Monday, June 10, 2013

चेतना बन्धकी राखेर !



विश्वासमा बाँच्ने मान्छे हामी 
बाँचिदिन्छौ , एक जिन्दगी !

भनेको र सुनेको कुराका भरमा
तर्सिन्छौं हामी जब
अनि पस्छ , साँच्चै गाउँमा भूत
अस्ति , तल्ला घरे खस्यो !
पोहोर , माथ्ला घरे गएथ्यो !
कर्मको खेल हो , भनिऊँ !

सधैं-सधैं गाउँमा जब
आउँदै-लाँदै गर्छ भूत
र लखतरान पार्छ अनि सकाउँछ जीवन लीला
हामी भनिदिन्छौ , भावीको लेखा हो
कसको के लाग्छ !

पुराना मान्यतामा बाँचेका;पछौटे हामी
जब बच्चाको जीउ कुपोषणले सुक्छ
अनि गर्छौ , झार-फुक
जब जवान युवतीको दुख्छ ज्यान; रक्तश्रावले ,
अनि ठान्छौ
लागेको होला , सिमे-भुमे भनेर
खोज्छौ ;झाक्री र ठटाउँछौ; ढ्याङ्ग्रो

अहिले गाउँमा अलिकति शिक्षाको उज्यालो
अलिकती चेतना आयो
फाट्ट-फुट्ट अस्पातल पुगे र
थोरै भए पनि भूत गाउँ पस्न छोडेको बेला
भूत गाउँबाट लखेटिदैं गएको बेला

जिउँदै मान्छे बनेर भूत फेरी
गाउँ , जङ्गल , शहर
जताततै पसिरहेछ
मसानमा बदल्न खोजी रहेछ
देश
तब हामी भूत भगाउन
पुन: निकाल्छौ , ढ्याङ्ग्रो र
ओर्लिन्छौं सडकमा
पुरातनवादी हामी , रक्षा गर्न हाम्रा चलन
भत्काउछौं ;रेलिङ र बाल्छौ; टायर
तर भूत कहिले भाग्दैन
नियम लाग्छ " डार्बिन"को यहाँ
भूत बलिया बन्दै जान्छन्

अब कतिन्जेल यस्ता
हल्लाका भरमा बाँचेर
जिन्दगी ढ्याङ्ग्रो बनाउने
चेतना बन्धकी राखेर !

(कविता, साभार- बलदेव भट्टराई,

 ब्लग-TRUE LIFE'S JOURNEY, 

चित्र, सौजन्य-गुगल )



No comments:

Post a Comment