Sunday, May 6, 2018

सम्मुन्नत सुर्काल ; एउटा बिकास परिकल्पना- १

सम्मुन्नत सुर्काल ; एउटा बिकास परिकल्पना- १











बिषय-प्रबेश

      नेपालका बिसौं हजार गाऊँमध्ये मेरो सुर्काल पनि एउटा हो । सबै सामान्य गाऊँघरहरुको जस्तो यो गाऊँमा पनि सुख दुख दुबै छ । यहाँका गाउँलेहरु पनि अहोरात्र काममा खट्दछन । यहाँ धनी-गरीब, मोटा-दुब्ला, काला-गोरा, बुढा-तरुना सबै खालका मानिस बस्दछन । जे भए पनि र जो भए पनि सबै एउटै माटोले बनेका हुन ,एउटै माटोमा खेलेका-हुर्केका हुन् । यसैले सबै गाउलेहरु समान समस्या र समान बोली ब्यबहार भएका आम आफन्त हुन् ।
     अरु गाऊँघरको जस्तो यहाँ पनि धेरै जना खेतिपाति गर्दछन् , केहि पढदछन र थोरै जना बन्द ब्यापार गर्दछन । केहि यत्र तत्र नौकरी र ज्याला मजदुरी गर्न पनि गएकाछन । बसाइ सराइ गर्नेहरुको संख्या सारै थोरै छ । गएकाहरु पनि बिशेष पर्ब समारोहमा अबश्यै फर्कन्छन । अचेल सारै थोरैहरु एकअर्काका कुरा काटने, जान्ने सुन्ने भएको स्वाङ गर्ने र काम कम गरि गफ मात्रै हाक्नेहरुको नयाँ बर्ग पनि पलाएकोछ । जे भए पनि हाम्रा गाऊँलेहरुमा थुप्रै समानता छ । घाउ चोट सबैलाई दुखे जस्तै नमिठो बचन कसैलाई पनि राम्रो लाग्दैन । गाऊँ घरमा झैझगडा नहोस र मर्दापर्दा सबैको सहयोग रहोस भन्ने सबैको प्रयास रहन्छ । कुल मर्यादामा निहित उच्च आदर्शहरुको सबैले सकेसम्म पालन गर्दछन ।
     तर समष्टिमा गाउको सोच ब्यबस्थित छैन । यहाँका मानिस घरी एउटा कुरा सोच्दछन , घरी अर्को कुरा । गाऊँको पहुँचमा गतिलो स्कुल छैन । सामान्य स्वास्थ्य सेवा पनि उपलब्ध छैन । खेतीपातीबाट परीश्रम अनुसार आम्दानी भएको हुदैन । जल, जमीन र जंगलको समुचित प्रयोग भएको छैन । बिडम्बना र बिकृति निरन्तर बढिरहेकाछन । बदलिदो बिश्व परिबेशका नबीनतम बिचार बुझ्न गाउलेहरुलाई हम्मे हम्मे परेकोछ ।
      सुदुर पश्चिमको ग्राम्यांचलहरुमा कुनैपनि कामगर्दा ‘माटि दाहिना रहुन’ भनेर स्थानिय भुमी देवताको आशिर्वाद माग्ने गरिन्छ । आपत बिपत पर्दा माटो गुहार्ने ( माटि घत्याउने ) र देउघात हाल्ने प्रचलन अध्यापि देखिन्छ । यहाँका प्राचिन शैल शिखरहरु, पबित्र पाटनहरु र  शिबस्वरुप शिलाहरुलाइ चेतनशील शक्तिको रुपमा पुजा गरिन्छ । यहाँका प्रतेक कंकरहरु शंकर हुन् , फलत: माटोले निसाफ बिगार्दैन भन्ने यस क्षेत्रमा बलियो जन बिश्वास छ । यहि बलियो बिश्वासका आडमा जनमानस पनि एक किसिमले भाग्यबादी बनेर तटस्थ जीवन बाँचीरहेकोछ ।
    यिनै मान्यताको पृष्ठभुमीमा म मेरो यो गाऊँ सम्झिरहेकोछु । काली कुमायूँको चिसो स्याँठलाई छेक्नेगरी पश्चिमपट्टि उभिएको बिशाल बायु पर्बत र यसै पर्बतिय श्रृंखलाको छायामा हुर्किएका प्राचिन ऋषि मनिषिहरुका आश्रमहरुलाई नमन गर्दै यो गाउँका प्रतेक बुङा-थुम्काहरु, दोमिल्ला-दोभानहरु, तोली- भन्ज्यांगहरु र शेरा-बगरहरुमा स्थापित लोकदेवताका किम्बदन्तिहरुलाई स्मरण गरिरहेकोछु । ग्वाल्लेकमा रोपाई नभएसम्म तथा दुबोको रुखमा उक्लिने र दुबोको छायामा बस्ने मानिसहरु नजन्मे सम्म यो गाऊँमा कलियुगको पुर्ण प्रभाव पर्ने छैन भन्ने मेरो गाऊँको जन बिश्वासप्रति सम्मान जनाउछु । म यस महान धरतिको पुत्र हुँ भन्ने मलाइ गर्ब छ । हाम्रा बन्दनीय स्थानिय देवता श्रीकेदारको आल (क्षेत्र ) मानिएको मेरो सुरकाल गाऊँको गौरब गाथा सम्झदा मेरो मन-मयुर सारै आल्हादित हुन्छ ।
स्कन्दपुराण मानसखण्डमा काशि बनारस भन्दा पनि यो समुच्चा क्षेत्रलाइ पुण्यप्रदा मानिएकोछ । यहाँका प्रतेक बन प्रान्तरमा शिबजीको बास छ भनिन्छ । कैलाश मानसरोबरको यात्रा-पथ यिनै लेक बेशी भएर हिमाल पारी पुग्दछ । देवताहरु परिभ्रमण भैरहने यहाँका रमाइला पाटन र पर्बतहरुको आआफनै बिशेषता छ । यहाँको भुगोलमा कतै रामकृष्ण का गाथा गाइन्छन भने कतै पबित्र पादुका चिन्ह छन । पाण्डबले बोकेका भनिएका बिशाल शिलाखंड र यिनै ले बनाएका मन्दिरहरू अझै देखिन्छन । रामले खोलेका धाराहरु र सीताले न्वाउने नाउलाहरुको लामो बिबरण तयार हुनसक्छ । यहाँका कोट-गढी, बुंगा-बनहरूको स्वतन्त्र र शौर्य सम्पन्न इतिहास छ । प्राकृतिक सम्पदा, गिरी-शिखर, ताल-तलैया, ढुंगा-माटो, आगो-पानी, घाम-बतास समेतलाई भगवानकै स्वरुप मान्ने सुदूर पश्चिमेलि परम्पराबाट हेर्दा यहाँको पाइला पाइलामा देउताको बास छ जस्तो लाग्दछ । यो बिसेषता समुच्चमा यस क्षेत्र भरिकै हो । यस लेखमा बर्णित सुर्काल गाऊँका सन्दर्भमा पनि यहि बिशेषता उल्लेखनिय छ ।
यो पृष्ठभूमी र बर्तमान कालक्रमको परीप्रेक्षमा थातथलोको महिमा, पुर्बजका पौरख र भाबी बिकासको सम्भावनाका बारेमा सबैले जानकारी राख्नै पर्ने हुन्छ । यसो भएमा मात्र समाजमा एकता र सद्भावको बिकास हुन्छ । स्वस्थ र सन्तुलित दृष्टिकोण तयार हुन्छ र सुन्दर सुनिश्चित भबिष्य निर्माणगर्ने दिशामा अग्रसरहुन सकिन्छ ।
बिकास बहु आयामयुक्त हुन्छ । हामीहरु आफ्नै किसिमले बिकासलाई परिभाषित गरीरहेकाछौ । यथार्थमा हामी के चाहन्छौ? बिकास यसै उत्तरमा आधारित हुन्छ । रोगीको ईच्छा बिरुद्ध उपचार हुन सक्दैन भने जस्तै गाउलेको चाहना अनुरुप नै बिकास हुने गरेकोछ र हुनु पनि पर्दछ ।
यस सन्दर्भमा हामी कस्तो गाउँ बनाउन चाहन्छौ ? चर्चा र छलफलको बिषय हुनसक्दछ । सामान्यतया बाहिरी बिश्वसंग सजिलो सम्पर्कमा रहेर पनि आफ्नो अलग्गै अस्तित्व राख्न सफल भएको, स्वाभिमान र सम्मानयुक्त समाज रहेको तथा आधुनिक सुबिधासम्पन्न सुन्दर गाउँ नै गाउँलेहरुको अभिष्ट हुन सक्दछ  । निरन्तर बिकासको चाहना, दिगो बिकासको चाहना र सकारात्मक बिकासको चाहना, सर्बाङ्गिण बिकासको चाहना, मानिस मात्रको नैसर्गिक स्वभाव हो ।गतिमान मनुष्य मात्र बिकास संबाहक हुनसक्छ । तिर्थाटन- पर्यटन परिपाटीको आदिम प्रचलनका पछाडी यहि गतिमान मनुष्य हुनसक्छ । यो गाउँको प्राकृतिक भुगोल बदल्न नसके पनि बहुतायत बासिन्दाहरुले आफ्नो गाउँमा तपसिलका बिकास काम भएको हेर्न चाहन्छन्  ।
  • कुनै पनि गाउँलेले गाडी गुड्ने सडकसम्म पुग्न १०/१५ मिनेटभन्दा बढि हिड्न नपरोस् ।
  • सामान्य स्वास्थ्योपचारकोलागि बढिमा आधा एक घंटाको दुरीमा न्युनतम सुबिधा सम्पन्न उपचार केन्द्र होस् ।
  • बालबालिकाहरुले राम्रो जिबनोपयोगी शिक्षा पाउने सुअवसर सजिलै प्राप्त गरून् ।
  • कृषि योग्य भुमीमा सिंचाइको ब्यबस्था होस र खेतीपातिमा गाउँ बढीसे बढी आत्मनिर्भर होस् ।
  • सनातन परम्परामा सर्बजन हिताय सामयिक सुधारले नीरन्तरता पाओस ।
  • बैकल्पिक रोजगारीका अवसरहरु गाउँमै सीर्जना हुन् ।
  • जाँगरीला सीपयुक्त युवाशक्तिको पलायन रोकियोस ।
  • स्वस्थ मनोरंजनको वातावरण बनी रहोस् । …… आदि ।
उल्लेखित बिशेषतायुक्त गाउँ हुनका लागि मोटामोटी निम्न सूचकहरुबाट गाउँको बिकासमापन गर्न सकिन्छ ।
  • सुबिधायुक्त घर आगन । (green clean home)
  • गाउँमा सजिलो पहुँच । ( transport accessible )
  • खान र बेच्न पुग्ने खेतिपाति । ( sufficient agriproducts )
  • अतिरिक्त आमदानीको जोहो । ( additional income  source )
  • स्वस्थ् वातावरण । (healthy environment )
  • न्यूनतम स्वास्थ्योपचार सुबिधा ।( minimum health facility )
  • सुशिक्षित सीपयुक्त बासिन्दा । ( skilled & literate dwellers )
  • सामाजिक सदाचारको निरन्तरता ।( social harmony )
यो सब हुनका लागि हामीसंग प्रकृति प्रदत्त सम्पति के के छ त ? त्यस्को पनि सूची निकालौ ।
  1. स्वस्थ पानीका मुहान ।
  2. प्रसस्त बन जंगल ।
  3. खानी उद्योगका संभावना ।
  4. कृषि योग्य जमीन ।
  5. चरीचरनको प्राचुर्यता ।
  6. मनोरम प्राकृतिक दृश्यावली ।
  7. पुरातात्विक सांस्कृतिक धार्मिक सम्पदाहरु।….आदि ।
      तर नित्य नयाँ प्रबिधिको बिकास तथा नौलो परिबेशको सम्पर्कले गाउँसमाजमा रोजगारिका परम्परागत ब्यबसाय कृषि पशुपालन आदिबाट युबापुस्ता क्रमस: टाढिदैछ  । समाज ब्यबसायका नौला बिकल्प खोज्न नसकेर दिग्भ्रमित भएकोछ । फलत: बेरोजगारीसंगै गरिबी र तत्जनित समस्याहरु बढदैछन । यहाँ भैरहेका बिकास निर्माणका गतिबिधिहरू पनि कुनै दीर्धकालिन सोचतर्फ परिलक्षित छैनन् । कतिपय त समुहगत भन्दा ब्यक्तिगत अहम र स्वार्थबाट प्रेरित छन । त्यसैले बनबिनाश र भुक्षय बढदोछ । केही परम्परागत रुढ सोचहरुसमेत चुनौतिका रुपमा खडा भएकाछन । यद्यपि महिलाहरू काम गर्न बाहिर जान थालेका छन् । केही मात्रामा सम्पन्नता पनि बढेकोछ । तर काम नै नगरे पनि महिलाहरु साथीहरूसँग घुम्न जाने, बाहिर होटेलमा खान जाने, नातागोतालाई भेट्न जाने, चाडपर्वमा घुम्न जाने, राम्रो लुगा लगाएर देखाउन जाने  प्रबृति पनि बढदैछ । त्यसैगरी नकारात्मक कुरालाई बढाएर भन्ने चलन मौलाएको छ। एकजनाले सुनेको कुरा अर्कोलाई बढाएर भन्ने चलन अझ बढि छ। बढाएर नभन्दा आफ्नो हैसियत कम हुन्छ भन्ने सोच बनेकोछ ।
पहिले भनिनेजस्तो ग्रामीण समुदाय अहिले छैन। अब गाउँ गाउँजस्तो रहेन। गाउँका प्रायः मानिस नगरबासी भइसके। सहरमा बस्न खोज्ने बढ्दै छन्। कृषि पेसा अपनाएर गाउँमै बस्न चाहने मानिस थोरै छन्। गाउँमा जातीय व्यवस्था भत्किँदै छ। पहिलेको जस्तो झुरुप्प गाउँ र अर्मपर्मको सम्बन्ध अब कमजोर हुँदै गयो। समुदायपना खुम्चिँदै गएको छ। लेनदेनको संस्कृति कम हुँदै गएकोछ । गाउँको युवा गाउँमै टिकाउन ठूलै मेहनत गर्नु पर्नेभएकोछ ।। नेपालले मात्रै होइन सबै मुलुकले मेहनत गर्नुपर्ने भएकोछ । आफ्नो सन्तानलाई कस्तो बनाउने भन्नेबारे सहरका मानिसभन्दा नितान्त भिन्न तरिकाले गाउँका मानिसले सोच्दैनन् । अब आफ्नो पछिल्लो पुस्ताले पनि कृषि पेसा अपनाओस्, गाउँमै बसोस् भन्ने थोरै बूढाबूढी छन्। अधिकांशले छोराछोरीको भविष्य सहरमै देखेका छन्।
        त्यसैले यस पछि पनि थपिदै जाने यस्ता समस्याको समाधान खोज्दै सकारात्मक सोचका साथ गर्नुपर्ने कामको बिबरण तयार गर्नु छ । त्यो लामो हुन सक्छ । तर बाञ्छित बिकासकालागि मानसिक रुपमा तयार छौ भने  सामान्यतया पुर्बाधार थप्दै जाने, बिकासलाई दीगो बनाउने तथा शिक्षित र सीपयुक्त स्वस्थसमाज निर्माण गर्ने लक्ष्यकासाथ बिकासपथमा लाग्नु नै समकालीन आवश्यकता हो । बस्तुगत रुपमा धार्मिक/ पर्यटकीय क्षेत्रको बिकासका लागि पुर्बाधार निर्माण, पुनर्संयोजन र सौन्दर्यीकरण, गाउँमा भौतिक पुर्बाधारहरुको निर्माण, आर्थिक बिकास,सामाजिक बिकास, बन र वातावरण संरक्षण तथा संस्थागत बिकासका कामहरुको प्राथमिकीकरण गरिनु पर्छ । तत्कालीन आबश्यकतानुसार स्थान विशेष लक्षित थप विशेष कार्यक्रम पनि संचालन गर्न सकिन्छ । स्वाभाबिक रुपले बिषयगत क्षेत्रहरु भने एक अर्कासंग अन्तरसम्बन्धित रहनसक्छन् । बिकासका काम प्राथमिकी करण गर्दै प्रत्येक बर्ष क्रमागत रुपमा निर्माण-बिकास गतिबिधि बढाउनु पर्छ ।  ( क्रमस: )

4 comments:

  1. सुन्दर बीचार

    ReplyDelete
  2. सुन्दर बीचार

    ReplyDelete
  3. मन छुने लेख , धेरै धन्यबाद बिचार सम्प्रेशन का लागि

    ReplyDelete