Saturday, October 7, 2017

बुढाको बेदना

बुढाका बेदना


ऐना हेर्छु  अतीतका मनमनै सम्झन्छु सब झलझली ।
पैलेका अनुहार बदलिन गए सारा भए नक्कली ।।
बोल्दैनन् घरका सदस्य अब ता आफन्त भन्नेहरु ।
बोलीमा पनि बीस घोलिन गयो ख्वै के भनु के गरु?।।1।।
भेटौं  भन्छु समस्त भाइ बहिनी वल्ला र पल्ला पनि,
कल्ले भन्छ र भेट हुन्छ सजिलै मिल्दैन चाँजो पनि ।।
आफ्नै सोची अनेक सिर्जन गरे ऐले म एक्लै भए ।
पापी यो मनले समाल्छ कसरी आफनै पराया भए ! ।।2।।।
घुम्ने मन छ, समस्त तीर्थहरु औ सुन्दर शहर सरसरी ।
सोची मात्र हुदैन केहि अब ता बाधा थपिए कति।।
आफ्नै देह पनि अशक्त हुन गो सर्बाङ्ग ढिला भए ।
यो मोरो मन कुद्छ युवक बनी बुझदा त बूढो भए   ।।3।।
वास्ता राखी भबिष्यको जिनिस जो साँचेर राख्ने गरे ।
काया जीर्ण हुँदा अरुहरु मिली खाएर सक्ने भए ।।
मेरो त्यो श्रमको सबै परिणति, हा दैब ब्यर्थै गए  !
पुर्खाको इतिहासको सुद समेत निर्लज्ज खाने भए! 4।।
पर्नुसम्म खिया प-यो मन बदन छाडने भयो त्यो गति ।
भन्छु सुस्त बनुँ बसुँ तर पनि बेकामको छटपटी ।।
यात्रा जीबनको बिरानपथको पर्दो बिपदमा प-यो ।
थोत्रो गाडी भएछ जर्जर जरा कुद्नै नसक्ने बन्यो ।। 5।।
ऐना हेर्दछु सोच्छु आफू त उही  देखिन्छु कि क्यै गरी  ।
पोता दागहरु मुहार भरीका छोपिन्न केही गरि ।।
काला केश फुले, ललीत बयका गाला सबै खुम्चीए ।
हा दुर्दैब! कहाँ लगीस् बदनको त्यो लालीमा के गरे! ।।6।।
खाऊँ भन्छु उसै गरि घरी घरी कमजोर दन्तावली ।
आफनो सीप र दक्षता समयले पार्ने भयो नक्कली ।।
तातो देखि सहन्न शीतल भए खोकेर गर्नु  गर्यो ।
यो बूढो तन ब्यर्थ भो  मन भने बेताल कुदने भयो ।।7।।
मीठो खानु हुदैन भन्छ , घरमा खानु छ  खल्लो कति,
तर्कारी नुनतेलमा पनि अहो ! मिल्दैन भान्सा रति।।
बेग्लै खाऊँभने छ एकथरिको झर्को र फर्को अति ।
आफ्नैले पनि स्वार्थमा परिवरी हेप्ने गरेको कति ।।8।।
छोरी छन् ससुरालमा छन यता छोरा बुहारि सित ।
बुढाहेरु परे सबै बिलखमा को बस्छ यस्तासित ।।
यस्तै काल दशा रहेछ सबले भोग्ने बेहोर्ने भनी ।
सारै खिन्न हुदोछ चित्त यसको को बुझनसक्ला गति ।।9 ।।

=भानदेव बडू
महेन्द्रनगर
२२-६-२०७४

No comments:

Post a Comment