उइलऽ (उहिले) भउतै (धेरै) दुःख थे
अमन्त्रम् अक्षरं नास्ति नास्ति मूल मनौषधम्
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।
(त्यस्तो कुनै अक्षर छैन जो मन्त्र नहोस्, त्यस्तो कुनै वनस्पती छैन जो औषधि नहोस्,त्यस्तो कुनै व्यक्ति छैन जो कुनै कामको नहोस् । अतः सबैलाई यथायोग्य काममा लगाउनु पर्दछ ।) शुक्राचार्य
यो पृथ्वीमा हरेक चिजबस्तु छन् जो मान्छेको जीवनमा कहि न कही कतै न कतै उपयोगी सावित भैदिन्छन् । पशुपंक्षीदेखि मानवसम्म सबै एकअर्काको लागि काम लाग्ने नै देखिन्छन् । सबैको आआफ्नै महत्व छ । समयसापेक्ष सबैको सबैलाई आवश्यकता परेकै हुन्छ । फरक यत्ति हो शुक्राचार्यले भनेझैं ती सबैलाई यथायोग्य काममा लगाउन सक्नु पर्दछ । उपयोगमा ल्याउन सक्नु पर्दछ । यसरी काममा लगाउन सक्ने उपयोग गर्न जान्नेमा व्यक्ति समाज र राज्य सबै पर्दछन् । राज्यको सही नीति र सवल कार्यान्वयन पक्ष भैदिने हो भने देश समृद्धिको गोरेटोमा लम्किन कुनै आइतबार छैन् । जुन कुराको उदाहरण बनेको छ डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका अन्तर्गत पर्ने रिठा गाउँ ।
विगतमा अढाइ घन्टाको बाटो हिँडेर ठुले खोलाबाट ल्याउँथे रिठाका बासिन्दाले पानी । स्थानीय तारादेवी देउवा सुनाउछिन् – ‘ससुराका पालामा खोलामा पुगेर खाने पानीसँगै भिजेको रुमाल काँधमा राखेर ल्याउँदा घर पुगुन्जेल सुकिसक्याको हुन्थ्यो रे । पछि खेतमी सिँचाइ गर्न कुलो बनाए । कुलोबाट पानी ल्याउन अलि नजिक भयो । तर, कुलोको छेउछाउतिर दिशा पिसाव गर्याको हुन्थ्यो । पानी फोहर हुन्थ्यो ।
जब जलाधार कार्यक्रमले खानेपानीका मुहान संरक्षण गर्न सिकायो । सिचाइको लागि ट्याङ्की निर्माण गरिदियो अनि जनजीवन बद्लियो । दश एघार बर्ष जति भयो तरकारी लगाउन थालेको । तरकारीबाट राम्रै आम्दानी भैरह्याको छ ।
पछिल्लो समय जलवायु परिवर्तनले गर्दा दिनप्रतिदिन अप्ठ्यारा पक्षहरु थपिदै गएका छन् । पानीका कतिपय मुहानहरु सुकिसके कतिपय सुक्ने क्रममा छन् । विगत इतिहास बन्दै गएको छ । यस्तै हुने हो र समयमै सम्बन्धित व्यक्ति वा निकाय सचेत नहुने हुन भने बुढापाकाहरुका भनाइ नयाँ पुस्ताका लागि दन्त्य कथा जस्तै बन्न के बेर ।
कुनै समय सुन्तलाको लागि पकेट क्षेत्र थियो रिठा गाउँ । ४० वर्षीया भक्तबहादुर देउवाले विगत सम्झिदै सुनाए – ‘धेरै भएको छैन । म आफुइले बेच्या हुँ रुप्य दानो सुन्तला । बिस्तारै ठुल्ठुला दानाका सुन्तला पाँच रुप्यको एक पनि बेचेँ । डोकाका डोका सुन्तला लैजान्थे जाँतमी(जात्रामा) बेच्चाखिलाई । ऐल त गाउँमी चार पाँच रुख हुन्ना । तिनैमी पनि नाना दाना फल्लाछन् ।
एकातिर गाउँमै सडक पुगेको छ । तरकारी किन्न व्यापारीहरु गाउँमै पुगिरहेका छन् । जनजीवन बद्लिएको छ । कसैले प्रसंग उठाउँदा पुराना दिन सम्झिन्छन् बुढापाकाहरु । उहिले माल (मधेश)गएर डोकोमा सामान बोक्दाका दुख छुट्टै थिए । भोकमारी हुँदा खान नपाउँदाका दुःख छुट्टै थिए ।
ती दिन सम्झिने हो भने त अहिले कति हो कति सुख । ६२ वर्षीया इन्द्रबहादुर देउवाले विगत सम्झी आँसु नै झारेर सुनाए – ‘ उइलऽ (उहिले) भउतै (धेरै) दुःख थे । म पाँच वर्षको मुलिएँको (टुहुरो भएको ) हुँ । बा बिथाले(हैजाले) बिते । म पछाडी एक भाइ एक बहिनी थिए । खानलाउन हुन्थेइन ।
बुडर बटाहै(देखि) खाद्यान्नका चामल बोकेर भौत दुख गरिबर पालेकी हुन् आमाले । ’नजिकैको चम्साल भन्ने गाउँको विद्यालयमा ७ कक्षासम्म पढेका इन्द्रले त्यो भन्दा माथि पढ्न पाएनन् नजिकमा विद्यालय । पढ्नमा राम्रो विद्यार्थी भए पनि हाइस्कुल पढ्न निकै टाढा जानु पथ्र्यो जुन कुरा सम्भव थिएन उनको लागि ।
०२२ सालमा भोकमरी हुँदा तिमिला (वनमा पाइने एक प्रकारको फल फल्ने घाँस जसका ठुल्ठुला रुख हुन्छन् ) का दाना पकाएर सिलौटामा पिसेर मोही मिसाएर कचौरा भरि पिएर, काकुन बेथेको खिचडी, दालको झोल खाएर ज्यान जोगाएको कुरा सम्झिदा अहिलेको मान्छे त साह्रै सुखि जस्ता लाग्छन् उनलाई ।
उनी सुनाउछन् –२०३१ सालमा डडेल्धुरा मिसन हस्पिटलमा कुइरेले गाडी ल्याएर आए । सारा मान्छे गाडी हेर्न डडेल्धुरा पुगे । काला जीनको लामो झगुलो लाउँथ्यौ । तल कच्छा (कट्टु) हुनैनथ्यो । आठ वर्षका उमेरमी स्कुल पढ्न गए । इस्कुल जाने भएपछि पाया हुँ कच्छा लाउन । सात कक्षा पास भएको केही वर्ष पछि पेट पाल्ने हिसाबले महेन्द्र नगर पुसाई(फुपाजु) का घर गएँ । पुसाईका घर नजिकै थ्यो हाइस्कुल ।
ग्राउण्डमा विद्यार्थी देख्दा आफुले पढ्न पाएइन भनी आँखामा तुरुक्क आँसु आउँथे । एकान्तमा जाइबर आँसु पुछन्थे । ०३३ सालमी शेर बहादुर देउवा र बीपी कोइरालाको भाषण सुनेको हुँ महेन्द्र नगरमी । त्यइ बेला शेरबहादुर देउवासँग केइ भन्ने होस भएइन । अचेल सम्झिन्छु भन्न सकेको भए पड्डे व्यवस्था मिलाइ दिन्थे कि । दश कक्षासम्म पढेकालाई जागिर मिल्लथ्यो उइल ।
नुन गुड ल्याउन मधेश जानुलाई माल जानु भनिन्थ्यो । सात आठ दिन हिँडेर यो बेला मधेशबाट नुन गुड ल्याउँथँे । टनकपुरलाई मल्लि माल भनिन्थ्यो भने कैलालीको मालाखेतीलाई तल्लिमाल भनिन्थ्यो । पछाडी एकछिन थकाइ मार्न अडेस लगाउन खोज्दा अगाडिको मान्छे टाढै पुगि सक्थ्यो । बाटो भुल्ने समस्या हुन्थ्यो ।
बाटोमा बागभालु लगायतका वन्यजन्तुको डर हुन्थ्यो । अकाली ओराली गर्दा खुट्टा खल्बलि सकेका हुन्थे । थुप्रै हुन्थ्यो हिँड्नु पर्ने । त्यही हिँडाइलाई उकालीलाई कसैले देखेन मात्र माल माल भनिरहे । इन्द्रबहादुरका अनुसार त्यही कुरालाई मनन् गरेर भनिएको थियो –माल माल सबैले भन्यो उकालो ओरालो कसैले देखेइन ।
मधेशबाट नुन गुडसँगै कसैकसैले घरमा बुढाहरु कतिखेर पो मर्छन् भनेर कात्रो समेत ल्याउने गरेको कुरा समेत सुनाए इन्द्रले । चम्सालका बीरबहादुर मल्लका बुवाबाट सुनेको कुरा समेत सुनाए उनले –‘त्यतिबेला कपडाको अभावका कारण घाटमा पुगेपछि किरियापुत्रीले लाशको मुखमा बेरिएको सेतो कपडा च्यातेर झोपो (टाउकोमा बाँध्ने कपडा) र कन्जेउडी (लगौटी) बनाएर लगाउँथे । त्यो समयदेखि अहिलेको समयसम्म आइपुग्दा कयौं परिवर्तन आए । कयौ पुस्ता बिदा भएर गए ।
रिठा गाउँका देउवाहरुको विगतको गाउँ भन्नु हालका डडेल्धुराकै सुनकोट भन्ने गाउँ हो । इन्द्रका अनुसार कथा भन्छ –भोटे राजाको फौजले सुनकोटका सबै देउवाहरुलाई मार्यो । एउटा गर्भीणी महिला संयोगले बाँच्न पुगिन ।
उनलाई त्यही सुनकोटका भुलहरुले उनको माइति गाउँ चम्साल पुर्यायो । केही महिनापछि उनले छोरो जन्माइन । माइतमै बसेर छोरा हुर्काइन । त्यही छोरोबाट जोगियो त्यहाँका देउवाको वंश ।
इन्द्रका अनुसार अहिले पनि देउवाहरुका पुराना घरका अवशेषहरुदेखि पुराना कुवा र भोटे राजाका देवल लगायतका केही प्रमाणहरु देख्न सिकन्छ सुनकोटमा । देउवाहरुले पुज्ने गरेको कुलदेवता सुन्को हाल सुनकोट निवासी तिनै भुल(दलित) हरुले पुजिरहेका छन् । उनीहरुले आफुले पाएको नयाँ देवता भएको हुँदा त्यसको नाम नौलो राखेका छन् ।
पत्रकार मोहन शाहीसँगै रिठा गाउँ पुग्दा बाटैमा भेटिएका थिए बडाल मालिगाउँका रमेश माली । जो जलाधार कार्यक्रमका पूर्व कर्मचारी पनि हुन् । उनका अनुसार डडेल्धुरामा हाल तरकारी खेतीमा उत्कृष्ठ ठानिएका नमुना गाउँहरुमा पर्दछन् – रिठा, फिन्निकोट, पोखरा र बगरकोट ।
रिठाको आलु अग्र्यानिक आलुका रुपमा केही दिन अघिमात्रै काठमाडौंमा एक सय दश रुपैया केजी बिक्रि भएको कुरा सुनाइमा आएको छ । हाल यो गाउँको तरकारी बुटवल, कैलाली, कञ्चनपुर डडेल्धुरा, डोटी अछामसम्म बिक्रि हुने गरेको छ । गाउँको सिरानीमा तरकारी संकलन केन्द्र छ ।
रमेश मालीका अनुसार रिठाका वासिन्दा सुरुमा भाँडाकुडा पखालेको पानी प्रयोग गरी अलिअलि तरकारी लगाउँथे । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाले आरभिटि र धारा उपलब्ध गरायो । गाउँमा खाने पानीका धारा आएपछि मध्यरातमा समेत सिँचाइ गर्थे गाउँलेहरु ती धाराबाट । पालो पाइदैन थियो ।
पछि पर्वतीय जलाधारहरुको जलबायु परिवर्तन समानुकुलन आयोजनाले ३३ वटा सुक्न थालेका मूलको छनौट गरी मूल संरक्षणका कदम चाल्यो । रिचार्ज फिड, रिचार्ज पोण्ड बनाइयो । भारतको हिमाञ्चल प्रदेशमा टुरमा जादा खाल्डा खन्ने अनि खाल्डामा ढुंगा राखेर माथिबाट माटोले पुर्ने गरेको कुरा पनि सिके ।
पर्वतीय जलाधारहरुको जलबायु परिवर्तन समानुकुलन आयोजनाले नै १५ वटा ट्याव ३ वटा इनटेक १ कलेक्सन च्याम्बर ४६ हजार लिटर पानी अट्ने एउटा पोखरी निर्माण गरिदियो । अहिले सिँचाइ गर्न दिन पर्खिनु पर्दैन । ट्याव छोडिएको छ । सबैले एकै पटक सिँचाई गर्न पाएका छन् । तरकारी लगाएर महिलाहरुले घर खर्च धानेका छन् ।
छोराछोरी पढाएका छन् । लोग्ने मान्छेसँग हात थाप्नु परेको छैन् । बरु लकडाउनमा घर फर्केका अन्य गाउँका पुरुषहरु गुजारा गर्न गाह्रो भएपछि कामको खोजिमा पुनः भारततिर हिँडिसके । यहाँका पुरुषहरु सबै गाउँमै छन् । तरकारी खेतीमा व्यस्त महिलाहरुलाई सघाइरहेका छन् ।
जम्मा २९ परिवार भएको गाउँमा १ परिवार दलितको र एक परिवार रावलको छ । अरु सबै देउवाहरु छन् । डोटीका ८२ वर्षे पूर्ण बहादुर रावल घर जुवाइ बनेर बसेका छन् यही गाउँमा । नजिकमा पर्ने बमन गाउँ, अखट्टे, गर्खा लगायतका गाउँका वासिन्दाहरु समेत रिठा गाउँका वासिन्दाबाट प्रभावित भएर सुरुवात गरिरहेका छन् तरकारी खेती गर्न ।
हरेक घरमा स्थानीय माहुरीका घार छन् । अधिकांशले दूध खान घरमा गाई पालेका छन् । गाउँमा सबैभन्दा बढी तरकारी उत्पादन गर्नेमा देखापरेका छन् लोकबहादुर देउवा । जो वार्षिक ४ लाखको तरकारी बेच्छन् । सबैभन्दा कम तरकारी उत्पादन गर्नेमा पर्छ अमर देउवाको परिवार । जो वार्षिक ६० हजारको तरकारी बेचिरहेका छन् ।
रिठा गाउँका ३२ परिवार तराई झरिसके । गाउँमा बसोवास गरिरहेका २९ परिवारमा पनि पुरुष जति प्राय भारततिरै हुन्छन् । महिलाहरुले नै धानिरहेका छन् तरकारी खेती । सर्वप्रथम आर डि एस नामक संस्थाले त्यहाँका महिलाहरुलाई तरकारी खेती सम्बन्धी तालिम दियो ।
त्यस पछाडी थुप्रै तालिम लिइसकेका छन् त्यहाँका महिलाहरुले । पर्वतीय जलाधारहरुको जलबायु परिवर्तन समानुकुलन आयोजना कार्यक्रमले सिँचाईको व्यवस्था गरिदिनुका साथै पानीका मुहान संरक्षण गर्न सिकाएपछि निकै खुसी र उत्सुक बनेका छन् यहाँका महिलाहरु ।
अचेल गाउँमा कोही नयाँ अनुहार देख्दा सुरुमै सोध्न थाल्छिन कतिपय महिलाहरुले – ‘सर जलाधार ( पर्वतीय जलाधारहरुको जलबायु परिवर्तन समानुकुलन आयोजना) बाट आउनु भयाको हो ?’
No comments:
Post a Comment