Monday, September 25, 2017

बेगम" हरुको आनीबानी; भ्रष्टाचारको निशानी

" बेगम" हरुको आनीबानी; भ्रष्टाचारको निशानी

--------------------------------------------------´बेगम’ फारसी शब्द हो |उच्च खानदानी परिवारसित सम्बन्धित महिलालाइ बेगम भनिदो रहेछ । तर यस लेखको सन्दर्भ छ - ´ गम´ अर्थात चिन्ता नभएका महिलाहरुसित । समकालीन समाजमा कुनै जिम्मेवार ब्यक्ति निश्चिन्त हुन सक्दैन । तर केही बेगमहरु आजबोली पनि भेट्टिन्छन । खर्चको कुनै प्रवाह नगरि शानशौकतकासाथ बजारमा महंगो खरिदारी गर्दै हिडने बेगमहरुलाइ तपाइहरुले पनि भेटनु भएको होला । यो सानो लेख कुनै मुगल बादशाहको बेगमसित सम्बन्धित छैन , बरु उल्लेखित गैर जिम्मेवार स्वनामधन्य तर सम्भ्रान्त " बेगम " हरुमा समर्पित छ ।
यो प्रसंग यतिकै उठाइएको भने होइन । हालै चिनिया सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने एउटा उपाय निकालेको समाचार प्रकाशमा आएकोछ - उच्च पदस्थ पदाधिकारीका श्रीमतिहरु माथि पनि निगरानी गर्ने। अधिकांस उच्च पदस्थहरुले श्रीमतिका अनाबश्यक खर्चका कारण भ्रष्टाचार गर्नु परेको अथवा श्रीमतिको दबावमा परेर अनाचारमा मुछिएको तथ्यहरुले देखाएकोले अब सरकारले फजूल खर्च रोक्न र जिम्मेवार बन्न पत्नीहरुलाइ पनि तालिम दिनुपर्ने बेला आएकोछ । भ्रष्टाचारको अर्को पाटो पनि छ । अध्ययनले के देखाएकोछ भने अधिकांश भ्रष्टाचारी पुरुषहरुका पत्नी मात्र हैन, सहपत्नी, र उपपत्नी पनि हुन्छन् ।  भ्रष्टाजारको जस्केलोबाट भित्र पसेको कालो धनलाइ बेगमहरुले मूलढोकाबाट बाहिर ल्याउदै आमबजारमा प्रदर्शन गर्दछन्  । त्यसैले अब " बेगम " हरुको चुरिफुरि श्रीमानको कमाइको प्रष्ट र भरपर्दो कमाइ मान्नुपर्ने बेला आएकोछ ।
अर्को बिडम्बना हेरौ। मर्दले रुनु हुदैन, डराउनु पर्दैन भन्ने परम्परागत मान्यताका कारण आफनो आन्तरिक पिडा पुरुषहरु कसैलाइ बताउदैनन् । आफनो श्रमको कमाइमाथि यसरी दाँइहाल्दा समेत इज्जतका कारण चुपचाप बस्ने गर्दछन् । " सानो कुरा भन्यो कि त आकाशपाताल छुने " महिला दौतरीहरुको " मायाजाल " मा मर्द नामधारी यो पुरुषप्राणी सदैब छटपटाइ रहेको हुन्छ । तथ्याङ्क भन्छ, सयमा १२ जना पुरुष श्रीमतिका अगाडी क्वा क्वाँ गरौर रुन्छन अ रे । दुनियाँलाई थाहा छ, फिलिपिनी तानाशाह मार्कोसको भन्दा लौह महिला मानिने श्रीमति इमेल्दा मार्कोशको खर्च हजारौ गुना बढि थियो । मलाइ के लाग्छ भने मार्कोश पनि इमेल्दाको खुट्टा समातेर अबश्यै रोएको हुनु पर्छ ।
अब नेपालतिर प्रसंग फेरौं । हालै नारायण ढकाल लिखित एउटा लेख पढेको थिए ।  लेखकले एउटी मन्त्राणीलाइ लेडी म्याकवेथको उपमा दिएका थिए । हामीकहाँ मन्त्राणि मात्र हैन, थुप्रै लेडी म्याकवेथ छन् । बहादुर सेनानायकको पतनोन्मुख महत्वाकांक्षाका लागि जिम्मेवार यस्ता लेडी बेगमहरु मंचमा  हैन, पर्दा पछाडी बस्दछन् । भ्रष्टाचारको सम्पुर्ण चलखेलमा यिनीहरुकै हात हुन्छ । त्यसो त हरेक सफल वा असफल ब्यक्तिको पछाडी उसका सफल वा असफल पत्नीको हात रहन्छ नै ।
अब प्रश्न उठछ, श्रीमतिका ससाना तर महंगा महत्वाकांक्षाका  लागि श्रीमानहरु ठल्ठुला जोखिम किन उठाउछन त? यसका पछाडी थुप्रै समाजिक , सांस्कृतिक , मनोबैज्ञानिक , र जैबकीय कारणहरु हुन सक्दछन् । जर, जोरु र जमीनलाइ झगडाको कारण बनाउने बादशाहहरुले नै धर्मपत्नीहरुलाइ बेगम भन्ने गरेका हुन् ।सामन्तहरुले श्रीमतिहरुलाइ सजावट गरिराखिएकी गुडियाका रुपमा स्थापित गरेका हुन्छन् । थकित चिन्तित पुरुष जब बेगमपूरमा प्रबेश गर्छ, उसका सारा मर्यादाहरु नाङ्गिन्छन् । अन्तमा बेगमहरु जे भन्छन् त्यो गर्न उ बाध्य हुन्छ । कति प्रतिसत  पुरुषहरु लंगोठिका कमजोर हुन्छन, कति प्रतिसत पत्नीहरु वास्तबमै धर्मपत्नी हुन्छन, भ्रष्ट आर्जनको ठूलो हिस्सा कसले कहाँ खर्च गर्छ ? तथ्यगत हिसाबले यो बेग्लै निर्क्यौलको बिषय हुनसक्दछ । वास्तबिकता के हो भने नेपालको एउटा प्रमुख राजनैतिक दलको २/३ बर्ष अगाडीको प्रतिबेदनमा भनिएजस्तै अहिले उच्चतहका नेताहरुमासमेत अर्को पत्नी थप्ने प्रचलन ब्यापकरुपमा बढेकोछ । यिनै थपपत्नीहरु बेगम बन्छिन र यिनीहरुलाइ पावन गर्न भ्रष्टाचारको खहरे उर्लिने गर्छ ।
यथार्थमा राजस्वमा भ्वाङ पार्नसक्ने कार्यालयको कारिन्दाले आफनो वास्तबिक हैसियत स्वास्नीका सारीबाट देखाउन खोज्छ । लेबनानबाट फर्केको मोटो सिपाही कमाइलाइ क्यामरा,मोबाइल वा सुनको सिक्रीबाट अभिब्यक्त गर्न खोज्छ । नेताहरुको महंगा औठिहरुको संकेत यस्तै अँध्यारो कुनातिर सोझिन्छ । बुझ्नेलाइ इशारा काफी ।
बेकामका महंगा वस्तु प्रतिष्ठासंग जोडिन्छन र पो मानिसहरु यिनको संग्रह गर्छन । सुन यसकारणमात्र प्रिय छ कि त्यो महंगो छ । भारतमा प्याज महंगिएको बेला मात्र ठुलाबडाहरु प्याजको तरकारी खाएको गफ ( धाक?) दिन्छन रे । यस्तै यस्तै रुग्ण मानसिकतामा कथित बेगमहरुको खरीददारी चल्दछ । श्रीमानको सित्तैको कमाइलाइ " सदुपयोग " गर्ने यो शानशौकत बिकृतिको पर्याय हो । तर यसतर्फ औंला ठड्याएर बिरालोलो घाँटीमा घन्टी बाध्ने को ?
रामायणका रचयिता महर्षि वाल्मीकि सन्त हुनु बन्दा अगाडि रत्नाकरको नामले कुख्यात डाँकु थिए रे । एकपल्ट कुनै सज्जनले उनलाइ यो डाँकुबृतिको कुआर्जन खाने अन्य ब्यक्ति पनि यसको परिणामका लागि जिम्मेवार हुन्छन कि भनेर सोधेछन । रत्नाकरले यसबारेमा सोधपुछगर्दा कसैले पनि जिम्मेवारी लिन मानेनन । आफनो कृत्यकर्मकालागि आफैमात्र जिम्मेवार हुने निर्क्यौल भएपछि उनले डाकुको काम छोडेका हुन भनिन्छ । भ्रष्ट आर्जनबाट यस्तै बेकामे महंगो खर्चगर्ने कथित महिलाहरु पनि यो भ्रष्टाचारका लागि सोझै जिम्मेवार छन भन्न नसकिए पनि यो अपत्यारीलो आय कहाँबाट आउदैछ भन्ने जानकारी नीजहरुलाइ हुनै पर्छ । म्याडमहरु! के तपाईं यो भ्रष्टाचारको लागि सहयोगी हुनु हुन्न र ? कृपया यो प्रश्नको उत्तर आफैमा सिमित राखेर सोची दिनुहुनेछ । यसरी सोचीमात्र दिनुभए पनि यो गन्हाएको समाजको बिकृति बीसबाट उन्नाईस अबश्यै हुन्थ्यो होला । यो निश्चित छ कि प्रायस:  धर्मपत्नीहरु भ्रष्टाचारलाइ प्रश्रय दिदैनन । तर सित्तै पाए तिनमाना चुक समेत पिउनसक्ने उपपत्नी र सहपत्नीका हैसियतका मेडमहरुको कथा बेग्लै छन । लोग्नेको कमाइलाइ खानपिनमा उडाउने त हो नि भनेर रौसिने मेडमहरुको समाजले के कसरी मुल्याङ्कन गर्छ ? त्यो समुच्च समाजकै सरोकारको बिषय बनाउनु पर्छ । हाम्रो समाजमा सार्बजनिक हैसियत नाघेर श्रीमानभन्दा दुई बित्ता माथि उफ्रने छेउ न टुप्पोका हाकिम्नीहरु, जानी नजानी हाँसोलाग्दो दरबारी शैली र अंग्रेजी भाकाको ककटेल दिनखोज्ने रानीसापहरु र मन्त्री भन्दा बढि फुलेल भएकी मन्त्राणिहरु छ्यासछ्यास्ति भेटिन्छन् ।
बिना स्वार्थ कसैले कसैकोलागी केहिपनि गर्दैन ।भनिन्छ- निर्द्रब्यम पुरुषम् त्यजन्ति गणिका , दुष्टम नृप मन्त्रिण: । द्रौपदिले खु्ला केश नराखी प्रतिशोधको ज्वाला निभ्नदिएको भए भिमसेनले दुशा:सनको रगत पिउने थिएनन् कि ? बेगमहरुले आफनो औकातमा बसि गमको औषधि खानेगरेको भए भ्रष्टाचारको जायजन्ममा कमी आउथ्यो कि ? प्रश्नहरु अझै अनुत्तरित छन । निर्बाचित नेताभन्दा भुइफुट्टा नेतृको डाको ठूलो भै देउताभन्दा बोको बलियो हुनको नियति अझै कति दिन बेहोर्नु पर्ने हो ? बिचारणिय छ । बिश्वास गरौ, सिर्जनधर्मी आधा आकाशले यश समस्यातर्फ बिचार गर्ने नैछ ।

( यो लेख १४ फागुन २०५७ को चुरे टाइम्समा " अब बेगमहरुका बारेमा…" शिर्षकमा प्रकाशित भै त्यसबेला निकै चर्चा पाएको थियो । )

Wednesday, September 20, 2017

नानीहरुलाइ सन्चै छ ?!

नानीहरुलाइ सन्चै छ ?!

-------------------------
कर्मचारीको लागि पनि आषाढ बेफुर्सतकै समय हुन्छ । झरीको बेसुरे झुनझुनसंगै चारैतिर झुम्मिएको कुहिरोले एकतमासको बोझिलोपन थपिदै गएकोछ । आकलझुक्कल झ्यालबाट देखिएका टुक्रे दृश्यहरुले उहिलेको , कता कताको झझल्को दिदैछन् । खुट्टा बाधिएका एक हूल खच्चरहरु खोच्याउदै नजिकैको चउरभरि चरिरहेकाछन् । केही आधुनिकाहरुको हिले सडकमाथिको साबधानीपुर्ण हिडाइ र छिल्लिएको हाँसोको संयोग हेर्न सुन्नलायक छ । लहरै उभिएका पथ-बृक्षहरु यस्तै परिदृश्यका साक्षी हुन क्या रे ।
यो एकलो बसाइ सारै बेसोमतिलो र बेरसिलो हुदोरहेछ । बासी अखवार आँखा अगाडि पस्किन्छु । मासिक राशीफल हेर्दा दशम राहु र चौथो केतु विशेष फलदायक रहने र बेला कुबेलाका यात्रा सम्झना रहिरहने खालका हुने गोचरदशा रहेछ । पट्यार लागेर समाचारपत्र पट्याउछु । बाताबरणमा बाक्लो कुहिरो थपिएकोछ । टाढा आँखा घुमाउदै पुराना यात्राका सम्झनामा भन्ज्याङ्गको उकालीभरि अलमलिन खोज्छु ।
सिमसिमे पानिमा रुखमुन्तिर निथ्रुक्रै भिजेको एउटा धमिलो छाया प्रष्टिदै आउछ । यदाकदा उसंग एक्लै घुम्दा बस्दा जिबनको अर्थबोध बिबिध रंगमा यसैगरि प्रष्टिने गर्दथ्यो । उसंग हिडदाको नागबेली बाटो छोट्टिएको जस्तो लाग्थ्यो । उसको छेउमा पुग्दा मेरो " म " कुन रुपमा अभिब्यक्त हुन्थ्यो, कुन्नि ? हामी एकार्कालाइ बुझे पनि आफैलाइ नबुझेका जस्ता हुन्थ्यौ ।
कागतिको अचारसंग रोटी टोक्दै एकदिन मैले सोधेको थिए ।
" हामीहरुको रसीलो रङ्गीन मन भएको भए अहिले के गरिरहेका हुन्थ्यौ? थाहा छ ? "
" अँ हँ " उसको छोटो उत्तर थियो , " मलाइ के मात्र थाहा छ भने तिमीजस्ता डुलुवाहरुसङ्ग रसीलो मन हुनै सक्दैन ।"
प्रसंग तनावतिर मोडियो । समय-शुन्य मौनतामाथि उसैले प्रहार गरि ।
" प्रेम गर्न र बदलालिनमा नारीहरु पुरुषभन्दा अगाडि हुन्छन भन्छन नि । "
" हो, नित्सेले पनि यस्तै भनेका थिए ।" मैले समर्थन मात्र गरे ।
यसरी बर्षातको बेफुर्सदी समय उबारेर हामीहरु बाटो भरि सुरुसुरु हिडीरह्यौ । हिलो र माटोमा पनि सुगन्ध हुँदोरहेछ । बाँज बज्राँठका सदाबहार हरीया जंगलमुनिका जुकाहरु र चिप्लो ओसीलो बन्यपथले बिथोलिनुपर्ने यात्रा पनि जिन्दगीभरि भुल्न नसकिने हुँदोरहेछ । ओ हो , मेरो पुरुष मनले बतासिदै जाँदा नितान्त ब्यक्तिगत क्षणका कथा कुथुङ्ग्रीहरु मनमनै परायालाइ पैचो दिन थालियो । परायालाइ आफन्तमानी सताउने ती समर्पित क्षणहरुमा उसको प्रारम्भिक स्वाभाविक सतर्कता पनि बिस्तारै थान्को लाग्न थाले । आँखाहरुले फ्रायडको मनोबाद पढदै गए , पिउदै गए । आषाढको सिमसिमे पानीले ओतलाग्दा पनि रुझाउन छाडेन ।
" निथ्रुकै पो हुनु भएछ त । " मेरो भिजेको कुमथलोमाथिको तातो हातको स्पर्श पिठ्यु मुसार्दै क्रमस: बाहिरियो ।
" तिम्रा लुगा पनि खतमै भएछन नि ।" मैले उसको सारीको सप्कोलाइ शालीनतापुर्बक समाते । तपाइबाट तिमीमा झरेको हाम्रो सम्बोधन झनझन आत्मीय भएर एक अर्कामा अल्झिदै गयो ।
समयलाइ पनि बाँध्न सकिन्छ भन्छन् । तर सिमित समयकालागि सुदूरप्रदेशमा खटिएको सरकारी कर्मचारीको यात्रावधि कति पो लम्ब्याउन सकिन्तय्यो र?  बिशाल कालखण्डसंग यस्ता क्षणहरुको अनुपात निकाल्नकालागि गणितको कुनै सुत्रले पनि काम गर्दैन ।
मेरो छेउमै हिडीरहेकी एक्ली नारी पात्रलाइ भुलेर म क्षितिजको हरियालीमा र बगरका बस्तीहरुतिर झकाउन थाल्दछु ।
" के सोच्दैछौ? " म फेरी बिथोलिए ।
" तिमीसङ्गको बसाइलाइ कसरी लम्ब्याउने हो भनेर…. ।" मैले नेटो काटे ।
" बसाइ हैन, हिडाइ मात्र……. । " उसको संशोधनमा मेरो चित्त बुझ्यो ।
हिडाइ रोकिनु भनेको गति शून्य हुनु हो । यो मलाइ मनपर्दैन । चरैवेति, चरैवेतिको आर्य आदर्शलाइ कुनै सीमानामा पनि बाँध्न सकिँदैन । यस्तै भुभुल्काहरुको अनन्त यात्राक्रम निरन्तर चलिरहन्छ । कुनै उदास क्षणमा मैले सोधेको थिए ।
" ज्ञानू! "
" हजूर ! "
" म सरुवा भएर गएपछि मलाइ कुन रुपमा सम्झिनेछौ? भन त ।"
"  धत् ……… ऽऽ ।"
अनायास आँखा रसाए । लल्याक लुलुक भएर उ मसङ्ग  ओतलाग्न आइपुगी । पर कतै आँखा घुमाउदै मैले उसको भिजेको लामो कपाल सुम्सुम्याइ दिए । त्यो क्षण तीतो थियो कि मीठो ? ख्वै … ।
अनायास फोनको घन्टी बज्छ । बाहिर पानी दर्केकोछ । मेरो निबाश स्थान कुहिरोमा कैद भएछ ।
श्रीमतीले फोन गरेकी रहिछन् । सँधैजस्तो मेरो सोधाइ शुरु हुन्छ ।
" हेलो, नानीहरुलाइ सञ्चै छ ? "
---
(  ०५३ सालमा कर्मचारी मिलन केन्द्र सुर्खेतको बार्षिक मुखपत्र " सुर्खेत सुमन " मा प्रकाशीत कथा । )

। 

Tuesday, September 19, 2017

एकादेशमा गाउँका कुरागर्दा

एकादेशमा गाउँका कुरागर्दा …..


=====((((((======

नेताहरुले नगर्नु गरे, गर्नु पर्ने गरेनन् र देश विग्रियो भन्ने बहस  ऊ चुपचाप सुनिरहेको थियो । उसलाई भने देश किन विग्रियो ? थाहा थिएन, कसरी विग्रियो भन्ने पनि थाहा थिएन । खासमा देश भनेको के हो त्यो नै पनि सपष्ट थिएन । तर सबै जना चिन्तित देखेर उसलाइ देशमा कहि न कहि गडबड भएको बिश्वास पर्छ । त्यस पछि केहि त भनौ भनौ जस्तो लाग्यो र उ पनि बिचार राख्न थाल्यो  – ‘देश विग्रियो भने पनि हाम्रो लागि के छ त ? हामी आफ्नै गाउँ न जानुपर्छ । देशमा त हाम्रो को छ र? हामीले किन चिन्ता गर्नु देशको ?’
त्यसपछि पानीको बोतल तान्यो र भन्यो –
"अबेर भयो अब सुतौं । भोलि बिहानै काममा जानुछ ।"
तर कोही पनि जन्मभुमीका पुराना सम्झना सुन्न र सुनाउने मौका छाडन चाहदैनथे । सबै साथीहरूले आआफना कथा ब्यथा सुनाउदै गर्दा  उसले पनि आफनो गाउँका कुरा झिक्यो । आमाबुबा बुढाबुढी हुँदै गएको, रोगी भएको प्रसङ्ग ल्यायो । यसरी कुरा गरिरहँदा झन्डै रोए जस्तो भयो ऊ। आमाबुबालाई भेट्न मन लागेको कुरा गर्‍यो । यो बिरानो शहरमा कतिन्जेल बस्नु भनेर छट्पटी देखायो । लामो सास तान्यो र कोठामा यताउती घुमिरह्यो । उसले कुराकानीको सिलसिलामा आजसम्म साथीहरूलाई कहिल्यै नभनेको एउटी संग बसेको प्रेमकथा पनि उप्कायो । यस्ता कथाहरुको क्रम राति अबेरसम्म चल्यो ।
---
अबेर गरि बिछ्यौनामा गए पछि आज पटक्कै निन्द्रा आएन । रातभरि ऊ सिन्दुरे डाडातिर घुम्दाफिर्दाका रमाइला क्षणमा अलमलिइ रह्यो । गोजीबाट भुटेका भटमास झिकेर एकमुठी एउटी किशोरी कन्याको हातमा हालिदिएको सम्झियो र मुस्कुरायो । त्यसपछि एक वर्ष अघि नै ती कन्याको बिहे कसैसँग भएको खबर गाउँकै मल्लागाउँको भाइले भनेको कुराले मन अमिल्यायो   । यति हुदासम्म त गला अबरूद्द भएको थियो । जे भए पनि  एक मनले आफनी ती मायालुको  घरपरीवार हेेर्न सारै रहर लागेर आउँथ्यो । तर कसरी ? ऊ यही आएर रोकिन्थ्यो । अकमक्क हुन्थ्यो । यसरी दोस्रो दिनको एकाबिहानै उ उनिदै काममा जानुपर्ने भयो।
साँझ साथीहरूले फेरि आआफना गाउँघरका सम्झना उप्काएपछि उसले एक्कासि बरर आँसु झाँर्यो र भन्यो – वास्तवमा मलाइ माया गर्छु भन्ने मोरीको त बिहे भएछ ! पगलीले छोरो पनि जन्माएकी छ रे ! मलाई एक कल फोन पनि नगरी बिहे गरीछ । अब त त्यसलाई  मेरो सम्झना पनि आउँदैन होला है ।  "
यसपछि ऊ नमिठोसँग मुस्कुरायो र भन्यो - " खासमा मलाई गाउँ जान पनि मन  छैन अब  त? किन जानु गाउँ ? बृद्द बाआमा बाहेक को छ र त्यहाँ मेरो ? के छ र त्यहाँ मेरो ? बस् , त्यही विरहलाग्दो सिन्दुरे डाडाको जंगल त हो नि ! "
यसै क्रममा एक दिन साँझको जमघटमा फेरि भन्यो –  " मेरो कथा त सकिदैछ भाइहरु! मनमिलेको मान्छे नपाइने भएपछि के देश के परदेश , के गाउँ के शहर । एउटी थिइ, त्यो गई हाली । अब त बाँच्ने रहर पनि सकिए जस्तो छ हौ।"
उसले एकचोटी सबैलाई हेरेर फेरि यस्तै कुरा दोह-यायो  र जुरुक्क उठेर चुपचाप डेरातिर लाग्यो ।  यसरी एकाएक देशको पीडा " एउटी " को बिहेमा आएर टुंगिएको थियो ।  त्यहाँ जमघट जारी थियो ।  सबैले देश विर्सिएर गाउँ सम्झिरहेका थिए । घर संझिरहेका थिए । गाउँघरबाट आएका आआफ्ना मायालुका अन्तिम कलहरू सम्झिरहेका थिए ।

बर्बाद मेरो भयो


( यो कविता कनकधारा स्वामी स्वदेशानन्दज्युको फेेसबुक टाइमलाइनबाट साभार गरिएकोछ ।  )
बर्बाद मेरो भयो..... (शार्दूलविक्रीडित)
............................................

आफू बस्छ हिमालका नजिकको स्वर्गीय उद्यानमा,
धाई सद्गुरु खोज्न पुग्छ जहिल्यै पापीष्टको गाउँमा।
आफ्ना देव समान शैल चुचुरा पुज्दैन कैल्यै पनि
फोहोरी अरुकै जलाश्रयहरू ढोग्दैछ जैले पनि।।०१।।

च्याभ्रुङ्,मादल,डम्फु ओसिनगए रुन्छन् शनै धुर्धुऱु,
मर्चुङ्गा अब को बजाउँछ यहाँ मर्छन् बिनायोहरू।
हामीमाथि विभिन्न शत्रु दलले पार्दैछ फाटो कति,
आफ्नो संस्कृति बेच्न जान्छ अरुको खुट्टाहरूमा परी।।०२।।

आफ्नो मानिसमाथि छैन जनको विश्वास थोरै पनि,
अर्काकै चतुरे कुरातिर परी जाँदैछ जैले पनि।
आफ्ना कञ्चन रूप शुद्ध जलमा राख्दैन आस्था रति,
पायो खान भने झर्‍यो तलतलै गर्दैन आत्मोन्नति।।०३।।

आफू देव समान सृष्टि शिवको पार्वत्यको सन्तति,
छोरी दिन्छ अतीव नीच कुलमा सोद्धैन एकै रति।
जन्माईकन वर्णसंकरहरू भर्दैछ पाखाभरि
आफू बस्छ लुकेर गाउँ घरमा अर्कै छ बाटाभरि।।०४।।

किन्ने काम सगर्व गर्छ जहिल्यै लज्जा नमानीकन,
अर्को बेच्छ सधैं भईकन खुशी झर्को नमानीकन।
आफैं मालिक हो तथापि अरुको गर्दैछ हा चाकरी,
पुर्खाको गरिमा घटाउनगयो सन्तान ऐलेघरी।।०५।

अर्काकै हित निम्ति बोल्दछ सधैं बाठो भई गाउँमा,
अर्कै मालिक छन् विभिन्न थरिका नेपथ्यमा मञ्चमा।
ठूला हुन् गुरु विश्व विश्वभरिकै हुन् भाग्यदाता हरि,
पाएँ ढोग्न भनेर हर्षित भयो हाँ जी र हूँ जी गरी।।०६।।

को पूज्ला अब यी किराँत कुलको याक्वा तथा मुन्धुम,
साकेला अब को मनाउँछ यहाँ अर्कै छ धर्मोद्यम।
मस्टो मर्नगए विभिन्नथरिका जाली कुरामा परी,
मेरो यो पहिचान मर्छ सजिलै बाँच्दैन होला हरि।।०७।

खेल्दैनन् अब देउसी घरघरै होली सबै दल्दछन्,
आफ्ना तीज दशैं तिहार घटिया भन्नेहरू मिल्दछन्।
अर्कै संस्कृतिमा रमाइरहने सन्तान मेरो भयो,
अर्काकै जहिल्यै गरीकन जदौ बर्बाद मेरो भयो।।०८।।

............ ......................... .
विनीत-
कनकधारा स्वामी स्वदेशानन्द,
पश्चिम कामाख्या, पाण्डु, गुवाहाटी, असम
मितिः १८ सितम्बर २०१७
समयः रात्री ०८ बजेर १५ मिनेट जाँदा।

Sunday, September 17, 2017

अस्पतालमा एक दिन

अस्पतालको एक दिन
=============
डाक्टरको कोठा बाहिर हामी समेत ८/१० जनाको भयभित जस्तो लाग्ने  शान्तसमूह बेन्चहरु ओगटेर बसेकोछ । दुइजना अरु थपिन आए । छोटो कदकी महिला र उहिले स्वस्थहुदा गठीलो जिउडालको लाग्ने बर्तमानमा दुब्लो देखिएको पुरुष पात्र । दुबै जनाको उमेरले नेटो काटिसकेको बुझिन्थ्यो । दुबैले बेन्चको खाली ठाउँ ओगटेपछि महिलाले कुरा गर्न शुरु गरिन् ।
" के डाक्टर अहिलेसम्म आएका छैनन् र?"
" छैनन्।" लगभग सामुहिक स्वरमा जवाफ आयो ।
ती महिला कुराकानीको मुडमा थिइन । तर त्यहाँको समुहमा कसैले पनि खासै चासो देखाएनन् । उनी आफै फतफताउन थालिन ।
" ढिलो होला जस्तो छ । … हाम्रो भाग्यमै पर्खनु पर्ने लेख्या रै,छ ।… आज पनि कुरी बसौ, है न त? "
कसै कसैले अनुहारमा प्रतिकृया देखाए पनि बार्तालापमा कोहि सामेल भएनन् ।
सायद म जस्तै अरुलाइ पनि उन्को कुरामा रुचि थिएन । नाकमा अस्पतालको औषधीय गन्ध भरिएको थियो । कोरिडोरमा केही मानिस हिडीरहेका आवाजको सिलसिला जारी थियो । .. केही असपष्ट स्वरहरु । केही सुस्केरा र रुवाइहरु .. मनभरि गर्हुङ्गो थप्दै थिए ।
" हँ.." महिलाको पुरुष मित्रले केही सोधेको अर्थमा अपेक्षाकृत ठूलो स्वर निकाल्यो ।
" डाक्टर साप आएजस्तो छ । मैले उनको मोटरको आवाज सुने " महिलाले पनि ठुलै स्वरमा भनिन् ।
" हँ .." पुरुषले आफनो एक हात आफनै कानसम्म पु-याएर साउतिको शरीर-संकेत गरि ठुलै स्वरमा सोध्यो ।
सायद पुरुष कान कम सुन्थे । उन्को भंगीमाले यो बताइसकेको थियो ।
" यिनले केही सुन्दैनन् ।" महिला अरुलाइ बताउन थालिन् । उनको स्बरमा यो खबर सुनाउन सकेकोमा एक किसिमको जोस थपिएको थियो ।
" यिनको एक कान त बिल्कुलै खराब छ ।…. तर हामी कानको उपचारका लागि आएका हैनौ ।  वहाँको खुट्टामा पनि खराबी छ । बिजुलीको सेकाइ दिनु पर्छ ।" महिला पुर्बबत बेलिबिस्तार लाउदै थिइन् ।
" बिजुलीको सेक?" म अनायासै सोध्न पुगे ।
" अँ भन्या… । मलाइ पनि मेरो खुट्टा सेक्नु पर्नेछ। यो सेकाइ खासै गारो छैन । " उ त खुशी भएर बात मार्न थाली ।
" के तपाइको खुट्टा पनि खराब छ र ? बिरामी जस्तो त लाग्नु भएको छैन नि । " म सोध्दछु ।सायद उनलाइ मेरो कुरा मन परेन ।  मुख बिगारेर भन्न थालिन्  ।
" सायद मेरो खुट्टाको पीडा कहिल्यै कम हुनेवाला छैन ।  तीन बर्षदेखि परेशान छु । "
" उपचार भए किन ठिक हुदैन ? ठिक हुन समय लाग्छ । " कसैले सल्लाह दियो ।
" मेरो शरीर रोगको घर भैसक्यो । क्यै पनि ठिक हुनेवाला छैन । ब्डप्रेसर, सुगर थायराइड, प्रोष्टेड…." उनी भन्दै थिइन र रोगको गिन्ती पनि जारी थियो । उनको पुरुष मित्रको यो बेलिबिस्तारमा कुनै चासो थिएन । म कुराभन्दा पनि प्रौढप्रति आकर्षित हुँदै उनलाइ नियाल्न थाल्छु । उ त महिलाको नजरबाट बच्दै आँखा झिम्क्याउछ र अजीब किसिमले मुस्कुराउछ । रोगी मानिस यसरी हाँस्न सक्दैन । म असमन्जसमा पर्छु ।
यतिकैमा ढोका खुल्छ । वार्डब्वाइ पो हो कि भनेर सबैले त्यतै नजर लाए । तर अँह, अर्को एक मानिस थपिन्छ । खाली बेन्चमा सुस्ताउदै उ लामो सास फेर्छ । मलिनो अनुहार भएको त्यो थकित मोटो मानिसको एउटा हातले आफनै छाति मुसारिरहेकोछ ।
" बाप रे…. बाहिर त धेरै चिसो छ ।" उ मुखबाट सिगरेटको धुवाजस्तै बाफ निकाल्छ । प्रतिक्षारत समूह चुपचाप छ । बोलक्कड महिला एकटक लगाएर नवगन्तुकलाइ हेरीरहन्छिन  । मोटे रोगी आफनो भनाइ प्रमाणित गरेजस्तो काँधको गलबन्दीलाइ टाउकोमा बाध्दछ र कान ढोक्छ ।
" त्यति जाडो छ र ? हामी दुब्लापात्ला मानिसलाई समेत खासै चिसो महसूस भएको छैन । झन मोटा मानिसलाइ त के पो होला र? खै! " ती बाचाल प्रौढा स्वभावबश अस्वाभाबिक स्वरमै बोल्छिन । मोटे प्रौढ यो अशिष्ट टिप्पणिबाट अप्रभाबित नै रहन्छ । उ समुहप्रति सम्बोधन गर्दै र सहमति जनाउदै आफनो भनाई राख्छ ।
" यो बोसो थपिदै जानु त रोगै हो । चिसो जसलाइ पनि लाग्छ ।…  के डाक्टर आएका छैनन् ? "
कोहि पनि एकीन बताउन सक्ने अबस्थामा थिएनन् ।
तर फतौरी महिला चुप बस्न सकिनन् ।
" डाक्टरले पहिला भर्ना गरिएका बिरामीहरुलाइ हेर्छन् । त्यसपछि मात्र यता ओपिडीको पालो आउँछ । राउण्डमा होलान अहिले… "
हामी बसिरहेको बरंडामा उदास वातावरण छ । मोटे मानिसलाई श्वास फेर्न समस्या थपिए जस्तो छ । उ लामो लामो सास फेर्दैछ । सबै मानिस कुनै अज्ञात आसंकाले संत्रस्त छन् । अचानक वार्डब्वाइ ढोका पुरै उघारेर कोठामा प्रबेश गर्छ । आआफनो पुर्जा लिएर मानिस खडा हुन्छन । तर उ पुर्जा लिदैन, बरु कति जना रोगी छन भनेर गिन्ति गर्न थाल्छ । र लगतै ढोका खुलै छोडेर बाहिर निस्कन्छ । बाहिरको चिसो स्याँठ कोठामा भित्रिन्छ ।
" डाक्टरले धेरै मान्छे जम्मा छन कि भनेर बुझ्न पठाएको रै,छ । " उनै बोलक्कड महिलाले जानकारी पस्किन्छिन । सब जना पूर्बबत चुपचाप छन् । मोटो चश्मा लगाएको दायाँ खुट्टा बाधेको थप एक जना प्रौढ फेरि थपिन्छन् । मेरै छेउमा बसेर खुट्टा तन्काउन खोज्छन ।
म उनकालागी थपस्थान खाली गरिदिन अलि पर सरिदिन्छु ।
" आरामले वस्नोस । म त यहि खुट्टा बोकेर हिडन अभ्यस्त भैसकेकोछु । " । त्यो अभागी मानिस स्वयम् नै ढल्केर आरामसंग पसारिन्छ । म उसको बारेमा मनोगत अनुमान लगाउछु । एकैछिनमा उसप्रतिको रुचि पनि सकिन्छ । उ भने आँखा चिम्लेर तिघ्रा थपथपाउदै ओठ चलाउन थाल्छ र कुनै गोप्य मन्त्रोच्चारण गरेजस्तो लाग्छ ।
साँच्चै उसको यो उपक्रमसंगै बाताबरणमा एक किसिमको सुनसानपन छाउछ । सबै जना आआफ्नै बेदना र कथा-ब्यथामा हराएका जस्ता देखिन्छन । बाहिरको हुस्सु झनझन गहिरो हुदैछ । हाता किनारका अशोकबृक्ष झन झन शोकमग्न देखिन्छन । कोठाको रोशनदानमा यौटो भङ्गेरो जाडोले लुक्न खोज्दैछ । सेता पुतलीजस्ता आधा दर्जन नर्स कोरीडोर कभर गरेर हिडदैछन् । तिनीहरुलाई अर्थ्याउन नपाउदै घुँडासम्मको सेतो एप्रोन लगाएका एक जोडा डाक्टर हतार हतार त्यतै तिर लागे ।
" ओ हो, फेरि खतरनाक अपरेशनतिर पो लागे डाक्टरहरु त ।" फेरि उनै महिलाले मौन तोडिन । पछिल्लो पटक आएको खुट्टा मुसारि रहने मानिस पनि दिक्दारिए जस्तो छ । पुन: ती महिला यो निस्सासिदो वातावरण सहन गर्न सक्दिनन् क्या रे । बोल्न थालिहालिन् ।
" जे भए पनि अपरेशनमा त्यति दुख्दो रहेनछ । मेरो त तीन चार अपरेशन भैसक्यो ।……"
बोल्दाबोल्दै उ स्वगत सम्बाद बखानी रहन्छे । कसैलाई त्यो प्रति सरोकार छैन । अस्पतालको ढोका नजिक एउटा एम्बुलेन्स आएर रोकिएको देखिन्छ । मलाइ यसरी बसिरहन उच्चाट लाग्छ । र कोरिडोरतिर निक्लिन्छु ।
स्ट्रेचरमा गुडाएर कनै बयस्क महिलालाइ लगिदैछ । गर्दनदेखि खुट्टासम्म नीलो कपडाले ढाकिएकोछ । भित्र पसेका रहस्यमय आँखाहरुमा कुनै चमक छैन । केही क्षणको लागि मेरो आँखाको चारैतिर अँध्यारो किरमिर भए जस्तो लाग्छ । लाग्छ, जिबनका सबै चिन्ह हराउदैछन । सारा अावाज सकिदैछन । मलाइ कतै भागु जस्तो हुन्छ ।
कोठामा भेटिएकी ती बाठी महिला पनि बाहिर निक्लेकी रहिछन । उनी मसंग बोल्न खोजेजस्तो छ । उनले भनिन् ।
" डाक्टर आइ सके । पुर्जा लिने मानिस पनि आउँछ होला । पुर्जा दिन जानोस्न । "
म कोठामा फर्किन्छु । सबै बेन्च भरिएकाछन । मेरो पुरानो स्थानमा कोहि बसिसकेछ । म उभिएरै चिसा हात खल्तीमा छिराउछु । उहीँ पुरानै वार्ड ब्वाइ पनि कोठाको दैलो ओगटेर उभिन्छ । मैले पुर्जा दिन खोज्छु । उ भन्छ ।
" पहिला डाक्टरले जरुरी काम सक्छन । त्यसपछि मात्र म पुर्जि लिन शुरु गर्छु । "
" म उभिन सक्दिन । पुर्जा जम्मा गरि दिनोस्न । "
म जिद्दी बालकले जस्तो गर्छु। उ चुपचाप पुर्जा एकठ्ठा गर्न थाल्छ ।
यसै भिडभाडमा एक महिला  पन्द्र सोल बर्षकी छोरी(?) सहित कोठामा प्रबेश गर्छिन । उनको फुर्तिफार्ति हेर्दा ती कुनै बिमार भएको जस्तो लाग्दैन ।
उहीँ मलाइ पुर्जा बुझाउन भित्र पठाउने महिला पनि त्यसै भिडमा पुगीसकेकी रहिछन् । उनी पछि आएकि  आमाछोरीप्रति लक्षित बनेर भनिरहेकी हुन्छिन ।
" डाक्टरले सबभन्दा पहिले त्यसै मोटेलाइ बोलाउने होला ।…….। अँ , तिम्रो छोरीलाइ कस्तो छ अहिले ।"
" केही राम्रो भएकोछ । इलाज चलेकैछ । "
" अब कतिसम्म … ? ।"
" करिब एक महिना अरु भन्छन ।"
" एक महिना! "
अतिबक्ता महिला कुनै नयाँ उपकथा ( इपिसोड ) सोच्न थालिन क्या रे । मोटो मानिस ज-याकजुरुक गर्दै उठेर टहल्न थाल्यो । उसको मुखाकृति देखेर म झस्किन्छु । अनुहारमा भय ब्याप्त छ र अनुहार नीलो भैसकेकोछ । फटाफट उ बाहिर निक्लिन्छ । त्यहि गतिमा उ कतै ओझेल हुन्छ ।
" गयो, हैन! यस्तै हो त्यो । " उहीँ बकबके महिला बोल्न थाल्छिन् । " त्यसलाइ आफनो रोगसंग लगाव भैसक्यो । डाक्टर एक्लै नहिडनु भन्छन । तर उ सँधै हिडेरै यहाँ आउँछ र यसैगरि केहिबेर बसेर हिडेरै फर्किन्छ  । उ एक किसिमको मनोरोगी भैसक्यो । "
उनी लामो श्वास लिएर फेरि थप्छिन-" म पनि हरेक दिन त्यसैको बारेमा सोच्दै यहाँसम्म आउछु । उ न आएसम्म छटपटि भै रहन्छ । भोलि त्यो आउँछ कि आउदैन , भन्न सकिँदैन । "
अब ती महिलालाई यहाँ पर्खिनमा दिक्दार लागे जस्तोछ । उनी साथको श्रवणसुस्त प्रौढलाई इशारा गर्छिन र लगत्तै दुबैजना पुरानै लयमा कोठा बाहिर निकलन्छन । म पनि कोरिडोरतिर निकलन्छु । स्ट्रेचरमा लगिएकी महिलाका टकटकी लगाएका आँखा सम्झिन्छु । आफनै अनुहारभरि माकुराको जालो लागेजस्तो असजिलो हुन्छ । बेचैन भएर बाहिरको बरण्डासम्म पुग्छु । अस्पतालहाता बाहिरको रेलिङ्गभन्दा पर सडकमा जिन्दगीको अर्कै होहल्ला छ । त्यो गतिमान दृश्यको प्रवाह रमाइलो लाग्छ । त्यसभन्दा पर भने हलुको हुँदै गएको हुस्सुका कारण कहि पनि सपष्ट हुनसक्दैन । तर मलाइ लाग्छ, त्यहाँ पनि जिबनको अर्को कुनै कोलाज कुनै अर्को लयमा नाँचीरहेकोछ, हाँसीरहेकोछ ।

Friday, September 1, 2017

बिमारी सपनाहरु


  पहिलोपल्ट अस्पतालको बेडमा पल्टिएर पुराना कुरा सम्झिदैछु । मेरो भित्र अन्तरकुन्तरमा कतै एउटा हुक उठ्छ। सोच्छु, मेरो जिन्दगीका लागि मै कति दोषी छु ? शतप्रतिशत... अहँ पट्क्कै हिसाब मिल्दैन। बिहान उठेदेखि रातीसम्म भ्याइ नभ्याइ कामै मात्र गरिरहनुपर्दा दिक्क लागे पनि, खुइ काढीरहने पलहरूबाट फुत्त निस्किन पनि मन  त लाग्थ्यो नै । तर उसका ती दिग्दारीहरू कहिल्यै अनुहारमा ल्याउन पाएन मैले ।  दुःखलाई पचाउन सक्ने  क्षमता आफुमा हुनुपर्छ भन्ने मान्यतामा बाँचेको थिए ।
     छेउमा  निदाइरहेकी छोराहरुको अवोध-युवा अनुहारमा हेर्दै म कल्पना गर्छु - कतै यिनलाई पनि कुनै रोग त लागेको छैन ? म केही गरी मरिगएँ भने  मेरो घर परीवारले के गर्लान ? कल्पनै मात्रले पनि आङ सिरिङ्ग हुन्छ। मभित्रका उदासीहरू कताकता बाहिर पोखिन खोज्छन्। आफ्नो कल्पनाको छनक  अरुलाई नपरोस भनी केही होसियार हुन्छु। र म पनि निदाउने कोसिस गर्छु।
     अर्धनिन्द्रामै कुनै पुराना दिनमा ज्योतिषीले चिठा हेर्दा ६० पछि खडको भएको कुरा निकालेको याद आउँछ । कर्मको लेखा नै यस्तो रहेछ कि ? आधाउधि ग्रहदशामा बिश्वास पलाउछ । यसअघि थलिएका क्षणहरुको मेसो मिलाउछु । हो कि क्या हो? ज्योतिषका भनाई करिब करिब ठिक देखन्छन । १९/२० बर्षको हुदा पनि यसैगरि ज्वरोले थलिएको र कपाल सबै खुइलिएको थियो । डडेल्धुरामा नयाँ नयाँ नौकरी थियो ।  डेढ दिन पुरै हिडेर बल्ल घर पुगे । घरमा बाबाले धम्यौलाँइ ( धामीहरुलाई सोध्ने सामुहिक विशेष अनुष्ठान ) गर्दा कता कताको देबदोष र पितृदोषका प्रसंग निकालिएका थिए । उचाइन( देवतालाइ धरौटि जस्तै रकम ) छुट्याउदा पनि म्यादिज्वरोले छुट दिएन । जेहोस एक महिनाको धम्यौलाइ- बगौलाइ  र धरेलु औषधिको संयुक्त प्रयासले निदानत: म बाँचे ।  यसरी यसबारको जिन्दगीमा होश आएपछि मृत्युसंग पहिलो साक्षात्कार गरेको थिए ।
      यसपटक पनि साबिककै घरमा एक  साँझ ज्वरो आयो । भाइरल होला भनेर अर्को  एक दिन कुरे । अँह, बढि पो भयो । २ घन्टा हिडेर देहिमान्डौ  पुगे । रात्रिबसबाट महेन्द्रनगर आइयो । डाक्टरलाइ देखाइ २ दिन अरु कुरे । तर ज्वरो बीसबाट उनाइस भएन । छोरा कैलाशले काठमाण्डौको प्लेनटिकटसहितको ब्यबस्थापन गरिदिदा राजधानीको सुमेरु अस्पतालमा लगतै भर्ना हुन पुगियो । दिउँसो  आउने मानिसहरू  देख्दा मलाई लाग्यो यिनीहरूले मलाई अन्तिम विदाई गर्दैछन्। मानिसहरूको कल्याङमल्याङ छउन्जेल केही पीडा पनि कम भएझैँ लाग्थ्यो। दिनभरी जसो मान्छेहरू भै रहन्थे। तर म धेरै गलिरहेको थिएँ। मानिसहरू जब भेटन आउँथे, एक किसिमको खुसी लाग्थ्यो।  जब उनीहरू जान्थे, तब मन त्यति अमिलो हुन्थ्यो कि भक्कानो नै फुट्थ्यो। मैले चाहेका आफन्तहरूसँग फेरि भेट हुँदैन, म मर्छु भन्ने भावना मभित्र छिर्थ्यो र मनमनै रून्थेँ। फोनमा श्रीमती पनि अक्क न बक्क पर्थी र रून थाल्थी।  धेरैले सोधे पनि के बिरामी भनेर  न हामी कुनै बिमारी बिशेषको नाम दिन सक्थ्यौ । न सबै सम्झाउन आउथ्यो । मोटामोटी बिबरण दिएर टा-यौ ।
      दिमागमा अचानक अनौठा विचारहरूको होडबाजी नै चलेको छ। जीवन र मृत्युका असङ्ख्य विवादहरू मेरा दिमागमा खेलीरहेका छन्। एक-दुई पल्ट त आकाशमा उडेझैँ पनि लागेको छ। किन यस्तो भैराखेको छ, हिजो र आजमै मैले यतिविघ्न किन सोच्नु पर्ने। भ्रम पनि त हैन। आफ्ना वरिपरिका मानिसहरू हेर्छु सबै आफ्नै काममा व्यस्त छन्। अस्पतालको भीडमा लागेका मानिसहरू हेर्छु, र कल्पना गर्छु हरेकका बिरामी बेग्लै होलान्, दुःख र व्यथा बेग्लै होलान्। मैजस्ता आत्तिन लागेका होलान् कति ? मलाई लाग्छ मानिसहरू आफ्ना व्यथा लुकाउन खप्पिस छन्। एक से एक कलाकारहरू हुन् यी मानिसहरू...। लाग्छ यो संसारै एउटा रङ्गमञ्च हो। म पनि जिन्दगीको यो खेपमा कुनै अप्रत्यासित घटना कुरिरहेको पात्र जस्तै नित्य नयाँ भुमिकामा अभिनय गर्दोछु ।
         अस्पतालको पहिलो दिन यतिकै अलमलमा जान्छ ।  ज्वरो ओराल्ने उपक्रममा भिन्न भिन्न बान्की र बानिका नर्सहरु लागिरहन्छन । साँझ इमर्जेन्सीमा भर्ना भएपछि डा. पारस कार्कीले सोध्नु भयो - "कति भयो यस्तो भएको ?"
"सर, अहिले त करिब दुई साता  भयो, तर  म १५ बर्षदेखि रक्तचापको बिमारि हुँ । तीन बर्ष भयो, चिनी रोग देखिएको । ..."

".... ल तुरून्त छातीको एक्सरे गराएर ल्याउनु त। रगत, दिशा पिसाबको पनि परिक्षण गर्नु पर्छ । इसीजी इको पनि लेखिदिएकोछु । यो दुई कोणबाट गराउनु। तल भएन भने इमर्जेन्सीमा गराउँदा पनि हुन्छ।"
       डाक्टरको भनाइ सुनेपछि भने मलाई भित्र कतै चिसो पस्यो। ला.., ढिला पो गरिएछ कि क्याहो ? भन्ने लाग्यो। छोराहरुसँग छिटोछिटो रेडियोलोजी विभागतिर दौडिएँ।  पूर्जा दिएपछि पनि एकछिन पर्खिन भने र माहिलो छोरा एक्सरे शुल्क तिर्नतिर लाग्यो । मलाई निकै बेचैनी भइरहेको थियो। किन डाक्टरले यति हतार गरे ? साँच्चिकै निकै गम्भीर बिरामी लागेको छ कि क्या हो ? त्यत्तिकै अत्तालिने त मेरो बानी छैन तर आज म निकै विचलित छु। छातीको भारीपन घटेको पनि त छैन। बल्लबल्ल बस्न पाएको ठाउँमा बसेर एक्सरे गर्न आउने जाने मानिसहरूलाई नियाल्न थाल्छु। एकछिन पछि पालो आयो र झोलापोका कान्छोलाइ  जिम्मा लगाएर छिरेँ एक्स रे कोठाभित्र।
       एक्सरे रिपोर्ट लिन आधाघण्टा फेरि कुर्नुपर्ने भय़ो। कुरे
        रिपोर्ट हेरेपछि डाक्टर अचानक गम्भीर भए। उनले पहिले मेरो अनुहार हेरे। त्यसपछि छोराहरुको अनुहार हेरे। भने - "हेर्नुहोस्..छातीमा दाग देखिएको छ। किडनीमा पनि समस्या छ । अहिले मैले यहाँ केही भन्न सक्ने स्थिति छैन। एकपल्ट युरोलोजिष्ट र कार्डियोलोजिष्टसंग पनि सल्लाह लिनुपर्छ । नेफ्रोलोजिष्टको पनि समय मिलाउनु पर्ला ।  त्यस्तो आत्तिइहाल्नु पर्ने छैन। हामीहरु ठीक गर्छौ ।"
      मेरा हात खुट्टाहरू निदाए, कुनै संवेदना रहेन तिनमा। खै कतिबेला त्यहाँबाट बेडमा पु-याइयो, केही खाइयो कि खाइएन, निदाएँ निदाइँन त्यो पनि थाहा भएन। थाहा भयो त एउटै कुरा - मलाई ज्वरो आएकोछ,  खोकी लागिरहेको छ र छाती हिजोभन्दा दोब्बर गह्रौँ भएको छ। छातीसितै मन पनि तौलिन मन लाग्यो। मन पनि त्यत्तिकै उचाली नसक्नु गह्रौँ भएको रहेछ।
        एकहप्ता सम्म रून्चे बालकझैँ भएको छु र मेरा "आलाकाँचा" छोराहरु मेरो अभिभावक बनेकाछन्  । उसले जे भन्यो म त्यही मानिरहेको छु। कहिलेकाहि  त टेरपुच्छरै नगरौ जस्तो पनि लाग्यो । सोच्थे- मैले जिद्दी कसेर मेरो आयु बढ्ने छैन। फेरि बाँचिरहने रहर पनि त पुगेकै थिएन। मैले देखेकोछु , मानिसहरू साह्रै सिकिस्त भएपछि मात्रै  अस्पताल पुग्छन्  र फर्कि आएपछि त्यति बाँच्दैनन्। मेरो पनि त नियति त्यही नै होला। तर मेरा त थुप्रै योजनाहरू बाँकी नै छन्। साउनको यो महिनामा मनभित्र पनि झरी दर्किरहेकै हुन्छ । म लुरुलुरु नर्सहरुका निर्देसन पालनमा लागिरहेकोछु  निदानत: एकदिन भावविहीन जस्तो लाग्ने चिकित्सक टोलीले  गम्भीर भएर भने - " हेर्नुहोस् तपाईँको समस्यालाइ लिएर हामिले थुप्रै परिक्षण ग-र्यौ । स्क्रब टाइफस र कल्चरटेष्टका लागि राष्ट्रिय प्रयोगशालाबाट पनि रिपोर्ट लियौ । पिशाबमा इनफेक्सन भएको र प्रोष्टेड बढेको हाम्रो प्रारंभिक अनुमान अनुसार औषधि दिदैछौ । डराउनु पर्दैन। औषधि गरेपछि जाति हुन्छ। इन्जेक्सनबाट मात्र दिन सकिने औषधि भएकोले ५ दिनसम्म यतै राखेकाहौ  । अब दुई महिनालाई दवाई दिदैछौ । दुई महिनापछि फेरि आउनुहोला।"
      डाक्टरको भनाइ सुनेपछि बाहिरको साउने झरीले भिजाए जसरी भित्र कतै भिज्यो। औषधि गराइको शारीरिक पीडा त छँदैछ, आर्थिक भार कति थपिने हो, थाहा छैन। फेरि यस्तो बिरामीको के भर र, ज्यान अब सिद्धिएकै हो कि भने पनि लाग्न थाल्यो। छालाभित्रका अङ्गहरूले कतिबेला काम गर्न छोड्छन् थाहै नहुने। ऊफ...। अरूको अनुहार अझै भावविहीन छ। सबै कागजपत्र बोकेर बाहिर निस्किँदा बेतमासको झरी परिरहेको थियो । लाग्यो, जिउने उपक्रममा एउटा अध्याय सकियो ।
        जिन्दगी कस्तो असजिलो। हिजोअस्तिसम्म सामान्य थिएँ। लाग्थ्यो केही भएकै छैन। तर अब लाग्छ जिन्दगीले पूरै कोल्टे फेरेको छ। कुनै कुरा सीधा छैन। छातीभित्रको गह्रौँ भारी अब मन र मस्तिष्कतिर छिर्न थालीसक्यो। म गल्न थाली सकेँ। मनभित्र विचित्रको बेचैनीले मलाई शान्त हुन दिइरहेको थिएन। येनकन घर पुगेपछि पाँच बर्षे नातिनीले मेरो छेउमा आयो र सोध्यो - "बाबा, कस्तो छ हजुरलाई ? के भन्यो डाक्टरले ?"
       म के भनौँ, के भनौ भयो । सोझो जबाफ दिए- " रुघाखोकि लागेको रे ।केही छैन त्यस्तो।  बूढो मान्छे भएकाले अलिक धेरै समय औषधि खानु पर्छ । " उ प्रफुल्ल भएर नाना थरि थप सपष्टिकरण माग्न थाली । मलाई भने फेरि जिन्दगीमा थप केही पाना जोडिए जस्तो हुदैछ । फेरि जिन्दगी हरियो होला कि भन्ने आश पलाएकोछ ।
       डाक्टरका कागज पत्रहरूबाट केही चाल पाइन्छ कि भनी  फुर्सदले हेर्न थालेँ। उहिले नेपालगंज देखि कै कागज पत्रहरू हेर्दै गएँ। डाक्टरी भाषा सबै बुझ्ने कुरा त भएन तर कतै रोगको नाम, प्रकार र विभिन्न परीक्षणहरू बुझ्न सकिने खालका थिए। एक्स रे, सिटि स्क्यान, एसिडिसि आदिजस्ता शब्दावलीको अर्थ त बुझ्न सकिन्थ्यो  । भित्री पन्नामा कतै लेखेर अन्डरलाइन गरिएको देखेपछि मन खङ्ग्रङ्ग हुन्थ्यो ।  जिन्दगीको अन्त्य यिनै किरिङमिरिङु कोरिएका डाक्टरी अक्षर जस्तो अबूझ पहेली पो रहेछ। बीच बीचका शब्द टिपेर रोगको प्रकृति बुझने कोशीशमा रहन्छु ।  म अब केही दिनको पाहुना मात्र हुने भए भनेर दिक्क पनि लाग्छ ।
       घरमा आएपछि अलि सञ्चो भएजस्तो भयो । र मज्जैसंग सुस्ताए । कता कता सपनामा सास फेर्न धेरै असजिलो भएझैँ लाग्यो।  वरिपरि डाँको छोडेर रोइरहेका  छन् जस्तो लाग्यो । देख्छु, छेउमै डाक्टरहरू उभिएका छन्।  सेतो कपडा ओडाएछन्। ए.... म त मरि पो सकेँछु । म मेरो शरीरबाट निस्किएँ। अब म एउटा जीवात्मा। फगत एक जीवात्मा। हलुङ्गो भइन्छ । " जो लोग रातदिन, मेरे मरने को करते थे दुआ । वहि रो रहेथे, जनाजे को कन्धा देकर " । गालिब महोदयको यो गजलले भने जस्तै गरेर मलामी कुदिरहेका देखेर  म चुपचाप मुस्कुराउछु । निन्द्रा खुल्छ। छ्याङगै उज्यालोमा अर्को सुर्य उदाइसकेको रहेछ ।