Friday, July 27, 2018

रागसपुरको राज्य


रागसपुरको राज्य ?
---------******--------

रागसपुरको राज्य होलो हौउ , मनेषु हम कै का,
मनेषु हम कै का गुसाइ मेरा, मनेषु हम कै का ।।

गाउँमा गौरापर्बको रमाइलो रौनकसंगै भन्डारको खऽला ( चौर, मैदान ) मा स्थानिय द्यौताको आव्हान गर्दै यो धार्मिक गाथाको गीत गुन्जीरहेको हुन्थ्यो । ढोलङा ( एक प्रकारको बाद्य यन्त्र ) का लयबद्ध तालमा लोकमानस रागस( राक्षस ) हरुको राज हुने भएपछि हामी मनुष्य कसका हुने भयौ त? भन्दै आफना गुसाँइ ( मालिक ) मानिएका स्थानिय देवताहरुसंग कारुणिक याचना गरिरहेका हुन्थे । गाथा कथा अनुसार बाल्याबस्थाको त्यो दुनियाँमा राक्षसहरुको राज्य हुने सम्भावनालाइ चमत्कारिक लोकदेवताहरुको उपस्थितिले समाप्त गरिदिन्थे । मेरो कल्पनाको त्यो रागसपुरको राज्य देवताको भुमीको रुपमा प्रतिस्थापन हुन्थ्यो । सोच्थे, संसारमा खराब मान्छेहरु  मात्र छैनन् । राम्रा मान्छे पनि छन् । यो बिश्वास आज पर्यन्त कायम छ ।
उल्लेखित लोकगाथा अनुसार उहिले, सायद भुतप्रेत- तन्त्रमन्त्रमा आधारित लोक बिश्वास र आर्य सनातन परम्पराको अन्तरघुलनको समयमा खपरे नामको तान्त्रिक राक्षसी शक्तिले यस भेगमा आतङ्क मचाएको थियो । त्यसको प्रतिकारमा यहाँका सबै जसो स्थानिय देवताहरु एकीकृत भए । मेरो घरबाट पारिपट्टि देखिने ऐचेकाँणाको डाडामा युद्ध लडियो । खापरे दैत्य मारियो । उसका सेनामेना धपाइए । यहाँ शान्ति कायम भयो । त्यस बेलाका युद्धकालिन अबशेष अहिले पनि त्यो डाँडाको मैदानमा भेट्टिन्छन ।
त्यसपछि आयो संक्रमणकालिन अर्को आपत । स्थापित संस्कारको चलन अनुसार छुनै नहुने त्यो बिधर्मी दैत्यलाई छोएको हुनाले केही देवता अस्पृश्य मानिए । केही भने शुद्धिस्नानका लागि तिर्थाटनमा जाने भए । गाउँगर्खा फेरी संरक्षक बिहीन हुने भए । फलत: जनमानसले रागसपुरको राज्य हुने भयो भनेर पुकारा गर्न थाले । भनिन्छ, लोकचाहना बुझेर स्वस्थानका पबित्र नदितटस्थित तिर्थस्थलमा स्नान गरि देवताहरु यथास्थान फर्किए ।

हो, मैले सानो छँदा यहि पाठ पढेको थिए । यहाँ राक्षस पनि आएका थिए, देवताहरु पनि बस्दथे । मेरा शिशु कल्पनामा अभिमानी राजा र सुन्दरी रानी मात्र हैन, आममानिस, पशुपंक्षि र लताबृक्ष समेत आएका हुन्थे। यी सबैका आआफना संसार कायम थिए । यो गतिशील धर्तिमा सबै कुरा कालक्रमानुसार घुम्दो रहेछ । भनिन्छ, घुम्ने बेला पृथ्बी पनि एकतर्फ थोरै झुकेको हुन्छ ।  त्यो बिनम्र शालीन झुकाइले नै यसलाई गतिमान बनाइ राख्छ । अभिमानमा अडिनेलाई जड भनिन्छ, जो हुनु नहुनुमा खासै फरक पर्दैन । मेरो सानो गाउँ सँधै गतिशील रह्यो । बिनम्र बनी रह्यो ।

रागसहरु देवताभन्दा कुन अर्थमा भिन्न हुन्थे त ? कहिलेकाहि म कल्पना जगतमा प्रबेश गर्छु । रागसहरु मानिसको रगतमा रमाउने रक्तपिपासु हुन्छन रे । यस्तो प्रबृति अहिलेपनि यदाकदा दृष्टिगोचर हुन्छ । सामान्य बिषयमै रगतको खोला बगाउने जस्ता भयानक कुरा निकाल्नेहरुसंग जम्काभेट भएको छ भने बिचार गर्नु होला, त्यहाँ कतै दानबीबृति कायम छ । देवता वा दानव भन्नू प्रबृति बिशेषको नाम पनि हो ।  यस्ता नकारात्मक प्रबृतिका रागस वा भूतप्रेतहरुको लागि हाम्रो लोक वाङमयले बिभिन्न उपचार पनि खोजेको छ । तन्त्रमन्त्रबाट भुतप्रेतलाई बोलाएर काममा जोताउन पनि सकिन्छ रे । हाम्रै बाजे बराजेले यस्ता कैयौं काम यस्तै भूतहरुबाट सम्पन्न गराएका थिए रे । लोक किम्बदन्ति अनुसार उहिले ढिक पुर्चौडी भेकतिर त मान्छेको मासु खाने डिङे राजा नै भएका थिए रे । लोक बिश्वास अनुसार हाम्रै गाउँमा पनि यस्ता रागसहरु बस्ने कतिपय भीरपहरा, खोलानालाहरुले बर्सेनि मानिसको ज्यान खानै पर्थ्यो रे । ती अप्रीय  प्रसंगहरुले अहिले रोमान्चित गराउछन् ।

" मान्सखात "( मानिसलाई खाने ) कथित मानिसलाइनै रागस भनिएको पो हो कि, प्रबृतिगत कुरा गर्दा म यदाकदा अडकल काटदछु । आममानिसमाथि कुनै न कुनै बहानामा गरिएको शोषणले रागसपुरको राज्य धानिएको हुँदो हो । राबणको पालामा टेक्सको रुपमा ऋषिमुनीहरुबाट रगत उठाइएको थियो । राणाकालमा झुलाघाटको पूल वारीपारि गर्दा काली र गोरी महिलाहरुको भिन्न दरमा भन्सार टेक्स काटिन्थ्यो । सबै कालमा रागस र देउताको संघर्ष भएकै देखिन्छ ।  राम- राबण, कृष्ण- कंश,पाण्डब- कौरब देखि भागेश्वर- नागीमल्लसम्मका सबै कथा यस्तै सुर- असुर संघर्षका कथा हुन । स्थानिय लोकपर्बमा यस्ता दुखेसाहरुको निरन्तर गायन चलिरहन्छ । आजभोलीको सन्दर्भ त जग जाहेर नै हुनाले बिस्तार भयका कारण दिइएको छैन । यो दुनियाँमा अद्यापि खराब मान्छेहरु समेत बिभिन्न नामरुपले बिराजित भएकैछन् र पो ईतिहास दोहरिरहेको हुन्छ ।
प्राग्ऐतिहासिक मिथकदेखि समुदाय बिशेषका ऐतिहासिक भुुुुमिका उपर बिचार गर्दा समकालीन समयसंग सबै पुस्ताको सिकायत रहेकै हुदो रहेछ । मानिसलाई आआफ्नै दु:ख प्यारो हुन्छ । मेरो बुवा, बाजे र परबाजेको समेत यस्तै संघर्ष गाथा थिए । तत्कालिन रागसहरुसंग सबै पुस्ताले लडेकै हुँदो रहेछ । फरक यति हो, लोक मानसमा केही घटना सुरक्षित हुन्छन । केही बिस्मृतिको खाडलमा हराउछन् । हाम्रा बाजे प्रतापदेवले चुच्चे चट्टानलाई युध्द गर्न तम्तयार फौजको अखाडा बताएर लुटपाटका लागि आएको परचक्री फौजलाई झुक्याएका थिए । तन्त्र बिधानबाट पुजा चलाइ आएका पुजारी बिना भाटलाई वैदिक बिधान अनुसार पुजा आजा चलाउन नमानेकाले हाम्रा परबाजे रामीले मन्दिरबाटै लघारी आफु पुजारी बनेका थिए । डोटी राज्यको बिलयलाई नेपालको एकीकरण भन्ने कि गोर्खा राज्यको बिस्तार मान्ने ? छलफलको बिषय हुनसक्छ । त्यो बेलाका प्रताडना कथा बारे अनुमान मात्र गर्न सकिन्छ । राणाकालमा पनि वारो ( सरकारि कर्मचारीलाइ खानपानको ब्यबस्था मिलाउने तोकिएको कर ) समयमा नपुर्याएकोले गाउलेहरु कुटिएका हुँदा सिङ्गै गाउँ एक जुट भै थिचोमिचोको बिरुद्ध लडेको थियो रे । यो सबै रागस प्रबृति बिरुद्धको युद्ध नै त थियो । यस्ता संघर्ष कहिले सम्झौतामा सकिन्छन् । कहिले षडयन्त्रमा तुहिन्छन् । केही मात्र निर्णायक हुन्छन् र इतिहासमा दरिन्छन । उक्त राणाकालिन बिद्रोहमा मुख्य पिडित नै लोभ लालचमा फसी मुद्दा तुहाउनमा लागेका थिए रे । यस्ता परीघटनाहरुमा जनमानसले सिक्नु पर्ने थुप्रै शिक्षा लुकेको हुन्छ । ईतिहास शासकहरुको हारजितको अतित मात्रै होइन भविष्यको मार्गदर्शन पनि हो ।

समयले परीबेशमा फरक पार्दछ । हामी अचेल बिज्ञान प्रबिधिको युगमा छौ । न जटाजुट पालेर जोगी भै जिउन सक्छौ । न त टनकपुरबाट पैदल हिडेर दैनिक आबश्यकता पूरा गर्न सक्छौ ।  बरु एउटा कोठामा बसेर दुनियाको हालचाल बुझ्न सक्छौ । महान बिचार र दुर्लभ ग्रन्थका सन्दर्भ सजिलै जम्मा गर्न सक्छौ । देश देशावर नजिक हुँदै गएका छन् । सामाजिक सन्जाल मार्फत टाढाका मानिससंग प्रत्यक्ष बात मार्न सक्छौ । सिमित आकांक्षाहरुको तुष्टि सजिलै हुनसक्छ । त्यसैले आमने सामनेको लडाई भन्दा परोक्ष मायावी मैदानको युद्ध झन जटिल बनेकोछ । यहि जटिलतामा बर्तमान संघर्षका कथा उपकथा उनिन्छन् । यसै परीबेशमा यसको समाधान पनि पहिल्याइन्छ । आम मानिस उहिलेका बिजेताहरुसंग सँधै कृत्यकृत्य भेैरहनुपर्छ भन्ने कथ्य मात्र मर्यादाको ईतिहास होइन । केही स्थापित रूढ मान्यता तोडनै पर्दछ । उहिलेका असान्दर्भिक कथामा अडिइ रहनेहरु कि धुुुुर्त हुन, कि मूर्ख हुन । यो बिचारणिय कुरा छ ।
अन्तमा फेरि देवता र रागसका युद्धको सन्दर्भमा जाउ । स्मृति र कल्पनाबाट मात्र खोतलिन सकिने मेरा पुर्खाको अतीतलाइ म माया गर्छु, सम्मान गर्छु । कोहि मानोस , न मानोस, यो लेखन ब्यक्तिगत मेरो हो । तर छापिएपछि यो सार्बजनिक हुन्छ र यसप्रतिको मेरो जिम्मेवारी रहिरहन्छ । ब्यक्ति र समाज दुबैका जरा अतीतका यस्तै प्रसंगसंग जोडिएका हुन्छन् । यसै पृष्ठभुमीमा बिचारका क्याराभानहरु बिचरण गर्दछन् ।
माथिको गाथामा भनेजस्तै रागस नै आएर मात्र सबै बिग्रन्छ भन्ने पनि छैन । थिति बिग्रिएमा देउता नै पनि राक्षस हुन्छन रे । कहिलेकाहीँ धामी मार्फत आउने भनिएको देवताको बोलको सांकेतिक अर्थ पनि यस्तै लाग्दछ । अझ यो भेग भरि नै देवताको नामबाट मानसिक आतङ्क फैलाउनेमा कथित धामीहरु नै बदनाम भएकाछन् । देवताको भण्डार भण्डारेहरुबाटै हिनामिना भएकोछ । पुजारीहरुले स्वयम् मर्यादाको उलंघन गरेका कतिपय दृष्टान्त देखिन्छन् । कथित राजाहरुले आफनोलागि दरबार र रानीका निम्ति नाउला बनाउने बाहेक कुनै थिति बसालेको र उल्लेखनिय सार्बजनिक काम गरेको कुनै ईतिहास छैन । पुराना शासनको केही शब्दावली परिवर्तन बाहेक मानसिकता उस्तै छ । मुखिया, धामी र हेराउने ज्योतिषको नेक्सस ( अपबित्र गठबन्धन ) ले गाउँ गर्खा घुमाएको यथार्थबारेमा बाजुराको एउटा गाउको कार्यक्रममा एउटा गीत सुनेको थिए ,
माइलो मुख्या जेठो धामी कान्सो छ हेराउन्या ।
एकै घर तीन पगडी गाउँ गर्खा घुमाउन्या ।।
यसरी प्रकारान्तरले शोषण गरीरहने प्रबृति  रहेसम्म रागसपुरको राज्य चली रहने आशंका भइ नै रहन्छ । बैज्ञानिक आधार नभए पनि लोकमानसले रागस आतङ्कलाई प्रकारान्तरबाट अझै ब्यहोरी रहेकै छन् । हाम्रो गाउँ नजिकैको एउटा बिद्यालयको शौचालय यस्तै आतङ्कका कारण भत्काइएको चर्चा सेलाएको छैन । देउघातको नाममा मनौतिका महंगाकथाहरु यस्तै कित्तामा पर्दछन ।  अर्कोतिर बोरामा हालेर बगाइ दिने र छ: इञ्च छोटो बनाइ दिने धम्कि पाएका , पाई राख्नेहरु , दिएका र दिइराख्नेहरु पनि समाजमा जिउदै छन । श्रमको सम्मान गरिएको छैन । भेदभाव कायम छ । सर्बसाधारणमाथि प्रत्यक्ष अप्रत्यक्ष लुटखसोट भएकैछ । राक्षसहरुले पनि त यसै गरि गाउलेहरुलाइ दु:ख दिएका होलान । यस्ता बिपरित प्रबृतिहरुसंग लडन सक्ने  जोधाहरुलाई नै इतिहासले नायक मानेको हुन्छ । यहाँ बुझ्नु पर्ने कुरा के छ भने कुनै पनि युगका रागसहरु ठल्ठुला कुरा गर्न त सिपालु हुन्छन , तर यथार्थमा महामुर्ख हुन्छन । हाम्रा पौराणिक ग्रन्थहरु, लोकगाथाहरु र दन्त्यकथाहरु राक्षस भूतप्रेतका बखान यस्तै मुर्खतापुर्ण बृतान्तले भरिएका छन् । यिनिहरु तुक न तालका आकाश पातालका गफ दिन सक्छन् । मानिसहरुलाई भ्रममा पार्न सक्छन । अरुलाई  मायावी वातावरण बनाएर बहकाउन सक्छन । तर यथार्थ धरातलमा जाँदा यिनीहरुको मायावी व्यवहार आफै उदाङ्गिन्छ । सज्जन मानिस सीधा किसिमले आफनो काम गरीरहेको हुन्छ । सदाचारी मानिसहरु दृढ निश्चयी बने भने रक्तपिपासु रागसहरुो राज कहिल्यै आउदैन । आउनोस, माथिको गाथामा बर्णित त्यो देब दानव युद्धको योजना बनाउने ससालिङ देवता, हतियार उठाउने कैलपाल देवता र प्रत्यक्ष भिडने लाटो साइपाल जस्ता विभिन्न देवताको आफैंमा आव्हान गरौ । हाम्रो गाउँको पबित्र माटोमा अब उप्रान्त रागसपुरीको राज्यको सम्भावना समाप्त गर्न आआफनो निश्चित कर्तब्यपथमा साबधान भएर लागि रहौ । समय सहकालले सँधै हामीलाई साथ दिई रहनेछ । आसन्न गोऽरा महापर्बको सबैमा यहि हार्दिक मङ्गलमय शुभकामना !






No comments:

Post a Comment