Saturday, April 17, 2010

स्वागतम् सुश्री आत्रेयीलाई

गतबर्ष क्रिसमस भन्दा एक दिन अगाडी हाम्रो बंशबृक्षको एक्काइसौ सन्तान यस धर्तिमा आउदा अष्ट्रेलियामा रातिको ९.१५ बजेको थियो भने नेपालमा बिहानको चार बज्दै थियो । टाढा अष्ट्रेलियामा रहेकि तिनै नातिनिलाई सम्झेर नेपालीको नया बर्षमा आफनो लामो इतिबृत लेख्ने जमर्को गरेकोछू । जति टाढा भएपनि बिज्ञान र प्रबिधिले धर्तिको दुरीलाई निक्कै छोट्याई दिएकोछ। प्रबिधिको प्रयोग गर्ने हो भने मेरो देशको राजधानीबाट मेरो आफनो गाउ पुग्नू भन्दा अष्ट्रेलिया पुग्न र त्यहाँको बारेमा बुझन सजिलो भएकोछ।

हो, म बसेको नेपालको काठमाण्डौबाट नेपालकै पर पश्चिमी गाऊँ मेरो पुस्तैनी थलो सुरकाल पुग्न बसलाइ २ दिन लाग्दछ। त्यहाँ चार बिस बसन्त खाएकी मेरी आमा बस्नु हुन्छ। चारै तिर हरिया डाडाकाँडा छन। डाडाबाट झरेका साना खोलाहरु मिसिएर नदी बनेकाछन। नदीहरु क्रमस: महानदी, सागर हुदै महासागर बन्दछन । महासागर कस्तो हुन्छ? अष्ट्रेलियामा थाहा पाउन सकिएला तर हिमाली पाखा पर्बत र नदिनालाका बारेमा जान्नु पनि कम्ति रोचक छैन। यि खोलानाला वरपरका फराकिला फाँटमा हजारौ-लाखौ बर्षदेखि मानिस बस्ने गर्दथे। कस्ता होलान त प्राचिन अर्बाचिन मान्छेहरू ? यो गहन अध्यनको बिषय हो। यो सार्बभौम-सर्बांगिण कुरा भन्दा पनि हाम्रा बाजे बराजे को थिए? म आफनै कुलबंशको डोरोलाई रेखांकन गर्न खोज्दैछु ।

हाम्रा मनिषिहरुले समयको लामो कालक्रमलाई चार युगमा बाडेकाछन । पुराण,रामायण र महाभारतकालिन समयबाटै बंश परम्र्पराको लामो शृंखला बन्दो रहेछ। तर हाम्रै अज्ञानताको कालो बादलले टाढाका केहि क्षितिजीय क्षेत्र राम्रोसंग देख्न सकिदैनन् । बाह्रौ शताब्दीको धमिलो रेखाबाट मेरो ईतिहासको सपष्ट असपष्ट सिलसिला शुरु भै आजभोली सम्म आईपुगेकोछ। ज्ञात इतिहासको यो क्रमबद्धतालाई यो लेख मार्फत अष्ट्रेलियासम्म पु-याउने जमर्को गरेकोछु । आगत अज्ञात छ। शुभास्ते पन्थान ।

हाम्रा पुराणहरुमा बेदका मन्त्रद्रष्टा ऋषिहरुको संख्या अठासी हजार भएको कतिपय प्रसंग आऊछन । यिनिहरु मध्ये प्रख्यात सात ऋषिहरुको समुहलाइ सप्तर्षि भनिन्छ । यो समुहमा आदिश्रृष्टिकर्ता ब्रह्माका मानसपुत्र अत्रि ऋषिको बिशिष्ट स्थान छ। हाम्रो बंशको पौराणिक जरो यिनै गोत्र प्रबर्तक अत्रि ऋषिसम्म जान्छ । अर्थात हामी अत्रि गोत्रमा पर्दछौ ।

स्थानिय स्वशासनको बारेमा लेखिएको सर्बाधिक पुरानो ग्रन्थका रचयिता हाम्रा गोत्र गुरु भावलाइ नै भगवान मान्दथे। भगवान राम स्वयम् बनबासमा हुदा अत्रि आश्रममा बसेका कथा रामायणमा पढन सकिन्छ। अत्रि पत्नी अनुसुया र छोरी अपाला आफैमा बिदुषि महिला थिइन। ऋग्बेद आठौ मण्डल एघारौ सुक्तकी रचयिता अपालाले चर्मरोगको बनौषधि पतो लगाएकी थिइन । स्थानिय सोमलताबाट निर्मित सोमरसबाट ईन्द्रलाई खुशी पारी माइतका खेतहरु सँधै उर्बर रहुन भन्ने बरदान मागेकी थिइन। भनिन्छ माता अनुसुयाले गुप्तरुपमा गंगालाई आफनो आश्रममा बोलाएकी थिईन। हाम्रो गाऊको भुगोलसंग यो परिवारका कैयौ किम्बदन्तिहरु जोडिएकाछन ।

रामायण र महाभारतकाल पछि आर्याबर्तमा धेरै उथलपुथल भए। कैयौ सभ्यता बिकसित भए, बिनास भए । बिनासकारी बिपदाहरु आए गए। जेहोस आर्य सभ्यता गंगा प्रसवण क्षेत्र भरी दुबो जस्तो फैलिएरै रह्यो । सानो उदाहरण दिउ, आमाको निम्ति प्रयोग गरिने हाम्रो स्थानिय ‘इज्या’ भन्ने शब्द ‘आर्या’ को अपभ्रंश मानिन्छ। स्मरविय छ, आर्यमाताहरुलाई आर्या भनिन्थ्यो।

नेपालको ईतिहासमा लेखिए अनुसार बाह्रौ शताब्दीतिर तत्कालिन कान्यकुब्ज (हाल भारतको कन्नौज) बाट आत्रेय गोत्री ब्राह्मण शक्ति भट्ट, उनका छोरा पृथ्बी र नाति उदय भट्ट हालको भारतिय उत्तरांचल हुदै डोटी प्रदेशमा प्रबेश गरेका थिए । यसै बंशका बत्सराजले डोटीका राजाकी छोरिसंग बिबाह गरि यहाँको राजपाट समेत चलाएका थिए। यिनका छोरा उपबत्सराज र त्यस पछिका केहि पुस्ता सम्म डोटी र जुम्ला राज्यसम्म यो बंशको शासन थियो ।

उता भारतमा मुसलमानहरुको चकचकी बढन थालेपछि त्यतातिरका आर्यहरुको पहाडतिर सर्दै आउने क्रम बढन थाल्यो । सम्भबत: सगोत्रीहरुको राज्य भएर होला, काशि बनारसबाट कुमायु हुदै काली पश्चिमका बायुतटिय बस्तिमा कालु भट्ट नामका ब्राह्मण पनि आई पुगे । यिनका तीन छोरा थिए, त्रिपुर, जासु र उदासु । त्रिपुरराज पछि उनका छोरा काशीराज,नाति गजराज र पनाति श्यामराजले यसै प्रदेशका बिभिन्न बस्ति आबाद गर्दै दिन बिताए ।

सम्भवत: बिक्रम सम्बत १५९५ तिर हुँदो हो । श्यामराजका छोरा मोति भट्टले ततकालिन सँङौडकोटका रजौटाहरु लाइ प्रभावमा पारे र बडाभट्ट कहलिन थाले । यिनै मोति भट्ट अर्थात मोति बडू ले बायुतट पर्बत (हालको ग्वाल्लेक धुरा) को पश्चिमी पार्श्वलाई आफनो कार्य थलो बनाई बंश परम्परा चलाए । यहि पद-बोधक बडाभट्ट शब्द कालान्तरमा जाति-बोधक ‘बडूभट्ट’ मा अपभ्रंशित भयो। पछि उनका सन्तानहरुले बडू थर नै कायम गरे ।

तदुपरान्तको बंश बिस्तार एकै लेखमा भ्याईन्न । हामीसम्म आइपुग्दा यो छोटकरी क्रम निम्नवत् चलेकोछ। मोति बडूका चार छोरा –रतनदेव,लखनदेव,सतनदेव र प्रतापदेव-मध्ये लखनदेवका ३ छोरामा शंकरदेव,काशी र दुल्लप थिए । शंकरका कपुरे बडू र मगी भए । कपुरेबाट जसि, हिरा र रामी जन्मिए । जसि बडूका कालो र हिमरे नामका २ छोरा थिए । कालो बडू पछि क्रमस:रतन,लाटो र मनुवा बडुसम्म चौधौं पुस्तामा हाम्रो इतिहास आइ पुग्दछ ।मनुवा बडूका चार छोरा थिए,गुमानी सकते, काशि र दामू। गुमानिका छोरा नन्दराम र नाति मनिदत्त भए । पितामह मनिदत्त र मातामहि लक्ष्मीका तिन छोरा क्रमश: धर्मानन्द,रामदत्त र दामोदर हुन् । पिता धर्मानन्द र माता नर्मदाका तीन भाइछोरा हामी भानदेव, दत्तराम तथा कृष्णदत्त भयौ। यस पछी भानुदेव र राजेश्वरीका चार सन्तानका रुपमा दीपेन्द्रदेव,कैलाशदेव, दिलिपदेव र बासुदेवको पालो आउछ। यसरी बुवा दिपेन्द्र र आमा अन्जनाका कोखबाट जन्मेकी कन्यारत्न आत्रेयीलाई अत्री गोत्रीय हाम्रा कुलको जेठो र पहिलो सन्तानका रुपमा यसरी नामांकित गरिएकोछ ।

बिक्रम सम्बत २०६६साल पौष मासे शुक्ल पक्षे सप्तमी तिथौ सौर दिन ८ गते रात्रीगत घटिका २६।५२ बुध बासरे तदनुसार इस्वी सन २००९ दिसेम्बर २४ तारीख अष्ट्रेलियन (मेलबर्न) समय बिहिबासरे रात्री ९ घण्टा१५ मिनेट नक्षेत्रे पुर्बभाद्रपदा चतुर्थ चरणे राशि १२ लग्ने १० जन्मस्थान मेलबर्न अष्ट्रेलिया श्रीमान पिता दिपेन्द्र बडू पुजनिया माता श्रीमति अन्जना बडू प्रथम गर्भे प्रथम पुत्रीरत्न सुश्री दिप्तिका दिर्घमायु भुयात्शुभम्।

Friday, April 16, 2010

सभ्य,समुन्नत र लोकतान्त्रिक नेपाल-निर्माणमा भविष्यको योजना र प्रयास



-कैलाश बडू

हाम्रो देशमा राज्यसत्ताको उपल्लो तहको लोकतान्त्रिकरण पछि धरातलीय लोकतान्त्रिकरणलाई सघन बनाउने काम अझै पनि बाँकी छ। लोकतन्त्रलाई समाज र जीवनसंग एकाकार बनाउने भावी प्रारम्भिक कार्यहरु हाम्रा निर्बाचित प्रतिनिधि हरुले पुरा गर्नेछन भन्ने बिश्वासमा ऊभिएर मात्र सभ्य र सम्मुन्नत नेपालको परिकल्पना गर्न सकिन्छ। सभ्य र सम्मुनत भावी नेपालको त्यो स्वप्न-प्रदेशमा पुगने हाम्रो मोटामोटी चार बुँदै मार्गचित्र निम्नानुसार हुन सक्दछ । यी चार पांग्रामध्ये कुनै एउटा पनि नभएमा हामीलाई सभ्य,सम्मुनत, लोकतांत्रिक नेपालतर्फ लैजाने गाडी केहि दिन धकेलिन सक्ला तर निर्बाध गुड्न सक्ने अवस्था रहन गाह्रो पर्नेछ।

१-शान्ति प्रकृयालाई सफल बनाई सर्बसम्मत नयाँ सम्बिधान तयार गर्नु ।

२-सहमतिको बाताबरणमा राज्यको पुनर्संरचना गर्ने।

३-योजनाबद्ध तरिकाले आर्थिक र सामाजिक रुपान्तरण गर्ने।

४-राष्ट्रियतालाई सुदृढ गर्दै लैजाने

तत्काललाई राजनैतिक मुद्दा भएकोले पहिलो र दोस्रो बुँदामा लामो बहस हुन सक्दछ। त्यसैकारण राज्यले खरबौंको लगानी गरी यस बिषयमा सम्बाद चलाएकोछ। यो प्रश्न जनताका प्रतिनिधिहरु माथि नै छोडौ। माथि भनिए जस्तो समाज र जिवनसंग लोकतन्त्र साँचो अर्थमा एकाकार भएपछि क्रमागत रुपमा आर्थिक र सामाजिक रुपान्तरणको तेस्रो चरण आउँछ । आफना अनुभवलाई अलौकिकता र पौराणिकताबाट मुक्त बनाई लौकिकता र मानवनिर्मित ऐतिहासिकतासँग गाँस्नु नै समकालिन समाजको रुपान्तरण हो। सामाजिक-आर्थिक रुपान्तरण बिना समाजको परिवर्तन पनि दिगो हुँदैन र सम्मुन्नत लोकतान्त्रिक नेपालतिरको यात्रालाई ठीक दिशातिर अघि बढाउन सकिदैन । जसले जे कुरा गरे पनि आर्थिक सशक्तिकरण न भै समाज सम्मुन्नत हुनै सक्दैन । भोको पेटले कसैको पनि भजन गर्दैन । त्यसैले आज हामीले मुख्यत: यसै सवालमा केन्द्रित हुनुपरेकोछ । युवाहरुको निम्ति यो मुद्दा नै बढि ब्याबहारिक र अहम मुद्दा हो। प्रत्यक्षत: यो बिषय रोजगारी सित सम्बन्धित छ।

रोजगारकालागि २ वटा मात्र बिकल्प छन

।१-रोजगारदाताहरुसंग सम्पर्क गरि रोजगार खोज्ने।२-स्वरोजगारको शृजना गर्ने। आउनुहोस अब यिनै प्रश्नमा बिचारगरौं ।

कामनै पाइएन... यो देशमा अवसर नै छैन..." बेरोजगार युवाहरूका यस्ता गुनासा आजभोलि प्रशस्त सुनिन्छन् । अवसर नै भेटिएन भन्दै हरेक वर्ष हजारौँ तन्नेरीहरू विदेशिने गर्छन् । यो क्रमले जन्माएका प्रश्नहरू हुन्- नेपालमा साँच्चै नै रोजगारीका अवसरहरूको कमी छ त ? तर रोजगारदाताहरू भने यो कुरामा सहमत छैनन् । उनीहरूको भनाइमा कामका निम्ति उपयुक्त, कुशल मान्छे पाउन गाह्रो छ । बेरोजगारहरूको यति ठूलो सङ्ख्या हुँदाहुँदै पनि व्यावसायिक कम्पनीहरूले 'मान्छे पाइँदैन' भनेको सुन्दा आर्श्चर्य लाग्न सक्छ । स्थिति त्यस्तै छ भने बेरोजगार र रोजगारदाताहरूबीच यो मतभिन्नता किन र कसरी आइरहेछ ?

यथार्थमा नेपालभित्रका सबै जागिरका लागि 'चाहियो' भनेर बिज्ञापन छापिँदैन । कतिपय मानिसले चिनजानकै भरमा जागिर पाउने कुरा सत्य हो । संसारको जुनसुकै कुनामा पनि जागिरका लागि सबैभन्दा बढी चल्ने/चलाइने उपाय यही हो । यसको अर्थ कुनै संस्थामा चिनेको मान्छे हुँदैमा कसैले जागिर पाउँछ भन्ने होइन । निजी क्षेत्रमा कसैले पनि आफ्नो जागिरलाई जोखिममा पार्ने वा छवि बिग्रिने गरी कसैको सिफारिस गर्दैन । त्यसैले असक्षम, अयोग्य वा खराब आचरण/विचारधारा भएकाहरूलाई प्रायः सिफारिस गरिँदैन । तर विडम्बना के छ भने अधिकांश नेपाली युवाहरू चिनेका मान्छेकहाँ अघाउञ्जेल धाउँछन् तर आफ्नो योग्यता, विशेषता र क्षमता दर्शाएर उनीहरूलाई प्रभावित पार्नेतिर ध्यान नै दिँदैनन् । आफूलाई बिकाउने केही विशेषता नै नबोकी औपचारिक शिक्षाका भरमा मात्र 'जागिर पाइएन' भन्नु समाधान होइन, समस्याको जड हो । योग्य मान्छेको त बजारमा किनबेच नै हुन्छ भन्दा पनि हुन्छ ।

तर लक्ष्यमुखि नभइ बाबुआमाको गाल टार्न वा भावी योजनाबारे सोच्दै नसोची औपचारिकताका लागि मात्र पढ्ने गर्नाले र समयमै राम्रो सम्पर्क नबनाउनाले जागिर पाउने सम्भावना टाढिँदै जान्छ । सङ्गीत, खेलकुद, साहित्यलाई पनि पेशाका रूपमा लिन सकिन्छ तर जुनसुकै क्षेत्रमा लाग्नका लागि पनि विषयगत दक्षता, लगाव र जोश नभई हुँदैन । ब्यापार ब्यबसायका लागि आफ्नो लगानी गर्नैपर्छ । समय वा मेहनतको लगानी मात्र हैन, जनसर्म्पर्क बढाउने काम पनि त्यसैमा पर्छ । 'जागिर चाहियो' मात्र नभनेर 'जागिरलाई के चाहियो' भन्ने मानसिकता विकास गरी त्यसै अनुरुप अगाडि बढ्नु आजको बजारको माग हो ।

अब दोस्रो बिकल्पमा बिचार गर्नु अघि कपिलवस्तुको २०६६ वैशाख १५ गतेगोरखापत्रमा प्रकाशित यो समाचार पढौं ।

सरकारद्वारा हालै ल्याइएको स्वरोजगार कार्यक्रममा कपिलवस्तुका युवती उत्साहपूर्वक तालिममा सहभागी भएका छन् । कपिलवस्तुमा उद्यमशिलता तालिमका लागि कुल तीन हजार ३४३ जनाले आवेदन दिएका मध्ये करिव दुई हजार युवती छन् । तालिम लिनेमा युवकभन्दा युवती अधिक हुनुको कारण प्रायः काम गर्ने उमेरका युवक वैदेशिक रोजगारमा संलग्न हुनु हो । स्वरोजगार बन्ने धुनमा लागेका युवतीमा कतिपय गृहिणी अवस्थाका रहे पनि धेरै जसो क्याम्पसमा अध्ययनरत रहेका छन्

स्वरोजगारको तालिमलाईपनि रोजगारी बनाउने यो मानसिकता रहे सम्म स्वरोजगारको स्थिति के होला ? भनीरहनु नपर्ला। तर मलाइ लाग्छ, स्वरोजगार बाहेक युवाहरुकोलागि अरु राम्रो बिकल्प छैन । सरकारले स्वरोजगार शृजनाकालागि ल्याएको योजना राजनैतिक नारा मात्र नबनाई इमानदारीका साथ लागु गर्नु पर्दछ। स्वरोजगारका लागी बान्छनीय पुर्ब सर्तहरु पनि थुप्रै हुन सक्दछन । ब्यबसायिक स्वरोजगारलाई बिश्वबिद्यालयको पाठ्यक्रममा समाबेश गरिनु पर्दछ। रोजगार खोज्ने भन्दा रोजगार शृजना गर्नेलाइ राज्यले सक्दो सहुलियत दिनु पर्दछ। मेरो बिचारमा संचारप्रबिधिले रोजगारीका नौलो बाँझो फाँट आबादीकालागी खाली छ। रोजगार शृजनाका अझ अरू नञाँ क्षेत्र के के हुनसक्दछन,रोजगार शृजनाकालागि अनुकुल बताबरण तयार पार्न के के गर्नु पर्दछ? यो अनुकुलन कसकसको दायित्व भित्र पार्नु पर्दछ? यो बिषयमा अझ बृहद् छलफलका बिषय हुन सक्दछ। युवा संजालले यसमा बेग्लै छलफल चलाउन पर्दछ।

संक्रमणको यो कालखण्डमा सबैको मन र मस्तिष्क स्वच्छ भइदिने हो भने समाज आफैंमा रामराज्यमा परिणत हुन सक्दछ । त्यहाँ हत्या, हिंसा, आतङ्कले स्थान पाउँने छैन र दुराचार, व्यभिचार, भ्रष्टाचारको गन्ध आउँने छैन । सबै आ-आफ्नै अनुशासित हुनेछन् । कसैले कसैलाई केही भन्नैपर्ने छैन र कसैले कसैलाई केही सिकाउनै पर्नेछैन । फलतः साधारण खर्च कटौती भै त्यसलाई विकास निर्माणमा लगानी गर्न सकिनेछ । यसोभएमा मात्र एकले अर्कोको खुट्टातान्ने, शोषण गर्ने, ठग्ने, लुट्ने प्रवृत्ति सदाका लागि अन्त्य भै नेपालको राष्टिय सार्बभौमसत्ता,स्वाधिनता र राष्टियताको रक्षा हुनेछ। बितण्डा र बिखण्डनको खतरा टरेर स्वस्थ र सम्मुन्नत नेपाल बन्नेछ । हामी यहि गर्ने प्रयासमा लागौ। धन्यबाद्

Wednesday, April 14, 2010

अचेलको म


सपनाको देशमा

एकाबिहानै कुर्लने भालेले

मलाई देशको कर्णधार भनेर बोलाउथ्यो ।

मेरी बुढी आमाका चाउरिएका अनुहार

आज पनि आँखाको नानी भन्दछन् ।

स्कुलको अनुशासित छात्र

कलेजको होनहार केटो

म एउटा सिंगो ब्यक्ति

मनोबैज्ञानिक र ब्यक्तित्व परिक्षणमा समेत खरो उत्रेर

राष्टसेवक कहलिन पुगेको थिए।

अचेल त यो ब्यक्तित्वहीन ब्यक्ति

सामाजिक दृष्टिले बिकलांग

सरकारी अर्थतन्त्रको निर्धो कृपापात्र

सांस्कृतिक दृष्टिकोणले मुल्यहीन

मनोबैज्ञानिक हिसाबले पराश्रित

भाषाले मौन राजनीतिबाट शक्तिहीन

बिचरो बबुरो नौकरिवाल पो हुन पुगेकोछ ।।

(०५२-९-२०, महेन्द्रनगर)

Monday, April 5, 2010

ग्रामिण विकाश,गाजेमाजे चाहना र गोर्ख्यौल


विकासबारेको भ्रम:एउटा बिडम्बना
सुदूर गाउँहरुमा बिकासका चर्का बहस अहिले पनि चल्दैछन् । तुकताल नमिलेका बिकासका नाराहरुमा सिधा साधा गाउलेहरुलाइ अलमल्याउने नेपालको केन्द्रिकृत राजनीतिको पाखण्डी संस्कारमा अहिलेसम्म कुनै क्रमभंगता आएको देखिएन र बाहिरबाट ल्याएर मात्र गाउको बिकास हुन्छ भन्ने भ्रम पुर्बवत पस्किने काम हुदैछ। बिकास नामको यो शब्द कसैका लागी सिक्का भएको छ, कसैकालागि राजनैतिक गोटि भएको छ भने कसैका लागि प्राज्ञिक बादबिबादमा आफुलाइ अब्बल देखाउने माध्यम। तर बुझ्नु पर्ने कुरा के हो भने गाउको बिकास राजधानीबाट हुनै सक्दैन। गाउको बिकास गाउको समस्या हो यो समस्याको समाधान गाउमै खोजिनु पर्दछ.। अहिलेसम्म बिकासका निम्ति काठमान्डौलाइ केन्द्र बनाइएकोले नै गाउहरु सुदुर-दुर्गम भएका हुन।
हाम्रा नाइकेहरुले गाउ र गरिबीका निम्ति दोहरो मापदण्ड बनाएकाछन। मोफसललाइ कथित राजधानीको खाने खेल्ने चौर या आन्तरिक उपनिबेश मानिइएकोछ। कहिले गाउलेहरु गरिब छन,केहि जान्दैनन् यिनलाइ सिकाउनु पर्छ भनिन्छ। कहिले ग्रामिण बासिन्दा नै गाउको बिकासका लागी निरपेक्ष देखिन्छन ,केन्द्रबाट खटाइएका बिकासे कार्यकर्ताबाट थुप्रै कुरा बुझ्ने कोशिश नै गर्दैन भनेर घोचपेचका साथ निर्देशित गरिन्छ। यिनै गाजेमाजे चाहनामा हाम्रो बिकास अलमलिएकोछ।हामी भ्रमित हुन गएकाछौ। केन्द्रमा बस्ने महारथीहरुलाइ गाउको बिकासको नारा देखाउने दाँत मात्र भएकोछ।
विकासको खेति र वास्तविकता
के वास्तबमा गाउलेहरु बिकासकालागी इच्छुक नै छैनन त? बिकासको तिब्र आन्तरिक इच्छा हुनेहरुले यो कुरा हृदय देखिनै बुझ्नु पर्दछ। निसन्देह रोगीको ईच्छा बिरुद्ध ऊपचार हुन सक्दैन। सर्बप्रथम बिकासप्रति ग्रामिण बासिन्दाहरुको दृष्टिकोण सपष्ट हुनु जरूरि छ किनकि अहिले बिश्वग्रामको जमाना हो र दुनिया दृष्टिकोणबाट चलिरहेकोछ।
अहिलेसम्म अर्काको परिभाषामा अर्थ्याइएको जिबन, अर्काकै अबधारणाबाट मुल्यांकन गरिएको हैसियत र अर्काले नै लेखि दिएको इतिहासको दृष्टिकोणबाट गाउलेहरुले आफुलाइ बुझेका थिए। अरुले अशिक्षित गरिब मान्छे भनिदिएकै कारणबाट यिनिहरु ब्यर्थेमा अहिले सम्म लल्याकलुलुक भएका थिए। पिता पुर्खाको प्रतापि इतिहासलाइ ओझेलमा राखिएको पत्तै नपाइ ब्यर्थेमा टपरे हिसाब गरेर खाने खेल्ने ऊमेरमै बाजे बनेर चाउरिएकाथिए।
अझै सुदुर गाउहरुमा धेरै जमिन भएमा धनी भइन्छ भन्ने परम्परागत सोच कायमै छ। धेरै बस्तुभाउ मात्र पालेर गाउलेहरु आफनो दुख आफै बढाइ रहेकाछन। थोरै होस,राम्रो होस भन्ने भाबना आएकै छैन। बिकासको आधुनिक अबधारणाबाट गाउ अझै टाढा छ। अरुसंग दाँजेर गरिब भनि दिएमा सहयोगकोलागी बिन्तिपत्र हालि हाल्दछन तर गरिबी हटाउन परिश्रम गर्नु पर्छ भनेमा हेपेको ठान्दछन। माछा मार्न सिकाउनेलाइ भन्दा एक टुक्रा पकाएको मासु पस्कनेलाइ आफन्त मान्ने हाम्रा गाउले दाजु भाइ वास्तबमा के हुन? यसबारेमा समेत आआफ्ना दृष्टिकोण हुन सक्दछन।
दृष्टिकोण थरिथरिका
पुराना संस्कार र पुराना मान्यताहरु धमाधम भत्किरहेकाले एकथरि बर्तमान समयलाइ पतनको पराकाष्ठामा पुगेको घोर कलियुग भन्न सक्दछन त्यस्तै, नुन किन्न पनि अब टाढा टनकपुर नै जानु पर्दैन,औषधि देखनै नपाइ प्वाक्क परेर मर्नु पर्ने स्थिति छैन। महिनौ पछि आएको आफन्तका चिठ्ठीहरु पढिदिने जानकार मानिस अब खोजीरहनु पर्दैन। सबै गाउमा स्कुल छन र फोन सुबिधा पनि पहुँचमा छ। हामी जानि नजानिकन आधुनिक चमत्कारहरुको उपयोग र उपभोग गरिरहेकाछौ। त्यसैले अचेल साह्रै राम्रो समय मान्नेहरु पनि थुप्रै होलान। यसरि मानिसहरु आआफनै ब्यक्तिगत सोचका आधारमा बनेका दृष्टिकोणका भरमा बँचिरहेका हुन्छन।
एकछिन यसै प्रसंगमा घोत्लिऔ। दर्केको पानिले आकाश पखाले पछिको उज्यालो जुनमा हिडने यात्रिको दुइवटै दृष्टिकोण आऊन सक्दछन। एउटाले बाटो चिप्लो भयो भनेर निन्याउरो मुख लाउन सक्दछ भने अर्को टहटह जुन लागेको छ भनी हाँसी हाँसि हिडन सक्दछ। समय र परिस्थिति एऊटै भए पनि दृष्टिकोणले नै जिबनको बास्तबिकता बताउदो रहेछ। आधा गिलास दुध पाएमा एउटा बालक रमाउन थाल्छ भने[ अर्को बालक पुरा गिलास नभएकोले रुन सक्दछ। गुलाफको बोटमा फुलसंगै काडा पनि हुनै पर्दछ। यथार्थमा सोच बिचार गर्ने सकारात्मक र नकारात्मक दृष्टि नै जिबन दर्शन हो।
सपष्ट र मौलिक बिचार नभएकाहरु चलनचल्तिका थोत्रा आदर्शबाट तदर्थ जिबन बाँचि रहेका हुन्छन। यस्तो अस्थिर मनस्थितिले कमजोर मानिसहरु प्राय नकारात्मक बाटो लिन्छन,जुन सजिलो तर अनिष्टकारि हुन्छ। सकारात्मक बाटो हिड्न त्याग, समय र शक्ति चाहिन्छ। मुलत: बहुजन हिताय काम गर्नु पर्दछ भन्ने भाबना नै सकारात्मक सोँच हो। यस्तो सोच भएमा सापेक्ष स्तरमा समाज आफै बदलिन्छ।
हाम्रा गाउघरहरुको यथार्थ
शस्यस्यमला बरदबेणीयुक्त हाम्रा गाउघरहरुलाइ बिचारक ऋषिमुनीहरुले परमार्थ साधना गर्ने र भावतत्व खोज्नेहरु (spiritual seeker)का लागी अनुपम तपोभुमी मानेकाछन। हाम्रा गाउहरु प्राकृतिक बिहार भुमी हुन, पर्यटक स्थल हुन। एकलोटा शुध्द जल र पत्र पुष्प चढाउदा प्रसन्न रहने लोकदेवताहरुको सरलता सौम्यताको ब्याख्या हुनसक्दैन। आडम्बरबिहिन तत्व-ज्ञान दर्शनलाइ रूढ कर्मकाण्डमा बाँधेर धार्मिक कहलिइ समाजबाट सम्मान र सुबिधा खोज्ने तथाकथित नक्कलि पण्डाहरुले हाम्रा सरल बिश्वासलाइ अन्धबिश्वासमा दर्ता गरि दिएकाछन। तर गाँउ घरको बिशिष्ट प्रकृतिका कारण यहाँका बासिन्दाहरुका निरोगि र बलिया हात पाखुरा छन। यहाँ स्वतन्त्र र शौर्य सम्पन्न इतिहास छ। गाउको आल भरि नै जमिन, जल,जंगल, जनशक्ति,जोश र जाँगर प्रचुर मात्रामा छ। कसरि यहाका बासिन्दाहरु निर्धा र गरिब हुन सक्दछन?गुण अबगुण सालाखाला पारेर हेरियो भने गाउलेहरु सोझा हुन्छन, इमान्दार छन र सापेक्ष अभाब देखिए पनि भाबनाका धनी छन। कठोर प्रकृतिसंगै पौठेजोरि खेल्दै यिनिहरु हाँसो ठट्टाको रमाइलोमा जिबन जिउन सक्दछन। दैनिकीका समस्या र अभाब सहेर पनि यिनिहरु बिखण्डित हुन सक्दैनन। बिषम परिबेसमा पनि यसरि समग्र जिउन सक्नेहरुलाइ कमजोर भन्न सकिन्छ र्?अचेल केहि शहर केन्द्रित ब्यक्ति-समुहको एउटा प्रायोजित रटना छ कि गाउलेहरु गरिब छन। वास्तबमै गाउ घर गरिब नै छ त? यो बिचारणीय प्रश्न हो गरिबीको बिचारले मन मष्तिष्कलाइ दरिद्र बनाए पछि कोही धनी मानिदैन। खप्तड स्वामिको भनाइमा मानिस जे बिचार गर्दछ त्यहि बन्दछ।
सापेक्ष अभाबलाइ गरिबि मान्ने हो भने यो बिश्वब्यापि छ। घरमा एकपाथि भट्टमास छ तर एक किलो अरहर-मुँग नपाऊदा कोहि गरिबमा दरिनु हुदैन। गोठमा दुध दिने भैसी छ भने दिउसो एक गिलास दुध नहुदैमा गरिब भनेर चिच्याउन पाइदैन। सुनिन्छ,सम्पन्न भनिएका देशहरुमा नया मोडेलको गाडी किन्न नसक्नेहरु आफुलाइ गरिब भन्दछन। दैनिक शूद्ध दूध पिउन पाउनेहरु त्यहाँ पनि बिरलै हुन्छन। शुद्द खाने पानी र शुद्ध हावा समेत नपाइने हाम्रो राजधानीलाइ सम्पन्न भन्न सकिन्छ त? यो अर्थमा गाउमा निरपेक्ष गरिबी छैन भन्न सकिन्छ। ५ज(जल,जमिन,जंगल,जनशक्ति र जागर)को छेलोखेलो भएको ठाऊमा गरिबीको रोग स्वेच्छाले बस्न सक्दैन। धन दौलत जस्ता चल बस्तु मात्रै गाउका सम्पति होइनन, नागरिकहरुको इमानदारी, साहस र नैतिकता पनि साँचो सम्पत्ति हो। यो सम्पत्ति गाऊँमा प्रसस्त छ।
बर्तमानका प्रभावहरु

अचेलको बिश्व दृष्टिमा बिकसित आधुनिक परिबर्तनका पाटाहरु गाउमा पनि झुल्किएकै छन। पारलौकिक र ईश्वर केन्द्रित मानसिकता अब लौकिक र मानब केन्द्रित भएको छ। भगवान र भाग्य भन्दा पनि समानता र स्वतन्त्रतालाइ अग्राधिकार दिइदैछ। मानबीय बौद्धिकतालाइ प्रमुख बिषय बनाइदैछ। बेर्नाबाट बारिमा ल्याइएको जस्तो आधुनिक जिवनलाइ स्थानिक रुपमा मात्रै ब्याख्या गर्न पनि सकिदैन।
त्यसैले तदर्थ बाँचिरहेको गाँउमा बिकासको गाजेमाजे चाहनाले बर्तमानलाइ धेरै बेर अल्मल्याउन पाउने छैन। अचेल गाँउमा थुप्रै सकारात्मक परिबर्तन देखिएकाछन। सानो परिवार र आत्मनिर्भरताको चाहना बढेकोछ। रुढिगत सामाजिक संरचना भत्कदैछन। अन्ध-बिश्वास हराउदैछन। आधा आकाशको सक्रियता बढेकोछ। बालबिबाह,बहुबिबाह असल मानिदैनन्। शैक्षिक जागरण बढेकोछ। गाऊहरु अपेक्षाकृत सफासुग्घर देखिन्छन। जिवन स्तरमा टडकारो परिबर्तन देखिएकोछ। औसत आयु बढेकोछ।
बिकासको बाटोको यो बामे सराइमा केहि अलमल हुनु स्वाभाबिकै मान्नु पर्दछ। आधुनिक बिकासको यो सहयात्रासंगै गाउले जिबनको पत्यारलाग्दो लयबध्दतामा परिबर्तन हुनै पर्दथ्यो। तर सुदुरबर्ति गाउमा समेत शहरको जस्तो उपभोगबादिता बढेकोछ। स्थानिय श्रम र सीपको अबमुल्यन भै कृषी कार्य प्रति रुचि हट्दै गएकोछ। ढिकि जाँतो जस्तै राम्रा लोकप्रचलन हराउदैछन। बट्टाबन्द आधुनिक खानपान गाउमा भित्रिदैछन। नया सुबिधालाइ पुरानो आर्जनले धान्न नसक्ने अबस्थाछ। एक किसिमले आर्थिक तनाव गाऊ पसेकोछ। अर्काको नक्कल गरि स्वांग रच्ने कुण्ठाले ग्राम्यमानस कुण्टाग्रस्त हुदैछ। कस्तुरिले स्वयंको बास्ना थाहा नपाएजस्तो आफनै मौलिकता र बिशिष्टतालाइ गाउले बुझ्न सकेको छैन। अर्काको दयामायामा बाँच्न चाहने परमुखापेक्षी दानमुखी जिबनपद्धति दरिद्र मनस्थितिको उपज मात्र हो। यसरि ससाना कुरामा अलमलिइ चलाक हुन खोज्दा स्वयं पछाडी परिन्छ भन्ने बुझाइ कम छ।
हाम्रा गाउँघरमा आर्जित धनको राम्रो सदुपयोग हुन सकेको छैन। बचत गर्ने प्रबृति छैन। अनपढका बिचमा अभिमान देखाउनु पढेलेखेकाहरुको पहिचान बनेकोछ। जमिन टुक्रा टुक्रामा बिभक्त छ। बन जंगलमा धेरै चाप परेकोले हरियालि कम हुदैछ। बन-बेत, गोठ-गोबर र घरधन्दामा अधिकांस जिबन सिमित भएकोछ। ईश्वरलाइ रहस्यमय बनाइएकोले श्राद्धमा बिरालो बाधे जस्तो प्रकियामुखि काममा गाउलेहरु लकिरका फकिर बनाइएकाछन। समष्टिमा हाम्रा गाउ अशक्त बुढाबुढी,असहाय, गरिबकालागी का‍ल पर्खने ठाउ बनेका छन। अहिले सम्म यिन्कालागि कुनै ठोस कल्याणकारी योजना छैन।
बिकास भनेको के हो त?
यथार्थमा बिकास हुने -नहुने जान्ने -नजान्ने बिचको अन्तर मात्र हो। कंचनपुरसंग तुलना गर्ने हो भने बैतडीमा बिकास नभएको मान्नु पर्दछ तर कर्णालीसंग तुलना गर्ने हो भने स्थिति फरक देखिनेछ। एस एल सी पास ब्यक्ति स्वयंमा ५ पासका निम्ति जान्ने हो भने स्नातककालागि नजान्ने हो। यसरि नै बिकासलाइ सापेक्ष स्तरमा बुझ्दा यो निरन्तर चलि रहने प्रकृया मान्नु पर्दछ।
तर गाउलेले चाहने बिकास भनेको आम्दानिमा बृद्धि,आधुनिक उत्पादनको उपयोग उपभोग,रहन सहनको स्तरमा बृद्धि र शिक्षा-स्वास्थ्यमा सुधार हो। बिकास भएमा फुर्सतका क्षणहरु बढदछन र रमाइलो गर्न सकिन्छ भन्ने ग्रामिण चाहना छ। यसरि बिकास कहिले नसकिने अन्त्यहिन यात्रा बन्न गएकोछ।
बिकास सकारात्मक परिबर्तनको नाम पनि हो। गाउमा चलेका पणम(पर्म),खेणि र ऐचो पैचोका ब्यबहार सकारात्मकताका चिन्ह हुन। दिगो बिकास तब मात्र संभब छ, जब स्वाबलम्बनको बानी बस्दछ। त्यसैले ऊपभोगबादी सुबिधामुखि भन्दा बिकासबादी सोच बढाउनु गाउलेको हितमा हुन्छ।
बिकाससंगै असल संस्कार र असल चरित्रमा जोड दिएमा बास्तविक दिगो बिकास ठहरिनेछ। बिकासका लागि राम्रा प्रचलन गाउमा बसाउन सकिन्छ। अब्यबस्थित ग्रामिण बस्तिलाइ योजनाबद्ध ग्रामिण आबास कार्यक्रम द्वारा मिलाउन सकिन्छ। हाट बजार,ढुकुटी बचत,पेवा-धन,कुटिर उद्योगको चलन बढाउनु पर्दछ। श्रमको सम्मान हुनै पर्दछ। अब्यबस्थाको समुद्रमा एउटै डुङ्गामा बसि हावासंगै बगिरहेका हाम्रा गाउहरुले के बुझ्नु जरुरि छ भने डुङ्गामा प्वाल प-यो भने कोहि पनि बच्न सक्ने छैनन।

गोर्ख्यौल गाउको बिकास


सुदुर पश्चिमका गाउघरमा मेलोमेसो नमिलाइ जथाभावी गरिएको सरकारी कामलाइ गोर्ख्यौल भनिदो रहेछ। यथार्थमा नेपाल एकिकरणताका बिजेताका रूपमा आएका सरकारि कर्मचारीलाइ गोर्खालि भनिने र यिनले गरेको रंग न ढंगको कामलाइ गोर्ख्यौल भनिएकोहो। शाब्दिक अर्थमा गोर्ख्यौलको अर्थ जथाभाबि हुदो रहेछ। हामी अहिले सम्म भएको बिकासको प्रतिकात्मक अर्थमा यसलाइ लिन सक्दछौ। सरकारि काममा उदासिनता देखिनुमा मुख्य कारण यहि गोर्ख्यौल हो। सिंहदरबारमा वास्तबिक जनमुखि योजना बनेकै छैनन, बन्नै सक्दैनन। सिहदरबारबाट बाँडिएको बिकासले गोर्ख्यौल मात्र भित्र्याउछ। धन राजाको,ज्यु कालको मान्ने गाउलेहरु बिकास प्रति किन ऊदास न होन त? माथिको आदेशको भरमा चलेको सरकारले गोर्ख्यौल बाहेक के नै गर्न सक्दथ्यो र?
अचेल अर्बाचिन र प्राचिन सिद्धान्तहरु पुरै बदलिएकाछन। पुराना ब्यबहार आजभोलि नमिलेका जस्ता देखिन्छन। उच निचको संस्तरण,खानपान र ब्यबहारका बखेडाहरु बदलिदो प्रतिमान अनुसार बदलिनै पर्दछ। बिगतमा आफनै किसिमको एकांकी जिबन बाचेका ग्रामिण समुदायलाइ बिकासका नया संभाबना देखने गरि नया दृष्टिकोण दिनु पर्दछ। गौरब गर्ने खालको हाम्रा पुर्खाको इतिहासले जिबन मुल्यको रचना गरेकोछ। जिबनले हामिलाइ रचना गर्नु प्राकृतिक घटना हो तर हामीले नया दृष्टिकोणमा जिबन रच्यौ भने यो जिबन मुल्य हुनेछ्। स्वतन्त्र ब्यक्तिको परिचय यस्तै मौलिकतामा देख्न सकिन्छ। स्वत्नत्र ब्यक्तिले मात्रै यथार्थमा सोच्न र रच्न सक्दछ। अतितको थोत्रो गर्ब मात्रै गरि राख्नेहरु कालक्रममा बिलुप्त हुने गर्दछन। यसकारण पितापुर्खाका सपना हरुलाइ यसरि बर्तमानमा उतार्नु पर्दछ जसरी शिशुको अनुहारमा मातापिताको प्रतिबिम्ब देखिने गर्दछ।
अर्काको नक्कल मात्रै समाज सुधार होइन। राम्रो चलनको रक्षा गर्नु र नराम्रोलाइ सच्याउनु पनि सुधार कार्य हो। बिश्वास गर्न सकिन्छ कि अपठ्यारा र कठ्याङ्ग्रिएका दिनहरुमा अब न्यानो र ऊज्यालो घाम लाग्नेछ। कर्मि माहुरि जस्तो दिनरात काममा खटिरहने सिधा साधा गाउलेहरुबाट ब्यर्थेमा ठुलाबडा बनाइएका कथित खोले टाकुरे भुरे ठालुहरुले अबका दिनमा ढलिमलि गर्न पाउन सक्ने छैनन। गाउघर बिभिन्न बादबिबादमा बाडिने छैन। श्रम निष्ठामा फुले फलेको गाउको गौरबपुर्ण इतिहासका बर्तमान संस्करणहरुले पुर्खाको प्रेरणा लिइ आफनो सोचलाइ नबिनता दिनेछन। गाउमा चिन्तन बिउझिनेछ,चरित्रले यात्रा गर्नेछ । यहाँ सुन्दर सोचिनेछ र सुन्दर रचिनेछ। शिबास्ते पन्थान् ।

Sunday, March 7, 2010

बादलमाथिको यात्रामा : मेरी आमा


आमालाई अचेल झुक्मुकोमै उठनैपर्ने झंझट छैन्
सन्ज्यावाली आउँदा हतारिने खाँचो पनि पर्दैन्
स्याउला सोत्तरको   बिसाएको भारि जत्तिकै फुर्सदिलि बनेकिछिन् ।
हलुङ्गी बनेकिछिन् ।

फक्रिनु देखि झर्नु सम्मको यात्रामा
आफनै अनुभवको झरिले
अचेल उनी निथ्रुक्क छिन् ।

रहरका प्यासा बिरही धुनहरुलाई
पुराना काला हावाका झोक्काहरुमा
बेहिसाब निफनि रहन्छिन् ।

मुजा परेको अनुहारमा
काँप्दै गरेका हातखुट्टाहरुको हिसाब लेखेर
चार बिस बसन्तको ज्यूँदो कहानी बोल्छिन् ।
नौलो मुकामको मतलबै छैन ।
पुराना सम्झेटोमा झुुुुन्डिएकिछिन् ।
बिगतलाई फगत प्रहसन बनाएकिछिन् ।

निरिहता बाँचीरहेका मनिसका भीडबाट
खाटा बसिसकेका पुराना घाउ बोकेर
सेता बादलमाथिको अज्ञात बस्तितिर लाग्दैछिन् ।
निष्फिक्रि देखिन्छिन, निर्बैर बनेकिछिन् ।

ओ हो, जायजन्म लम्बिएर पो जिबन बन्दोरहेछ
आकांक्षा थपिदै आफन्तको बगाल हुँदोरहेछ
आशा र बिश्वास तुहिएर नै आफना भनाउदा बिराना बन्दारहेछन्।
कुनै अज्ञात त्यान्द्रोमा जीवन दियो धिप्धिपाउदो रहेछ । 

यसरि खुम्चीएका बिछ्यौनाहरुमा
निर्धो शरीर र टुहुरो मन सुक्दै गएपछि
आफनै अनुभुतिहरु क्रमस: रित्याउदैछिन् ।
मेरि आमा, मुजेलाका दियेणा जस्तै
तेल ननिख्रिएसम्मका लागि
अबिकार बलिरहेकिछिन ।

निरोगी हरफहरुबाट अमृत-आदर्शको मसीले
आफनै ईतिहासको अन्तिम अध्याय लेखिरहेकिछिन्
आफना-बिरानाको हिसाब मेट्न अह्राइरहेकिछिन्
मान्छे जस्तै भएर बाँच्न सिकाइरहेकिछिन् ।।

( मिति-०६६।१०।१२,सुरकाल,बैतडी )

Friday, March 5, 2010

अक्षरको यात्रामा




गाऊँको सानो सेरोफेरोबाट बाल-मनले पहिलो उडान गर्दा पारी डाडा माथिको आकाश र धरति जोडने क्षितिजीय रेखा नै अन्तिम गन्तब्य हो जस्तो लाग्दथ्यो । त्यो क्षितिजिय बिन्दुको बिशुद्ध भ्रममा मनोरम स्वप्निल संसार थियो र त्यो भन्दा परको संसार भने अतिब उत्कंठाको बिषय हुन्थ्यो । ‘माथि डाँँडामा हाम्रो खर्क छ'आमा ऐचेकाडाको घरको बर्णन गर्नु हुन्थ्यो। त्यो कल्पनाको अंतिम ऊचाईमा मेरो घर छ भन्ने बोध प्राप्तिको अहमले दुनियाको सब भन्दा ठुलो बादशाह म आफुलाइ संझिन्थे ।

पल्लो डाँडामाथिको हाम्रो भनिएको जमिनमा देखिने गुच्चमुच्च रुखहरुमा उक्लिएर आकाशलाइ छुन सकिन्छ भन्नेमा म ज्यादै बिश्वास गर्दथे । यो तिब्र बिश्वासलाइ पिताजी समक्ष राख्दा उतापट्टी पनि यस्तै अर्को पहाड भएको जानकारि पाएर मेरो कल्पनाले अझ चौडो पाटो भेट्टाएको हुनु पर्दछ । डाँडाको रुखबाट आकाश छुन सकिने वा अदृश्य पल्लोपाखो हेर्ने जिज्ञासाले नै मेरा प्रथम पाइलाहरु घर बाहिर हिड्न हौसिएका हुन् ।


बाल-बयमा प्राप्त भएको  परिवेशले मलाइ कल्पनाशील र भावुक बनाएको होला । देवताका कथाहरु रस लिएर सुन्ने बानि सानैदेखि थियो। हाम्रा देवता के गर्दा रिसाउछन ? र के गर्दा खुशी हुन्छन? यसको मेसो खोज्न कल्पनाकै सहारा लिनु पर्दथ्यो । ज्यादै संबेदनशील र अपठ्यारा समस्यामा समेत सप्पै भारि देवतामै बिसाएर ढुक्कसंग सुत्न सक्ने पिताजीको आशाबादी दृष्टिकोणको सोझो असर म माथि परेकोछ ।
कलियुगको प्रसंग आउदा गाउका बुढापाकाहरुमा चल्ने चर्चाको अझै पनि संझना छ। ऊनीहरु भन्थे, कलीले सम्पुर्ण पाउ धरतिमा हालेपछि ग्वाल्लेक धुरामा रोपाइ हुनेछ, दुबोको छायामा सुत्ने र गुबोको रुखमा चढने मानिस जन्मनेछन--आदि आदि । यी मिथकहरुले संकेत गरे जस्तै गुलिभरका लिलिपुटहरु ग्वाल्लेकमा कहिले सम्म देखिएलान, मलाइ थाहा छैन । तर डाडाँकाँडामा रोपाइ लगाउने दिन धेरै टाढा छैन जस्तो लाग्दछ। पबित्र पहाडहरुमा अचेल बिबाद, बिषाद,हतियार, भिडन्त र रगतका कथा सुनिन थालेकाले आस्थाको बिचलनबाट भासिदै गएको बरद धरतिको माटो कुन कालो समुद्रमा बिलिन हुने होला ? यहि चिन्ता लागी रहन्छ ।

वास्तबमा मेरो रुबस गाउँ आधुनिक छलप्रपंचबाट टाढा छ । यो गाउँ कर्मयोगी छ, आधुनिक भाषामा निरक्षर र पाखे पनि । सदरमुकामबाट आउने टाठाबाठा जागिरेहरुको लागी यस्ता ठाउँ साह्रै ऊर्बर मानिन्थे । सुनेकोछु, मालपोत को काममा होस वा जंगल निरिक्षणको काममा होस, यहाँ आउने कर्मचारीहरुको फुर्तिफार्ति ज्यादै उग्र हुन्थ्यो रे । एक जना जागिरेको पछाडी दस जना ढाक्रेहरु यतिकै पनि गाउमा घुम्न आउथे । यसरि घुम्न आउने कर्मचारि र तिनका आसेपासेहरु लाइ ख्वाउनका लागी गाउलेहरुले खाइनखाइ गहु-चामल,घ्यु-तेलको जोहो मिलाएका हुन्थे । गाउमा यसरि खाना ख्वाउने पालोलाइ वारो भनिन्थ्यो । एकपल्ट त मालपोतको काममा आएका ‘गोर्खाली’कर्मचारि र दोस्रो बिश्वयुद्धताका बर्माको लडाइ बेहोरेर आएका गैरका सिपाहि बाजेका बीचमा ठुलै घम्साघम्सी परेको रहेछ । यसै निहुमा गाउलेहरुले बर्षौसम्म मुद्दा खेप्नु परेका कथाहरु गाऊमा अझै सुन्न पाइन्छन ।

गाउँ नजिक कुनै बिद्यालय थिएन । हालको दुर्गास्थानमा भने १८।१९ साल तिर प्राइमरी स्कूल खुलेको थियो । जंगल र खोलाको बाटो हुदै त्यहाँको दुर्गास्थान प्राइमरी स्कुल, पैतोलीगाउ पुग्न हामि फुच्चेहरुलाइ डेढ घण्टा लाग्दथ्यो । बोलचालमा त्यो ठाउँको नाम दुरैमाण्डौ थियो, अर्थात दुरै नामका देवताको मन्दिर रहेको ठाउ ।  तर अब दुर्गास्थान नामाकरण गरिएकोछ । दुरै देवता अब दुर्गा बनेका छन् । सांस्कृतिक अतिक्रमणको यो रमाइलो नमुना ठहरिन सक्छ ।

हाम्रा गाउँका तत्कालिन बरिष्ट समाजसेवी जमदार हरिदत्त बाजेको सक्रियतामा खोलिएको त्यो स्कुल जाने बाटो बनाउदा श्रमदान जुटाएको मलाइ संझना छ । बाटोमा पर्ने बगणाको गाडमा ढुङ्गै ढुङ्गाको पूल पनि जमदार बाजेले नै हाल्न लगाएका थिए । हामी त्यो पुलमा हिडेर वारपार गर्न बडो रमाइलो मान्थ्यौ । वास्तबमा त्यो स्थानिय बास्तुकलाको नमुना थियो । शायद ३०।३२ साल तिर त्यो पुल बाढीले बगायो ।

पाँच सात बर्षका भुराभुरिलाइ पढनको लागि दुर्गास्थान जान पनि गारो थियो । त्यसकारण कुनै साक्षर ब्यक्तिलाइ मास्टर राखि हामिलाइ गाउँकै चौरमा अक्षरारम्भ गराउने मेसो मिलाइएको थियो । मलाइ पहिलो चोटि काठको पाटिमा अक्षर कोर्न बाजे बिसराम बडूले सिकाएका थिए । जमदार हरिदत्त बडूका नाति स्व निलकण्ठ बडू र मैले संगसंगै धुलौटको पाटिमा पुजा गरि बर्णमालाका साँवा अक्षर सिक्न शुरु गरेका थियौ ।
आजको सन्दर्भमा ति दिनको परिपञ्च प्रष्ट्याउन गाह्रो छ । आकासको घाम हेरेर समयको अडकल गरिन्थ्यो । एक सल्लि (एक सल्ला जति अग्लो) आकाशमा दिन(सुर्य) पुगे पछि हामी स्कुल जान तम्सिन्थ्यौ । पारिपट्टि कोइराली गाउँमा घाम अस्ताउन थालेपछि छुट्टि गरिन्थ्यो । पानी रियालेको कमेरो माटोमा निगालाका कलम वा काठको छेस्का डोबेर कालोमोसो पोतिएको काठको पाटिमा अक्षर लेख्न लगाइन्थे । काठको तख्तिमा अंगार घोटेर कालो बनाइए पछि खरि ढुंगाले पनि लेख्ने गरिन्थ्यो । पाटीलाइ डोरिले बाँधेर काँधमा झुण्ड्याइ स्कुल आउने जाने गर्दथ्यौ । मोटो धागोको डोरिलाइ कमेरो पानिमा भिजाएर पाटीमा सोझो लाइन राख्ने झंझटिलो प्रक्रियालाइ अचेल समेत टडकारो संझिन्छु । तर जुन जिजिबिषा त्यो कमेरो पानिसङ्गको घुलमिलमा पाइन्थ्यो त्यो अचेल कंप्युटरको कि बोर्डमा पनि हम्मेसी पाइदैन ।

हुने खानेले मात्रै कखहरा पढनकालागी बर्णमालाका किताब किनेका हुन्थे । हाम्रो प्राथमिक कक्षामा मुस्किलले चार पाँच जनासंग मात्र यस्ता किताब थिए । अक्षर घोकाउने पनि आपनै खालको खाँटि तरिका थियो । अक्षर चिनाउने बस्तुका बिम्बहरु स्थानिय परंपरा संग सम्बन्धित हुन्थे । मुखाग्र गर्नु पर्ने यो तरिका सान्दर्भिक थियो, रमाइलो थियो । लगभग मासिन लागेको यो स्थानिय बिम्बाक्षर प्रणालिमा मौलिकता पाइन्थ्यो  । भनिन्छ, हाम्रा पुराना मन्दिरमा पाइने ब्राह्मिलिपीसंग यी बिम्बहरुको सहसम्बन्ध छ ।  यि बिम्बहरुले सिकाइने ती अक्षरहरुको जगमा टेकेर मेरो जीबनको यो खेेेेपको यात्रा शुुुुरु भएको थियो ।

हाम्रो अक्षरारम्भ ताकाको परम्परागत पढाइमा बाह्रखरि,दुनोट,आधा,पौने, ढाम,साम तथा संस्कृत र नेपालीका लामालामा श्लोकहरु मुखाग्रै पार्नु पर्दथ्यो । बेलुका स्कुल छुटने बेला लगभग कराएरै गिन्ति सिक्नु पर्ने हुन्थ्यो । बीस सम्मको दुनोट मुखाग्रे गरेर आँखा चिम्लिवरि हामीलाइ भट्याउन लगाउने तत्कालिन मेरा सहपाठी झुपुरे बाजेलाइ अहिले पनि संझिन्छु । सावा अक्षर सिके पछि दुइ कोश टाढा दुर्गास्थानको प्रा बि मा झण्डै डेढ दुइ हजारको जनसंख्या भएको हाम्रो गाउबाट ३ जना -म,स्व जमदार बडूका नाति निलकण्ठ र सौकार कहलिने डङालिका बाजे टिकादत्त मात्र भर्ना भएका थियौ ।

दुर्भाग्यबस यो पंक्तिलेख्दा मेरा दुबै बालसखा यो लोकमा छैनन । कठैबरा, हाम्रो भोगाइ कति अनिश्चित छ । मृत्यु को यो अनिवार्यतालाइ भुल्नै पर्ने हुदोरहेछ । गाउको एकान्त बाटिकामा उम्रिएका बोटहरुको फुल्ने र झर्ने क्रम मैले अडकलेको छैन, तर यसै सन्दर्भमा एउटा बेनामी जापानि कबिता भने यस प्रसंगमा खुप्पै सम्झिन्छु ।
कत्ति पनि अबशेष नछाडी
सबै एकै चोटि झर्छन,
भाग्यमानी पैयुका फुलहरु
एउटै मात्र बाकि रहेमा अन्त्येष्टि नरमाइलो हुन्छ।
गाउमा सत्य नारायणको पुजा पाठ हुदा प्रत्येक अध्याय पिच्छे हुने सुरिलो शंख ध्वनिसंगै हामी गेदामेदा (केटाकेटि) हौसिएर पैयुँका पात चुडेर मन्डपतिर चढाउथ्यौ । त्यसबेलाका सहपाठीहरु कालक्रमसंगै उछ्छिट्टिदै गए, ओझेल पर्दै गए । संगै सिकेका बाह्रखरिका माला उनेर आज म मेरा स्वर्गिय बालसखाहरुतिर पैयुँका पातहरु फाल्दैछु ।

सार्त्रले भने जस्तै जिबन जस्तो भए पनि सत्य हो र मृत्यु यथार्थमा सम्पुर्ण सकिनु मात्र हो । तर सकिनु राम्रो र मृत्यु प्रिय हुन सक्दैन । मेरा मित्रहरुले पुराना कुरा भुल्नको लागी मलाइ धेरै अर्ति उपदेश दिएकाछन । यस्ता बेतुकका कुराहरुसंग म पनि डराउछु । तर यि सम्झनाहरु जे जस्ता भए पनि मेरा निजि सम्पति हुन । छानेर राम्रो मात्रै राख्नुको के अर्थ हुन्छ र ? त्यसैले अचेल ठाँटिएर स्कुल जाने बिद्यार्थि देख्यो भने म नाङ्गै खुट्टा, फाटेको टोपि र थोत्रा लुगा सम्झन्छु । आधुनिक स्कुल देख्दा धुले चौरमा खरिपाटि बोकेर पढेको दिन सम्झन्छु । सिकाएको ज्ञानगुनका कुरा मात्रै हैन कठोर बोलिबचन पनि सम्झन्छु । इनाम पाएको दिन संगै काक्रा, उखु र आरु चोरेका दिन पनि सम्झन्छु ।

सानो छोरालाइ सोह्र बर्ष नाघ्दा सम्म पनि फुच्चे भन्दै पुल्पल्याएको देख्दा एकातिर अचंभको अनुभुति हुन्छ भने अर्को तिर इर्ष्या पनि लाग्छ । नाङ्गै खुट्टा घङारुको काँडै झारिमा बाख्रा हेर्न गएका दिन ,मेरो तिलु गाइलाइ धारिको झ्याङमा मेरै सामने बाघले मारेको दिन, साँझको हुरि-पानि संगै थरौटको डाडाबाट आमासंगै घाँसको भारि बोकी ल्याउदा बजाइखालिमा आमा चिप्लेको दिनहरु मेरा थाति राख्न लायक धरोहर हुन । कक्षामा प्रथम हुदा खुशि भएका क्षण सम्झन लायक हुने नै भए, तर निहित स्वार्थका कारण शिक्षकले नै कैचि चलाएका कुरा पनि बिर्सन नसकिने रहेछ । जिन्दगी भनेको यि सबै कुराको समष्टिगत अनुभब नै त हो । कुनै कबिको  कबिताको प्यारोडिमा भन्नु पर्दा अचेल त हजार पिडाहरुको माया लागेर आउछ,हजार मायाहरुले पिडा बोकेर ल्याउछन । त्यसैले पो बाँच्ने रहर फेरि पलाउछ । जिन्दगीको धुन अझै बजीरहेकोछ । शास्वत नियम के हो भने नठोक्किएर कुनै आवाज आउदैन ।

जिन्दगिको किताबका पुराना पानाहरु पल्टाउदै यि धाराबाहिक बिसंगतिहरुलाइ कहिले काहि साँज-बिहान यिनै पानाहरुमा केरकार गर्दा लाग्दछ,धेरै कुरा पछाडि छुटेकाछन र दुनिया धेरै अगाडी पुगेकोछ । तर सम्झनाहरु सँधै मसंग हिडेको हिड्यैछन । मेरा जिबनमा आएका समस्याहरुमा समाधान नहुने चक्करको अन्तहिन जालो नै मेरो वास्तविक अन्तर्जिबन हो । पद पैसा,सम्मान प्राप्तिकालागी गरिने शक्ति संघर्ष । अस्तित्वको केन्द्रमा रहेको अभावको प्वाल टाल्ने प्रयासमा गरिने यात्रा । पैसा-बिश्वास-सम्मान-सुबिधाको अभाव । मृत्युको अनिवार्यताबोधलाइ छल्ने ब्यर्थका प्रयास । काम र आरामका अन्तर सम्बन्धका यथार्थ । यिनै चक्करहरुमा जिबन झुण्डिएकोछ ।

जे भए पनि एकै चिज समातेर त्यसैमा अडकिनु सम्पुर्ण जिबन होइन । त्यो पट्यारलाग्दो पर्खाइ मात्र हुन सक्दछ । त्यसैले त मानिस अचेल बिश्व डुलन्ता या सार्बत्रिक यायाबर( Global nomad) भएकोछ । मलाइ भने यिनै डोबहरुमा टेक्दै अक्षरका आँकुरा समातेर जिन्दगीको शिब-सत्य भावनामा पिङ खेलि रहुँ जस्तो लाग्दछ ।
** **