Tuesday, October 29, 2019

लय संगीत हराएका दमाहा र घण्टहरु देखेर ( कबिता)

लय संगीत हराएका दमाहा र घण्टहरु देखेर 



सम्बेदनाहीन सम्बन्धहरु भित्र
 केही बिचार मरीरहेकाछन
केहि बादहरु अबैध हुँदैछन् ।
 पुरानो, भद्दा र रुपहीन बनेर
बूढो पुस्ता सभ्यता र संस्कृति बिहीन हुदैछ। 
मन्दिरको वरपर
असरल्ल टाङ्गिएका घन्टहरु जस्तै 
प्रकाश नछिर्ने कोठाभित्र थन्किएका दमाहा जस्तै
व्यापारी युगमा हिडने मान्छेदेखि
उडने  चरासम्ममा
न लय छ, न कुनै संगित छ ।
मुक्ति गितका नाममा
आदिम संग्रामका कर्कश स्वरहरुबाट
वेद उपनिषदका अर्थ मरीरहेकाछन
तन्त्र तान्त्रिकताका बिम्बहरु हराइ रहेकाछन ।
कैदी थुनुवा जस्ता  स्वाभिमान गुमाएका
पंचैबाजाका रागहरु
मन्दिरका शहर 
देवताका गाउँ भित्र 
कुँडिइ बसेकाछन्,
सभ्यताहीन हुदैछन्  ।
मूल्य मान्यताको बिघटन भएपछि
मनुष्मृतिले थिचेको सिङ्गै  समाज
बैधब्यका दिन भोग्दैछ ।
मेरो ईतिहास श्रृंखला 
मेरा बुढा पुस्ता क्रमस: पहेलो हुदैछ ।
 पानी र बतासले समेत
धर्म परिबर्तन गर्दैछ रे ।
नयाँ पालुवा कुन रुपमा उम्रिने हो?
 कुन रंगमा मुस्कुराउने हो? 
बिधवा बासी बिचार अलमलिन थालेकोछ ।
यो कलमलाइ पनि बुढ्यौली लागेछ ।
ए, पहेलो पात त झर्नै पो लागेछ ।
यौटो युग सकिनै लागेछ ।।
*********************



- भाइटीका २०७५, काठमाण्डौ ।

Saturday, October 5, 2019

अलमलमा ( कबिता )










शहरिया भएँ जस्तो कहिले
कहिले गाउँले नै रहे जस्तो
अलिकति हराए जस्तो
अलमलिए जस्तो छ उ
किनकि,
शहरको भीड र भागदौडमा
गाउँ खोज्दछ उ
गोठ र गोरु नपाएर यहाँ
झोक्राउँछ उ
पहरा पखेरु मै फर्क न भन्दा
सडक र सवारी त्यहाँ देख्दैन उ
जे छैन त्यही किन
खोज्दछ उ
नभएको कुरा किन
रोज्दछ उ
गाउँमा शहर, शहरमा गाउँ
चाहन्छ उ
त्यसैले होला आजकल
शहरिया गाउँले भएको छ उ
अलिकति अलमलमा परेको छ उ ।।
[प्रमोद अमात्यको कबिता ( साभार- साहित्य संग्रहालय )]
 फुुलपाति २०७६, काठमाडौं । 

Wednesday, October 2, 2019

मैले देखेको पुरुष'माथिको हिं'सा - Muldhar Post

मैले देखेको पुरुष'माथिको हिं'सा -       (Muldhar Post: )

श्रद्दा के.सी-

हजारौं लेख देखें, जो महिलाका हकहितका लागि लेखिए । हजारौं सभा समारोहमा केवल महिला कै कुरा निस्किए । तर मौन भएर हजारौंको भिडमा उभिएको पुरुषलाई कसैले सोध्न सम्म भ्याएन । के छ उसको पीडा ? हो म पनि एक महिला हो । मैले पनि लेख्नु पर्थ्यो, महिलाका गीत, आमाका कविता अनि महिलाको अधिकारको बारेमा …

Thursday, July 4, 2019

हमलाइ गलत इतिहास ब पढायो कि ?


हमलाइ गलत इतिहास ब पढायो कि ? 

-भानदेव बडू

                                           
यिन बीच बटामाइ माटो खणिबरे बसिरयाका देबतान्

यिन जाणिरख्या लै लटा होइबरे बसिरयाका मानसौन

यिन भुइसोलाले उदारेका माणौ, यिनरा बाङियाका गजुरौन

यिन सालिक बनिबरे दोबाटामाइ कलीरयाका हजुरौन

जब धेक्कौ मै यिन सप्पैलाइ याँइमणि बसिरयाका

जज्ज्याँ लै उसाका उसाइ, जज्ज्याँलै जसाका तसाइ

उज्ज्याँ गलत जसो लागन्छ एइ देशको ईतिहास मलाइ । ( अनुबाद)

कबि भुुपि शेेरचनले  अफना कबितामाइ इस्याँ  आफुुलाई अफना देशको ईतिहास गलत लागेको भणिथ्यो । आजी उनले यो लै भणि राख्छ , " हम  बुद्धू हौ तसैले मात्रै बहादुर भया हौ " ।

कवि शेरचनका कबितानको गुढार्थ जे भयालइ साँच्ची हम बहादुर नाइ रे बुध्धुइ ब हौ कि ? हमलाइ हमरोइ ईतिहास भाँची भुचि बरे गलत पढाएको ब हो कि ? कज्ज्याइ मइलै इसोइ सुच्चौ ।

खाना लउनाका धेकिन्या दुख है अनारामाइ लुकाएका अफनाइ पुर्खानको ईतिहास कि कुरणि समज्या बरे जेधा पिरलो हुन्यारैछ । अच्यालका दुख है लइ कबका ब बज्या-परबज्यान्का दुखमाइ आजिलै छलकपट ( राजनीति?) हुनइ लाछ । अर्खालाइ दमन गरन्या दुशचक्रमाइ कै को ईतिहास मेटियो, कै को हरायो, कैको केरियो, कै का रकतले के लेखियो, भण्णया कुरा अब्यक्त जसो धेकिया बरेलै जनमानसमा सद्दो सद्दोइ औन्यारैछ । तबै त हमरो इतिहासको ज्यादा भाग मिथक ( काल्पनिक पुराना कथा) बटि है भणिन्छ गौंघरमाइ । तन सुणियाका बातैमा कति भाग साँचो होलो , कति कल्पना होलो, हमरा इतिहासको यो अनुसन्धान हुनुपड्ड्या पक्ष हो ।

भणिन्छ, ईतिहास जित्यानको घोडो हो । जित्याका राज्यमाइ जाँ लै हिंसागरिबरे त्रास धेकाइबरे शासन गरिन्छ । सुबिधा अनुसार साँचि कुरणि तोडमरोड गरिन्छे । भयाका घटनानका बारेमाइ अफनानलाइ प्यारो लाग्गया गरिबरे पत्यार पड्ड्या किसमले कालक्रम मिलाइबरे इतिहासमाइ व्याख्या गरिएको हुन्छ । हमरा इतिहासकारौनले त तथ्य है ज्यादा कथा किम्बदन्तिनलाइ ऐतिहासिकता प्रदान गरि राखिछ । गोरखालीले जितेको डोटि बैतडीको ईतिहासमाइ क्या साँच्चि कुरणि लेखी हुनि हो त? बिचार गद्दु पड्ड्या कुरणि छ ।

क्यै उदाहरण दिउ । हेरोडोटसले भारतमाइ फ्याउरा जसा कमिला, उड्ड्या स्याप पाइनान भणिराख्छ । नेपालका इतिहासको पैलो कथा चीनबटि है अयाका महामंजुश्रीले गल्छी काटि बरे नागौनलाइ बगाएका बारेमाइ छ ।काँइकाँइ ने मुनि लइ मंजुश्रीको कथालै गज्यामज्या गरिराखिछ । अनुमान गद्द्या हो भण्या कैलाशकुट भवनका भब्यतामाइ पालियाकि महासामन्त अंशुबर्मा कि चेली भृकुटिलाई भोटेराजासित हिमालपारी पठायाकि कुरणी असान्दर्भिक लागिन्छे । पृथ्बीनारायण शाहका पुर्खा महाराणा प्रतापको वंशज माण्ण्या  कि उइबेला मगर बहुल क्षेत्र भएकोले गोरखाकै खाँटि मगरका बंशज माण्ण्या माइ आजिलै बिबाद छ । गणतन्त्र अयापछा मातरै यिनलाइ मिथक पात्र बनौन छाडि राखिछ ।

इस्याँइ हमरा मौन ईतिहासमाइ  कतिब भाटगिरी गरियो? लेखी नसकिनु छ । देहरादूनका नालापानी किल्लामाइ बीर बलभद्र भणियाका हमरा सेनानायक उथै बटि है पंजाबका राजा रणजितसिंहका फौजमाइ भर्ना हुन गएका हुन । यै घटनामाइ हमरो ईतिहास तै चुप मै चुप छ । लाहौर झाइबरे लाहुरे बन्न्या उनै पैला नेपाली ( गोर्खाली ) हुन भण्णान  । नालापानि किल्लामाइ मारिएका महिला केटाकेटि को हुन ? लडाईका किल्लामाइ उनलाइ क्याइ राखेको हो ? हमरो ईतिहास केइ नाइ बोल्लो ।

गोर्खा- कम्पनीका लडाईमाइ दरबारको कार्यनीति बनाउन्या मान्सौनले  युध्दक्षेत्रका परिस्थितिको सहि आकलन नाइ गरिसक्यो भण्ण्या कुरा सबैलाइ था छ । तै है अगाडी गोरखाराज्य बन्न्या बेला लै तसोइ भद्दरगोल थ्यो । बिकट बाटोघाटोका कारण बिजितक्षेत्रमाइ सरकारको नियन्त्रण हुनसक्क्या अवस्था नाइथ्यो । राज्यले न कर्मचारी पाल्ल्या हैसियत राखनथ्यो, न सरहद भितर शासन गद्द्या । इसैइ कारणले " जिउधन सरकारको" भण्ण्या अवधारणा आयो सुदूर पश्चिमका जनमानसमाइ । एइ भद्रगोलको अवस्थालाई " गोरख्यौल " को नाम दिइयो । राजा भुुमीका मालिक भया बरे लै तै भुमीबटिहै कोइ उब्जनी आमदानी लिनसक्क्या अबस्था नाइथ्यो । तब ताँ: बिर्तावाल, किपटवाल, गुठियार, मुखिया, रजबार आदि छोटेराजा भया रे  कुत आम्दानी उठाउनाइ दलाली कमिसन खान पस्या । तै परिस्थितिमाइ राष्ट्रको ईतिहास कस्याँ लेखियो होलो? बिचार गद्द सकिन्छ ।नेपाल एकिकरणका बेलासम्म गोर्खाली पाइक धनुषबाँण खुँडाखुकुरी मात्तरै निक्करी चलौन जाणन्थ्या । करकापमाइ पडिबरे मात्रै लडैका कटकमाइ झान्थ्या । पुराना तोपका पार्टपुर्जा डोकामाइ बोकिबरे गढीगौडामा पुग्यापछा नटबोल्ट कसन्थ्या । येइ परिस्थितिमाइ धुर्त अङरेजौन कि सामरिक नीतिका अगाडी निरीह हुनुइ पणन्थ्यो । येइ पछालै अफना सत्तालाइ बैध बनाउना कि लेखा रचिएको ईतिहास कसो होलो? कल्पना गर्न सकिन्छ ।

इसैमाइलै अच्याल नयाँ नेपालका केइ  स्वनामधन्य बिद्वानौनले येइ ईतिहासलाई झिक भद्रगोल बनाइ दि राखिछ । ऐतिहासिक यथार्थ भणन्छ, नेपालका आदिबासी खस जातिका मान्स हुन् ।  झण्डै छ हजार वर्ष ऐतिर ककेससबटि है पूर्वतिर लागिबरे यिन सिधै मानसरोबर क्षेत्रमाइ बस्या । मानसरोबरबटि है दक्षिण हिमालपारी गयाका कस जुम्लाबासी भयापछा खस भणिया ।  खस खानदानमाइ जातपात नाइथ्यो , प्रकृतिको पुजा गरन्थ्या । भगवान इनरी लेखा निराकार थ्यो । मतवाली, मष्टोपुजक , जातपात बिहिन- यिनरा तीन बिशेषता थ्या ।

जुम्लाबटि है ओरालो लग्या पछा उनौन है  तीन हजार बर्षपछा पहाडतिर पस्याका कान्यकुब्जीय ब्राह्मण संस्कृतिवाला मान्स मिसिया । एइपछा भिन्नखालको  मिश्रित " पहाडी" सहसंस्कृति बिकास भयो भण्णान । ‘मनुस्मृति’ माइ खसौनखाँई ‘व्रात्य’ भणिरै छ । अथर्व वेद संहिता (१५।१।४।५) माइ त शिवजीथाइ लै  ‘व्रात्य’ गणौनको नाइके (महादेव) भणिएको पाइन्छ । वैदिक आचरण अक्षरशः नमान्ने भया हुनाले दक्ष दम्पतिले छोरी दिन नमान्याका ब हुन कि ? भण्ण्या लागन्छ । शिवजी आधारभूत रूपमाइ हरप्पा अर्थात भारतीय उपमहाद्वीपका देवता हुन् । कैलास पर्वत शिवजीको आवास भएकाले शिवजीलाई ‘यक्ष’ (‘यक्षस्वरूपाय’ जटाधराय ) अर्थात्, (एट्किन्सनका अनुसार) ‘ खस’ माणि राखिछ  । हिमालय भेगमा पाइन्या जनै न लौन्या खस बटिन है आजिलै प्रागैतिहासिकताको जीवन्त पछ्याँण पाइन्छे ।

वैदिक सनातन धर्मले राजनीतिक शक्तिको आड पया पछा एइको जोडदार प्रचार प्रसार हुन पस्यो। समाजमाइ ‘ठुलाबडा’ ले जे गद्दान लोकले तसैको सिको गरन्छ । इस्याँ वैदिक धर्म नमाण्या भिटिया बरे तइको उपहास गरन्या प्रवृत्ति  स्वाभाविक भयो । मैदानी भागबटि है राजनीतिक शरण लिन हिमालय पसेका राजानले वैदिक धर्मको प्रभाव हिमालयमाइ लै लेया । इस्याँ भऔत खस वैदिक जातपात भितर पस्या । तस्याँ सामाजिक समायोजन भयाबरेलै अर्खानको सिको मात्तरै गर्यो हनाले मैदानी आँखाबटि है हेर्याबरे हमरो सामाजिक जातिय ब्यबस्थामाइ पक्कालै केइ अन्नौठा कुरा धेकिनान  ।

खस मानसौनकि पछ्याँण अच्याल मष्टो पुजकमा सिमित छ ।मष्टो पुजन निराकार हुन्छ । इनरा कुलपुजामाइ देबदेबी नाइ रे लोणा आकारका केइ ढुङा हुनान ।नयाँ राजनैतिक बिश्लेषणमाइ अन्य बनाइएका खसौनको चिनारी मष्टो लै कुलपुजामाइलै बेणिरैछ । हमरा क्षेत्रमाइ धेरै ठौर पौराणिक देब देबीका माणौलै छन । ढुङामाइ पुजिन्या स्थानिय लोकदेवता, भुमीदेवता पितर देवताका माणौ थान थपनालै छन । काँइ वैदिक बिधिले पुजा हुन्छ । काँइ अर्खाअर्खाइ किसमले लै पुजा लागन्छे । इस्याँ दुई महान सभ्यता मिलिबरे नयाँ सभ्यता बनिरैछ- एइलाइ खस आर्य भणिबरे सम्बैधानिक बर्गिकरणको  अन्य समुहमाइ राखिरैछ ।

उथ बैदिक आर्यको अरखो हाङो गंगा मैदानबटि है फैलिबरे राजा जनक हैलइ पइल्लि नेपालका तराइमा पस्यो । इनौनलाइ अच्याल मदेशी भणिन्छ । यी मैदानी जंगल भितर केइ आष्ट्रिक द्राबिण सभ्यताबटि है अयाका सभ्यताका प्राचीन हाङा लै छन् । हिमालयका काखमाइ मंगोल- किरात सभ्यताका हाङा लै छन । पछा पछा मदेशका शहरौन नजिक मुसलमानौनले लै बस्ति बसाइ । इस्याँ नेपाल भिन्न भिन्न सभ्यताको महासंगम बन्यो । कसै एक हाङालाइ मात्रै बडाइचडाइ गर्या बरे कस्याँ सहि ईतिहास भणेलो पैँ ।

ईतिहासमाइ लप्पनछप्पन लेखन्या भौत कारण हुन सक्कान । बाध्यात्मक अबस्थामाँइ या  सुनियोजित षडयंत्रबटि हैलइ तसो ईतिहास बन्न सकन्छ । आफुलाइ ठुलो औरौन नानू बनौनाकि लै इतिहासमाइ आलंकारिकता थपिबरे शासन गद्या शक्तिशाली औजार बनौन सक्कान । आफना बारेमाइ आफुइ लेख्ख पस्याबरे लै ईतिहास गलत हुन सकन्छ ।

ईतिहास लेखनमाइ गरिन्या यी गल्तिवटि है कभै त मूल रुपै बिकृत हुन सकन्छ । लेखनमाइ बिचारकि छाया त पणी झान्छे ।पश्चिमा लेखकौनले पस्क्याका पुर्बीय बिम्ब मौलिक स्वरुपको संवाद नाइ दिन सक्दा । तब लै उनरो सोच संकुचित बिकृत जसो धेकिन्छ । चार युगको हिसाबकिताब राख्ख्या पुर्बीय कालगणनाको पद्धतिलै संस्कृत भाषाको ज्ञानलै अधकल्चो भयाका अंगरेज लेखकौनको टिपोट बटि है टिपेको इतिहास कसो ब होलो? अनुमान गद्द सकिन्छ । उनरा आफु अनुकुल हुनेगरी कल्पना गरेका किम्बदन्तिलाइ आब लै ईतिहास माण्याबरे हम है बुद्धू बहादुर को होलो ब !

सन १७९० माइ नारिदाङमा भइकि लडाइपछा मात्तरै सुदुर पश्चिम गोरखा राज्यमाइ गाविएको हो । तै है अगाडी वाँ अफनोइ किसिमको शासन परिपाटि हुनो हो । पक्कालै जनमानसको सामाजिक जिबनमा उकाला ओराला अबश्य अयाका हुना हुन । लडाइमाइ पराजित भयापछा नौला शासनमाइ समायोजन हुन गाणो त भयोइ हुनो हो । यी कुरणि इतिहासमाइ काँइन धेकिनि । कत्युराकालीन उकुदरबारजसा नागिमल्लको अजयमेरुकोटजसा ठौर बटि है कस्याँ शासन चलन्थ्यो होलो, कोइ आधिकारिक सोधखोज नाइथिन । अफना दरबारका पखामाइ झाइबरे राज्यका कति घरमाइ खनाइ पाक्यो भणि ध्वाँ हेद्या नैपालका राजाका बारेमाइ हमले पणि रख्यौ । हिमाल वारीपारि एकछत्र शासन गद्या सिंजाली राजाका बारेमाइ काइन पणाइनो । सुदुर भेेगका कोऽर, कोर या कुँँवर खसक्षेत्री नेपाल दरबारमाइ झाइबरे मात्रै  श्री३ राणाजी भयाका हुन भणिबरे पछासम्मलै इतिहासले लेख्ख नाइसक्यो । देउचेली, डोलामैयाँ, अधेेकारानीनका कथा तै इतिहासमाइ कभै न अट्या । हमरा वास्तविकताको बलजफति काशीकरण गरिबरे हमलाइ अफनाइ देशको गलत ईतिहास पणाइ राखिछ ।

कर्णाली पारिका मान्स ऐललै कर्णाली पारीकालाइ पुर्बिया भणिबरे फरक दृष्टिकोणले हेद्दान । गढी खलङामा बसन्या गोर्खाली शासकौनसित अयाका जागिरदारौनका सन्तान अर्थात खलङे गौघरतिरक मानसौनलाइ आजिलै पाखे गँवल्या भण्णान । यो सोचाइ तस्सोइ बनेको नाइ हो । फरक धरातल भएका मानसौनलाइ बलजफतिले एकीकरण गद्याबेलाको दर्दनाक इतिहासको निरन्तरता हो । येइ भितर प्रथम शहिद बलदेब शाही  (बाँकाबीर) बटि है बिद्रोही राजा ओमजंङ सम्मका कथा लुकाइएका छन । तसै भितर सैयौ बर्षसम्म लुकाइएका तथ्यगत सुचनालै हुना हुन ।

हमरा दुखले आर्ज्याको संघिय गणतान्त्रिक लोकतन्त्र भितर आब इतिहासमथिको भ्रम नयाँ पुस्ताले  चिद्द सक्कु पणन्छ । तै कि लेखा हमरा मूर्त- अमूर्त लोकसम्पदाका अबशेष आजिलै बाँकी छन । खालि मन्दिरौनकि लेखा मातरै रकम बाडिबरे अफना गणौनको भरणपोषणमाइ मात्तरै सहयोग गरीबरे संघीय इकाइको स्थानिय स्वशासनको कर्तब्य पूरा नाइ हुन्या हो । हमरो छायामणि राख्खेको असली इतिहासमाइ समेत अध्ययन अनुसंधान हुनु जरुरी धेकिन्छ ।  आजिलै बिश्वास छ हमरा स्थानिय पालिका येइतिर अबश्यै बिचार गरन्ना ।
****
( मिति ०७६/३/१८ को  गोरखापत्रमा प्रकाशित  बैतडेली भाषाको मेरो लेख । फोटो सौजन्य गुगल । )

Friday, June 28, 2019

कर्णालीको आर्थिक उन्नति चुनौति र संम्भावना

कर्णालीको आर्थिक उन्नति चुनौति र संम्भावना


लेखक-विनोद देव पन्त
पृष्ठभूमी
इतिहाँसको कुनै कालखण्डमा खस आर्य समुदायको बलियो साम्राज्यको रुपमा रहेको कर्णाली प्रदेश प्रचुर सम्भावना हुँदा हुँदै विकासको दृष्टिले लामो समय ओझेलमा रह्यो। निश्चय नै सडक संञ्जाल समग्र विकासको लागि अत्यन्त महत्वपूर्ण पक्ष हो भन्ने कुरामा शंका गर्ने ठाउँ रहदैन । सडक सञ्जालबाट जोडिना साथ कर्णालीका हुम्ला बाहेकका सबै जिल्लाको आर्थिक विकास अव टाढाको कुरा रहदैन । तर यसका लागि खाद्यान्न लगायतका उपभोग्य पदार्थ बोकेर कर्णाली पुगेर फर्किएका मोटर गाडि रित्तो फर्किन्छन वा भरिएर यो सवाल महत्वपूर्ण छ । कर्णाली क्षेत्र प्रचुर सम्भावना भएको क्षेत्र भएकोले हामीले कर्णालीलाई सम्वृद्ध बनाउने ढ·ले योजना बनाउन र कार्यान्वयन गर्न जरुरी छ । कर्णाली क्षेत्रका अधिकांश मानिसमा व्यवशायीक दक्षता पैतृक गुणको रुपमा विद्यमान छ । कठिन परिस्थितीको सामना  कसरी गर्ने र आफ्नो आवश्यकता कसरी पूर्ति गर्ने भन्ने ज्ञानको खानी हो कर्णाली क्षेत्र । कर्णालीका जनताको श्रम प्रतिको लगाव अन्य भूभागमा बस्ने नेपाली दिदी बहिनी र दाजुभाईको लागि अध्ययन र अनुकरणको विषय बन्न सक्दछ । लामो समय सम्म कर्णाली प्रदेशले आधुनिकताको रसस्वादन गर्न पाएन। यसका पछाडि राजनैतिक, सामाजिक र भौगोलिक विकटता लगायतका अनगिन्ती कारणहरु रहे यद्यपी विकास गर्ने भन्दा विकास खाने सोच र मानसिकताका कारण पनि कर्णालीको विकास प्रकृयाले गति नलिएको तथ्य तर्फ नजरअन्दाज गर्न सकिन्न।
सम्भावनाका क्षेत्रहरु
पर्यटन क्षेत्र ः
विकट भौगोलिक अवस्थिति भए पनि कर्णालीको प्राकृतिक सुन्दरता, मनमोहकताले हरेक मानिसलाई लोभ्याउँछ। भौगोलिक कठिनता कारण कर्णाली क्षेत्र अझै भर्जिन ल्याण्डको रुपमा रहेको छ । रारा, शे फोक्सुण्डो, कुभिण्डे दह जस्ता अति सुन्दर ताल तलैया, चन्दननाथ, वाला त्रिपुरासुन्दरी, पञ्चकोशी, देउतीवज्यै, काक्रेविहार जस्ता प्रख्यात शक्तिपिठ र मठ मन्दिर, एवं सुन्दर हिमाल र प्राकृतिक छटाले सुशोधित कर्णाली प्रदेश नै सम्पन्न रहेको छ । यातायातको सुविधा संगै यो क्षेत्रमा पर्यटकको आगमन बढदै गएको छ । यद्यपी हुम्लाको बाटो कैलाश र मानसरोवर जाने विदेशी पर्यटक, मुस्ता·को बाटो डोल्पा जाने विदेशी पर्यटक र रारा शे फोक्सूण्डो जाने स्वदेशी र विदेशी पर्यटकले अझै पनि गुणस्तरिय बसाई र खानाको अनुभूति गर्न नपाएको तथ्यलाई हृदयंगम गरी पर्यटन प्रवद्र्धनमा सहायक व्यवशाय स्थापना र सञ्चालनमा  ढिलो गर्नु हँुदैन । त्यसै गरी धार्मिक पर्यटन प्रवद्र्धनका लागि आवश्यक प्रचार प्रसार सामाग्रीहरु तयार गरी यस्ता धाम र शक्तिपिठहरुको सूचना आम जनमानसमा पु¥याउन आवश्यक कदम चालिनु जरुरी छ । रारा क्षेत्रको होटल व्यवस्थापनको एकाधिकार तोडनु समेत जरुरी भै सकेको छ । यसौ भएमा थुप्रै रोजगरी सिर्जना हुने र आर्थिक गतिविधि बढन जानेछ भने विगतमा सडकको दुरावस्थाका कारण कर्णाली क्षेत्रका जनताले जीवन गुमाउनु परेको तथ्यलाई हृदयंगम गरी सडकको स्तरोन्नतिमा यथेष्ट प्रयास गर्नु जरुरी छ । पर्यटन संग सम्वन्धित होटल तथा लज व्यवशाय, ट्राभल एजेन्सी, साना तथा मझौला यातायात, घोडचढी, स्केटि·, ¥याफ्टि·, प्याराग्लाईडि·, फिसि· जस्ता व्यवशाय मार्फत कर्णालीको जीवन समृद्ध बनाउन सकिने सम्भावनाहरु छन् ।
कृषि क्षेत्र
कर्णाली प्रदेश मध्ये खासगरी तत्कालिन कर्णाली अञ्चलका सबैजसो जिल्लामा उच्च हिमाली भेगमा पाईनै स्याउ, ओखर खुर्पानी, आरु लगायतका फलफूल, मार्सि धान, आलु, मकै, गहूँ, जौ, कोदो, फापर, चिनो, सिमी र ताजा तरकारी, मह उत्पादन लगायतका उच्च गुणस्तरिय खाद्यवस्तुहरुको उत्पादनको थलो हो । अझ यस क्षेत्रलाई राशायनिक मल र विषादी मुक्त क्षेत्र घोषणा गरिएकोले यस क्षेत्रमा उत्पादन हुने सवै वस्तुहरु मानव स्वास्थका लाीग अत्यन्त उत्तम मानिन्छन् । जसलाई ब्राण्डि· गरेर उच्च मूल्यमा विदेश निर्यात गर्न सक्ने सम्भावना प्रचुर छ । कामको सिलसिलामा जहाँसुकै पूगे पनि रोपाईको दिन खेतमा आइपुग्ने कर्णालीवासीको परम्पराले उनीहरुको कृषिकर्म प्रतिको लगावलाई उजागर गर्छ । यसै गरी फलपूmलबाट तयार हुने जुस, साइडर तथा उच्च कोटीको मदिरा उत्पादन गर्ने व्यवशाय स्थापना गरी अन्तराष्ट्रिय बजारमा पु¥याउँदा मनग्य आम्दानी गर्न सकिने सम्भावना छ । साथै कर्णाली प्रदेशको पहाडि इलाकामा अमिलो जातका फलफूल, किवी, स्ट्रवेरी, र तल्लो समथर भूभागमा अाँप लिची कटहर जस्ता फलफूल उत्पादन गर्न सुहाउँदो हावापानी भएकोले क्लस्टर छुट्याइ योजनावद्ध ढ·ले कार्यक्रम सञ्चालन गर्नु जरुरी छ । यसैगरी पशुपालनको क्षेत्रमा यो प्रदेश आज पनि अग्रणी स्थानमा छ । उच्च हिमाली भेगमा भेडाच्यांग्रा, घोडा, तल्लो भेगमा बाख्रा, भैसी, गाई लगायतका पशु र विभिन्न प्रजातीका पंक्षीपालन गरी मासु, ऊन, दुध र दुग्धजन्य पदार्थ, छाला लगायतका वस्तु उत्पादन गरी आर्थिक सम्पन्नता हासिल गर्न सकिने प्रशस्त संम्भावना रहेको छ ।
जडिवुटी
कर्णाली प्राकृतिक जडिवुटीको भण्डार हो । उच्च हिमाली भेगमा पाईने सवैजसो जडिवुटी कर्णाली प्रदेशमा पाईन्छ । विशुद्ध प्राकृतिक यी जडिवुटी प्रशोधन गरी उच्च गुणस्तरिय आयुर्वेदिक औषधी उत्पादन गर्ने कारखाना स्थापना गरिएको खण्डमा प्रदेश तथा प्रदेशवासी जनताको आर्थिकस्तर वृद्धि हुन समय लाग्दैन । राज्य सरकारले प्राकृतिक जडिवुटीको संरक्षण, संकलन र खेती सम्वन्धी उपयुक्त नीति तय गरी यस क्षेत्रको विकास गर्न जरुरी छ ।
वन पैदावार
कर्णाली प्रदेश वन पैदावारको मामलामा समेत धनी रहेको छ । वन पैदावार बाट टिम्वर र नन टिम्वर दुवै प्रकारका व्यवशाय गर्न सकिन्छ । चुरे तथा पहाडि भेगमा रहेका कुकाठहरुको हाँगाविगा छटनीगरी, भेनियर, वायोमास उत्पादन गर्ने उद्योग, त्यसैगरी जंगल क्षेत्रमा रहेका बुढा पुराना रुख विरुवा छटनी गरी टिम्वर, फर्निचर लगायतका वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्ने तर्फ कदम चालिनु उपयुक्त हुन्छ ।
खनिज
कर्णाली प्रदेशमा खनिज उद्योगको समेत प्रचुर सम्भावना रहेको छ । यो प्रदेशको थुप्रै ठाँउमा सिमेण्टको कच्चापदार्थ चुनढु·ाका खानीहरु रहेका छन्। काइनाइट, टुर्मालिन माथिल्लो कर्णाली तटिय क्षेत्रमा व्ल्यू सफायर, तल्लो तटिय क्षेत्रमा नेफ्राईड जेड र उच्च हिमाली भेगमा क्वार्ज जस्ता रत्न पत्थर खानीहरु समेत यस प्रदेशमा थुप्रै रहेका छन् । पेट्रोलियम र फलाम, स्लेट खानीका संभावनाहरु समेत रहेका छन् । कर्णाली वेसिन क्षेत्रको ग्रेनाइट जस्ता कडा चट्टानको उपयोग हुन सकेको छैन, जसबाट कटि· स्टोन र उच्च गुणस्तरको रोडा तयार गर्न सकिन्छ । खनिजको उपयोग सम्वन्धी नीतिमा सहजीकरण गरी उत्पादनमुखी व्यवशाय प्रवद्र्धन गर्ने वातावरण तयार गर्नु समेत नितान्त जरुरी छ ।
अन्तमा
नेपालको औद्योगिक विकासको कुरा गर्दा आजका दिन सम्म सन्तोष लिन सकिने ठाँउ छैन । समग्र विकासको मोडलको असफलताले औद्योगिक विकासलाई पनि छोएको देखिन्छ । केहि विषयगत क्षेत्रमा भएको उपलव्धीलाई बढाई चढाइ गर्नु र आफ्नो राजनीतिक अभिष्ट साधना गर्नु हाम्रो नियति बनि सकेको छ । ३० वर्षको अन्तरालमा राज्य मिश्रीत हुँदै खुला अर्थतन्त्र तर्फ अग्रसर भयो । वर्तमान संविधानले समाजवाद उन्मुख अर्थ व्यवस्थाको परिकल्पना गरे तापनि  केहि बर्ष यताको मूलुकको अर्थनीति र बजेट हेर्दा  समाजवादले साकार रुप लिने आशा गर्न सकिने ठाँउ देखिदैन ।
संविधानले अख्तियार गरेको राज्य व्यवस्था र संरचनाले संघीय तहलाई नीति निर्माण, अन्तरराष्ट्रिय सम्वन्ध, राष्ट्रिय अखण्डता र शान्ति सुरक्षाको जिम्मा दिएको छ । प्रदेश तहको सरकारलाई विशुद्ध रुपमा विकास निर्माणको जिम्मेवारीमा राख्दै स्थानीय तहलाई आम जनतालाई घर दैलोमा पु¥याउनु पर्ने सेवा सुविधाको संवाहकको रुपमा परिकल्पना गरेको छ । तर यी तीनै तहको सांगठनिक संरचनाको व्यवस्थापन उल्लेखित कार्य जिम्मेवारी अनुसार हुने कुरामा स्वयं राज्यतहमा नै अलमलमा रहेको छ ।
यस परिप्रेक्ष्यमा खासगरी प्रदेश र स्थानीय सरकारले आफ्ना कार्यदिशा निर्धारण गर्दा के कसरी उपलव्ध श्रोत साधन परिचालनको माध्यमबाट रोजगारी सिर्जना र उत्पादन वृद्धि गरी राज्य र आम जनताको जीवनस्तर उकास्न सकिन्छ भन्ने तथ्यलाई स्मरण गर्न सक्नु भयो र विकास भनेको भौनिक विकास मात्र हो भन्ने परिभाषामा सुधार गरी आर्थिक विकासको मोडल लागू गर्न सक्नु भयो भने कर्णाली प्रदेश सम्पन्न हुनेछ ।
( फेेसबुकबाट साभार )

Saturday, June 22, 2019

म ( कबिता)


म ( कबिता )

साभार:-
 - भूपी शेरचन
१.
म एक पुत्र
एक पति
र एक पिता हुँ
२.
एक न्वारान
एक विवाह
र एक चिता हुँ
३.
म एक होटल
एक बोतल
र एक प्याला हुँ
४.
म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ
५.
म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ
६.
म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ
७.
म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ
८.
म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ
९.
म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ
१०.
म एक आवश्यकता
एक माग
एक विरोध
र एक डण्डा हुँ
११.
म केवल एक जुत्ता
एक सुरुवाल
एक कमीज
र एक कोट हुँ
१२.
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।
(साभार: घुम्ने मेचमाथि अन्धो मान्छे)