Saturday, October 7, 2017

राराको यात्रा ; एउटा तरल सम्झना

राराको यात्रा  ; एउटा तरल सम्झना
======((=====))======== 

२०५३ मंसीरको पहिलो हप्ता । सरकारी नौकरीकै सिलसिलामा पुन: सय दिन ननाघ्दै मुगु जिल्लामा जानुपर्ने भयो । हिमपातको मौसममा घुच्चिलेक छिचोल्दै जुम्लाबाट गमगढी पुग्ने साहस जुटाउनै सकिएन । नयाँ ठाउँको परिचय पाइने आकर्षणको लोभमा नेपालगञ्ज- बाजुरा प्लेनमा जाने र त्यहाँबाट पैदल राराको भ्रमण गरि पश्चिम मुगु समेत हेर्ने निर्णयमा पुगियो । कोल्टी नजिक कर्णालीको खोचमा ०५१ को मध्यावधि निर्बाचनताका प्रहरी मोबाइल टोलीकासाथ मैले घुमीसकेको थिए । मार्तडी- कोल्टी पैदलमार्गका कतिपय मीठा सम्झनाहरु मसंग अझै थाति छन् । अष्ट्रेलियाली पर्यटकहरुलाइ खोजी उध्दार गर्ने कार्यमा यसै भेगको माथिबाट तत्कालिन प्रहरी निरीक्षक अरुण बि सी का साथमा एकपल्ट हुम्लाको यारि र सिमीकोटसम्म हवाइ गस्ती समेत गरेकोछु । एकरात हुम्लाको चिसो खाएर दोस्रो दिन नेपाल- चीन सिमाक्षेत्रबाट पर्यटक टोली सुर्खेत पु-याएको सम्झना अझै आलै छन । माननीय न्यायाधिश जगन्नाथ ढकालकासाथ यी खैरा भीरभरि देखिने बाटाका किरिमिरि धर्साहरु पछ्याउदै हेलिक्याप्टरबाट एक फन्को रारा घुमेर गमगढी ओर्लिएको पनि धेरै भएको छैन ।
यसपालाको यात्राको पहिलो मुकाम भने कोल्टि हुन पुगेछ । कोल्टि पुरानै पारामा कोल्टे परेर बसेको थियो । उपभोक्ता समिति मार्फत काम गराएको झोकमा स्थानिय ठेकेदार नेताले सिंचाइ कार्यालयका प्रमुखसंग झगडा गरेको हुँदा बाजुराका प्र जि अ समेत कोल्टीमै आइ बसेका छन भन्थे । केयर नेपालको कार्यक्रमको मध्यावधि मुल्यांकन गर्न उच्चस्तरीय टोली आइपुग्ने चर्चा पनि थियो । शाही नेपाल बायुसेवा निगमको हप्ताको दुई दिनको उडानका टिकट लिन चाहने यात्रुहरुको चाप उत्तिकै थियो । तर यसपाला यो सब मेरो सरोकारको बिषय थिएन । गमगढीबाट मेरा सहयोगीहरु आइपुगेका थिए । यात्राको सम्पुर्ण जोरजाम महिला बिकास अधिकृत बहिनी बिश्वमणि जोशीले मिलाइ दिएकी थिइन ।
" बाटो अप्ठ्यारो छ । राम्रोसंग जानुहोला है दाइ! " बिश्वमणिकै यी सात शब्दको आत्मिय सातुसामल बोकीवरि दोश्रो बिहान म सुदुर कर्णालीको पैदल यात्रामा हिडे । कर्णालीको पिलु पूल तरि मुगु प्रबेश गर्दा नितान्त नौलो परिबेश देखियो । मेरो यात्रादलमा सामेल एउटा जुम्ली घोडासहित म, प्रहरी हवल्दार र सइस समेत चार प्राणी सोझो हिडाइमा अप्ठ्यारो बाटो कुल्चदै गयौ । न भातको ठेगान न बासको । तै पनि हामी हिडी रह्यौ ।
मध्यान्ह तिर कर्णाली किनार छोडेर खत्याड खोलाको तिरैतिर उभो लाग्यौ । बस्ती बिस्तार कहाँसम्म छ, हेर्नै भ्याइन्न ।बेला बेला आउने चिसो स्याँठले जिउ चिरिएला जस्तो हुन्छ । बाटोमा ठाँडो जमेको खबरले झन झन आतङ्कीत बनाउदैछ । स्थान अनुसारको स्वभाव बनाउदै हामी फगत हिडीरह्यौ ।
प्रसंगबसात् यसै भुगोल नजिक जुकोट भेगको एउटा घटना याद आउदैछ । जातपातको सारै भेदभाव राख्ने यहाँको कट्टर समाजको एकजना ठगुरी बाबुसाहेबले यसै भेगको दलित लुहारको मृतक छोरासङ्ग बाबू-छोराको नक्कली नाता प्रमाणित गराइ भारतीय दुताबासबाट रु डेढलाख हात लगाएका थिए । भारतको कुनै कम्पनीमा रामबहादुर गोर्खा भनी नाम लेखाएका ती कामी पुत्रको सबभन्दा नजिकको नाता भन्नु नै गाउमा एकाघरका काकामात्र थिए । ती काका र बाबुसाहेबको नामको पहिलो र दोस्रो शब्द मिल्दथ्यो । थर लेखाएकै थिएन । बस्, यसै कानुनी छिद्रबाट नाता प्रमाणित र सनाखत गराइ क्षतिपुर्ति बापत कम्पनीले पठाएको रकम माथिल्लो खानदानले सजिलै हजम गरिदिएछन् । तर पछि रकम बाडफाँडमा कुरा नमिल्दा उजुर पर्न गै वास्तविकता बाहिर आएको थियो । काका कामिले रकम पाए नपाएको थाहा भएन, तर बाबुसाहेब यथास्थान यथावत नै रहेछन । बहुदलबादी बनेर अचेल जुन दल सत्तामा गयो त्यसैको नेता बन्दा रहेछन । बाटोमा यस्तै फट्याइ गरि बस्छन रे । तर यसपाला भेटिएनन । म र मेरा सहयोगी साथिहरु यस्तै भुभुल्का उठाउदै गुमनाम हिडदै रह्यौ ।
बाजुरा भेग पहिला नै धेरथोर बुझिसकिएको थियो । जुकोट नजिकै साप्पाटाम दलितहरुको डुमकोट पनि थियो। तर म त्यहाँ पुग्न भ्याएको थिएन ( अचेल त्यो मुक्तिकोट कहलिएको छ रे । ) पहाडी मुसलमानहरुको बसाइ भएको कोल्टी पारि डाडाको गाउँ ( नाम भुलेछु ) मा पनि जानै भ्याइएको थिएन  । खत्याड खोला भेटिएपछि भने म पहिलो चोटी यो भेगमा पसेको थिए । प्रमुख जिल्ला अधिकारीको हैसियतमा मुगु खटिएको भए पनि हामीहरु फगत एक यात्रीको हैसियतमा रारासम्म पुग्ने ध्याउन्नमा थियौ । कहिलेकाहि यस्तो यात्रा पनि रमाइलो हुन्छ । एक पल्ट बझाङ्गको बुंगलबाट चुहावन सैनपसेलाहुदै चैनपुर जाँदा पनि खसीबाख्रा किन्ने ठेकेदार बनेर हामी गाउँ डुलेका थियौ  । कतै खाना पाइएन । निदानत: पसेलाको पुलिस चौकीमा पुगेपछि मात्र खाने जोहो मिल्यो । त्यो रमाइलो यात्राको वर्णन स्वर्गीय प्रहरी निरीक्षक डम्बरसिह खत्री पछिसम्म गरिरहनु हुन्थ्यो । यसपाला भने यो दुर्गम भेगमा त्यस्तो कुनै दुर्बोध तत्व भेट्टिएन । केही झलकहरुले भने हामीहरुलाइ बाटो काटने मेसो दिदैछन । बाटोको कुरा गराइ यिनै बिषयमा केन्द्रित रह्यो ।
-कोट पैण्ट र कालो चश्माको पहिरनमा सुल्पा तान्दै बसेको यौटो आधुनिक सुदर्शन युवकले बास र बाटोको बारेमा दिएको जानकारि हिडदै जाँदा गलत प्रमाणित भयो । हामी बेकारमा अलमलियौ मात्र ....
- सुकाढीकको गाउँमा खानेपानीका पाइपहरु मुठा पारेर यत्र तत्र छरिएका थिए । बाटोभरि पानी छ्यालब्याल्ल थियो । तर स्थानिय महिलाहरु डोकोभित्र गाग्री राखी टाढाबाट पानी बोक्दै थिए । एउटा जननेता हामीलाइ बताए-" बिकास जति हप्पै बाँडियो , हजुर । पैसा पुग्न्या नाइ । यो योजना अधुरै छ ।…. "
- खत्याडखोलाको वारिपारिका दुइटा अग्ला अग्ला स्थानमा एउटै बिद्यालयले केन्द्रको सत्ता परिबर्तनसंगै लुकामारी खेल्दो रहेछ । यो बर्ष खोलापारी स्कुल कायम थियो । वारीको बिद्यालयभवन र बिद्यालय हाता बिरान देखिन्थ्यो । … आदि ।
- समयजस्तै निरन्तर बगीरहेको खत्याडमा गतिलो पूल कतै छैन । बाटोमा ठडिएका अक्कर पहिराहरु छल्दै र ठाउठाउमा वारीपारी खोला तर्दै हिडनु यो यात्राको नियमित नियति थियो । हामी निरन्तर हिडी रह्यौ ।
आजको बास रातापानिको कार्की होटेलमा परेछ । घ्यु भात खाएर कर्मनिष्ठ बुढा कार्कीको गफ सुन्दै थाकेको ज्यान कुनबेला सतेछ , थाहै भएन । बिहान भने सेरी भन्ने स्थानमा भातको जोहो मिल्यो । करानका भोटेहरु धानचामल खरीद गर्न यतै ओइरिएका रहेछन् । सेरी र गम्थाबाट मात्रै हजारौको खाध्यान्न बाहिरिन्छ रे। तर पनि समष्टिमा मुगु खाद्यान्न न्यून हुने सबभन्दा गरीब जिल्ला मानिन्छ।
तै पनि खत्याड खोलाको हरिया फाँटहरु हेर्न लायक थिए । तरकारी लाएको भने कतै देखिएन। यहाँका महिलाहरुको इस्पाति श्रमको परिणति उल्लेखनिय छ । तर राजनैतिक बादबिबादमा मात्र रुचि राख्ने स्वघोषित बुद्धीजिबिहरुलाइ फुर्सद नै कहाँ हुन्छ र ? वैभव मुन्तिर गरिबी र अशिक्षाको अर्को कुरूप तस्बिर छ । राराको पार्श्वबर्तो यो लोकमा श्रमको मोल छैन, खाद्यान्न चाहिने जति जहाजमा सरकारले बोकेर लैजानुपर्छ ।
हामीले खाना खाएको कथित होटलको आगनमै एकजना तराइबासी शिक्षक यस बर्षको कक्षा ८ को जिल्लास्तरीय परिक्षामा गम भेगकालाइ प्रथम र द्वितीय बनाएकाले आफुले बिरोध गरिवरि यो भेगका छात्रलाई प्रथम बनाएर आएको दाबी गर्दै थिए । शिखरभन्दा बिजुली चुरोट मनपराउने एकजना खोले बादसाह यसपटकको अबिश्वास प्रस्तावलाइ सरकारप्रति समयको माँग मानेर आफुले समर्थन गरिरहेको धक्कु पेल्दै थिए । एकजना प्रौढ दमाई बाटोमा समेत लुगा सिउने कुरा निकालेर आफुलाइ हेपेकोमा रिसाएर सानो बच्चालाइ हप्काउदै थिए । नजिकै खोलाछेउको धारामा तरुनी र अधबैसे महिलाहरुका जमात जर्सी गाईको सुधो बथान जस्तै लगभग नाङ्गै भुतुङ्गै नुहाउने धुने काममा लागेका थिए ।
यिनै र यस्तै परीदृश्यसंगै खत्याड खोला बिपरित दिशामा बग्दै थियो । हाम्रो यात्राको तेस्रो दिन भने बाँउपानीको एक्लो घरमा बिसाउनुपर्ने भयो । एउटा मात्र सिंगो कोठामा हाम्रो यात्रादलमा सामेल भएका जुम्लाका आत्रेय गोत्रोत्पन्न तीनजना भट्ट समेत ६ जनाको जमात लहरै तेर्सिएर त्यो चिसो रातलाइ येनकेन बितायौ । साहुको कोते धन्दा र भट्टका गफगाफले रात त छर्लङ्गै भयो । ३ बजे बिहानहेर्दा त घोडा गायब थियो । बिहानभरि घोडा खोज्नमै बित्यो । ९ बजेतिर तुषारो र हिउँ जमेर बनेको ठाडोमा चिप्लिएर भीरमा अडकिएको घोडा बल्ल भेटियो । नानाथरी स्थानिय उपाय निकालेर घोडालाइ बाटोमा पुर्याएपछि मात्र रमाइलो नरमाइलोका बीच आजको यात्रा शुरु भयो । जमेको हिउका थुम्काथुम्की बनेका नौला दृश्य हेर्दै १२ बजेतिर खत्याडको शीर्षस्थान राराको मैदानमा पुगीन्छ ।
साहसी पर्यटन ब्यबसायी कृष्णकुमार नेपालले नौ लाखको लागतमा खोलेको होटल ट्रायङ्गल अर्थ ( triangle  earth  ) का एकला चौकिदारले हाम्रो स्वागत गरे । बिहानको खाना स्वादपुर्बक यसै होटेलमा खायौ । मोंपासाको कहानीमा दरिएको  पर्बतीय होटल ( mountain inn ) सायद यस्तै हुदो हो ।
कार्तिक - चैत्रसम्म हिउँ पर्ने यो ठाउँमा सरदर २०० जना बिदेशी पर्यटक आउदा रहेछन् । यो यात्राको अन्तिम लक्ष्य राराको आगनमा पुग्दा बाटोको थकानले जिउ थिलथिलो भएकोछ, तर मन तरल हुँदैछ र भावनाहरु प्रबल हुँदैछन् । चिसो हावासित उडीरहेका ताता अनुभुतिसङ्गै राराको प्रथम दर्शन पाइन्छ । नेपालको सबभन्दा सानो निकुञ्जमा लकेर बसेको देशकै सबभन्दा ठूलो ताल , महेन्द्र राराताल । २९९० मिटरको उचाइमा १०.८ बर्ग कि मि क्षेत्र ओगटेको १५७ मिटर गहिरो ताल । चारैतिर चीड, गोब्रे सल्लो र देवदारको स्थावर जगत छ । दक्षिण किनारको मिलिचौर मैदान र उत्तरतिर सेनाको ब्यारेक । टाढादेखिने झलझलायमान छायानाथ शिखरको प्रष्टै पानी छाया । राराको कञ्चन पानीभित्र रङ्गीन मत्स्य संसार । स्वर्ग, मर्त्य र पातालको त्रिकोण बिन्दु यसैतालमा पर्छ जस्तो लाग्छ ।
भोटे भाषामा बोका बाख्रा पाल्ने ठाउँलाइ रारा भनिदोरहेछ । राजादहलाइ कालान्तरमा रारादह भनिएको पनि हुनसक्दछ । छायानाथ ठाकुरले बाण हानेर खत्याडखोलाको बाटो राराको निकास खोलिदिएको भन्ने किम्बदन्ती पनि सुन्न पाइन्छ । पौराणिक कथा अनुसार सतिदेबीको बाँकी सम्पुर्ण अंग खसेको कारण शिबरुप छायानाथ र शक्तिस्वरुपा ऋणमोक्ष देबीको स्थापना भएको हो । नेपालगञ्ज जुम्लाको हवाइ यात्रापछि डाँफे र घुच्चीको लेक काटेर यहाँ पुग्न ठ्याम्मै दुई दिन लाग्दछ । कोल्टीबाट भने ३ दिन हिडेर शरीर गलेकोछ ( अचेल ताल्चा बिमानस्थलमा प्लेन आउछ र मुगुमा मोटरबाटो पुगेको छ रे । )  यो दुरुह यात्रा-पथको थकानका बाबजूद राराको सुन्दर देहयष्टिमा पथिक- दृष्टि-अभिसार अनबरत चलिरहेकोछ । ख्वै किन होला? आज मेरो मन-बृन्दाबनमा कल्पनाले मीठो मुरली- धून खन्याइ दिएकोछ । भावनाको अटेस मटेसले अस्तब्यस्त बन्दै गएकोछु । बिपन्नबस्तीका अभाव अनुभुतिहरु बिझाइला लागेका छैनन । राराको जलाबरणमा धर्सा कोर्दै हिडेका जलहाँसहरु जीवन दर्शनको विद्यार्थी बन्ने रहर उब्जदैछ । सिंजा सम्राटहरुले हिडेको यो बाटोमा राजा महेन्द्रको भ्रमण नभएको भए राराको यो भुगोल नेपालीले समेत थाहा पाउदैनथे होलान ।
विज्ञानप्रविधिले निम्ताएको विकास र विनाशबाट रारा धेरै टाढा छ । फेरि पनि रारा सुन्दर र शान्त छ । राराको महिमा प्रचारप्रसार हुन सके पर्यटकले भरपूर मनोरञ्जन लिन सक्ने निर्विकल्प गन्तव्य हुनसक्छ । यसैबाट रोजगारी र विदेशी मुद्रा आर्जन गर्ने अवसर पनि जुट्न सम्भव छ । रारा मानिसका लागि सुखको वर्षा गराउने सम्पदा बन्न सक्छ । यतिमात्र होइन, हामीलाई प्रकृतिले रारा जस्ता हजारौं बरदान यही मुलुकभित्रै दिएको छ । यी सम्पदा हाम्रा पेवा हुन् । तर पनि यस्ता चिजको उपयोग गरेर अझै किन नेपालीको भाग्य बदल्न सकिएको छैन ? मनमा यस्ता छालहरू आउँछन् । काठमाडौं सहरबाट ‘रारा' धेरै दूर छ । सामान्य हिसाबले पुग्न सजिलो छैन । तर जब पुगिन्छ, त्यसको परिवेशसँगै डुबेर एकैछिन हराइन्छ ।
रारा विहान बेग्लै हुन्छ, दिउँसो अर्कै, बेलुका बतास चल्दा एउटा हुन्छ , नचल्दा अर्कौ । निर्मल आकाश र चाँदनी रात संसारका सारा दु:ख बिर्साई दिने हुन्छन् । यस्तो मनोरम रातमा राराको सौन्दर्य जसले हेर्ने अथवा सुन्ने सौभाग्य पाएको छ त्यहां पुगी यस्तो दृश्य नहेरी उ रहन सक्तैन । चन्दननाथ गुल्मको १९८ औ बार्षिकोत्सबमाप्रमुख अतिथि भै भागलिन पाउँदा रारा किनारमा दिनभरि सिङ्गो समय बिताएको सम्झनाले अहिले पनि रोमान्च गराउछ । तत्कालिन गुल्मपति मेजर जीतेन्द्रबीर सिंह बस्न्यातले भने जस्तै राराको अप्रतीम सौन्दर्यलाइ विश्व सामु चिनाउनसकेको भए मुगुको अनुहार नै बदलिने थियो ।
झट्ट हेर्दा यस तालको निकास छैन कि जस्तो लाग्दछ । तर पश्चिमपट्टिको अन्दाजै गर्न नसकिने अग्लो डांडातिर यसको निकास छ । रारातालको केही घण्टाको उकालो हिडाई पश्चात मुर्मा गाउँको माथीबाट समग्र रारातालको पुरै दृश्य अवलोकन गर्न सकिन्छ ।
मुगुको मानसिकता बारे जिल्ला सदरमुकाममा मैले रमाइलो किस्सा सुनेको थिए । गमगढी पारीको तीखो चुचुरामा रहेको ढिस्कोका कारण यस चिसो ठाउमा सारै ढिलो घाम झुल्किन्छ । कुनै बेलाका स्थानिय राजाले यो ढिस्को नै फोर्ने महत्वाकांक्षी योजना बनाएछन र सारा रैतिलाइ काममा लगाएछन । एकदिन निरीक्षणमा जाँदा त १२० जना जथाभावी आफुखुशी माटो खोस्रीरहेका र १८० जना सुल्पा तान्दै बसिरहेका भेट्टिएछन । निदान: योजना थन्कियो । अहिले पनि सदरमुकाम गमगढीमा सारै ढिलो घाम आउँछ र सामाजिक जागरुकताको यथार्थ पनि लगभग त्यस्तै छ । सवालाख जनसंख्या भएको मुगुमा ०५१।०५२ सालमा शिक्षातिर बार्षिक ३ करोड रुपियाको बजेट थियो । जिल्लाभरि आधा दर्जन स्नातक र डेढ दर्जन उच्चमाध्यमिक शिक्षा उतिर्ण जनशक्ति मात्र मुगुमा देखिन्थ्यो । प्राय: शिक्षकहरु भारतिय सर्टिफिकेटधारी थिए । तराइबासी शिक्षक भरमार भर्ना भएको यो जिल्लामा शिक्षाका हाकिम    " मोटाएर " जाने गरेको दृष्टान्त यहाँका जानकार मुखाग्रै सुनाउछन । बिकासे बोकाहरु काटेर खाइएका चर्चा पनि सुनिन्छन । मुगुको राजनीति खाद्यको कुप्पनमा खेलिदो रहेछ ।
मुगुको दुई महिने बसाइकै क्रममा तिनै लोकको सौन्दर्य समेटेको एकान्तप्रिय राराको आगनभरिको यसपालाको सरस यात्रा निख्रिन्छ । म भन्न सक्छु, रारा राराजस्तै छ । जीवन यस्तै यात्राहरुको सरल समीकरण मात्रै न हो । अझै पनि कर्णालीको ग्रामिण धरातलको शब्दचित्र यहाँकै लोकगीतबाट प्रष्ट्याउन मिल्दो रहेछ।
जेठा मुख्ख्या, माइला धामी, कान्सा छन् हेराउन्या ।
एकै घर तीन पगणी, गाउँ गर्खा  घुमाउन्या ।।

=== अस्तु ===
( यो लेख प्रेम कैदीको सम्पादकत्वमा निक्लिने " मालिका साप्ताहिक " को मिति ०५४ मंसीर २ सोमबारको बर्ष१ अंक १५ मा अग्रलेखको हैसियतमा प्रकाशित भएकोछ । शिर्ष फोटोको सौजन्य- साभार- गुगल )

No comments:

Post a Comment