( अखण्ड भण्डारीको यो बिचार/ लेख २० असौज २०७० को कान्तिपुरबाट साभार गरिएकोछ । )
जन्ता जुटे के सम्भव हुँदैन ?
यसको जवाफ हो नवलपरासीको मौलाकालिका मन्दिर । हिजो घटस्थापनाको दिन म त्यहीं मन्दिरमा थिएँ । जंगलभित्र डाँडामा रहेको यो मन्दिरमा हजारौंको भीड थियो । प्रसिद्ध त्रिवेणी धामलाई छाडेर उकालो लागेपछि आउने यो मन्दिर सम्भवतः नेपालकै व्यवस्थित धार्मिकस्थलमा पर्छ । यहाँ पुग्न साढे दुई किलोमिटर उकालामा सिंढी नै सिंढी बनाएर ढुंगा बिछ्याइएको छ । यसमा एक हजार आठ सय बयासी खुड्किला छन् । पूर्वडीआईजी ज्ञानेन्द्रविक्रम महतको सक्रियतामा स्थानीय बासिन्दा जुटेर यो मन्दिरलाई यो अवस्थामा पुर्याएका हुन् । पाँच हजार रुपैयाँ चन्दाबाट उनले सुरु गरेको यसमा दाताहरूको दस करोड रुपैयाँभन्दा बढ्ता जुटिसकेको छ । भव्य हेलिप्याडदेखि धेरैखाले पूर्वाधार बनाइसकेको छ यसले । धेरै तलबाट मेसिनले तानिएको पानीले यसलाई धानेको छ । चितवनमा डीएसपी हुँदा महतले प्रहरीलाई स्वयंसेवामा खटाएर यसको पूर्वाधार निर्माण गरेका थिए । भग्नावशेष भएको मन्दिर स्थानीय बासिन्दाको पनि सक्रिय सहभागितामा भव्य बनेको छ ।
साउनको अन्तिम सोमबार भक्तपुरको डोलेश्वर मन्दिरमा पुग्दा त्यस्तै अनुभूति भएको थियो । भारतको प्रसिद्ध धाम केदारेश्वरको मन्दिर बगाएपछि त्यहाँको पूजा डोलेश्वरमा गर्न थालिएसँगै भीड अति बढेको छ । कुनामा रहेको यो मन्दिरमा अचेल दैनिक हजारौं तीर्थालु पुग्छन् । व्यवस्थित बनाई नसकेको अवस्था भए पनि स्थानीय स्वयंसेवक परिचालन उदाहरणीय छ । लाइनमा बस्नेलाई कुपन दिइन्छ, ताकि कोही पनि चोरबाटोबाट अघि बढ्न नसकोस् ।
केदारनाथ लाखौं तीर्थालु जाने धाम हो । बाढीले बगाएपछि यो बन्द छ । बाटोसमेत अवरुद्ध भएकाले पूर्ववत् सञ्चालनमा आउन यसलाई अझै तीन वर्ष लाग्ने भारत सरकारको अनुमान छ । र, त्यहींको पवित्र पूजा नेपालको डोलेश्वरमा हुनु हाम्रा लागि ठूलो अवसर हो । सरकारले चाहने हो भने यही मौकामा यसको भव्य विकास गर्न सक्छ । र, भविष्यमा पनि केदारनाथको विकल्प तयार गर्न सक्छ । नेपालका गाउँगाउँबाट मात्र होइन, भारतबाट समेत तीर्थालु तान्न सकिन्छ । यस्ता अवसर बेलाबेला भाग्यले आउने हुन् । तिनको उपयोग गर्न नसक्नु हाम्रो सरकारको नालायकी हो । कच्ची र साँघुरो सडकमा दैनिक सयौं गाडी बिजोगले पुगिरहेका छन् । बाटो तत्काल पिच र विस्तार गर्नुपर्ने अवस्था छ । तर, ध्यान कसैको छैन ।
हाम्रो देशमा धार्मिक पर्यटनको सम्भावना धेरै छ । मौलाकालिका, डोलेश्वरजस्ता स्थानीय बासिन्दाको पहलमा गरिएका विकासलाई छाड्ने हो भने सरकारका तर्फबाट यसमा चासो दिएको पाइँदैन । विश्वसम्पदा सूचीमा रहेको पशुपतिलाई व्यवस्थित गर्न बाँकी धेरै छ । पशुपति विकास क्षेत्रलाई नै सफासुग्घर र हराभरा बनाउन सकिएको छैन । व्यवस्थित ढंगले दर्शनको बन्दोबस्त गरिएको छैन ।
केबुलकार पुगेर देशमै नमुना बनेको मनकामना मन्दिरमा केबुलकारबाट झरेपछि अघि बढ्दा फोहोरै फोहोर देखिन्छ । मान्छे हिँड्ने बाटामा बर्खामा पानी गलल बगिरहेको हुन्छ । त्यति थोरै बाटो त बगैंचासहित आकर्षक बनाउन नसकिने होइन ।
घरअगाडि सडक बनाउन दस हजार रुपैयाँ नदिनेले मन्दिर बनाउन बीस हजार सजिलै दिन्छ । धर्म त्यति संवेदनशील पक्ष हो । मौलाकालिकामा जस्तै सहयोग जुटाएरै पनि कति धार्मिकस्थल विकास गर्न सकिन्छ । तर, कोही न कोही अग्रसर हुनैपर्छ । सरकारले त्यस्तालाई प्रोत्साहन पनि गर्नुपर्छ ।
अमेरिकीहरूले आफ्ना चर्चमा संसारभरकालाई स्वागत गर्छन् । बिस्तारै धार्मिक प्रभाव पार्दै जान्छन् । हाम्रो पशुपतिमा भने हिन्दुहरूका लागि मात्र भन्ने बोर्ड राखिएको छ । यो धार्मिक संकीर्णताको नमुना हो । हाम्रो धर्म, संस्कृति र परम्परालाई जतिसक्दो सर्वव्यापी गराउनुपर्छ । पर्यटकलाई सकेसम्म आकषिर्त गर्नुपर्छ ।
नेपालमा पाश्चात्य धर्म र संस्कृतिको प्रभाव बढ्दो छ । बर्सेनि हजारौं चर्चहरू खुलिरहेका छन् । तर, धार्मिक र पुरातात्त्विक महत्त्वका कतिपय मन्दिरहरू भत्किँदै गएका छन् । त्यस्ताको खोजी हुन सकेको छैन । मन्दिरै मन्दिरको सहर भनेर चिनिने काठमाडौंमा कतिपय मन्दिरहरू पाटीजस्ता बनिरहेका छन् । कतिपय कुकुर र गाईबस्तुका बासस्थानमा सीमित हुँदै गएका छन् । तिनको पनि मर्मतसम्भार गर्न ढिला भइसकेको छ ।
No comments:
Post a Comment