Thursday, January 5, 2012

ति ठग र यि ठगहरु



उहिले बाजे बराजेका पालामा
मुर्खले मात्रै नदेख्ने कपडाको
पोशाक सिलाउने भनेर
बादशाहलाई नयाँ लुगा हाल्ने नाममा
ठगहरुले राजालाइ ठगेका थिए ।
अहिले तिनै ठगहरुले
सरकार चलाएकाछन ।
कसैले नबुझने तुक न तालको बहस चलाएकाछन ।
जान्ने सुन्ने सुकिला मुकिलाहरुको नाममा,
श्रम गर्ने सर्बसाधारण जनताकानाममा,
यत्र तत्र जाम र जुलुसको जात्रा मनाएकाछन ।
तिनै ठगहरु आफु नेता र अभिनेता बनेकाछन
अहिले हाम्रापालामा
ति ठगहरु
आमजनतालाइ पो ठगिरहेकाछन् ।



टुक्रा टुक्रा म



कहिले मस्तमौला प्रेमि जस्तै
कल्पनाको खंडहरमा डुल्छु ।
कहिले खोचतिर भुतको छाया मुनी बसेर पनि
जुनकिरि जस्तै
झुलुक् झुलुक् चम्किन्छु ।
भय अभयको बिचमा
जय पराजयको बिचमा
महाकालको प्रतिक्षामा
टुक्रा टुक्रा क्षण बाच्दैछु,
टुक्रा टुक्रा जिबन मर्दैछु ।


कानुनका काला अक्षरहरु



सत्ताको संयोजन मिलेपछि
सरकार काला अक्षरमा मात्र बोल्दछ,
सत्तामा हुनुको सुबिधा
अँध्यारो कुवाबाट बाल्टीले पानी निकाले जस्तै
डोरि समात्नेले मात्रै उपभोग गर्दछ ।
लाग्दछ, 
काला अक्षरको माथिको बहुअर्थी ब्याख्यानहरु
सरकारका लागि
पारस पत्थर जस्तै हुन्छन ।




यो चिसो समानता

घरको झ्यालबाट 
शिशाहरु किचिमिचि पारी
सोझै मुटुमा झर्दै गरेको यो शीतलहर, 
एकसरो लुगा लगाएर
सडकमा नांगो खुट्टा कुदनेहरुलाइ पनि
यत्तिकै बिझदो होला र ? !

Tuesday, December 20, 2011

कुमारी रुटको यात्रा …

साभार-लक्ष्मीप्रसाद ङाखुसी, नेपाल (पाक्षिक)
यसपटक त्यति धेरै चर्चामा नआएको तर विछट्टै सुन्दर स्थान अपी-नम्पा संरक्षण क्षेत्र पुग्ने मौका मिल्यो। सौन्दर्यप्रेमीका लागि त्यति सहज नभएकाले अपी-नम्पा क्षेत्रलाई 'भर्जिन रुट' पनि भनिन्छ। एकातिर दुर्गम, अर्कोतिर खान-बस्नको असुविधा। त्यसैले सहज गन्तव्य बन्न नसकेको यो क्षेत्र विश्वकै दुर्लभ हिउँचितुवा र हाब्रेलगायत हिमाली कालो भालु, कस्तूरी मृग र ध्वाँसे चितुवाको बासस्थानसमेत हो। रैका ट्राभल्स एन्ड टुर्सका प्रबन्ध-निर्देशक अमर शाहीले 'अपी-नम्पा क्षेत्र घुम्न जाऔँ' भनेदेखि नै हामी केही सञ्चारकर्मी यसबारे उत्सुक थियौँ। काठमाडाँैबाट धनगढीसम्म सवा घन्टाको हवाईजहाज यात्रापछि जिपमा झन्डै आठ घन्टामा डडेल्धुरा पुगियो। यहाँ बास बसेर बिहानै गोकुलेश्वर हँुदै झन्डै ११ घन्टाको जिप यात्रापछि दार्चुला सदरमुकाम नजिकै रहेको भैँसे पुगियो। भैँसेमा सुविधासम्पन्न होटल तथा लजहरू नभए पनि कामचलाउ बासस्थान भने रहेछन्। अलिक निम्नस्तरीय बसाइँकै कारण भैँसेमा बितेको रात हाम्रा लागि स्मरणीय रह्यो। भैँसेमा चियानास्ता गरेर ७ हजार १ सय ३२ मिटर उचाइको अपीको फेदतिर हाम्रो पैदल यात्रा अघि बढ्यो। यात्राका क्रममा लाटिनाच, मकरीगार्ड र भित्तो भीरको ठाडो उकालोपछि घुसा गाविसको पाटु पुगियो। पाटु पुग्दा राती १० बजेको थियो। पाखापखेरा, वनजंगल र चमेलिया नदी वरपरको क्षेत्रले जोसुकैलाई पनि मोहनी लगाउँछ, यहाँ। नदी किनारमा हिँड्नुको आनन्द अलग्गै हुन्छ। तर, तल्लो भागमा देखिने ठूल्ठूला भीर र खोच देख्दा भने साह्रै डर मान्नुपर्ने हुन्छ। बाटाभर िघाँसको भारी बोकेर उकालो-ओरालो गररिहेका स्थानीयबासी। पाटु छाडेको दुई घन्टापछि सितीमाल्ल मार्मास्थित भवानी निमावि पुग्याँै हामी। विद्यार्थीको स्वागत पायौँ। उनीहरूको नाचको झझल्को यात्राभर िनै आइरह्यो। सुन्दर नाच देखाउने ती विद्यार्थी पढ्ने विद्यालयको हालत भने निकै दयालाग्दो थियो। कक्षाकोठामा डेस्क-बेन्चको अभाव, चुहिने छाना र पटपट हातमुख फुटेका विद्यार्थी। सिती हाम्रो यात्राको अन्तिम मानव बस्ती हो। त्यसैले भनिँदो रहेछ, 'नङभन्दा माथि मासु छैन, सितीभन्दा माथि बस्ती छैन।' माथिल्लो यस भेगका मानिसको प्रमुख पेसा कृषि भए तापनि उब्जनीले ६ महिना धान्न पनि धौधौ पर्ने रहेछ। ६ महिना यहाँका स्थानीय युवाहरूले भारतबाट मजदुरी गरेर ल्याएको रुपियाँ र जडीबुटी बेचेको आम्दानीबाट अन्नको जोहो गर्दा रहेछन्। सितीबाट करबि एक घन्टाको यात्रापछि हामी खाईगोठ पुगेर टेन्टमा रात बितायौँ। भोलिपल्ट भने पूरै दिन जंगलको यात्रा थियो। अपीको फेदमा पर्ने दोमूलमा स्थानीयले लामै यात्रा तय गर्दा बोका काट्ने चलन रहेछ। हाम्रो समूहले पनि दोमूलमा बोका काट्यो। र, खाना खायो। त्यो रात भने हामीले जंगलको बीचमा रहेको ओडारमा बितायौँ। समूहका कतिपय साथीका लागि त्यो त्रासको विषय पनि बन्यो। भन्दै थिए, "जिन्दगीमा यो पहिलो अनुभव हो।" भोलिपल्ट बिहान ११ बजे मात्र हामी अपी हिमालको बेसक्याम्प पुग्याँै, जसको उचाइ ४ हजार २ सय ५० मिटर छ। श्वेत र स्निग्ध हिमशृंखला, गाढा नीलो आकाश, नीला तालतलैया र थकानको अनौठो अनुभूति बटुल्यौँ हामीले। सबैको मन एकतमासले रमाइरह्यो। पदयात्राका आयोजक पश्चिम महिला जागरण समूह, रैका ट्राभल्स र नेपाल पर्यटन वर्ष २०११ सचिवालयका प्रतिनिधि भन्दै थिए, "यो कुमारी क्षेत्रमा आउने सञ्चारकर्मीहरूमा तपाईंहरू नै पहिलो हो।" प्राकृतिक सौन्दर्यले भरपिूर्ण यस ठाउँका दृश्य क्यामरामा कैद गर्न छुटाएनौँ हामीले। अपी हिमालको शिरमा छिनमै फन्को मार्ने र छिनमै हराउने बादलका टुक्रा जति हेरे पनि सन्तुष्ट नभइने। साँच्चै अपी क्षेत्रको अनुपम छटालाई शब्दमा व्यक्त गर्न सकिँदैन। एक दशकदेखि मध्य र सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गरिरहेको रैका ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक शाही भन्छन्, "नयाँ पदयात्रा मार्ग पर्यटकहरूका लागि राम्रो गन्तव्य बन्नसक्छ ।"

Tuesday, November 22, 2011

बिगतमा टेकेका पाइलाहरु

शैवालिनी,
लामो समयपछि यसपाला म मेरो पहाडको माटो ढोग्न पुगे । माटि दाहिना रहुन भनेर जन्मभुमीको शरणमा जाने परंपरा अद्यापि मेरा गाउ-कन्दरामा छदैछ । हिसाब लगाउदा अब त हाम्रो उमेर पनि सन्न्यास-आश्रमतिर लाग्नु पर्ने भैसकेको रहेछ । बर्षातपछि पखालिएको आकाशमा उडीरहेको तितरीपंखी बादललाई मैले एक्लै भए पनि अघाउन्जेल हेर्न भ्याए । टाढा देखिएको पर्वतीय पृष्ठभुमीको कोलाजमाथि लहरै उभिएको हिमश्रृंखलाहरु देख्न पाएपछि मन-मयुर असाध्यै रमायो । बिधाताले कुशलतापुर्वक बनाएको यो क्यानभासको दृश्यले समयलाई पनि अल्मल्याउन सक्दछ । म पनि अल्मलिए । लाग्यो, यहि पर्बत श्रृंखलाको फेदिमा पालिएको प्राचिनतम परम्पराको म अद्यतन संस्करण हुँ । त्यो परिबेश र यो वय-सन्धिमा अतिब भावुक बनेर अनायासै तिमीलाइ सम्झिन पुगे र यो पत्र लेख्दैछु । गाइ बाख्राको ग्वालो बनेर खेलेको खरफगाला , आमालाई हजुरबुवाले पेवा दिनुभएको कुमौरे भैसी, काला-कपरा गोरु नारेर जोतेका कान्ले बारीहरु, त्यो समाज र ति गोठाले साथीहरु । सब बिराना भएछन । जन्मेको सुन्दर गाउ सुनसान लाग्यो। भावबल्लभा,
बाध्यताले आफु परदेशिनुपर्दा सोचिंने गर्थ्यो, के मैले घांस काटने कोइरालोका बुट्टाहरु अहिले सम्म जिबितै होलान ? ओरालो भरि झ्याउझ्याउ एकनास गाएको सुनिने झ्याउकिरिका अबिश्रान्त स्वरहरु अहिले पनि उस्तै सुनिएलान ? तर समय अहिले एक खुट्को माथि उक्ली सकेको रहेछ । यो संक्रमित समयमा शस्यश्यामला सहनशीला धर्ति प्रसबपिडा ब्यहोरी रहेकीछिन । यो मेरो पहाड, यो मेरो स्वप्नभुमी बाहिरबाट हेर्दा जस्ताको त्यस्तै देखिन्छ, तर नजिक गएर यसको धुकधुकी सुन्यौ भने ज्वालामुखि उम्लीरहेको सपष्टै अनुभव हुन्छ । कहिले बाढि कहिले खडेरी । पहाड कोलाहलमय पो भएको छ त । यहाँका प्रतेक ब्यक्तिसंग आआफनै पिडा छन , आआफनै दुखैसो छ । यसै भावाबेशमा मैले मेरो परिबेश नियाले । शासन र सत्ता प्रति को निरपेक्ष भाव यहाँ अद्यापि देखिन्छ । मेरा परम्पराहरुले मलाई आफुमाथि हैन, भाग्यमाथि बिश्वास गर्न सिकाएका थिए । यिनै शैलशिखरका रहस्य रोमान्चका किम्बदन्तिमाथि देबीदेवताका आस्था उमारिएका थिए । यसै कारण जब म यि उन्नत धुराधामहरु देख्दछु, मेरो सम्पुर्ण ईतिबृतका साछिहरु यतै कतै बसेका छन जस्तो लाग्दछ । मध्यकालिन डोटी नरेश नागीमल्लको महत्वाकांक्षा, मानिसको मासु खाने डिंङे राजाको क्रुर कर्तुत, खोले टाकुरे भुरे टाकुरे राजाहरुका हप्कीदप्की, गोरखालि पल्टनका गोरख धन्दाहरु, राणाहरुको धाकधक्कु------- ख्वै कति मात्रै दुख सुनाउनु र? । पंचायति राज, बहुदलीय काल, लोकतन्त्र , गणतन्त्र वा जनतन्त्र जे भनेपनि यहाँका दुख यतै छन । आममानिसलाइ ‘हरि शही आए पनि नरी शाही आए पनि कुनै फरक पर्ने देखिएन । बिगतका यस्तै परिबेश हुदै अचेलको परिदृश्य हेरे । आगतको स्वागत फुक्का दिलले नगरिदिदा र बिगतप्रति सहिष्णु नहुदा इतिहास थेतरो हुन्छ । तर समयका अपृय अल्झाबाट उऋण हुन सकिदैन । मेरो गाउघरको आगत बिगतको मेसो बिग्रेको देखियो । जनताको नाममा ब्यक्तिगत स्वार्थको बिस्कुन सुकाएर बस्ने बिभिन्न बादको बिबादमा बगीरहेको बिभिन्न पदनामधारी नेतृत्व बदनाम बनेकोछ । नैतिकताको आडमा प्रतिकुलतासंगै बाझी हिडने हिम्मत कसैमा देखिएन । शायद यिनै स्थितिहरु प्रति म पनि सपष्ट हुन सकिरहेको छैन । निष्ठुरि समयप्रतिको यो समर्पणलाइ तिमिले कुन अर्थमा लिन्छ्यौ, मलाइ थाहा छैन । तर चुप लागेर चाहनाहरुलाइ स्वातसुतै निलिदिने पुरानि बानि छोडनुपर्ने चाहना बलबति हुदैछ । बालसखे तिमिलाइ सम्झना होला, कमजोर जरो भएको बोटले लहलहाउदो बिरुवा हुने सपना देख्नु हुदैन भन्ने तिम्रो बिचारमा मेरो सहमति थिएन । मलाइ लाग्थ्यो मेरो जमिनमा मेरा सपना सतिसाल जस्तै उभिन सक्दछन । त्यो जमिन भनेको मेरो पुर्बबर्ति समाज हो । यहाँको बाताबरण, परम्परा र शिक्षा दिक्षामै ऊभिएर मैले शिशु स्वास फेरेकोहु । अहिले पनि म यसै भावभुमीमा जरो गाडेर आफ्नो अस्तित्व बोध गरिरहेकोछु । के गरौ, कसो गरौ भन्दै पाखुरि फरफराइ रहेका छन, पैताला चिलाएकाछन । तर जिवन सरल रेखामा सकिदोरहेनछ । आफन्तहरु बिराना लाग्दै जाने बर्तमान परिबेशमा मलाई हौस्याउने अभिभावकहरुको अभाव नराम्ररी बिझेकोछ ।मेरो आफनो पुस्ता समेत पहेलपाते भैसकेछ । समयले कपालमाथि छरेको तुषारोले बिगत पो सम्झाउन थाल्दो रहेछ । आमाको ब्यस्त दैनिकीसंगै एकान्तताको रुवाइ र रुग्णकाय बाबाको बिपन्न बसाइका बासी सम्झना खल्ला लाग्दारहेछन । तर बुवाआमाको काख भन्दा न्यानो मायाको खानि, स्नेहको चौतारी र ममताको भन्डार यो संसारमा कही कतै नपाईने रहेछ । यो घुमाइमा मैले देखे, हामीले धाएका जिल्लाभरिका स्कुलहरु उच्च मा बि भैसकेका रहेछन । चिनेका साथीहरु पनि कोहि बसाइ सरेछन, कोहि परदेशमा पुगेछन । ठुलाबा पनि बुढा हुनुभो बिचरा । हजुरआमा बित्नुभो । उता मलाई कपुरी क सिकाउने बाजेहरु कता कता बिलाउनु भएछ । गाउं यसै सुनसान छ । पहिला हामी हुंदा गडगडाउने गाड अहिले साउने झरिमा पनि सुसाउन डराउंछ रे । छोया खोला पनि सुक्यो होला । पानी नपरेर कसैले खेत रोप्न पाएका छैनन रे, कतै पहिरो गएर खेतफगाला सबै बेमाख छन रे । हरे, कस्तोबिडम्बना बोकेका छन यि बस्तीहरुले । सिंगो समाज छरपष्टिएकोछ । यहाँका श्रमजिबीहरुले सित्तैमा ठुलाबनाइ दिएका प्रतिनिधि भनाउदाहरुले मुखमात्रै मिठ्याइ फोकटमा दपेटेकाछन । युबाबर्ग दिग्भ्रमित छ । अहोरात्र ब्यस्त रहने महिलासमाज समस्याग्रस्त छ, सीप बिहिन छ । एकातिर बिगतमा गौरब गर्नेहरू अर्को तिर बिगतलाइ भत्काउने प्रयास गरिरहेकाछन । इतिहास मेटाए जरो र जमीन नभएका ठुटो भइन्छ भन्ने चेतना पलाएको छैन । ढूंगामा फुल फुलाउने सपनाहरु बुन्दाबुन्दै उर्बर माटो ऊखरमाउलो बन्जर भुमी बनेको छ । मानसिक दरिद्रताको इतिबृत पो यत्रतत्र छरिएको देखिन्छ । भावसलिला
मैले सानोछदा एउटा कथा सुनेको थिए । उन्मत्त बर्षातका बेला बन-प्रान्तका खोला रोडाहरुमा समेत घोर्ले बैस चढछ रे । फलत: उनीहरु हुर्रिदै महाकालीसम्म पुग्छन र आफनो बिबाह महाकालीकी छोरिसंग गर्ने महत्वाकांक्षा लिन पुग्दछन । बाठो महानदी हिउदमा मात्र बिबाह गर्ने अठोट सुनाउछ । सोझा पहाडी नदि सारा समय बिबाहको तयारीमा लगाउछन। तर हिउद लाग्दानलाग्दै पानीका सारा श्रोत सुक्छन र बिबाहका सारा सपना समेत त्यसै गरि भत्किन्छन । हाम्रो नियति यस्तै शालीन षडयन्त्रमा सकिने भयो है । पहाडका कल्मषबिहिन खोलाहरु र यहाँका श्रमसाध्य जनजिवनमा सांगोपांग समानता छ । बरा, पहाडको सोझो जिवन कति सरल बिश्वासमा खुम्चिएर बसेको हुन्छ । यति धेरै समयहरू फेरिएको, यति धेरै पात्राहरू पल्टेको अनि यति धेरै भावनाका तरेलीहरूमा तरङ्गित भएको लामो कालचक्रमा पनि हाम्रो चेतनामा ‘भगवानको भरोसा” बाँकि छ । तर समय स्थगित हुँदैन । समयजनिन चेतनाका लहरहरू भने चलिरहेका छन् । नयाँ चेताना पलाउने बेलामा अनेकौँ तरङ्ग आउँछन् । कोही मानिस पनि स्थायी खुसी र स्थायी बेखुसी वा शाश्वत रूपमा घोषित आशावादी वा निराशावादी हुनसक्तैन । मेरोनिम्ति पनि आगत र बिगत कुनै स्थिर चित्र सम्झिनु उकालो काम भएकोछ । तिमीलाई सम्झना हुनुपर्दछ म पातझरेपछि खुइलिएको पिपल हेर्नसमेत डराउथे । त्यो प्वाख खुइलिएको डाँफे जस्तो लाग्दथ्यो । अहिले म यस्तै जंजालयुक्त जंगल हुदै हरफहरु भित्र हराएकोछु । काम नगरेपछि ठुलो हुने, काम छल्नसके चलाक मानिने,कुरा काटनसके बिद्वान कहलिनेहरुको माझमा बस्नु जंगलभित्र बसे जस्तै होइन र? तर यति हुदाहुदै पनि मलाइ लाग्दछ, यि बन प्रान्तरमा पनि एउटा दीपशिखा कहीँ जलिरहेको छ । विरोधी आकार र रङ्गले बनिएको क्यानभासको मानसचित्रको आभामण्डलमा छ, त्यो उज्यालो । ठिक लागेको कुरा बोल्न पाउनुपर्ने अधिकार लिन जागेका मानिसका चित्रहरू, बोलीहरू अनि ध्वनिहरूले मेरो मनमा फेरि आशा सञ्चार गर्दैछन् । पृ्र्व-पश्चिम पुगेर हेर्दा मैले देखेको एउटा शक्ति सिर्जनाको क्षण कता कता यस्तै हुन्छ । म आफनै औला भाँच्दछु, गरिबको धन थुकै नलाई खानेले झ्वाम पारेको देखेर पनि केही गर्न नसकी बितायौँ कि? राजनीतिका आवरण ओढेका, बन्दुक बोकेका, सपना बाँडिबस्ने, काम भने केही नगर्ने, जनताले दिएको एउटा काम पनि नगरी झगडा गरिबस्ने पनि धेरै पो रहेछन् कि? तर होइन, यो बितेको वर्ष मैले सबैखाले मनुवाहरू देखिआएका छु , सबै आ-आफ्नैनिम्ति सक्रिय छन् । जे हुनेछ, त्यो असल नै हुनेछ । यहा कुनै अज्ञात कबिको यो कबिता लाइ उद्धरणमा राख्दछु र बिदा माग्दछु । ‘विगत’ले सुल्झ्याउन नभ्याएका अनेकौं पेन्डिङ उत्कण्ठाहरु एक लश्करै अर्धविराम बन्दछन्, त्यही अस्पस्ट अनि विमत वाक्यहरुको संकथनमा भोग, भोग्न अभिशप्त ‘वर्तमान’ यसरी निष्फिक्रि हाँस्दछ कि सायद, बाँच्न निक्कै सरल लाग्दो हो !

Tuesday, June 14, 2011

असिम केदार धाम र धार्मिक पर्यटन




बैतडीको पर्यटन विकास गुरुयोजनामा ग्वाल्लेक केदारधामलाइ प्रमुख पर्यटकिय गन्तव्य मानिएकोछ । हरियो पहाडको बिचोबिच हुदै दशरथचन्द राजमार्ग बैतडीको देहिमाण्डौमा पुगेपछि ग्वाल्लेक केदारधाम तिरको पैदल हरित यात्रा शुरु हुन्छ ।यो धामको वरपर थुप्रै शिबस्थलहरु भेट्टिन्छन, जो अतिव प्राचिन हुन र चमत्कारि पनि छन । यदि तपाइ पनि शिबस्थलमा रमाउन चाहनु हुन्छ भने आउनु होस, आज यस्तै एउटा बिशिष्ट क्षेत्रको भ्रमण गरौ । भनिन्छ,शिव-भक्तिको रंग चढेपछि मानिसले असीम शान्ति पाउछ, किनकि महामना शिव आफ्नो भक्तलाई सदा आशिर्बाद दिन्छन र आफ्नै शरणमा राख्छन । चारधाम केदार र सात बैनी भगवतिको जिल्ला मानिएको बैतडीमा रहेका केदार मन्दिरहरुमा असिम केदारको सम्मानित स्थान छ । यो आलेखमा हाम्रो गन्तब्य सुदूर पश्चिमको सिमान्त जिल्ला बैतडीमा अवस्थित ग्वाल्लेककेदार धाम क्षेत्र र त्यसको पुर्बी पार्श्वमा रहेको असिम केदारको मन्दिर हो ।
पहाडहरुको मनोरम दृश्य अवलोकन गर्दै असिम केदारको मन्दिरतर्फ पैदल भ्रमणमा जाँदा ८ कि मि जति हिडनु पर्दथ्यो । । निर्माणाधिन देहिमाण्डौ सलेना सडकले गर्दा अचेल १० कि मि जति गुडेरै यहाँ पुगिन्छ । बाटोमा दुइ-तीन पुराना गाँउ देखिनेछन, जो बिस्तारै शहरी सभ्यतातिर पाइलो बढाउदैछन। करिब सातसय बर्ष पुरानो यो मन्दिरको महत्व यहाँको चहलपहलबाट पनि प्रमाणित हुन्छ । केदार शैलीमा निर्मित यो मन्दिरका गुठियार बडू ब्राह्मणका पुर्खाहरुले हालको स्थानमा मन्दिर स्थापना गरेको भए पनि असिमी केदार देवता यस क्षेत्रकै प्राचिन शक्तिशाली देवता मानिन्छन । यहाँका तत्कालिन शासक बंशीय ठकुरीहरुको मन्दिर निर्माणमा ठुलो भुमिका रहेकोले पर्ब बिशेषमा हुने यहाँको पुजाआजामा उनीहरुकोलागी बिशिष्ट स्थान तोकिएकोछ । अद्यापि पुराना घटनाहरुसंग सम्बन्धित प्रचलनहरुका बारेका कैयौ किम्बदन्तिहरु यस भेगमा प्रचलित छन ।
मानसखन्डको प्रसिद्ध केदारशैलीमा निर्मित हालको मन्दिर क्षेत्रमा असिमकेदारको प्रतिस्थापना सत्तरौ शताब्दिको शुरुतिर भएको मानिन्छ । त्यस भन्दा अगाडि ऐचेकाणाको केदार गुफाको मैदानमा र त्यसभन्दा अगाडि तेले लेकको जंगलमा असिम केदारको पुजाआजा गरिन्थयो रे । सम्भवत: आदि शंकराचार्यको उत्तराखन्ड आगमनताका नै  असिमकेदार स्थापना भएको हुँदो हो । यो क्षेत्र भरि नै असिमकेदारलाई श्री र सहकालका देवता मानिन्छन् । यो स्थानको भुमीदेवताका रुपमा श्रीकेदारको प्राचीन मन्दिर गाउँको उतरकुनाको सिरानमा प्राचीन स्वरुपमै यथावत छ । ग्वाल्लेक धाम त देबी देवताको पबित्र बासस्थल नै मानिन्छ ।
यात्राको आकर्षण:चारैतिर हरियाली
कुनै बिशेष रैथाने बनस्पतिलाइ लोकदेवताको प्रतीकका रुपमा हेरिने सुदुर पश्चिमको लोकप्रिय परम्परा हो। उदाहरणार्थ बाँजलाइ ग्वाल्लेक केदार, निगालोलाइ निगलासैनी भगवती,मेललाइ मेलौली भगवति,देवदारलाइ डागेश्वरी, जाइफललाइ समैचीको प्रतिक बृक्ष मानिन्छ । यसै गरि हरेक स्थानिय देवताहरुलाइ प्रकृतिसङ्ग जोडिएको हुन्छ । ग्रामिण नेपालको नैसर्गिक परिदृश्य र ग्रामीण जन-जीवनलाइ नजिकबाट हेर्ने यो राम्रो मौका हुनसक्दछ । यदि तपाइ बर्षा ऋतुमा यहाँ आउनु भएकोछ भने यो यात्रा अझ शानदार हुनेछ, किनकि सडक-बाटो वरिपरिको हरितिमाले अर्कै लोकको झझल्को दिनेछ। कुहिरि भित्र लुकामारि गरिरहने प्रकृतिको लिलाले पानी दिने देवताको रुपमा प्रचारित असिम केदार यात्रा सँधैको लागी संस्मरणिय बन्नेछ ।
हरिया पहाडका फेदीमा छ, असिंमीकेदारको माण्डौ


झरिका महिनामा यो मन्दिरले हरियो च्यादर ओढेका पहाडको फेदमा रहस्य र रोमान्च पैदा हुने गरि खास प्रभाव पारेको हुन्छ । मन्दिर अबस्थित दोभानमा दुइ वटा नदि मिसिएका छन। धरावति र गौबर्धिनि। लोक भाषामा धारी र गोदा गाड। मान्यता के छ भने जतिसुकै पानी बर्षे पनि ग्वाल्लेक धामबाट निश्रृत गौबर्धिनी सँधै सुकिली र शान्त हुन्छिन तर धराधाममै जन्मेकी धारावति भने थोरै पानी पर्दा पनि गडगडाहटको आवाजका साथ मन्दिरको दक्षिणि पार्श्वमा ताण्डब गर्न थाल्छिन । यो मन्दिर गाऊँ भन्दा डेढ दुइ कि मि टाढा एकान्त ठाऊमा छ । हरिया पहाडको फेद र दुई नदीको दोभान, अनि एक तमासको नैसर्गिक एकान्त। मन्दिरस्थल भाबोत्पादक त छ नै, रहस्यमय पनि छ। गाउँबाट यहा पुग्न पिसिसि ढलान गरिएको बाटो हिडेर पनि जान सकिन्छ । यो सानो ऊपत्यकाको खोला किनारमा ऊभिएका बृक्षहरुको लहरदार दृश्य हरिया खेत,हरियो जंगल हुदै शिखरको बनस्पतिबिहिन चट्टानमा गएर सकिन्छ । किम्बदन्ति के छ भने कुमौं ( कुमायू) को अठौति मल्ल भन्ने कुनै बिधर्मी सेना नायकले यस सोराड भेगका देवताहरुसंग पौठेजोरि गर्दै असिम केदार (ससालिंग, असिग्राम ) देवतालाइ दोभानमा भए बगाइ दिने धक्कु लगाएको थियो रे । फलत: तत्कालिन युद्धस्थल रहेको ऐचेकाँडाको डाडाबाट असिम केदार यहाँ सरेका थिए ।
यहाँ मन्दिरको छेवैबाट बग्ने गौबर्धिनि गंगाको शुद्ध पानिमा पादप्रक्षालन गरि श्रद्धालुहरु मन्दिरमा पुग्दछन । लगभग प्रतिवर्ष भारी बरसातका बेला नदिमा पानि भरिए पनि यहाको जलराशि कहिले धमिलो नहुनुलाइ आश्चर्य नै मान्नु पर्दछ ।
यहाँको शिबलिंगलाइ फुटलिंग भनिन्छ । जमिनमा उम्रिएको यो प्राकृतिक प्रस्तर-लिंगको आकारमा यदाकदा बृद्धि पनि हुने गर्छ रे । यसो भएमा बिशेष किसिमको ढुगाबाट यो लिंगलाइ बार्नु पर्ने बिधान रहेकोछ।‍
कुन मौसममा यहाको यात्रा ठिक हुन्छ?
सामान्यत: शिबजीको दर्शनको लागी पर्ब बिशेष कुरि रहनपर्दैन । त्रिगुणातीत भोले बाबाको पुजा पाठको निम्ति कुने बिशेष अनुष्ठान पनि आबश्यक छैन । तर भाद्र र माघ महिनामा पर्ने बिशेष पर्बहरुमा यो यात्रा उपयुक्त हुन्छ । बडा दशै, चैते दशै, गौरा पर्ब,न्वागी(नयाँ अन्न) चढाउने पर्ब या स्थानिय जाँतको बेला परेछ भने अझ राम्रो हुनेछ ।

अन्य दर्शनीय स्थानहरु


मंदिर र यसको वरपर थुप्रै दर्शनीय स्थलहरु छन । आधुनिक सुबिधाहरुको सन्दर्भमा यहाँको यात्रा अप्ठ्यारो मानिन सक्दछ । तर नैसर्गिक प्राकृतिक बाताबरण र पर-पश्चिम नेपालको शानदार प्राचिन संस्कृतिलाइ नजिकबाट हेर्ने अर्थमा यो भ्रमण उल्लेखनिय रहनेछ। ग्वाल्लेकपर्बत केदारको मुख्य बासस्थान हो, तर बगडाको दोभानमा दर्शनकालागी मन्दिर बनाइएको हो भन्ने यथार्थ केदारको एउटा गिति गाथामा समेत प्रष्ट्याइएकोछ । गीतको बोल भन्दछ,
काँ रे गुसाइका रै राज स्थान , काँ रे रोकिया काला खाम ।
शिखर गुसाइका रै राज स्थान, बगडा रोकिया काला खाम
गुसाई-----बगडा रोकिया काला खाम।।
यो मन्दिर बाहेक मुल गाँउको शिर्षमा समेत फलाँट भनिने रैथाने बृक्षको फेदमा आदिम शिलाहरुबाट मात्र निर्मित केदारको सानो मन्दिर स्थापित छ । गाऊको दक्षिणको उच्च समस्थली ऐचेकाँणाको मनोरम डाडामा असिम केदारको पुरानो स्थापना स्थल रहेकोछ। अठौति मल्लसंगको युद्धमा केदारले घुडा धस्दा पर्न गएका ठुला ठुला खाडलहरुले यो ठाऊको महत्व अझै प्रमाणित गरिराखेकाछन । दाहिने घुडाले पारेको भिमकाय खाडलको बिचोबिच एउटा गुफा छ । भनिन्छ, यो गुफा सुरनैया किनारको सलेना सम्म पुग्दछ । यस आधारमा यसको लम्बाइ कम से कम दश किलो मिटर हुन आऊछ । गुफाकै आगनमा सानो प्राकृतिक ताल संरक्षणको पर्खाइमा छ । किम्बदन्ति सुनिन्छ, यसैको छेउछाउमा अत्रि अनुसुयाको आश्रमहरु थिए । आश्रमको यज्ञकुण्डबाट निस्किएका भस्माबशेषहरु भसमबाटा भनिने दक्षिणी ढलानमा भेट्टिन्छन रे । पंक्तिकार के ठोकुवा गर्न सक्दछ भने यो स्थानमा पुगे पछि महर्षि अत्रीकै शब्दमा “भाव-बल्लभ भगवान” को चमत्कार देखेर रोमान्चित नहुने कोहि होओइन ।
यस बाहेक हाल यस श्रीकेदारको आलमा बस्ने बडू ब्राह्मणका पुर्खाहरुले लडाइमा मारि धपाएका पुर्बबर्ति मट्टे बडबाब(माटोकाधनी ठुला बाजे)को संझना स्वरुप बनाइएको स्थापना स्थलहरु र सङौणकोटका आततायी ठगुरी लछिचन्दलाइ मारेको स्थान लाछमारे ऐतिहासिक दृष्टिकोणले हेर्न लायक छन । भिन्ना भिन्नै अर्थमा गौबर्धिनी गंगाको शिरो भाग तिर वारिपारि पर्ने दूध जस्तै श्वेत जल बग्ने दुदपोखरि र दुर्घटना भै प्रतेक बर्ष रगत(लोइ अर्थात लहु) बगने भिर(भिटो) या लोइभिटाको महत्व पनि कम नहोला । यसै गरि सुधो गाइले बाघसंग लडाइ गर्दा ढुङ्गामा परेका गाइका पैतालाका छाप(खोज) रहेको गाइखोजको देउरालि होस या खापरे मारी धपाउदाको खुशियालीमा बिजय दुन्दुभि बजाइएको दमाउहाण्णाको डाडो होस, दृश्याबलोकनकालागि राम्रा गन्तब्य हुन सक्दछन ।अतिबृष्टि या अनाबृष्टि रोक्न लौह किला हालिने भन्तोलिको थुम्कोको आफ्नै बिशिष्टता छ। ग्वाल्लेककै दक्षिणि पार्श्वमा रहेका काला चुच्चे ढुङ्गाको लामबद्द लहरदार दृश्यलाइ तालिमे पल्टनको जत्था बताएर पन्ध्रौ शताब्दीका प्रतापि डोटेलि राजा नागी मल्ललाइ तत्कालिन बडू बंश नायक प्रतापदेवले झुक्याएका कथाहरुलाइ ति शिलाखण्डहरुले अझै भनिरहे जस्तो लाग्दछ । मष्टामाणौ,थरौट,कैलपाल स्थान,देवखोली गुफा, बुढिकेदार स्थल जस्ता कतिपय स्थानको बर्णन लेख-बिस्तार भयले यसै खेपमा राख्न नसकिएको हो।
हेर्न र बुझ्न लायक धेरै कुरा छन यहाँ
पुराना परम्पराहरुलाइ जिबित राखेका कतिपय प्रथा,परम्परा र रितिरिवाज यहाँ हेर्न पाइने भएकोले यो यात्रालाइ सांस्कृतिक यात्रा समेत भन्न सक्नु हुन्छ । जाँत बरियाँतमा नाचिने छलिया नाच,तरवार नाच, धामी नाच्ने चअलो, गौरा पर्बमा खेलिने ठाडो खेल, हत्जोण्या खेल, ढुस्को र चाली जस्ता नृत्यहरु एबम् रुनसिङा (रणसिंहा) दमाउ,ढोलङा भोकर र बिकुल जस्ता परम्परागत बाजाहरु यहाँ हेर्न सक्नु हुनेछ। सुरम्य बन प्रान्तरमा बन्य जिबनलाई नजिकबाटै हेर्न पाइने नै हुन्छ। यहा आखेट भने परम्पराबाटै बर्जित रहेकोछ।।
खाने र बस्ने ब्यबस्था
साधारण तर पौष्टिक खाना यहाँको अर्को बिशेषता हो । खानपानको परम्परागत तरिकाहरु यहा देखिनेछन। आधुनिक होटेल र रेष्टुराको सुबिधा नपाइए पनि केहि घण्टाको पुर्ब सुचना भए स्थानियहरुले राम्रो खानपिन र बसोबासकोको जोहो मिलाउन सक्दछन । अचेल ससाना होटेल पनि सडकसंगै बिस्तार हुँदै छन् । आतिथ्यबाट लाग्ने मोहिनी यस भेगकै अर्को आकर्षण हो । खानाकालागी सुदुर पश्चिममा प्रचलित कुनै पनि खानाको प्रबन्ध सजिलै हुन सक्दछ। स्थानिय जागरुक समाज छिट्टै होमस्टेको चाँजोपाँजो मिलाउन लागेको बुझिएकोछ ।
सत्य, शिब र सुन्दरको खोजीमा यो यात्रा

सुसंस्कृत प्राचिन समाजको महत्व बुझनु छ भने यस्ता अपेक्षाकृत दुर्गम गाऊको भ्रमण अध्येताहरुलाइ राम्रो अबसर हो । सौभाग्य वा दुर्भाग्य, जे भनौ,हाम्रा ग्राम्याञ्चलहरुलाइ आधुनिक सभ्यताले अझै सम्पुर्ण बिदिर्ण गरि सकेको छैन। ग्राम्य पर्यटनले अधिक समय, धैर्य, निष्ठा,श्रम र साधनको माग गर्दछ । बाहनहरुमा गुडेर पाइने झलक भन्दा यो पर्यटनले पाइलै पिच्छे नया जिबन दर्शन दिनेछ । त्यसैले यसको महत्व टुक्रे दृष्यहरुको छायांकन भन्दा समष्टिमा बुझिनु पर्दछ ।
मानसिक शान्ति र आध्यात्मिकतालाइ समग्र स्वास्थ्यको निम्ति अनिर्बचनीय बिषय मानिरहेको समकालिन बिश्वमा भौतिकताको भागदौड बाट केहि दिन टाढा रहन खोज्नेहरुलाइ पनि यस्ता स्थान राम्रा गन्तब्य हुन सक्दछन । पुराना तिर्थयात्राका उपक्रमहरुलाइ पनि नया अर्थमा परिभाषित गर्नु पर्दछ । यहाका बन्य प्रान्तमा अबस्थित पुराना मन्दिरहरुले आधुनिक आश्रमहरु भन्दा फरक र बिशिष्ट उदाहरण दिने हैसियत राख्दछन ।
अधिकांश बाहुन क्षेत्रि र केहि दलितहरु बस्ने यहाको समाजमा दुइ अढाइ सय बर्षको गोर्खालि सासनले षडयन्त्र र फोस्रा आस्वासनका केहि कथा-अकथाहरु बाहेक थप केहि दिएको जस्तो लाग्दैन । किशोर बयमा स्वत: जुङ्गा उम्रिए जस्तै समयको परिबर्तनका असरहरु देखिने नै भए । यसै कारणले ञहा अचेल नुतन परिबर्तनको हावा बग्दैछ । पुरातन-परम्परा र सुसमृद्द प्राकृतिक बिबिधताले गर्दा यो स्थान नजानिदो गरी भरिपुर्ण छ। यो क्षेत्रको भ्रमण सत्य, शिब र सुन्दरको सन्निकट रहने देखिन्छ।