Wednesday, April 3, 2019

डायरी बोल्छ -१ ( जागिरको जोरजाममा )

डायरी बोल्छ-१ (  जागिरको जोरजाममा )


केहि गर्ने प्रयासतिर ; पहिलो इनिङ

   आफनो धरतिमा आफना मानिसहरुसंग रमाएर बस्न पाउनु नै स्वर्गीय आनन्द हो । जीबनारम्भमा त्यो आनंद सबैलाई प्रकृतिले पु-याइ दिएको हुन्छ । पछि प्रारब्ध र परिस्थितिले यो अबस्था फेरिन्छ । मानिस तद्नुरुप बदलिदै जान्छ ।
  मेरो हकमा पनि पितापुर्खादेखि कृषिकर्ममा लागेको परिवारभित्र नौकरी पेशा अंंगालेर क्रमभंग गर्ने म पहिलो ब्यक्ति बने । त्यसो त प्रहरी र सेनामा केही भर्ना भए पनि नेपाल सरकारको निजामती सेवामा प्रबेश गर्ने मेरो गाउँकै पहिलो मानिस पनि मैले नै बन्न पाए । यसरी पेशा परिबर्तनको कथा भने अचंंभको छ । यो कथाभित्रका कैयौ घुुम्तिहरू दुरुह र दर्दनाक छन । कैयौ मोडहरू मार्मिक र मोहक पनि छन् । जागिर शुुरुगर्दा खाएको शपथको उच्च सम्मान गर्दै केही मसिना सम्झना यी आलेखहरुमा समेटन खोजेकोछु ।
  एउटा आमभनाई छ; उत्तम खेति, मध्यम व्यापार, अधम नौकरी । उत्तम पेशाबाट एकै चोटि अधम पेशामा किन आइयो होला ? यो बेग्लै निरुपणको बिषय हो । २०३० सालको हिउँदमा नौकरिकै खोजमा पहिलोपल्ट घरमा जानकारी नै नदिइ महेन्द्रनगर झरेको थिए  । पहिलो चोटि बनबसा हुँदै नेपाल छिरेर सुखासालमा पुग्दा साँझ परीसकेको थियो । साथी जोशीजीको चिनजानमा बास बसेका थियौ । हातले कल चलाएर पानी निकाल्ने तरीका पहिलोपल्ट यहिं देखेको थिए । यो पानी भने गनाउने भएर खानै गारो लागेको थियो । टाढा कतै चलेको टुकटुके मीलको क्वाँ..क्वाँ... को आवाज बेरसिलो लाग्थ्यो  । सालका बडेमानका मुढामाथी बनाएको खुल्ला बुइगलमा येनकेन सुतियो । इटाभट्टाको अजंगको चिम्नी आश्चर्यको बस्तु थियो मेरालागि । केराको पातले हावा हम्कदै तातो मैरी भात खाएर अर्को दिन हिडेरै महेन्द्र नगर पुगेका थियौ ।
  गर्मीको उखरमाउलो सहनै गारो हुन्थ्यो । तै पनि साथी गणेश जोशी र म धेरै ठाउ घुम्यौ । महाकाली सींचाई योजनाको निर्माण काम चालु थियो । इ. चित्रदेब भट्ट योजना प्रमुख थिए रे । कसरी भेटने भनेर मेसो नै पाएनौ । बेदप्रकाशले भने  यतै काम पाए भन्ने सुन्यौ । गणेशजी र मलाई नगरमा चित्त बुझ्दो केही भेट्टिएन । बेलौरितिर मास्टरी पाइएको थियो । लाग्ला बेलौरीको घाम भन्ने बोलको तत्कालिन बहुप्रचलित लोकगितको भावार्थ सम्झेर जाने मनै लागेन । महेन्द्रनगरमा गर्मीले आत्तिएका हामीहरुलाई बेलौरी जाने साहस नै आएन ।  जे होस, पहिलोपल्ट महेन्द्रनगर देखे । केही दिन पाहुना बनेर यत्रतत्र काटे । हाम्रो पढाईको हैसियत त बल्ल बुझियो । केही काम नपाएर भनौ कि नगरेर १०/१५ दिनमा लुस्सुक्क घर फर्के । एस एल सी गरेको पहिलो बर्ष ०३० यतिकै किचमिचमा बित्यो ।

राजधानीको सडकमा ; नौकरीकै चक्कर

   रोपाइ सके पछि ०३१आषाढ २५ गते काठमाडौंको लागि प्रस्थान गरियो । सहयात्री थिए जर्गका नारायण दत्त पाण्डेजी । वहाँ नेपाल बैक लिमिटेडको शाखा प्रबन्धकबाट रिटायर भएर हाल महेद्रनगरमै बस्ने गर्नु भएकोछ । पिलभित, लखनौ, गोरखपुर, सोनपुर, मुजफ्फरपुर, रक्सौल र बीरगंज हुँदै काठमान्डौ पुग्दा आषाढ २९ भैसकेको थियो । साउन ६ सम्म पाको न्युरोडको पुष्प लजमा बसियो । तदुपरान्त तत्कालीन राष्टिय पंचायत सदस्य माननीय लोकेन्द्र बहादुर चन्दज्यू ( पछि सम्माननीय प्रधानमन्त्री ) को निबासमा धेरै जनासंगै म पनि पाहुना लागे ।
  वास्तबमा काठमाडौंको लागि कुहिरोको काग थिए म । कहिले होटेलमा खाइन्थ्यो कहिले भोकै पनि । केही दिन लगनखेलको गन्हाउने कोठामा एक्लै बस्ने जमर्को पनि गरे । प्युखाको होटेल काठमाडौं , पुतली सडकको शर्मा रेष्टुरामा समेत ओत मागियो । निदानत भाद्र २१ गते साथी उर्बादत्त भट्टसंग संयुक्त भएर नयाँ बजारमा डेरा लिइयो र जिन्दगीले नयाँ टेक लियो ।
  तत्कालीन माननीयज्युकै निर्देशन मुताबिक साउनतिरै कृषि बिकास बैकको  लेखपाल र ऋण सहायक निरिक्षकको बिज्ञापनमा दरखास्त दिन गएको थिए । फाराम भर्दा एक जना ठुलै हाकिम जस्ता मान्छेले मिजासिलो स्वरमा सोधे ।
“ हाकिम हुन पाइने पदमा फाराम भर्ने कि कारिन्दा भएर बस्ने पदमा भर्ने ? ”
भनाइको खासै मतलब बुझिएन , तर “ मिल्ने भए हाकिम नै हुने नि “ भनेर जवाफ फर्काए । ग्राम समितिमा गएर ब्यबस्थापक हुनपर्ने ऋण सहायक निरिक्षक पदको फाराम भरिएछ । यसैको परीक्षा दिइयो । बैकको लेखपालको पदलाई कारिन्दाको पद भनेका रहेछन । अपेक्षाकृत राम्रो मानिएको यो पद छोडिएछ । यो कुरा धेरै पछि थाहा पाए । ऋण सहायक निरीक्षकको साउन ३२ मै रेजल्ट भै छानिए पनि  तालिम मिति तिहारपछि मात्र तोकिने सुचना गरियो । यसरी काठमान्डौमा बसेर कुर्नु पर्ने अवस्था आयो ।
अर्कोतिर ब्याबसायिक बिषय पढने भनेर थापाथलि क्याम्पसमा भर्ना भए । यस्तैमा कानुन पढने तयारिमा पनि लागे । तर अर्थाभावको टडकारो समस्यामा कतै जाँगर चलेन,कतै निरन्तरता छदिन सकिएन । घुुइपाताल नौकरीको चक्करमा लागियो । काठमाडौं आउदा ७५०/- रुपियाँ मात्र बोकेको थिए । पछि पिताजीले रु ३०० र ८० गरि दुइपल्ट ड्राफ्ट पठाई दिनु भएको थियो । आउदाको बाटो खर्च २२०/-समेत ०३१ कार्तिकसम्मको खर्च त्यसैबाट जसोतसो चलाए ।
  त्यसताका राजा बीरेन्द्रको राज्याभिषेकको तयारीमा राजधानीको सिंगारपटार हुँदै थियो । सडकहरूको मर्मत सुधार युद्धस्तरमा चालु थियो । । सडक बिभागमा कार्यरत तत्कालिन सेक्सन अफिसर ( हाल सचिब पदबाट सेवा निबृत) कर्ण बहादुर चन्दज्यूको सिफारिसले सडक डिभिजन कार्यालय,जावलाखेलमा दैनिक ज्यालादारीको मष्टरोलमा हाजिर गरेर पहिलो पल्ट सरकारी काम गरे जिन्दगीमा ।
यहाँको दुख र रमाइलोको बयान पनि रोचक नै छ ।
  संगै एस एल सी पास गरेका साथी रत्न बहादुर चन्द ( वहाँले पछि खाद्य संस्थानमा काम गर्नु भयो ।) संग निबासमै गएर मैले कर्णबहादुर चन्दज्युसित  भेट गरेको थिए । मणिलेक मा बि मा रामलिला नाटक चलेको बेला वहाँ मेरो अभिनयबाट प्रभावित हुनु भएको रहेछ । मैले समस्या बताएपछि वहाँले सदाशयता देखाउदै “ सडक डिभिजनमा हाम्रैतिरका पन्तजी ओभरसियर छन । पन्तजीसंग आफै सम्पर्क राख्नु । डि इ एक जना सरदारजी छन । वहाँसंग म कुरा गरि दिउला । “ भन्नु भएको थियो ।  मैले सडक डिभिजन जावलाखेल गएर पन्तजीलाई भेटे । तर पन्तजीले कुरा सुने पनि खुलेर केही गर्न सक्नु भएन । ४/५ दिन पर्खे । केही सीप नलागेर डि इ सरदारजीसंग पनि चन्द सरको सन्दर्भ दिएर कुरा राखे । वहाँले कुरा भएको सकार्दै “ नआतिनोस, कतै मिलाउला “ भन्ने आश्वासन दिनु भएको थियो ।
अर्को दिन म अफिस बाहिर चौतारोमा थिए । वहाँ कतै जान मोटरसाइकल स्टार्ट गर्दै हुनुहुन्थ्यो । मलाइ देखेपछि  ओभरसियर पन्तजीलाइ त्यहि बोलाउनु भयो । मलाइ संकेत गर्दै वहाँलाई सोध्नु भयो ।
“ इस लडकेको जानते हो ? ”
पन्तजीले हडबडिदै स्विकृतिमा टाउको हल्लाए ।
“ अनि केही काममा लगाउनु भएन त । लौ, यहाँ आएको मितिदेखि लागू हुने गरि जहाँ भए पनि हाजिरमा राख्नु होला । “
   यति भनेर वहाँ हिडि हाल्नु भयो । तत्कालदेखि बिगत हप्ताको लेबरमा भए पनि हाजिर गर्ने र अर्को हप्ता सुपरवाइजर वा अमीनमा राखेर हाजिर लगाउने कुराको तारतम्य मिल्यो ।
   यदाकदा पाटनका दुर्गन्धित गल्लिहरुमा सडकको नापजाँचमा गइन्थ्यो । प्रतेक सप्ताहान्तमा ज्याला पाइन्थ्यो । मेरो ज्यालादारीको काम पन्तजीले प्रमाणित गरि दिन्थे । अन्य खास काम केही थिएन ।
एक दिन पन्तजीले  गाबहालतिर आफनो डेरामा लिएर गए । वहाँले त त्यतैको कुनै नेवार कन्यासंग प्रेम बिबाह गरेर दोस्रो घरजम गर्नुभएको रहेछ । शायद कुनै केसमा बिभागीय कारवाहि पनि चलिरहेको थियो कि भन्ने शंका लाग्छ । चन्द सर र डि साप संग कसरी चिनजान भयो भनेर मलाई सोध्नु भयो ।
“ चन्द सर मेरो मितजीको दाइ हुन । म पनि प्राय: उनकै डेरा थापाथलीतिर नै बस्छु । वहाँ मार्फत नै सरदार सा,पलाई चिनेको हुँ  ।” भनेर फुर्ति हाँके । यसपछि त मेरो भाउ यतिकै बढन थालि हाल्यो । यसरी जीबनले मलाई पहिलो चोटी ढाँटेर फाइदा लिन सिकायो ।
  बेलुका फर्कदा ओभरसियर सा,पले यदाकदा एक मुठा पालुङ्गो र केहि मकै  थमाउथे । ” चन्दसापलाइ आफनै बारीको हो “ भनेर बताइ दिनु होला पनि भन्थे  । टेकु पुल तर्दै क्षेत्रपाटीको पैदल बाटो नयाँ सडकको डेरामा पुगेर पेटपुजाको काम त्यसैबाट चलाइन्थ्यो ।
  यसै क्रममा अर्को एकडेढ महिना सडक डिभिजन कार्यालय , सानो गौचरमा पनि घुुमियो । कृषि बिकास बैंक अन्तरगत सहकारी संस्था/ निर्देशित ग्रामसमितिको ऋण सहायक निरिक्षक पदमा छनौट भेैैसकेकै हुँदा एक किसिमले ढुक्कै थिए  । ०३१ को तिहारपछि सहकारी प्रशिक्षण केन्द्र, धोबिघाटमा प्रशिक्षार्थीको हैसियतले नयाँ कार्यक्षेत्रमा प्रबेश गरे । मेरो जागिरे जिवनको पुर्बाङ्ग यहि थियो । .. कथाले यहि मागेको थियो । समयले यहि दियो । मैले पनि सहर्ष सकारे । .
  त्यो अवधिमा उनै चन्दजीबाट रु ३०/- मागेर पनि काम चलाए । साथीहरुको रु ५०/- सापट समेतले ज्यान धानियो । यहि क्रममा  जावलाखेल सडक डिभिजनको ज्याला रु. २१६/- नै पहिलो नीजी कमाई थियो मेरोलागि । यसपछि सडक डिभिजन सानो गौचरको सुपरभाइजर हुदा  रु ५५/- ले पनि ठुलै खर्च चलाइएका चोटहरुका सम्झना आलै छन् । कार्तिक देखि पुषसम्म कृषि बिकास बैकले दिनको ३/- रुपियाको दरले तालिम खर्च दियो । तालिम सकिएपछि डडेल्धुरासम्मको बाटो खर्च पेश्की रु.३५०/- बुझेर पुर्णकालिक कर्मचारी बने ।
  यसपछि बल्ल काठमाडौंका बालाजु, चिडियाखाना , गोदावरीजस्ता दर्शनीयस्थल हेर्न भ्याए । भारतीय दुताबासको पुस्तकालयमा पाएका कुमाउका सम्बन्धमा केही पुस्तक पढे । त्यति मात्रै हो र ? पुस १४ गते शाही जन्मोत्सबको दिन पहिलोपल्ट भाङगोटा पनि खाए । पुस २२ गते तालिम सकियो । ७० जना प्रशिक्षार्थीमा आठौ नम्बरमा आइएछ । तत्कालिन प्रहरी इन्सपेक्टर सहबीर थापा( पछि शसस्त्र तर्फको महानिरीक्षक) को सिफारिसमा परीक्षा नियन्त्रण कार्यालयबाट एस एल सीका सर्टिफिकेटहरु बनाए । यसरी पहिलो नैपाल यात्रा तुरियो ।

फेरी फर्के आफनै क्षेत्रतिर

  निदानत: ०३१ पुस २६ गते काठमाडौं बाट एक्लै रक्सौलको आएकै बाटो स्वस्थानतिर फर्किए । रक्सौल- लखनौको ट्रेनमा एक जना मोटेले दिल्लीमा केटाकेटी स्कुल ल्याउने लैजाने काम गरीदिने घरेलु नौकरको लागि आफनो  घर लैजान फकाउन खोज्यो । शायद भागेर आएको नेपाली केटो सम्झेको हुँदो हो । मैलो च्यादर ओढेको र पुरानो झोला बोकेको आधारमा त्यो अनुमान स्वाभाविकै थियो । पहिलो पल्ट( सायद अन्तिमपल्ट पनि )सोनपुर- लखनौ रेलको छतमा बसेर पनि हुइकियो । मैलानी स्टेशनमा सित्तैमा एक जना पुलिसलाई खाना ख्वाउन बाध्य भए । राति मैलानी स्टेशनमा सुत्दा खुुट्टाको जुत्ता सहित  सबै सामान चोरिएर खल्तिखलाश थियो । यसरी रक्सौल गोरखपुर, लखनौ (भारत) को बाटो भैै बल्ल धनगढि पुगेर पुस मसान्तका दिन राति पहिलोपल्ट गोदावरी पुगियो र माघे संक्रान्तिको मेला हेरियो।
  ०३१ माघ १ गते पहिलोपल्ट नै ट्रक चढेर सहजपुर र सडकको डम्फरबाट बुडर पुग्न भ्याइयो । धन्न धन्न
बाँचेर नै पुगियो भनौ । त्यसपछि मेलखर्क र भात्काँडामा बास बसी  हिडेर डडेल्धुरा पुगियो । माघको जाडो र हिमपातका कुरै नगरौ । बाटो खर्च भयो जम्मा ४६६/- रुपियाँ । त्यसबेला भिमदत्त राजमार्गको सहजपुरसम्म मात्र ट्रेक खुलेको थियो । येनकेन  डडेल्धुरा हाजिर भए ०३१ माघमा । साथिहरु स्व नर बहादुर खत्री, तिर्थराज जोशि र म समेत ३ जना कृषिबिकास बैंक उपशाखा कार्यालय, डडेल्धुरा मा एउटै पदमा खटिएका थियौ ।
  माघ चार गते सहायक कर्मचारीको हैसियतले जीबनको पहिलो हाजिर लगाए कुनै कार्यालयमा । मासिक  तलबभत्ता रु ४५०/- हुन्थ्यो । डडेल्धुराको दरभाउ थियो, चिया प्रति कप २५ पैसा, सुन्तला गोटा २० पैसा, हबाइपत्र१५ पैसा, मिठाई १ छटाक ७५ पैसा, अस्पताल जचाउदा २५ पैसा, मासु सेरको  रु ५/-, गंजी७/-, टोपी ४/- , पैन्ट सर्ट ६७ /- मेसमा मैनाको खाना खर्च सरदर ९०/- - १२०/-रुपिया सम्म , होटेलको खर्च प्रति खाना अढाइ तीन रुपिया । यस्तै यस्तै । जेहोस खर्च राम्रैसंग चल्थ्यो । बैंकमा काम, डेराको बास, मेस र कैलेकाहि होटेलतिरको खाना । यसरी जिन्दगीले भिन्न लय पक्रियो ।

केही सिकियो, केही भुलियो

  कृषि बिकास बैंकमा छिमेकी गाउँ देहिमाण्डौका निबासी बजीर सिं बोहरा प्रबन्धक थिए । इमान्दार र सहृदयी,तर एकोहोरो स्वभावका । उनैको मातहत काम सिक्दै गए । माघ महिनामै ब्यबस्थापकहरुको पहिलो सेमिनारमा  सहभागी हुन मौका मिल्यो । धनगढीमा केही नया परिचय थपिएर चिनजानको क्षेत्रले चौडाइ पायो । माघ २९ मा सेमिनार समापनको रमझमसंगै हुलाक नजिक बादी बदिनीहरुको बाक्लो उपस्थितिमा झन्डै हराएको थिए । फागुन ३ गते डडेल्धुरा फर्किदा गोदावरीबाट ४८ कि मि खानीडाडासम्म पैदल हिडियो । अर्को दिन जिपबाट बुडर,  अनि पैदल गरेर गोगनमा बास बस्यौ । त्यसबेला त्यता भर्खर होटलको चलन आएको थियो । आफै पकाएर भाँडाकुडा धोइ पखाली जानू परेको थियो बाटोमा । राति ८ बजे सम्म जंगलको बाटोमा पैदल पनि हिडेका थियौ ।
  नयाँ कोट लाउदा असजिलो लाग्ने नै भयो ।  वातावरण समायोजन गरियो भनौ । ब्यबस्थापकहरु थरि थरीका थिए । केहि महिना नजिकैको सहस्रलिङ्ग बहुमुखी सहकारी संस्था लि., राई मा काम गरे । खलंगामै उपभोक्ता भंंडार संचालन गरिएको थियो । डडेल्धुरामा कोटाको चामल,चिनी , मट्टितेल र रासायनिक मल बिक्रिबितरण गर्नु पर्थ्यो । मलाई सम्झना छ, त्यसबेला डडेल्धुराको बार्षिक आबश्यकता चिनी १० क्विंटल, मट्टितेल १६०० लिटर र रासायनिक मल असी देखि सय क्विण्टलसम्म अनुमान गरिन्थ्यो । ब्यबस्थापककै हैसियतमा एक डेढ महिना सिद्धनाथ वहुमुखी सहकारी संस्था लि., जोगबुडामा समेत बसे ।  चीनी र चामलको ठूलो बिक्री हुन्थ्यो । कोटाको सामान बेच्ने सरकारी दोकानदार जस्तै बनियो । ब्यस्त त हुन्थे नै, मस्त पनि रहन थाले । रक्सी चाख्न थाले । काफल किरमणडा ऐसेलु खुबै पाइन्थे त्यस बेलाको जिल्ला सदरमुकाम । रक्सी र केटी काण्डका बारेमा बग्रेल्ती कुरा हुन्थे । प्राय स्लेट र खरले छाएका घर थिए । अहिलेको बागबजार उतिबेला बाग्खोर कहलिन्थ्यो । औलामा गन्न सकिने पसल/ होटल थिए ।
  त्यस बेला सहकारी खुुल्ने क्रम तिब्र गतिमा थियो । केही महिना त वैंक मै काम ग-यौ । बैंकमा लेखपालहरू हाजिर भएपछि संस्थाहरुमा खटिनु पर्ने सर्त थियो  । संगैको बिज्ञापनमा हाकिम बन्ने भनेर फाराम भरेको परिणाम भोगियो । सदरमुकाम बाहिर पो काम गर्नु पर्ने भयो ।
  डडेल्धुरामा क्षेत्रीय प्रबन्धक शंकरमानको निरिक्षण थियो । वहाँ मेरो कामबाट प्रभावित हुनु भएको थियो । मैले झुक्किएर संस्थाको जागिर खानुपरेको अवस्था बताए । वहाँले अर्को बिज्ञापनमा लिखित जाँच मात्रै पास गरे बाँकी आफुले मिलाई दिने आश्वासन दिनु भयो । यसै आश्वासनका भरमा पछि धनगढी पुगेर जाँच दिएको थिए  । तर नियतिले अर्कै लेखेको रहेछ । जीवन यस्तै हुरीको दिशामा बहनु नै हो त ? यदाकदा कल्पिने गरिन्छ । सबै नौकरी यस्तो नै हो त ? अलमलिन्छु । न बुझेकोछु,न बुझाउन सक्छु । यसलाई प्रारब्धकै खेल मानेकोछु । माटि दाहिना रहुन् भनेर मपनि पिताजीको जस्तो हात जोडेर हिडिरहेकैछु ।
 यसरी आषाढमा म परदेसिएको एक बर्ष पुग्यो । हाम्रा माननीय लोकेन्द्र बहादुर चन्द राष्टिय पन्चायत उपाध्यक्ष बनेको खवर रेडीयोबाट सुने । खुशी लाग्यो ।  बार्षिक खाताबन्दीले हाम्रो शाखामा १२६०५/०३ रुपिया खुद नोक्सान देखियो । खाताबन्दीको चटारोमा बैंकमै पनि बोलाएर काम लगाइन्थ्यो । खाताबन्दीसंगै रा बा बैक र कृ बि बैंकबाट संयुक्त बनभोज समेत गरियो । यस्तै सहभोजमार्फत पहिलोपल्ट क्लियोपेट्रा नामको रक्सी पनि चाखे । साउनमा परिक्षण काल सकियो रे । फेरि भोज फेरि रक्सी । भत्ता बढ्यो , निरिक्षण भयो , फेरी रमाइलो । यहाँ सम्म कि म खटिएको सहस्रलिङ्ग साझासंस्थाको उपभोक्तामा बेलुका हिसाब मिल्यो वा मन मिल्दा साथी भेटिएकी रक्सीयुक्त भोज भै हाल्ने ढर्रा जम्दै गए । संस्थामा नयाँ आएका ब्यबस्थापक ज्ञानेश्वर ज्ञवाली थोरै दिन बसेर गए । आफै निमित्त बने । अर्का ब्यबस्थापक बिष्णुबिक्रम थापा पनि आए लगतै गए । यसरी म स्वतन्त्र हाकिम बनेर काम गर्नमा अभ्यस्त हुँदै थिए । खलंगाको बसाइ झन झन बिग्रिन थाल्यो । अब त चन्द्रबहादुरको भट्टी नै जिन्दाबाद हुन थाल्यो । असोजको दशैदेखि भने मादक पदार्थ कमगर्ने अठोट गरे ।
  राइगाउको कार्यक्षेत्र हुदा बेलाबखत त्यहा गई ऋण बितरणको काम हुन्थ्यो । नयाँ परिवेश नयाँ भेषमा पुराना दिन बिर्सिन थालियो । यसरी नौकरीको आबरणमा जिल्ला भ्रमण  पनि गरे । सामान खरीद गर्न एक खेप चिरकिट्टे जोगबुडाको बाटो महेन्द्रनगर गइयो । फर्कदा कुनै सौका ब्यापारीको भेडा बथानसंगै सानो पाठो बोकेर हिडेको सम्झना छ । अर्को सेमिनार पनि भ्याए । तै गत बर्षको कारोबारमा मेरै नाममा १४१६/ बेरुजु आएछ । त्यस बेला मट्टितेल टीनमा भरेर खच्चरमा बोकाएर ल्याउनु पर्थ्यो । बाटोमा टीन चुहिए टाल्न भनेर साबुनको सिङ्गै पेटी  दिनुपर्ने चलन रहेछ । मैले पनि त्यहि गरे । ढुवानी भाडा दिएपछि थप सामान दिएको बेरुजु भयो रे । कामभन्दा पनि कागज मिलाउन नजानेर रकम तिरियो । त्यसबेला डडेल्धुरामा चिनीको बार्षिक कोटा १० क्विन्टल पनि खपत हुदैनथ्यो । अझ छीज र बेरुजु समेत चिनीमै बढि आउथ्यो । त्यसैले यो आ ब मा चिनी कम ल्याउने कि भन्दा प्रमुख जिल्ला अधिकारीले चीनीको अभाव देखिए कारवाही हुने सर्त राखेको याद छ । वहाँले कोटाको सबै चिनी उठाई मागभन्दा बढि भए महेन्द्रनगरमै ब्ल्याकमा बेचेर आउने लाइन दिनु भएको थियो । तर मैले यस्तो लफडामा पर्न चाहिन ।

झन्डै बर्ष दिनपछि घर फर्किदा

   लेखा परीक्षण सकिएपछि कामको होलो भयो । त्यसपछि मात्र बिदा पाइयो । यसरी झन्डै एक बर्षपछि घरतिर जाने मेसो मिलेको थियो । ०३२ बैशाख ५ गते शुक्रबार पाटन नगाडीबाडा बास बसी ६ गते भोकै घर पुग्दा त बज्यै  बिति राखेको दुखान्त संयोग परेको रहेछ । सात गते तेउ पानी भयो । १२ गते झुलाघाट गै सामान ल्याए । उधारो तिरे । १५ गते अन्त्येष्ठीको काम सकियो । १६ गते ग्वानी गै महात्माजीको दर्शन गरे । वहाँ प्रफुल्ल भएर बाजा बजाउदै नाच्नु भयो । लाग्थ्यो मेरो प्रतिक्षामा हुनु हुन्थ्यो र म कुनै अज्ञात आदेशमा यता आएको थिए । दुर्भाग्यवस त्यसपछि सशरीर वहाँलाई भेटने अवसर नै जुटेन । १८ गते परमले लुहारलाई साथमा लिई डङसिलीकै बाटो डडेलधुरा  फर्के ।
  यो पहिलोपल्ट रु ५३०/- बोकेर घर गएको थिए । बुवा खुशी भएर रोएका थिए । जोगी बाजे, कन्या बाजे, जया बाजेको ऋण तिर्दै २४०/- सकियो । साठीको धान किने । बैतरणिको साँढे रु ३०/- मा पाइयो । बोहरा र कोइरालीको ऋण ४५/- पनि भ्याए । फुटकर कटाई अरु बुवालाइ बुझाए । पहिलो कमाइको पहिलो काम यहि नै थियो ।
 भदौ ११ मा गौराको अवसर पारि फेरी बिदा लिएर घर गए । बेलुका ठडकुणा खुल्ल्याओडार दाजु  ( फुपुका छोरा ) को खर्कमा बसियो । दोस्रोदिन बेणौतिको पुल तरि पाटन पुग्दानपुग्दै ठूलो पानी पर्यो । तै अठतोलाकै बाटो हिडिएछ । राति घर पुग्न नसकि दुर्गास्थान बसि तेस्रो बिहान घर पुगे । गोरा भने सभ्य र भव्य हुन्थ्यो । जसु ताल घुमाइदे को तालमा खेल ज्यादा खेलिएको थियो । १५ गते किम्तोली गुनपालको बाटो फर्के । नौलाकोट क्यासियर पनेरुजीको घरमा बास बसी अर्को दिन डडल्धुरा पुगे । यसरी डडेलधुरा पुग्ने प्रतेक बाटोमा हिडन अभ्यस्त भए । दशैमा उपभोक्ता भन्डार खुला राख्ने र प्रमुखले जिल्ला नछाडने प्रशासनिक निर्देशनका बाबजुद सि डि ओ संग कुरा गरि सप्तमीको दिन फेरि घर पुगे । अष्टमीमा देहिमान्डौ जाँत हेरी दसमीको टीका लगाइ लगतै फर्किए । कामको धपेडी त हुन्थ्यो नै । बैंक र संस्थाको काम भ्याएर मौका पर्नासाथ घर हिडी हाल्थे । पैदल उकाली ओराली हिडनु कष्टसाध्य भए पनि त्यो महसूस गरिएन । बाटोका प्रतेक नाकामा चीनजान भएपछि खानबस्नको समस्या खास पर्दैनथ्यो । यसरी दिन गुज्रिदै गए ।
यसै बीच चैत्र २७ गतेदेखि ज्वरो आएर थलिए । सामान्य औषधि बोकी डङसिलीको बाटो हुँदै समैची थानबाट रौतगाउ उक्ली सकी नसकी  हत्तु भएर घर पगे ।
  ०३३ सालको वर्षारम्भ ज्वरोका कारण सुखद भएन । ब्यथा बढदै गयो । मेरो ब्रह्मले भन्थ्यो, धपेडीको काम र अब्यबस्थित खानपानको कारण हो । तर धामी , ज्योतिष बैद्यको भनाई अर्कै हुन्थे । पहिला त आउदा बाटोमा छलिएको भने । त्यस पछि पुरानो घरेलु दोख देखियो । हाम्री बज्यैकी एक सौता बहिनी थिइन रे । घरमा हेला गरेका कारण यो द्यौघात ( देवतामा उजुरी ) गरेकि रहिछन । त्यसैको प्रभाव भनियो ।  हुदा हुदा त आमाले माइतबाट ल्याएका सामानमा समेत खोट देखाउन थाले । नानाथरी नाटिकुटि आए । तर २० को १९ भएन । हाड छाला मात्रै बाँकी । पिताजीले कहाँकहाँ के के गरे , थाहै भएन । बिस्तारै म्यादि ज्वरोको म्याद सकिन थालेछ । म तंग्रिदै गए । बल्लतल्ल गोठलापानी पुगी जँचाउदा टाइफाइडबाट बाँचिएको , छाति खराब भएको कुरा आयो । केही औषधि बोकी घर फर्के । दोष दानका कुरा सेलाउदै गए । यसरी कुनै घटना बिशेषमा टेकेर द्यौता वा मसानको नाममा मानसिक संत्रासको वातावरण बनाउने कुटिल प्रयास समेत गाउघरमा अद्यापि भए गरेका देखिन्छन । टाइफाइडको ज्वरोबाट बिशेक भएपछि जेठको अन्तिम सातामात्र डडेलधुरा फर्कन भ्याए ।
ग्रामसमितिको काममा ; बोकटाको बसाई


  डेढ दुई महिना विमारि भै घरबस्दाको अवधिमै कार्यालयको  स्थिति बदलिसकेको थियो । पोखरा र बोकटामा सहकारी संस्थाको पुर्बरुप निर्देशित ग्रामसमिति खोल्ने निर्णय भएको थियो  । बोकटाका लागि म प्रस्तावित थिए । यसपाला मेरो डडेल्धुरा बसाइको बीट मारीइ सकेको रहेछ । अन्तत: नयाँ गठन भएका मध्ये भागेश्वर निर्देशित ग्राम समिति, बोकटा  मेरो कार्यक्षेत्र बन्ने भयो ।
  बर्ष ०३२/३३ मै बोकटामा ग्रामसमिति खोल्ने निर्णय भएकाले आषाढ १५ का दिन जसरि पनि सो काम टुङ्ग्याउने जिम्मा मलाई दिइयो । टाइफाइडले जिर्ण पारेको शरीर । नौलो ठाउँको नौलै परिबेश । त्यहाँको बोली व्यवहार बारे अनभिज्ञ २० बर्षे कुपोषित ख्याउटे ठिटो । जागिरे बनेर पहिलो पल्ट टाढाको बिरानो गाउँ प्रबेश गर्दै थिए । संयोगबश त्यसैताका तत्कालिन अवस्थाको बलियो राजनैतिक निकाय गाउँ फर्क राष्टिय अभियानका  अन्चल सभापति हरीकृष्ण बोकटीज्यूको त्यसै भेगमा भ्रमण रहेछ । वहाँबाटै कार्यालयको उद्घाटन गराउन दबाब बढदै गयो । मेरोलागि यो चुनौतिको बिषय थियो । केही औषधि सहित अत्याबश्यक सामान पोको पारे । बजारमा महिला साहुनीसंग लजाउदै पहिलो सेप्टीरेजर किनेको किशोर अवस्थामा थिए म । आफनै किसिमले गाउँतिर हिडे ।
  तर निर्देशित ग्रामसमिति नामको नयाँ संस्था खोल्नमा गाउँघर प्रतिकृया बिहीन देखियो र तटस्थ बसि दियो । जे टि ए साथी केशबदत्त जोशीको सहयोगमा जसोतसो गासबासको ब्यबस्था गरियो । निर्धारित मितिमै गाउँ पन्चायतमा ग्रामसमितिको औपचारिक शुरुवातको औपचारिकता पूरा गरे । गाउफर्क अध्यक्ष अबेर गरि रुपालतिर लागे । बाटोमा बास बस्नका लागी नापिको अमिनको लागि खालि गरिएको कोठामा बल्लतल्ल सुत्न दिएका थिए रे । यी अध्यक्षभन्दा ती अमीन ठूलो मानिस ठहराएर । केहिदिन कार्यक्षेत्र चाहारे । स्थिति बुझे । सुरनयाँ पारी बिशालपुर गा पं मा मेरो मावली थियो नै । त्यहि बाटो लुस्सुक घरतिर लागे । ज्वरांश बाँकी थियो । तंग्रिएपछि केही दिन डडेल्धुरा काजमा बसे । ०३३ को वर्षात यत्तिकै गयो ।
  दशैंको छेको पारेर बोकटामा काम शुरु गर्ने बिचार गरे । यहाँ खासगरी शाही ठगुरीको बस्ती थियो । राजा खलकको नाममा केही विशेष चलन थिए । त्यसै पनि बोकटाको दशै तिहार रमाइलो हुन्छ भन्ने सुनेको थिए । ऋण मांगपत्र संकलन, धितो निरिक्षण लगायतका काम गर्दै कार्यक्षेत्रको बस्तुस्थिति बुझे । राडिलको रमाइलो र घमाइलो उर्बर फाँटको किनारमा अफिसको लागि एक कोठा भाडामा पाइयो । त्यहि डेरा पनि जमाइयो । अति नै भद्र घरपट्टि दशरथ शाहीज्युकै घर परीवारमा खाना खाने ब्यबस्था पनि मिल्यो । बडो सौहार्द्रमय बाताबरणमा भागेश्वर निर्देशित ग्रामसमितिका काम शुरु भए ।

ग्रामसमितिको एक्लो हाकिम

   ०३३ सालको तिहारदेखि यो संस्थामा कारोबार शुुरुहुँदा तत्कालिन जे टि ए साथी केशबदत्त जोशी र मैले खुुब खटिएर काम गरेका थियौ । बोकटामा उन्नत बीउ, रासायनिक मल, आधुुनिक कृषिऔजार र किटनाशक औषधिको पहिलो खेेप हामीले नै पु-याएकाहौ ।
तिहारको आगमनसंगै झंडै पच्चीस हजार नगद बोकेर ऋण लगानीको काम शुरु गर्न बोकटामा मुकाम खोलिएको थियो  । चाडपर्बको रमाइलोमा यसरी नगद गाउँमा आउदा विशेष हुने नै भयो । राम्रो परीचयको प्रस्थान बिन्दु बन्यो यो काम । नयाँ बिकासे धानको बीउ ल्यायौ । रासायनिक मल, औषधि र औजार पनि राखे । बोकटाको कार्यकाल भरीका जे टि ए मित्रहरु सर्बश्री केशबदत्त जोशी, रमेशचन्द्र भट्ट र दिब्यदेब भट्टसंग अति राम्रो सहकार्य रहेको थियो ।
  मंसिरमा बैतडीको त स्व मेलौलीमा बिरेन्द्रशिल्ड प्रतियोगिताको रमझम थियो । स्थानिय मणिलेक मा बि को पुर्ब बिद्यार्थिको हैसियतमा शिल्ड कार्यक्रम भरी त्यतै बसेर घर नपुगी बोकटा नै फर्किए । पुषको अर्धबार्षिक हिसाब मिलान भ्याएर माघे संक्रान्तिको लागि मात्र घर गए । यसरी म कार्यक्षेत्रमै रमाउथे । आफनो गाउँ जाने सिलसिला बिस्तारै कम हुन भयो । डडेलधुराका साथिहरुसंग भट्टी चाहार्ने क्रम पनि लगभग सकियो । अब म अर्कै कर्मथलोको  नया भावलोकमा बिचरण गर्दै रमाउन थाले । डायरीका पानाहरु पनि घटना प्रधान भन्दा पनि भावना प्रधान र समिक्षात्मक हुन थाले ।
०३३ कार्तिक २३ राति १० बजे राडिलमा लेखिएका शब्द भन्दछन । " न फेद न टुप्पो भएको उटपट्याङ लाग्दैछ जीन्दगी । भिम मल्लको रगत पोखिएको मेरो देशमा यसरी काम गर्न खोज्नु ठिक वा बेठिक के हो? छुट्याउन गारो भएकोछ । लेना एक न देना दो भएको बेला किन ब्यर्थै हृदयतलमा काउकुति लागि रहन्छ, बुझ्न सकेको छैन । "
  पढाईलाई निरन्तरता दिन नसकेको छटपटी एकातिर छ भने आर्थिक दुरावस्थासितको संघर्ष अर्कोतिर । डायरीका शब्दसार भन्छन " सपना जेसुकै देखियोस, मेरो धरातलको बिपना भने देख्दा ठिक्ककि स्वास्नी, चेपागाँडा जस्ता ३/४ केटाकेटी, आफ्नो भन्नू सानो झोपडी र गुजाराको बाटो खोस्री खान पुग्ने थोरै खेति योग्य जमीन मात्र हो । कुनै दु:खि दुनियाँ देखे त्यसै रुन थाल्ने यो कमजोर मुटुले धेरै धान्न सक्न अवस्था छैन । नजानिदो छटपटी, नबुझिने भाषा, नसकिने प्रतिक्षाका गलगाँड थापेर के गर्न सकिएला र ? खै ! "
  आफनै पछिल्लो जीवन यात्राको समीक्षा पनि गरिएकोछ । ०२९ को एस एल सी परिक्षापछि  ०३० को पर्खाई र तयारी( गेट सेट ) तथा ०३१ को काठमाण्डु प्रस्थान र जागिर जीबनमा प्रबेश ( एण्ड गो ) को स्थिति देखियो । ०३२ र २०३३ मा घरको आर्थिक जर्जरता र आफनो शारिरिक रुग्णतासंग जुधियो ।
०३३ फागुनको होरी बोकटा मै खेलियो । समबयी युवा युवतिहरुसंग निर्धक्क रंग छाडनु कम्ता रमाइलो थिएन । ती दिन स्मरणिय त छँदैछन्, लामो समयसम्म हृदय तन्तुलाइ झंकृत बनाउन सक्षम छन । यो अवधिमा गुलसन नंदा, रानु, राजबंशका उलटे सिधे रास्ते, मै बहि हुँ, दो रास्ते, पतझडका सावन, झिलके उस पार जस्ता पढिएका २७३ रोमान्टिक उपन्यासको लामो लिष्ट राखिएकोछ ।  

बिबाह गरियो, जीबन मोडियो


  चैत्रको दोस्रो हाता खबर आयो । बिबाहको ठेगान भएकोले घर आउनु रे । कार्यालय उद्घाटनमा पाल्नु भएका गा फ रा अ अध्यक्षज्युको गाउँतिर बैबाहिक सम्बन्धको कुरा चलेको रहेछ । बुवा स्वयम् गएर कुरो छिनी सकेका रहेछन । नाइनास्ती, पुनरावलोकन वा बादप्रतिबादको प्रश्न नै थिएन । एकपटक फेरि भाग्य चक्रले नयाँ मोडतिर डोर्यायो । रामदत्त मामासंग पठाएको १०३५/- र स्वयमसंग रु ३०००/- बोकेर बेहुला बन्न चैत्र २७ मा घरतिर लागे । यो बर्ष यस्तै उपक्रममा सकियो ।
  २०३४/०१/०१ का दिन जिबनको नयाँ अध्यायको नौलो श्लोक लेखिन गयो । म पनि कसैको पति भएर नयाँ साइनो जोड्न पुगे । फुक्काफाल बालापन साँगुरियो । म बिबाहित बने । वास्तविक नाम तारा बोलाउदा राजू भनिने बोकटी कन्या पत्नीको रुपमा युगल बनेर जोडिन पुगिन । हरीद्वारमा सिमित सम्बन्धिको उपस्थितिमा बिबाहको शान्त आयोजन सुसम्पन्न भयो । पाणिग्रहणमै पहिलो नारीस्पर्शको यो दिन स्मरणीय बन्यो । हरकी पैडीमा अग्नि प्रदक्षिणा गर्ने गरि धर्मशालामा राति ९ बजे लगनगाँठो कसियो । पैडी ९ बजे बन्द भै सक्ने रहेछ । हामी त्यतिन्जेल पैडीमा पुग्न सकेनौ । लग्नगाँठो बाँधेपछि बिबाह सम्पन्न गरेर मात्र फुकाल्नु हुन्छ रे । संयोग , एकै डोरोमा बाँधिएर रात भरी हरीद्वारको पण्डाको धर्मशालामा कुरी रह्यौ, लगभग न निदाएरै । ४ बजे बिहानमात्र यावत अनुष्ठान अती सामान्य रुपमा सकिए । यो सांकेतिक संयोजन गरेर भाग्यबिधाताले के भन्न खोजेका होलान ? अद्यापि सोचमग्न हुन्छौ हामी । २ गते नै मनसादेबीको दर्शन गरियो । सुर्यकुन्ड आउने बाटोमा बाबियो बाध्दै तल झर्यौ । यसरी संगै गएका गुरु दुर्गादत्त पाण्डेजीले बिबाहको परम्परागत अनुष्ठान सम्पन्न गर्नुभयो । माइति पक्षबाट सासू ससुरा र अर्की उतैकी एक महिला बाहेक अरु हामी मात्र थियौ ।

स्मरणीय सन्दर्भहरु

  बिहानै दानदक्षिणाको कुरा आयो ।  धर्मशालामा बसेका हुँदा तिर्थको मान राख्ने भनेर खाममा राखि दिएको दक्षिणा पन्डाले फर्काइ दिए  । आफु लालमोहरीया भएकोले धर्मशालामा नबसे पनि बिबाह ब्रतबन्ध गर्नेले मोटै रकम दिनु पर्छ भन्ने नीजको दाबी थियो । त्यसपछि मात्र उसले रजिष्टरमा नाम लेख्ने, आशीर्वाद र प्रसादि दिने गरेकोछ  रे । यसरी भेटी फर्काउदा अब दानदक्षिणा मानिदैन, धर्मशालाको कोठाको किरायामात्र दिइन्छ भनेर मैले अडान लिए । पण्डा त उग्र हुन थाले । चर्को बिबादमा हाम्रा गुरुजीले मध्यस्थता गरेपछि कुरा मिल्यो । पण्डाले खुशी भएरै आशिष सहित प्रसादीको उपहार दिएर बिदा गरे ।
३ बजेको ट्रेनबाट स्वदेश फर्कियो हाम्रो नौ जनाको जम्मा जन्ति । पिथौरागढमा ६ जना मात्र बाँकी थियौ । हिडेरै ठुलिगाड कमलापतिको डेरामा पुग्यौ । अर्को दिन ट्रकमा वसेर झुलाघाट ओर्लियो । राति ससुरालीमा त पुगियो तर नयाँ श्रीमति पहिलोपल्ट पर सरिन रे । अन्योलका बिचमा पर्खिए ।
  ससुराली खलक खासै सक्रिय देखिएनन । अझ कान्छा ससुरा त आफुले भनेको ठाउँमा छोरी नदिएको भनी ठुस्किएका रे । पर्खेर बसिराख्नु भन्दा काममा जानू उचित हुने ठहराई शाहिलेक उक्लिए । बरु बैक स्टाफले स्वागत गरे । सानो भोजको आयोजना गरेर रमाइलो मनाइयो । उता गाउमा समेत जुठो परेको खबर पाएपछि सोझै बोकटा पुगी काममा खटिए । त्यहाँको सिजनल कामको चटारो थियो । घरबाट कहिले के खवर आउँछ, प्रतीक्षा थियो नै । म न डडेल्धुरा जान सक्थे न घर । बल्ल २६ गते भाइ आयो खवर बोकेर । २७ गते सोझै ससुराली पुगे  । २८ दिनपछि प्रतिकूल मौसमका बाबजुद सामान्य किसिमले बरियाँतको विधि पु-याइयो । २९/ ३० गते द्विरागमन अनुष्ठान पूरा भयो । यसपछिको लगभग एक महिना हाम्रो मधुमास रह्यो, सुर्काल र ऐचेकाँडाको सेरोफेरो र यदाकदा बैतडी ससुरालीसम्मको ओहरदोहरमा पनि । आषाढको पहिलो हप्ता श्रीमतिलाई माइत छोडेर बोकटा फर्के । यसरी छुटिनु पर्दाको पिडामा रोइदिने एक जना परायालाइ आफ्नो बनाइएछ । यसलाई के भन्ने ? यो नातालाइ के मान्ने ? अन्यमनस्क हुँदै भारी हृदय लिएर बोकटा फर्के । यसपछि जिन्दगी दोहरो लाइनमा कुदन थाल्यो ।

काम र व्यवहारको अल्झो

  आषाढको खाताबन्दिको काम । जोगबुडाको सिद्धनाथ सहकारी संस्थाको काम पनि मेरै जिम्मा छोडिएको रहेछ । रुपाल भागेश्वरको बाटो जोगबुडा पनि ओहरदोहर गर्नै पर्ने हुन्थ्यो । साउनमा नवबिबाहिता दुलहीले माइतमै बस्ने चलन छ रे । फलत: आषाढ र साउन अत्यधिक ब्यस्त राख्ने प्रयास गर्दा गर्दै पनि एक्लै छटपटिएर काटे । डायरी यस्तै भावोद्गारले भरिएकोछ । प्रतिबेदन पठाउने नाममा साउनभरी नै चिसो  डडेल्धुरामा बसेर लामा दिन बिताइए ।
  भाद्रमा घरतिर कुदेर जाँदा खुट्टा दुखेर इन्तु न चिन्तु भएको थिए । बिमारीको खबर सुन्नासाथ श्रीमति पनि कुदेरै घर आइन । औषधि खाने तर जे भए पनि धामी नबोलाउने गरियो  । पालीका वैद्य मार्फत बीकम्पलेक्स र न्युरोबिन इन्जेक्सन दिएपछि बल्ल खुट्टा टेक्न सके । दशैमा श्रीमति माइत गइन, म बोकटा फर्के । जिन्दगी यस्तै लुकामारीमा बित्न थाल्यो ।
  दशै आयो, पैसाको जोहो छैन । ब्यक्तिगत ३०००/- ऋण तिर्नुछ । मेसो मिलेकै छैन । दिनमा काम भए पनि राति सपनीमा घरतिरै भइदो रहेछ । दसै तिहार बोकटामै बिते । कातिक देहिजाँतको बाटो घर पुगीवरी १८ दिनपछि फेरी फर्के । सुर्काल र बोकटाको गोलचक्करमा हिउद बिताइयो । यसै बिच कैयौ घटना परीघटना भए । ज्यादा जसो फिल्ड बाहिर गएको गुनासो आएपछि बैकले निरिक्षण गराउदा म गैरहाजिर देखिए । बिभागीय कारवाहीको लागि सपष्टिकरण मागियो।  के गरौ कसो गरौ भयो । पढाईलाई निरन्तरता दिन नसकेकोमा पनि पछुताई रहे । कता कता नौकरी छोडेर घरै बसुँ कि जस्तो पनि लाग्न थाल्यो । नाफा- नोक्सानको यो संसारमा बैबाहिक घरेलु जीबनका ब्यथा पनि अर्कोतिर घोच्न थाले ।
  ०३५ साल यस्तै रनभुल्लमा परेको बेला आई पुगेछ । बोकटामा नयाँ बर्ष मनाउने क्रममा हिजै माछा मारेर ल्याइसकेका थियौ । बिहान गंगेश्वर मन्दिरमा स्नान गरि खानपीन गरियो । बाहिर भुराभुरी सिस्नो लाउने उपक्रममा थिए । मैले प्रतिबेदन लेख्ने काम गरे । बेलुका राडिलको फाँट वरिपरि घुम्यौ । राष्टिय बिकास सेवामा यहाँ आएका केटाहरुका चर्चा ब्याप्त थिए । अबेरसम्म भर्खर सकिएको स्थानिय निर्बाचनबारेमा समेत गफियौ । यसरी एउटा अर्को नयाँ बर्ष शुरु भयो ।
   बिहानै कुलातिर गएर मुख धुनु, खाना खानु र बेलुका खेतका फाँटमा घुम्नु बाहेक कार्यालयका सिमित औपचारिक काम मात्र थिए । खासै केही गरौ भन्ने जाँगर पनि कम हुँदै गयो । जे टि ए साथीसंग चेस खेलिन्थ्यो । अर्थबिहीन गफमा बाकी समय बिताइन्थ्यो । प्रतिबेदन बोकेर डडेलधुरा गएको त ऋणमा भाका नघाएको भनी थप ऋण समेत नपाइने भइएछ । अब साझा कार्यक्रमको नाममा नयाँ नीति आउने भनियो । जागिर बेरसिलो हुँदै गयो । हप्ता दिनपछि बोकटा फर्कदा भाई दत्तराम पढाई छोडेर दिल्ली गएको खवर सुनियो । मामाघर पुगेर यो थाहा पाएपछि त्यहि बाटो घर गए । बुवा बुहारी बोलाउन बैतडी तिर जानू भयो । गाउमा नयाँ नापिको तयारी थियो । म मुखियाको तर्फबाट सनद उतार गरि टिप्पन बनाउनमा लागे । राति एक दुइबजेसम्म लेखापढीको काम गरिन्थ्यो ।  तेस्रो दिन मात्र उनी माइतबाट फर्किन लामो प्रतीक्षा पछि । यसरी धेरै दिन घर र थोरै दिन बोकटाको बास हुन थाल्यो । कहि पनि ब्यबस्थित हुन सकिएन । स्वास्थ्यमा समेत हातखुट्टाको छाला खुइलिनु, हातखुट्टा झमझमाउनु, यसै गरि कमर, पीठ र हारखुट्टा दुख्नु र चस्कनु, छालामा ससाना खटिरा आउनु, थकाइ लागिरहनु जस्ता केही प्रतिकुलता देखिन थाले । अस्पताल देखाउदा कुपोषण र कमजोरी मात्र बताउथे । तर म शिथिल हुँदै गैरहेको थिए ।
  बिस्तारै घरमा पनि बुहारी गतिलो काम नगर्ने भनी सिकायत आउन थाले । म आउदा मात्र यता बस्छे नत्र माइत गै रहन्छिन भन्ने कुरा पनि सुनाइए । अर्हाउदा नमानेका प्रसंग पनि झिकिए । निसन्देह छिमेकीको मुकाबिलामा हामी कृषिकर्म गर्न कमजोर नै थियौ । तर राम्रोसंग जुगाणबाजी चलाउन सक्थ्यौ । वास्तबमा बुवाआमा छरछिमेक जस्तै बनौ भन्थे, हामी अरु भन्दा विशेष बन्न चाहन्थ्यौ । कुरा बाझिने नै भयो । त्यो समयसम्म हाम्रि गाउँमा महिलालाई जुत्ता चप्पल लाउन निषेध थियो । केटाहरुले कपाल मिलाएर काटेमा जुल्फी पालेर बिग्रदै गरेको मानिन्थ्यो । हामी अरुभन्दा अलिक बेग्लै थियौ । तर  कामकाजमा लोसे देखिन्थ्यौ । फलत: नकारात्मक चर्चा पनि चलिनै रहन्थ्यो ।
  यता जेठ मसान्त हुँदो राष्टिय पन्चायत सदस्यको परिणाम आइसकेको थियो । केही प्रतिबन्धित नेपाली कांग्रेसका नेताहरुले श्री५ को नेतृत्वमा पन्चायतलाइ समर्थन गरेको खबर जोडतोडकासाथ रेडियो नेपालले प्रसारण गर्दै थियो । म बार्षिक खाताबन्दीमा अलमलिए । बोकटा स्कूलमा नाटक लगाउने तालिम चलाउदै थिए । त्यता पनि सक्रिय थिए । बोकटा कोट नजिकै  औलो उन्मुलन कार्यालय थियो । कर्मचारी साथीहरु गफ गर्न त्यता पनि सजिलो हुन्थ्यो । के गरौ कसो गरौमा मनमयुर सँधै उडिरहन्थ्यो । सुरनैयातिर माछा मारिन्थ्यो । डोबको खोलातिर यदाकदा शिकार खेल्न पनि जान थाले । बनबेतका भूत बयारका कुरा पनि चासो मानेर बुझ्न थाले । छेको मिलाएर घर गई अत्याबश्यक घरेलु काममा समेत सघाइन्थ्यो । भ्याएसम्म गर्थे । तर कुरो फिल्डमा नियमित हाजिरीको थियो । एक्लै हुँदा हृदय हाहाकार गरि रहन्थ्यो ।
  यसरी समय पनि सुरनैया नदिजस्तै भएको थियो । किनारको वास्ता नगर्दै निरन्तर बगी रहने । उर्लदो बाढीमा  बगी आएको जरा उखेलियो कुनै रुखको कलकलाउदो बोट जस्तो म धर्तिको टुक्रा खोजी रहेको हुन्थे । कहिले कुनै किनारमा ठोकिन्थे , कहिले कुनै खोचमा लतारिन्थे । टिक्न नसकेर  बगिरहनु मेरो नियति थियो ।
  बर्ष०३५/०३६ को राष्टिय बजेट ३ अरब ७५ लाखको  थियो । निजामति कर्मचारीको तलब२०% सम्म बढ्यो । तर हामीजस्ता संस्थाका कर्मचारीको तलब बढने कुनै छेकछन्द देखिएन । त्यसो त बोकटाको ग्राम समितिको यस बर्षको घाटा ३०४३/३७ समेत कुलघाटा ११६६७/७७ पुगीसकेको थियो ।
साउनको पहिलो हप्ता गत आ ब को खाताबन्दी गरि घर लागे । खर्कतिर एक्लै बसे । घरमा पनि घरेलु किचलो बढदै गएका कारण श्रीमती माइत गएकि रहिछन् । दोस्रो दिन म पनि उतै लागे । अज्ञात छटपटिले मलाइ बसि खान दिई रहेको थिएन । सिङ्गो जीवनको असपष्ट चित्र ठम्याउन सकि रहेकै थिएन ।
यसै मेसोमाझुलाघाटबाट ४०० जति भारु खोजि पिथौरागढ हान्निए । संस्थाको लेटरप्याड छाप बनाउन लगाए । उपचार गराए । बेलुका भारतको गुप्तचर निकायमा काम गर्ने गाउँले चन्दजीको डेरामा बसे । प्र ने का का सदस्य तथा हाम्रा स्कूलका हेडसर ( पछि माननीय सांसद ) कृष्णकुमार जोशीज्यू त्यतै थिए  । केही राजनैतिक गफ भए । पिथौरागढबाटै प्राइभेट पढनेतर्फ पनि छलफल गरियो । कलेजहरुतिर बुझे । फिल्म बैराग हेरे । यसरि ५ दिन प्रबासमा बिते । पुन: ससुराली हुदै श्रीमतिसहित घर फर्कदा सबै जना खर्क गएका भेटिए । ताला तोडी भित्र पस्यौ र भोकै सुत्यौ । घरेलु खटपट जारी थियो । गोरा र त्यसपछिका केही दिन सुर्काल र ऐचेकाँडा हुँदै बिते । ऐचेकाणाको खर्कमा हामी जोइपोई मात्र हुन्थ्यौ । यदाकदा परित्यक्ता जस्ती खर्कमा एकलै बसेकी भुरी भेटन आउथिन र आफ्ना कथाब्यथा बताइ रहन्थिन् । यता  फिल्डमा कम बस्ने कर्मचारीमा गनिए पनि पक्का काम गर्ने असल भरपर्दो मानिस मानिन्थे । बोकटामा मेरो प्रतीक्षा गरिरहने आँखाहरु अद्यापि भुलिएका छैनन् ।

फेरी पढाइतिर

   अफिसियको काम सकाएर असौज पहिलो हप्ता बैक मैनेजरको निरिक्षण थियो । संयोगबश म फिल्डमै थिए । सब ठिकठाक पारे । ५ बर्षसम्म पढाईमा ब्यबधान आएकोमा चित्त पनि दुखि रह्यो ।असौजमा साथी नर बहादुर खत्री र जंग बहादुर चन्दको साथमा सोझै कसैलाई जानकारी नै नगराई पिथौरागढ गयौ । फेरी पढाइ शुरु गर्ने ध्याउना थियो । ज्योतिर्मय होटेलमा कोठा लिइ इन्टरको फाराम भर्ने दौडधुप गरियो । तर कतै तारतम्य मिलाउन सकिएन । फोटो खिचिए । मिसन र इन्टर कलेज चहारिए । तर पटवारीबाट अस्थायि नागरिकताको सिफारिस लिन सकिएन । निदानत: भाग्यमा भए फाराम भराउन आफैले बोलाउनेछन भनेर गफ दिदै रमाइलो गर्यौ । मन्जिले और भि है भन्ने फिल्म हेरेर पिथौरागढबाट यतिकै फर्कियौ ।
  तीन दिन बैतडी बसेर बसेर श्रीमान श्रीमती घर त फर्क्यौ , तर यहाँ  सबै तर्किन थाले । मैलै खाना खाए । उनी भोकै सुतिन् । दशै यत्तिकै बित्यो गाज्जो काटदै, गजाल चाहार्दै, घोगाण जोत्दै । दशैका दिन खिचमिचमा गए । तिहारका निम्ति संझाइबुझाइ बोकटा फर्के । लगत्तै डडेल्धुराबाट सामान ल्याए । ऋण असुलीको ताकेता गरे । जसो तसो काम सिध्याई दिपावली बोकटामै मनाइयो । भाइ टिकाको दिन मैयाँ बहिनीहरुले टीका लगाइ दिइन । बेलुका असुरको दुत्या हेर्न गए । यसपाला सिमनाथको जाँत समेत दलबल सहित हेरियो । यतिकै मेलापर्बको रमाइलो हेरेर लगत्तै मेलौली जाँतको अनुकुलता मिलाई घर जाने जोहोमा थिए । छडके निरिक्षणको खबरले फर्किए । मंसिरको पहिलो हाता मात्रै घर फर्किए । गहुँ छर्ने चटारो छँदै थियो ।

प्रथम सन्तान आगमनको सुचना


   म बुवा हुन थालेको जनाउ दिइन पत्नीले । दुबैले आफनो परिधि अनुकूल प्रशन्नता अनुभव हुने गरी रमाइलो गर्यौ । पहिलोपल्ट हुँदा गर्भवति स्याहारको  खासै अनुभव थिएन । तर श्रीमति साधारण काममामात्र खटिउन भन्ने चाहन्थे । परिस्थिति हाम्रो अनुकुल थिएन गाउँमा । नौकरीको पनि निश्चित ठेगान थिएन । म अफिस र घर चाहार्थे, उनी माइत र घर भन्दै ओहरदोहर गरिरहन्थिन । घरमा दुबै भएपछि सबै चुपचाप हुन्थे । बुवा हुन पाउने खुशीमा " गाता रहे मेरा दिल, यहि मेरी मन्जील, बोलको गाना गुनगुनाउदै ग्वालो हुन पुगेको घटना आज पनि हिजैका जस्ता लाग्छन । त्यसबेला र अहिलेका मानक नै बदलिइ सकेकाले त्यो बेलाको अन्दाज लगाउन गारो छ ।
 नोला नन्दप्रसाद र भाइ कमलापतिको बिबाह यसै मंसिरमा सम्पन्न भयो । मंसिर २७ तिर बुवा, गुरुजी र सासू ससुरा समेतको टोली जगन्नाथको तिर्थयात्रामा पठाइए । सबै ब्यबस्था मिलाई बुवाको हातमा भा रु १०२२/- थमाएर बैतडी फर्के महाकाली पारी झुलाघाटबाट  । दोस्रो दिन घर फर्के देहिमाण्डौको जमानी जाँत हेरदै । लगत्तै बोकटा हानिए हतारमा । एक दिन बसी रिपोर्ट तयार गरेर डराउदै डडेल्धुरा पुगे ।

भुमी सुधार बिभागको मातहतमा

  डडेल्धुरा पुग्दा नपुग्दै  हाम्रा ग्राम समितिहरु भुमीसुधारलाई हस्तान्तरण भएका खवर सुनिए । यसरी म नजानिकनै भुमीसुधार मातहतको कर्मचारी हुन पुगे । बैंकको पल्ला छुटेकोमा संचो पनि माने । तर तलब, बजेट वा निर्देशन  केही पाइएन । यै अब्यबस्थाकाबीच फर्किए । सुरनैयाको किनारमा नामको खन्ड काव्य लेख्ने बिचार गरेर केही दिन त्यतिकै गहिरिए । पछि त्यो बिचार त्यतिकै तुहियो । यससंगै सन 1978 सकियो । प्राय: भाउजुको फोटो माग्ने र योग्यता सोधीरहने जमातसंग अबेरसम्म जिस्किएर बिताइयो बर्षान्त ।
क्याम्पडेबिस सम्झौता, इरानमा शाह बिरुद्ध बिद्रोह, नामेबिया स्तन्त्र, स्पेनमा लोकतन्त्र जस्ता घटना यसै बर्ष भएका थिए ।
  बर्षको पुस महिना१७ गते  । जनवरी 1989 । शिकारी शाही जत्थासंग राजुलको खोलासम्म पुगी कारतोस हानी माछा मारेर शिकार खेल्यौ । आजै भुमीसुधारबाट पुर्बबत काम गर्न निर्देशन समेत प्राप्त भयो । यसपछि बल्ल २१ गते घरतिर हिडे । पिताजी जगन्नाथको तिर्थयात्राबाट फर्कि सक्नु भएको थियो । गाउँघरमा उखुपेल्ने काम धमाधम भै रहेको थियो । अर्को तिर कान्छी जिजुमुमाको खलि लगाइएको थियो । त्यसको निष्फल आयोजनामा पनि लागियो । भुरी इशारै इशारामा बिदा मागेर गइन । धेरैपछिमात्र मैले इशारा बुझ्न भ्याए । उनले यो गाउँ छाडेर अन्यत्रै घरबार जमाएकि रहिछन  ।
  गाउपंचायतमा प्रधानपंच बिरुद्ध अबिश्वास ल्याइदै थियो । कांग्रेश भएकै कारण प्र अ कृष्णकुमार जोशीको सरुवा गरीदै थियो । म ज्यादाजसो तोकिएको फिल्ड छोडी गाउमै बसेकोले राजनैतिक वातावरण बिगारेको भनी आरोपित गरिएको रहेछु । यो सब कामका खलपात्र थिए बहादुर चन्द । मैले सानै देखि उनको प्रतिरोध गरीरहेको शंका पालेका थिए ती बहादुरले ।

भाई खोज्न दिल्लीतिर

  पढाइ छाडी दिल्ली गएको भनिएको माइलो भाइलाई  बोलाउन दिल्ली जानुपर्ने भयो । श्रीमति पनि संगै माइत जान तयार भइन । तर बुवा काममा सघाउन उनलाई रोक्न थाले । घरमा किचलो भयो । तै पनि हामिी घरबाट संगसंगै हिड्यौ । म दिल्लीको लागी सोझै झुलाघाट झरे । उनी माइततिर लागिन् । जनवरि 23 मा दिल्ली इदगाहारोडमा बाजे बिरादत्तको डेरा खोजी उतै बसियो । त्यहाँ जोशिबुङाकि एक " महिला " पनि बसेकि थिइन । बहुतै फरासिली । उनैले दिल्ली घुमाइन । फरिदाबाद गल्लावाला रामकुवरसिहको दुकानमा  एकबर्षसम्म गुमनाम बनेको भाइसाप भेट्टिए । सुरजकुन्ड, कुतुम्बिनार, लालकिल्ला आदि स्थान घुमियो । दाजुभाईको सल्लाह भयो । इदगाहरोड नै बसेको बेला सालिमार फिल्म हेरियो । बाजे बिरादत्त मार्फत नै २७ जनवरीको कार्यक्रम हेर्ने पासको ब्यबस्था मिलाइएको थियो । सो दिन मुश्किलले आफ्नो ब्लक खोजी गणतन्त्र दिबस पनि हेरे । बदरपुर भाइको डेरामा समेत केही दिन बसेको थिए । चिडियाखाना , राजघाट, संग्रहालय र जामामस्जिद  हेरेर १७ गते फर्के । यो मेरो पहिलो बिदेश भ्रमण थियो ।

फेरी छडकेमा

  माइतमा श्रीमति, घरमा बुवा बिमार रहेछन् । बोकटामा भुमीसुधार अधिकारीले निरिक्षण गरि छडके हानेका रहेछन । इच्छा नभए पनि बाध्य भै बोर भएर बोकटा पुगे । सपष्टिकरण लेखे अपराधी मनले । फागुन पहिलो साता डडेल्धुरा पुगि सफाइ लिए । लोकसेवाले बिज्ञापन खोलेको रहेछ । कृषि बैकले पनि लेखापाल मागेको रहेछ । त्यता पनि परीक्षा दिने बिचारले बोकटा फर्कि कागजपत्र जम्मा गरे  । धेरैजना उमेदवारहरु एकमुष्ट धनगढी हिड्यौ, कतै पैदल,कतै ट्रक कतै गाडी खोजेर बाटोमा बस्दै । तेस्रो दिन धनगढीको जीबनछाया होटलमा बसी फाराम भरियो । येनकेन महेन्द्रनगर पुगी शिबधामको मेला हेरे । उर्बादत्तजीको घरमा बसे । फाराम भरे र धनगढी भएर मुश्किलले डडेल्धुरा फर्के ।
  मेरो धपेणिको हिसाब कसले राखेका होलान र । म कल्पिए । अस्थायी जीबनमा स्थायी नौकरी खोज्ने म मूर्ख पनि मान्न थाले आफुलाई । एकदिन मात्र खलङ्गा बसी बोकटा गए । उर्लदो नदिमा हामफालेर तर्न खोज्दा झन्डै खुस्किएको थिए । तर राडिलमा धेरै प्रतिक्षामा थिए मेरो । यसपाला पनि होरी बोकटामा खेले । रंगारंग होरी । सचिब खगराज चटोपाध्यायबाट राम्रो निर्देसन पाए अग्रिम कामकालागि । फटाफट यहाँको काम सकाई राजुलको बाटो घर हिड्यौ । यो पनि राजुलमा देवकन्या भेटने भित्री अभिलाषा बोकेर । तर चोक्टा खाम गएका झोलमा डुबेर सुरनयाँ किनारको बाटो सलेना हुदै घर आए । श्रीमति माइत रहिछन् । २/४ दिन आउछिन कि भनेर  पर्खे । दुर्गास्थानतिर हल्लिए । तर अँह । निदानत: ४ गते चैत महेन्द्रनगर गए झुलाघाटको बाटो । फाराम बुझाइ एकै दिनमा फर्के ।
  चैत ८ गते हामि गोज्यांग्रा भनौ कि फुर्सदिला लोग्ने स्वास्नी डराउदै सुर्काल आयौ । दोस्रो दिन घट्टको खेणि जानू पर्ने भयो । गइयो । मल्लागाउवालाहरुसंग कम्पटिसन जो थियो । १२ गते भन्तोलिको जाँतसम्म पनि यहि बखेणा थियो । १८ गते लोकसेवाको जाँचकै लागि महेन्द्रनगर झरे । जाँच दिएर १९ गते नै गड्डाचौकीको बाटो पहाड उक्लिए । अर्कोदिन माइत खाना खाई सोझै ऐचेकाँडा गइयो ।
  २३ गते चैत्र रामनवमीको दिन । भुट्टोलाई फाकिस्तनमा फाँसी दिएको दिन हामी श्रीमान श्रीमति ऐचेकाणा खर्कमा थियौ र भुट्टोको दुखान्त खबरबारे महने बाजेसंग गफ गरेर दिन बिताएको थिए । अर्को दिन ग्वानी गै बेदप्रकाशबाट केही पुस्तक ल्याए । हतेरिका माइतबाट सासू आएकि रहिछन। श्रीमति माइत गै दिदा खर्कमा एक्लै बसेर बर्षको बाँकि एक दिन  काटन नै मुश्किल । डायरीमा समीक्षा लेखियो, बेला बेलामा घर आउ, श्रीमतिसंग रमाउ, अनि बोकटाको नौकरी बचाउ । जागिर बैकबाट भुमिसुधारतर्फ लागेेेेकोले नयाँ नौकरीको चक्कर काटन थाले । शिक्षाक्षेत्र टाढिदै गयो । दिनहरु द्विबिधामा थिए । जीबनको यो बर्षले यतिकै बीट मा-यो ।

बिथोलिएको मेसो

  ०३६ साल । ऐचेकाँडाको खर्कमा ऐकान्तिक आयोजन गरि नव बर्षलाइ स्वागत गरियो । २ गते सेली बाग्गोठको बाटो बोकटा लागे । बाग्गोठमा भुमीसुधारका तत्कालीन हाकिम सुब्बा जीत बहादुर चन्द भेटिदा अनयासै उनको आग्रहमा उनीसंगै असिनापानीमा भिजदै राती डडेलधुरा पुगियो । बैंक लेखापालको लिखित परिक्षामा ९६ उमेदवारमध्ये  म सहित १७ पास भएको खबर पाए । तर कुन्नी किन बैंकप्रति बितृष्णा पलायो । देखा जायेगा भन्दै भुमीसुधारमै बसि केही दिन काटे । बोकटाबाट प्रमाणपत्र ल्याएर मुश्किलले धनगढी जान भ्याए । पुस्तकालय चाहार्न बाहेक कसैसंग भेटिन । होटेल जीबनछाया मै बसे । यो परीक्षा मेरोलागी ट्रायल नै थियो । अन्तरवार्ताको दिन बिहान मन्दिर चाहारे । दिउँसो इन्टरभ्यु दिए । खास गरि ऋ स नि को अनुभव, साझा कार्यक्रम, बैतडेली गोरु, पाकिस्तानी भुट्टटोमा अन्तर्बार्ता केन्द्रित गराउन म सफल भए । बेलुका हरे काँचकी चुडिया फिल्म हेरे । दोस्रो दिन डडेलधुरा फर्के । रु २२०/- मा किनेको घडी बाटैमा हराएछ , चालै पाएन । १ दिन डडेल्धुरा बसी बोकटा फर्के ।
  यसपछि सुरनैयामा माछा मार्न  नदिका बगर,भेटघाट गर्न खेतका फाँट , शिकार खेल्न बनजंगल र बाँकि दिन गफ गर्दै आफनै " कुसुम कुटिया" मा बसी रहनु बाहेक केही काम गरिएनन । सुरनयामा पौडी खेल्न समेत सिकाइ माग्न थालेको सम्झना आलैछन् । जिन्दगी यस्तै टुक्राटाक्री जोडेर हेर्दा अझ आकर्षक लाग्दो रहेछ ।
  देशमा बिरोधका स्वर बलिया हुँदै थिए  । मेरो पाँचबर्षे नौकरी पनि पुरानो बन्दै थियो । बिबाह गरेर बच्चा जन्माउने उपक्रम बाहेक केही गर्न नसकिएकोमा खल्लो लागेको थियो । गाउपंचायतबाट बजेट र कार्यक्रम पारित गराई बैसाख अन्तिम हप्ता डडेल्धुरा उक्ले । पहिलोपल्ट सरकारी कार्यालयबाट तलबभता बुझेर जेठ १ गते घर गएपछि लोकसेवाको लिखित परीक्षा उतिर्ण गरेको पत्र पाए । परीवारमा आउने बालकको प्रतीक्षा थियो । चेलिबुहारीका बुहार्तनबारे बुझ्दै गए, तर समस्याका उपाय खोज्नै सकिएनन ।
  श्री ५ बाट जनमतसंग्रहको शाही घोषणा भयो जेठ ३ मा । नरेशको इमानदारितामा पुर्णबिश्वास गर्दै बी पि ले स्वागत गरे, प्र मं किर्तिनिधि बिष्टले राजिनामा दिए । राजासंग मतैक्य थिएन भन्ने चर्चा थियो । वातावरण हौसलापुर्ण थियो, तर समस्या समाधानका सुत्र फेला परेका थिएनन। भविष्यको प्रतीक्षा थियो, मात्र नियतिको भरमा ।
  २२ जेठमा अन्तरवार्ताका लागि फेरि महेन्द्रनगर तिर लागे । सोर्स चाहिन्छ रे भनेको सुन्थे , तर मेरो को पो थियो र .। बगाडीका भट्टजी सहयात्री थिए । २३ जेठ बेलुका झुलाघाटबाट महेन्द्रनगर पुगियो । नाता पनि लाग्ने हुँदा उनै पूर्ब गा फ रा अ अध्यक्षज्युके घरमा बास बसियो । कुरा पनि राखे ।  जेठ २४ खुलामंचमा बहुदलको आमसभा थियो । प्रकट रुपमा वीर बिसस्वेश्वरको नारा गुन्जिदै थिए । म रोमान्चित हुँदै थिए । २५ गते अन्तरवार्ता दिए । पालिखे जोडीले अन्तर्वार्ता लिए सामान्य किसिमले । सोही दिन फर्किए बैतडी ।

दीपकको जन्म

   ससुरालीमा बास बसी दोस्रोदिन घर पुगे । ३ दिनदेखि संचो नभएको जनाउ दिइन पत्नीले, तर सिनियर महिला यसलाई सामान्य नै बताउथिन । म छटपटाउथे मात्र । हामी दुबै अनाडी नै त थियौ ।
   आषाढ झन धपेणिको मैना थियो । बुवामुमा काममा जान्थे । म घर धन्दा हेर्थे । ३ गते आइतबार (17 जून 1979 ) बेलुका ६.४५ मा परीवारमा तेस्रो प्राणीको रुपमा पहिलो पुत्र प्राप्त भयो । बिहानसंगै खाणमा पर्सो बोकेर म ग्वालो गएको थिए । उ परीगाऊको पुरानो घरतिर लागि । दिनभरिको ब्यथा पछि साँझ बल्ल बच्चा जन्मिएछ । ( त्यसबेलाको चलन नै त्यस्तो थियो । अलग एक्लै प्रसब गराउने ।) आमा र बहिनी राति उतै बस्नु भयो । बुवा रोपाइमा जानू भयो । सुत्केरीलाई खाना ख्वाउने जिम्मा मलाइ नै प-यो । छोराको माया लाग्दो अनुहार हेरे । भएको सामान दिए । आफै पकाइन । यो क्रम पछिसम्म नै चल्यो । सुत्केरीको स्याहार कसो भयो होला अनुमान गर्न सकिन्छ । खाणको रोपाइका दिन त यो क्रम पनि भङ्ग भयो ।१० गते ससुराली गै छोरा जन्मेको खबर गरे । सासू ज्यादै खूशि त भइन , स्याहारका बारेमा चिन्तित पनि देखिइन ।
  आजै बैतडी सदरमुकाममा बहुदल समर्थकहरुको सभा थियो । आयोजक थिए मदन मास्टर र प्रमुखबक्ता दुर्गादत्त जोशी, खेमराज जोशी, कृष्णकुमार जोशी । केहि रा बि से छात्रहरुले पनि भाषण गरे । म पनि सहभागी भए । दोस्रो दिन जर्ग फुपुलाइ भेटि घर पुगे । दुबै दिनमा श्रीमतिको फुङ्ग अनुहार देखेर झस्किए । केही औषधि ल्यएको थिए । दिए । केही अब्याबहारिक सामाजिक रुढीको शिकार भयौ हामी । म पनि त्यस दिन भोकै सुते । लुकाएर गुड दिएर आए । १३ गते न्वारान पनि ७/८ जनाको उपस्थितिमा सामान्य किसिमले सम्पन्न भयो । नाम दिपक राखियो ।
  अर्को दिन औषधि राम्रो गरि नखाएकोमा म  रिसाउदै थिए । दिपक छिनछिनमा च्याठिदै रुदै थियो । झन आमाले सागपात बिनाकै कोदाको रोटीको आहार दिइन । एकान्तमा प्रतिबाद गरे । तर स्थिति यथावत नै रह्यो । आलो आश्वासन र अर्ति आदेशमात्र दिएर म भारी मन लिएर बोकटा फर्के । कोटमा मैले लोकसेवा पास गरेको गाइगुइ थियो  । निन्द्रै नपर्ने छटपटीमा बिते ती दिन । २२ आषाढमा धनबहादुर शाही हस्ते लोकसेवाको सिफारिस पत्र मिल्यो । जिल्ला कार्यालय दार्चुलामा पारिएको रहेछ । के गरौ कसो गरौ भएर त्यो दिन खाना नै खान सकेनछु । मित्र प्रा बि नि भवानीदत्त अवस्थी आएर केही मार्गदर्शन दिए । २४ आषाढमा डडेल्धुरा हिडियो ।
  कसरी कहाँ जाने, कताबाट सफाइ लिने, कताबाट राजिनामा वा रवानाको काम गर्ने मेसो मिलाउनमै धेरै दिन काटिए । सन्चो भएन । खाना खाइदैन । गन्तव्य सपष्ट छैन । घरमा स्वास्नीको हालत सम्झदै हिक्का छुटछ । खाताबन्दी सिद्याई लेखापरिक्षण गराउनु पर्ने आदेश लिई २७ गते बोकटा फर्के । हिसाब र प्रस्थानका कुरासंगै बल्ल बिरोधका कुरा पनि सुनिन थाले । जेहोस खाताबन्दि सिध्याए । ३२ गते नै अडिटकालागि खातापाता बोकाई डडेल्धुरा लागे । म बोकटाबाट अन्यत्र जान थालेको मानेर बहिनी बिस्ना मैयाँ त रुन पो लागिन । जान्ने भए चिठी पठाउने थिए म के गरौली भनेर । येनकेन संझाए ।
  बैक मार्फत नै अडिट गराउने भइयो । खातापाता जिम्मा लाए । कालो पर्दा नामको नेपाली उपन्यास र अधुरा सुहाग हिन्दी उपन्यास पढि ऐकान्तिक दिन बिताए खलंगामा । १० साउनमा अडिट सकियो । तीन बर्षमा ६२६९९/८९ को कारोबार । १७०००/ तलब खर्च, १२२११/- आम्दानी । बैंक ऋण ३९०००/- ।  कैयौ छलफल पश्चात् वासलातमा दस्तखत भयो । मु दिवाकर चटौतले चार्ज बुझ्ने निर्णय पनि भयो ।
१३ गते । महाकाली अंचलमा ऋतुबर्ण तुम्बाहाम्फे अंचलाधिश बनेर खटिएको समाचार सुने । दोहरो तलब खर्चको कुरामा किचलो उठाएका मैनेजर ताराप्रसादसंग कुरा मिलाए । तमसुकहरु बुझे । खातापाता प्रमाणित गराए । खातापाता आफै टाउकोमा राखी ११ बजे बोकटातर्फ लागे । सुब्बा जीत बहादुर चन्द पनि सहयात्री थिए । राति मेरै डेरामा बस्यौ ।
  दोस्रो दिन प्रधानपंच मल्ललाई खोज्न लामिकाण्डे गए । उनले सचिब नसोधी कतै दस्तखत नगर्ने अडान लिए । निर्दल र बहुदल पक्षबारे छलफल चल्दा पंचायतको बिरोध गरेको ठानेर उनी मसंग चिढिएका थिए । सचिब खगराज चट्टोपाध्यायको घर पुग्दा उनी बिप्लम गएका जानकारी पाए । दोस्रो दिन सबै जना नानीगाड डिठ्ठा सापको घरमा जम्मा भयौ । धेरै पुराना घतलाग्दा कुराको जानकारी पाइयो । खातापाता प्रमाणित गराए । सफाईपत्र लिए । २० गते संचालक समितिको बैठक बोलाए । बाँकि दिनमा कागजपत्र, लेनदेन मिलाए । भेटघाट र बिदाईका काम पनि तारन्तार पूरा गरे ।
  २० गते बिदाइ बैठकको आयोजन ब्यक्तिगत रुपमा मेरालागि महत्वपुर्ण थियो । किनकि मेरो सम्पुर्ण कामको प्रभाव मुल्यांकनको प्रश्न थियो । सम्बन्धित सबै उपस्थित थिए । लेखापरिक्षण प्रतिबेदन पास गरे । राजिनामाको सिफारिस गरि सधन्यबाद बिदा गरे । खातापाता सचिबको जिम्मा राखिए । बाँकी धानको बीउ निशुल्क बाँडि दिए । बिदाईको तयारी भावुकतापुर्ण भयो । अब यो आगनमा के भनेर आउला , बिदाई हेर्न असमर्थ छौ भनेर केही एक घन्टा अगावै टिलपिलाएर छुट्टिए ।
साउन २८ डडेलधुरा  गै राजिनामा स्वीकृत गराए । हितकोष फिर्ता लिए । उग्रतारा दर्शन गरे । सिबालय किर्तनमा सामेल भए । साउन मसान्तमा बैकको लेखपालको आठौ योग्यताक्रममा पास भएको सूचना पाए । मैले भने भाद्र एकबाट राजिनामा स्वीकृतको निर्णय गराएको थिए  ।
यसरी ०३३/४/१ देखि ०३६/ ४/३२ सम्म स्वतन्त्र रुपले यो ग्रामसमिति संचालन गर्दा रु ४४९८० लगानी गरि १५७७८/- असुली गर्न भ्याए । १/२ गते बिदाइ र तिरोभरो गरेर ३ गते महाप्रस्थान गरे डढेल्धुराबाट । राति ८ बजे राडिल पुगे । ४ गते बिस्ना मैयाँ हतारिदै कोटबाट फर्किन । आफु टाढैबाट चिन्न सक्ने भएको कुरा रुदै बताइन । जुनिभरी बाटो हेरी रहने बाहेक अरु केही गर्न नसक्ने निरिहता सुनाउदा म पनि नरोइ रहन सकिन । डा भोजले घाटा लागेको हिसाब नबुझनु पर्ने तर्क राखेका रहेछन् । सरु फुपु मार्फत आएको श्रीमति बिमार परेको खबरले झस्किए । दिदी जानकि र बैनि बिस्नाले आआफना बाध्यता बताएर बिदाईलाई भावपुर्ण बनाइ दिइन । यहाँ बस्दाबस्दै म भावनात्मक रुपमा यतैको सदस्य बनी सकेको थिए । तर ब्यबहारले त्यो अनुमति दिइरहेको थिएन । भावना र बिबेकको संयोगले जीवन रथ तानिदो रहेछ ।  घरपट्टि र साथिहरु सुरनैयासम्मै छोडन आए । म बोकटाबाट हिडी कोटिगाँव नकटुन्जेल टाणिमाथिको जंगल किनाराबाट सेता पछ्यौराहरु बिदाइमा हल्लिदै थिए । यसरी बोकटाबाट बिरानिए । पहिलो इनिङ सकियो ।
  अहिले सम्झिदा लाग्दछ, अल्लारे बनेर ख्यालख्यालमा खाइएको नौकरीलाई गम्भीर बनेर बुझ्न थालेको मैले यसपछि मात्र  हो । बडो मनमौजी प्रेमिल बाताबरण बनाएर बोकटा क्षेत्रमा बसिएको थियो । पाईलाहरुको योग नै यात्रा भएजस्तो त्यसबेला उम्रिएका ससाना सपनाहरुको सामुहिक परिणति नै मेरो आजको बिपना हो । यात्रामा भेेट्टिएका कैयौ  सहयात्रीहरू अहिले विभिन्न ठाउँमा छरपष्ट छन, होलान् । फर्किहेर्दा जिबनको यो मुकाम नै जागिरे जीवनको प्रस्थानबिन्दु मानेकोछु । तीन बर्ष यो गाउँमा बसिवरी मैले फेेरि "क्रमभंग"  गरे । पढाइतर्फ लाग्न नसकेको र यो नौकरीको कुनै संस्थागत सुधार हुन नसक्ने ठहराई स्थायि सेवाको लागि लोकसेवा आयोगको जाँच दिएको थिए । आयोगले जिल्ला प्रशासन कार्याालय दार्चुुलामा सिफारिस गरेकोहुदा ०३६ भाद्रमा यो ठाउँ छोडियो । ..... र जिन्दगीको लय बदलियो । यसरी नौकरितर्फको पहिलो परिक्षण र प्रशिक्षणको प्रथम अध्याय  सकियो ।

***

No comments:

Post a Comment