आफनै जिल्लामा सरुवा
गढीको उकालो बाटो
आफूले आफूलाई छल्न जति सजिलो छ, त्यति सजिलो सायद अरुसंग झुठो बोल्दा हुदैन । पेट भोको हुँदा पनि खाएको छु भन्नु सजिलै लाग्छ । नाङ्गो कुर्कुच्चामा बिझेको काँडालाइ लुकाएर झिक्नु वा बर्षौ पहिला सिलाएको पाइन्ट धुँदा जतनले धुनु गाह्रो काम होइन । यसरी अरुसंग लुकाएर बेहोरिएका दु:खलाई पछि अरुसंग बाँडन पाउँदा पनि अन्तरहृदयमा आनन्द पलाउदो रहेछ । आफनो अनुभव बाँडन मलाइ आनन्द लागि रहेकोछ ।
आफनै माटोमा आफनै बाटोभित्र हिडदा पनि जिबनले बिबिध रंगको बान्की हाल्दो रहेछ । उकालोमा सकि नसकि पछाडी लागेर हिड्दा पनि कुनै न कुनै गन्तव्य त उक्लिनइन्छ नै । आफनो जीबनले आफैलाई सिकाएका प्रसंगसंगै जिन्दगीको कैयौ उकाली ओराली हिडियो, याद छैन । आजको यो लेखाइ चिलाएको आङ कन्याउनु नै मानिए पनि बर्णित प्रसंगहरु मैले बेहोरेका ब्यथा मात्र हुन ।
अभाव लुकाएर बाँच्न सिकाउने गाउँको साधारण लिखुरे केटोले सरकारी कार्यालयमा जागिर खाने चाहना अन्तर्मनमा शायदै उब्जाउन सक्थ्यो । आफनो आर्थिक सामाजिक हैसियत तद्नुरुप थिएन । नियतिले थुप्रै अनुभव दिएर मात्र सरकारी कार्यालयमा प्रवेश गर्नु भनेर लेखेको रहेछ । म थाहा नपाइकनै यो उकालो ठाउँमा आइपुगे ।
मेरो निम्ति गढिका अड्डा गौडा हाउगुजीका बिषय थिए । आफनेै जिल्ला भए पनि खलंगाको निम्ति म गाउँले पाखे थिए । सात आठबर्षको छँदा पहिलोपल्ट सदरमुकाम नजिकको छेलामा खानेपानीको धाराबाट छरर खसेको पानी हेर्न कम्ती रमाइलो थिएन मेरा लागि । गढी सदरमुकामबाट "जनकलाल गणेशलाल शाह , बुकसेलर्स बैतडी गढी, पोष्ट अफिस - झुलाघाट ( यु पि )" छाप लागेको किताब किन्न पाउँदा आफनो अहोभाग्य सम्झन्थे । झन दमौहान्नाको उकालोमा रसिलो मौसमी टिपेर दिने समबयी छात्रालाइ म पछिसम्म संझी रहेको हुन्थे । चोरीको फर्जी केसमा कारागार परेको मेरो गाउँको तिखे लुहार छुटेपछि पुलिसको हवल्दार चिनेकोछु भनेर गाउँमा धाक लाउथ्यो । देवताको भन्डार नासमास मुद्दामा गढीगौढाका साना कर्मचारीले दिएको दुखका फोहरी कथा स्वर्गीय धामी जयदत्त बडूले थुप्रै पटक सुनाएका थिए । उहिले एक जागिरेसंग दस ढाक्रे आएर गढीका सिपाहीले मेरा गाउले सिपाही बाजेलाइ बाँधछाद गरि कुटेकोमा मुद्दा चल्दा सिलगढिसम्म सारा गाउले एक जुट भै मुद्दा लडेर गाउको एकता देखाएका किस्सा अझै सुनाइन्छन ।
मनोगत हिसाबले पनि बैतडी सदरमुकामको लागि म “स्वराडी सिल्ली” नै मानिन्थे । यसै सदरमुकाममा नौकरी गर्न पाउनु संयोग मात्र थियो । पायक नै नपरे पनि घरब्यबहारका कारण जिल्लाको सदरमुकाम मेरालागि " आफनो " मान्नुपर्ने बाध्यता थियो । सामान्य गाउँँलेलाई गढिका कारिन्दाको रुपमा पाउनु केहिलाइ सहज पाच्य थिएन नै, मेरो निम्ति पनि त्यति प्रितिकर थिएन । सरदरमा खलंगा- सदरको गाउँलेप्रतिको हेपाहा ब्यबहारका छनक सानै छँदा ब्यहोरी सकेको कारण शायद म अलिकति पुर्बाग्रही समेत थिए ।
गौडाको कारिन्दा
जे होस,०३९ भदौमा अंंचलाधिश कार्यालयबाट नै जिल्ला प्रशासन कार्यालय बैतडी को खरिदार पदमा मेरो सरुवा गरिएपछि पहिलोपल्ट बैतडी गढीको गौडामा हाजिर भए। त्यसबेलासम्म प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई गौंडा नै भन्ने चलन थियो । गाउँतिरको जनबोलीमा यो अड्डा यसै नामले चिनिन्थ्यो । पछि यो कार्यालयको नाम नयाँ प्रशासनिक संरचना अनुसार फेरवदल हुँदै हाल जिल्ला प्रशासन कार्यालय भएकोछ ।
पुरानो भवनमा हाल बसिरहेको स्थानमा नै कार्यालय संचालित थियो । म जाँदा चुडामणि उपाध्याय सिडिओ हुनुहुन्थ्यो । २०३९/०८/२७ देखि खरिदारको हैसियतमा जिल्ला प्रशासन कार्यालय बैतडीमा काम थाले ।
संयोगबश यहाँ हाजिर भएकै दिन जिल्ला पञ्चायत बैतडीको अठ्ठाइसौ जिल्ला सभा शुरु भएको रहेछ र महाकाली अंचलाधिश समुद्रकेशर पण्डित यहाँ पाल्नु भएको चहलपहल थियो । यहि मौकामा परीचयको दायरा बढाउछु । हाजिर भएकै दिन दार्चुलामा चिनेका साथी श्याम थापा मार्फत लोक सेवामा ना सु को दरखास्त फाराम पठाउछु ।
यसै दिन पहिलोपल्ट जिल्लास्तरीय केही बैठकको निर्णय माइन्युटिङ गर्ने काम पाए । मेरो मस्यौदामा सुपरिबेक्षकहरुले कतै प्रश्न उठाउन सकेनन । सबैलाइ मेरो भनाइ र लेखाइमा चित्त बुझिएछ । यसै बिन्दुबाट म हाकिमहरुको नजिक हुन पुगे ।
जिल्ला स्थित पुराना कार्यालयमा पुरानै मनोबृति भएका सिमित स्थानिय कर्मचारीहरुको बोलबाला थियो । संस्थागत स्मृतिका लागि यिनै कर्मचारीमा भर गर्नु पर्ने बाध्यता हुन्थ्यो, नौला कर्मचारीहरुलाइ । सुचनाको श्रोत लुकाएर यथार्थ बंग्याउन माहिर हुन्थ्यो पुराना कर्मचारीको यो बृत । फलत: विशेष बर्गका निम्ति अड्डाको काम बपौति जस्तै हुन्थ्यो । हामी गाउले पाखेहरु बढिमा यिनको पृष्टपोषक हुनसक्थ्यौ । त्यसबेला सहायक तहमा काम गर्ने सदरमुकाम बाहिरका आधा दर्जन बाहेक बढी थिएनौ । गाउँबाट आएका सेवाग्राहीहरुलाई झुलाएर ढिलो गरीदिदा उनीहरु पाहुना बनेर हाम्रो डेरामा बस्न खोज्थे । यसको अतिरिक्त ब्ययभार थेग्नै गारो हुन्थ्यो । तर खलङगे जमात भने टाढाका मानिसलाइ अलझाएर यतै बास बसाउन पाए भने बढि लाभान्वित हुन्थे । यहि स्वार्थनै तनावको कारण बन्थ्यो । यस सम्बन्धका कैयौ कथा उपकथाको बेग्लै संग्रह बन्न सक्दछ ।
त्यसबेला भरखर पाटनसम्म सडक ट्रेक खुलेको थियो । झुलाघाटको बाटो डोट्याल कहलिएर यात्रा गर्नै पर्ने सकसपुर्ण स्थिति थियो । नेपालतर्फबाट यदाकदा चल्ने सरकारीगाडीको यात्रा दुष्कर र दुष्प्राप्य थियो । यौटो प्रसंग याद आउछ ।
लोकसेवा फाराम भर्ने क्रममा महेन्द्रनगरबाट धनगढी पुगेको थिए । फर्किदा दादुराको औषधि बोकेको गाडीमा पुराना बुकसेलर गणेशलाल शाहजीसंग सहयात्राको अवसर मिल्यो । उनी पनि पंचायति बर्गीयसंगठनहरुको संयुक्त कार्यालयमा सचिब भै काम गर्दथे । भर्खर ट्रेक खुलेको बाटोमा फ्रीजमा राखेर अत्याबश्यक औषधी ढुवानी गराउनु सजिलो काम थिएन । अंचलाधिश ललित बहादुर बमको ठाडो आदेशमा ल्याएको सरकारी गाडीको ड्राइभरले बाध्य भएर हामीलाइ गाडीमा बसालेको थियो । अन्तमा नियतबश नै अनारखोली जंगलमा गाडी बिगारेकोले गलतफहमी प-यो । धाकधम्की देखाएर हामीले पनि औषधिको भरपाइ लियौ र जंगलकै बाटो हिडेरै राति पाटन पुग्यौ । बिहानै हामी नब्युझिदै त गाडी र औषधि पुगीसकेको देखियो । पहिलोपल्ट यो बाटोमा सरकारी गाडी चढदा सरकारी ड्राइभरले हामीलाइ दुख दिनमात्र गाडी बिगारिएको नाटक रचेको थियो ।
नासुको बिज्ञापनमा फाराम भर्न ढिलो गरि खवर पाउदा हतारपतार महेन्द्रनगर पुग्दा नपुग्दै म्याद सकिएकोले धनगढीको बाटो यतिकै फर्किएको यो घटना नै उपल्लो पदप्राप्तितर्फको पहिलो निरर्थक प्रयास पनि थियो ।
पढाइलाई निरन्तरता
बैतडी बसाइको प्रारम्भिकक्रममै प्रशासकीय अधिकृत रामरतन मिश्रज्यूको छोरालाई बेलुका ट्युसन पढाउन थाले । जिल्ला न्यायाधिश जयराज जोशीज्युका छोराछोरीहरुलाई पनि केही महिना ट्युसन पढाए । ब्यक्तिगत अध्ययन गरेर भारतको पिथौरागढबाट स्नातक परिक्षाको तयारी गरीरहेको थाहा पाएपछि प्र जि अ ज्युकी धर्मपत्नी कमला शर्माले समेत संगै बि ए जाँच दिने तारतम्य मिलाइन । यसरी मलाइ प्राइभेट परीक्षा दिन अनुकुलता थपियो । यदाकदा सहकर्मी साथीहरुले प्र जि अ र प्र अ मा खटपट पारेर धमिलोमा माछा मार्न थाले । तर मेरो भने वहाँहरुसंग उत्तिकै घनिष्टता आज पर्यन्त कायमै रहेकोले पारिवारिक सदस्य जत्तिकै सद्भाव पाएकैछु ।
सरकारी नौकरीसंगै प्राइभेट परिक्षार्थी बनेर पिथौरागढबाटै बि ए को फाराम भर्ने अर्को अभियानमा लागे । प्रशासकीय अधिकृतज्युसंगै रु २००/- रकम मागी ०३९माघ २१ गते पिथौरागढ गएर बि ए को फाराम भरे । बडो दौडधूप र खुशामद पछि भा रु १०५/- को ड्राफ्ट सहित फाराम अग्रप्रेसित भयो र पहिलोपल्ट स्नातक कक्षामा पहिलो प्रबेश पाए । आषाढ ४ मा परिक्षाको लागि पिथौरागढ गए र बाधित पढाईलाई ०४० सालदेखि फेरी निरन्तरता दिए। प्र जि अ चुुडामणि उपाध्यायज्यूको मेडम कमला शर्माले समेत प्राइभेट अध्ययन गरिरहेकोले मेरो निम्ति पिथौरागढ आउजाउ सजिलो भयो । श्रीमति कमला उपाध्याय ( तत्कालिन प्र जि अ चुडामणि उपाध्यायको पत्नी )समेतसंग के के भट्ट ( कुमायुँ विश्व बिद्यालय नैनीतालको संघटक महाबिध्यालय पिथौरागढको अंग्रेजी बिभागका तत्कालिन बिभागीय प्रमुख )सरको घरमा डेरा खोजियो । तर परीक्षाको रुटिन सरेछ । लगत्तै फर्कियौ ।
यसै आषाढ२९ गते सुर्य बहादुर थापामाथि अबिश्वासको प्रस्ताव पास भएपछि लोकेन्द्र बहादुर चन्द नेपालका प्रधानमन्त्रि बने । आफनै जिल्लाको प्रतिनिधि प्रधानमन्त्री बनेपछि हौसला बढने नै भयो । बेगाने शादि में अब्दुल्ला दिवाना जस्तै भएर फेरि जाँच दिन पिथौरागढ पुग्यौ ।
परिक्षाको अबसर पारेर पिथौरागढमा बैतडीका बिद्यार्थी को रमाइलो जमघट नै हुन्थ्यो । बैतडीका जिल्ला न्यायाधिश जयराज जोशी समेत परिक्षार्थिको हैसियतमा हामी भएकै घरमा डेरा सरेछन । नापी अधिकृत जगत पौडेल पनि यतै विद्यार्थी बनेर जाँच दिन कसिए । यदाकदा डा पुष्पा भट्ट र नर्स टोली सहित पिथौरागढ आएकै हुन्थिन । शिक्षकहरुको ठुलै जमात पनि प्राइभेट परिक्षार्थी बनेर यतै हुन्थ्यो ।
यसै साल १६ साउनमा उतराखंडको तिर्थाटनमा निक्लेका पिताजी समेतका ९ जनाको टोलीलाई पिथौरागढमा खाने बस्ने ब्यबस्था मिलाई बद्री बिशाललाइ भेटी सहित तिर्थाटनमा जाने प्रवन्ध समेत मिलाउनु प-यो । जे होस बिदाको छेको पारेर बैतडीका मानिस आइरहन्थे र रमाइलै हुन्थ्यो ।
यसैताका म बिमार परेको पनि सम्झना छ । संयोग कस्तो भयो भने पिथौरागढकौे केही होटेलमा कुकुरको मासु पकाएर ख्वाइयो भन्ने समाचार स्थानिय पत्रिकामा आयो । एक दिन अगाडी मैले पनि होटेलमा मासु खाएको थिए । यसको स्वाद भिन्न प्रकारको थियो । शंकाको भ्रममै म पनि सिकिस्त बिमार परे । दिशा पिसाब नै बन्द भयो । तत्काल उपचारले मात्र बाँचे ।
त्यसबेला हाल उतराखण्डका भाजपा नेता भगतसिंह कोस्यारी पर्बत पियुष नामको पत्रिका चलाउथे । म यो पत्रिकाको नियमित पाठक थिए । संयोगले पत्रिका बजारमा लैजाने दुई जना ह्याकर मेरै गाउँका युवक थिए । यसरी हिन्दी पत्रिकाको सानिध्यले मात्र मेरो हिन्दी लेखन सुधारियो । नत्र वान डे सिरिज वा गेस पेपर पढेर मात्र नेपाली प्राइभेट विद्यार्थी जाँचमा सामेल हुन्थे । स्थानिय राजा होटेल यस्तै बिद्यार्थिको जमघटले भरिएको हुन्थ्यो । त्यहाँका नेपाली मैनेजर शेर'दा असाध्यै मिजासिला मानिस थिए ।
जे होस अंग्रेजी प्रथम पत्रको जाँचबाट पहिलोपल्ट युनिभर्सिटिको परीक्षार्थी भएको थिए । बिदा बाहेक धमाधम ८ पेपर दिए । परीक्षा सकाएर भदौ १२ मा बैतडी फर्क्यौ । यसरी मेरो पहिलो बर्षको स्नातक यात्रा चलेको थियो । अर्को बर्ष भने भदौ २० मा पिथौरागढ गएर असौज ६ गते मनोबिज्ञानको अन्तिम पेपर दिएको थिए ।
घरेलु कोतेधन्दा
जीवन-क्रममा दुई जना पारिवरिक सदस्य थपिइ सकेका थिए, जेठोछोरा दीपेन्द्र र माहिलो छोरा कैलाश । घरमा नून र चामल यतैबाट पठाउछु। श्रीमतिको बिमार बढदैछ जस्तो लाग्छ । मोटाएकी जस्तो देखिन्छिन र माइतमा बसेकी छन । उनको औषधि ल्याउन पिथौरागढ जाँदा ससुराजी उपचार र पेन्सनको लागि आफू पनि जाने जम्को गर्छन । बार्षिक १२०/- पेन्सन रे । आउन जान भाडा र घोडा खर्चसंगै खान बस्न र औषधि अलग्गै । शसुरा बुढा हिसाब गरेको गरेइ गर्छन । माइतमा समेत औषधि दिई शुक्रबार घर जान्छु । दुई छोरा र एउटा पत्नीका साथमा एक्लो मानिस अफिस, घर र ससुरालीको त्रिकोणमा चक्कर काटि रहेको हुन्छु । सदरमुकामको नयाँ डेरा खडेपिपलमा ब्यबस्था मिलाएपछि मात्र ब्यबस्थित अलिक ब्यबस्थित भएको थिए ।
श्रीमतिको उपचारको नियमित फ्लोअप गर्न समेत निरन्तर पिथौरागढ जानुपर्ने हुन्छ । गाउलेहरुको सरकारी काममा सहयोग गर्छु । पुस मसान्त तिर दीपक सहित घर गै जग्गा नामसारीका गाउँको पुरानो बाँकी काम पूरा गर्छु । लिखु पेलाइमा दीपकसंगै म पनि गाउँ घुमेर माघे संक्रान्तिपछि एक्लै काममा फर्किन्छु । नाति दीपक नल्याएकोमा ससुरालीमा समेत कचकच शुरु भएकोछ। उता घरमा नयाँ भाइबुहारीको समेत सिकायत शुरु भएकोछ । बल्ल तल्ल आफनै चुलोमा खाना पाक्न शुरु हुदा कैयौ साना समस्याहरुको धुवा पु्पुताउन थाल्यो । यस्तै कोतेधन्दामा दिन बित्न लागे ।
माघ मसान्ततिेर माइलो छोरा कैलाश गम्भीर रुपले बिमारी प-यो । बैतडीमा जँचाउदा डा पुष्पा भट्टले तत्काल थप उपचारका लागि पिथौरागढ लैजाने सल्लाह दिइन । मसान्तको दिन त उ बेहोस हुदा रुवाबासी नै चल्यो । बाटोमै अनिष्टको आसंका थियो । अन्तिम उपाय ठानेर राति ससुरालीमै जडिबुटी र झारफुक चलायौ । देव भाकल गरिए । धन्य ईश्वर ! उ क्रमस: निको हुँदै गयो । अन्तत: यौटा दुर्घटना टरेकोमा चिकित्सक समेत चमत्कार मान्न बाध्य भए । श्रीमतिलाई समेत यस्तै सिकिस्त देखिन थालेपछि पुरै परीवार खडेपिपल डेरामा सरेर यतै उपचारमा लाग्यौ । यदाकदा सुर्काल जान्थ्यौ, तर कुरा मिल्दैनथ्यो । पारिवारिक खटपट भै नै हाल्थ्यो । अब घर ब्यबस्थापन गर्न गारो हुनलागेको थियो ।
यसै क्रममा केही महिनापछि कैलाश समेत बोकी भारतको टनकपुर नजिक त्यसबेला खुबै चल्तीको पोलीगंज अस्पतालमा श्रीमती भर्ना गराए । एक्सरेका लागि पिलिभित पुगनु पर्ने हुन्थ्यो । औषधि लिइ महेन्द्र नगर गएर तत्काल महाकाली अन्चलाधिश कार्यालयमा कार्यरत बाजे नरीदत्तको डेरामा शरण लियौ । अंचलाधिश र सहायक अंचलाधिशसंग कुरा गरि महाकाली अंचलाधिश कार्यालयमा केही दिन काज वसे । तत्कालिन नगरपंचायत गेष्ट हाउसमै कोठा लिएर लगतै अरु काम पनि सके । श्रीमति भने छोरा बोकि यत्रतत्र माइति चाहार्दै दिनभर घुम्थिन् । बेलुका गेष्टरुममा आउथिन र झगडा गर्थिन । यसरी पहिलोपल्ट घर बाहिर र भित्रको सर्कस हेरिन्थ्यो । येनकेन पैसाको जुगाण मिलाई पुन: पोलिगंजबाट जचाइ औषधिको ठुलै पोका बोकी २६ गते पिथौरागढ हुदै घर फर्के । कलेज र डाक्टरको चक्करले यहाँ पनि छोडेन । पोलीगंजले नमानेको अढाइ महिने अबान्छित गर्भ पतन गराउन अन्तत: डा लिला जोशी तयार भइन । भएको सम्पुर्ण पैसा होटलको पैसा तिर्न पनि नपुग्ने गरि सकाए । रा बा बैंक क्यासियर भेट्टिदा सापटी मागेर इज्जत जोगियो । यो काम बापत पछिसम्म पछुतो भइरह्यो । अर्को दिन बडा कष्टपुर्ण यात्रा गराई राजूलाई येनकेन ससुराली पु-याए । डेढ महिनापछि मात्र जेठो छोरा दीपकलाइ भेट्यौ ।
तै अगाडीको जस्तो के खाउ के लाउको अबस्था थिएन । खासै चासो नराखी किनाराको साछी बन्न थाले । डेरा, माईत र घरमा अलग अलग भुमिका खेलेर अर्धाङ्गिनी अरलोलाई भरथेग गरिरहिन् । म प्राय: अफिसहरु घुम्दै , निरीक्षण अनुगमन आदि ससाना काममा दिन काटदै र यदाकदा विभिन्न समिति कार्यदलहरुमा जिल्ला प्रशासनको प्रतिनिधित्व गर्दै बुज्रुक बन्दै रहे । कुल मिलाएर बडो तनावपुर्ण सामाजिक पारिवारिक बाताबरणको हिलोमा कमल फुलाउने कोसिस गरीरहे । यी बर्ष पनि यतिकै निख्रिन थाले । यस्तै बिग्रेको मौसमसंगै नयाँ बर्ष २०४० शुरु भयो । प्रतिकूल मौसमका कारण नै श्रीमती माइत जान सकिनन । यो बैबाहिक अनुभवमा जोशीबुङाका साढुभाइहरुको भेट भयो । सबैलाई मेरै जस्तो अनुभूति रहेछ । वातावरण बिथोली दिने काममा सासूजी सिद्धहस्त नै रहिछन ।
यस्तैमा घरबाट आमाले देवप्रयाग जाने ईच्छा गरिन । बैशाख ४ गते रु ८००/- दिएर भाईलाई साथमा पठाइयो । बैशाख १० मा आमा फर्किनु भयो । बैसाख ११ गते उदे तिरुवाबाट खडे पिपलमा जग्गा समेत किन्यौ । १२ जेठमा डेराका दाउरा समेत बोकी श्रीमति माइति सरिन । म घरमा भेट गरेर बि ए दोस्रो बर्षको जाँच दिन पिथौरागढ लागेको थिए ।
जेठ मसान्ततिर नै होला,तिर्थमै देहान्तको मनसुबा गरेर हरिद्वार जानलागेका कालो बाजेले एकछिन बाटामै बोलाई आफनो इतिबृत सहित मार्मिक कुरा सुनाउनु भयो र दुखान्त यात्रामा सहर्ष जानू भयो । बडो बिश्वासकासाथ आफना दुई छोराहरुको संरक्षक तोकेर यो अनन्तमा बिलाएको यो दृश्य म धेरेे दिनसम्म सम्झि रहे । गाउँभरीका हुनेखाने गनिएका मानिस त्यसबेला दुसाध्य रोग लागेर शरीर छाडने इच्छा सहित पराया तिर्थाटनमा हिडनु एकप्रकारको महाभिष्निष्क्रमण थियो त्यो । यस्तै परीबेशमा घर हरियो , नौकरी गरियो र पढाइलाइ निरन्तरता दिइयो ।
भाइको नौकरी र आफनो पढाइ
पढाइ छाडेर दिल्लीको कपडा पसलमा काम गरीरहेको माइलो भाइलाइ दार्चुला बोलाएर टाइपिष्टको जाँच दिन लगाएकै थिए । अलिअलि टाइप सिकेको भाई दत्तरामलाई येनकेन बिद्युत प्राधिकरणको ज्यालादारी टाइपिष्टमा २०३९ माघ ९ गते काम लगाएर सदरमुकाममा व्यबस्थित हुने जम्को गरेको थिए । प्रशासन ब्यबस्था बिभागमा दार्चुलाबाट गरेको सिफारिस राम्रै गरि काम लागेछ । जेठ १ बाट लागू हुने गरि भाइ दत्तरामलाई जिल्ला प्रशासन कार्यालय बैतडीको टाइपिष्टमा नियुक्ति गर्न सफल भइयो । यसरी घरको भारा आंशिक रुपले भाइमा बिसाए । त्यसबेला मेर तलब मासिक रु २५५/- हुन्थ्यो र भाइले २०० चानचुन पाउथ्यो होला । हाम्रो कुल आयस्था भनेकै कृषिबाट आउने गुजारा गर्न लायकको गहुँ, मकै, भट्टमास र यहि तलब थियो ।
यसैताका सम्माननिय प्रधानमन्त्रीज्यु गृह जिल्लामा आउने कार्यक्रम बनेको हुँदा स्वागतको तयारी थियो । भुकम्प पिडितलाई आएको गहु बितरण गरिने हुँदा भिडभाड भएर दर्जनौ पाहुना त हाम्रै डेरामा बसेका थिए । खलंगामा साधारण भेटघाट पछि पाटनतर्फ भ्रमण मुकाम सारियो । प्राय: जिल्लाबासी उतै लागे । बाँकी टिकाटिप्पणिमा लागे । विशिष्ट ब्यक्तिहरुको दैनिकी र भ्रमण कार्यक्रमलाइ नजिकबाट हेर्ने मौका पहिलोपल्ट यसै अवधिमा प्राप्त गरे ।
यसै सिलसिलामा नायब सुब्बाको लोकसेवाको तयारिमा पनि जुट्न थाले । लिखित परीक्षा महेन्द्रनगरमै हुन्थ्यो । औषधोपचारको क्रमसंगै लोकसेवा आयोगको जाँच पनि दिइन्थ्यो । पहिलो लिखित परिक्षामा पास हुदा अन्तरवार्ताको लागि दिपायलतिर पैदल कुदनु पर्थ्यो । त्यसबेला बैतडीदेखि दिपायल दुइदिनको बाटो थियो । पहिलोपल्ट दिपायलजाँदा सतबाँजमा खानाखाई बेलुका मलडा बास गरेको थिए । अर्को बिहान पोखरा खाना खाई कोटिला, निन्तोला, बडम, बेणुपानीको बाटो बेणुपानी हुँदै राति सकायल बास बसियो । अर्को दिन कोरालखोला, तिल्ताली, बनडुङरा, तल्कोट, कालागाउ हुँदै ३ दिन हिडेर पहिलोपल्ट नै दिपायल देखे । २९ जेठमा सिलगढी घुमेर ३० गते सामान्य तरिकाले अन्तरवार्ता दिए ।
अर्को दिन बिहानै चार बजे चोरबत्ति बालेर तीन जना साथी समेत हिडेरै राति ९ बजे हिमलैन्ड होटल डडेल्धुरामा बास बस्यौ । अर्को दिन पाटन हुँदै बैतडी पुग्दा थकाइले हनहनी ज्वरो आयो । तर यसपालीको नतिजा भने बैकल्पिक उमेदवारमा पो अडियो । केही साथीभाइले ब्यङ्गपुर्बक बधाई दिए, केहिले हौसला थपे । लगत्तैको दोस्रो प्रयासमा पनि महेन्द्रनगरबाटै जाँच दिए ।
लिखित पास भइएछ। अन्तर्वार्तामा बोलाइए । समय कम हुँदा धपेडी गरेर डडेल्धुराको पोखरामा पुगियो । यसपाला पनि साइतदेखिनै अशुभ संकेत देखिन थाले । वास्तबमा बिधाता बाहेक अरु कसैले पुर्ण योजना तयार गर्नै सक्दैन जस्तो लाग्छ । मिसन हस्पिटल बाहेक खास कुनै बजार नभएको त्यसबेलाको पोखरामा नाम मात्रका होटेल थिए ।
एकपल्ट सानो कैलाशलाइ घरैमा छोडेर उपचारार्थ पत्नीलाई पोखरा ल्याएकोले समेत यहाँको भुगोलको अलिअलि जानकार थिए । त्यो दिन डङसिली खर्कमा बास बसी दोस्रो दिन बल्ल बल्ल अस्पताल पुगेका थियौ । जचाउदा कुइरे डाक्टरले १५ दिनको औषधि थमायो, तर ब्यथा बताएन । फर्कदा खतेणा बिनोणा सिलंगा धनसैनी पाटन सन्तोलीको बाटो राती देवलगडामा बसेर पाँच दिन पछि घर पुगेका थियौ र बालकलाइ आमाले दूध ख्वाएकी थिइन ।
संयोगबश यो पटक पनि पोखरामा पहिलोपल्ट बास बसेको होटेलकै सानो कोठामा बस्न पुगियो । खाना समेत नखाई भुस्सुकै सुतेछु । राति अर्को कोठामा राखिएको कुनै बिमारी बच्चा बितेछ । रुवाबासीको कारण रातभरी उनिदो रहे । आफुले यस्तोमा कुनै सहयोग गर्न नसकेकोमा अन्तरात्माले सरापि रह्यो । लास बोकेर उनीहरु कतै खुल्ला ठाउतिर सरेछन । म त्यतिकै झकाएछु । एक्कासी झसंग भएर बिउझे । बाहिर हेरे । असौजको झलमल जुनेली रातमा गाउँघर टलक्कै देखिन्थे । बिहान भए जस्तो लाग्यो ।
मुख धोइ सरोसर कोटिलाको छोटो बाटो समातेर गन्तब्यतिर लागे । तल खोलातिर पुग्नै लाग्दा समेत उज्यालो भएन । बल्ल घडी हेरेको त रातिको अढाइ बजेको रहेछ । के गरौ कसो गरौ भयो । त्यो खोला तल मसानघाट थियो । त्यहाँ लामो लट्ठा भएको भूत अझै देखिने कुरा सुनेको थिए । वातावरण डरलाग्दो देखिन थाल्यो । गाउघर चकमन्न थिए । तर पारीपट्टीको सालघारीमा आगो बलिरहेको देखिन्थ्यो । खोटोमा काम गर्ने श्रमिक भएको अनुमान गरे । फर्किने कि जाने भन्ने निर्णय गर्नु पर्ने थियो । साहसपुर्बक अगाडी बढनु नै श्रेयस्कर ठाने । हनुमान चालिसा पाठ गर्दै इष्टदेवता संझिदै बुर्कुसि मारे । कसरी सालघारी पुगे थाहै भएन । आगो बलेको पर्णकुटि नजिकै थियो । लामो श्वास फेरी सुस्ताए । यो जंगलको बीचमा अनजान मानिसको उपस्थिति झन डरलाग्दो ठहराए । सुरुसुरु गाउतिर हिडे । टाढा एउटा कुकुर भुक्न थाल्यो । बल्ल आश्वस्त भए ।नजिकैको तत्कालिन वीर बलभद्र प्राबि परिसर कुनै मन्दिर जस्तो लाग्यो । बरण्डामै बेन्च राखिएका रहेछन । बिहान नभएसम्म तयसैमा पल्टिएर बिताए । उज्यालो भएपछि ओसिलो बाटो हुँदै सकायल पुग्दा शीतले निथुक्रै थिए । संयोगले पुरानो जेटिए साथी नरबहादुर भेटिए । इतिबृतान्त बताए । उनकै घरमा दुध रोटी खाएर बाटो लागे । त्यो साँझ हिडनै नसकेर ल्वाखेडी बास बसे । बिहान राजपुर पुगेर खाना खाए । दिपायलको भन्डारी होटलमा दिनभरी ऐकान्तिक आराम गर्दै बसन्ती उपन्यास पढे । अर्को दिन ६ पदको लागि १२ जना अन्तर्बार्तामा थियौ । तर ३ पहिल्यै पास भएका १ दोहरो परेको र एक अनुपस्थित हुदा ७ जना प्रतिस्पर्धी थियौ । यथाक्रम यो अनुष्ठान सकियो । मात्र एक कर्मकाण्ड मानेर कुनै तनाव नलिइकनै अर्को दिन साथी दलजीत भट्टसंग डडेलधुरा पुगियो । शेर्पा होटलमा पुग्दा खुट्टा त दुखेकै थिए । टौन्सिल पनि थपियो । पैदल हिडन सकिने अवस्था थिएन । बसबाट महेन्द्रनगर हानियौ । जडीबुटी कार्यालयको गेष्टरुममा बसेर एक दिन यतै आराम गरि अर्को दिन झुलाघाट हुँदै बैतडी फर्के ।
पहिला बैकल्पिकमा अडकिएकोले सबैको सहानुभुति पाए जस्तो लाग्यो । नतिजा आउदाो मुख्य उमेदवारको हैसियत पाएर लोकसेवा आयोग , क्षेत्रिय कार्यालय, दिपायल डोटी को नायबसुब्बामा पदस्थापन भएछ । केहिले मुख अमिलो गरे, केहिले हर्ष माने । यसरी यौटो खुुट्किलो उक्लिने पहिलो प्रयास पूरा भयो ।
घरेलु स्वास्थ्यका सन्दर्भ
परिवारको उपचारको क्रममा चिना हेराए, वैद्य खोजे , झारफुक गरे । केही गर्दा पनि बिशेक लागेको देखिएन । सँधै किचलि बनी रह्यो । असौजमा घर जाँदा सबै खर्क सरेका रहेछन । दशैमा पनि कामको धामधुम थियो । कुनै रमाइलो रहेन ,कतै गइएन । दशै तिहार येनकेन बितायौ । श्रीमतिका घरेलु समस्यामा प्रतिबेदन मात्र पेश हुन थाले । सबै मामिला बिचाराधिन राखेर बिस्तृत बुझ्छु । बाआमाको झगडामा भाई बुहारी खलनायिका बन्दैछिन भन्ने चाल यथासमय पाए । उसको फुइ बढदै रहेछ । म मनमनै हाँस्छु । बरा, दुनिया कति बैगुनी बनेर क्षणिक स्वार्थबश ठुलठुला मौका गुमाउछ ।
तिहार आयो । आमा मामा घर जानू भयो । यता शीतयुद्ध शुरु भयो । बा मलाइ सपष्टीकरण दिनुहुन्छ । बुहारी फुर्ति थप्छिन । श्रीमति बिस्तार बताउछिन । म अफिस फर्किन्छु। दिपक घरै रह्यो केही दिन । श्रीमती पनि माइत आइन । टुहुरी जस्ती सासू र अती दुखी ससुराका साथ वहाँका असहयोगी भाइहरुको धमाचक्कर ससुरालीमा पनि देखिन्छ ।
यता खडे पिपलमा पनि केशबको घरबाट भरत चन्दको घरमा डेरा सारे । साथी बेदप्रकाशसंग भावना साटिन्छ । उस्तै उस्तै किसिमका थियौ । उनी पनि बैतडी कै जनस्वास्थ्यमा काम गर्न थालेको थिए । मिल्ने साथी हुँदा यस्ता समस्यामा ऐकान्तिक छलफल पनि चलाउथ्यौ ।
यसै अवधिमा माल कार्यालयको दलित मुखियाले गाउको दलितको नक्कली काम गरेको घटनाको पर्दा फास हुन्छ । मालवालाहरु चाकरीमा लाग्छन । काम नियमित गर्न अराउछु र गाउको श्रेस्ता अद्याबधिक गराउछु । भ्रष्टहरुले पर्दा के के गर्न सक्दारहेछन , सबै बेहोर्छु । सानो भाइ कृष्णको आखामा चोट लागेकाले हस्पिटल ल्याएर उपचार गराउछु । घरेलु चक्रब्युहमा झन झन भासिएको महसूस गरेर किनारा खोज्दै भौतारिरहेको थिए ।
गाउँमा नयाँ घर
लोकसेवाको परीक्षा र उपचारको चक्कर पुरागरी डेढ महिनापछि माघ १ गते घर पुग्दा २ खन्डको नयाँ घरको जग पो खनीरहेका भेट्टाए । तीन भाईलाइ तीन खन्ड नपुग्ने भनियो । यस बारेमा मलाइ कुनै जानकारी नै थिएन । ( तर पछि निजी लागत भनेर त्यसै ठाऊँमा तेस्रो नीजी खन्ड बनेको पनि देखियो । )
म भने लगतै फर्केर र अफिसको नियमित काममा संलग्न हुन्छु । औपचारिकताबश १३ गते झुलाघाटबाट १ क्िन्टल चामल र १३०/- रुपियाँ पठाइ दिन्छु ।
०४०माघ १६ गते पहिलो पटक बैतडी गढीमा जीप पुग्दछ । अंचलाधिश समेतको हिउदे पटके निरिक्षणका औपचारिकतामा म पनि सामेल हुन्छु । माघ २५ गते दीपकको चुडाकर्मको औपचारिकता घरमै पूरा गर्छु । बल्ल श्रीमतिको बारेमा बुझ्न ससुराली गए । रक्तस्रावबाट लखतरान । झन त्यसैमा सालीका ब-यौनाहरुको आतिथ्य पूरा गर्नुपर्ने । बिचरा सुक्क सुक् गरीरहेकी पत्नि र ट्या ट्या गरीरहेको ख्याउटे छोरा हेरेर म पनि रोए । फागुन १ गते तिनिहरुलाई डेरामा सारे । सामान सहित बल्लतल्ल भाइलाइ घर पठाए । फागुन ४ गते अधिराज कुमारी हेलेन र शाहज्यादी जयन्ती सरकारको सवारीको चहलपहलमा लागे । यसै क्रममा नेत्र शिबिर पनि संचालन भएकोले ससुराजीको पनि उपचार गराए । तर उनको छिमेकी रमिता हेरेको देखे । घर गएर टुहुरो जस्तो बसीरहेको दीपकलाइ डेरा खडेपिपलमै लिएर आए । घरबाट तारन्तार पैसाको माँग भइ रह्यो । १२ गते ३५०/- दिई पठाउछु अरु दिन नसकिने खबर समेत दिन्छु । भाइ घरैबाट ओहरदोहर गर्न थाल्यो । फागुन १४ गते दीपकलाई बालमन्दिरमा भर्ना गर्छु र स्कुल आफैसंग ल्याउने लैजाने काम पनि थपिन्छ । मलाइ यादछ,शिबरात्रीका दिन पत्नी छोराहरु बोकेर माइत जान्छिन । म सरकारी जीपमा पाटन जान्छु । सतबाँझमा गाडीमाथि ढुंगामुढा भयो । सडक डिभिजनको गाडीमा रोडको डिइ सम्झेर केही ठेकेदारले घटना गराएका रहेछन । राति पाटन मै बसे । अर्को दिन महेन्द्रनगर पुगी लगतै पोलीगंजबाट औषधि ल्याएर पिथौरागढ हुँदै बैतडी फर्के । यस्तै चक्करमा जीवन चली रह्यो, रोकिएन ।
गढी र गाउँको सेरोफेरोमा
बैतडी बस्दासम्म ट्रेक खुले पनि गाडी नै चलेको थिएन । यदाकदा साना जीप आउथे । यस्तैमा प्र जि अ र जि पं सभापतिको भ्रमणदलसंग तल्लोस्वराडको भ्रमणमा निक्लियो । म पनि यात्रादलमा सामेल थिए । पहिलो पटक रोडी रन्तोलीको बाटो सैलोडा अमचोरा हुँदै पंचेश्वर पुगियो । त्यसबेलामा पंचेश्वर परीयोजनाको हल्ला गाइगुइ सुनिन थाली सकेको थियो । भारतपट्टी ड्यामका सामान ओसारी सकेका हल्ला थिए । हाम्रोमा पनि कता कता भीरमा प्वाल पारिएका खबर सुनाउथे । तर पंचेश्वरमा नौकाबाटै मानिस र सामान तारिन्थे । घाट ठेक्का चल्थ्यो । म पनि सुनी जानेको धर्मघाटलाई देखि जान्ने भए । एक दिन सर्माली मा बि मा पनि बस्यौ, सभापति महताजीको आतिथ्यमा । वहाँ बडो जनप्रेमी मानिस हुनु हुन्थ्यो । स्कुल पढदादेखिनै मसंग नजिकको सम्बन्ध थियो । यो यात्रा रमाइलो भयो । फर्कदाको मेलौलीको बाटो मेरोलागि परिचित नै थियो । लामालेकमा प्र जि अ ज्यू घोडाबाट लोटनु भयो । स्वागतार्थ सजाएर राखिएको टिनको टेबल ढलेको आवाजले घोडा तर्सिदा यो दुर्घटना भएको थियो । अंगरक्षकले स्थानिय स्वागतांक्षीलाइ झन्डै नकुेको । यो घटनालाई गुपचुप राखी येनकेन सदर मुकाम फर्कदा यो बर्ष सकिइ सकेको थियो ।
बैसाख १३ गते पंचभेलाको काममा बैतडी-पाटन पहिलो पटक जीपबाट हिडिएको थियो । त्यो भेलामा त्यहाँ १२२ सहभागी र ५६ पर्यबेक्षक थिए । मेरो काम अतिथिहरुको ब्यबस्थापनमा सिमित थियो । सबै पन्च नेपाली,सबै नेपाली पन्च भन्ने नारा भित्र नाना थरी बिबिधता देखिन्थे । घोडेटो बाटो निरिक्षण समेतको क्रममा अठतोला कद्वार प्यानी घुमियो प्रधानपंच बीरादत्त बडूसंग ।
यसै बीच नयाँ प्रशासकीय अधिकृतको रुपमा सुधीर कुमार शाह ( पछि निर्वाचन आयुक्त ) सरुवा भएर आए । निरिक्षणको काम फेरि शुरु भयो । प्राय: गाउका भेटने मानिस आइरहन्थे । सामान्य काम मिलाइ दिन पनि थालेको थिए । पहिलेदेखि गाउलेहरुलाई पेलेर खान पल्केका रैथाने सहकर्मी निहू खोज्ने नै भए । तर जेनतेन चलेको थियो । हाकिमहरुले पनि बिश्वास गरेका थिए । खर्च असाध्यै बढन थालेकोले चैतमा बुवा मार्फत बैंकबाट रु ५०००/- ऋण निकाल्न लगाउछु । चैत मसान्ततिर दीपक र म घर सुर्काल जान्छु । श्रीमति कैलाश बोकी माइत लाग्छिन । यसरी चालीस साल सकिन्छ ।
२०४१ सालको पहिलो दिन झोक चलेर ठेला उठने गरि घरमा काम गर्छु । भन्तोली बाडफाँडको काम पनि गरिन्छ । गजुबा काकाको अर्धजानिफकार मपाई देखिन्छ । नोलाथाईको लाटो साहुको ५००/- तिरिन्छ । २ गते घरको धुरीको खेडी हुन्छ । दीपक सदरमुकामकै स्कुलमा अभ्यस्त बन्दैछ । १५ गते कैलाश र श्रीमती बोकी फेरी पोलिगन्ज हस्पिटलको फलोअपमा महेन्द्रनगर पुगिन्छ । फर्कदा झुलाघाटबाटै झगडा गरेर श्रीमति माइत गइन । म एक क्विन्टल चामल सहित घर पुगे । सबै कामचलाउ किसिमले नयाँ घरमा सरेका रहेछन । बुवा बिमारबाट बल्ल ठिक भएका थिए । बिचरा दिपकको बिचल्ली थियो । पछि ससुराली गएको त साली कुमारको बिबाहको तयारी रहेछ । मति र गति बिग्रेका बुढाबुढीको बिजोग अवस्था थियो । बेलुका भाइ दत्तलाई पठाउछु । अर्को दिन म पनि जान्छु । अति सामान्य किसिमले असामान्य जस्तो लाग्ने बिबाह हेरियो । यसपछि
बी ए दोस्रो बर्षको परीक्षा सकेर मात्र सशुराली जान्छु त उडुसको डरले तल्लो घरमा डेरा बनाएकी रहिछन श्रीमतिले । बुढा ससुराको महादुर्दसा रहेछ । रातभरी बतिबालेर सुत्छु । अर्को दिन खानै नबनाई रोपाइको धामधुममा लागेका थिए । म भने बालक बोकी उकालो लागे । झगडा गर्दै श्रीमती पनि पछि लागिन । ठाने, यो पनि एक किसिमले रमाइलो नै हो ।
केही तरल सम्झनाहरु
बसंतपुरका तत्कालिन प्रधानपंच भरत चंदलाई महंगो नून बेचेको भनी खडेपिपलका केशबलाई कारवाही चलाउदाको कचिङ्गलले ठुलै रुप लियो । म नभएको र सरुवा भैसकेको मौका छोपी साहुले रक्सीको निहुमा गाली गरेको खबर पनि सुने । यो प्रबृति थियो सदरमुकामका केही आफुलाई विशेष ठान्नेहरुमा ।
साउन १ गते लिस्किटामा एक प्रहरीमाथि हातपात भएको काण्डलाई सुल्झाउन प्रहरी जत्था सहित राति त्यता हिडेर थामथुम पार्नमा सहायक सरकारी अभियोक्ताको हैसियतमा समेत काम गरे । त्यस बेला सरकारी वकिलको काम समेत जिल्ला प्रशासनबाटै हुने गर्थ्यो । यथाक्रम स्नातक जाँच दिए । मौखिक परिक्षाको लागि बीचमा लामो ग्याप राखिएकोले भाद्र ४ मा फर्केर लगतै घर गए । इष्टकुल असिमकेदारको जाँतमा सामेल भए । गौरामा नयाँ घर लीपपोत भयो । आफनो कोठा छानेर सजावटमा लागिन भाईबुहारी । श्रीमति टुलुटुलु गर्दै थिइन । आँखैले इशारा गरे । अर्थात हामी चुप लाग्यौ । तर सिपालु त मैसंग पो ६०००/- मागछ । हेरौला भनेर कुरा टुङ्ग्याए । किन किन पहिलो चोटि छोरा दीपकलाइ पनि सुर्कालको अनुभव नरमाइलो लाग्यो रे ।
दशैंमा घर गएन । कारण पैसाको पाई पनि थिएन । बुवाले खवर पठाएका थिए। तै पनि बडा दशै बच्चाहरुसंग बिताउने बिचार गरेर डेरामै बसे । तर बिहानै ६ बजे श्रीमती माइत टाप कसिन । अबेर गरि फर्केपछि झर्कोफर्कोको झोकाझोक थुकाथुकमा सकियो । दशै टारियो ।
यस्तैमा पिताजी सिकिस्त भएको खबर बोकेर भाइ आएपछि रतोरात घर पुगे । देबतारी गरियो । भृगुसंहिता हेराउन लिखोडा गइयो । यो संहिता कुनै महान मनोबिज्ञानबेत्ताले बनाएको जस्तो लाग्यो। मूक प्रश्नहरुको मुक तर बहुअर्थी जवाफ । यसो गर्दा केही ढाडस पाएर होला, बुवा बिसेक हुनु भयो । म बैतडी फर्के । बल्ल २ हप्तामा जोइपोइ पनि समझौतामा आयौ ।
पुरानो दोखको पाठा काटने जमर्कोमा बगाडी पनि पुगे । ३ पुस्ता पहिलेको सम्बन्ध नबिकरण गरियो यहाँ पनि । बज्यैको माइतिमा देवताको दोख देखाएका थिए । उहिले बज्यैले आफनो छोरा नहुदा सौता बसाइएकी आफनै बहिनीलाइ आफैले छोरो पाएपछि दुख दिएकि रहिछिन रे । बगाडीमा बलि बिधानको लागि मैले नै संकल्प लिनु पर्ने भयो । भाइटिकामा भोकै बसेर शनिबारको छेकोमा काका भतिजा र दुई भाइ फेरि बगाडी गयौं । मन लागि नलागी काम पूरा गरे । यो अनुष्ठानमा राति ११ बज्यो ।
बुवालाई वायु बातको बिमारको निम्ति बैध्य पनि खोजिए । यसरी भने जतिको उपचारको विधि पर्याए पछि वुवा पनि तंग्रिए ।
यसैताका दुर्गास्थान स्कुलको जग्गामा बिबाद उठाएका कारण त्यहाँका पुर्ब अध्यक्ष बहादुर चन्द पक्रिएर केही दिन थुनिए । म दुर्गास्थान पढदादेखि नै मसंग चिढिएका प्राणि थिए यी । यो खोला भरीका चल्तीका मानिस यिनै मानिन्थे । दैबबसात् यिनी थुनि माग्ने र म थुनि दिने अफिसमा बस्ने कालक्रम मिलेछ । सारा दोष म माथि लगाएको सुनियो र पनि सन्तोक नै लाग्यो । अर्को तारेखमा सी डि ओ ले फेरि थुनि दिने कि भनेर चेतावनी दिएपछि बल्ल चेताए । नाता पर्ने एक जना उच्च प्रहरी अधिकारीको धाकले पनि काम नदिएपछि खुस्रिक परेर यी साइजमा आएका थिए । त्यसताका हेमिङ् वे को समुद्रको बूढो मान्छे पढछु र आफुलाई त्यहि बूढो माझी सम्झि बस्छु । लाग्छ , मासु लुछन पल्केका सार्कहरुबाट मारेको सिकार जोगाउन सारै गारो रहेछ ।
मार्ग २२ गते आफै निमित्त प्र जि अ भएको बेला नायब सुब्बामा पहिलो योग्यता क्रममा लोकसेवा आयोगको क्षेत्रीय कार्यालय दिपायलमै सीफारिस भएको खवर आ वा बाट आउँछ । ईश्वरलाई धन्यबाद दिन्छु । मंसिर मसान्तमा साढुभाइ पन्तलाई कारागारको पियनमा अस्थायी भर्ना गरियो । सिपालु खिउरे बाजेलाई २००० पछि थप ७००/- तिरोभरि गरि फाइनल गरिन्छ । शिक्षक हडतालका कारण अस्तब्यस्त काम सम्हालन प्र जि अ बिदा दिन समेत मानेका छैनन । ८ पुषमा कुमायु युनिभर्सिटी बाट स्नातक उतिर्ण भएकोे खवर पनि पाए । अब बैतडी बसाईको लक्ष्य पूरा भएको ठाने । कृषि बैंकबाट थप २०००/- ऋण निकाल्छु र लेनदेनबाट समेत निबृत हुन्छु । पुस १५ मा घर गएर सबै बुवाज्युमा जाहेर गर्छु । बिमार पिताजी रुनु मात्र भयो । आगत बनाउने मेरो अर्को सफलताको खबरले सन्तोक भयो होला । वहाँको बिमार बिस्तारै ठिक हुदै गयो ।
बिमार पिताजीको स्वास्थ्यमा बिशेक भएपछि तल्लाघरी साहुको १००००/- ऋणमा अलिकति त घटछ कि ठानेर २०००/- दिन्छु । दोस्रो दिन खाना खाई तल्लोस्वराड भ्रमणमा जान्छु । देउकी प्रथाको इतिबृत र सो उन्मुलनको लागी भएका प्रयास बारे बुझ्नु पर्ने र प्रतिबेदन पठाउनु पर्ने थियो । तर केही सामाजिक बर्जनाहरुले देउकीहरुसंग बसेर कुरै गर्न सकेन । बाहिर फेर बुझेर फर्के । स्कुल पढदा बसेको मामाको दोकान मै बसे । मृत मामा रामदत्तको गम्भीर अनुहार र बरालिएकी माइजुको चंचल छबीको झझल्को लागीरह्यो । धन्वा ढोलीले सलेना गए जस्तो भयो यो यात्रा । २३ पुषमा बैतडी फर्के । फेरि बैतडीमा प्रधानमन्त्रीको भ्रमणको चरम चर्चा चलिरहेको थियो । बी ए को मार्कसीट पनि आएको रहेछ । २४ बेलुका ५.१५ मा प्र मंको हेलिक्याप्टर टुडीखेलमा उत्रन्छ । मन्चको संक्षिप्त कार्यक्रम पछि जिल्ला सभा समुदघाटन हुन्छ । बिशिष्ट ब्यक्तिहरुको खानपिनको जिम्मा हुँदा रातभरी जस्तै ब्यस्त हुन्छु । बिहानै नास्तापछि ११ बजे अतिथिहरु उडे । बल्ल फुर्सत पाए । डेरामा पनि भीडभाड थियो । माघे संक्रान्ति श्रीमतिको माइतमा मनाइन्छ उनिसंगै । बिडम्बना ससुराजी संगको यहि भेट पो अन्तिम भएछ । २ गते झुलाघाट हुँदै महेन्द्रनगर गए । दार्चुलाको खाद्यान्न हिनामिना मुद्दामा छानबीन गर्ने कर्मचारी हुँदा साछीको हैसियतमा पुनराबेदन अदालतमा बयान दिए । पछि प्रधान न्यायाधिश बन्नु भएका रामप्रसाद श्रेष्ठ अन्चल न्याधिश हुनु हुन्थ्यो । प्रतिरक्षा गर्ने सरकारी वकिल त आफुलाइ याद नरहेको बयान दिनोस पो भन्छ । सोझै न्यायाधिशज्युमा ब्यहोरा जाहेर गरि फर्किए । कुल एकलाख सतसठ्टी हजारको यो मुद्दामा खाद्य संस्थानका केही कर्मचारी प्रतिबादी थिए। प्लेन केन्सिल हुँदा अर्को दिन भातकाणा हुँदै तेस्रो दिन दिपायल पुगे । लोकसेबाको कार्यालयमा स्थिति बुझे । हाकिमहरुसंग परिचय गरि स्टाफहरुसंग पनि जानकारी लिए । आफनो खाने बस्ने ब्यबस्थाको जानकारी लिए। अनि माघ १४ गते बैतडी फर्किदा ससुरा बितेको खबर देहिमाण्डौमा पाए । डेरा सुनसान थियो । श्रीमती माइततिरै थिइन । स्थिति हेरी सोझै शसुराली गए ।
महाबिजोग । दीपक र कैलाश रुल्लटुल्ल बसीरहेका । साली र श्रीमतिले येनकेन धानेका रहेछन । काका ससुराहरु रमिते मात्र भएर ताना दिईरहेका छन । साढुभाई त्यतै रहेछन । लोकचाल पूरा गरे होलान । म भने अर्को दिन फर्के ।
माघ २१ गते अफिसले बिदाईको आयोजना ग-यो । प्र जि अ ज्युले बडो भावुक बनेर बिदाइ मन्तब्य राख्नु भयो। कहिल्यै कसैको चिया समेत नखाने तर प्रजिअ ( उनको भाषामा बडाहाकिम )ले भनेको काम मात्र गर्ने हुँदा दैलो कुरी बस्ने मनोरथ नामका अत्यन्तै एकलकाँटे र इमानदार कार्यालय सहयोगीले समेत हर्षित भएर खुशीमा जिलेबी खाएको सम्झना छ । मसंगै कार्यालयमा काम गर्दा पनि बालक नाति दिपकलाइ समेत नचिने झै गर्ने एक जना ससुराजीले बल्ल नाता लगाएर आशिष दिए । अन्तमा ठुलो मन्त्र दिए झै ठगुरीहरुसंग सतर्क रहने अर्ति समेत दिएको कुटिल नियतिको समेत मलाइ हेक्का छ । बिदा हुँदा लाग्यो मेरो बसाइ असल थियो ।
देउकी प्रथा सम्बन्धी प्रतिबेदन दिएर बेलुका खाना उतै खाई प्र जि अ परीवारबाट बिदा भए । ससुराली पुगी अर्को दिन बिदा हुन थाल्दा त रुवाबासी नै चल्यो । सासुले आफुसंग रहेको कुल बाँकी रहेको भनिएको रु ३०००/- मलाई नै जिम्मा दिइन । ढिलो गरि खडे पिपल उक्लन्छौ । ढिलो गरेकोमा भाउजुसंग देवरको उफ्राई आफनै घरमा पनि महसूस गरे । २८ गते घर पुग्दा त गहु चामल केही पनि छैन रे । भाइ बुहारी सुत्केरी भएको ५ दिन भएकोे रहेछ । १२ गते संक्षिप्त न्वारान भयो । संयोग एकजना बाबाजी आउनु भएको थियो । मैले पनि बाआमासंग परिवार संगै लैजाने अनुमति पाए । ग्वाल्लेक केदारसंग पनि अनुमति मागे । मन्दिरमा गै न्वाईधोइ दर्सन गरेर चोरामा नरीदत्त बाजे समेतसंग माईखर्क यज्ञ बाजेको सहयोगमा राति पाटन पुग्यौ ।
पहिलो पल्ट प्लेन चढ्यौ एकैसाथ । महेन्द्र नगर गणेशदत्त जोशी साढुभाइको पसलमा बसियो । शिबरात्रीको मेला हेरियो छोरा दिपकसंग । पोलीगंज गै ५००/- को औषधि ल्यायौ । दुई बालक सहित चार जनाको रु ५३०/- को दिपायलको टिकट किनियो । बल्लतल्ल १३ गते फागुन मझगाँव एयरपोर्टबाट दिपायलका लागि उड्यौ । दीपक बम्पिङमा असाध्यै डरायो । सोझै राजपुर उक्लिए । बाटोमा कैलाश लोटेर रक्ताम्य नै भयो । जेनतेन अफिसमै कोठा पाइयो र बास बसियो । दोस्रो दिन राजपुरमै डेरा खोजे । नियुक्ति पाए । यसरी डोटी दिपायलमा जिन्दगीले अर्को मुकामको डेरा हाल्यो ।
****