Saturday, June 28, 2025

यो SEE को सन्दर्भ र त्यो एसएलसीको सम्झना

 यो  SEE को सन्दर्भ र त्यो एसएलसीको सम्झना 



उहिले हाम्रो पालामा 


 दुर्गास्थान प्राइमरि स्कुल, पैतोलिगाँवमा पाँच  कक्षा पास गर्दासम्म कुनै पनि हाइस्कुल घर बाट भ्याउने दुरिमा खुलेकै थिएनन् । डेरा गरेर टाढा पढन पठाउने घरको हैसियत पनि थिएन ।  कक्षा 6 येनकेन 2/2 घन्टा हिडेर एक बर्ष गुरुखोला र अर्को एक बर्ष 7 कक्षा दुर्गास्थान मै प्राइभेट पढेर पाटनबाट परिक्षा दिइ पास गरिएको थियो । बैतडीको शाहीलेक वा पाटन पछि मेलौलीको मणिलेक मात्र नजिकका हाइ स्कुल थिए । सम्भवत:  अपेक्षाकृत खर्च पनि कम पर्ने र मामा घर समेत उतै हुँदा सहयोग मिल्न सक्ने आशाका साथ पिताजीले घरबाट छ–सात घण्टा टाढा पर्ने मणिलेक हाइस्कुलमा कक्षा ८ मा भर्ना गरि दिनु भयो । २००४ सालमा खुलेको यो स्कुल बैतडीका जेठो बिद्यालय मध्येको एक हो । नेपालको प्रथम महिलामन्त्री द्वारिका देबी ठगुरानीका पति उद्धब बहादुर चन्दको यो स्कुल स्थापनामा ठुलो योगदान थियो ।    

  हाम्रो गाउँबाट त्यहा पुग्न  पनि हरभिटाको भीर, सेलीको जंगल र बाग्गोठ सिलको नदि तर्नुपर्थ्यो । बर्सातमा ति खोला त्यति सहज थिएनन्  । आफैँ तर्न सकिँदैनथ्यो । कहिलेकाही बाग्गोठको गाड.सम्मै बुवा आफै आउनु हुन्थ्यो । प्रायः कसैले तारिदिन्थे । अरू बेला हामी खोलो जहाँ साँघुरो हुन्थ्यो त्यहीबाट फड्किन्थ्यौँ । सलेनाको बाटो त्यति चल्तिमा थिएन । सुरुमा मलाई त्यहाँ बस्दा शुक्रवार कहिले आउला र घर जानुजस्तो लाग्थ्यो  । पछि क्रमशः बानी पर्दै गइयो । 

  म भर्ना हुँदा ताका उत्तम चन्दज्यू हाम्रा हेड मास्टर हुनुहुन्थ्यो । तल्लो स्वराडबाट एम ए पास गर्ने  वहाँ पहिलो ब्यक्ति हुनुहुन्थ्यो । उत्तम सर अद्याबधिक र अनुशासन प्रिय प्रधानाध्यापक मानिनु हुन्थ्यो । वहाँ महेन्द्रनगर सरुवा भएपछि खलगाडका शास्त्री बासुदेव जोशी हेडमास्टर हुनु भयो । वहाँ सरल र धार्मिक ब्यक्तित्व हुनुहुन्थ्यो । दुबै जनाबाट मैले पितृतुल्य बात्सल्य समेत पाएको थिए। 

   काँणाको बजारमा ( त्यस बेला केशरपुर भनिन्थ्यो ) मामा रामदत्तको दोकान थियो । केही महिना उनकै पसल घरमा समेत डेरा गरियो । घरबाट त्यति टाढा झोलामा दाल चामल, पिठो तरकारी बोकेर लैजानुपर्थ्यो ।  गहुँको पिठो नभएको बेला मकैको पिठो समेत घरैबाट लगेर काम चलाइन्थ्यो । टाढाका विद्यार्थी शुक्रबार घर फर्किदा बाँकी रहेको रासन पसलवाला या चौकीका प्रहरीहरुलाइ बेचेर आउथे । त्यस समयमा प्रहरीले रासन पाउने ब्यबस्था थिएन । 

   यसै अवधिमा दुर्गास्थानका साथी बेदप्रकाश लेखक पनि हाम्रै स्कुलमा भर्ना भए । उनका पिताजी स्व. टिकाराम लेखक केशरपुरकै हुलाकका प्रमुख थिए । हुलाक कार्यालयको माथिल्लो तलामा आबास थियो । बाहिरको कोठामा बेदप्रकाश संगै म पनि बस्न थाले । हुलाक हाकिम त्यहाँ भएको बेला हुलाकीहरु खाना पकाएरै ख्वाउथे । अरुबेला काममा सघाउथे, आफैँ खाना बनाएर खान्थ्यौ  । यसरी काम सघाउने हुलाकी पोष्टम्यानहरुको कोड नाम राखेका थियौ हामिले । बेद र म सँगै पढ्थ्यौ  । त्यस बेला मट्टितेलको टुकि वा लालटेन बालेर पढ्नुपर्थ्यो  । हाम्रा किताब समेत साझा हुन्थे । आफनो खालको उपद्रो त गर्थ्यौ नै । दाल पकाउने भन्दा पनि झान्ने काममा आआफनो अडान लिइन्थ्यो । यदाकदा बेदका बदमाशीमा मैले साछी हुनुपर्थ्यो । बेदका पितामाताले आफ्नो छोरा जतिकै  माया मलाइ पनि गर्नुहुन्थ्यो । यो सुखद क्षण मेरो मस्तिष्कमा अझै ताजै छ । 


पढाइका परिदृश्य


कक्षा ९/१० मा एउटै किताब चल्थे । अंक गणित, बीजगणित र रेखा गणितका ठुल्ठुला किताब त हिन्दिमै लेखिएका हुन्थे । गणित बिज्ञान पढाउने शिक्षक नेपालमा मुश्किलले पाइन्थे । प्राय: भारतिय शिक्षकले यी बिषय पढाउथे । हाम्रा पालामा कहिले पनि यी बिषयको पढाइ त्यति सुचारु हुन सकेन । काम चलाउ अध्यापनबाटै काम चलाइयो । किताब मेरा किशोर दिनलाई आनन्ददायी गराउने महत्वपूर्ण साधन थिए । कल्पना गरौं त , एउटा किशोर ठिटो जसको गाउँमा घरबाट एक दिन टाढा पुगेपछि बल्ल एउटा स्टेसनरी भेटिन्थ्यो ।  त्यहाँ केवल कापी, पाठ्यपुस्तक, कलम, नीब, मसी, फुटबल, यस्तैयस्तै मात्र उपलब्ध थिए  । यो सानो हुलाक कार्यालय भित्रको बसाइमा भने बासी नै भएपनि गोरखापत्र, स्वतन्त्र विश्व, सोभियत भुमी जस्ता पत्र पत्रिका आइ रहन्थे । अझ बहिदार सापको लागि ब्यक्तिगत आउने गोरखपुरबाट प्रकाशित धार्मिक “कल्याण “ समेत आबधिक रुपमा पढन पाउथे । वहाँकै पानासोनिक रेडियोबाट बिहानै आउने मङ्गलधुन, शंखध्वनी  र आरति सुनेको दिन मन ज्यादै प्रफुल्ल हुन्थ्यो । कस्तो कल्पनालोक !

   मलाई अझै पनि सम्झना छ ती गाताबिहीन किताबको धुस्रे स्वरूप । यिनै  किताबसँगै कल्पनाको नयाँ लोकमा विचरण गर्न थाल्थ्यौ  । खेलकुद वा अतिरिक्त क्रिया कलापमा त्यति मन जादैनथ्यो ।  आफैलाई फर्की हेर्दा मलाई 

 किताबहरूले नै  किशोरावस्थामा सिर्जनशील हुन सिकाएर समाज, इतिहास र मनस्थितिबारे बोध गराए । किताबहरू हुँदैनथे भने  किशोर दिनहरू कति उराठ, उदास र निरस हुन्थे होला!

  कक्षा 9 मा पढदाको कुरा हो । दुर्गास्थानमा समेत थोरै समय बसेका हाम्रा सहृदयी कक्षा शिक्षक  केशबानन्द सरले एक दिन बाटोमा भेटेर सोध्नु भयो ।

“ ऐ, तिमीले यसपाला पनि छात्रबृतिका लागि फाराम किन न भरेको ? ”

म अलमलिए । यसबारे केही कुरा थाहै थिएन । मैले यहि अनभिज्ञता जनाए ।

“ पोहोर सालै भर्नु पर्ने । यसपाला समेत ढिलो हुन थालिसक्यो । भोलि फाराम बुझाउ । ”  

  सरले भने अनुसार दोस्रो दिन  फाराम भरेर बुझाए । संचालक समितिको समेतको सिफारिस चाहिने रहेछ । त्यसका लागि अध्यक्ष गोरख चन्दले लामो उराठ लाग्दो अन्तर्बार्ता लिए । निदानत: त्यो शैक्षिक सत्रको शुरु देखि नै गरीब तथा जेहेनदार छात्रबृति पाउने भएको कुरा समेत पनि मैले धेरै पछि मात्र थाहा पाए । आदरणिय केशब सरले अल्पायुमै यो लोक छोडनु भएछ ।  यो छात्रबृति सम्बन्धका बेग्लै कथा ब्यथा छन् । 

   यो अनुभूति मेरो स्कुले दिनको हो । किशोरावस्थाको पनि हो । जब कुनै सन्दर्भले ती पुराना दिनहरूको स्मरण गराउँछ मेरो मनको पुरानो रिल फुक्न थाल्छ ।  म ती स्थान सम्झिन पुग्छु। गाउँ बजरका प्रत्येक दृश्यहरू, धुलोमा खेल्दै हिँड्ने स्कुलको बाटो,  बिद्यालयको ठुलो  चौरमा घाम ताप्दै कथाका किताब पढेका दिनहरू पुरानो  आँखामा छाउँछन ।

   म मणिलेकमा पढदा पनि रामलिलाको नाटक मन्चन गरिएको थियो । यसका लागि पात्रहरुको खोजी गर्दा रामको लागि म नै छानिएछु । त्यति बेलाका चल्ताफिर्ता शिक्षक मीन बहादुर चन्दले भारतको पुल्ल हिन्डोलाबाट कलाकारको सेट नै मगाएका थिए, खास गरि सीता, लक्षमण र राबणको अभिनयका लागि । सीता र लक्ष्मणको पात्रमा भारत चम्पावतका तारा धौनी र सलेनाका गणेशदत्त जोशी हुन्थे । पंचायती शासनकालको शुरुमा प्रतिबन्धित हुदा स्व द्वारिका देबी ठगुरानी र मीनबहादुर चन्द समेतले भारतमै निर्बासन बिताएका हुँदा त्यता तिरै उनको खास सम्पर्क थियो । त्त्यतैको मोडेलमा रामलिला चलाइएको थियो । 

दशैको हाराहारीमा राति चलाइने यो नाटकमा राम बनबासको दृश्य आउदा पातलो लुगा लगाएर मन्चमा अभिनय गर्नु पर्थ्यो ।  जाडोले कटकटी काँपिन्थ्यो । सम्बाद बोल्नै गारो । दृश्यान्तर हुँदा हेल्थपोष्टका कम्पाउन्डर कृष्णसिंह भाटजीले नेेेेपथ्यमा  आगो सेक्ने सुबिधा जुटाइ दिन्थे । बडो सहृदयी र समाजसेवी थिए ती मानिस ।


परीक्षा बहिष्कार


२०२९ सालमा एस.एल.सी. ( हाल एसई) दिन अगाडि टेस्ट दिनुपर्थ्यो  ।  लगातार दुई पटक स्कुलको एस.एल.सी. रिजल्ट राम्रो गएको थिएन रे । त्यस वर्ष पनि स्कुल निल गएमा अनुदान सहयोग काटिन्थ्यो । त्यसैले यो बर्ष बिद्यालयका लागि समेत विशेष महत्वको थियो । तर टेष्टमा हेडसरले पढाउने संस्कृतको प्रश्नपत्र सारै गारो भयो भनेर सहपाठीहरुले टेस्ट बहिस्कार गरे । फाराम भर्ने सबैले एसएलसी दिन पाउनु पर्नेे मांग राखियो । कक्षा १० मा नागरिकशास्त्र पढाउने बहालवाला शिक्षक  मीन बहादुर चन्दका भाई सुरेन्द्र बहादुर चन्दले यो टेस्ट बहिष्कारको नेतृत्व गरेका थिए । मेलौलि मन्दिरको खुल्ला मैदानमा भेला भयौ र स्कुलले नबोलाउदासम्म नआउने कसम खाएर सबै जना यतिकै घर हिड्यौ । 

१०/१५ दिनपछि शास्त्री हेड सरले भेटनु भनेर घरमा खवर पठाएका रहेछन । मैले घरमा केही बताएकै थिएन । खुरुखुरु आएर स्कुल चौरमा हेडसरको अगाडी उभिएर नमस्कार गरे । पुरानो भवन भत्काएकोले मर्मत संभार चलिरहेको थियो । ठुलो चौरमा असरल्ल काठपात र ढुंगा छरिएका थिए ।

“ आज किन आएको ? ” धवल धोति र कुर्ताको पहिरन तथा निधारभरी चन्दन लगाएका शास्त्री गुरुले रिसाएरै ठाडो प्रश्न गरे ।  

“ हजुरले बोलाएको  खवर आजै पाए । त्यसैले आएको… । “ पूरा कुरा भन्नै पाएको थिएन । गुरुजीले टपक्क तनी ( छानाको किनारमा राख्ने पातलो लामो काठ) को लौरो जतिकैको टुक्रा समातेर कमरमा दुई चोट बरसाइ हाले । 

“ मेरा घोगा(मकै) गोडन गएको थिइस र ? बोलाए पछि आएको !..” उनी दुर्बासा बनेर कुटदै गए । म पछाडी सर्दै रहे । लौरो टुटेपछि यो क्रम रोकियो । बल्ल दुबैले एक अर्काका आँखामा हेर्यौ । हामी दुबैको आँखामा आँसु थियो ।

“ तँ त सप्रेलास कि भन्ने सोचेको थिए । बिग्रने भईस ।.. एस एल सी दिने मन भए, भोली टेस्ट दिन आउनु । मन नभए मुख नदेखाउनु “ शास्त्री सर आँखा पुछदै कार्यकक्ष तिर लागे । म आँसु लुकाउदै डेरा फर्के ।

   दोस्रो दिन टेस्ट भयो । तेस्रो दिन रेजल्ट आयो । हामी तीन जना मात्र पास भयौ । म, रतन बहादुर चन्द र नारायण दत्त पन्त । बाँकि कसैलाइ पास नगर्ने शास्त्री सरको अडान थियो रे । 

 त्यस समयमा हालको बैतडीको तल्लो स्वराड क्षेत्र डडेल्धुरा जिल्लामा पर्थ्यो । हाम्रो एस एल सी परीक्षा केन्द्र डडेल्धुरा सदरमुकामको हाइस्कुलमा थियो । माघको महिनामा यो जाँच हुन्थ्यो । पहिलो चोटी घनघस्याको लेक काटेर बाबासंग डडेल्धुरा पुगेको थिए । तल्लो  खलंगास्थित शिबालयका बाबाको कुटियामा २/३ दिन बसेर डेरा खोजियो । खाने बस्ने न्युनतम ब्यबस्था मिलाएर वुवा घर फर्के । हिमपात  भएर चिसोले हातै नचल्ने बाताबरणमा जाँच दिइयो । फर्कदा साथी नारायणदत्तको घर हुँदै दोस्रो दिन घर पुगे । यसरी मेरो एस एल सी यात्रा सकियो । यसपछि भने पुर्ण रुपमा पर्ख र हेरको स्थिति बन्यो । एस एल सी को नतिजा कुर्दै गाउँमै आफनै  घर ब्यबहारमा रुमल्लिए  ।


पर्खाइ र  बुझाई


   एस एल सी को परीक्षा परिणाम कुर्नु परेको शुन्य अवधिलाई गाउँ मै बसेर हेर्नू बाहेक थप केहि गरीहाल्न सक्ने स्थिति थिएन । त्यसो त आफैले पढेको दुर्गास्थान स्कुलमा पनि अन्डर एस एल सी शिक्षकहरुबाट काम चलाइरहेको समय थियो त्यो । म त्यहाँ सजिलै काम पाउथे । तर त्यहाँ प्रभाबी रहेका स्थानिय खोले टाकुरे राजाहरुको अहमको अगाडी मेरो अहमले पनि बाधा हाल्न थाल्यो । प्रसंगबस एकदिन पिताजीले तत्कालिन संचालक समिति अध्यक्ष बाहादुर चन्दसंग कुरा पनि गरेका थिए ।

“ मास्टरी गर्ने मन भया भन्नु प-यो । चेपि दिउला ।” चन्दजीले आश्वासन बाँडे । तर त्यो  ढर्रा र शरीर संभाषण ( बोडी गेस्चर ) ले मलाई कसैसित केही भन्न कहिल्यै मन लागेन ।  रेजल्ट नआएसम्म कहि नजाने भनेर पिताजीसंग सपष्ट कुरा गरे पनि ।  उन्ले धेरै कुरा सम्झाए, आफनो घर अबस्थाका बारेमा । आफु रोगले थलिएको हुदा धेरै काम गर्न नसक्ने भएको र अब मपछिका दुइभाई र एक बैनीको भबिष्यका बारेमा मात्र चिन्तित रहेको कुरा पनि सुनाए । 

मणिलेकमा पढाउदा नै रु ६४५ ऋण लागेको  बिबरण समेत बताए । 

   यसरी मैले अनायासै थप जिम्मेवारीको बोध गरे र एकै चोटि प्रौढत्व प्राप्त गरे । गुरुखोलामा प्रथम हुँदा पाएको जवाफमा बदला लिन ७ कक्षा दुर्गास्थानमा खोलिएको घटना ताजै थिए । 

  यसै ताका दैनिकी समेत लेख्न थालिएछ । डायरी भन्छ,गाउँमा बस्दा यदाकदा ग्वालो बनेर दिन काटिएछन् । यसै क्रममा  दरम्यौडाको भीरमा बोकाले हानेर लोटाएको र  झंडै २०० मिटर खोलासम्म  गुडुल्किनु प-यो । धन्न बाँचेछु । गाउँमा भने खासगरी गाइभैसीको बेचबिखन, खेतिपाति , चाकरी चुक्ली छाडी अरु कुरा बिरलै मात्र भए । तै बल्लतल्ल गाउँका केही कुरा बुझ्ने कोसिस भने गरियो । त्यसबेला देवभन्डार चोरिएको र धामी जैदेब तथा भन्डारे सगरामका बीच मुद्दा चलेको घटना चर्चामा थियो नै । धामी जयदेब यो मामिलामा मसंग समेत सोधी रहन्थे । अब सरकारी अड्डामा जागिर खोज्न समेत उत्साहित गरीरहन्थे । गाउँबाट एसएलसी सम्म पुग्ने पहिलो ब्यक्ति नै म थिए । चिठ्ठी पत्र पढि दिनुपर्ने र परदेसिएका आफन्तजनहरुलाई आत्मीय गोप्य कुरा लेखी पठाउने भरपर्दो मानिस पनि बन्दै थिए । 

  

 त्यो खुशीको खबर


   ०३० जेठ १२- निम्तो मान्न र भेटघाटका लागी मामा घर  पुगेको थिए ।  एस एल सीको रेजल्ट खुलेको खवर त्यहि सुने  । त्यसबेला उतिर्ण रोल नम्बर रेडियोबाट समेत भन्ने गरिन्थ्यो । तर यसरी रेडियो सुनी बस्ने गरि मसंग कुनै पहुँच नै थिएन । छटपटी भने भै रह्यो । १४ गते मात्र घर  फर्के । बाबाले मेरो असाध्यै मन परेको हाप्पु नामको कालो गोरु रु. २७०/- मा बेचि सकेका रहेछन् । दु:ख लाग्यो । मैले पनि रेजल्टबारे कुनै कुरा सुनाएन । फेल भए खुरुक्क त्यहि पैसाबाट बाटो खर्च निकालेर भारत भासिने जोरजाम मिलाए ।

   १८ गते मात्र नोला लाटो काकासाथमा लिइ एस एल सी रेजल्ट बारे बुझ्न बैतडी पुगे । तर केही खबर पुगेको रहेनछ । एक जोडा तास किनेर फर्कियौ । २७गते फेरी  बैतडी सदरमुकाम पुग्दा त एसएलसी रेजल्ट प्रकाशित भएको गोरखापत्र पनि आइपुगेको रहेछ । धेरै सोधखोज गर्नै परेन । मणिलेकका तिनै जना पास भएका खवर चर्चामै थियो  ।  म  दोश्रो श्रेणीमा पास भएछु । दुबै साथीहरु तेस्रो डिभिजनमा पास भएछन् । भगवानलाई धन्यबाद दिए । इष्ट कुलदेवता सम्झे ।  तल्लो स्वराडबाट  एस.एल.सी. पास गर्ने मान्छे को हो? भन्ने कुरा अनेकका मुखबाट सुन्दा म मक्ख पर्थे ।  तर त्यो व्यक्ति म नै हु भनेर कसैलाई भन्दैनथे ।

   अरु दिनको  झ्याउलाग्दो लामो बाटो त्यस दिन त रमाइलो पो लाग्यो । म बाको मुहार हतास भएको हेर्न सक्दिनथे । अरु बानी ब्यवहारले पिरोले पनि पढाइको मामलामा बालाई निरास तुल्याएको थिइन त्यस बेलासम्म । लाग्छ एस. एल. सी.भन्दा मुनी सन्तानहरू बा आमाकै लागि पढ्छन, मैले पनि त्यसबेलासम्म बा आमाकै लागि पढेको थिएँ ।  मेरो रिजल्टको समाचारले बा आमाको मुहारमा कान्ति छाओस भन्ने आशाले शरीर हलुङगो बनाइ उडिरहे घर नपुगेसम्म । घरमा त्यो दिन मीठो मसिनो पकाएर खुशि मनाइयो । भोलिपल्ट त्यो ब्याचमा हामीहरु उत्तीर्ण भएको र स्कुल काटिनबाट जोगिएको समाचार आयो । त्यस बेला मेरो मात्र होइन शिक्षक र अभिभावक सबैको खुसीको सीमा नै थिएन । यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण बनेको थियो । 

   दुई हप्ता पछि स्कुलमा मार्क लेजर आएछ । साथी बेदप्रकाश " सुशील" को घर ग्वानी गएर नीजले ल्याइ दिएको मार्कसीट पाए । ९०० पुर्णाङ्कमा ४९५ अंक पाएर दोस्रो श्रेणि भएको रहेछु । त्यहि भाबी योजना बारे छलफल गर्यौ । साथीले संगै अर्को बर्ष  काठमान्डौ लाग्ने सल्लाह दिए । हुन पनि समय कम थियो । केही पनि तयारीको मेलोमेसो थिएन । यो बर्ष आफैले यतै " केही " काम खोज्ने भन्ने भयो । खुशी र चिन्ता बोकेर म घर फर्के । घरमा पनि त्यस दिन विभिन्न बिकल्पमा छलफल भए । जे ठिक ठान्छौ, त्यहि गर भन्ने बाआमाको भनाइ आयो । काठमान्डौ पढन जाँदा लाग्ने खर्च कताबाट जुटाउने भन्ने अहम प्रश्न अनिर्णित रह्यो । यस्तै कारणले मेरो पढाईको निम्ति काठमाण्डौ जाने यस बर्षको बाटो बन्द भयो । म गाउमै रल्लिए । 


केही दिन गाउँमै


   आषाढ २६ गते- आफै ज्यालामजुरी गर्न बुवा पिथौरागढतिर लाग्नु भयो । त्यसताका पिथौरागढतिर नयाँ सडक खनिदै थिए । मजदुरको रुपमा हाम्रा गाउँका १०/१५ जना समूह बनाएरै त्यता लागे । कमजोर शरीर लिएर बुवा बाहिर गएको हामी कसैलाई पनि चित्त बुझिएको थिएन । सबै गाउलेसंगै हुँदा फरक नपर्ने र अलिअलि नै भए पनि आमदानी हुने आशा देखाए उनले । बरु कतिसम्म खर्च लाग्ने हो, जान्नेहरुसंग बुझि राख्नु भनेर अह्राए । 

   नेपालमा भने यसैताका २४/२५ गते सिंहदरबारमा आगलागी भएको थियो । १२ दिन अगाडी मात्रै काठमान्डौमा ३७ लाखको नक्कली चेकको भुक्तानी भएको थियो । यसै महिना हवाई जहाज अपहरण भै ३२ लाख भारु लुटिएका थिए । आषाढ २८ गते तत्कालीन प्रधानमन्त्री किर्तिनिधि बिष्टले राजिनामा दिए । साउन १ गते नगेन्द्र प्रसाद रिजाल प्रधानमन्त्री बने । रेडियो मार्फत आऊने काठमाडौंका यस्तै खवर मसंग पनि पुग्थे र मन झन उराठिन्थ्यो । 

   साउन पहिलो हप्ता मात्र स्थानान्तरण र चारित्रिक  सर्टिफिकेट ल्याउन केशरपुर पुगे । स्कुलको तिरोभरो गर्दा मात्र मैले पाउने गरेको छात्रबृतिको रकम बारेको कुरा उठ्यो । मलाइ केहि थाहा थिएन् ।  शिक्षक मीन बहादुर चन्दले डडेल्धुराबाट सो रकम बुझेर ल्याएका रहेछन । मैले केही नपाएको कुरा बताए । हेडसरले त्यो दुई बर्षको गरीब तथा जेहेनदार छात्रबृतिको रकम उनैबाट बुझेर लैजान भन्नु भयो । उनलाइ भेटे । बाटैमा पर्ने आफनो घरमा आउनु भन्ने आदेश भयो । अर्को दिन बिहानै उनको घरैमा गएर बल्ल भेट पाए । 

   शिक्षक चन्दजीले शैक्षिक बर्षको अन्त्यतिर मात्र सो रकम निकाशा हुने हुँदा फागुनमा जिल्ला शिक्षा निरिक्षक कार्यालयबाट एकमुष्ट रकम ल्याएको बताए । यस्तो छात्रबृति अरु कसकसले कति पाए, थाहा भएन । मेरो हकमा भने यो बर्ष यसै कामको लागि डडेल्धुरा बढि बस्नु परेकोमा रु  १७५/-  खर्च कटाई बाँकी रु १५०/- बल्ल दिए । अर्को एक बर्षको सम्पुर्ण रकम सेक्रेटरि जयसिंह महताबाटै  बुझ्नु भन्ने निर्देसन भयो । बढि कुरै हुन पाएन । तत्काल महताजीलाई भेटन सम्भव थिएन । यसरी छात्रबृतिका कुरा मात्र सकिएनन, मेरो छात्र जीवन पनि सकियो । यसपछि औपचारिक रुपमा म कुनै बिद्यालयमा पढन जान सकेन । 


 मेलौली माताको आशिर्बाद 


   मणिलेक हाइस्कुलको प्रमाणपत्र र छात्रबृतिको आंशिक रकम बोकी  कुन्थलाबाटै उकालो लागे । त्यहाँको सर्बोच्च समस्थलीमा मेलौली माताको मन्दिर थियो । एक छिन सुस्ताए । मनमनै माता भगवतिसंग आगामी अनिश्चितता हटाइदिन आशिर्बाद मागे । एक्लै खुरुखुरु तल्लीदेको गाउँ छिचोली बाटो लागे । 

त्यो गाउँ देउकी प्रथाका कारण दुर्नाम थियो । केशरपुर ब

जारमा डेरा गर्दा यदाकदा देबीलाई चढाइएका देवकन्याहरु बजारमा देखिन्थे । वहाँहरु प्रतिको सामाजिक दृष्टिकोण नै  प्रदुषित थियो । कोहि कोहि त छिल्लिदै कुरा  गरेका समेत देखिन्थे । मेरो  यहाँको लामो बसाइमा यसरी कसैसंग  दोहरो बोलचाल समेत भएको थिएन । 

   यो गाउँबाट ओरालो लाग्दा सानो सुन्दर सौढको जंगलको बीचमा पानी नाउलो थियो । गाग्रीमा पानी भरेर लैजान पँधेर्नीहरुको ओहोर दोहोर चलीरहन्थ्यो । यस्तै एक हुल महिला जमातसंग त्यस दिन मेरो जम्काभेट भयो । 

म सरोसर जाँदै थिए । महिलाबृतमा खुसमुश चल्यो । एउटी प्रौढाले सोधि हालिन।

“ रामलिलाका रामज्यू जसा छन । तम याँइका स्कुल्या हौ कि?”

 यहाँ चलेको रामलिला नाटकमा म रामको पात्र थिए । त्यहि सन्दर्भमा यो सोधाई थियो । मैले म त्यहि विद्यार्थी भएको र यहाँको पढाइ पूरा गरि सर्टिफिकेट लिएर घर जान लागेको कुरा बताए । ४/५ जनाको त्यो समुहले एकै छिन त्यहि बसि दिन भने । आज बिहानै रामज्युको दर्शन पाएको भनी खुशी ब्यक्त गरे । एउटीले त नाउलोबाट लोटामा पानी ल्याइ चढाइन । नजिकैबाट हरिया पात चुडालेर हात जोडन पो थाले । 

म असमंजसमा परे, उनीहरुको रामज्युप्रतिको श्रद्धा देखेर । बडो तन्मयताकासाथ अपरीचित अज्ञात समुहले गरेको त्यो भावपुर्ण बिदाईको सानो घटनाले बाटोभरी आल्हादित गरि रह्यो र मणिलेक मा बि बाट म स्थानान्तरित भए ।

   गाउँमा बस्दै गर्दा गो:रा, दशै सकिए । तर म कता कता एक्लिएको महसुस गरिरहे । स्थानिय घटनाहरु अनुभवप्रद रहे नै । बालसखाहरु नयाँ नयाँ उमंगमा हुरुक्क थिए । तर म भाबि जीबनका लागि सल्लाह खोज्दै थिए । मुख्यत: भावि जिवनकालागि सल्लाह र बिकल्प लेखेको रहेछु डायरीमा ।

बुवाले किम्तोलीको स्कुलमा शिक्षक खोजीरहेको खवर सुन्नु भएछ । त्यस्ताका सुरनयाको सालीघाटमा झोलुङ्गे पुल बन्दै थियो । त्यसमा हाम्रा गाउँका करणे बाजे मुख्य मिस्त्री थिए । किम्तोलीतिर समेत घर बनाउने काममा उनी कहलिएका सिपालु थिए । उनै मार्फत कुरा गर्नु भनेर मलाइ सिकाएर त्यता पठाए । सौभग्य वा दुर्भाग्यले दुई चोटी जाँदा समेत उनीसंग भेट हुनै सकेन । एक्लै गुत्थडीको बाटो त्यता लागे । सुनसान सालघारीको बाटोमा उतैका कुनै सुकिला मानिस भेटिए । उनले स्कुलको संचालक समितिमा पनि आफु संलग्न भएको बताउथे । मैले आफनो प्रयोजन बताउदा त बाटैमा अन्तर्बार्ता लिन थाले । आफुलाई बेकार आएको जस्तो लाग्न थाल्यो । सालीघाट हुँदै  हेट बाजेलाई भेटेर आउछु भनी त्यतिकै फर्के । घर फर्किदा  गौरिदत्त र बेदलाई भेटन सलेना हुँदै ग्वानी पुगे । तिनै साथीहरुले संगै महेन्द्रनगर तिर जाने निर्णय गर्यौ । 

यसकालागी नागरिकता प्रमाणपत्र बनाउनु पर्थ्यो । गढी गएर नागरिकताका लागि फर्म भरेर बुझाइयो । तर मलाई त्यहाँका कर्मचारीले ‘यस्तो फुच्चेलाई नागरिकता दिन मिल्दैन, ठुलो भएपछि आउनू’ भनी हप्काए र नागरिकता दिन मानेनन् ।  आई.ए. भर्नाका लागि नागरिकताको प्रमाणपत्र चाहिएको कुरा बताउँदा पनि कर्मचारीले सुन्नै चाहेनन् । मैले उही कुरो दाहोर्याउदा त्यहाँ बसेका सब हाँस्न थाले । निदानत: सीडीओ लाई नै भेटनु पर्ने भयो । उनले फाराम भर्न लगाइ तत्काल प्रमाणपत्र दिने आदेश दिए । एकै छिनमा हरियो पातो भित्र टाँसेको पहाडी कागजमा सिडिओले हस्ताक्षर गरी मलाई नागरिकताको प्रमाणपत्र दिँदै  ‘राम्रो पढ्नू है बाबु’ भन्दै बिदा गरे । सिडिओसंग कुरा गरेकोमा  खुट्टै भुइमा रहेनन् । मेरो नागरिकता फर्ममा सिफारिस गर्ने प्रशासकीय अधिकृत हरी नारायण श्रेष्ठ  असल मानिस मानिन्थे । सिडिओ रुप बहादुर स्वारको पछिल्लो बसाइ नेपालगन्जमा हुँदा हामीले पुराना अनुभव आदानप्रदान गरेका थियौ  । नागरिकता लिने बेलामा उत्पन्न झमेला पनि मेरो एउटा स्मरणीय क्षण हो ।

यसरी एस एल सी सकिनासाथ राम्रो नौकरीका सपना देखाइए, सरकारि नौकरीका शाानका कथा सुनाइए, खलंगा गढिका कारिन्दा सिपाहिहरुको फुुर्तिफार्ति सम्झाइयो ।  गाउँमा कुटो कोदालो गरेर "केही नहुने" भनियो । 


.र " नौकरि" को खोजमा


  तीस सालताका एस एल सी पासगरेकालाई गाउँमै "मास्टर" को काम भए पनि सजिलैसँग पाइन्थ्यो  । तर म कतै ग्राह्य भइन् । कारण नौकरी गर्न खोज्ने तर चाकरि गर्न नजान्ने । अलिअलि बाठो, अलिलि "बेसोमति" पनि । त्यस्ता  भोगाइका कथाब्यथाहरु बेग्लै छन । मलाइ यो पढाईले गाउँमा एक्लो पारेको थियो । खेेतिपाति गर्न नहुने अरु केही कामको अनुभव नास्ति । मेरै गाउँमा आफना सबै थिए, तर मेरो कोहि थिएनन् । भन्न गर्न केही नसक्ने सारै सोझो मानिस गनिन्थे म  । यिनै " कुण्ठा" हरुले मेरो जीवन यात्रामा सातुसामलको काम ग-यो । 

०३०सालको हिउदमा नौकरिकै खोजमा पहिलोपल्ट घरमा जानकारी नै नगराइ पहिलो पल्ट महेन्द्रनगर झरे । नगरमा चित्त बुझ्दो केही भेट्टिएन । बेलौरितिर मास्टरी पाइएको थियो, लाग्ला बेलौरीको घाम भन्ने बोलको तत्कालिन बहुप्रचलित लोकगितको भावार्थ सम्झेर त्यता जाने मनै लागेन । केही काम नगरि १०/१५ दिनमा लुस्सुक्क घर फर्के । 

एस एल सी गरेको पहिलो बर्ष यतिकै किचमिचमा बित्यो ।।***


****&&&&&****








No comments:

Post a Comment