समुन्नत सुर्काल ; एउटा बिकास परिकल्पना-२
भौगोलिक अवस्थिति
यस क्षेत्रकै प्रमुख देवताको शिरस्थान मानिएको ग्वाल्लेक धुरा ( प्राचिन बायु पर्वत) मेरो गाउँको सिरानमा बसेकोछ । यो ग्वाल्लेक धुरा धामको पुर्बी पाटोतिर असिमी केदारको बृहत्तर धार्मिक क्षेत्र पर्दछ । श्रीकेदारको आलभित्र परेकोले यसको छोटकरी स्वरुप अपभ्रंस हुदै सुरकाल भएको हो भन्ने अध्येताहरुको भनाइ छ । ब्यक्ति वा थर बिशेषका लागि आल ( क्षेत्र) छुट्ट्याउने प्रचलन हाम्रो देशमा पहिले देखिनै चलेकोहो । काठमाण्डौ खाल्डोलाई मात्र नेपाल भनिएको यथार्थमा त्यो नेवा: जातिको आलबाटै अपभ्रंश भएकोहो । ग्रामको सानो रुप गृह भए जस्तै आल( (क्षेत्र)को सानो रुप आलय (घर) प्रत्यय लागेका थुप्रै शब्दहरु लोक-प्रचलनमा रहेका छन । यसरी श्रीकेदारको आल कालान्तरमा श्रीकेदार आल,श्रीआल, हुदै सुरकाल भएको हुन सक्दछ । गाँउका सनद सवालहरुमा साविक देखि स्थापित श्रीकेदार देवताको गुठी अहिलेसम्म सोही नामबाट राजगुठीमा दरिएकोछ । स्थानिय लोकश्रुती अनुसार लोकदेवताहरु खपरे ( अठौति मल्ल ? ) दैत्यसंग लडाइ गर्नु अघि मन्त्रणाकालागि यसै गाउमा जम्मा भएका थिए रे । देवताहरू यो एकै ठाऊमा जम्मा भएका हुनाले श्रीको आल भनिएको होला भन्ने अडकल छ ।
गाँउकै सेरोफेरोमा देखिने सिढीजस्ता गराहरु, त्यसभन्दामाथिको हरियो जंगल र अझ माथिको रहस्यमय पर्वत श्रृखला मिलेर यो गाउँमा गजबको बान्की हालेकोछ । गाऊको छेउछाउ बग्ने खोलाहरुको किनारमा ऊभिएका हरिया बृक्षहरुको लामो लहर पर्बतीय ढलान हुदै क्षितिजमा हराएको दृश्यले यहाको परिबेशलाई थप रहस्यमय बनाएकोछ । यो आलभित्र शिबस्वरुप मानिएका श्रीकेदारका बिभिन्न रुप र शिबगणहरु स्थापना गरिएकाछन । बिबिध नामरुपले प्रचारित यिनीहरुको परीचय दिदा देवस्थल र स्थान बिशेषको झिनो अन्तर छुट्याउन गारो पर्दछ । जे भए पनि श्री केदारको आल नै बर्तमानको सुरकाल हो ।
समुद्र सतहबाट करिब ८ हजार फिटको उचाइमा रहेको त्रिशुलाकार पर्बत श्रृंखला र त्यसको वरपरको क्षेत्रलाइ ग्वाल्लेक धामको रुपमा बैतडी जिल्लाभरि नै श्रद्धा र बिश्वासको केन्द्र मानिन्छ । पश्चिम महाकाली पारिबाट आउने चिसो स्याँठलाइ रोक्ने हुनाले प्राचिन समयमा यसलाई बायु पर्बत भनिन्थ्यो । बायु पर्वत वरिपरिकोतटीय क्षेत्रलाई बायु तट भनिएको र कालान्तरमा यहि शब्द अपभ्रंसित भै “बैतडी” बन्नगएको हो भन्ने बिद्वानहरूको बिचार छ ।
जे भए पनि सुरकाल गाउको पुरै पश्चिमी पार्श्व ग्वाल्लेकको छत्रछायामा छ । बैतडी जिल्लाभरिनै यो ग्वाल्लेकका पर्बतिय श्रृंखला भएर बग्ने नदिहरु र यसको वरपरको जंगलको बिशिष्ट महत्व छ। जैबिक बिबिधताको दृष्टिले यो क्षेत्र सारै धनी छ।
हालको प्रशासनिक संरचनामा यो गाउँ बैतडी जिल्लाको दशरथचन्द नगरपालिका अन्तर्गत ७ नं. वडामा समाबेश छ ।
प्रशासनिक संरचनागत परीचय
चार भाई केदार र सात बैनी भगवतिको जिल्ला भनेर चिनिने बैतडी अमरशहीद दशरथचन्दको जन्मथलोको रुपमा समेत सुपरिचित छ ।दशरथचन्दकै नाममा सदरमुकामस्थित नगरपालिकाको नामाकरण भएकोछ । माहाकाली नदीले भारतसंगको अन्तर्राष्ट्रिय सीमाना छुट्याएकोछ भने स्थानिय निकायको पुनर्संरचना गर्दा हाल बैतडी जिल्लामा चार नगरपालिका र छ: गाउपालिका कायम भएका छन् । यसैगरी साबिक दुर्गास्थान गा बि स को वा नं ४,५,६,७ मा रहेका स्थान हाल द न पा-७ मा दरीएका छन् । प्राप्त भएका राणाकालिन सनदहरुमा यी चारै वडाको समुच्च क्षेत्र तथा हाल मेलौलि न पा-२ मा गाभिएका केही गाउँ र जमिन बि. सं. १९४५ को आदेस बमोजिम श्रीकेदारको पुजाआजाको लागि गुठी तोकिएको भनिएकोछ । सायद ४२ सालको पर्बपछि बिर समसेरको पालामा यो स्थलको महत्व दृष्टिगत गरी यसरी नित्य पुजाको प्रबन्ध मिलाइएको हुँदो हो । हाल पर्यन्त यो ब्यबस्था कायमै छ । उहिलेदेखि विशेष आदरका साथ सम्बोधित यो "श्रीकेदारको आल ( क्षेत्र )" असीमकेदारको मूल मन्दिरको वरपर झण्डै १० कि मि. ब्यासमा पर्दछ
बैतडी ; तथ्याङ्कमा
अवस्थिति- २९.१९ देखि २९.४१ उत्तरी अक्षांस र ८०.१५ देखि ८०.५४ पुर्बी देशान्तर
उचाइ- समुद्र सतहबाट ३९० देखि २९५० मिटरसम्म ।
क्षेत्रफल -१४५१.१३ बर्ग किलोमिटर
सरदर वर्षा- १२६.७७ मिलिमिटर
तापक्रम सरदर- १५.0८ देखि २४.६३ डिग्री सेल्सियस
प्रशासनिक बिभाजन – ४ नगरपालिका र ६ गाउँपालिका ।
कुल खेतीयोग्य जमीन-३१४८५ हेक्टर (२१.२%)
खेती गरिएको जमिन- २५७०० हेक्टर (१७.२%)
बनजंगल-५८५८२ हेक्टर (३९.४%)
चरीचरन-१९१९९ हेक्टर ( १२.९%)
( श्रोत- बिकास बुलेटिन २०७४, जिल्ला समन्वय समितिको कार्यालय, बैतडी )
बैतडीको ऐतिहासिक र सांस्कृतिक सन्दर्भ
स्कन्द पुराणको मानसखण्डमा बैतडी क्षेत्रका बिभिन्न धार्मिक महत्वका स्थानहरुको बर्णन गरिएकोछ । मानसखण्डमा महाकालिलाई श्यामा र श्यामाको बायाँतर्फको किनारका दिब्य बस्तीहरुलाइ बायुतट भनिएकोछ । यथा,
" श्यामा बाम भागे वै दिब्यो बायुतट: स्मृत: "
कालान्तरमा लोकबोलीले बायुतटलाई बैतडी भनेर सम्बोधन गर्नथाल्यो । पश्चिमबाट आउने चिसो बतासलाइ छेकेर यो क्षेत्रलाई शस्यश्यामला बनाउने यहाँको सर्बोच्च बरदानी पर्बतलाई पनि पहिला बायुतट पर्बत नै भनिन्थ्यो । मानसखण्डमा लेखिएकोछ-
पश्चिमे तस्य वै बिप्रा:, गोप कानन संज्ञकम् ।
हिमालय तटे पुण्यो नगारण्यो गिरी स्मृत: /
यस्मादे सरित: सर्बा सम्भुव: शिबबल्लभे ।
पुण्ये मानसखण्डे वै सूर गन्धर्ब सेविते ।। मानसखण्ड १६९/१८ ।।
यसरी बायुतट पर्वतको नगारण्य ( पर्बतिय बन ) कालान्तरमा गोप-कानन कहलियो । ग्वालाहरुको यो लेकको बैतडीमै सबभन्दा अग्लो धुरालाई अचेल ग्वाल्ळेक भनिन्छ । बेदमा बर्णित अग्नी देवता , बायुदेवता, सुर्यदेवता, चन्द्रदेवता, लोकदेवता आदिलाई यहाँको लोक मानसले अझै स्विकारेकोछ र यस लेकभरि नै यिनै देवताहरु बस्दछन भन्ने बलियो बिस्वास छ ।
त्यसो त गङ्गोत्री र बद्रीको बीचमा रहेको हिमालयको एक सिखरमा अवस्थित शिबलिंगलाई केदारनाथ मानिन्छ । पश्चिम सिमान्त नेपाल, भारतको कुमायुँ र गडवाललाई केदारखण्ड समेत भनिन्छ । यस खंडमा सप्त केदार स्थापित छन । यि सात केदारहरुमा १- ग्वाल्लेक केदार,२- रौलाकेदार, ३- मलिकार्जुन केदार, ४- लाना केदार ५- भागेश्वर केदार , ६- धजकेदार र ७- थलकेदार हुन। ( श्रोत-डोट्याली बृहत शब्दकोष ) ।यस मध्ये चारकेदार बैतडीमा अवस्थित छन् । यी स्थलहरु कुनै न कुनैरुपमा सात बैनी भगवतिका मन्दिरसंग भौगोलिक र सांस्कृतिक सुत्रमा जोडिएका छन । यसरी नै शिब-शक्तिको यो संगमस्थल केदारखन्ड नै मानिएको भारतको कुमाउ गढवालसंग समेत सामाजिक सांस्कृतिक सम्बन्धमा बँधिकोछ ।
असीम केदार बृहत्तर धार्मिक क्षेत्र
ग्वाल्लेक पर्वतको पुर्बीपार्श्वमा बग्ने गोदावरी र धारावतिको संगममा प्रख्यात असीमकेदार मंदिर अवस्थित छ । यो मंदिर समेत चारैतिरको प्राकृतिक रुपले सुन्दर र धार्मिकरुपले अति पबित्र क्षेत्रलाई असीम केदार बृहत्तर धार्मिक क्षेत्र भनिएको हो । यहाँ " उपहरे गिरिणाम् , सङ्गमे च नदिनाम् ( ऋग्बेद ८/६/२८) " भने जस्तै प्रतेक गिरि टाकुरा र नदि सङ्गमहरुमा देबस्थल-तिर्थस्थल रहेकाछन् ।स्थानिय निकाय पुनर्संरचना हुँदा हाल यो पबित्र क्षेत्र दशरथचन्द न. पा को वा. नं. २,७ र ८,मेलौली नगरपालिकाको वा नं २ र ४ र पंचेश्वर गाउँपालिकाको वा नं ५ मा पारिएकोछ ।
बैतडी जल्लाको डिस्ट्रिक्ट प्रोफायल २०७१ अनुसार तत्कालिन दुर्गास्थान गा बि स का ४,५,६,७ नं वडामा क्रमस: ९८,६८,८४,८४ गरी ३१४ घरमा ५४३,३१३,४३४,४२९ समेत जम्मा १७१९ जनसंख्या छ। साबिक दुर्गास्थान गा बि स ले २०७१ मा तयार गरेको आवधिक गाउबिकास योजनाको पुस्तिकामा दिइएका यो क्षेत्रसंग सम्बन्धित केहि गणितिय तथ्याङ्क र जिल्ला पार्श्वचित्र २०७१ का अनुसार साबिक दुर्गास्तानको औसत परिवार सदस्यसंख्या ५.५ का आधारमा पनि मोटमोटि जनसंख्या ४१६*५.५=२२८८ हुन आउछ ।०५३ मा दर्ता भएको तत्कालिन दुर्गास्थान ४,५,६,७ वडाको ग्वाल्लेक सामुदायिक बनको सर्बेक्षन रिपोर्टमा कुल ३२८ घरको जनसंख्या १८६८ देखिन्छ । सो सामुदायिक बनले १८९.३२ हेक्टर क्षेत्रफल ओगटेको थियो। यहाँको ३१८ हेक्टर जमिनमध्ये २०३ हेक्टरमा सिचाइ हनसक्छ । दुर्गास्थानको गरिबि दर३८.६८% मानिएकोछ । तर साक्षरता६४% मा पुरुष ८२.३२ र महिला ५०.३२ देखिन्छ ।श्रोतका अनुसार कृषि र पशुपालनमा ९०% मानिस सँलग्न छन र ९८% घरधुरिको आफनै खेेति र पशुपालन ब्यबसाय छ ।
एउटा सर्बेक्षण अनुसार द न पा -७ को तथ्याङ्क हाल निम्नानुसार देखिन्छ ।
अवस्थिति
जनसंख्या- १९५७ ( महिला ९७२ र पुरुष ९८५ ) परीवार संख्या-३११
जमीन उपयोगको स्थिति ( हेक्टरमा )- खेतिपातिमा प्रयोग - ११९ ( सिंचाइ हुने-११५ नहुने- १०४) खरफगला -७४ बाँझो-४ र सार्बजनिक -८ हेक्टर ।
बन -सामुदायिक बन-१ (१९० हेक्टरमा ) कबुलियत बन- १५ जति ।
पशुधन-भैंसी- २९५, गाई २०४, बाख्रा- ६१४ र गोरु-२२९ ।
शैक्षिक अवस्था-६८ उच्च शिक्षा,७२७ माध्यमिक शिक्षा, ९४३- साक्षर र २१९ निरक्षर ।
सामाजिक स्थिति-बाहुन १६९१ क्षेत्री-१२०, दलित-१४६
सार्बजनिक संस्था-वडा कार्यालय र २ वटा आधारभूत बिद्यालय ।
हालसम्मको रोजगारीको अबस्था-नेपालमा नौकरी ६७ जना । बिदेशतिर काम गर्ने- १६७( अधिकांश भारतमा ), स्थानिय काठपात मिलाउने, गारो लाउने काममा-२४, व्यापार- १३, पेन्सनजिबी- २२, कृषि- अन्य सबै ।
बिकासका लागी प्रस्तावित योजनाहरुको खाका
१.धार्मिक/ पर्यटकीय क्षेत्रमा पुर्बाधार निर्माण , पुनर्संयोजन/ पुनर्ब्यबस्थापन र सौन्दर्यीकरण -( ग्वाल्लेक धाम, असीमकेदार मन्दिर, खपरे युध्दस्थल, केदार मन्दिर, गौरा मैदान र कैलपाल /)
असीमकेदार मन्दिर र ग्वाल्लेक केदार धामको अवस्थितिले यो गाउँँ ऐतिहासिक र धाार्मिक दृष्टिले पनि महत्वपुर्ण छ । आर्थिक विकास, सामाजिक एकीकरण र आबद्धताको माध्यम पर्यटन मानिन्छ । यहाँ रहेको अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदा नै पर्यटन विकासका प्रमुख आधार हुन् । पर्यटकीय पूर्वाधारहरुको मापदण्ड तयार गरेर पर्यटन पूर्वाधारको विकास, विस्तार, सौन्दर्यीकरण, प्रबर्द्धन र तत्सम्बन्धी आयोजनाहरको कार्यान्वयन गर्नुपर्ने देखिन्छ । संगसंगै विभिन्न पर्यटकीय गतिविधी, उत्पादन र गन्तव्यहरु जस्तैः पर्वतीय पर्यटन, साहसिक पर्यटन, पदयात्रा पर्यटन, ग्रामीण, खेलकुद पर्यटनको विकास सम्बन्धी कार्यहरु क्रमस: थप्दै जानुपर्ने हुन्छ । धार्मिक र पर्यटकीय स्थानको लामो श्रृंखला हुनसक्ने भएकोले मूलत: यो श्रीकेदारको आऽलभरी घुम्न सकिने गरि श्रीक्षेत्र परीक्रमा-पथ को परीकल्पना गरिएकोछ । असीमकेदार मन्दिर, खापरे युध्दस्थली, ग्वाल्लेक धुरा, श्रीकेदार तपस्या धाम र कैलपाल क्षेत्र हुँदै यो परीक्रमा पूरा हुन्छ । परिस्थिति अनुसार यो यात्रा लम्ब्याउन वा छोट्याउन सकिनेछ । यी पाँचै पबित्र स्थानमा निम्नानुसारका काम गर्नुपर्ने देखिन्छ । लागत अनुमान र प्राथमिकता तोक्न बेग्लाबेग्लै बिस्तृत अध्ययन गरी लगत इष्टिमेट गर्नु पर्ने हुन्छ ।
१.१-असीम केदार मन्दिर
(असिमकेदारको मन्दिर मानसखन्डको प्रसिद्ध केदारशैलीमा निर्मित छ । हालको मन्दिर क्षेत्रमा असिमकेदारको प्रतिस्थापना सत्तरौ शताब्दिको शुरुतिर भएको मानिन्छ । त्यस भन्दा अगाडि ऐचेकाणाको केदार गुफाको मैदानमा र त्यसभन्दा अगाडि तेले लेकको जंगलमा असिम केदारको पुजाआजा गरिन्थयो रे । सम्भवत: आदि शंकराचार्यको उत्तराखन्ड आगमनताका नै असिमकेदार स्थापना भएको हुँदो हो । यो क्षेत्र भरि नै असिमकेदारलाई श्री र सहकालका देवता मानिन्छन् ।
किम्बदन्तिहरुका आधारमा असिमकेदार कत्युरगढबाट तोलिको जंगलमा आएका थिए। त्यहाँको लेकमा जुकालागेर रक्ताम्य भक्तिनी महिलालाइ रजस्वला (नछुने) भएको ठानी पुजारीले मन्दिर प्रबेश गर्न दिएनछ। कालान्तरमा तिनै भक्तिनीको सरापले तेलेको लेकबाट ऐचेकाडाको लेकमा असिमकेदार सरेको मानिन्छ। यसै कारण अहिले पनि तेले लेकको सो स्थानमा जुका हुदैन भन्छन। ऐचेकाडाको डाडामा बस्दा यस क्षेत्रका देबीदेवता र कुमाउबाट आएका अठौतिमल्ल खापरेको बिचमा लडाई भयो रे। नदि किनार दोभानमा भए बगाइ दिन्थे भनेर धम्की दिएकाले ति दैत्यको शेखि झार्न हालको स्थानमा असिमकेदार सरेको हुन भन्ने मान्यता छ।
यहाँका धार्मिक गीतहरुमा असिमकेदारलाइ ससालिंग ( सम्भवत: सहश्रलिंग) र असीग्राम भनिन्छ। त्यसो त यि सबै एउटै श्रृखलाका देवता हुन्। यिनको समान पुजापध्दति र अवस्थिति छ। असिमकेदारलाई बर्षाको देवता पनि भनिन्छ। ग्वाल्लेकको आलका बिभिन्न गाउबाट पानी माग्ने भनेर जात्रा ल्याउने चलन अझै कायम छ। मन्दिर क्षेत्रको नदि किनारमा ब्रतबन्ध गर्ने र पर्ब स्नान गर्ने चलन बढदै गएकोछ। बडादशैको नवरात्र, भाद्र र माघको शुक्ल पंचमीदेखि अष्टमी सम्म ठुला पर्बको रुपमा बिशेष पुजाआजा हुन्छ। न्वागी( नयाँ अन्न) चढाउने कार्तिक र साउन शुक्लपक्ष तथा जेठको दशहरा पर्बमा समेत बिशेष पुजाआजा गरिन्छ। पुजा आजाको लागि गुठीको ब्यबस्था छ र प्रतेक सक्रान्ति, औसी र पुर्णिमा समेत पुजा लाग्दछ।
ग्वाल्कधुराबाट निक्लने गोदा गाड(गोदावरी) र दक्षिणवर्ति थरौटबाट निक्लने धारीगाड (धराबति) को दोभानमा असिमकेदारको मन्दिर अवस्थित छ । यो मन्दिर उत्तराखन्डकै बास्तुकलाको केदार शैलीमा निर्मित छ। नदिहरुमा तर्नकालगि फटकेतरको ब्यबस्था छ र वरिपरि मनोरम धार्मिक बन छ। मन्दिर पर्खालले घेरिएकोछ। नदि तटमा स्नानधाट बनाइएकाछन।
मन्दिरमा तीन खन्ड छन। सबभन्दा बाहिरको खुलाखण्डलाइ नालिउर भनिन्छ। यहा खासगरी भजन किर्तन टोलि र साधु मन्डली हुन्छन। दोस्रो खण्डमा हवन कुण्ड छ। बिभिन्न राठले चढाएका चार खाममा मन्दिरको ढाँचा टेकाइएकोछ। यसलाई चौखाम भनिन्छ र यी खाम बिभिन्न देवताका नाममा समर्पित छन। चौखामभन्दा अगाडी पुजारी भन्दा अरुलाइ निषेध गरिएकोछ। बडू बाहेकका अन्य थरघरहरुले बस्ने ठाउँ निश्चित गरिएकोछ। बिशेष राठबाहेक ठगुरीहरु भित्र आउन पाउदैनन।
तेस्रो खण्ड गब्युर (गर्भगृह)मा पुजारीले मात्र प्रबेश गर्न पाउछन। त्यहा प्राकृतिक शिलाको रुपमा असिमकेदारको पुजा बैदिक बिधिपुर्बक गरिन्छ।
यो मन्दिर यस क्षेत्रका बिभिन्न जाति उपजातिहरुको संगमस्थल समेत हो। असिमकेदारका धामीले अहिले पनि आफुलाई सुर्जको घाम, दुबलाको देउ या कालझाडीको घुग्गु भनेर उदाहरण दिने गर्दछन। यसको अर्थ हुन्छ,सर्बत्रबराबर पहुँच भएको, दुबला(गरीब)हरुको देवता र कालो जंगलमा निर्व्दन्द घुम्न सक्ने र अध्यारोमा समेत देख्नसक्ने घुग्गु लाटोकोसेरो जस्तो। यो उक्ति वास्तबमा मननीय छ।
दुई नदिको संगममा खास मन्दिर करिब आधा रोपनिमा बनेकोछ । तटबन्ध निर्माण पुरा भएपछि मन्दिर वरपरको परिसर करिब २ रोपनी हुनआउछ । संरक्षित धार्मिक बन करिब ६ रोपनी होला । मन्दिर वरपरको जमीन समेतको उपयोग गरि मन्दिर माथिको खर पाखो पनि मिलाउदा २० रोपनी थप्न सकिन्छ ।एक बर्ष अगाडी बनेको बाटो बारै मास गाडी चल्नसक्ने गरी मर्मत सुधार गर्न बाँकी नै छ । पानीको श्रोत मनग्गे भएकोले मन्दिर हातामै धाराहरुको ब्यबस्थापन गर्नसकिन्छ । सम्पुर्न मन्दिर क्षेत्रलाई तारबारले घेरेर संरक्षण गर्नु पर्ने देखिन्छ ।परम्परादेखि नै प्रतेक औसी पुर्निमा, संक्रान्ती र महत्वपुर्ण पर्बमा पुजा चलाइन्छ । पर्बहरुको बिबरण अनुसुचीमा राकिएकोछ । गुठी ब्यबस्था भए पनि यो नियमन गर्न बाँकि छ । मन्दिर हाता नजिकै यात्रु गृह र भान्छा घर छ, तर त्यति ब्यबस्थित छैन । हाल नगरपालिकाले मन्दिर मर्मत सुधारका लागी आबधिक रुपमै करिब २५ लाख बजेट छुट्याएकोछ । र यस्को निरन्तरतामा स्थानियहरु बिश्वस्त छन । तत्कालिन जिल्ला बिकास समितिको आवधिक जिल्ला बिकास योजनामा समेत प्रतिबर्ष सरदर ३ लाख रकम मन्दिरको पुर्बाधार निर्माणका लागि छुट्याएको देखिन्छ ।
हाल द न पा ७ मा रहेको मुख्य गाँउ सुर्काल ( श्रीकेदारको आल ) को केन्द्र भागमा रहेको असीम केदार मन्दिरलाई आधार बनाइ यी देवताको आल ( निबास गरेको स्थान , प्रभाव क्षेत्र ) भरिको बिकास निर्माण खाका कोर्न र यसै आधारमा पर्यटकीय गतिबिधि बढाउनका लागि "असीम केदार बृहत्तर धार्मिक पर्यटकीय क्षेत्र बिकास" को अवधारणा ल्याइएको हुनुपर्छ । श्री र सहकालका देवता भनेर चिनिएका असीम केदारको प्रभाव यो भेग भरि ने छ । मुख्यत: ग्वाल्लेक धुराको सिङ्गै पुर्बी ढलान, मेलोली न पा को वा नं २ र ३ तथा पाटन नपा को वा नं,५ मा समेत असीम केदारको आल पर्दछ । प्रचलित परम्परा र पुराना सनद सवाल बमोजिमको गुठी ब्यबस्थाका आधारमा मूल गुठियार बडू ब्राह्मणहरुलाई तोकिएको भए पनि बिशेष कामका लागि निश्चित बर्जना सहित निश्चित थरलाइ कार्यभार दिइएकोछ । जस्तै- गर्खाका ठगुन्ना बोहरा र भन्डारिहरुलाइ जात्रापर्बमा मुलधामीको सवारी चलाउने, लुहारहरुले बाटो बनाइ दिने, दमाइले बाजा बजाउने, चन्द ठगुरीमा सलेनाको कबजयु राठले मात्र मन्दिर भित्र पसि पुजा आराधना गर्न सक्ने र नयाँ निर्माणमा दुध र माटो मुछी गारो लगाउने, कपर्तिराठले गाथ बढेमा बिणी( सानो पर्खाल ) लगाउने, मेघराठ- दसुराट- सक्दुराठले निर्माणमा सहयोग गर्ने, दलुराठ नसौट( मन्दिरभित्र पुाआजामा बस्ने ठाउँ ) को ५ हातसम्म स्थान पाउने, पतुराठले मन्दिर ढोकामा उभिन पाइने तर नदि तर्दा खुट्टा नभिजाइ फटकेतर ( ठुला ढुङ्गा ) मा मात्र टेक्नु पर्ने जस्ता परंपरा अद्यापि जिबित छन् ।गुठियार तोकिएका बडू, पैतोला ( पाण्डे ), बोहरा, भन्डारी, लुहार समेत १८ मोही र २ मुखियाले सम्पुर्ण पुजापर्बको ब्यबस्थापन गर्नु पर्दछ । यो ब्यबस्थापन सहभागितामुलक र समाबेशी छ । बिबिधता र पर्यापर्यटन, गाउँका जैबिक उत्पादन र चाडपर्बहरु, तिर्थाटन र पर्यटनकालागि आकर्षक धार्मिक गन्तव्य , ग्रामीण कला संस्कृति , मनोरंजनस्थल, बनभोजस्थल र अध्यात्मस्थल यहाँका आकर्षणकेन्द्र हुन सक्दछन ।
।असिमकेदारकै मूल मन्दिरदेखि आधा मील नजिक मध्य खेतमा सानो मन्दिर हालै बनाइएको छ। मट्टे मोटा बडबाबको मन्दिर-बडू बंशका पुर्खाहरु यो गाऊमा स्थापित हुनुभन्दा अगाडीका भुमिपति मानिएका मट्टेलाई माटोका मालिक भनेर पुजा गरिन्छ। यिनी भौतिकरुपमा ठुलो जिउडाल भएका बलबान ब्यक्ति थिए रे। त्यसैले यिनलाइ अझै नि मोटा बडबाब भनिन्छ। शाकाहारी सदाचारी भएकाले असिमकेदारकै पुजाको अवसरमा यिनको पनि पुजा हुन्छ। यिनका जेठा छोरा साना मट्टेको भने तन्त्रोक्त बिधिपुर्बक बली चढनेहुँदा गाउँभन्दा अलिबाहिर उत्तर पाखोको चिमिर्खा भन्ने स्थानमा स्थापना गरिएकोछ। यो आल भरिनै बलि चढने भनेको यो नै एक मात्र स्थान हो। यि मोटा बडबाबहरू ततकालिन प्रतापी र सूर पुरुष हुनु पर्दछ। यिनका सन्तान सबै मारिए या अन्यत्र बसाइ सराइ गरे, यो अनुसन्धनेय बिषय हो। यिनीहरु बार भाई भएको बिश्वास गरिन्छ। बुढा मट्टेले बीस पुलासोत्तरको भारीसंगै खुट्टाले खेलाएर ल्याएको कालो पाट( कालो स्लेट ढुंगा) अहिले पनि यसै नामले सुरकालको चौरा चौतारोमा राखिएकोछ। नवरात्रीको पञ्चमीमा बुढा मट्टेको बिशेष पुजा हुन्छ। ३,३ बर्षमा बडूहरुले यिनको जागर लगाउनु पर्ने प्रचलन छ। यिनलाइ चौरा नजिकै कातहालेर मारिएको थियो भनिन्छ। जागरण गीत गाउदा यिनलाइ मार्न प्रयोग भएको अझै सुरक्षित तरवार काँप्ने गर्दछ रे। यिनका नाबालक छोरालाइ भने ब्रह्महत्याको पाप नलागोस भनेर तन्त्र शक्तिद्वारा बाघ बोलाएर मार्न लगाइएको थियो रे। जे होस युद्धको आफनै नीति र नियति छ। तर युद्दमा हार्नेहरुलाई समेत सम्मान गरिएको बिशिष्ट परम्परा यो गाऊँमा अझै प्रचलित छ।)
१.१.१- मूल मन्दिर पुनर्निर्माण
१.१.२- मन्दिर हाताको बिस्तार
१.१.३- मन्दिर परिसरको सौन्दर्यकरण
१.१.४- नदि तट र घाटको सुप्रबन्धन
१.१.५- अतिथीघर/ किर्तनघर/ भोजनगृह/ प्रतिक्षालयको निर्माण
१.१.६- स्नानघर र शौचालयको निर्माण
१.१.७- धार्मिक पुस्तकालयको स्थापना
१.१.८- प्राचीन ऐतिहासिक / धार्मिक / सांस्कृतिक सम्पदा संरक्षण
१.१.९- पुरातात्विक महत्वको मोति बाजेको घरको अवशेष संरक्षण
१.१.१०-मट्टे बडबाब, बामनी आमा र द्वारपाल देवता थानको संरक्षण
१.१.११- धार्मिक बनको संरक्षण संबर्धन ।
१.१.१२- पुष्पोद्यान/ हवनकुण्ड आदिको स्थापना
१.१.१३ प्रबेशद्वारहरुको निर्माण
१.१.१४ अन्तेष्ठि स्थल ब्यबस्थापन
१.१.१५ बहुद्देश्यीय नमुना पानी घट्ट निर्माण
२- खपरे युध्दस्थली
(यो उच्च समस्थलीको विशाल मैदानमा भएको लडाईका बारेमा यसक्षेत्रमै थुप्रै लोकगाथा प्रचलित छन्। भनिन्छ, नन्दादेवीले रोक्ने प्रयास गर्दा गर्दै पनि कुमायुको कत्युर गढबाट आएको युद्धिन्मादि अठौतिमल्ल र खापरेको संयुक्त फौज गंगोलिहाट, गोरंगा र चौपाखे हुदै महाकाली तरेर बैतडीको ईश्वरीगाडसम्म आइ पुगे पछि यस क्षेत्रका सबै देबीदेउताहरु सरसल्लाह गर्न असिमीकेदारको पुरानो यो स्थापना स्थलमा जम्मा भएका थिए रे। यहाँ भएको सल्लाह बमोजिम थागिल देवताले बनानी क्षेत्र, सिउनाथले हल्दु क्षेत्र, भागेश्वरले मछाइन क्षेत्र, रौलेश्वरले दोगडा क्षेत्र र कैलपालले कालीदेखि तोलीसम्मका मशानबासी गणहरु जम्मा गरी लडाइमा पुगेका थिए। लडाइमा केदारले घुडा धस्दा परेको भनिने बिशालकाय खाडलको बिचमा गुफा छ । यो १० किमि जति टाढा जर्कुसम्म पुगेको अनुमान गरिन्छ । )
१. २.१- सिमा निर्धारण र हाता संरक्षण
१. २.२- केदार गुफा संरक्षण र सौन्दर्यीकरण
१. २.३- असीम र कैलपाल थानको संरक्षण
१. २.४- पाहुना घरको निर्माण
१. २.५- देबोद्यान र नर्सरीको स्थापना
१.२.६- नमुना बतासे घट्ट ( wind mill ) को स्थापना ।
१.२.७- दम्यौला पखान पार्क निर्माण
१.२.८- प्राकृतिक आकाशेताल सुधार
१. २.९- हाटबजार स्थल र खेलमैदान निर्माण
१.२.१०- ग्लाइडिङ्गको अध्ययन सर्बेक्षण( तिलथली)
१. २.११- ऋषेश्वर आश्रम ( मजरखोला टप )
३- ग्वाल्लेक धुरा
(ग्वाल्लेक धुरा यो जिल्लाको अग्लो पर्वत टाकुरो हो । प्राचिन वायुतट पर्वत भएको नाताले बैतडीको न्वारान यसै ठाऊको नाउबाट गरिएको मानिन्छ । यो पर्बतको पबित्र लेकालीबनलाई यस क्षेत्रकै बिसिष्ट देवता ग्वाल्लेक केदारको बास मानिएकोले र बैतडी सदरमुकामबाट मात्र १५ कि मि जति सडक दुरीमा रहेकोले पर्यापर्यटन र धार्मिक पर्यटनका लागि महत्वपुर्ण गन्तब्यस्थलमा गनिएको हो । यो पबित्र धामको वरपर २७८८.२७ हेक्टरको बनक्षेत्र भित्र बिभिन्न बनस्पती प्रजाति, बन्यजंतु र चराचुरुंगी तथा महत्वपुर्ण जडिबुटिको प्राचुर्यता छ । एक अध्ययनका अनुसार महाकाली भेगमा पाइने भनिएका ६६ वटा बनौषधि मध्ये ४८ वटा यो लेकमा उपलब्ध छन । प्राकृतिक गुफा, घासेमैदान, तालतलैयाकालागि समेत यो क्षेत्र प्रसिद्ध छ । १० वर्ष अगाडी जि बि स ले तयारगरेको जिल्ळाको पर्यटकीय गुरुयोजनामा ग्वाल्लेक क्षेत्रलाई बेग्लै क्लष्टरमा राखी बिस्तृत अध्ययन गर्नु पर्ने भनिएकोछ ।
"ग्वाल्लेक " बैतडी सदरमुकामबाट १५ कि मि दक्षिण-पुर्बमा पर्ने प्राकृतिक बिबिधतायुक्त पबित्र धार्मिक शिखर हो । यो शिखरको फेदिसम्म नै सडक पुगेकोछ । यो पबित्र धामको वरपर २७८८.२७ हेक्टर क्षेत्रफलमा फैलिएको बनक्षेत्रभित्र विभिन्न बनस्पति प्रजातिहरु , बन्यजन्तु, चराचुरुङ्गी, महत्वपुर्ण जडिबुटिहरुको प्राचुर्यता छ । एक अध्ययन अनुसार सेती- महाकाली भेगमा पाइने भनिएका ६६ वटा बनौषधिमध्ये ४८ वटा यो लेकमा उपलब्ध छन् । केही अन्तर्राष्टिय स्तरमा महत्व राख्ने प्रजातिका बनस्पति पनि यहाँ भेट्टिएकाछन । प्राकृतिक गुफा, घाँसेमैदान, तालतलैयाका लागि समेत यो क्षेत्र प्रसिध्द छ ।
यो शिखरको वरपर असिमकेदार, सिमकेदार, महाद्यौकेदार, श्रीकेदार, देउलेककेदार, नकथरोकेदार, जर्गकेदार, बुढाकेदार, गणमेश्वर, महारुद्र,भुुमिराज, समैची, देउगडे, कैलपाल, सिमनाथ, जगन्नाथ आदि मन्दिर र शिबस्थलहरु स्थापित छन । त्यसैले यो इलाकालाई " ग्वाल्लेककेदार धाम " भनिन्छ । शिखरको चारै दिशामा त्रिपुरासुन्दरी, निगलासैनी, मेलौली, रैण्यासैनी र डागेश्वरी आदि भगबतिका मन्दिर छन । यस अर्थमा ग्वाल्लेक शिबशक्तिको संगमस्थल पनि हो । यहाँका मन्दिरहरुमा प्रचलित केही अनुष्ठानहरु र केही किम्बदन्तिहरुले यस्को पुष्टि गर्दछन् । यी मन्दिरहरुमा अमूल्य पुरातात्विक सांस्कृतिक सम्पदा र बहुमुल्य कलाकृति भएका देवभण्डारहरू छन् ।
स्थानिय तह पुनःसंरचना हुदा हाल दशरथचन्द नगरपालिका , मेलौली नगरपालिका र पंचेश्वर गाउपालिकाको केही वडा यसक्षेेत्रमा पर्दछन्। जिल्लाका सैयौ बस्ति यो बनमा आधारित छन । यो जलाधार क्षेत्र पनि हो । चारैतिरका बस्तिका पानिका मूलमुहान यहि छन् ।निकटवर्ति बजार र सदरमुकाममा समेत काठपात घासदाउराको आपुर्ति यहिबाट हुन्छ । यसरी झण्डै पचासहजार जतिको आबादि यो क्षेत्रबाट लाभान्वित छ । बनस्पतिहरुमा बाँज, खर्सु, बुरौज, ओखर, पाङर,चिलौने, अयार, सौण, सल्लो, रुइस, बैस, गणिया, चुक्या, लुइटो, दल्लो,बाणि,गणौल्या, खडीग, पणङेउलो, बकलपाते, काउलो, किटकाउलो, टप्पोल्या, काफल, सिलङो, दालचीनी, तेलपरो, भणुवा, पैयु, पिपल, सिमल, बणुवा,काँकणि, किरमणो, घङारु, मेल, कँणिया आदि प्रमुख छन । बन्यजन्तुहरुमा बाघ, चितुवा, घोरल, काँकण, थार रतुवा खरायो, दुम्सी(स:णो) आदि प्रमुख छन। बुढपाकाहरु यदाकदा कस्तुरी समेत देखिने गरेको कुरा बताउछन।
यहाँका चट्टानहरुमा शिलाजीत, अभ्रख, तामा खरिढूंगा, स्लेट, कमेरो र चुनढुंगा जस्ता खनिज रहेको अनुमान गरिन्छ। यहाँका बनजंगलहरुमा सहजै उपलब्ध हुने जडिबुटिहरुमा अमलादाना, तेजपात, बोझो, पाषाणभेद (शिलफोडे), सुगन्धवाल (सिमे), चुथ्रो(किरमणो), टिमुर, लोक्ता, काँकणी, सोमलता, दारुहल्दी, झ्याउ, बिषजरा, मजिठो, मुरली, जिबन्ति (भालुका केला), बुके फूल, कुरिलो (झीझराइन), चिराइतो, लेकतिते, बज्रदन्ति, कचुर, निगालो, सतुवा, गनानो, मकणबेली, खुचण्या, धपण्या, रातपाते, हत्ताजणि, आकाशबेली आदि प्रमुख हुन । जंगली फलफुलहरुमा ओखर, काफल, एसेलु, घङारु, किरमणा, माजरो, गोफला, मेल, बम्युर, मछाइन, अदल्ल्याहरुको नाम लिनसकिन्छ । यसबाहेकका हजारौ जडिबुटिको अध्ययन अनुसंधान हुन बाँकी छ ।
भगवानको लिलास्थल मानिएको यो क्षेत्रका बनस्पति ढंगो माटोलाइ पनि पवित्र मानिन्छ । अन्य मन्दिरहरुमा जस्तो यस धाममा जात्रा,मेला पुजा पाठको कुनै निश्चित तिथि पर्ब निर्धारित छैन । निष्ठापुर्बक जुनसुकै ब्यक्तिले जुनसुकै जुनसुकै स्थानमापनि पुजा गर्न गराउन सक्ने परंपरा छ । पुजा सामग्रीहरुमा जौ, तील, अक्षता, धूप श्वेत पुष्प, र सेतो बस्त्रको प्रयोग हुन्छ । त्रिशूल र तामा पितलका प्रतिमाहरु चढाउने प्रचलन छ । ग्वाल्लेकको आलभरिनै सनातन शान्ति कायम गर्न चर्को नबोल्ने, हल्ला नगर्ने, बाजा नबजाउने, छालाका बस्तु प्रयोग नगर्ने, मांस मदिरा बर्जित गर्ने, झुटो नबोल्ने जस्ता आचरण पालन गर्नु पर्ने नियम छ। चोखो मन र चोखो तनले गरिइएका आचरणबाट प्रत्यक्ष फल पाइएको किम्बदंति क्षेत्र भरी नै सुन्न सकिन्छ। केदार स्थापनाको बिशिष्ट परंपरा अनुसार ग्वाल्लेक क्षेत्रको वरपर धेरै शिबशक्ति पीठहरु छन्। सबैको शिरस्थान ग्वाल्लेकलाइ नै मानिन्छ। शिव पीठको वरपर अनेकौ भैरव गण, बीर र बाहनहरुको बास हुन्छ भन्ने बिश्वास गरिन्छ। यस्ता धार्मिक धरोहरहरूको संरक्षण सम्बर्धन गरेमा बाताबरणीय समस्या कम हुने, सामाजिक एकता बनि रहने र ग्रामिण पर्यटन फस्टाउनेछ। बैतडी भारतिय पर्यटकहरुको आकर्षक धार्मिक गन्तव्य हो ।पशुपति दर्शनका लागि मात्र हजारौं पर्यटक नेपाल आएजस्तै पुर्णागिरि दर्शन पश्चात् सिद्धनाथको दर्शनलागि महेन्द्रनगर आउने भारतिय पर्यटकको संख्यामा बर्सेनि उल्लेख्य वृद्धि भैरहेकोछ । यसै गरि बैतडीको त्रिपुरासुन्दरि, मेलौली, निगलासैनी, उदैद्यौ जाँतमा हजारौ सिमावर्ति भारतिय पर्यटक आउछन । यहाँका स्थानिय मेलामा भारतिय ब्यापारिहरुको समेत सहभागिता रहन्छ । ग्वाल्लेकको पर्यटकिय आकर्षण बढाएर यिनिहरुको भ्रमण अवधि लम्ब्याउन सकिन्छ र पर्यटक संख्या थपिदै जानेछ ।निकटवर्ति क्षेत्र पिथौरागढ र अलमोडा तथा नेपालको खप्तड क्षेत्र, निर्माणाधिन पञ्चेश्वर परियोजना, प्रस्तावित ग्वाल्लेक-मल्लिकार्जुन पर्यटन पदमार्ग समेतसंग सहसम्बन्ध बनाएर पर्यटकीय गतिबिधि बढाउन सकिने पनि प्रशस्तै सम्भावना छन । संरक्षित बनको उपयुक्त स्थानमा भारतको पञ्चचुली, नन्दादेवी तथा नेपालका अपि नाम्पा, सैपाल हिमाल हेर्न सकिने गरि दृश्यावलोकनस्थल तोकेर भ्यु्टावर बनाउन सकिए थप आकर्षण बढने देखिन्छ । लालिगुराँस ढक्मक्क हुँदाको समय होस वा हरिया घासे मैदानमा फूल फुलेको मौसम होस् , जैविक बिबिधताकालागि यो क्षेत्र ज्यादै उपयुक्त स्थान मानिन्छ । मुख्य क्षेत्रको जैबिक बिबिधताको संरक्षण गरि बाताबरणिय क्षति हुन नदिन संरक्षित बन कायम गरेर चारैतिर सहज पहुँच पुग्नेगरि चक्रपथको निर्माण गरेर बस्तिहरुबाट बनक्षेत्रसम्म पदमार्गहरु मात्र बनाइ बनक्षेत्रको चारैैतिर तारबार राख्ने र जलाधारक्षेत्र तथा पानीका मुहानहरुको संरक्षण गर्ने प्रमुख काम हुन बाँकी छ । यसकालागि सम्बन्धित निकायसंग समन्वय गर्नुपर्दछ । अन्य गरिनुपर्ने कामको बिबरण निम्नानुसार हुनसक्दछ । )
१. ३.१- पर्यापर्यटनका लागि पहुँचमार्ग रेखाङ्कन-
१.३.२- दृश्याबलोकन स्थल पहिचान र प्रचार प्रसार
१.३.३- दुर्लभ जडिबुटीको पहिचान र पंजिकरण
१.३.४- बन्य जन्तु अवलोकनस्थलको पहिचान
१.३.५ -चरा अवलोकनस्थलको पहिचान र प्रचार
१.३.६- बिश्रामस्थलको निर्माण
१.३.७- होर्डिङ बोर्ड, सुचनापाटीको ब्यबस्था
१.३.८- दशरथचन्द नगरपालिकाको वा नं २ र ८ संग समेत सहकार्य
१.३.९- मेलौली न पा र पञ्चेश्वर गाउँपालिकासंग समेत सहकार्य ।
४- केदार थान
(श्रीकेदारको पुरानो प्राकृत मन्दिर मुख्य गाउँको पश्चिमोत्तर भन्ज्यांगमा छ। असिमकेदार लाई ग्वाल्लेक केदारको आलभरि मानिन्छ भने केदारलाई सुरकाल गाऊँको सेरोफेरोमा मात्र सिमित गरिएकोछ। यहाँ खासगरी ईन्द्रजात्रा अनन्त चतुर्दशी ( भाद्र शुक्ल चतुर्दशी)का दिन बिशेष पुजा हुन्छ। यसबाहेक नवरात्रको पञ्चमी एबं जेठ, सावन र कार्तिकमा न्वागी चढाउदा पनि पुजा लाग्दछ।
यहाँ स्थानिय भाषामा फलाँट भनिने रुखको जरामा ज्योतिर्लिग रहेको मानिन्छ। एक जना पुजारी मात्रै बस्न मिल्ने सानो मन्दिर छ। यो मन्दिरमा ढुंगाकै छानो र ढुंगाकै ढोका हाल्नु पर्ने र पर्खाल समेत नराखनु पर्ने मान्यता छ। यहाँ सुन जनै, चाँदिका फूल, तामाका गाई, त्रिशुल र घण्टहरु चढाइन्छन्। पहिला यस गाऊँका मट्टे नै केदारका पुजारी थिए भन्ने किम्बदन्ति प्रचलित छ। हाल असिमकेदारका पुजारी नै यहाँ पुजा चलाऊदछन्।
यि एकान्तबासी केदारको समेत आफनै महिमा छ। सुरकाल र ढणौन गाउको सिमानामा समेत बुढाकेदार भनेर पुरानो केदार स्थापना स्थल छ। श्री र सहकालका लागि केदार भाक्ने प्रचलन छ। केदारका धामीहरु एक अर्कालाई भैया भनेर बोलाउछन । यसै सम्बोधनबाट समेत यिनको बिशेष सम्बन्ध थाहा हुन्छ। यहाँ दुधले स्नान गराउने बिशेषपुजा हुन्छ। यहाँको अन्य पुजा बिधि र ब्यबस्थापन असिमकेदारकै जस्तो छ।)
१.४.१- हाता बिस्तार र परिसर संरक्षण/ ब्यबस्थापन
१.४.२- तपस्या धाम निर्माण
१.४.३- जलकुण्डको स्थापना
१.४.४- दृश्यावलोकनस्थल ( गाइखोज )
१. ४.५- शान्त बनभोजस्थल ( गोलाडुङरी )
१.४.६- खेलमैदान ( घुसुणि डाङा )
५- कैलपाल क्षेत्र
(कैलपाल देवताको मन्दिर पुजरागाउँको शिर्षमा मुलबाटो नजिकै छ। असिमकेदारको ठुलो पर्ब मानिने माघ र भाद्रको दशमी तथा बिजयादशमीमा यहाँ बिशेष पुजा हुन्छ। यहाँ नयाँ अन्नको न्वागी पनि चढाइन्छ। स्थानीय पैतोला (पाण्डे) थरका ब्यक्तिहरु मात्र यि देवताका धामी हुन्छन्। चल्तीको मूलबाटो नजिकै पर्ने हुँदा मन्दिर जिर्णोद्दार गरिएकोछ। यहाँ पुराना धर्मशालाहरु पनि छन। कैलपाललाई असिमकेदारको गणपति मानिन्छ। नौ मन लुवाको गुर्जु(फलामको गदा) खेलाउने भनेर यहाँको लोकगाथामा बीर नायकको रुपमा यिनको पराक्रम बखान गरिएकोछ। असिमकेदारको पुजा भएकै पर्बमा यिनको पनि स्या: (सेवा) चढाइन्छ। हाल यो स्थान मेलौली नगरपालिकाको वा नं२ मा पर्दछ ।)
१.५.१- असीमकेदार मन्दिरसम्म पुग्ने सडक निर्माण
१. ५.२-कैलपाल मन्दिर हाता ब्यबस्थापन
१.५.३- लाटो देवता मन्दिर मर्मत सुधार
१.५.४- सुन्ने/ भकुन्ने थान संरक्षण
१. ५.५- असीम केदार भन्डार ब्यबस्थापन
१.५.६ मेलौली नगरपालिकासंग सहकार्य
६- सुर्काल चौरा चौतारी-
१. ६.१- गोराखेल मैदान र भन्डार घर निर्माण
१. ६.२- गुप्त ज्योतिर्लिंगेश्वर स्थल सौन्दर्यीकरण
१. ६.३- सार्बजनिक मन्च ( मोति मन्च )
१. ६.४- बाचनालय/ टेलीसेन्टर / सामुदायिक भवन
१.६.५- इको पार्क ( भन्तोली )
१.६.६- हाट बजार स्थल र बस पार्क
१.६.७- पितृस्तम्भ / धर्मबाटिका
२.भौतिक पुर्बाधारहरुको निर्माण- ( सडक, स्थानिय सडक, पूल, सार्बजनिक निर्माण, ठुला सिंचाइ, मन्दिर, पार्क, खेलमैदान, संचार )
२.१-दशरथचन्द नगरपालिका, ७ नं.वडा कार्यालय भवन निर्माण
२.२-स्वास्थ्य केन्द्र / शहरी स्वास्थ्य क्लिनिक स्थापना
२.३-सडक / पुल/ ढलहरुको क्रमिकरुपमा निर्माण सम्भार( कुमालीगाड- ऐचेकाँणा सडक खण्ड )
२.४-गाउँबस्तीका पैदल बाटोहरुमा पि सि सि गर्ने ।
२.५-साना सिंचाई कुलाहरु
२.६-पार्क/ प्रतिक्षालय/ खेलमैदान/ डंपिङसाइड/ चिहानको क्रमिक निर्माण ।
२.७-बिद्युत लाइन बिस्तार र ट्रान्सफरमर स्थानान्तरण
२.८-जलप्रकोप, भूक्षय नियन्त्रण
२.९-अप्टिकल फाइबर/ इन्टरनेटको बिस्तार
२.१०-मंदिर र देबस्थलहरुको क्रमागत मर्मत संभार
२.११-चिहानघाट / पानीघाट । चरन
२.१२-बैंकिङ सुबिधा/ सहकारी/ बसपार्क/ बजार
२.१३-ब्याबसायिक / औद्यौगिक क्षेत्र
२.१४.८ फोहर बिसर्जन स्थल ( डंपिङ साइट )
३.आर्थिक बिकास - ( कृषि, सिंचाइ, उद्योग, खानी, पशुपालन, धार्मिक- ऐतिहासिक पर्यटन, पर्यापर्यटन, जडीबुटी । )
३.१-शितोष्ण फलफूल खेतिको बिस्तार
३.२-तरकारी पकेट क्षेत्र थप ( कोइराली, माइखर्क, बगणा र पसक्वाल )
३.३- जडिबुटी र उच्चमुल्य बालीको खेतीमा अनुसन्धान र बिस्तार
३.४-जैबिक खेतिलाई प्रोत्साहन
३.५-साना प्रशोधन उद्योगको स्थापना
३.६-लोपोन्मुख बाली र जैबिक बिबिधताको संरक्षण
३.७-गाई,भैसी, बाख्रा, कुखुरा पालन ब्यबसायलाई प्रोत्साहन
३.८-पशुजन्य पदार्थमा आधारित प्रशोधन उद्योग स्थापना
३.९-हाउस वायरिंग / मेशिनरी मर्मतसम्भार / होटल( होमस्टे)/ , बायो ब्रिकेट हातेकागज/ निगालोका सामान सम्बन्धी तालिम ।
३.१०-बैङ्किङ र बितिय सेवामा सर्बसाधारणको पहुच सुनिश्चित गर्ने ।
३.११-तत्काल बहुमुखी सहकारी संस्था स्थापना र संचालन ।
३. १२-आन्तरिक आयश्रोत बृध्दिका क्षेत्रहरुको खोजी ।
३.१३-एकीकृत रणनितिक योजनाहरुको बिस्तृत सर्बेक्षण गराइ बाह्य सहयोगको संभावना पहिचान ।
३.१४-निजी र साझेदारी अवधारणाको बिकास ।
४.सामाजिक बिकास- ( शिक्षा, प्राबिधिक शिक्षा, खेलकूद, स्वास्थ्य, युवा परिचालन, खानेपानी, सरसफाई, )
४.१-सामान्य शिक्षा/ प्राबिधिक शिक्षा / बालबिकास केन्द्र संचालन ।
४.२-अभिभावकीय क्षमताको बिकास गर्ने
४.३-खेलकूद/ मनोरन्जन । खेलमैदान ( ऐचेकाँणा र घुसुणि डाङा )
४.४-स्वास्थ्य सुबिधाका लागि बिकास साझेदार संस्थाको सहभागिता जुटाउने ।
४.५-स्वास्थ्य केन्द्र/ स्वास्थ्य क्लिनिकको स्थापना र संचालन ।
४.६-स्थापित / प्रस्ताबित दुबै गाउघर क्लिनिक र प्रसुति केन्द्रलाइ श्रोतसाधन सम्पन्न बनाउने ।
४.७-युवा परीचालन मार्फत चाडपर्ब रीतिरिवाज संरक्षण संबर्धन र रुढिबाद न्युनीकरण
४.८-युवा स्वरोजगार कार्यक्रम मार्फत रोजगारी श्रृजना ।
४.९-दलित/ महिला/अपांग/ बरिष्ट नागरिक हकहित संरक्षण ।
४.१०-खानेपानी सरसफाई गुरुयोजनानुरुप खानेपानी बितरण
५-बन तथा बाताबरण- ( बन, वातावरण, जलाधार क्षेत्र संरक्षण, बिपद ब्यबस्थापन, भुक्षय नियन्त्रण, जलबायु, बैकल्पिक उर्जा )
५.१-संरक्षित/ सामुदायिक/ धार्मिक/ नीजी बनको लगत
५.२-जलाधार क्षेत्र/ पानीका सम्भावित श्रोत संरक्षण
५.३-खानी र खनीज सम्पदाको पहिचान र खनन उद्योग स्थापना ।
५.४-जडिबुटी / बनौषधि माथि अनुसन्धान र प्रचार प्रसार ।
५.५-बनजन्य उद्योग ( फर्निचर, हातेकागज, जडिबुटि संकलन, बायोब्रीकेट )
५.६-सोलार उर्जा / वायु उर्जाको परिक्षण र प्रयोग बढाउने ।
५. ७-सुधारिएका चुलो निर्माण, दुर्लभ बनस्पति संरक्षण, पानिमुहान संरक्षण,
५. ८-हरित उद्योग स्थापना, पर्यटकीयस्थल संरक्षण, जैबिक कृषि र जडिबुटि खेति, किचन गार्डनिङ्ग,
६.संस्थागत बिकास- ( नीजी, सामुदायिक संस्था, गै स स, सेवाग्राही र स्थानिय निकाय सबलीकरण , सहकार्य )
६.१-देब देबीस्थलहरुको संरक्षण सम्बर्धन गर्न ती स्थानहरु पर्यटकीय रुटसंग जोडने ।
६. २-आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न बुकलेट, ब्रोसियर, डकुमेन्ट्रि तयारगरि प्रचार प्रसार गर्ने /
६. ३- पर्यटन सुचना केन्द्र र पर्यटक सौगात गृहको स्थापना गर्ने ।
६.४-होटेल, होमस्टेका लागि उचित बाताबरण तयार गरि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने । पर्यटन सहयोगीहरु उत्पादन गर्ने र होर्डिङ्ग बोर्ड राख्ने, राख्न लगाउने ।
६.५- चरा अवलोकनस्थल, दृश्यावलोकनस्थल, अध्यात्मिक साधनास्थल, बनभोजस्थल, सुर्योदय र सुर्यास्त अवलोकनस्थल, पुनर्ताजगिकेन्द्रहरूको स्थापना, ब्यवस्थापन र प्रचारप्रसार गर्ने ।
६.६-पुनर्निर्माण र सुधारका नाममा हाम्रा पुरातात्बिक र सांस्कृतिक सम्पदाहरुमाथि हुनेगरेका अतिक्रमण र हस्तक्षेपहरु रोक्न जनमत तयार गर्ने ।
६.७-नमुनास्थल र पर्यटकीय संस्कृतिको बिकास गर्ने ।
६.८- निकटबर्ति भारतिय गाउँ नगरहरुसंग भातृसम्बन्ध कायम गरि सांस्कृतिक सहसम्बन्धको बिस्तार गर्दै पर्यटकहरु आकर्षित गर्ने ।
६.९-दीर्घकालमा त्रिपुरासुन्दरी र मेलौली मन्दिरसम्म केबुलकार संचालन गर्ने तर्फ प्रयास गर्ने ।
६.१०-स्थानिय उत्पादनबाट उपहारसामग्री तयारगरि सो को बजारिकरण गर्ने,
६.११-स्थानिय पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूमाथि अध्ययन अनुसन्धान गरि सामग्रिहरुको प्रकाशन गर्ने ।
६.१२-ग्रामिण कला, संस्कृति, भेषभुषा, प्रदर्शनीको आबधिक आयोजना गर्ने ।
६.१३-स्वास्थ्य सरसफाई, आयआर्जन र सीपबिकास, स्वच्छ उद्योग( होम स्टे, सामुदायिक पाहुनाघर आदि) स्थापना सम्बन्धी कामहरु गर्ने ।
६.१४-कम्प्युटराइज्ड इ- सेवा प्रणालीको अधिकतम उपयोग ।
६.१५-सामुदायिक सिकाई तथा सूचना केन्द्र, डाटा बेसको तयारी गरि सुचनामुलक सामग्रीको प्रकाशन बितरण गर्ने जस्ता कामकालागि तालिमको ब्यबस्था मिलाई उचित वातावरण तयार गर्ने
६.१६-बिपद ब्यबस्थापनको लागि न्युनतम तयारी ।
६.१७-सुशासन प्रत्याभुतिकोलागी कार्यक्रम संचालन ।
६.१८-अनुगमन र मुल्याङ्कन पध्दतिको संस्थागत कार्यान्वयन ।
७. स्थानिय चाहना अनुसार बस्ती बिशेष लक्षित पुर्बाधार बिकासका योजना/ निर्माण / कार्यक्रम
दशरथचन्द न पा को ७ नं वडामा साना ठुला गरि १२ वटा बस्ती / टोल छन् । यहाँका बासिन्दाहरुको तत्कालिन चाहना, त्यहाँका बाटाघाटो निर्माण, कुलोन्वालो निर्माण, पानीमुहान संरक्षण, देबस्थलको सुधार,ढुंगा/ माटो खानीको उत्खनन्, पोखरी निर्माण, आरन सुधार, घट्ट सुधार, खेल मैदान, चौतारी निर्माणमा मात्र सिमित छ । लोकचाहना अनुरुप ती स्थानमा यी निर्माण कार्य भएमा बृहतर बिकासका लागि अनुकुल वातावरण तयार हुने देखिन्छ ।
सि . नं.
|
बस्ती/ टोलको नाम
|
अनुमानित परीवार संख्या ३११
|
गर्नु पर्ने निर्माण / सुधारका कामहरु (३६)
|
१
|
चाऽल
|
२४
|
बजाण पानी मुहान संरक्षण / चिमिर्खा देबस्थल सुधार / केदारसम्म पिसिसि बाटो
|
२
|
तल्ला मल्ला डाडा
|
२२
|
युबा क्लब भवन /
|
३
|
गैर
|
२०
|
पिसिसि बाटो /
|
४
|
देउला/ डङाली
|
३३
|
घुसुणिडाङा खेलमैदान / फोखरी/ न्वालो निर्माण / बाटो
|
५
|
चोऽरा
|
२६
|
चौटा पानीमुहान संरक्षण / हुमेथलो सुधार । चौरा चौतारो ।
|
६
|
परीगाउँ
|
२१
|
पानी पोखरी । होमस्टे संचालन / आधुनिक पानीघट्ट ।
|
७
|
खुट्कुणिओडार
|
१९
|
आधुनिक आरन / कुलो / पोखरी
|
८
|
दयालगाउँ
|
३०
|
आकाशे टंकी / न्वालो । मन्दिर पर्खाल । हरभिटा बाटो
|
९
|
कोइराली
|
४०
|
बर्थिङ सेन्टर । शिशुकक्षा । पिसीसी बाटो
|
१०
|
डोबर/ ऐचेकाँणा
|
३७
|
चौतारो / नौला र ताल संरक्षण
|
११
|
माईखर्क
|
२२
|
नौला र खानेपानी संरक्षण / तरकारी पकेट
|
१२
|
तूणा / खन्यौला
|
२७
|
पानी पोखरी/ चौतारी / पिसिसी बाटो ।
|
स्थानीय तहको विकास योजना छान्ने, कुन योजना कसरी अगाडि बढाउने भन्ने गाउँपालिका र नगरपालिकाको सहभागितामूलक प्रकृया छ। गाउँ, नगरका वडा सदस्यले टोलटोलमा गएर विकासका आवश्यकताबारे छलफल गर्छन्। योजनाबारे विमर्श गर्छन् र वडाध्यक्षसहितको बैठकले गाँउ/नगर सभामा लैजाने योजना छान्छन्। ती सभामा वडाबाट आएका योजनामा फेरि छलफल हुन्छ, समीक्षा हुन्छ। ती सभाले पास गरेका विकास योजनामात्र अघि बढ्छन्। यो सहभागितामूलक विकास प्रक्रियामाथि धावा बोल्दै कसैले पनि एक्लै निर्णय गर्न सक्दैन । स्थानीय सरकारले सहभागितामूलक ढंगले छानेका विकास योजना सही नहुने, तर कसैले एक्लै, मनोगत ढंगले छानेका विकास योजना सही हुने भ्रममा कोहि पर्नु हुदैन ।
फेरि निर्बाचित गाँउ/नगरका निकायले चलाउने कार्यक्रममाथि बाहिरबाट कसैले हस्तक्षेप पनि त गर्न सक्दैन ।
रोजगारी, शिक्षा, स्वास्थ, सडक, यातायात, बिजुली, वातावरण, कृषि, विदेश सम्बन्धलगायतका मुद्दा अहिले नेपालका लागि पेचिला छन्। यिनको सम्बोधन गर्न नीतिनियम मात्र संसदले बनाउछ । यो कानुनी ब्यबस्था हो ।
भनिन्छ , अगाडि हिडदै गर्दा एउटा खुट्टा अघि सरेमा सारा शरीर पछि परेको खुट्टामा उभिएको हुन्छ । पछि परेको खुट्टा उभिने धरातल झनै महत्वपूर्ण हुन्छ । त्यसैमा टेकेर मात्र हामी अघि बढ्न सक्छौ । निजी जीवन, सामाजिक परिवर्तन र आर्थिक विकास सबैमा यही नियम लागू हुन्छ। आउनुहोस, हामी पनि निरन्तर अग्रगामी विकासको कुरामा स्वस्थ प्रतिस्पर्धा गरेर अगाडि बढौ ।
***--**