शैवालिक श्रेणीको फैलिँदो बेंशी छेउछाउमा वेवारेस जस्तो जमीन ओगटेर वसेको एउटा अव्यवस्थित आम वस्तीका बासिन्दाहरुले देखे सुनेको र भोगेको यथार्थहरुका बारेमा केहि लेखहरू यो ब्लगमा राखिएकाछन । सिकेका सीमित शब्दहरुको आडमा यथार्थ र भावनालाई जस्ताको तस्तै अभिव्यक्ति दिन अप्ठेरो पर्दो रहेछ । त्यसैले दोहर्याएर पढदा यि आलेख अधूरो रहेको महसूस भएको छ । तथ्यहरुलाई विश्वसनीय बनाउन लेखकलाई यथासम्भव तटस्थ राख्ने प्रयास गरिएको भए पनि आफ्नै गाउ, आफन्त र आफ्नै विगतको त्रिवेणीबाट बग्दै अज्ञात आगतको अडकल गर्नु उकालो काम हुन गएको छ । निश्चित संहितामा बाँधिएर लेखनलाई निरन्तरता दिन गाउँसम्मको निर्वाध आवगमनका अप्ठ्यारा र पाको निर्देशनको अभावका बावजूद यो पुस्तकको पाण्डुलिपि तयार गर्नका लागि हौस्याउने आफन्त समाज धन्यवादको पात्र हुन पुगेको छ ।
झट्ट हेर्दा यो लेखाई साहित्यिक दस्तावेज जस्तो लाग्न सक्दछ । तर यसभित्र निश्चित गाउँको भूगोल पनि छ, इतिहास पनि छ । यो वंशावली पनि हो । ग्रामीण लोक व्यवहार, लोक–कथा, तथ्य–तथ्याङ्क र ग्रामीण विकासका संभावना पनि यसभित्र समावेश छन् । यो खुत्रुके प्रस्तुति वास्तवमा के हो ? यो कतिको सान्दर्भिक र सार्थक रह्यो ? र कस्तो हुनु पर्ने थियो ? विज्ञ पाठकबाट मात्र निक्र्यौल हुनेछ ।
जीवनको उत्तरार्ध पुगेपछि मानिस अतीतद्रष्टा हुन्छ भन्छन् । तर आफ्नो नालीवेलीका बारेमा शोधखोज गर्ने भित्री मनसाय राखेको वर्षौ भए जस्तो लाग्दैछ । तथ्य र कथ्यहरुको विश्लेषण बाट पराजय मेरो पुर्खाको आगमनको कारण होइन, न विजय नै बसाइको कारण हो भन्ने प्रमाणित भएको छ । स्वतन्त्रता जोगिएको जातीय अभिमान बोकेर विशिष्ट रीतिथिति चलाउने मेरा बाजे–बराजेहरु जहाँबाट यस थात थलोमा आई वेग्लै थर चलाएको भए पनि ती त्यहिँका मात्र होइनन र यायाबरी मात्र तिनको परिचय होइन रहेछ । वास्तवमा पुख्र्यौली इतिहासको ठूलो फाँट अज्ञात छ । तर वंशानुक्रमको दृष्टिले सवभन्दा पछिल्लो संस्करण र आदिम यात्राको प्रवाहमान समकालीन अवशेषको रुपमा यस गाउँमा सिंगो सुसंस्कृत र समन्वित परम्परा अद्यापि बाँचेको छ, जुन यि लेखमा भेट्टिन सक्दछ ।
प्रत्येक जयपराजयमा ग्वाल्लेकतिर फर्केर हात जोर्ने मेरा पुर्खाहरुको परम्परा बोकेर आफ्नो पालो पूरा गरि अनन्तमा हिडेका स्वर्गीय पिताजीको निरन्तर क्रियाशील रहने संस्कारमा हुर्केको कारण म पनि आफूलाई त्यसै देवात्मा शैल शिखरको सन्तान र अनन्त सत्ताको उत्तराधिकारी सम्झन्छु । यो लेखनको क्रममा मेरा व्रहम–लिन आराध्यहरु, – सद्मार्ग पहिल्याउन सिकाउने पुज्य बुवा स्वर्गीय धर्मानन्द बडू, प्रतीकात्मक अर्थ बोध गराई गाउको गरीमा राख्न सिकाउने जेठा बुवा मानिएका स्वर्गीय वाल–ब्रहमचारी महात्मा जी, मलाई संधै उत्साहित गर्दै गाउँको इतिवृत मुखाग्र वताउने स्वर्गीय धामी जयदेव बडू, वंशावलीको विवरण राख्ने एकल श्रष्टा स्वर्गीय ज्योतिष विरभान बडू र सोको टिपोट उपलब्ध गराउने गुरुवर स्वर्गिय दुर्गादत पाण्डे (पैंतोला)ज्यूमा श्रद्धा सुमन चढाउछु । वंशावली तयार पार्ने काममा निक्कै सक्रियता देखाएर अल्पायुमै अस्ताउन पुगेका स्व. पद्रमराज बडूको प्रयास सदैव स्मरणीय रहने छ । यस काममा सहयोगी बनेका बाजे महादेव बडू, बाजे डम्बरदत्त शर्मा बडू र भाइ कृष्णदत बडू लगायत सन्दर्भ सामाग्री उपलब्ध गराउनेहरु धन्यवादका पात्र छन् । पाण्डुलिपि हेरी अमूल्य सुझाव दिने सहसचिव हरिदत्त पाण्डेय प्रति हार्दिक आभार व्यक्त गर्दछु । मुद्रणका लागि सहयोगी हातहरुको खाँचो छ ।
मेरा ग्रामवासीहरुलाई थाहा छ, न मैले गाँउमा धेरै बस्न पाएको छु, न यहाँका विधि व्यवहारका वारेमा धेरै थाहा छ, । यो पवित्र स्थानको सांगोपांग जानकारी दिने पुस्तक लेख्नु मेरो अनाधिकार चेष्टा मात्र हो । तैपनि आत्मसंतोष र आफन्त मण्डलीको आग्रहमा यि लेख लेखी हाल्ने धृष्टता भएको छ । यसका लागि क्षमाप्रार्थी छु । यो
भित्रका कमीकमजोरी मेरा व्यक्तिगत खातामा जाने छन् । विज्ञ पाठकहरुको सूचना र प्रतिक्रिया समेटेर अर्को संस्करणलाई बढी व्यवस्थित बनाउने वचनबद्धता व्यक्त गर्दछु ।
अन्तमा, स्थानीय लोकगीतको सानो सान्दर्भिक बोल टिप्दछु,
–सरक तारा रुमझुम, एक तारो सुक्कुर,
गौं भणि गायाको होईन, अयाका झुक्कुर ।
र, थप सुधारका लागी सुझावको प्रतीक्षामा बस्दछु । धन्यबाद् ।
No comments:
Post a Comment