Friday, June 28, 2019

कर्णालीको आर्थिक उन्नति चुनौति र संम्भावना

कर्णालीको आर्थिक उन्नति चुनौति र संम्भावना


लेखक-विनोद देव पन्त
पृष्ठभूमी
इतिहाँसको कुनै कालखण्डमा खस आर्य समुदायको बलियो साम्राज्यको रुपमा रहेको कर्णाली प्रदेश प्रचुर सम्भावना हुँदा हुँदै विकासको दृष्टिले लामो समय ओझेलमा रह्यो। निश्चय नै सडक संञ्जाल समग्र विकासको लागि अत्यन्त महत्वपूर्ण पक्ष हो भन्ने कुरामा शंका गर्ने ठाउँ रहदैन । सडक सञ्जालबाट जोडिना साथ कर्णालीका हुम्ला बाहेकका सबै जिल्लाको आर्थिक विकास अव टाढाको कुरा रहदैन । तर यसका लागि खाद्यान्न लगायतका उपभोग्य पदार्थ बोकेर कर्णाली पुगेर फर्किएका मोटर गाडि रित्तो फर्किन्छन वा भरिएर यो सवाल महत्वपूर्ण छ । कर्णाली क्षेत्र प्रचुर सम्भावना भएको क्षेत्र भएकोले हामीले कर्णालीलाई सम्वृद्ध बनाउने ढ·ले योजना बनाउन र कार्यान्वयन गर्न जरुरी छ । कर्णाली क्षेत्रका अधिकांश मानिसमा व्यवशायीक दक्षता पैतृक गुणको रुपमा विद्यमान छ । कठिन परिस्थितीको सामना  कसरी गर्ने र आफ्नो आवश्यकता कसरी पूर्ति गर्ने भन्ने ज्ञानको खानी हो कर्णाली क्षेत्र । कर्णालीका जनताको श्रम प्रतिको लगाव अन्य भूभागमा बस्ने नेपाली दिदी बहिनी र दाजुभाईको लागि अध्ययन र अनुकरणको विषय बन्न सक्दछ । लामो समय सम्म कर्णाली प्रदेशले आधुनिकताको रसस्वादन गर्न पाएन। यसका पछाडि राजनैतिक, सामाजिक र भौगोलिक विकटता लगायतका अनगिन्ती कारणहरु रहे यद्यपी विकास गर्ने भन्दा विकास खाने सोच र मानसिकताका कारण पनि कर्णालीको विकास प्रकृयाले गति नलिएको तथ्य तर्फ नजरअन्दाज गर्न सकिन्न।
सम्भावनाका क्षेत्रहरु
पर्यटन क्षेत्र ः
विकट भौगोलिक अवस्थिति भए पनि कर्णालीको प्राकृतिक सुन्दरता, मनमोहकताले हरेक मानिसलाई लोभ्याउँछ। भौगोलिक कठिनता कारण कर्णाली क्षेत्र अझै भर्जिन ल्याण्डको रुपमा रहेको छ । रारा, शे फोक्सुण्डो, कुभिण्डे दह जस्ता अति सुन्दर ताल तलैया, चन्दननाथ, वाला त्रिपुरासुन्दरी, पञ्चकोशी, देउतीवज्यै, काक्रेविहार जस्ता प्रख्यात शक्तिपिठ र मठ मन्दिर, एवं सुन्दर हिमाल र प्राकृतिक छटाले सुशोधित कर्णाली प्रदेश नै सम्पन्न रहेको छ । यातायातको सुविधा संगै यो क्षेत्रमा पर्यटकको आगमन बढदै गएको छ । यद्यपी हुम्लाको बाटो कैलाश र मानसरोवर जाने विदेशी पर्यटक, मुस्ता·को बाटो डोल्पा जाने विदेशी पर्यटक र रारा शे फोक्सूण्डो जाने स्वदेशी र विदेशी पर्यटकले अझै पनि गुणस्तरिय बसाई र खानाको अनुभूति गर्न नपाएको तथ्यलाई हृदयंगम गरी पर्यटन प्रवद्र्धनमा सहायक व्यवशाय स्थापना र सञ्चालनमा  ढिलो गर्नु हँुदैन । त्यसै गरी धार्मिक पर्यटन प्रवद्र्धनका लागि आवश्यक प्रचार प्रसार सामाग्रीहरु तयार गरी यस्ता धाम र शक्तिपिठहरुको सूचना आम जनमानसमा पु¥याउन आवश्यक कदम चालिनु जरुरी छ । रारा क्षेत्रको होटल व्यवस्थापनको एकाधिकार तोडनु समेत जरुरी भै सकेको छ । यसौ भएमा थुप्रै रोजगरी सिर्जना हुने र आर्थिक गतिविधि बढन जानेछ भने विगतमा सडकको दुरावस्थाका कारण कर्णाली क्षेत्रका जनताले जीवन गुमाउनु परेको तथ्यलाई हृदयंगम गरी सडकको स्तरोन्नतिमा यथेष्ट प्रयास गर्नु जरुरी छ । पर्यटन संग सम्वन्धित होटल तथा लज व्यवशाय, ट्राभल एजेन्सी, साना तथा मझौला यातायात, घोडचढी, स्केटि·, ¥याफ्टि·, प्याराग्लाईडि·, फिसि· जस्ता व्यवशाय मार्फत कर्णालीको जीवन समृद्ध बनाउन सकिने सम्भावनाहरु छन् ।
कृषि क्षेत्र
कर्णाली प्रदेश मध्ये खासगरी तत्कालिन कर्णाली अञ्चलका सबैजसो जिल्लामा उच्च हिमाली भेगमा पाईनै स्याउ, ओखर खुर्पानी, आरु लगायतका फलफूल, मार्सि धान, आलु, मकै, गहूँ, जौ, कोदो, फापर, चिनो, सिमी र ताजा तरकारी, मह उत्पादन लगायतका उच्च गुणस्तरिय खाद्यवस्तुहरुको उत्पादनको थलो हो । अझ यस क्षेत्रलाई राशायनिक मल र विषादी मुक्त क्षेत्र घोषणा गरिएकोले यस क्षेत्रमा उत्पादन हुने सवै वस्तुहरु मानव स्वास्थका लाीग अत्यन्त उत्तम मानिन्छन् । जसलाई ब्राण्डि· गरेर उच्च मूल्यमा विदेश निर्यात गर्न सक्ने सम्भावना प्रचुर छ । कामको सिलसिलामा जहाँसुकै पूगे पनि रोपाईको दिन खेतमा आइपुग्ने कर्णालीवासीको परम्पराले उनीहरुको कृषिकर्म प्रतिको लगावलाई उजागर गर्छ । यसै गरी फलपूmलबाट तयार हुने जुस, साइडर तथा उच्च कोटीको मदिरा उत्पादन गर्ने व्यवशाय स्थापना गरी अन्तराष्ट्रिय बजारमा पु¥याउँदा मनग्य आम्दानी गर्न सकिने सम्भावना छ । साथै कर्णाली प्रदेशको पहाडि इलाकामा अमिलो जातका फलफूल, किवी, स्ट्रवेरी, र तल्लो समथर भूभागमा अाँप लिची कटहर जस्ता फलफूल उत्पादन गर्न सुहाउँदो हावापानी भएकोले क्लस्टर छुट्याइ योजनावद्ध ढ·ले कार्यक्रम सञ्चालन गर्नु जरुरी छ । यसैगरी पशुपालनको क्षेत्रमा यो प्रदेश आज पनि अग्रणी स्थानमा छ । उच्च हिमाली भेगमा भेडाच्यांग्रा, घोडा, तल्लो भेगमा बाख्रा, भैसी, गाई लगायतका पशु र विभिन्न प्रजातीका पंक्षीपालन गरी मासु, ऊन, दुध र दुग्धजन्य पदार्थ, छाला लगायतका वस्तु उत्पादन गरी आर्थिक सम्पन्नता हासिल गर्न सकिने प्रशस्त संम्भावना रहेको छ ।
जडिवुटी
कर्णाली प्राकृतिक जडिवुटीको भण्डार हो । उच्च हिमाली भेगमा पाईने सवैजसो जडिवुटी कर्णाली प्रदेशमा पाईन्छ । विशुद्ध प्राकृतिक यी जडिवुटी प्रशोधन गरी उच्च गुणस्तरिय आयुर्वेदिक औषधी उत्पादन गर्ने कारखाना स्थापना गरिएको खण्डमा प्रदेश तथा प्रदेशवासी जनताको आर्थिकस्तर वृद्धि हुन समय लाग्दैन । राज्य सरकारले प्राकृतिक जडिवुटीको संरक्षण, संकलन र खेती सम्वन्धी उपयुक्त नीति तय गरी यस क्षेत्रको विकास गर्न जरुरी छ ।
वन पैदावार
कर्णाली प्रदेश वन पैदावारको मामलामा समेत धनी रहेको छ । वन पैदावार बाट टिम्वर र नन टिम्वर दुवै प्रकारका व्यवशाय गर्न सकिन्छ । चुरे तथा पहाडि भेगमा रहेका कुकाठहरुको हाँगाविगा छटनीगरी, भेनियर, वायोमास उत्पादन गर्ने उद्योग, त्यसैगरी जंगल क्षेत्रमा रहेका बुढा पुराना रुख विरुवा छटनी गरी टिम्वर, फर्निचर लगायतका वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्ने तर्फ कदम चालिनु उपयुक्त हुन्छ ।
खनिज
कर्णाली प्रदेशमा खनिज उद्योगको समेत प्रचुर सम्भावना रहेको छ । यो प्रदेशको थुप्रै ठाँउमा सिमेण्टको कच्चापदार्थ चुनढु·ाका खानीहरु रहेका छन्। काइनाइट, टुर्मालिन माथिल्लो कर्णाली तटिय क्षेत्रमा व्ल्यू सफायर, तल्लो तटिय क्षेत्रमा नेफ्राईड जेड र उच्च हिमाली भेगमा क्वार्ज जस्ता रत्न पत्थर खानीहरु समेत यस प्रदेशमा थुप्रै रहेका छन् । पेट्रोलियम र फलाम, स्लेट खानीका संभावनाहरु समेत रहेका छन् । कर्णाली वेसिन क्षेत्रको ग्रेनाइट जस्ता कडा चट्टानको उपयोग हुन सकेको छैन, जसबाट कटि· स्टोन र उच्च गुणस्तरको रोडा तयार गर्न सकिन्छ । खनिजको उपयोग सम्वन्धी नीतिमा सहजीकरण गरी उत्पादनमुखी व्यवशाय प्रवद्र्धन गर्ने वातावरण तयार गर्नु समेत नितान्त जरुरी छ ।
अन्तमा
नेपालको औद्योगिक विकासको कुरा गर्दा आजका दिन सम्म सन्तोष लिन सकिने ठाँउ छैन । समग्र विकासको मोडलको असफलताले औद्योगिक विकासलाई पनि छोएको देखिन्छ । केहि विषयगत क्षेत्रमा भएको उपलव्धीलाई बढाई चढाइ गर्नु र आफ्नो राजनीतिक अभिष्ट साधना गर्नु हाम्रो नियति बनि सकेको छ । ३० वर्षको अन्तरालमा राज्य मिश्रीत हुँदै खुला अर्थतन्त्र तर्फ अग्रसर भयो । वर्तमान संविधानले समाजवाद उन्मुख अर्थ व्यवस्थाको परिकल्पना गरे तापनि  केहि बर्ष यताको मूलुकको अर्थनीति र बजेट हेर्दा  समाजवादले साकार रुप लिने आशा गर्न सकिने ठाँउ देखिदैन ।
संविधानले अख्तियार गरेको राज्य व्यवस्था र संरचनाले संघीय तहलाई नीति निर्माण, अन्तरराष्ट्रिय सम्वन्ध, राष्ट्रिय अखण्डता र शान्ति सुरक्षाको जिम्मा दिएको छ । प्रदेश तहको सरकारलाई विशुद्ध रुपमा विकास निर्माणको जिम्मेवारीमा राख्दै स्थानीय तहलाई आम जनतालाई घर दैलोमा पु¥याउनु पर्ने सेवा सुविधाको संवाहकको रुपमा परिकल्पना गरेको छ । तर यी तीनै तहको सांगठनिक संरचनाको व्यवस्थापन उल्लेखित कार्य जिम्मेवारी अनुसार हुने कुरामा स्वयं राज्यतहमा नै अलमलमा रहेको छ ।
यस परिप्रेक्ष्यमा खासगरी प्रदेश र स्थानीय सरकारले आफ्ना कार्यदिशा निर्धारण गर्दा के कसरी उपलव्ध श्रोत साधन परिचालनको माध्यमबाट रोजगारी सिर्जना र उत्पादन वृद्धि गरी राज्य र आम जनताको जीवनस्तर उकास्न सकिन्छ भन्ने तथ्यलाई स्मरण गर्न सक्नु भयो र विकास भनेको भौनिक विकास मात्र हो भन्ने परिभाषामा सुधार गरी आर्थिक विकासको मोडल लागू गर्न सक्नु भयो भने कर्णाली प्रदेश सम्पन्न हुनेछ ।
( फेेसबुकबाट साभार )

Saturday, June 22, 2019

म ( कबिता)


म ( कबिता )

साभार:-
 - भूपी शेरचन
१.
म एक पुत्र
एक पति
र एक पिता हुँ
२.
एक न्वारान
एक विवाह
र एक चिता हुँ
३.
म एक होटल
एक बोतल
र एक प्याला हुँ
४.
म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ
५.
म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ
६.
म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ
७.
म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ
८.
म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ
९.
म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ
१०.
म एक आवश्यकता
एक माग
एक विरोध
र एक डण्डा हुँ
११.
म केवल एक जुत्ता
एक सुरुवाल
एक कमीज
र एक कोट हुँ
१२.
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।
(साभार: घुम्ने मेचमाथि अन्धो मान्छे) 

आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको !

आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको !:



 नेपालीमा एउटा उखान छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ खर, पराल, झार, सिटा, चोइटा र छेस्काको आगो त

Thursday, June 20, 2019

समर्पण तिमीलाई !



मेरो भ्रम समर्पण छ ,तिमीलाइ

हे महाराज ! हे इष्ट देब ! हे कुलदेवता!
यदाकदा  अन्तर्मनमा सुट्टुक्क आएर
जे भनेका थियौ, सहजै सकारे,
जे दिएका थियौ, सहर्ष स्विकारे ।
उकालोको अन्तिम उज्यालोमा
जीबनको त्यो गोधुली पारीको जोरजाममा
कुनै भारी बोक्नु छैन मलाइ,
पाउन सकिने सबै पाइसकेपछि
उधारो राखेर केही माग्नु छैन मलाइ ।
मात्र केही प्रश्न बाँकी छन नै
थोरै जिज्ञासा थाति छन ,
तिमी छौ र पो म पनि छु जस्तो
केही भ्रमहरु चिर्न बाँकी छन ।
यो धर्तिको विशाल परिधिमा
मैले बेहोरेको परीक्रमा पथमा
सँधै बाटो देखाइ रहने तिमीलाइ
फगत केही प्रश्न सोध्नु छ मैले ।
फरक फरक मानिस भेटेकोछु  मैले
फरक फरक लेखिएको देखेकोछु मैले ।
कतै लामा कपालवाला भेटेकोछु
कतै मुडुला चिल्ला टाउका देखेकोछु ।
तिम्रै नाममा उफ्रिएका बिबिध मानब समूह मध्ये
कसको नायकत्व लिएकाहौ तिमीले ?
आर्तनादको आवाजलाई कुन ठाउमा उभिएर
निर्णायक बनेर सुनेकाछौ तिमीले ?
तिम्रो नाममा बनाइएका यी मुर्त सम्पदाहरु
तिम्रो नाममा रचिएका यी अमुर्त सम्पदाहरु
यो हुनु नहुनुको सिमाभन्दा माथि उभिएर
कसलाइ स्विकारेकाछौ तिमीले ?
जिन्दगीको अन्तिम पाइलो धर्तिमा छाडेर
जब म उक्लिनेछु कुनै अज्ञात भावभुमीमा
मलाइ स्वागत गर्न कुन रुपमा देखिनेछौ तिमी ?
के तिमीसंगको नाता यै जिन्दगी सम्मको हो त?
मलाई भ्रमित नहुनु परोस केहि गरि कसै गरी
के तिमी मान्छेपिच्छे फरक छौ र ?
के तिमी खास कसैका मात्र नजिक छौ र ?
के मैले र उन्ले देखेका देवता अलग अलग हुन र ?
मात्र केही प्रश्न बाँकी छन , थोरै जिज्ञासा थाति छन ।

***
काठमाडौं
०७६/०२/३२/७
***

प्रेमनगर( कथा)



प्रेमनगरका कथा
( फोटो सौजन्य- गुगल )

पहाडी खोचभित्रको त्यो गाउमा धेरै झुप्राहरु सार्की, कामी र दमाइका थिए ।   तीन घर खत्री र ८/१० घर क्षेत्रीहरुका थिए । मुलमा एकै घरका भने पनि स्थायीरूपमा बसेका गिन्तिका चार घर ठगुरीका थिए । यसमा पनि जेठा बाबुसापको घर सबभन्दा ठुलो थियो । परको सानो खोलाको खोचैमा दुइतीन घर बाहुनका पनि टुक्रुुुुक्क बसेका जस्ता देखिन्थे ।
यो गाउमा कानून या संविधानका  दफाहरुका बारेमा कहिल्यै केही सुनिएन । बरु ससाना घर झगडा भने बरोबर भैरहन्थे । यी विबाद सबैको सहमतिमै सकिन्थे । सबैले आआफनो परम्परा धानेका थिए । आफ्नो जातअनुसारका पेशाबाट बनीबुतो गरी कालका दिन पूरा गर्ने बाहेक अरु केही धन्दा थियो जस्तो लाग्दैनथ्यो । एक किसिमले सुनसान बगीरहेको छेउको सानो खोला जस्तै यस ठाउँको अबिच्छिन्न चर्या चली रहेको थियो । वरपरका गाउलेहरु सिंगै खोलाभरीको यो सानो गाउँलाइ रौटेखोलाको नामले चिन्थे । उहिले आफुलाइ जंगलको जेठो राजा मान्ने बनरौत `राउटे`हरुको एक हुल यो खोचमा बसेको थियो रे । त्यसै कारण यो खोचको गाउँ नै रौटेखोला कहलियो ।  पछिल्लो पटक राजाको खलक मानिने ठगुरीहरु बस्ने अरुभन्दा अग्लौ घरहरु भएको ढिस्कोलाइ उनीहरु आफै कोट भन्ने गर्थे ।समष्टिमा यो पहाडको सामान्य गाउँ थियो । गाउँबाट थोरै मानिस अन्यत्र सहरतिर झरेका थिए । कोही भारी बोक्ने र कुल्ली कामका लागि झुलाघाट पारी समेत पुग्थे । ज्यादाजसो गाउकै खेतिपाति गर्थे । गोठमा गाई पाल्थे । येनकेन गुजारा चलाउथे ।
'बल कम हुनेको बुद्धि बढी हुन्छ । मान्छे बुद्धिले पनि खान सक्छ ।' जेठा बाबुसापको यो भनाइ लागु हुन्थ्यो यस गाउँमा । वहाँको बुद्धिदेखि सबै झस्किन्थे पनि । 'कतै केही गल्ती भेट्टाए भने थुत्नसम्म थुत्छन यी सिर्के राजाले, जोगिएर बस्नु है ।' बूढाहरू छोरा नातिलाई अर्ति दिन्थे। निधारभरि चन्दनका बहुरंगी सिर्का लगाएर ठाँट देखाउदै गाउँमा डुल्न निस्किने हुँदा गाउलेहरु उनलाइ ब्यंग गरेर सिर्के राजा पनि भन्दथे ।
पहिले त झन् कुरै थिएन, बहुदल आएपछि पनि उनीहरूको व्यवहार र रहनसहनमा कुनै परिवर्तन आएको थिएन । 'ऐन–कानुनले जेसुकै बनोस, केटा हो!  यहाँ न बहुदल न सहुदल । रीति–व्यवहार, छोइछिटो बार्नैपर्छ ' यसै भन्थे यहाँका मिश्रित जातिका बुज्रुकहरू पनि । खिचडी गाउँ भएर पनि पुरानो प्रचलन  त्यति बिग्रिएका थिएनन् । यसैपटक भने पत्याउनै नसक्ने घटना भएको खबर फैलियो यो गाउँमा । 'एक कान–दुई कान–मैदान' जति ढाकछोप गर्न खोजे पनि हावासँगै हल्ला फिँजियो महामारीजस्तै ।
'चार–चारवटा छोराछोरीकी आमा भएर पनि कस्तो बिग्रिएकी त्यो दमिनी । कुलकै कलंक भएर निस्की। ,

कानैमा मुख लाएर साउति सकेपछि प्रकटमा यसरी कुरा काट्नेहरू गाउँमा भरमार भए । गाउलेलाई झन भारी नै पुगिहाल्यो।
बिग्रिन त दमिनीमात्र होइन, ऊसँग लसपस गरेको आरोप लागेको झुसे लुहार पनि बिग्रिएकै हो। जातमा उस्तै–उस्तै भए पनि एक–अर्काले छोएको भात–पानी चल्दैनथ्यो दुवैथरिको। संविधान, ऐन–कानुन र सहरबजारमा होस् वा संघ–संस्थाहरूमा, छुवाछुतविरुद्ध जति नै आवाज उठे पनि यो गाउँलाई परिवर्तनको हावाले छुुनै सकेको थिएन। एकआपसमै पनि पानी बारिन्थ्यो। भातभान्सा छोइछिटो हुन्थ्यो । यस्तो सदाचार चलिरहेको अवस्थामा बूढी हुन लागेकी दमिनीसँग उमेर छिप्पिएर पनि बिहा नभएको झुसेको लसपस! खबर सडेको सिनोको दुर्गन्धजस्तै खोला भरी बगीरहेको थियो ।
'गाउँ कुह्यो अब, के बसाइँ भयो र रीतिथिति-जातभात हराएपछि । यिनीहरूलाई त गाउँ निकाला गर्नुपर्छ ।' बूढापाकाहरू सल्लाहमा लागे । गाउँलेहरुले झुसेका सम्बन्धमा अरु पनि गाइँगुइँ कुरा सुनेका थिए, तर मुख फोरिहाल्न सकेका थिएनन्।
उसको जीउडाल बलियो थियो। दुई दिनको काम एकै दिनमा गर्न सक्थ्यो ।ठुलठुलो भारी सजिलै घर पुर्‍याउँथ्यो। 'अब भने लाठे भएछ झुसे, जे जस्तो काम आए पनि पछि हट्दैन है गाँठे' ऊप्रतिका टीकाटिप्पणीहरू यस्तैउस्तै हुन्थे।
गाँउमा यस्तो हल्ला चलिसकेपछि 'के खोज्छस् काना– आँखो’ भइदियो जेठा राजाका लागि। उनी मुद्दा–मामिलाका लागि खप्पिस थिए। बाहुनहरूसँग पनि कुम जोर्न खोज्ने यी बाबुसाप अरुलाई थर्काएरै बसेका थिए। उनले मौकाको सदुपयोग गर्न चाहे। आफ्ना दुई छोरालाई बोलाएर भने– 'ए केटा हो, दुइटा बलिया जेउणा तयार गर । यस्तो हुन थालेपछि कसरी बस्नु यो गाउँमा?'  छोराहरूसहित हान्निए झुसेका घरतिर। छोराहरूको बल र आफ्नो हैकमले झुसेलाई दाम्लोले कसेर– 'ल हिँड अब अड्डाथानातिर, बूढी दमिनीसँग सुत्नेलाई यो गाँउमा त्यसै कहाँ छोडिन्छ र! अड्डामा लगेर ठिंग्याएपछि देख्छस् !' भन्दै पशुलाई जस्तै घिस्याउन थाले । झुसे उँधो मुन्टो गरेर बसी रह्यो ।
झुसेका परिवारको सातो उड्ने नै भयो। अनुनय–विनय गर्न थाले खोले राजासँग। अड्डामा नलगी गाउँमै मिलाउन बिन्ती गरे। झुसेले  सहजै आफ्नो गल्ती स्वीकार गरीसकेकै थियो ।
'यस्तो कुल कलंकित गर्ने जघन्य अपराध कसरी मिलाउने?' जेठा बाबुसाप कड्किए। झुसेका परिवारले जे–जसरी भए पनि घरमै मिलाउन खुट्टा समाते।
'त्यसो भए ल भन त कसरी मिलाउने?' जे–जसरी भए पनि मिलाउन गरिएको आग्रहलाई राजा खलकले राम्रो अवसर सम्झिए। वार्ता भयो, गोठको एकमात्र लैनो भैँसी फुकाइयो। झुसेकी जहान र आमाका नाक–कानका माखामुन्द्रा फुकालिए। पानी खाने गरेको गाग्री, जाँत बोगाल टार्न राखिएका तीन हजार रुपैयाँ पनि रहेनन्।
त्यसपछि झुसेको घाँटीबाट फुकाइएका तिनै दुइटा दाम्ला फुकालेर यहि टोली दमाइका घरतिर गयो । सोझो दमाइलाइ हकारपकारमा पारियो ।
'तेरिमा ढोलेनी, जातभातको ख्याल नभएकी। घरमा लोग्ने छ, यतिका  छोराछोरी छन् र पनि ल्वारसँग लसपस गर्ने नकचरी, यस्ता गाउँ बिगार्नेलाई जेल नहाली कहाँ छोड्छु र! ल हिँड् अड्डा' जेठा राजाले आफ्ना छोराहरूको सहायताले दमाइ दम्पतीलाई दाम्लालेे बाँधेर घिस्याउन थाले।
दमाइलाई ठूलै आपत् आइलाग्यो। बाबुसापले नछोड्ने भए। सोझो दमाइ श्रीमतीलाई त्याग्न पनि सक्दैनथ्यो। छोराछोरीको बिजोक हुन्थ्यो फेरि। चुक्न त चुकेकै रहिछे भन्ने दमाइलाई पनि विश्वास भयो। यिनका चंगुलमा पारेपछि सितिमिति उम्किन दिँदैन भन्ने दमाइलाई स्पष्टै थियो।
दमिनीले केही समय यता निकै पैसा खेलाउँथी। मेलापात जान पनि अल्छी गर्ने दमिनीले के गरिरहेकी छे भनेर शंकाको घेरामा राखे पनि दमाइले मुख फोरिहाल्न सकेको थिएन। त्यसैको परिणति हुनुपर्छ आज मैले भोेगेको यो दसा भन्ने सम्झ्यो उसले पनि। अनुनय विनय गरेर जे–जसरी भए पनि समस्या नटुंग्याइ भएन। अड्डामै पुर्‍याए भने त कत्रो आपद् आइपर्ने हो? बरु भएको सर्वस्व सुम्पिएरै भए पनि मिलाउनैपर्‍यो भनेर दमाइले जेठा बाबुसापका खुट्टा समात्यो।
बल्ल जेठा राजा मुसुक्क मुस्कुराए– 'यस्तो जघन्य पाप पनि कसरी त्यसै छाड्ने थाहा पाइसकेपछि। कारबाही नगरी त छोड्ने कुरै आउँदैन पनि। यस्तै भइरहे के बसाइँ हुन्छ गाउँको यो खोलामा अब। तैपनि आइन्दा यस्तो नहुने वचन तेरी स्वास्नीले दिन्छे भने र मेरो चित्त बुझाउँछस् भने विचार गरौँला'  उनमा दयाले पग्लिएको भाव देखियो ।
दमाइको घरको लैनी गाई, दमिनीका भएका फुली बुलाकी, जोरजाम गरेर राखेका पाँच हजार रुपैयाँ सबै उनलाई सुम्पिएपछि घाँटीमा बाँधेको दाम्लो फुकाइदिए। दमाइ परिवार र लुहार परिवारले संयुक्तरूपमा गाउँलेलाई भोज खुवाउनुपर्ने निर्णय पनि बाबुसापले नै गरिदिए।
त्यति गरेपछि दुवै परिवारले गाउँमा यथास्थितिमा बस्न पाउने भएका थिए।
केही दिनपछि सहभोज सहितको त्यो गाउँभेलामा दमाइ र कामी परिवार सबै उपस्थित थिए। खत्री र क्षेत्री परीवारका केही मानिस पनि उपस्थित थिए, तर गाइँगुइँ अरु हल्ला समेत  सुनिसकेकाले ठगुरी भने आएनन । दमिनी र लुहारको अनैतिक सम्बन्ध त स्पष्टै थियो। संयुक्त भोज खुवाएर चोखिने निर्णय भइसकेको थियो। यसका लागि बाहुन, ठगुरी क्षेत्रीलगायत सबै जातका मान्छेलाई चल्ने भान्से लगाएर अर्को भोज खुवाउने बन्दोबस्त समेत हुँदै थियो। तर, अब हर्के क्षत्री र उही दमिनीको पनि अनैतिक सम्बन्धका कुरामा समेत साउति हुन थालेको थियो । मुख फोर्न नसकेकाहरू हो हो, मैले पनि मेलामा जिस्किरहेको देखेको भन्न सक्ने देखिए। दमाइ नभएको अवस्थामा हर्केलाइ दमाइकै घरमा छिरेको देखेको हुँ भन्ने पनि निस्किए। नीजले अन्नका पोकाहरू दमिनीलाई दिएको देख्नेहरूले पनि मुख खोल्ने अवसर पाए ।त्यसदिन यो ठुलै छलफलको बिषय बन्यो ।
दमिनी उस्ती हो कि ऊसँग लसपस गर्ने लाठेहरू उस्ता हुन् भन्ने छुट्याएर पनि केही हुनेवाला थिएन। बाबुसापले आफ्नो अनुकूल बनाएर समस्याका पोकाहरू फुकाइदिँदै आएका थिए। यो ठूलो समस्यामा भने उनले पनि हात हाल्न सकेका थिएनन्। गुप्तिि तरिकाले पत्तोचाहिँ सबै लगाइ सकेका थिए ।
क्षत्रीलाई दमिनीको बात्! कसले मुख खोल्ने पहिले भन्नेमा गाउँघरमा मुख ताकाताक भइरहेकै अवस्थामा उनै बाबुसापले गाउँभेला गराइदिए।
दमिनीलाई केेरकार गरियो। उसले पनि सजिलै स्वीकारी दुबै जनासँग लसपस हुँदै आएको हो भनेर। दमिनीले आरोपजति सबै झुसे लुहारलाई नै थोपरी। उसैले ललाइफकाइ गरी अन्न–पैसासमेत दिएर आफूसँग अनैतिक काम गर्न लगाएको र हर्केसंग पनि कुरा मिलाएको बताइ।
हर्केका परिवारको टाउको निहुरियो। चार छोराछोरीकी आमासँग सुत्ने हर्केका कारण परिवारले आजसम्म धानेको इज्जत माटोमा मिल्यो। समस्या निकै गम्भीर देखियो। अर्को भेला भोलिपल्ट बस्ने र त्यो भेलामा हर्केलाई पनि उसका परिवारले कसैगरी उपस्थित गराउनुपर्ने सर्त राखेर त्यस दिनको भेला टुंग्याइएको थियो ।
हर्कबहादुर अर्थात् हर्केले ठट्यौलो बोल्ने स्वभावका कारण सबैको प्यारो हुन पाएको थियो । हुन त मेलापात गरेर जीवन गुजार्नेहरू १० वर्षमै घर छोडी सक्थे ।  बाहुन र ठगुरीहरु आफै हलो नजोत्ने र ठगुरानीहरुले खेतमा गै काम नगर्ने हुनाले फुर्तिला ठिटाहरु हलोको अगुवा समाउन सक्ने हुनासाथ हलीको काम सजिलै पाउथे । सानोतिनो खेती भएका घरहरूमा पहिले बानी परेपछि ठूला खेतीवालहरूकोमा चल्थे हलिया। हर्के पनि यतिबेलासम्म तीन घरको हलो जोत्दै गरेर अहिले भने  जेठा बाबुसापकै मूलहलीमा दर्ता भइसकेको थियो । सहयोगीका रुपमा कहिलेकाहि झुसे लुहार पनि उसंगै काममा आउथ्यो । हलि खेतालाले खेतमा के कसो काम गरेकोछ , हेरबिचार गर्ने जिम्मा ठुली मैसापकै हुन्थ्यो । राजाहरुको चलनमा ढिलो गरि बिबाह हुन्थ्यो । मैसापहरुका हकमा पनि सामान्यत: बिबाहको उमेर पुगीसकेको थियो । बाबुसापको  तीनवटी मैसाप मध्ये जेठी मैसाप पनि ज्यादै हँसिली फरासिली थिइन । उनीसंग हर्केको उठाबसी हँसीमजाक चलिरहेका चर्चा समेत गाउँमा उडी रहन्थे ।
हर्कै त्यसताका गाउको चर्चित नायक थियो ।
'चतुरेका दिन सर्लक्कै फर्किए । हलो ठेग्ने र मेलापात गर्ने भइसकेपछि अब केको दुःख उसलाई?' यसरी गाउँघरमा कोही खुसी व्यक्त गर्थे भने कोही ईर्ष्या पनि गर्थे। हर्केका दुई दाजुले छुट्टिएर बेग्लै घरजम गरिसकेका थिए। जे गर्न पनि बलै चाहिने। श्रीमतीहरू पनि बलैका भरमा मेलाबाटै बोकेर ल्याएका थिए दुई भाइले। हर्के कान्छोको भने बिहे गर्ने बेला भएर पनि हुन सकेको थिएन। बिहे हुन नसक्नुमा धेरै कारण थिए।
एकतले  नाममात्रको घर! कटेरो नै भने पनि हुने। साँच्चै भन्ने हो भने लोग्ने–स्वास्नीले सुत्नेसम्मको ठाउँ पनि थिएन। दुई भाइ छुट्टिए पनि अरु दुइटी छोरी, बाबु–आमा, राखनधरन, चुलोचम्को, ओछ्यान, मुस्किलले चलेको थियो। परीवारको आफ्नो सानो बारी र घडेरीमात्रै थियो । हिम्मत गरेर जेठो र माइलोले गोठ बनाएरै भए पनि अलग भए । त्यस्तो बाँड्नुपर्ने के नै थियो र सम्पत्ति? तै पनि छुट्टिए, सानोतिनो रडाँको मच्चिहाल्यो।
'बजिया हो, बूढा भएका बाबु–आमालाई खुवाउनुपर्छ भनेर स्वास्नी कोरलेर निस्किएका' भनेर बाबु–आमाले रातोमुख गरे पनि यथार्थमा सँगै बसिरहने अवस्थै थिएन। अब हर्के नै यो घरको ठुलो सहारा बनेको थियो ।
कुरो सानै हो, तर झगडालु स्वभाव र शंका गर्नेहरूलाई पुगिहाल्यो। दिनभर दाउरा चिरेर कमाएको एकपाथी मकै हर्केले घर नलगेपछि  शंकाका आँखा गाडिएका थिए। 'अहिले दिएनन् ज्याला, पछि दिने अरे' भनेर ढाँटेथ्यो पनि। तर, उसले एकपाथी मकै उत्तिनै बेला ल्याएको पत्तो लागिहाल्यो। यसपछिका फाट्टफुट्ट बालीहरू पनि उसले गायब पारेर आफूलाई झन् बढी शंकाको घेरामा पार्‍यो। परिवारका लागि अनुसन्धानको विषय थियो नै । र गाउँमा कतै खचपच या लसपस गरेको आशंका पनि गरेकै थिए ।
आज हर्केको परिवार समाजको आँखामा पतीत ठहरियो। आफूभन्दा तल्लो जातमा बिग्रिएकाले कसैले पनि हर्केमाथि सहानुभूति राख्ने कुरै थिएन। रिसाएका दाजुभाइ र आमाबाबुले हर्केलाई निर्घात पिटे। हर्केले आफ्नो गल्ती स्वीकार्‍यो, तर पनि कुटाइको क्रम रोकिएन। उसले अब गाउँमा नबस्ने, कालिपारका सहर गएर कुल्ली काम गर्ने वाचा–बन्धन गरे पनि बेहोस् नहुन्जेल उसका शरीरमा लात्ती, मुड्की, लठ्ठी बर्सिरहे। यो घटना गाउलेहरु सबैले थाहा पाए । तेसै राति जेठा बाबुसापको ठुलो घरबाट पनि चिच्याएर रोएको करुण नारीस्वर सुनिएको खासखुस पनि चलेको थियो । हो, त्यसपछि जेठी मैसापलाइ गाउँमा कसैले देखेन ।
भोलिपल्ट तोकिएमुताविक स्थानमा गाउँभेला सुरु भयो। हर्केलाई भेलामा ल्याउने जिम्मा पाएका उसका परिवारले उसलाइ उपस्थित गराउन सकेनन् । हर्के राति नै भागेको जानकारी सभालाई दिए। सभाले हर्के नआएकोले कुनै गम्भीर निर्णय गर्न सकेन।
'त्यसलाई जिम्मा लगाउनुपर्छ, बिग्रेको ठेट्नुलाई त्यसै छोड्नु हुँदैन' भन्नेहरू असमञ्जसमा परे। दमाइ उँधोमुन्टो लगाएर बसिरहेथ्यो भने दमिनी पनि अपराधबोधको भावमा निहुरिएर बसेकी थिइ । झुसे लुहार समेत कुनातिर टुक्रुक्क परेको थियो । 'हर्केले भागेर सुख पाउँछ र? कि तिमीहरूले नै भगाएका हौ? जसरी पनि त्यसलाई उपस्थित गराउनैपर्छ। नत्र तिमीहरूको परिवार नै बिटुलिन्छौ ! ´ गाउँलेले अन्तिम चेतावनी दिएर भेला टुंग्याएका थिए ।
तर हर्के पनि त्यसपछि गाउँमा देखिएन ।
केही दिन पछि गाउकै जंगलमा भेटिएको सडेगलेको लास हर्केकै भएको ठहर भयो । लासजाँच प्रकृति, मुचुल्का, पोस्टमार्टम आदि केही गर्न आवश्यक नै ठानिएन।
'आ, नदुखेको कपाल डोरी लगाएर किन दुखाउने! भन्नेमा सहमत भए सबै गाउँले। एउटा पातकीले समाजमा मुख देखाउन नसकेर आत्महत्या गरेको मानियो ।
आफ्नो जात–परम्पराअनुसार काजक्रिया सम्पन्न गरे हर्केका परिवारले। शुद्धशान्तिमा गाउँका सबैलाई भोज खुवाइयो।
कामी दमाइका परीवारले पहिलेकै जस्तो नियति बेहोरी रहे । खत्रीको एउटा फुल खेर गएको जस्तो ठानियो । हर्के मरेको हो वा मारिएकोहो, कसैले वास्ता राखेनन् ।
केही बर्षपछि जेठी मैसाप पिथौरागढतिरको कुनै मन्दिरमा " माता " बनेर बसेकिछिन भन्ने हल्ला सुनिएको थियो  । भन्नेहरु त हर्के पनि उतै छ र जिउदै छ पनि भन्थे । बाबुसाप द्यौघातका कारण जिउ बाङ्गिएर अपांग बनेर बितेका रहेछन । अब गाउलेहरु सराबरी हुन थाले अ रे । अचेल भने  यो गाउँलाइ मानिसहरु प्रेमनगर भन्न थालेका छन । कुनै दिन हर्कबहादुर र मैयासाप फर्केर आउनेे नै छन भन्नेेेेमा आशाबादि देखिन्छन ।

**
काठमाण्डौ
०७६/३/५
**

Wednesday, June 12, 2019

गाउँको गुठीमा गिध्दे नजर!

गाउँको गुठीमा गिद्धे नजर !

गुठी परम्परा र हामी
हाल परम्परागत गुठी ब्यबस्थामा गरिन लागेको भनिएको परीबर्तनलाइ लिएर देशभर बिरोध प्रदर्शन भैरहेकाछन । हाम्रो प्राय: सबै गाउसमाजमा पनि बिभिन्न खालका गुठीहरु संचालित छन । यो छोटो आलेख गुठीको यही गडबडीसंग सम्बन्धित छ ।
नेपाली बृहत् शब्दकोषले धार्मिक वा परोपकारी कार्य संचालनका लागि छुट्याइएको, त्यसैबाट आउने आयस्ताले देबपितृको पुजाआजा जात्रा आदि चलाइने र जग्गा घर सम्पति रेखदेख गर्ने सामाजिक संस्थालाइ गुठी भनेर परिभाषित गरेकोछ । यस्ता गुठी देशभरी चलिरहेकाछन । नेपाल सरकारको मातहतमा रहेको गुठी संस्थानले यस्ता गुठीहरुको ब्यबस्थापन र नियमन गर्दछ ।
राजधानीको नेवारी समाजमा त गुठीको ब्यबस्था उहिलेदेखि  आधारभूत जीवन पद्धति मानिएको थियो ।
तर आज गुठी निश्चित जात या सम्प्रदायमा मात्रै सीमित छैन, न त काठमाडौं उपत्यकामा मात्रै सिमित छ। आफनो सांस्कृतिक र सामाजिक स्तर अनुरुप जीवनको अनिवार्य हिस्साका रूपमा सबै जात जातिमा विभिन्न नामले गुठी संस्कृति झाङ्गिएको पाइन्छ । नेपाली समुदायलाई गुठी संस्कृतिले कुनै न कुनै तवरले संगठित गरेको छ । आफ्ना  बन्धुबान्धवका साथ एकत्रित भएर सामूहिक आमोद–प्रमोद र भेटघाटका साथै सामूहिक विधि–विधानबाट परिचालित हुने परम्परा नहुने नेपाली समाजको कुनै पनि जातजाति छैन । गुठी प्रथाको उत्पत्ति र विकास संयुक्त मूल परिवारबाट भएको मानिन्छ  । आज पनि एउटा गुठीको घेराभित्र छिमेकमा बस्ने विजातीय परिवारलाई प्राय: समावेश गरिदैन।
हामीकहाँ गुठी भन्नासाथ मठ मन्दिर या संस्कार, संस्कृतिसँग सम्बन्धित जात्रा, पर्वहरुको सुसंचालन गर्ने श्रोतको रुपमा राखिएको जमिनको व्यवस्थापन पनि बुझिन्छ । यो ब्यबस्थापनमा सो गुठीका गुठियारहरुको सहभागिता रहन्छ ।  नेवार समुदायमा समुदायको ज्येष्ठ नागरिक गुठीको प्रमुख हुने गर्छ, उसै गरी विभिन्न बौद्ध विहार सञ्चालनका लागि महास्थविर विहारप्रमुख हुने गर्छ  । मुस्लिम समुदायमा मदरसाहरूको सञ्चालन पनि हिन्दु समाजका गुठीहरूको शैलीमा भएको देखिन्छ ।
गुठी राख्ने मानिसहरू त्यसमा सहभागी हुने  परम्परा स्वयं नै हाम्रो समाजको पुरानो सांस्कृतिक सम्पदा पनि हो । सांस्कृतिक सम्पदा भनेर मन्दिर, विहार, पुराना भवन, भग्नावशेषहरूलाई मात्रै लिइदैन । यी भौतिक अस्तित्वमा रहेका मूर्त सांस्कृतिक सम्पदा मात्र हुन् । भौतिक उपस्थिति नदेखिने तर मानिसहरूको जीवन पद्धति, संस्कार र संस्कृति, सार्वजनिक परिचय र पहिचान दिने तमाम सम्पदा पनि हामीसँग छन् । जात्रा, चाडपर्व, संस्कार, रीतिथिति, परम्परागत उपचार पद्धति, जीवनशैली र परम्परागत सामाजिक संगठनहरूलाई अमूर्त सांस्कृतिक सम्पदा मानिन्छ । गुठी नेपाली समाजका तमाम तप्कामा प्रचलित यही अमूर्त सांस्कृतिक सम्पदा  पनि हो ।
गुठी ऐन २०२१ का अनुसार “गुठी” भन्नाले कुनै मठ वा कुनै देवी–देवताको पर्व, पूजा वा जात्रा चलाउन वा कुनै धार्मिक वा परोपकारी कामको लागि कुनै मन्दिर, देवस्थल, धर्मशाला, पाटी– पौवा, इनार, पोखरी, तलाउ, धारा, पियाउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग, बगैचा, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालय, चिकित्सालय घर, इमारत वा संस्था बनाउन, चलाउन वा त्यस्को संरक्षण गर्न कुनै दाताले आफ्नो चल अचल सम्पत्ति वा आयस्ता आउने अरू कुनै सम्पत्ति वा रकममा आफ्नो हक छाडी राखेको गुठी समेतलाई सम्झनुपर्छ ।
गुठी संस्थानको हक दायित्व भई गुठी संस्थानले बन्दोवस्त र सञ्चालन गरी आएको राजगुठी हो । छुटगुठी भनेको उठने आयस्ताबाट गुठीको पूजा, पर्व इत्यादि दानपत्र लिखत बमोजिमको काम चलाई बाँकी रहेको गुठीको शेष कसर वा सलामीसम्म राजगुठीमा बुझाउने गरी वा गुठी चलाउनेले नै शेष खाने गरी गुठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनु अगावै सरकारी गुठी लगतमा गुठी दर्ता गराई वा दर्ता गराउनु पर्ने गरी त्यस्तो गुठीको जग्गाको नेपाल सरकारमा बुझाउनु पर्ने मालपोत वा तिरो बुझाउनु नपर्ने गराई र गुठीको दर्ता गुठीयारले नै गुठी चलाउन पाउने गरी छुट पाएको गुठी हो । यसै गरी राजगुठी र छुट गुठी बाहेकको आम मानिसले राखेको निजी गुठी समेतको ब्यबस्था ऐनमा छ ।
“गुठीयार” भन्नाले छुट गुठी वा निजी गुठीका दाता वा निजका हकवाला गुठी चलाउने वा  शेष कसर खान पाउने हक भएका व्यक्ति र त्यस्ता गुठीको सालबसाली दरबन्दीको महन्त र पूजारीलाई सम्झनुपर्ने हुन्थ्यो । तर आजभोली नेपाल सरकारले गुठीको साबिक ब्यबस्था परिबर्तन गरि सम्पुर्ण गुठी सार्बजनिक भन्दै अधिकारसम्पन्न गुठी प्राधिकरणको मातहत ल्याउने प्राबधान राखेर बिधेयक बनाएकोछ । फलत: गुठीको चर्चा चुलिएकोछ ।

प्रसंग आफनै गाउँको
मेरो गाउँमा पनि बि सं १९४५देखि  श्रीकेदार देवताको बार्षिक पुजाआजामा खर्च हुने गरि चलाइएको गुठीलाई बि सं २००३ को खडग निशाना सदर भै छुट गुठी थामिएको सनदबाट हालपर्यन्त गुठी ब्यबस्था यथावत कायमै छ । यो आदेश बमोजिम सिङ्गै गाउँ गुठीमा नापी दर्ता भै  हामी सम्पुर्ण बैतडीको दशरथचन्द-७ का वडाबासी सो जग्गाको गुठियार मोही मात्र दरिएका रहेछौ ।
यो गुठीपूजा व्यवस्थित गर्न आएको पुरानो आदेशको छोटकरी बिबरण यस्तो छ ।
``विक्रम सम्वत १९४५ सालको साविक सनद दरवन्दी वमोजिम तत्कालिन डोटी जिल्ला उपल्लो स्वराड गर्खा सुरकाल मौजाका श्रीकेदार देउताको पूजा आजाको निमित्त ठेकीएको रु. १४३/-ले येनकेन पूजा आजा चलाई आएकोमा र सम्वत् १९८१/११/१३/३ मा डोटी अछाम मालले गरेको जाहेरी समेतको आधारमा १९९५ का सरपट जाँचले रु. १४३/- मात्र गुठी मिनाहा गरी अरु रैकर गरेको र समयका परिवर्तनले साविकमा रु. १को २ पाथी घ्यू ठेकिएको भए पनि हाल सो दरमा कुनै चीज खरीद गर्न नपाई गुठियारले नोक्सानी सहनु परेकोले साविक बमोजिम कसर सलामी खुलाइ मनासिक माफिक दरवन्दी गरी गुठी थामि पाउन गुठियारका तर्फबाट आएको विन्तिपत्रमा २००४/४/३०/३ मा कमाण्डर इनचीफबाट खड्ग निशाना तोक परमाङ्गी भै १९४५ सालका सनदमा मनासिव माफिक लगत दरवन्दी कायम गरिएको व्यहोरा ००४ कार्तिक २६ गते रोज ५ मा दुई छापे तोक सदर भै वैतडी मालमा आएको …...´´ भनिएको छ ।आमदानी खर्च र वाँकी कसर समेतको लगतमा जम्मा आम्दानी रु. ३५१/६० जम्मा, खर्च रु. ३३४/१ र वाँकी १७/५९ देखिन्छ ।
यसरी गुठीको आयस्ता खर्च हुने रकमको बाडफाँडमा समेत घिउ दुधको मुल्य तोक्नेे जस्ता मसिना कुरा पनि केलाएर खुुुद खर्च हुने रकम र शेष कसरबाट गर्नुपर्ने काम सोही सनदमा लेखिएकोछ । यद्यपि डोरमा बाहिरबाट आइ लगत कस्ने-लेख्ने  कर्मचारीका कारण भेैरबलाई बोका काटने जस्ता केही बिषय आफुखुशी थपिएका र केही छुटाएको समेत अनुमान गर्न सकिन्छ । जे होस, समष्टिमा करीब डेढ सय बर्ष अघिदेखि चलि आएको यो परंपरामा सत्तरी बर्ष अगाडी सामान्य परिबर्तन गरिएको रहेछ ।मेरो गाउँको भुमी ब्यबस्थापन यसै आधारमा हालसम्म चलेकोछ ।
कालक्रम अनुसार यो सुन्दर ब्यबस्था नयाँ पुस्तासंगै बिस्मृतिमा जाँदै गरेको तितो अनुभव हुनाले त्यो लगतको फेहरिस्त समेत उल्लेख गर्नु हाल प्रासांगिक नै ठानेकोछु । ……………………………………………………………………………………
{ गुठीबाट तोकिएको खर्च निम्नानुसार छ ।
१.    वडा दशैं पर्व पूजाको जम्मा-४५/६४/२( पैंतालीस रुपियाँ चौसट पैसा दुई दाम )
   गौदान गाई १ को    - २/५०
   घटस्थापना देखि नौमीसम्म पूजा अक्षेता -१/५० (तीन पाथी चामलको)
    दूध २० माना —    ३/२०
   ध्वजावति समेत कपडा थान १  - ४/३२/२
   चण्डी आवर्ति १८ को     - २/८८
   भेटी    -                  १/—
   वेलपत्र श्रीखण्ड फूल        /५०
   आगंद्वारे                       १/—
   होम वति वाल्न समेत घ्यू पाथी ४ को    ९/—
   हवनको लागि घ्यू                            /५०
   जौ पाथी १                                   /५०
   तिल पाथी १                                  २/—
   धूप वत्ति नैवेद्य पञ्चामृत                   /५०
   भैरवहरुलाई वलि वोका                 १०/—
   रुद्रि आवर्ति                              २।—
   अखण्डवति वालनलाई        २/२५
   गणेश कलश, नवग्रह भेटी,भुयसी दक्षिणा    १/—
२. ऐं पर्वमा गुठियार कामदार भलादमी समेत भोज खान-१२/४३
   चावल पाथी १८   -      ९/—
   नून घ्यू वेसार तरकारी     -   /७५
   दाल पाथी २     -    २/२५
   पिठो, सक्खर दही      -   /४३
३.    चैत्र नवरात्रीको ऐ. वमोजिम  -   ४८/८/२
४.    जेठ मैना न्वागी पूजा होम सरजाम   - ३५/३७/२
   गौदान गाई १    -    २/५०
   अक्षेता पूजा     -   १/६२/२
   खिर पकाउनकालागि    -    १५/४
   चण्डी आवर्ते     -    १/४४
   ध्वजा वतिको कपडा      -  ३/५०
   वेलपत्र फूल श्रीखण्ड  -      /२०
   भेटी    -     १/—
   होमवतिको घ्यू     -   २/५०
   जौ तील     -    /५०
   धूप दीप पञ्चामृत नैवेद्य      -  /५०
   भैरवहरुलाई वलि वापत  -   ४/—
   खिरमा राख्न सक्खर      -  /२७
   गणेश, कलश, नवग्रह, धुप      -  १/—
   रुद्री आवर्ति      -   १/—
५.    पर्वमा गुठियार कामदार भलादमी समेतको भोज— ६/४८
   चामल पाथी ९         ४/५०
   नून, वेसार, तरकारी    /७५
   दाल पाथी १     /९८
   पिठो सक्खर दहि    /२५
६.    कार्तिक मैनाका न्वागी एै. बमोजिम पूजा भोज— ४१/८०/२
७.    विजूवत संक्रान्तिको    ,, — ४१/८०/२
८.    सावन मैनाको पूजा         — ४१/८०/२
९.    सावन मैना वति वालन         — २/४१
१०.    श्रीकेदार थानमा गौदान गाई     — २६/४१
११.    आश्विन वडा दशैंको पूजा भोज सरजामथप    — ३/६०
१२.    गुठियार कामदारको खानगी     — २१/४०
   पूजाहारी किस्ने पैतोला उपाध्यायको रु.    — २/५०
   ऐ. विरभान के         — २/५०
   धामी परे बडू         — २/—
   मु. मौरे बडू         — ३/५०
   मु. किसने बडू         — ३/५०
   पानी बोक्ने दलुवा बोहरा समेत    — १/—
   माडौ छाउने कैलो बडू समेत     — १/५०
   भण्डारे विरभान बडू         — २/—
   वाजा वजाउने तुलसे दमाई        — १/—
   लिपपोत झाडू बढारु गर्ने कल्यान वोहरा    — १/—
   भोकर झ्याली बजाउने  गणेश बोहरा — १/५०
   दाउरा पात ल्याउने कलुवा लुहार    — १/—
१३. बाँकी कसर रु १७/४९ बाट गुठीमा बनाउनु पर्ने
   लम्बाई १४ चौडाई ७ अग्लो ६ गज भएको ढुंगाले बनेको
   ढुंगाले छाएको श्रीकेदारको मन्दीर    — १
   धर्मशाला साँढे नौ गज लम्बाई चौडाइ साँढे चार गज उचाइ
   चार गज भएको धर्मशाला        — १
   ढुँगाको परखाल        — १
   भण्डार दुई तले ढुँगाले बनाएको    — १
   ढणौट थानको श्री केदार मन्दीर    — १
   पर्खाल ४० गज लम्बाइ        — १
   दुइ तले लम्बाई ९ इन्च चौडाइ ४ इन्च भएको  — १
   लम्बाइ ४ चौडाइ २ गज भएको भण्डार    — १ । }…………………………………………………………………………
…..यसै आधारमा यो श्रीकेदार आल ( हालको अपभ्रंसित नाम सुर्काल ) भरीको जग्गाको पोत बापत आउने रकमबाट माथी तोकिए बमोजिम खर्च गरिन्थ्यो । र हाम्रा चाडपर्बहरुमा परम्परा अनुसारका अनुष्टान पूरा हुन्थे । खर्च र गुठीको आम्दानी सापेक्ष रुपमा बढदै जाने मान्यताका आधारमा हामी गुठियारहरुले येनकेन परंपरा हालसम्म चलाई आएकाछौ । यदाकदा गुठी संस्थानले समेत पुजारीलाई माल अड्डा मार्फत थप पुजा खर्च दिने गरेकोछ । यो आधारमा हामी गुठियार मात्र हौ, जग्गाधनी होइनौ । हाम्रो पुरै गाउँ र आल वरपरका केही गाउँमा समेत गुठी ब्यबस्था बमोजिमका प्रथा परंपरा अझै जिउदै छन । यसरी यहाँका प्रतेक देबीदेवताका स्थानहरुमा आआफनो प्रचलन अनुसारका गुठी छन । त्यो बिबरण बिस्तार भयले यहाँ राख्न सकिएको छैन । यो बिशद र बेग्लै अनुसंधानको बिषय हुनसक्छ । यहि गुठी अन्तर्गत नै हाम्रा देवस्थल , भन्डार, प्रथा, परंपरा र पर्व उत्सबहरु पनि संरक्षित मानिन्छन । गुठीको प्रस्तावित बिधेयकले हाम्रा गाउँमा के के असर पर्नेछ, चिन्तनशील जमातले बिचार गर्ने नै छ ।
यो त सानो गाउँको सानो गुठीको प्रतिकात्मक कुरा मात्रै हो । पशुपति गुठी, स्वर्गद्वारी गुठी जस्ता ठुल्ठुला गुठीमा यो संशोधनबाट पर्ने ब्यापक असरको संभावित कल्पनाले नेपाली जनमानस उद्वेलित भएको हो ।
गुठी ऐनको प्रस्तावित संशोधन
हाल गुठी ब्यबस्थामा परिबर्तन गर्ने उद्देश्यले संसदमा नयाँ बिबादित बिषयले प्रबेश पाएकोछ । प्रस्तावित विधेयकमा रहेको ‘यो ऐन प्रारम्भ हुनुअघि कायम रहेका छुट गुठी र सार्वजनिक गुठी यो ऐन प्रारम्भ भएपछि राजगुठीमा परिणत हुने र त्यस्ता गुठीका सम्पत्ति, जायजेथा, देवदेवीका प्रतिमा आदिमा भइरहेको गुठियारको हक र दायित्व प्राधिकरणमा सर्ने (दफा २३)’ प्रावधानले देशभर सञ्चालनमा रहेका विभिन्न समुदायका कुल, वंश, परम्परा, ‘धर्म’, संस्कृतिसँग जोडिएका गुठी, मदरसा, मस्जिद, मन्दिर, चैत्य, वह, वहीहरू सबैको सरकारीकरण गरिने स्थिति देखिएकोछ  । सो विधेयकले देशभरका गुठीको एकीकृत विकास, सञ्चालन, व्यवस्थापन र प्रशासनका लागि राष्ट्रिय गुठी प्राधिकरणको परिकल्पना गरेको छ । यस्तो प्राधिकरणले गुठीका चल–अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न र आवश्यकताअनुसार बेचबिखन गर्न सक्छ । सपष्ट छ , यो गुठी प्राधिकरणमा सरकारले तोकेका मानिसको हाली मुहाली रहनेछ ।
यो नयाँ संशोधन  लागू भएसँगै गुठीको सम्पूर्ण हक, दायित्व प्राधिकरणमा सर्ने छ । गुठीको जिम्मा गुठीयारको हातबाट खोसिएर प्राधिकरणमार्फत कर्मचारीमा जानेछ ।
प्रस्तावित ब्यबस्थाले यस अघि कायम रहेका छुट गुठी र सार्वजनिक गुठीहरु यो ऐन प्रारम्भ भएपछि स्वतः राजगुठीमा परिणत हुनेछन् र राजगुठीमा परिणत हुने छुट गुठी र सार्वजनिक गुठीको चल अचल सम्पत्ति, जायजेथा, देव देवीको प्रतिमा आदिमा भइरहेको गुठीयारको हक र दायित्व गुठी प्राधिकरणमा सर्नेछ । अर्को शब्दमा आजसम्म हामी गुठीयारहरुले आफनो मानि आएको जग्गा जमीन लगायत हामीले संरक्षण गरि आएका सार्बजनिक देवस्थल, धर्मशाला, पाटी– पौवा, इनार, पोखरी, तलाउ, धारा, प्याउ, बाटो, घाट, पुल, चौतारा, गौचरन, बाग, बगैचा, जङ्गल, पुस्तकालय, पाठशाला, औषधालयका घर वा संस्था अब सरकारका हुनेछन । यिनको उपभोग र संचालन खटाइएका कर्मचारी मार्फत गुठी प्राधिकरणले गर्नेछ ।
संशोधनको मूल चरित्र र संभावित असर
यो बिबादित प्रयासमा समाजवादोन्मुख संविधानको कार्यान्वयनमा जुटेका र आफ्नो पार्टीको नाम कम्युनिस्ट लेखाउन रुचाउनेहरू सत्तामा भएका बेला सार्वजनिक स्वामित्वमा रहेको गुठीको जमिन मासेर मोही र हकवालाका ‘नाममा’ गुठी प्राधिकरण बनाइ निजीकरण गर्न थालिनेछ । यसले‘वामपन्थी’ सत्ताधारीको समाजवादको मूल चरित्र कतातिर लक्षित छ, सहजै बुझ्न सकिन्छ । यो ऐनले गुठी धर्म, संस्कृति, सम्पदा र परम्पराको अपनत्व र थालनी आधार प्राचीन लिखत, दानपत्र, लालमोहर, खड्ग निशाना, सनद, सवाल, समझदारी पत्र र अडा अदालतको फैसला र आदेश, मिलापत्र परम्परागत अधिकारलाई पूर्ण रुपमा लत्याएको छ । गुठीको प्रस्तावना नै गम्भीर त्रुटीपूर्ण रहेकोछ ।‘विधेयकको प्रस्तावनाले गुठीको जग्गाको उत्पादकत्व बढाउने विषयलाई मात्र प्राथमिकता दिएर धर्म, संस्कृति, सम्पदा र परम्परालाई सोझै बेवास्ता गरिएकोछ ।
तमाम जातजातिभित्रको हरेकजसो गोत्र, कुल परिवारले आफ्नो हैसियत अनुसार कुलपूजा, भूमिपूजा, पारिवारिक भेलाका लागि विभिन्न स्तर, प्रकारका गुठी स्थापना गरेको पाइन्छ । त्यसैले मर्दापर्दाका बखत परिपालन गरिने सांस्कृतिक–सामाजिक रीतको प्रक्रियामा भरोसा दिने काम पनि गर्छ । तर यो विधेयक कार्यान्वयनमा आएपछि त्यस्ता तमाम कुल, गोत्र, बन्धुबान्धव संगठित दर्ताविहीन गुठीहरूको अनिवार्य तवरले सरकारीकरण हुनेछ ।
जुनसुकै तवरले त्यस्ता गुठीहरूको स्वामित्वमा रहेको जमिन र सम्पत्ति पनि सरकारीकरण भई त्यस्ता कुलपूजा गर्ने स्तरका गुठीहरूको सञ्चालकमा समेत मौजुद सरकारले इच्छ्याएको व्यक्ति आई पारिवारिक गुठीहरूको खटन–पटनसमेत उनीहरूबाटै हुनेछ । भूमिपूजनको संस्कृतिबाट बाँधिएका नेपालका अनेक जनजाति र समुदायमा रहेका विशाल तर दर्ताविहीन गुठी चरित्रका तमाम भूमेपूजाका लागि संरचित संस्थाहरू उसै गरी साबिकका गुठियारहरुबाट छिनेर सत्तासीनका वफादारहरूमा पुर्‍याइनेछन् ।
यस अघिका यस्तै दुष्प्रयास
ईतिहास भन्छ,‘राजा रणबहादुर शाहले गुठीलाई अलि–अलि बिगार गरेका थिए । पशुपतिनाथको तहबील भन्डार नासेर फौजलाइ तलब बाँडेका थिए रे  । त्यसपछि पनि माओबादि जनयुद्धका नाममा मठमन्दिरहरु नै तारो बनाइएका संझना सुदुर पश्चिममा त आलै होलान । त्यसबेला लुटिएका भन्डारहरुका कथा अहिले पनि गाउघरमा सुनिन्छन । स्वर्गद्वारि गुठीको सैयौ बिघा जमीन अझेै पनि अबैध कब्जामा छ । त्यसको दुष्परिणाम ब्यक्ति र समाजले अझै बेहोरिरहेकैछन । माओबादी सत्तासिन भएपछि पशुपतिको पुजारी फेर्ने पहिलो प्रयास गरे । सत्ता बाहिर गएपछि प्रचण्डले ` पशुपति, राष्टपति र सेनापति जस्ता तीन पतिसंग हारेको´ भनेको  ठट्यौली चर्चामा थियो । बाबुरामको पालामा गुठीले ब्यबस्था गर्ने भक्कुको राङोबाट आशलाग्दा पठित उनै बाबुराम ओरालोतिर धपाइए । झन अहिले त गुठी समाप्त पार्ने विधेयक नै ल्याइएको छ । यो कथित दुष्प्रयासका पछाडी ‘विभिन्न लिखतबाट प्राप्त भएका गुठियारको धार्मिक स्थलको सबै अधिकार समाप्त गर्न, गुठियारलाई अधिकार प्रदान गरिएका लिखत निष्क्रिय गर्न र त्यस्ता धार्मिक स्थलको सञ्चालन बन्दोबस्त गर्ने नाममा गुठीको सम्पत्तिमा आँखा लगाइएको बुझ्न कुनै कठिनाइ छैन । स्वार्थ समूहले गुठीको व्यवस्थापन गर्न ऐन ल्याउन लागिएको बताए पनि यो चलाखी पञ्चायतकालीन भूमि ऐनको उद्देश्यको भद्दा नक्कल देखिन्छ । फेरि एक पटक गुठीका नाममा रहेको सम्पत्तिबाट गुठीको सरोकारवालालाई निकालेर नयाँ ‘कमैया’ बनाउने र वफादारहरूलाई पुस्ता–दरपुस्तादेखि चलिआएका गुठीको ‘दर्तावाल सरकारी साहू’ बनाउने षडयन्त्रको खाका कोरिएकोछ  ।
झट्ट हेर्दा गुठीमाथि मात्रै यसको प्रहार देखिए पनि सामूहिक सम्पत्तिका रूपमा रहेका तर दर्ता नभएका वनजङ्गल मात्रै हैन, अन्तिम संस्कार गरिने घाटहरूसमेत यसको निसानामा पर्नेछन् । ऐनमा राखिएको गुठीको परिभाषा महलले नै यसलाई पुष्टि गर्छ । प्राकृतिक स्रोतमाथिको स्थानीय बासिन्दाको अग्राधिकार पनि सरकारी सम्पत्तिका नाममा छिनिदै जानेछ । राजगुठी र छुटगुठीबाहेक विगतमा सर्वसाधारण आफैँले व्यवस्थित गर्दै आएको ‘निजी गुठी’ हरु समेत यो विधेयकको परिकल्पनाअनुसार ‘सार्वजनिक गुठी’ बनेर समाप्त हुने स्थिति छ। संविधानको धारा २६ ले प्रत्याभूत गरेको ‘धार्मिक स्वतन्त्रता’को हकमा समेत यो विधेयकले दखल गर्न खोजेको देखिन्छ। गुठीका जग्गा २५ वर्षका लागि लिज करारमा दिन सक्ने व्यवस्था गरिएको छ। यसले मूल्यवान् जग्गा आफूले चाहेका स्वार्थ समूहमा पार्नसमेत सहयोग पुग्नेछ । पुर्ब राजाको सम्पतिबाट बनाइएको नेपाल ट्रस्टका जग्गा व्यापारिक प्रयोजनका निम्ति समेत प्रयोग गर्न पाइने भन्ने व्यवस्था गरी यसअघि नै स्वार्थ समूहका नाममा पारिसकेको घटना गुठीका सम्बन्धमा पनि बिर्सन मिल्दैन । यसै गरि अब नेपाली समाजको स्वत्वमाथि सत्तासीनहरूको स्वार्थको एसिड छ्यापेर बिरुप बनाइ सरोकारवाला समुदायलाई कुल, भूमि, रीति, संस्कृति र परम्पराबाट बेदखल गरिने र नयाँ गुठी प्राधिकरणको जग्गालाई नयाँ ‘बालुवाटार’ बनाएर त्यसको स्वामित्व पुराना सुकुम्बासीबाट उमारिएका नयाँ ‘विष्णु पौडेल’हरूलाई सुम्पने प्रपंचको गुरुयोजना खुलेरै आएको छ ।
परिणाम स्वरुप,गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’  आएको विधेयकको बिरोधमा राजधानीमा मसाल जुलुस र सभा भएकाछन । सदन र सडकमा चर्को विरोध भएको छ । विरोधमा राजधानीभित्रै निकालिएको  मसाल जुलस र बिरोध प्रदर्शनमाथि बल प्रयोग गरिएकोछ ।
तर सरकारले धर्म  संस्कृति माथि किन प्रहार गर्दैछ ? अब कुनै उतर खोज्नु पर्दैन । यहि ' शक्तिशाली` सरकार संलग्न भएर होलिवाइन खाने-छर्किने कृश्चियन सम्मेलन गरिएकोछ । नेपाली गरिबहरुको मर्ममाथि प्रहार गरेर धर्मान्तर अभियान चलेको छ । सरकार मौन छ, तर जनता बुझ्दै गएकाछन् ।
.. र फेरी सुदूरतिरकै कुरा
एकातिर गुठीमा ` क्रमभंग ´ गरिदैछ । अर्कोतिर पर्यटन प्रवर्धनका नाममा सुदूरपश्चिम सरकारले समुदाय विशेषका मन्दिरमा करोडौँ बजेट खर्च गरिरहेका बेला पौराणिक महत्वका धार्मिक स्थल ओझेलमा परेका छन्।  ससर्त अनुदान र प्रदेशसभा सदस्यहरुको प्रदेश पूर्वाधार विकास कार्यक्रमको समेत गरेर झण्डै ३० करोडको लगानीमा प्रदेशका ९ वटै जिल्लामा करिब चार सय मन्दिर निर्माण गरिरहेको छ। प्रदेश सरकारले मन्दिरमा गरेको लगानी सामाजिक दृष्टिकोणका हिसाबले उचित भएपनि पर्यटकीय दृष्टिकोणले उचित नभएको पर्यटन व्यवसायीहरुले बताएका छन् । सांसदहरुले नै यसरी जथाभावी मन्दिरमा गरिएको लगानीले प्रतिफल नदिने भनेकाछन । प्रदेश सरकारले समुदाय र जाती विशेषका मन्दिर निर्माणमा करोडौँ बजेट खर्च गरिरहेका बेला विशिष्टिकृत धार्मिक महत्व बोकेका र प्रदेशको धार्मिक पर्यटन प्रवर्धनमा कोसेढुङ्गा सावित हुने स्थललाई भने प्राथमिकतामा राखिएको छैन्।
सात बैनी भगवती र चार केदारधामलाई जोडेर धार्मिक पर्यटन सर्किटको रुपमा विकास गर्न सकेमा विश्व भरीबाट वेद र पुराणमा विश्वास राख्ने मानिसहरु सुदूरपश्चिम दर्शन गर्न आउने विश्वास समेत गरिएको थियो । यसअघि झण्डै एक दशक अगाडी नीजि क्षेत्रको सक्रियतामा भएको अध्ययनले यी स्थान जोडने सर्किटको  विकास गर्न सकिने देखाएको थियो। तर राज्य स्तरबाट पहलकदमी नहुदा उक्त अवधारणले मुर्त रुप लिन सकेको छैन् । धार्मिक पर्यटन प्रवर्धन गर्ने नाममा सांसद र मन्त्रीहरुले समुदाय र जाती विशेषका मन्दिरमा करोडौँको लगानी गरिरहेको कुरालाई धेरैले सांसद र मन्त्रीले कार्यकर्ता खुसि बनाउने माध्मम हुने भनेर शंका गरीराखेकाछन । दिनेश खबरका अनुसार पर्यटन मन्त्रीको गृह जिल्ला समेत रहेको बैतडीमा ३ करोड २० लाखमा समुदाय विशेष र जाती विशेषका ६७ वटा मन्दिर निर्माण हुने भनिएकोमा  प्रख्यात मन्दिर ( जस्तो-त्रिपुरा सुन्दरी, निङ्लासैनी र डिलासैनी आदि )का हकमा योजना नै समावेश नगरिएको पाईएकोछ । सुनिन्छ, मोफसलतिर प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटलाइ केही स्थानमा बाँदर लखेट्न खर्चिने भएको छ । त्यसो गर्दा यो सदुपयोग हो वा दुरुपयोग के हुन्छ, यो त योजना बनाउने नै जानून । तर देशमा कम्युनिष्ट सरकारसंगै होलि वाइन भित्रिनु र धर्म- संस्कृतिमाथि निरन्तर प्रहार हुँदै क्रिश्चियन चर्चको संख्या बढ्नु एउटा संयोग मात्र नहुन सक्छ । यी दुबै बाद ‘गफखेती’ का भरमा फस्टाएका छन्  । भनिन्छ, यी दुबैको मुख्य अन्तर भनेको एउटाले मानिसलाई मरेपछि गाड्ने कुरा गर्छ र अर्कोले जिउँदैमा गाड्ने काम गर्न सक्छ । सबैलाइ चेतना आओस् ।
***