साभार- शीतल गिरीज्युको फेेेेेेसबुक भित्ता विक्रमसंवत् आरम्भ हुनु शताब्दीयौँ पूर्व जनकपुर सभ्यता विकसित भएको थियो । त्यसैको समकालीन नभए पनि केही कालपछि कपिलवस्तुमा शाक्य सभ्यताको आरम्भ भएको थियो । प्राचीन कालको त्यो कपिलवस्तु राज्य हाल ५ नम्बर प्रदेशको तौहिलवा जिल्लामा पर्दछ । कपिलवस्तु राज्यको राजधानी तिलौराकोटमा पर्दथ्यो । कपिलवस्तुको नामकरण कपिल ऋषिको साधनास्थलबाट भएको कुरा हालसम्म स्वीकार भएको छ । कपिलमुनिले कहिले त्यहाँ आश्रम बनाएर साधना (तपस्या) गर्न थाले र कहिले समाधिस्थ भए त्यो कुरा भने खास थाहा पाइएको छैन । सोही समयको कुरो हो । कोशलदेशमा इक्ष्वाकु (ओछाक) वंशीय राजाको शासन थियो । त्यहाँको राजाले आफ्नी जेठी रानीका छोराछोरी हुँदाहुँदै पनि कान्छी पत्नी ल्याए । ल्याउनु के थियो कान्छी पत्नी तर्फबाट पनि छोरा जन्मिए । कान्छी पत्नीसँग विवाहपूर्व गरेको सम्झौता अनुसार उनका सन्तानलाई आफ्नो उत्तराधिकारी घोषित गरिदिए । त्यतिले मात्र चित्त नबुझेर ती राजाले जेठीका सन्तानलाई निर्वासित गरिदिए । निर्वासित भएका जेठी रानीतर्फका सन्तान भौतारिदै कपिलमुनिको आश्रममा आए । त्यस समयमा सो क्षेत्र घना जङ्गलले जेलेको थियो । बाँच्नको लागि साथ चाहिन्छ । कपिल ऋषि र कोसल देशका राजकुलका निर्वासित सदस्य एक अर्काका सहारा बने । यस बारेमा कुनै शंका छैन राजकुमारहरूको पराक्रम र कपिल ऋषिको सल्लाहले जङ्गल फडानी हुन थाल्यो । राम्रो कुरा हो । सो समयमा आखेट र कृषिनै जीवनको आधार थियो । ‘अम्वत्त सूत्तदीघ्घनिकाय’ अनुसार कोसल देशका राजकुलका निर्वासित सदस्य जङ्गलमा भौँतारिदै कपिलमुनिको आश्रममा आश्रय लिएका थिए । यस कुरालाई ‘सुमङ्गल विलाशिनी’ तथा ‘दिव्यावदन’ जस्ता ग्रन्थले पनि अनुमोदन तथा समर्थन गरेका छन् । यसैगरी महावस्तु ग्रन्थको १ः३५१– ५२ सूक्तमा पनि यस कुरालाई जोड दिँदै शाक्यमुनिका पुर्खा बाजेहरू जङ्गलको कपिल ऋषिको नजिक साकेतबाट आएर बसेको वर्णन छ । शाक्य शब्द साकेतक्षेत्रबाट आएका क्षत्रियहरूका आधारबाट बनेको भान हुन्छ । कपिल ऋषिले उनीहरूलाई आश्रममा बस्न र जङ्गल फडानीगरी बस्ती बसाल्न अनुमति दिएकोले त्यही बसे । कसै कसैको भनाइ अनुसार त्यस जङ्गलमा शालका वृक्षहरू प्रशस्त भएका र साकेतबाट आएका राजकुमारहरूले फडानी गरेकाले दुबै आधारबाट पनि उनीहरूलाई ‘शाक्य’ क्षत्रियवंशी भन्न थालियो । उनीहरू कट्टर सनातनी आर्य हुनाले राजकाज गर्दा काटमार र बलिपूजासमेत गर्दथे । कपिलमुनिले तपस्यागरी सुप्रसिद्ध आदिम मानिने साङ्ख्यदर्शन अनुसन्धान गरी कालव्यतीत गरेपछि बस्ति गुल्जार भएका कारणले त्यो राज्यको नाउँ कपिलवस्तु रहन गयो । सुत्तनिपातनामक बौद्ध ग्रन्थमा केही ब्राह्मणहरूले भने अनुसार कोशाम्बीबाट साकेत, श्रावस्ती, सेतभ्य, कपिलवस्तु, कुशिनारा, पावा हुँदै वैशाली पुगिने कुरा उल्लेख छ । त्यसैगरी विनयपिटकले पनि कपिलबस्तुबाट वैशाली जाने मार्गको वर्णन गरेको छ । कपिलवस्तु राज्य पश्चिममा राप्ती नदीसम्म कोशलराज्यसँग सिमाना जोडिएको थियो । कोलीय जातिसँग शाक्यहरूको पूर्वमा रोहिणी नदीले विभक्त गरेको थियो । त्यस राज्यको उत्तरी सिमाना हिमालयको काखसम्म थियो भने दक्षिणतिर भागीरथी नदीसम्म फैलिएको थियो । श्रेष्ठ मानिस थिए शाक्य, उनीहरूको सम्मुखमा जातीय अभीमानको रक्षा यानी रक्त शुद्धि कायमराख्नु रहेको थियो । शाक्य कुलकालाई वाल्यकालदेखी नै अभीजातीय ज्ञान, युद्धकला र जीवनोपयोगी शिल्पको शिक्षा दिनेगरेको थियो र सोही कारणले शाक्य कुलको चर्चा चौतर्फि थियो । एक अर्कालाई सहयोग, गणतन्त्रको रक्षा गर्दै कुलको इज्जत जोगाएर जीवन बिताइरहेका थिए । शाक्य महिलाहरू थिए । सबै इज्जतदार थिए । यस विषयमा मैले भन्नुपर्ने कुरो केही छैन । कपिलवस्तु राज्यभन्दा पूर्वतिरको कोलीय राज्य ज्यादै शक्तिशाली थियो । कपिलवस्तुमा विशाल सहरहरू थिए । कुटुम, खोमदुस्स, मेतमलुप, रामग्राम, सन्तुमारा, सीतावती, सकारा आदि । शाक्यहरूका ३०,००० परिवार थिए भने त्यहाँको जनसङ्ख्या पनि पाच लाखभन्दा बढ्ता थियो । गणतन्त्रात्मक शासनपद्धति अपनाएका शाक्यहरूले आफ्नो राज्यको राजधानी कपिलवस्तुलाई बनाएका थिए । उनीहरूको शासन सञ्चालन गर्ने केन्द्रलाई सन्धागारशाला भनिन्थ्यो । राजधानीबाट विभिन्न ठाउँमा पुग्ने राजमार्गहरू निर्माण गरिएका थिए । शाक्य राजाहरूले कपिलवस्तुमा राज्य गरेको कुरा थाहा भएर पनि कति पुस्तादेखि राज्य गर्दै शुद्धोदनका पालासम्म कायम रही आयो भन्ने जानकारी पाइएको छैन । प्रष्टसँग किटेर भन्न सक्ने प्रमाणको अभावमा अनुमानको भर पर्नुपरेको छ । प्रमाण पाइएमा अवश्य प्राग्इतिहास मन पराउनेहरू प्रसन्न हुनेछन् । प्रमाण खोज्न, प्रयत्न गरेकाहरूले प्रमाण भेट्टाएमा सुख– संतोष प्राप्तगर्ने नै छ । यो अहिले नै भन्ने कुरो भने होइन । जसले तत्कालीन परिस्थितिको सही विश्लेषण गर्न सक्छ, उसले प्रमाण फेलापार्न सक्ने संभावना छ । केही मानिस साधनामा रमाउँछन्, यानी आफ्नो कार्यप्रति इमान्दार हुन्छन् । अर्काथरीका मानिस हावामा झटारो हानेर लाभ लिन पल्केका छन् । साधना गर्नको निम्ति केही श्रम गर्नै पर्छ । विक्रमपूर्व ६८० मा कपिलवस्तुको लुम्विनी वन (लोमडी वन) मा सिद्धार्थ गौतमको जन्म भएको थियो । उनै गौतमले कपिलमुनिको दर्शनबाट बुद्धत्व प्राप्त गरेर बुद्ध बनेपछि जनकपुरको पनि भ्रमण गरेका थिए । सो समयमा जनकपुरक्षेत्र (विदेह) बज्जि गणराज्यको एक अङ्ग थियो । जनकपुरका विदेहवंशका अन्तिम राजा कराल बहुलाश्वको राज्य पतन भएपछि त्यहाँ विदेहराजवंशको शासन अन्त्य हुन पुग्यो । अस्टकुल बज्जिसँघ ध्वस्त भएपछि त्यहाँ पालवंशीय राजाहरूको शासन आरम्भ भयो । अष्टकुल बज्जिसँघको एक अङ्ग विदेहरहेको कुरा प्रमाणको आधारमा बौद्धिक विवेक भएको जसले पनि सहर्ष स्वीकार गर्ने नै छ । प्रमाणको आधारमा यथार्थ स्वीकार्नु भनेको लज्जाको विषय बन्न सक्दैन । भावुकताले भनेको कतिपय कुरालाई समाजले सम्मान गर्दछ । लोकमत बनाउने र यथार्थ प्रकट गर्ने अन्वेषक वौद्धिक जगतको विभूति हो । पालहरूले कति समय जनकपुरलाई आफ्नो अधिकार क्षेत्र अन्तर्गत राखे भन्न सकिएको छैन । पालहरूले शासन गर्नुभन्दा पहिले विदेह बज्जिसङ्घ अन्तर्गत रहेको प्रमाण पाइएको छ । प्रमाणको आधारमा भन्ने हो भने कपिलवस्तुमा शाक्यवंशीय शुद्धोदन नामक एक यशस्वी गणपति थिए । शुद्धोदनका पाँच दाजुभाई थिए भने अमिता नामकी बहिनी पनि थिइन् । गणपति शुद्धोदनले कोलीय राजा अञ्जानका छोरीहरू महामाया र प्रजापतीसँग विवाह गरेका थिए । कपिलवस्तुका शाक्यहरूमा सन्तान अलि ढिलो हुने गथ्र्यो । धेरै वर्षको प्रतीक्षापछि जेठी रानी महामायाको कोखबाट सिद्धार्थको जन्म भयो । उनै सिद्धार्थको विवाह यशोधरासँग भएको थियो । सिद्धार्थ गौतमकी माता महामाया र पत्नी यशोधरा दुबै कोलीय गणराज्यकी कुमारी थिइन् । सिद्धार्थका राहुल नामक पुत्र पैदा भएपछि उनी तपस्या गर्न भनी २९ वर्षमा राजदरबारका सुख, सुविधा, शक्ति, सम्पत्ति सारा बस्तुत्याग गरेर हिँडे । राजा शुद्धोदनले गणतन्त्रात्मक पद्धितिबाट गद्दी आरोहण गरेका र उनीपछि को राजा हुन्छ भन्ने निश्चित थिएन । इतिहास केलाउँदा शुद्धोदनपछि उनैका भाई भद्दीय त्यसपछि उनका पनि भाइ महानाम जस्ता राजाहरूले कपिलवस्तु राज्यको शासन सञ्चालन गरेको पाइन्छ । कपिलवस्तु राज्यका निर्वाचन र गहन निर्णय काष्ठशलाका पद्धतिको मतगणनानुसार हुन्थ्यो । मलाई यस पद्धतिमा शङ्का छ, यस वृत्तिबाट समस्या पूर्णरूपले समाधान हुन्छ भन्ने कुरामा । विधि प्रस्ताव ज्ञाप्तिको आवश्यकतानुसार चार वाचन हुन्थ्यो । वैठकमा छलफल र कुरा प्रस्तुत गर्न कुनैलाई रोकछेक भने थिएन । राष्ट्रको अधिवेशन खुला हुन्थ्यो । न्यायालयमा पनि पूर्णस्वतन्त्रता थियो । न्यायाधीशको सङ्ख्या आठ जनाको हुन्थ्यो । प्रत्येक व्यक्तिले आफ्नो बहस आफैं गर्न पाउँथ्यो । कार्वाही गर्नुपूर्व गणपूर्ति हुनुपथ्र्यो । गणपूर्ति गर्न गणपूरक अधिकारीको बन्दोबस्त गरिएको हुन्थ्यो । गणपूर्ति गर्नेबेला राष्ट्राध्यक्षलाई गन्ने चलन थिएन । राष्ट्राध्यक्ष शाक्यवंशीय सदस्य निर्वाचनपद्धतिबाट हुन्थ्यो । जनप्रतिनिधिहरू दुई प्रकारका मतदाताबाट छानिन्थे । जेठो छोरा राजा हुने नियम नभएर पनि निर्वाचनमा विजयी हुन सकेमा राजा हुन पाउने प्रावधान थियो । केवल राज्यमा योग्य शासक चयन गर्नका निम्ति निर्वाचन गरिन्थ्यो । शुद्धोदनका जेठा छोरा सिद्धार्थ योग्य हुनाले निर्वाचनबाट उनैलाई राजा वरण गर्थे होला तर उनले राजकाजपट्टिको मनसुवा गरेनन् । त्यसबेला कपिलवस्तुमा ज्यादै अशान्ति र उथलपुथल रहेको कुरा थाहा पाइन्छ । सिद्धार्थकी पत्नी यशोधरा कोलीय गणनायक शुप शुद्धकी पुत्री एवम् देवदत्तकी बहिनी थिइन् । विगतको कुरा लेख्नबस्दा सत्य छुटने र असत्य लेखिने डर रहन्छ । विगतको कुरा वर्तमानको आँखाले हेर्नुपर्ने हुन्छ, जसले पनि भोगेको त वर्तमान मात्रै त हो । वर्तमानमा टेकेर, आधार बनाएर विगत लेख्न बसिन्छ । यो भनेको लेखकले आफूलाई अति संयमित बनाएर केलाउनु पनि हो । साधनारत लेखकसङ्ग तथ्य एकदम थोरै हुन्छ, त्यसलाई आफ्नो क्षमताले पूर्णतादिने प्रयत्न गर्छ । लेखक अतितसँग जोडिएको हुन्छ, असत्यसँग डराउँछ । क्षणीक फाइदाको लागि विगतको तथ्य पूर्ण सत्यलाई असत्य बनाउने खेल खेल्दैन । सिद्धार्थको न्वारानका ज्योतिष अशित ऋषि थिए । गौतम बुद्धको जन्मस्थल लुम्बिनी जङ्गलमा भई तिलौराकोट कपिलवस्तुको राजधानी भएको सबभन्दा ठूलो प्रमाण अशोक स्तम्भ रहदा रहदै पनि केही भारतीय व्यक्तिबाट भ्रम छर्ने काम रोकिएको छैन । भारतका श्रीकृष्णमुरारी श्रीवास्तवले ‘कपिलवस्तु उत्तरप्रदेश भारतको बस्ती जिल्लाको पिप्रहवामा पर्दछ’ जस्तो मीथ्या कुरा गर्न पछि परेका छैनन् । यसैगरी २५ फरवरी १९९७ इं को ‘दैनिक जागरण’ हिन्दी पत्रिकाले— सुजौलीक्षेत्र भगवान बुद्धको मावलीघर देवदह हो भनी छापेको छ । बुद्धकालीन समृद्ध सहर कपिलवस्तु कसरी नष्ट भयो भन्ने कुरा पनि रोचक छ । राजा प्रशेनजितका उत्तराधिकारी श्रावस्तीका राजा विडुडभले कपिलवस्तुलाईध्वस्त पारेका थिए । शाक्यहरूले झुक्याएर आफ्नी दासी वाशभाखात्तीयको विवाह प्रशेनजितसँग गराइदिएका थिए । यिनै वाशभाखात्तीयबाट विडुडभको जन्म भएको थियो । शाक्य आफूलाई उच्च कूलको भएको गर्व गर्थे र शुद्धता कायम राख्न प्रशेनजीतले शाक्य कुमारीसँग विवाह गर्ने प्रस्ताव पठाउँदा यो छल गरिएको थियो । आफ्नो मावलीमा गएका समयमा विडूडभले यो सत्य थाहा पाएको थियो । आफ्नो मावलीकूल शाक्य नभएर निकृष्ट जातको भएको थाहा पाउँदा रिसाएका विडूडभ आफ्नो राज्यमा फर्केर आफ्ना बुवालाई अपदस्तगरी राजपाठ हत्याए । त्यही रिसमा कपिलवस्तुमाथि आक्रमण गरे । विडूडभको व्यवहार अराजक थियो । उच्च जात भनी घमण्ड गर्नु शाक्यको लागि धेरै महंगो प¥यो । शाक्यहरूको विनाशकको रूपमा बिरूडभलाई लिइन्छ । कपिलवस्तु ध्वस्त पारेर पनि उसको जीत भएन । कपिलवस्तु सहरमा आगजनी ग¥यो, त्यहाँ भेट्टाइएका शाक्यहरूको हत्या गरिदियो । विडूडभको दुइ पटकको आक्रमण गौतमबुद्धले बचाएका थिए, तेस्रो पटकमा शाक्यहरू पनि लड्न तयार भएकोहुँदा ऊनले रोक्ने प्रयास गरेनन् ।
No comments:
Post a Comment