प्रेमनगरका कथा
पहाडी खोचभित्रको त्यो गाउमा धेरै झुप्राहरु सार्की, कामी र दमाइका थिए । तीन घर खत्री र ८/१० घर क्षेत्रीहरुका थिए । मुलमा एकै घरका भने पनि स्थायीरूपमा बसेका गिन्तिका चार घर ठगुरीका थिए । यसमा पनि जेठा बाबुसापको घर सबभन्दा ठुलो थियो । परको सानो खोलाको खोचैमा दुइतीन घर बाहुनका पनि टुक्रुुुुक्क बसेका जस्ता देखिन्थे ।
यो गाउमा कानून या संविधानका दफाहरुका बारेमा कहिल्यै केही सुनिएन । बरु ससाना घर झगडा भने बरोबर भैरहन्थे । यी विबाद सबैको सहमतिमै सकिन्थे । सबैले आआफनो परम्परा धानेका थिए । आफ्नो जातअनुसारका पेशाबाट बनीबुतो गरी कालका दिन पूरा गर्ने बाहेक अरु केही धन्दा थियो जस्तो लाग्दैनथ्यो । एक किसिमले सुनसान बगीरहेको छेउको सानो खोला जस्तै यस ठाउँको अबिच्छिन्न चर्या चली रहेको थियो । वरपरका गाउलेहरु सिंगै खोलाभरीको यो सानो गाउँलाइ रौटेखोलाको नामले चिन्थे । उहिले आफुलाइ जंगलको जेठो राजा मान्ने बनरौत `राउटे`हरुको एक हुल यो खोचमा बसेको थियो रे । त्यसै कारण यो खोचको गाउँ नै रौटेखोला कहलियो । पछिल्लो पटक राजाको खलक मानिने ठगुरीहरु बस्ने अरुभन्दा अग्लौ घरहरु भएको ढिस्कोलाइ उनीहरु आफै कोट भन्ने गर्थे ।समष्टिमा यो पहाडको सामान्य गाउँ थियो । गाउँबाट थोरै मानिस अन्यत्र सहरतिर झरेका थिए । कोही भारी बोक्ने र कुल्ली कामका लागि झुलाघाट पारी समेत पुग्थे । ज्यादाजसो गाउकै खेतिपाति गर्थे । गोठमा गाई पाल्थे । येनकेन गुजारा चलाउथे ।
'बल कम हुनेको बुद्धि बढी हुन्छ । मान्छे बुद्धिले पनि खान सक्छ ।' जेठा बाबुसापको यो भनाइ लागु हुन्थ्यो यस गाउँमा । वहाँको बुद्धिदेखि सबै झस्किन्थे पनि । 'कतै केही गल्ती भेट्टाए भने थुत्नसम्म थुत्छन यी सिर्के राजाले, जोगिएर बस्नु है ।' बूढाहरू छोरा नातिलाई अर्ति दिन्थे। निधारभरि चन्दनका बहुरंगी सिर्का लगाएर ठाँट देखाउदै गाउँमा डुल्न निस्किने हुँदा गाउलेहरु उनलाइ ब्यंग गरेर सिर्के राजा पनि भन्दथे ।
पहिले त झन् कुरै थिएन, बहुदल आएपछि पनि उनीहरूको व्यवहार र रहनसहनमा कुनै परिवर्तन आएको थिएन । 'ऐन–कानुनले जेसुकै बनोस, केटा हो! यहाँ न बहुदल न सहुदल । रीति–व्यवहार, छोइछिटो बार्नैपर्छ ' यसै भन्थे यहाँका मिश्रित जातिका बुज्रुकहरू पनि । खिचडी गाउँ भएर पनि पुरानो प्रचलन त्यति बिग्रिएका थिएनन् । यसैपटक भने पत्याउनै नसक्ने घटना भएको खबर फैलियो यो गाउँमा । 'एक कान–दुई कान–मैदान' जति ढाकछोप गर्न खोजे पनि हावासँगै हल्ला फिँजियो महामारीजस्तै ।
'चार–चारवटा छोराछोरीकी आमा भएर पनि कस्तो बिग्रिएकी त्यो दमिनी । कुलकै कलंक भएर निस्की। ,
कानैमा मुख लाएर साउति सकेपछि प्रकटमा यसरी कुरा काट्नेहरू गाउँमा भरमार भए । गाउलेलाई झन भारी नै पुगिहाल्यो।
बिग्रिन त दमिनीमात्र होइन, ऊसँग लसपस गरेको आरोप लागेको झुसे लुहार पनि बिग्रिएकै हो। जातमा उस्तै–उस्तै भए पनि एक–अर्काले छोएको भात–पानी चल्दैनथ्यो दुवैथरिको। संविधान, ऐन–कानुन र सहरबजारमा होस् वा संघ–संस्थाहरूमा, छुवाछुतविरुद्ध जति नै आवाज उठे पनि यो गाउँलाई परिवर्तनको हावाले छुुनै सकेको थिएन। एकआपसमै पनि पानी बारिन्थ्यो। भातभान्सा छोइछिटो हुन्थ्यो । यस्तो सदाचार चलिरहेको अवस्थामा बूढी हुन लागेकी दमिनीसँग उमेर छिप्पिएर पनि बिहा नभएको झुसेको लसपस! खबर सडेको सिनोको दुर्गन्धजस्तै खोला भरी बगीरहेको थियो ।
'गाउँ कुह्यो अब, के बसाइँ भयो र रीतिथिति-जातभात हराएपछि । यिनीहरूलाई त गाउँ निकाला गर्नुपर्छ ।' बूढापाकाहरू सल्लाहमा लागे । गाउँलेहरुले झुसेका सम्बन्धमा अरु पनि गाइँगुइँ कुरा सुनेका थिए, तर मुख फोरिहाल्न सकेका थिएनन्।
उसको जीउडाल बलियो थियो। दुई दिनको काम एकै दिनमा गर्न सक्थ्यो ।ठुलठुलो भारी सजिलै घर पुर्याउँथ्यो। 'अब भने लाठे भएछ झुसे, जे जस्तो काम आए पनि पछि हट्दैन है गाँठे' ऊप्रतिका टीकाटिप्पणीहरू यस्तैउस्तै हुन्थे।
गाँउमा यस्तो हल्ला चलिसकेपछि 'के खोज्छस् काना– आँखो’ भइदियो जेठा राजाका लागि। उनी मुद्दा–मामिलाका लागि खप्पिस थिए। बाहुनहरूसँग पनि कुम जोर्न खोज्ने यी बाबुसाप अरुलाई थर्काएरै बसेका थिए। उनले मौकाको सदुपयोग गर्न चाहे। आफ्ना दुई छोरालाई बोलाएर भने– 'ए केटा हो, दुइटा बलिया जेउणा तयार गर । यस्तो हुन थालेपछि कसरी बस्नु यो गाउँमा?' छोराहरूसहित हान्निए झुसेका घरतिर। छोराहरूको बल र आफ्नो हैकमले झुसेलाई दाम्लोले कसेर– 'ल हिँड अब अड्डाथानातिर, बूढी दमिनीसँग सुत्नेलाई यो गाँउमा त्यसै कहाँ छोडिन्छ र! अड्डामा लगेर ठिंग्याएपछि देख्छस् !' भन्दै पशुलाई जस्तै घिस्याउन थाले । झुसे उँधो मुन्टो गरेर बसी रह्यो ।
झुसेका परिवारको सातो उड्ने नै भयो। अनुनय–विनय गर्न थाले खोले राजासँग। अड्डामा नलगी गाउँमै मिलाउन बिन्ती गरे। झुसेले सहजै आफ्नो गल्ती स्वीकार गरीसकेकै थियो ।
'यस्तो कुल कलंकित गर्ने जघन्य अपराध कसरी मिलाउने?' जेठा बाबुसाप कड्किए। झुसेका परिवारले जे–जसरी भए पनि घरमै मिलाउन खुट्टा समाते।
'त्यसो भए ल भन त कसरी मिलाउने?' जे–जसरी भए पनि मिलाउन गरिएको आग्रहलाई राजा खलकले राम्रो अवसर सम्झिए। वार्ता भयो, गोठको एकमात्र लैनो भैँसी फुकाइयो। झुसेकी जहान र आमाका नाक–कानका माखामुन्द्रा फुकालिए। पानी खाने गरेको गाग्री, जाँत बोगाल टार्न राखिएका तीन हजार रुपैयाँ पनि रहेनन्।
त्यसपछि झुसेको घाँटीबाट फुकाइएका तिनै दुइटा दाम्ला फुकालेर यहि टोली दमाइका घरतिर गयो । सोझो दमाइलाइ हकारपकारमा पारियो ।
'तेरिमा ढोलेनी, जातभातको ख्याल नभएकी। घरमा लोग्ने छ, यतिका छोराछोरी छन् र पनि ल्वारसँग लसपस गर्ने नकचरी, यस्ता गाउँ बिगार्नेलाई जेल नहाली कहाँ छोड्छु र! ल हिँड् अड्डा' जेठा राजाले आफ्ना छोराहरूको सहायताले दमाइ दम्पतीलाई दाम्लालेे बाँधेर घिस्याउन थाले।
दमाइलाई ठूलै आपत् आइलाग्यो। बाबुसापले नछोड्ने भए। सोझो दमाइ श्रीमतीलाई त्याग्न पनि सक्दैनथ्यो। छोराछोरीको बिजोक हुन्थ्यो फेरि। चुक्न त चुकेकै रहिछे भन्ने दमाइलाई पनि विश्वास भयो। यिनका चंगुलमा पारेपछि सितिमिति उम्किन दिँदैन भन्ने दमाइलाई स्पष्टै थियो।
दमिनीले केही समय यता निकै पैसा खेलाउँथी। मेलापात जान पनि अल्छी गर्ने दमिनीले के गरिरहेकी छे भनेर शंकाको घेरामा राखे पनि दमाइले मुख फोरिहाल्न सकेको थिएन। त्यसैको परिणति हुनुपर्छ आज मैले भोेगेको यो दसा भन्ने सम्झ्यो उसले पनि। अनुनय विनय गरेर जे–जसरी भए पनि समस्या नटुंग्याइ भएन। अड्डामै पुर्याए भने त कत्रो आपद् आइपर्ने हो? बरु भएको सर्वस्व सुम्पिएरै भए पनि मिलाउनैपर्यो भनेर दमाइले जेठा बाबुसापका खुट्टा समात्यो।
बल्ल जेठा राजा मुसुक्क मुस्कुराए– 'यस्तो जघन्य पाप पनि कसरी त्यसै छाड्ने थाहा पाइसकेपछि। कारबाही नगरी त छोड्ने कुरै आउँदैन पनि। यस्तै भइरहे के बसाइँ हुन्छ गाउँको यो खोलामा अब। तैपनि आइन्दा यस्तो नहुने वचन तेरी स्वास्नीले दिन्छे भने र मेरो चित्त बुझाउँछस् भने विचार गरौँला' उनमा दयाले पग्लिएको भाव देखियो ।
दमाइको घरको लैनी गाई, दमिनीका भएका फुली बुलाकी, जोरजाम गरेर राखेका पाँच हजार रुपैयाँ सबै उनलाई सुम्पिएपछि घाँटीमा बाँधेको दाम्लो फुकाइदिए। दमाइ परिवार र लुहार परिवारले संयुक्तरूपमा गाउँलेलाई भोज खुवाउनुपर्ने निर्णय पनि बाबुसापले नै गरिदिए।
त्यति गरेपछि दुवै परिवारले गाउँमा यथास्थितिमा बस्न पाउने भएका थिए।
केही दिनपछि सहभोज सहितको त्यो गाउँभेलामा दमाइ र कामी परिवार सबै उपस्थित थिए। खत्री र क्षेत्री परीवारका केही मानिस पनि उपस्थित थिए, तर गाइँगुइँ अरु हल्ला समेत सुनिसकेकाले ठगुरी भने आएनन । दमिनी र लुहारको अनैतिक सम्बन्ध त स्पष्टै थियो। संयुक्त भोज खुवाएर चोखिने निर्णय भइसकेको थियो। यसका लागि बाहुन, ठगुरी क्षेत्रीलगायत सबै जातका मान्छेलाई चल्ने भान्से लगाएर अर्को भोज खुवाउने बन्दोबस्त समेत हुँदै थियो। तर, अब हर्के क्षत्री र उही दमिनीको पनि अनैतिक सम्बन्धका कुरामा समेत साउति हुन थालेको थियो । मुख फोर्न नसकेकाहरू हो हो, मैले पनि मेलामा जिस्किरहेको देखेको भन्न सक्ने देखिए। दमाइ नभएको अवस्थामा हर्केलाइ दमाइकै घरमा छिरेको देखेको हुँ भन्ने पनि निस्किए। नीजले अन्नका पोकाहरू दमिनीलाई दिएको देख्नेहरूले पनि मुख खोल्ने अवसर पाए ।त्यसदिन यो ठुलै छलफलको बिषय बन्यो ।
दमिनी उस्ती हो कि ऊसँग लसपस गर्ने लाठेहरू उस्ता हुन् भन्ने छुट्याएर पनि केही हुनेवाला थिएन। बाबुसापले आफ्नो अनुकूल बनाएर समस्याका पोकाहरू फुकाइदिँदै आएका थिए। यो ठूलो समस्यामा भने उनले पनि हात हाल्न सकेका थिएनन्। गुप्तिि तरिकाले पत्तोचाहिँ सबै लगाइ सकेका थिए ।
क्षत्रीलाई दमिनीको बात्! कसले मुख खोल्ने पहिले भन्नेमा गाउँघरमा मुख ताकाताक भइरहेकै अवस्थामा उनै बाबुसापले गाउँभेला गराइदिए।
दमिनीलाई केेरकार गरियो। उसले पनि सजिलै स्वीकारी दुबै जनासँग लसपस हुँदै आएको हो भनेर। दमिनीले आरोपजति सबै झुसे लुहारलाई नै थोपरी। उसैले ललाइफकाइ गरी अन्न–पैसासमेत दिएर आफूसँग अनैतिक काम गर्न लगाएको र हर्केसंग पनि कुरा मिलाएको बताइ।
हर्केका परिवारको टाउको निहुरियो। चार छोराछोरीकी आमासँग सुत्ने हर्केका कारण परिवारले आजसम्म धानेको इज्जत माटोमा मिल्यो। समस्या निकै गम्भीर देखियो। अर्को भेला भोलिपल्ट बस्ने र त्यो भेलामा हर्केलाई पनि उसका परिवारले कसैगरी उपस्थित गराउनुपर्ने सर्त राखेर त्यस दिनको भेला टुंग्याइएको थियो ।
हर्कबहादुर अर्थात् हर्केले ठट्यौलो बोल्ने स्वभावका कारण सबैको प्यारो हुन पाएको थियो । हुन त मेलापात गरेर जीवन गुजार्नेहरू १० वर्षमै घर छोडी सक्थे । बाहुन र ठगुरीहरु आफै हलो नजोत्ने र ठगुरानीहरुले खेतमा गै काम नगर्ने हुनाले फुर्तिला ठिटाहरु हलोको अगुवा समाउन सक्ने हुनासाथ हलीको काम सजिलै पाउथे । सानोतिनो खेती भएका घरहरूमा पहिले बानी परेपछि ठूला खेतीवालहरूकोमा चल्थे हलिया। हर्के पनि यतिबेलासम्म तीन घरको हलो जोत्दै गरेर अहिले भने जेठा बाबुसापकै मूलहलीमा दर्ता भइसकेको थियो । सहयोगीका रुपमा कहिलेकाहि झुसे लुहार पनि उसंगै काममा आउथ्यो । हलि खेतालाले खेतमा के कसो काम गरेकोछ , हेरबिचार गर्ने जिम्मा ठुली मैसापकै हुन्थ्यो । राजाहरुको चलनमा ढिलो गरि बिबाह हुन्थ्यो । मैसापहरुका हकमा पनि सामान्यत: बिबाहको उमेर पुगीसकेको थियो । बाबुसापको तीनवटी मैसाप मध्ये जेठी मैसाप पनि ज्यादै हँसिली फरासिली थिइन । उनीसंग हर्केको उठाबसी हँसीमजाक चलिरहेका चर्चा समेत गाउँमा उडी रहन्थे ।
हर्कै त्यसताका गाउको चर्चित नायक थियो ।
'चतुरेका दिन सर्लक्कै फर्किए । हलो ठेग्ने र मेलापात गर्ने भइसकेपछि अब केको दुःख उसलाई?' यसरी गाउँघरमा कोही खुसी व्यक्त गर्थे भने कोही ईर्ष्या पनि गर्थे। हर्केका दुई दाजुले छुट्टिएर बेग्लै घरजम गरिसकेका थिए। जे गर्न पनि बलै चाहिने। श्रीमतीहरू पनि बलैका भरमा मेलाबाटै बोकेर ल्याएका थिए दुई भाइले। हर्के कान्छोको भने बिहे गर्ने बेला भएर पनि हुन सकेको थिएन। बिहे हुन नसक्नुमा धेरै कारण थिए।
एकतले नाममात्रको घर! कटेरो नै भने पनि हुने। साँच्चै भन्ने हो भने लोग्ने–स्वास्नीले सुत्नेसम्मको ठाउँ पनि थिएन। दुई भाइ छुट्टिए पनि अरु दुइटी छोरी, बाबु–आमा, राखनधरन, चुलोचम्को, ओछ्यान, मुस्किलले चलेको थियो। परीवारको आफ्नो सानो बारी र घडेरीमात्रै थियो । हिम्मत गरेर जेठो र माइलोले गोठ बनाएरै भए पनि अलग भए । त्यस्तो बाँड्नुपर्ने के नै थियो र सम्पत्ति? तै पनि छुट्टिए, सानोतिनो रडाँको मच्चिहाल्यो।
'बजिया हो, बूढा भएका बाबु–आमालाई खुवाउनुपर्छ भनेर स्वास्नी कोरलेर निस्किएका' भनेर बाबु–आमाले रातोमुख गरे पनि यथार्थमा सँगै बसिरहने अवस्थै थिएन। अब हर्के नै यो घरको ठुलो सहारा बनेको थियो ।
कुरो सानै हो, तर झगडालु स्वभाव र शंका गर्नेहरूलाई पुगिहाल्यो। दिनभर दाउरा चिरेर कमाएको एकपाथी मकै हर्केले घर नलगेपछि शंकाका आँखा गाडिएका थिए। 'अहिले दिएनन् ज्याला, पछि दिने अरे' भनेर ढाँटेथ्यो पनि। तर, उसले एकपाथी मकै उत्तिनै बेला ल्याएको पत्तो लागिहाल्यो। यसपछिका फाट्टफुट्ट बालीहरू पनि उसले गायब पारेर आफूलाई झन् बढी शंकाको घेरामा पार्यो। परिवारका लागि अनुसन्धानको विषय थियो नै । र गाउँमा कतै खचपच या लसपस गरेको आशंका पनि गरेकै थिए ।
आज हर्केको परिवार समाजको आँखामा पतीत ठहरियो। आफूभन्दा तल्लो जातमा बिग्रिएकाले कसैले पनि हर्केमाथि सहानुभूति राख्ने कुरै थिएन। रिसाएका दाजुभाइ र आमाबाबुले हर्केलाई निर्घात पिटे। हर्केले आफ्नो गल्ती स्वीकार्यो, तर पनि कुटाइको क्रम रोकिएन। उसले अब गाउँमा नबस्ने, कालिपारका सहर गएर कुल्ली काम गर्ने वाचा–बन्धन गरे पनि बेहोस् नहुन्जेल उसका शरीरमा लात्ती, मुड्की, लठ्ठी बर्सिरहे। यो घटना गाउलेहरु सबैले थाहा पाए । तेसै राति जेठा बाबुसापको ठुलो घरबाट पनि चिच्याएर रोएको करुण नारीस्वर सुनिएको खासखुस पनि चलेको थियो । हो, त्यसपछि जेठी मैसापलाइ गाउँमा कसैले देखेन ।
भोलिपल्ट तोकिएमुताविक स्थानमा गाउँभेला सुरु भयो। हर्केलाई भेलामा ल्याउने जिम्मा पाएका उसका परिवारले उसलाइ उपस्थित गराउन सकेनन् । हर्के राति नै भागेको जानकारी सभालाई दिए। सभाले हर्के नआएकोले कुनै गम्भीर निर्णय गर्न सकेन।
'त्यसलाई जिम्मा लगाउनुपर्छ, बिग्रेको ठेट्नुलाई त्यसै छोड्नु हुँदैन' भन्नेहरू असमञ्जसमा परे। दमाइ उँधोमुन्टो लगाएर बसिरहेथ्यो भने दमिनी पनि अपराधबोधको भावमा निहुरिएर बसेकी थिइ । झुसे लुहार समेत कुनातिर टुक्रुक्क परेको थियो । 'हर्केले भागेर सुख पाउँछ र? कि तिमीहरूले नै भगाएका हौ? जसरी पनि त्यसलाई उपस्थित गराउनैपर्छ। नत्र तिमीहरूको परिवार नै बिटुलिन्छौ ! ´ गाउँलेले अन्तिम चेतावनी दिएर भेला टुंग्याएका थिए ।
तर हर्के पनि त्यसपछि गाउँमा देखिएन ।
केही दिन पछि गाउकै जंगलमा भेटिएको सडेगलेको लास हर्केकै भएको ठहर भयो । लासजाँच प्रकृति, मुचुल्का, पोस्टमार्टम आदि केही गर्न आवश्यक नै ठानिएन।
'आ, नदुखेको कपाल डोरी लगाएर किन दुखाउने! भन्नेमा सहमत भए सबै गाउँले। एउटा पातकीले समाजमा मुख देखाउन नसकेर आत्महत्या गरेको मानियो ।
आफ्नो जात–परम्पराअनुसार काजक्रिया सम्पन्न गरे हर्केका परिवारले। शुद्धशान्तिमा गाउँका सबैलाई भोज खुवाइयो।
कामी दमाइका परीवारले पहिलेकै जस्तो नियति बेहोरी रहे । खत्रीको एउटा फुल खेर गएको जस्तो ठानियो । हर्के मरेको हो वा मारिएकोहो, कसैले वास्ता राखेनन् ।
केही बर्षपछि जेठी मैसाप पिथौरागढतिरको कुनै मन्दिरमा " माता " बनेर बसेकिछिन भन्ने हल्ला सुनिएको थियो । भन्नेहरु त हर्के पनि उतै छ र जिउदै छ पनि भन्थे । बाबुसाप द्यौघातका कारण जिउ बाङ्गिएर अपांग बनेर बितेका रहेछन । अब गाउलेहरु सराबरी हुन थाले अ रे । अचेल भने यो गाउँलाइ मानिसहरु प्रेमनगर भन्न थालेका छन । कुनै दिन हर्कबहादुर र मैयासाप फर्केर आउनेे नै छन भन्नेेेेमा आशाबादि देखिन्छन ।
**
काठमाण्डौ
०७६/३/५
**
No comments:
Post a Comment