Wednesday, April 14, 2010

अचेलको म


सपनाको देशमा

एकाबिहानै कुर्लने भालेले

मलाई देशको कर्णधार भनेर बोलाउथ्यो ।

मेरी बुढी आमाका चाउरिएका अनुहार

आज पनि आँखाको नानी भन्दछन् ।

स्कुलको अनुशासित छात्र

कलेजको होनहार केटो

म एउटा सिंगो ब्यक्ति

मनोबैज्ञानिक र ब्यक्तित्व परिक्षणमा समेत खरो उत्रेर

राष्टसेवक कहलिन पुगेको थिए।

अचेल त यो ब्यक्तित्वहीन ब्यक्ति

सामाजिक दृष्टिले बिकलांग

सरकारी अर्थतन्त्रको निर्धो कृपापात्र

सांस्कृतिक दृष्टिकोणले मुल्यहीन

मनोबैज्ञानिक हिसाबले पराश्रित

भाषाले मौन राजनीतिबाट शक्तिहीन

बिचरो बबुरो नौकरिवाल पो हुन पुगेकोछ ।।

(०५२-९-२०, महेन्द्रनगर)

Monday, April 5, 2010

ग्रामिण विकाश,गाजेमाजे चाहना र गोर्ख्यौल


विकासबारेको भ्रम:एउटा बिडम्बना
सुदूर गाउँहरुमा बिकासका चर्का बहस अहिले पनि चल्दैछन् । तुकताल नमिलेका बिकासका नाराहरुमा सिधा साधा गाउलेहरुलाइ अलमल्याउने नेपालको केन्द्रिकृत राजनीतिको पाखण्डी संस्कारमा अहिलेसम्म कुनै क्रमभंगता आएको देखिएन र बाहिरबाट ल्याएर मात्र गाउको बिकास हुन्छ भन्ने भ्रम पुर्बवत पस्किने काम हुदैछ। बिकास नामको यो शब्द कसैका लागी सिक्का भएको छ, कसैकालागि राजनैतिक गोटि भएको छ भने कसैका लागि प्राज्ञिक बादबिबादमा आफुलाइ अब्बल देखाउने माध्यम। तर बुझ्नु पर्ने कुरा के हो भने गाउको बिकास राजधानीबाट हुनै सक्दैन। गाउको बिकास गाउको समस्या हो यो समस्याको समाधान गाउमै खोजिनु पर्दछ.। अहिलेसम्म बिकासका निम्ति काठमान्डौलाइ केन्द्र बनाइएकोले नै गाउहरु सुदुर-दुर्गम भएका हुन।
हाम्रा नाइकेहरुले गाउ र गरिबीका निम्ति दोहरो मापदण्ड बनाएकाछन। मोफसललाइ कथित राजधानीको खाने खेल्ने चौर या आन्तरिक उपनिबेश मानिइएकोछ। कहिले गाउलेहरु गरिब छन,केहि जान्दैनन् यिनलाइ सिकाउनु पर्छ भनिन्छ। कहिले ग्रामिण बासिन्दा नै गाउको बिकासका लागी निरपेक्ष देखिन्छन ,केन्द्रबाट खटाइएका बिकासे कार्यकर्ताबाट थुप्रै कुरा बुझ्ने कोशिश नै गर्दैन भनेर घोचपेचका साथ निर्देशित गरिन्छ। यिनै गाजेमाजे चाहनामा हाम्रो बिकास अलमलिएकोछ।हामी भ्रमित हुन गएकाछौ। केन्द्रमा बस्ने महारथीहरुलाइ गाउको बिकासको नारा देखाउने दाँत मात्र भएकोछ।
विकासको खेति र वास्तविकता
के वास्तबमा गाउलेहरु बिकासकालागी इच्छुक नै छैनन त? बिकासको तिब्र आन्तरिक इच्छा हुनेहरुले यो कुरा हृदय देखिनै बुझ्नु पर्दछ। निसन्देह रोगीको ईच्छा बिरुद्ध ऊपचार हुन सक्दैन। सर्बप्रथम बिकासप्रति ग्रामिण बासिन्दाहरुको दृष्टिकोण सपष्ट हुनु जरूरि छ किनकि अहिले बिश्वग्रामको जमाना हो र दुनिया दृष्टिकोणबाट चलिरहेकोछ।
अहिलेसम्म अर्काको परिभाषामा अर्थ्याइएको जिबन, अर्काकै अबधारणाबाट मुल्यांकन गरिएको हैसियत र अर्काले नै लेखि दिएको इतिहासको दृष्टिकोणबाट गाउलेहरुले आफुलाइ बुझेका थिए। अरुले अशिक्षित गरिब मान्छे भनिदिएकै कारणबाट यिनिहरु ब्यर्थेमा अहिले सम्म लल्याकलुलुक भएका थिए। पिता पुर्खाको प्रतापि इतिहासलाइ ओझेलमा राखिएको पत्तै नपाइ ब्यर्थेमा टपरे हिसाब गरेर खाने खेल्ने ऊमेरमै बाजे बनेर चाउरिएकाथिए।
अझै सुदुर गाउहरुमा धेरै जमिन भएमा धनी भइन्छ भन्ने परम्परागत सोच कायमै छ। धेरै बस्तुभाउ मात्र पालेर गाउलेहरु आफनो दुख आफै बढाइ रहेकाछन। थोरै होस,राम्रो होस भन्ने भाबना आएकै छैन। बिकासको आधुनिक अबधारणाबाट गाउ अझै टाढा छ। अरुसंग दाँजेर गरिब भनि दिएमा सहयोगकोलागी बिन्तिपत्र हालि हाल्दछन तर गरिबी हटाउन परिश्रम गर्नु पर्छ भनेमा हेपेको ठान्दछन। माछा मार्न सिकाउनेलाइ भन्दा एक टुक्रा पकाएको मासु पस्कनेलाइ आफन्त मान्ने हाम्रा गाउले दाजु भाइ वास्तबमा के हुन? यसबारेमा समेत आआफ्ना दृष्टिकोण हुन सक्दछन।
दृष्टिकोण थरिथरिका
पुराना संस्कार र पुराना मान्यताहरु धमाधम भत्किरहेकाले एकथरि बर्तमान समयलाइ पतनको पराकाष्ठामा पुगेको घोर कलियुग भन्न सक्दछन त्यस्तै, नुन किन्न पनि अब टाढा टनकपुर नै जानु पर्दैन,औषधि देखनै नपाइ प्वाक्क परेर मर्नु पर्ने स्थिति छैन। महिनौ पछि आएको आफन्तका चिठ्ठीहरु पढिदिने जानकार मानिस अब खोजीरहनु पर्दैन। सबै गाउमा स्कुल छन र फोन सुबिधा पनि पहुँचमा छ। हामी जानि नजानिकन आधुनिक चमत्कारहरुको उपयोग र उपभोग गरिरहेकाछौ। त्यसैले अचेल साह्रै राम्रो समय मान्नेहरु पनि थुप्रै होलान। यसरि मानिसहरु आआफनै ब्यक्तिगत सोचका आधारमा बनेका दृष्टिकोणका भरमा बँचिरहेका हुन्छन।
एकछिन यसै प्रसंगमा घोत्लिऔ। दर्केको पानिले आकाश पखाले पछिको उज्यालो जुनमा हिडने यात्रिको दुइवटै दृष्टिकोण आऊन सक्दछन। एउटाले बाटो चिप्लो भयो भनेर निन्याउरो मुख लाउन सक्दछ भने अर्को टहटह जुन लागेको छ भनी हाँसी हाँसि हिडन सक्दछ। समय र परिस्थिति एऊटै भए पनि दृष्टिकोणले नै जिबनको बास्तबिकता बताउदो रहेछ। आधा गिलास दुध पाएमा एउटा बालक रमाउन थाल्छ भने[ अर्को बालक पुरा गिलास नभएकोले रुन सक्दछ। गुलाफको बोटमा फुलसंगै काडा पनि हुनै पर्दछ। यथार्थमा सोच बिचार गर्ने सकारात्मक र नकारात्मक दृष्टि नै जिबन दर्शन हो।
सपष्ट र मौलिक बिचार नभएकाहरु चलनचल्तिका थोत्रा आदर्शबाट तदर्थ जिबन बाँचि रहेका हुन्छन। यस्तो अस्थिर मनस्थितिले कमजोर मानिसहरु प्राय नकारात्मक बाटो लिन्छन,जुन सजिलो तर अनिष्टकारि हुन्छ। सकारात्मक बाटो हिड्न त्याग, समय र शक्ति चाहिन्छ। मुलत: बहुजन हिताय काम गर्नु पर्दछ भन्ने भाबना नै सकारात्मक सोँच हो। यस्तो सोच भएमा सापेक्ष स्तरमा समाज आफै बदलिन्छ।
हाम्रा गाउघरहरुको यथार्थ
शस्यस्यमला बरदबेणीयुक्त हाम्रा गाउघरहरुलाइ बिचारक ऋषिमुनीहरुले परमार्थ साधना गर्ने र भावतत्व खोज्नेहरु (spiritual seeker)का लागी अनुपम तपोभुमी मानेकाछन। हाम्रा गाउहरु प्राकृतिक बिहार भुमी हुन, पर्यटक स्थल हुन। एकलोटा शुध्द जल र पत्र पुष्प चढाउदा प्रसन्न रहने लोकदेवताहरुको सरलता सौम्यताको ब्याख्या हुनसक्दैन। आडम्बरबिहिन तत्व-ज्ञान दर्शनलाइ रूढ कर्मकाण्डमा बाँधेर धार्मिक कहलिइ समाजबाट सम्मान र सुबिधा खोज्ने तथाकथित नक्कलि पण्डाहरुले हाम्रा सरल बिश्वासलाइ अन्धबिश्वासमा दर्ता गरि दिएकाछन। तर गाँउ घरको बिशिष्ट प्रकृतिका कारण यहाँका बासिन्दाहरुका निरोगि र बलिया हात पाखुरा छन। यहाँ स्वतन्त्र र शौर्य सम्पन्न इतिहास छ। गाउको आल भरि नै जमिन, जल,जंगल, जनशक्ति,जोश र जाँगर प्रचुर मात्रामा छ। कसरि यहाका बासिन्दाहरु निर्धा र गरिब हुन सक्दछन?गुण अबगुण सालाखाला पारेर हेरियो भने गाउलेहरु सोझा हुन्छन, इमान्दार छन र सापेक्ष अभाब देखिए पनि भाबनाका धनी छन। कठोर प्रकृतिसंगै पौठेजोरि खेल्दै यिनिहरु हाँसो ठट्टाको रमाइलोमा जिबन जिउन सक्दछन। दैनिकीका समस्या र अभाब सहेर पनि यिनिहरु बिखण्डित हुन सक्दैनन। बिषम परिबेसमा पनि यसरि समग्र जिउन सक्नेहरुलाइ कमजोर भन्न सकिन्छ र्?अचेल केहि शहर केन्द्रित ब्यक्ति-समुहको एउटा प्रायोजित रटना छ कि गाउलेहरु गरिब छन। वास्तबमै गाउ घर गरिब नै छ त? यो बिचारणीय प्रश्न हो गरिबीको बिचारले मन मष्तिष्कलाइ दरिद्र बनाए पछि कोही धनी मानिदैन। खप्तड स्वामिको भनाइमा मानिस जे बिचार गर्दछ त्यहि बन्दछ।
सापेक्ष अभाबलाइ गरिबि मान्ने हो भने यो बिश्वब्यापि छ। घरमा एकपाथि भट्टमास छ तर एक किलो अरहर-मुँग नपाऊदा कोहि गरिबमा दरिनु हुदैन। गोठमा दुध दिने भैसी छ भने दिउसो एक गिलास दुध नहुदैमा गरिब भनेर चिच्याउन पाइदैन। सुनिन्छ,सम्पन्न भनिएका देशहरुमा नया मोडेलको गाडी किन्न नसक्नेहरु आफुलाइ गरिब भन्दछन। दैनिक शूद्ध दूध पिउन पाउनेहरु त्यहाँ पनि बिरलै हुन्छन। शुद्द खाने पानी र शुद्ध हावा समेत नपाइने हाम्रो राजधानीलाइ सम्पन्न भन्न सकिन्छ त? यो अर्थमा गाउमा निरपेक्ष गरिबी छैन भन्न सकिन्छ। ५ज(जल,जमिन,जंगल,जनशक्ति र जागर)को छेलोखेलो भएको ठाऊमा गरिबीको रोग स्वेच्छाले बस्न सक्दैन। धन दौलत जस्ता चल बस्तु मात्रै गाउका सम्पति होइनन, नागरिकहरुको इमानदारी, साहस र नैतिकता पनि साँचो सम्पत्ति हो। यो सम्पत्ति गाऊँमा प्रसस्त छ।
बर्तमानका प्रभावहरु

अचेलको बिश्व दृष्टिमा बिकसित आधुनिक परिबर्तनका पाटाहरु गाउमा पनि झुल्किएकै छन। पारलौकिक र ईश्वर केन्द्रित मानसिकता अब लौकिक र मानब केन्द्रित भएको छ। भगवान र भाग्य भन्दा पनि समानता र स्वतन्त्रतालाइ अग्राधिकार दिइदैछ। मानबीय बौद्धिकतालाइ प्रमुख बिषय बनाइदैछ। बेर्नाबाट बारिमा ल्याइएको जस्तो आधुनिक जिवनलाइ स्थानिक रुपमा मात्रै ब्याख्या गर्न पनि सकिदैन।
त्यसैले तदर्थ बाँचिरहेको गाँउमा बिकासको गाजेमाजे चाहनाले बर्तमानलाइ धेरै बेर अल्मल्याउन पाउने छैन। अचेल गाँउमा थुप्रै सकारात्मक परिबर्तन देखिएकाछन। सानो परिवार र आत्मनिर्भरताको चाहना बढेकोछ। रुढिगत सामाजिक संरचना भत्कदैछन। अन्ध-बिश्वास हराउदैछन। आधा आकाशको सक्रियता बढेकोछ। बालबिबाह,बहुबिबाह असल मानिदैनन्। शैक्षिक जागरण बढेकोछ। गाऊहरु अपेक्षाकृत सफासुग्घर देखिन्छन। जिवन स्तरमा टडकारो परिबर्तन देखिएकोछ। औसत आयु बढेकोछ।
बिकासको बाटोको यो बामे सराइमा केहि अलमल हुनु स्वाभाबिकै मान्नु पर्दछ। आधुनिक बिकासको यो सहयात्रासंगै गाउले जिबनको पत्यारलाग्दो लयबध्दतामा परिबर्तन हुनै पर्दथ्यो। तर सुदुरबर्ति गाउमा समेत शहरको जस्तो उपभोगबादिता बढेकोछ। स्थानिय श्रम र सीपको अबमुल्यन भै कृषी कार्य प्रति रुचि हट्दै गएकोछ। ढिकि जाँतो जस्तै राम्रा लोकप्रचलन हराउदैछन। बट्टाबन्द आधुनिक खानपान गाउमा भित्रिदैछन। नया सुबिधालाइ पुरानो आर्जनले धान्न नसक्ने अबस्थाछ। एक किसिमले आर्थिक तनाव गाऊ पसेकोछ। अर्काको नक्कल गरि स्वांग रच्ने कुण्ठाले ग्राम्यमानस कुण्टाग्रस्त हुदैछ। कस्तुरिले स्वयंको बास्ना थाहा नपाएजस्तो आफनै मौलिकता र बिशिष्टतालाइ गाउले बुझ्न सकेको छैन। अर्काको दयामायामा बाँच्न चाहने परमुखापेक्षी दानमुखी जिबनपद्धति दरिद्र मनस्थितिको उपज मात्र हो। यसरि ससाना कुरामा अलमलिइ चलाक हुन खोज्दा स्वयं पछाडी परिन्छ भन्ने बुझाइ कम छ।
हाम्रा गाउँघरमा आर्जित धनको राम्रो सदुपयोग हुन सकेको छैन। बचत गर्ने प्रबृति छैन। अनपढका बिचमा अभिमान देखाउनु पढेलेखेकाहरुको पहिचान बनेकोछ। जमिन टुक्रा टुक्रामा बिभक्त छ। बन जंगलमा धेरै चाप परेकोले हरियालि कम हुदैछ। बन-बेत, गोठ-गोबर र घरधन्दामा अधिकांस जिबन सिमित भएकोछ। ईश्वरलाइ रहस्यमय बनाइएकोले श्राद्धमा बिरालो बाधे जस्तो प्रकियामुखि काममा गाउलेहरु लकिरका फकिर बनाइएकाछन। समष्टिमा हाम्रा गाउ अशक्त बुढाबुढी,असहाय, गरिबकालागी का‍ल पर्खने ठाउ बनेका छन। अहिले सम्म यिन्कालागि कुनै ठोस कल्याणकारी योजना छैन।
बिकास भनेको के हो त?
यथार्थमा बिकास हुने -नहुने जान्ने -नजान्ने बिचको अन्तर मात्र हो। कंचनपुरसंग तुलना गर्ने हो भने बैतडीमा बिकास नभएको मान्नु पर्दछ तर कर्णालीसंग तुलना गर्ने हो भने स्थिति फरक देखिनेछ। एस एल सी पास ब्यक्ति स्वयंमा ५ पासका निम्ति जान्ने हो भने स्नातककालागि नजान्ने हो। यसरि नै बिकासलाइ सापेक्ष स्तरमा बुझ्दा यो निरन्तर चलि रहने प्रकृया मान्नु पर्दछ।
तर गाउलेले चाहने बिकास भनेको आम्दानिमा बृद्धि,आधुनिक उत्पादनको उपयोग उपभोग,रहन सहनको स्तरमा बृद्धि र शिक्षा-स्वास्थ्यमा सुधार हो। बिकास भएमा फुर्सतका क्षणहरु बढदछन र रमाइलो गर्न सकिन्छ भन्ने ग्रामिण चाहना छ। यसरि बिकास कहिले नसकिने अन्त्यहिन यात्रा बन्न गएकोछ।
बिकास सकारात्मक परिबर्तनको नाम पनि हो। गाउमा चलेका पणम(पर्म),खेणि र ऐचो पैचोका ब्यबहार सकारात्मकताका चिन्ह हुन। दिगो बिकास तब मात्र संभब छ, जब स्वाबलम्बनको बानी बस्दछ। त्यसैले ऊपभोगबादी सुबिधामुखि भन्दा बिकासबादी सोच बढाउनु गाउलेको हितमा हुन्छ।
बिकाससंगै असल संस्कार र असल चरित्रमा जोड दिएमा बास्तविक दिगो बिकास ठहरिनेछ। बिकासका लागि राम्रा प्रचलन गाउमा बसाउन सकिन्छ। अब्यबस्थित ग्रामिण बस्तिलाइ योजनाबद्ध ग्रामिण आबास कार्यक्रम द्वारा मिलाउन सकिन्छ। हाट बजार,ढुकुटी बचत,पेवा-धन,कुटिर उद्योगको चलन बढाउनु पर्दछ। श्रमको सम्मान हुनै पर्दछ। अब्यबस्थाको समुद्रमा एउटै डुङ्गामा बसि हावासंगै बगिरहेका हाम्रा गाउहरुले के बुझ्नु जरुरि छ भने डुङ्गामा प्वाल प-यो भने कोहि पनि बच्न सक्ने छैनन।

गोर्ख्यौल गाउको बिकास


सुदुर पश्चिमका गाउघरमा मेलोमेसो नमिलाइ जथाभावी गरिएको सरकारी कामलाइ गोर्ख्यौल भनिदो रहेछ। यथार्थमा नेपाल एकिकरणताका बिजेताका रूपमा आएका सरकारि कर्मचारीलाइ गोर्खालि भनिने र यिनले गरेको रंग न ढंगको कामलाइ गोर्ख्यौल भनिएकोहो। शाब्दिक अर्थमा गोर्ख्यौलको अर्थ जथाभाबि हुदो रहेछ। हामी अहिले सम्म भएको बिकासको प्रतिकात्मक अर्थमा यसलाइ लिन सक्दछौ। सरकारि काममा उदासिनता देखिनुमा मुख्य कारण यहि गोर्ख्यौल हो। सिंहदरबारमा वास्तबिक जनमुखि योजना बनेकै छैनन, बन्नै सक्दैनन। सिहदरबारबाट बाँडिएको बिकासले गोर्ख्यौल मात्र भित्र्याउछ। धन राजाको,ज्यु कालको मान्ने गाउलेहरु बिकास प्रति किन ऊदास न होन त? माथिको आदेशको भरमा चलेको सरकारले गोर्ख्यौल बाहेक के नै गर्न सक्दथ्यो र?
अचेल अर्बाचिन र प्राचिन सिद्धान्तहरु पुरै बदलिएकाछन। पुराना ब्यबहार आजभोलि नमिलेका जस्ता देखिन्छन। उच निचको संस्तरण,खानपान र ब्यबहारका बखेडाहरु बदलिदो प्रतिमान अनुसार बदलिनै पर्दछ। बिगतमा आफनै किसिमको एकांकी जिबन बाचेका ग्रामिण समुदायलाइ बिकासका नया संभाबना देखने गरि नया दृष्टिकोण दिनु पर्दछ। गौरब गर्ने खालको हाम्रा पुर्खाको इतिहासले जिबन मुल्यको रचना गरेकोछ। जिबनले हामिलाइ रचना गर्नु प्राकृतिक घटना हो तर हामीले नया दृष्टिकोणमा जिबन रच्यौ भने यो जिबन मुल्य हुनेछ्। स्वतन्त्र ब्यक्तिको परिचय यस्तै मौलिकतामा देख्न सकिन्छ। स्वत्नत्र ब्यक्तिले मात्रै यथार्थमा सोच्न र रच्न सक्दछ। अतितको थोत्रो गर्ब मात्रै गरि राख्नेहरु कालक्रममा बिलुप्त हुने गर्दछन। यसकारण पितापुर्खाका सपना हरुलाइ यसरि बर्तमानमा उतार्नु पर्दछ जसरी शिशुको अनुहारमा मातापिताको प्रतिबिम्ब देखिने गर्दछ।
अर्काको नक्कल मात्रै समाज सुधार होइन। राम्रो चलनको रक्षा गर्नु र नराम्रोलाइ सच्याउनु पनि सुधार कार्य हो। बिश्वास गर्न सकिन्छ कि अपठ्यारा र कठ्याङ्ग्रिएका दिनहरुमा अब न्यानो र ऊज्यालो घाम लाग्नेछ। कर्मि माहुरि जस्तो दिनरात काममा खटिरहने सिधा साधा गाउलेहरुबाट ब्यर्थेमा ठुलाबडा बनाइएका कथित खोले टाकुरे भुरे ठालुहरुले अबका दिनमा ढलिमलि गर्न पाउन सक्ने छैनन। गाउघर बिभिन्न बादबिबादमा बाडिने छैन। श्रम निष्ठामा फुले फलेको गाउको गौरबपुर्ण इतिहासका बर्तमान संस्करणहरुले पुर्खाको प्रेरणा लिइ आफनो सोचलाइ नबिनता दिनेछन। गाउमा चिन्तन बिउझिनेछ,चरित्रले यात्रा गर्नेछ । यहाँ सुन्दर सोचिनेछ र सुन्दर रचिनेछ। शिबास्ते पन्थान् ।

Sunday, March 7, 2010

बादलमाथिको यात्रामा : मेरी आमा


आमालाई अचेल झुक्मुकोमै उठनैपर्ने झंझट छैन्
सन्ज्यावाली आउँदा हतारिने खाँचो पनि पर्दैन्
स्याउला सोत्तरको   बिसाएको भारि जत्तिकै फुर्सदिलि बनेकिछिन् ।
हलुङ्गी बनेकिछिन् ।

फक्रिनु देखि झर्नु सम्मको यात्रामा
आफनै अनुभवको झरिले
अचेल उनी निथ्रुक्क छिन् ।

रहरका प्यासा बिरही धुनहरुलाई
पुराना काला हावाका झोक्काहरुमा
बेहिसाब निफनि रहन्छिन् ।

मुजा परेको अनुहारमा
काँप्दै गरेका हातखुट्टाहरुको हिसाब लेखेर
चार बिस बसन्तको ज्यूँदो कहानी बोल्छिन् ।
नौलो मुकामको मतलबै छैन ।
पुराना सम्झेटोमा झुुुुन्डिएकिछिन् ।
बिगतलाई फगत प्रहसन बनाएकिछिन् ।

निरिहता बाँचीरहेका मनिसका भीडबाट
खाटा बसिसकेका पुराना घाउ बोकेर
सेता बादलमाथिको अज्ञात बस्तितिर लाग्दैछिन् ।
निष्फिक्रि देखिन्छिन, निर्बैर बनेकिछिन् ।

ओ हो, जायजन्म लम्बिएर पो जिबन बन्दोरहेछ
आकांक्षा थपिदै आफन्तको बगाल हुँदोरहेछ
आशा र बिश्वास तुहिएर नै आफना भनाउदा बिराना बन्दारहेछन्।
कुनै अज्ञात त्यान्द्रोमा जीवन दियो धिप्धिपाउदो रहेछ । 

यसरि खुम्चीएका बिछ्यौनाहरुमा
निर्धो शरीर र टुहुरो मन सुक्दै गएपछि
आफनै अनुभुतिहरु क्रमस: रित्याउदैछिन् ।
मेरि आमा, मुजेलाका दियेणा जस्तै
तेल ननिख्रिएसम्मका लागि
अबिकार बलिरहेकिछिन ।

निरोगी हरफहरुबाट अमृत-आदर्शको मसीले
आफनै ईतिहासको अन्तिम अध्याय लेखिरहेकिछिन्
आफना-बिरानाको हिसाब मेट्न अह्राइरहेकिछिन्
मान्छे जस्तै भएर बाँच्न सिकाइरहेकिछिन् ।।

( मिति-०६६।१०।१२,सुरकाल,बैतडी )

Friday, March 5, 2010

अक्षरको यात्रामा




गाऊँको सानो सेरोफेरोबाट बाल-मनले पहिलो उडान गर्दा पारी डाडा माथिको आकाश र धरति जोडने क्षितिजीय रेखा नै अन्तिम गन्तब्य हो जस्तो लाग्दथ्यो । त्यो क्षितिजिय बिन्दुको बिशुद्ध भ्रममा मनोरम स्वप्निल संसार थियो र त्यो भन्दा परको संसार भने अतिब उत्कंठाको बिषय हुन्थ्यो । ‘माथि डाँँडामा हाम्रो खर्क छ'आमा ऐचेकाडाको घरको बर्णन गर्नु हुन्थ्यो। त्यो कल्पनाको अंतिम ऊचाईमा मेरो घर छ भन्ने बोध प्राप्तिको अहमले दुनियाको सब भन्दा ठुलो बादशाह म आफुलाइ संझिन्थे ।

पल्लो डाँडामाथिको हाम्रो भनिएको जमिनमा देखिने गुच्चमुच्च रुखहरुमा उक्लिएर आकाशलाइ छुन सकिन्छ भन्नेमा म ज्यादै बिश्वास गर्दथे । यो तिब्र बिश्वासलाइ पिताजी समक्ष राख्दा उतापट्टी पनि यस्तै अर्को पहाड भएको जानकारि पाएर मेरो कल्पनाले अझ चौडो पाटो भेट्टाएको हुनु पर्दछ । डाँडाको रुखबाट आकाश छुन सकिने वा अदृश्य पल्लोपाखो हेर्ने जिज्ञासाले नै मेरा प्रथम पाइलाहरु घर बाहिर हिड्न हौसिएका हुन् ।


बाल-बयमा प्राप्त भएको  परिवेशले मलाइ कल्पनाशील र भावुक बनाएको होला । देवताका कथाहरु रस लिएर सुन्ने बानि सानैदेखि थियो। हाम्रा देवता के गर्दा रिसाउछन ? र के गर्दा खुशी हुन्छन? यसको मेसो खोज्न कल्पनाकै सहारा लिनु पर्दथ्यो । ज्यादै संबेदनशील र अपठ्यारा समस्यामा समेत सप्पै भारि देवतामै बिसाएर ढुक्कसंग सुत्न सक्ने पिताजीको आशाबादी दृष्टिकोणको सोझो असर म माथि परेकोछ ।
कलियुगको प्रसंग आउदा गाउका बुढापाकाहरुमा चल्ने चर्चाको अझै पनि संझना छ। ऊनीहरु भन्थे, कलीले सम्पुर्ण पाउ धरतिमा हालेपछि ग्वाल्लेक धुरामा रोपाइ हुनेछ, दुबोको छायामा सुत्ने र गुबोको रुखमा चढने मानिस जन्मनेछन--आदि आदि । यी मिथकहरुले संकेत गरे जस्तै गुलिभरका लिलिपुटहरु ग्वाल्लेकमा कहिले सम्म देखिएलान, मलाइ थाहा छैन । तर डाडाँकाँडामा रोपाइ लगाउने दिन धेरै टाढा छैन जस्तो लाग्दछ। पबित्र पहाडहरुमा अचेल बिबाद, बिषाद,हतियार, भिडन्त र रगतका कथा सुनिन थालेकाले आस्थाको बिचलनबाट भासिदै गएको बरद धरतिको माटो कुन कालो समुद्रमा बिलिन हुने होला ? यहि चिन्ता लागी रहन्छ ।

वास्तबमा मेरो रुबस गाउँ आधुनिक छलप्रपंचबाट टाढा छ । यो गाउँ कर्मयोगी छ, आधुनिक भाषामा निरक्षर र पाखे पनि । सदरमुकामबाट आउने टाठाबाठा जागिरेहरुको लागी यस्ता ठाउँ साह्रै ऊर्बर मानिन्थे । सुनेकोछु, मालपोत को काममा होस वा जंगल निरिक्षणको काममा होस, यहाँ आउने कर्मचारीहरुको फुर्तिफार्ति ज्यादै उग्र हुन्थ्यो रे । एक जना जागिरेको पछाडी दस जना ढाक्रेहरु यतिकै पनि गाउमा घुम्न आउथे । यसरि घुम्न आउने कर्मचारि र तिनका आसेपासेहरु लाइ ख्वाउनका लागी गाउलेहरुले खाइनखाइ गहु-चामल,घ्यु-तेलको जोहो मिलाएका हुन्थे । गाउमा यसरि खाना ख्वाउने पालोलाइ वारो भनिन्थ्यो । एकपल्ट त मालपोतको काममा आएका ‘गोर्खाली’कर्मचारि र दोस्रो बिश्वयुद्धताका बर्माको लडाइ बेहोरेर आएका गैरका सिपाहि बाजेका बीचमा ठुलै घम्साघम्सी परेको रहेछ । यसै निहुमा गाउलेहरुले बर्षौसम्म मुद्दा खेप्नु परेका कथाहरु गाऊमा अझै सुन्न पाइन्छन ।

गाउँ नजिक कुनै बिद्यालय थिएन । हालको दुर्गास्थानमा भने १८।१९ साल तिर प्राइमरी स्कूल खुलेको थियो । जंगल र खोलाको बाटो हुदै त्यहाँको दुर्गास्थान प्राइमरी स्कुल, पैतोलीगाउ पुग्न हामि फुच्चेहरुलाइ डेढ घण्टा लाग्दथ्यो । बोलचालमा त्यो ठाउँको नाम दुरैमाण्डौ थियो, अर्थात दुरै नामका देवताको मन्दिर रहेको ठाउ ।  तर अब दुर्गास्थान नामाकरण गरिएकोछ । दुरै देवता अब दुर्गा बनेका छन् । सांस्कृतिक अतिक्रमणको यो रमाइलो नमुना ठहरिन सक्छ ।

हाम्रा गाउँका तत्कालिन बरिष्ट समाजसेवी जमदार हरिदत्त बाजेको सक्रियतामा खोलिएको त्यो स्कुल जाने बाटो बनाउदा श्रमदान जुटाएको मलाइ संझना छ । बाटोमा पर्ने बगणाको गाडमा ढुङ्गै ढुङ्गाको पूल पनि जमदार बाजेले नै हाल्न लगाएका थिए । हामी त्यो पुलमा हिडेर वारपार गर्न बडो रमाइलो मान्थ्यौ । वास्तबमा त्यो स्थानिय बास्तुकलाको नमुना थियो । शायद ३०।३२ साल तिर त्यो पुल बाढीले बगायो ।

पाँच सात बर्षका भुराभुरिलाइ पढनको लागि दुर्गास्थान जान पनि गारो थियो । त्यसकारण कुनै साक्षर ब्यक्तिलाइ मास्टर राखि हामिलाइ गाउँकै चौरमा अक्षरारम्भ गराउने मेसो मिलाइएको थियो । मलाइ पहिलो चोटि काठको पाटिमा अक्षर कोर्न बाजे बिसराम बडूले सिकाएका थिए । जमदार हरिदत्त बडूका नाति स्व निलकण्ठ बडू र मैले संगसंगै धुलौटको पाटिमा पुजा गरि बर्णमालाका साँवा अक्षर सिक्न शुरु गरेका थियौ ।
आजको सन्दर्भमा ति दिनको परिपञ्च प्रष्ट्याउन गाह्रो छ । आकासको घाम हेरेर समयको अडकल गरिन्थ्यो । एक सल्लि (एक सल्ला जति अग्लो) आकाशमा दिन(सुर्य) पुगे पछि हामी स्कुल जान तम्सिन्थ्यौ । पारिपट्टि कोइराली गाउँमा घाम अस्ताउन थालेपछि छुट्टि गरिन्थ्यो । पानी रियालेको कमेरो माटोमा निगालाका कलम वा काठको छेस्का डोबेर कालोमोसो पोतिएको काठको पाटिमा अक्षर लेख्न लगाइन्थे । काठको तख्तिमा अंगार घोटेर कालो बनाइए पछि खरि ढुंगाले पनि लेख्ने गरिन्थ्यो । पाटीलाइ डोरिले बाँधेर काँधमा झुण्ड्याइ स्कुल आउने जाने गर्दथ्यौ । मोटो धागोको डोरिलाइ कमेरो पानिमा भिजाएर पाटीमा सोझो लाइन राख्ने झंझटिलो प्रक्रियालाइ अचेल समेत टडकारो संझिन्छु । तर जुन जिजिबिषा त्यो कमेरो पानिसङ्गको घुलमिलमा पाइन्थ्यो त्यो अचेल कंप्युटरको कि बोर्डमा पनि हम्मेसी पाइदैन ।

हुने खानेले मात्रै कखहरा पढनकालागी बर्णमालाका किताब किनेका हुन्थे । हाम्रो प्राथमिक कक्षामा मुस्किलले चार पाँच जनासंग मात्र यस्ता किताब थिए । अक्षर घोकाउने पनि आपनै खालको खाँटि तरिका थियो । अक्षर चिनाउने बस्तुका बिम्बहरु स्थानिय परंपरा संग सम्बन्धित हुन्थे । मुखाग्र गर्नु पर्ने यो तरिका सान्दर्भिक थियो, रमाइलो थियो । लगभग मासिन लागेको यो स्थानिय बिम्बाक्षर प्रणालिमा मौलिकता पाइन्थ्यो  । भनिन्छ, हाम्रा पुराना मन्दिरमा पाइने ब्राह्मिलिपीसंग यी बिम्बहरुको सहसम्बन्ध छ ।  यि बिम्बहरुले सिकाइने ती अक्षरहरुको जगमा टेकेर मेरो जीबनको यो खेेेेपको यात्रा शुुुुरु भएको थियो ।

हाम्रो अक्षरारम्भ ताकाको परम्परागत पढाइमा बाह्रखरि,दुनोट,आधा,पौने, ढाम,साम तथा संस्कृत र नेपालीका लामालामा श्लोकहरु मुखाग्रै पार्नु पर्दथ्यो । बेलुका स्कुल छुटने बेला लगभग कराएरै गिन्ति सिक्नु पर्ने हुन्थ्यो । बीस सम्मको दुनोट मुखाग्रे गरेर आँखा चिम्लिवरि हामीलाइ भट्याउन लगाउने तत्कालिन मेरा सहपाठी झुपुरे बाजेलाइ अहिले पनि संझिन्छु । सावा अक्षर सिके पछि दुइ कोश टाढा दुर्गास्थानको प्रा बि मा झण्डै डेढ दुइ हजारको जनसंख्या भएको हाम्रो गाउबाट ३ जना -म,स्व जमदार बडूका नाति निलकण्ठ र सौकार कहलिने डङालिका बाजे टिकादत्त मात्र भर्ना भएका थियौ ।

दुर्भाग्यबस यो पंक्तिलेख्दा मेरा दुबै बालसखा यो लोकमा छैनन । कठैबरा, हाम्रो भोगाइ कति अनिश्चित छ । मृत्यु को यो अनिवार्यतालाइ भुल्नै पर्ने हुदोरहेछ । गाउको एकान्त बाटिकामा उम्रिएका बोटहरुको फुल्ने र झर्ने क्रम मैले अडकलेको छैन, तर यसै सन्दर्भमा एउटा बेनामी जापानि कबिता भने यस प्रसंगमा खुप्पै सम्झिन्छु ।
कत्ति पनि अबशेष नछाडी
सबै एकै चोटि झर्छन,
भाग्यमानी पैयुका फुलहरु
एउटै मात्र बाकि रहेमा अन्त्येष्टि नरमाइलो हुन्छ।
गाउमा सत्य नारायणको पुजा पाठ हुदा प्रत्येक अध्याय पिच्छे हुने सुरिलो शंख ध्वनिसंगै हामी गेदामेदा (केटाकेटि) हौसिएर पैयुँका पात चुडेर मन्डपतिर चढाउथ्यौ । त्यसबेलाका सहपाठीहरु कालक्रमसंगै उछ्छिट्टिदै गए, ओझेल पर्दै गए । संगै सिकेका बाह्रखरिका माला उनेर आज म मेरा स्वर्गिय बालसखाहरुतिर पैयुँका पातहरु फाल्दैछु ।

सार्त्रले भने जस्तै जिबन जस्तो भए पनि सत्य हो र मृत्यु यथार्थमा सम्पुर्ण सकिनु मात्र हो । तर सकिनु राम्रो र मृत्यु प्रिय हुन सक्दैन । मेरा मित्रहरुले पुराना कुरा भुल्नको लागी मलाइ धेरै अर्ति उपदेश दिएकाछन । यस्ता बेतुकका कुराहरुसंग म पनि डराउछु । तर यि सम्झनाहरु जे जस्ता भए पनि मेरा निजि सम्पति हुन । छानेर राम्रो मात्रै राख्नुको के अर्थ हुन्छ र ? त्यसैले अचेल ठाँटिएर स्कुल जाने बिद्यार्थि देख्यो भने म नाङ्गै खुट्टा, फाटेको टोपि र थोत्रा लुगा सम्झन्छु । आधुनिक स्कुल देख्दा धुले चौरमा खरिपाटि बोकेर पढेको दिन सम्झन्छु । सिकाएको ज्ञानगुनका कुरा मात्रै हैन कठोर बोलिबचन पनि सम्झन्छु । इनाम पाएको दिन संगै काक्रा, उखु र आरु चोरेका दिन पनि सम्झन्छु ।

सानो छोरालाइ सोह्र बर्ष नाघ्दा सम्म पनि फुच्चे भन्दै पुल्पल्याएको देख्दा एकातिर अचंभको अनुभुति हुन्छ भने अर्को तिर इर्ष्या पनि लाग्छ । नाङ्गै खुट्टा घङारुको काँडै झारिमा बाख्रा हेर्न गएका दिन ,मेरो तिलु गाइलाइ धारिको झ्याङमा मेरै सामने बाघले मारेको दिन, साँझको हुरि-पानि संगै थरौटको डाडाबाट आमासंगै घाँसको भारि बोकी ल्याउदा बजाइखालिमा आमा चिप्लेको दिनहरु मेरा थाति राख्न लायक धरोहर हुन । कक्षामा प्रथम हुदा खुशि भएका क्षण सम्झन लायक हुने नै भए, तर निहित स्वार्थका कारण शिक्षकले नै कैचि चलाएका कुरा पनि बिर्सन नसकिने रहेछ । जिन्दगी भनेको यि सबै कुराको समष्टिगत अनुभब नै त हो । कुनै कबिको  कबिताको प्यारोडिमा भन्नु पर्दा अचेल त हजार पिडाहरुको माया लागेर आउछ,हजार मायाहरुले पिडा बोकेर ल्याउछन । त्यसैले पो बाँच्ने रहर फेरि पलाउछ । जिन्दगीको धुन अझै बजीरहेकोछ । शास्वत नियम के हो भने नठोक्किएर कुनै आवाज आउदैन ।

जिन्दगिको किताबका पुराना पानाहरु पल्टाउदै यि धाराबाहिक बिसंगतिहरुलाइ कहिले काहि साँज-बिहान यिनै पानाहरुमा केरकार गर्दा लाग्दछ,धेरै कुरा पछाडि छुटेकाछन र दुनिया धेरै अगाडी पुगेकोछ । तर सम्झनाहरु सँधै मसंग हिडेको हिड्यैछन । मेरा जिबनमा आएका समस्याहरुमा समाधान नहुने चक्करको अन्तहिन जालो नै मेरो वास्तविक अन्तर्जिबन हो । पद पैसा,सम्मान प्राप्तिकालागी गरिने शक्ति संघर्ष । अस्तित्वको केन्द्रमा रहेको अभावको प्वाल टाल्ने प्रयासमा गरिने यात्रा । पैसा-बिश्वास-सम्मान-सुबिधाको अभाव । मृत्युको अनिवार्यताबोधलाइ छल्ने ब्यर्थका प्रयास । काम र आरामका अन्तर सम्बन्धका यथार्थ । यिनै चक्करहरुमा जिबन झुण्डिएकोछ ।

जे भए पनि एकै चिज समातेर त्यसैमा अडकिनु सम्पुर्ण जिबन होइन । त्यो पट्यारलाग्दो पर्खाइ मात्र हुन सक्दछ । त्यसैले त मानिस अचेल बिश्व डुलन्ता या सार्बत्रिक यायाबर( Global nomad) भएकोछ । मलाइ भने यिनै डोबहरुमा टेक्दै अक्षरका आँकुरा समातेर जिन्दगीको शिब-सत्य भावनामा पिङ खेलि रहुँ जस्तो लाग्दछ ।
** **

Monday, March 1, 2010

आफ्नै बारेमा



दुनियाका सारा धर्म ग्रन्थ र गुरुहरुले आफनो बारेमा थाहा पाउनु पर्छ भनेकाछन । तर आफु र आफ्नै जन्म-मरणको चक्करका बारेमा जान्नु नै मानिसको लागी कठिनतम काम हुन गएकोछ । त्यसैले होला, जिवनका बारेमा नानाथरि दृष्टिकोण बुनिएकाछन । प्रतेक मान्छेले आफुलाइ आआफ्नै मान्यता अनुसार अर्थ्याइ रहेकाछन । यसपाला मैले पनि मेरै परिवेश अनुरुप आफुलाइ जान्ने कोशीश गरें ।
पचहत्तर नाघेकी मेरी आमा अचेल स्मृति-क्षयहुने (फाम नहुने) बुढ्यौलीको चरणमा हुनुहुन्छ । जुन माता मार्फत यो संसारसंग नाता जोडिएर बिशेष पहिचान पाएको थिए, उनैले यदाकदा सांसारिक यथार्थलाइ ग्रहण नगर्दा केहि सोच्न बाध्य बनायो । समयका धपेडीले मुजापरेको अनुहार, नितान्त आफ्नै किसिमको रहन सहन र थामिएर बस्नै नसक्ने गतिशिल कर्मयोगी बानी-ब्यहोरा भएकी आमाको स्थुल शरीर वा मसिना ब्यबहारसमेत नबिराइ समझी रहने,ससाना केटाकेटीसंग समेत नाता जोडेरमात्र बोल्ने र आफन्तहरुको यावत सन्चो-बिसन्चोको लेखो राख्नसक्ने आमाको मनोजगतको सुक्ष्म शक्ति-बिम्ब मध्ये मेरो असली आमा को हुन? यो प्रश्नले बडो दुबिधाग्रस्त पा-यो । ब्राण्डेड हार्डवेयर भए पनि उचित सफ्टवेयर बेगर कम्प्युटरले काम गर्न नसक्दाको स्थितिमा वा हार्डवेयर-सफ्टवेयर सबै ठिक भए पनि पावर (शक्ति) नभएको अवस्थामा “मेरो कम्प्युटर” भनेर गर्ब गर्नसक्ने बस्तु ठम्याउन नसकेको दुबिधामा मेरो मनोस्थितिले निर्क्यौल्याइ खोज्नु स्वभाविक थियो । ड्राइभर नभएको गाडी वा गाडि नपाएको ड्राइभर मध्ये कसलाई म आफनो कामलाग्ने-नातापर्ने उपयोगी बस्तु मानुँ? आफनै बारेको यो यक्ष प्रश्नमा घोत्लिनु पर्ने भयो ।
प्रतेक जीबको मृण्मय र चिन्मय गरी दुइवटा स्वरुप हुन्छन भनेर आध्यात्मिक चिन्तकहरुले भन्ने गरेकाछन । शक्तिको स्वरुप परिबर्तन हुनसक्छ तर यसको नाश कहिल्यै हुनसक्दैन भन्ने कुरा बिज्ञानले प्रमाणित गरिसकेकोछ । हाम्रो मुटुको ढुकढुकी कुनै जिबनदायिनि शक्तिले गर्दा संचालन भएको हो भन्नेमा पनि आधुनिक भौतिकशास्त्रिहरु समेत एकमत छन । आधुनिक बिज्ञानले प्राणि जन्मने प्रकृया जानेकोछ तर ‘म’ भनिने चेतनसत्ताको अवतरण मार्ग पहिल्याउन सकेकोछैन । मानब मष्तिष्कको एक एक कोषलाइ त्यहि जिवनदायिनी अज्ञात शक्तिले चेतनायुक्त बनाएकोछ । त्यो अज्ञात-अपरिभाषित शक्ति नै हाम्रो जिवनको शुरुवात र अन्त्य हो । हामी त्यहि शक्तिको सानो अंश हुनुपर्छ । अध्यात्मिक मनिषिहरुले आत्मालाइ जिबात्मा र परमात्मा गरि दुइ भागमा बाँडिदिएकाछन । आत्माबाट नै ज्ञानको बाटो खोज्दै परमात्मालाई जान्न सकिन्छ । (ज्ञानाधिकरणमात्मा) भनेर बैदिक साहित्यका भाष्यकार बताउछन । आफनो परिचय एकिन भएपछि मात्रै नातागोताको कुरा आउछ । मैले पनि मेरो अस्तित्वको दोहरो पाटोको बारेमा बिचार गर्नै पर्ने भयो ।
मेरो संस्कार संस्कृतिले मानव चोलालाइ लगाउने लुगासंग तुलना गरेकोछ । पुरानो जिर्ण लुगा बदले जस्तै आत्माले नयाँ शरिर धारण गर्छ रे । जसरि मैले लगाएको लुगा परिवर्तन गरेर बनाएको नयाँ पहिचान आमाको निम्ति कुनै मतलबको बिषय हुदैनथ्यो, त्यसै गरि मरेर चोला बदल्नुले मेरो इश्वरलाइ पनि खास फरक पर्दैन होला । शायद यसै कारण ज्ञानीहरुले ईश्वरको अगाडी सबै बराबर हुन्छन भन्ने गरेकाहुन ।
खासमा मेरो भौतिक अस्तित्वलाइ गणितिय सुत्रमा ठ्याक्कै बताउन सकिने होइन रहेछ । बिभिन्न तत्वहरुको सम्पर्क बिन्दु रहेको मेरो बर्तमान अस्तित्वको कुनै स्थायि र ठोस धरातल देखिएन । जसलाइ मैले मेरो भन्ने गरेकोछु, त्यो एउटा बिकसित प्रणालीको मुकाम मात्रै पो रहेछ । भनिन्छ, भगवान त भजन गर्ने बहाना मात्रै हो । ईश्वरीय सत्ता पनि कुनै प्रणालीमा आधारित होला । जसरि सरकार नामको एउटा प्रणाली ( सिस्टम) को प्रतिनिधित्व चौकीको हवल्दार,अस्पतालको डाक्टर वा गौडाको हाकिमले आआफनो गच्छे अनुसार गरेका हुन्छन, त्यसै गरी त्यो अनन्त अनादि सत्ताको प्रतिनिधीत्व हामीले पनि गरेका हुन्छौ । चौकीको हवल्दार सरकारका नाममा निवेदन लिन्छ, कारवाहि गर्छ । तर त्यो आफै सरकार होइन । सरकारी प्रणालीको सानो अंश मात्रै हो । उसको सरकारि पहिचान सर्बोपरी छ, ब्यक्तिगत पहिचान पनि छ । उसले आफुलाइ के सम्झेकोछ? त्यो उसको निजी कुरा भैहाल्यो । आआफ्नो दर्शन मुताबिक हाम्रो परिबेशको पनि बिभिन्न खाले परिचय हुन सक्दछ । सोच्दछु, सतही हिसाबले हाम्रो परिचय वा मुल्यांकन पनि त्रि-आयामिक हुन सक्छ ।
अरुका नजरमा म बिबिधकोणबाट परिभाषित हुनसक्दछु । आफनै दुइ भाइकोपनि मप्रति भिन्न धारणा हुनसक्दछन। एउटाले संरक्षक र मार्ग-निर्देशक मानेको होला भने अर्कोले गैर जिम्मेवार र प्रतिस्पर्धि देखेको होला । भौतिक उपभोगबादी सोच भएकी श्रीमतिले हुतिहारा,केहि गर्न नसक्ने,खान लाउन नजान्ने डुलुवा जोगि मानेकी होलिन ।‘राम्रो ठाने,माया गरे,मैले के बिराए?' भन्नेहरु पनि होलान। साथीभाई र आफन्तका बेग्लाबेग्लै बिचार हुने नै भए, चार छोराहरुको समेत चारथरि मुल्यांकन होला । आफनै काममा कहिले सर्बोत्कृष्ट भएर पुरुष्कृत पनि भइएकोछ, कहिले उस्तै काममा नसियत पनि पाइएकोछ । यो परिचय अरूमा आधारित बिषय भयो ।
मेरै नजरमा मैले आफनै आन्तरिक मनोबादबाट गुप्तरुपले पहिचान बनाएकोछु । जसले जे भने पनि म त यसतो पो हुँ भन्नेमा मेरो आफनै ठोकुवा छ । कहाँ के गरे,के लुकाए, के देखाए, त्यसको लेखा मैले मात्रै राखेकोछु । आफुले गरेका राम्रा नराम्रा कृत्यहरुले आआफनो गुण धर्म अनुसार एकान्तमा कहिले मानसिक दण्ड दिइ रहेका हुन्छन कहिले आन्तरिक आनन्द । महाभारतमा दुर्योधनले भने जस्तै सबै जानेर पनि धर्ममा प्रबृत र पापबाट निबृत हुन नसकेको यथार्थ आफुबाट कहिले लुक्न सक्दैन । धर्म वा पापको लेवल लगाउने काममा मेरो आफनै दर्शनले निर्देश गरिरहेको हुन्छ । यो मेरो नितान्त निजी कुरा भयो ।
मैले पाएको सांस्कृतिक धार्मिक संस्कार समेतका आधारमा सम्यक द्रष्टा भएर बिचार गर्दा साँचो अर्थमा म बिशाल र जटिल ब्रह्माण्डको नितान्त सानो अंश देखिएकोछु । मेरो सानो अस्तित्वको के पो महत्व छ र ? तर समष्टिमा मिल्न पायो भने सलाइको काँटिभित्र अटाउने आगोको सानो अंशलाइ नकार्न सकिदैन । कबिबर माधब घिमिरेको सानो काब्योक्ति यस प्रसंगमा उल्लेखनीय छ, “ म जत्ति छु होइन खालि यत्ति, म भित्र एक बल्दछ दिब्य बत्ति” । कवि मैथिलीशरणले लेखेकाछन, ‘मै कटाफटा पृष्ट किसि आदर्श ग्रन्थ का’। अर्थात म कुनै आदर्श ग्रन्थको च्यातिएको पाना हुँ । शंकराचार्यले भने,तदद् निर्बिकल्पम् शिबोहम् शिबोहम् । (त्यो निर्बिकल्प शिब नै म हुँ। ) ब्रह्मबेत्ताहरु ‘अहम् ब्रह्मास्मि’ भन्दछन ।
पाँच तत्वबाट बनेको भनिएको यो शरिरले छर्ने भ्रमबाट समयका केहि चोइटाहरु उप्किदा रहेछन । बिच्छिन्न भएपछि यि तत्वहरुको अलग स्वतन्त्र अस्तित्व छँदैछ । यस सन्दर्भलाइ कबिरदासजीले घडा फुटेपछि पानि पानिमै मिल्न गएको घटना जस्तै मानेकाछन । फुटा घट जल जल हि समाना, बाहर भितर पानी । यिनै तत्त्वहरुले जुराएको संयोग म हूँ, मेरि आमा हुन । नाटकका केहि भुमिका पुरा गरेर नेपथ्यमा जाँदाको जस्तो अवस्था छ ,मेरी आमाको । न असली स्वरुपमा हुनुहुन्छ, न नाटकको कुनै भुमिकामा । नेपथ्यमा कहिले नाटकको सम्बाद बोलिन्छ होला, कहिले संसारी भुमिकाको । संक्रमणको समय द्विबिधायुक्त हुने नै भयो ।
अन्धकारभित्र बस्ने अज्ञात शिल्पीले ससाना शीतकण बटुलेर ओशको थोपा बनाउछ र त्यो थोपालाइ पिंडालुको पातमा राखेर जिन्दगीको नाममा प्रतेक बिहान हामीलाइ सुटुक्क उपहार दिने गर्दछ । क्रिष्टल जतिकै कंचन यो जलबिन्दु प्रकाशसंगै बिभिन्न मनोरम आकारमा टल्किन थाल्दछ । पातमा बस्दा समेत निर्लेप हुनु यसको बिशेषता हुन्छ । जसै हावा चल्छ,पात हल्लिनासाथ यो खस्छ । कठैबरा, भुइमा न भाँडोमा, यसको अस्तित्व कतै पनि देखिदैन । यहि काब्यात्मक बिम्ब सहित मेरा लोककबिहरुको एउटा बोल टिपेर यो लेखलाइ बीट मार्दछु ।
पिणालु पातको पानि, रै छ जिन्दगानि ।

Wednesday, January 20, 2010

साना लोकगितभित्रका ठुला कुरा

















सुदुर पश्चिमका बहुप्रचलित लोकगितहरुको आफनै शब्द बिधान छ । पहिलो पंक्तिमा जापानी हाइकु जस्तो कुनै प्राकृतिक बिम्ब राखिएको हुन्छ । झट्ट हेर्दा खास कुनै अर्थ नलागे पनि दोस्रो पंक्ति संग यो सहसम्बन्धयुक्त (correlative )हुन्छ । दोस्रो पंक्तिमा थोरै शब्दमा धेरै अर्थ समेटिएको हुन्छ र यहि नै मुख्य पद हो । विनोदमय शैलीमा तत्काल आशुभावमा चलिरहने नेउल्यागीतको लोकसाहित्यिक फाँटमा कलात्मक पक्षमात्र होइन,चिन्तन र विचार पक्ष पनि अध्ययनीय छ । प्रेमि-प्रेमिकाको रोमान्स, जिबन जगतको यथार्थ र सांसारिक निस्सारतालाई समेत यसमा समेटिएको हुन्छ । यस्ता गीतमा निहित दार्शनिक पक्ष सारै मनन योग्य मानिन्छ ।
जस्तै-
१-गाउँ राम्णो आफनै माण्णो, शहर राम्णो डिल्लि
मऽ मैले मौरिको खाया, भेरि सुद्दोइ चिल्लि ।
२-खेतका इचलि मणि, खणमुसिकि खुल्लि
हात रुमाल खुट्टा जुत्ता, म कभै न भुल्लि ।
३-मालिका हिउ पणि आयो,पाटन पुरिनैन ,
साइ दुरै म पनि दुरै , माया दुरिनैन् ।
४-दै भण्णा कुराउनि मिठि, मेरा गाइ तिलुकि,
मौरि भेष जुनकिरिका , गालामा चिलु कि, ।
५-सिलगणिका पल्ला चाल गिर केलन्या गणो ,
तैइ भयेइ ऐसेलु थोपो मै उणन्या चणो ।
६-यो बाटो काँ जान्या रै छ, गौणि बगालको,
घाँटिमा बसन्या तै है बेलि छकाल को ।
७-दुरै हाङि दुरै डाङि, दुरै फल पाक्याको ,
दुरै छन सङ्ङिका भुइसा दूरै मन लग्याको ।
८-अछाम बसन्या चम्फा कल्लि, जुम्ला बसन्या जया ,
चिठ्ठिमा रैबार दिउला, बाटुलिमा माया ।
९-कालो माछो कर्नालिको , करणो सेतिको ,
एक बालो निमोरि खाइ झा तेरिलाइ खेति को ।
१०-पुर्ब जान्या गोर्खालि मुल्या चोतो बोइग्यो ,
बाँचि रया फिरि भेट , न त इति होइग्यो ।
११-नैपाल छत्तिस धारा पानिकि तुरुक्क,
जैल म समझना आउछ हियमा हुरुक्क ।
१२-फल टिपि बानर लइग्या सौला रुखै छन,
दन्त मुर्ख हाँसोइ औ छ, हिय दुखै छन् ।
13-धारा पानी सुकिगयो पड्पानी चुँदाइ छन्
धनीका पहड बाटा निर्धनी रुदाइ छन्
14-अद्धकी कम्पनी माला अद्धकी पोत्या नाइँ
अद्धकी बासमती चामल अद्धकी कोद्या नाइँ
15-पाको फल चडीले खायो काँचो फल रुखै छ
जाँसम्म परानी बाँच्यो वाँसम्म दुखै छ।
16- बैसाग भागीको जन्त लगन दिन्या लछी
यो हंस कालको बारी ऐल हो के पछि।
17-जैगाड बस्याको भोट्या पानी काँ खाँदो हो
हाड मांस माटीका भर हंस काँ जाँदो हो?
18-ब्यान्देल झल्कन्या तारो कै दिशा बुड्डो हो
हाडमांस माटीका भर हंश काँ उड्डो हो?
19- जेठाजु भैँसीका खर्क बौरानी छुई छन् कि
कोई सुकारी कोई दुःखारी भगवान् दुई छन् कि।
२०-सर्क तारा भौतै छन, एक तारो सुक्कुर,
गौ भणि गाएको हैन, आयाका झुक्कुर ।
21-जेठो मुख्ख्या माइलो धामी कान्सो छ हेराउन्या
एकै मणि तिन पगणि गौं गर्खा घुमाउन्या ।
२२-कालिमा तार लागि रै छ कन्ज्यौणिमा चिण्णा
घर बेदना कोइन जाण्णा घर खानिन भण्णा ।
२३-जुलघाट है हिट्टा हिट्टा पुगियो बणालु
जग्गा राम्रो मात हालेको जोइ रामणि उणालु ।
२४-जाँत भलि देवता कि देबि का देउराले
मैले आया बात लागन्छ तै आसेइ नेउराले ।
२५-पुरब झान्या गोरखालि मुल्या चोतो बोइग्यो
बाँचि रया फिरि भेट न त इती होइग्यो ।

Friday, January 1, 2010

सरकारी कर्मकाण्ड र बारा जिल्लाको भ्रमण





















झण्डै चौबिसबर्षपछि नारायणघाटबाट पुर्ब जाने साइत जुर्ला जस्तो भएपछि मन मयुरले हिसाब गर्दै प्वाँख फैलाउन थाल्यो । गढीमाइको मेला र सरकारी कामसंगसंगै हुने भएकोले हामीलाई यो यात्रा शिबरात्रि र सिन्द्राको ब्यापार जस्तै हुनेवाला थियो। संयोगबस कलंकीबाट कुनै अज्ञात सज्जनको बुकींङमा बिरगंज हिडेको सिंगो बसभित्र २०६६ मंसिर महिनाको ऊन्नाइस गते म, कृष्णजी र शेषजी समेतका ३ थान मनुवा कलैया जाने पक्का भयो। साहुजीले सम्पर्क नगरेको र कुन्नि के कागज नमिलेको भन्दै थानकोटमै अधबैसे महिला प्रहरीले आँखै अगाडी रु.२० मात्रको अतिरिक्त आमदानी गरिछाडिन। तदुपरान्त मात्र हामि ३ जना यात्रु + गाडी स्टाफ थप ३ जना सहित जना ६ को यो टोली खूरुखुरु त्रिसुली पहिल्याउदै ओरालो लाग्यो। म गम्दै गए।
बैज्ञानिक र ब्याबहारिक ज्ञानका उपासक र बटुकहरुले भरिएको मेरो देशको सरकारको स्वास्थ्य सेवाका लागी काम गर्ने हामी दोस्रो दर्जाका नादान कर्मचारी । हाम्रा बर्तमान मन्त्री बारा जिल्ला का। पुर्बी तराइको यात्रा समकालिन समयकालागी असहज अनुष्ठान हो भन्ने हामीलाइ थाहा छ। सहृदयी साथीहरुले होस गर्ने सल्लाह पनि दिएकै हुन। तर पनि आज बारातिरनै जाँदै थियौ। सर्बत्र एकै रंगको आकाश देख्ने सुधो र मौसम अनुसारको ट्युनिक लगाउन नजान्ने गोज्याङ्ग्रो हरुको लागी मेरो देशको “माहौल” त्यति अनुकुल छैन भन्नेमा मेरो यात्रादल एकमत थियो। चिप्लो र घुसघुसे पुरानो जरसाप, सारै “फास्ट” देखिएका नयाँ हाकिम, उपल्लो दर्जावालसंग निक्कै रत्तिएकि महिला अधिकारी, ल्यापटप नै नबुझाइ खुस्सुक निबर्तमान बनेका करसापसमेतका बारेमा सहपाठीहरुले गरेका भनिएका नमिलेका ऐलानी कित्ताका कुरामा गफ गर्दै बाटो काटन थालियो। उडुसहरुले रगतको ग्रुप छुट्ट्याएर खाने गर्दैनन। झुल बाहिरका मच्छरहरु भुनभुनाउन बाहेक केहि गर्न सक्नेवाला होइनन। सहकारिहरुका रामरमिता फुर्सतका गफ मात्र भए। हाम्रो सरकारी यात्रामा धादिङबेसीको २घण्टे चक्का जाम बाहेक खासै अवरोध रहेन। मुङलिङमा माछाझोल खाने दाउ भने ढिलो पुगिएकोले काम लागेन।
संयोगबस आजै जलबायु परिबर्तनमा बिश्वको ध्यान आकर्षण गर्न सोलुखुम्बुको कालापत्थरमा मन्त्रिहरुको बैठक बस्ने उच्चस्तरिय नाटक मञ्चन गरियो। आजै मेरो आफनै गाउठाउतिर पर्ने अपि नाम्पा संरक्षित क्षेत्र घोषणा भयो। तर दुर्भाग्यबस आजै डुडेझारिको जंगल अतिक्रमण हटाउन कैलालिमा पुलिसले गोलि चलाउदा ६ जनाको मृत्यु भएको खबर पो सुनियो। दुख: लाग्यो। कुकुरहरुले कार्तिक कुर्न पर्दैन। तिघ्रामा तेल लगाएर आर्जन गरेको राज्यमा बाहिरी बोक्रो चिल्लो पार्ने र जुंगाको लडाइमा मरिमेटने यस्तै दृश्यमान संस्कृतिले जरो हाल्दछ।
जे होस्,पुर्ब पश्चिम राजमार्गले नछोएको तराइको जिल्ला पर्साको उत्तर पश्चिम फन्को मार्दै बाराको कलैया पुग्दा झमक्कै साँझ परिसकेको थियो। अरुणजिले फोनबाट हिरा प्लाजामा बस्ने ब्यबस्था गरेको ब्यहोराको जानकारी दिएका थिए। कलैयाको भरतचौक ओर्ले पछि मात्र हिरा प्लाजा पर्साको बिरगञ्जमा पर्ने तत्वबोध भयो। निदानत: अरूणजीले पठाइ दिएको जिपबाट १२ किमि वर बिरगञ्ज फर्कदा राति १० बजि नै हाल्यो। नजिकैको होटेलमा सादा खाना खायौ र भुस्सुकै निदायौ।
दोस्रो दिन बिहान यसपालाको मेरो गन्तब्य र नेपालको हरियाना भनेर परिचय बनाएको बारा जिल्लाका बारेमा बुझ्न कलैया डटकम हेरे।
यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रुपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा पर्न गएको रहेछ । नेपालीको प्रतिव्यक्ति आय २४० अमेरिकी डलर रहेको वर्ष २०५८ सालमा बारा जिल्ला वासीको प्रति व्यक्ति आय ३९६ अमेरिकी डलर रहेको थियो रे। नारायणी अञ्चलमा सबै भन्दा बढी द्रुत गतीमा जनसंख्या वृद्धि भएको जिल्ला पनि बारा नै रहेको छ । रु.४ करोड भन्दा बढी स्थायी सम्पत्ति भएका उद्योगहरु सबैभन्दा बढी यसै जिल्लामा रहेका र सबैभन्दा बढी क्यालोरी खाद्यान्न उपलब्ध हुने जिल्ला (दशलाख किलो क्यालोरी) पनि बारानै रहेको जानकारी समेत पाइयो।
बिहानै बिरगंज घुमियो। घण्टाघर छेउछाउलाई आजभोली घटनाघर भनिदो रहेछ। मेरा सहयात्रिहरु बीरगंज लाइ मच्छरगंजको नाम दिदै थिए। बिहानै गढिमाइमा दर्शन गर्ने कार्यक्रम गाडीको जोहो नमिल्दा अनुकुल हुन सकेन। साथी अरुणजीले मोबाइलमा आएका धम्कीको लामो फिहरिस्त देखाउदा कतै नजाउ जस्तो पनि लाग्यो। फोनबाटै बाराका सहायक प्रमुख जिल्ला अधिकारि सुन्दरजीसंग फोनबार्ता पछि १० बजेतिर एकजना गुप्ताजीलाइ साथमा लिइ ग्रामिण बारा हेर्न जाने भइयो।
कोल्हवी ,रामपुर्वा,सिमरौनगढ, गढिमाइ र कलैया हुदै साँझ बीरगञ्ज फर्कने हिसाबले हाम्रो यात्रा दल बाटो लाग्यो।
धुले बाटोको वरपर किसानले सुन फलाएका बारिहरु हेर्न लायक थिए। कोल्हवी पुर्ब बाराको ब्यापारिक स्थल नै रहेछ। स्थानिय बासिन्दा त्यहाको स्वास्थ्य चौकीमा हेल्थ सेण्टर खोलिएमा मागेजति जग्गा दिन तयार देखिन्थे र यसकालागी लिखित प्रतिबध्दता समेत गरे। महिला स्वयमसेविकाहरु भेला भएका हुदा रामपुर्वामा ग्रामिण महिला स्वास्थकर्मीहरु संग सामुहिक भेटघाट गरियो। पारिश्रमिक वापतको थोरै पैसा पनि समयमा नपाएको उनीहरुको गुनासो थियो। लगतै घुमाउरो कच्चि सडक हुदै सिमरोनगढतिर लाग्यौ।
सिमरौनगढ क्षेत्रको गोलागंज गा.वि.स. वडा नं. ७ मा अवस्थित करीब १० कठ्ठाको क्षेत्रफलमा राजा गिर्वाणयुद्ध वीर विक्रम शाहले कंकालिनी देवीको मन्दिर निर्माण गराएका रहेछन । मन्दिर परिसरमा वि.सं.१९३५, १९६६ र २०५१ सालमा उत्खनन गर्दा प्राप्त सामानहरु राखिएको एक संग्राहलय समेत रहेको छ । मन्दिर नजिकै करिब सात बिघा क्षेत्रफलको इशरा पोखरी छ। १२औ शताब्दीमा राजा शिवसिंहले निर्माण गराएका भनिएको यसे तालको छेउमा स्थानिय हाट लागेको रहेछ। हाटमा आएका नेपाली ऊँटहरुको रमाइलो हेर्दै फोटो खिचाए। यहाँबाट काठमाण्डौ रात्रि बस नै चल्दो रहेछ। नजिकै रहेको स्वास्थ्य चौकीको दशा भने “दुर्दशा” भन्न लायक थियो।
बार्हौ शताब्दीमा तत्कालीन सिमरौनगढ राज्यका राजा शिवसिंहको राजदरबार रहेको र वि.सं. १९७७ मा श्री ३ जंगबहादुर राणाका छोरा जगतजंगले पुरानो दरबार भत्काएर बनाउन लगाएको रनिवास नामक मन्दिर पनि हेर्न गइयो। त्यस मन्दिर भित्र राम जानकिको मन्दिर रहेको छ । मन्दिर परिसर (बगैचा समेत) को क्षेत्रफल १७ विगाहा १३ कठ्ठा ५ धुर रहेको छ । मन्दिर भित्र गाँजामा रमाउने कथित बाबाजीहरुको अखाडा नै रहेछ। भनिन्छ , सन् १०६७ मा नान्यदेव (समरौनगढका प्रथम राजा) ले तिरहुतलाई स्वतन्त्र राज्य घोषणा गर्दा नान्यपुरी छाडेर सिमरौनगढलाई राजधानी बनाई नयाँ राज्यमा ५२ वटा पोखरी बनाएका थिए । ती पोखरीहरु मध्ये केही पोखरीहरु अझै पनि जिर्णावस्थामा रहेका छन् । सिमरौनगढको मूल ढोकाको रुपमा प्रयोग हुने कोइलामन नामको ठूलो दह थियो । भनिन्छ,यसै दहबाट डुङ्गा चढी ढोका प्रवेश गरिन्थ्यो ।
मलाइ लाग्यो, यस्तै बन्नु र भत्कनु अर्थात निर्माण र बिनिर्माण नै इतिहास हो। कत्रो बिडम्बना आफुलाइ आफनै देशको गलत इतिहास पढाइएको रहेछ। ३।४ सय घरधुरि भएको गोर्खा गणराज्यले छतमा उक्लिएर आफनो क्षेत्रका सबै घरमा खाना पाकेनपाकेको अडकल गर्न मिल्ने गरि धुँवा हेर्न मिल्ने काठमाण्डौलाइ गाँजेका कथामा आधारित इतिहास वास्तविक होइन । गोर्खा र काठमाण्डौ भन्दा कैयौ गुणा बिशाल र सम्पन्न राज्यहरु पनि बर्तमानको नेपालभुमी भित्र थिए। कालक्रममा ति सब नासिए। के थाहा? इतिहास अझै बिनिर्माण हुदै पो छ कि?
बाटोमा टाढैबाट ड्राइभरले सिमरौनगढका प्रतापी राजा शिवसिंहको पुरानो राजदरबारको अवशेष समेत देखायो। राजा शिवसिंहकी रानी बेहुली हुँदा चढेको पालकि त्यहाँ आँउदा जमिन मुनि धस्न गएकोले यस ठाँउलाई पलकिया माई पनि भन्ने गरिएको रहेछ। यसै ठाँउमा सन्दुक( बाकस) को रुपमा पत्थरको कलात्मक शिला रहेकोछ । सिमरौनगढ राज्यको सुरक्षाको लागि बनाइएको कोतवाल क्षेत्र पनि नजिकै पर्दो रहेछ। लगभग ६०-७० मिटर अग्लो ढिस्कोको रुपमा रहेको यस कोतवाल क्षेत्रबाट पाले कराउँदा सिङ्गै सिमरोनगढ भित्र आवाज सुनिन्थ्यो रे। गुडिरहेको गाडिबाटै सिमरौनगढको बर्तमान हालत देखियो। कलैयावरपरका कर्मबिर हातहरुले लहलह फलाएको बालिनालि र तरकारी खेतीको बिचोबिच बिसौं बीघामा योजनाबद्ध ढंगले लगाइएको गाँजाखेतिको दृश्य बुझि नसक्नुको लाग्यो।
बाटोमै पर्ने गढिमाइ थानमा ओर्लियौ। बरियारपुर गा.वि.स.मा अवस्थित, कलैयाबाट ६ कि.मि. पुर्बमा पर्ने यो मन्दिर परिसरको क्षेत्रफल करीब ८ कठ्ठा जति छ। प्रत्येक ५।५ वर्षमा एक महिनासम्म लाग्ने गडीमाइ मेला सम्भवत: संसारकै सबैभन्दा धेरै बली चढाइने मेला हो । मन्दिर स्थापनाको सम्बन्धमा रहेको किंवदन्ती अनुसार करीब ४ सय वर्ष पहिले भगवान दास चौधरी नाम गरेको एक निरपराध बन्दीले मकवानपुरगढीकी तुलजा भवानी ( गढीमाई) लाई रात्रीको समयमा बरियारपुर ल्याई प्रतिष्ठापन गरेको मानिन्छ।
हामीले भने एकएक वटा नारियल, धुप, पुष्प गुच्छा र खुद्रा पैसा चढाएर देबीको दर्शन ग-यौ। बरियारपुर-गढिमाइ मेलामा यसबर्ष १७०० जति पशुहरुको बलि दिइएको रहेछ। हे अ कुशवाहाले यो पशुवलीको छायांकन गरिएको क्यासेट हामीलाइ पनि उपहार दिए। मेला अवधि भर मन्दिर हाता वरपरको जग्गा भाडा प्रति हात प्रति दिन रु.५०० थियो रे। मुल पर्ब समापनतिर भएकोले हाम्रो भ्रमणताका भने त्यत्ति भिड थएन। पशुबली स्थलमा दुर्गन्ध निरोधक औषधि राखेर कपडाले बारिएको रहेछ। स्थानिय अस्थायी होटेलमा गोभिको पकोडा खाइयो ।पैसा टिप्न हतारिएका स्थानिय केटाकेटीहरुको हुल हेर्न लायक थियो। झमक्क अँध्यारोसंगै बिरगंज प्रबेशगर्दा थाकेर लद्दु भैसकेका थियौ। खट्टेपानी नखाइ हुँदै भएन।
दोस्रो दिन भने हिजो कैलालिको डुडेझारिमा भएको गोलिकाण्डको बिषयलाइ लिएर माओबादीले गरेको नेपाल बन्दको मारमा परियो। घटनाघर अर्थात घण्टाघर नजिक दिन भरि नै टायर जलिरहे। निजी फर्म वरपर र कार्यक्रममामात्र घुम्ने स्वास्थ्यकर्मीहरु यत्रतत्र छ्यासछ्यास्ति देखिए पनि नारायणि उपक्षेत्रिय अस्पतालको निबास हातामा हाँस, बतख र कुखुराहरु चर्दै थिए। नजिकैको मुख्य बजारका पसलहरुमा डाक्टरै डाक्टरका साइन बोर्ड झुन्डिएका थिए। यो २१ गते दिनभरको बन्दले होटेलमै थुनियौ, तर घर परिवार नामको होटेलमा भेराइटि छानीछानी माछा भने खुब खाइयो। धन्न, कृष्णले कलैया अस्पताल र शेषले नारायणी अस्पतालबाट येनकेन बिबरण ल्याएछन ।
कलैयाको पुरानो ऐतिहासिक सिध्देश्वर संस्कृत मा बि मा पुग्ने बिचार थियो। समयले साथ दिएन । बि सं १९९१ मा स्थापित यो बिद्यालयले १९९६ देखि सरकारी मान्यता पाएको थियो रे। तर ०२२ साल सम्म संस्कृतमा आचार्य स्तरको समेत पढाइ हुने यो पीठमा अहिले प्रवेशिका मात्रै छ रे। बारा गढी , चुरियामाइ, जितपुरगढि कहि पनि जान सकेनौ।
२२गते बिहान फोटो धुलाइ १२बजेको बसबाट बिरगंज छोडियो । अरुणजीहरु बिदाइ गर्न आए। यहाँको यथार्थ बिबरण दिन कृष्णजीहरु खुप्पै हौसिएका थिए। यत्रो दुख गरे वापत जस पाउनै पर्नेमा शेषजी पनि आशाबादी नै थिए। तर राजधानीमा बिभागिय अग्नीहोत्रि आफन्तहरुले कुखुरीले चल्ला छोपे जस्तो “कारवाहि” को फाइल घुमाएरै राखे। हाकिमका अगाडी अटेन्सनको पोजिसनमा छाति तन्काएर उभिन पनि नजाने र घरी घरी सप्को मिलाउदै नखरा गर्न पनि नसक्ने उभयलिङ्गीहरुको सपना यसै गरि तुहिन्छन। सरोगेट॒-सन्देश दिनु बाहेक यस्तो बाँझो कित्ताको कुनै काम छैन।
बिभागमा हाजिर भए लगतैका केहि परिदृश्य भने उल्लेखनिय रहे। क्वाटर खालिगरि दिन नारायणि अस्पतालले स्टाफहरुलाइ गरेको अनुरोधको बोधार्थ आएको रहेछ। हामिले निर्णयार्थ प्रतिबेदन दिनु पर्ने भनिएका संस्थाहरु समेतलाइ भनेर ४ वटा एम्बुलेन्स र कर्मचारी कलैयातिर खटिइ सकेका रहेछन। मैलै भने साथिहरुको लहलहैमा लागेर बिरगंजमा खाएको पान सम्झिरहे। ख्वै किन हो, काठमाण्डौ नामको खाल्डोमा बसेर कथित केन्द्रिय कामगरेको स्वयम्भु भ्रममा रहने ‘नयाँ नेपाल’का नटवरलालहरुको मुखमा थुकौ जस्तो गरी मुखै भरिएर पो आयो ।