/१० मिनेटमा नेपाली बुझ्ने सरकारी मानिस आई पुगे । सबै कुरा बताए । उनले कागजपत्र हेरे । चिनियाँ लबजमा बुढियालाई सम्झाए । त्यसपछि भने सुनदाँते प्रौढा हाँसिन । सँरी भन्दै हात मिलाउन आइन । तिर्थस्नानको पुर्बसन्ध्यामा यसरी अज्ञात कुलशीला नारिको स्पर्श गर्नु पनि गुरुजी र पिताजीलाई मन्जुर थिएन । बुढी वर सर्दा वहाँहरु पर पर सर्न थाल्नु भयो । मैले हाँस्दै फेरि कुरा सपष्ट गरे । यसपछि पाहुनाघरको टोली सारै खुशि देखियो । हात जोडेर माफी मागे । हाम्रा निम्ति पाहुनाघर परिसर असाध्यै सहयोगी र आत्मीय बनिदियो  । तातो पानी र राम्रो गाडीको ब्यबस्था भयो । अर्की चिनिया पुतलीले त अंग्रेजि बुझे पनि बोल्नु हुदैन, माथिबाट हेरेको हुन्छ भन्ने दुखेसो पोखिन एकान्तमा । कुनै गल्ति देखिए कष्टकर काममा कतै पठाइन्थ्यो रे ।यो माओको मृत्यु पश्चात् ह्वाको समय थियो । माओकालिन ब्यबस्था त अझ कडा रे । त्यसबेला चिनियाहरु भारतीय घडीका लागि असाध्यै शौकीन हुन्थे । नेपाली ब्यापारीहरु लुकाएर घडी त्यहाँ लैजाने र चोरेर घडी बेच्दा रहेछन ।
  अर्को  बिहान गाडीबाटै हाम्रो टोली मानसरोबर हिड्यो । प्राणिशुन्य ढुङ्गेबाटो । निर्जन तिब्बति पठारमा टाढा कतै झुल्किन्थे त भेडाका झुन्ड र गोठाला मात्र । राबणको तपोभुमी (११६ किमी) राक्षसतालको छेउ हुँदै मान्धाता श्रृंखला काटेर डेढ घन्टामा मानसरोबर किनारामा उभिएका थियौ हामी । नेबि ब्ल्यु, निख्खर नीलो  मानसरोबरको ५१८ बर्ग किमी क्षेत्रफल र गहिराई औसत ९० मिटर मानिन्थ्यो । चारैतिरका पहिला आठ मठ अचेल खंडहर भएका थिए रे । श्राद्धकर्मका लागि अरुले कपालक्षौर गरे । मैले यतिकै नुहाए । किनारमा बसि गायत्रि जप गरि ध्यानमा बसे । कैलाशाधिपतिको संस्मरण गरे । आँखा खोल्दा त मानसको महाप्रसाद मानिने माछा पो भेटाएछु । शिरोपर गरे । सप्पै नबुझिने भएपनि ड्राइभरसंग जानकारी लिए । त्यसताका यात्रुहरुकालागि कैलाश खुला गरिएकै थिएन । मानसरोबर किनार बिल्कुलै खाली थियो । टाढा राजहंस कराएको स्वर मानसका छालसंग मिसिएर आउथे । जिउज्यान असाध्यै हलुङ्गो भएको थियो । बेलुका ऐजन पाहुनाघर परिसरमा फर्क्यौ र एउटा अर्को डकुमेन्टरी हेरेर बितायौ । मानसरोबर देखेर स्वर्गको कल्पना गर्नु सायद गलत मानिदैन । यहाँ मानिस र प्रकृति एकाकार हुन्छन । मानसरोबरलाई स्वयममा यौटा पौराणिक परिकल्पना, कबिता, संगीत भरिएको अल्कापुरको आश्चर्य नै भन्दा पनि हुन्छ ।  लाग्थ्यो समय थामिइ दिएको भए पनि हुन्थ्यो । तर तोकिए भन्दा कतै पनि बढि वस्न नपाइने ।
  दोस्रो दिन नेपाल फर्किदा सबै पैदल जाने भए । मैले भने घोडाको ब्यबस्था मिलाए । २ बजे लिपुलेक काट्यौ । ९ बजे राति तिङ्कर पुग्दा  बान्ता नै नगरे पनि टाउको र जिउ असाध्यै दुखेको थियो । तर ठूलो काम भ्याएको जस्तो मन भने मयुर बनेर नाचीरहेको थियो । सोच्दै थिए, मन, शरीर र आत्माको सत्ता नै फरक फरक रहेछ । बिचारमा नयाँ नयाँ दर्शन पलाएका थिए । तबै त यसलाई मानस यात्रा भनिएको होला । यसरी फरक फरक सत्तामा आफुलाई अभिब्यक्त गरिरहेको म को हुँ त ? यहि प्रश्नको उत्तर खोज्नमा अलमल छ, बिबाद छ ।
  यस्तै रङमङिएर छांग्रु आफ्नै अफिसमा आएपछि म हाकिम बने । बाटोमा गुरुजीको अगाडी शिष्य थिए । बुवाको अगाडी छोरा थिए । भगतजी मित्र थिए । हवल्दार सहकर्मि । यो विभिन्न अभिनयमा मेरो म को थियो त ? आफुलाई अभिब्यक्त्याउनु पनि त समय स्थान सापेक्ष हुँदो रहेछ  । ४० बर्षपछि यो संस्मरण लिपिबद्ध गर्दा म यस्तै सोच्दैछु । 
  छांग्रुमा एक दिन आराम गरियो । साउन १२ मा भारतिय पासको ब्यबस्था मिलाई चारै जनालाई गर्ब्याङ( भारत ) सम्म पुगी बिदा गरेर आफु सीतापुल हुँदै छांगरु फर्के । मानसरोबर आउने जाने ग्रुप बरोबर अफिसमा आइरहन्थे । अफिसका साथीहरु को नयाँ खेप आइ पुगेको थियो । हामी पुराना दार्चुला झर्ने तरखर गर्दै थियौ । 
साउन १४ गते भुकम्पका ठुलठुलै धक्काहरुले थरहरी गरायो । रेडियो समेत सपष्ट नसुनिने भयो । चिन्ता लागेर रातभरि निन्द्रै परेन । यसै अन्योलमा अर्कोदिन प्र.जि.अ द्वारिकानाथ ढुगेलको टोली समेत मानसरोबर यात्रा गर्न भनेर ब्यासमा आइपुग्यो । बाजागाजा सहित स्वागत भयो । मुकाम हाम्रै अफिस बन्यो । भुकम्पका जाहेरी आउन थाले ।  छाङ्गरुमै छ घर चर्केछन । तिङ्कर पनि त्यस्तै । सितापुल चेकपोष्ट निरीक्षण गरि प्र जि अ टोली तिंकर प्रस्थान ग-यो । बेलुका डी एफ ओ र रेन्जरहरुको टोली आइपुग्यो । तेस्रो दिन बल्ल् रेडियोले थप खबर सुनायो " सुदूरमा भुकम्प । दार्चुला ब्यारेक ध्वस्त । बैतडी जिल्ला कार्यालय पनि ध्वस्त । जम्मा ८३ जनाको ज्यान गयो । ७०० भन्दा बढि घर भत्के । आदि " । परिगाउको आफ्नो जिर्ण घर थियो । बुवा बाटोमै कतातिर अलपत्र होलान ? भाईको आफनो अलग्गैपन छ । पत्नीको आपति र छोराको बाल कोमलता याद आयो  । कति मात्रै सम्झनु र ? म ब्यास क्षेत्रमै कल्पेर बस्न बाध्य थिए ।
  साउन १७ मा प्र जि अ ज्यू मानसरोबर यात्रा रद्द गरि सदरमुकाम फर्कनु भयो । नेपालपट्टि बाटै बिग्रिएकोले भारतको बाटो झर्नु भएछ । पछि भारततिेर पनि बाटो बिग्रेको खवर सुन्यौ । केही गर्न सकिने अवस्था थिएन । यो भुकम्पले बझांङमा मात्रै ३० जना बिते रे । कुल जम्मा डेढसय जति परेछन । दार्चुलाका ९०% घरमा क्षति । गृहमन्त्री स्वयम् भ्रमणमा निक्लनु भएको छ रे । आदि जस्ता खबर सुनिए ।  तै साउन २२ गते बनको टोलीसंग कौवासम्म पुगियो । हिउदमा भारतीय पक्षले नेपालतर्फका रुख काटेका सुचना पाइएका थिए । जंगलमा क्षति सपष्टै देखिन्थ्यो । टाढा खेतबारीमा गहु जौ फापर र नप्पल देखिन्थे । कालापानी पनि टाढैबाट हेरियो । गुमनाम भएर कुनै सुचना बेगर साच्चिकै अजनवी भएको अनुभव भयो । भारतिय चेकपोष्टमार्फत आएका अफवाह अझ भयावह लाग्थे । ठाउँठाउँमा पैरोले महाकाली थुनिएका जस्ता प्रायोजित खवर समेत आइरहन्थे ।
  निबारक नजरबन्दीमा परेका जस्ता ती दिनमा २० दिनसम्म त नुहाउन नै जागर चलेन । यसैताका सुर्खेतमा बिखालु च्याउ खाएर ४५ जना मरे । मुरादाबादको हन्दु मुस्लिम दंगामा १०५ जना काटिए भन्ने खवर पनि रेडियो बाटै सुनियो ।
  भदौ १ को ओलके संक्रान्तिमा भने नुहाइ धोइ सौकाहरुको सगुन खाँदै बिताइयो  । ब्यास मन्दिरमा महर्षि दर्शन गरे । कुमारी केटिहरुको महफिलमा नाच पनि हेरियो । खानपिनमा मन खोलेर खाए । पहिलो हप्ता सुखसागर पढे । अनि बदनाम गली उपन्यास ।  रक्षाबन्धनको दिन सितापुल ब्यास मन्दिरको मेला हेरियो । राखि पनि बाधे छागरुकी बहिनीहरुबाट । राति नाचगानको प्रोग्राम थियो । बेलुका त कसैले केही गर्न नसक्ने, पचासौ हजार कमाएको , हाकिमलाइ हप्काएर ४०० रुपिया लिएको , कहिले भारी नबोकेको र आफु  भन्सारको परिचर भएको जस्ता धक्कु लाउदै मेरो अफिसको सज्जन कार्यलय सहयोगीका अगाडी ठूलो हुनपर्ने भन्सारको एक जना परिचरलाई सौकाहरुले राम्रै गरि भकुरेछन । मध्यस्थता गरि आधाराति पछि छुटाएर मेरै अफिसमा राखे ।
  भाद्र १२ गते मेरो पालो अफिसको कागजपत्र मिलाई गर्ब्याङकै बाटो बुदी हुँदै खलंगा झरे । रुघाखोकीले ग्रस्त थिए । म हिडेको एक घन्टा पछि अंचलाधिश र गृह सहायक मन्त्रीले हेलिक्याप्टरबाट ब्यास भ्रमण गरेछन । पर्खिएको भए निश्चित पनि हेलिलिफ्टमा परिन्थ्यो । म छिटो हुन खोजेर बल्ल भदो १५ मा सिकिस्त बनेर सदरमुकाम पुगे । मेरो सामान राखेकै घर भत्किएको रहेछ । साथिहरु भुकम्प पिडितको उद्धारमा थिए । आफुले भने राम होटलमा शरण लिए । कतै खटिने शक्ति थिएन । बिदा मागी पिथौरागढको बाटो घरतिर लागे । गौरा पर्व घरतिरै मानियो ।
तर  राजाको सम्भावित भ्रमणका कारण असौज ६ गते तेस्रो पल्ट फेरी ब्यासतिर जानु पर्ने भयो । जे पो होलाको मुडमा म पनि फेरी कसिए । जे भने पनि हुन्छ भन्ने तर रक्सी खाएपछि सबै भुल्ने तत्कालिन चेकपोष्ट अफिसर डम्मरसिंह खत्रीको रमाइलो तालमा परि २ दिन यतिकै बरालिए ।आखिर राजाको सवारीको मुकाम बैतडी पाटन निश्चित भयो । पहिलो भ्रमण कहाँ हुन्छ , एकीन थिएन । आआफ्नो स्थानमा तयार हुनुपर्ने थियो  । म पनि पुलिस टोलिसंग हतार गरेर जंगी दौडमा सहभागी भए । 
 त्यसबेला मौसम अनुसार ६/६ महिना तिङ्कर र हुतिमा प्रहरी चेकपोष्ट पनि सरि रहन्थ्यो ।  सी पि ओ को साबिक चीनजान हुँदा तीन दिन हुतितिरै सकियो । चौथो दिन बिहानको खाना नजिकै सुनसेरामा खायौ । तर बेलुका राप्लामै महफिल जम्यो । हरियो काँक्रोको सितनसंग अघाउन्जेल स्थानीय च्याक्ती खाएका आधा ग्रुप हिडनै नसक्ने भएपछि  चेकपोष्ट इन्चार्जसमेत बोकाएर राङ्थलमा लैजान धौ धौ भयो । यहाँ पनि रक्सी र नाचगानको रमिता । अर्को दिन भने बिहान दुमलिङबाट निर्जन प्रदेशको बिकट यात्रा शुरु भयो । थिङ्को आधा उकालोमा बोकेको खाना खायौ । मलाई त चिसो र ज्वरोले ग्रस्त गरेको थियो  । स्थानिय भाषामा बाटोको बलियो भूतले नै समात्यो रे ।राजाको सवारी बैतडीमा भैसकेको खबर प्रसारित भयो । अब भने टोलि २ ग्रुपमा बाँडियौ । एक टोलीले रातभरि हिडेर त्यसै दिन ब्यास पुग्ने गरि टाप ठोक्यो । म समेत ३ जना असंचोका कारण बिस्तारै आउनेमा पर्यौ । राति  पोला भन्ने ठाऊमा बाख्रावालाले टेन्ट हालेको देखियो । हिड्नै नसकेर त्यहि शरण माग्यौ । महाकाली किनारको हिमाली झाडी । चिसो बाताबरणमा खुला आकाश मुनी थाकेका बिमार यात्री । तीन जना एक कम्बल ओछ्याई अर्को एक साझा कम्बल ओढेर रात काट्यौ । बिहान भोक र रोगले कामीरहेका खुट्टा बाटोमा नसर्ने पो भए । जिउ झन झन कठ्यान्ग्रिन थाल्यो । म मनमनै अर्कोलोकको यात्राको लागि तयार हुँदै गए । केही नचले पछि साथमा रहेका प्रहरी भाइहरुले दाउरा खोजे । आगो बाले । जिउ सेकाए । एक जना यायाबर सौका भाईसंग केही खाना माँगे । बल्ल यो लोकको याद आयो । पाइला गन्दै कुन्तीसाउ उक्लियौ । त्यहाँ नून हालेको भोटे चिया खाएपछि अलि जोश आयो । चिया दिने युबति मासिक धर्ममा रहिछन क्यारे । अधोबस्त्रको पछाडी रगत लतपतिएको देखिन्थ्यो । टन्न चिया खाइसकेपछिको दिगमिग ब्यहोर्दै टर्च बालेर ३ घंटा राति नै हिडदा प्रहरी चेकपोष्टमा  होस बेहोसको अवस्थामा थियो ।
आफ्नो अफिस  मात्र आधा घंटाको बाटो भए पनि अर्को दिन पुगे । शाखा अधिकृत ओथारोमा बसेजस्ता देखिन्थे ।  २ मुखिया, १ पियन र त्यसबेला घोडेटोमा काम गर्ने प्रधानजी भनेर चिनिने दार्चुला सदरमुकामका चर्चित ब्यक्ति बिष्णु अवस्थी अर्को कोठामा थिए । म पनि बिमार बोकेर यसै समुहमा थपिए । बाटैबाट ज्वरो आउने खाना नरुच्ने आङ दुख्ने निन्द्रा नपर्ने ब्यथा लागेको थियो ।
राजाको सवारी-मुकाम सक्रीय भएको थियो । भुकम्पग्रस्त क्षेत्रमा जहाँ पनि हेलिक्याप्टरबाट निरिक्षण हुनसक्थ्यो । मुखियाहरु पनि सदरमुकाम लागे । बिष्णु अवस्थीजीलाइ पनि ज्वरो आयो । लामा झारफुकेहरु बोलाइए । नाडी हेरे । मलाइ त भूत नै लागेको  तय भयो । सेतो कपडा र सवा माना खिचडी र एक भाले माग्छ रे भन्न थाले स्थानिय लामा झाँक्री ले । तदनुसार ब्यबस्था मिलाए । नभन्दै तनिक हलुका भयो ।
अर्को दिन शाखा अधिकृतज्युले  मौखिक उपदेश र निर्देशन दिएर खलंगातिर काज बनाए । म एकलिए मात्र एकजना सहयोगीको भरमा । ब्यथा त बढन पो थाल्यो । चेकपोष्टको प्रहरी टीमले खुबै सहयोग गरे । लामाहरु र बिष्णुजीको सक्रीयतामा फेरी  लामा झाँक्री बोलाइए । तथाकथित भूतले खिचडी पाएन रे । पियन लालबहादुरले दिशा लगाएर फालेको रहेछ । अमुक ठाउमा खिचडी नपुगेको ठहरियो । प्रहरी टोलीका साथ खिचडी पकाएर फेरि पठाए । तर म झन झन सिकिस्त भए । नराम्रा सपनाहरु देखिन थाले । बरबराउन पनि थालेको रहेछु । सीतापुल भन्सारको सहयोगमा सीमाबर्ति भारतीय गाउँ गर्ब्याङका आयुर्बेद चिकित्सक मगायौ । जाँच्दा फोक्सो सुनिएको र जुकापरेको ठहराइ औषधि दिए । दुईवटा कुन्नी के इन्जेक्सन पनि लगाए । प्रहरी आ वा बाट सिकिस्त परेको खबर मजकूर कार्यालयहरुमा पठाई नियतिलाई पर्खेर बस्नु बाहेक अर्को उपाय थिएन ।  त्यहि गरे । त्यस पछि लगातार जसो २/२ का दरले १० इनजेक्सन लिए भारतिय बैद्यबाट । जुकाहरु परेकै रैछन ब्यासको काचो मासुले । आन्द्रामा घाउ परेपछि ज्वरो आउने नै भयो । बिस्तारै तन्ग्रीदै गए । असौज २६ गते प्र जि अ ज्यूले पठाएका औषधि सहित हेल्थ असिष्टेन्ट रिजन रायको नेपाली स्वास्थ्यकर्मी टोली पनि आइपुग्यो । तीन सय नगद पनि पठाउनु भएको रहेछ । बिस्तारै खाना रुच्न थाल्यो । हेल्थपोष्ट टीम पनि हाम्रै अफिसमा बस्यो । रु ४५/- मा सिङ्गै तिब्बति भेडा किनेर फेरी भोज चल्यो जंगलमा मंगल भने जस्तै ।  
  मौसममा चिसोपन थपिएसंगै क्रमस: गाउँ खाली हुन थालेका थिए । असौज मसान्तमा बाँकी रहेको एक मन(४० केजी) गहुँ घरपट्टि बुढियालाइ दिएर लालसिं र मैले पनि अफिस बन्द गरि ब्यास क्षेत्र छोडेका थियौ  । भारत गर्ब्याङको बाटो गएर भारतिय बैद्यलाई केही सामान्य उपहार सहित धन्यबाद दिएर बुदि तरी नेपाल भित्रिए । थिंमा चिया खाएर तम्बाकु झरे । भुतले उजाड पारेको ठाउ रहेछ यो । प्रतेक बर्ष एक हल गोरु भिरमा लोटाएर भूतलाई खुवाउनु पर्ने रहेछ । मलाई यहिको भूत लागेको भन्थे । झर्दा भने बिचरा भूतले केहि गरेनछ । अझ बाटोमा दर्माका भोटेको लस्कर समेत हामीसंगै मिसियो । उहीँ दुमलिङ बसि उहीँ बाटो श्रीबगर पुग्दा कार्तिक ३ भैसकेको थियो । दशैको जमरा हाले । तातोपानीमा मजाले नुहाए । केही लुगा धोए । केही महाकालीमा बगाए । एक हप्तासम्म धारचुलाको दुग्ताल डाक्टरसंग  उपचार गराएपछि बिशेक भयो । 

यसरी  सन 1980 सकिनै लाग्दा चीनमा माओको आलोचना शुरु भैसकेको थियो । श्रीमती माओलाई सजाय निश्चित थियो  । यता दार्चुला ब्यासका बरिष्टतम ब्यक्तित्व बहादुरसिंह ऐतबालको पुस १३ मा मृत्यु भयो । यसै महिना महाकाली अंचलाधिशमा पशुपतिदेब पाण्डे नयाँ नियुक्ति भएर आए । राष्टिय पन्चायतको निर्बाचन हुने भयो । मेरो सरुवाको तारतम्य बिग्रेको जस्तो लाग्यो । बाङाबगर डेरा । खलंगाको अफिस । हिउद सकिएपछि ब्यासतिर जानुपर्ने बाध्यता टडकारै थियो । 
 ०३८ बैशाखमै निर्बाचनको खटनपटन हुँदै थियो । भुकम्पपछि जनमतसंग्रहको परकम्पमा परी म त सबभन्दा टाढाको केन्द्र ब्यासको तिङ्कर पो खटिनु प-यो । भएको के थियो भने निर्बाचनको  कन्ट्रोल रुममा काम गर्ने गरि जगेडामा राखिएको थिए । देश दर्शनको कार्यक्रममा दरबारमा बोलाइएका तिंकर गुम्बाका लामाले जनमतसंग्रह ताका आफनो गाउमा बुथ नराखिएको गुनासो जाहेर गरेका रहेछन् । त्यसैकारण अन्तिम तयारी पूरा भएपछि दरबारबाट हरहालतमा छांग्रु र तिङ्करमा बुथ कायम गर्ने भन्ने हुकुम बकस भएको रहेछ । हुकुमको जवाफ थिएन । सोधखोज गर्दा २३ जनामात्रको भोटरलिष्ट तयार भयो । भान्छामा बस्नेले कि राम्रो खान पाउछ, कि भोकै बस्नुपर्छ भन्दै प्र जि अ ज्युले मेरै नाम प्रस्तावित गर्नु भएको रहेछ । यसरी निर्बाचनको काममा घर न घाटको पण्डा बनी केही दिन काटे । निर्बाचन खर्च- टिएडिए-७२७/- भाडा१३०/- बुथ निर्माण ७५/- प्रकाश६०/- अन्य खर्च २२२/- स्वयमसेवक६० /-=८३०/- खर्च पाइएको थियो । मैलै नै छाने अनुसारको युबा निर्वाचन टोली टिंकरतर्फ प्रस्थान ग-यो । त्यो दिन दाहुतिमा खाना खाई सुनसेरा बस्यौ । अर्को दिन सुनसेरा राप्ला राङ्थल हुँदै दुमलिङ पुगेर खाना खायौ । निर्माणाधिन घोडेटो बाटोले ट्रयाक खोलिसकेको सुचना पाएर अब थिङ्को एकदिने उकालो हिडनु पर्ने भएन भन्ने ठान्यौ । त्यसैले घाटिबगर पुगिएला भन्ने हिसाब लगाएर अबेर गरि हिड्यौ । तम्बाकु पुग्दा नपुग्दै असिनापानी पर्न थाल्यो । पानी रोकिएपछि माथि भिरबाट बन्यजन्तु बाँदर लंगुरहरुका बथान ओतबाट निक्लि बासबस्नपट्टि लागेका बेला लोटाएका ढुंगा बर्षन थाले । पाखामा टाउको जोगाउदै टेक्नमात्र पुग्ने अक्कर भीरमा सम्हालिदै हिडनु पर्ने भयो । साँझ पर्न थालेको थियो । छंगाछूर भीरमा अलिकति यताउति टेकियो भने जीउ महाकाली पारी भारततिर र ज्यान माथि स्वर्गतिर जाने निश्चित थियो । आधा भिर कटि सके पछि आधा ग्रुपले भिर छिचोली सक्दा अर्को आधाग्रुप हिडनै नसक्ने देखिएकोले एउटा ठाडो सानो ओडारमा बास बस्न बाध्य थियौं  । 
  तल नेपाल भित्र पसेको महाकालीको कर्कस आवाज आउथ्यो । माथि भोजपत्रको जंगल । निंगालाका मुल्जाको अडेस लाएर पहरामुनि ओत लागेका थियौ । प्रहरी भाइको टोपीमा थापेको भीरबाट चुहिएको पानी र बोकेर ल्याएका थोरै बिस्कुट बाडिचुडी गर्ने निर्णय भैसकेको थियो । अकस्मात गहुँको रोटी डढेको मीठो गन्ध फैलियो बाताबरणमा । केही रहस्य पो हो कि भनेर डरायौ पनि । तल माथि केही छ कि भनेर २/२ जनाको टोली खोजिमा खटियो । हो रै छ । हामी बसेको थुम्को मुनि बडेमाको ओडार भित्र त घोडेटोका ज्यामीहरु पो बस्दा रहेछन। खाना पकाउदै खादै नाचगान चलिराखेको । हामी विशिष्ट अतिथि बन्यौ । रात रमाइलो गरि बित्यो । अर्को बिहानै हिजो राति छुट्टिएको ग्रुपलाइ निगालाको झाडी भित्र चिसोले अनुहार सुन्निएको अवस्थामा भेट्टायौ । र निर्बाचन टोली सकुशल ब्यासतिर लाग्यो ।
  माथि नेपालपट्टि बाटो खुलेकै रहेनछ । हिउँ पग्ली चौरी हिडेपछि मात्र हिमाली बाटो निरापद मानिन्छ । यहिकारण जनाई भारतीय इन्डो तिब्बतियन बोर्डर पुलिसको स्थानीय कमानलाई भारतिय बाटो हिडने लिखित अनुमाति मागेका थियौ । सो पाइयो पनि । तर हामीसंग रिबाल्बर, क्यामरा, रेडियो समेत भएको कारण लफडा पर्नसक्ने आशंकाले खतरा भए पनि आफनै बाटो हिडने निर्णय गरि कुन्तिसाँउको उकालो लाग्यौ । आंशिक हिउँ पग्लेर ठुल्ठुला खाडल परेका थिए । हामी कुनै पनि खाडलमा खसेर सोझै पाताल प्रबेश गर्न सक्थ्यौ । तै उम्कियौ । राति छांग्रु सीमा प्रशासनको बाँझो घरको बास भयो । गर्ब्याङका  आइ टि बि पि क्याम्प कमान्डर नेपाली मित्र बालाराम गुरुङजीसंग अनुभव आदानप्रदान गरेर केही खानपिनका सामानको भौतिक सहयोग माग्यौ । ब स नि सितारामजीको टोली छांग्रुमा बस्यो । हामी अर्कोदिन हिमपैरोको कठीन बाटो जसरी तसरी तिङ्कर पुग्यौ । त्यहाँको समुच्चा गाउँमा हुम्ला माइत भएकी एउटी महिलाले मात्र अलि अलि नेपाली बुझ्ने रहिछन् । उनकै मध्यस्थतामा खाने बस्ने ब्यबस्था मिल्यो।
  बैशाख २७ गते  कर्मचारी सहित जम्मा २९ भोटर भएकोमा २३ जनाले भोट हाले । बहुपति प्रथाका कारण बाँकी मध्ये धेरै खर्क तिर रहेछन । मतदान सकेर सोही दिन, दोस्रो दिन राप्ला र तेस्रो दिन राति राति ९ बजे खलंगा पुग्दा सबै  हाम्रो अन्तिम टोलीको प्रतिक्षामा रहेछन । बैशाख ३१ गते आएको निर्बाचन परिणाममा कुल ३७४४ भोट पाएर ४४ भोटले कम्मान बहादुर पाल राष्ट्रिय पन्चायत सदस्यमा निर्बाचित भएका थिए । 
   यसपछि म जिल्ला प्रशासन कार्यालयमै काज राखिए । प्र जि अ द्वारिकानाथ ढुङ्गेलले मलाई जिल्ला प्रशासन कार्यालयमै सरुवाको प्रकृया पनि चलाएका थिए । उनको नेतृत्वमा मैले धेरै कुरालाइ नयाँ अर्थमा बुझन थालेको थिए । त्यसताका मुद्दाको काममा खप्पिस एक जना बुढा सुब्बाको मातहत बसेर काम सिक्न अह्राइयो । तर सुब्बा सापले लेखेको अक्षर  बुझ्न नै गारो हुन्थ्यो, उनले आफु बाहेक अरुलाइ केही सिकाउन नै नचाहने । कागतपत्र त अरुलाइ हेर्नै नदिने । यो समस्या मैले प्र जि अ ज्यूमा जाहेर गरे । “ के लेखे भनेर पढनु भन्दा किन लेखे भनेर नियत बुझ्ने कोसिस गर्नु “ भन्ने निर्देशन पाए । यो निर्देशन मेरोलागि भविष्यको पथप्रदर्शक बन्यो । यसैताका ब्यक्तिगत परीक्षार्थीको हैसियतमा जाँच दिन भारतको धारचुला स्थित इन्टर कलेजबाट आइ ए को प्राइभेट फर्म समेत भरेर पढाइलाइ निरन्तरता दिए ।      

  यसैताका प्रशासकीय अधिकृत को हैसियतमा सीमा प्रशासन कार्यालयका हाकिम पनि काजमा यतै आए । उनीसंग सीमामा बस्दाताका त्यति खुल्नै सकिएको थिएन । भएको के थियो भने तिङ्करमाथिको लिपुलेक तिर बम जस्तो देखिने केही बस्तु राखिएकोछ भनेर खवर पाइएको थियो । हाकिमले मलाइ सहयोगी लालबहादुर सहित त्यो बिकट ढलाने पाखो जान अह्राएका थिए  । साथै कुनै शंकास्पद बस्तु भेट्टिएमा त्यो जिनिस टिपेर ल्याउन समेत आदेश दिए । तर मैले त्यस्ता अज्ञातबस्तुलाइ साबधानी नअपनाइ छुन नहुने तर्क राखे । हाकिमले रुमाल निकालेर " ल यसमा बाध्नु " भने । अलि अलि च्याक्ति सबैले चढाएकै थियौ । मेरो पालो टोपी निकालेर " ल, टिपेर यो टोपिमा तपाईं राखिदिनोस । हामी बोकौला । साइडमा संगै जाउ । " भने । गलफत्ति भयो । अन्तमा पुलिस चेकपोष्टलाइ खवर गर्यौ । प्रहरीले पनि हात हाल्ने आँट गरेन । दार्चुलास्थित रणभीम गुल्मबाट आएको टोलीले त्यो बस्तु उठायो । चिसोले निष्क्रिय भेसकेको ठुलै बम थियो रे । खम्पा काण्डताका छोडिएको अनुमान गरिन्थ्यो । यो काण्डपछि आफनै हाकिम मसंग बमबम हुन थालेका थिए । रित पुर्याउन मात्र छांगरु पुगेर बाँकि दिन बस्तुस्थिति जाहेर गर्ने नाममा सदरतिर काज खटिने प्रबृतिप्रतिको झिनो बिरोध थियो मेरो ।
  तर पनि त्यो साउनमा प्र जि अ स्वयम् ब्यास जाने कार्यक्रम बनेकोले  फेरी ब्याससम्म जानू पर्ने भयो । साउन ५ मा जन्तिजस्तै २५ जनाको टोली प्र जि अ द्वारिकानाथको नेतृत्वमा ब्यासतर्फ हिड्यो । यो भ्रमणको चहलपहल विशेष हुने नै भयो । विशेष गरि तिङ्कर भंसारमा भएका भ्रष्टाचारजन्य कारवाहीको निगरानी गर्ने काम समेत मैले पाएको थिए  । त्यहाँका खरिदारको उखरमाउलो ज्यादै सहि नसक्नु देखियो । ताक्लाकोटबाट भारी बोकेर ल्याउने हुलका हुल खच्चर मध्ये ठुला साहुका खच्चर गिन्ति गरेर हिसाब राखी छोडीदिने तर फुटकर साना भरियाका भारी खोतलेर हेर्ने र भन्सार काटने गरिदो रहेछ । मानसरोबरको यात्रा पूरा गरि फर्कदै गर्दा प्र जि अज्यू मा सोही ब्यहोरा सपष्ट जाहेर गरे । भंसारको चार्ज अरुलाई बुझाई नीज खरिदारलाई जिल्ला प्रशासनमा उपस्थित हुन पठाउने आदेश भयो । साउन २१ गते प्र जि अ टोली फर्कियो । पुन: म ब्यासमै एक्लिए । बल्लतल्ल तिङ्करको चार्ज अरुलाई दिएर साबिक हाकिमलाई कारवाही चलाइएको थियो ।  एकपल्ट रक्सी खाएर मस्त भएका चेकपोष्ट हाकिमको पिस्तोल नै स्थानियले खोसेर लगिदिएका रहेछन । हामीले मध्यस्त बनेर छुटाएका थियौ । 
२४ साउनका दिन आधा कपाल दुखेर म इन्तु न चिन्तु थिए । यस्तैमा मानसरोबर यात्राको क्रममा एक जना बाबा मेरो अफिसमा आएका थिए । म एक्लै थिए । सकी नसकी उनको सिफारिस लेखी दिए । उनले आफुलाई शिव चैतन्य ब्रमचारी नेपाली बाबाको नाम दिएका थिए । मेरो स्थिति देखेर थोरै जडिबुटि दिए । यो बुटि खाएपछि कहिले कपाल नदुख्ने भनेका थिए । मात्र २ मात्राले आजपर्यन्त यसरी आधा कपाल दुखेको छैन । ती बाबाको दोस्रोपल्ट दर्शन  पाइएन । अभिसप्त अश्वत्थामा यी पहाडमा घुम्छन भन्थे । उनै पो थिए कि ! अहिले सोच्दैछु ।
  त्यहि सालको हिउदमा शाही  नेपाल चलचित्र संस्थानले राष्टियता सम्बर्धन गराउन नेपाली लोकनृत्य सहितका केही डकुमेन्टरीको निशुल्क प्रदर्शन गरेको थियो  । राजा रानीको शाही भ्रमण पनि थियो । तर पुस २२ मा दार्चुलाको ब्यारेकमा मात्र आएर यो भ्रमणको अनुष्ठान पूरा भयो । त्यतैबाट फुर्र फिर्ति सवारी भयो ।  प्र जि अ लाई पनि खासै सरिक गराइएन । बाहिर विभिन्न अडकल काटिए । तत्कालिन प्र जि अ को भनाईको सम्झना आलै छ । भनेका थिए , जिल्ला प्रमुखलाई कुनै सुचना नदिइएबाट प्रमुख भएर बस्नुको औचित्य सकिएकोछ । नभन्दै केही दिनमा वहाँको एकीकृत बिकास  परीयोजनाको कोअर्डिनेटरमा सरुवा गरियो । चुरीफुरी देखाउने सीमा प्रशासन अधिकृतलाइ पो बिभुषित गरिएको रहेछ । स्थानिय निर्बाचन हुने तरखरमा थियो । यसपालाको निर्बाचनमा म कामबिहीन बनाइए । आइ ए को तयारीकोलागी यो पेलाइ पनि मेरो निम्ति अनुकूल हुन गयो । परीवारसंगै राखेको थिए । जनगणनाको एउटा मधेशी पियन ले “ यस्तो बेला स्वास्नी केटाकेटिसंगै राखेर के होला ? हजुर । जहा भएपनि टकराउनु पर्छ, पैसा कमाउनु पर्छ । बुढेस कालमा पो मजाले बस्ने हो। “ भनेर सिकाएको सम्झिन्छु  । 
  भारतमा आइ ए को परीक्षा र नेपालमा स्थानिय निर्बाचनको समय एउटै परेको थियो । ०३९ जेठ ११ गते बिहान ७ बजेदेखि ईतिहास र बेलुका ३ बजे नागरिक शास्त्रको  जाँच एकै दिन परेका थिए । पत्नी राति देखि नै छटपटिएकि थिइन । प्रसब ब्यथा पो रै , छ । बिहान ठिक ६.१५ मा दोस्रो सन्तान जन्मियो । छेउमै बस्ने प्रहरी परीवार भगत र भट्टजीलाई बच्चा भएकोले खबर गरि दिनु होला भन्ने अनुरोध गरि कलेज दौडिए । ५/७ मिनेट ढिलो भए पनि जाँच दिन पाए । ११ बजे घर पुगे । छोरा भएको रहेछ ।  जेठो छोरा, नवजात शिशु र नवप्रसुतिलाई सम्हाली फेरि अर्को पेपर दिन भारततिर लागे । जे होस जाँच छोडिएन र कामको दोहरो तेहरो पेलान बेहोरियो । कोठामा कपडाको पार्टिसन गरि ब्यबस्थित गरे सुत्केरीलाई । त्यो दिन नुहाएर राति १२ बजे एक छाक मात्र खाए । अर्को दिन पारीबाट सरसामान किने । खाना ख्वाए । अफिस जाँदा हाकिम त माथि ब्यास जाने तयारी गर्नोस पो भन्छ  । सिमित उपस्थितिमा न्वारानको औपचारिकता पुरा गरियो । अबिस्मरणिय शिबस्थलको यात्रापछि पाएको छोरा भनेर कैलाश नाम राखे । 
श्रीमती स्वयम् खाना पकाउन थाल्छिन । जेठको अत्यधिक गर्मीमा सद्यजात छोराको आँखा र नाइटोमा संक्रमण देखियो । थप अर्को पात्र अस्पताल लैजानुपर्ने भयो । जेठ २४ गते चिकित्सकको प्रमाणपत्र सहित बिमारी बिदाको निबेदन दिएर थकित गलित भएर घरमै बसि दिए । २५ गते आफनो हाकिमलाई २/४ कुरा सुनाए । त्यसपछि बोलचाल नै बन्द भयो । यसपछि भने एकान्तबास बसे । निर्बाचनको धामधुम सकिए लगतै ५ आषाढमा बिदाबाटै महेन्द्रनगर झरे । अंचलाधिश क्वार्टरमै गएर बिहानै अंचलाधिश पशुपतिदेब पाण्डेज्युसंग कुरा राखे । चाखसंग कुरा सुन्नु भयो । जिल्लाबारे केही बुझ्नु पनि भयो । १० बजे अफिसमा भेटन अह्राउनु भयो । भेटे । २ बजे सरुवाको काम सकेर फर्किए । 
अफीस गै हाकिम द्वयलाई फुर्तिसाथ सरुवाको कुरा सुनाए । १५ दिनको बाटो म्याद र ४ दिनको बिदा बल्लतल्ल स्वीकृत भयो । पत्रकारिता तथा कहानी लेखन महाबिद्यालय अम्बालाबाट पत्राचारको माध्यमबाट कोर्स गर्दै थिए । त्यसको पनि परीक्षा सकाए । १४ साउनमा आइ ए को रेजल्ट खुल्यो । ४५% पास रे ।  क्रस लिष्ट आईपुगेपछि १६ गते कलेज पुग्दा मेरै बारेमा कुरा गरिरहेका प्निन्सिपलबाट आफु राम्रो नम्बरले पास गरेको छडके जनाउसम्म पाए । प्राइभेटबाट मेरो नै राम्रो नम्बर रे । लगत्तै मेरो रवाना लिएर बैतडीतिर लागे ।

यसरी  नयाँ आयाम लिएर जिन्दगीले कोल्टे फेर्दै गयो । कता कता पु-यायो, कहिले हँसायो ..कहिले रुवायो  । अलमस्त, सुस्त, आकांक्षा बिहीन र ब्यस्त भएर तिब्र गतिमा बर्षहरु बग्दै गए ।
०५८मा आइपुग्दा महेन्द्रनगरमा नयाँ घर बनाउन शुरु गरेको थिए । महेन्द्रनगरमै सरुवा भएको थियो ।
०५८ जेठ १९ को दरबार हत्याकान्डले भावनाको जगै हलायो । " हावा लाग्छ, हेलिक्याप्टरसम्म नआउ फर्क, भनेर बिदाइका हात जोडने राजा कहाँ पाउनु अब । बिक्षिप्त जस्तै भए । जागिरका जिन्दगीका केही बाँकी बर्ष छोडेर चाँडै घर जाउ जस्तो लागि रह्यो । छोरा कैलाशले पनि आइएस्सी सकेर एपेक्स काठमाडौंमा भर्ना लिएको थियो । मैलौ  कुमायुँ बिश्वबिद्यालयबाट प्राइभेट अध्ययन गरि स्नातकोतर उतिर्ण गरेको थिए । खुल्लाबाट अधिकृत पास गरेको पनि डेढ दशक बित्दै थियो । बढुवामा यस बर्ष पनि परिएन । उल्टो बिदा नै नलिएको अवधिमा परीक्षा दिएको देखिएकोले जाली सर्टिफिकेटको शंका गरि परेको उजुरीको छानबीनमा पो परियो । सबै सक्कल प्रमाणपत्र मन्त्रालयमा बुझाएको थिए  । छानबिन पश्चात प्रमाणपत्र फिर्ता पाएको लगत्तै का मु प्रमुख जिल्ला अधिकारी तोकेर ०५९ कातिक २० गते फेरी दार्चुला पठाएको पत्र पनि पाए । 
त्यसताका माओबादी जनयुद्ध चरमोत्कर्षमा थियो । सुचना नै नदिइ दार्चुलाका तत्कालिन प्रजिअले जिल्ला छोडेका रहेछन । जिल्ला प्रशासन नै अस्तब्यस्त रहेछ । मलाइ बलिको बोका बनाइएको जस्तो लाग्यो । यथार्थ स्थिति बुझ्न तत्कालिन अन्चल प्रहरी कार्यालय का एसएसपीलाइ भेटन गए । उनले त सबै भगवति र धुराहरुका शिबशक्ति पीठमा पुजा गराइ भाकल समेत गरि सकेकोले ढुक्क भएर जान सल्लाह दिए । जे पो होस भन्दै माइलो छोरा कैलाश साथमा लिइ झन्डै २० बर्षपछि पुन: दार्चुला हाजिर भए । गएकै केही दिनमा ३ जना माओबादी जेलबाट छोडिए । ८ जना  थुनामा राखिए । 
यसै बीच जुम्ला र गोरखामा आक्रमण भए । कैलालीका माननीय चक्र डगौरा मारिए । ( अछाम घटनामा सहृदयी मोहन खत्री मारिएका घटना आलै थिए । )  माओबादीहरु धापसम्म आइ पुगेका खाल्डो खनिएका खबर सुनिन थाले । पुस ९ गते त दल्लेकमै माओबादि सशस्त्र टोली आइपुगेको खबर आयो । नजिकै गाउका कर्मचारी समेत सदरमुकाम मै डेरा गर्न थालेका रहेछन । 
यस्तैमा एक दिन  सुरक्षा समितिले रात भरी अतिरिक्त सतर्कतामा बस्ने निर्णय गर्यो । मृत्युको आसन्न सन्त्रास कति डरलाग्दो हुँदो रहेछ, बुझियो । बातबिकारले अररिएको जिउमा खलखली पसिना आउन थाल्यो । वाकवाकी लागेजस्तो पो भयो । हाम्रो धर्मशास्त्रमा अन्धकारका पनि देवता छन । अन्धकार पनि रक्षा कवच हुन सक्दछ । आज त उज्यालोका भन्दा अध्यारोका देवतासंग त्राण मागियो । बति निभाएर चुपचा्प बसी रहे । छतमा  हतियारधारी सुरक्षाकर्मी थिए । झन ब्लफ कल आउन थाले । म मरे पछि के होला भनेर पनि सोचिन थाल्यो । जेठो छोरा लापरवाह छ, सामाजिक सम्बन्धमा चासो राख्दैन , कसले घरेलु मिसन समाल्ने होला भन्ने सोचिन थाल्यो । निदानत: २ बजे खतरा टरेको खबर दिए डि एसपीले । तै पनि घाम नलागुन्जेल उनिदै थिए । दुनिया त्यसै दिन क्रिसमस मनाइरहेको थियो । म पनि रातभर जाग्राम थिए । उठदा रिङठा चलेर ढलेछु । तर थर्मस फुटे पनि म फुटिन । जीवन चली रह्यो । सदरमुकाम छाडेर जिल्लातिर जाने वातावरण नै थिएन ।
  प्रशाशकीय संगोष्ठिमा छिमेकी भारत र महेन्द्रनगर सम्म भने आउजाउ चलि रहन्थ्यो । यसै क्रममा काठमाडौ पुगेर तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दज्युसंग समेत दुखेसो सुनाए । उनले अन्यमनस्कता देखाए । तर माघ १९ मा अनायास युद्धबिराम भयो । माओबादीहरु सदरमुकाममा पनि देखिन थाले । माओबादी पक्षका क.खगराज भट्टलाई अफिसमै बोलाएर कुरा गरे । सदरमुकाममा सभा गर्न नदिने भने पनि बाङगाबगरमा उनिहरुले सभा गरे । हराएका सीडीओ, सहायक सिडिओ पनि सम्पर्कमा आउन थाले । दार्चुलाको  न बसु जस्तो पनि लागेकै थियो । धार्चुला गै गृह सचिबज्यूसंग फोनमा अनुरोध गरे, तर उनले चुपचाप बसिरहन मात्र आदेश दिए । 
यसरी युध्दबिरामसंगै मौसम उघ्रियो । गृहमन्त्री र गृहसचीवले जिल्ला भ्रमण गरे । कैयौ अनुगमन र निरिक्षण टोलीहरु पनि जिल्लामा देखिए । कैयौ दिवस र जात्राहरु मनाइए । यहि मौकापारि चैतको पहिलो हप्ता  धेरै बर्षपछि म पनि घर पुगेर आमालाई भेटन भ्याए । गाउँ बदलिएछ । एउटा नयाँ घाम उदाए जस्तो । आवरण तरल थियो । तर गर्भमा ज्वालाहरु थिए । माओबादको नाममा अर्को अब्यबस्था समाज हुडल्दै थियो । कुनै मार्गचित्र सपष्ट थिएन ।
२०५९ चैत २२ गते तत्कालिन श्री ५ महाराजाधिराजको मल्लिकार्जुनन्दिरमा सवारी हुने औपचारिक खबर चैत १९ गते मात्र पाइयो । २० गते रातारात त्यसतर्फ हिड्यौ । जिल्ला न्यायाधीश, स्थानिय बिकास अधिकारी, प्रहरी नायब उपरिक्षक, जिशिअ समेत ४०/५० जनाको टोली दत्तु भर्तोला हुँदै जाँदै थियौ । बाटोमा माओबादी जत्थाले ब्यबधान हाल्ने प्रयास समेत गरे । निरापद बनेर २१ गते बिहान मलिकार्जुन धामको दर्शन गरे । सेनाले सबै तयारी गरेको थियो । स्वागत समिति गठन गरे । शान्तिसुरक्षामा राम्रो समन्वय थियो ।  झरी र चिसोमा औपचारिक पोशाक समेत मागेर सिउरेको थिए । प्रधानसेनापति प्यारजङ्ग थापाको निरिक्षण भ्रमण पछि सबै कुरा थान्को लाग्यो । वहाँ मार्फत नै सबै कुरा जाहेर गरे । प्रफुल्ल मुद्रामा सरकारको भ्रमण सकियो । बिदाइ दर्शनमा दुनियालाइ पनि धन्यबाद भनी दिनु , म अहिले जाउ है , भन्ने हुकुम भयो । यहिक्रममा मैले पनि मलिकार्जुनको पुजा गरे । प्रसाद पाए । भोकर लगाइयो । फर्कदा भगवतिको पनि दर्शन गरेर बजानीको लेक र थपला हुँदै फर्कियो ।  
यसै मेसोमा मसान्ततिर हामी सुरक्षा टीमका साथीहरु चैत्र २९ गते नारायण आश्रमको भ्रमणमा निक्लियौ । नारायण स्वामीको साकार परिकल्पना । धौलागाडको बिद्युत परीयोजनाबाट बिस्फोटक पदार्थ ठुलो मात्रामा नेपालतिर चोरी निकासी हुने गरेको खबरको पुष्टि गरियो । पछि जुम्ला आक्रमणमा सो बिष्फोटक प्रयोग भएको अनुमान गरिएको थियो । नारायण आश्रमबाटै घरमा फोन गरेको त श्रीमति रुन पो थालीन् । कान थापेकी बाटो हेरेकी रे । कस्तो भ्रम  । यसरी आफुले गरेको कामको प्रगतिलाई आफनै ठुलो ऐनामा राखी नहेर्दा किमार्थ प्रगति पुरुषार्थ भेटिदो रहेनछ । अर्कासंग दाँज्दा तत्जन्य परीबेश पनि दाँज्नु पर्ने हुन्छ । लाग्छ दुनिया समथर छ । नियतिले सबैलाई सम्याउछ । हामी पनि त्यहि समयको पर्खाइमा बस्नुपर्दोरहेछ ।
 १५ पुषमा परीचय लुकाइ पिथौरागढको बाटो महेन्द्रनगर आयौ डिएसपी कृष्ण गौतम सहित । चल्थीमा गाडी बिग्रियो । राति बालुवा बोक्ने ट्रकको पछाडी बसेर १२ बजे टनकपुर पुग्यौ । यसरी राति हिडने वातावरण नेपालमा कहिले होला र भन्ने लागीरह्यो । दोस्रो दिन बल्ल दस बजे महेन्द्रनगर पुग्यौ र सीमा सम्बन्धी मिटिङमा सहभागी बन्यौ । त्यो मिटिङमा भएका दुइटा प्रसंग सान्दर्भिक छन ।
भारतीय पक्षका नापी सर्बेयरले ब्रह्मदेब सीमाको  पिलर भारततिर हुनुपर्ने जिकिर गर्दा त्यहाँका डिएमले हस्तक्षेप गरे। 
उनले भनेका थिए " मिष्टर खत्री! आप किस पक्ष में क्या बोल रहे है? क्या आप सपष्ट है?" । सेनाबाट खटिएका ती नापी सर्भेयरले तत्काल तन्केर जवाफ दिए, " मै नहि बोल रहा हुँ , सर! मेरा गणित ऐसा बोल रहा है । और मेरे साथ मे संयुक्त सीमा टोली के नेपाली समकक्षी भी रहते है । गणित एक हि बात बोलता है सर!।"
अर्को कुरा, हामीले धौली गंगा परीयोजनाबाट बिस्फोटक नेपालपट्टि बाहिरिएको जनाउ दिदा पिथौरागढको डिएमले " ऐसा हो हि नहि सकता " भनेर अडान लिए । तर एसएसबी कमान्डेन्डले हाम्रो कुरामा समर्थन जनाउदै बाटोका चियापसलमा समेत बिष्फोटक सामग्री ढुवानीकर्ताका ड्राइभरहरुले सो सामान बेचेर जाने गरेको खुलासा गरे । निदानत : धौलीगंगाको बिस्फोटक पदार्थ राखिएको गोदाममा छापा हानेर कारवाही चलाइएको थियो । 
 अचेल गणतन्त्र र संघीयतासंगै घरमा आगो लगाएर खरानीको व्यापार गर्ने प्रबृति भएकाहरु नेतृत्वमा हाबी छन । कोटमा भन्दा किलामा ध्यान दिने समुदाय छ । बिरालोको काम होइन रंग हेर्ने प्रचलन बढि छ ।अतीत खोस्रेर बसेका बुढाहरु सिहदरबारमा गजधम्म छन । त्रासद तरवारहरु वारीपारीबाट धारेहात लाउदैछन । आफनै घरको मुलढोका पनि पसुँ कि नपसुँ जस्तो भएकोछ ।
  उहिले हामीहरुलाइ नेपालको सबभन्दा ठुलो ताल फेवाताल भनेर पढाइन्थ्यो । अहिले राराताल ठुलो मानिएकोछ । त्यसै गरि महाकाली नदिको उद्गमस्थल कालापानी हो भनेर पढाइन्थ्यो, पढाइदैछ । तर काली नदि जोलिङकाङ पर्बतबाट निक्लिन्छ । कुटियाङदि, काली, शारदा, सरयु हुँदै यो सीमा नदि गंगामा मिसिन्छ भन्ने तथ्यसंग थोरै नेपालीमात्र परिचित छन  । सुगौली सन्धी हुँदा नेपालका राजाले काली नदिको भुभाग छाडनेछन भनिएको थियो । महाकाली सन्धीले महाकालीको पानीलाइ समेत फिफ्टि फिफ्टि गरि दियो । टाढा लिपियाधुरा तिरको जिरो पिलरका त कुरै छोडौ । झापाको जंगे पिलर देखि ब्रह्मदेब स्थित टनकपुर बाँध नै सन्धी/सहमतिको नाममा वरपर गरिएका छन । यसरी कुटियाङदि देखि कुतियाकवरसम्मको सीमारेखा नै बिबादित र चर्चित बन्न गएकोछ ।
  सुन्छु, हाल पनि ब्यास गाउपालिका-१ मा रहेको उहि सीतापुल प्रहरी चौकि पश्चिमोत्तर सीमानाको अन्तिम  सुरक्षा पोष्ट हो रे । त्यहाँ उसै गरि १ दर्जन प्रहरी बसीरहेका होलान जस्तो लाग्छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकको चर्चा चुलिएसंगै भारततिर भने अन्तिम बिन्दु कौवाबाट  कालापानी पुग्दा ९ वटा सुरक्षा पोष्टमा १० हजार जति जनशक्ति काममा खटिएर त्यता कालापानी लिपुलेक मोटरबाटो बनिरहेकोछ । हाम्रोतिर पंचायत कालमै बन्न थालेको खलंगा तिङ्कर सवासय कि मि घोरेटो बाटो पनि अस्तब्यस्त छ । सशस्त्र द्वन्दकालमा त राज्यको उपस्थिति नै रहेन । स्थानियले दिएको सुचना माथिल्लो निकायमा पठाइदिने काम सम्हालदै प्रहरीका दुई युनिट अझै ६/६ महिनामा तलमाथि गर्छन होलान । धेरै कुरा थाहा नपाएझै गर्नु पर्ने बाध्यता छँदैछ ।  सौकाहरुलाइ कुन्जा सार्न पनि उस्तै समस्या होला ।
   अझै पनि आफनै बाटो आफनो सदरमुकाम हिडन सकिने स्थिति कायम राखी त्रिदेशिय सीमाक्षेत्रमा सुरक्षा स्थिति बलियो बनाउन कुटनैतिक पहल चालु रहोस भन्ने जनचाहना स्वाभाविकै हो । सीमाप्रतिको नागरिक सतर्कता सलामयोग्य छँदैछ । धेरै कुरा बुझेर पनि बुझ पचाइरहेका दुइजिब्रे  नक्क्ली नेतृत्वले आफुसंग भएको भारतिय मुद्रा सटहि गर्न नसकिरहेको अबस्थामा बाँकी के कुरा गर्नु र । झापामा अरबौको लागतले बन्ने भ्युटावरभन्दा महाकाली करिडोरमा बन्नुपर्ने तिंकर लिपुलेक खन्डको सडक राष्टको लागि धेरै महत्वपुर्ण छ भन्ने राष्टिय सोच बन्नु पर्छ । अनि सक्कली राष्टबाद आउछ । यसैमा मात्र हामी सबैको कल्याण छ । 
*==&&==*

-काठमाण्डौ,०७६ कार्तिक २८ ।


Tuesday, November 12, 2019

जसले बझाङमा पाँच सय वर्ष राज गरे

जसले बझाङमा पाँच सय वर्ष राज गरे:



 वि.सं १८४८ मा नेपालसँग आश्रय सन्धी गरेको हुँदा वार्षिक ५०१ सिर्तो (स–सना राज्यले ठूला राज्यका राजालाई बुझाउने कर) तिर्ने गरी रजौटा थमौती भएको थियो ।

Wednesday, November 6, 2019

कालापानी चर्चा ; तितो यथार्थ


( कालापानी र धामी; एउटा फ्ल्यासब्याक शिर्षकमा मिति ०७६ कातिक २० को अन्नपुर्ण टाइम्समा प्रकाशित सुधीर शर्माको लेखबाट साभार उदधृत / )
 चर्चामा आउने, तुरुन्तै हराउने, फेरि केही समयपछि बहसको विषय बन्ने, तर कहिल्यै नसुल्झिने मुद्दाहरू हामीकहाँ थुप्रै छन् । कालापानी त्यस्तैमध्येकोे एक हो । भर्खरै फेरि कालापानीको कुनो नेपालका सरकारी नक्साहरूमै नराखिएको समाचार चर्चामा आएको छ ।
कालापानी जहिले–जहिले समाचारको शीर्षक बन्छ, मेरो स्मरणमा प्रेमसिंह धामी आइहाल्छन् । वास्तवमा उनैले हो, यो मुद्दालाई दुर्गम दार्चुलाबाट राष्ट्रिय बहसमा प्रवेश गराएको– संसद्मा बोलेर, पत्रिकामा लेखेर, सडकमा भाषण गरेर । २०५० को दशकको सुरुमा उनी एकोहोरो ढंगले लागि नपरेका भए बाँकी नेपाललाई कालापानीको संवेदनशीलता ग्रहण गर्न अझै समय लाग्थ्यो होला । अनि पत्रकारको ध्यान पनि सायद त्यता तानिने थिएन । त्यसै पनि समाजका थुप्रै ‘इस्यु’ हामी पत्रकारका नजरबाट छुटिरहेकै हुन्छन् ।
जिल्लाको राजनीतिबाट केन्द्रमा उक्लेर स्थापित हुन जो कोहीलाई सजिलो हुँदैन । धामी दार्चुलाबाट उठेर राष्ट्रिय जीवनमा प्रवेश पाएका विरलै नेतामध्येमा पर्थे । सदरमुकामलगायत दार्चुलाको दक्षिणी क्षेत्रमा खस–आर्य समुदायको बसोबास छ, उत्तरतर्फ अपि हिमालमाथिको व्यास क्षेत्रमा सौका जनजाति बस्छन् । त्यही व्यास क्षेत्रको ठूलो भूखण्ड भारतीय फौजको नियन्त्रणमा छ ।
धामी चाहिँ दक्षिणतर्फको हराभरा मल्लिकार्जुन गाउँका हुन् । उनी पञ्चायतकालमा शिक्षक थिए, त्यही बेला वामपन्थी राजनीतितर्फ तानिए । उनलाई तानेको अर्को विषय देशभक्तिले थियो । सीमापारि बाटो र विकास, वारिचाहिँ किन यस्तो अविकास ?       पारि जानासाथ ‘डोट्याल’ भन्दै हेपिनुपर्ने नियति किन ?       आदि प्रश्न गर्दै जाँदा आफ्नै जिल्लाको उत्तरी कुनो विदेशी नियन्त्रणमा रहेको धामीले थाहा पाए । अनि, त्यो कुरोलाई चर्को गरी राजधानीसम्म ल्याए ।
खासगरी २०५१ सालको मध्यावधि निर्वाचन जितेपछि उनले कालापानी अतिक्रमणबारे संसद्मा कुरा राखेका थिए । धामीभन्दा पहिले पनि यो मुद्दा राज्यको जानकारीमा नरहेको होइन, तर सकभर लुकाउन खोजिन्थ्यो । धामीले यसलाई राष्ट्रिय बहसमा ल्याइदिए । बोले, लेखे र हामीजस्ता पत्रकारलाई बताइदिए । त्यसैताका भारतसँग महाकाली एकीकृत विकाससम्बन्धी सन्धि गरिएपछि त्यो राष्ट्रिय सरोकारको मुद्दा बन्यो । कालापानी अतिक्रमणका कारण महाकालीको उद्गम किटान हुन सकेको थिएन । त्यसलाई बेवास्ता गर्दै सन्धि गरिएपछि धामी झनै आक्रामक भए ।
दार्चुलामुन्तिर डँडेलधुराका शेरबहादुर देउवा पहिलोचोटी प्रधानमन्त्री बनेको बेला थियो । उनले धामीलाई बोलाएर ठाडै हप्काए– बेकारमा समस्या किन चर्काएको भन्दै । अरू पार्टीका भए पनि देउवाका निम्ति त्यस भेगका सबै ‘आफ्नै’ मान्छे थिए । अचेल मात्र हो, दलीय आधारमा राजनीतिक शिविरहरू बन्न थालेको, नत्र पहिले शक्ति संरचनामा उपल्लो हैसियत बनाएका व्यक्तित्व नै सम्बन्धित भेगमा सर्वमान्य मानिन्थे । सुदूरपश्चिममा पहिले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द शक्तिकेन्द्र थिए, पछि देउवा । त्यसैले उनले धामीलाई सहजै हप्काउन खोजेका रहेछन् । धामीले त्यहाँ के जवाफ दिए थाहा भएन तर लगत्तै लेखे, ‘१९ हजार ६ सय हेक्टर जमीन कता हरायो प्रधानमन्त्रीज्यू ? ’
हक्की पनि थिए । लागेको कुरा लेख्न–बोल्न नडराउने । अस्ति भर्खर धामीका परममित्र हरि रोका र मैले त्यो प्रसंग सम्झियौं । त्यसैताका हुनुपर्छ, मैले अनौपचारिक गफगाफमा सोधें, ‘तपाईंलाई महाकाली र कालापानीको मुद्दाले यति धेरै किन छोएको ? ’
धामीको जवाफ अलि ठूलो स्वरमा निस्कियो, ‘तपार्इंहरूका निम्ति यो काठमाडौंबाट हेरिने एउटा मुद्दामात्र होला, तर हाम्रो निम्ति त आँखैअगाडि भइरहेको अन्याय हो– कसरी भुल्न सकिन्छ ? ’
यस्तो बुझाइ थियो उनको । एमालेबाट सांसद चुनिएपछि २०५१–५२ मा उनी मनमोहन अधिकारी नेतृत्वको नौ महिने अल्पमत सरकारमा आवास तथा भौतिक योजनामन्त्री पनि बने । तर, हाम्रा निम्ति उनी नेता कम, लेखक बढी थिए । पत्रकार र लेखकको जस्तो सम्बन्ध हुन्छ, हाम्रो हिमचिम त्यसभन्दा अलि बढी नै थियो ।
संयोगले संगत भएको थियो उनीसँग । नारायण ढकाल, हरि रोका, घनश्याम भुसाल, किशोर       श्रेष्ठ, रवीन्द्र अधिकारी, गुणराज लुइँटेल, विज्ञान शर्मा, विनोद ढुंगेल, टीकाराम राई, रविन सायमी, कल्याणबन्धु अर्याल आदि कसै न कसैसँग कहीँ न कहीँ धामी भेटिइरहन्थे । म उनको टिमको जुनियर सदस्य थिएँ ।
भारतसँग मात्र होइन, धामीहरू आफ्नै पार्टीभित्र पनि लडिरहेका थिए त्यसबखत । अहिलेका कतिपय राष्ट्रवादी नेताहरू उसबेला महाकाली सन्धिलाई ‘महान्’ मान्थे र बेकारमा ‘कालापानीको काउसो’ लगाएको ठान्थे । धामी ‘जनआस्था’ साप्ताहिकमा ‘नोट अफ डिसेन्ट’ स्तम्भमार्फत उनीहरूसित भिडिरहन्थे । लछुवा कोठारी उनको विम्ब थियो । महाकाली वारिपारि दुवैतिर सुनिने लोककथाका एक चर्चित पात्र हुन्– लछुवा कोठारी, जसका नौ छोरा र       श्रीमतीसँग जोडिएका अनेक कथा–उपकथाहरू त्यस भेगमा सुनिन्छन् ।
धामी त्यसैलाई आधार बनाएर आफ्ना नेताहरूको आलोचना गर्थे । २०५३ सालमा लेखेको ‘लछुवाकी       श्रीमती र पार्टीका नेताहरू’ शीर्षकको लेख अहिले पनि सम्झन्छु । धामीले लेख्दाबोल्दा लछुवा कोठारीको प्रसंग यति धेरै ल्याए कि पछिपछि नारायण ढकालले उनलाई नै ‘लछुवा कोठारी’ भनेर जिस्क्याउन थालेका थिए । ढकालले ‘शोकमग्न यात्री’ पुस्तकमा त्यसको उल्लेख पनि गरेका छन् ।
धामीले एकपटक ‘ब्वाँसा, सुँगुर र माछाको कथा’ शीर्षकमा प्रतीकात्मक टिप्पणी लेखे । कसप्रति लक्षित हो भनेर मैले सोधें । ‘आफैं बुझ्नोस् न,’ उनी फिस्स हाँसे । राजनीतिक लेखनमा साहित्यिक स्वाद मिसाउन खोज्ने खुबी धामीमा त्यत्तिकै आएको होइन रहेछ । उनी पहिला कथाहरू पनि लेख्दा रहेछन्, पछि थाहा भयो ।
उनी लेख्ने–बोल्नेमा मात्र होइन, व्यक्तिगत जीवनमा पनि रमाइला र रसिक थिए । उसबेला आमिर खान र उर्मिला मातोन्डरको ‘रंगिला’ फिल्म हिट भएको थियो । काठमाडौंमा अहिलेजस्तो ‘मल्टिप्लेक्स’ आइसकेका थिएनन् । सिनेमा हलको भीडमा राम्रो फिल्मको टिकट हात पार्नु आफैंमा महाभारतजस्तो हुन्थ्यो । खोइ कताबाट हो, भनसुन गरेर जेनतेन टिकट किन्न पाइयो । अनि हामी जाने भयौं– जमलको विश्वज्योति हलमा । हरि रोका, किशोर       श्रेष्ठ र अरू पनि केही थिए । हामीलाई त फरक पर्ने थिएन । प्रेमसिंह धामीलाई रंगिला हेर्न गएको कसैले देख्यो भने अनावश्यक ‘स्क्यान्डल’ बन्न सक्थ्यो । उनी नेता, भर्खरै मन्त्री पदबाट हटेका । त्यतिबेलाको समाज अहिले जति खुला भइसकेको थिएन । धामीकै पार्टीसमेत ‘कोकाकोला पिउँदा पनि कार्बाही गर्ने’ धङधङीबाट भर्खर बाहिर निस्कँदै थियो । रंगिला हेर्न गएको कुरा पार्टीभित्रै ‘इस्यु’ बन्ने खतरा थियो । धामी अग्लो मान्छे, परैबाट चिनिने । अन्तिममा उपाय निस्कियो । उनले अनुहार पूरै मफलरले बेरे, अनि अलि ठूलो टोपी लगाएर छिरे । कसैले ख्याल गरेन । रंगीन रंगिला हेरेरै छाडियो !
धामीसँग लामो संगत त हुन पाएन, तर छोटै अवधिका पनि अनेक किस्सा छन् । उनीसँग कुराकानी ग¥यो कि घुमिफिरी बीचमा कालापानी आइहाल्थ्यो । अन्ततः हामी उनका कुरा सुन्दासुन्दै कालापानीको रिपोर्टिङमा जाने भयौं । सिनासका ध्रुव कुमार सरले ‘नेपाल्स इन्डिया पोलिसी’ पुस्तकमा कालापानीमा भारतीय फौज रहेको सन्दर्भ उहिल्यै लेखिसकेको तथ्य केहीअघि पढेको थिएँ । म उनलाई भेट्न मण्डला बुक पोइन्ट पुगेँ, जो अहिले पनि बौद्धिक–प्राज्ञिक ‘जक्सन’का रूपमा परिचित छ । एक वर्षलाई हिरोसिमा युनिभर्सिटीतर्फ जान लागेका ध्रुव सरले मण्डलापछाडि चिया पिउँदै कालापानीको पृष्ठभूमिबारे थप व्याख्या गरिदिए ।
थाहा भयो– नेपालको उत्तरी सीमाका १८ ठाउँमा राखिएका भारतीय सैन्य चेकपोस्टहरू २०२६ सालमा हटाइँदा राजा महेन्द्रले कालापानीको चौकी भने रहन दिएका रहेछन् । त्यसबारे जानकार पूर्वमन्त्री एवम् लेखक ऋषिकेश शाहलाई सोधें । राजा महेन्द्रले ‘भारत धेरै रिसाएको, थप नचिढ्याउने’ उद्देश्यले त्यसबेला कालापानीप्रति आँखा चिम्लेको उनको भनाइ थियो ।
महेन्द्रले चिम्लेको आँखा धामीले खोले । २०५३ असोज– दसैं आउन लागेको थियो; फोटोपत्रकार यात्रा थुलुङ, पत्रकार गणेश खत्री र म दार्चुलातर्फ लाग्यौं । महेन्द्रनगर पुगेर जिल्ला प्रशासन कार्यालयबाट भारतीय बाटो हिँड्न पाउने अनुमतिपत्र लियौं । पिथौरागढ पुगेर एक रात बस्यौं, अनि भोलिपल्ट जौलजीविमा पास देखाएर धार्चुला पुग्यौं, जहाँबाट झोलुंगे पुल तरेर दार्चुलातर्फ पस्यौं । नेपालतर्फबाट सडक पुगेको थिएन, मोटरमा दार्चुला पुग्न भारतकै बाटो प्रयोग गर्नुपथ्र्यो ।
सदरमुकामबाट हामी लाग्यौं– कालीको तीरैतीर उत्तरतिर । धामी हाम्रा अप्रत्यक्ष गाइड थिए । उनैले सुझाएको बाटो पहिल्याउँदै, खुइँय् गर्दै उकालो चढ्दै गयौं हामी । पारिपट्टि भारतीय सैन्य शिविरहरू देखिन्थे, वारि फाट्टफुट्ट बस्ती । प्रायः बास गोठमा भयो । अपिको छेउ भएर हिमालपारि पुगेपछि जोसले तान्यो । तीन दिनमा हामी पुग्यौं छाङ्रु– दार्चुलाको सबैभन्दा उत्तरी गाउँ, जहाँ अल्पसंख्यक सौका जाति बस्छन् ।
फैलिएर बसेको छाङ्रु गाउँ मलाई रमाइलो लाग्यो । तिब्बतको ताक्लाकोट व्यापार गर्न जाने रुटमा पर्दो रहेछ यो ठाउँ । यहाँका सौका जाति हिउँ परेपछि सदरमुकाम झर्ने, बाँकी समय त्यहीँ बस्ने गर्दा रहेछन् । पुरानो समृद्ध इतिहास रहेछ यो ठाउँ र यो जातिको । सौका समुदायकै गोपालसिंह बोहोरा उसबेला नेपाली सेनामा ब्रिगेडियर रहेछन्, जो पछि धामीकै पार्टीबाट सभासद् भए । र, ‘कालापानी ः कथा र व्यथा’ किताब पनि लेखे ।
विजया दशमीको दिन अरूहरू घरमा टीका थाप्दै थिए होलान्, हामी भने कालापानीको खोजीमा निस्कियौं । झाडी पन्छाउँदै हिँड्दा केहीबेरमा पहिले घरहरू भएजस्तो खण्डहर देखियो । त्यहाँ वास्तवमा कुनै जमानामा नेपाली बस्ती रहेछ, जसलाई भारतीय सैन्यले उठ्न बाध्य पारेका रहेछन् । झन्डै तीन घन्टा हिँडेपछि हामी एउटा सानो डाँडामा उक्लियौं, जहाँबाट तल हेर्दा सैन्य शिविरहरू देखिए । मित्र यात्रा थुलुङले टेलिलेन्स लगाएर भटाभट फोटो खिच्न थाले ।
तलबाट बन्दुक बोकेका सिपाहीहरू कराउँदै आइहाले, ‘बन्द करो, बन्द करो ।’ अनि मंगोलियन अनुहारका यात्रालाई चिनियाँ भन्दै केरकार गर्न थालिहाले । हामीले परिचयपत्र आदि देखाएर आफ्नै भूमिमा आफूलाई नेपाली प्रमाणित गर्नुप¥यो । तिनले यात्राको क्यामेराबाट रिल पनि निकाल्न खोजे । धन्य, उनले पहिल्यै एउटा रिल निकालेर लुकाइसकेका रहेछन्, जसबाट धुलाइएको फोटो पछि कालापानीको ‘आइकोनिक फोटो’ बन्न पुग्यो ।
हामी पत्रकार हौं भन्ने कुरा बुझेपछि त्यहाँ रहेको ‘आईटीबीपी’ भनिने भारतीय अर्धसैन्य दस्ताका कमान्डर आए । उनले कुराकानीमा त्यो भारतीय भूमि नै रहेको दाबी गरे, तर उनीहरू सीमा अतिक्रमण गरेर बसिरहेको वस्तुस्थितिले नै देखाउँथ्यो । धामीले भन्दै आएको कुरो हो रहेछ । भारतीय सैन्य कालीवारि आएर गुम्बज आकारका दर्जन जति क्याम्पहरू बनाई बसेको आँखैले देखियो ।
सन् १८१६ को सुगौली सन्धिअनुसार, नेपाल–भारतको पश्चिमी सीमा महाकाली नदी हो । उक्त सन्धिका आधारमा बनाइएका सुरुआती नक्साहरूमा लिम्पियाधुरालाई महाकालीको मुहान मानिएको छ । पछिपछि लिम्पियाधुराभन्दा अलि पूर्वको लिपुलेकबाट झर्ने चार गुणा सानो नदीलाई महाकाली भन्न थालियो । अनि सन् १९६२ को भारत–चीन युद्धपछि लिपुलेकभन्दा करिब १० किलोमिटर दक्षिणको कालापानीमा कृत्रिम खोल्सो बनाएर त्यसैलाई कालीको उद्गम दाबी गरिएको थियो । लिपुलेकलाई नै महाकालीको मुहान मान्दा पनि भारतले त्यहाँ ३५ वर्ग किमिभन्दा बढी भू–भाग मिचेको देखिन्छ ।
कालापानी हुँदै लिपुलेक नाकाबाट प्रायः सबै मौसममा तिब्बततर्फ आउजाउ गर्न सकिन्छ । कैलाश–मानसरोबर जाने भारतीय तीर्थयात्रीका लागि सबैभन्दा नजिकको बाटो हो यो । चीन र भारतको राजधानी दिल्लीलाई जोड्ने सबैभन्दा छोटो दूरीको नाका पनि यही हो । त्यसैले यसको धार्मिक, व्यापारिक र सामरिक सबैखाले महत्व छ । र, सायद यसैकारण भारतले यो क्षेत्र नछाड्न मरेहत्ते गर्दै आएको छ ।
काठमाडौं फर्केर मैले ‘कालापानी, जहाँ नेपालभित्र भारतको राज छ’ शीर्षकमा लामो रिपोर्टिङ गरेँ । ‘मूल्यांकन’, ‘जनआस्था’ र ‘काठमाडौं टुडे’मा पनि समाचारहरू लेखेँ । नारायण वाग्ले र जोगेन्द्र घिमिरेले पनि त्यसैताका कालापानीको स्थलगत रिपोर्टिङ गरेर ‘कान्तिपुर’ र ‘काठमान्डु पोस्ट’मा लगातार लेखिरहे । अरूहरूले पनि कलम चलाए । सीमाविद् बुद्धिनारायण       श्रेष्ठ पनि जोसिए, जसका तथ्यपरक विश्लेषणले कालापानीको ‘डिस्कोर्स’लाई अगाडि बढाउन मद्दत पु¥यायो । अब धामी एक्लै रहेनन् । मिडियामा व्यापक कभरेजसँगै कालापानी राजनीतिक राडारमा चढ्यो ।
२०५४ सालमा महाकाली सन्धिलाई प्रतिनिधिसभाबाट अनुमोदन गरिँदा सँगै पारित राष्ट्रिय संकल्पमा महाकालीको उद्गम तय गर्ने (अर्थात् कालापानीको विवाद टुंग्याउने) प्रतिबद्धता जनाइयो । तर, त्यसलाई कार्यान्वयन गर्ने अग्रसरता कहिल्यै कसैले लिएन । त्यसै वर्ष भारतका उदारवादी प्रधानमन्त्री इन्दरकुमार गुजराल काठमाडौं आउँदा कालापानी द्विपक्षीय वार्ताको कार्यसूचीमा चढ्यो । नेपालको संसदीय टोली पनि कालापानी निरीक्षणमा पुग्यो । अखिलको विद्यार्थी टोलीले त त्यहाँ गएर खुकुरी नचाउँदै उग्र राष्ट्रवाद प्रदर्शन ग¥यो । त्यसैलाई बहाना बनाएर भारतीय पक्षले अझै वरसम्म तारजाली लगायो । तर, नाराबाजी जति गरियो, त्यसअनुरूप नेपालले कूटनीतिक प्रयास गर्न सकेन या चाहेन ।
धामीले उठाएको कालापानी मुद्दा पछि उनकै पार्टीका नेताहरूलाई समेत घाँडो हुन थालेको थियो । महाकाली सन्धि, कालापानीलगायतका विवाद बढ्दै गएर अन्ततः एमाले नै फुट्यो । त्यसबेला पार्टी फुटाएर माले बनाउने वामदेव गौतम त केही वर्षमा मातृ पार्टीमै फर्किए, तर कालापानीबाट भारतीय फौज फर्केन ।
त्यसभन्दा अगावै, २०५४ भदौ २७ गते अचानक एउटा दुःखद् खबर सुन्नुप¥यो । राष्ट्र बैंकमा कार्यरत कल्याणबन्धु अर्याल र म हतारहतार धामीको सानेपा डेरामा पुग्यौं । त्यहाँ पुग्दा उनी नुवाकोटको मदनपुरमा मोटर दुर्घटनामा परेको थाहा भयो । हामी मोटरसाइकलमा हानियौं त्यतातिर । पानी झमझम परिरहेको थियो । ककनी नपुग्दै भिजेर निथ्रुक्कै भइयो । घटनास्थल पुग्दा ४५ वर्षे धामी यो दुनियाँबाट टाढा पुगिसकेका रहेछन् ।
जसरी कालापानी विस्मृतिमा धकेलिँदै गयो, धामी पनि विस्तारै ओझेलमा पर्दै गए । गत संसदीय निर्वाचनका बेला दार्चुला सदरमुकाम पुग्दा एउटा कुनामा अचानक उनको थोत्रो सालिक देखेँ । आफ्नो गृह जिल्लामा उनलाई सम्झन त खोजिएको रहेछ, तर त्यसको राम्रोसँग रेखदेख नगरिँदा सम्मानभन्दा बढी बिजोग अवस्था देखियो ।
अचेल कालापानी पत्रिकाको पानामा सीमित भएको छ । राजनीतिक दलका नेताहरू त सकभर यो प्रकरणतर्फ फर्कनै चाहँदैनन् । द्विदेशीय वार्ताको कार्यसूचीबाट पनि यो हटे सरह छ । धामीको अभाव यहीँनेर खट्किन्छ । उनी पनि समयक्रममा अरूजस्तै बद्लिन्थे कि थाहा छैन, तर भौतिक रूपमा नभएको हुँदा विश्वास गरिरहन सकिँदो रहेछ । त्यसैले जहिले–जहिले कालापानीको प्रसंग आउँछ, म धामीलाई सम्झिहाल्छु; अनि उनको प्रिय पात्र लछुवा कोठारीलाई ।

Monday, November 4, 2019

स्वास्नी अर्थात् सुवासिनी

स्वास्नी अर्थात् सुवासिनी:





भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् ।