Tuesday, October 14, 2014

पत्याउदाँ पत्याउदैँ


साभार=लक्ष्मण गाम्नागे
यिनीहरूले हा मीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने
हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं ।
हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले
र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले ।
यिनीहरूले हामीलाई, हाम्रो सम्पूर्ण दुर्भाग्यको कारण राजतन्त्र हो भने
हामीले फेरि पत्यायौं र राजतन्त्र विरुद्ध लड्यौं ।
हेर्दाहेर्दै यिनीहरू कहिले राजाको बाहुलीमा नाम चढाउन गए
कहिले पाउमा दाम चढाउन गए ।
यिनीहरूले संबिधानसभा नयाँ नेपाल बनाउने कडी हो भने ।
देशमा चमत्कार गर्ने जादुको छडी हो भने ।
त्यो पनि हामीले मान्यौ र भोट हालेर यिनीहरूलाई छान्यौं ।
हेदौहेर्दै यिनीहरूले सम्विधानसभालाई डान्स रेष्टुरेन्टमा ढाले ।
र मात्तिएर नाङ्गा नाङ्गै नाच्न थाले ।
यिनीहरूले हामीलाई धर्म भनेको अफिम हो भनेर पढाए ।
हामीले पत्यायौं र मन्दिरहरू भत्कायौं ।
पुरेतहरूका जनै चुँडाल्यौं र झाँक्रीका ढ्याङ्ग्राहरू फुटाल्यौं ।
ज्योतिषीहरूका घुँडा फुकाल्यौं र पूजारीहरूका लँगौटी उतार्यौं ।
हेर्दाहेर्दै हामीलाई मन्त्र दान गर्ने यी गुरुहरू हनुमानचालिसा पाठ गरेर
मन्त्री हुने जपना गर्न थाले ।
मसान बाबाहरूका खुट्टाको पानी अचाएर
शक्ति हत्याउने सपना देख्न थाले ।
हुँदाहुँदा यिनीहरू सत्ता आरोहणको लालसामा भैंसीको पूजा गर्न थाले ।
यिनीहरूले हामीलाई फिलिमले विकृति ल्याउँछ भन्दै
सिनेमा हलमा आगो झोस्न लगाए ।
र हेर्दाहेर्दै यिनीहरू आफैं राम्रा राम्रा फिलोइनहरू छानेर फिला जोडेर नाच्न थाले ।
हामीलाई भातको राजनीति चाहिएको थियो,
यिनीहरूले जातको राजनीति लिएर आए ।
हामीलाई मनको राजनीति चाहिएको थियो,
यिनीहरूले लिङ्ग र स्तनको राजनीति लिएर आए ।
हाम्रो सिङ्गो जीवनलाई नरकतिर धकेलेर, यिनीहरूले स्वर्ग भोगे ।
नेपाल आमालाई ब्रह्मनालमा सुताएर,
कसको चावी खोसे र राष्ट्रिय ढुकुटी लुटे ।
हामीलाई थाङ्नामा सुताए यिनीहरूले,
र पिसाव फेरे हाम्रा सपनाहरूमाथि ।
यसरी यिनीहरूले बारम्बार हामीलाई लत्याए,
हामीले यिनीहरूलाई बारम्बार पत्यायौं ।
यिनीहरूलाई पत्याउँदा पत्याउँदै, हाम्रा बराजुहरू भोकै मरे ।
बाजे बज्यैहरू नाङ्गै मरे ।
यिनीहरूको आश गर्दागर्दै हाम्रा बाबुआमाहरू रोगैरोगले थला परे ।
यी चौथो लिङ्गी नेताहरूकै अकर्मन्यताले
हाम्रा कति भाइहरू, विदेशी भूमिमा बन्धक भएर रोइरहेका भेटिए ।
कति जिउँदै गाडिए, कतिका घाँटी रेटिए ।
कति हाम्रा छोरीचेलीहरू उतै बलात्कृत भए, कति मारिए ।
कति छोराहरूले घरको छाना टाल्न किड्नी काटेर बेचे,
कति आमाहरूले भोकको ज्वाला सहन नसकेर,
नावालक छोराछोरी सहित खोलामा हाम फालेर आत्महत्या गरे ।
तर, अहँ !
यी दुईखुट्टे टमीहरूको पुच्छर (कुकुरै भन्न खोजेको होइन ),
जति वर्ष ढुङ्ग्रामा हाले पनि कहिल्यै कहिल्यै कहिल्यै नसोझिने रहेछ ।
यी दुईखुट्टे डङ्कीहरूलाई (गधा भनेर कसरी भन्नू !),
जति धोए पनि कहिल्यै कहिल्यै कहिल्यै गाई नबन्ने रहेछन् ।
त्यसैले आउनुहोस्, आउनुहोस् !
यो नागरिकसभामा एउटा अन्तिम घोषणा गरौं
कि अन्तिम एकपटक, फेरि हामी तिमीहरूलाई पत्याइदिँदैछौं
अन्तिम मौका,कि ए ढाँटका खानीहरू हो !
नयाँ नेपालको हवाई सपना नदेखाओ हामीलाई सिङ्गापुर र स्विट्जरल्याण्डका जुवाडे गफ
नसुनाओ हामीलाई, लौ, यो गरिब राष्ट्रको
अरबौं रुपैया खाएको पाप पखाल्न,एउटा संबिधानको किताब मात्र
बनाएर देखाओ हामीलाई, तिमीहरूको मृत्युमा
हामीले खुशी मनाउनुअघि, नयाँ दिल्लीले थाहै नपाई
कम्तिमा एउटा सरकार बनाएर देखाओ हामीलाई ।

Wednesday, October 8, 2014

गलत लाग्छ मलाई मेरो देशको इतिहास


(भुपि शेरचनका  कबिताबाट साभार)

तस्बीर सौजन्य- गुगल
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा,
गल्ली-गल्लीमा,
देश-विदेशमा,
यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु क-दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

Sunday, October 5, 2014

राजेश्वरी अब सपना देख्दिनन्





समकालिन समयका प्रत्येक टुक्रामाथि,
राजेश्वरीका यिनै हातहरुले छिनो-हथौडा चलाएका थिए।
उखरमाउला  ढुंगा-पात्थरले छापेका
जिबनका उकाला बाटोहरुमा
यै पहाडी ज्यानले बुर्कुसी मारेको थियो।
साल र देबदारु जस्तै अग्ला समस्याहरुमा
यिनै पाखुरीहरुले आरी चलाएका थिए।
जब्बर उकालो होस या अख्खर भिरालो होस् ,
पहाड जतिकै कठोर यो ज्यानलाइ आफनो माटो जतिकै
अन्तरंग र अर्थपुर्ण बनाएकि थिइन राजेश्वरीले ।
हिउभित्र पनि आगो हुन्छ,उनलाइ थाहा थीयो ।
बनावटी प्रारुपलाइ उनले पढन जानेकी थिइन् ।
उन्ले सपना देख्न सिकेकी थिइन।
यिनै सपनाले उसलाइ यत्र तत्र डुलायो।
जीबनका बिबिध रंग र स्वाद चखायो।
प्रतिजैबिकीले जस्तो
उनले संक्रमण रोकिन,
क्ष-रश्मीले जस्तै
आन्तरिक चोटहरु पहिल्याईन् ।
हो,  अबिचलित चट्टानजस्तो
राजेश्वरीमा गाइको जस्तो सोझोपन थियो,
साउनका पहाडी खोलाको जस्तो
जिबनको लय थियो ।
पहाडको झरनाले सिकाएको संगीत बोक्दै
बाटोमा भेट्टिने नालाहरु समेटदै
यात्रामा अगाडी आएका नदी महानदीहरुसंग
सम्झौता र सहकार्य गर्दै
जिबन अब नयाँ नयाँ किनारामा ठोक्किदैछ ।
यिनै पर्बत-पठारका काँधमा दौडदै चिप्लिदै ऊफ्रिदै
सागरको कुनै अतल गहिराईमा जिबन निख्रिदैछ ।
उम्रिएका सपनाहरु,
तुहेका सपनाहरु, कुहेका सपनाहरु
फलेका सपना , फुलेका  सपना
सपनाहरुका भिडमा जिबन भिडकिदैछ ।
जिबन निचोरिएकोछ ।
त्यसैले होला, सपनाहरुको यो महा-मैदानमा
हामीसंग सपना छैनन ।
राजेश्वरीसंग सपना छैनन ।
त्यसैले होला, चुलो-चौकामा सिमित भएरै
राजेश्वरी अब सपना देख्दिनन् ।
आवाजको अन्तिम मुकाममा
मौन समयले स्वागत गरिएको जस्तो
राजेश्वरी दंगदास छिन ।

किनकि राजेश्वरी अब सपना देख्दिनन् ।