पुरानो बेला ; अचेलको समय
( लेखक-भानदेब बडू )
प्यारा भाइ बहिनीहरु!
के तपाईंलाई यस्तो प्रश्न थाहा छ, जसको उत्तर क्षण क्षणमा बदलिदै जान्छ । निसन्देह यो प्रश्न र यसको उत्तर तपाईंलाई रमाइलो लाग्नेछ । किन भने हाम्राे पुरानो भनाई अनुसार निरन्तर परिबर्तन भैरहने स्वरुप नै रमणीय हुन्छ । यस्तो रमाइलो प्रश्नको रमाइलो उत्तर खोज्न धेरै टाढा जानुपर्दैन । अचेल भित्ता मात्र हैन, हात हातमा यस प्रश्नको उत्तर टाँसिएका हुन्छन् । तर जतिपल्ट प्रश्न सोधियो, त्यतिपल्ट अलग अलग उत्तर प्राप्त हुन्छ ।
हो, भाइ बहिनीहरु!
यसरी प्रतेक पल बदलिइ रहेको अबस्थालाई हामी समय भन्ने गर्दछौ । समयको नाप क्यालेण्डर, घडी वा पात्रबाट लगाइरहेका हुन्छौ । तपाइँले यो लेख पढ्दापढ्दै समयको सानो अंश बदलिएको हुनेछ । हामी जन्मेर मर्दासम्म कैयौ दशक लाग्दछ । यो धर्ती करोडौ बर्ष पुरानो छ । हाम्रा सभ्यताहरु हजारौ बर्षमा बिकसित भएकाछन । र समयको कुनै दिन यो सब सकिनेछ ।
सारांशमा भन्न खोजिएको कुरा केहो भने समय गतिशील छ । हिजो जस्तो आज छैन, आज जस्तो भोली रहनेछैन । समयको नापखोजको खेल बडो मनोरंजनपुर्ण छ । किनकि बर्तमान चलायमान छ, भबिष्य अनिश्चित छ र अतीत सम्झनामा मात्र रहन्छ ।
आउनोस, आज हामी पनि आधा शताब्दी अगाडीको हाम्रा गाउँको स्कुले जीबनतिर अन्तर-दृष्टि लगाउँ । त्यसबेला आकाशको घाम हेरेर समयको अडकल काटिन्थ्यो । कंप्युटरको कल्पना समेत गारो थियो । कागज कलम मुश्किलले पाइन्थे । तर गाउघरमै बनाउन सकिने शैक्षिकसामग्रीमा आधारित त्यो पढाइ पुर्णत: स्वाबलम्बी थियो । मसीनो माटो फिंजाएर कुनै छेस्काले धर्सा कोर्न मिल्नेगरी बनाइएको एकप्रकारको लामोपाटिमा लेखेर अक्षरारम्भ गराइन्थ्यो । सजिलै लेख्न र मेटन सकिनेहुदा पुराना ज्योतिषीहरु अद्यापी यस्तै धुलौटोमा हिसाब गरेर ग्रहदशा निकाल्ने गर्दछन् । यसै गरि कमेरो माटो पानीमा भिजाएर निंगालाको कलमले लेख्न मिल्ने काठको सानो तख्तीलाई पाटी भनिन्थ्यो। चौकोर पारिएको स्लेट पत्थरमा खरीढुङ्गाले लेखेर गणित सिक्नुको आनन्द नै अर्को थियो ।
हुनेखानेले मात्रै बर्णमालाको किताब किनेर राख्न भ्याउथे । सामान्यतया अक्षर चिनाउने तरिका समेत आफ्नै खालको हुन्थ्यो । यसमा प्रयोग गरिने बस्तु वा बिम्ब पुर्णत: स्थानिय हुन्थे र सजिलै बुझिन्थे । " ए फोर एप्पल " भनेर अक्षर चिनाइने यो जमानामा त्यो पुरानो तरिकाको उल्लेख गर्नु पनि सान्दर्भिक नै हुने ठानी यहाँ प्रस्तुत गरेकोछु ।
यथा-
कपुरी- क, पेटथोप्ले- ख, गाईगोडे- ग , घरजस्तो- घ , बिन्दा- ङ ।
तीखो- च, छपरे- छ, जङण्या-- ज, झकुल्या- झ, खम्या - ञ ।
टाठो- ट, कण्ठ मिलायो- ठ, डेणबाङो- ड, कुकुरपुछणी- ढ, तिनधणके- ण ।
ताली जसो- त, मुंडोमोण्यो- थ, देलिजसो- द, कन्जठ्या- ध, नफरे- न ।
प-या- प , फाउण्या- फ, पेट फाण्यो- ब, भकारी- भ, मुख मिलायो - म ।
बूढो- य , औल्या- र , लुलो- ल , बाटुलो- व, मोटो- श, पेट फाण्यो- ष, पातलो- स ।
हलो जसो- ह, क्षेत्री - क्ष, दुई औले- त्र, ज्ञानी- ज्ञ ।।
यति मात्रै हैन, बाह्रखरी, दुनोट, संस्कृत र नेपालीका लामालामा श्लोक मुखाग्रै पार्नु पर्थ्यो ।
अचम्भ लाग्छ, भाइबहिनीहरु! हाम्रा बेद शास्त्रहरु सुनेर मुखाग्र पारि अर्को पिढीलाइ हस्तान्तरण गरिदै हजारौ बर्षसम्म सुरक्षित राखिएका हुनाले श्रुति भनिन्छन् । मानिसहरुले भोजपत्र, बाँसका बोक्रामा लेख्न सिके पछि मात्र किताबको चलन आयो । स्थानिय बिरुवा लोक्ताबाट बनाइने " नेपाली कागज" देखेकै होलाउ । मसी समेत आँप, काफल, बाँज वा किरमणाका बोक्राबाट बनाइन्थ्यो ।
त्यसबेलाका गुरुहरु अहिलेका ब्याबसायिक जस्ता थिएनन । आफ्नै श्रमनिष्ठामा बिश्वास राखने, बिद्यार्थिहरुका हितका लागि निरन्तर क्रियाशील गुरुहरु समाजका गहना थिए, प्रेरणाका श्रोत थिए । उनका प्रतेक आदेश अकाट्य हुन्थे ।
आजभन्दा ५०-६० बर्ष पहिले समेत अहिले जस्तो बाटोघाटो थिएन । छापाका किताब कम पाइन्थे । घरमै पंडित राखेर पढाउने चलन पनि थियो । शासकबर्गमा समेत स्कुल खोल्नु भनेको समस्या निम्त्याउनु हो भन्ने मानसिकता थियो । महेन्द्रनगरदेखि काठमाडौं पुग्न २०९ कोष पैदल हिडनु पर्थ्यो ।
उहिलेका कुरा सम्झिदा अहिले प्रारंभिक शिक्षाको अबसर सबैलाई उपलब्ध छ । बिद्यालयका आआफ्ना भवन छन । विभिन्न शैक्षिक सामग्रीसमेत उपलब्ध छन । शहरका बिद्यालयहरु मा त साधारण जोडघटाउ देखि जटिल गणितीय समाधान खोज्न समेत अदभूत बिद्युतीय यन्त्र छन ।
तर समय फेरी पनि रोकिनेवाला छैन । हाम्रो समाज तिब्र रुपान्तरणको क्रममा छन । आआफ्ना परिबेशमा सबै सचेत छन । अहिले शिक्षा, ज्ञान वा शक्तिको पनि परिभाषा फेरिएकोछ । नेपालमा पनि त्यो दिन टाढा छैन, आफनै कोठामा बसी दुनियाको नामि बिश्वबिद्यालयको कक्षा-कोठाको अवलोकन गर्न सकिनेछ र त्यहा भैरहेको छलफलमा समेत सहभागी हुन सकिनेछ । पृथ्बीको एक कुनामा बसी अर्को कुनाको गतिबिधि नियाल्न सकिनेछ । यसै अर्थमा बिद्यार्थीहरुले पनि ज्ञानको नयाँ क्षितिज उघार्नु आबश्यक भएकोछ । कहिले नरोकिने समयको भरपुर प्रयोग गरेर मात्र यो सब संभव छ ।
अचेल युवा बिद्यार्थिहरुलाई तताएर, सु-याएर, सडकमा उतारेर आफनो दुनो सोझ्याउन असंभव आशा देखाउने तत्वहरु समेत समाजमा सक्रीय छन् । बाधा ब्यबधान र तडकभडकबाट सतर्क भएर निरन्तर बगीरहने समयसंगै समयकै सदुपयोग गर्नु नै विद्यार्थी जीबनको महतम कर्तब्य हुन आउँछ । ब्यबस्थित र प्रतिबद्ध जीवन बाच्ने अभ्यास गरीरहनु पर्दछ । गतिमान समयले हामीलाई यहि भन्दछ । याद गरौ- न समय यस्तो थियो, न यस्तो रहनेछ।
********
No comments:
Post a Comment