Thursday, February 3, 2011

हामी कहिलेसम्म बिरालो बाध्ने ?


पत्रिकामा छापिने महंगा समवेदना, १३ दिनको किरिया, अनाबश्यक अनुष्ठान र दानका लागि वर्षैपिच्छे गरिने श्राद्धका खर्च बटुलेर कुनै सकारात्मक कार्यमा लगाउनु बढी उपयोगी हो कि भन्ने मेरो सोचलाई साच्चिकै समर्थन गर्ने मान्छे निश्चय नै पनि फेला पर्छन् होला। म्याद सकिएका कर्मकाण्ड र ब्यर्थेका बर्जनाहरुमा टेकेर गरिने हाम्रो संस्कारको यो पक्ष किन यति फिजुलखर्ची र प्रदर्शनमुखी भएको भन्ने प्रश्न बारम्बार मनमा आइरहन्छ । कसैलाई आफ्नो आफन्त गुमाउँदा परेको पीडा उसको नितान्त व्यक्तिगत भोगाइ हो। त्यसले उसलाई कुन रुपमा र कति हदसम्म आहत बनाएको छ भन्ने कुरा उसले कसैलाई देखाउन वा बताउन पर्दैन। त्यो सम्वेदनशील समयमा मान्छेलाई परेको विपत्तिको पीडाहरु हलुंगो बनाउने वा त्यसलाई बिर्साउन सहयोग गर्ने पो नियमहरु बन्नुपर्ने हुन्। तर कुनै बेलामा पुरेत पण्डितहरुले आफ्नो दूनो सोझ्याउनका लागि बनाएका नियमहरुको अन्धानुकरण किन गर्दैछौ ? बिचारणिय प्रश्न छ ।
खौरेको कपाल, टाउकोमा सेतो टोपी र धूलो-धुवाँले मैलो बनाएको एकसरो लुगा देखेपछि के भएको रहेछ त्यतिकै थाहा हुन्छ ।।   वर्ष दिनसम्म रहने यो पहिरनले हरेक दिन पटकपटक आफन्त गुमाउदाको त्यहि पिडा, त्यहि प्रश्न र त्यही उत्तरको क्रमलाई निम्त्याइ नै रहन्छ। पिडितले नचाहेर पनि हरेक दिन त्यो पीडा भोगिरहने भए। एउटा मान्छे मरेर गएपछि उसका नजीकका ज्यूँदा मान्छेहरुलाई अनावश्यक बोझ र पीडा थप्ने यो चलनको अर्थ फेरि एकपटक केलाउनु पर्ने भएकोछ ।
०६७ पुषमा काकाको अन्त्येष्ठिमा वहाँका हामि ८ जना छोरा-भतिजाहरु गाऊमा जम्मा भएका थियौ । हाम्रै गाऊँमा बाबु मरेका एक जना नाबालक आफन्तलाई १३ दिन बार्ने नाममा परेको अप्ठ्यारो र थरिथरि मान्छेले आआफ्नो हिसाबले तोकेका नियमहरु बडो बिरोधाभासपुर्ण लागे  । कलिलो उमेरको त्यो बबूरो जसलाई पानी कसरी उमाल्ने  भन्ने समेत थाहा थिएन, उसलाई १३ दिनसम्म चीसो भुईंमा परालमा सुताएर, आफै पकाएर खान लगाएर, गरुड पुराणको नाममा बाहुनहरुलाई दानदक्षिणा गर्नका लागि भावनात्मक शोषण गर्दा उसको बाबुले मोक्ष पाउँछ भन्ने कुरामा मलाई पटक्कै बिश्वास लागेको थिएन। त्यो बिचराको १३ दिनसम्म कस्तो दुर्गति भयो भनि साध्य नै छैन ।  तर धर्म र संस्कारका ठेकेदाररुपी ज्ञाताहरुले उनलाई परम्पराको नाममा यातना दिइरहे । एकोहोरो लाग्ने यो अव्यावहारिक नियममा आफ्ना नजीकका मान्छेहरुले दुःख पाएको देख्दा मर्ने मान्छेको आत्मा के प्रसन्न हुन्छ होला त?
एकातिर आफ्ना छोराछोरीलाई अंग्रेजी विद्यालयमा पढाउँछौ, विदेश पठाउँछौं अनि त्यहाँबाट फर्केर आएर उसले आफ्ना लागि पिण्डदान गर्ला भनेर आश पनि गर्छौं। एक जना परिचितका छोराले यी सब कुरा गर्न नमान्दा उसलाई धर्मविरोधी र पातकी भनेर आरोप लागेको कुरा म सम्झिन्छु । बाबुप्रति कुनै भावना नभएको छोरामा ऊ गनियो।  ऊ जीवनभर आफ्नो बाबुलाई सम्झेर एकान्तमा जे सुकै गरोस, त्यसको कुनै अर्थ भएन। किनभने उसले आफन्त र समाजलाई १३ दिनको नाटक देखाएन। कसै कसैले त १३ दिन किरिया बस्न बाहुनलाई भाडामा राखेको समेत देखिन्छ । व्यापारको रुपमा, कमाइको लागि ती ब्राम्हण बसेको किरियाले मर्ने मान्छे स्वर्ग पुग्यो होला भन्ने कुरामा बिश्वास गर्ने आधार के हो,कुन्नि। किरिया नगरेर आत्मा भट्किने भए बिश्वेश्वरप्रसाद कोइरालाको आत्मा पनि अहिलेसम्म भटकिनु पर्ने र उनका खलकको त कुभलो पो हुनुपर्ने हो। अहिले कै समाजमा पनि कतिपय व्यक्तिले मृत्युपरान्त आफ्नो शरीर नै पनि चिकित्साशास्त्रका बिद्यार्थीहरुका लागि दान गरेका छन्। तर हामी मध्ये कतिले त्यसलाई पच्छ्यायौं? वास्तवमा जो श्रद्धापुर्बक पितृहरुलाइ दिईन्छ, त्यो नै श्राध्द हो । श्रद्धया पितरं दीयते क्रियतेवातत् श्राद्धम्। वैदिक ऋषि भन्छन, हे पुत्र! तिमी शरीररहित भएको बेला आफुलाइ सम्झ । त्यो समय माता पिताको अंशबाट तिम्रो शरिर बनेको थियो । आज तिनै माता पिता शरीर रहित भएकाछन, कष्टमा छन । अत: यो शरीर पुष्ट गर्ने तिम्रो कर्तब्य हो । कालान्तरमा तिम्रो शरीर पनि सकिनेवाला छ । कति राम्रो कुरा ! तर हामीलाई गरुड पुराणको रुपमा पण्डित पुरेतहरुले सुनाउने त्रासपूर्ण कुराहरुले यति धेरै तर्साएको छ, हामी तर्कलाई एकातिर पन्छाएर बिना कुनै बिवाद यो परम्परालाई पच्छयाइरहेका छौं। कसैलाई आफ्ना परिवारजनले यो सब पीडा र परिभ्राटबाट मुक्ति पाउन् भन्ने लाग्यो भने पनि उसले जोगीमन्त्र सुन्नैपर्छ भन्ने कस्तो बाध्यता हो ।
देशको सिमान्त क्षेत्रलाइ सबभन्दा धेरै देवता, मन्दिर, बिश्वास र बर्जना भएको स्थान मानिन्छ । केहि महिना अगाडि कान्तिपुरमा खवर आएको थियो बैतडीमा बिकास निर्माणकालागी आएको अधिकांश रकम मन्दिर निर्माणमा खर्च भयो रे । बिडम्बना त के छ भने एकपल्ट मन्दिरनै तोडफोड गर्नेहरु अहिले मन्दिर बनाउनका लागि रकम उठाउदैछन । मन्दिरमा लिखित उजुरी लेखेर टाँसीएका हुन्छन । समाज गुजुल्डिएको अवस्थामा छ ।हाम्रो कार्यपध्दति आर्थिक बिकासतिर निर्दिष्ट छैन । मन्दिरको सजावट निर्माण र श्रृंगारमा आधुनिक सामान लाग्न सक्दछ भने, नयाँ भावना किन लाग्न सक्दैन ? मन्दिरहरुलाइ अनाबश्यक महंगो भन्दा आकर्षक र स्वाभाबिक पो बनाउनु पर्ने हो । पहिला पो समाजको बचत मन्दिरमा लगाइन्थ्यो । गहनाको रुपमा सुरक्षित राखिन्थ्यो । र गाणधनको रुपमा थन्क्याइन्थ्यो । यो निकम्मा बचत नै आर्थिक रुपमा प्रतिकुल रह्यो । अब अनुपयोगीसंस्थालाइ दान दिनु भन्दा बिद्यालय अस्पताल वा बृद्धाश्रम वा पुस्तकालयलाइ दान दिन उपयुक्त हुन्छ । दानदक्षिणाका लागि अरु धर्मले पनि अभिप्रेरित नगर्ने होइनन् तर गरीबगुरुवालाई सहयोग गर्न भन्छन् उनीहरु। अझ कति धर्मले त माग्नेलाई समेत नदेऊ भन्छ । कारण उनीहरु कमसेकम हात फैलाएर माग्न त सक्छन्
, । तर हामी पुरेत र गुरुहरुलाई पोसेर पितृको कल्याण हुनेमा बिश्वास गर्छौं। आफूलाई अनावश्यक दुःख दिनाले मरेकाहरुले बैतरिणी नदी पार गर्ने भ्रममा अल्झिन्छौं। पहिला रोम तिर पनि पोपहरु स्वर्ग जानका लागि टिकट काटथे रे । तर अहिलेको समाजका मान्छे पनि तर्कलाई एकातिर पन्छाएर यो कुरीतिलाई निरन्तरता किन दिइरहेका छन्? हरेक कुरा समय अनुसार परिवर्तन र परिमार्जन हुन्छन् भने संस्कारको खोल ओढाइएका यस्ता कुराहरु बदल्न किन कोही तत्पर हुँदैन? घुस दिएर काम गराए जस्तै यस्ता अनुपयोगी र निहित स्वार्थप्रेरित कथित धार्मिक संस्थालाइ दान दिएर पापशोधन र पुण्यबर्धन हुन्छ होला त ?
अहिले पनि समाजमा दोहरो कुरा गर्ने ,झुक्याउने, ठग्ने, धम्काउने र मौका मिले चोर्न पनि पछि नपर्ने बानि यथावत छ । राजनिति त भनाइ र गराइमा देखिएको अन्तरबाट आर्जित पद र पैसाबाट पो मुल्यांकन गरिदो रहेछ । जनमानस नया बिचार, नया प्रबिधि र नयाँ नेतृत्वप्रर्ति सशंकित छ । बरु आफ्नै रुठ धर्म र बिश्वासले गाँज्दै ल्याएको छ । निसन्देह धार्मिक मान्यता परम्पराबादि हुन्छ। बाबुबाजेको बिडो थाप्ने हाम्रो मान्यता नै हो । यो मानसिकतामा नया चेतना उमार्नु र उम्रिनु चानचुन कुरा होइन । हाम्रा गाउँमा कुलो चलाइ पानि ल्याउनु भन्दा देवता खुशिपारि पानी बर्षाउने अनुष्ठान गरिन्छ । डाक्टरको ओखति भन्दा मसानीको भाकल सहज ठानिन्छ । अन्यायको प्रतिरोध भन्दा देउघातमा बढि निष्ठा छ । बिभिन्न कामकालागि बिभिन्न देवता स्थापित छन । के देवलोकमा पनि सरकारकोजस्तो कामपिच्छे अलग अलग बिभाग होलान र ?
धर्म प्रधान जनता भावुक हुन्छन । बिबेक र तर्क-बुद्धि धर्मका लागि बाधक हुन्छ । उधारो परमार्थ महत्वपुर्र्ण तर नयाँ सिध्दान्तको महत्व बेकार लाग्न सक्दछ । तर अब पुराना भग्नाबशेष र पुराना संस्थामा मल्हमपट्टि गरि श्रम खर्च गर्ने दिन गए । अभावको जगमा न अध्यात्म पाइन्छ न सन्तोष नै । अत: आर्थिक प्रगतिका लागि नयाँ प्रबिधि र नया बिचार स्विकार्नुको बिकल्प छैन । अभावमा जिउनेहरुलाइ सन्तोषको पाठ पढाएर धर्मले मनोब्यबस्थापन गर्दछ । अल्प उपयोगको अर्ति पनि प्रकारान्तरले अभावकै ब्यबस्थापन हो । तर बिरालो बाधेर गरिने आधुनिक अपब्ययलाइ धर्मको अफिम मान्दा फरक पर्दैन ।
कुरान, बाइबल वा हाम्रा धर्मग्रन्थहरु पनि त गहिरिएर पढ्दा त्यसबेलाको समाजलाई डोर्याउन बनेका सम्बिधान नै त हुन । पन्ध्र वर्ष पुरानो संविधान अहिलेको युग सापेक्ष भएन भनेर आमूल परिवर्तनका लागि जुटेका हामीहरुले पन्ध्रसय वर्ष पहिले धर्मका रुपमा बनेका संविधानलाई चाहिँ आँशिक रुपमा भए पनि फेर्नु पर्ने बेला आएकोछ । 

Tuesday, January 4, 2011

जनसुकेइ पहाड्का पानी---

जनसुकेइ पहाडका पानी, म पहाडै आउला ....../
आफनो गाउ सम्झिदा मनमनै मन-मयुर यो गीत पो गाउन थाल्छ ।
 बेर्नाबाट बारीमा लगाइएको जस्तो प्रत्यारोपित भएको र पहाडबाट तराइ झरेको जीबन-प्रवाह बडो बेसोमतिलो हुन्छ । तर बर्तमान सँधै खस्रो लाग्ने परिबेशमा भए पनि अतीत सदाकाल लयात्मक( lyrical) नै लाग्दो रहेछ । यसपाला अतीत खोज्दै आफ्नै पुरानो गाउँ घुमेर आए। भुगोलबाट भत्किएको र इतिहासबाट कुँडिएको मेरो समकालिन पिढी सांस्कृतिक बिच्छिन्नता र असमाबेशनियताको दोहरो डर साँचेर बसेको देखियो । पार्श्व-छायामा उभिएका सुखदुखहरुलाइ एकिकृत रुपमा समेटदै पुरानो दिनहरु सम्झिए । खोलारोणाका दुखसुख आफनै किसिमको हुन्छन् । मेरो आगनबाट देखिने पहिलो दृश्य थियो ग्वाल्लेक पर्वत र धारी खोलाको । यो आलेख त्यसै धारीखोलालाइ समर्पित छ ।
 यो खोला हाम्रो घरभन्दा केही पर थियो। हामीले घङारु र किरमणा टिप्ने , भंगेरा र भ्याकुर खोजिहिँड्ने त्यस ठाउँका बुटा-बुट्यान र सानातिना रूखहरू फाडेर खोलाको वारि पारि मजाले लडीबुडी खेल्न मिल्ने हरियो चउर भन्न मिल्ने गराहरु बनाइएका थिए । एक हिसाबले बुट्यानहरूबीच धारी खोला बग्दथ्यो । सोझो बाटो तर तिनवटा साना खोला(रोणा) तरेपछि धारीखोला छेउको यो मैदानमा पुगिन्थ्यो। जाडो, गर्मी, वर्षात् जे सुकै होस् मौका पाउनासाथ हामी गाइबाच्छा कुदाएर साथीसँगीसित यो फाँटिलो बगरमा पुग्थ्यौं। ठूला-ठूला ढुङ्गाहरूमा ठोक्किँदै नागबेली ढाँचामा बग्ने सङ्लो पानीको धारी खोलाले मलाइ सँधै निम्त्याइ रहन्थ्यो । त्यतिविघ्न ठूलो खोला होइन तर मजरखोला र मौरदुलाको कोखबाट निस्केको पुर्बोत्तर बग्दै असिमी केदारको मन्दिर छेउबाट गोदागाडमा यो विलाउँथ्यो।
टन्न थिए किनारमा झयाङहरू। परजीवी लहराले छोपेका माजरा र ऐसेलुका बुटाहरू पनि प्रशस्त थिए। उनिउ, थकाइलो मेल्टाको साग बटुल्नु पनि उत्तिकै रमाइलो काम हुन्थ्यो। हातमा केही उपयोगी चिज बोकेर घर जाँदाको इज्जत नै बेग्लै । दुवाली छेकेर माछा मार्ने काम बेलाबखत गरिए पनि यो काम बुवालाइ मन नपर्ने हुनाले रिस्की हुन्थ्यो । तै पनि हामीहरु धारी खोलाको संगत छुटाउदैनथ्यौ र कहिले साना साना माछा समात्न सकेकोमा मख्ख पर्थ्यौं। ढुङ्गाको चेपतिर गँगटा पनि फेला पर्थे, तर समाउने ढङ्ग नपुग्दा तिनले औंलामा चोट पनि पुर्‍याउँथे। त्यसरी पाएको सिकारलाई झ्यासझुस आगो बालेर पोलिखान पाउँदा मिल्ने तृप्ति अर्कै हुन्थ्यो।
कसैले हामीलाई अनेक रङ्गका पुतली समातेर सङ्कलन गर्नुपर्छ भनेर उल्क्याइदिएको थियो। भोर्लाका पात, कपडाको टालो इत्यादि उपयोग गरेर पुतली समाती पनि हिँड्यौं। लाम्चो आकारको स्थानिय भाषामा भाण भनिने पुतलि समात्ने र त्यस्को पुच्छरमा धागो बाधि हेलिकेप्टर बनाएर उडाउने उपक्रम मेरो अतिप्रिय खेल हुन्थ्यो । बरा, अनेक यत्नले समातेर ल्याएको जावो पुतली हाम्रो हवसका शिकार हुन्थे । यो बोध मलाई धेरै पछि मात्र भयो ।
बर्षातको बेला औधि रिसाउने यो खोलासंग अठौति मल्लको कथाहरु जोडिएर रहस्यमय बनाइएको थियो । हिउँदमा शान्त र हानिरहित देखिने धारि खोला वर्षायाममा रौद्र रूप देखाउँथ्यो। कालो-पहेंलो भेलले आफ्नो मार्गमा पर्ने काठपात, मुढा आदि पछार्दै ल्याउँथ्यो। कहिले निर्दोष पशुहरू पनि  रोषको सिकार बन्थे। फुस्रे ठाडो भीर धारीको उद्दाम र विनासकारी अतीतको निशानी थियो। अठौति मल्लले यसै खोलाले बगाइ दिने भनेर केदारदेवतालाइ च्यालेन्ज गरेको थियो रे । तर शान्त भएर बग्ने अर्को गोदावरी गाडले अठौतिको अभिमानलाइ माथ ख्वाइ दियो । जे होस, मलाई भने त्यसरी फिँज काढेर गडगडाउँदै बगेको धारि खोलाको यो स्वरूप बडो रोमाञ्चकारी लाग्थ्यो।
उसवेला गाइगोरु चराउन जाने ठाउँ यहि खोलाको छेउछाउ थियो। हामी परिगाउ र कोइरालीवालाहरुको चरन नै धारीको बन मात्र हुन्थ्यो । खोला किनारमा घङारुको झाडीले घेरिएको एकान्त ठाउँलाई हामीले खेल्ने चौर बनाएका थियौ ।  भुराभुरिको लागो खेल्ने चौर बनेको धारीको मैदान बुढाबुढीहरुकोलागि घाम ताप्ने थलो पनि बनेको हुन्थ्यो । नजिकैको रेल्या, मजरखोला भिटा तिर गाइ बस्तु चर्थे र घाम अस्ताउन थाले पछि आफै बुर्कुसी मार्दै चौरमा आइ पुग्थे । यो गोपालक जिवनको नियमित जस्तै दिनचर्या थियो ।
त्यस दिन पनि चार-पाँच जना दौंतरी मिलेर धारिको हरियो मैदानमा  गाइ चराउन  गएका थियौं। हामीबाट  आनन्ददायक लाग्ने तर लोणे बाध्ने, एकखुट्टे,ठीणी, घ्वाइ हान्ने जस्ता मूर्खतापूर्ण निरर्थक काम गरिदै थिए । अनायास छेउछाउका साना बुट्यान वरपर चरिरहेका गाइगोरु भयभित भएर कुद्दै बेसमय चौरमा आइपुगे । हामि पनि अज्ञातको आतंकले सतर्क भयौ । कान ठाडा पार्दै गोलबन्द गाइगोरुको बथान बारेको वास्तविकता थाहा थिएन । बुढापाकाले भने पछि नजिक कतै बाघ आएको अनुमान गरियो ।सबैले आफ्ना बस्तुको हिसाब लगाए । मेरै तिलुगाइ नआएको ठहरियो ।
बुट्यानयुक्त बगरमा बाघ आएको प्रष्ट हुदाहुदै हराएको गाइ खोज्नु चानचुने कुरा थिएन। तर मैले हार मानेन। हिउदको  त्यो लामो दुर्दिनमा असिनपसिन भएर रुदै नजिककाको डिलको झाडीतिर लागे । बुढी बज्यैले रोक्न खोज्दा खोज्दै पनि  म झण्डै बेहोसीकै अवस्थामा तिलुको खोजमा कुदन थाले । दौतरी गोपालबर्ग समेत पछाडी आउने नै भयो । कठैबरा,झाडीको चेपमा मेरो तिलचाम्ले अधबैसे तिलुगाइ खुट्टा पसारेर निष्प्राण पल्टिएको थियो । चितुवाले घाँटिमा दारालगाइ रगत चुसेर मारि सकेको रहे छ । त्यो गौ प्राणिले त्यो हिंसक पशुसंग कतिबेर संघर्ष गर्यो होला ? हामी ३०० मिटर पर खेल्दै गरेका बाल मनुवाहरुले केहि चाल पाएनौ ।
यो घटना मेरो दिमागमा अहिले सम्म ताजै छ । तिलुगाइको एहलिला सकिएको यो ठाउ मेरो लागि सम्झनाको किलो ठोकिएको स्थान बन्न पुगेको छ । अतितका ति रिमझिमे दिन बर्तमानमा समेत रोमाञ्च गराउछन । हुन पनि घाम गहिरो हुँदाहुँदै केटाकेटीमा हामी एक्लैदुक्लै त्यता जान भने डराउँथ्यौं। खासगरी घाम डुब्ने वेलामा पटक्कै नजान र गएमा बाघ लाग्ने चेतावनी पाएका थियौं घरबाट। किनभने बगरमा यस्ता थुप्रै घटना घटेका थिए।
धारिखोलासितको मेरो सङ्गत त्यसवेलादेखि छुट्यो जुनवेलादेखि स्थानिय  दुर्गास्थान प्राथमिक स्कूल छोडेर म एकदिनको बाटो पर तल्लो सोराडको हाइस्कुलमा भर्ना भए । एसएलसी जाँच दिने वेलासम्ममा धारिसितको मेरो सम्बन्धमा केही परिष्कार आइसकेको थियो। खोलामा निर्बस्त्र भएर नुहाउन निरुद्देश्य बरालिन छाडिसकेका थिए। बरु बेलुकी घरकै आगनमा बसेर धारिका गरामा घाम डुबेको दृष्य हेर्ने गरिन्थ्यो । यदाकदा त्यो बाटो भएर अन्यत्र जानबाहेक कामका लागी त्यहाँ जाने मेसो नै मिलेन ।
शायद ०३१।०३२ तिरको कुरा होला । जमिन नापि हुने भयो रे भन्ने सुनियो । एस एल सी सकेर म गाउमै बसेको थिए । तालुकदार मुखियाको कामदाम गर्ने हैसियतमा टिप्पन लेखने काम मैले गर्थे । धारिको जमिन समेत दर्ता को कुरा उठ्यो । सबैलाइ बाँडदा धेरै टुक्रा हुने भएकोले जग्गा दर्तामा सहयोग गरे वापत १०-१२ जना सबै खायकरहरुले एकमुष्ट मेरो नाममा जग्गा दिने भए। ०४३ तिर धारिका गराहरु पिताजीका नाममा दर्ता भए । हाम्रो समेत खोलाको दाँयाबाँया झण्डै आधा दर्जन घरबारी पो आबाद भए ।
यसपछि म धारीसंगअझ टाढा भए । तर जब म जिन्दगीलाई दार्शनिक दृष्टिले हेर्ने चेष्टा गर्छु जति पानी भए पनि त्यसलाई बोकेर एकनास बगिरहेको धारी खोलाकै तस्बिर मेरो दिमागमा आउँछ। खोलाको नियति नदी या सागरसित मिसिनु नभई यात्रामै कतै हराउनु थियो। खोलाको पनि जीवन जस्तै रुपरंग बदलिदो रहेछ । ठणसोणा भरि रोपाइ गरि भ्याउने धारिको खोलाको काया अब ५० वर्षअघिको जस्तो रहेन। खोलाको पानी धेरै माथि आउदैन, किनारका वनजङ्गल गायव भए । बाङझो जमिन आवाद हुदैछ । तै पनि खोला बग्दैछ, तटबृक्षहरु समयका साक्षी स्वरुप खडा नै छन । खोलाको पहिलो मुकाम सकिने दोभानमा असिमि केदारको मन्दिर पनि यथावत ऊभिएकै छ । यो मन्दिर क्षेत्रलाइ पबित्र धाम मानिन्छ । यस सन्दर्भमा मलाइ ओशोको भनाइ मन परेकोछ । वास्तवमा तीर्थका कारण मुक्ति हुदैन । मुक्तात्माहरुको बासका कारण तिर्थस्थल बन्ने गर्दछन । यो भेगतिर एकलै हिड्दा कुनै न कुनै रुपमा यस्ता मुक्तात्हरुलाइ भेटनसक्छु भन्नेमा म बिश्वस्त छु । परमेश्वरले मान्छे मात्रै बनाएको त छैन । पशुपंछी रुखबृक्ष, ढुंगामाटो र हावापानी समेत बनाएकोछ । अत: मुक्त आत्माहरुको स्वरुप मान्छे जस्तै हुनुपर्छ भन्ने ब्यहोरा मलाइ तर्कसंगत लाग्दैन ।
अहिले गाऊँमै बिजुलि पुगेकोछ । घास काट्दै हलो जोत्दै फोनमा दूरदेशसम्म बात मार्न सकिन्छ । यसै खोोलालाई छिचोल्दै देहिमान्डौ-सलेना सडकको लिंक खोलिएकोछ । एकदिन यसै खोला भएर पक्कि सडक बन्नेछ, आधुनिक बाहनहरु हिडनेछन । लयदार श्रृंखला माथिको सिमान्त चुलीको वरपर बिश्राम गृहहरु,आश्रमहरु बन्नेछन । खोलाको प्रश्रवण क्षेत्रमा पाइने कमेरो, खरि र रोणाढुंगाहरु नगदमा रुपान्तरित हुदै जानेछन । यहाँका बनौषधि, रसायनरहित तरकारि, डाले घाँस र पशुधनले गृह उद्योग चल्नेछन । म यस्तै यस्तै सपना देख्दैछु । शुभकामना छ, यो खोला,त्यो जोबन र यो जिवनको यात्रालाइ । शिबास्ते पन्थान् ।


Monday, September 13, 2010

हाम्रो भाषा भासिदैछ

भाषा- अभिव्यक्तिको माध्यम
नेपाली विकिपेडियाका अनुसार मानव-मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो । भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरुलाई व्यक्त गर्छौं । विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरुको उपयोग गर्छौं ति सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन । प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरुको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। भाषा बिना मनुष्य सर्वथा अपूर्ण छ । भाषा नरहे आफ्नो इतिहास तथा परम्परादेखि विच्छिन्न भइनेछ । सामान्यतः भाषालाई वैचारिक आदान-प्रदानको माध्यम भन्न सकिन्छ।
सन्दर्भ- नेपाली भाषाको
जहाँसम्म नेपालि भाषाको कुरा छ, दार्जिलंगका विद्वान पारसमणि प्रधानले भनेका थिए- नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन । यसलाई बाहुन, क्षेत्री लगायत गरुङ,मगर, र्राई, लिम्बु, नेवार, तामाङ आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मात्तृभाषा भनी अपनाएका छन् । यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ । पहिलेको खस बोली खसभाषामा परिणत भएर गोर्खा वा गोर्खाली भाषा बन्यो । अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेकोछ । यति मात्र होइन भारतका आसाम, मणिपुर, दार्जिलिङ्ग, उत्तराञ्चलको देहरादून, अलमोडा लगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीहरुको लागि यो प्रिय भाषा पनि हो । भारत सरकारले सरकारी भाषा सरह्को मान्यता दिएर नेपाली भाषालाई अन्तराष्ट्रिय स्वरुप प्रदान गरेकोछ ।
बदलिदैछ- नेपाली बोलचाल
भाषा पनि परिवर्तनशील हुन्छ। पृथ्बीनारायण शाहको पालामा वोलिने नेपाली र आजको नेपालीमा धेरै भिन्नता आईसकेकोछ । आजको नेपाली भाषा भोलिको नेपाली भाषा भन्दा निकै पृथक होला । अहिले नै पनि गाउँघरमा वोलिने नेपाली भाषा र शहरमा वोलिने नेपाली भाषा विचमा अन्तर देखा पर्न थालेको छ। यस्तो लाग्छ सहरको नेपाली गाउँमा बुझिदैन र गाउँको नेपाली सहरमा वुझिदैन। यसकालागि बेग्लै लेख तयार हुन सक्दछ । तर कुरा के हो भने नेपालीमा अन्य भाषाको प्रतिकुल प्रभाव पर्न थालेको छ।
आजको नेपाली भाषाको रुप हेरौ । राम्रो स्कुलमा पढेको होनहार नेपाली छोरोको भाषाको आमस्वरुप बडो बिद्रुप देखिन्छ । जस्तै- "मम्मी, आजको ''ईक्जाम'' राम्रो हुन सकेन,कस्ता हार्ड ''कोइसनहरु'', ''सल्भ'' गर्न नै सकिन। सरले ''पास''सम्म गराउलान् भन्ने ''होप'' त छ तर मलाई विस्वास नै छैन कि ''आई विल पास'' के। त्यसैले आज ''आई एम सो स्याड'', माँम"। यसता अधकल्चो प्रयोगले मलाई असाध्यै चित्त दुखाउछ । वाक्यहरुमा अंग्रेजी मिसिनु अब अनौठो हैन । अंग्रेजीभाषाका शव्दहरु नराखी वोल्ने हो भने असहज लाग्छ सक्छ । तर भाषाको यो दुर्गतिले हाम्रो हालत के होला ? अनुमान कहालि लाग्दो देखिन्छ ।
सन्दर्भ-मेरो मातृभाषाको
मेरो पितृभुमी र मेरो मातृभाषाको सन्दर्भमा बोल्नु पर्दा सुदुर पश्चिमान्चल नेपाली भाषाको मूल जन्मथलो मानिन्छ । यहाँको भाषामा प्रयोग हुने शब्दलाइ स्थानिय उच्चारणमा नै लेख्दा अधिकांश ब्यञ्जनान्त् र थोरै अकारान्त् शब्द देखिन्छन् । नेपालि भन्दा फरक मानक, अन्त्य स्वर लोप हुने प्रबृति र ला प्रत्ययमा संभाबनात्मक संकेत देखिनु यस भाषाका टडकारा बिशेषता हुन् । यस भाषाका शब्द र वाक्यमा ध्वनिगत, अर्थगत र ब्याकरणगत बिलक्षणताहरु छन । संस्कृतबाट प्राकृत हुदै खस भाषा बनेको सन्दर्भमा पर पश्चिमेली भाषालाइ खस भाषाको बरद र बिकसित स्वरुप भन्न मिल्छ । जुनसुकै भाषाका पनि स्थानिय भेद र परिष्कृत स्वरुप हुन्छन । नबौ शताब्दिमा डोटिबाट पुर्ब सरेका सिजालि,गोरखालि र नेपालि भाषाको माउभाषा भएकोले यो मानक नेपालि भाषाको आधार पनि हो । बिक्रमको पाँचौ देखि नवौ सम्म कालखण्डलाइ यो भाषाको निम्ति अपभ्रंश भाषा काल या प्रबुध्द काल पनि भनिएकोछ । यस भाषाका सामान्य अन्तर सहित कतिपय स्थानिय भेदहरु छन । बोलचालमा समस्त पर पश्चिमेलि भाषा भन्डारलाइ डोटेली भाषा भनिने गरिएकोछ । बिशिष्ट मनोभावलाइ अभिब्यक्ति दिन समर्थ रहेका सुदूर पश्चिमको भाषाभण्डार राष्ट्रकै सम्पदा हो । मानबीय संबेगको सुक्ष्मतम मनोदशालाइ समेत भाषाको माध्यमले संप्रेषण गर्नमा यि शब्द-संपदा सर्बत्रका लागि अनुकरणिय र संग्रहणिय हुन सक्दछन । मलाइ नेपालीमा यसता मानवीय संबेगको ठ्याक्कै अभिब्यक्ति दिनसक्ने शब्दहरुको ज्ञान छैन । नेपालीमा यस्ता शब्दहरुको प्रयोग भएमा राष्ट्रभाषाको श्रीबृद्दि नै हुनेछ । जस्तै-गुगुल्डी( अतृप्त आकांक्षा ),उचटा (दिकदारि), छुद्दी(सानो कुरामा नियत डगाउनु),झ्यारी(आक्रोश),निफ्फि(था्म्नै नसकिने आक्रोस,नाकका पोरा फुलाएर ब्यक्त आक्रोस), झुक्कुर(मनको थाम्न नसकिएको बेदना),झस्को(चस्को, झझल्को,शंका),होस्को(अर्काको देखासिकि) , दमदमी( के गरौ,कसो गरौ लागेको ), झलेलि( केहि गर्न नसकेकोमा जिउ चिलाएको जस्तो भएको), दचौका (कुराबाट मनभित्र गरिएको चोट ),झिजोण (ससानो पिरलो),नकचोडाइन( अस्विकृतिबोधक तरिकाले नाक खुम्च्याएको) आदि ।
चुनौति-भाषा संरक्षणको
वास्तबमा भाषा भन्ने कुरा पनि विचित्रको छ । आफ्नो कुरा अरुलाई सुनाउन, अरुको कुरा सुन्न भाषाको प्रयोग हुन्छ। अझ मातृभाषाको महत्वको त कुरै नगरौ। संवेदनाहरु पोख्नको लागि मातृभाषा भन्दा अरु कुनै भाषा सहज हुन्छ जस्तो लाग्दैन। दोस्रो भाषा भनेको दोस्रै हुन्छ, जति नै जाने पनि सवैकुरा व्यक्त गर्न सकिदैन ।
आजकल गुन्युचोलो लगाउने महिलालाई, भोटो लगाउने किसोरीहरूलाई सहर वजारमा वस्ने उन्नत जातका लुगा लगाउनेहरूले “पाखे” भन्न थालेका छन। तर त्यो नेपाली महिलाहरूको राष्ट्रिय पोशाक हो। यि उन्नत जातको लुगा लगाएर अंग्रेजी भाषाको अभ्यास गर्नेहरूले भोली आफ्नो राष्ट्रिय भाषा वोल्नेलाई पनि “पाखे” वा त्यसको समकक्षी अंग्रेजी शव्दको प्रयोग नगर्लान भन्ने के तर्क छ? डोटेली भाषामा आमाकोनिम्ति प्रयोग हुने “ईजा” शव्दलाई धेरै सम्मानित मानिन्थ्यो। त्यस्तै भाइ बैनीहरुलाइ बुदि भनिन्थ्यो । तर अहिले ईजा वा बुदि भन्ने शव्दको उत्तर खोज्न उहिलेका कितावका पाना पल्टाउनु वा वुढापाकालाई सोध्नु वाहेक तेश्रो बिकल्प छैन। भोली आमा भन्ने शव्दको पनि त्यही हालत हुने छ। 'ह्वाट इज आमा ?' भन्ने छन हाम्रा भावी पुस्ताहरूले। यो कल्पना मात्र पनि डरलाग्दो छ ।

आज हरेक मान्छेहरु अदृस्य बन्धनले बाँधिएका छन। फुत्कन खोज्यो,झन झन पासोमा परिन्छ। यस्तो अबस्थामा कोहि पनि रमाउन सक्दैन ।त्यसकारण समयमै नेपाली भाषीहरूले भाषा संरक्षणका लागि पहल गर्नु जरुरी छ। डलर पुगे पछि स्थानिय संस्कृति नाश हुने प्रबृति नेपालमा छ । त्यो नहोस भन्नेतर्फ सतर्क हुनु पर्ने बेला आएकोछ । गैससकर्मीहरूले पनि अव प्लान होईन योजना वनाउन जान्नु पर्छ, ब्रेकफास्ट-लंच-डिनर होइन, खाना खान जान्नु पर्छ। राजनीति गर्नेहरूले पनि ग्राइन्ड डिजाइन वा फ्युजनको नेपाली अर्थ बुझ्न सक्ने नेपाली उत्पादन गर्न सक्नु पर्छ,.होइन भने चुनौतीका रुपमा रहेको भाषिक हस्तक्षेपले नेपाली भाषालाई निल्ने छ।

Monday, September 6, 2010

म एउटा भ्रम बाँच्दैछु


हाम्रा पुराना ग्रन्थहरुमा अचंभका कथाहरु पढन पाइन्छन् । देबर्षि नारदलाइ एकपल्ट आफु सारै सुन्दर छु भन्ने भ्रम परेछ । कुनै सुन्दरीको स्वयंवरमा आफुलाइ योग्य बर सम्झि उनले भाग लिएका रहेछन । तर बरमाला अरुले नै पाएपछि पानिमा छाया हेर्दा उनको अनुहार त बानरको जस्तो पो रहेछ । यथार्थमा सुन्दर अनुहारको बरदान माग्दा भ्रम-तत्वको ज्ञान दिन उनलाइ बानरको स्वरुप दिइएको रहेछ । जीवन भ्रम हो भन्ने गहिरो कुरा बुझाउनका लागि यस्ता कथाहरु रचिएका होलान ।

मलाइ लाग्छ, गोल सुडौल, स्वस्थ र श्वेत स्वरुपलाइ सुन्दर र बानरको झुसी चाउरे रातो मुहारलाइ असुन्दर भन्नु पनि त भ्रम हो । जिबनलाइ आआफ्नो परिभाषामा अल्झ्याएर राखिएको हुनाले महाभारतमा जिवनको अस्थायिपन नबुझनुनै सबभन्दा आश्चर्यको कुरा हो भनेर यक्ष युधिष्टिर सम्बादमा बोलिएको छ ।

हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ यसै प्रश्नको अल्झोमा म अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै विषयहरूमा फसिरहेको छु । तर “जे फुल फुल्यो तेइ रामणो जे खायो तेइ मिठो” (जुन फूल फक्रिन्छ त्यहि राम्रो हो र जे खाइन्छ त्यै मिठो हो ) मान्ने लोकबाङमय को सम्यक दर्शन ले मलाइ सम्झौता गर्न सिकाइ रहेको हुन्छ ।

हामी आफूलाइ चेतनसिल प्राणी भन्दछौ । यहि चेतना वा ज्ञानकै माध्यमले साँचो र झुठो थाहा पाउछौं। तर जीवनमा एक ठाउँमा उभिएर एउटा सत्य स्वीकारेको तथ्य अलि पर पुगेर हेर्दा अर्कै देखिँदो रहेछ । अझ अलि पर गएर हेर्ने हो भने दृश्यको अर्कै पाटो देखिँदो रहेछ- झन् अर्को सत्य । यात्रामा हिँडेको यात्रुले हिँड्दाहिँड्दै दृश्यचित्र बदलिँदै गएर रोमाञ्चकता थपिएजस्तो जीवन पनि उमेरको प्रवाहमा बगेर जतिजति पर पुग्छ, त्यतित्यति नै सत्यको रूप, आकार र अर्थ बदलिँदो रहेछ । यात्रा अर्थपूर्ण लागेजस्तै जीवन पनि झन्झन् रोमाञ्चक र अर्थपूर्ण लाग्दै जाँदो रहेछ । यसरी निरन्तर हामी भ्रमलाई सत्य र सत्यलाई भ्रम ठानेर बेकारमा मक्ख पररिहन्छौँ, रुन्छौँ, झगडा गर्छौं र दौडन्छौँ, रमाउँछौँ ।

सत्य र भ्रमका सम्बन्धका बारेमा गहिरन थालेपछि कहाँनेर सत्य सकिन्छ र भ्रमको प्रारम्भ हुन्छ अथवा कतिबेला भ्रमको अन्त्य हुन्छ र सत्यको प्रकाश आलोकित हुन थाल्छ भनेर विचार गर्दा झन अलमलमा परिन्छ। कहाँकहाँ सत्य र भ्रम दुवै सँगसँगै हिँड्छन् र कहाँ ती दुवै मिसिएर एकाकार हुन्छन् भनेर छुट्याउनु बर्षातको बेला लेकाली जंगलमा कुहिरोको सिमारेखा निर्क्यौल गर्नु जस्तै हो। यसरी जतिजति सोच्तो रहेछु, त्यतित्यति नै अलमलिएर भुमरीमा घुमिरहेको हुन्छु । भ्रम र सत्यको बीचमा त्यस्तो स्पष्ट सीमारेखा देख्दिनँ । तर, हामी यात्रुहरू भने यात्रामा हिँडिरहँदा कहिले बीचबाट, कहिले अलि दायाँ ढल्कँदै र कहिले अलि बायाँतिर पनि ढल्कँदै बिभिन्न दृष्टिकोण तयार पार्दछौ ।

जीवन अनुभवहरूको संग्रह हो भनेर मैले आजसम्म मानिआएको छु । अनगिन्ती विषयहरू छन् जीवनमा, जसलाई हामी जान्न चाहन्छौँ , भोग्न चाहन्छौँ र रङ्गीन चाहन्छौँ । यही चाहनालाई जिजिविषा अर्थात जिबन प्रतिको भोक मानिन्छ । यसैले मान्छेलाई उफार्छ, थेचार्छ, दौडाउँछ र भगाउँछ । भाग्दाभाग्दै, उफ्रिंदा-उफ्रिंदै, रमाउँदा-रमाउँदै र दुःखी हुँदाहुँदै जीवन छोटिँदै जान्छ ।

जिवनमा कतिपय यस्ता अवस्थाहरू पनि आउँदा रहेछन् जतिबेला कठोर परीश्रम, सीप र रुपियाँ खर्चेर आर्जेको ज्ञान र विवेक, मन र भावनासँग पराजित भइदिँदा रहेछन् । यस्तो बेलामा कुन बलियो हो कुन कति सत्य हो भन्नेबारेमा अलमल उत्पन्न हुन्छ । मान्छे उमेरले वृद्ध हुन्छ र एकदिन उमेर पुगेपछि जान्छ । तर, जब पर्छ, त्यसबेला त्यो ज्ञान र विचार भन्ने कुरा छुमन्तर हुदोरहेछ। आफूलाई साथ दिने त तिनै संवेदना, भावना र भावुकता मात्रै रहेछन् । भावनाको यहि बाढीमा आंशिक सत्य मिसिएका भ्रमहरू पनि पर्दारहेछन् । मान्छे भन्नु वास्तवमा यहि शरिर, भावना, संवेदनाको योगफल हो ।

समय गतिवान हुँदा सपनाले अङ्कुराउने ठाउँ पाउछ । सपनाको खेति गर्न हामीसँग 'माया'हरू छन् । त्यसैले हामी हिँड्दाहिँड्दै पनि, जाँदाजाँदै पनि, बन्दाबन्दै पनि र भत्कँदाभत्कँदै पनि रमाइरहेका हुन्छौँ । थकाइ र गुनासाहरूका बीचमा पनि धेरै त सन्तुष्ट नै हुन्छौँ । कहिलेकाहीँ मनमा कुरा खेल्छ, जीवनमा भ्रम नभइदिएको भए जीवन कस्तो हुन्थ्यो होला । जताततै माया नै माया भएको मायिक यथार्थमा मायालाइ इश्वर भन्दा बलियो किन नमान्ने भन्ने चार्वाकीय दर्शन मनन योग्य छ ।

हिरण्यमयेन पात्रेन सत्येनाबिहितम् मुखम् भन्ने एउटा दर्शन सम्झन्छु । अर्थात सत्य भित्र सारमा हुन्छ र भ्रम भनेको सत्यको बाहिरी आवरण मात्र हो । यस भनाइ उपर विचार गर्दा पनि लाग्छ सत्य एकदम नांगो हुँदा होइन तर केही आवरणले छोपिँदा सुन्दर र अझ सर्वश्रेष्ठ हुन्छ । हामी जीवनलाई सुन्दर बनाउन चाहन्छौँ र सर्वश्रेष्ठ तरिकाले बाँच्न चाहन्छौँ । यसप्रकार जीवनमा सत्य र भ्रम दुवै आवश्यक हुँदा रहेछन् । यी दुवै मात्रात्मक हिसाबले कति चाहिन्छ भन्ने निष्कर्ष निकाल्न गारो छ । त्यसैकारण हरिभक्त कटुवालले “सपनाहरु खोसेर लैजाने बिहानीलाइ अर्को सलाम” दिएका होलान । सलाम यो मायालाइ, यो जिन्दगी लाइ । सलाम यो सत्यलाइ र भ्रान्तिलाई ।।

Wednesday, August 25, 2010

गौरा पर्ब : सुदूर पश्चिमको सांस्कृतिक सम्पदा

बिबिध संस्कृतिले सजिएको यो देशको पश्चिमी सिमान्त पाटो भाद्र महिनामा गौरा पर्बको रमाइलोमा रंगिएको हुन्छ । पर पश्चिमेहरु अचेल काठमाण्डौको खुल्ला मन्चमा समेत गौरा मनाउन थालेका छन । यसै गरि राजधानीबाट टाढा रहेका पश्चिमी पहाडका गाऊ गर्खामा सुनिने गौराका गीतहरुको रन्को क्रमस: देश भरि पुग्दैछ । सुदुरका शैल शिखरहरुलाइ नमन गर्दै सम्पुर्ण आफन्तहरुलाइ शुभकामना दिन गौरी पार्बति यहि अवसरमा हाम्रा गाऊँँ घरमा आउने गर्छिन भन्ने लोक बिश्वास छ ।

गौरा सुदूरपश्चिमाञ्चलको धार्मिक एवं साँस्कृतिक पर्व हो । यो पर्वको पहिलो दिन बिरुडा पंचमीमा गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडा नै अक्षता र प्रसादका रूपमा प्रयोग हुन्छ । बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रति-मूर्ति बनाई गौराघरमा भित्र्याउँछन् । बिबिध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्र्याइ सकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा हुन्छ । यस पछि विसर्जन नगरिएसम्म गौराघर नजिकको चौरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक- आस्था र आपसी-सद्भाव बढाउन मद्दत पु-याउने मात्र नभई यस पर्बमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने तथा ईष्ट-कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

निख्रिदो झरिसंगै पन्चान्न ( पाँच अन्न )को बिरुडा उमारेर गौराको सांस्कृतिक यात्रा शुरु हुन्छ । भाद्र शुक्ल अष्टमी भन्दा अघि नै अगस्त उदय भएकोमा बाहेक सामान्यतया भाद्र शुक्ल पक्षमा यो चाड पर्दछ । गौरा एकादसि ( पुत्रदा एकादसि ) बाट नै यो पर्बका अनुष्ठान शुरु हुने भए पनि बिरुडा पञ्चमीदेखी भने प्रत्येक घर आगनमा गौराको रमझम आइसकेको हुन्छ ।

दसैको जमरा जत्तिकै गौराको बिरुडालाइ पनि सौभाग्यसुचक मानिन्छ । कैलाशपतिकी अर्धांगिनि एबम् हिमालयकी पुत्री पार्बती यो गौरा पर्बको अबसरमा माइत आउछिन भन्ने बलियो जन बीश्वास छ । वास्तवमा हाम्रो देश सीता र पार्बतिको माइति देश पनि हो । प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुन ले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरू मारिदिए पछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछि सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा यो पर्व मनाउन थालिएको भन्ने भनाइ समेत छ ।

यो पर्बका नालिबेलिबारे कैयौ कथा किम्बदन्ति छन । यस्ता किम्बदन्ति प्रकारान्तरले हाम्रो इतिहास र संस्कृतिको अंग बनिसकेका हुन्छन । यस्ता गणितहीन कुरालाई शुष्क तार्किकताबाट बुझ्न सकिदैन । फगत कथा मात्रै मान्दा यस भित्रको लोकतत्व मर्दछ र हामी बेरसिला बन्न सक्दछौ ।

यस्ता पर्ब बिशेषका अनुष्टान भित्र स्थानगत र जातिगत भेद देखिए पनि यसमा निहित लोक कल्याणकारी भाबना एकनासकै हुन्छ । यो स्थानियता भित्र सार्बभौमिकता समेत लुकेको हुन्छ । मुलत: गौरा महिलाहरूले शिव-पार्वतीको सम्झनामा गर्ने व्रत एवं पर्व हो । समय गतिका साथसाथै गौरोत्सवमा पनि परिवर्तन आएकोछ । तर गीत, नृत्य, अतीत-स्मृति तथा लोकमानसभित्रको अज्ञात, अलिखित, काव्यको सौन्दर्य यो उत्सब भरि छचल्किएको टडकारै देख्न सकिन्छ । गौरादेबीको लिला क्षेत्र निश्चित गाऊ गर्खाको सिमामा मात्र आबद्ध छैन ।

फाग (उत्सब -पर्बमा गाइने मंगल गीत )मा गौराले आफनो परिचय स्वयम यसरि दिन्छिन ।

-कालि मेघ बाबा मेरा धरति हुन माई,

चन्द्र सुर्ज मेरा छन पिठि पिठ्या भाई ।

(अर्थात कालो मेघ मेरा पिता हुन, धरति मेरि माता हुन । चन्द्र सुर्य मेरो पिठ्युका भाइबहिनी हुन ।)

गौराको मुर्ति डालोमा राखेर गौरालाई गाऊँमा ल्याउने दिन स्थानिय चेलिहरुद्वारा गाइने गीतको अर्को बोल यस प्रकार छ ।

काँ रे ऊब्जिन लोली गमरा,

धर्ति लोक उब्जिन, मन्धालोक पुजिन। ----आदि आदि ।

यस चाडमा बिबाहित महिलाहरु नया दुब्धागो (दुबो सहित सात ग्रन्थी रहने डोरी ) फेर्दछन । रातो पहेलो शुद्ध धागोबाट बनेको यो पबित्र डोरि बिबाहित महिलाकोलागि पुरुषले लगाउने जनै जस्तै हो ।

यसै पर्बमा आदरणिय मान्यजनबाट बिरुडा सहित आशिर्बचन थापिन्छ । चेलिबेटी माइत आऊछन, केटाकेटी नया लुगा फेर्छन । ऋण सापटि मात-बन्धकि लिने दिने र नया काम शुरु गर्ने गरिन्छ । यस दिन जुन काम शुरू गरे पनि साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यो श्रीपञ्चमी जत्तिकै शुभ दिन हो ।

गौराकै अबसरमा सांस्कृतिक गायन र बादनका अनन्त श्रृखलाहरु छन । यि गायनहरुमा पट्यारलाग्दो शास्त्रियता छैन । यिनमा अत्यन्त स्वाभाबिक र नैसर्गिक प्रबाह छ । नृत्य सम्बन्धमा सपष्ट बिधान नदेखिए पनि समुह गायनलाइ खेल खेल्ने भनिन्छ । बृताकार अर्धबृताकार घेरामा दुइ समुह बनाइ खेल खेलिन्छ ।

गायनका बिषयबस्तुमा अत्यन्तै ब्यापकता छ । दोहरी गित वा डेउडा ( देव-दा अर्थात देवतामा समर्पित या देव-राग अर्थात देवताको संगित ) गीतमा मात्रै यो सिमित छैन । शास्त्रियतामा आधारित लोक गीत र गीति कथाहरु, धार्मिक र ऐतिहासिक गीत गाथाहरु, परिसम्बादात्मक दोहरि गीतहरु प्रमुख रुपले गाइन्छन । गिदारा (आशु लोक-कबी )हरुले दोहरि गीतको माध्यमबाट तत्काल जस्ताको तस्तै चित्रण गरी यस पर्बलाई अझ जिबन्त बनाई राखेका हुन्छन ।

गौरोत्सबको गायन र नृत्य बिधानमा खास बिशिष्टता छन । एउटा कण्ठ वा कण्ठ समुहबाट अर्को कण्ठ वा कण्ठ समुहमा गायन बिस्तारको क्रम निरन्तर चलिरहदा पनि स्वर र आबेगको परस्पर सम्बन्ध बनी रहन्छ । संगितका समस्त बन्धनहरु स्वाभाबिक मनोबेग अनुकुल खोल्न र बाँध्न सकिने हुन्छन । लयपुर्ण पदयोजनाको निम्ति कुनै कुनै गायनमा भइरहने लालित्यपुर्ण शब्दको आबृति सार्है कर्णप्रिय लाग्दछ ।

नृत्य बिधान भने गितको भाव अनुसार अलग अलग हुने गर्दछ । मन्द मन्थर गतिमा खुट्टाको ताल मिलाउदै पुन: पुन: पहिलो गतिमा फर्कनुलाइ ठाडो खेल भनिन्छ । प्राय: अठार बर्णको प्रयोग हुने ठाडो खेल भन्दा त्वरित गतिको खेललाइ ढुस्को भनिन्छ । कटु बार्तालाप वा बिरतापुर्ण प्रसंगमा ‘ इन्द्र बज्रा” छन्द संग साम्यता राख्ने एघार बर्णको गायन संगै धुमारी खेलिन्छ । सर्बाधिक गतिपुर्ण नृत्यलाइ चाली भनिन्छ ।

पौराणिक आख्यानहरुले स्थानिय रुप लिएर यहाका धार्मिक लोक गाथा बनेकाछन । लोक कबिहरु दुरुह शास्त्रीयतामा सरल स्थानियता भर्दछन । ऊदाहरणार्थ सीता रानी अयोध्याको राजमहलमा मात्र बस्दिनन, यहाका हरिया खर फागलाहरुमा घास काटन पनि गएकि हुन्छिन । यथा,

सीता रानि घास काट्ली, हरिया फगला ।

स्थानिय बीर (पाईक )हरुका गाथा र लोक जिबनले बेहोरेका आपत बिपतका घटना समेत गायनका बिषय बस्तु हुन सक्दछन । स्थानिय डोटेलि फौजले हाल भारतको चम्पावतमा पर्ने किल्लामा आक्रमण गर्दाको बर्णन यसरी गरिएको छ ।

चम्पा रे वति दर रे वार बासली—घुगुत,---कठै बासळि घुगुत ।

चम्पा रे वति घेरी रे हाळि फूलकि जुगुत---कठै फूलकि जुगुत । ।

(चम्पावतीको दरबारमा अपसगुन बोल्ने चरा-घुगुत बास्न थाल्यो । चम्पावतीको दरबार फुल जस्तै घेरामा परेको छ । )

बिरुडालाइ शिरमा राखि दिइने आशिर्बचन पनि सुनि हालौ ।

होइ रयेइ,पलुइ रयेइ, गुबा जसो फलेइ, दुबा जसो फैलि रयेइ ।

पन्युकि चन्नरमा जसो,सरकका तारा जसो होइ रयेइ।

हिमान्जल हिउ छन्जा ,गङ्ङाठाँट पानी छन्जा,

मट्टिखण्ण माटो छन्ज्या बाँची रयेइ ।

केलाकि थुमडि जसो रोकिइ रयेइ,

पोडाइनका झाल जसो झालताल भएइ ।

सर्ग जति उच्चो धर्ति जसो बिथरो भएइ ।

सात बैनी भगबती चारधाम केदार फलि बसौन ।

देबी देवता फलि बसौन, गौराको बिरुडा फलि रहोस----------आदि आदि।

गोरा बिसर्जनको तिथिमिती भने स्थानिय चलन अनुसार तोकिन्छ । बिसर्जनको बेलाका अनुष्ठान छोरि बिदाइ गरेझै भावुकताका साथ पुरा गरिन्छन् ।

यस प्रकार गौरा महापर्बका बिशेषताहरुको लामो बर्णन एकै खेपमा गरि नभ्याउने हुन्छ । लोकतन्त्र संगै लोकसंस्कृति, लोककला, लोककथा,लोकगाथा, लोकगित,लोकपाल,लोकोदय, लोकानुराग, र लोकाचार जस्ता शब्दहरु ब्यापक रुपमा प्रचलनमा आएकाछन । वास्तबमा गौरा लोक-पर्ब हो, लोक संस्कृति हो र लोकाचार पनि हो ।

बस्तुत: “ लोक “ शब्द संस्कृत धातु “लोक्” बाट आएको हो । यसको अर्थ हेर्नु या प्रत्यक्ष ज्ञान प्राप्त गर्नु हो । आँखा खोल्नासाथ सर्ब साधारणको दुनिया देखिन्छ । त्यहि नै लोक हो । पृथ्बीमा मनुष्यको समुहलाइ मात्र लोक भनिन्छ । भाषा बैज्ञानिकका दृष्टिमा यो शब्दले अंग्रेजीको Look र संस्कृतको लोचन शब्द संग पनि अर्थ-साम्यता राख्दछ । संसारले लोक शब्दलाइ स्थुल अर्थमा लिए पनि चिन्तक बिचारकहरुले गरेको परिकल्पनाले तीन लोकको सृजना गरेकोछ । धर्म ग्रन्थहरुमा त अझ चौध लोकको कुरा पनि आउछ । यो चौध लोकमा सात लोक पृथ्बि भन्दा माथि ( भू, भुबुर् ,स्वर, महर्,जन, तप र ब्रह्मलोक ) र सात पृथ्बी भन्दा तल ( अतल, बितल, सतल, रसातल , तलातल, महातल र पाताल ) छन् भन्ने मानिएकोछ ।

जहाँ सम्म संस्कृतिको कुरा छ,यो परिबर्तनशील हुन्छ । यसलाइ समयसंग जोडनु ठिक हुदैन, किनकि संस्कृति संगै परम्पराको स्वत: संस्मरण हुन्छ । लोकमा श्रम संस्कृतिको प्रधानता हुन्छ । प्रत्यक्ष सम्पर्कमा आउने श्रमको बिबशता, दैनिन्दिनिको कार्य प्रणालि र कलाको रञ्जकता नै लोक संस्कृतिका अंग हुन । यस्तैमा उनिएका बिशिष्ट अबसरहरु लोकपर्ब भए, शैलिलाइ लोकाचार भनियो ।

बिरुडा भिजाएर पुजा आजा गरिने,गौरी-महेश्वर आगमनको दिन मानिने, महिलाहरुले दुबधागो लगाउने, लोक देवताहरुको पुजापाठ गरिने र महिलाहरुको बिशेष सहभागिता रहने यो पर्बका आफनै बिशेषता हुन । यसबाहेक लोक गीत, लोकगाथाको गायन- बादन-नर्तन परम्परालाइ यसले जिबित राखेकोछ । गौरा पर्ब पुर्खाहरु प्रति सम्मान देखाउने सामाजिक सांस्कृतिक सम्मिलनको अबसर पनि हो । यसलाइ मनोरञ्जन र भेटघाटको बिशेष अबसर पनि मान्न सकिन्छ । बैभब र स्वांगको प्रदर्सन किमार्थमा पनि यो पर्बको ऊद्देश्य कहिले रहेन । कुलाचार र क्षेत्राचारमा केहि सामान्य अनुष्ठानहरु फरक पर्न गए पनि यो र यस्ता पर्बहरुको लोक-तत्व सामाजिक सद्भाव कायम राखनु नै हो । यो लोकपर्बले हामी सबैलाई यहि सद्भाव प्रदान गरोस् । गौरा पर्बको हार्दिक मङ्गलमय शुुभकामना !!!

Thursday, August 12, 2010

ओल्के संक्रान्ति ; सम्मान र सद्भावको पर्व

डोटेली शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित ब्यक्तिलाइ दिइने केहि बस्तु वा उपहारलाइ जनाउछ । यस्तो सम्मानोपहार दिने " बिशेष दिन" नै ओल्के संक्रान्तिका नामले सुदुर पश्चिममा धुुमधामसंग मनाइन्छ । यो पर्ब सिंह संक्रान्ति अर्थात भदौ १ गते पर्दछ।

ठुलालाइ सम्मान र सानालाइ माया गर्नु हाम्रा पर्बहरुका त मुख्य बिशेषता नै हुन । यो सबै खाले समाजमा पाइन्छ । त्यसै गरि उपहार लिने दिने प्रचलन पनि प्राय: सबै समाजमा प्रचलनमा छ । तर हाम्रो ओल्कोलाइ शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै सिमित गरि दिदा समकालिन सामाजिक मनोभावको ठ्याक्कै अभिब्यक्ति नहुन सक्छ । ओल्को लिनु दिनु त्यहाँको संस्कृति, परम्परा र आस्थाको प्रतिक पनि हो ।


सुदुरको लोक जिबनमा बर्षाको यामलाइ अतीव बिपत्तिको एकांकी समय मानिन्छ । बाढि पहिरोले गाऊँहरुको आपसि सम्पर्कमा बाधा पुग्दछ । प्रकृतिको रुप-रंग फेरिन्छ । खोला नाला सुसाएका हुन्छन । हरियालिले पाखा पर्बत ढाकेको हुन्छ । कामको चटारोले कसैलाइ फुर्सत हुदैन । “साउनकि कालि रात”का डरलाग्दा किस्साहरु गाउ गर्खामा सुन्न पाइन्छन । निसन्देह यो परिबेशले कर्मयोगी लोक जिवनलाइ भावबिह्वल बनाएको होला । उ आफन्तहरुलाइ सम्मान स्वरुप उपहार सहित ढोग भेट गर्न गएकोहोला । शायद यसै पृष्ठभुमीमा यो पर्बको शुरुवात भएको हुनु पर्दछ । यो शास्वत भावमा ओल्कोको परम्परा अहिले अझ सान्दर्भिक हुन गएकोछ ।

यो पर्ब बिशेषमा ओल्कोकोरुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहा पठाइन्छ । शिल्पकर्मीहरुले आ-आफ्ना सिर्जना समेत पठाउन सक्दछन । अचेल लुगा-कपडा, पैसा वा यस्तै अन्य उपहार समेत दिने प्रचलन बढ्दोछ । यति मात्रै होइन, गुठियारहरुले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालिको ओल्को चढाउछन । बिभिन्न जनजातिहरुमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ । यस्ता दिनमा मिठो मसिनो खानपिनको जोहो त हुने नै भयो । कुमाऊँँतिर यस पर्बलाइ घिउ तिहार भनिदो रहेछ । यसदिन घिउ खानै पर्ने हुन्छ रे । त्यहाँको लोकमान्यतामा  ओल्केइसगरारान्ति नमानेमा अर्को जुनीमा शंखेकिरो ( गड्याल ) भइन्छ रे । कतै कतै चतुर्मासको बेला कैलाशतिर गएका देउताहरुलाई सम्झदै देवस्थलमा बत्तिबालि नयाँ अन्नको कोसेली चढाइएको हो भन्ने मान्यता पनि छ।

ओल्के संक्रान्तिका दिन गाउँँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्दछन । यो बूढीलाइ असोज संक्रान्तिका साँझ प्रत्येक घर-घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर 'बूढी पोल्ने' पर्व मनाउने परम्परा छ । यस अनुष्ठानलाइ द्वापरकालिन मथुराकी पुतना को कथासङ्ग पनि जोडिएकोछ । सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो 'बूढी पोल्ने' पर्व मनाइने गरिन्छ । घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ । घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ । यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोग-व्याधीबाट परिवारजन मुक्त हुने मान्यता छ ।

कालक्रममा केहि बर्ष अघि सम्म ठुलाबडालाइ साना जातकाले चिनो बस्तु चढाउने दिनका रुपमा समेत ओल्कोको ब्याख्या गरिएको देखिन्छ । कथित ठुलाठालुहरुले ओल्को ल्याउनेलाइ बक्शिस दिन्थे रे । तर यो मनोदसा अब समाप्तिको क्रममा छ । अब नयाँ अर्थमा यो पर्बलाइ परिभाषित गर्नु पर्दछ । ठुलो सानोको त्यो संस्तरणमा अन्यायपुर्ण श्रम सम्बन्ध वा जाय जन्मको आधार लिने पुरानो ब्याख्याको समय भिट्की सकेकोछ । इतिहासबाट कुँडिदा सांस्कृतिक बिच्छिन्नताको भय रहन्छ, समभावको वास्तबिक पहिचानमा गौरब र आनन्दको अनुभुति हुन् ।  ।

भनिन्छ, ओल्के संक्रान्तिताका सतरति ( सातरातको झरि) पर्दछ । यो समयमा आकासमा तारा देखिएमा वा बन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने संभाबना रहन्छ । यसैताका ऋतुमति धर्तिले नबीन श्रृजना गर्न थाल्छिन । प्रकृतिमा नयाँ नयाँ किसिमका बनस्पति र किरा फट्याङ्ग्राहरु देखिन थाल्छन । धुलो धुवा र फोहोर पखालिन्छ । पाखा पखेरामा नवधार (पानीका नयाँँ मुहान) फुट्न थाल्छन । पृथ्बी पुन: शस्यश्यामला र कञ्चन बन्छिन । सुदुर पश्चिममा के बीश्वास छ भने यो बेला पहाडका खोलानाला समेत समुद्रलाइ ओल्को पु-याउछन । शुष्कप्राय: खोलानाला यति हौसिएका हुन्छन कि महाकालिलाइ समेत हल्लाउन भ्याउछन । एउटा स्थानिय लोक गितमा भनिएको छ, कालि गङ्ङा हचको दिनछै धन्न बुका खोला ( अर्थात कालि नदिलाइ समेत हचको दिने बुको खोलालाइ धन्यबाद छ)।

यसरी साउनको रात वा पुष को परभात वा जेठको दोफरि जस्तो अप्ठ्यारो समय सकिए पछि एउटा नयाँ समय आउँछ । हाम्रा पर्बहरू यस्तै समयमा नयाँँ लय दिन्छन् । ओल्के संक्रान्ति पछि नै शुरु हुन्छ गौराको पावन पर्ब । देवराग ( अर्थात डेउडा ^ देउडा^ देउरा ) गायनको महान अबसर । यस्ता अबसरहरुलाइ समयानुकुल समाबेशि बनाइ लोक परम्परालाइ जिबित राखनु सबैको कर्तब्य हुन आउछ ।

यसै सन्दर्भमा त्यहाको एउटा लोकआख्यान पनि भनी हालौ । भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थाले पछि मैदानका महानदीले यिनलाइ निक्कै फुरुङ्ग्याउछन् । कुरैकुरामा आफ्नी छोरिको बिबाह यि फुर्तिला शैल-सरिताका छोरासंग गरिदिने बचन पनि दिन्छन । तर बिहे भने हिउदमा मात्र हुने निधो हुन्छ । बिचरा सोझा पहाडी खोलाहरु रातदिन बिबाहको जोरजाममा खटिन्छन । बिडम्बना, हिउँद आउदा नआउदै पानिको मूल शुष्क प्राय: हुन्छ र ठुला घरसंग साइनो जोडने यिनको मनसुबा कहिले पनि पुरा हुदैन । यो प्रतिकात्मक उपकथामा बर्णित पहाडको प्रकृति र सुदुरको बर्तमान नियतिमा गजबको साम्यता छ ।

प्रिय शैबालिनी ! अब यसरी न ठगिनु । नयाँ भुमीमा बसेर मलाइ लाग्दैछ, पुरानै साथी भाइ र पुरानै ठाऊँ ठेगान आत्मीय हुदा रहेछन । नया ठाउमा घरजम गर्नु आजिबन गर्भबति भएर बस्नु जस्तै रहेछ । म अहिले पनि बिगतमा पाएको सिन्का मुठा, कर्कलो गाभा, पक्वानहरु, जनेउ र मस्यौराको ओल्कोलाइ सम्झि रहेकोछु ।

समय नयाँँ संस्कृति निर्माण गर्दैछ । मेरो सुदुरको फुलबारीमा पनि झुसिल्किरा नष्ट भएर पुतली जन्मियुन् ।  यहि शुुभभावसहित ओल्के संक्रान्तिको शुुभ अवसरमा हार्दिक  मंगलमय कामनाको ओल्को अर्पण गर्दछु । स्विकार होस् । धन्यबाद् ।

Tuesday, August 10, 2010

के म टाढाको मानिस हुँ र ?

नेपालीशब्दकोष अनुसार सुदूरको अर्थ टाढा हुन्छ । सिधा हिसाबमा सुदुरको बासिन्दा भन्नाले टाढाको मानिस बुझीन्छ । नेपालको सुदुर पश्चिमांचल बिकास क्षेत्रको बासिन्दाको हैसियतमा बोल्दा मैले आफुलाइ टाढाको मानिस मान्नु पर्दछ । त्यसैले यो सुदूर शब्द श्रुतिमधुर भए पनि मेरालागि असाध्यै कर्णकटु र पिडादायक भएकोछ । म आफै टाढा बसेको हैन । अनि कथित सदरबासीले सित्तैमा सुदुरबासीको बिल्ला भिराएको आधारमा राज्यको मुलधार मानिएको राजधानी केन्द्रित मनोबिज्ञानले मलाइ दोस्रो दर्जामा ग्रेडिंग गर्नु दुर्भाग्यपुर्ण होइन र ? मेरो गाउँ ठाउँलाइ दिइएको अन्यायपुर्ण सम्बोधन गर्ने यो शब्द नै क्षेत्रिय उत्पिडनको पहिलो शुरुवात हो जस्तो मलाइ लाग्दछ । सुदूर पश्चिमप्रति राज्यले अद्यापि हेपाहा प्रवृत्ति देखाएकोछ । बिगतका राज्यसत्ताहरुको पनि सबैभन्दा धेरै कोपभाजन बनेको भूखण्ड सुदूर पश्चिम नै हो । दशरथचन्द, जयपृथ्वीबहादुर सिंह, डा के आइ सिंह,ओमजंग, रामजंगले तत्कालिन प्रभुत्वलाई दिएको चुनौती र भीमदत्त पन्तले सामन्तवाद विरुद्ध गरेको प्रहारले काठमाडौं सधैं सशंकित हुने अवस्थामा रह्यो ।

सुदूर पश्चिमांचलको सन्दर्भमा सुदूर शब्दले आफुलाइ केन्द्र मान्ने कथितहरुको दृष्टिकोण सपष्ट देखाउछ । अमुक ठाउ टाढा को हो भन्ने बाहेक यसले कुनै बिशेषता जनाउदैन र वास्तबिकतालाइ सम्बोधन गर्दैन । यो बोलाइले अन्य क्षेत्रको तुलनामा यहाँ जटिल र असमान परिस्थिति छन भन्ने जनाउछ । मेरो बिचारमा यसले टाढाको नियतिलाइ अझ अतिरिक्त उत्पिडन दिएकोछ र ‘ हामी टाढाका हौ, केहि पाउँ” भनेर बिन्तिपत्र हाल्नेगरि केहि जमातलाइ कज्याएर राखेकोछ । बिशेषता अभिब्यक्त गर्ने कैयौ शब्द हुदाहुदै सुदुर शब्दले यो क्षेत्रलाइ पहिचान दिने अन्य आधार सिमित गरि दिएकोछ । टाढा रहेका कारण भेदभाव अर्थात राजनैतिक बन्चितिकरण गरेर राष्टिय र सार्बजनिक जिवनमा सहभागि हुदा ल्याइते र ब्याइतेको जस्तो बिभेदीकरणको परिस्थिति पैदा गराइएकोछ । यसअघि गर्ने भनिएका विकेन्द्रीकरणका योजना कार्यान्वयन गरिएन, सधैँ केन्द्रबाट नियन्त्रण गरियो। त्यसकारण तत्कालिन राज्य ब्यबस्था असफल भयो। संघीय प्रदेश बनाउँदैमा सबै समस्या समाधान हुन्छ भन्ने पनि होइन। त्यसबेला पनि प्रभावकारी र इमानदार कार्यान्वयनको आवश्यकता पर्छ।

सुदूर पश्चिम शब्दले अभाव, अशिक्षा र अन्धकारलाई परिभाषित गर्छ भन्ने मान्यता स्थापित हुनलागेको हो कि भन्ने लाग्छ । यो पंक्तिकारले डेढ बर्ष बझांगमा काम गरे पछि डोल्पाको सरुवा-पत्र पाउदा अन्यायमा परिएको ठानी म तत्कालिन सुपरिबेक्षक आचार्य थरका एक जना सहसचिवसंग गुनासो पोख्न गए । ए बा, उनले त सुदुर पश्चिमका मानिसलाइ टाढा नपठाइ सहुलियत दिएकोजस्तो कुरा पो सुनाए । मैले “तपाइको सहुलियत तपाइकै प्रिय पात्रलाइ दिनुस, म न्याय खोज्न माथिल्लो निकायमा जान्छु” भनेर बाझेपछि मात्रै एक महिना नपुग्दै मेरो सरुवा सुगममा भयो । राजाको शासनकालमा एक बर्ष नपुग्दै काठमाण्डौबाट म पुन: दिपायल खेदिए । माथिल्ला अधिकारीहरुको जमघटमा मैले उपत्यकामै राखिदिने अनुरोधगर्दा सुदुरको मान्छेलाइ सुदुरै पठाउदा केहि फरक पर्दैन भनियो । सुदुर भन्नासाथ एकातिर हाउगुजी बनाएर अतिरिक्त फाइदा लिने प्रबृति तथा अर्कोतिर थप सुबिधाका कुरा उठाउनु सामान्य भएकोछ ।

अचेल हामीले अधिकारका बारेमा थुप्रै कुरा भन्ने र सुन्ने गरेकाछौ । थुप्रै मानबाधिकार मध्ये मानबिय मर्यादामा बाँच्ने अधिकार पनि पर्दछन । यस भित्र मानबका नाताले बिना भेदभाव बाँच्ने नागरिक र राजनैतिक अधिकार र धार्मिक, भाषिक, सांस्कृतिक पहिचानसंग सम्बन्धित अधिकार पर्दछन । केन्द्रियसत्ताको उन्मादद्वारा स्थापित सदर राजधानीका सम्भ्रान्तहरुले सिर्जना गरेको यो सुदूर नामको निरिह परिचयमा मानबिय मर्यादा रहदैन । यो नामका पछाडी राजधानी केन्द्रित मिचाहा र ठिमाहा प्रबृतिको कालो भुमिका दृष्टिगोचर हुन्छ । बिभेदयुक्त सत्तालाई बिभेदमुक्त पार्न सुदूर र सदरको यो गंजागोललाइ मिलाउनै पर्ने हुन्छ । पछिल्लो जनगणनाका तथ्यांकहरूहेर्दा सुदूर पश्चिममा ५० वर्षमाथि उमेर भएका जनताको संख्या १५ प्रतिशतभन्दा कम छ भने करिब ३ प्रतिशत घरधुरीले अहिले पनि खोला तथा नदीको पानी पिउँछन् । ८९ प्रतिशत घरधुरीको इन्धनको स्रोत अहिले पनि दाउरा नै हो भने २२ प्रतिशत घरमा मात्रै बिजुली छ । ३६ प्रतिशत जनसंख्या निरक्षर छन् ,३८ प्रतिशत जनसंख्यामात्रै आर्थिक रूपमा क्रियाशील छन् । यो अवस्था कायम रहनु नै हामीलाइ राज्यले दिएको उपहार हो । उल्टो हामी नै टाढाको मानिस रे ।

प्रदेशको नामाकरणको लागि हामीसंग थुप्रै आधारहरु छन । यो पश्चिमपट्टिको सिमान्त क्षेत्र हो ।राष्टिय सुरक्षाकालागि समेत सिमानाका बासिन्दाहरु उच्च मनोबलयुक्त र राष्टिय स्वाभिमानले ओतप्रोत हुनु पर्दछ । अपि र सैपाल जस्ता उच्च हिमश्रृंखलाबाट प्रसवित सेति र महाकाली नामका हिमनन्दिनीहरुले यो पुरै क्षेत्रको परिभ्रमण गर्दछन । भारतमा मनसुनको पहिलो बादल देखिने ठाउँलाई मेघालय भनिए जस्तै बायब्य कुनामा अवस्थित यो क्षेत्रलाइ बारुणेय प्रदेश वा बायुतटीय क्षेत्र भन्दा पनि फरक पर्दैन ।बारुणी प्रदेशको अर्थ हुन्छ जलको दिशा । खप्तड, बडीमालिका, सुर्मा जस्ता थुप्रै मनोरम ठाउँले भरिएको यो सुदर्शन क्षेत्र त हो नै । मानसरोवरको नजिक पर्ने मानस भुमी र नेपालका पहाडमा आर्यहरुको पहिलो प्रबेशद्वार मानिएको हिमाली आर्यावर्त- आर्यभुमी पनि हो । यो सनातन खण्डलाइ अब सुदूरको सम्बोधन दिनु हुदैन ।

प्रदेश निर्माणको सरगर्मी बढ्दै जाँदा विभाजन र विकृतिको कुरालाई पनि खेलाँची गर्नुहुँदैन। यो देश हामी सबैको हो भन्ने भावना राखेर प्रदेशहरूको खाका कोर्नुपर्छ। जातिगत र भाषागत रूपमा अघिबढ्ने हो भने जातीय मनमुटाव सिर्जना हुनसक्ने र त्यसबाट जातीय विद्वेष फैलिन गई ठूलो क्षति हुनसक्छ। घृणा होइन, घुलमिलको भावना जागृत गर्ने खालको संघीय संरचना बनाउनुपर्छ।
प्रदेश निर्माण गर्दा हिमाल, पहाड र तराईको संयोजन हुनैपर्छ। यी विकास इकाइहरूबीचको आर्थिक अन्तर सम्बन्ध, स्रोतसाधन, जाति, भाषा आदिको आधारमा अपि सैपाल, कर्णाली, लुम्बिनी, बागमती, गौरीशङ्कर, मिथिला र सगरमाथा जस्ता उत्तर-दक्षिण फैलिएका प्रदेश बनाउँदा वेश हुन्छ।

लौकिकता र मानव–निर्मित ऐतिहासिकतासँग गाँस्नु नै समकालिन समाजको रुपान्तरण हो। काठमाण्डौले सुदूर भनेको ठाऊबाट ६ घन्टाभन्दा कमको यात्रा गरेर भारतको राजधानी नयाँदिल्ली पुग्न सकिन्छ, तर सरकारले दिल्लीबाट आयात हुने मालसामानको नाका वीरगन्ज तोकेको छ । दिल्लीसँगको कारोबारका लागि गड्डाचौकी वा गौरीफन्टा नाका सबैभन्दा सहज र किफायती भए पनि काटमाण्डौले दिल्लीभन्दा ‘सुदूर” लाइ टाढा देख्दछ। साम्प्रदायिक तनाव र विखण्डनको खतराबाट सुदूर पश्चिम मुक्त छ र बाहिरबाट कच्चापदार्थ आयातको दृष्टिले सस्तो हुनसक्छ भन्ने यथार्थ कसैले बुझ्नै चाहदैन । बिडम्बना, सुदूर पश्चिममा न सुख्खा बन्दरगाह छ, न औद्योगिक कोरिडोर । महेन्द्रनगर-टनकपुर लिंकरोड बनाएर आवागमन खुल्ला र सहज पार्ने हो भने एशियन राजमार्गको प्रबेशबिन्दु रहेको सुदूर पश्चिम पर्यटक आगमन र बहिर्गमनको नाका पनि बन्न सक्छ । शायद त्यसपछि मात्रै हामी सुदूरको सम्बोधनबाट मुक्त भै सदरसंग दाँजिन सकौला कि ?