Monday, August 21, 2017

म जस्ता चरा ; चरा जस्तो म

म जस्ता चरा ; चरा जस्तो म


 झण्डै ४० बर्षपछि पितृगाउँमा मेरो नामले २ कोठे घर बन्यो । पुरानो पितरकुडीबाट २५ मिटर टाढा एकान्त , वरपर सबै देखिने तर छेक परेको ठाउँ । म जस्तो घुमन्ताको लागि यो बान्छनीय रैनबसेरा  नै थियो । मनमनै यो भवनको नामाकरण " शरणस्थली" भनेर गरेको थिए ।
“ यो आगनबाट त हाम्रा दयालु कुलदेवताका थानहरु प्रष्टै देखिन्छन  ।” कोही त्यसै घुम्न आउनेहरु भन्ने गर्दथे । " ओ हो, यहाँबाट त मन्दिरका घण्ट बजेको प्रष्टै सुनिदो रै,छ ।" कोही गफ गर्न आउनेहरु टिप्पणि गर्दथे । केटाकेटिहरु बेणु, तिम्ला, आरु, दाडिम टिप्न आउथे । कोहि प्रौढहरु आरा लगाएर ढालेका बडेमाका काप्राका रुखका दाउरा लुस्सुक लैजाने नियत बोकेर पनि झुल्किन्थे ।  कुरा यत्तिमै सीमित थिएन  । मेरी श्रीमतिजीको भनाइमा राम्रा च्याप्टा ढुंगा समेत लुकाएर ओसार्न केही आफन्त ढुकिराखेका हुँदारहेछन्  । गाउँबासी  मानब मात्रमा चलेको चलनानुसार पिताजीको शेषपछि यहाँ मेरो स्वाभाबिक हक बन्थ्यो नै ।  बास बनाएपछि भने केहि आफना पराया बने । केही टाढाका नजिक आए । एउटी भाईबुहारिलाइ यो आँगनमा टेक्न जात जाला जस्तो भयो । अर्की उपबुहारीले " गाउँमा गाँस खोज्न आएका" भनेर मन पखालेको सुनियो । यसरी म पुन: पितृभुमीको बसिन्दा बने ।
  यदाकदा यो कुटियामा एक्लै हुदा चारैतिरका जंगलहरु हेेर्दै बस्नुको आफ्नै रमाइलो थियो । त्यहाँ वनवासीहरुको पनि गाउँवासी बन्ने सम्भावना भएमा कति मजा आउने थियो ? सोचिन्थ्यो । खरायोलाई  एउटा कोठामा , फ्याउरो लाई दोस्रोमा, दुम्सीलाई तेस्रोमा, लोखर्केलाई चौथोमा, व्बाँसोलाइ पाँचौंमा, भालु छैटौंमा, एबम् रीतले चराचुरुंगी, माकुरा, माहुरीहरुलाई समेत फरक फरक बाडामा  बस्न दिन सकिने भए बसाइ क्या शानदार हुन्थ्यो, मन बहकिन्थ्यो… ।
  यहि मन बहलाइमा बाडाहरुको गन्ती गर्दै कसलाई कुन ठाउँ दिने भन्ने योजना बुनीरहेकै बेला एउटो फिस्टि चरी थाकेर मेरै छेउमा आएर बसी ।  चरीको बालसुलभ रमाइलो कथा सुन्न पाउने आशामा म मुस्कुराइरहेको थिएँ । केही बेर पछि उसले कथा अगाडि बढाउन थाली ।
  “मान्छैहरुले हाम्रो बासस्थान कुल्चेर सखापै पारिसके । फेरि फलफूल र पातहरु मात्र टिपे त हुन्थ्यो नि, उनीहरु त जरै समेत उखेल्छन् र पो । अनि कसरी पोथाहरु बढ्न सक्छन र ? बिगडैल मनुवाहरुले चाहिं चराचुरुंगीका गुँढहरु नै बिगारिदिन्छन् । ठूलाबडाहरु चाहिं राम्रा राम्रा रुखहरु काटेर ढाल्दछन् । अनि रुखहरु पनि कसरी आकाश छुन सक्ने हुनु ? छोटकरीमा भन्ने हो भने मान्छैहरुको उधुम अत्याचारले गर्दा हामी वनवासीहरुले भोग्नुपरेको आपद्विपद्को गन्ती गरेर साध्य छैन । उनीहरुले हाम्रो वनलाई हुनसम्म क्षति पुर्याइसके ।” लामो सास फेर्दै फिस्टो चरी  सानी छोरीझैं रुन पो लागी ।
  मैले बिस्तारै उसको मुण्टो मुसारिदिएँ । उसका प्वाखहरु ज्यादै छोटा र मुलायम थिए । उसप्रति कतिसम्म दया जागेर आयो भने उसलाई कतै जान नदिएर आफ्नो छातीमा टाँस्न मन लाग्यो । वनमा बनकै रैथाने बन्यजन्तु र बनचरीहरुका लागि जताततै खतरैखतरा भएको मलाई भान भयो । वन भनेको जंगल नै त हो । जंगलराजमा न प्रहरीहरु हुन्छन , न त हरेक रुखमा पाले नै …। त्यसैले बन काननमा पनि बिद्रोह पलाएको रहेछ । बराहराज बटालियन बनाएर खेतबारीमा छापामार्न आएका, कपिबृन्दले आगनका मकैमा समेत धावा बोलेका खबरहरुको पछाडी बसेको यथार्थ बुझिनमा आउदै थियो  ।
   फिस्टि मैयाँ चरीले फेरि आफ्नो दयनीय रामकहानी सुनाउन थाली :
   “मान्छेहरुले वन विनाश गरेको देउताले पनि टुलुटुलु हेरिरहनुपरेको छ । उनी उग्र रिसाएका छन् । जे भए तापनि ऊ कालोझाडीको देवता नै हो, वनको रहस्यमय आत्मा हो । एकपल्ट मैले पलाउन थालेका  मुना र फूलका कोपिलाहरुको शोकाकूल स्वर सुनेको थिए । बनबाट फर्केका गाइगोरुको घन्टीको टिनटिन  पनि त्यस दिन रोएजस्तो लाग्दै थियो । मान्छैहरुले मन्दिरका ठुल्ठुला घण्टाहरुको आवाज त सुन्न सक्तैनन् , बुझ्न सक्दैनन् । मुना- कोपिलाको आर्तनाद नसुनेकोमा आश्चर्यको कुरै के छ र ?"
  “रक्षा गर, देवता, रक्षा गर । हाम्रो रक्षा गर्ने कोही भएन ।,, उनीहरु प्राचीन देवताको आँखाको नानीको गहिराईमा भित्रसम्म हेरेर पुकारा गर्दै थिए ।
  हाम्रा भुमीदेवताको हृदय असहनीय पीडाले भरियो । तर उनले मन्दिर नामको अमुक थलोको गब्युरमा थुनिएर घोर कलियुगे मनु- सन्ततिहरुको दुष्चक्रबाट रक्षा कसरी गर्न सक्तथे र ? एकाएक उनले भने : “बुझ्यौ त, म पनि अब तिमीहरुसंगै बस्ने गर्दछु  ।”
 उनीहरुको यस्तो वार्तालाप सुनिरहेको लङ्गूरले अचम्म मान्दै आकाशको उँचाईसम्म उफ्रेर उद्गार प्रकट गर्दै भन्यो : “कस्तो अनौठो प्रस्ताव । तर कति मौलिक, कति चमत्कारपूर्ण ।”
  मुना- कुसुमहरुले आफ्ना हरिया आत्माहरुद्वारा गमेर सोचविचार गरेपछि भुमी देवताको प्रस्ताव स्वीकार गरे ।
म पनि फिस्टो चरीको मोहक कथा सुनेर मख्ख परिरहेको थिएँ र मेरो कानमा पनि आनन्दले रमाइरहेका फूलहरुको गुञ्जन घन्किरहेको थियो, उनीहरुको सुमधुर संगीत गुञ्जिरहेको थियो ।
“वन्य जन्तुहरुको माझमा कवि र कलाकार पनि हुँदा हुन् त यस्तो सौन्दर्यको चित्रण अवश्य गर्दा हुन् । चित्रकारहरुका कुचीले स्वतः नै क्यानभासमा भव्य चित्र लेख्ता हुन् । यस्तो दिव्य सौन्दर्यको रसपान नगरी कोही पनि अगाडि बढ्ने थिएन होला ।”
यसरी फिस्टो चरी आफ्नो कथा भन्दै थिई । उसले अगाडि थपी :
“हाम्रो गुँड सखाप पार्न थालिएको देखेर हामीले पनि कुनै बेला देबताको शरण लिएकाछौ । सबै सुतेको मौका पारेर मात्र हामी गुँडबाट उडेर बचेराहरुका लागि चारा खोज्न निस्कन्थ्यौं । त्यतिखेर बचेराहरुलाई पनि रुन र कराउन हुँदैन भनेर कडा चेतावनी दिनेगरेका थियौं । हाम्रा बचेराहरु भनेको खूब मान्दथे र हामी नफर्कुञ्जेल चूप लागेर बसिरहन्थे । उनीहरु न रुन्थे, न कराउँथे, न त गीत नै गाउँथे, न ता चुलबुल नै गर्दथे । हाम्रा बचेराहरु निकै ज्ञानी बनेर हुर्केका छन् । यस्ता बच्चाहरुको आमा बन्न पाउनु पनि सौभाग्यको कुरा हो ।” फिस्टो चरीले गवौक्ति प्रकट गरी ।
“पितृत्व पनि त गर्वकै कुरा हो नि । देख्दिनौ, सन्तान नभएकाहरु कति बिझाइला हुन्छन् ।” मैले पनि आफना छोराछोरी सम्झे ।  
“वनमा हरेकले राम्रो काम गर्ने अवसर पाउँछ । यसमा लामा लामा ब्याख्यान दिन सकिन्छ । " यसो भन्दा फिस्टो चरीले मेरो  अनुहारतर्फ पुलुक्क हेरी । मैले अलि सतर्क भएर एैनामा आफ्नो मुख हेरें । मेरो च्यूँडोमा बाक्लो दाह्री उम्रिराखेको थियो । म दाह्री खौरन चाहन्नथें, त्यसैले दाह्रीले पनि मलाई निकै मन पराएको थियो ।
" हामी अनुहार पढन सक्छौ । भाषाभित्रको भाव समात्न सक्छौ । हेर त, तिम्रो आगन भरि कति बनचरी निर्द्वन्द घुमीरहेकाछन् ।" मलाई निःशुल्क वनको भाषा सिकाउने फिस्टो चरीले मलाई फुर्काउँदै भनी । अनि ऊ मेरो दाह्रीतर्फ फुर्र उडेर आई र ठुंगले बिस्तारै मेरो दाह्रीको रौं मिलाउन लागी । आगनभरि भंगेरा, ढुकुर, सारौं, राइचरी, बनभ्याकुर भरिएका थिए । मैले अकमक्क परेर टिप्पणी गरें । ” यतिका चराहरुलाइ मेरो घर आगनमा न गुँड बनाउन मिल्छ, न त धेरै तला भएको घर नै निर्माण गर्न सकिन्छ ।”
“संसारमा बाच्नु भनेको पनि त अप्ठेरै खालको छ नि । तैपनि हामी सबै बाँचैकै छौं क्यारे ।” दार्शनिक पाराको खगबृन्दको समवेत स्वरको चिरबिर आगनभरि पोखियो ।
एकाएक गौथलीका तीनै बचेराहरु कताबाट हो कुन्नि भुर्र उडेर आए । उनीहरु तँछाड् मछाड् गर्दै भनिरहेका थिए : “हामीले अब आफ्नो परिवार बसाउनु छ । हाम्रो पुरानो गुँडमा भंगेराहरु अबैध रुपले जबरजस्ति कब्जा गर्दैछन् । तर तिम्रो दलीनमा अर्को राम्रो  घर बनाउन सकिन्छ । हामी त्यसमा मजाले बस्न सक्नेछौं ।  मीठो भोजन खान हामीकहाँ तिमी पनि पाहुना बन्न सक्नेछौ ।” बचेराहरुले आतिथ्यसत्कारको वचन दिए ।
“धन्यवाद । धन्यवाद । म भाइ बुहारीहरुले भने सोचेजस्तो भोको छैन । मात हालेको जमीन र उणाल ल्याएको जोइलाइ स्याहार्न खोजेको पनि छैन । सित्तैको गाँस खोज्न यहाँ आएको पनि हैन ।” तर्सेर मेचमा अडेस लिंदै मैले भनें । काप्राकै रुखको मुढोमा बसेको म सम्साँझै झकाएको रहेछु ।
( कुसे औसी २०७४, काठमाडौं ।

No comments:

Post a Comment