Tuesday, November 7, 2017

घरेलु अपराधी

घरेलु अपराधी
( कथा )
***------***

यो तीन कोठाको घरभित्र एकान्तमा बसेर अखबार पढने कुनै पनि उपयुक्त ठाउँ छैन । कहिलेकाही छतमाथि उक्लिने सिढिमा बसेर पढन थाल्यो भने घर मालिक्नीको ओहोरदोहरको क्रम जानाजान थपिन्छ र टोकोटोक्सो शुरु हुन्छ ।
" यो के तरिका हो ? यो पनि यसरी बसेर पेपर पढने ठाउँ हो र ?
"
अती भएपछि यदाकदा उ प्रत्युतरमा सोध्छ ।
" कहाँ बसेर पढुँ त ?"
" मेरो टाउकोमा बस अब ।  अरु कहाँ ..  । "
सारै छि: भन्न नमिल्ने गहुँ गोरी मध्यम कदकाँठी कि अधबैसे मालिक्नी च्याठिन्छिन ।  खिरिलो जिउडालको प्रौढ मालिक लज्जित जस्तै भएर त्यहाँबाट उठ्छ ।
आफैले धोएर सुकाएको स्वेटर हातमा लिएर उ अहिले पनि असमञ्जसमै छ । स्वेटर कहाँ थन्क्याउने भनेर निर्णय लिन अप्ठ्यारो परेकोछ  ।  भएको यौटा दराज राजुका कपडाले भरिएकोछ, अर्कोमा छोराछोरीका । यस्तोमा जता राखे पनि खप्की खानु निस्चित जस्तै छ । नसोधी जहाँ राखे पनि राजुले स्वेटर बाहिर निकाल्ने त छन नै, " तमीज नभएको " भनेर बारसत्र कुरा पनि सुनाउनेछिन ।
पछिल्लो ५/७ बर्षदेखि यस्तै चलिरहेको छ । विशेष गरि सेवा निबृति पश्चात् । कुनै किताब पढदा पढदै उ बाहिर निक्लिनु प-यो भने" पढेर अब केही सिक्नु छैन " भन्दै राजु त्यो किताब अन्यत्र राखिदिन्थिन् । दिक्कलाग्दाको बेला बजाउने गरेको हारमोनीयम नचाहिने सामानको चाङ नजिक बुइगलतिर कुनामा राखिएकोछ । मनपरेको कुनै गीत सुन्नु पर्दा राजु बाहिर निक्लेको अबसर कुर्नु पर्छ । छोराले पठाइदिएको टु इन वान जस्ताको तस्तै कपडाले लपेटेर आलमारी भित्र सुरक्षित गरीएकोछ । हुदाहुदा रेडियो खोल्न थाल्यो भने पनि कहिले सानी छोरीको पढाइ डिस्टर्ब हुने र कहिले राजु स्वयमको आमासंग कुरा गर्ने समय हुने गर्छ । भन्ने हो भने उनी गाना बजाना र अखबार पढनुलाइ फाल्तु काम सम्झन्छिन । अझ ठुला मानिसले गर्न नहुने यो सामान्य काम मान्ने गरेकिछन् । घरका कोतेधन्दा सकेर जब कुनै पुराना गीतमा मन भुलाउन खोज्दै उ कानमा एयरफोन राखेर बस्छ भने पनि राजुले झटपट कामको नयाँ मेसो निकाली हाल्छिन् ।
" बस… अब गीत सुन्ने लहर चल्यो । बजारबाट तरकारी ल्याउनु पर्दैन… घरको पनि क्यै काम त गरिदिनोस्न ।"
" ल, एकै छिनमा ल्याइदिन्छु है ।"
" छाडेछुडेको, सडेगलेको थमाइ देलान । राम्रोसंग छानेर ल्याउनु होला नि । .. संगीतको सौख फुर्सतमा….।"
यसरी संधैको निहुँ खोजाइमा अपमानित हुँदा पनि झोला समातेर तरकारीपसलतिर लुरुलुरु लाग्नु बाहेकको बिकल्प रहदैन उसंग । बेमनले उ बजार चाहारेर आउँछ ।
तर जिन्दगी यस्तै गरि चल्दैछ । उ निष्पक्ष दार्शनिक मनले आफनो समीक्षा आफै गर्छ । चित्त बुझाउछ  र खुरुखुरु अर्हाएको गरिरहन्छ ।
" यो असन्तोष अस्वाभाविक नै हो त? " उ यदाकदा एक्लै च्याठिन्छ पनि । " यो माथिबाट पलाएकी ख्याउटी कुनै ज्यादै सम्पन्न ठुलाबडाको परिवारमा हुर्किएको पनि त होइन नि । हो, मेरो घरको हैसियत भन्दा केही बढि होला ।... यो  पापी मनको ठाउँ कहि नहुने …?" उ भित्रको ऋषि मन उसलाइ चुपचाप रहन आदेश दिन्छ ।
 उ पुराना दिन सम्झन्छ ।  सरकारी कार्यालयको सामान्य कर्मचारीको तलब नै कति थियो र  ? खानपिन, घरभाडा र छोरा छोरीको पढाइभन्दा पर उस्ले केही पनि सोच्न नसकेको सत्य हो । येनकेन यो शहरमा दुई कोठाको सानो घरसम्म जोडेकै हो । तर आफनो बाउको पाँचसात कोठाको घरसंग तुलना गरेर श्रीमतिले सँधै होचोमोचो गरेको हुँदा यो सानो घर नै ठूलो कचपचको माध्यम बनेकोछ । उ सोच्दा सोच्दै लामो श्वास फेर्छ ।
" घरमा भान्सा बाहेक तीन कोठा त हुनै पर्ने हो । … आफनो भने एउटा बाकस ,अलमारी र खत्र्याङखुत्रुङले भरिएको, अर्कोलाइ ड्राइङरुम या बेडरुम जे भने पनि भयो ।.. … यसरी कुरा  पैसामा आएर टुङ्गिन्छ ।" उ मनमनै हिसाब लाउछ । साधारण कृषकको सज्जन छोरो दुर्गेश स्वयम् आफनै नजरमा पनि सामान्यबाट सामान्यतर हुँदै जान्छ ।
"कति भित्र बाहिर गर्न सक्या हो यो बच्चा ? टीनको गेट बजाको छ, बजाको छ ।"
कानमा  राजुका परिचित कर्कश  शब्द पर्नु सँगै पर्दा थोरै सारेर बाहिर हेर्छ ।  टाढैबाट प्रष्ट देखिन्थ्यो, सानी छोरीका आँखामा भय छल्केको थियो । मुखका कुनाहरु तल झुक्न र बीच को भाग माथी उठ्न खोजे जस्तो देखिन्थ्यो । रुन रुन खोजे जस्ता चोसे ओठ देख्दा मन मा चोट परे पनि हेरुँ हेरुँ चाहिं भइरहेको थियो । डेरा मै बसी बसी उसले एसएलसी दिएको र बिराला ले छाउरा सारे झैं डेरा सार्दा सार्दै बीस वर्ष बिताएको  कुरा मनमा खेल्दै थिए । यो सानी बालिकासंग आमाले समेत सोझो मुखले कुरा नगरेकोमा उ अझ दिक्दारिन्छ ।
उ सम्झन्छ, कहिलेकाहि आउने सालासाली समेतले पनि अचेल अलि बढि नै हेप्ने गर्दछन् । एकदिन कान्छी सालीले भनेको उसलाइ टडकारो सम्झना छ ।
" भिनाजु, यो सर्ट पैन्टमाथि अरु थप अत्याचार नगरौ है । ब्रान्डेड जुत्ता र नयाँ हेयर स्टाइलमा मेरो भिनाजु कस्ता देखिएलान, कुन्नि ?"
उता सालाको सिकायत बेग्लै रहन्छ " भिनाजु! मेरो बर्थडेमा कुन गिफ्ट दिनु हुन्छ! साइकिल किनिदिनोस है । " यस्तो बेला राजुका चिम्सा तिरस्कारयुक्त आँखा उसैतिर सोझिएका हुन्छन । दुर्गेसको मुखमण्डल अपराधबोधको कालो बादलले नीलो भैरहेको हुन्छ ।
" यो जिन्दगी यतिकै जाने भयो ।" दुर्गेसको मनमयुर आफनै जंगलको उदास नाचमा रगमगिन्छ ।
" कसैलाइ पनि केही सन्तुष्टि दिन सकिएन । स्कुलका सहपाठी र शिक्षक समेत । परिक्षामा सार्न नदिएको कारणले साथिहरु रिसाए भने लेखाएको फर्मुला गलत प्रमाणित गरिदिएको कारण सिक्षक नाराज भए । आफ्नो ईच्छानुसार खेतिपातितिर मन नलगाएका कारण किसान पिताजी असंतुष्ट थिए भने आफनो भित्री धन्दामा सामेल नभएका कारण हाकिम कहिल्यै दाहिना भएनन् ।
उ भर्खर नौकरी गर्न थालेको थियो । पिताजी अर्थात ससुराजीले बिबाहको छिनोफानो हुँदाको त्यो दुर्भाग्यपुर्ण दिनमा उस्को समर्थन गर्दै भनेका शब्द पनि उसलाइ याद आउदैछन ।
" कार्यालयका असली मालिक त सुब्बा- खरिदार नै हुन। अफसर त टाढा देखाउन मात्र मिल्नेगरी उडीरहने चरा संझे हुन्छ। अफिसमा छरिएका पैसा बटुल्न सक्ने खुबी आफुमा हुनुपर्छ । "
तर दुर्गेसमा यो खुबी कहिले आएन । चारैतिर हताशा बाहेक केही देखिदैन । राजुका अधुरा ईच्छाका चाङमुनि दबिएर उ स्वयमका आकांक्षाहरु कहिले नउम्रिने बनेकाछन् ।
उसका नजिकका आफन्तहरुमा आठ बर्ष जेठी दिदी कुन्तीले मात्र उसको भावना बुझेकिछन क्या रे । आमा नभएको अबस्थामा उनैले स्याहार सुसार गरेकी पनि हुन । दिदी कुन्ती पिताजीको सिद्धान्त अनुसरण गर्छिन र स्थानिय बिध्यालयमा शिक्षिका छन् । रुपरङ्ग जेसुकै होस, बैचारिक र भावनात्मक स्तरमा राजू उसको समकक्षी होइनन भन्ने उनलाइ मात्र थाहा छ । छलछामबाट टाढारहने इमान्दार र प्रतिभाशाली भाइमाथि भैरहने घरेलु अत्याचारको छनक यिनले मात्र पाएकी छन् ।
राजूका बुवाले बडो आग्रह पुर्बक आफ्नी छोरीका लागि दुर्गेसको प्रस्ताव राखेका थिए । दुर्गेसका पिताजीले त्यसबेला  भनेको कुरा कुन्ती दिदीलाइ प्रष्ट याद छ  ।
" हामी येनकेन खानलाउन पुग्ने सामान्य गाउँले हौ । दुर्गेसले पनि यौटा सानो नौकरी भरखर शुरु गरेकोछ । हुनेवाला बुहारीले यसै गरीब घरमा घरजम गर्नैपर्ने अबस्था छ । हजुरले राम्रोसंग बिचार गरि निर्णय गरि बक्सेला ।"
"यति भन्दाभन्दै पनि छोरीको हात स्वेच्छापुर्बक उनैले दिएका हुन । यसमा हामीले अपराधबोध लिने कारणै छैन । एउटा क्लर्कको तलब कति हुन्छ? ती ठेकेदारलाइ थाहा थिएन र?"
कुन्ती दिदी कहिले काही ती कुरा सम्झाउछिन् पनि ।
" स्थितिलाइ उनको नजरबाट हेरेर सबै सहिरहनु पर्दैन।द्रब्यपिचासले तेरो भावना बुझ्नसक्ने छैनन् । "
यसरी दुर्गेसको बैबाहिक जीबनको यो एकान्तिक प्लेटफार्म सार्बजनिक नहोस भन्ने सत्चाहना कहिलेकाहि अमीलोमा बदलिन्छ । उ पनि दोधारमा हुन्छ । जुन दुर्गेसको समाजमा प्रशंसा गरिन्छ, जस्को इमानदारिता, सरलपन, बौद्धिक प्रतिभा, तर्क क्षमता र सामान्य ज्ञानको इज्जत गरिन्छ , त्यस आधारमा हीनताबोध गराइ पालतु नौकर बनाइ राख्ने दुष्चक्रप्रति उ सहसा सतर्क पनि हुन्छ ।
राजुले समसाँझै फेरि उसका साथी पारसले किनेको शानदार कार, देबेन्द्रको भब्य भवन, जनकको श्रीमतीको डायमण्ड सेट जस्ता प्रसंग झिक्छिन । दुर्गेसले झर्को माने पनि सम्झाउन कोसिस गर्छ ।
" हेर राजू! म यी बस्तुको महत्व नकार्न त सक्दिन । तर आफ्नो हैसियतको पनि ख्याल राख्नुपर्छ । मानिसको महत्व नगदी जिन्सीमा राखेर मात्र तोल्नु पनि हुदैन र तोलिदैन पनि । मानिसको मूल्य उसको गुणमा हुन्छ । "
" बस्.. ।" राजुको चर्को स्वर थपिन्छ ।
" यिनलाइ त भाषण दिन मात्र सिकाएको रहेछ ।…?"
" सबैसंग गाडी र बंगला हुदैन नि । नभएकाहरु खुशी छैनन र ? "
 उ भन्दै गर्छ ।
" सादा जीवन, उच्च बिचारको सिध्दान्त बोकेका मेरा पिताजी को म एक्लो छोरा । वहाँको आदर्सलाइ इमानदारीकासाथ बोकेकोछु । ब्यबहारमा गलत र बेकार लागे पनि समाजले सम्मान दिएकोछ । मलाइ यसैमा खुशी छ । "
" यस्ता भाषण त्यहि सम्मान दिने समाजलाइ सुनाउनु नि । मैले त भोगी सकेकीछु । भाग्यै यस्तो….। " राजु झन ठुस्किन्छिन । बाध्य भएर दुर्गेस बाहिर निस्कन्छ । दिन त कनिकुथी बरालिदै बित्छ पनि ।
साँझ घर फर्किदाको अबस्था झन अस्तब्यस्त देखिन्छ ।
भान्छाभरि छरिएका जूठा भाँडाले पत्नी रिसाएर माइत गएको वर्णन गरीरहेका हुन्छन् । यति मात्रै हो र, कुनै खास कारण बिना नै उ यसै गरि बेलाबखत दिउसै साँझै माइत जानेगरेको उपक्रम नौलो कुरा थिएन । यो कुनै एक दिनको कथा त होइन । उ पनि चिया र ब्रेड खाएर सुत्न अभ्यस्त भैसकेकोछ ।
थकित र कुपित भएर दोस्रो दोपहर राजुसित फोन सम्पर्क गर्छ ।
" पापासंग राम्ररी कुरा गर्ने मौका नै लागेको छैन । सायद भोलि फर्किन्छु कि  । " राजुको बनावटी बार्ता सुनीरहने आबश्यकता नै रहेन ।
दोस्रो दिन " पापा " ले नै फोन गरे ।
" ज्वाइँ सा,पलाइ आउने फुर्सत नभए म कसैसंग पठाइ दिनेछु । अर्को महिनासम्म एउटा ४/५ कोठाको घरसमेत तयार हुन्छ होला । यहाँ नै बस्दा बढि सुबिस्ता होला । मौका लागे हेर्न आए हुन्छ नि । "
दुर्गेसको शरीर चिलाउछ । ससुराजी नियतबश नै उसलाइ कंगाल सिध्द गरीरहेका जस्ता लाग्छन् ।
मन धेरै बिचलित हुन्छ । हारमोनियम निकालेर राजुको अनुपस्थितिको फाइदा उठाउन खोज्छ । ठिक त्यसै बेला कुन्ति दिदी आइपुग्छिन् ।
" बुहारीको गैरहाजिरीमा शौख पूरा गर्दै हो ?..बजाउ, बजाउ…कता गइन ?। घर लथालिङ्ग पो छ त ? "
कुन्तीले जुठा भाँडा एकातिर गरी झाडू लगाइन् । ओछ्यानमा तन्ना मिलाइ दिइन् । प्यारो सानो भाइलाइ एक्लै देखेर संगसंगै जरुरी प्रश्न पनि सोध्दै गइन ।
" छोराछोरीकी आमा भएर पनि राजुले आफनो परीवारमा रमाउन जानेकै छैन । माइती कै भरमा जिन्दगी आरामले चल्नसक्छ भन्ने सोचेकीछ ।….. कहिले फर्किन्छन ? छोरीको पढाइमा यसरी बाधा पर्दैन त ?  । "
" म के गरौ त , दिदी…… उसको समझ नै त्यस्तो छ । त्यो उसको मामिला हो । .. आफनो जिम्मेवारी नबुझि दिएपछि … । "
कुन्तीले आश्चर्यकासाथ भाइलाइ हेरी रहीन् । उसको सुडौल मुखाकृतिमा समयका निर्दयी धर्साहरु कोरिएका छन । फक्कडहरुको जस्तो रुखासुखा जीवन बाँचिरहेको दुर्गेसको निन्याउरो अनहार हेर्दै कुन्ति द्रबित भइन ।
सानोछँदा दुर्गेसको गल्तिको समेत जिम्मा लिने कुन्ति दिदी भाइलाई सम्झाउदै गइन ।
" आफनो जिउज्यानको  ख्याल गर है भाइ…. आफनो हैसियत अनुरुपको स्थान लेउ । "
" दिदी, म मेरै हिसाबमा जीवन बाँचीरहेकोछु । राजु आफै सुध्रिने आशा अझै बाँकी छ । " दुर्गेस सपष्टिकरण दिने कोसिस गर्छ ।
" यसरी अपराधबोध बोकेर बाँच्न गारो पर्छ, भाइ! । तिम्रो ससुराले बिबाहताका भनेका थिए,- मेरो छोरीको लागि यो भन्दा राम्रो घर भेट्टाए पनि यिनीभन्दा राम्रा वर भेट्टिने छैनन । … किन भनेका होलान भनेको त बल्ल कुरा बुझिदेैछ ।… त्यस्ता बनावटी कुराको घेराबाट बाहिर आउ । तिम्रो अगाडि सम्मानले भरिएको सुन्दर संसार छ ।त्यो चमकदमकभन्दा पर कलाको दुनियाँको पनि तिमी नायक बन्न सक्छौ।"  " हजुरले ठिकै भन्नू भयो दिदी…. ।"
अचानक फोनको घन्टी बज्छ। हतारिएको जस्तो दुर्गेसले फोन उठायो ।
" हेलो, … किन ...ल ठिक छ...आउछु, आउछु ।" भन्दै फोन राख्यो पनि ।
कुन्तिलाइ माइतबाट राजुको फोन आएको अनुमान गर्न गारो भएन । तर केही बोल्न सकिनन् ।
" दुर्गेसको बानी बुझि नसक्नु छ ।" मनमनै भनिन ।
खालि जाने बेला यत्ति मात्रै भनिन ।
" भोलि ससुराली जादैछौ , है न त ।…. ल म पनि फर्किन्छु , है ।"
लगत्तै उनी हिडिन पनि ।
चुपचाप उभिइरहेको दुर्गेसले कसैलाइ पनि अहिलेसम्म सफाई दिन सकेको छैन ।
"सबै जना उसैको भलाइका कुरा गरीरहेको हुन्छन र पो ….. ।"
उ मनमनै गुनगुनाइ रहेको हुन्छ ।

( २२ कार्तिक २०७४, महेन्द्रनगर )
                 ********

No comments:

Post a Comment