Tuesday, March 31, 2020

फरक तरिकाले बाच्न र समृद्ध हुन सिक्नु पर्छ





अब फरक तरिकाले बाच्न र समृद्ध हुन सिक्नु पर्छ 













केही यथार्थ

 बारे

  • निरन्तर परिबर्तन प्रकृतिको नियम हो, र हामीले पनि परिवर्तनलाई स्विकार्दै जानुपर्छ । तर फरक कुरा नै परिबर्तन भने हुंदैन । मैले सिकेको शिक्षामा नैतिकता थियो, विज्ञान पुरा थिएन होला । नैतिक शिक्षालाई कायम गर्दै, विज्ञान थप गर्नु पथ्र्यो होला । नैतिकताका नाममा रहेका अन्धविश्वासलाई हटाउदै, समाजलाई प्रगतिशील बनाउनुपथ्र्यो होला । तर हामीले देशको इतिहास, भूगोल, अर्थशास्त्र, गणित, नैतिक शिक्षा र साहित्यलाई सफाया गरिदियौं । आज हामीसंग आफ्नो पहिचान छैन, हामी घोर स्वार्थी, उपभोक्तवादी, ब्यक्तिवादी, अवसरवादी र आराजक भिडमा परिणत भएका छौँ । मानिसका प्रवृत्ति हेर्दा हामी पढेका मानिस भएछौं, तर अशिक्षित र आज्ञानी पनि भएछौं । हाम्रो शिक्षा गलत रहेछ । यो बिदेशी पैसा र योजनाको शिक्षाले हाम्रो सर्वनास गर्नेछ, शाशकको विचारधारा जेसुकै होस् । यस्तो माहामारी रोगलाई नियन्त्रण गर्न घरमा बस्नुहोस् भन्दा नमान्ने नागरिकको यो मति वर्तामान शिक्षाको उत्पादन वा परिणाम हो भन्न नसक्नु पर्ने कारण छैन ।
  • म गाउँमा पढ्थें । गाउँको स्कुल गाउँकै मानिस मिलेर बनाएको राम्रो भवन थियो । खेलकुदका लागि मैदान थियो, खेलकुदका प्रतिस्पर्धा हुन्थे । स्कुल जबसम्म समुदायले चलाए, शिक्षामा भ्रष्टाचार थिएन । तर जब शिक्षा निजीकरण मात्रै होइन ब्यापारीकरण भयो, त्यस्को परिणाम हाम्रो आँखा अगाडि छ । बिगत तीन वर्षदेखि प्रत्येक साल ४५ हजार विद्यार्थी विदेश गएका छन् पढ्न । प्रत्येक साल करिब ८० अरब रुपैयाँ कम्तीमा नेपाली आम्दानी विदेश गएको छ । हामीले टेक्सासमा बसेर टेकु अस्पतालमा कोरोनाले मानिस मेरेको हल्ला फिजाउने युवा उत्पादन गरेछौं । हातमा ६० हजारको मोबाइल आमाबाबुको आम्दानीबाट किनेर बिहान नौ बजे उठेर देशमा अवसर छैन भन्ने युवाको जमात सानो छैन । वर्तमान शिक्षाले देशप्रतिको जिम्मेवारी समाप्त पारेको रहेछ । जब मानिस आफ्नो परिवार, समाज र देशप्रती गौरव नगर्ने ठाउँमा पु¥याइन्छ, त्यो समाजमा अराजकताको डरलाग्दो भाइरस लागेको हुन्छ, अनि त्यो कोरोनाबाट के तर्सिन्छ ? हाम्रो शिक्षाले गुण होइन बैगुण शिकाएको रहेछ ।
  •  हाम्रा घरहरु अलिवरपर हुन्थे । गाइबस्तुका गोठ अलि पर हुन्थे । पानीका धारा मुहानबाट आउथे । रैथाने गाइ, भैंसी, बाख्रा, भेडा आदि थिए । नेपालमा पनि बिफर र दादुराको प्रकोप आयो । संसारमा अधिक मानिस त्यस ब्याधीबाट मरे । तर नेपालमा सिमित मानिस मात्र मरे । चीन र भारतमा पनि प्लेग आयो । तर नेपालमा त्यस ब्याधीले मानिस मरेका थिएनन । त्यसका पछाडि कारणहरु रहेछन् । हाम्रो बसोबास प्रणालीले सरुवा भाइरस रोक्दो रहेछ । बेलायती उपनिबेसले नेपालको जनसंख्यालाई उपनिबेस बनाएको थियो । सन् १९१४ देखि १९४५ सम्म हाम्रा आठ लाख मानिस युद्धमा प्रयोग ग¥यो, दस जानामा एकजाना मात्र देश फर्किए । दुइटा विश्व युद्धमा दुइलाख त मारिए नै । तर पनि हाम्रो जनसंख्या रोगले कहिल्यै घटेन । नेपालले बिनासक ब्याधी सामना गर्नु परेन ।
  • के कारण थिए ? पहिलो त हाम्रो बातावरण हो, जो अहिले डोजर आतंकको सामना गरिरहेको छ । हाम्रा बस्तीहरु, जहाँ घरहरु आलि वरपर थिए । हाम्रो अन्नबाली, तरकारी, सागपात र जडिबुटी हाम्रो शरीरलाई मिल्ने खालका थिए । जतिसुकै गरिबले पनि मकै, कोदो, स्थानीय धान, मस्याम, गहत, दाल र सागपात उत्पादन गररेर खाने चलन थियो । २०२५ सालतिरबाट विदेशी विकासे बोका आए रैथाने बाख्रा सकिए । विकासे आएपछि रैथाने गाई, भैंसी, भेडा सबै सकिए । किन र कसरी सकिए ? आज गाउँहरु उजाड भए । हाम्रो विकासका योजना कस्ले बनाए ?
  •  युभल नोह हरारी भन्छन्, कृषि क्रान्तिभन्दा पहिलाका होमो सेपिएन्सले समाज निर्माण गरे । मिथकहरु निर्माण गरी मानिसलाई समुहमा राख्ने आधार निर्माण गरे, भाषा र सञ्चारका प्रणाली निर्माण गरे । चिन्तन र मन्थनको क्रान्तिद्वारा आजको आधुनिक विश्वको जग निर्माण गरे । उनीहरु दिनमा छ–सात घन्टा खाना खोज्दथे । हरेक दिन फरक खाना खान्थे । उनीहरु समुहमा बसेर मनोरञ्जन गर्थे । उनीहरु खुसीसंग बाच्थे, भलै कतिबेला सिंहले माथ्र्यो थाह थिएन । तर हामीसंग कति समय छ, आराम गर्ने ? हाम्रो खाना त ‘कुर्कुरे र चाउचाउ’ भैसक्यो । ती आदिम मानिस अहिलेका मानिस भन्दा बलिया, अग्ला र तन्दुरुस्त थिए । उनीहरुले गाइबस्तु पालेका थिएनन, त्यसैले ब्याधीहरुका शिकार भएनन । जब मानिसले कृषि क्रान्ति ग¥यो, उस्ले खाने कुरा सिमित भए । मानिसले गाइबस्तु पाले । ब्याधीले मानिस मर्ने लागे । तरपनि उनिहरुसंग ब्याधीका विरुद्ध मुकाबिला गर्ने क्षमता थियोे र मानव जातीलाई मासिन दिएनन । आजको कथित विकास औद्योगिक क्रान्ति पछाडिको पुँजीवादको देन हो । यस्ले विज्ञान त निर्माण गर्याे, तर मानिसले हजारौं बर्ष देखि विकास गरेको मानव सभ्यता ध्वस्त पार्दै छैन ?
  • मेरा हजुरबुबा र बाबुको जति बल र ज्ञान मसंग छैन । मेरा हजुरबुबालाई गाउँको मात्र होइन जिल्लाभरीका मानिसका बारेमा थाह थियो, जनावरका बारेमा थाह थियो, बिरुवाका बारेमा थाह थियो, पुर्खाका नाम थाह थियो, कुन कुन ठाउँमा बसाइ सर्दै यहाँ आइपुगेको हो भन्ने इतिहास थाह थियो, नेपालको इतिहास थाह थियो, कुलो खन्ने प्रबिधि थाह थियो । अहिले हामीलाई के थाह छ ? मेरा मेरा हजुरबुबा औषधि नखाइ बांचे । हामी औषधिमा बांचिरहेका छौं । हामीसंग ठूलो बाटो छ, मोटर छ, अस्पताल छ । तर आज म अस्पताल गएँ भने डाक्टर डराउछन् । विज्ञानले खोइ त युरोप र अमेरीका बचाएको ? मलाई मेरो विज्ञानप्रति आज भरोसा छैन ।
  • के विज्ञानको दोष हो ? होइन, विज्ञानको दुरुपयोग समस्याका रुपमा आएको हो । युरोपले मानिसलाई जातका आधारमा विभाजीत गरेर, पुँजीवादी वर्गीयताको निर्माण गर्ने उपनिबेसको माध्यमले दुई सय वर्षको अधिनायकवाद नचलाएको भए, आजको दुनियाँ फरक हुने थियो । यो मेरो भनाइ होइन, पश्चिमलाई स्वर्ग देख्नेहरुलाई चित्त दुख्ला । यो इड्वार्ड सैडको भनाइ हो, उनी अमेरिकी हुन । पश्चिमको अहंकार हो, भनी नोम चोम्स्की भन्छन् । हरारी पनि त्यसै भन्छन् । आज मानिस सभ्यताका नाममा असभ्य देखियो । युरोपको उपनिबेसी अधिनायकवाद नआएको हुदों हो त कथित राष्ट्रियताको आन्दोलनले जन्म लिनुनै पर्ने थिएन । आज दुनियाँ राष्ट्रियताले ओतप्रोत छ । युरोपलाई चीनको प्रभावको डर छ । युरोपलाई एसियाको डर छ । किन, एसियामा आज राष्ट्रियता मौलाएको छ ? कारण, हिजो युरोपले दबायो । असभ्य ठान्यो । एसियाको औद्योगिकरण ध्वस्त पार्यो ।
  • ठिकै छ, हिजो जे जे भयो । तर खोइ युरोपमा मानिस जोगाउने सामाजिक र आर्थिक ब्यबस्था ? धन जति मुठीभर मानिसमा रहेछ । त्यो धन गरिबलाई काम लाग्दो रहेनछ । देश धनी छ । तर सरकार गरिब छ । उद्योग धनी छ, तर उस्को सामान विदेश जान्छ, देशलाई काम लाग्दैन । अमेरिकामा भेन्टिलेटर छैन । सबै उद्योगले अस्तिनै बेची सकेछन् । यिनै देशप्रति गैरजिम्मेवार पुँजीपतिसंग देशको अर्थतन्त्र छ ।
  • हामीले यही ढाँचा हो सिक्ने अब? होइन, यस त्रासदीबाट सिकौं :
    • हामीले ठुला शहर बनाउनु नहुने रहेछ । ससाना थुप्रै शहर बनाऊँ । शहरहरुलाई स्वावलम्बी बनाऊँ ।
    • हामीले पहाड ध्वस्त पार्नु नहुने रहेछ । पहाडमै र गाउमै बसोबास ठिक रहेछ । हामिले प्रकृतिसंग तालमेल गरेर बस्नु पर्ने रहेछ । हाम्रो विकासको ढाँचा आधुनिकता र प्रकृतिसंगको तालमेल रहेछ । अब देशको विकासको नयाँ ढाँचाका बारेमा सोच्न थालौं ।
    • हिजो हाम्रो प्राङ्गारिकता कस्ले तोडिदियो ? अब त्यस बाटोमा हिडौं । अब विदेश जान छोडौं । ब्याधी र दुख त त्यही रहेछ । आखिर देशनै चाहिने रहेछ । सबै युवाहरु, अब उत्पादनमा लागौं ।
    • नवउदारवादले ल्याएको उपभोक्तावादले सकेको रहेछ हामीलाई । अब यसबाट बाहिर आऔं ।
यो ब्याधी पछि कसरी दुनियाँ आगाडि जाने होला ? किसोर माभुवानीले र लि कवान युले भने जस्तै पश्चिम आफ्नो अहंकार र एकाधिकारवादको नीतिलाई पुनरावलोकन गर्न तयार भयो भने, दुनियाँ राम्रो हुनेछ । अन्यथा हामीले अब फरक तरिकाले बाच्न र समृद्ध हुन सिक्नु पर्छ ।
(साभार -परिसम्बाद डटकममा प्रकाशित प्रा डा युबराज संग्रौलाको लेख )

Sunday, March 29, 2020

अतित उत्खनन-४ ( गइयो डोटी)

अतीत उत्खनन-४ (गइयो डोटि, ……..)
तत्कालिन क्षेत्रीय सदरमुकाम
२०४१ माघमा म सपरीवार दिपायल पुगे । राजपुरमा तत्कालिन शाही  सेनाको बाहिनी समेत सिभिल तर्फ लोकसेवा आयोगको सुदूर पश्चिम क्षेत्रीय कार्यालय, हुलाक सेवा बिभागको क्षेत्रीय निर्देशनालय, स्थानिय बिकास मन्त्रालय, क्षेत्रिय कार्यालय र नगर बिकास समितिको अफिस मात्र  थिए । केही क्षेत्रीय कार्यालय सेती पारी दिपायल र माथि सिलगढीमा समेत स्थापित थिए । सडकको डोरो भरखर पुग्न लागेको समुवागाडमा टिन र खरले छाएका पसल खुल्न थालेका थिए । त्यहाँबाट रोड कता जाने हो निश्चित थिएन । सबैका आआफना तर्क थिए । 
सिमित कर्मचारिलाइ समेत राजपुरमा बस्न खान धौ धौ हुन्थ्यो । तरकारी  त पटक्कै नपाइने भने पनि हुने थियो । यहि गंजागोलमा सपरिवार म राजपुर बस्ने भए । कुमालीबटाका  जम्मा ३ घर मध्ये एउटामा डेरा पाइयो । केही दिनपछि कार्यालयले नै स्टोरको नाममा एउटा घर भाडामा लियो । त्यतै डेरा सरे ।  घरपट्टी थिए राम बहादुर कठायत । हाल धनगढीका स्थापित उद्यमीहरु उत्तम र रतनका पिताजी । मैले डेरा सारेकै दिन गेटामा क्षेत्रीय आँखा अस्पताल खुलेको समाचार सुनिएको थियो । फागुन अन्तिम हाताको होरीको रमाइलोबाट डोटीको क्षेत्रीय सदरमुकामको टुहुरे बसाई ब्यबस्थित गरेको थिए । दुइ बच्चा बोकेर शारिरिक र मानसिक कमजोरीले अशक्त बन्दै गएकी पत्निलाई संगसंगै स्याहार्नु कम्तिको उकालो काम थिएन । त्यसैमा बिपन्नतम घर र ससुरालीका समस्या बेग्लै थिए । हाइस्कुलसम्म स्थानिय परीबेशमै स्थानिय भाषाको माध्यमबाट नेपाली पढियो ।उच्च माध्यमिक र स्नातक शिक्षा ब्यक्तिगत अध्ययनमै हिन्दी माध्यमबाट लिए । यसरी म अलि अलि सबै जान्ने पूरा केही पनि नजान्ने अधकल्चो मान्छे बनेको थिए । कुनै भाषामा पनि शुद्ध  र सपष्ट लेखाइ थिएन । डेरामा पनि अध्ययनको वातावरण बनेन ।
बैतडीमा खान पुग्ने नै थियो । कहिलेकाहि घर गइन्थ्यो । माइततिर पनि हेरिने थियो । बेकारमा धोती न टोपी हुन यता आइएछ भन्ने पत्निमा पिरलो पलायो ।  रिक्त पद खोज र जाँच लेउ भन्ने मात्र आयोगको क्षेत्रीय कार्यालयको सनातनी कार्यादेश भए जस्तो देखियो । कहिले समुवागाड ओर्लियो, कहिले सिलगढी उक्लियो । कहिले लोकसेवा परिक्षाको नाममा नयाँ नयाँ उमेदवारसंग गफिएर  दिन काटिन्थ्यो ।
दिपायलको लोक सेवा
लोक सेवा आयोग, प्रादेशिक कार्यालयमा खासै काम थिएन । कार्यालयमा  दुई अढाइ सय किताब भएको पुस्तकालय नै दिन काटने मेसो बनेको थियो । यिनै पुस्तकहरुको आधारमा शाखा अधिकृतको परिक्षा दिन सकिन्छ कि भन्ने सोचाइ उम्रियो  । तर हातमुख जोडन सघाउने नौकरी बाहेक न कुनै थप पाठ्यसामग्री उपलब्ध थियो न कुनै परामर्श पाइने अवस्था थियो । डोटी बसेर शाखा अधिकृत को लोकसेवाको तयारीमा लागियो । जनकबि केशरी धर्मराज थापाले लेखेको मेरो नेपाल भ्रमणबाट पुस्तक उधिन्ने क्रमको शुरुवात गरे । स्वाध्यायबाट स्थापित हुने क्रममा एक खुटकिलो उक्लिन सकि पो हालिन्छ कि भन्ने झिनो तरंग मनमष्तिष्कमा उठन थाले । 
बर्ष ४२ को पहिलो दिन राजराजेश्वरी र कादम्बिनी पढेर तथा पल्लाघर श्राद्धको भात खाएर बिताउछु । गर्मी ४३°` नाघ्छ। येनकेन जुगाण गरेर पुरानो ऋृण तिर्न  रु १६००/- घरमा पठाउछु । पहिलोचोटी शाखा अधिकृतको फाराम भर्छु । भाग्यदेवता सम्झन्छु र पहिलोपल्टको ट्रायल भने जस्तै परिक्षामा बस्छु । रेजल्टआउदा पहिलो प्रयास खेर गए पछि अर्कोपल्ट कोशिश गरे पास हुन सकिन्छ जस्तो लाग्यो । दैनिन्दिनीका केही रुटिन बदले । बिबिसी हिन्दी सर्भिस आद्योपान्त र नियमित सुन्ने गरे , विशेष गरि रत्नाकर भारतीको आजकलको रिपोर्ट कहिले छुटेनन होला । नियमित नोट गर्ने तथा नेपालीको लेखाइ सुधार्ने उपक्रममा लागेपछि  केही निखारिए । 
त्यसबेला ६/६ महिनामा शाखा अधिकृतको निम्ति बिज्ञापन खुल्थे । दोस्रो पल्ट भने साथी गणेश बहादुर खडका र मेरो संयुक्त तयारीको सिलसिला चलायौ तर कुनै कार्ययोजना थिएन । उनी हाम्रै कार्यालयमा लेखापाल थिए ।  कनिकुथि आफनै तरिकाले प्रशासन सेवा, परराष्ट सेवा र राष्ट्रिय पञ्चायत सेवामा दिपायल केन्द्रबाट नै परीक्षा दिने उपक्रममा लागियो । 
०४२ को दोस्रो बिज्ञापनमा ३१ असौज शुक्रबारको दिन रौ नं ७ कायम हुने गरि डोटि केन्द्रबाट फाराम भर्छु र कतै नगइ  तयारीमा लाग्छु । दिपायलको निम्छरो बसाइमा खासै केही पाइदैनथ्यो ।तर पनि दशै आयो । श्रीमतिले धान खोजेर ल्याइन । ओखल कुटेको धानको भात खाँदै सामान्य रुप मै दशैतिहार गयो । कहिले नुन बिनाको खाना कहिले नून मात्रै भनेजस्तो जिन्दगी यस्तै चलिरह्यो ।
२३ गते मन्सिरदेखि लिखित परीक्षा शुरु भयो । आफनै बनिबुतो बाहेक कतैबाट सहयोगको गुन्जाइस नै थिएन । कार्यालय स्टाफहरुसंग गफैगफमा कुनै दिन ` कि पास भइन्छ, कि फेल भइन्छ,तर बैकल्पिक बनेर बसिदैन  ´ भनेर गफ लाएको रहेछु । संयोगबश आफनै कार्यालयका सेकेनम्यान बैकल्पिकबाटै नियुक्ति पाएका रहेछन । छुल्याहाहरुले बढाइ चढाइ कुरा लगाउदा बेकारमा उनको कोपभाजन बन्नु पर्यो । 
जाँचको दिन डोटी केन्द्रमा कुल २६ मा १६ जनामात्र उपस्थित रहे । रचना, सामान्य ज्ञान र ऐन कानून लगालग भ्याइन्छन । ईतिहासमा आफनो किसिमले ऐतिहासिक तथ्यहरुको व्याख्या गरियो । जान्न त सबैले जानेकै हुन्छन । तर बिस्तृत अध्ययन, अभिब्यक्तिको शैली सुधार र तर्क प्रधान प्रस्तुति परीक्षा उतिर्ण गराउने प्रमुख पक्ष हुन जस्तो लाग्छ । आफू सबै मामिलामा पछाडी नै छु भन्ने अनुभुति संगै  केही हुन्छ कि भन्ने आशा गरेर थप राष्टिय पन्चायत र परराष्ट सेवाको पेपर पनि दिए ।
पन्चायति प्रजातन्त्रको रजत जयन्ती बर्ष थियो यो । पंचहरुकालागी नयाँ आचार संहिता आएको थियो ।पुस ३ मा परिक्षाको भूत धपाइयो राष्टिय पन्चायत सेवाको पेपर दिएर । 
०४२ सालमै ९ पुषमा पहिलोपल्ट डोजर राजपुर पुग्छ । छोरा दीपक असाध्यै रमाउछ । पहिलो ट्रेक खुलेपछि आइ रहने जीप टेक्टर डम्फर ट्रकहरुो नाम नम्बर कण्ठस्थै गरेर राखेकोछ । यसरी हेलेको धुम्रकेतु देखिएको यो अंग्रेजी बर्ष हिउदे झरी ल्याएर सकिन्छ । 
पुस १७ गते २०४२ तदनुसार 1 जनवरी 1986 को डायरीमा कोरिएका शब्दहरु यस्ता थिए । 
" अंग्रेजको अर्को साल  बादल बोकेर आउछ । सानो छोरा कैलाशको बाल- लहरसंगै बिहान गै सक्छ । ८ बजेसम्म पनि घामको अतोपतो छैन तुवाँलो जस्तो लागेर । हिजो दुर्घटना भएको सेनाको RNA23 skyvan बारे थप जानकारी दिनुको साटो रेडियो नेपाल धुमधामसंग शुभजन्मोत्सब समारोह मनाइएका खवर थप्दै लान्छ । बिहानको ब्रह्मकार्य दिशानिबृति र मुखप्रक्षालनमै सिमित गर्दछु । अनि सोझै समुवागाड गै एकजनासंग पैसा माग्दछु । लाग्छ- यो सापट फिर्ताहुने कुनै काँटछाँट छैन । गत सप्ताहान्तको झरीले बाटो बिगारेपछि समुवागाड बजारको पलाएको फूर्ति त्यसै पहेलिएकोछ । चामल र नून समेत प्राप्य छैन । फाटफुट बसेका पसलहरुमा होटल र त्यसमा पनि होटलवालिहरुको बढि बोलबाला देखिन्छ । शाही डिस्टिलरीको आफनो ठाँट छँदैछ । जेहोस दुइटा साबुन  किनेर फर्किन्छु । दिपक स्कुल हिडन हतारिएको हुन्छ । फर्कदा बाटैमा सिमका एक जना सिपाही परिचय लाउछन । खाना खान्छु सुदामाले दिएको तरकारीसंग । ट्र्याकसुटमै अफिस जान्छु । साधारण काम गरिन्छ । नेपाली भाषाको बिकासक्रममा खस र खसानको महत्व बारेको लेख पढछु । मोंपासाको लन्च कहानी हेर्छु । साथिहरुसंग चेस खेल्दै महेन्द्रनगरबाट आएको नायबसुब्बाहरुको नामावली हेर्छु । थुप्रै परिचितहरुले लेखापालमा फाराम भरेका रहेछन । अफिसबाट फर्कदा दिपकसंगै लिएर फर्किन्छु । भटमासको नास्ता खाई दिनचर्या सक्छु । एकाउन्टेन्ट काठमाडौबाट आजै फर्केकाछन । म ले प को ध्वाँस र आफनै हाकिमसंग भेट नपाएर खाएको धोका तथा मुद्राको अवमुल्यनपछि बढेको महंगाइ बारे गफियौ । बेलुका हरीभक्त कटुवालको मनु दिदी कथा पढे । दिपकलाई संख्याज्ञान र हाम्रो नेपाल कबिता सिकाउदै सन्ध्या प्रहर ठिक्क भयो । ग्वाल्लेक केदारको दयादृष्टि पाए बाँकी ३६४ दिन पनि यसैगरी बित्नेछन भन्ने बिश्वासमा छु । हरीको जो इच्छा ।"
यु एन ओ ले 1986 लाई शान्ति बर्षको नाम दिएछ । 1985 को युवा बर्ष हिजो बिलायो । यो बर्ष दक्षिणएशियामा केही शुभखबर सुनिएका छन । पाकिस्तानमा सैनिक शासन हटेकोछ । बंग्लादेशमा राजनैतिक पार्टिहरु उपरको प्रतिबन्ध उठेकोछ । श्रीलङ्कामा सिरीमाओ बन्दरानायकेलाई नागरिक अधिकार वापस दिइएकोछ ।( सरकारी भाषामा क्षमादान दिएको ) 
यस देशको उर्लाबारीमा आजसम्मकै सबभन्दा ठूलो मानिने मर्स्याङदी जलबिद्युत योजना ( 62 MW ) को उद्घाटन भयो । बिश्व समाचारमा क्युबाको कम्युनिष्ट पार्टीले बर्षगाँठ मनाएकोछ । ब्रिटेनले २० बर्ष अघिका गोप्य दस्तावेज हेर्न पाउने नियम ल्याएकोछ । युरोपियन युनियनमा स्पेन र पुर्तगाल थपिदा १२ सदस्य पुगेकाछन । दक्षिण एशियामा SARC स्थापना भएकोछ । श्रीलंकामा तमिलसमस्या चर्किदैछ । राजिब गान्धी राजनैतिक जगद्गुरु बन्ने अभियान चलाएका छन । भुटान Land of sangrila  नै रहने निश्चित छ । नेपालमा शिक्षक र छात्र असन्तोष बढदैछ । पंचायत इतर( कम्युनिष्ट समेत) एकजुट भएर पंचायतको जग नै हल्लाइ रहेकाछन । पंचायतको गुटबन्दी र गिर्दो समर्थनले ब्यबस्था धरमराएकोछ । भारतिय रुपियासंगको १७०/- को बिनिमय दरले अर्थ ब्यबस्था समेत चरमराएकोछ ।
ब्यक्तिगत मुल्यांकन गर्दा ना सु र बि ए बर्ष ८५ मै भइयो । डोटेली बनियो ।शाखा अधिकृतको जाँच दिइयो । घरपरीवारप्रति लापर्वाहिको आरोप लाग्यो । पारिवारिक ऋण जेनतेन तिरिदैछ । पत्निलाइ पनि  एकतोला सुन किनेर हालिदिन सकेकोछु । दिपक कक्षा २ उक्लिएको छ । तेस्रो सन्तानको सम्भावित आगमनले घरब्यबस्था थप चरमराए पनि बर्ष86 को यात्रा शुभ नै रहला भन्ने बिश्वास गरेकोछु । हरी शरणम् । "
यात्राभित्रका उपयात्रा
दिपायलमा बस्दा पनि पत्नीको औषधिका लागि पोलिगन्ज अस्पताल पुग्नु नियमित बाध्यता थियो । मुख्यत: यहि कामको लागि चैत्र २५ गते काज बनाई क्षेत्रीय प्रमुखसंग प्लेनबाट महेन्द्रनगर गयौ । २००/- को औषधिको लागि १५००/- बाटो खर्च लाग्ने देखियो  । हाकिम काठमाडौं जाने भए । म भिडभाडयुक्त बसको बोनटमा बसेर भत्काँडा ओर्लिए ।
त्यस बखत भात्काँढा बजारबाटै डोटी सडक काटिएको थियो । नयाँ नयाँ होटेल थपिएका थिए । बल्लतल् एउटामा बास पायो । ३०/३१ सालतिर भर्खर  हामी नयाँ नयाँ जागिरे बनेर डडेल्धुरा आएको बेला बाख्रा चराउदै " सुर्खेत बुलबुल ताल , माया मै सानी हुदैमा छुट्यो माया जाल " भन्ने त्यसबेलाको लोकप्रीय गीत दुरुस्तै भाकामा गाउने सानी फुच्चीले खोलेको होटेलमा पो बास परेछ । ड्राइभर लोग्नेबाट पाएका ६ वटा केटाकेटी स्याहारेर उत्साहका साथ होटेल चलाएकि रहिछन  । लाग्यो, समय त बुर्कुसि पनि मार्दो रहेछ । मान्छेमा आँट मात्रै चाहिन्छ । अर्को दिन ट्रक चढेर ३ बजे समुवा गाड पुगे । हिडनु नपरि ट्रकमा चढेर २ दिन मै दिपायल पुग्ने हामी त भाग्यमानी रे । त्यस बेलाको अनुभव सुनाए साथीहरुले ।
एकपल्ट निरीक्षणको काममा काज खटिएर म पनि घरतिर बैतडी गएको थिए  । साथमा खरिदार हर्क बहादुर बोहरा पनि थिए । पोखरा पाटन सन्तोली हुँदै घर पुग्दा बुवा थला परेका, आमा पिल्सिएकी, भाइ बुहारी अहमले उकासिएकी । मात्र एक दिन बस्न सके । आमा बोल्नु भन्दा बढि रुनु भयो । खासगरी  नातिहरुका बारेमा र पहिलोपल्ट जेठीबुहारीको सन्चो बिसंचो बारे पनि सोध्नु भयो । ससुरालीमा भने सासुलाई शेषपछि जग्गा, फलफूल र भाडाकुडाको बढि चिन्ता थियो ।
बैतडीका केही कार्यालयको पदपुर्ति कारवाही निरिक्षण गर्छु । असौज १३ गते आइतबार दार्चुला जानेक्रममा झुलाघाट ओर्लनु पर्ने भयो । रेडियो साथमा हुदा नेपाल टु नेपालको परमिट बनाउनु पर्ने हुन्थ्यो । यो नाका कैयौ चोटी ओहरदोहर गरेको परिचित नाका थियो नै । मसंग परिचित भन्सारका पुराना कारिन्दा पनि प्राय पुरानै थिए । तर कर्मचारीका घुमाइमा परी रेडियोको अनुमति बनेन । यसरी काम रोकेकोमा बदला लिएको जस्तो केहिको आँखामा चमक आएको थियो । झुलाघाटका मामा न भान्छा भन्ने उखान त्यसै चलेको होइन रहेछ । अर्थात त्यो घाटमा कुनै नाता सम्बन्धले काम हुदैन । मात्र मतलबसंग सम्बन्ध रहन्थ्यो । मेरो पुर्ब परीचयले त्यहाँको स्वार्थी कारिन्दाको बृतलाइ कुनै असर परेन । 
त्यस दिन भंसारकै निरिक्षण गर्ने भनी त्यहि रोकिनु पर्ने भयो  । तत्कालिन अर्थमन्त्रीको आदेशमा नुवाकोटका एकजना बहिदार ठाडै भर्ना गरेका रहेछन  । त्यस बारेमा प्रतिबेदन लिए । आयोगको बार्षिक प्रतिबेदनमा त्यो ब्यहोरा समाबेश भएको थियो  । अर्को दिन मात्र परमिट बनाइ पिथौरागढ हुँदै दार्चुला गयौ । दार्चुलामा निरिक्षणको सामान्य काम भयो । चिनजान नबिकरण भयो । जानकारी लिए । २० गते महेन्द्रनगर पुग्यौ । प्लेन टिकट र उडान रद्दका समस्या छँदै थिए । अन्तत: अछामको टिकटमा उडनु पर्ने बाध्यता आयो । उड्यौ र पाइलटलाई समस्या बतायौ । बडो मनकारी चालकले रुटमै पर्ने दिपायल एयरपोर्टमा आकस्मिक अवतरण गराई सात जना यात्री ओरालेर बडो नभुलिने गुन लगायो । 
सबै मानिस एकै स्वभावका कहाँ हुन्छन र । सामान्य काममा एक दिन ढिलो गराइ दिने झुलाघाटको प्रबृति र अर्काको मर्का बुझी बाटैमा प्लेन ओरालेर सहयोग गर्ने पाइलटको सहयोगी भावनाका आआफनै बृत छन ।
डेरामा पचासौ बाल्टिन पानी बोकी उमारेको रायो भ्वाँ लगाएका गाइले चट पारेपछि केही गर्ने जागर नै सकियो । नियतिले बिना तरकारी निर्बाह गर्ने भनेपछि के लाग्यो र? । कोतेधन्दाका किचलोहरुको स्टक परान रहुन्जेल बाँकि रहने लेखान्त छ जस्तो लाग्छ । केही नयाँ परिचय थपिन्छन । केही पुराना बिर्सिदै जान्छन । मान्छेको मेमोरीनै कति होस र ? बिस्तारै समुवागाडमा ट्रक आउन थालेपछि महंगै भएपनि समान पाउन थालेकोछ । चामल साढे पाँच को एक किलो आउन थाल्यो । आलोपालो पारिवारिक स्वास्थ्य बिग्री नै रहने दिनदशा बाँकी नै छ । सरस्वति पुजा गरि बसंतपंचमीको दिन माइलो छोरा कैलाशको अक्षरारम्भ भयो । एउटा अर्को हिउद सकियो ।
फागुनमा ज्वरो आएर दिपकको बेहाल भयो । सि डि ओ बैतडीले समेत सहमति दिएकोले सरुवाको लागि निबेदन पठाए । फेरी बैतडी जाने भन्दा पनि स्वास्नी ठुस्किन्छे । यी महिला जातको कुरै बुझ्न गारो । कहिले बैतडीबाट सरुवा किन गराएको भन्ने सवाल आयो कहिले किन जाने भन्ने कचकच आयो ।  पछि थाहा पाए,सुत्केरीको बेला घर गाउँ जान नै डराएकी रे । 
सरुवाकै लागि २०४२ फागुन ७ मा १० बर्ष पछि काठमाडौं जाने भए । प्लेनबाट नेपालगंज पुगेर ज्ञान सुपर कोचको बस यात्रमा अगाडि बसेको शायद कुनै  सैनिक अधिकृत सब कुरामा आफू मात्रै जान्ने भइरहेको देखियो, बेहोरियो । अर्को दिन त्रिपुरेश्वरमा और्लि ट्रलीबाट बवर महल । महालेखामा काम गर्ने बेदप्रकाश भेटिएनन् । रु २५/- कोठा भाडा तिरी सप्तकोशी लजमा बसियो । 
बालुवाटार जाँदा प्रधानमन्त्रीज्युसंग भेट हुन सकेन । पि ए हरुलाई सोध्दा सरुवा भै सकेकोले गृहबाट चिठ्ठी बुझेर ळैजान भनेर पठाए । ११ गते बल्ल  प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दज्युलाई भेटदा जेठमा मात्र सरुवा गरिदिने र त्यतिनजेल काज हुने कुरा पो बताए । लोकसेवाबाट सरुवा सहमति माग्दा परिक्षणकाल नसकिएकोले त्यसपछि मात्रै सहमति दिन सकिने भनेर  पत्र पठाएको बुझियो । यहि चक्करमा केही दिन कटे । अन्तमा गृह मन्त्रालयलेले परिक्षणकाल सकिएकै मितिदेखि लागू हुनेगरी जिल्लाप्रशासन कार्यालयमा सरुवापत्र दियो । फर्केर नेपालगंजमा २ दिनबस्दा पशुपति दर्शनका लागि प्लेनबाट झरेका यात्रुदलसंगै बुवा पनि भएकोले सामान्य किनमेल गराई बसबाट काठमाण्डौ जाने ब्यबस्था मिलाइ  म डोटीतिर लागे । सब यथावत थियो । शिबरात्रीको मेला हेरियो दिपायलको । त्यसै दिनको मेलामा अत्यधिक भीड भै भाँचिएको सेतिको पुलबाट झन्डै बाबू छोरा गैसकेका थियौ । भाग्यले मात्र बाँच्यौ ।
राजपुरका केहि रमाइला पात्र र प्रबृति
जीवन ससाना प्रसंग बोकेर हिडदो रहेछ । यस्ता सन्दर्भ नुन मसाला जस्तै जीवन भोगाइको स्वाद नै बदलि दिन्छन । समयक्रमले केही स्वाद सम्झन लायक हुने नै भए । 
त्यसताका लोकसेवाको केन्द्रीय कार्यालयबाट सरुवा भै आएका एक जना  पियनले लोकसेवाको नाममा असाध्यै फुर्ति लगाएको देखिन्थ्यो । खाइलाग्दो जिउडाल भएको चटक्क ठाँटिएर बस्ने सुदामाको शान कुनै हाकिमको भन्दा कम्ति थिएन । सामान्य मानिसलाइ फुर्ति देखाएर झुक्याउन उनी सिद्धहस्त थिए । यदाकदा आफुलाइ अधिकृत भन्दै आबेदन फाराम स्वीकृत वा अस्वीकृत गरिदिने धाक लाउन समेत बाँकी राख्दैनथे । लगत्तै केन्द्रबाटै सत्यनारायण मानन्धर  नामका नयाँ ना सु पनि सरुवा भएर आए । मानन्धर मिलनसार भोलाभाला मान्छे थिए । ती सुदामा त कुनै सचिबजीको भान्छामा काम गर्ने पियन भए पनि चल्ताफिर्ता मानिस हो रहेछ । आजभोलीको भाषामा सेटिङ मिलाउन सक्ने । नभन्दै ३/४ जनाको यस्तो ग्रुप बनेको अडकल हामीहरुले गरेका थियौ । 
कोडभाषामा हामी ( साथी खडकाजी र म )ले टि एम जी ( तेलमालिस गर्ने ) भनी नाम दिएका त्यो ग्रुपले ती पियनलाइ एक महिना भित्रै  गेस्नर अपरेटर बनाइए सकेछन । त्यसबेला लिथोबाट प्रशनपत्र निकालिन्थे । गेष्टेटनर कम्पनिले निकालेका मेशिनहरु चलाउने जान्ने मानिसहरु लिथो मेशिनको अपरेटर भनेर नियुक्ति पाउँदा रहेछन । यो बहिदार सरह पद हुन्थ्यो । छडके इन्ट्रीबाट यसरी तथाकथित आफनाहरु स्थायि सेवामा प्रबेश पाउथे । त्यसै कार्यालयमा भएपनि हामीलाइ यसको छेउभेउ पत्तै हुदैनथ्यो । गेष्टनर अपरेटर बनेपछि त सुदामाजी दौरा सुरुवाल लाउन थाले । गे . अ .लाइ गेजेटेड अफिसर भनेर अर्थ्याइदो रहेछ , यदाकदा । यही  पद नामको आडमा उ सवारी शिबिर पनि पस्न भ्याएको थियो रे । 
डायरी भन्छ, सुर्यमुखी राम्रैसंग फुलेको बल्ल देखियो । यो केही स्टाफप्रति लक्षित थियो । चाहना राखे दैबले पुर्याउदो रहेछ । काम निकाल्नु परे मात्र उ बिहान नमस्कार गर्थ्यो । साथी गणेश खडका र म उसको बिहानैको प्रस्तुति र बडी ल्यांगवेजबाट दिउँसो गर्नुपर्ने र गरिने कामको अनुमान लगाउथ्यौ । यो एक प्रकारको निशुल्क मनोरंजन नै हुन्थ्यो हाम्रा लागि । तर सुदामा आफनो धुनको पक्का थियो । आफनो विशिष्ट मिसन बाहेक अरु कुनै कुराको मतलब हुँदैनथ्यो उसलाइ । यस्तै प्रबृतिहरुसंग पौठेजोरी खेल्दै र काम परेको बेला ट्वाक्क प्लेन चढेर आउने हाकिमहरुको  निमित्त भएर काम सम्हालदै पदपुर्ति र परीक्षा संगै लोकसेवाको नाममा जिन्दगी हिडि रह्यो ।
तत्कालिन बाहिनिपति नर बहादुर बुढाथोकी अर्का सम्झिनै पर्ने ब्यक्तित्व थिए ।  देशभरि जम्मा ५/७ बाहिनि भएका त्यसबेलाका बरिष्ट सैनिक अधिकारी जिबन्त र उर्जाबान त थिए नै । सबैलाइ समानरुपले व्यवहार गर्ने र प्राय: अश्लील गाली गरेर पनि मयालु ब्यबहारका कारणबाट सर्बसाधारणले मनपराइएका जर्सापसंग मेरो पनि परिचय भयो । कार्यप्रकृति र दर्जाका हिसाबले हामी फरक कित्ताका मानिस थियौ । त्यसबेलाका न्यूजविक जस्ता स्तरीय बिदेशी पत्रपत्रिका  ब्यारेकमा मात्र नियमित आउदा रहेछन । विशेष लेख भएका यस्ता पत्रिकाका पुराना अंक उनले मेरो निम्ति पठाइदिनु हुन्थ्यो । यदाकदा बाटोमा भेटिदा अमुक लेखको बारेमा कमेन्ट गर्न अराउनु हुन्थ्यो । यो मेरोलागि गारो काम थियो । तर लोकसेवाको जाँचको लागि फलदायि पनि मानिन्थ्यो । 
मलाइ संकेत गर्दै उनले  हाम्रो हाकिमलाई एकदिन अह्राए, " यो जाँठालाइ ठिक्क ठाउमा राख्नु है, यो साला रिएक्सन गर्ने औषधि जस्तो छ। "  एकदिन भर्ना खुलेपछि आर्मिको सेकेन लप्टनमा आउनु पर्छ भनेर पनि आश्वासन दिएका हुन्थे । 
एकदिन त गजबै भयो । झोलामा दाल चामल जस्ता खत्याङखुत्रुङ बोकेर डेरा लाग्दा उनैसंग जम्काभेट भयो । ४/५ जनाको सैनिक जत्था सिभिलमा अगाडि पछाडी लगाएर राजपुरको उकालोमा जरसाप स्वयं घोडा चढेर उक्लदै रैछन।
"  ए डोट्याल, झोलामा के ल्यायौ ? " उनले हकारे जस्तै सोधे । मैले " डेराको लागि दालचामल हो हजुर " भने ।
 "ए, डेरामा खान्छौ । कति पर्छ ए, मैनाको " उनले सोधे ।
" पर्छ हजुर ८/९ सय जति ।" मैले जबाफ दिए ।
" माँ चि….ने , फुर्ति लाउछस् । सुनै सुन खान्छस कि क्या हो । कसरी पर्छ, लौ बता।" उनले टक्क घोडा रोकेर ठाडो गालि गरे । मेरो त नौ नाडी गले । जवाफ नै आएन । के गल्ति भयो, ठम्याउनै सकेन । पसिना काढेर बाटो किनारमा उभिए । संगै हिडिरहेका अर्का कुनै सैन्य अधिकृतले झन्न कुरा मिलाए ।
" हो हजुर । त्यति त पर्छ होला । दिपायलमा सारै महंगो पो छ त बजार भाउ । झन सामान पनि पाउदैन।"
 यस पछि जरसापले बजारभाउको सामान्य जानकारी उनै अफिसरबाट लिए । रातो मुख लगाएर उभिएको मलाइ हेरेर आफनो कुरा प्रष्ट्याए।
" तोकिएको राशन खाने म माँ चि… ने भाते सिपाहिलाई के थाहा त । महंगो छ है । नरिसाउनु है, डोट्याल। यो मा चि … को बानी नै यस्तो! " हाँसेरै बाहिनीपति ब्यारेक हिडे ।
 कहिले कसैले यस्तो सम्बोधन गरेको नसुनेको मलाइ धेरै दिनसम्म  रन्थमोल बनायो । यस्तै हाकिमहरु बेहोर्नु पर्ने ठहराएर सेनाको जागिरमा जाने बिचार नै आएन । उमेरले सेनामा जान नसक्ने भनेर उनलाइ सुनाएको दिन त गाली गर्दै उनी निकै जंगिएका थिए ।
 तर ती जरसापलाइ मैले जीवन पर्यन्त भुल्नै सकिन । उनको सदाशयता र सहयोग मलाइ सँधै प्राप्त रह्यो । झण्डै दुई दशकसम्म एउटै पदमा बस्नुपर्दा सेनातिर नगएकोमा पछुतो पनि लाग्थ्यो । 
दिलिपको जन्म
भन्छन,जगतले देखाउछ मात्र, सिकाउदैन  । त्यसैले आफैै सिकिरहनु पर्छ भन्ने धारणा राखेर यतिका बर्ष बिते । सिक्ने क्रम चालु छ । 
राजपुरमा बस्दा श्रीमतिको नछुने रोकिएको ढिलै गरि थाहा पाएको थिए  । आफनै टाउको समाउन बाहेक केही गर्न सक्ने र बर्षातको मौसममा दिपायल छोडेर जान सक्ने अवस्था थिएन । उनी भने भातको सीता नचाख्ने तर काँचो चामल मात्र खानमा जोड गर्न थालीन् । म आफै मानसिक समस्यामा परुँला जस्तो भयो । इश्वरको सहारामा छोडियो जीवन डुङ्गालाई । कैयौ रात भोकै सुतियो । लोकसेवाका जाँच चल्दै गरे । अति स्नेह र आदर गरि डेरामा राखेका गुरु भानदेव  पाण्डेजीलाई समेत अन्तर्बार्ताले अनुतिर्ण बनाइ दिएपछि झन नरमाइलो लागेकै थियो ।
डोटीको जागिर पनि ख्यालख्यालमै सकिएको थियो । ३ बैशाखमा बैतडीकोलागी रवाना बुझेको थिए । चैत्राष्टमी पछि रामनवमीको दिन ५ गते सबै जना नुहायौ ।  न्वाइ धोई सक्ना साथ श्रीमतिलाई प्रसबब्यथाले च्याप्यो । घरपट्टी आमैले भरपूर सहयोग गरिन । २ घन्टा लामो ब्यथापछि ६.३० मा तेस्रो बच्चा जन्मियो , पुत्रकै रुपमा । ईश्वरलाई धन्यबाद दियौ,हामी सबैलाई सुरक्षित अवतरण गराएकोमा । साहिलो छोरा जन्मेको थियो । अब सुत्केरी स्याहार्ने  र दुई जेठा छोराहरु ख्वाउने धन्दा मेरो जिम्मा भयो । सबैको पुर्ण सहयोगमा येनकेन काम भ्याउदै गए । नुहाउने अलग धारा बनाउनु प- यो । छ दिनपछि चिना हेराएकोमा अश्लेषाको पहिलो पाउ हुदा राम्रो छ रे । १५ बैशाखमा न्वारानको कर्म पं गणेशदत्त भट्टजी बाट गराए । रघुकुलका आदिपुरुष र दिपायलका राजा मानिएका राजा दिलिप को नामबाट नामाकरण गरियो ।  बिधिबत दिपायल बसेका दिनहरु पनि यहि न्वारानसंगै सकिए । आयोगकै कार्यालय सहयोगी प्रेमले काममा भरपुर सघायो । तयारी म्यादमा पुस्तकालयका किताबहरुको बरबुझारथ सके । केही किताब फिर्ता आएकै थिएनन । लगत पेश गरे । यसरी दिपायलको बसाइले बीट मार्यो ।
र फेरी बैतडी तिर
१७ गते तीनवटा बच्चासहित सद्य प्रसुता श्रीमतिलाई बैतडी पुगाउन सकिने अवस्था थिएन । अरुलाइ यतै छाडी दीपकलाई संगै बोकेर ट्रकको पछाडी बसेर हिड्यौ । मुस्याचोराबाट भने  घोडा भाडामा लिएर ३ बजे घर पुग्यौ बाबू छोरा । राष्टिय पंचायत सदस्यको निर्वाचनको बेला थियो । गुरुखोला कलौन बुथमा मतदान अधिकृतमा खटाएको खवर पाइसकेको थिए । बैतडीमा यो मेरो दोस्रो कार्यकाल थियो । यसरी अन्धाहरुले हात्ती छामे जस्तै म जिवनलाई बुझ्दै आएको थिए  ।
दिपकलाई घरमा छोडी २१ गते हाजिर हुन गए । प्र जि अ ज्युको बदलिएको ब्यबहारको कारण बुझिएन । ३ दिनपछि भेट पाए । शायद ढिलो गरि आएकोमा ठुस्किएका होलान । तालिम नै नलिई  खाली निर्वाचन अधिकृतसंग भेट गरि भत्ता रकम रु ८१३/- बुझे । गाउँगर्खामा हाकिम भै खानपल्केको स्थानिय पुरानो बनपालेलाई पियनमा खटाएका रहेछन । ती बुढा बनपालेको फुर्ति नै बेग्लै । हजार बहाना बनाउछ काम एउटै पनि गर्दैन । झोलै बोक्न नसक्ने रे । अझ कोठे राजनीति गरेर ठूलो हुनुपर्ने । हप्काइ दप्काइ बल्ल काममा लगाउनु पर्ने भयो  ।
उहिले आफुले चिनेको गाउँ पर्दा समस्या केही परेन । एउटा दलित बस्तीको त पुरै नाम छुटेको रहेछ । येनकेन कुरा मिलाए । ५९% मत खस्यो । चाउचाउ र रोटी खाएर ५.३० मै केन्द्र छाड्यौ । ११ बजे बाकस बुझाइयो । अन्तत: लोकेन्द्र बहादुर चन्द र डम्बर बहादुर चन्द रा प स माननीयमा बिजयी भए । जुलुशसंगै बिजुली गारदका गण जस्ता हुल कता कताबाट थपिन्छन । निर्बाचनको चटारो कम भएपछि एकीकृत ग्रामिण बिकास परीयोजनाको गाडीमा भात्काँणा र त्यसपछि हिडेरै जेठ ९ गते दिपायल पुगे । सब ठिकठाकै रहेछन । महेन्द्रनगर जान प्लेनटिकट १८ गतेको मात्र पाइयो । A glimpse of world's history पढेर दिन काटे । दिपकको सर्टिफिकेट ल्याए । २ बच्चा बोकि ऐ मितिमा महेन्द्रनगर  उत्रियो । रेन्बो होटलमा बास बसि अर्को दिन उपचारार्थ खटिमातिर लाग्यौ । साइत नै बिग्रिएछ जस्तो लाग्यो । बनबसासम्म टाँसिएर बस्न खोज्ने महारोगीसंग रिक्सामा पालो परेछ । पोलिगंजमा दिलिप र श्रीमती बसभित्र लोटेर रक्ताम्य भए । फर्कदा खटिमामा बस चढदा कैलास खस्छ सडकमा । बनबसामै रात परेपछि रोयोको रोयै दिलिपलाई ९.३० मा महेन्द्रनगर पुर्याइन्छ । बल्ल ज्यान बचेजस्तो लाग्यो । एक महिनाको औषधि लिएर आयौ । लाग्छ जिन्दगी भाडामा लिएका हौ । २१ गते प्लेनबाटै बैतडी पुग्यौ । भरिया नपाउदा आलोपालो बोक्दै जोइपोइ घर पुग्यौ । २४ जेठमा बैतडी पुग्दा त टुहुरो जस्तो बनेको दिपक रुन थाल्यो । यसपछि जेठ २५ मा मात्र बैतडीको पहिलो हाजिर लाग्छ मेरो। डेरा खडबडानी नरीको घरमा बनाउछु । भाईले शाहिलेकतिर बेग्लै डेरा बनाइ सकेको रहेछ । मैले साबिक खडबडानीमै डेरा गरे । बल्ल जिन्दगी ब्यबस्थित जस्तो बन्यो ।
बिडम्बना, बुवा महाबीर चन्द स्वर्गबास हुँदा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुन नपाएको दिन थियो यो । त्यसपछि मरीचमान श्रेष्ठ प्रधानमन्त्री बनाइए । 
अफिसमा मुद्दा फाँटमा काम पाएपछि केही स्थानिय दलालले निन्याउरो मुख लगाएको प्रष्टै देखियो। कार्यालयको निरिक्षण को जिम्मा समेत पाए । भर्खर खुलेको भिडियो घरको निरीक्षण गर्न गएको त आधा दर्जन " चलता फिर्ता  कर्मचारी " छडकेमा परे । यस्ले तहल्कै मचिन्छ सदरमुकाममा । सरकारी वकिल बनेर आएका कवि दिनेशहरी अधिकारी संग केही काव्य चर्चा हुन्छ । केही सिकाइ माग्छु । 
अफिसमा  निरिक्षणका काम र ठाडो उजुरी मात्र हेरेर दिन काटे । जेठ मसान्ततिर  पाटन र सतबाँज तिर पनि निरिक्षण गरियो । मेलौलीका नर्सरीहरु पनि हेरिए । । यसरी बैतडी हाजिर भएका एक महिना र एक हप्ता बित्यो । साउन २ मा शाखा अधिकृतको लिखित परिक्षामा पास भएको खवर आयो । डोटीबाट खुलामा पास हुने पहिलो रेकर्ड रे । ग्वाल्लेकतिर हात जोडी नमन गरे । सपरिवार बैतडी सदरमुकाममै खुशी मनायौ ।
यो अवधिमा १० बर्षपछि काठमाडौ यात्रा गरे । शाखा अधिकृतको एउटा उधारो जाँच दिए । पिताजीको पनि  पशुपतियात्राको इच्छा पूरा भयो । उता घरमा भताभुङ र आफुलथालिङ्ग भइए पनि केही उधारो तिरियो । नयाँ ठाउ नया कार्यालय देखियो ।त्यति हो।
परिक्षणकाल नसकिदै ०४२ सालको अन्ततिर फेेरि जिल्ला प्रशासन कार्यालय, बैतडी  को नायब सुब्बा पदमा सरुवा गरिएको थियो । दोस्रो राउण्डमा फेेरि बैतडी पु-यायो ।
लाग्छ,जागिरे जीवन एउटा बन्धन पनि हो, यहाँ केही मान्यता र मूल्यले बाँधेको हुन्छन । नौकरी गर्न थालेको पछिल्लो आठ बर्षले एघार ठाउँ चहार्न लगायो । खैै यो जागिरेबृतिलाई के नाम दिउँ? अलमलमा पर्छु । राजाको सिन्दुर भनेर मान मनितो भए पनि तलब भने खरिदारको मासिक रु २५५/- बाट शुृुृरू गरेको थिए, दोस्रो पल्ट बैतडी सुब्बा बनेर आउदा रू  सातसय चानचुन थापिन थालिएछ । डेरा गरेर घरपरीवार सदरमुकाममै पाल्नु पर्दा हात लाग्यो शुुन्य मात्र हुन्थ्यो । जेहोस् गुजारा चल्दै थियो । जिन्दगिले तीन दशक नाघ्दै थियो । जिवनको खुुटकिलो चढदै जादा उमेर र उर्जा पनि घटबढ हुने नै भयो । यो देखाइ र भोगाईलाइ अक्षरमा कैदगर्दा नोष्टाल्जिक भइदैछ । र जीवन आफनै विशिष्ट लयमा चलि नै रहेकोछ ।
&&&&

Wednesday, March 25, 2020

सन्तान राणाका, दूध ख्वाउने बाहिरका


सन्तान राणाका, दूध खुवाउने बाहिरका सुत्केरी

सन्तान राणाका, दूध खुवाउने बाहिरका सुत्केरी
हनलुलुमा नातिनी बुहारीसँग खाना पकाउँदै ।
रुपा जाेशी
उवेला हैजा, झाडापखाला खूब लाग्थ्यो । त्यस्तो वेला बाहिरको खान बन्द गरिन्थ्यो । डाक्टरहरू थुप्रै थिए, कोही नेपाली, कोही इन्डियन । केशवबाबु इन्डियन थिए भने जीतसिंह र सिद्धिमणि चाहिं नेपाली । सिद्धिमणि एकदम असल, उनले गरेको औषधिले रोग कम भइहाल्थ्यो ।
बुवा र मुवालाई हेर्ने डाक्टरहरू बग्गीमा आउँथे । मुवाको स्वास्थ्य त्यत्ति राम्रो थिएन । वर्षेनि बच्चा पाउँदा जीउ कमजोर थियो । मोटो पनि होइसिन्थ्यो । वैद्यहरू पनि आउँथे, बडामुवाको बाथको उपचारका लागि।
ढोकाटोलमा धेरै जनालाई टीबी भएको थियो । खास गरेर नोकरचाकरलाई बढी हुन्थ्यो । टीबी देखिए बाहिर भिन्दै घरमा राखिन्थ्यो । उनीहरूलाई औषधि दिएर, ‘मन लागे घर जाऊ, अनि निको भएपछि आऊ’ भन्थे । मेरो दिदी टीबी लागेरै बितिन् ।
इन्जेक्शन दिनुपर्‍यो, दाँत निकाल्नुपर्‍यो भने कम्पाउण्डर आउँथे । त्यो वेला वैद्यको औषधिबाहेक अरू सबै इन्डियाबाट आउँथ्यो ।
बच्चा जन्माउने बेला घरमै डाक्टरनी, सुँडिनीहरू आउँथे । मैले छोरा पाउँदा पनि एउटी काली–काली डाक्टरनी आएकी थिइन् । साथमा सुँडिनी पनि थिए, त्यसैले सजिलो भयो । बच्चा जन्माउन घरै जानु परेकोथ्यो, डिल्लीबजार । न्वारान गरेर माइत ढोकाटोल फर्केकी थिएँ ।
बच्चालाई धाईको दूध
ढोकाटोलमा काम गर्नेहरू थुप्रै थिए । डोले, सुसारेहरू थिए । भान्छामा काम गर्ने नै ५–६ जना बाहुन–बाहुनी थिए । धेरैजसो बाहुन गोरखाका हुन्थे । मेरो बडामुवा, मुवा सबै गोरखाका नि ! त्यसैले हामीलाई पश्चिमा भनेपछि एकदम मन पर्ने ।
हामी सबै बच्चाहरूको आ–आफ्ना धाई थिए, जातजातका । लुगा लगाइदिने, तेल लगाइदिने, खाना पकाउने, खुवाउने, हुर्काउने धाईहरूले गर्थे । बिहान सबेरै धाईहरूले जाउलो पकाएर आ–आफ्ना नानीहरूलाई खुवाउँथे । मलाई त रोज तेल लगाइदिन्थी मेरो धाईले । साइँलीमैया (बैनी) को धाई अलिकति पनि नानीले खाइनन् भने रुन थाल्थिन् ।
राणाजीहरूको जस्तै ढोकाटोलमा पनि बच्चा जन्मनुअघि नै धाईको छनोट हुन्थ्यो । जसको दूध आउँदैनथ्यो, उसको बच्चालाई धाईको दूध ख्वाउँथे । मेरो धाई (बुबू) ज्यापुनी थिई, उनको छोरीको नाम पुनचा थियो । मेरो धाई ढोकाटोलमै र पुनचा उसको आफ्नै घरमा बस्थे । मैले बुबूकै दूध खाएँ, पुनचालाई गाईको दूध दिन्थे ।
राणाजीहरूले त झन् आफ्नो दूध नै नखुवाउने । सुत्केरीहरूले दरबारमा ‘एप्लाइ’ गर्थे । अनि डाक्टर आएर उनीहरूको दूध निचोर्न लगाई पानीमा हालेर ‘टेस्ट’ गर्थे । डाक्टरले नै दूध असल, ‘ए–क्लास’ को छ भनेपछि ती धाईहरू दरबारमै बस्थे । उनीहरूको बच्चा चाहिं बाहिर आफ्नै घरमा राख्नुपर्थ्याे। ती बच्चालाई दूध ख्वाउन पैसा दिन्थे ।
डा. सिद्धिमणिलाई मुवाले आफ्नी नातिनी ज्योति र बडामुवाको ओखतीको सल्लाह माग्दै लेख्नुभएको पत्र (पहिलो) र जसमा डा. साबले आफ्नो सुझाव लेखेर फर्काउनुभएको थियो ।
ढोकाटोलको खान्की
ढोकाटोलमा हाम्रो बारी ठूलो थियो, हरियोपरियो खासै किन्नु पर्दैनथ्यो । पछाडि ‘ठूलोबारी’ मा सबै तरकारी हुन्थ्यो, ज्यापूहरूले हुर्काउँथे । फलफूलका बोट पनि टन्न थिए । नासपाती, अम्बा, आरुबखडा, हलुवाबेत थियो ।
हामी बच्चाहरू फलफूल चोरेर खूब खान्थ्यौं । राखेको ठाउँबाट पनि, रूखमा चढेर पनि । मेरो फुपूको नातिनी, नानीमैयाँ आएको वेला बोटबाटै चोथ्र्यौं । आफूबुवा र हाम्रो बारी बीचमा पर्खाल थियो । त्यहाँ हाम्रोभन्दा धेरै फलफूल थिए । पर्खालमाथिको फलफूल चोर्न रूख चढ्थ्यौं । दुई–तीन चोटि त लडें पनि । घुँडातिर घाउ लाग्थ्यो । राम्ररी नहेरेको भनेर धाईले गाली पाउँथे । अनि मेरो धाईले नानीमैयाँलाई गाली गर्थिन्, “यो काँठी आयो कि मेरो नानीलाई बिगार्छ”, भन्थिन् ।
हाम्रो भान्छामा आलुको रस र मासु पाक्थ्यो । कृष्ण भन्ने भँडारे थिई, भान्छाभन्दा अलग्गै बसेर बच्चाहरूको लागि मासु र आलु पकाउँथिन् । उनले त ढोकाटोलभरिका कुकुरलाई पनि पकाएर खुवाउँथिन् ।
ढोकाटोलमा चिया खाने चलन थिएन । गाई थुप्रै पालेका थियो । दूध प्रशस्त हुन्थ्यो । दूध घोटेर खुवा बनाई मिठाईहरू पनि बनाउँथ्यौं । हामी बिस्कुट पनि खान्थ्यौं, सबै कलकत्ताबाट झिकाइन्थ्यो । हामीले झिकाउन पाउँथ्यौं, सबैले पाउँदैनथे । बारीको फलफूल बाहेक स्याउहरू रक्सौलबाट आउँथ्यो ।
ससुराहरूको रामेछाप चिसापानीमा थुप्रै जग्गा थियो । मेरो ससुराको पुर्खा वैद्य रैछन् । वैद्यले बिरामी महारानीलाई हातले छुनु नहुने हुनाले नाडीमा धागो बाँधेर रोग पत्ता लगाएछन् । महारानी निको भैछन् । पछि ‘डाँडाबाट जति जग्गा देख्छौ तिम्रो भयो’ भनेको रे ! त्यहाँ म कैल्यै गइनँ, तर चामल दाल, तेल, घ्यू, गेडागुडी आउँथ्यो । मेरा सासूहरूले आफैं कुटेर खान्थे, धेरै भएको बेच्थे ।
चन्द्रकुमारी जोशीको बुवा, मुवा र बडामुवा (बायाँ) ।
मुवाहरू राणाजीको दरबार जाने बेलामा दिदी र म पालैपिलो जान्थ्यौं । दरबार कत्रो ठूलो ! कोठा त कत्ति कत्ति ! चोक नै कत्रो हुन्थ्यो ! उनीहरूले हामीलाई खेलौना, घाँगर, लुगा र पैसा दिन्थे । सबैभन्दा त मीठो पिपी दिन्थे । खाना धुमधामको हुन्थ्यो । गुरुमाहरूलाई भनेर लसुन प्याज नहालेको चोखो खाना पकाइएको हुन्थ्यो । कति थरी परिकार ! मिठाई पनि अचम्म अचम्म किसिमका । मीठो कति हुने, बयान गरेर साध्य छैन !
भुईंमा चट्ट कपडा बिछ्याइएको हुन्थ्यो । अनि त्यसमाथि चाँदीको भाँडामा गुरुमाहरूको ज्युनार ल्याउँथे । महारानीहरू चाहिं त्यत्ति आउँदा पनि उलिनकाठ चढेर आउनुपर्ने ! गज्जब थियो ।
यात्राको खान्की
भीमफेदीको बाटोमा जाँदा, घरबाटै खानेकुरा पकाएर लैजान्थ्यौं । बाटोमा खान पाइन्थ्यो । रक्सौलबाट रेल चढेर काशी जान्थ्यौं । त्यहाँ ठाउँठाउँमा अनेक खाना पाइन्थ्यो, सफा हुन्थ्यो । भात चाहिं स्टेशनमा ओर्लेर सँगै गएका काकाबाजे, बाहुनीहरूले पकाएर खान दिन्थे ।
बनारसमा एकाबिहानै गज्जबको रोटी, कचौडी बनाउँथे । त्यही किनेर ल्याएर खान्थ्यौं । काशीको खानेकुरा त एकदम मीठो । मिठाई त फेरि कत्ति थरीका ! कस्तो सफासित राखेको हुन्थ्यो ।
बद्री–केदार जाँदा हामी डफ्फा नै हुन्थ्यौं । त्यहाँ चन्द्रशमशेर महारानीले बनाएको धर्मशालामा बस्थ्यौं । उनले सबतिर त्यस्तै धर्मशाला बनाएकी थिइन् । सबै बस्ने, सुत्ने, खाने, सबै बन्दोबस्त हुन्थ्यो । दाल–भात–तरकारी नै दिने । तर, बद्री–केदारमा एकदम चिसो थियो, भात पकाउँदा पकाउँदै पनि चिसो भइहाल्ने ।
हामी बम्बै गएको बेलामा बैनीहरू र म बुन्न र खाना पकाउन सिक्न जान्थ्यौं, ठूलो क्लासमा । कलेजहरू समुद्रको किनारमा लाइनै हुन्थे । मैले अनेक अनेक पकाउन त्यहीं सिकेको हो । 
(किरणराज जोशी  र रूपा जोशीसितको कुराकानीमा आधारित)
( साभार - हिमाल खवर)