"ग्वाल्लेक थरौट ठोक्या दमाउ,
मा-यो मेदिनि मल्ल खेद्यो कुमाउ ।"
यो सुदुर पश्चिममा प्रचलित स्थानिय देउताहरुसंग सम्बन्धित एउटा लोक गाथाको कथांश हो । यि पदहरुमा यहाँका देवसेनाबाट मेदिनि मल्ल मारिएको, निजका दैत्यसेना कुमाउतिर खेदिएको एबं ग्वाल्लेक पर्बतको थरौट भन्ने स्थानमा बिजय-दुन्दुभि बजाइएको बर्णन गरिएकोछ । ग्वाल्लेक शिखर बैतडी जिल्लामा पर्दछ । देवताहरुले परीभ्रमण गरी रहने देबाटपी (डोटी) क्षेत्रको पश्चिमी सिमानामा महाकालि पारिको चिसो बतास छेक्ने र सँधै हावा चलिरहने भएकोले यो शिखर श्रृंखलालाइ बायुतट भनिन्थ्यो । कालान्तरमा बायुतटको अपभ्रंश भै बैतडी शब्द प्रचलनमा आयो । यहि शिखरको दक्षिणी पार्श्वमा चुच्चे ठाडा ढुंगाको लहरदार दृश्य देखिन्छ । यसै दृश्यलाई घनघस्स्या लेकबाट अर्थ्याउदै लडाकु सेनाको जमघट बताएर भ्रममा पारि स्थानिय ब्राह्मण पुत्रले नागी मल्लको पल्टनलाइ समेत झुक्याएर फिर्ता पठाएको किम्बदन्ति छ । सङौणकोटबाट भागेर आएका आततायि लछीचन्द समेत यसै स्थानको फेदमा काटिएका थिए । त्यो ठाउँँ बिशेषलाइ अहिले पनि लाछमारे भनिन्छ । यसै ऐतिहासिक पार्श्वमा थरौटको घासे मैदान छ । जनश्रुतिहरुका अनुसार कत्युरहरुलाइ सघाउन आएका थारुहरु यहाका ओढारमा लुक्न पुगेकाले थरुहटको अपभ्रंस भै थरौट नाम आएकोहो । यहाँँका कन्दराहरुमा प्राचिनकालका मानब अबशेष भेट्टिन्छन रे । यहाँ थार मृग प्रशस्त पाइने भएकोले पनि थरौट नामकरण भएको हुन सक्दछ । यो बेग्लै सोध खोजको बिषय हो ।
जे होस, माथिको लोकगाथान्शमा यसै स्थानमा दमाहा बजाएको भनिएकोछ । अझ यहाँको एउटा ठाउ बिशेषको नाम नै दमाउहाण्णा ( दमाहा ठोकिएको ठाउ )राखिएकोछ । दमाउहाण्णा नजिकै बीशाल प्रस्तर दुर्ग (कोट, किल्ला ) को अबशेष देखिन्छ । यसको समेत शोध खोज हुन बाँकी नै छ । अब हांमी गाथाको बिषय बस्तु तिर जाउ ।
बर्णित कालखण्डमा कुमाउका कुनै गणनायकले स्वराड सर गर्ने योजना बनाएका रहेछन । खपरे, अठौति मल्ल, मेदिनि मल्ल, दानौ आदि नामले पुकारिएका यि गणपति वास्तबमा को थिए? यो खोजको बिषय हो । केहि इतिहासकारले लेखे जस्तो जुम्लि सेनानायकको सम्भाबनालाइ यो गाथाले सम्पुर्ण निषेध गरिदिएकोछ । यसै ठाउ नजिकको मष्टामाण्डौ भन्ने स्थानबाट मष्टाहरु समेत भगाइएको किम्बदन्तिले जुम्लि खससंस्कृतिले यहाँ कुनै प्रश्रय नपाएको सपष्ट हुन्छ ।
कथाको शुरुवात यसरि हुन्छ ।
"सलम्याका बुङा हौ फुलि झालि जाइ,
कुमौ मणि खपरे ले लुडिभुडिलाइ।
पानि पनेरा फुलि झालो बिष ,
अठौति मल्ल सोराडकि तिष,।
ता है अठौति मल्ल चलभल कियो
अलमणा आइ बरे बेलिबासो लियो,।
अलमणा नन्दादेबी मेरो बोल लेन,
सोराण झानाको बाटो बताइ देन
अलमणा नन्दादेबी बाटो थूनि दिन्नि,
तांहै अठौति मल्ल चलभल लियो
जजुरालि आइबरे बेलि बासो लियो ।
ता है अठौति मल्ल चल भलो कियो
चौपख्या चौमो आई बेलिबासो कियो।
चौपाख्या चौमु हो मेरो बोल लेन
स्वराड झानाको बाटो बताइ देन,
कालि पार जन चलै तोइ मारि दिन्ना।
कालि पार चौमु हो को होलो बडो
कालि पार खपरे हो ससालिंग बडो।
ऐरिको झाल पोणाइन को जेण ,
जन चलै खपरे हो दानौ को खेण।
ताँ है अठौति मल्ल चलभल कियो,
जुलघाट आइबरे बेलि बासो लियो।
भाट मजिरकाणि मेरो बोल लेन
तेरि मजरकाणि तार लगाइ देन
कालि पार खपरे हो तोइ मारि दिन्ना।
बाबिया कि लणि जेउणि फलिया कि सार
खपरेले लाइ हा्लि कालि गङ्ङा तार।ल
ताँ है अठौति मल्ल चलभल कियो,
ईसोरि गाड आइबरे बेलि बासो लियो ।
ईसोरका धामि हो मेरो बोल लेन,
सोराडका देवता को नाउ सारि देन
सारि लै दिउलो राज बाटो लै बताउलो
इसोर देवताले छेदभेद दियो,
ताँ है अठौति मल्ल चलभल कियो।
अठौति मल्ल का गजिका सुतन
ईसोरको धामि खालो गोरूका गुदुन।"
यसरि खपरेले कुमाउको सलमेका बुङादेखि स्वराड सम्मको यात्रा तय गरेको बुझिन्छ । कुमाउमा खाइ खेलिगरि स्वराडतिर जाने मन गरेको, अलमोडाकि नन्दादेबी र चौपाख्या चौमु देवतालाइ बाटोको बारेमा सोध खोज गर्दा स्वराड नजाने सल्लाह दिएको बिस्तृत बर्णन यस गाथामा छ । स्वराडमा ससालिंग ( सहस्रलिंंग ) बडो देवता भएको समेत बताइएकोछ । सलम्याका बुङा, अलमोडा,जजुरालि,जुलघाट र ईशोरि थान हुदै अठौति मल्ल स्वराड प्रबेश गरेको बताइएकोछ । बाटोमा मजिरकाणि भाटलाइ झुलाघाटमा पुल हालि दिन अनुरोध गरेको, बाबियोको तार बनाइ फलेकबाट पुल हालेको र ईसोरि देवताले सोराडका देवताको सबै ईतिबृतको जानकारि दिएको रहेछ । यसरि भेद बताएकोले ईसोरिको धामीलाइ सरापिएकोछ ।
परधर्मीले प्रबेश पाएएछि स्वराडमा युद्धको तयारि हुन्छ । ससालिंग देवताले सबैलाइ दुत पठाएर कुमौबाट खपरे आएको खबर गर्छन । भागेश्वर,सिमनाथ, रौलाकेदार, दोगडा, बनारसी, भुमीराज,समैची आदि देवताले मछाइन, हल्दु, दोगडा,तिपडा र समैचिका सबै मसानबासी देवता समेतको सेना लिइ आउने बचन दिन्छन । यो संयुक्त कटक निगलासैनी मा जम्मा हुन्छ । ससालिंग देवतालाइ माजि ( मध्यस्थ,मुख्य नायक) नियुक्त गरिन्छ ।
गाथा गीतको क्रम यसरि चलेकोछ ।
"ससालिंंग देवताले जोलिया पठाया
भागेस्वर देवता थाइ जोलिया पठाया
कुमौ है खपरे आयो कसो गद्दौ भाइ
मछाइनका दैत्य खेणि पौचलो ताइ
सिम नाथ देवता थाई जोलिया पठाया
कुमौ है खपरे आयो कसो गद्दौ भाइ
खरि तिमी लोग्या दादा सोइ दिउलो लाइ,
हल्दुका दैत्य खेणि पौचलो ताइ
रौलो केदार थाइ जोलिया पठाया ,
कुमौ है खपरे आयो कसो गद्दौ भाइ
खरि तिमी लोग्या दादा सोइ दिउलो लाइ
दोगणाका दैत्य खेणि पौचलो ताँइ
बनारसि देवता थाइ जोलिया पठाया
तिपणा का दैत्य खेणि पौचलो ताँइ
भुमिराज थाइ जोलिया पठाया
खरि तिमि लोग्या दादा सोइ दिउलो लाइ
समैचिका दैत्य खेणि पौचलो ताँइ
खेण्यामेण्या कटकको काँ होलो थाउ
खैण्यामेण्या कटकको को निङलासैनी थाउ
खेण्यामेण्या कटकको को होलो माजि
खेण्यामेण्या कटकको ससालिंङ माजि
ससालिङ देवताले गुर्ज बटेइछ,
नौ मन लुवाको गुर्ज बटेइछ ।।"
निदानत: युद्ध शुरू हुन्छ । यहाँका देवताहरु यथाशक्ति आआफना स्वभाबानुसार युद्धकला देखाउदै लडाइ गर्दछन । ससालिंग असिम केदार बिरालाको जस्तो तरिकाले सतर्कतापुर्बक चुपचाप निगरानि गर्दै दाउ हेरेर प्रहार गर्दछन । देबी दुर्गा कपाल फिजाएर भिषण लडाइ लडछिन । केदारले रुमझुम पानि बर्षाएर,कैलपालले गदा खेलाएर,लाटो शैपाल देवताले अँगालोमा अँठ्याएर, भागेश्वरले तरवार,रौला केदारले तोपगोलि, भुमीराजले भाला लिएर युद्ध लडे । उदयदेवले बाजको जस्तो तरिकाले लडाइ गरे । दुरै देवताको त हात नै टुट्यो। सिमनाथको द्वारपालले कानलिका मैदानमा छडके मार हानेर पराक्रम देखाए । अन्तत: खपरे सहित बचेका सेनामेना कुमाउ खेदिए र ग्वाल्लेक थरौटमा दमाउ बजाइए । लोक गाथामा युद्ध बर्णन यसरि गरिएकोछ ।
"जुजन पैठ ससालिंग देवता बिरालिका भेष, कठै बिरालिका भेष
जुजनपैठ देवि दुरगा माथा फुका केश, कठै माथा फुका केश
जुजन पैठ केदार देवता झुमझुम्या पानि, कठै झुमझुम्या पानि
जुजन पैठ कैलपाल देवता गुर्ज पणि छमछ्याट, कठै गुर्ज पणि छमछ्याट
जुजन पैठ लाटो देवता भीणि छ अँगाल, कठै भिणि छ अँङाल ,
जुजन पैठ सैपाल देवता भिणि छ अङाल, कठै भिणि छ अङाल,
जुजन पैठ भागेश्वर देवता तरवारको सहणाट, कठै तरवारको सहणाट
जुजन पैठ रौला केदार तुपक गोलि पहणाट, कठै तुपक गोलि पहणाट
जुजन पैठ भुमिराज देवता भुत्या पणि छमच्याट, कठै भुत्या पणि छमच्याट
जुजन पैठ उदै द्यौ देवता सरग बौणाइको थिरो, कठै सरक बौणाइको थिरो
जुजन पैठ दुरै देवता बाउलि गै छ टुटि, कठै बाउलि गै छ टुटि
सिमनाथको लौणिया जुज कनल्या मैदान कठै कनल्या मैदान
ग्वाल्लेक थरौट ठोक्या दमाउ
मा-यो मेधनि मल्ल खेद्यो कुमाउ ।"
यस पछि लय भिन्नभै धुमारिमा नाच्दै गाइने बर्णनमा अझ गहिरो लोक भाबना भेट्टिन्छ । धुमारिमा कथाको बिस्तार यसरि हु्न्छ ।
धुमारि
"खप-याकि छाउ भै नान चल्या
ससालिङ केदार नान चल्या
हरज्यु कि पैणि नान चल्या
राज पर्याग नान चल्या
बदरि केदार् नान चल्या
शिर गङोतरि नान चल्या
कैलपाल देवता नान चल्या
पङच कोटि देवता नान चल्या
लाटो देवता पर सरया
सैपाल देवता पर सरया ।"
अछुत खापरेलाइ छोएको दोष निबारणार्थ सबै देवता तिर्थाटनमा जाने निधो गर्दछन । लाटो र सैपाल देवता भने प्रत्यक्ष अँगालो हालेको कारण अछुतमै दरिएर पर सर्दछन । लोक मानस भने देवताहरुलाइ यहि बसिदिने आग्रहका साथ यसरि बिन्ति गर्न थाल्छ ।
"तम गुसाइ केदार कान चलाइ भै, मनेषु हमि कै का
रागस पुरिको राज्य होलो भाइ, मनेषु हिमि कै का
तम गुसाइ ससालिंग कान चलाइ भै, मनेषु हमि कै का
तम गुसाइ कैलपाल कान चलाइ भै, मनेषु हमि कै का
रागसपुरिको राज होलो भाइ, मनेषु हिमि कै का । आदि-------।"
अर्थात तपाइ हाम्रा मालिक कहाँ जान थाल्नु भयो? छोडेर गएमा हाम्रो के हालत हुने होला? के अब हाम्रोमा राक्षसहरुकै राज्य हुने भयो त ? आदी आदी । यहि अनुनय बिनय बाट द्रबित भै लोक देवताहरुले यहाँँकै जलमा शुद्धि स्नान गरि लोकभाबनाको कदर गरे । सबै देवताहरु आआफ्ना स्थानमा पुनर्स्थापित भए । युद्धकालिन बिभिषिका सकियो।
थरौटको पुर्बि शैबाल श्रेणि स्थित ऐचेकाडाको सुन्दर ऊच्च समस्थलिमा खापरेसंग युद्ध गर्न केदारले घुँडा धस्दा परेका सानो ठुलो दुइवटा खाडल अझै देख्नन सकिन्छ । भनिन्छ, दोभानमा भए बर्षा-बाढि ल्याएर बगाइ दिने खापरेको धौसका कारण असिमकेदार अहिलेको स्थानमा सरेका हुन ।
हामिहरुले यस्तै कथा गाथाका आधारमा आफनो संस्कृतिको निर्माण गरेकाछौ र मानब इतिहासको आधार राखेका हु्न्छौ । यस्ता कथामा बिश्वास नगर्नेहो भने ने मुनि र मन्जुश्री ले स्थापना गरेको काठमाण्डौ वा रोमस देवताको नाममा राखिएको रोम (इटली) को इतिहास समेत बदलनु पर्दछ । यि गाथाहरुले नैसर्गिक लोक भाबनालाइ जिबन्तता दिएका हुन्छन । माहाभारतकालमा पाण्डबहरु उत्तराखण्डको बाटो हुदै स्वर्ग प्रस्थानगर्दा यो महामार्गमा कैयौ लोक देवताहरुसंग उनिहरुको जम्का भेट भएका कथाहरुसंग उपरोक्त लोकगाथाले तादात्म्य राखेकोछ । सामान्य स्थान भेद सहित यस क्षेत्रमा लोक देवताहरु संग सम्बन्धित यस्ता कैयौ कथागाथा प्रचलित छन । बिस्तार भयले त्यो सबै यो लेखमा मात्र सम्भब छैन ।
सुदुर पश्चिममा यस्ता गाथाहरु बिशेष आदरकासाथ गाइन्छन । यस्ता गाथाहरुमा पौराणिक,ऐतिहासिक,सामाजिक र कलात्मक पक्षको सम्मिश्रण हु्न्छ । यस्ता लोक माहाकाब्यहरुमा प्रेमाख्यान, बिरभाबना, तान्त्रिक चमत्कार र सिद्ध-नाथ परम्पराको अत्यन्त कूशलतापुर्बक समाबेश गरिएको हुन्छ । गाथाको गायनशैली घटना क्रम अनुरुप गितप्रधान वा नृत्यप्रधान हु्ने भएकोले यसमा कुनै न कुनै लामो आख्यानको कथा हुन्छ। गाथागायनमा बैदिककाल र रामायण माहाभारतकाल देखिको अक्षुण्ण परम्परा छ । रामायणका नारद र लबकुश तथा माहाभारतका सञ्जयलाइ तत्कालिन गाथागायक मान्न सकिन्छ । यस्तै गाथागायकहरु लोकसाहित्यका संबाहक हुन । लिखित इतिहासलाई " बिजेताको घोडा" पनि भनिन्छ । तर सिमान्तिकृत आमजनताको ईतिहास यस्तै लोक इतिहासको श्रु्ति परंपरामा मात्र खोज्न सकिन्छ ।
लोकगाथाका पात्र र तिनको समष्टिगत चित्रणमा आफनै विशेषता हुन्छ । लोकाख्यानहरूमा कथानकलाई क्रमबद्धरूपले अगाडि बढाउँदै लैजाने लिखित साहित्यको जस्तो सीप पनि पाइन्छ । लोकसाहित्यबाट लिखित साहित्यको विकास भएको मान्नुमा केही तर्क छ भने ऐतिहासिक सिलसिलामा पनि लोकगाथाको विश्वसनीयता पनि केहि हद सम्म मान्नै पर्ने हु्न्छ । जनताको स्मृति खोोतलेर जनताको ईतिहास लेख्नु पर्ने समय आएकोहुदा हाम्रा लोकगाथाहरूको संरक्षण गर्नुपर्ने टडकारो आबश्यकता देखिएकोछ ।
अचेल सहरीकरणले र उद्योगीकरणले लोककरण कृत्रिम हुँदै गएको छ । यसले गर्दा लोकसिर्जना पनि पहिलेको नैसर्गिक अवस्थाबाट विचलित हुन थालेको छ । लोकसाहित्य को स्रोत मानिने स्थानीय प्राकृतिकता नष्ट हुँदै जानाले हामी मानौँ स्वर्ग गुमाउँदै छौं र विकृत जीवनयापन गर्न बाध्य हुँदैछौं । तर पनि आजको सहरी जीवनको कृत्रिमताबाट मुक्त भएर सास फेर्न मिल्ने ज्ञानको कुनै अपेक्षाकृत सहज क्षेत्र छ भने त्यो लोकसाहित्य नै हो । यसलाई श्रव्य दृश्य माध्यमहरूमा चढाएर हामी अझ जनमुखि बनाउन सक्दछौं । हाम्रा लोकगाथाहरुको सन्देस उदार छ । यस्ले बाँच, बाँच्न देउ भन्ने सन्देश दिन्छ । यस्ता गाथाहरुले सभ्यताको उषाकालमा जनसमुदायलाई ज्ञान दियो, मनोरञ्जन दियो, आँसु र हाँसो बोकेर जीवनसङ्ग्राममा डट्ने प्रेरणा दियो । बाँच्नका लागि मद्दत गर्ने साधनमात्र नभई मनमा शक्ति, उत्साह र प्रमोद दिने यो अपुर्ब वस्तु थियो । जुन युगमा विज्ञानको आशीर्बाद प्राप्त थिएन, जुन युगमा बुद्धिवाद शैशवमै थियो, जुन युगमा पाठ्य साहित्यतर्फ पहुँच बढेको थिएन, जुन युगमा अपशकुन र अन्धविश्वासको प्रबलता थियो, त्यस युगमा ज्ञानको ज्योति उपलब्ध गराउने कुनै चिज थियो भने त्यो लोकसाहित्य नै थियो । यो खुशीको कुरा हो कि अद्यतन युगमा अर्थात् उत्तर आधुनिक वा आधुनिकोत्तर युगमा पनि यो हाम्रा निम्ति प्रेरणाको वस्तु, ज्ञानको स्रोत, मनोरञ्जनको साधन भएकै छ, हुने नै छ । लोकसाहित्य नितान्त जनताको साहित्य भएकाले यसको ग्रहणमा उत्तर आधुनिक चेष्टा रहनु स्वाभाविक देखिन्छ । अबको खुुल्ला परिवेशमा प्रयाप्त चिन्तनको खाँचो छ नै । आउनुहोस्, हामी पनि लोकसंस्कृतिको माध्यमबाट हाम्रो आफ्नो पुर्खाका पदचाप पहिल्याऔ । र लोकसाहित्यको आँँखििझ्यालबाट आफनो ईतिहासका केही झलक हेर्ने गरौ ।