Sunday, August 27, 2017

नेपाली समाजको बर्ग चरित्र

  ==विश्वभक्त दुलाल आहुति (माओवादी केन्द्रका नेता)को रातोपाटिमा प्रकाशित अन्तर्बार्ताबाट साभार ==
यो विषयमा म तीनवटा उपशीर्षकमा छलफल चलाउन चाहन्छु । नेपाली समाजमा वर्गहरूको निर्माण प्रक्रिया कसरी भयो ?, ती वर्गहरूमा वरिवर्तन कसरी आयो ? र अहिले नेपाली समाजको मूल चरित्र कस्तो छ ?
१. नेपाली समाजमा वर्गहरूको निर्माण प्रक्रिया कसरी भयो ?
अर्थराजनीतिक भन्दा पनि ऐतिहासिक भौतिकवादी कोणबाट हेर्दा दुई सय वर्षअगाडि कोसी नदीदेखि पश्चिम र बागमतीदेखि पूर्व पनि भन्न सकिन्छ या चुरेसम्मको समाज परम्परागत भारतीय समाजको सामन्तवादी चरित्रजस्तो देखिन्छ । त्योभन्दा पारि अर्थात् कोसीपारिको कोचहरूको समाज कविलाइ समाजजस्तो देखिन्छ । पश्चिमको भित्री मधेस दाङलगायतका क्षेत्रमा राजतन्त्रस्तरमा विकास त भएको छ तर समाज कविलाइखालको थारूहरूको बस्ती भएको पाइन्छ । पहाडी क्षेत्रमा त्यतिबेला सानो÷सानोखालको सामन्तवाद देखिन्छ । हिमाली क्षेत्रमा त्यो झनै खुम्चिएको पाइन्छ ।
 समाजमा जब पृथ्वीनारायण शाहको राज्य विस्तार र तामाङ किपट, किरातहरूको किपट र त्यसपछि विशेषगरी लिम्बूहरूको किपट इत्यादिको अन्त्य गर्ने पक्रियासँगसँगै कविलाइ समाजको अवशेषका रूपमा रहेका उत्पादन सम्बन्धहरू भत्किएका छन् ।
त्यसपछि आउँछ जंगबहादुरको मुलुकी ऐन । नेपाली समाजमा विशेषगरी पश्चिमबाट भेरी नदीसम्म र पछि विस्तार हुँदै गोरखा र बेलकोटसम्म फैलिएको खस आर्यहरूको सभ्यता र संस्कृतिमा आधारित सोच्ने परम्परा पृथ्वीनारायणको राज्य विस्तार र जंगबहादुरको मुलुकी ऐनसम्म आइपुग्दा व्यवस्थित गरिसकिएको हुन्छ । जंगबहादुरको मुलुकी ऐन आइसकेपछि कोही पनि त्यसबाट दायाँबायाँ हुन नपाउनेगरी आयो । त्यहाँ किटान गरियो कि, सहरभित्र घाम अस्ताएपछि बस्न नपाउने को÷को, घाम उदाएपछि आउन पाउनेहरू को÷को ? बिर्ता राख्न पाउनेहरू कुन÷कुन, राख्न नपाउने कुन-कुन ?
मुसलमानलाई समेत ‘हाम्रा मुसलमान’ र ‘मुसलमान’ भन्ने शब्द प्रयोग गरियो । ‘हाम्रा मुसलमान’ भनेको मल्लकालमा काठमाडौं भित्र्याइएका मुसलमान र ‘मुसलमान’ मात्रै भनेको तराईका मुसलमान । मुसलमानलाई लिखित रूपमा अछुत घोषित गरियो । मुसलमानलाई पनि दुई भागमा विभाजन गरियो । जनजातिहरूलाई पनि दुई खेमामा विभाजन गरियो । एउटा मासिन्याह मतवाली, जसलाई कमारो बनाउन मिल्ने चेपाङ, तामाङ, थारू आदि ।
अर्को नमासिन्याह मतवाली, जसलाई कमारो बनाउन नमिल्ने सुनुवार, लिम्बू, राई, मगर र गुरुङ । जसले जागिर गर्न पाउने, सेनामा पनि जागिर गर्न पाउने । नेवारभित्र पनि दुई तह राखियो, एउटा तागाधारीहरू श्रेष्ठभन्दा माथिका पाँच खलकहरू । त्यहाँभन्दा तलका ज्यापूहरू, जसलाई तागाधारी बनाइएन । जनै लगाउने अधिकार दिइएन, व्यापार गर्ने अधिकार दिइएन । दलितहरू जसलाई त्यसबेलाको ऐनमा ‘पानी नचल्ने जात’ भनेर उल्लेख गरिएको छ । उनीहरूभित्र पनि दुईवटा खेमा बनाइयो । एउटा पानी नचल्ने छोइछिटो हाल्नुपर्ने, छोयो भने आगो या सुनले चोख्याउनुपर्ने । अर्को पानी नचल्ने तर पनि छोइछिटो हाल्नु नपर्ने ।
संवत् १९१० को मुलुकी ऐन अहिले सबैभन्दा बढी लुकाइएको किताब हो । विश्वविद्यालयहरूमा पनि कतै पढाइ हुँदैन त्यसबारेमा । किनकि त्यो मुलुकी ऐनमा अहिले प्रधानन्यायाधीश को बन्ने भनेर त्यतिबेलै लेखिसकेको छ । प्रधानसेनापति को बन्ने भनेर त्यही मुलुकी ऐनले भनेको छ । न्यायाधीशहरू सबैभन्दा बढी को बन्ने, कुन समदुायबाट बन्ने भनेर त्यहाँ लेखिएको छ । तामाङहरूले कति दुःख पाउने भनेर पनि त्यहीँ लेखेको छ ।
तामाङभन्दा जीवनस्तरमा लिम्बू किन माथि छ ? किनकि लिम्बू मासिन्याहभित्र राखिएन, तामाङ राखियो । मासिन्याहभित्र राख्नेबित्तिकै ऊ स्वतः सरकारी जागिरमा आउन पाएन । पछि असाध्यै भरियाहरूको खाँचो भएको हुनाले पिपामा अवसर दिएको हो । मल्लकालमा जो तागाधारी नेवार थिए, उनीहरूको बिर्ता खोसिएन । पृथ्वीनारायण र जंगबहादुरले खोसेनन् । किनकि काठमाडौंमा नेवारसँग सम्झौता गर्नु थियो । ती तागाधारीहरूसँग खोसेनन् र ज्यापूहरू सबै मोही बन्न पुगे । त्यसपछि अरू बिर्ता पृथ्वीनारायण शाह, जंगबहादुर राणा र उनीहरूका पुरेत, सेनापति, त्यसको लेखपढ हेर्नेहरूले पाए । त्यसकारण नेपाली समाजको वर्गनिर्माणको प्रक्रिया जात र जातिका आधारमा रहेर बनाउन सुरु गरियो । जात पनि वर्ग होइन, जाति पनि वर्ग होइन । तर, नेपालमा जंगबहादुरको मुलुकी ऐनबाट जात र जातिमा आधारित वर्ग बनाइयो ।
संसारको कुनै पनि सामन्तवादी समाजमा जोसँग बढी जमिन हुन्छ, त्यो सजिलै राज्यसत्तामा पुग्छ । ऊ राज्य सत्तासँग सबैभन्दा नजिक हुन्छ । सामन्तवादको नियम नै त्यही हो । तर, नेपालमा एउटा विशिष्टखालको यस्तो घटना घट्यो कि जसले क्षेत्रीय उत्पीडनलाई प्रतिविम्बित गर्छ । चार सय रोपनीको बिर्ता पाएको सूर्यबहादुरको खलक पहाडको भएकै कारण प्रधानमन्त्री भयो । तर, मधेसमा दुई सय बिघा जग्गा भएको एउटा मधेसी सामन्त छ भने ऊ सत्तामा पनि आउन पाएन । मन्त्री या प्रधानमन्त्री त परकै कुरा भयो । एमए पढेको मानिसले जागिर नपाएजस्तो । नेपालमा क्षेत्रीय उत्पीडनको प्रभाव पनि निकै गहिरोगरी परेको छ । अहिले पनि जंगबहादुरले बनाइदिएको त्यही आधारभूत ढुंग्रोमै अल्झिरहेको छ, मुक्त हुन सकेको छैन ।
अहिले न्यायाधीशमध्ये ९० प्रतिशत त्यतिबेला जातजातिका आधारमा जसलाई बनाउने बनेर बाटो बनाएको थियो, त्यही छ । ठूला प्रशासकहरूमध्ये ८० प्रतिशतभन्दा बढी कि त तागाधारी नेवार छ, कि त क्षेत्री र ब्राह्मण छ । नेपाली वर्ग भनेको आर्थिक परिघटनामात्रै होइन, त्यसले संस्कृति पनि निर्माण गर्छ । नेपाली संस्कृति पनि त्यसैमा आधारित रहेर बनेको छ ।
२. ती वर्गहरूमा परिवर्तन कसरी आयो ?
कसरी नयाँ÷नयाँ वर्गहरू जन्मिए ? त्यसका थुप्रै घटनाहरू छन् । पहिलो, जंगबहादुरको सुरुङ भत्काउने एउटा काम गोर्खा भर्तीले गर्यो । गोर्खा भर्ती बिल्कुल नकारात्मक कुरा हो । तर, गोर्खा भर्ती हुँदैनथ्यो भने, पोखरा सहर हुँदैनथ्यो । धरान, भैरहवा र बुटवलमा सहर बस्ने सम्भावना धेरै कम हुन्थ्यो । चारवटा जाति लिम्बू, गुरुङ, मगर र राईलाई जंगबहादुरले धनी हुने अधिकार त दिएको थिएन तर गोर्खा भर्तीले त्यो सम्भव तुल्याइदियो । गोर्खा भर्ती नकारात्मक घटना थियो तर त्यसको परिणाम यस्तो आयो ।
दोस्रो, गोर्खा भर्तीले दलितभित्र एउटा मध्यम वर्ग सुनार जाति पनि जन्माइदियो । ती गोर्खा भर्तीमा गएका लाहुरेहरूले कमाएर ल्याएको पैसाले हिन्दुस्तानमा देखेको गहनाको परिपाटीलाई सिको गर्न खोजे । त्यसका लागि उनीहरूले तिनै पुराना परम्परागत सुनारहरूसँग गएर सुन बनाउन थाले । जसका कारण सुनारहरूले नगद पाउन थाले । आर्य खसहरूको बाली लगाएर धानिएको सुनारहरूको व्यवसायले लाहुरेको नगद पाइसकेपछि भने बुटवलमा पाँच तलाको घर निर्माण हुन सुरु भयो । वर्ग परिवर्तन भयो ।
तेस्रो, ०१८ मा जब महेन्द्र सिंगापुर गए, त्यतिबेला मनाङका मान्छेहरू त्यहाँ जडीबुटी र ढुंगा बेचिरहेको देखे । त्यो बेलासम्म मनाङ जिल्ला नेपालभित्र थिएन । मनाङीहरूसँग महेन्द्रले त्यहीँ कुरा गरे । मस्र्याङ्दीको किनारैकिनार माथि आएपछि हाम्रो पाँच गाउँ आउँछ भनेपछि महेन्द्र नेपाल फर्केपछि त्यहाँ भेट्न गए । त्यहाँ उनले नेपाल सरकारलाई मान भनेर आग्रह गरे । उनीहरूले ‘हामी लुकीलुकी कलकत्ताबाट जडीबुटी बेच्नुपर्छ, हामीलाई कसैले टेर्दैन हामीले किन टेर्ने’ भनेपछि, अब ‘तिमीहरूलाई विदेशमा व्यापार गर्नका लागि विशेष सुरक्षा दिन्छु, नेपाल सरकारलाई मान’ महेन्द्रले भने । त्यसरी विदेशमा व्यापार गर्न पाएपछि मनाङमाथिका पाँच गाउँका मानिस सबैको काठमाडौँमा एक÷एक घर बने । मनाङ जिल्लालाई नेपालमातहत ल्याउनका लागि महेन्द्रले गरेको यस सम्झौताले उनीहरू कम्तीमा मध्यमवर्ग र कोही दलाल पुँजीपति वर्गसम्म पुगे ।
अर्को जंगबहादुरको संरचना थकालीहरूले भत्काइदिए । त्यतिबेला मुस्ताङ नेपालमा सबैभन्दा बढी राजस्व भित्र्याउने नाकामध्ये पथ्र्यो । सिंहदरबारले पत्तै पाएन, मुस्ताङी थकालीहरूको एउटा खलकले म्याग्दीमा फलेको राम्रो चामल तिब्बत लैजाने र त्यहाँबाट आएको सुन बाग्लुङ र म्याग्देलीहरूलाई दिने । नुनसँग चामल साट्दै ल्हासाको सुन व्यापारीहरूसँग संगत गर्दै धानै नरोप्ने जाति अहिले नेपालको सबैभन्दा मीठो भात बनाउने जाति बन्यो । र थकालीहरूको एउटा खलक यसरीकन जंगबहादुरको मुलुकी ऐनले चालै नपाउनेगरी मध्यमवर्गमा आयो ।
राजा महेन्द्रले पञ्चायतकाल आइसकेपछि राजपरिवारको नियन्त्रणमा रहनेगरी भारतबाट छानीछानी पुँजीपति घरानियाहरू बोलाएर ल्याए । भारतबाट यसकारण कि मधेसका नेपाली घरानियाहरूलाई उनले मन पराउँथेनन् । माइतीघर फिल्म बनाउनलाई पट्नाको झा परिवारलाई ल्याए । टन्डन परिवारलाई ल्याएर नेपालगन्जमा दुई सय बिघा जग्गा दिएर उद्योग गर्न दिए । पट्नाका रइस मुस्लिमलाई ल्याएर एभरेस्ट होटल बनाउन लगाए । तर, त्यहीँ तराईको, त्यस्तै भाषा बोल्ने, त्यस्तै संस्कृति भएको नेपाली मधेसी सामन्तलाई ल्याएनन् । अम्बर गुरुङ र गोपाल योञ्जनलाई पनि उनले पहाडिया राष्ट्रवाद देखाउन धेरै खर्च गरी ल्याएका थिए । यहाँबाट विदेशी पुँजीको निकै ठूलो चलखेल भयो र मारवाडीहरूको हालिमुहाली चल्न थाल्यो । यसरी जंगबहादुरले बनाएको बाटोलाई भत्काउन सुरु भयो ।
३. र, अहिले नेपाली समाजको मूल चरित्र कस्तो छ ?
नेपालको सामन्तावाद भनेको टुक्रे सामन्तवाद हो । नेपालमा चीन या रुसको जस्तो सामन्तवाद छैन, हामीले त्यसरी विश्लेषण गर्नु उपयुक्त हुँदैन । जमिनको सामन्ती सम्बन्धमा सबैभन्दा ठूलो प्रहार ०१६ को बिर्ता उन्मूलनबाट बीपी कोइरालाले गरे । ‘क’ वर्गको बिर्ता उन्मूलन गरे । त्यसपछि नेपालको कम्युनिस्ट आन्दोलनले किसानलाई जमिन त कहिले पनि बाँड्न सकेन । कतैकतै लगेर सुकुम्बासी राख्नेबाहेक तर सामन्तीहरूलाई निरन्तर आतंकित भने बनाइरह्यो । एकातिर कम्युनिस्ट कहिले जुगेडी, कहिले चिसापानी त कहिले भीमदत्तजस्ता आन्दोलनले त्राहिमाम बनाउने अर्कोतिर राजा महेन्द्रले पनि ं०२१ मा भूमिसुधार भन्ने नौटंकी ल्याएर तर्साउने । यस्तो अवस्थामा नेपालका सामन्तहरू कहिले पनि शान्तले बस्न पाएनन् । त्यस्तो अवस्थामा राजाले पहाडीलाई मधेसमा लगेर राखेका पहाडियाहरू हाबी भए । अहिले पनि तिनीहरू नै मधेसका अहिले ठूला सामन्त भएका छन् । उनीहरू नै सत्तामा पुगेका छन् । उनीहरूसँग अहिले १० बिघाजति जग्गा छैन ।
नेपालमा अहिले १० बिघा जग्गा हुने मानिसले खेतिपातीबाट वर्षमा पाँच लाख रुपैयाँ जम्मा पार्न सक्छन् । माविको एउटा टिचरले ट्युसन पढाउने हो यताउपति गर्ने हो भने उसले पनि पाँच लाख जम्मा गर्छ । त्यो १० बिघा जग्गा हुनेविरुद्ध लड्नु भनेको माविको एउटा टिचरसँग लड्नुजस्तै हो । त्यसैले नेपालमा अब सामन्तवाद बाँकी छैन सामन्तवादका अवशेषहरू मात्रै बाँकी छन् ।
उत्पादन सम्बन्धका आधारमा हेर्दा जमिनमा अहिले सामन्तवादी सम्बन्ध निर्णायक छैन । हलियाप्रथा पनि मुस्किलले पाँच लाखभन्दा धेरैको संख्या अहिले नेपालमा छैन । त्यस्तै उद्योगधन्दाको कुरा गर्दा स्वाभाविक रूपमा राष्ट्रिय पुँजी दमनमा छ । दलाल पुँजी हाबी भएको छ । यो सत्य कुरा हो । राष्ट्रिय पुँजी पनि पुँजीवाद नै हो, दलाल पुँजी पनि पुँजीवाद नै हो । नेपालको अहिलेको निर्णायक पुँजी भनेको दलाल पुँजीवाद नै हो । दलाल पुँजीवाद भन्नेबित्तिकै साम्राज्यवाद भन्ने नै बुझ्नुपर्छ ।
राजनीतिमा सामन्तवाद भनेको वंश, कुल, लिंग या जन्मका आधारमा कसैले सरकारी पोस्ट पाउँछ भने त्यो राजनीतिक सामन्तवाद हो ।
राजनीतिक पुँजीवाद भनेको खराब होस् या असल होस् चुनेर भोट दिएरमात्रै पोस्ट प्राप्त हुने व्यवस्था हो । तर, त्यो कानुनअनुसार नै भएको हुनुपर्छ ।
संस्कृतिको क्षेत्रमा अलि बढी नै सामन्तवादको पकड बाँकी छ । त्यो साँचो हो तर हाम्रो जीवनको आधारभूत शैली नै सामन्तवादी भन्ने कुरो सत्य होइन । अर्धसामन्ती भनेर पनि माओले बीचमा त्यत्तिकै घुसाएकामात्रै हुन् । त्यो पनि खास होइन । नेपालमा बाली, निगाहामा अहिले कुनै चीज प्राप्त हुँदैन ।
यदि कतै हुन्छ भने त्या अपवाद हो । सामन्तवादमा व्यक्तिको सांस्कृतिक जीवन छनोटको स्वतन्त्रता हुँदैन, पुँजीवादमा हुन्छ । क्रान्तिकारी भूमिसुधार भएन भने पुँजीवाद आउँदैन भन्ने कुरा गलत छ । कृषि क्रान्तिले मात्रै पुँंजीवादमा पुगिन्छ भन्ने कुरा गलत छ । त्यसैले फेरि नयाँ जनवादी क्रान्ति गर्ने भन्ने कुरा सम्भव छैन । किनभने जनवाद भनेकै पुँजीवाद हो । पुँजीवादी समाजमा क्रान्ति गरेर अर्को पुँजीवाद ल्याउने भन्ने हुँदैन । अब जाने भनेको समाजवादतिर हो ।

Saturday, August 26, 2017

पर्यटकीय गन्तव्य ; महाबु लेक, दैलेख

                 
             (. साभार- कबिराज बि. सी. , पश्चिम नेपाल डटकम बाट )
दैलेख जिल्लाको उच्च हिमालमा रहेको महावु धाम धार्मिक तथा पयर्टकिय क्षेत्रकोरुपमा लिन सकिन्छ । नेपालमा विभिन्न राजनैतिक फेरवदल भए देशमा लोकतन्त्रको बहाली पछि देश संघियतामा प्रवेश गरे सगै स्थानिय तहको चुनाव समेत भई सकेको अवस्थामा जनप्रतिनिधीहरु कामकारवार्ही सुरु गरको भएपनि यस वर्षको बजेट पूर्वाधार तर्फ बढिनै खर्च गरेको भएपनि पर्यटकिय क्षेत्र र यसको सम्वद्धन तथा निमार्णकालागी पुग्दो रकम छुटाउन नसको अवस्थामा दैलेख जिल्ला र कालिकोटको सिमानामा रहेको महावु धाम ( गाथ) हुन पहिले गाथ भन्निथ्र्यो भने आज भोली चलन चल्तिको भाषामा महावु धाम भन्न थालिएको हो ।
यसको उत्पतिका विषयमा धेरै जिज्ञासाहरु भएपनि मतमतान्तर भएपनि आम दैलेखी तथा हिन्दुहरुको बुझाईमा महावु धाममा ढुङ्गाबाट उत्पन्न भएको शिवलिङ्ग सबैभन्दा पहिले दैलेख भुर्तिका गर्ग गोत्रिय आचार्य ब्राह्मण कुलका एकजना लाटो गोठालाले भेटाएको भन्ने भनाई रहेको छ ।

घुम्न जाउँ दैलेख महावु लेक

ति लाटो गोठालाले शिवलिङ्ग भेटाएको कुरा कसैलाई न भनेर नित्य पूजा गर्ने र दूध चढाउनु पर्ने शर्तानुशार उनी मुख बोल्ने र वेद समेत पढ्न सक्ने भएका थिए । महाबुधाम शिवलिङ्गलाई लोटो आचार्यले कसरी भेटाए भन्ने कुरामा फरक फरक तर्कहरू रहेका छन् । केही तर्कहरू यस प्रकार रहेका छन् :-
१. शाके ११३७ ताका दैलेख, भूर्तीगाउँका आचार्य ब्राहमणका बोल्न नसक्ने छोरा चलु आचार्यले अहिले शिवलिङ्ग रहेको स्थानको ढुंगामा काँचो दूध चढाउनु शिवको दर्शन मिल्नेछ भन्ने सपना देखेपछि लामो समयसम्म दूध चढाएपछि शिव दर्शन पाई वेद पढ्नसक्ने भएको किंवदन्ती अहिलेपनि कायमै रहेको छ । “बर्षभरी हुने अन्न अभाव हटाउन, गाईबस्तु र मानव जीवनको अकाल मृत्यु बचाउनका लागि शिवको भब्य पुजापाठ गरिन्छ । एउटामात्र वर मागे पुरा हुने बिश्वास अहिलेपनि कायमै छ ।
२. महाबुगाथ रहेको स्थान निकै रमणिय पाटन क्षेत्र र सम्म परेकोले यहाँ दैलेख, कालिकोट, जुम्लालगायतका स्थानबाट भैसी, भेँडाबाखा्र चराउने उद्देश्यले गोठालाहरु गोठ निर्माण गरेर बस्ने गर्दथे । शाके ११३७ ताका दैलेख, भूर्तीगाउँका गर्गगोत्रीय आचार्य ब्राहमणका बोल्न नसक्ने छोरा चलु आचार्यले अहिले शिबलिङ्ग रहेको स्थानको ढुंगामा काँचो दूध चढाउनु शिवको दर्शन मिल्नेछ भन्ने सपना देखेपछि लामो समयसम्म दूध चढाएपछि शिव दर्शन पाई वेद पढ्नसक्ने भएको किंवदन्ती अहिलेपनि कायमै रहेको छ । टुँगा फुटेर ढुँगाकै शिवलिगं उत्पती भएको स्वरुप अहिले पनि देख्न सकिन्छ ।
३.दैलेख भुर्तीका आचार्य कुलका लाटो बाहुनले धेरै गाइहरू पालेका थिए । उनको एक गाइको दूध निकाल्दा दूध न निस्किने भयो । यो गाइले दूध के गर्दो रहेछ भनेर गाइको चियो गर्दा जुन ठाउँमा अहिले शिवलिङ्ग रहेको छ त्यो स्थानमा त्यो गाइले सधैं दूध चढाउने गर्दो रहेछ । यो देखेर लाटो गोठालाले त्यो ठाउँमा के रहेछ भनी हँसियाको टुप्पोले कोट्याएर हेर्दा शिवलिङ्ग देखियो । त्यस पछी महादेव प्रकट भएर लाटो गोठालालाई तिमीले मलाई सधैं दूध चढाउने गर्नु र यहाँ शिवलिङ्ग देखेको कुरा कसैलाई पनि नभन्नु । यसो गरेमा तिमी बोल्न सक्ने हुने छौ भनेर अन्र्तध्यान भए । ति लाटो आचार्यले महादेवले भने अनुसार गरेकाले उनी बोल्न सक्ने भएका थिए ।
लाटो आचार्यसँग धेरै गाइहरू भएकोले उनले गाइहरू दोएर आफूले खान नसेको दूध एक ढुङ्गामा पोख्ने गर्थे । यसै क्रममा उनी एक दिन त्यसै ढुङ्गामा सुतेकोबेला उनलाई स्वपनामा महादेवले आफ्नो पूजा गरेर दूध चढाएमा तिमी बोल्न सक्ने छौ भनेका थिए साथै यहाँ शिवलिङ्ग भेटाएको कुरा कसैलाई पनि नभन्नु भनेका थिए । ती लाटो बाहुनले महादेवले भने बमोजिम गरेकाले उनी बोल्न सक्ने भएका थिए ।
जस्ले जे भनेपनि महावुको शक्ति छुट्टै रहेको पाइन्छ र अझै पनि जनविश्वास रहिआएको छ वर्षको एक पटक लाग्ने मेलामा गएका तिर्थालुृहरुले १ ओटा मात्र कुरा मागे पुग्ने । धार्मिक सगै पाटनमा देखिने मनमोहक दृश्य यसले धार्मिक मात्र हैन अन्य सवै पर्यटकहरुलाई लोभ्याउने गरेको छ । समुन्द्र सतहदेखि ४ हजार २ मिटर उचाईमा लाग्ने महावु धाममा धार्मिक मेला भर्न हरेक बर्ष हजारौं तिर्थयात्रीहरु देश तथा विदेश बाट जाने गर्दछन् ।
तर त्यहा पुग्ने तिर्थ यात्रीहरुका लागि अहिलेसम्म उचित बासस्थान निर्माण हुन सकेको छैन् होटल सम्मको राम्रो ब्यवस्था छनै । यो त सामान्य कुरा भयो अर्कोतर्फ यहाँको महिमा, यहाँ आउने हजारौ तिर्थ यात्रीहरुको आस्थालाई देश बिदेशमा परिचित गराउनुपर्ने आवश्यकता रहेको भएपनि राज्यले तथा प्रचार प्रशारको जिम्मा पाएका निकार्य पैशाको खेलमा यी र यस्ता पर्यटकिय क्षेत्र ओझेलमा पारेका मात्र छैनन् जिल्लाको आर्थिक स्रोत घटाई रहेका छन् ।
सरोकारवाला मात्र नभएर आम सर्वसाधार तथा प्रत्यक स्थानिय तहका निर्वाचित नजप्रतिनिधीहरुले जिल्लामा लुकेर रहेका ऐतिहाँसिक महत्व बस्तुहरुको खोजी सँगै विभिन्न ३२ जातजातीको उद्गम स्थलको कुरा होस वा नेपाली भाषाको पहिलो लिपिबद्ध ईतिहाँस होस, हजारौं बर्ष पुराना मुर्ती र देवलहरु किन नहुन वा यहाँको पंचकोशी क्षेत्रको महिमा किन नहोस सवैलाई भिन्न भिन्दा क्षेत्रको पहिचानका गरि सवैलाई पर्यटकिय क्षेत्र निमार्ण गरि जिल्ला लाई आर्थिक रुपमा सवल बनाउन सक्नु पर्छ ।

(गाथ) महावु धाम मा गरिन पुजा

समुंद्र सतहदेखी ४ हजार २ सय मिटर उचाईंमा रहेको महावुधाममा प्रत्यक वर्ष जनैपूर्णिमाको दिनमा पूजा गर्ने परम्परा रहेको छ । कालिकोट जिल्लाका काफ्ले कुलका एक जना र दैलेख जिल्लाका आचार्य कुलका एक जना गरेर दुईजना पूजारीले पूजा गर्ने परम्परा रहेको छ । स्वचित्त र स्वघट लगेर मागेको मनोकामना पूराहुने विश्वासका साथ भक्तजनहरू भेला हुने गर्दछन् ।
पहिलेका दिनहरूमा महाबुधाममा महिलाहरू गएमा अनिष्ट हुन्छ भन्ने धारणा रहे तापनि अब महिलाले पनि महाबुको दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । भक्तहरूले आफ्नो मनोकांछा पुराहोस् भनेर महादेवलाई त्रिशुल बनाएर चढाउने गर्दछन् ।काँधमा त्रिसुल बोकेर शिवको महिमा गाउँदै अधिकांश, कोही जीप अनि कोही मोटरसाईकलमा महावुधाम पुग्छन् ।
भुर्तीका आचार्य ब्राहमणहररू बिहानै अर्थात पुजा हुने दिन हिडेर शिव उत्पती भएको स्थानमा पुग्न सक्ने अन्य यात्रुलाई दुई दिनको यात्रा गर्नुपर्ने महावुको महिमा गजब छ । समुन्द्र सतहदेखि ४ हजार २ मिटर उचाईंमा लाग्ने महावु धाम धार्मिक मेला हरेक बर्ष जनै पूर्णिमाका दिन पर्दछ ।
मेला भर्नका लागि नेपाल र भारतबाट हजारौं तिर्थालुहरू दैलेख सदरमुकाम हुँदै महावु पुग्दछन् । मध्यपश्चिमक्षेत्रकै धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको कालीकोट र दैलेख जिल्लाको सीमानास्थित महावुगाथ निकै रमणिय स्थानमा रहेको छ । महाबुगाथ नेपालकै प्रसिद्ध धामको रुपमा परिचित भएकै कारण प्रत्यक बर्ष धार्मिक तिर्थालुहरू बढ्दै गएका छन् । दैलेख सदरमुकामबाट दुई दिनको पैदल यात्रा पश्चात पुग्न सकिने महावु गाथमा अब उनीपाटासम्म मोटर बाटो बनि सकेको छ ।
दैलेख सदरमूकाम, सुर्खेत र नेपालगंजबाट दैलेख हुँदै एक बढी जीपहरूमा महावुका लागि उनीपाटा सम्म पुग्न सकिन्छ । महावु पुग्नका लागि जुम्ला, हुम्ला, मुगु, कालिकोट लगायतका जिल्लाहरूबाट समेत ठूलो मात्रामा धार्मिक तिर्थालुहरू आउने गर्छन् । महाबुगाथमा प्रत्येक वर्ष जनै पूर्णिमाको अवसरमा २ दिन अघिदेखि पाँचदिनसम्म ठूलो मेला लाग्ने र विशेष पूजापाठ हुने गर्दछ । चुर्तुदशीका दिन बिशेष पुजापाठ गरिन्छ ।
वार्षिक पूजाका अवसरमा दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, जाजरकोट, रुकुम, बाँके तथा भारतबाट पनि ठूलो संख्यामा धार्मिक तिर्थयात्रीहरू पुग्ने गर्दछन् । चिसो लेकाली भू–भाग भएकोले महाबुगाथका तिर्थयात्रीहरू न्यानो लुगासँगै काँधमा त्रिशुल बोकेर भजनकिर्तन गर्दै उकालो लाग्ने गर्दछन् ।
महाबुगाथ रहेको स्थान निकै रमणिय पाटन क्षेत्र र सम्म परेकोले यहाँ दैलेख, कालिकोट, जुम्लालगायतका स्थानबाट भैंसी, भेडा बाख्रा चराउने उद्देश्यले गोठालाहरू गोठ निर्माण गरेर बस्ने गर्दछन् । दैलेखको नारायण नगरपालिका ३ भूर्ती र खुर्सानी बारीका गर्ग गोत्रीय आचार्य ब्राहमणहरूले भैंसीको काँचो दूध लगेर चढाएपछि मात्र कालिकोट र दैलेखका अन्य ब्राहमणहरू द्धारा पूजापाठ सुरु गरिन्छ । महाबुगाथमा पूजा गर्दा अभिलेखसहितका चाँदीका तीनवटा आशागुर्जा, काठका प्रतिकात्मक मुर्ति, गरुढसहितको चाँदीको पंचबाला तथा अन्य बहुमुल्य बस्तुहरू बिशेष पूजाका बेलामा मात्र निकालिने गरिन्छ ।
बर्षभरी हुने अन्न अभाव हटाउन, गाईबस्तु र मानव जीवनको अकाल मृत्यु बचाउनका लागि शिवको भब्य पूजापाठ गरिन्छ । एउटामात्र वर मागे पुरा हुने बिश्वास अहिलेपनि कायमै छ । पूजापाठका लागि गएका भक्तजनहरूले मुख्य मन्दिरको करिव ४ सय मिटर टाढैदेखि बुकी झार सहित मुखमा घाँस च्याप्ने चलन अहिलेपनि कायमै छ भने दाम्लो बाँधेकै स्थानमा मरेका पशु चौपायाहरूको मोक्ष प्राप्तिका लागि किसानहरूले आफ्नो घाँटीमा दाम्लो बाँधेर पूजापाठ गर्ने प्रचलन पनि कायम नै रहेको देखिन्छ । नबोलेरै शिवलिङ्ग भएको स्थानलाई सबै तिर्थयात्रीहरूले सातपटक सम्म परिक्रमा गर्ने गर्दछन् ।
महावु नजिकैको दमौडा भन्ने स्थानमा महावै (महाभय) र जगन्नाथको ठूलो पूजा हुने गर्दछ । भगवान् शिवको उत्पत्ति भएको शिवलिङ्गमा दैलेखका आचार्य र कालिकोटका ब्राहमणहरूले प्रत्येक वर्षको पूर्णिमा पूजामा दूधको धारासँगै पूजापाठ गरेपछि मात्र देशभरिका अन्य स्थानहरूमा रहेका देवी देवताहरूको पूजा हुने प्रचलन अहिलेपनि कायम रहेको छ ।
महावु धाम जाँदा बाटोमा पर्ने ईटको उकालो, छान्ना, दशरथे, भावसैनी, नाउली उनीपाटा, हुँदै लिस्नेको उकालो सम्मको यात्रा सम्पन्न गरेपछि निकै रमणिय फाँटहरू देखिन्छन् । न सामात्ने हाँगो , न गतिलो गरी टेक्न मिल्ने पकारको साँगुरो ९० डिग्रीको उकालो बाटोमा बालक, वृद्ध, महिला, पुरुष सबैले सहजै यात्रा गर्दै आएका छन् । महाबु जगन्नाथको कृपाका कारण अहिलेसम्म उक्त बाटोमा कुनै दुर्घटना नभएको जानकारहरू बताउछन् ।

प्राकृतिक सौन्दर्यता सम्पादन गर्नेे

महावु धामको चारैतिर अग्लाअग्ला लेकहरू । विचमा आँखाभरी देखीने महावु पाटन । पाटन नजिकैको धुम्कोमाथि शिवको पुजाआरधनाका लागि विशाल ढुगामाथि रहेको थान निकै सुन्दर देखिन्छ । सुन्दर पाटन हेर्न चाहनेहरूका लागि र धार्मीक आस्थावालहरू दुवै पर्यटकहरूको आर्कषण केन्द्र हुन सक्ने सुन्दर महावुमा एक पटक पुग्नै पर्ने ठाँउ हो । उकालो चढेर महावु पाटन पुगेपछि एकछिन त सुन्दरताले मननै स्तब्ध हुन्छ । आहा क्या राम्रो महावु ।
सवैको मुखबाट पहिलो शब्द यस्तै आउने गर्दछ । माथिल्लो पाटनमा पूजाका लागि जाने भक्तजनहरू । महावु पाटनबाट जुम्ला, कालिकोट, दैलेख तथा जाजरकोटका गाँउहरू सहज हेर्न सकिन्छ । मौसम सफा भएको बेला बर्दिया, टिकापुर र नेपालगञ्जसम्म झिलिमिलि बत्ती बलेको देख्न सकिने बुढापाकाहरू बताउँछन् । महावु जान दैलेख सदरमुकामबाट डेढ दिनको पैदल यात्रापछि पुगीन्छ । यो पाटन कर्णाली अञ्चल छिर्ने प्रवेशद्धार पनि हो । भैसीखोर, भवानी हुँदै दैलेखको अन्तिम मानवबस्ती रहेको उनपाटा बास बसेर भोलीपल्ट विहान २ देखी ३ घण्टाको पैदलयात्रापछि पाटन पुगीन्छ ।
मनोरम दृश्य, लेकाली परिवेश, विन्भिन्न थरिका प्रजाती, भेषभुष आदि अवलोकन गर्दै पैदन यात्रा गर्दा थकानकै अनुभुती नै हुँदैन् । पाटन हेर्न र शिवजी दर्शनका लागि पुग्ने पर्यटकहरू श्रावन, भद्रौमा बढी हुन्छन् । हिउँदमा टम्म हिउँपर्ने भएकाले पनि पाटन पुग्न मुस्किल हुने गर्दछ । त्यहाँ पुग्नेहरू शिवको दर्शनअघि पाटनमै बगेको खोलामा नुहाएर २५ मिनेट ठाडो लेकमा पुगेर शिवलिङ्ग पुजा समेत गर्दछन् । शिवलिङ्ग पुजा गर्नुअघि पाटनमा रहेको देवलहरू महावु पाटन उक्लिएपछि चारैतिरबाट चिरर आएको चिसो चिसो हावाको वेगले शरिर थररर काम्न थाल्छ ।
माथि लेखको ठुलाठुला ढुङ्गाको काखमा रहेको शिवलिङ्गको दर्शन गरी धर्मकर्म गर्नुका साथै पाटनका सुन्दर दृश्य समेत निहाल्छन् । पाटनमा फुलेका रंगीविरगी फूऊलहरूले यात्राअवधीभरको थकान नै मेटीने गर्दछ । पाटनलाई बादलले छिनभरमै ढपक्क ढाकेर अध्यारो बनाईदिन्छ त कहिले सिमसिमे पानीसगै हावाको वेगले फूलहरू हल्लिरहेका हुन्छन् । छिनछिनमा मौसम बदलिरहदाँ महावु पुग्ने जो कोही पनि दंग पर्ने गर्दछन् ।
लेकमै रहेको पोखरी र पोखरी आसपास ढकमक्क फूलेका फूलहरूले पर्यटकहरूलाई अझँ आनन्दीत तुल्याउँछ । महावु पाटन नजिक रहेको पोखरी र फूलहरू महावु पाटन नजिक रहेको पोखरी र फूलहरू हिउँ खेल्न वा गर्मी छल्न आन्तरिक पर्यटन हरेक मौसममा महावु पुग्ने गर्दछन् । तर, रक्षा बन्धनको दिन भने महावुमा विशेष रुपमा पूजा गरीन्छ । ७ महिना बढी हिउँ पर्ने महावु दैलेख जिल्लाकै प्राकृतिक सौन्दर्यको धनी मानिन्छ ।
महावुबाट दैलेखका सम्पूर्ण भुभागहरू एकएक गरी छुट्याएर देख्न सकिने भएर पनि महत्वपूर्ण हेरिने गरिएको छ । मध्य तथा सुदुरपश्चिम र भारतबाट समेत दशौं हजार भक्तजनहरू साउनको जनैपूर्णिमामा घुईचो लाग्ने गर्दछ । सवारी साधनको प्रयोग गरे दैलेख सदरमुकामबाट ४ देखी ५ घण्टामा उनपाटा पुग्न (हिउँदमा मात्र) सकिन्छ । महावु अर्को विशेषता कर्णाली अञ्चल प्रवेश गर्ने सवैभन्दा छोटो मार्ग समेत हो । महावु भएर कर्णाली प्रवेश गर्दा ४८ किलोमिटर छोटो पर्ने ईन्जिनियरहरुको भनाई छ ।
भविष्यलाई हेर्दा कर्णाली प्रवेश गर्ने पर्यटकहरू यहाँ रोक्न विशेष योजनाहरू ल्याउनुपर्ने दैलेखका पर्यटनकर्मी रुपक थापाको भनाई छ । ‘कर्णाली जान निकै छोटो र सजिलो मार्ग भएकाले पर्यटकहरू बढ्नेछन् ।’ पर्यटककर्मी थापाले भने, प्रचारप्रसार अभावमा मनोरम दृश्यहरू भएको पाटनहरू ओझेलमा परेका छन् ।
अहिले मुलुकमा परिवर्तनलाई संस्थागत गर्ने तयारीमा छ । देश संचालन गर्ने नेता र नेतृत्वहरुले भित्रि मनबाट चाहना गरेनन् भने यो परिवर्तन पनि संस्थागत हुन नसक्ने आशंकाहरु त्यतीकै देखिएका छन् । केही नेता र राज्य संचालन गर्ने नेतृत्व यस्ता देखिएका छन् जसले पश्चिम नेपालका ऐतिहाँसिक धरोहरहरुको कुनै मुल्य नै नभएको ब्याख्या र विश्लेषण समेत गर्ने गर्दछन्

Monday, August 21, 2017

म जस्ता चरा ; चरा जस्तो म

म जस्ता चरा ; चरा जस्तो म


 झण्डै ४० बर्षपछि पितृगाउँमा मेरो नामले २ कोठे घर बन्यो । पुरानो पितरकुडीबाट २५ मिटर टाढा एकान्त , वरपर सबै देखिने तर छेक परेको ठाउँ । म जस्तो घुमन्ताको लागि यो बान्छनीय रैनबसेरा  नै थियो । मनमनै यो भवनको नामाकरण " शरणस्थली" भनेर गरेको थिए ।
“ यो आगनबाट त हाम्रा दयालु कुलदेवताका थानहरु प्रष्टै देखिन्छन  ।” कोही त्यसै घुम्न आउनेहरु भन्ने गर्दथे । " ओ हो, यहाँबाट त मन्दिरका घण्ट बजेको प्रष्टै सुनिदो रै,छ ।" कोही गफ गर्न आउनेहरु टिप्पणि गर्दथे । केटाकेटिहरु बेणु, तिम्ला, आरु, दाडिम टिप्न आउथे । कोहि प्रौढहरु आरा लगाएर ढालेका बडेमाका काप्राका रुखका दाउरा लुस्सुक लैजाने नियत बोकेर पनि झुल्किन्थे ।  कुरा यत्तिमै सीमित थिएन  । मेरी श्रीमतिजीको भनाइमा राम्रा च्याप्टा ढुंगा समेत लुकाएर ओसार्न केही आफन्त ढुकिराखेका हुँदारहेछन्  । गाउँबासी  मानब मात्रमा चलेको चलनानुसार पिताजीको शेषपछि यहाँ मेरो स्वाभाबिक हक बन्थ्यो नै ।  बास बनाएपछि भने केहि आफना पराया बने । केही टाढाका नजिक आए । एउटी भाईबुहारिलाइ यो आँगनमा टेक्न जात जाला जस्तो भयो । अर्की उपबुहारीले " गाउँमा गाँस खोज्न आएका" भनेर मन पखालेको सुनियो । यसरी म पुन: पितृभुमीको बसिन्दा बने ।
  यदाकदा यो कुटियामा एक्लै हुदा चारैतिरका जंगलहरु हेेर्दै बस्नुको आफ्नै रमाइलो थियो । त्यहाँ वनवासीहरुको पनि गाउँवासी बन्ने सम्भावना भएमा कति मजा आउने थियो ? सोचिन्थ्यो । खरायोलाई  एउटा कोठामा , फ्याउरो लाई दोस्रोमा, दुम्सीलाई तेस्रोमा, लोखर्केलाई चौथोमा, व्बाँसोलाइ पाँचौंमा, भालु छैटौंमा, एबम् रीतले चराचुरुंगी, माकुरा, माहुरीहरुलाई समेत फरक फरक बाडामा  बस्न दिन सकिने भए बसाइ क्या शानदार हुन्थ्यो, मन बहकिन्थ्यो… ।
  यहि मन बहलाइमा बाडाहरुको गन्ती गर्दै कसलाई कुन ठाउँ दिने भन्ने योजना बुनीरहेकै बेला एउटो फिस्टि चरी थाकेर मेरै छेउमा आएर बसी ।  चरीको बालसुलभ रमाइलो कथा सुन्न पाउने आशामा म मुस्कुराइरहेको थिएँ । केही बेर पछि उसले कथा अगाडि बढाउन थाली ।
  “मान्छैहरुले हाम्रो बासस्थान कुल्चेर सखापै पारिसके । फेरि फलफूल र पातहरु मात्र टिपे त हुन्थ्यो नि, उनीहरु त जरै समेत उखेल्छन् र पो । अनि कसरी पोथाहरु बढ्न सक्छन र ? बिगडैल मनुवाहरुले चाहिं चराचुरुंगीका गुँढहरु नै बिगारिदिन्छन् । ठूलाबडाहरु चाहिं राम्रा राम्रा रुखहरु काटेर ढाल्दछन् । अनि रुखहरु पनि कसरी आकाश छुन सक्ने हुनु ? छोटकरीमा भन्ने हो भने मान्छैहरुको उधुम अत्याचारले गर्दा हामी वनवासीहरुले भोग्नुपरेको आपद्विपद्को गन्ती गरेर साध्य छैन । उनीहरुले हाम्रो वनलाई हुनसम्म क्षति पुर्याइसके ।” लामो सास फेर्दै फिस्टो चरी  सानी छोरीझैं रुन पो लागी ।
  मैले बिस्तारै उसको मुण्टो मुसारिदिएँ । उसका प्वाखहरु ज्यादै छोटा र मुलायम थिए । उसप्रति कतिसम्म दया जागेर आयो भने उसलाई कतै जान नदिएर आफ्नो छातीमा टाँस्न मन लाग्यो । वनमा बनकै रैथाने बन्यजन्तु र बनचरीहरुका लागि जताततै खतरैखतरा भएको मलाई भान भयो । वन भनेको जंगल नै त हो । जंगलराजमा न प्रहरीहरु हुन्छन , न त हरेक रुखमा पाले नै …। त्यसैले बन काननमा पनि बिद्रोह पलाएको रहेछ । बराहराज बटालियन बनाएर खेतबारीमा छापामार्न आएका, कपिबृन्दले आगनका मकैमा समेत धावा बोलेका खबरहरुको पछाडी बसेको यथार्थ बुझिनमा आउदै थियो  ।
   फिस्टि मैयाँ चरीले फेरि आफ्नो दयनीय रामकहानी सुनाउन थाली :
   “मान्छेहरुले वन विनाश गरेको देउताले पनि टुलुटुलु हेरिरहनुपरेको छ । उनी उग्र रिसाएका छन् । जे भए तापनि ऊ कालोझाडीको देवता नै हो, वनको रहस्यमय आत्मा हो । एकपल्ट मैले पलाउन थालेका  मुना र फूलका कोपिलाहरुको शोकाकूल स्वर सुनेको थिए । बनबाट फर्केका गाइगोरुको घन्टीको टिनटिन  पनि त्यस दिन रोएजस्तो लाग्दै थियो । मान्छैहरुले मन्दिरका ठुल्ठुला घण्टाहरुको आवाज त सुन्न सक्तैनन् , बुझ्न सक्दैनन् । मुना- कोपिलाको आर्तनाद नसुनेकोमा आश्चर्यको कुरै के छ र ?"
  “रक्षा गर, देवता, रक्षा गर । हाम्रो रक्षा गर्ने कोही भएन ।,, उनीहरु प्राचीन देवताको आँखाको नानीको गहिराईमा भित्रसम्म हेरेर पुकारा गर्दै थिए ।
  हाम्रा भुमीदेवताको हृदय असहनीय पीडाले भरियो । तर उनले मन्दिर नामको अमुक थलोको गब्युरमा थुनिएर घोर कलियुगे मनु- सन्ततिहरुको दुष्चक्रबाट रक्षा कसरी गर्न सक्तथे र ? एकाएक उनले भने : “बुझ्यौ त, म पनि अब तिमीहरुसंगै बस्ने गर्दछु  ।”
 उनीहरुको यस्तो वार्तालाप सुनिरहेको लङ्गूरले अचम्म मान्दै आकाशको उँचाईसम्म उफ्रेर उद्गार प्रकट गर्दै भन्यो : “कस्तो अनौठो प्रस्ताव । तर कति मौलिक, कति चमत्कारपूर्ण ।”
  मुना- कुसुमहरुले आफ्ना हरिया आत्माहरुद्वारा गमेर सोचविचार गरेपछि भुमी देवताको प्रस्ताव स्वीकार गरे ।
म पनि फिस्टो चरीको मोहक कथा सुनेर मख्ख परिरहेको थिएँ र मेरो कानमा पनि आनन्दले रमाइरहेका फूलहरुको गुञ्जन घन्किरहेको थियो, उनीहरुको सुमधुर संगीत गुञ्जिरहेको थियो ।
“वन्य जन्तुहरुको माझमा कवि र कलाकार पनि हुँदा हुन् त यस्तो सौन्दर्यको चित्रण अवश्य गर्दा हुन् । चित्रकारहरुका कुचीले स्वतः नै क्यानभासमा भव्य चित्र लेख्ता हुन् । यस्तो दिव्य सौन्दर्यको रसपान नगरी कोही पनि अगाडि बढ्ने थिएन होला ।”
यसरी फिस्टो चरी आफ्नो कथा भन्दै थिई । उसले अगाडि थपी :
“हाम्रो गुँड सखाप पार्न थालिएको देखेर हामीले पनि कुनै बेला देबताको शरण लिएकाछौ । सबै सुतेको मौका पारेर मात्र हामी गुँडबाट उडेर बचेराहरुका लागि चारा खोज्न निस्कन्थ्यौं । त्यतिखेर बचेराहरुलाई पनि रुन र कराउन हुँदैन भनेर कडा चेतावनी दिनेगरेका थियौं । हाम्रा बचेराहरु भनेको खूब मान्दथे र हामी नफर्कुञ्जेल चूप लागेर बसिरहन्थे । उनीहरु न रुन्थे, न कराउँथे, न त गीत नै गाउँथे, न ता चुलबुल नै गर्दथे । हाम्रा बचेराहरु निकै ज्ञानी बनेर हुर्केका छन् । यस्ता बच्चाहरुको आमा बन्न पाउनु पनि सौभाग्यको कुरा हो ।” फिस्टो चरीले गवौक्ति प्रकट गरी ।
“पितृत्व पनि त गर्वकै कुरा हो नि । देख्दिनौ, सन्तान नभएकाहरु कति बिझाइला हुन्छन् ।” मैले पनि आफना छोराछोरी सम्झे ।  
“वनमा हरेकले राम्रो काम गर्ने अवसर पाउँछ । यसमा लामा लामा ब्याख्यान दिन सकिन्छ । " यसो भन्दा फिस्टो चरीले मेरो  अनुहारतर्फ पुलुक्क हेरी । मैले अलि सतर्क भएर एैनामा आफ्नो मुख हेरें । मेरो च्यूँडोमा बाक्लो दाह्री उम्रिराखेको थियो । म दाह्री खौरन चाहन्नथें, त्यसैले दाह्रीले पनि मलाई निकै मन पराएको थियो ।
" हामी अनुहार पढन सक्छौ । भाषाभित्रको भाव समात्न सक्छौ । हेर त, तिम्रो आगन भरि कति बनचरी निर्द्वन्द घुमीरहेकाछन् ।" मलाई निःशुल्क वनको भाषा सिकाउने फिस्टो चरीले मलाई फुर्काउँदै भनी । अनि ऊ मेरो दाह्रीतर्फ फुर्र उडेर आई र ठुंगले बिस्तारै मेरो दाह्रीको रौं मिलाउन लागी । आगनभरि भंगेरा, ढुकुर, सारौं, राइचरी, बनभ्याकुर भरिएका थिए । मैले अकमक्क परेर टिप्पणी गरें । ” यतिका चराहरुलाइ मेरो घर आगनमा न गुँड बनाउन मिल्छ, न त धेरै तला भएको घर नै निर्माण गर्न सकिन्छ ।”
“संसारमा बाच्नु भनेको पनि त अप्ठेरै खालको छ नि । तैपनि हामी सबै बाँचैकै छौं क्यारे ।” दार्शनिक पाराको खगबृन्दको समवेत स्वरको चिरबिर आगनभरि पोखियो ।
एकाएक गौथलीका तीनै बचेराहरु कताबाट हो कुन्नि भुर्र उडेर आए । उनीहरु तँछाड् मछाड् गर्दै भनिरहेका थिए : “हामीले अब आफ्नो परिवार बसाउनु छ । हाम्रो पुरानो गुँडमा भंगेराहरु अबैध रुपले जबरजस्ति कब्जा गर्दैछन् । तर तिम्रो दलीनमा अर्को राम्रो  घर बनाउन सकिन्छ । हामी त्यसमा मजाले बस्न सक्नेछौं ।  मीठो भोजन खान हामीकहाँ तिमी पनि पाहुना बन्न सक्नेछौ ।” बचेराहरुले आतिथ्यसत्कारको वचन दिए ।
“धन्यवाद । धन्यवाद । म भाइ बुहारीहरुले भने सोचेजस्तो भोको छैन । मात हालेको जमीन र उणाल ल्याएको जोइलाइ स्याहार्न खोजेको पनि छैन । सित्तैको गाँस खोज्न यहाँ आएको पनि हैन ।” तर्सेर मेचमा अडेस लिंदै मैले भनें । काप्राकै रुखको मुढोमा बसेको म सम्साँझै झकाएको रहेछु ।
( कुसे औसी २०७४, काठमाडौं ।

Thursday, August 17, 2017

संस्कृतका केही प्रेरणादायि श्लोक

संस्कृत श्लोक संग्रह

1. उद्यमेन हि सिध्यन्ति कार्याणि न मनोरथैः।
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा: ।।
अर्थात:- उद्यम, यानि मेहनतले नै काम पूरा हुन्छ,  ईच्छा गर्नाले  मात्र कुनै काम पनि पूरा हुदैन । जसरी सुतेको सिंहको मुखमा मृगहरु स्वयम् प्रबेश गर्दैनन् ।

2. वाणी रसवती यस्य,यस्य श्रमवती क्रिया ।
लक्ष्मी : दानवती यस्य,सफलं तस्य जीवितं ।।
अर्थात:- जस्को मीठो बोली छ, जस्को काम परिश्रमयुक्त छ, जस्को धनलाई दानमा प्रयोग गरिएकोछ, त्यस्को जीवन नै सफल छ ।
-
3. प्रदोषे दीपक : चन्द्र:,प्रभाते दीपक:रवि:।
त्रैलोक्ये दीपक:धर्म:,सुपुत्र: कुलदीपक:।।
अर्थात:- संध्या-कालमा चंद्रमा दीपक हो, प्रातः कालमा सूर्य दीपक हो, तीनै लोकमा धर्म दीपक हो तथा सुपुत्र कुल को दीपक हो ।

4. प्रियवाक्य प्रदानेन सर्वे तुष्यन्ति जन्तवः ।
तस्मात तदैव वक्तव्यम वचने का दरिद्रता।।
अर्थात:- प्रिय वाक्य बोलेमा सबै  जीव संतुष्ट हुन्छन् ।  अतः प्रिय वचन नै बोल्नोस किनकि यस्ता बचनहरुको कहिल्यै अभाव रहदैन ।

5. सेवितव्यो महावृक्ष: फ़लच्छाया समन्वित:।
यदि देवाद फलं नास्ति,छाया केन निवार्यते।।
अर्थात:- विशाल वृक्षको सेवा  गरिरहनु पर्छ, किनकि यसले फल र छाया दुबै प्रदान गर्छ । यदि दुर्भाग्यबस फल पाइएन  भने पनि छाया त कसैले पनि रोक्न सक्दैन ।

6. देवो रुष्टे गुरुस्त्राता गुरो रुष्टे न कश्चन:।
गुरुस्त्राता गुरुस्त्राता गुरुस्त्राता न संशयः।।
अर्थात:- भाग्य रूष्ट भएमा गुरुले रक्षा गर्छन ।  गुरु रूष्ट भएमा कोहि आफनो हुदैन । अत: गुरु नै रक्षक हुन्३ । यसमा शंका छैन ।

7. अनादरो विलम्बश्च वै मुख्यम निष्ठुर वचनम
पश्चतपश्च पञ्चापि दानस्य दूषणानि च।।
अर्थात:- अपमान गरेर, ढिलो गरेर, मुख बिगारेर, कठोर बचन बोलेर दान गरेमा  तथा  दानपश्चात पश्चाताप गरेमा यी पाँच क्रियाले दानलाइ दुषित गर्दछन ।

8. अभिवादनशीलस्य नित्यं वृद्धोपसेविन:।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलं।।
अर्थात:- ठुलालाई अभिवादन गर्ने र नित्य बृध्दहरुको सेवा गर्ने मनुष्यको आयु, विद्या, यश र बल -यी चार कुरा बृध्दि  हुन्छन ।

9. दुर्जन:परिहर्तव्यो विद्यालंकृतो सन ।
मणिना भूषितो सर्प:किमसौ न भयंकर:।।
अर्थात:- दुष्ट व्यक्ति यदि विद्याले सुशोभित छ भने पनि  परित्याग योग्य नै हुन्छ । के मणिले सुशोभित सर्प  भयंकर हुदैन र ?

10. हस्तस्य भूषणम दानम, सत्यं कंठस्य भूषणं।
श्रोतस्य भूषणं शास्त्रम,भूषनै:किं प्रयोजनम।।
अर्थात:- हातको आभूषण दान हो , कण्ठको आभूषण सत्य हो , कानको शोभा शास्त्र श्रवणमा छ । अन्य आभूषण को कुनै प्रयोजन छैन ।

11. यस्य नास्ति स्वयं प्रज्ञा, शास्त्रं तस्य करोति किं।
लोचनाभ्याम विहीनस्य, दर्पण:किं करिष्यति।।
अर्थात:- जुन मनुष्यमा बिबेक छैन शास्त्रले त्यसलाई के गर्न सक्छ र ? आँखानै नभएकोलाई ऐनाले के गरोस ?

12. न कश्चित कस्यचित मित्रं न कश्चित कस्यचित रिपु:
व्यवहारेण जायन्ते, मित्राणि रिप्वस्तथा।।
अर्थात:- न कोई  कसैको मित्र हुन्छ न शत्रु । ब्यबहारले नै मित्र या शत्रु बनाउँछ ।

13. नीरक्षीरविवेके हंस आलस्यं त्वं एव तनुषे चेत।
विश्वस्मिन अधुना अन्य:कुलव्रतम पालयिष्यति क:।
अर्थात:- ऐ हंस, यदि तिमि नै दूध र पानीलाई भिन्न गर्न छोडछौ  भने तिम्रो कुलब्रत यो बिश्वमा कसले पालना गरिदेला ? (भाव- यदि बुद्धिमानले नै कर्तब्य त्यागेमा निष्पक्ष व्यवहार को गर्ला र ? )
-
14. दुर्जन:स्वस्वभावेन परकार्ये विनश्यति।
नोदर तृप्तिमायाती मूषक:वस्त्रभक्षक:।।
अर्थात:-दुष्ट व्यक्तिको स्वभाव नै अर्काको काम बिगार्ने हो । मुसाले कपडाहरु स्वभावबश नै काटने गर्छ, पेट भर्नका लागि होइन ।

15. सत्यं ब्रूयात प्रियं ब्रूयात न ब्रूयात सत्यं प्रियम।
प्रियं च नानृतं ब्रूयात एष धर्म: सनातन:।।
अर्थात:- सत्य बोल, प्रिय बोल, अप्रिय लाग्ने सत्य बोल । प्रियलाग्ने  असत्य पनि बोल्नु हुदैन ।

16. काव्यशास्त्रविनोदेन कालो गच्छति धीमतां।
व्यसनेन च मूर्खाणां निद्रया कलहेन वा।।
अर्थात:- बुद्धिमान मानिसहरु काव्य-शास्त्रको अध्ययनमा आफनो समय ब्यतित गर्छन ।  मूर्ख मानिसहरु निद्रा, कलह वा कुनै ब्यसन बासनामा आफ्नो समय बिताउछन् ।

17. पृथ्वियां त्रीणि रत्नानि जलमन्नम सुभाषितं।
मूढ़े: पाधानखंडेषु रत्नसंज्ञा विधीयते।।
अर्थात:- पृथ्वीमा तीन रत्न छन-जल,अन्न र शुभ वाणी ।  तर मूर्खहरु ढुंगाको टुक्रालाई नै रत्न को संज्ञा दिने गर्दछन् ।

18. भूमे:गरीयसी माता,स्वर्गात उच्चतर:पिता।
जननी जन्मभूमिश्च स्वर्गात अपि गरीयसी।।
अर्थात:- भूमिभन्दा श्रेष्ठ माता छन , स्वर्गभन्दा महान पिता छन् , माता र मातृभूमि स्वर्गभन्दा पनि श्रेष्ठ छन् ।
                                                     19. शैले शैले न माणिक्यं,मौक्तिम न गजे गजे।
                                                           साधवो नहि सर्वत्र,चंदन न वने वने।।
अर्थात:- प्रत्येक पर्वतमा अनमोल रत्न पाइदैन , प्रत्येक हाथीको  मस्तकमा मोती हुदैन ।सज्जन मानिस सबै ठाउमा हुदैनन । प्रत्येक वनमा चंदन पाइदैन ।
                                                                             —
                                                           20. न विना परवादेन रमते दुर्जनोजन:।
                                                                 काक:सर्वरसान भुक्ते विनामध्यम न तृप्यति।।
अर्थात:- अर्काको निन्दा नगरेमा दुष्टब्यक्तिलाइ आनन्द नै आउदैन । जसरी कागले सबै रस भोग गरे पनि फोहोर टिप्नमा नै आनन्द मान्ने गर्दछ । ।

देबपुत्र दमाई र ढोलसागर

( साभार- प्रेम कैदी, अन्नपुर्णपोष्ट दैनिकबाट ) 
सानै उमेरदेखि विवाह र अन्य कार्यक्रममा बज्ने बाजाहरू सुन्दा एक किसिमको कौतूहल हुन्थ्यो । मन्दिर मेला बिहावारीहरूमा दमाईहरू मच्चीमच्ची बाजा बजाउँछन् । एक किसिमको रमाइलो वातावरण हुने गर्छ । अझ मन्दिरमा पूजा हुँदाको अवस्थामा हुने देवताको औतारमा माहोल फरक खालको हुन्छ । ती बाजा बजाउनेहरू अछूत मानिँदै आएको पाइन्छ । प्रायः गाउँमा अलि फरक बस्तीमा उनीहरूको बास हुन्छ । उहिले उहिले मान्छेले भन्थे, दमाईहरूको छुट्टै भाका हुन्छ ।
त्यसका कलौते भनिने उर्दुजस्ता अक्षरहरू हुन्छन् । यिनीहरू फरक प्रकृतिका अहिलेका मुसलमानजस्ता लाग्छन् । यिनीहरू जादु मन्त्रले असम्भव काम गर्न सक्छन् । एकचोटि एकजना दमाईले अर्को दमाईलाई खान बोलाएछ । १० पाथीको भात पकाएछ । पाहुना आउने दमाईले आफ्ना वीरहरू बोलाएर सबै भात सिध्यायो । पाहुना आउने दमाईकोमा खान जाँदा पनि त्यस्तै भयो । यसको अर्थ उनीहरू दुवैसँग अदृश्य वीरहरू थिए । ती आफ्ना मालिकलाई जादु मन्त्रको अवस्थामा सहयोगी हुन्थे । यो काम दमाईहरूले बढी गर्थे । गाँउतिर कोही बिरामी भएमा, झारफुक गर्ने र अन्य उपचारको काम पनि यिनीहरूबाट गराइन्छ । यिनीहरू फूल, स्याउला, सिस्नु र कुचो लिएर फुकफाक गरिरहेका देखिन्छन् ।
तर, आजभोलि विस्तारै यस्ता दृश्य कम हुँदै गएका छन् । खासगरी २०१९ सालमा आएको संविधान र राजा महेन्द्रले छुवाछूत उन्मूलन गरेपछि गाउँघरमाउथलपुथल मच्चियो । जब मान्छेहरू कामको खोजीमा देशबाहिर जान थाले अनि धेरै ठूलो सामाजिक उथलपुथल भयो । मेसिन नहुँदा हातले कपडा सिलाउँथे । मेसिन आउँदा हातको काम मासियो । त्यसै बेला मलेरिया उन्मूलन गरियो र राजा महेन्द्रले भूमिसुधार लागू गरे । गाउँमा उत्पादनको कमी र सीमित साधनस्रोतका कारण ठूलो अवसर खोजेर विस्तारै मानिसको बसाइँसराइमा तीव्रता आयो । अन्यत्र सर्ने परिपाटीले मानिसहरूले पुरानो थातथलो बिर्सिंदै गए । खासगरी संगीत साधकहरूको गाउँमा उपस्थिति नभएपछि बाजाको प्रयोग पनि कम हँुदै गएको दुःखदायी अवस्था हाम्रासामु छ ।
बाजागाजा अनि अनेकौ ताल, लय र धुन पनि लोप हुँदै गएका छन् । नयाँ पुस्ताले सिक्न नपाएको र पुरानो पुस्ता मासिँदै गएको अवस्थामा एक किसिमको पुस्तैनी रिक्तता पैदा हुँदै छ । मानिसको जन्म, विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा बजाइने बाजाका धुनहरू फरकफरक हुन्छन् । कुनै धुनमा दैवीस्तुति, कुनैमा शुभकामना र कुनै बेला आशोच बारेको संगीतको भाका जहिले पनि फरकफरक हुन्छ । हाल ब्यान्ड बाजाको नाममा पश्चिमा बाजाहरूले ठाउँ लिएका छन् । यसमा हामी आफ्नो संस्कार संस्कृतिबाट टाढा आयातीत संस्कारमा रमाइरहेका छौं । अहिले धेरै मानिस पञ्चैबाजाको नाममा प्रचलित गीतका धुनहरू बजाइरहेका छन् । तिनीहरूले परम्परागत धुनहरू प्रयोगमा ल्याउन सकेको पाइँदैन ।

 
संरक्षणप्रतिको उदासीनताकोकारणले लोप हुनसक्ने अवस्था देखिन्छ । यस्तो चरम लापरबाहीलाई रोक्ने कुनै प्रयास हुन सकेको छैन र हालको स्थितिमा त्यसको सम्भावनासमेत देखिँदैन किनकि राज्यले त्यस्तो नीति र सोच सार्वजनिक रूपमा उजागर गरेको देखिँदैन ।
राष्ट्रकै भाषासंस्कृति मास्न राज्यद्वारा नियुक्त प्राज्ञिक संस्थाहरूले चलखेल गरिरहेको बेला कर्णाली अर्थात् मध्य र सुदूरपश्चिम नेपालका कलासंस्कृति अनि बाजागाजा र गीतसंगीतको संरक्षणको कल्पनासम्म गर्न सकिने अवस्था छैन । यस्तो स्थितिमा कर्णालीका गाउँगाउँमा स्वतस्फूर्त रूपमा जातीय संगीतको नेतृत्व गर्ने खसलगायत अन्य जातिभित्रको दमाई भनी बाजाहरूको राजा दमाह ठोक्ने समूहको उत्थान र संरक्षण एवं सम्वर्धन हुने किञ्चित सम्भावना देखिँदैन ।
दुःखको कुरा स्वर्गका गन्धर्वजस्ता संगीतसाधक, तन्त्रशक्ति भएका र विशिष्ट दैवी क्षमता प्राप्त यस समुदायलाई आफू को हौं भन्ने ज्ञान पटक्कै रहेको पाइँदैन । सीमित जानकारी भएका औंलामा गन्न सकिने व्यक्तिहरू साधनारत रहिरहन सक्ने भौतिक अवस्थाबाट वञ्चित छन् । राज्य र समाज उनीहरूप्रति उपेक्षाभावमात्र होइन दलित भनेर छिछि दूरदूर गर्दै अछूतको निम्न तहमा राख्दै आएको छ ।
पहिले मानिसहरूले यी वाद्यवादनका सामग्री मन्दिर अथवा देवीदेवताका नाममा चढाउने गर्थे । स्वयं बजाउनेले पनि किन्नसक्ने अवस्था थियो तर अहिले सबै कुराको बजारभाउ आकासिएको छ । नेपाली मुद्राको भाउ अवमूल्यन हुँदाहुँदा मुद्रास्फीतिले नेटो काटेको छ । आमजनताको भन्दा आर्थिक अवस्था कमजोर भएका दमाईहरूको क्रयशक्ति समाप्तप्रायः अवस्थामा पुगेको छ । स्वयं बनाउने समय पनि छैन । यसबाट गीतसंगीत र बाजागाजा विलोप हँुदै जाँदा हाम्रो सभ्यता, संस्कृति र धर्मसमेत लोप हुँदै जाने अवस्था छ ।
हाम्रो संगीतको इतिहास पौराणिक कालदेखि रहिआएको छ । शिवको ताण्डव नृत्य हुँदाको अवस्थामा पनि ढोल नगारा आदि वाद्यवादनको प्रयोग भएको वर्णन पाइन्छ । हाल देवताहरूको मन्दिरमा पूजा हुँदासमेत ढोल, नगारा, दमाहा, झ्याली आदि बाजागाजा अति आवश्यक मानिन्छ । हाम्रो लोकजीवनका संगीतकार दमाई, ढोली, औजी, परियार, नेपाली, गहतराज आदि थर लेख्नेलाई अछूत मान्ने र कामी, लोहार, सार्कीभन्दा तल्लो श्रेणीमा राख्ने चलन प्रचलित नै छ । ढोल र दमाहा बजाउने काम केवल औजी (आवजी)ले मात्र गर्छन् । उल्लेख्य के छ भने असवर्ण मानिए पनि कुमाउमा जागरको बेला यिनीहरूलाई अछूत मानिँदैन । यसमा उनीहरूलाई औजी, देवदास र गुरु भनिन्छ । यिनीहरूलाई राईदास, विणी दास अथवा धरम दास पनि भनिन्छ ।
तालका जन्मदाता भगवान् शिवलाई आदि नर्तक अथवा अर्को नाम नटराज हो । उनी संगीतका जन्मदाता पनि हुन् । ढोलसागर ढोलको तालसम्बन्धी ग्रन्थ हो । हिमालय क्षेत्रमा ज्योतिष तन्त्र मन्त्र र नृत्य संगीत आदिसँग सम्बन्धित सबै ग्रन्थ शिवद्वारा रचित र शिव पार्वती संवादका संकलनका रूपमा उल्लेख गरिन्छ । यस्ता ग्रन्थमध्ये प्रमुख ग्रन्थ ढोलसागर मानिन्छ । यो लोक संगीतको प्रमुख ग्रन्थका रूपमा लिइन्छ । विश्वको प्रत्येक ढोल बजाउने मानिसलाई भगवानदास वा देवदास र औजी पनि भनिन्छ । पश्चिम नेपालतर्फ ढोल दमाहाको वादन र नृत्य ढोलसागरको सिद्धान्तमा आधरित हुन्छ ।
ढोलसागरको पहिलो भागमा सृष्टिको उत्पत्तिको वर्णन पाइन्छ । यसलाई जागेश्वरी ढोलसागर भनिन्छ । अर्को भागमा ढोलको वर्णन, यसको उत्पत्ति, बजाउने कलाको बारेमा विस्तृत उल्लेख छ । यस भागलाई चिष्टकला ढोलसागर भनिन्छ ।यो ग्रन्थमा ढोलको उत्पत्तिका सम्बन्धमा पार्वती भन्छिन्, दोपते उत्पन्न ढोल ददी द्वापते उत्पन्न दमामे कनक द्वीपते कनक, थरहरी बाजी किरणे मण्डल ते चार किरणी बाजे सिंदु द्वापते सिन्दु थरहरी बाजी न दुथरहिते सिंदु थरहरी बाजै चौ दिशा की चार चासणा बाजी चार चासणीं की चाखास रणों बाजी चार चासणों की चार तेल बाजी (दुई पदमा उत्पन्न भएको ढोल दुई पदमा बजेर दमाहासहित कनक दविपमा थर्काउँछ । यसको बजाइले सूर्यको किरणमा समेत कम्पन ल्याउँछ । यसको आवाज किरणमा फैलिएर चारै दिशाको जल थलमा समेत तरंग ल्याउन्छ । चारै दिशामा बजाउँदा यसले रणमा समेत दुश्मनहरूको हौसलालाई नाश गर्छ)।
ढोलको बनावटका सम्बन्धमा यसरी उल्लेख छ— ढोल्या पार्वतीले बटोलिन्, विष्णु नारायणले गढाए, चारेजुग ढोल मुढाया ब्रह्माजीले ढोलमाथि कंदोटी चढाए (ढोलको अवधारणा पार्वतीले बटुलिन, विष्णुले ढोलको आकार सिर्जना गरी चारै युगमा ढोल तयार गरे, ब्रह्माले त्यसमाथि आफ्नो चिह्न राखे ) । ढोलको मूल र शाखा यसप्रकार छ, अरे आवजी उत्तर ढोली, ढोलको मूल, पश्चिम ढोली ढोलकी शाखा, दक्षिण ढोली ढोलको पेट, पूरव ढोली ढोलको आँखा (मुख्य आवाज आउने ढोलको भागलाई उत्तरको ढोली र ढोलको मूल मानिन्छ । पश्चिमको ढोलीलाई ढोलको शाखा, दक्षिणको ढोलीलाई ढोलको पेट र पूर्वको ढोलीलाई ढोलको आँखा मानिन्छ ) । श्रीवेद, सतगणेश, पासमतो, रणका, छणक, बेची, गोपी, गोपाल, दुर्गा, सरस्वती, जगती गरी १२ प्रकारका ढोल हुन्छन् ।
आवजाका मूल र कला, मन मूले, पौन कला, शब्द गुरु, सुरत चेला, सिंहनाद शब्दली, आव, शरत वसन्त देश धरती हो । मेरो गाउँ अलेकको नगर जमराज पुरी बस्तो गाउँ (यसको मूल मन, कला पौन (वायु), शब्द गुरु, बनावट शिष्य, गर्जन शब्दहरू, शरदको वातावरण भएको देश धरती हो । मेरो गाउँ अलेकको नगर यमराज पुरी गाउँमा बस्छु ) । चारै युगमा ढोलको इतिहास, द्वापरा मानदाताको वामदास, ढोली गगनको ढोलम तम शून्य शब्दम् । त्रेता युगे, मध्ये महेन्द्र नाम राजा बिदी पाल ढोली काष्टकी ढोलम आविष्कार । कलियुगेमध्ये वीर विक्रमाजित राजा भगवान्दास ढोली अरू तत्रको ढोल वस्त्रको शब्दम् पंच नामिक नमो नमः द्ववापर युगमा राजा मान्धाताको ढोली वामदास रही आकाशको ढोल बजाएर शून्य शब्द पैदा गरे । त्रेतायुगमा राजा महेन्द भए र विंदी पाल ढोली भई काठको ढोल आविष्कार गरे । कलि युगमा राजा वीर विक्रमजितको साथमा भगवानदास ढोली भए धातुको ढोल र वस्त्रको शब्द भयो । यिनीहरूलाई हाम्रो नमस्कार छ ) ।
ढोलसागरमा यसलाई कथाको रूपमा प्रस्तुत गरिएको छ । यसलाई ईश्वरोवाच र पार्वतीउवाच राखेर प्रश्न र उत्तर मिलाइएको छ । कथामा शिव, निरंकार निरञ्जन, निर्विकार शून्य सब एक रूप मानिएको छ । सुरुमा ओम, माता पिता गुरु र देवताको आदेश लगाइएको छ । विष्णु कमलबाट उब्जनु, कलमबाट ब्रह्मा जन्मिई ओमकार शब्द निस्केर सात द्वीप नौ खण्डको सिर्जना मानिएको छ । ढोलको उत्पत्ति शाखा, ढोल बनाउँदा डोरी चढाउने शरीरको सम्बन्धमा समेत वर्णन गरिएको छ । ढोलपछि वेदती, देवताको नाम दिइएको छ । १० दिशामा कुन कुन ढोल बज्दछन् तिनीहरूको नाम छ । चारै युगको ढोलीको नाम उल्लेख छ । चार वेदलाई बजाउने ताल र शब्दहरू राखिएका छन् । त्यसपछि सर्वत्र धौ धौकार र त्यसैदिन औजी (आवाज निकाल्ने) को उत्पत्ति भएको कथा छ ।
पृथ्वी उत्पत्तिको विषयमा भनिएको छ, पृथ्वी निरंकार हुँदै त्यसबाट साकार भयो । थल, जलको अन्डा आकार फुटेर नौ खण्ड धरती उब्ज्यो । निरंकार गोसाईबाट ब्रह्मा, अंग मलेर विष्णु, भौं मलेर भोलेनाथ, खुट्टा मलेर पारवती पैदा भए । यस्तै गोसाईले पृथ्वी, स्वर्गमा ईन्द्र र पातालमा वासुकी रचे । माटो पैदा गरी त्यसमाथि पृथ्वी राखिदिए । त्यसपछि तेत्तीस करोड देवता थापना भए । त्यसपछि सोह्र शृंगार गराएर महादेवले पार्वतीलाई नचाए । बाजाको छत्तीस ताल उल्लेख भएको ढोलसागरमा ढोलवादनका चार शैलीहरू रहेका छन् जसमा अमृत, सिन्धु, प्रराणी र मध्यानी । अहिले चार शैलीमा भगवानदासको मध्यानी शैलीमात्र उपलब्ध छ । यसका पनि चार उपशैली रहेका छन्— सुत्रिका, बाकुली, सेन्दुरी र झाडखण्डी ।
मध्यानी शैलीका प्रमुख तालहरूमध्ये बडाँई ताल, मंगल उत्सव र शुभकामनाको लागि प्रयोग हुन्छ । ढोलको घुयेल ताल देवताहरूको उपासनाका लागि र रहमानी ताल विवाहको अवसरमा बजाइन्छ । रहमानी ताल पनि सैनवार, उकाल र उन्दार गरी तीन तरिकाले बजाइन्छ । नौबत ताल उददीम दासद्वारा इन्द्रको दरबारमा बजाइन्थ्यो । अति प्राचीन नौबत ताल रातको दोस्रो र अन्तिम प्रहरमा कुनै मंगल उत्सव अथवा वसन्त ऋतुमा नित्य प्रस्तुत गरिन्छ । पहिले राजाको दरबारमा बजाइने नौबत तालअन्तर्गत नौपतन र बाइस पडतालहरू प्रस्तुत गरिन्थ्यो । नौपतमा नौ निधिहरू, बाइस पडताल, आठ सिद्धिहरू र चौध भुवनको अभिव्यक्ति हुन्छ ।
शिवको ताण्डव नृत्यताका प्रस्तुत गरिने चरितालिम ताल आजकाल लोप हुँदै गएको मानिन्छ । विजैसारको दुवै टुप्पोलाई तामाको तीन टुक्राले जोडिन्छ । यी तीन टुक्रा ब्रह्मा विष्णु र महेश्वरको प्रतीक हुन् । विजैसार त्रिदेवको सामूहिक शक्तिको प्रतीक मानिन्छ । यो भव भक्ति, विश्वरूपी ढोलको नियन्त्रणमा राखिन्छ । ढोलको निर्माण संसारको प्रलयपछि सृष्टिको सुनसानको स्थितिलाई भंग गर्न ब्रह्मा, विष्णु र महेशका साथै पार्वतीले गरेको मानिन्छ । यस नवनिर्मित ढोलको नाम शिवजन्ती राखियो ।
यसलाई सर्वप्रथम शिवले धारण गरेर सृष्टिको मनोरञ्जन गरेका थिए । ढोललाई ताल दिनका लागि तामाको दमाहा पनि सँगै बजाइन्छ । ढोल र दमाहाहरू बनाउँदा स्थानीय देवताहरूको नामसमेत लिइन्छ । देवताको पूजासमेतमा बाजाको प्रभावकारी भूमिका रहेको हुन्छ । पर्वहरूमा देवताको बढाइँ गर्ने आदि समयमा बाजाको आवश्यकता पर्छ । देवताहरूको मन्दिरमा पूजा तथा पर्व र विवाहका अवसरमा बाजा बजाउन आसपासमा दमाईहरू गाउँ बनाएर बसेका हुन्छन् । मन्दिर परिसरभित्र उनीहरूलाई बस्ने निश्चित ठाउँ तोकिएको हुन्छ । तिनीहरूलाई बाजाको ताल र कुन बेला मन्दिरमा कस्तो किसिमको ताल बजाउने जानकारी हुन्छ । धामीहरू नाच्ने अथवा कम्प दिने र देवतापिच्छे फरक रहेको बाजाको ताल उनीहरूलाई मात्र थाहा हुन्छ ।
केही गोप्य पूजा हुने मन्दिरमा भने बाजा गाजाको आवश्यकता पर्दैन र यिनीहरूलाई बोलाइँदैन । बाजे धामी (बाजा बजाए पछि काम्ने) भएको मन्दिरमा मात्र बाजाको प्रयोग हुन्छ । हाल दमाई भनिने गरे पनि बाजा बजाउनेहरूलाई पहिले राईदास विणिदास अथवा धरमदास भनिन्थ्यो । किंवदन्तीअनुसार एक चोटि देवलोक अर्थात् सपादलक्ष्यका देवताहरू कैलाशमा एकत्रित हुँदा विषको प्रकोपले सबै ग्रस्त हुन गए । सबै देवता आत्तिएर भगवान् शंकरलाई रक्षाका लागि प्रार्थना गर्न लागे । शंकरले सबैलाई आफ्नो पसिना एउटा शिलामा पुछ्न लगाए । त्यस शिलाबाट उत्पन्न भएका व्यक्तिलाई धरमदास भनियो । विणीदासले विजयसारको ढोल बनाएपछि राईदास अथवा रैदासले छालाले मोडे । धरमदासले ढोल बजाएर बिनतिको बोल बोलेर विषको प्रभाव शान्त गरेर समाप्त पारे ।
उत्तराखण्डतिर कालसैन देवताको प्रसंगमा मोतिया दर्जीको बारेमा उल्लेख भएको छ, जसलाई कालसैनका पिताका मित्र भनिएको छ । कुमाउको हुमधुरा पुग्दा गोरिल र सैम देवता जंगलको विषालु फूलको गन्धले बेहोश भए । नजिकै बसोबास गर्ने धरमिया दासलाई यो कुरा थाहा भएर उनले दमाहा बजाउने गजाले तिनीहरूको विष उतारिदिएपछि तिनीहरू गहिरो निद्राबाट उठे । धरमिया दास शिवका साथमा शिव पार्वतीको विवाहमा कैलाशबाट आएका र यही क्षेत्रमा बसोबास गरेको मान्यता छ । कालसैनको विवाहमा पनि यिनले नगारा बजाएका थिए ।
बझाङको बान्नी मष्टोको मन्दिर नजिक राक्षससँगको लडाइँमा देवी र मष्टो दाज्यू बहिनी मिलेर राक्षसलाई मारेपछि उसको शरीरबाट ढोल, टाउकोको भकुण्डो, हड्डीहरूको नरसिंहा करनाललगायतका बाजा र हात काटी दमाहा बजाउने गजा बनाई बजाउने साधन भएको मान्ने चलन छ । एक कथाअनुसार प्रभुले ब्रह्मालाई चार वेद पढ्न दिए । बिहान पढेर बेलुका बिर्सने क्रममा उनले अठासी हजार वर्षसम्म वेद पढ्दै रहे । ब्रह्म ज्ञानी भएपछि उनमा पढेको घमण्ड बढयो । प्रभुका भक्त रैदास चमारले १२ वर्षमा धुनी पूरा गरे । ब्रह्मा गंगाको दर्शन गर्नका लागि जान लाग्दा रैदासले आफ्नो पनि भेटी गंगालाई चढाईदिनु भनी पठाए । यो देखी ब्रह्माले भने, म त्यहाँ यो कसको हातमा दिऊँला ?
रैदासले जवाफ दिए, आत्तिनु पर्दैन मेरो भेटी भनेपछि माताले हात पसारेर लिनेछिन् । ब्रह्मा त्यता पुगेपछि गंगाले ठूलो छाल हानिन् । ब्रह्मा आफ्नो काम सकेर फर्किए तर रैदासको भेटी चढाउन बिर्से । आधा बाटो आएपछि उनी आँखा नदेख्ने भए । गंगातिर फर्कंदा उनको आँखा खुल्थ्यो भने घरतिर लाग्दा उनको आँखा बन्द हुन्थ्यो । उनले गंगा किनारमा फर्केर रैदासको भेटी चढाउँदै भने, रैदासको भेटी चढाउनु थियो । गंगामाईले भनिन्, रैदास मेरो प्यारो भक्त हो । भेटी चढाएपछि गंगाले एक सुनको पत्थर निकालेर ब्रह्माको हातमा दिइन् । उनी त्यो पाएपछि रैदासको घरको बाटो छलेर हिँडे । उनी जुन बाटो हिँडे पनि रैदास सामने उभिएका देखिन्थे ।

भूू- स्वर्ग हो बैतडी

■भूस्वर्ग हो बैतडी■
( बासुदेब पाण्डेयको फेेसबुक टाइमलाइनबाट साभार । )( फोटो - ब्लगर स्वयम् । )

अग्लो पावन धाम, देव रहने  हो तीर्थ  रौलेश्वर
आस्थाको प्रतिमूर्ति सुन्दर गुफा पातालभूमेश्वर ।
साह्रै सुन्दर ठाउँ पाटन यता अग्लो उताको गडी
हो भन्छन् अपभ्रंश'वायुतड'को विद्वान् हरू बैतडी ।।

गर्छन् देख र भाल नित्य जसको बाबा जगन्नाथले
देवीस्थान समान सुन्दर धरा टेकूँ त्यहाँ माथले ।
गौरा मौलिक चाड भिन्न रसको गाइन्छ ड्यौडा बढी
मेलौली,सतबाँझ ,च्वाँगढ हुने भूस्वर्ग हो बैतडी ।।

सुर्नाया र चमेलिया अलि ठुला,खोला बनी चञ्चल
जान्छन् लाग्छ समुद्र भेट्न जलको भण्डार बोकी तल।
राखूँ लाग्छ अपूर्व दृश्य तिनको कोरेर आँखाभरि
के साँच्चै वरदान नै प्रकृतिको हो साङ्ग्रिला बैतडी ?

अग्ला शैल सुरम्य फाँट झरना भण्डार साहित्यको
भाषा संस्कृति भिन्न मौलिकपना खानी पुरातत्त्वको ।
श्रद्धा गर्छु म तीर्थतुल्य जसको माया मभन्दा बढी
आमातुल्य छ पूजनीय अति नै प्यारो धरा बैतडी ।।

आएको म छु बाध्यतावश उता छाडेर बालापन
मेरो देह यहाँ रहे पनि उतै अल्झिन्छ मेरो मन ।
जाऊँ भन्छ शरीर,थुन्छु मनको लाई सधैॅ हत्कडी
सुत्दा यो मन पुग्छ गाउँघरमै के भुल्दथेॅ बैतडी ।।

खोड्पे,शैल सिगास धाम जगका केदार नागार्जुन
देमाडौॅस्थित बस्दछिन् भगवती रक्षार्थ सारा जन ।
हाँसेझैॅ अपि नित्य बस्दछ जहाँ माणिक्य सारा जडी
साँच्चै सुन्दर सौम्य शैलतनया जन्मस्थली बैतडी ।।