Saturday, December 28, 2013

कस्तो रह्यो त २०१३ ?


  “When I was fifteen, all I wanted was to go off to some other world, a place beyond anybody’s reach. A place beyond the flow of time.”
- But there’s no place like that in this world.
- Exactly. Which is why I’m living here, in this world where things are continually damaged, where the heart is fickle, where time flows past without a break.”
― Haruki Murakami, Kafka on the Shore        
पश्चिमा क्यालेन्डरअनुरूप नयाँ वर्ष, २०१४ को आवागमन हुनै लागेको छ ।  विश्वभर यसको स्वागतका लागि तयारी जारी छ । योसँगै गत वर्ष भएका विभिन्न घटनाहरूको फरकफरक दृष्टिकोणले विश्लेषण पनि भइरहेको छ । कस्तो रह्यो त सन् २०१३ ? यो प्रश्न सुन्दा सरल लागे पनि यसको उत्तर सहज छैन । प्रकृति विपत्ति, आतंकवादको त्रास, साम्प्रादायिक हिंसा, गृहयुद्ध, राजनीतिक प्रतिशोध, यौन उत्पीडन, आन्तरिक कलह र अन्तरदेशीय संघर्षले गत वर्षलाई अठ्याइराख्यौं । विश्वभरि दैनिक हुने अथाह घटनामा सबैलाई केलाउन सकिन्न । केही घटना यस्ता थिए, जसले विश्व समाजलाई प्रभावित पारेका छन् ।

गत वर्षको सुरुवात नै त्रासबाट भयो । सन् २०१३ को फेब्रुअरी १५ मा खगोलीय गतिविधिको क्रममा रुसी सहर चेल्याविन्स्कको आकाशमा ठूलो चमकका साथ १० टनको पुच्छे्रतारा विस्फोट भयो । यो वैज्ञानिक चक्रमा उक्त उल्का पिण्डबाट उछिटिएका टुक्राहरू लागेर १ हजार घाइते भए भने थुप्रै घरका झ्याल फुटे । पोपको गतिविधिले पनि विश्वलाई छोयो । शारीरिक एवं मानसिक अक्षमताका कारण फेब्रुअरी २८ मा भ्याटिकन सिटीका पोप बेनेडिक्ट छैटौंले सेन्ट पिटर चर्च छाड्ने निर्णय गरेर सबैलाई चकित पारे । ५ सय ९८ वर्षपछि उक्त पदबाट राजीनामा दिने उनी पहिलो व्यक्तित्व बने । उनको ठाउँ लिएको अर्जेन्टिना मूलका पादरी जोर्ज मारियो बरगोगलियोले विकृतिविरुद्धको अडान र मानव सेवा भावका कारणले यस वर्ष टाइम म्यागजिनद्वारा वर्ष पुरुष 'म्यान अफ द इयर' सम्मान पाएर अर्को इतिहास रचे ।

गत २४ अपि्रलमा गार्मेन्ट कारखाना रहेको ढाकाको राना प्लाजा भत्किँदा भएको १ हजार १ सय श्रमिकको मृत्यु एक त्रासदीपूर्ण खबर थियो । केन्याको राजधानी नैरोबीस्थित सबभन्दा ठूलो सपिङ मल वेस्टगेटमा अल कायदाको सोमाली समूह अल सबाबको आक्रमणमा १३ मुलुकका ६७ जनाको हत्या अर्को अकल्पनीय खबर थियो । फ्रान्सले २८ जनवरीमा पश्चिम अफ्रिकाको मध्य भागमा मालीको टिम्बुक्टुबाट अल कायदा लडाकुलाई लखेट्यो । यसैगरी, पूर्वी अल्जेरियाको अमानासस्थित टिगान्टुरिन ग्यास प्लान्टमा अल कायदा आवद्ध आतंकवादीविरुद्धको कारबाहीमा बन्धक बनाइएकामा ६ बेलायतीसहित कम्तीमा ३९ विदेशी, एक अल्जेरियाली सुरक्षाकर्मी र २९ विद्रोहीको ज्यान गयो । आतंक र त्रासबीच यसमा १ सय ७ विदेशी र ६ सय ८५ अल्जेरियाली कामदारलाई मुक्त गरिएको थियो ।

उच्च स्तरका व्यक्तित्वहरूको यौनलीलाको चर्चा कहिल्यै कम भएन । इटालीका पूर्वप्रधानमन्त्री ७८ वर्षे सिल्भ्ियो बर्लुस्कोनीलाई वर्षभरि कर छली र यौनअपराधले पछ्यायो । आफ्नै निवासमा जुन २४ मा आयोजित बंगाबंगा पार्टीमा नाबालिग नर्तकी रुबीसँगको यौन समागम र एक घटनामा उनलाई छाड्न प्रहरीलाई दबाब दिएकोमा ७ वर्ष जेल सजाय पाए । अपिल गरेर तत्कालै जमानतमा रिहा भए पनि उनले वर्षभरि सम्मानका लागि लडे । केही सेलिब्रेटी पत्रकार र साधुसन्तको मुद्दा अदालतमा विचाराधीन छ । राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य हेरचाहसम्बन्धी बिलमा सत्ताधारी र विपक्षीबीच सहमति अभावमा आर्थिक वर्षको बजेट पारित नहुँदा अक्टोबर १ देखि १६ सम्म अमेरिकाको संघीय सरकार ठप्प हुँदा पूरा विश्वलाई चिन्तित बनायो । त्यहाँ सन् १९९५/९६ मा २१ दिन र सन १९७८ मा १८ दिन सरकारको कामकाज रोकिएको थियो ।

२०१४ को फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिक खेल अगाडि रुसको छवि सुधार्ने प्रयासमा पुटिनले आममाफी सम्बन्धी कानुन ल्याए । यसअनुरूप उनले आफ्नो विरोध गरेपश्चात जेल गएकी युवा सांगीतिक समूह 'पुसी रायट' का दुई महिला सदस्य र खर्बपति व्यापारी मिखाइल खोदोर्कोभ्स्कीलाई रिहा गरे । त्यहाँको जेलमा रहेका २३ हजारमध्ये १ हजारलाई उक्त आममाफी अन्तर्गत छाडिने भनिएको छ । अटलान्टिक महासागरस्थित फकल्यान्डबासीले मार्च १० मा भएको जनमत संग्रहमा बेलायती रहने पक्षमा मतदान गरे ।

अर्जेन्टिनाले फकल्यान्ड युद्धको ३१ वर्षपछि उक्त क्षेत्र आफ्नो भएको भनेपछि जनमत संग्रह भएको थियो । अमेरिकामा अपि्रल १५ मा आयोजित बोस्टन म्याराथनमा दुई प्रेसर कुकर बम विस्फोट हुँदा तीन दर्शकको ज्यान गयो भने २ सय ५० घाइते भए । १६ जनाले खुट्टा गुमाए । यसमा सहभागी चेचेन मुलका दाई २६ वर्षे तामेरलान प्रहरी कारबाहीमा मारिए भने भाइ १९ वर्षे डोखारलाई पक्राउ गरियो ।

इजिप्टको सेनाले जननिर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीर्को दल मुस्लिम ब्रदरहुडलाई आतंककारी घोषणा गरेपछि उसको हजारौं कार्यक्रता पक्राउ गर्‍यो । चीनमा गत वर्ष राजनीतिक रूपले निकै उथलपुथल मुलक रह्यो । सबभन्दा शक्तिशाली नेता बो सीलाई भ्रष्टाचार मुद्दामा मुछिएपछि नयाँ शक्तिको रूपमा सी जिनपिङ राष्ट्रपति भए । श्रीमती गु केलाईलाई बेलायती मित्र र व्यावसायिक पार्टनर निल उडको हत्यापछि बो पनि विवादित बनेका थिए । बोमाथि पनि प्रमाण मेटेको, शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचारमा सहयोगीको अभियोग लाग्यो । उनलाई अन्ततः नोभेम्बर २२ मा आजीवन काराबासको सजाय भयो ।

 दक्षिण अमेरिकी देश चिलीमा वामपन्थी गठबन्धनकी मिसेल बेसलेट दोस्रोपटक र निकै लामो राजनीतिक अभ्यासपछि जर्मर्नीको संसद्ले ५९ वर्षे एन्जेला मार्केललाई तेस्रो कार्यकालका लागि चान्सलर पदमा निर्वाचित भइन् ।

 यो वर्ष भारतका प्रतिष्ठित पत्रिका तहल्काका पूर्वप्रधान सम्पादक ५० वर्षे तरुण तेजपाललाई नोभेम्बरको अन्तिम सातातिर यौन उत्पीडनको आरोपमा पक्राउ परेर थुनामा जानुपर्‍यो । शक्तिको दुरुपयोग, भ्रष्टाचार तथा महिलाविरुद्ध हिंसाका विषयमा चर्चित अनुसन्धानमूलक पत्रकारिता गरेका उनी यो वर्ष विश्वभरि

चर्चामा रहे ।

सन् २०११ को १५ मार्चदेखि सुरु भएको सिरियाली युद्धमा गत वर्ष प्राणघातक रासायनिक हतियार प्रयोगको विषय सर्वाधिक चर्चामा रह्यो । त्यहाँको गृहयुद्धमा हालसम्म १ लाख २६ हजार भन्दा बढी नागरिकको मृत्यु भयो भने २४ लाख भन्दा बढी जनता शरणार्थी भए । गत वर्षको मेमा भएको निर्वाचनमा सहभागी हुन एक महिना अगाडि मार्चमै केही वर्षको निर्वासनपछि स्वदेश फर्केका पाकिस्तानका पूर्वराष्ट्रपति एवं सैनिक जनरल ७० वर्षे पर्वेज मुसर्रफविरुद्ध सरकारले हत्या र देशद्रोहको मुद्दा लगाएको छ । उनी आफ्नै घरमा नजरबन्द छन् । पूर्वगुप्तचर कर्मचारी ३१ वर्षे एडवार्ड जोसेफ स्नोडेनले अमेरिकाको पोल खोलेर थप तनाव सिर्जना गरे । अमेरिकाले विभिन्न देशका नागरिक र राष्ट्र प्रमुखको टेलिफोन रेकर्ड गरेको सार्वजनिक गरेर विश्वभरि खैलाबैला मचाए । राष्ट्रपति ओबामाले जनताले गोपनीयताको अधिकारबारे माग गरेको अवस्थामा एनएसएको व्यापक शक्तिमा सम्भावित परिवर्तनका विषयमा छलफललाई स्वागत गरिनेसम्म भन्नुपर्‍यो ।

विश्वको हरेक मुद्दामा एक-अर्कालाई सहयोग गर्दै आएको भारत र अमेरिकाबीचको सम्बन्ध डिसेम्बरको अन्त्यतिर नराम्ररी प्रभावित बन्यो । एक घरेलु कामदारलाई शोषण गरेको र उसको बारेमा गलत सूचना दिएको आरोपमा न्युयोर्कस्थित भारतीय कूटनीतिज्ञ देवयानी खोब्रागडेलाई पक्राउ गरी निर्वस्त्र खानतलास गरिएपछि दुवै मुलुकबीच पानी बरोबरको अवस्था आएको हो । यो मुद्दामा भारतमा अमेरिकाको कडा विरोध भयो । भारतीय अधिकाहरूले यो प्रकरणलाई लिएर दुवै मुलुकबीच सम्बन्ध बिग्रन नदिन सचेत रहेको प्रतिक्रिया दिएका छन् ।

देवयानीसँग सुरक्षा अधिकाले गरेको अभद्र व्यवहारप्रति अमेरिकाले भारतसँग क्षमा मागिसकेको छ । अर्कोतिर भारतमा ४४ वर्षपछि भ्रष्टाचारविरोधी जनलोकपाल बिललाई तल्लो सदन लोकसभाले गत १८ डिसेम्बरमा पारित गर्‍यो । यो प्रधानमन्त्री, मन्त्री र केन्द्रीय जाँच ब्युरो (सीबीई) लाई समेत आफ्नो अधीनमा राख्ने यो सार्वभौमसम्पन्न विधेयक हो ।

भियतनामलेे डिसेम्बर १५ देखि र्‍याफटिङ र समुद्रमा गरिने जोखिमपूर्ण काम, पचास किलोभन्दा बढीको तौल उचाल्ने, घाट र मानवका शव व्यवस्थापन एवं मृत्यु संस्कारसँग सम्बन्धित काममा महिलालाई प्रतिबन्ध लगायो । यो वर्षको ५ मार्चमा भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेज, ८ अपि्रलमा बेलायतका पूर्वप्रधानमन्त्री मार्गरेट थाचर र डिसेम्बर २३ मा एके-४७ राइफलका अविस्कारक रुसका मिखाइल कालासनिकोभ लगायत थुप्रै चर्चित व्यक्तित्वले संसारबाट बिदा लिए । तीमध्ये दक्षिण अफ्रिकी मुलुकका विश्व विख्यात नेता नेल्सन मन्डेलाले ५ डिसेम्बरमा अन्तिम श्वास लिएपछि विश्व नै शोकमग्न भयो ।

(जितेन्द्र साह / प्रकाशित- kantipur २०७० पुस १३)


Saturday, December 14, 2013

अस्ट्रेलियामा नेपालीको कृषि फार्म; वर्षमा लाखौ डलर आम्दानी


होमनिधि पौडेल (अरुण)ब्रिसवेन / स्रोत: नेपाल एक्सप्रे
अष्ट्रेलियामा वसोवास गर्ने नेपालीहरु ईन्जिनियरिंग, चिकित्सा, नर्सिंग, प्राध्यापन, पर्यटन, शिक्षा, हस्पिटालिटी, हाउजिंग, शैक्षिक परामर्श लगायत विभिन्न पेशा र ब्यवसायमा संलग्न रहँदै आएको पाईन्छ । यस्तै विभिन्न स्थानमा सयौं नेपालीहरु फार्ममा समेत काम गर्दै आईरहेका छन् । हाल आएर कृषी ब्यवसायलाई पनि नेपालीहले आफ्नो पेशाको रुपमा अँगाल्न सुरु गरेका छन् । यसको अग्रपंक्तिमा आफुलाई उभाउन सफल भएका छन् युवराज के.सी. ।
दक्षिणपूर्वी क्विक्स्ल्याण्ड स्थित हेलिडन भन्ने स्थानमा उनले केहि वर्षदेखि एउटा कृषी फार्म सञ्चालनमा ल्याएका छन् । विगत ५ वर्ष देखि ग्रिन सलादका विभिन्न प्रजातीहरुको उत्पादनका लागि प्रसिद्ध टुआम्वा स्थित के. फार्म नामक एउटा फार्ममा म्यानेजरको रुपमा काम गर्दै आएका युवराजले नीजि लगानीमा उक्त फार्म सञ्चालनमा ल्याएका हुन् । युवी फार्म नाम दिईएको यो फार्ममा सुरुवातमा विभिन्न ७ वटा रंगमा फल्ने गोलभेडाको ब्यवसायिक खेति सुरु गरिएको थियो । केसी भन्छन् अहिले फार्ममा गोलभेडा मात्र १५ भन्दा बढी रङ र आकारका उत्पादन भैरहेको छ । यो टमाटरको बजार मूल्य २० डलर प्रति किलो सम्म रहेको फार्म संचालक के सीले जानकारी दिए । उनी हप्तामा करिव १४ हजार डलरको गोलभेडा र अन्य उत्पादन बेच्छन् । उनले विरुवा रोपेको ६ हप्तामा गोलभेडा बजारमा जान योग्य भैसक्नेछन् । गोलभेडा बाहेक काक्रो र बिभिन्न प्रजातिका हरियो सलाद उनको फार्ममा उत्पादन हुन्छ ।नेपालमा मकवानपुर जिल्लाको पालुङमा जन्मिएका केसी सन् २००९मा विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका थिए । श्रीमती नर्सिङ विषयको विद्यार्थी, महंगो पढाई खर्च जुटाउन उनी दिनरात स्थानिय कृषि फार्ममा काम गर्न थाले । त्यो काम र अनुभवले अहिले उनलाई आत्मनिर्भर बनाउदै छ । अष्ट्रेलियामा बस्ने नेपालीले विरलै गर्ने ब्यवसाय र काममा उनले हात हालेका छन् । केसी भन्छन, हाम्रा लागि यो नौलो काम हो तर अनुभवले सिकाउदो रहेछ । उनको फार्म अहिले १२ जना नेपाली र स्थानिय कामदारले रोजगारि पाइरहेका छन् । उनी हप्तामा ७ सय किलो सम्म गोलभेडा मात्रै स्थानिय बजारम बेच्छन् । साथै ब्रिसवेनका ३ सय भन्दा बढी रेष्टुरेन्टहरुमा उनको फार्ममा उत्पादन भएको ग्रिन सलाद सप्लाई हुन्छ । शिनिवार लाग्ने स्थानिय हाट बजाहरुमा पनि काँक्रो गोलभेडा जस्ता उत्पादनहरु विक्रि गर्छन् । लागानिको वातावरण मिल्यो पालुङमा अष्ट्रेलियन प्रविधिका फार्म संचालन गर्ने योजना पनि केसीले बनाएका छन् । साथै अष्ट्रेलिया आउने नेपालीलाई काम लागइदिने पहिलो संम्पर्क ब्यक्तीको रुपमा पनि केसी चिनिएका छन् ।
यो फार्म ब्रिस्बेन शहर देखि करिव ११० कि.मी. पश्चिममा पर्दछ । ७० एकड क्षेत्रफलमा फैलिएको यस फार्ममा आगामी दिनमा विभिन्न उन्नत प्रजातीका तरकारीजन्य कृषी उपजहरु उत्पादन गर्ने योजना रहेको उनले नेपाल एक्सप्रेसलाइ बताए । फार्ममा बिरुवामा सिंचाई गर्ने, टमाटरको साईज गे्रडिंग गर्ने लगायतका कामका लागि उच्चस्तरीय प्रविधि अपनाईएको छ ।विश्वब्यापी रुपमा भैरहेको मुल्यबृद्धी, कामदारहरुको अभाव, उपभोक्ताको क्रय क्षमतामा आएको हसका कारण अहिले अष्ट्रेलियको सम्पूर्ण कृषि क्षेत्रले समश्या भोग्नु परेको उनको भनाइ रहेको छ । आगामि दिनहरुमा फार्मलाई अझै विस्तार गर्दै फलफरुल र अन्य नगदे वालीहरुलाई लगाउने योजना पनि उनले बनाएका छन् ।

Information About Nepal: Far-western Region

Information About Nepal: Far-western Region:                         Major attraction places of  far-Western Region:-                                                Khaptad national ...

A far-west side story | Economy Stupid | Nepali Times

A far-west side story | Economy Stupid | Nepali Times

Friday, November 8, 2013

जुम्लाको अर्ध कद


·        

·         अभय श्रेष्ठ 
       (साभार- नागरिक , बिहीबार २१ कार्तिक२०७०)
देश संविधान सभाको चुनावले तातिँदा जुम्ला जाडोले कठ्यांग्रिएको छ। प्रकृतिको स्वभाव पनि अचम्मकै छ। तिला कर्णालीको चिसो सोहोरिएर जुम्ला सदरमुकाम खलंगामा साँझबिहान मुटु छेड्ने स्याँठ चल्छ। दिउसो त्यहीँ तालु चर्काउने घाम र पूरै जिल्ला धुलाम्मे पार्ने हुरी चल्छ। जाडो सायद जुम्लाको अर्धागिनी हो। त्यसबारे जुम्लाबासीले लोकगीतै बनाएका छन्। भदौमा जाडो रूखको डाली र फेदमा हुन्छ रे। असोजको जाडो खोल्सामा, कात्तिकको जाडो आली र फाँटहरूमा, मंसिरको जाडो आँगनको छेउछाउ आइपुग्छ। पुसको जाडो थुक्नलायक हुन्छ। माघको जाडो कुकुरले टोकेजस्तो हुन्छ। फागुनको जाडोले मुटु कमाउँछ। चैतको जाडोले प्राणीहरुको इज्जत राख्छ, वैशाखको जाडोले पाखा हरियाली हुन्छ। जेठको जाडो घरबाट भाग्छ, असारको जाडो पाटनतिर लाग्छ, साउनको जाडो घर फर्कन्छ। प्रकृतिको यही यही अचम्मको स्वभावले जुम्ला बस्ने मान्छेको वर्ण एक हप्तामै कालो हुन थाल्छ।
जुम्लामा सम्भावनाका सहस्र ढोका छन्। कति खुलिसके। कति खुल्नै बाँकी छन्। सुविधा र सम्भावना हेर्दा जुम्ला, खासगरी खलंगा र वरिपरिका सिम्खाडा, बुर्थबाडा, डाँडाकोट, मालाभिड, कार्तिकस्वामी, तिला र जवाको संगमस्थल दान साँघुलाई कर्णाली नभने पनि हुन्छ। कति अर्थमा सदरमुकाम खलंगा बजार देशका सुविधा सम्पन्न सहरजस्तै भइसकेको छ। कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोट जान जुम्ला खलंगाको कोख स्पर्श नगरी पुग्न लगभग असम्भव छ। यस अर्थमा यो कर्णालीको मुटु हो। निकट भविष्यमै हिमाली र तराई क्षेत्रको यो विशाल वाणिज्य केन्द्रका रूपमा विकसित हुँदैछ। त्यसका लागि मात्र कर्णाली मार्ग पक्की हुनु जरुरी छ। हवाई सेवा सबैभन्दा प्रचलित हुनाले खलंगा बजार हुँदै अञ्चलका विभिन्न आकर्षक थलो पुग्ने पर्यटन रुट बन्न थालेको छ। कर्णालीकै सम्भवतः सबैभन्दा आकर्षक पर्यटकीय थलो हो मुगुको रारा ताल। चेरे चौर, डाँफे लेक, खाली, नेउरीगाढ, चौथा, भुलभुले, घुच्ची लेक, आरुगाढा, रैसुडा, पिना, भामबाडा, गमगढी हुँदै होस् वा नाग्मगाढ, कोइरेली, बड्की, नराघाट, पाण्डवगुफा, विराट, बोतामालिका, हाटसिञ्जा, कन्कासुन्दरी, चौथा, भुलभुले, घुच्चीलेकबाट पश्चिमतिर उकालो लाग्दा होस्, रारा पुग्न जुम्लाको खलंगा बजारको कोख स्पर्श गर्नैपर्छ। यसले गर्दा खलंगा बजार वाणिज्य केन्द्र बन्नु स्वाभाविक हो। जुम्ला पानसय दरा, असी दरा, सिञ्जा दरा, चौधबीस दरा गरी चार वटा दरामा विभाजित छ। जुम्ली लेखक हरिबाबु चौलागाईँको किताबअनुसार यी दराका जुनसुकै गाविसबाट एक दिनको पैदल यात्रामा सदरमुकाम पुग्न सकिन्छ।
कर्णालीमा भोकमरी होइन, भातमारीको समस्या छ भनेर अभिव्यञ्जना गरिन्छ। यो नयाँ अभिव्यञ्जना होइन, तथापि सदाबहार सत्य हो। खासमा भातमारी हाम्रो देशव्यापी समस्या हो। कर्णाली त्यसको प्रतिनिधि चरित्र मात्र हो। खाना भनेको भात मात्र हो भन्ने मानसिकताले कर्णालीलाई लछप्पै छोपेको छ। त्यसले गर्दा भिटामिन र खनिज फालिएको सेतो चामल निर्यात गरेर गरिब कर्णालीको आँत सोस्ने, जाँगर मार्ने काम भएको छ। त्यसमा ठेकेदारी चलखेलको वर्णन गर्न हजार जिब्रा भएका शेष नागलाई पनि गाह्रै पर्ला। कर्णालीमा भोकमरी छ भनेर हल्ला गर्ने एनजिओ र मिडियाले सेतो चामलको निर्बाध आयातलाई सघाए। अर्कातिर केही एनजीओ यस्ता पनि छन् जसले जुम्लामा कृषिक्रान्तिको ढोका खोलिदिएका छन्। तिनको प्रशंसा जति गरे पनि कम हुन्छ। अर्गानिक खेती र उच्च सम्भाव्य क्षेत्रको पहिचान गरी तिनले उदाहरणीय काम गरेका छन्। यसले सिंगै जिल्लालाई अर्गानिक बनाउन सघाएको छ। संसारकै सबैभन्दा उच्च स्थानमा फल्ने धानको ख्याति यहाँको कालो मार्सीले आर्जेको छ। अर्गानिक स्याउ, ओखर, बन्दा, मुला, कालो सिमी, आलु, कागुनो, भाँगो, कोदो, फापर यहाँका आकर्षक उत्पादन हुन्। सिमीको दालबारे सिञ्जा क्षेत्रमा एउटा प्रसिद्ध गीतै छ
आलुको तरकारीभन्दा सिमीको दाल मीठो
नक्कलीको लाल बोलीभन्दा मायाको गाल मीठो 
जुम्लाका ढाल नाच, दमाहा नाच, हुड्क्या नाच एकादेशको कथा बन्न लागिसके। यस्तोमा मनोरञ्जनका आधुनिक माध्यम भित्रिसक्नुपर्ने हो। त्यसको भने सर्वथा अभाव देखिन्छ। नगर सभ्यताको पर्दा अझै राम्ररी खुलिसकेको छैन। मनोरञ्जनका लागि सिनेमा हल छैनन्। खुलेका केही पनि बन्द भइसके। गुन्डागर्दीले बन्द भएको हो वा बन्द भएर गुन्डागर्दी बढेको हो, जुम्लाबासीले छानबिन गर्न हतार भइसक्यो। यसले गर्दा बजारमा पनि हिन्दी गीतको आतंक खासै देखिन्न। दर्शक त हुँदा हुन्, नाट्यशाला छैन। रंगमञ्च तताउने जमात पनि छैन। पूरै जुम्लाबासीका लागि मनोरञ्जनका साधन सायद मदिरा, मासु र महिला हुन्। असोज ५ गते सांग्रिला एसोसिएसनको हलमा जुम्ला बाल साहित्य लेखन कार्यशाला उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले मुखै फोरेका थिए– 'यहाँ जति जाहेरी पर्छन्, ती सबै रक्सी खाएर पर्ने झगडाकै कारण छन्।' उनको भनाइमा एउटा आधार के देखिन्छ भने जुम्लाका जहाँसुकै खेतबारीमा काम गर्ने महिला र केटाकेटीमात्र देखिन्छन्। कहाँसम्म भने पुच्छर निमोठेर गोरु दाउने, धान झार्ने कामसमेत तिनैले गरिरहेका हुन्छन्। सांग्रिला एसोसियसनमा कार्यशाला चलिरहँदा जुम्ला एयरपोर्टमाथि पाखामा गाईगोरु नछिरुन् भनेर तीन जना महिला ढुंगा चिठेर पर्खाल लगाइरहेका थिए। आफ्ना 'जहान' बारे हाँस्दै तिनले भने, 'दिनभरि बजार घुम्ने, केटी हेर्ने, रक्सी खाने र बेलुकी तरकारी मीठो भएन भनेर झगडा गर्नेबाहेक केही काम छुँदैनन्।'
जुम्लाको सबैभन्दा ठूलो समस्या हो यातायात। तराई वा राजधानी पुग्न कर्णाली राजमार्ग भरपर्दो छैन। माथि नाक ठोकिने भिर, तल छंगाछुर भिरमुनि गहिरो कर्णाली नदी, बीचमा साँघुरो कच्ची बाटो, अर्को दिशाबाट गाडी आए घन्टौँ ब्याक हुनुपर्ने समस्या। यस्तोमा यात्रा सुरक्षित हुने कुरै भएन। अलि सुरक्षित हवाई यातायात हो तर त्यसले 'मरिसकेपछि ओखती गर्ने खतरा' सदाबहार छ। जस्तो कि कात्तिक १२ गते तारा एयरले लेखक, पत्रकार र कलाकारको ११ सदस्यीय टोलीलाई बिहान ११ बजे जुम्लाबाट नेपालगन्ज उडाउनुपर्ने थियो। त्यो दिन नभ्याइने भनी भोलिपल्ट बिहान ७ बजे जुम्लानेपालगन्ज र १० बजे नेपालगन्जकाठमाडौँ उडाउने भाका दिइयो। भोलिपल्ट बिहान त्यही विमान सीमकोटनेपालगन्ज, नेपालगन्जडोल्पा, डोल्पानेपालगन्ज, नेपालगन्जमुगु, मुगुनेपालगन्ज, नेपालगन्जबझाङ, बझाङनेपालगन्जपछि बल्ल २ः३० बजे जुम्ला आइपुग्यो। नेपालगन्ज पुगेपछि पनि यति एयरका मालिक सोनाम लामाले पाँच जनालाई मात्र उडाउन सकिने, छैटौँ व्यक्तिको सम्भावना ७५ प्रतिशत भएको र बाँकीलाई दुई दिनपछि मात्र उडाउन सकिने जनाउ दिए। महँगा टिकटधारी यात्रु नपुगेपछि फेरि थप तीन जनालाई चढाउन सकिने आश्वासन दिइयो। लेखकपत्रकारले त यो हालत भोग्नुपर्छ भने सर्वसाधारणको हालत कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ। प्रस्ट छ, हवाई यातायातलाई कर्णालीबासीको गच्छे पुग्दैन। पक्की कर्णाली मार्ग नै कर्णालीबासी औकातअनुसार हुनेछ। त्यसले पनि अझै कर्णालीको सम्भावनाको अर्ध कद तस्बिरमात्र खिच्न सक्छ। संघीय राज्य बनेपछि मात्र कर्णालीको पूर्ण कदको तस्बिर खिचिएला ।