Friday, May 8, 2020

मष्टो , कुलदेवता र परम्परा

( साभार- नयाँपत्रिकामा प्रकाशित डा, माधब प्रसाद पोखरेलको मष्टो हाम्रो कुलदेवता शिर्षकको लेखबाट )
 सबैजसो पहाडे खस नेपालीले दिनहुँ ‘कुलाइन’ (कुलायन, कुलदेउता) लाई साँझ बत्ती बाल्नु पर्छ । कुलाइनको दियो कसैलाई छुन दिनु हुँदैन, मूल खाट र मूल ओच्छ्यानमा अरुलाई सुत्न अथवा छुन दिइँदैन । कुलाइनको दियो बालेको ठाउँमा पनि अरुलाई जान दिइँदैन । कुलाइनको पूजा गर्ने कोठामा अरुलाई छिर्न पनि दिइँदैन । वैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमामा सके देवाली (दीपावली) गरेर गोठको धूप हाल्नु पर्छ, नसके पनि कुलाइनको पूजा चाहिँ गर्नै पर्छ । कुलाइनको पूजा बर्तमन (व्रतबन्ध) गरेका छोराले मात्र गर्नु हुन्छ ।
कुलाइनको पूजामा नगरी नहुने र गर्नै नहुने अनेक औपचारिकताहरू छन् । परम्परादेखि आएको पूजा विधिमा भरसक फरक नपरोस् भन्ने हरेक खस नेपालीलाई थाहा हुन्छ । रमानन्द आचार्य (जुम्ला) के भन्दछन् भने, मस्टालाई अरुले छुनु हुँदैन, घर बाहेककाले मस्टाको थानमा जानु हुँदैन अनि नुहाएर मात्र मस्टाको थानमा जानु हुन्छ । औपचारिकतामा कतै अलिकति पनि त्रुटि भयो भने, पिरपिराउ हुन्छ भन्ने मानिन्छ । देवाली नगरेको अथवा गोठको धूप नहालेको वर्षमा आफ्ना गाईको दुधमा चिउरा हाल्नु हुँदैन । 
परम्परादेखि चलेर आएको कुल पूजामा भरसक फरक नपरोस् भनेर जति चिताए पनि समय क्रममा पश्चिम पहाडबाट पूर्व तिर सरेको कुल पूजामा ठावैँ पिच्छे औपचारिकतामा अलि अलि फरक पर्दो रहेछ । यसले गर्दा पूर्वको र पश्चिमका कुलदेवता, पूजा विधि र औपचारिकतामा धेरै फरक परेको देखिन्छ । जुम्लाबाटै मस्टा अरु तिर गएको मानिन्छ ।
सबै पहाडे खस (बाहुन, छेत्री, ठकुरी, कामी, दमाईँ, सार्की, गाइने, बादी, आदि) हरूको मूल कुल देवता मस्टो हो । उदाहरणका लागि पूर्वका पानी पोखरेलका एउटा मुख्य कुलदेउता काला मस्ट हुन् । अर्का कुलदेवताको नाम ‘आदि वाराह’ छ । मनोहर लामिछानेले एउटा मस्टाको नाम ‘वराह’ पनि लेखेका छन्, त्यसैलाई सिवाकोटी (२०१४ इ) ले ‘बारामस्टा’ लेखेको सूचना उनैले दिएका छन् । यसरी एक भाइ मस्टाको नाम ‘वराह’ नै हुन पनि सक्छ । खसान भरि मस्टाहरू १२ भाइ छन् भन्ने किंवदन्ति छ, त्यसै अनुसार एउटा मस्टाको नाउँ नै ‘बारमस्ट’ अथवा ‘बारामस्ट’ भएको पनि हुन सक्छ ।
खसहरू कुलाइनको पूजा चुलाको भर्सेलीमा पनि गर्छन् । कुलाइनको पूजा जुन ठाउँमा गरे पनि हामी भर्सेलीका बिचमा ‘मन्डाल्नी’ लाई कुलदेवी भनेर पूजा गर्छौँ । मन्डाल्नीलाई दुध र सेतो फुलले पूजा गर्नु पर्छ, उनलाई मासु चढ्दैन भनेर हुम्लाको सिमकोटमा एउटा माडौँ (मण्डप) का डाङ्रेले मलाई सुनाएका थिए । मन्डाल्नी हाम्री सबभन्दा ठुली कुलदेवी हुन् ।
कालिकोटमा चाहिँ तुलाराज बिस्टले ‘बन्डाल्नी’ भन्ने एउटी राक्षसीलाई खसहरू पूजा गर्छन् भन्ने सूचना दिएका थिए । त्यहाँ पचालो, खापर, नैनेल (नदी किनाराका देउता) र राँगा माचुलो जस्ता राक्षस देउता पनि पुजिन्छन् अरे । यसरी ठाउँ अनुसार कुनै खसले देउता मानी रहेकालाई अर्को ठाउँका खसले राक्षस मानेको पनि पाइने रहेछ । अवेस्तामा देउतालाई ‘असुर’ भनिन्छ भने राक्षसलाई चाहिँ ‘दएव’ (देव) भनिन्छ (विलियम मलन्द्रा, १९८३ इ, ‘एन इन्ट्रोडक्सन टु इरानियन इन्स्क्रिप्सन्स’, पृ० ४७)। ‘असुर’ शब्द ऋग्वेदमा १०५ पल्ट प्रयोग गरिएको छ, जस मध्ये नराम्रो अर्थमा चाहिँ १५ पल्ट मात्र र राम्रो अर्थमा चाहिँ ९० पल्ट प्रयोग भएको छ (विकिपिडिया)। आर्यहरूकै दुई खाले बगाल बिचमा भएको वैमनस्यले गर्दा ‘देव’ र ‘असुर’ शब्दमा अर्थ परिवर्तन भएको रहेछ । मन्डाल्नीलाई अन्यत्रका खसहरूले देवी मान्ने कालिकोटमा चाहिँ राक्षसी मानेर पूजा गर्ने चलनमा पनि त्यस्तै परेको हुन सक्छ ।
मनोहर लामिछाने र प्रेम कैदीले मस्टाका सूचनाको मूल स्रोत खसानका ‘फाग’, ‘सगुन’, ‘हुड्केली’ र ‘भारत’ जस्ता लोक गाथामा पाइने कुरो गरेका छन् ।
खसान क्षेत्र (कर्णाली र सुदूर पश्चिम) मा मस्टो नै सबै भन्दा ठुलो देउता हो । सबैलाई दुधको दुध पानीको पानी छुट्याएर न्याय दिन सक्ने भएकाले मस्टा नै त्यहाँ गरिबगुरुवामा सबै भन्दा प्यारा छन् । खसानमा मस्टाको निर्णय जुनसुकै मुद्दामा सर्वस्वीकार्य हुन्छ । त्यहाँ मस्टालाई ‘दैलाका देउ’ का रूपमा पुजिन्छ । मस्टाका धामीको ठुलो सामाजिक भूमिका हुन्छ । खसानमा धामीका माध्यमबाट मस्टा नै क्षेत्र रक्षक र न्याय कर्ता हुन् । मस्टाको धामीले पतुर्दै अक्षताको टीको लगाई दिने, घण्टले टाउको छोई दिने र आसिक दिने गर्दा सुब्बेफाब्बे हुन्छ भन्ने जन विश्वास पाइन्छ ।
आफुले चिताएको सबै कुरो पु‍¥याई दिने भएकाले ठुलो आस्थाले खसानका मानिसहरू मस्टाको पूजा गर्छन् । मस्टाको पूजा विधि पनि ठाउँ अनुसार फरक पर्छ । लामिछाने (सल्यान) को सूचना अनुसार चैत्र शुक्ल अष्टमीमा थानमा पूजा गर्ने चलन भएपनि साउन शुक्ल पूर्णिमामा मस्टाको पूजा धूमधामसित हुन्छ । कुल पूजा (देवाली) चाहिँ कार्तिक पूर्णिमा र जेठ पूर्णिमामा गरिन्छ । देवाली ३, ५, ७, ८, १२ वर्षमा गरिन्छ, तर प्रायजसो वर्षको २ पल्ट गरिन्छ । पूर्वी नेपालमा चाहिँ कुल पूजा वैसाखे पुर्नियाँ र मङ्सिरे पुर्नियाँमा गरिन्छ । कुलदेउतालाई कात्तिक पूर्णिमामा न्वागी चढाउने गरिन्छ । न्वागी खानकै लागि धामीहरू विभिन्न गाउँमा जाने चलन छ । नयाँ बालीलाई न्वागी भन्दछन् । कुनै ठाउँमा चाहिँ मस्टाको पूजा आइत बार र बुध बार गरिन्छ भन्ने लामिछानेको सूचना छ ।
आर डी प्रभास ‘चटौत’ (डँडेल्धुरा), मनोहर लामिछाने (सल्यान) र रमानन्द आचार्य (जुम्ला) ले दिएको सूचना अनुसार मस्टाको थान, माडौँ, माणु खुल्ला हुन्छ, त्यहाँ छानो हुँदैन, मूर्ति हुँदैन, ढुङ्गो थापेर अथवा खोपामै पूजा गरिन्छ। आफुलाई समस्या पर्दा मस्टालाई जहाँ पनि स्मरण गरे पुग्छ । वन थलो माणु र घर थलो माणु गरी माणु पनि दुई किसिमको हुन्छ, वनमाणुमा चाहिँ लिङ्गो हुन्छ, विशेष पूजा मात्र हुन्छ, तर घरमाणुमा नै दैनिक पूजा हुन्छ । मस्टाको थानमा ‘आलम’ (ध्वजा पताकाको लिङ्गो) गाडिएको हुन्छ ।
मस्टाको आगम (वा गुह्य स्थान) लाई ‘गब्युर’ (गर्भगृह?) भनिन्छ । मस्टाको थानमा तिन ओटा गर्भगृह हुन्छन् (रमानन्द)। गब्युरसँगै गाडिने आलम सहितकै लिङ्गो प्राय धामीले पतुर्ने मस्टाको थानमा मात्रै फहराउँछ । मस्टाको थान भित्र र वरपर ढुङ्गा, काठ, तामा, पित्तल, काँस, आदिका मूर्ति, त्रिशूल, रुद्राक्षका माला, दियो, र शङ्खघण्ट हुन्छ (आचार्य)। बझाङमा चाहिँ मस्टाले गद्धी (‘पाट’ भनिने काठको खाट) मा दर्शन दिने कुरो सुनाउँदै डा. लक्ष्मी पण्डित के भन्दछन् भने त्यहाँ ‘वनमाणु र घरमाणुको भेद हुँदैन, पुजारीको घरमै मस्टाको कम्पन हुन्छ । 
मस्टाको थान भित्रै एक भागमा माटाको मैरो बनाइएको हुन्छ, जसलाई गादी भन्दछन् । मन्दिरमा चारै तिर ढुङ्गाले बारेर सामान्य धजा, फलामको सोटा (एक प्रकारको राजदण्ड) र घण्टहरू राखिएका हुन्छन् । थान वा मन्दिर प्राय उत्तर (कैलास?) तिर फर्केका हुन्छन् (लामिछाने) । मस्टाको नजिकै देवी थान हुन्छ, (जस्तै, डोटीको शैलेश्वरी मन्दिरकै पछाडि चण्डेश्वरी भैरव थानको २० मिटर जति दूरीमा छेत्रपाल दुधे मस्टाको थान छ) । मस्टा र भवानीको नाउँसँगै भैरव, झाँक्री, सिद्ध, बेताल, जस्ता देउताहरूको नाउँ प्राय जोडिन्छ (लक्ष्मीदत्त अवस्थी) ।
लामिछाने अनुसार मस्टा र भवानी दाजु बहिनी भए पनि मस्टाका परिवारमा मस्टाका भतिजा, मामा, भान्जा, भान्जी र सेवकहरू पनि भएको विश्वास गरिन्छ । मस्टाको थान नजिकै दायाँ बायाँ अलिक पर विभिन्न प्रकारका स्थानीय भूत, प्रेत, पितर, भैयार, सासल्या, बज्रठिङ्ग्याल, खोल्या, महाकाल (मकाल), भैरव, लाटो, तेडी, समैजी र बेताल जस्ता डुलुवाहरूको भाग मस्टाको छुट्याइएको हुन्छ । यस्ता स्थानीय देव र भूतप्रेतलाई मस्टाले नै नियन्त्रण गर्ने विश्वास गरिन्छ । मुगु र हुम्ला तिर लामाज्यु भनेर पनि मस्टासितै पूजा गरिन्छ (बौद्ध प्रभाव?) । 
मस्टाको पूजाआजामा धामी, डाङ्री, पुजारी, दमाईँ र कबिलास (कैलास भाक्ने) नियुक्त हुन्छन् । मस्टाको धामीले रुद्राक्षको माला लगाउँछन्, कपाल पाल्छन्, त्रिशूल, चिम्टा र फलामको लौरो लिन्छन् (आचार्य)। मस्टाको धामी ईश्वरीय शक्ति भएको मानिन्छ । धेरै धामी भएका ठाउँमा एक जना मुख्य धामी र अरु सहायक धामी हुन्छन् । मूल धामी गादीको मुख्य अधिकारी हुन्छ । मस्टा उत्पत्तिका मुख्य ठाउँबाट अरु ठाउँका धामीलाई छाप अथवा लालमोहर दिने पनि चलन हुन्छ । मस्टाको धामी र पुजारीको जुनसुकै जात हुन सक्छ । धामी पछिको अधिकारी डाङ्रीले थानको रेखदेख, पूजाका भाँडाकुँडा र अरु सामग्रीको सुरक्षा गर्छ । मस्टाको धामी नाच्ता दमाईँहरूले दमाहा बजाउने हुनाले दमाईँहरू पनि मन्दिरकै सहायक मानिन्छन् (लामिछाने) ।
मस्टाको सबै भन्दा ठुलो प्रभाव क्षेत्र जुम्ला हो । जुम्लाको पश्चिम तिर पनि पूर्व तिर पनि मस्टाको प्रभाव कम छ, कालिकोटमा मस्टाका विशिष्ट बेहोराहरू देखिन्छन् । कुमाउँ र गढवालमा पनि मस्टो मानिन्छ । मस्टाको उत्पत्ति स्थल मानसरोवरदेखि कर्णाली सम्म मानिन्छ । आचार्य भन्दछन्, ‘धामीका पडेली (भकाइ)’ मा इन्द्रलाई मस्टाका बाबु भन्छन्, मस्टा ‘भोटमा उब्जेका’ भनेर चिनाउँछन्, मस्टाको पूजामा आराध्य देव शिव नै हुन्छन्, अनि वन, पाटन हुँदै मस्टा हिँडडुल गर्छन् । 
मनोहर लेख्छन्, बाल ब्रह्मचारी मस्टालाई निराकार मानेर रूपमा पूजा गरिँदैन । मस्टाको मूर्ति हुँदैन, ढुङ्गो थापेर पूजा गरिन्छ । मस्टालाई वायु रूपको हुन्छ पनि भनिन्छ । शिवजीले सबै प्राणीको पालन, पोषण र रक्षा गर्न खटाएका गण मस्टा हुन् । मस्टो उदारता र समन्वयको प्रतिमूर्ति हो । कुलचन्द्र कोइराला मस्टो शब्दको व्युत्पत्ति नै ‘मरुत्, मरुत्तस्’ (वायु) बाट भएको मान्दछन् ।
मस्टालाई खसान क्षेत्रका कुलदेउता, क्षेत्रपाल अर्थात् त्यस क्षेत्रका रक्षक, भूमिपति, अरु स्थानीय देउतालाई पनि नियन्त्रण गर्न सक्ने, परम शक्तिशाली देउता मानिन्छ । आचार्य मस्टाको गोत्र वामदेव (शिवकै नाउँ) हो भन्दछन् । डा. जयराज पन्त (डोटी) ले शिवजी र पार्वतीको गणका रूपमा मस्टो लोक कल्याण कार्यमा खटिएको जनाएका छन् । मस्टाको धामीले पडेली र कैरण पतुर्दा खस प्राकृत भाषा बोल्छ । भारत, हुड्केली, गाथा, फाग र सगुनमा जस्तो भाषा पाइन्छ, त्यताको धामीले पतुर्दा त्यतै तिरको बोली प्रयोग गरेको देखिन्छ (लामिछाने)।
चटौतले अमरकोशमा ‘मश्’ धातुको अर्थ ‘रिसाउनु’, ‘कराउनु’, ‘तपस्या गर्नु’, ‘हिंसा गर्नु’ बाट मस्टाको अर्थ खोजेका छन् । ‘शब्दकल्पद्रुम’ मा त्यसै सम्बन्धी ‘मक्ष’ धातुको अर्थ पनि ‘रिसाउनु’, ‘कुट्नु’, ‘कराउनु’, ‘मार्नु’, ‘फल दिनु’ पाइन्छ । चटौतले भेस बदलेर वा प्रकट भएर कसैको परीक्षा लिनु, भविष्यवाणी गर्नु, भलो हुने कुरो बोली दिनु (सात्विक गुण), अनि ‘चोट पु‍-याउनु’, ‘क्षति गर्नु’ (रजोगुण) भन्ने अर्थ मस्टासित मिल्ने ‘मश्’ धातुबाट निकालेका छन् । आचार्यले ‘शिवमहिम्नस्तोत्र’ मा शिवलाई ‘महिष्ठः’ भनेको कुरो अघि सार्दै ‘मस्टो’ शब्द त्यसै शब्दबाट व्युत्पन्न भएको निर्णय दिएका छन् । ‘मस्टो’ लाई स्थानीय जन जिब्राले ‘मइठो देउ’ (महिष्ठ देवः) भन्दछ । यसबाट ‘मस्टो’, ‘महिठो’ अथवा ‘मइठो’ शब्द भगवान शिव जनाउने ‘महिष्ठः’ शब्दबाट बनेको रहेछ भन्ने अर्थ निस्किन्छ । इरानीहरूको ‘अवेस्ता’ मा मुख्य देवताको नाउँ ‘अहुर मज्दा’ भन्ने पाइन्छ । आचार्यको भनाइ मान्नु हो भने, ‘अहुर मज्दा’ भन्ने शब्द संस्कृतको ‘असुर महिष्ठः’ भन्ने शब्दबाट बनेको प्रमाणित हुन्छ । आप्टेको ‘संस्कृत शब्द कोश’ अनुसार ‘महिष्ठः’ शब्दको अर्थ ‘महान् देव’ (अर्थात् महादेव) हुन्छ । 
विलियम मलन्द्रा (१९८३ इ, एन इन्ट्रोडक्सन टु एन्सिएन्ट इरानियन रिलिजन) ले इरानी अखामनीहरूको अभिलेख (पृ० ४५) मा ‘अहुरस्य मज्दाह्’ (असुरस्य महिष्ठ?) भेटेका छन् । त्यस अभिलेखमा ‘अन्तिम जनाधिक्यका वेलामा मज्दाले यिमसित (शिवले यमसित?) सामूहिक सल्लाह गरे’ (१७६) भन्ने लेखिएको छ । कुज्मिना (२००७ इ, हिष्ट्रियर अफ इन्डोइरानियन्स) ले इरानी आर्यहरू वैदिक आर्यसँग छुट्टिएर दक्षिण तिर लाग्दा यमले नेतृत्व गरेका थिए भन्ने लेखेकी छिन् । यमलाई अवेस्तामा ‘यिम’ भनिएको छ । हिन्दुकुशको स्वात उपत्यकामा इन्द्रलाई ‘यिम्र’ भनिएको छ ।
यसरी ‘यिम’, ‘यम’, ‘यिम्र’ र ‘इन्द्र’ को साइनो गाँसिन्छ (पर्पोला, २०१५ इ, ‘रुट्स अफ हिन्दुइज्म’) । लामिछानेले मस्टालाई इन्द्रको सन्तान मानिने भएकाले ‘इन्द्र गादी’ (इन्द्रासन) इन्द्रबाटै मस्टाले अधिकारमा पाएको विश्वास गरिन्छ, त्यसैले धामीहरू गादी (मैरो) मा काम्दै उफ्रेर चढ्छन् अनि यसरी काम्दा ‘देउता चढ्नेङ चढ्ने, जिउ चढ्ने, औतार लिने’ हुनाले मस्टाको बोली देव वाणीमा परिणत हुन्छ भन्ने लेखेका छन् । मस्टाहरू आफुलाई इन्द्रका छोरा (शिवजी इन्द्रका छोरा?) भनेर चिनाउँछन् भन्दै लक्ष्मी पण्डित ‘इन्द्रको जायो (छोरो) मइठो (मस्टो) बोलायो’ भन्ने बझाङको उखान सुनाउँछन् । पण्डितको भनाइ अनुसार मस्टाकी ‘आमा मन्डाल्नी, बाबु इन्द्र’ हुन् । इन्द्रको मूल्याहा छोरो भएकाले मस्टालाई इन्द्रले पातालमा फ्याँकी दिएको किंवदन्ति बझाङमा छ अरे । सोमयाग, महाव्रत, राजसूय, वाजपेय र अश्वमेध यज्ञमा व्रात्यहरूलाई देउताले स्वर्ग लगेनन् भन्ने प्रसङ्ग आउँछ । अथर्व वेदमा शिवजीलाई नै व्रात्य भनिएको छ (पर्पोला, २०१५ इ) ।
खसान क्षेत्रमा प्रचलित लोक कथा र गाथा अनुसार दक्ष यज्ञ नाश गरेपछि शिव गण मध्ये वीरभद्र जस्ता केही चाहिँ शिवजीमा लीन हुन चाहे, तर केहीले चाहिँ वायु रूपमा घुम्ने, मान्छेको जिब्राले बोल्ने इच्छा गरे । मस्टा तिनै शिव गण हुन् (आचार्य)। अर्को लोक कथा अनुसार असुर (दक्ष?, रावण?, जालन्धर?, शङ्खचूड?, अन्धकासुर?) हरूले शिवकी भगवतीलाई दुव्र्यवहार गरी बन्दी बनाएकाले शिवजीले आफ्ना गण (विनायक?, गणेश?, स्कन्द?) हरूलाई मुक्त गर्न लगाए । गणहरूले मस्तक थापेर युद्ध गरी जिती ल्याएका (मस्तकमा राखेर भगवतीलाई ल्याएका?) हुनाले त्यही मस्तकबाट मस्टो शब्द बनेको हो (लामिछाने) । मानसरोवरमा विहार गर्ने क्रममा शिवजीको वीर्यपात भएर दन्दनी बलेको आगो स्वर्गबाट नुहाउन आएका दुइटी अप्सराले तापेकाले एउटीले कालिका, मालिका र दुर्गा जन्माएको र अर्कीले मस्टो जन्माएको पनि मिथक छ (लामिछाने) । भैरव र सिद्धका रूपमा पनि मस्टा पुजिएको सूचना पनि पाइएको छ ।घोडा नै मस्टाको प्रमुख वाहन हो, तर भेडा, चितुवा र जाड्या पनि मस्टाका वाहन मानिएका छन् ।
घोडा नै मस्टाको प्रमुख वाहन हो, तर भेडा, चितुवा र जाड्या पनि मस्टाका वाहन मानिएका छन्
मस्टाहरू १२ भाइ छन् र उपभेद ८४ छन् भन्ने किंवदन्ति खसानभरमा छ अनि त्यो उपभेदको आधार धामी हो (आचार्य), तर सूचकहरूबाट बटुलेका मस्टाका नामहरू गनी साध्य छैन, जस्तै, (१) उखाडी, उखड्या (मनोहर):आचार्य अनुसार यो मस्टाको मूल थलो जुम्लाको उखाडी हो । (२) कवा, कः, कावु (मनोहर): ‘कवा’ मस्टाको मूल थान मुगु हो । ‘कवा’ मस्टालाई केश अर्थात् कपालको आँठो चढाउँछन्, (आचार्य)। मनोहर ‘कौवा’ मस्टाको मूल थलो ‘कौवा लेक’ लेख्छन् । (३) कालोसिल्टो, कालसिला, काल्सिला, काला, काल्या, ‘कालाशिला विनायक मस्टो’ (बिस्ट, कालिकोट), (४) क्षेत्रपाल, छेत्रपाल्या : पूर्ण धितालको भनाइ अनुसार क्षेत्रपाल मस्टालाई समन्वयकारी मस्टो मानिन्छ, क्षेत्रपाल मस्टाको माडौँ जुम्लाको धिताल्नी गाउँ हो । (५) खापड, खापर : खापर मस्टाको माडौँ कालिकोटको पलाँता गाउँ हो (धिताल)। लामिछाने चाहिँ कालो खापडे अर्थात्, खापर मस्टाको माडौँ खप्तड हो भन्दछन् । 
(६) ढणार, ढँडार, ढँडारे : आदि मस्टाका रूपमा पुजिने यो जेठो भाइको मूल थलो बझाङको ढँडार हो । ‘रातो ढँडार’ भन्ने बेग्लै मस्टो पनि छ कि? ‘ढँणार फुट्यो, पखान छुट्यो’ भन्ने उखानको अर्थ हो : ढँडारको प्रवाहमा प्रवाहित हुँदै जल, थल, पाखापखेरा सबै मस्टामय भए (पण्डित)। (७) थार्पा, थापर, थापरे, थार्प, थार्पो मस्टालाई सर्वज्ञ र विद्वान् मस्टो मानिन्छ । मुगुको थार्पा भन्ने ठाउँ यसको मूल थलो हो । मुगुमा ‘मस्टो पोखरी’ छ (धिताल)। (८) दाढ्या, ढाडे, दाढे, दारे : धिताल अनुसार चमत्कारी दाढ्या मस्टाको माडौँ मुगु हो । जुम्लाकै आचार्य चाहिँ दाढ्या मस्टाको मूल थलो दुल्लु हो भन्दछन् । सल्यानका लामिछाने चाहिँ ‘दारे’ मस्टाको मूल थलो जुम्ला, मुगु र जाजरकोट लेख्छन् । (९) दुध्या, दुधे, दुधेसिल्टो : यो ‘दुध खाने सात्विक’ मस्टाको मूल थलो दुल्लु हो (आचार्य) । यो मस्टो शाकाहारी हो अरे । (१०) बाम, बाओँ, बाहाँ : धिताल अनुसार बाओँ मस्टाको माडौँ जुम्लाको बाओँ गाउँ हो । बाओँलाई सुरक्षा दिने देउता मानिन्छ । आचार्य चाहिँ ‘बाहाँ’, ‘बाम’ मस्टाको मूल थलो मुगु भन्दछन् ।)
(११) बाबिरो, बाबिरा : धिताल अनुसार जुम्लाको खलङ्गा नजिकैको बाबिरा गाउँ बाबिरो मस्टाको माडौँ हो। आचार्य बाबिरो मस्टालाई कान्छो भाइ भनेर चिनाउँछन् । बालकृष्ण पोखरेल (२०५५, खस जातिको इतिहास, २४०) ले ‘(बाबिरो) मस्टा’ शब्दको साइनो इरानी ‘(बाबैरुरा) मज्दा’ सँग जोडेका छन् र बाबिरो मस्टाले खसहरूलाई एकातिर असुरसित अर्कातिर बेबिलोनसित जोड्छ भन्ने विचार व्यक्त गरेका छन् (लामिछाने)। (१२) बिजुल्डाणो : आचार्य यस मस्टाको मूल थलो जाजरकोटको ब्वारेकोट मान्दछन् । (१३) बुढो, बुढाल, बुडु, बड : जुम्लामा बुडु मस्टालाई नै सर्वशक्तिमान् मस्टो मानिन्छ । बुडु मस्टाको माडौँ जुम्लाको बुडु गाउँ हो (धिताल) । बुडु नै सबै भन्दा जेठो मस्टो हो । (१४) रमाल, रुमाल, रुमाल्या मस्टाको मूल थलो लामिछाने (अछामको?) ‘खिड्कीसैनी’ लेख्छन् । (१५) लाडे, लरे, लाट्या, लाटो, ‘लट्टे, जटाधारी’ मस्टो इमान र न्यायको देउता हो, जसको माडौँ जुम्लाको सन्जेलबाडा हो (धिताल), तर जुम्लाकै आचार्य चाहिँ लाटो मस्टाको मूल थलो हुम्ला भन्दछन् । (१६) सुनारगाउँ, सुनारगाउँले मस्टाको मूल थलो जुम्लाकै सुनारगाउँ हो (आचार्य) । 
लामिछानेले दिएका मस्टाका अरु नाउँ यस्ता छन् : उडिसिला, कमल, कलि, कुर्मी, कैडल्यो, कैलास, क्यँडालो, खुन्दात, खुन्दाल, गुणे, गुरौ, ‘गुरो’ (मूल थलो हुम्ला र मुगु), घुरापानी, जिय, टेठ्या, टेढी, ‘तेडी’ (मूल थलो डोटी), डाङ्री, डोग्री, तुसापानी (ढुसापानी), पुवाँले, बान्नी, बाँसकोट‍¥या, बाँस्यालो, माङ्ले, मुण्डा, रुद्र, लाकुड्या, लाङ्खुरे, लिउडी, वनपाला, वराह, बारामस्टा, सुकिलो हंस र सुन्दरगाउँले । 
तुलाराज बिस्ट लिङ्गासैनी मस्टलाई भगवान शिव मान्दछन् । उल्लेख गरिएका सूचकहरूले मस्टाका अरु नाम र किसिम पनि चिनाएका छन्, जस्तै कामत, कैल्या, डढी सिमल, डाँडा, थोते, धौलपुरा, धौलपुर, धौलपुरे, धवलपुरी, बिजुल, मण्डल्या, मुढ्या, म्हावै, वाँ, लरिचाल, लाङ्डा, लेखाडी, लोखाडी, साइन, सिम । स्थान भेद र उच्चारण भेदले पनि मस्टाको सङ्ख्या बढेको पाइन्छ । 
स्वभावका दृष्टिले मस्टा तिन किसिमका पाइएका छन् : (अ) रजोगुणी मस्टाले रगतको वलि खान्छन्, जस्तै,  जेठो आदि मस्टो, रुमाल मस्टो, दाह्रे, खप्पर, खपरे, र टेढी । दारे मस्टाको धामीले दाँतले बोकाको घाँटी टोकेर वलि स्वीकार्छ । दारेबाटै थोते मस्टो जन्मेको मानिन्छ । (आ) सत्वगुणी मस्टाले दुध र खिरको वलि मात्र खान्छन्, जस्तै, दुधे र लडे । (इ) सर्वाहारी मस्टाले जस्तो वलि पनि खान्छन्, जस्तै, मुण्डा, रुद्र, कैली, काला र रानी मस्टाहरू ।
पण्डित के भन्छन् भने, ठाउँका नाउँले मात्र मस्टाको सत्या धेरै देखिएको हो, नत्र मस्टो एउटै मात्र हो । त्यसका मूलतः ३ किसिमका रूप हुन्छन् : (अ) दाढ्या (दाँत देखाउने अर्थात्, भोग खाने), (आ) दुध्या (दुध खाने), (इ) रोड्या (न्यायाधीश)। उनको भनाइ अनुसार बझाङमा मस्टालाई मासु चढाइँदैन, दही चामलले मात्र पुजिन्छ । 
बाह्र भाइ मस्टा र नौ बहिनी भवानी भन्ने प्रसिद्ध भए पनि भवानीका नाउँमा पनि एकरूपता पाइँदैन । लक्ष्मी पण्डित भन्दछन्, मस्टालाई बझाङ तिर १६ बहिनीको ‘एकलो भाइ’ भनेर चिनाउने चलन छ । भवानीहरूका नाउँ यस्ता भेटिन्छन् :
अलकनन्दा, कनकसुन्दरी, कालिका, खेसमालिनी, चुली मालिका (कालिकोट), जालपादेवी, ठिङ्ग्याल्ली, डिँग्याल्नी (.गद्धीनसिन), थिगेल्नी, त्रिपुरासुन्दरी, दुधे भवानी (जुम्ला), दुलेल्ली, नदई (जुम्ला), निगालासैनी (डोटी, बैतडी), पुँगेल्नी, पुँग्याल्नी (.अधिकारिणी), पुगमालिका (कालिकोट), पोटलासैनी (डोटी, बैतडी), बडी मालिका (कालिकोट), बन्डाल्नी (पूर्ण धितालको भनाइ अनुसार यिनै सबभन्दा ठुली देवी हुन् ।
आचार्य यी देवीको वैकल्पिक नाम मण्डाल्नी भन्दछन् । बिस्टले चाहिँ बन्डाल्नीलाई जङ्गलमा पूजा गरिने राक्षसी देवी भनेर चिनाए । आचार्य इन्द्र पत्नी ‘मस्टाली’ लाई चाहिँ दैत्य मानिन्छ भन्दछन् ।), बिन्द्रवासिनी, (डोटी, बैतडी, अवस्थी), बिन्दासैनी, भवानी, भुजेल्नी (जुम्ला), मङ्गलासैनी (डोटी, बैतडी),मालिका, रामारानी (रामारानीका रूपमा खसानसँग जडान संस्कृतिको एउटा बाहोँ मिसिएको पाइन्छ), शैलेश्वरी वा शिलादेवी (डोटी, बैतडी), सुन्दरादेवी, ह्रूपा देवी (अग्ला टाकुरामा बस्ने, ऋषितर्पणीमा मात्र पुजिने, कालिकोट)। आचार्य भवानीहरूलाई मस्टाका अनुचरी भनेर चिनाउँछन् भने अरुले बहिनी भनेर चिनाएका छन् ।

Friday, May 1, 2020

अतित उत्खनन -५ ( फेरि बैतडी )



थरीथरीका भोगाइहरु
बैतडी सदरमुकाममा डेरा खोजी आफनो पाँच सदस्यीय परिवार ब्यबस्थित गर्दाको दिन असाध्यै थाकियो । निधारका पसिना पुछ्दै अस्ताउनै लागेको सूर्यलाई हेरे । आखिर यो पनि त अब डुब्न लागिसक्यो । तर, भोलि बिहान उदाउँदा उस्तै उज्यालो, सबै अँध्यारो हटाउँदै रोशनी बाँड्नेछ  । स्वयम् कल्पनामा रमाउनु पनि दैनिकी बन्दैछ ।
सूर्य अस्ताएको देख्दा  उसै गरी थकाइ मेट्न लागेको हुँदो हुन भनेर सोच्छु । आफुले गर्ने विश्राममा भने सन्तानका सपना अधुरा भएको पाउथें । आफू थिचिने भारी बोकेर बन खेत धाउँदा नाम्लोले तालुमा गहिरो खाल्डो बनेको र त्यसमाथि नाम्लोको दुखाइले निधार खुम्चिएर बनेका मेरा मातापिताजीका  निधारका रेखा सम्झेर मैले पनि सन्तानको खुसीका लागि केही गरेकोछु भन्ने भ्रम पालेको थिए ।
आफ्नो छोराहरुको भविष्यमा कहिल्यै प्वाल नपरोस्  भनेर पालिएका खुसीका सुन्दर सपना मनभरि उफ्रिन्थे । निधारबाट बगेका पसिनामा ती स्वैरकल्पना सिन्चिन्थे । अनि आफैसंग प्रश्न गर्थे, के म महत्वाकांक्षी भए ? के म असामाजिक हुँदैछु ? आदि ।
आफनै मनले जवाफ दिन्थ्यो ,"पक्कै होइन " ।  यी आनीबानी आफैमा खराब होइन । कतिपय व्यक्तिलाई तामझाम मनपर्दैन । भिडभाडमा बस्न असहज हुन्छ । उनीहरु एकान्तप्रिय हुन्छन् । मदिरा र मोजमस्तीमा रमाउन सक्दैनन् । उनीहरु लजालु  अन्तरमुखी भएर अलग दुनियामा मग्न रमाउने किसिमका हुन्छन् । शायद म यस्तै पो हुँदै थिए कि? धेरै सोच्ने भए पनि लोभी, कञ्जुस भन्दा पनि मीतब्ययि भनिन सक्थे । धेरै साथी बनाउन नचाहने , अनावश्यक खर्च नगर्ने र ऐकान्तिक तर्कनामा लेख्नु मेरो शौक बन्यो  । सम्भवत: यहि लेखाइ मेरो जीवन जिउने तयारी पनि थियो ।
आजसम्म आइपुग्दा मैले पढाइलाई जिवनका भोगाइहरुबाट मात्र सिकेकोछु । गलत के हो सहि के हो , छुट्याउन सक्ने भएको छु । खुशी हुन  आजकल अरुमा भर परिदैन । ब्याबहारिक उद्देश्य बोकेर सकेसम्म विवेकशिल हुन खोज्छु । आफ्नो सिमाना थाहा सदैब थाहा पाइराख्नु पर्छ र यो संसारमा सबै प्रश्नहरुको उत्तर हुंदैन भन्ने पनि बुझेको छु । सबैलाइ समान व्यवहार पनि गर्छु । ठुलो मान्छेलाइ भेट्दा धनुष्टंकार परी नमस्कार गर्दैन । अफिस सफा गर्ने स्विपरलाइ सानो पनि ठान्दैन । आजसम्म जीवन चलेकोछ , चलि रहेकोछ ।
यसपल्टको काम गराइमा अफिसको मुद्दा फाँटमा काम पाएपछि केही स्थानिय दलालले निन्याउरो मुख लगाएको प्रष्टै देखियो। कार्यालयको निरिक्षण को जिम्मा समेत पाए । भर्खर खुलेको भिडियो घरको निरीक्षण गर्न गएको त आधा दर्जन " चलता फिर्ता  कर्मचारी " छडकेमा परे । यस्ले चर्चा मचिन्छ सदरमुकाममा । सरकारी वकिल बनेर आएका कवि दिनेशहरी अधिकारी संग केही काव्य चर्चा हुन्छ । केही सिकाइ माग्छु । सुधीर कुमार शाह कामु प्रजिअ हुनुहुन्थ्यो । वहाँको काम गराइको गतिसंग मैले पनि अनुकुलन गरिसकेको थिए ।
यसरी  निरिक्षणका काम र ठाडो उजुरी मात्र हेरे । जेठ मसान्ततिर  पाटन र सतबाँज तिर पनि निरिक्षण गरियो । मेलौलीका नर्सरीहरु पनि हेरिए । आफनै ग्वाल्लेक बनमा खयरको नर्सरी लगाएको रेकर्ड समेत देखियो। उहिले म डढेल्धुरा हुँदा जोगबुडाबाट खयरको मुसल ल्याइ दिन बुवा करकर गर्नुहुन्थ्यो । यसरी आफनै बनमा खयर पाइने कुरा बताए पछि वहाँले यस्तो हुनै नसक्ने कुरा बताए । बुझ्दै जाँदा कथित नर्सरी र खयरको बृक्षारोपण त कागजी कारवाहि मात्र रहेछ । छानबिन पछि बन कर्मचारी माथि मुद्दा चलाउन विशेष प्रहरीमा लेखी पठाएको सम्झना छ । यसरी बैतडी हाजिर भएका एक महिना र एक हप्ता बित्यो । साउन २ मा शाखा अधिकृतको लिखित परिक्षामा पास भएको खवर आयो । डोटीबाट खुलामा पास हुने पहिलो रेकर्ड रे । ग्वाल्लेकतिर हात जोडी नमन गरे । सपरिवार बैतडी सदरमुकाममै खुशी मनाइयो ।
अन्तरबार्ताको अप्ठ्यारो
तिनवटा चिचिला  सन्तान बैतडी सदरमुकाममा थुुपारेर जेठो छोरालाइ दिपकलाइ  स्कुल भर्ना मात्र गरेको थिए, फेेरि काठमाण्डौको चक्कर लाउनु पर्ने भयो । यस पछि  हतारो गर्दै अज्ञात यात्राको जोरजाममा लागियो । मुलत: भेटन आउनेहरुका पत्का ( ब्यर्थका कुरा),  सकि नसकि राजसी ऐठन बोकेका राजाहरु, श्रमसाध्य कामले लखतरान हुँदा लाटो देखिने आधा आकाश -मैले यहाँ साक्षात्कार गर्ने बिषय थिए  । त्यस बेला बैतडीका उदीयमान नेतृत्वमा लोकेन्द्र बहादुर चन्दज्यू हुनु हुन्थ्यो ।बिडम्बना, वहाँका बुवाज्यू महाबीर चन्द स्वर्गबास हुँदा लोकेन्द्रबहादुर चन्द यसपटक प्रधानमन्त्री हुन नपाएको अवस्था थियो । त्यसपछि मरीचमान श्रेष्ठ प्रधानमन्त्री हुनु भएको थियो । 
म लोकसेवामा अन्तर्बार्ता दिन पहिलो पल्ट काठमाण्डौ जानुपर्दा पनि पहिले जस्तै केही तारतम्य मिलेकै थिएन । प्र जि अ जिल्ला भ्रमणमा थिए । जि बि स सभापति जयसिंह महताज्यूबाट काज पाएर  पेश्की २०००/- बुझेपछि बल्ल एक समस्या समाधान हुने भयो । लोकसेवाकै यहि लिखित परिक्षामा उतिर्ण साथी हरिदत्त पाण्डेयजीसंग सम्पर्क सल्लाह गरे । बिधिबसात बैतडीबाट मात्र त्यो ब्याचमा हामी पाँच जना साथी भयौ, दुई दार्चुला र एक अछाम गरि सुदूर पश्चिमका आठ जना थियौ । 
काठमाडौ जानुपर्ने दिन सम्पुर्ण ब्यबधानहरु इष्टशक्तिमा समर्पण गरेर प्रस्थान गरे झुलाघाटतिर ।अर्को दिन बिहानै बसबाट हिडेकोमा बाटो ब्लक भै एक कि मी पैदल हिडेर बल्लतल्ल पिथौरागढ हुँदै बेलुका टनकपुर पुगे । रु ३०/- बाबुजीलाई टक्र्याएर रेल रिजरबेसन पाए । टनकपुर लखनौ गोरखपुर ट्रेन । गोरखपुर भैरहवा थोत्रो बस। सुनौली काठमाडौं रात्री बस । १३ सावनमा काठमाडौं पुगीयो । संगै गएका उद्योगी लछी चन्दज्युको डेरामा खाए । बेदप्रकाशको डेरामा बसे । नयाँ पैन्ट सिलाए, कपाल कटाए । मेरो तयारी यहि थियो ।
१६ गते लोकसेवा आयोगमै गै जानकारी लिदा बैज्ञानिक ब्यक्तित्व परिक्षण, सामुहिक योजना, तर्कपुर्ण अभिब्यक्ति  पछि मात्र अन्तर्बार्ता हुने रहेछ । शुरुमै सर्टिफिकेटमा झमेला खडा भयो । सरकारी अफिसमा नियमित काम गर्दागर्दै लगालग तीन बर्षमै आइ ए /बिए कसरी पास गर्न सकिन्छ?भन्ने शंका गरिएको थियो शायद । शंकै त हो, कसैको षडयन्त्र र खुराफात थियो भन्ने शंका  मलाइ पनि लाग्दछ । मसंग मार्कसीट र बिदा स्वकृतिका पत्रहरु मात्र थिए । कुमायुँ युनिभर्सिटिबाट प्रोभिजनल प्रमाणपत्र पनि ल्याउनै पर्ने भयो । माननीय सदस्य गौरीसंकरलाल दास समक्ष १५ दिनभित्र म यो कागज पेश गर्नेछु , अन्यथा मेरो रेजल्ट रद्द गरिदिए मंजुरी छ भनेर निबेदन दिए । मेडिकल टेस्ट गराउनु पर्ने अर्को झंझट आयो । वीर हस्पिटलले चेक गर्नै २ दिन लगायो । अन्तमा मुटुको बायाँतिर साइज बढेको भन्ने पो लेखिदिएछ । साँच्चै  मुटु सुनिएको छ कि क्या हो भनेर सिढी चढदा पनि स्वाँ स्वाँ हुन थाल्यो । साथी हरीदत्त पाण्डेयजीको सहयोगमा डा पदमबहादुर चन्दजीसंग बिस्तृत सल्लाह लियौ । अन्तत: रिपोर्ट बदलियो । 
२३ गते आइ क्यु टेस्ट दिए । सन्तोषजनक भएन । दिक्क लागेर दिनभर फिल्म हेरे । ग्रुप डिस्कसन ठिकै भयो । राति पूर्ब प्र जि अ चुडामणी उपाध्यायज्युको घरमा बसियो । तर्कपुर्ण अभिब्यक्ति ठिकठिकै लाग्यो ।
 २९ गते अन्तर्बार्ताको दिनको अघिल्लो रात भरि निन्द्रा नपर्नाले टाउको भारी थियो । सर्टिफिकेटबारे भएको सोधपुछका कारण दिक्दार लागेर मुड नै विग्रेपछि के गर्नु र ? तर मरता क्या नहि करता भने जस्तो बिस्तारै म सुरिए । 
राम्रोसंग नेपाली बोल्न नआउने हामी परपश्चिमेलीहरूको निम्ति लोकसेवाको ठुुलो हाउगुजि हुन्थ्यो । झन टेक्ने समाउने  हाङ्गो नै नभएको मेरालागि त यो ठुुलै महाभारत थियो । आफुु बिषयबस्तुुमा त्यती पोख्त पनि परिएन । सुदुरको डोटि केन्द्र बाट बिरलै पास हुने मध्ये यसपालाको एक्लो उमेदवार पनि थिए । राष्टिय पंचायत सेवा र प्रशासन सेवा गरि दुई बिज्ञापनको लिखित परिक्षामा पास भएकोले एक ठाउँँमा त कसो पास नहोइएला भनेर आत्म बिश्वास पनि कायमै थियो । जेहोस, अन्तर्वार्ताको घडी आयो ।
प्रशासन सेवाको अन्तर्बार्ता बोर्डमा लोकसेवा आयोगका तत्कालिन अध्य्यक्ष उपेन्द्रमान मल्लज्यू स्वयंले अध्यक्षता गर्नु भएको थियो । एकजना बोर्ड सदस्यले बैतडीको समाजमा प्रचलित बहुतै बदनाम एउटा सामाजिक कुप्रथाको बारेमा केही जानकारी छ कि ? भनेर प्रश्न गरे । उनको यो हेपाहा प्रश्न थियो भन्ने कुरा शरीर-संकेत ( body  language ) ले बताई सकेको थियो । मैले प्रतिप्रश्न गरे " नेपालको जुनसुकै समाजमा पनि कुप्रथाहरु बिद्यमान छन् । मात्रात्मक रुपमा वा नीजि दृष्टिकोणले समेत ती समस्या ठुुला साना लाग्न सक्दछन् । बैतडीको हकमा पनि त्यहाँ थुुप्रै त्यसता समस्या छन् । ती मध्ये केही पहिचानमा छन्, केही नहुन पनि सक्छन् । कुन समस्याको बारेमा कुरा गरौ, म अलमलमा परे । यहाँको संकेत देउकी प्रथा तर्फ हो भने म केही जानकारी दिन सक्छु । "
उनले हो भने । यो मेरालागि अप्रत्यासित थियो । यसको  बारेमा बोर्ड सदस्यहरु भन्दा मसंग बढि जानकारि छ भन्नेमा म ढुुक्क थिए । सौभाग्यबश त्यसताका म मेरा तत्कालिन हाकिम चुुडामणि उपाध्यायज्युले बढुवा प्रयोजनको लागि लेखिरहनु भएको" देउकी प्रथा " नामको किताबका लागि सामग्री संकलन पनि गरिरहेको थिए  । मैले बुझेको कुरा बोर्ड समक्ष राखेे । यसै सन्दर्भमा हिमाली भेेगतिरको झुुमा प्रथा, काठमाडौंको कुमारी प्रथा वा बैतडीको देवकी प्रथा प्रकारान्तरले लगभग एउटै कित्ताका कुरा हुन् पनि भने । यो कुरा काठमाडौंका खाँटि रैथाने अध्य्यक्षज्युलाई चित्त बुझेनछ क्या रे । उनले यो कसरी हुनसक्छ? तर्क सहित पुष्टि गर्नोस भनेर अह्राए । " कुमारि गुठिको समुचित ब्यबस्था नभएमा र निबृत कुमारीको जीवन निर्बाहको अरु कुनै उपाय पनि नहुने एबं बिबाह पनि गर्न नपाउने परिस्थिति निर्माण भएमा के हुन्थ्यो? हामी सबैले सहजै अनुमान गर्न सक्छौ "  यसै लाइनमा कुरा राखे । केही बस्तुगत जानकारि पनि दिए । अध्य्यक्षज्यू " पख्नोस, केही कुरा टिप्नु पर्ने भयो " भन्दै डायरीमा नोट गर्न थाल्नु भयो । यसै सिलसिलामा ४०/४५ मिनेट विभिन्न प्रश्न गर्दै बुँदा टिपोटमा लाग्नु भयो । अरु कुरै हुन पाएन । अन्तमा मैले धेेरै समय लिए, कसैको केही सोध्नु पर्ने छ कि भन्दा अरुहरुले छैन भन्ने संकेत गरे । बस्... मेरो इन्टरभ्यु सकियो ।
अन्तर्बार्ता दिदा शुरुमै मेरो अध्यनको बिषय समाजशास्त्रका सैध्दान्तिक कुरा आए । त्यसपछि सामाजिक समस्या देउकीका प्रसंग झिकियो । यो समस्यामा मेरो अध्ययन थियो नै । बोर्डमा प्रभाव पार्न सकेजस्तो लाग्यो । त्यसै राति कसैलाई केही नबताई खुरुक्क भैरहवा लखनौको बाटो नैनीताल हिडे । सुनौली लखनौको रु ४३/- भाडा थियो । बसमा  साधुभेषको कुइरेले बस नरोकेको झोकमा ठाडटाडै बसभित्रै finish भनेर दिशै गरिदियो । बसबाटै साकेत हेरे । लखनौ पुगेर उनै पुर्ब प्रजिअका छोरा बिनितमणि उपाध्यायको डेरामा बसे । साउन ३२ मा झरीसंगै ११ बजे नैनितालको वसन्त होटेलमा कोठा लिइ सोझै भी सी बंगला पुगेर निबेदन लेखि त्यसै दिन प्रोभिजनल लिए । यसपछि लामो सास फेरेर सरोबर शहरलाई  टुलुटुलु हेरे । रु सातको तरकारी मात्र खाएर रात काटे । खर्चको तामझाम लगभग सकिएको थियो ।
ओलके संक्रान्तिको बिहान नुहाई धोई सकिवरी १.३० मा काठ गोदाम झरेर रिजर्बेसनमा सोझै लखनौ राति ९ बजे पुगे । लगत्तै गोरखपुरको ट्रेन समाते ।  यौटा रानीखेते इन्डियनले कपडाको व्यापारी सम्झेर बाटोभरी चिया नास्ता ख्वायो । " गोरखे साले बदमास होते है " पनि भन्यो । पत्रकार बताउने गाजियाबादको शायद २ नं को काम गर्ने व्यापारी समेत साथी बन्यो । ३०००/- सजिलै कमाइन्छ भन्ने गारमेन्टमा काम गर्ने टेलर  समेत ४ जनाको जत्थामा मिसिएर भारततिरको यात्रा निरापद गराईयो । सुनौली काठमाण्डौको टिकट काट्दा मसंग मुश्किलले ५ /- बचेको होला । सस्तो खालको चाइनिज डिजिटल घडी बाहेक बेचेर गुजारा हुने सामान थिएन । कागजका केही प्रमाणपत्र र थोरै ब्यक्तिगत सामान बाहेक मसंग गुमाउनु पर्ने केही थिएन । हलुका भएर हिडन कति आनन्द ! गफ गरेरै यात्रा सकाए। ५ भाद्रमा चुडामणि उपाध्यायको घर पुगेर बिनित समेतको खबर सहित बाटोमा बेखर्ची भएको बताएर रु १००/- सापट लिइ बाँकी दिनको खर्च त्यसैले चलाए ।  लोकसेवामा प्रोबिजनल प्रमाणपत्र बुझाएपछिको एक हप्ता अबधिमा ल क्याम्पसमा भर्ना हुन मुडकोर्टका कक्षा पनि लिए । कृष्णजन्माष्टमी मनाए । काठमाडौंको गोऽरा हेरे। गृह मन्त्रालयमा काज हाजिर भए ।
… र भइयो अफिसर 
भदौ १४ गते पुर्ब प्र म लोकेन्द्र बहादुर चन्दज्युलाई भेटन गएको त बधाई पो पाए । पास भएको खवर लोकसेवाकै माननीय सदस्य सत्यनारायण झा ले भनेका रे । त्यो राति निन्द्रै परेन । १५ गते बिहानै पुर्ब कन्जरवेटर बलराम भट्टलाई भेटन गए, खबरको सत्यापन गराउन । माननीय सत्यनारायण झालाई सोझै सोध्न लगाए ।  हो रै छ । १० बजे सुचनै टाँस्दै छ होला भन्ने जानकारी पाए । 
यो घटनाक्रमले मलाई नतिजा प्रकाशित नहुन्जेल बडो सकसपुर्ण छटपटिमा राखेको थियो  । के भयो? कस्तो भयो? भन्नै नसकिने, अनुमानै गर्न नसकिने । रेजल्टको लागि आयोगको कमलपोखरि स्थित कार्यालयमा सुचनाको प्रतीक्षा बाहेक अरु के गर्न सकिन्थ्यो र ? । धेरै दिनपछि टेक्सी चढेर कमलपोखरी गए । 
तात्तातै सुचना हेर्दा आफनो नाम नै नभेट्टिने । दोह-याएर हेरे । अँँ हँ, देखिदैन त । तेस्रोपल्ट फेेरि सुचनापाटिमा टाँसिएको लिष्ट पढ्दा बल्ल नाम देखियो, ७३ नम्बरमा। सौभाग्यबश हाम्रो भेेगका सबै सिफारिसमा परेका रहेछौ । 
यसरी एउटा लामो पर्खाइ सकियो ।  अफिसरको परीक्षा पास भएछु । जीवन यसरी नयाँ लिगमा प्रबेश ग-यो । उर्बादत्तजी समेत भै स्टाफ कलेज गयौ । ५ असौजबाट बेसिक तालिम रे । रु १०००/- सरसापट मागेर सहयोगी हितैषिहरुलाई कृतज्ञता सहित मिठाई दिइ सामान्य झरफर गरे । मुडकोर्ट सकि १८ गते गृ मंबाट काजफिर्ता भए । त्यसै राति भैरहवा । अर्को दिन लखनौ- पिथौरागढ  झुलाघाट हुँदै सोझै २१ गते राति ससुरालीमा तीन छोरा र एक श्रीमतिसंग खुशि बाँडे । यसरी म अफिसर बन्ने चरणमा पुगे । 
बिहानै छोरा दिपक साथमा लिई जिल्ला कार्यालयमा उक्ले । वास्तविक सहयोगी र चेपारे मित्रहरुको अनुहार ठाडै चिनिने रहेछ । जि पं को पेश्की फर्छयौट गरे । भिडभाड जस्तै बधाई पाउछु । २६ भाद्रमा घर जाँदा बाटैमा घाङल नाउलामा नुहाएर असिमकेदार मन्दिरमा पुजा गरे । भलो चाहनेहरुले खुशी प्रदर्शन गरे । नचाहनेहरुले पनि नखरा देखाए । आमाबुवासंग बिदा भै २८ गते घरबाट कार्यालय फर्किए । फेरि मैले गाउगर्खा छोडनु थियो । यसैको तारतम्य मिलाउनमा लागे । 
भदौ २९ मा अफिसले  बिदाइ दियो । ससुरालीमा सासुले बिमार परेको खबर पठाएपछि श्रीमती उता लाग्छिन । दिपक गोठलापानी भाइको डेरातिर सारिन्छ । ३० गते बिहान अफिस छाडछु । कान्छा ससुराज्यूले पनि बल्ल साइनोसहित टीका लाउछन ।  ठकुरिहरुसंग सचेत हुनु भनेर अर्ति पनि दिन्छन । म यसभित्रको कूट अभिब्यक्ति बुझ्दछु । दीपकसंग समेत नबोलेका ती बुढासंग सम्बन्धित घटना याद आउछन । सहयोगी दामबहादुरको सहयोगमा झुलाधाटतिर सर्छु । राति पिथौरागढ पुगेर साथी हरीदत्त पाण्डेयजी संगको सहयात्रा शुरु हुन्छ ।  
जिन्दगीको यौटो अर्कै पाटो
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह मा दरबन्दि राखिएको रहेछ । मिति ०४३/६/६ देखि प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ( staff  college ) मा प्रशिक्षार्थीको हैसियतमा प्रबेश गरियो । मेरालागि कुनै पनि कलेज नामधारि संस्थामा प्रबेश पाएको यो नै पहिलो र अन्तिम घटना भयो । ९० जनासंगै मैले पनि प्रशासनिक प्रशिक्षण शुरु गरे ।
यो संस्मरण लेख्न बस्दा केही मनोबादहरुको लाम लाग्दैछ । सानो छंदा आकाशमा देखेको हवाइजहाजमा धेरैपटक चढिसके । तर जहाजको छायांलाइ पछ्याएर दगुर्दाको जस्तो आनन्द  कहिले पाइएन । चिल्ला सडकमा गुडाइएको गाडीभन्दा गाउँको काठे पांग्रा गुडाएको र पैदल कुदेको जस्तो आनन्द कहिल्यै पाएन । भौतिक सुखसयलका सबै माध्यमहरु क्रमस: सांगुरा हुन्छन् । त्यसैले हामी फराकिलो ठाउं खोज्दछौ ता कि स्वच्छन्द रुपमा फुल्न पाइयोस ,चाहेको जीवन जिउन सकोस् र आफुले सिकेको कुरा नयां पुस्तालाइ सिकाउन सकोस् । म पनि आफु हुर्केको गाउं, शहर र राजधानीलाइ जोडेर फराकिलो पार्न चाहन्थे । फालिएका चिजहरुमा उसको सिर्जना प्रयोग गरी उपयोग गर्न चाहन्थे । आफु जन्मेको ठाउंलाइ भौतिक रुपमा मात्र हैन सामाजिक रुपमा पनि फराकिलो बनाउन चाहन्थे  । उसले सिकेका मुल्य र मान्यताहरुलाइ त्यहां स्थापित गर्दै सांगुरो जन्मभूमिलाइ हरेक हिसाबले चौडा पार्न चाहन्थे । अर्को शब्दमा भन्नु पर्दा गाउं फर्केर ‘पाखे’ नै रहन चाहन्थे । 
तर नाटक नै भए पनि रामलीला जस्तो खास रंगले जीबन रंगियो । केही महिनाको तालिममा नाटकको कुनै पात्रको मनोदशामा  रंगिएपछि त्यो निकाल्न गारो हुँदोरहेछ । कुनै पात्र बनेर गरिएको नाटक मन्चनको दुरगामी प्रभाव पर्न जाँदो रहेछ ।  पदीय हैसियत लिएर थातथलोको प्राकृत जीबनबाट टाढा जानू पर्दा अनायासै मनमा रामलिलाका पदहरु गुन्जिएका थिए ।
  " उतारू राज के कपडे , 
बनाऊ वेश मुनियन का।  "
जे भने पनि आफनै माटो आफनै बाटोमा हिडनुको मजा नै बेग्लै छ ।आनन्दकी पगडंडियामा स्वामी रामतिर्थले जीबनका बिबिध बिसौनीहरुको व्याख्या गरेकाछन् । क्रमस: आमाको काख, खेलकूद, साथी, किताब, तरुण/ तरुनी , पैसा, पुत्र र आत्माको खोजीमा जीवन दौडिदो रहेछ । आत्मालाई अंतिम आनन्द पनि आफु जन्मिएको, आफनो ईतिहास बोकेको माटो नै हुने रहेछ । 
म खुशी मनले गाउँ फर्कन चाहन्थे  । जागिरका बिबिध यात्रा मेरोलागि जीवन धान्ने उपक्रम मात्रै हो भन्ने लागेको थियो  । यति मात्रै हो, यो यात्रासंगै केही जीवन सिकेको थिए - केहि बोलेको थिए । जहाँ भए पनि मूलत: म उहीँ माटोको थिए, जुन माटोमा पहिलोपल्ट टेकेको थिए ।
***