Tuesday, October 4, 2016

लघुकथाहरु

(१) अधिकार र अनुभव
नबनियुक्त युबा अधिकृतको जोश जाँगर प्रशंसा योग्य छ, स्टाफहरुको भनाइ हुन्थ्यो । दाउन नजाने बहर बिग्रन्छ, हाकिमको ठम्याइ थियो । केहिदिन कार्य बिबरणको मेसो नमिल्दा अफिसर अलमलिइ रहेको थियो । हाकिमले अधिकार प्रत्यायोजन नै गरेका छैनन, अधिनस्थ सहायक कुरा लाउथे ।
आखिरमा एकदिन काम तोकिएको बारेको आन्तरिकपत्र पाइयो । तर पहिलो बेहोरामै अफिसर अल्झियो ।
 " मातहत निकायबाट प्राप्त आर्थिक कारोबार बाहेकका चिठ्ठिहरु खोलि नियमानुसार कारवाहि गर्ने ।" भनेर हाकिमले आफुमुनिका अधिकृतलाइ अधिकार सुम्पेका थिए । नयाँ काम... धेरै मन्थन गरियो । अँह, कुरा सपष्ट भएन ।
हाकिमलाइ सोध्नै पर्ने भयो ।
" सर! मेरो कार्य बिबरणका दुइटा कुरामा मलाइ द्विबिधा भयो ।
" के के मा? " टेबलमाथिको एउटा फाइलमा एकोहोरिएका आँखा माथि नउठाइ ब्यस्त हाकिमले बेवास्तापुर्बक सोधनि गरे ।
" सर ! म नयाँ मानिस । यो नियमानुसार कारवाहि भन्ने शब्द बढि बिषयगत भयो । कस्तोमा के कारवाहि गर्ने भन्ने बस्तुगत बिबरण समेत राख्दा सपष्ट हुन्थ्यो कि ? अनि चिठ्ठि नै नखोलि त्यो भित्र आर्थक कारोबार बिषयको पत्र छ भन्ने कसरी थाहा पाउने ? अहिले त यी दुई कुरा मात्र .... ।"
" ए .."  बिच्चैमा हाकिमी आदेश आयो ।
" अहिलेलाइ यसको व्याख्या गर्ने अधिकार प्रत्यायोजन गरेको छैन । उचित समयमा  तदनुसार गरौला । यो सब अनुभवले सिकिने कुरा हुन् । तपाईं परिक्षणकालमा हुनुहुन्छ । यत्ति मात्रै बुझ्नोस् ।"


Monday, October 3, 2016

मतवाला



अपनेपन का मतवाला

अपनेपन का मतवाला था भीड़ों में भी मैं
खो न सका
चाहे जिस दल में मिल जाऊँ इतना सस्ता
मैं हो न सका
देखा जग ने टोपी बदली
तो मन बदला, महिमा बदली
पर ध्वजा बदलने से न यहाँ
मन-मंदिर की प्रतिमा बदली
मेरे नयनों का श्याम रंग जीवन भर कोई
धो न सका
चाहे जिस दल में मिल जाऊँ इतना सस्ता
मैं हो न सका
हड़ताल, जुलूस, सभा, भाषण
चल दिए तमाशे बन-बनके
पलकों की शीतल छाया में
मैं पुनः चला मन का बन के
जो चाहा करता चला सदा प्रस्तावों को मैं
ढो न सका
चाहे जिस दल में मैं जाऊँ इतना सस्ता
मैं हो न सका
दीवारों के प्रस्तावक थे
पर दीवारों से घिरते थे
व्यापारी की ज़ंजीरों से
आज़ाद बने वे फिरते थे
ऐसों से घिरा जनम भर मैं सुखशय्या पर भी
सो न सका
चाहे जिस दल में मिल जाऊँ इतना सस्ता
मैं हो न सका
( साभार-गोपाल सिंह नेपाली की कविताएं, हिन्दिपटल बाट )

म अबश्य आउनेछु

के तिमीलाइ यस्तो लाग्छ कि
-मैले तिम्रा पुराना काला करतूत भुलिसके ।
-तिम्रो कुर्सिआरोहणमा सारा कथा सकिसक्यो ।
 के यी प्रायोजित उत्सबहरुको नायक तिमी ने हौ?
साँचो कुरा मलाइ थाहा छ ।
म नयाँँ शताब्दिको जनता हुँ ।
के तिमीलाइ यस्तो लाग्छ कि
-  तिमीले झण्डा फहराउदा म फुरुक्क हुन्छु ।
- तिमी चुटकिला भन्छौ र म हुरुक्क हुन्छु ।
मेरो छातिमा बलिरहेको सित्तै निभाउन सकिएला र?
यी झुठा आश्वासनको अर्थ मलाइ थाहा छ ।
म नौलो युगको चेतना हुँ ।
के तिमिलाइ यस्तो लाग्छ कि
- यो लजाएको समय यतिकै सकिनेछ ।
-  यो दुर्ब्यसनी पुस्ता यत्तिकै बिलाउनेछ ।
तिम्रो काला कल्पना मैले देखेकोछु ।
म एक आदर्स ईतिहास हुँ ।
हिसाब किताब लिन आउनेछु ।
तिम्रो हैसियत बताउन आउनेछु ।
म अबश्य आउनेछु ।







अनुहारहरु



माइत गएकि श्रीमती आज फर्केकि हुन् । कोतेधन्दाबाट छुट्टि मिल्ने खुशियालीमा मन फुरुङगिएकोछ । तर उनको मूड ठिक छैन जस्तो लाग्यो । 
मैले नै कुरा निकाले ।
` अझै माइतिको याद आउदैछ कि क्या हो ?´
`ऊह  ऽ ऽ । अब त बोलाए पछि मात्र जाने ।´
` किन ? । मन मरे जस्तो छ नि ।´
` बुहारिको अनुहार सम्झेर क्या ......  । भाइलाइ त के दोष दिनु र, बिचरा.....।´
` ल ठिक भयो । अब आफनो घर समाल । खेततिर धानबालि कस्तो भयो ? जान भ्याएकै थिइन । म हेरेर आउछु । अँ , यसपाला त दिदिले पनि आउछु भनेर खबर पठाउनु भएकोछ । भान्जाहरु पनि आउछन कि ? जोरजाम गरिराख ल ।´
 लामो सास फेरेर उनले अर्को तिर हेरिन । म मनभरि कुरा खेलाउदै खेततिर लागे ।


Sunday, October 2, 2016

बिबाह ; एक बिडम्बना



 टेकुको भिडभाडयुक्त सडकमा हाम्रो भेट हुन जुरेको रहेछ । कच्याककुचुक पारेर लुकाइ राखेको प्रेमपत्र जस्तो जिन्दगी एकछिन झल्यास् भयो । ऊहि शालिनता, उस्तै चञ्चल आँखा । तर अनुहारमा समयले कोरेका किरिङमिरिङ ।  उनको हिडाइ समेत टाढैबाट ठम्याउन सकिएछ । 
भनिरहनु परोइन्, उनी आउछिन कि भनेर उहिले म भए नभएका काम निकालेर डाडा चौतारि, खेत-खलिहान, नदि किनार, घरआगन तिर घुमी रहन्थे । त्यो पनि बातचित अंकमाल वा भेटघाट गर्न हैन, खालि हेराहेर गर्न । समय नै त्यस्तो थियो । मेरो किसोर-कल्पनाको तत्कालिन ' टाइटानिक ' अज्ञात समुद्रमा कुदेको कुद्यै हुन्थ्यो । उनी अर्थात एउटि अल्हड ग्रामिण किशोरी । म अर्थात भर्खर जुङ्गाको रेखि जमेको नवनियुक्त सरकारि फिल्ड कर्मचारि । 
सामान्य सञ्चो बिसञ्चो सोध्ने र अन्तमा ङिच्च हाँस्दै ' बाऽइ ' भन्ने नौकरीको नियति र नियमितता छ अचेल मेरो । खासै काम पनि नहुने, फुर्सत पनि नहुने राजधानीको माध्यमिक सरकारी जागिरे छु । उनी कुनै तालिममा सहभागी हुन राजधानी आएकि रहिछन् । 
आज मैले असामान्य औपचारिकता प्रदर्शन गरेे ।
असरका हिसावले कानभन्दा पर पहुँच नभएका पुर्वाङ्गे कुरा गरिसकेपछी बडो हिम्मतका साथ चिया खाने प्रस्ताव राखे । उनको मौनतापुर्ण समर्थन रह्यो । पुरानो फ्लेशबेक आउन थाल्यो । मुटु फुटला जस्तो भयो । नशा चुडिदैछन जस्तो लाग्यो । कफिहाउसको दोस्रो तला उक्लिन खुट्टा काम्न थाले ।पप
एउटै टेबुल वरपर बस्दासम्म पनि कसो कसो सास संयमित गर्न गारो लाग्यो । उनको शरिरको मनोद्वेगी सुगन्धमा पुरानो पहिचान खोज्दै कुुन कुनाबाट कुरा शुरु गरौ जस्तो भयो । सामान्य ब्यक्तिगत समुहगत जानकारि लियौ । ल जा, उनले त बिहे नै नगरेको पो बताइन । कुनै गैर सरकारि संंस्थामा सामाजिक परिचालिका भएर बसेकि रे ।
‘विहे किन गरेनौ ?’
एकाध सेकेण्ड पनि नसोची आक्रोश, माया र पश्चाताप मिश्रित स्वरमा मैले भनेँ ,
‘ हजुरले किन गरि'स्यो? ’ उनको मुखाकृतिमा रातोपना बढ्यो ।
प्रतिप्रश्नले मेरो अनुहारको ज्योती खोसेेर लगेको जस्तो  भयो । उहिले उन्ले सुनाएको स्थानिय लोकगितको मुख्य पङ्ति सम्झन पुगे । ` तँइ भयेइ उणने चणो, म हँस्यालु तोपो ।´ भावार्थ थियो,  तिमी उडने चरा भएर आउनुु >म ऐसेलु फल बनेर कुरि बस्नेछु । बिस्तारै बोल फुट्यो ।
‘मैले यो अपेक्षा गरेको थिइन ।’
‘के मैले गरेकि थिँए हुँला त ? जसोइ लेख्यो भाबनीले उसोइ हुन्या रै`छ । ´ सारांशमा गीतका बोल टिप्ने पुरानो बानी गएको रहेनछ । छोटकरिमा मलाइ सम्झाएर- रुवाएर जाने भइन । म एकोहोरिएर हेरि रहे ।
अचेल बाचालता थपिएको रहेछ । मैैले थप कुरा गर्ने मेसै पाइन । त्यसो त छडके कुरा सुनाएकोमा बाहेक कहिल्यै जुनेलि रातका बात मारेका थिएनौ हामिले । आज झन  पछुतो भरिएर आयो । म संग मध्यमबर्गिय बिडम्बना थिए । एकबारको जुनिमा मीठो गरि बाँच्नका लागि बिबाहलाई एक प्रयास मात्र मानियो । साथी बनेर जो आउला उसैसंग प्लेटोनिक प्रेम गरुला भनेर सोचियो । बा आमाका नजरमा जोर घडा जस्ता छोरा बुहारी बनेर बसौला भन्ने ठानियौ । ओ हो, देउरालि बाटोको वारिपारि चौतारामा उभिएका वर पिपल पो भइयो जस्तो छ । धिक्कार जिन्दगि!
अनायासै भनेछु ।।
‘मैले हारेँ ।’
‘मैले जित्न चाहेेकै कहाँ छु र ।’ 
आँखामा एउटा हाँक देखियो । उनी क्रमस: जित्दैै थिइन । बोल्न खोज्दै थिए । उनले चोर औला उठाएर चुप लाग्ने इशारा गरिन, म घोसेमुण्टो लाएर लल्याकलुलुक भए । जिबनोत्सबको हतारोमा प्रेम र बिबाह नामका भेराइटि डिस चाख्ने मेरो आयोजना अनुशासित र ब्यबस्थित हुन सकेनछ । 
सायद लामै मौनतालाइ मैले नै चिरे ।
` मैयाँ !´
‘ हजुर !´
‘केहि होइन ।  ऽ ऽ ऽ कफि सेलायो ।’
आँखा टल्पलाएर अनुहार रातो भएको थियो । उन्ले फटाफट कफि कप खालि गरिन र ` जाउ है ´ भन्दै उठिन पनि । ब्यागबाट झिकेको पुरानो  खाले टाटेपाटे रुमालले आँखामा उम्रिएको पानी पुछिन ।कर्केहेराइसंगै बिदा मागिन । बल्ल बर्तमानको धरातलमा आए । ऊहिले बिदा हुँदा त्यस्तै रुमाल चिनो छोडेर आएको थिए म । केही बोल्न नपाउदै उनी हिडिसकेकि थिइन ।
यो उनिसँग छुटेदेखि बीस वर्षपछिको पहिलो भेट थियो ।
लामो श्वाँँस फेरेर म पनि उठे । एउटै रागमा तरंगित भएका हामी एउटा बिणाका अलग अलग तार जो थियौ ।


Wednesday, September 28, 2016

ग्वाल्लेक केदार क्षेत्र र वरपरका धार्मिक सांस्कृतिक सम्पदा



कर्णाली चिसापानीको पुल तरेपछि सुदूर सिमान्तको सात नम्बर प्रदेशमा पुगिन्छ । यस क्षेत्रका पर्यटकिय गन्तव्य हरु अद्यापि देशबासीका नजरमा समेत ओझेेल नै छन । टिकापुर, घोडाघोडी, शुुक्लाफाँटा, झिलमिला, वेदकोट, अमरगढी, शैैलेश्वरी, बडिमालिका, रामारोशन, खप्तड, बुढीनन्दा, सुर्मा, अपि-नाम्पाका बारेमा समेत हामीसंग यथेष्ट जानकारी छैन । यस यथार्थमा प्रकृति र संस्कृतिको नमुनास्थल रहेको यस क्षेत्रका नयाँ नयाँ दर्शनीय स्थानको सामान्य परिचय दिने जमर्को गर्दैै ग्वाल्लेकधामको अती पबित्र मानिने ग्वाल्लेक शिखर, ग्वालेककेदार धाार्मिकारण्य र सेरोफेरोका धाार्मिक-सांस्कृतिक धरोहरहरुको छोटो चिनारी यस  लेखमा राखेकाछौ ।


बैतडी सदरमुकामबाट  १० कि मि पुुर्बपट्टि उच्चसमस्थलीमा देहिमाण्डौको स्थानिय बजार अबस्थित छ । नेपाल- भारत सीमाना पर्ने झुुलाघाट बजारबाट यहाँसम्म २९ कि मि पक्की सडक छ ।  यहाँबाट सोझै दक्षिणमा देखिने लेकको सर्बोच्च शिखर नै यस भेेगमा ग्वाल्लेकधामका नामले प्रसिद्ध छ । यो धामका वरपर चारैतिर विभिन्न नामले सम्बोधित शिबशक्तिस्थलहरु स्थापित छन । समष्टिमा यो मनोरम भुुखण्डलाइ ग्वाल्लेककेदार क्षेत्र भनिएकोछ । देहिमाण्डौबाट यो शिखरको पुर्बी पार्श्वतिर जाने सडक हाल २५ कि मि टाढा गिरेगडासम्म पुगेकोछ भने पश्चिम पट्टिको सडक देहिमाण्डौ- दुर्गास्थान १२ कि मि र दुर्गास्थान- सलेना- मेलौली १५ कि मि सम्म नै गाडी चल्न थालेकोछ । लामालेक- खलगाड- रोडीदेवल रुटमा निर्माणाधिन सडकलाई देहिमाण्डौ-गिरेगडा सडकसम्म जोडने गरेर यो ग्वाल्लेककेदार क्षेत्रको चारैतिर परिक्रमा पथ( चक्रपथ ) को परिकल्पना गरिएकोछ । देहिमाण्डौकै सुन्दरखालबाट संरक्षित बनको किनारै किनार ढणौन- पेल्या हुँदै लामालेकमा पर्यटनमार्गलाई जोडने योजना समेत छ । यसरी चारैतिरको सडक संजाल जोडन धेेरै दिन कुर्नु नपर्नेमा स्थानियबासी बिश्वस्त छन ।

देहिमाण्डौको बजार नै ग्वाल्लेक केदार क्षेत्रको प्रमुख प्रबेश-बिन्दु हो । देहिमाण्डौ्डौमा खानबस्नकालागि होटेल लजहरु छन । स्वास्थ्य चौकी र  पुलिसचौकीको सेवा समेत उपलब्ध छ । यहाँबाट पुर्ब वा पश्चिम जुन रुटबाट भए पनि ग्वाल्लेक वरपरका धार्मिक सांस्कृतिक स्थलहरुमा पुग्न सकिन्छ । ग्वाल्लेक धामको वरपर थुुप्रै दर्शनिय स्थल छन । स्थानाभावका कारणले समेत यो आलेखमा मात्र यिनीहरु सबैको बारेमा लेख्न नसकिए पनि पछि अपडेट गर्नेेगरि केही प्रमुख स्थलका सम्बन्धमा छोटो जानकारि मात्र समाबिष्ट छ ।



निंगलासैनी ; सुप्रसिध्द शक्तिपीठ

बैतडी जिल्लाको देहिमाण्डौँमा रहेको निङ्गलाशैनि भगवती मन्दिरमा मेला भर्न सुदूरपश्चिमका साथै भारतको कुमाउ र गढवाल क्षेत्रबाट पनि हजारौंको संख्यामा दर्शनार्थी मन्दिरमा दर्शन गर्न पुग्ने गर्दछन् ।

स्थानिय जानकारहरुका अनुसार निङ्लासैनी भगवति मन्दिरमा पहिलेदेखिनै पशुवलि दिने प्रचलन छ । महाष्टमीका दिन शक्तिवर्दनी निङ्गलाशैनि माताको मन्दिरमा कम्तिमा पनि ६८ प्राणिको वलि दिनुपर्ने भएकाले यो मेलालाई स्थानिय भाषमा अठ्सठ्ठि जात पनि भनिन्छ ।

पौराणीक किंवदन्ती अनुसार ७ सय वर्ष पहिले देहिमाण्डौं गाविसको वडा नं.६ स्थित जंगलको एक भागमा निंगालोको वोट संगै रहेको एक सिलामाथि आफ्नो गाईले दुध चढाएको  देखेपछि सोहि निंगालोवाट उत्पन्न भएको हुनाले यहाँं उत्पन्न महांशक्तिलाई निङ्लासैनी भगवतीको रुपमा पुज्ने गरिएको हो ।

निङ्लासैनी भगवतीको मन्दिरमा प्रत्येक संक्रान्ती, औसी र पूर्णिमाका दिन शास्त्रोक्त विधिबाट नियमित पुजा चढाईन्छ भने हरेक वर्ष बडादशै, चैैते दशै, भाद्र पुर्णिमा र मंसिर पुर्णिमामा ४ पटक भब्य मेला लाग्ने गर्दछ ।
सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठको रुपमा मानिने यस मन्दिरमा प्रतेक बर्ष नवरात्रको महाअष्टमी को अवसर पारेर पाँच सय भन्दा बढी पशुको बलि दिईन्छ । ०७२ सालको तथ्यांकमा  माहाअष्टमीको अवसर पारेर ३ सय ३० राँगा र दुई सय भन्दा बढी बोकाहरुको बली दिईएको निङ्गलाशैनि मेला व्यवस्थापन समितीको रेकर्डमा देखिन्छ ।

ग्वाल्लेकधाम ; पबित्रतम उच्च शिखर

देहिमाण्डौबाट करिब २ कि मि सुन्दरखालसम्म नै सडक पुगेकोछ । यहाबाट डेढदुइ घण्टाको पैदलबाटो शिखरसम्म पुगिन्छ, तर शिखरमा जान पबित्र र चोखो रहनु पर्ने केही अनुष्ठान पूरा गर्नुपर्छ । प्रबेशबिन्दुमा सानो मन्दिर र आश्रम बनाइएकोछ । शिखरको प्राकृतिक भब्यता अनुपम र अलौकिक मानिन्छ । शिखरको उचाई ६०६५ मिटर मापन गरिएकोछ । स्थानिय लोकमानस ग्वाल्लेक धुुराका नामले यस शिखरलाई अतिव आस्था र बिश्वासका साथ गुहार्ने गर्दछ ।

ग्वाल्लेककेदार ; धार्मिक आस्थायुक्त संरक्षित बन

ग्वाल्लेकधामको चारैतिर करिब २८७८ हेक्टर धार्मिक राष्ट्रिय बनले यो समुच्च क्षेत्रलाई जिबन्तता दिइरहेकोछ । यसलाई संरक्षित बन कायम गर्ने संरक्षणकर्मीहरुको प्रयास जारी छ । पर्यापर्यटनकालागि यो बनक्षेत्र नमुना मानिन्छ । प्राकृतिक हरियाचौर, गुफा, पानीमुहान, बिबिध बनस्पति, बनौषधि, बन्यजन्तु यहाँका आकर्षण हुन् । भाारत र नेपालका हिमश्रृंखला लगायतका प्राकृतिक दृश्यहरुको अबलोकनका लागि समेत यो धाार्मिकारण्य विशिष्ट गन्तव्य मानिन्छ ।

 असिमकेदार ; वर्षा र सहकालका देवता 

देहिमाण्डौ-सलेना सडकको सात कि मि दुरिमा पर्ने दुर्गास्थानको सुर्काल गाउँमा असिमकेदार मन्दिर अबस्थित छ । यहाँ पनि भाद्र र माघ महिनाको शुुक्ल पञ्चमीदेखि तीन दिनसम्म प्रख्यात " तेरादे जाँत " को रमाइलो पर्व मनाइन्छ । संक्रान्ति, औसी र पुर्णिमामा नित्य पुजा हुन्छ । नवरात्र, न्वागि पर्व ( नयाँ अन्न चढाउने ) आदिका अबसरमा समेत पुजाआजा हुन्छ । खडेरी वा अतिबृष्टि भएमा " आल " भरिका गाउँगर्खाबाट जाँत सहितका मानिस संकट निबारणार्थ यो मन्दिरमा आउने चलन कायमै छ । असिमकेदारलाई वर्षा र सहकालका देवताका रुपमा मान्ने गरिन्छ । यहाँ पनि पुजाआजा चलाउने आफनै विशिष्ट प्रचलन छन ।

महाद्यौ ; झौलेक, गुरुखोला

दशरथ चन्द राजमार्ग नजिक झौलेकमा महारुद्र देवताको प्रसिद्ध मन्दिर रहेको छ । यस मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल/चैत्र शुक्ल नवमी तिथिमा विशेष पूजा लाग्ने गर्दछ ।

मेलौली ; प्रख्यात भगवति
          धार्मीक स्थलको रुपमा सुदूर पश्चिमका प्रमुख शक्तिपिठमध्ये मेलौली पनि एक हो । प्रचार प्रसार हुन नसकेको कारण ओझेलमा परेको मेलौली भगवतिको महिमा क्षेत्रभरि कायमै रहिआएको तथ्य कार्तिक पुर्णीमा लाग्ने जात्रा ( जाँँत ) मा देखिने लाखौको सहभागीताले प्रमाणित गर्दछ  । एक सय चौतिस रोपनी क्षेत्रफल भएको चौरमा अवस्थित माता मेलौलीको मन्दिर हातामा  केदारशैली, शिखरशैली र पैगोडा शैलीका समन्वित स्वरुपमा विशिष्ट चित्ताकर्षक शैैलीको बास्तुकला देखिन्छ । काार्तिक पुर्णिमाको अबसरमा चार दिन सम्म रहने जात्रामा करैाडौको ब्यापार हुन्छ । नेजा ध्वजा आशा गुर्ज भानु भोकर लगायत पाचबाजाको साथ दशैा ब्यक्तिहरुले बोक्ने चन्डोलमा श्वेत फेटा र बागो लगाई सुन चादीको गहनामा सुशोभित भएका हातमा चामर लिएका धामीमा पुर्णिमाको बिहान सुर्योदयको मुहुर्तमा मेलौली अबतरित हुन्छिन भन्ने जन बिश्वास छ । चौरको मध्यमा रहेको फलामे पिँङ ( हिङलो ) सु प मा नै सबभन्दा अग्लो हुनुपर्दछ । 
मन्दिरको पश्चिम र ग्रीन बेल्टको ठीक मुनी देब्वा ओराड नामले एउटा गुफा छ । प्रबेशद्दार सागुरो भएको हुदा सबैलाई भित्र प्रवेश गर्न सक्दैनन् । गएका हरुबाट प्राप्त जानकारी अनुसार बिभिन्न देवि देबताहरुको प्राकृतिक मुर्तिहरु छन । लामालेक बुढाघरभन्दा माथि लेकतिर अर्को गुफा छ । यस किसिमका गुफाहरु सीमा र ग्वाल्लेकको बनमा पनि पाईन्छन । यि अझै खोजका बिषयहरु छन ।
मेलौलींमा चैतै दशै र अशोजको महिनाको बडा दशैमा नित्य ५ पुजा  र बली बिधान हुने गर्दछ । धर्म र सँस्कृतिको नाममा  देउकी बनाउने चलन चालीसको दशकमा समाज सेवी र पिडित समुदायले ठूलो प्रयत्नका साथ समाप्त गरेकाछन ।

महारुद्र, खलिगाड ; विशिष्ट परंपरा

ग्वाल्लेककेदार क्षेत्रकै तोलि बनसंग जोडिएको महारुद्र गा बि स को सेरा गाउँमा अवस्थित महारुद्र मन्दिर केही विशिष्ट परम्पराका कारण यस भेेगभरि नै प्रसिध्द छ । सम्भबत: तेह्रौ शताब्दिमा स्थापित यो मन्दिरमा प्रथम स्थानमा मुखिया ठकुरी हुने र बिणाको धामी क्षेत्रीबाट हुने चलन छ। हाल यसरी खाम बसेका चन्द मुखियाहरुको एघारौ पुस्ताले मन्दिरको धार्मिक सांस्कृतिक कार्य संचालन गरिरहेकाछन् । बुध्द पुर्णिमाका दिन बलिरहेको आगोमा धामीहरुले तातो फलाम चाटने धुुनी जाँत पनि यस स्थानको प्रख्यात विशेष पर्व हो । यसै स्धान नजिक २ कि मि लामो प्राकृतिक गुफा पनि छ । लामालेकबाट यहाँसम्मको सडक निर्माणाधिन छ ।
गण्मेश्वर ;  गिरेगडा-३ नेटा 
धार्मिक पर्यटकीय स्थल गणमेश्वर मन्दिर बैतडीको गिरेगडा र रोडीदेवल गाविस सिमना नेटा मा अवस्थित छ ।कलात्मक सौन्दर्यले भरीपुर्ण यो मन्दिरमा जान देहिमाण्डौदेखि नै सडक यायायातको सुविधा छ।  गणमेश्वरको नवनिर्मिित मन्दीर नवनिर्मीत विशिष्ट बास्तुकलाका कारण प्रसिध्द छ । गन्मेश्वर बाबालाई गडवालिङको नामले पनि पुकारिन्छ । यहाँको मन्दिरमा मन्दिरमा रातो टिका चल्दैन । भाारतको पिथौरागढ चम्पावतबाट समेत दर्शनार्थीहरु आउनेगरेकाछन ।
देउताल ; द्यौगण्या, रोडीदेबल
देवताल अर्थात देवगणेलाई गडवालिङको प्रमुख वीर मानिन्छ । नेपाल- भाारत दुबैतिर यिनलाइ समानरुपमा श्रध्दा र बिश्वास गर्दछन । कहि पनि न्याय नपाएमा देउगणे गुहार्नेे ( घाऽत जाने ) चलन छ । महाकाली किनारका यस तालमा सुनका माछा चढाउने प्रचलन कायमै छ  । नवरात्रमा यहाँ ठुुलो मेला लाग्छ ।

{ नागार्जुन ; गिरेगडा-५ तोली/सिम केदार ; गिरेगडा-४/नङथरो ; गिरेगडा-८ धिरमणा/खोलीकेदार ; गोइचणा , जर्ग /कैलपाल, पुजरागाउ, दुर्गास्थान /खापर गुफा, ऐचेेकाडा, दुर्गास्थान/समैची सदाफल; दुर्गास्थान/ भुुमिराज, दुर्गास्थान आदि कतिपय धाार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि ग्वालेककेदार धाार्मिक क्षेत्रको वरपर अवस्थित छन । यी पावनस्थलहरु बारेका बिबरण अद्यावधिक गर्दै जानेछौ । केही फोटोहरु पनि गुगलबाट साभार सङ्कलन गरिएका छन् । यसबारेका तथ्यपुर्ण जानकारीका लागि कमेन्ट बक्स खुुला छ । कृपया यो एकल प्रयासलाई सघाई दिनुहुनेछ । }





सिमनाथ ; आकर्षक शिबस्थल

मेलौलीदेखि १४ कि मि दक्षिणको चुचुरोमा अवस्थित सिमनाथ मन्दिरमा कार्तिक शुुक्ल सप्तमीमा ठुुलो मेला लाग्दछ । भाद्र शुुक्लाष्टमी अर्को विशेष पर्व हो । प्राकृतिक रुपले पनि यो स्थान चित्ताकर्षक मानिन्छ । सिमनाथको आफनै विशिष्ट परम्परा छ । मेलामा  दुई गाउले समुहहरु गीर खेेल्ने चलन अहिलेसम्म चालु छ । हाल यस स्थानमा समेत सडकको ट्रेक खुलिसकेकोले आउनजान सजिलो भएकोछ ।

शर्मालीगढी ; अमरगढीकै हाराहारी

भारतको चम्पाबतगढ र डडेल्धुराको अमरगढीकै हाराहारीको यो गढी तत्कालिन सामरिक किल्ला हो । हाल संरक्षणको पर्खाइमा रहेको किल्ला लगभग ५०० बर्गफुट जमिनमा फैैलिएकोछ । डोटि भेेगमै अमरगढि पछि यो शर्मालीगढी दोश्रो ठुुलो किल्ला मानिन्थ्यो ।

यसरी यो भेेगका अतिरिक्त बैतडी र डडेल्धुराका कतिपय पर्यटकीय गन्तब्यहरुको पर्यटन प्रबर्धनका निम्ति एकीकृत प्रयासको आबश्यकता छ । राष्टिय सडक संजालसंग जोडिएकोले पर्यटकीय बिकासका लागि सबैको ध्यान जानू पनि अबको टडकारो खाँचो हो ।
जहाँसम्म बैतडीसम्म पुग्ने चाँजोपाँजोको प्रश्न छ, हाललाई सार्बजनिक यातायात प्रयोग गरेमा काठमाण्डौ- बैतडी- काठमाण्डौ बस भाडा र दुई रात बैतडीमा खान- वस्न बाह्र हजार जतिले पुग्छ । कुनै कोसेली लैजानका लागि अतिरिक्त खर्च थपिने हुन्छ । काठमाण्डौबाट बैतडी पुग्न बसमा २७ घण्टासम्म लाग्छ । काठमाण्डौ- धनगढि हवाइ यातायात पनि उपलब्ध छ । धनगढी- बैतडी २२० कि मि को लागि धनगढिमै बस र भाडाका साधन पनि पाइन्छन् । सामान्यत: टिसर्ट, टाउजर, हापपैण्ट, पातलो ज्याकेट, क्याप, स्पोर्ट शुु, चप्पल, पानी बोतल, टर्चलाइट, क्यामेरा, डायरि, कलम, दुर्बिन, टावेल, टुथपेष्ट, साबुन, ब्रस र सामान्य औषधिको जोहो मिलाएर आउदा बेस हुन्छ । यताबाट कोसेलिको रुपमा चिउरि गुड, बोडी, गहत, मस्याङ, मास, भटमास जस्ता अर्ग्यानिक उत्पादन लैजान सकिन्छ । सिमावर्ति नगर झुुलाघाट वा पिथौरागढसम्म पुगेर किनमेल गर्न सकिन्छ ।




देउकी


          ( पहिलो प्रकाशनताका नै पढेको  " देउकी" को कथाले मलाइ बहुतै प्रभावित गरेको थियो । त्यसै अवधिमा शायद यिनै कथाकारको गरिमामै प्रकाशित अर्को कथा " मृत्यु पर्खिरहेछ "(?) ले पनि खुुबै झकझकाउथ्यो  । यो कथा चमेलियाको किनारतिरको कुनै भीरमा फालिएको नवजात पाडो ( स्थानिय भाषामा जलेठो ) को क्रन्दनका बिषयमा थियो । भैैंंसीको दुधमा एकाधिकार खोज्ने राक्षसी चाहनाको शिकार बनेका सुत्केरी आमा -भैैसी र शिशु- राङोको त्यो बेदनाले मलाइ अन्तर्मनसम्म छोएको थियो। त्यो बेलाको मेरो किशोर मनले यस्तै कथाहरु लेख्न ज्यादै हौस्याएको सम्झना बाँकि नै छन । यसै परिबेशका यस्तै कथा लेख्न मलाइ पनि खुुबै रहर लाग्थ्यो । गाउँका श्वेतग्रिबी ठुुलाबडाले डमी बनाउदा चोरको नामले चिनिएको दलित पात्रलाई केन्द्र बनाएर " तिखे दा " शिर्षकमा कथा लेखियो पनि । त्यो आफन्त मासिकमा र केही स्थानिय पत्रिकामा छापिएको पनि थियो । तर यो क्रमलाई निरन्तरता दिन सकिएन । शायद नियन्तालाइ यो मन्जुर थिएन क्यारे । जिबनले अर्कै धार लियो । रहर रहरै रह्यो ।
प्रस्तुत देउकी कथालाई यो ब्लगमा समकालीन साहित्यबाट साभार गरिएकोछ । चित्रहरु गुगल खोजको सौजन्यमा प्राप्त भएका हुन । यो कथाले तत्कालिन समाजको दुखेको पाटो देखाउछ ।  पहिलो प्रकाशन पछिको लामो अवधिमा सुरनैयामा थुुप्रै पानी बगिसकेकोछ । बर्णित परिबेशसंग म सुपरिचित छु । ती अतीतका कथाहरुबाट सिर्जित कैयौ उपकथाहरु उपर अझैै साहित्यिक सिर्जना आउन सकुन भन्ने कामना छ । किनारीकृत समाजका ती मौन पात्रहरुको ईतिहास लेखिनै पर्छ । मेरो प्रेरणाका श्रोत कथाकारलाई सादर नमन ।। - ब्लगर= भानदेव बडू- ।।

देउकी

- राशि पाण्डे

हिँडाइको क्रममा जब तपाईं कुनै अक्करको चुचुरोमा पुगेर एकछिन सुस्ताउँदै आफूले हिँडेका पाइतालाका डोबहरू पछ्याउनु हुन्छ, आफ्नो वरपरका दृश्यहरूमा विहङ्गम दृष्टिपात गर्नुहुन्छ । कहाली लागेर आउँछ, अत्यास लागेर आउँछ, त्यस्तो बाटो कसरी हिँड्न सकियो होला ? पाइलाका गोरेटाहरूमा उकाली ओह्राली आइ नै रहन्छन्, भिर टाकुरा, फाँटहरू परी नै रहन्छन्, तर जीवनको गोरेटामा त उकाली मात्र छ, चढाइ मात्र छ । गन्तव्य कहाँ छ ? थाहा छैन, केवल अनिश्चित दिशातर्फ हिँड्नु छ, मात्र हिँड्नु । हामी सबै व्यस्त छौँ अदृश्य टाकुराको चढाइमा, क्षितिजमा धुमलिएको बिन्दुतिर ........
जीवनको यति लामो गोरेटो पहिल्याउँदै, पछ््याउँदै, एकक्षण बिसाएर जब म आफ्नो चारैतिर दृष्टिपात गर्छु, आफ्नो जीवनको सिंहावलोकन गर्छु, एउटा विशाल क्यानभास फैलिदिन्छ मेरो चारैतिर । ती चित्रहरूलाई तपाईं देख्न सक्नुहुन्न, छुन सक्नुहुन्न, तर कताकता भित्र मनमस्तिष्कमा ती चित्रहरू सगबगाउँछन्, चलमलाउँछन् ।
क्यानभासमा एउटा विस्तृत पहाड, रूखजङ्गल, बस्तीहरू छन् । एउटा सम्म परेको डाँडामा मन्दिर छ – भगवती मेलौली सैनीको । छेउमै झ्याम्म परेको सिलङ्गाको रूख अनि नजीकै ठुलो अग्लो साङ्गलोको झुला । यत्रतत्र ससाना काठका किलाहरू गाडिएका छन्, जसमा विभिन्न किसिमका, विभिन्न आकृतिका घण्टहरू झुन्ड्याइएका छन्, नेजा१, पताकाहरू फरफराइरहेका । मन्दिरको सामुन्ने विशाल चउर छ, केही गाई, भैँैसी, बाख्राहरू चरिरहेका । चउरको छेउछाउमा ढुङ्गाको गारो र स्लेटले छाएका, कमेरो पोतेका घरहरू छन्; बस्ती छ, ढुङ्गा जत्तिकै बलियो शरीर र कमेरो जत्तिकै निर्मल मन भएका देउकीहरूको– मेलौली ।
हो, तपाईंले पनि सुन्नु नै भएको होला ? तल्लो स्वराड, केशरपुर, मेलौली, देहीगाउँ, पेरिस । जे भने पनि हुन्छ । जे नाम दिए पनि हुन्छ । वास्तविकतामा केही फरक आउन्न । बाल्यकालको सम्झना गर्छु । कत्ति रमाइलो थियो, त्यो उमेर, त्यो समय ? इजा२, बजै र म मात्र थियौँ । घरमा कोही लोग्नेमानिस थिएनन् । बुवाको अनुहार सम्झन खोज्छु । अनेकौँ अनेकौँ अनुहारहरू आँखामा नाच्न लाग्दछन् । यिनमध्ये, कुनचाहिँ मेरा बुबा हुन् ? ठम््याउन सक्दिनँ । निक््र्योल गर्न सक्दिनँ । मेरा कुनै बुबा नै थिएनन्, कोही सिङ्गो बुबा नै थिएनन् । आफ्नै नाम दिने, माया दिने । यिनको बुबाको नाम के भनी एकपटक एउटा बाहिरिया मानिसले इजासँग सोधेथ्यो । एकछिन अकमक्किएर इजाले बताउनु भएथ्यो “संसार छन् ।” हो, संसार छन् । यो सँसार छन् कुनै खास व्यक्तिको नाम होइन, जात होइन । कुनै खास व्यक्तिलाई यस नामले लक्षित गर्दैन । असङ्ख््य असङ्ख््य व्यक्तिहरू जो दुईचार रुपियाँको लोभ देखाएर आफ्नो वासना तृप्त गर्न आउँछन्, ती सबैको सामूहिक नाम हो – ‘संसार छन्’ ।
एक्ली छोरी थिएँ । बजै, इजाको प्यार कसैलाई भाग लाग्दैनथ्यो । उनीहरूको माया, स्नेह पोख्ने भाँडो म मात्र थिएँ । बजै निक्कै राम्री हुनुहुन्थ्यो । गोरी, सुलुत्त परेको नाकमुख, हिस्सी परेकी । उहाँ अरूजस्तै घाँघरो३ नलगाई साडी लगाउनुहुन्थ्यो । आफ्नो जवानीमा उहाँले दिल्ली, बम्बै घुमिसक्नुभएको थियो, लाहुरेसँग । यसैले उहाँको बोली वचनमा मिठास थियो, व्यवहारमा शिष्टता । गाउँका इष्टमित्रहरू इज्जत गर्दथे, सल्लाह लिन्थे अनि बाहिरबाट आएका जिज्ञासुहरू देउकीहरूको चालचलन, रीतिस्थिति इतिहास, फाग र लोकगीतका लागि भेट गर्थे । म धेरैजसो उहाँसँगै हुन्थेँ । उहाँसँगै सुत्थेँ । इजाले त मलाई जन्म मात्र दिनुभएथ्यो, आमा त मेरो उहाँ नै हुनुहुन्थ्यो । रातभरि बजैको काखमा लुटपुटिएर, उहाँको चाउरी परेको छालाका मुजाहरू खेलाउँदै म थुप्रै थुप्रै प्रश्नहरू गर्थेँ, बालसुलभ अनेकौँ जिज्ञासाहरू पोख्थेँ । उहाँ मलाई सहर, रेल, मोटरहरूको कथा सुनाउनुहुन्थ्यो अनि देउकीहरूको नारकीय जीवनको व्यथा बताउनुहुन्थ्यो । म राम्री त छँदै थिँए बजैको प्रभावले बाठी पनि हुँदै गएँ ।
दुई हजार चार सालमै यहाँ हाइस्कुल खुलिसकेको थियो । ठकुरीका छोराछोरी तथा अन्य केटाकेटीहरूसँगै मैले पनि काठको पाटीमा कमेराको मसीले क, ख लेख्न सुरु गरेँ । शिक्षा प्रारम्भ भयो । “देउकीको छोरीले पढेर के काम ? “देउकीकी छोरी देउकी नै बन्नुपर्छ ।” विरोधका गाइँगुइँहरू पनि सुनिए तर मेरी बजैका सामु कसैको सिप चलेन । मेरो स्कुल जान छुटेन । अहिले आफ्ना सँगीसाथीहरूलाई नियाल्छु, कति सुखी, कति सन्तुष्ट देखिन्छन् । ईष्र्या जागेर आउँछ, उनीहरूको जीवन देखेर । कुनै किसिमको महच्वाकाङ्क्षा, कुनै किसिमको अनुराग छैन । कन्था, खगालो लगाएर, रोटो र छाँछ४, आधा पेट खाएर पनि कति हँसिला, कति खुसिला लाग्छन् ? के शिक्षा नै दुःखको मूल त होइन ? शिक्षाले चेतना जगाउँछ । स्थितिबोध गराउँछ, स्थितिबोध भएपछि मानिसहरू असन्तुष्ट हुन्छन्, यही असन्तुष्टि नै विषाद, चिन्ता तथा दुःखको जरो हो । सोच्छु, जुन दिन मैल ‘क’ लेख्न सिकेँ, त्यही दिन बीजारोपण भयो दुःखको ।
म आमाको गर्भमा आउनुअघिबाटै समाजले मलाई देउकी बनाउने निर्णय गरिसकेथ्यो । देउकीकी छोरी देउकी नै बन्नुपर्ने नियम चलिसकेथ्यो । दसबर्से उमेरको त्यो घटना आज पनि आँखासामु छर्लङ्ग भै प्रस्टिन्छ । जुन दिन म राँगा, बोकाहरूजस्तै भगवतीमा बलि चढाइएथेँ । कति राम्रो हुन्थ्यो होला पञ्चबलिसँगै मलाई पनि नरबलि चढाइदिएको भए । यसरी जीवनमा यातना, वेदना, सास्ती त सहनुपर्ने थिएन ? नवरात्रिको बेला चारैतिर दसैँको उमङ्ग, उत्साह छाएको थियो । भगवतीमा प्रायः सधैँ नै दस बिस राँगाहरू ल्याइन्थे, काटिन्थे । बलि चढाइन्थ्यो निरीह पशुहरूको, जसको रक्तले सिँचेर भगवतीलाई प्रसन्न पार्ने प्रयास गरिन्थ्यो । एक दिन, सायद अष्टमीको साँझ ठुलो जाँत५ लागेको थियो । सैकडौँ राँगा बोकाहरू बलिका लागि बाँधिएका थिए । हज्जारौँ मानिसहरूको कोलाहलमा दमौँ, झ्याली, नरसिङ्गाको तुमुल ध्वनिले एउटा विभीषिका, एउटा भयावह वातावरण सिर्जिएको थियो देवीमन्दिरमा । बलिका लागि बाँधिएका पशुहरू संशयी, उत्तेजित भई यताउता हेरिरहेका थिए । मलाई पनि बिहानदेखि नै उपवास राखिएको थियो । नुहाई धुवाई नयाँ घाँघरो र चोली लगाएर, हामी सबै जाँत हेर्न गएका थियौँ भगवतीमन्दिरमा । मानिसहरूको घुँइचो थियो । पण्डितहरूको मन्त्रपाठ, घिउ, तिल, जौको हवनले उठेको धुवाँ, म निस्सासिएथेँ । त्यहाँका पुजारीले मलाई एक नयाँ फोलो६ दिँदै पानी ल्याउन अराएका थिए । देवन्वालो७बाट पानी ल्याई मन्दिरको परिक्रमा सकेर मलाई भगवतीको सामु बसालियो । मेरै छेउमा एक अधबैँसे साहूकारजस्तो मान्छे देवीको सामु पलेटी कसी हात अँजुली पारी बसेको थियो । अनि उसको अँजुलीमा पानी, तिल, कुश, फूलपातीका साथै मेरो औँला पनि समाउन लगाएका थिए पुजारीले । विभिन्न मन्त्रहरू पाठ गर्दै, ”ओम् नम् स्वाहा” को उच्चारण साथै उसले देवीमा सङ्कल्प दान गरेको थियो । भगवतीको तेल र टिका मेरो माथमा लगाउँदै, पुजारीले भनेका थिए “आजदेखि तँ देउकी भइस्, अब देवीकै चाकरीमा रही तैँले जीवन बिताउनुपर्छ ।”
म विधिवत् देउकी भएको थिएँ । हामी झगडा गर्दा, रिस उठ्दा भन्ने गर्दथ्यौँ “तेरो मुण्डामै देउताको तेल पडो८।” आज त्यही गाली ममा चरितार्थ भएको थियो जसलाई दस वर्षीया बालिकाको क्रन्दनले, रुवाइले कहाँ पखाल्न सक्दथ्यो र ! कहाँ बदल्न सक्दथ्यो र !
“कालोइ पारो कालोइ झुन्डो, काली गाईको दही छ,
जसोई लेख्यो भावनीले उसोइ, हुन्या रहिछ !”

पाँचसात दिनसम्म रुँदारुँदा मैले आफ्नो भाग्यलाई, आफ्नो नियतिलाई स्वीकारेको थिएँ । पछि थाहा पाएँ, त्यो साहूकारले देवीको भाकल पुरा गर्न इजालाई चार हजार दिएको रहेछ । म त पाल्तु पशुपक्षीहरूजस्तै बिक्री गरिएकी रहिछु । कस्तो हाम्रो जिन्दगी ? हामीहरूभन्दा त ती पशुहरू भाग्यमानी हुन्, जसलाई दुईचार चोटमै मोक्ष प्राप्ति हुन्छ । पीडाको अनुभूति एक क्षणका लागि मात्र हुन्छ अनि हुन्छ शान्ति, चिरनिन्द्रा । हामीहरूले त जिन्दगीभरि त्यति नै तड्पिरहनुपर्छ, बाँचुनजेल यातना सहिरहनुपर्छ, अचानामा तेर्सिएर ...
केही मेरो जिद्दीले केही बजैको रहरले मेरो स्कुल जान छुटेन । स्कुल गई नै रहेँ । इजाले अझै जवान नै हुनुहुन्थ्यो । अझै पनि कोही न कोही मानिसहरू बास खोज्दै आउने गर्दथे । यसरी पाहुना आएको दिन हाम्रो घरमा चहपहल हुन्थ्यो । माडा९ पाक्दथ्यो, मासु पाक्दथ्यो । रक्सी ल्याइन्थ्यो । मलाई यी सब मन पर्दैनथ्यो । घृणा लाग्दथ्यो, तिनीहरूको बीभत्स अनुहार देखेर, तिनीहरूको कुत्सित व्यवहार देखेर म रिसाउँथे, बाझ््दथेँ । तर युगौँदेखि चलिआएको चलन, हाम्रो पेसा, हाम्रो धर्म, नगरी हुन्छ र ? के खाने, कसरी खर्च चलाउने ? मेरो मुखमा बुजो लाग्दथ्यो । मलाई सम्झना छ, जबजब म कुनै कामले इजाको कोठामा पस्दथेंँ, त्यसबखत अनि दस, बिसको कमाइ थापेर बजैलाई दिँदा मैले इजाको आँखामा कुनै खुसी, कुनै उत्साह पाउन्नथेँ । हृदयभरि ग्लानि, विवशताको आँसु दबाएर बाहिर मेनका, उर्वशीको पाठ गर्नुपर्दथ्यो, इजाले ।
म कक्षा आठमा पुगिसकेकी थिएँ । घरधन्दा सगाउँदै, स्कुलको पाठ पनि चली नै रहको थियो । यौवनले चियाउन लागिसकेको थियो ममा । कामपिपासुहरूको अाँखाले मलाई बिझाउन थालिसकेका थिए । मौका पाए उनीहरू स्पर्शसुख बटुल्न खोज्दथे । मानिसहरू विभिन्न निहुँ गरी गरी पिठ्यँु सुमसुम्याउथे, गाला मुसार्दथे । तिनीहरूको पितृतुल्य व्यवहारमा पनि प्रेम, स्नेह होइन, कामका किराहरू, घृणित वासनाका अभिव्यक्तिहरू सगबगाइरहेका हुन्थे । म बुझ्ने भइसकेकी थिएँ । तिनीहरूको बाहिरी आवरण च्यातेर, भित्री तहसम्म चियाउन सक्ने भइसकेकी थिएँ । मलाई यी सबैदेखि वितृष्णा उठ्थ्यो, घृणा हुन्थ्यो । मेरो कक्षामा म एक्ली मात्र केटी भएकीले नजानिँदो त्रासले घेरिरहेको हुन्थ्यो मलाई । जब एक पटक एउटा केटाले मसँग जिस्कन चाह्यो, हातपात गर्न खोज्यो, अनि मलाई स्कुलदेखि नै मन म¥यो – मैले स्कुल जानै बन्द गरेँ । बजै ज्यादै बुढी भइसक्नुभएको थियो, घरधन्दाको काम इजाले मात्र समाल्न गारो परिरहेको थियो । मैले स्कुल छाडेकामा कसैलाई गुनासो भएन ।
स्याल पनि घोर्ले हुन्छ बैँसमा । म कोरली पोथीझैैँ राम्री हँुदै गएँ । भालेहरू पछ्याइरहन्थे मलाई, सिनोको वरिपरि गिद्ध झुम्मिएझंै । यी मानवगिद्धहरू जिउँदो मासु गिजोल्न रुँगिबसेका हुन्थे दाउ पर्खिएर । राजा गिद्ध थियो, पद्म बिष्ट देवीमन्दिरको पुजारीको छोरो । पढ्थ्यो स्कुलमा, खप्पिस थियो गीत हाल्न, मसँग निहुँ पारीपारी बोल्न खोज्दथ्यो । जिस्कन खोज्दथ्यो । हरघडी मलाई पछ््याइरहेको हुन्थ्यो ।
सुनगाडाको माथिल्लो गहुँबारीमा घाँस काट्न लाग्दा उसले गीत हालेको थियोे एक पटक –
“”हातलकी घाँस काट्नेई गउँ क्याकि भाँच्ची हई,
त्यो तेरो भरियो जोवन कईकीलाई साँच्ची हई !”
म रिसले डोको त्यहीँ बारीमै फ्याँकेर आएकी थिएँ । त्यपछि धेरै दिनसम्म उसको सामु पर्दैपरिनँ । भैँसी चराउन आयारको सैना, भट्टे खोला, बिप्पे ओडार, तातापानी अनि घरको सेरोफेरो, पानी लिन, पातालको न्वालो, ड््याडीका न्वालो, सबै ठाउँ सबै बेला पद्मको गीतले मलाई पछ््याइरहन्थ्यो, मेरो परिक्रमा गरिरहन्थ्यो, मलाई केन्द्रबिन्दु बनाएर । मलाई फकाउन ऊ गाउँथ्यो –
“ हिमान चुली पइरो पड्यो, हिम चुली रडेन
गल्ती भया माफ गरिनु रिसानु पडैन !”
पैसा भएका कामपिपासुहरू इजासँग मेरो मोलभाउ गर्दथे । कोपिला फक्रनुअघि नै उनीहरू पुष्पपत्रहरू, अमृत रसहरू पान गर्न खोज्दथे । यी सब कुराले मेरो मनमा एउटा छटपटी, एउटा उथलपुथल मच्चिइरहन्थ्यो भित्र, छातीभित्र, आत्मामा, कता कता, सम्पूर्ण शरीरभरि । स्कुल छुटेकामा पनि मलाई ठुलो पिर थियो, लाग्दथ्यो पढाइ छोडेर मैले झन् ठुलो भुल गरेँ । मेरो दिनचर्यामा बारी खन्नु, घाँस काट्नु, भैँसी हेर्नु, घरधन्दा गर्नु नै रह््यो, तर पढ्ने चाहना छुटेन । एउटा सानो कागतको टुक्रा फेला पार्दा पनि आद्योपान्त पढ्ने बानीले मेरो बुद्धि झन् झन् तिखारिँदै थियो, विचारमा परिपक्वता आइरहेको थियो । म सधँै सधैँ सुत्नुअघि डायरी लेख्ने गर्दथेँ, जसले मेरो लेखाइ पनि राम्रो हुँदै गएको थियो ।
पद्म मलाई प्रेमको संसारमा डुलाउँदै भन्दथ्यो– “हिँड, भागौं, यो संसारदेखि टाढा, जहाँ तिमी र हामी बाहेक अरू कोही हुने छैन, एउटा बेग्लै संसार हुनेछ, एउटा सुन्दर संसार, जहाँ यहाँको जस्तो लुछाचुँडी, अत्याचार, बलात्कार हुने छैन । हुने छ केवल प्रेम, प्रेम दुई आत्माको मिलन मात्र ।”
बिस्तारै बिस्तारै उसप्रति मेरो आकर्षण बढिरहेको थियो । जहिले पनि उसको बोलीले, उसको गीत, उसको अनुहार मेरो आँखामा नाँचिरहन्थ्यो । मलाई लाग्थ्यो, म उसको प्रेमको ज्वालामा पिल्सिरहेकी छु ।
कति मुर्ख म ? एउटी देउकी भएर कत्रो सपना हेर्न लागेकी ? कत्रो महच्वाकाङ्क्षा सजाएकी ? मन्दिरकी दासी, देवीको सेवामा अर्पित, समर्पित । विलासी लोग्नेमानिसहरूको खेलौना, हाड र मासुको जीवित कठपुतली । मैले प्रेम गर्नु हुन्छ र ? मैले बिहा गर्नु हुन्छ र ? के देउकीको पनि आत्मा हुन्छ ? देउकीले पनि एउटी नारी भएर आफ्नो चोखो माया दिन सक्छे ? एउटाकी मात्र भएर रहन सक्छे ? हजारौँ, हजारौँ प्रश्नहरू तेर्सिन्थे मेरा सामु, मेरो अघिल्तिर, जसले मलाई बेचैन पार्दथ्यो । मलाई तातो बालुवाको भुमरीमा फ्याल्दथ्यो । म धेरै उग्र हुँदै गइरहेकी थिएँ । म झन्झन् झगडालु र झर्कौली भैरहेकी थिएँ । मेरा यिनै व्यवहारले इजाले मलाई पाहुनासँग सुत्न कर लगाउन सक्नुभएको थिएन, हिम्मत गर्न सक्नुभएको थिएन । केटाकेटी नै छ भनी मनलाई थामथुम पारिरहनुभएको थियो । जेसुकै भए तापनि एक न एक दिन मैले आफ्नो नियति, आफ्नो धर्म स्वीकार्नु पर्नेछ । म सोकेसमा सजाइएकी विलासिताकी वस्तु, मैले एक दिन बेचिनैपर्छ, दसैँकोे लागि पालिएको खसी मैले एक दिन काटिनैपर्छ । अनि यसै मानसिकतामा मैले निर्णय लिएँ, कुनै अपरिचित, घिनलाग्दो, दुर्गन्धित श्वासको रापमा झोसिनुअघि नै समर्पण गरिदिऊँ, आफूलाई आफ्नो हृदयसम्राट सामु । सुम्पिदिऊँ आफूलाई आफ्नो प्रियतमको बाहुलीमा । गोराको रमाइलो पर्वमा म द्यौडा हाल्दथेँ–
“बर पत्यामा घर लायो धौला पाँथरको !
केइ इज्जत रन्या हो कि देउकी पाँतरको ?”
पद्म उत्तर फिराउँथ्यो । हाम्रा उत्तरप्रतिउत्तरहरू सैकडौँ गलाले दोह¥याइरहेका हुन्थे, एकअर्काको हातमा हात राख्दै, गीतको बोलमा खुट्टाको ताल दिँदै हामी रात रातभर खेल लगाई बस्दथ्यौँ । जीवनका सुखदुःख, अत्याचार, कुरीतिहरूलाई गीतको रूपमा व्यक्त गर्दै हामी आफ्नो मनको बह पोख्ने गर्दथ्यौँ । हाम्रो खेल त्यो क्षेत्रमा सबैभन्दा राम्रो हुने गर्दथ्यो । हामी देहीमाडौँको जाँत जान्थ्यौँ, त्रिपुरासुन्दरीको जाँत जान्थ्यौँ, प्यानी, महारुद्र, शिवनाथ, सिद्धनाथ कुनै यस्तो ठाउँ रहेन, जहाँ हामी नपुगेका हौँ, हाम्रो गीत नगुञ्जिएको होस् । ऊ जाँतमा मेरो लागि चोली किनिदिन्थ्यो । मथुरावालाको मिठाई किनिदिन्थ्यो । नरिवल गोला किनिदिन्थ्यो । हाम्रो प्रेम हुर्कंदै गयो, झाँगिंदै गयो । हामी घिउ बेच्न जाने निहँुले झुलाघाट जान्थ्यौँ, पिथौरागढ जान्थ्यौँ । रनवन, गाउँसहर हाम्रो प्रेमको सुवासले मगमगाउन लाग्यो । हामी एकअर्कामा विलीन भयौँ । हुने खानेका छोराले देउकी राख्नु कुनै अनौठो कुरा थिएन, हाम्रो समाजमा तर म पद्मकी मात्र एकलौटी भएकीले डाहा गर्नेहरू थुप्रै निस्किए । रिस गरून्, डाहा गरून् मलाई के वास्ता ? पद्म मात्र नरिसाए पुग्दथ्यो मलाई ।
अनि मेरो सपनाको महल भत्काउँदै पद्मको बिहा भयो । सानो भूकम्प गयो मेरो हृदयमा । मैले यस्तै हुन्छ भनी स्विीकारिसकेकी थिएँ । देउकीको पनि बिहा हुन सक्छ र ? मलाई खास डिगाउन सकेन यो घटनाले ।
स्वास्नी ल्याएर पनि मप्रतिको आसक्ति, मप्रतिको चाहना उसमा कम भएन । झन्झन् म भनेपछि हुरुक्क हुन थाल्यो । हाम्रै घरमा ऊ धेरैजसो समय बिताउन लाग्यो । मलाई कहिलेकाहीँ लाग्दथ्यो, म कसैको भाग खोसिरहेकी छु, कसैको अधिकारको अपहरण गरिरहेकी छु । मलाई आफूप्रति, आफ्नो पेसाप्रति ग्लानि हुन्थ्यो । म उसदेखि टाढाटाढा हुने प्रयास गर्दथेँ । मेरो यस्तो उपेक्षाले गर्दा ऊ झन्झन् मलाई फकाउने, रिझाउने गर्दथ्यो । ऊ मलाई नयाँनयाँ कपडा दिएर, नयाँ नयाँ गहनाहरू बनाइदिएर भुलाउने प्रयास गर्दथ्यो । इजालाई यी सबै कुरा थाहा भए पनि केही बोल्नुहुन्नथ्यो । बरु उहाँ मलाई प्रोत्साहित गर्नुहुन्थ्यो । उसबाट प्राप्त भएका चिज खुसी खुसी राख्नुहुन्थ्यो । मलाई लाग्थ्यो पद्म ममाभन्दा बेसी खर्च इजाको लागि गर्ने गर्छ, उहाँको मुखमा बुजो लगाउन ।
जब पद्मले एक दिन तिन तोलाको नयाँ सुनको गलबन्दी दिँदै, हिँड न दिल्ली भागौँ भनेको थियो । मैले मानिनँ, मलाई लाग्यो ऊ स्वास्नीको गहना चोरेर मलाई खुसी तुल्याउन खोज्दछ । एउटी मजस्तै नारीको अवहेलना, अत्याचार । मलाई अपराधभावले पिरोल्थ्यो, पश्चाताप हुन्थ्यो ।
जेसुकै होस्, पद्मको सान्निध्यले मलाई पचासवटाको लुछाइबाट जोगाएको थियो । म आफूलाई भाग्यशाली ठान्दथेँ । मेरो सिनो लुछ्न नपाएका स्यालहरू मुर्मुरिएर बसेका थिए, मसँग डाहा गर्नेहरू स्यालको हुइयाँमा हुइयाँ मिलाउन तम्तयार भइरहन्थे ।
कात्तिक पुर्णे देवीको जाँत नजिक नजिक आइरहेथ्यो । प्रत्येक वर्षझैँ मेलाका लागि भारत पसेका लाहुरेहरू, कमाइ गर्न गएका देउकीहरू घर फर्किरहेका थिए । चारैतिर उल्लास छाएको थियो । पूजाको समय, मन्दिरको कामले म पनि व्यस्त रहन्थेँ । बिहानदेखि नै नुहाई धुवाई, मन्दिर लिप्नु, पानी ल्याउनु, फूलपातीको व्यवस्था गर्नु मेरै जिम्माको काम थियो । पूजाको एक दिन अगाडिदेखि नै चारैतिरका मानिसहरू ओइरिन लागेका थिए । ध्वजा, नेजा, पताकाहरूको फरफरमा दमौ, नगाडा, नरसिङ्गाको तालमा भगवतीको जयघोषले वरपरका डाँडाहरू नै गुञ्जायमान भएका थिए । मानिसहरूको भिडले चउरमा तिलसम्म राख्ने ठाउँ थिएन, लाग्थ्यो चउरभरि एउटा विशाल गलैँचा ओछ््याइएको छ, जसमा विभिन्न परिधानका असङ्ख्य नरनारीहरूको चित्रण गरिएको छ । एउटा उल्लास, एउटा हर्षोन्माद छाएको थियो मानिसहरूमा । जाँतको बेला जिम्वाल परिवारले मात्र मन्दिरको चउरको घोडा चढ्न पाउने पुरानो परम्परा थियो । ठकुरीहरू जाँतमा घोडा चढी कुदाउने गर्दथे । अन्य जातिका मानिसहरूले घोडा चउरको तलै राखी नाङ्गा खुट्टाले मैदानमा आउनु पर्दथ्यो । ठकुरीहरूलाई “जदौ” भनी ढोग दिनु पर्दथ्यो । यो चलनलाई बुढाहरूले धानी आए तापनि नयाँ पुस्ताले स्वीकार गर्न गारो मानिरहेको थियो । यसै सिलसिलामा रक्सीले टिल्ल परी लाहुरे रामसिंह नायकले घोडा कुदाएको थियो । चउरभरि, मन्दिरको प्राङ्गणमा ........
“परापूर्वकालदेखि चलिआएको रीति तोड्ने ? देउका भएर घोडा चढ्ने जाँतमा ? मान्यजनको अवज्ञा गर्ने ? बढेको, चढेको ? पल्टनको लाहुरे भएँ भन्दैमा त्यत्रो सान देखाउँछ ? यस्तालाई सजाय नदिई कहाँ हुन्छ र ? ठालू जिम्वाल परिवारहरू यो घटनाले क्षुब्ध भएका थिए । सोझा सिधा जनताहरू भगवतीले केही अनिष्ट गर्दछिन् भनी आशङ्कित भएका थिए । एउटा आगाको फिलुङ्गो सल्केको थियो । तनावको वातावरण सिर्जिएको थियो । यसमा केही घिउ थपियो सुनगाडाबाट देवीको चोलो निस्कने दिन । परम्परादेखि नै चोलोलाई अघिबाट नायकहरूले र पछाडिबाट भाटहरूले काँध दिई देवीको मन्दिरमा लग्ने गरिन्थ्यो । त्यस दिन पनि चकडोल१०मा पूजाको सरसामानहरूका साथै देवीको सुनको आसन, मुकुट, सुन जनै, चाँदीको अम्खोरा, छड, खुकुरी, खुँडा इत्यादि राखिए । धामीमा देवी सवार भइन् । धामी काँम्न थाल्यो । काँम्दै चकडोलमा उभियो । दुवै थरीले काँध दिई चकडोल उचाले । धामीको नजर जहाँ जहाँ पर्छ त्यस ठाउँको भलो हुन्छ भन्ने धारणा र परम्परा अनुसार भाटहरूले चकडोललाई आफ्नो गाउँ देखिने चालतिर पु¥याउन पछाडिबाट धकेल्न लागे । नायकहरूचाहिँ चकडोललाई आफ्नै गाउँबिचबाट लैजाने जुक्ति गर्न लागे । यो चलिआएको परम्परा थियो । धक्कामुक्का, तानातान चल्न लाग्यो । चकडोलका घण्टहरूले भयानक आवाज निकाल्न लागे । जोसिएका कण्ठस्वरहरूबाट निस्किएको जयनादले वातावरण नै थर्किन लाग्यो । चकडोल हुत्तिएर कहिले अगाडि कहिले पछाडि हुन लाग्यो । यसै धक्कमधक्कामा चकडोल हुत्तियो, सामानहरू हुर्रिए । धामी उछिट्टिएर एउटाको बुइ चढ्न पुग्यो । देवीका गहनागुरिया, सुन चाँदीका सामानहरू, भेटीका रुपियाँ पैसा सबै यताउता भए । केही सामानहरू फेला परे, केही लुकाइए, केही हराए । अनिष्टमा अनिष्ट थपियो ।
यी सबै घटनाहरूले गाउँमा उद्विग्नता छाएको थियो । आरोपप्रत्यारोप चलिरहेथ्यो । आगाको फिलुङ्गो शान्त हुन पाएको थिएन । स्वार्थी तच्वहरू पङ्खा हम्किरहेका थिए । अनि फेरि एउटा बतास चल्यो ‘प्यानीको जाँतमा पुजारीको छोराले जुवामा दस हजार हा¥यो, कहाँबाट त्यतिका पैसा ल्यायो उसले ? झुलाघाटमा आठ तोला सुन बेचेको’ हल्ला पनि चल्यो । देउकी र पद्मे मिलेर देवीको भण्डार रित्याइरहेका छन् । सार्वजनिक सम्पत्ति हिनामिना गरिरहेका छन् । डढेलो सल्क्यो, आगाका मुस्ला लप्लपाउन लागे । उजुरी प¥यो । थाना, अदालत, पञ्चायत, पुलिस, मुद्दा । मन्दिरको सम्पत्ति मासेको आरोपमा हामी चलान भयौँ । दुस्मनहरूले ताली बजाउने मौका पाए । कर्मचारीहरूले पैसा सोहोर्ने बहाना पाए । पुस्तौंदेखि बेथितिसँग राखिएको मन्दिरको सम्पत्ति, हामीहरू फस्यौँ, फसाइयौँ ।
“पुजारीका छोराले तलाई कति सुनचाँदी राख्न दिएको छ ? कहाँ– कहाँ राखेकी छेस् ? कस कसलाई दिएकी छेस् ?” हजार मुख, हजार प्रश्न । सबैको एउटै चाहना धन, काँचो मासु । जहाँ जाऊँ उही अनुहार । उही आँखा । यो लुछाचुँडीमा केही बचेन । गरगहना, धनसम्पत्ति । आश्चर्य लाग्छ यो ज्यान मात्र रह्यो कसरी ? बाँच्यो कसरी ? हुरुक्क भई किन निस्कन सकेन ?
जब देउताको सम्पत्ति मासेको आरोपमा पद्मे जेल प¥यो, मेरो रहे, बचेको एउटा सहारा पनि टुट्यो । म त जिउँदो सिनो भएँ । मासु लुछ्ने काग, गिद्धहरूलाई हात हल्लाएर धपाउने ताकत पनि शेष बचेन ममा । लुछ्नु लुछे, नोच्नु नोचे । मेरो क्रन्दन, मेरो हारगुहार सुन्ने कसले ? पानीमा बसेर कसले गोहीसँग दुस्मनी गर्न सक्छ ? शुभेच्छुहरू पनि मूक थिए । म त न्वालो थिएँ मैलौलीको ? जसलाई पानीको तृष्णा जाग्यो, आयो पानी पियो गयो । अनेकौँ अनेकौँ लोटाहरू, गाग्रीहरू, बाल्टिनहरू चोबलिए । कतिको याद गरूँ ? कतिको सम्झना गरूँ ? कालीको बगरमा भएका ढुङ्गाहरूभन्दा बढी यो छातीमा घाउहरू लागेका छन् । कसलाई देखाऊँ ? कोसँग पोखूँ ?
एक पटक एक ‘भद्र’ व्यक्ति रक्सीले मत्त भई मध्यरातमा ढोकामा लात हान्न आइपुग्यो । नाइँ भनूँ ? सुतेको बहाना गरूँ ? भोलि झन् ठुलो आपत् आउन सक्छ, भोलि झन् बढी यस्ता भद्रहरूको थिचाइमा पिसिनु पर्छ । लाचार मैले स्वागत गरेँ बगरको ढुङ्गाझैँ लम्पसार परेर । तपाईंं त्यो ढुङ्गामा बस्नुहोस्, सुत्नुहोस्, थुक्नुहोस् चाहे पूजा नै गर्नुहोस् । ढुङ्गाले केही प्रतिकार गर्छ र ? म पनि ढुङ्गा थिएँ, तर ममा चेतना शेष थियो । स्वाभिमान शेष थियो । उसले गिजोल्नु गिजोल्यो, लुछ्नु लुछ्यो, रातभरि । जब ऊ सबैतिरबाट तृप्त भयो, जाने बेला आफ्नो खल्तीमा हात हाल्दै मेरो रातभरिको मोल ति¥यो, मेरो शरीरको मोल, मेरो आत्माको मोल दियो, उसले एउटा चुरोट, मात्र एक खिल्ली चुरोट । म चुरोट पिउन्नथेँ । धूमपानको लत थिएन । तापनि खुसी खुसी स्वीकारेँ, सँगीको रूपमा, साथीको रूपमा । एउटा चुरोट र मेरो जीवनमा कत्तिको समानता ? कत्तिको साम्य थियो ? शनैः शनैः जल्दै जानु ; अरूलाई तृप्ति दिँदै आफ्नो मृत्यु निम्त्याउँदै जानु ? आह, चुरोट ? मेरो जीवन एउटा चुरोटभन्दा बढी थिएन ? मेरो मोल एउटा चुरोटभन्दा ज्यादा थिएन ? मेरो जीवन– एउटा चुरोट थियो ठुटिँदै गएको । मेरो जीवन – एउटा ढुङ्गा थियो, बगरमा मिल्किएको ।
बाहिरबाट पनि थुप्रै मानिसहरू आउने गर्दथ,े खास गरेर कर्मचारीहरू । कोही निरीक्षण गर्न, कोही तालिमका लागि उम्मेदवार छनौंट गर्न, कोही ऋण लगानी गर्न, कोही ऋण असुली गर्न । कत्तिकत्ति निहँु हुन्थ्यो सम्भाव्यता अध्ययन, तथ्याङ्क सङ्कलन । सबैको चाहना हुन्थ्यो सकेसम्म थोरै पैसा खर्चेर, पाएसम्मको मोजमस्ती । तिनीहरूलाई के फिक्री ? के सुर्ता ? उनीहरूको अङ्कशायिनी बनेर, हाँसी हाँसी सुतेकी नारीको छातीमा कति लाभाहरू उम्लिएरहेका छन् ? उनीहरूलाई माडा र लौन बनाएर खुवाउने देउकीहरू के खाएर जीवन निर्वाह गरिरहेका छन् ? हाम्रो इतिहास खोतलिन्थ्यो, हाम्रो कथा, व्यथा, समस्याहरूको, निवेदन प्रतिवेदन तयार पारिन्थ्यो । कानुन बनाइन्थ्यो ‘देउकी चढाउनु हुन्न, देउकीको बिहा गराइ दिनुपर्छ । यो कोढ हो समाजको ।” दिनभरि आदर्शको कुरा छाँटेर राति ब्वाँसो भएर घुम्दथे यिनीहरू । यी पाल्तु कुकुरजस्ता देखिने ब्वाँसाहरूलाई कसरी चिन्ने ? कसरी पहिचान्ने ?
.... यो वैतरणीमा साथदिने, सहारादिने पद्म पनि झ्यालखानामै म¥यो भत्रे खबर पाएपछि त आशाको एउटा त्यान्द्रो पनि बाँकी रहेको छैन । साँच्ची, जीवनको गोरेटो ज्यादै विकट र दुरूह हुनेरहेछ । यति छोटो समयमा धेरै अनकन्टार बाटाहरू हिँडिएछ । धेरै धेरै हन्डर, ठक्करहरूले यो छाती छिया छिया, विदीर्ण भइसकेको छ । बाँकी बाटो छिचोल्ने सामर्थ अब रहेन यो ज्यानमा । यत्रा व्याघात, विपत्ति र जीवनको विप्रलब्धले अब त यो कायाक्लेशबाट उनमुक्ति चाहिरहेछ, नाटकको पटाक्षेप चाहिरहेछ, आज यो देह । समाजका विकार, विकृति र फोहरहरू बोकेर अब यो नदी ज्यादै मैलो र घिनलाग्दो भइसकेको छ । एउटा निर्मल, स्वच्छन्द नदी, गन्दा नाली भएको छ । असङ्ख्य असङ्ख्य विनाशक जीवाणु र विषाणुद्वारा क्षत विक्षत पारिएको छ । एउटै चाहना रहेको छ अब यो यात्रालाई एउटा बिसौनी, एउटा विश्रान्तिको .....
....तर होइन, हत्केलाका सबै औँलाहरू कहाँ बराबर हुँदा रहेछन् र ? सबै एकै कहाँ हुन्छन् ? समाजमा कोही इमानदार, आदर्श तथा हितैषी पनि हुँदा रहेछन् । सबै लोग्नेमानिसलाई एकै जस्तो ठान्ने बानी परिसकेकी मैले एउटा दाजु जस्तै माया गर्ने कर्मचारी पनि पाएँ । जसको सही मार्गदर्शन र सिफारिसले मैले तालिममा भाग लिने मौका पाएँ । पहिलो पटक आफ्नो देशको केही भाग घुम्ने मौका पाइयो, महेन्द्रनगर, धनगढी, नेपालगन्ज, तानसेन, पाल्पा । आँखाका पर्दाहरू खुले । नर्मल तालिमको दस महिना कसरी बित्यो, त्यो थाहै पाइएन । “देउकीले मन्दिर छाडेर जानुहुन्न, अर्को पेसामा लाग्नुहुन्न, देवी रिसाउँछिन्, कुभलो गर्छिन” भन्ने अन्धविश्वासलाई तोडेर म आज एक तालिमप्राप्त शिक्षिका भएर फर्केकी छु । आज नयाँ जोस, नयाँ उमङ्गले म आफ्नो नयाँ जीवन थालनी गर्न व्यस्त छु । मेरो पेटमा गर्भ पनि छ । म भगवान्सँग प्रार्थना गर्छु, छोरी नै जन्मोस् । त्यो बिनाबाउकी छोरी भए तापनि मजस्ती देउकी हुने छैन । मैलेजस्तो अत्याचार, लुछाचुँडी भोग्नुपर्ने छैन, मैले जस्तो विवशतामा पिसिनु पर्ने छैन । उसमा नयाँ साहस, नयाँ विश्वास हुनेछ अनि त्यसलाई सहारा दिने हजारौं नयाँ हातहरू हुनेछन् ।

चाबहिल–७, काठमाडौँ
(“देउकी” गरिमा, वर्ष ४, अङ्क ६, पूर्णाङ्क ४२, जेठ २०४३ र पुनः प्रकाशितः गरिमा, कथा विशेषाङ्क वर्ष १८, अङ्क ५, पूर्णाङ्क २०९, वैशाख २०५७)
शब्दार्थः
१. झन्डा, २.आमा, ३.घुँडाभन्दा तल झारेर लगाइने फरिया, ४.मोही, ५. जात्रा, ६.गाग्रो, ७.कुँवा, ८. तँलाइँ भगवानको श्राप लागोस् । ९.रोटी जस्तो पीठो र घिउबाट बनाइएको विशेष परिकार, १०.रथ/देउताको आसन ।