सुन्दर सुदूर क्षेत्रसंग सम्बन्धित बिबिध सामग्रीहरूको संकलन गरिएको यस ब्लगमा सबैलाई हार्दिक स्वागत छ ।
Friday, November 1, 2024
Sunday, September 1, 2024
मानबिय मनको संकल्पना ; तन्मे मनः शिवसङ्कल्पमस्तु
बोलचालमा मनलाइ सबभन्दा नजिकको साथी पनि भनिन्छ । हामीहरु मनसंग कुरा गर्छौ ,मनलाइ सोध्छौ, मनलाइ सम्झाउछौ र मनसंगै घुम्छौ डुल्छौ पनि । पुराना र भाबी समय सम्झदा समेत मनले साथ छोडदैन। तर यो मन न देखिन्छ , न कतै अस्तित्वमा रहेकोछ । ब्यबहारमा भने मन मुटुमा बसेको मानिन्छ ।
सायद मन र दिमागको नजिकको सम्बन्ध पनि छ क्या रे । त्यसैले मनमा आएका कुरा दिमागमा रहेका हुनसक्छन्। मानिस वा प्राणीमा रहेको दु:ख, सुख, दया माया आदि संवेगलाई पनि मन नै हो भनिन्छ। यसरि मनलाइ र भावनालाइ समानार्थी पनि मानिन्छ ।
शब्दकोषमा ’ प्राणीहरूको अनुभव, इच्छा, बोध, विचार संकल्प, विकल्प आदिलाई नियन्त्रित वा परिचालित गर्ने अन्तस्करणको अंश वा वृत्ति ' लाइ मन भनिएकोछ ।
जे होस,मन शरीरभित्रको अदृश्य प्रतिक्रिया हो । यसै बाट विचार उत्पन्न हुन्छ । यही मनको प्रकृति वा भनौ स्वभावले गर्दा मानिसलगायत हरेक प्राणीहरूमा क्रिया प्रतिक्रिया चलि रहन्छ र त्यही मन अनुसारकै स्वभावहरू बन्दछन् ।
तर मनको व्याख्या गर्न त्यत्ति सजिलो छैन। भनिन्छ– यसका अनेक अवस्था छन् । पूर्वीय दर्शनले जाग्रत, स्वप्न र सुषुप्त गर तीन अवस्था बताएको छ । उता सुप्रसिद्ध मनोविज्ञानवेत्ता सिगमण्ड फ्रायडले पनि मनलाई तीन भाग-सचेतन, अचेतन र अर्धचेतनमा बाँडेका छन् । हामीले गर्ने हरेक कार्य चेतन अर्थात जाग्रत मनबाट गरिन्छन् । यो मनलाई बायाँ मष्तिष्कसँग सम्बन्धित हुन्छ भनिन्छ। अचेतन मन व्यक्तिलाई जानकारी नहुने, ज्ञान र होस नभएको वा थाहै नपाइने अवस्था हो। अर्धचेतन पूर्णरूपले चेतन पनि नभएको र पूरै मात्रामा बेहोस पनि नभएको, आधा लठ्ठिएको जस्तो अवस्था हो।
मनले गर्ने अनुभूति अनुरुप नै स्वभावहरू बनेका हुन्छन् । मन प्रकाश जतिकै ऊर्जावान र बायुभन्दा बढि वेगवान मानिन्छ। मनले गर्ने अनुभूतिको आधारमा हामी रुन्छौ, हाँस्छौ, लडछौ, भिडछौ । मन नौनि जस्तो कडा , ढुंगा जतिको कमलो पनि हुन सक्छ । आगो जतिकै तातो र हिउ जतिकै शितल पनि बन्दछ । यो परिवर्तित मनले हाम्रो व्यवहारलाई निर्देशित गर्दछ। त्यसैले हामी उही व्यक्ति उस्तै अवस्थामा पनि कहिले दुखी हुन्छौं, कहिले सुखी हुन्छौं। गितामा ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयो: भनिएकोछ । अर्थात मन नै मनुष्यको लागि बन्धन र मोक्षको मुल कारण हो ।
न्यायदर्शनको मतानुसार मन एउटा त्यस्तो द्रव्य हो जो जीव र आत्माभन्दा फरक छ। योगशास्त्रमा मनलाई इन्दियहरूको मालिकका रूपमा परिभाषित गरिएको पाइन्छ। जब अन्तःकरण चिन्तन प्रक्रियामा प्रवृत्त हुन्छ त्यसबेला मात्र त्यो मन हुन्छ। मनका बारेमा भौतिक र आध्यात्मिक रुपमा दुइ भिन्न दृष्टिकोणबाट चर्चा गरेको पाइन्छ।
भौतिकवादको मान्यतानुसार शरीर एक स्वचालित यन्त्र हो। यसभित्र त्यस्तो कुनै पदार्थ बसेको छैन जसले यो शरीरलाई चलायमान बनाएको होस्। इन्द्रियहरूको अगाडि विषयवस्तु देखापर्नासाथ आफैँ प्रतिक्रिया देखा पर्दछ। शरीर एउटा यस्तो अद्भूत यन्त्र हो जुन आफैँ आवश्यकतानुसार चल्न सुरु गरिहाल्छ। यसभित्र मन नाम गरेको त्यस्तो कुनै अभौतिक तत्त्व छैन। भौतिक तथा रसायनशास्त्रका नियमहरूद्वारा शरीरभित्रको मस्तिष्क, तन्त्रिका तन्त्र आदि स्वचालित हुन्छन् र क्रियाप्रतिक्रिया प्रारम्भ हुन्छ । शरिर जस्तै ब्रह्माण्डको विकास पनि प्राकृतिक शक्तिद्वारा स्वभावअनुसार आफैँ भएको हो।
आध्यात्मिक अर्थमा मन र चेतनाको गहिरो सम्बन्ध छ। चेतन मन बिना यो यन्त्रवत् शरीरले काम गर्नै सक्दैन। यन्त्रमा उद्दीपक (Stimulus) हुनासाथ एक निश्चित अनुक्रिया हुन्छ तर मानवमा त्यस्तो हुँदैन। बिकल्पहरुबाट छानेर एउटा लिनु पर्दा निर्णय कसले गर्छ ? मेसिनले यस्तो खालको अवस्थामा निर्णय दिन सक्दैन। यसका लागि चेतन मन वा चेतना आवश्यक पर्दछ। मानिसमा पुराना घटनाहरूको स्मरण रहन्छ। काम, क्रोध, लोभ, मोह आदिको प्रभाव पर्दछ। के मेसिनमा यस्तो सम्भव छ ? कागजमा लेखिएका अक्षर पढ्न सकियो भने यिनै काला अक्षरहरूले जीवन रूपान्तरित हुन्छ। यी यस्ता खालका तमाम विषयहरूलाई मेसिनले अनुभव गर्न सक्दैन। अतः भौतिकले भौतिकको सञ्चालन र उपयोग गर्न सक्दैन। त्यसैले चेतन मन शरीरभन्दा भिन्न छ र शरीरभित्र नै स्थिर छ। जुन अभौतिक हो। सांख्यदर्शनले मनलाई भौतिकको स्थानमा राखेको छ। जब मस्तिष्कका लागि मन शब्दको प्रयोग हुन्छ त्यसबेला मनलाई भौतिक मान्न सकिन्छ। चेतनाको अर्थमा प्रयोग गर्दा मन अभौतिक हुन्छ।
शुक्ल यजुर्वेदको चौतिसौ अध्यायमा पनि चंचल मानबिय मनलाइ संयमित पारेर बिचारहरुलाइ शुभ संकल्पयुक्त बनाउनका लागि विशिष्ट प्रधान सूक्त या मंत्र उल्लेख गरिएकाछन् । रुद्राष्टाध्यायीका यि जम्माजम्मी 10 श्लोक मध्येका छः श्लोकहरु बैदिक मन्त्रको अदभुत संकलन मानिन्छ ।
मनलाइ इन्द्रियको स्वामी पनि भनिन्छ । मनले एकतिर इन्द्रियहरु मार्फत भौतिक विषयवस्तुहरुको तथ्य सूचना प्राप्त गर्दछ भने अर्कोतर्फ ज्ञानरुपी प्रकाश बनेर ति तथ्यहरुको विश्लेषण गरि इंद्रियहरुलाइ निर्देश समेत गर्दछ । यहि प्रक्रिया अन्तर्गत विचारहरु यथोचित कर्म गर्न उत्प्रेरित हुन्छन् । ।
अतः शिव संकल्पसूक्तमा मनलाइ शुभ र पवित्र विचार स्थापनाको लागि आव्हान गरिन्छ । यसरि मन र इन्द्रिय जति शुभसंकल्प युक्त हुन्छन्, जीवन र यसका अभीष्ट कर्महरु पनि त्यत्तिकै शुभ, सुंदर, पवित्र र कल्याणमय हुने गर्दछन् ।
शिवसंकल्प सूक्तको पुर्णपाठ हेरौ ।
यज्जाग्रतो दूरमुदैति दैवं तदु सुप्तस्य तथैवैति ।
दूरंगमं ज्योतिषां ज्योतिरेकं तन्मे मनः शिवसङ्कल्पमस्तु ॥१॥
त्यो दिव्य ज्योतिमय शक्ति (मन) जो हाम्रो जागृत वा सुप्त सबै अवस्थामा टाढा टाढा सम्म जान सक्छ र निन्द्रावस्थामा पनि हामीलाइ बिचरण गराइ रहेको हुन्छ, त्यो प्रकाशमान श्रोत जो हाम्रा इन्द्रियहरुलाइ प्रकाशित गर्दछ, त्यो मेरो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारयुक्त) होस् ।
अर्थात त्यो डुलुवा मन तेजस्वी इन्द्रियहरुको ज्योति हो । त्यसैले हाम्रो मन असल र कल्याणकारी काममा लागि रहोस् ।
येन कर्माण्यपसो मनीषिणो यज्ञे कृण्वन्ति विदथेषु धीराः ।
यदपूर्वं यक्षमन्तः प्रजानां तन्मे मनः शिवसङ्कल्पमस्तु ॥२॥
जुन मनको सहायताले ज्ञानीजनहरु (ऋषिमुनि इत्यादि) कर्मयोगको साधनामा लीन भएर यज्ञ,जप,तप गर्दैछन र जो सबै मानिसको शरीरमा विलक्षण रुपले स्थित छ, मेरो त्यो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारले युक्त) होस् ।
अर्थात सत्कर्ममा लागेका मनिषिहरुमा भएको जस्तो त्यो मन सबैमा बिद्यमान छ । त्यो हाम्रो मन असल र कल्याणकारी काममा लागि रहोस् ।
यत् प्रज्ञानमुत चेतो धृतिश्च यज्ज्योतिरन्तरमृतं प्रजासु ।
यस्मान्न ऋते किञ्चन कर्म क्रियते तन्मे मनः शिवसङ्कल्पमस्तु ॥३॥
जो मन ज्ञान, चित्त , धैर्य स्वरूप , अविनाशी आत्मासित संयुक्त भएर यी समस्त प्राणि भित्र ज्योति स्वरुपले विद्यमान छ, त्यो मेरो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारले युक्त) होस् ।
अर्थात ज्ञानी, धैर्यतायुक्त र चेतनशील मन हाम्रो अन्तस्करणलाइ प्रकासमान बनावस् तथा असल कल्याणकारी काममा लागि रहोस् ।
येनेदं भूतं भुवनं भविष्यत्परिगृहीतममृतेन सर्वम् ।
येन यज्ञस्तायते सप्तहोता तन्मे मनः शिवसङ्कल्पमस्तु ॥४॥
जुन शाश्वत मन द्वारा भूत,भविष्य र वर्तमान कालका सारा वस्तु संपुर्ण रुपले ज्ञात हुन्छन र जुन मनद्वारा सप्तहोत्रिय यज्ञ (सात ब्राह्मणद्वारा गरिने यज्ञ) समेत गर्न सकिन्छ, त्यो मेरो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचारले युक्त) होस् ।
अर्थात सबै कालको ज्ञानलाइ प्रत्यक्ष अनुभव गर्ने मन नै याज्ञिकहरुबाट यज्ञ सम्पन्न गराउन समर्थ हुन्छ । त्यस्तै हाम्रो मन असल र कल्याणकारी काममा लागि रहोस् ।
यस्मिन्नृचः साम यजूंषि यस्मिन् प्रतिष्ठिता रथनाभाविवाराः ।
यस्मिंश्चित्तं सर्वमोतं प्रजानां तन्मे मनः शिवसङ्कल्पमस्तु ॥५॥
जुन मनमा ऋग्वेदका ऋचाहरु र सामवेद तथा यजुर्वेदका मंत्र त्यसै गरि स्थापित छन्, जसरी रथका पाङ्ग्राका धुरीशीत तील्लिहरु जोडिएका हुन्छन, जसमा सबै प्राणिका ज्ञान कपड़ा भित्रको धागो जस्तै बुनिएको हुन्छ, मेरो त्यो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचार युक्त) होस् ।
अर्थात जसमा बेदका सम्पुर्ण ऋचाहरु प्रतिष्ठित छन् र रथका धुरामाआड लागेका पाङ्ग्रा जस्ता भएर अटाएका छन् , त्यो हाम्रो हितकारी ज्ञानयुक्त मन असल र कल्याणकारी काममा लागि रहोस् ।
सुषारथिरश्वानिव यन्मनुष्यान् नेनीयतेऽभीशुभिर्वाजिन इव ।
हृत्प्रतिष्ठं यदजिरं जविष्ठं तन्मे मनः शिवसङ्कल्पमस्तु ॥६॥
जो मन प्रतेक मनुष्येन्द्रियका लगामद्वारा त्यसै गरि घुम्छ, जसरी एक कुशल सारथी लगामद्वारा रथका वेगवान अश्वहरुलाइ नियंत्रित गरेर दौड़ाउन सक्छ । आयुरहित(अजर)तथा अति वेगवान र प्रणिहरुका हृदयमा स्थित मेरो त्यो मन शुभसंकल्प युक्त ( सुंदर र पवित्र विचार युक्त) होस् ।
अर्थात सिपालु सारथीले रथका घोडाहरुलाइ नियन्त्रित गरेर गन्तब्यमा लैजान हाँके जस्तै गरेर यो हाम्रो मनले पनि असल र कल्याणकारी काममा लाग्न प्रेरित गरि रहेको होस् ।
अन्तमा,
हाम्रो मन सुसुप्त वा जागृत दुबै अवस्थामा टाढा टाढासम्म जान सक्छ। नित्य प्रकासमान छ र इन्द्रियहरुलाइ पथ प्रदर्शन गरिरहन्छ । यो मानव शरीरभित्र बिलक्षण रुपले स्थित छ । ज्ञानी जनहरुलाइ कर्मका लागि प्रबृत गरिरहन्छ । यो अबिनाशी आत्मासंग संयुक्त भएर बसेको हुन्छ । शाश्वत मनलाइ सर्बकालको ज्ञान रहन्छ । यो सबैलाइ योग्य बनाएर इच्छित कार्य गराउन समर्थ छ । यस भित्र बेदका सबै ऋचाहरु संश्लेषित छन । कपडा भित्र धागो र पांग्रासंग तिल्लि जोडिए जस्तै सारा चेतना यसैसंग जोडिएकोछ । कुशल चालकले बाहनलाइ दौडाए जस्तै मनुष्येन्द्रियलाइ मनले जता पनि दौडाउन कुदाउन सक्दछ ।
यो बलशाली मन अशल काममा प्रबृत रहोस । कल्याणकारि जगनियन्तासंग यहि प्रार्थना गरौं । अस्तु
&&&
***यो मेरो मनमा सधैँ बनिरहोस, सद्कर्मको धारणा***
जसले घुम्छ घुमाउदोछ जगतै जागा र सुत्दा पनि
जसको दिब्य प्रकाशले हरघडी सारा उज्यालो छरि
हाम्रा ज्ञान र कर्ममा रत हुने इन्द्रिय हुन्छन सुरा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।1।।
ज्ञानी जनहरुमा जमेर जसले यज्ञादि गर्दो पुरा
मेरो देह बिषे बिलक्षण बनि बस्ने सदा सर्बदा
ति मेरा मनिषिहरु सरह नै यो देहमा बास हुँदा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।2।।
कैले नाश न भै समाहित बनि जो बस्छ आत्मा सित
ज्ञानी चेतनशील धैर्य रुपमा जो हुन्छ प्रकाशित
सारा कर्महरु प्रबृत रहँदा जो छुन्छ भित्रि जरा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।3।।
जो शाश्वत छ सदा सबै समयमा जो बुझ्छ सारा कुरा
जस्ले नित्य दिएर साथ सबका यज्ञादि हुन्छन पुरा
सारा ज्ञानहरु गुथेर जसले सामर्थ्य थप्ने सदा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।4।।
सारा बेद ऋचाहरु बिषे धूरि बनि बस्छ जो
धागो झै सुत बस्त्रमा र रथमा पांग्रा सरि हुन्छ जो
जसको आड लिँएर नै शरिर यो हिडदो छ सुमार्गमा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।5।।
हाम्रा इन्द्रियका लगाम जसका हुन्छन सदा हातमा
बाटोमा ब्यबधानलाइ जसले पन्छ्याउदै जानमा
जो बन्दो छ नितान्त नायक सुरो त्यो सारथी सर्बदा
यो मेरो मनमा सधैँ बनिरहोस सद्कर्मको धारणा ।।6।।
** शुभम् **,
Thursday, August 22, 2024
पर पश्चिमेली प्राचिन प्रेमकथा ; सरू समीर
परपश्चिमेली पर्बतीय ग्रामिण समाजको प्राचीन सरल र गहिरो प्रेम गाथामा सरु समीरको सिर्जना सिर्जित भएकोछ । यसमा त्याग र स्नेहको प्रबलताका साथै सालिन र करुण कथा पनि छ । रतेडा अर्थात रातभरि कथ्न मिल्ने लोककथा गाथाको माध्यमबाट हाम्रो लोकमानसले संरक्षण गरेको लोकसाहित्यमा यो बहुप्रचारित थियो । उखुको गुड खुदो बनाउन हिउदको रातभरि खुदेउडामा यि रतेडाका कथा सुनिन्थे, सुनाइन्थे । क्रमश: बिस्मृतिमा जान लागेका यो लोकश्रुतिको सानो आख्यानको सारांस यहाँ राखिएको छ ।
कथा सन्दर्भएक्काइसौ शताब्दिको भाष्यमा पन्द्रौ शताब्दिको प्रेम गाथा लेख्न असाध्यै अप्ठ्यारो छ । तथापि प्रेममा शास्वसता र निरन्तरता हुनाले लोकमानसभित्र यो गाथामा अझै जिबन्तता देखिन्छ । लोक बाङमयमा पाइने स्थानिय माटोको महक मिसिएर सुदूर पश्चिम नेपालको लोक काव्य शैलीमा कैयौ शताब्दिसम्म प्रचलित यो गाथाको लोकप्रियतामा अझै कमी आएको छैन । यो गाथा यहाँको जनमानसमा आदर्श र सम्मानको परिचायक बनेकोछ ।
यो अमर लोककाव्य र लोकगाथाका कथा नायिका सरु र कथा नायक समीर हुन । गाथा नायक र नायिकाको प्रेमकहानी भित्र सौन्दर्य, स्नेह, समर्पण, साहस, चपलता, तीव्रता, कुशाग्रता, तंत्र-, घात-प्रतिघात, प्रतिद्वंद्व, विद्वत्ता, चुनौती, स्थानीय विशिष्टता, प्रतिस्पर्धा र स्थानिय सामाजिक सांस्कृतिक सहयात्राको अद्भुत संयोग छ ।
एउटा स्थानिय प्रेम प्रसंगलाइ तत्कालीन लोक गायकहरुले आआफनै शैली र गायनमा मिसाएर अमर प्रेम गाथा बनाइ दिएकाछन् । कैयौ पुस्तासम्म कैयौ लोकगायकहरुले आआफनै शैली मिसाएर यस गाथालाइ अमरबेल जस्तै फेळाइ दिएकाछन् । यो ५/६ सय बर्ष पुरानो गाथामा बर्तमान सन्दर्भ कसरी प्रासांगिक बनाउन सकिन्छ होला भन्नेमा आआफनो समझ हुन्छ होला । तर सरु समीर भित्रको मानबीय सम्बेदना आज पनि उतिकै शास्वत, साकार र सार्थक छ भन्ने लागेकोछ ।
त्यस बेला काली सेती प्रसबण क्षेत्रको दुई भिन्न मौजाका सम्पन्न परिवारभित्रको कथा यस गाथामा समेटिएकोछ । त्यसबेलामा पनि हिमाल वारीपारी व्यापार गर्ने हुण र सौका समुदायहरुसंग यहाँका बासिन्दा बन्दब्यापार गर्थे र यदाकदा बिहाबारी समेत चल्थ्यो । अर्कोतिर तिर्थाटन र घरब्यबहारका सरसामानहरुको जोहोका लागि महाभारत छिचोलेर भावर,मलाश,माल नाघ्दै गंगा मैदानसम्म पनि लोक व्यवहार चल्दथ्यो । यसरि तिब्बत मूलका बौद्धमार्गी हुण,शौका समुदाय, हिमाल काँठका प्रकृतिपुजक मष्टोमताबलम्बी खश, मगर र गंगा मैदानका सनातनी हिन्दु बाहुन क्षेत्रीहरुको भावभुमी बनेर मध्यपहाड गुल्जार बनेको थियो ।
लोकजीबनमा पशुपालन र खेतिपाति नै प्रमुख पेशा थियो । प्रतेक गाउमौजा आफनै किसिमले स्वतन्त्र स्वाबलम्बी र आत्मनिर्भर नगरराज्य जस्ता थिए । पुरुष प्रधान समाज भए पनि परिआउदा महिला समेत अग्रमोर्चामा पुग्नसक्थे । मातृप्रधान दक्षिण भारतको नम्बुदरीपाद बंशमा जन्मेका आदिशंकराचार्यको आगमनपछि बैदिक मान्यता सहित यहाँ पनि सामाजिक संस्तरण र बर्गभेदले जरा हाल्दै थियो ।
कथा कालमा स्थानिय जया रजबार अर्थात जयबम आफना मितजी हरिदेब पण्डितका साथमा माघ स्नानको लागि हरिद्वार लगायतका तिर्थाटनमा हिडने तयारी गर्दछन् । सामल र लुगा मिलाउन लाग्दा अपसकुन भएको भनी तीन महिनादेखि नछुने नभएकी पत्नी यस्तो बेला लामो अवधिको लागि तिर्थभ्रमणमा नजान आग्रह गर्छिन।
मर्दले आँटेर पाइलो सारेपछि त्यसो भन्नु हुदैन भन्दै अब जन्मने सन्तानको भलाइका लागि समेत सुतक दोष नलाग्दै तिर्थस्नानमा जानै पर्ने बाध्यता बताइयो । साथमा बिद्वान पण्डित मीतजी समेत हुँदा केही परि हाले पनि ठुलो बिपति नआउने बिश्वासमा बस्न आग्रह । दुबै मीत मलास मालको बाटो छ महिने यात्रामा प्रस्थान गर्दछन कव्वानिको लेक, पुरानो बाटो , पुर्णा गिरी र सिद्धनाथको धरति भएर ।
बाटामा शिर्ष पतरमतिर अर्का यात्री भ्युँपाली ठाकुरसंग भेट । एकै भेग र बिहाबारी समेत मिल्ने भएका हुदा दुबै ठाकुर र पण्डितजी सहयात्री बने । भ्युपाली ठाकुरको पनि पत्नीको समेत तीनमहिने गर्भ रहेको जानकारी हुन आयो । तिर्थमा दुबै ठाकुरले एकापसमा मित्रता गाँस्न एक अर्काका छोरा छोरी जन्मे बिबाह गरि दिने, छोरा छोरा जन्मे मीत लगाउने र छोरी छोरी जन्मे संगिनी बनाउने बाचा कसम लिए। स्नान गरि फर्के।
झन्डै महिना दिनपछि फर्कदा भाबरमा दुर्भाग्यबश जयबम्म लडेर बिमारी परे , थलिए र ज्वरोले आक्रान्त बने । पानीसमेत नपाउने ठाउमा छटपटाउदै घरमा खवर सबै लगिदिन मीत पन्डितलाइ अनुरोध गर्दै बाचा कसम गराइ लायक छोरा जन्मेमा नीजलाइ मात्र बताउने सर्तमा केही गोप्य कुरा बताएर पन्डितकै काखमा अन्तिम श्वास लिए ।बिधवा बनेकी कौशिलाले छोरा पाइन। गर्भे टुहुरो छोराको नाम समीर राखियो । भ्युपाली ठाकुरको घरमा छोरी जन्मिन । उनको नाम सरु राखियो । कालक्रममा दुबै जना हुर्किदै गए ।
आठ बर्ष पुगेपछि समीर गोठालो जान थाल्यो। घरको स्थितिले गर्दा उसलाइ अन्य गोठालाहरुले हेप्ने गर्थे । त्यसैकारण पनि उनी प्राय एकलै बस्न रुचाउथे । उता सरु पनि कहिलेकाहि गोठालो जान्थिन । उनी असाध्यै मीठो धुन निकालेर बिनायो बजाउन सिपालु थिइन । सरु गोठालो आउने दिन भ्युपालीको बनतिरका गोठालाहरु असाध्यै रमाउथे । दुबै गाउका गाइगोरुका गौचर एउटा खोलाको वारीपारी थिए । यदाकदा गोठालाहरुका दुबै समूहको भेटघाट भइ रहन्थ्यो ।
एक दिन दुबै गाउँका ग्वालाहरु एउटै ठाउमा भेला भएका थिए । सुन्दरी सरुले मनमोहक तानमा बिनायो बजाइन । सबैले प्रशंसा गरे । फेरी एकपल्ट बजाइदिन एकएक गरि अनुरोध गर्न थाले । सरुले पनि बिनायो बजाउदै गइन । रिटिरिटि वजाएको बीनको स्वरको लठ्ठिएको समीरले पनि लजाइ लजाइ नजिकै आएर आफनो लागि समेत एकपल्ट फेरी बिनायो बजाइ दिन अनुरोध गर्यो । तर साथी गोठालाहरुले नै बिधवाको छोरो बाबुको नामै नजान्ने टुहुरो झुत्रे केटो भनेर हेपेर खेदन थाले । उ निराश देखियो । सरुले भने नरमाइलो मानिन । दुबैमा हेराहेर भयो । फर्कदा डाडा ढल्किने बेलामात्र सरुले बिनायो बजाइन, हात हल्लाइन। समीर टोलाएर हेरी रह्यो। ढिलो गरि घर फर्क्यो । निराश समिरलाइ त्यो दिन केहि गर्ने जाँगर नै चलेन । फलत: गाइले कसैको बाली मासि दिएछ । समीरले गाली खायो , हप्काइ पायो । यता सरु पनि त्यो दिन भोकै बसिन।
निदानत: राति समिरले आमासंग आफनो बाबाको बारेमा जिज्ञासा राख्यो । आमाले मीत बुवा हरीदेव पण्डितबाट सबै जानकारी पाइने बताइन। दोस्रो दिन हरिदेब पन्डितले छोरा लायक भएमा मात्र बताउने सर्तमा बताएको रहस्य खोले। कुलको मर्यादामा मात्र खर्च गर्नेगरि पुण्यकाममा लगाउनका लागि गाडधन राखेको र बंशको निशानी सुनको बाँसुरी समेत सुरक्षित थन्क्याइएको घरभित्रका भित्री स्थान समेत समिरलाइ बताए। समीरले सहजै सो धन र स्वर्ण बासुरी पाए। तीर्थमा भएका बाचा बन्धनका कुरा पनि थाहा पाए ।
यसपछि समिरका गरीबीका दिन गए । उसको रहनसहन फरक भयो । उ रजबारको छोरा कहलिन थाल्यो । उ ग्वाला जाँदा त्यहि खानदानी बासुरी बजाएर मोहनी धुन दिन थाल्यो । अर्को गाउका ग्वालाहरु पुन: बासुरी बजाइदिन भन्न थाले । सरु आएको एकदिन पनि त्यहि भयो । ग्वालाहरु उसंग पनि आफनो निम्ति बासुरी बजाइ दिन अनुरोध गर्न थाले । सरुले पनि एकपल्ट आफनो नाममा पनि बासुरी बजाइदिन अनुरोध गरिन। समिरले आफुनो खिसिट्युरी भएको उहिलेको कुरा उप्कायो । सरुलाइ उनको बुवाले तिर्थमा जयबम्मसंग केही बाचा बन्धन भएको थियो कि भनेर सोधेर आएपछि उनको लागि पनि बासुरी बजाइ दिने कुरा बतायो।
यता भ्युँपालीले जयबम्म मरेका कारण त्यो कुरा भुलि सकेको थियो । आज सो प्रसंग उठेकोले त्यो केटो को हो , कसरी सरुसंग परिचय भयो र किन तिर्थका कुरा सोध्यो भनेर बुझ्न अह्रायो । साथै जयबम्मसंग भएका बाचा बन्धन समेत सुनायो । आफु बूढो भैसकेकोले सरुको बिबाह गर्न सके एउटा इच्छा पूरा हुने कुरा पनि सुनायो।
त्यसैताका एक दिन समीर जयबम्मकै छोरा भएको एकीन भयो। गोठालाहरुजम्मा गरेर समीरले बासुरी बजायो, सरुले बिनायो । गोठालाहरुले ख्याल ख्यालमै दुबैलाई बरबधु बनाइ बिबाह गरि रमाइलो खेल खेले । नाचगान बाद्यबादन चलेर रमाइलो भयो । समिरका कुरा थाहा पाउँदा सरुको बाबाले आफनो बाचा तिर्थका प्रभावले सफल भएको मानेका थिए ।
तर सरुका काकालाइ चिन्ता भयो । बुढा दाइ बितेपछि सरुको बिबाह टाढाको घुमन्ते व्यापारी सुनपति सौकासंग गरिदिने सोचेको रहेछ । सरुका काका गणपति ठाकुरले सरुको बिहे सुनपति सौकारसंग तय भएको बताए । यसबापत ठुलै अर्थलाभको कुरा पनि बताए । यहि पिरलोमा बुढा भ्यँुपाली बितेका रहेछन । गणपतिले सरुलाइ बाहिर जान रोक लगायो । सरु समीर भेटघाट त के देखभेट समेत गर्न नपाउने भए । तर सरुको घरसम्म तान पुग्ने गरि समिरले बासुरी बजाइ रहन्थ्यो । सरु आफुले पालेको सुगा मार्फत चिठी पठाइ रहन्थिन।
एकदिन सरु सुटुक्क बनतिर पसिन र समिरलाइ भेटिन । गणपतिले यो थाहा पाएर दुबैलाइ बाधेर राख्यो । तीनदिन सम्म छोरा नआएपछि समिरकि आमा दलबल सहित आइन । छलफल गरिन । गाउलेहरु समिरका पक्षमा लागे। निदानत: दुबैको बिबाह हुने निधो भयो । तयारीको लागि गणपतिले दुई महिनाको समय माग्यो। यस अबधिमा मदेश गै सिन्दुरे, साडो र कतुवाको नाडो ल्याउन पर्ने बतायो।
सिन्दुरे साडो र कतुवाको नडो खोज्दा एक महिना अलमल हुने भएकोले समिरलाइ पनि संगै लैजाने बिचार गर्यो । सरुले षडयन्त्रकारी गणपतिको चक्करमा नपर्न भने पनि हुनेवाला ससुराको अबिश्वास नगर्ने भनी समीर पनि मधेश झर्यो । बर्खोलाकि माल पुगेर घट्टमा बाँस बस्दा पखालाको बहाना बनाइ ठाकुर घर फर्किएछ । समिरलाइ उल्टो बाटो बताउछ। यसरी थप एक महिना काकाको षडयन्त्रले समिरको मधेशमा अलमल पर्यो । उलटो बाटो देखाएकोले घुम्दा धेरै दिन लागेकोले ठाकुरले घरमा समीर मरेको खवर गरेछ । आमा कौशल्या यसै शोकले मरिन।
गणपतिको घरमा सरुको फटाफट बिबाहको जोरजाम भयो । सुनको बिनिमयमा सरुलाइ सुनपतिले सौकाका देश हुनिया भएको ठाउतिर लिएर जान थाल्यो । सरुले पनि उहीँ सुगा मार्फत जिउदो भए तुरन्त घर फर्किन खवर पठाइन। समीर तुरन्तै सामान लिइ घर फर्के।
तर ढिलो भैसकेको थियो । सरुलाइ छलकपटपुर्बक सौकाको देश पु-याइयो । सरुले साइत हेर्ने बाहुनलाइ सुनका असर्फि दिई एक महिनापछिको गृह प्रबेशको साइत मिलाउन लगाइन र त्यतिन्जेल आफु बेग्लै बस्ने ब्यबस्था मिलाइन। कडा पहरामा सरु बेग्लै बसेकि थिइन ।
समीर घर पुगे । आमाको काजक्रिया सके । गणपतिलाइ मारेर समीर उतै लागे। उता पानी भर्ने सरुकि सहेली मार्फत गाग्रीमा औठी हालेर आफु पुगेको जनाउ दिए ।।
सरुको कोठामा युद्ध हुन्छ । द्वारपाल मारिन्छन । दोस्रो दिन गाउलेहरु सुनपतिको अन्याय बारे थाहा पाउँछन् । एकला सुनपति भाग्छन । लडन आउने जतिलाई समिरले मारि दिन्छन । चाकरको रुपमा राखिएको लठेप्रो गलगाँड भएको केटोलाइ पनि मार्न खोज्दा सरुले रोक्छिन । त्यसैको सहयोग लिएर गाउतिर फर्किन्छन। समीर र सौकाको लडाइ सकिन्छ। सरुको उनमुक्ति हुन्छ।
बाटोमा समिरलाइ तिर्खा लाग्दा लोटाबाट पानी पिउन थालेको बेला बोदलो भित्र लुकाएर ल्याएको ढुगोले निधारमा हानेर लाटोले नै समिरलाइ मार्न खोज्छ । समिरले तात्तातै लाटोलाइ मार्छ । सरुलाइ मदेशबाट ल्याएको सिन्दुर साडो र नाडो समेतको पहिरनमा आफनो अगाडी उभिन लगाउछ । सरुकै काखमा शिर राखेर घाइते समिर प्राण त्याग्छ।
लाटोद्वारा धोका पाएर समिरको हत्या भएपछि सरुद्वारा आत्म हत्याको प्रयास गर्छिन । त्यहि बेला बाटमा घ्यु व्यापारी देखिन्छन् । र सरुलाइ संगै लैजाने योजना बनाउछन। सरुले पनि मृतकको सदगति गरेर संगै जाने कुरा बताउछिन । ब्यापारिहरुसंग चिता बनाउन सहयोग मागि चिता बल्न लाग्दा सरुले आफनो समीर मरेको दिन आज त आकाशमा दिउसै तारा देखिए भनेर तारा देखाउन थालिन्।
सबै एकटक बनाएर यताउता आकाश तिर हेर्न थाले । दनदनाउदो आगोमा हाम फालेर सरुले पनि समिरकै चितामा प्राण त्यागिन।
शत्रु पक्षको गाँडो लाटो समेत बिश्वसनीय नहुँदा बाँकी राख्नु हुदैन भन्ने भनाइ छ । "एक हात कन्यौली, एक हात माटि।तीन कुल उज्याली सरु सर्क तिर लागि ।"
यसरी यो प्रेम गाथाको दुखान्त इतिबृत सकिन्छ।*अझै पनि ति बनपाखाहरुमा बिनायो र बासुरी बजेको सुनिन्छ रे । *
( )