" बेगम" हरुको आनीबानी; भ्रष्टाचारको निशानी
--------------------------------------------------´बेगम’ फारसी शब्द हो |उच्च खानदानी परिवारसित सम्बन्धित महिलालाइ बेगम भनिदो रहेछ । तर यस लेखको सन्दर्भ छ - ´ गम´ अर्थात चिन्ता नभएका महिलाहरुसित । समकालीन समाजमा कुनै जिम्मेवार ब्यक्ति निश्चिन्त हुन सक्दैन । तर केही बेगमहरु आजबोली पनि भेट्टिन्छन । खर्चको कुनै प्रवाह नगरि शानशौकतकासाथ बजारमा महंगो खरिदारी गर्दै हिडने बेगमहरुलाइ तपाइहरुले पनि भेटनु भएको होला । यो सानो लेख कुनै मुगल बादशाहको बेगमसित सम्बन्धित छैन , बरु उल्लेखित गैर जिम्मेवार स्वनामधन्य तर सम्भ्रान्त " बेगम " हरुमा समर्पित छ ।
यो प्रसंग यतिकै उठाइएको भने होइन । हालै चिनिया सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने एउटा उपाय निकालेको समाचार प्रकाशमा आएकोछ - उच्च पदस्थ पदाधिकारीका श्रीमतिहरु माथि पनि निगरानी गर्ने। अधिकांस उच्च पदस्थहरुले श्रीमतिका अनाबश्यक खर्चका कारण भ्रष्टाचार गर्नु परेको अथवा श्रीमतिको दबावमा परेर अनाचारमा मुछिएको तथ्यहरुले देखाएकोले अब सरकारले फजूल खर्च रोक्न र जिम्मेवार बन्न पत्नीहरुलाइ पनि तालिम दिनुपर्ने बेला आएकोछ । भ्रष्टाचारको अर्को पाटो पनि छ । अध्ययनले के देखाएकोछ भने अधिकांश भ्रष्टाचारी पुरुषहरुका पत्नी मात्र हैन, सहपत्नी, र उपपत्नी पनि हुन्छन् । भ्रष्टाजारको जस्केलोबाट भित्र पसेको कालो धनलाइ बेगमहरुले मूलढोकाबाट बाहिर ल्याउदै आमबजारमा प्रदर्शन गर्दछन् । त्यसैले अब " बेगम " हरुको चुरिफुरि श्रीमानको कमाइको प्रष्ट र भरपर्दो कमाइ मान्नुपर्ने बेला आएकोछ ।
अर्को बिडम्बना हेरौ। मर्दले रुनु हुदैन, डराउनु पर्दैन भन्ने परम्परागत मान्यताका कारण आफनो आन्तरिक पिडा पुरुषहरु कसैलाइ बताउदैनन् । आफनो श्रमको कमाइमाथि यसरी दाँइहाल्दा समेत इज्जतका कारण चुपचाप बस्ने गर्दछन् । " सानो कुरा भन्यो कि त आकाशपाताल छुने " महिला दौतरीहरुको " मायाजाल " मा मर्द नामधारी यो पुरुषप्राणी सदैब छटपटाइ रहेको हुन्छ । तथ्याङ्क भन्छ, सयमा १२ जना पुरुष श्रीमतिका अगाडी क्वा क्वाँ गरौर रुन्छन अ रे । दुनियाँलाई थाहा छ, फिलिपिनी तानाशाह मार्कोसको भन्दा लौह महिला मानिने श्रीमति इमेल्दा मार्कोशको खर्च हजारौ गुना बढि थियो । मलाइ के लाग्छ भने मार्कोश पनि इमेल्दाको खुट्टा समातेर अबश्यै रोएको हुनु पर्छ ।
अब नेपालतिर प्रसंग फेरौं । हालै नारायण ढकाल लिखित एउटा लेख पढेको थिए । लेखकले एउटी मन्त्राणीलाइ लेडी म्याकवेथको उपमा दिएका थिए । हामीकहाँ मन्त्राणि मात्र हैन, थुप्रै लेडी म्याकवेथ छन् । बहादुर सेनानायकको पतनोन्मुख महत्वाकांक्षाका लागि जिम्मेवार यस्ता लेडी बेगमहरु मंचमा हैन, पर्दा पछाडी बस्दछन् । भ्रष्टाचारको सम्पुर्ण चलखेलमा यिनीहरुकै हात हुन्छ । त्यसो त हरेक सफल वा असफल ब्यक्तिको पछाडी उसका सफल वा असफल पत्नीको हात रहन्छ नै ।
अब प्रश्न उठछ, श्रीमतिका ससाना तर महंगा महत्वाकांक्षाका लागि श्रीमानहरु ठल्ठुला जोखिम किन उठाउछन त? यसका पछाडी थुप्रै समाजिक , सांस्कृतिक , मनोबैज्ञानिक , र जैबकीय कारणहरु हुन सक्दछन् । जर, जोरु र जमीनलाइ झगडाको कारण बनाउने बादशाहहरुले नै धर्मपत्नीहरुलाइ बेगम भन्ने गरेका हुन् ।सामन्तहरुले श्रीमतिहरुलाइ सजावट गरिराखिएकी गुडियाका रुपमा स्थापित गरेका हुन्छन् । थकित चिन्तित पुरुष जब बेगमपूरमा प्रबेश गर्छ, उसका सारा मर्यादाहरु नाङ्गिन्छन् । अन्तमा बेगमहरु जे भन्छन् त्यो गर्न उ बाध्य हुन्छ । कति प्रतिसत पुरुषहरु लंगोठिका कमजोर हुन्छन, कति प्रतिसत पत्नीहरु वास्तबमै धर्मपत्नी हुन्छन, भ्रष्ट आर्जनको ठूलो हिस्सा कसले कहाँ खर्च गर्छ ? तथ्यगत हिसाबले यो बेग्लै निर्क्यौलको बिषय हुनसक्दछ । वास्तबिकता के हो भने नेपालको एउटा प्रमुख राजनैतिक दलको २/३ बर्ष अगाडीको प्रतिबेदनमा भनिएजस्तै अहिले उच्चतहका नेताहरुमासमेत अर्को पत्नी थप्ने प्रचलन ब्यापकरुपमा बढेकोछ । यिनै थपपत्नीहरु बेगम बन्छिन र यिनीहरुलाइ पावन गर्न भ्रष्टाचारको खहरे उर्लिने गर्छ ।
यथार्थमा राजस्वमा भ्वाङ पार्नसक्ने कार्यालयको कारिन्दाले आफनो वास्तबिक हैसियत स्वास्नीका सारीबाट देखाउन खोज्छ । लेबनानबाट फर्केको मोटो सिपाही कमाइलाइ क्यामरा,मोबाइल वा सुनको सिक्रीबाट अभिब्यक्त गर्न खोज्छ । नेताहरुको महंगा औठिहरुको संकेत यस्तै अँध्यारो कुनातिर सोझिन्छ । बुझ्नेलाइ इशारा काफी ।
बेकामका महंगा वस्तु प्रतिष्ठासंग जोडिन्छन र पो मानिसहरु यिनको संग्रह गर्छन । सुन यसकारणमात्र प्रिय छ कि त्यो महंगो छ । भारतमा प्याज महंगिएको बेला मात्र ठुलाबडाहरु प्याजको तरकारी खाएको गफ ( धाक?) दिन्छन रे । यस्तै यस्तै रुग्ण मानसिकतामा कथित बेगमहरुको खरीददारी चल्दछ । श्रीमानको सित्तैको कमाइलाइ " सदुपयोग " गर्ने यो शानशौकत बिकृतिको पर्याय हो । तर यसतर्फ औंला ठड्याएर बिरालोलो घाँटीमा घन्टी बाध्ने को ?
रामायणका रचयिता महर्षि वाल्मीकि सन्त हुनु बन्दा अगाडि रत्नाकरको नामले कुख्यात डाँकु थिए रे । एकपल्ट कुनै सज्जनले उनलाइ यो डाँकुबृतिको कुआर्जन खाने अन्य ब्यक्ति पनि यसको परिणामका लागि जिम्मेवार हुन्छन कि भनेर सोधेछन । रत्नाकरले यसबारेमा सोधपुछगर्दा कसैले पनि जिम्मेवारी लिन मानेनन । आफनो कृत्यकर्मकालागि आफैमात्र जिम्मेवार हुने निर्क्यौल भएपछि उनले डाकुको काम छोडेका हुन भनिन्छ । भ्रष्ट आर्जनबाट यस्तै बेकामे महंगो खर्चगर्ने कथित महिलाहरु पनि यो भ्रष्टाचारका लागि सोझै जिम्मेवार छन भन्न नसकिए पनि यो अपत्यारीलो आय कहाँबाट आउदैछ भन्ने जानकारी नीजहरुलाइ हुनै पर्छ । म्याडमहरु! के तपाईं यो भ्रष्टाचारको लागि सहयोगी हुनु हुन्न र ? कृपया यो प्रश्नको उत्तर आफैमा सिमित राखेर सोची दिनुहुनेछ । यसरी सोचीमात्र दिनुभए पनि यो गन्हाएको समाजको बिकृति बीसबाट उन्नाईस अबश्यै हुन्थ्यो होला । यो निश्चित छ कि प्रायस: धर्मपत्नीहरु भ्रष्टाचारलाइ प्रश्रय दिदैनन । तर सित्तै पाए तिनमाना चुक समेत पिउनसक्ने उपपत्नी र सहपत्नीका हैसियतका मेडमहरुको कथा बेग्लै छन । लोग्नेको कमाइलाइ खानपिनमा उडाउने त हो नि भनेर रौसिने मेडमहरुको समाजले के कसरी मुल्याङ्कन गर्छ ? त्यो समुच्च समाजकै सरोकारको बिषय बनाउनु पर्छ । हाम्रो समाजमा सार्बजनिक हैसियत नाघेर श्रीमानभन्दा दुई बित्ता माथि उफ्रने छेउ न टुप्पोका हाकिम्नीहरु, जानी नजानी हाँसोलाग्दो दरबारी शैली र अंग्रेजी भाकाको ककटेल दिनखोज्ने रानीसापहरु र मन्त्री भन्दा बढि फुलेल भएकी मन्त्राणिहरु छ्यासछ्यास्ति भेटिन्छन् ।
बिना स्वार्थ कसैले कसैकोलागी केहिपनि गर्दैन ।भनिन्छ- निर्द्रब्यम पुरुषम् त्यजन्ति गणिका , दुष्टम नृप मन्त्रिण: । द्रौपदिले खु्ला केश नराखी प्रतिशोधको ज्वाला निभ्नदिएको भए भिमसेनले दुशा:सनको रगत पिउने थिएनन् कि ? बेगमहरुले आफनो औकातमा बसि गमको औषधि खानेगरेको भए भ्रष्टाचारको जायजन्ममा कमी आउथ्यो कि ? प्रश्नहरु अझै अनुत्तरित छन । निर्बाचित नेताभन्दा भुइफुट्टा नेतृको डाको ठूलो भै देउताभन्दा बोको बलियो हुनको नियति अझै कति दिन बेहोर्नु पर्ने हो ? बिचारणिय छ । बिश्वास गरौ, सिर्जनधर्मी आधा आकाशले यश समस्यातर्फ बिचार गर्ने नैछ ।
( यो लेख १४ फागुन २०५७ को चुरे टाइम्समा " अब बेगमहरुका बारेमा…" शिर्षकमा प्रकाशित भै त्यसबेला निकै चर्चा पाएको थियो । )
No comments:
Post a Comment