सम्बेदनाहीन सम्बन्धहरु भित्र
केही बिचार मरीरहेकाछन
केहि बादहरु अबैध हुँदैछन् ।
पुरानो, भद्दा र रुपहीन बनेर
बूढो पुस्ता सभ्यता र संस्कृति बिहीन हुदैछ।
मन्दिरको वरपर
असरल्ल टाङ्गिएका घन्टहरु जस्तै
प्रकाश नछिर्ने कोठाभित्र थन्किएका दमाहा जस्तै
व्यापारी युगमा हिडने मान्छेदेखि
उडने चरासम्ममा
न लय छ, न कुनै संगित छ ।
मुक्ति गितका नाममा
आदिम संग्रामका कर्कश स्वरहरुबाट
वेद उपनिषदका अर्थ मरीरहेकाछन
तन्त्र तान्त्रिकताका बिम्बहरु हराइ रहेकाछन ।
कैदी थुनुवा जस्ता स्वाभिमान गुमाएका
पंचैबाजाका रागहरु
मन्दिरका शहर
देवताका गाउँ भित्र
कुँडिइ बसेकाछन्,
सभ्यताहीन हुदैछन् ।
मूल्य मान्यताको बिघटन भएपछि
मनुष्मृतिले थिचेको सिङ्गै समाज
बैधब्यका दिन भोग्दैछ ।
मेरो ईतिहास श्रृंखला
मेरा बुढा पुस्ता क्रमस: पहेलो हुदैछ ।
पानी र बतासले समेत
धर्म परिबर्तन गर्दैछ रे ।
नयाँ पालुवा कुन रुपमा उम्रिने हो?
कुन रंगमा मुस्कुराउने हो?
बिधवा बासी बिचार अलमलिन थालेकोछ ।
यो कलमलाइ पनि बुढ्यौली लागेछ ।
No comments:
Post a Comment