Sunday, September 25, 2016

मेरा गँँउका तन्नेरीलाई !

तमौन जनकिणा हो येइ रातका
आदा जिन्दगी किणा बनिबरे
दिनभऽरि लुगिबरे
अक्गासका जूनसित दोऽरा खेेळा छ ऐल
सबैका आँँखाामा टल्किरैछ ।
औसिका रातमणिलै रमाइरइछ ।
तम आशा हो तम भरोसा हो मेरा गँउका
तम जनकिणा हो येई रातका ।।

पनिउकि रात त छनीछ,
औसीका राऽत लै उजालो दिन्ना छ।
येइ जिबनको अर्थ
तमरौनका इसै उजऽला माई छ भायौ!
 तम जनकिणा हो येइ बाऽतका ।
काला अग्गास चिद्द लाऽछ,
 अभावका असजि दिन खित्त लाऽछ ।
अफना रुबऽस हऽण टल्कौन लाछ,
 अफनि बसी ठौर झल्कौन लाऽछ ।
दिनरात कुनातिर लुकिबरे
रुपरङ बदेलिरक्ख्या
किणा किरमुला चपाइरक्ख्या
घिनलग्गा गोऽणा गण्याल जसा नाइ हो ।
शाानदार जिन्दगि छ तमरि
तम तऽति उजला गाऽतका
तम जनकिणा हो येइ रातका ।।
तमौन हिउनका छेपणा नाइ हो,
 न नून खयाका कुकुणा हो ।
न सुन बोकेर ल्याउने कथित लाहुरे- भरिया हो ।
उठ भण्या उठ्ठया
बस् भण्या बस्स्या देवान दरबान लै नाइ हो ।
जसो भण्यालइ
हस हजुर भणिबरे सलाम बजौन्या
भाडाका सिपाइलइ नाइ हो।
तम कुलदिपक हो तमरा जाऽतका ।
तम जनकिणा हो एइ राऽतका ।।
सत्य - न्याय बीस-या जन,
 लुत्या कुकुर जसा भयाजन ।
मालिक को मुल्यांकन जे भयालै
अफनु मोऽल आफुुइ घटया जन् ।
साब्बास! मेरा भाायौ!
 तम जनकिणा हो एइ राऽतका,
 तम अगौता हो अउन्या परभातका ।
तम जोसजागर भयाका तन्नेरी हो एइ गउ देहातका।
तम जनकिणा हो एइ रातका ।।



Sunday, September 18, 2016

काल चिन्तन ; एक जटिल मनोबाद

 आज बिक्रम सम्बत ०७३ असौज २ अर्थात १८ सेप्टेम्बर, ईस्बि सन् २०७३ । मेरो पिताजीको श्राद्धको दिन आज आश्विन शुुक्ल द्वितिया पनि परेकोछ । यो बर्ष मैले ६१ औंं शरदोत्सब मनाउदै छु । यसै बर्ष माघ महिनामा पिताजी स्वर्गे भएको 22 बर्ष पुग्दैछ।
यो जिउनु र बाँच्नुको हिसाब हेर्दा श्रृष्टिको क्रम कहिले शुुरू भयो? कहिले सकिएला? भनेर समय गणनाको पनि हिसाब निकाल्नु पर्ने हुन्छ । यहि समय अर्थात कालको जटिल नापोमा आज यो मनोबाद लेख्न कसिएको छु ।
वास्तबमा कालको शास्त्रीय चिन्तन बडो गज्यामज्याङ लाग्दो छ । बुझ्नै गारो । यसै कारण आइन्सटाइनले समयलाई सापेक्षतामा मात्र अनुभव गर्न या बुझ्न सकिन्छ भनेका होलान । अर्थात कसैसंग तुलना गरेर मात्र अर्थ्याउन मिल्छ । जस्तो असाध्यै गर्मी या जाडोमा बस्दा र कुनै मनपरेको मानिसको साथमा बस्दाको समयको गणना यथार्थमा एउटा भए पनि अनुभुतिमा फरक फरक हुन सक्दछ । यसैले काल गणनाको एउटै इकाई पर्याप्त नहुन सक्छ । हाम्रा ऋषिमुनीहरुले  हाम्रो १५ दिन ( एक पक्ष ) लाई पितृहरूको एक दिन र हाम्रो ६ महिना ( एक अयन ) लाई देवताको एक दिन किन मानेका होलान ? यो कालचक्रको हिसाब नै निकाल्न नसकिने भएकोले महाकालको कल्पना गरेका हुन कि ? उत्तर बिचारणिय छ ।
अचेेलका जिउदा महान बैज्ञानिक स्टीफन हकिन्सले समयको संक्षिप्त ईतिहास ( Brief history of times ) नामको पुस्तकमा समय र श्रृष्टिको शुुरुवात संगै भएको मानेका छन । ऊनको भनाई अनुसार अज्ञात आदिद्रब्यमा कारणिभूत महाबिस्फोट ( big bang ) हुदा अब्यक्त अबस्थाको ब्रह्माण्ड ब्यक्त अबस्थामा आयो । यसैताका समयको ज्ञात उपस्थिति शुुरु भएको अनुमान गर्न सकिन्छ । यो काल गणना कहिले सकिएला त ? यसको उत्तर पनि यतिकै जटिल मानिन्छ । तर कुरैको कुरा गर्दा श्रृष्टिसित जन्मेको समय श्रृष्टिसंगै सकिएला भन्न सकिन्छ होला । यो विश्व ब्रह्माण्ड कसरी कहिले सकिएला ? भन्ने प्रश्नको उत्तरमा हकिन्स कुनै खगोलिय ताराको उदाहरण दिन्छन । तारा बिलुप्त हुँदा उसको ईन्धन प्रकाश र उर्जाको रूपमा बिसर्जित हुँदै जान्छ र तारा संकुचित हुँदै सकिन्छ । यसै रितिले यो ब्रह्माण्ड पनि सकिने होला ।
तर प्राच्य दर्शनमा हाम्रा ऋषिमुनिहरुले कालको परिभाषा दिदै भनेका छन, " कलयति सर्बाणि भुुतानि " । अर्थात काल( समय) सम्पुर्ण ब्रह्माण्ड र यसको श्रृष्टिलाई खाने गर्छ । श्रृृष्टिको उत्पति, स्थिति, परिबर्तन र समाप्तिको लय रुपमा बिराट कालचक्र निरन्तर गतिमान रहने बताइएकोछ । ऋग्बेदको नारदसुक्तका अनुसार श्रृष्टिपुर्ब त्यहाँ सत, असत, परमाणु, आकाश, मृत्यु, अमरत्व, दिन, रात, समय जस्तो केही थिएन। अन्धकारबाट अन्धकार ढाकिएको स्पन्दन शक्तियुक्त एउटा तत्वमात्र थियो ।

यो महाकालका सम्बन्धमा संस्कृतका महाकबि क्षेमेन्द्रको यो पंक्ति उळेखनिय छ ।
" अहो कालसमुद्रस्य न लक्ष्यन्तेऽतिसंंतता: । मज्जन्तोतरनन्तस्य युगान्ता पर्बता इव: ।।" ( कालको महासमुद्रमा कुनै संकोच जस्तो अन्तराल छैन । महाकाय पर्बत जस्ता ठुुल्ठुला युग यसमा समाहित हुँदै जान्छन् ।) 
सर्बभक्षी कालका बारेमा नोबेलपुरुस्कार प्राप्त कबि अक्टिबियो पाजको वर्णन यस्तो छ ।
A clock strikes the time
now its time
it is not time now.
not it is now.
now it is time to get rid of time .
it is time and not now. time its the now.
now its time.
windows close
walls close. doors close.
the words go home. 
now we are more alone..l.

अर्थात कालयन्त्रले नै कालका बारेमा बताउछ । कालमा आज वा अहिले हुदैन । काललाई बिदा दिने समय आज भए पनि काललेनै आजको समय निलिदिन सक्छ । करालकालले हाम्रा सम्पुर्ण  झ्याल- ढोका भित्ता-पर्खाल बन्द गर्छ र हामीलाई नितान्त एक्लो बनाइदिन्छ । 
श्रीमद्भागवतमा राजा परिक्षतलाई शुुकदेव बताउछन, " बिषयको रुपान्तर ( परिबर्तन ) नै कालको आकार हो । त्यहि परिबर्तनको निमित्त बनेको यो कालतत्व आफुुलाई अभिब्यक्त गर्दछ र अब्यक्तबाट ब्यक्त हुन्छ ।" अर्थात काल अमुर्त तत्व हो । घटेका घटनाहरुबाट हामी यसलाई अनुभव गरेर मात्र जान्दछौ ।  हजारौ बर्ष पहिलेको कति शानदार भनाई ! कालजयि ऋषिहरूको अनन्त चेेतनाको अगाडी नतमस्तक हुने कारण यतिमात्रै होइनन् , काल गणनाका सुक्ष्मतम र महतम माप पनि हाम्रा शाास्त्रमा भेेटिन्छन । जस्तै:-
 सुक्ष्मतम अंंश परमाणु ।२ परमाणु=१अणु।३ अणुु= १ त्रसरेणु।
३ त्रसरेणु= १ त्रुटि  ।। १०० त्रुटि= १ बैध ।३ बेध= १ लव ।
३लव = १ निमेष । ३ निमेष= १ क्षण । ५ क्षण= १ काष्ठा
१५ काष्ठा = १ लघु । १५ लघु = १ नाडिका । 
२ नाडिका = १ मुहुर्त । ३० मुहुर्त= १ दिनरात । ७ दिनरात= १ सप्ताह । २ सप्ताह= १ पक्ष । २ पक्ष= १ मास । २ मास= १ ऋतु । ३ ऋतु= १ अयन। २ अयन= १ बर्ष ।।
 शुुकमुनिको गणनामा एक अहोरात्रमा ३२८०५००००० परमाणुकाल हुन्छन । यसरी कालगणना गर्दा १ परमाणु= ८६४०० सेकेण्ड हुदा रहेछन । एबंरित्या हाम्रा पुर्बजहरुले विभिन्न रितिका कालगणना पध्दति निकालेका थिए । यो सामान्य समय गणना बाहेक ब्रह्माण्ड आयुगणनाको पनि हिसाब किताब छ । जस्तै:-
 कलियुग= ४३२००० बर्ष । द्वापरयुग=८६४००० बर्ष ।
त्रेतायुग = १२९६००० बर्ष । सत्ययुग=१७२८०० बर्ष ।
४ युग(४३२०००० बर्ष)= १ चतुर्युगी । ७१ चतुर्युगी= १ मनबन्तर ।१४ मनबन्तर र संध्यान्शका १५ सत्ययुग=१ कल्प( ब्रह्माको एक दिन) १०० ब्रह्मा बर्ष= १ ब्रह्माको आयु ।
एक ब्रह्माको आयु= बिष्णुको १ निमेष हुन्छ र बिष्णु पछि रुद्रको काल आउछ । रुद्र स्वयम् कालरुप पनि हुन र अनन्त छन् ।
सोझो हिसाबमा यो सब कपोलकल्पित जस्तो लाग्ला तर खगोलसंग कालगणनालाई समबध्द गर्दा यसमा सत्यको प्रतीति हुन्छ । इस्वि सम्बतको गणना पृथ्बीले सूर्यको परिक्रमा गर्दा लाग्ने समयमा आधारित छ भने पुर्बीय गणना खगोलपिण्डको सूक्ष्म निरिक्षणमा आधाारित छ ।
यसरी कालको कराल कर्ममा हाम्रो नियति टिकेकोछ । गितामा समेत बिश्वरुपको दर्शन गराउदा यस्तै कालपुरूषको बर्णन गरिएकोछ । यो महाकालको अगाडी सारा ब्रह्माण्ड त भुुसुना बराबर छ भने हामी बबुराहरुको के गिन्ति र ? कालपुरुषको कल्पना बडो जटिल छ । बुझ्न बुझाउन बडो कठिन । सारा संसार यसै कालको घरमा निरन्तर बिलिन हुँदै जाँदो छ, तर पनि मूर्ख मनुष्य यो संसारमा स्थायि रहने हो कि झैै व्यवहार गरिरहन्छ । महाभारतमा यहि प्रबृतिलाई संसारको सबभन्दा ठुुलो आश्चर्य मानिएकोछ । " शेेषा स्थावरमिच्छन्ति किमाश्चर्य मतपरम् " ।
ब्रह्माण्ड बिषयमा बैज्ञानिक हकिन्सले दिएको एउटा उदाहरणबाट यो लेखको बीट मारौ । उनले लेखेका छन् । कल्पना गर्नोस, एउटा धेेरै तला भएको ठूूलो पानिजहाज विशाल समुद्रमा तरिरहेकोछ । त्यसको भुुईतलाको एउटा कोठामा आलुका बोरा राखिकाछन । त्यस मध्ये एउटा बोरा भित्रका केही आलु कुहिएर किरा पर्दैछन । त्यसमध्येको एउटा किरोले धेेरै सोचेर के धमास लाउदैछ भने उ यो जहाज के कति समान बोकेर कहाँ र कसरी जाँदैछ भन्ने खोज गर्नेछ । यो अखिल खगोलका अगाडी हामी मानिस पनि आलुका किरा जस्तै हौ । कालपुरुषको निम्ति यो सारा श्रृष्टि  एक स्पन्दन हो, एक लय हो । भन्नोस त, यो कालगणनाको चक्करमा म किन लागेको हुँला ? बाईबलका प्रथम मानव जोडीले बेकारमा ज्ञानबृक्षको फल चाखेछन् । बरू जड भरत हुनु नै पो निरापद हो कि ? म अहिले यस्तै यस्तै मनोबादमा एक्लो रातको उदास समय काटिरहेकोछु ।तर यो समयरुपि कालपुरुषले मलाई क्रमस: सिध्याउदैछ । कट् ... कट्.. कट्.. । म भन्न सक्दिन, भबिष्यमा मेरो श्राद्धकर्म गर्दा समयले मलाई कसरी अभिब्यक्त गर्नेछ । आखिर समयले नै त हामीलाई विभिन्न दृष्टिकोण दिन्छ ।








"आर्यकेशको ब्लग": काल महिमा - लेखनाथ पौड्याल

Friday, September 16, 2016

हाम्रा देवस्थल- हाम्रा सांस्कृतिक सम्पदा





पृष्ठभुमि
हाम्रो सनातन मान्यतामा केदारलाई शिबजीका अनेक स्वरुप मध्येको एउटा मानिन्छ। मन्दाकिनी मुहानको केदार हिमालस्थित बद्रीकेदार यिनी मध्ये प्रख्यात छन्। मन्दाकिनीदेखि बाग्मतिसम्मको भुभागलाई केदार क्षेत्र भनिन्छ। नेपालको सुदूर पश्चिमांचल र भारतको उत्तरांचल कुमाऊभरि बद्रीकेदार समेत ग्वाल्लेककेदार, रौलकेदार, थलकेदार, धजकेदार, छिपलाकेदार, थागिलकेदार, खडदेउकेदार जस्ता कैयौ केदारस्थल स्थापित छन्।
सुदूर पश्चिमांचलमै देउताको बास मानिने खप्तड(खेचराद्री पर्बत)मा केदार पाटनको नामले बेग्लै पाटन छ। खप्तडको सर्बोच्च थुम्कोमा सहश्रलिंगकेदार छन र केदारशिला मानिने बिशाल चट्टान छ। सुदुरपश्चिम भरि नै केदार शैलीमा बनेका कैयौ मन्दिर छन र स्थानिय लोकभाकाका देवगाथाहरू केदार रागमा नै गाइन्छन्। यसै श्रृंखला अन्तरगत प्राचिनकालमा बायु पर्वत वरपर कैयौ ऋषिमुनीहरुका आश्रम थिए होलान। बायु पर्वत अर्थात ग्वाल्लेकधुरामा सहज पहुँच नहुनाले आश्रमबासीहरुलाई पायक पर्ने गरी केदारशिला स्थापना गरि पुजाआजा चलाइएको होला। यसै भावभुमीमा हाम्रो बर्णित गाउँ सुरकालमा स्थापित केहि देवस्थलहरु यो आलेखमा समेटने प्रयास गरिएकोछ।
असिमकेदारको मन्दिर
किम्बदन्तिहरुका आधारमा असिमकेदार कत्युरगढबाट तोलिको जंगलमा आएका थिए। त्यहाँको लेकमा जुकालागेर रक्ताम्य भक्तिनी महिलालाइ रजस्वला (नछुने) भएको ठानी पुजारीले मन्दिर प्रबेश गर्न दिएनछ। कालान्तरमा तिनै भक्तिनीको सरापले तेलेको लेकबाट ऐचेकाडाको लेकमा असिमकेदार सरेको मानिन्छ। यसै कारण अहिले पनि तेले लेकको सो स्थानमा जुका हुदैन भन्छन। ऐचेकाडाको डाडामा बस्दा यस क्षेत्रका देबीदेवता र कुमाउबाट आएका अठौतिमल्ल खापरेको बिचमा लडाई भयो रे। नदि किनार दोभानमा भए बगाइ दिन्थे भनेर धम्की दिएकाले ति दैत्यको शेखि झार्न हालको स्थानमा असिमकेदार सरेको हुन भन्ने मान्यता छ।
यो लडाईका बारेमा यसक्षेत्रमै थुप्रै लोकगाथा प्रचलित छन्। भनिन्छ, नन्दादेवीले रोक्ने प्रयास गर्दा गर्दै पनि कुमायुको कत्युर गढबाट आएको युद्धिन्मादि अठौतिमल्ल र खापरेको संयुक्त फौज गंगोलिहाट, गोरंगा र चौपाखे हुदै महाकाली तरेर बैतडीको ईश्वरीगाडसम्म आइ पुगे पछि यस क्षेत्रका सबै देबीदेउताहरु सरसल्लाह गर्न असिमीकेदारको पुरानो स्थापना स्थल खापरमाणौमा जम्मा भएका थिए रे। यहाँ भएको सल्लाह बमोजिम थागिल देवताले बनानी क्षेत्र, सिउनाथले हल्दु क्षेत्र, भागेश्वरले मछाइन क्षेत्र, रौलेश्वरले दोगडा क्षेत्र र कैलपालले कालीदेखि तोलीसम्मका मशानबासी गणहरु जम्मा गरी लडाइमा पुगेका थिए।
यहाँका धार्मिक गीतहरुमा असिमकेदारलाइ ससालिंग ( सम्भवत: सहश्रलिंग) र असीग्राम भनिन्छ। त्यसो त यि सबै एउटै श्रृखलाका देवता हुन्। यिनको समान पुजापध्दति र अवस्थिति छ। असिमकेदारलाई बर्षाको देवता पनि भनिन्छ। ग्वाल्लेकको आलका बिभिन्न गाउबाट पानी माग्ने भनेर जात्रा ल्याउने चलन अझै कायम छ। मन्दिर क्षेत्रको नदि किनारमा ब्रतबन्ध गर्ने र पर्ब स्नान गर्ने चलन बढदै गएकोछ। बडादशैको नवरात्र, भाद्र र माघको शुक्ल पंचमीदेखि अष्टमी सम्म ठुला पर्बको रुपमा बिशेष पुजाआजा हुन्छ। न्वागी( नयाँ अन्न) चढाउने कार्तिक र साउन शुक्लपक्ष तथा जेठको दशहरा पर्बमा समेत बिशेष पुजाआजा गरिन्छ। पुजा आजाको लागि गुठीको ब्यबस्था छ र प्रतेक सक्रान्ति, औसी र पुर्णिमा समेत पुजा लाग्दछ।
ग्वाल्कधुराबाट निक्लने गोदा गाड(गोदावरी) र दक्षिणवर्ति थरौटबाट निक्लने धारीगाड (धराबति) को दोभानमा असिमकेदारको मन्दिर अवस्थित छ । यो मन्दिर उत्तराखन्डकै बास्तुकलाको केदार शैलीमा निर्मित छ। नदिहरुमा तर्नकालगि फटकेतरको ब्यबस्था छ र वरिपरि मनोरम धार्मिक बन छ। मन्दिर पर्खालले घेरिएकोछ। नदि तटमा स्नानधाट बनाइएकाछन।
मन्दिरमा तीन खन्ड छन। सबभन्दा बाहिरको खुलाखण्डलाइ नालिउर भनिन्छ। यहा खासगरी भजन किर्तन टोलि र साधु मन्डली हुन्छन। दोस्रो खण्डमा हवन कुण्ड छ। बिभिन्न राठले चढाएका चार खाममा मन्दिरको ढाँचा टेकाइएकोछ। यसलाई चौखाम भनिन्छ र यी खाम बिभिन्न देवताका नाममा समर्पित छन। चौखामभन्दा अगाडी पुजारी भन्दा अरुलाइ निषेध गरिएकोछ। बडू बाहेकका अन्य थरघरहरुले बस्ने ठाउँ निश्चित गरिएकोछ। बिशेष राठबाहेक ठगुरीहरु भित्र आउन पाउदैनन।
तेस्रो खण्ड गब्युर (गर्भगृह)मा पुजारीले मात्र प्रबेश गर्न पाउछन। त्यहा प्राकृतिक शिलाको रुपमा असिमकेदारको पुजा बैदिक बिधिपुर्बक गरिन्छ।
यो मन्दिर यस क्षेत्रका बिभिन्न जाति उपजातिहरुको संगमस्थल समेत हो। असिमकेदारका धामीले अहिले पनि आफुलाई सुर्जको घाम, दुबलाको देउ या कालझाडीको घुग्गु भनेर उदाहरण दिने गर्दछन। यसको अर्थ हुन्छ,सर्बत्रबराबर पहुँच भएको, दुबला(गरीब)हरुको देवता र कालो जंगलमा निर्व्दन्द घुम्न सक्ने र अध्यारोमा समेत देख्नसक्ने घुग्गु लाटोकोसेरो जस्तो। यो उक्ति वास्तबमा मननीय छ।
श्रीकेदारको मन्दिर
यो पुरानो प्राकृत मन्दिर मुख्य गाउँको पश्चिमोत्तर भन्ज्यांगमा छ। असिमकेदार लाई ग्वाल्लेक केदारको आलभरि मानिन्छ भने केदारलाई सुरकाल गाऊँको सेरोफेरोमा मात्र सिमित गरिएकोछ। यहाँ खासगरी ईन्द्रजात्रा अनन्त चतुर्दशी ( भाद्र शुक्ल चतुर्दशी)का दिन बिशेष पुजा हुन्छ। यसबाहेक नवरात्रको पञ्चमी एबं  जेठ, सावन र कार्तिकमा न्वागी चढाउदा पनि पुजा लाग्दछ।
यहाँ स्थानिय भाषामा फलाँट भनिने रुखको जरामा ज्योतिर्लिग रहेको मानिन्छ। एक जना पुजारी मात्रै बस्न मिल्ने सानो मन्दिर छ। यो मन्दिरमा ढुंगाकै छानो र ढुंगाकै ढोका हाल्नु पर्ने र पर्खाल समेत नराखनु पर्ने मान्यता छ। यहाँ सुन जनै, चाँदिका फूल, तामाका गाई, त्रिशुल र घण्टहरु चढाइन्छन्। पहिला यस गाऊँका मट्टे नै केदारका पुजारी थिए भन्ने किम्बदन्ति प्रचलित छ। हाल असिमकेदारका पुजारी नै यहाँ पुजा चलाऊदछन्।
यि एकान्तबासी केदारको समेत आफनै महिमा छ। सुरकाल र ढणौन गाउको सिमानामा समेत बुढाकेदार भनेर पुरानो केदार स्थापना स्थल छ। श्री र सहकालका लागि केदार भाक्ने प्रचलन छ। केदारका धामीहरु एक अर्कालाई भैया भनेर बोलाउछन । यसै सम्बोधनबाट समेत यिनको बिशेष सम्बन्ध थाहा हुन्छ। यहाँ दुधले स्नान गराउने बिशेषपुजा हुन्छ। यहाँको अन्य पुजा बिधि र ब्यबस्थापन असिमकेदारकै जस्तो छ।
कैलपाल मन्दिर
कैलपाल देवताको मन्दिर पुजरागाउँको शिर्षमा मुलबाटो नजिकै छ। असिमकेदारको ठुलो पर्ब मानिने माघ र भाद्रको दशमी तथा बिजयादशमीमा यहाँ बिशेष पुजा हुन्छ। यहाँ नयाँ अन्नको न्वागी पनि चढाइन्छ। स्थानीय पैतोला (पाण्डे) थरका ब्यक्तिहरु मात्र यि देवताका धामी हुन्छन्। चल्तीको मूलबाटो नजिकै पर्ने हुँदा मन्दिर जिर्णोद्दार गरिएकोछ। यहाँ पुराना धर्मशालाहरु पनि छन।
कैलपाललाई असिमकेदारको गणपति मानिन्छ। नौ मन लुवाको गुर्जु(फलामको गदा) खेलाउने भनेर यहाँको लोकगाथामा बीर नायकको रुपमा यिनको पराक्रम बखान गरिएकोछ। असिमकेदारको पुजा भएकै पर्बमा यिनको पनि स्या: (सेवा) चढाइन्छ।
मट्टे मोटा बडबाबको मन्दिर
बडू बंशका पुर्खाहरु यो गाऊमा स्थापित हुनुभन्दा अगाडीका भुमिपति मानिएका मट्टेलाई माटोका मालिक भनेर पुजा गरिन्छ। यिनी भौतिकरुपमा ठुलो जिउडाल भएका बलबान ब्यक्ति थिए रे। त्यसैले यिनलाइ अझै नि मोटा बडबाब भनिन्छ। शाकाहारी सदाचारी भएकाले असिमकेदारकै पुजाको अवसरमा यिनको पनि पुजा हुन्छ। असिमकेदारकै मूल मन्दिरदेखि आधा मील नजिक मध्य खेतमा सानो स्थापना स्थल छ। यिनका जेठा छोरा साना मट्टेको भने तन्त्रोक्त बिधिपुर्बक बली चढनेहुँदा गाउँभन्दा अलिबाहिर उत्तर पाखोको चिमिर्खा भन्ने स्थानमा स्थापना गरिएकोछ। यो आल भरिनै बलि चढने भनेको यो नै एक मात्र स्थान हो। यि मोटा बडबाबहरू ततकालिन प्रतापी र सूर पुरुष हुनु पर्दछ। यिनका सन्तान सबै मारिए या अन्यत्र बसाइ सराइ गरे, यो अनुसन्धनेय बिषय हो। यिनीहरु बार भाई भएको बिश्वास गरिन्छ। बुढा मट्टेले बीस पुलासोत्तरको भारीसंगै खुट्टाले खेलाएर ल्याएको कालो पाट( कालो स्लेट ढुंगा) अहिले पनि यसै नामले सुरकालको चौरा चौतारोमा राखिएकोछ। नवरात्रीको पञ्चमीमा बुढा मट्टेको बिशेष पुजा हुन्छ। ३,३ बर्षमा बडूहरुले यिनको जागर लगाउनु पर्ने प्रचलन छ। यिनलाइ चौरा नजिकै कातहालेर मारिएको थियो भनिन्छ। जागरण गीत गाउदा यिनलाइ मार्न प्रयोग भएको अझै सुरक्षित तरवार काँप्ने गर्दछ रे। यिनका नाबालक छोरालाइ भने ब्रह्महत्याको पाप नलागोस भनेर तन्त्र शक्तिद्वारा बाघ बोलाएर मार्न लगाइएको थियो रे। जे होस युद्धको आफनै नीति र नियति छ। तर युद्दमा हार्नेहरुलाई समेत सम्मान गरिएको बिशिष्ट परम्परा यो गाऊँमा अझै प्रचलित छ।

Wednesday, September 14, 2016

सुदूरपश्चिमको सङ्घर्ष

 
  ( साभार- आहुति, पहिलोपोष्टबाट)

सुदुरपश्चिमले बेलाबेला किन विद्रोह गरेछ भन्ने अहिले सात नम्बर प्रदेशका लागि भएको संघर्षबाट थाहा हुन्छ। उनीहरुले चाहेको त स्वायत्तता रहेछ। अढाई सय वर्षपछि भए पनि हामी त्यही ठाउँमा पुगेका छौं।  
·     १९०६-१९०७ सालमा अछामका राजपरिवारका सदस्य बलदेव शाहीले अछाम काठमाडौंबाट स्वतन्त्र भएको घोषणा गरेका थिए।
·     २००९-२०१० सालमा भीमदत्त पन्तले किसान विद्रोह गरेका थिए। उनको विद्रोह दबाउन भारतबाट सेना बोलाइयो। आन्तरिक विद्रोह दमन गर्न विदेशी सेना झिकाइएको नेपालको इतिहासमा यो नै एकमात्र घटना हो।
·     २०१८ सालमा  बझाङका राजपरिवार सदस्य ओम सिंहले बझाङ काठमाडौंबाट स्वतन्त्र हुनुपर्छ भनेर विद्रोह गरे।
·     संविधान जारी गर्ने समयताका भएको आन्दोलन यही संघर्षको निरन्तरता हो।

 
गोर्खा राज्यमा गाभिएपछि लामो समयसम्म कर्णालीपारिको भूभागले काठमाडौंसँग विद्रोह गरिरह्यो। वि. सं. २०१९ सालसम्म त्यहाँ स्वतन्त्रताका लागि सानाठूला विद्रोह भइरहे। २०१९ सालपछि भने सुदुरपश्चिमले आफ्नो संघर्षको स्वरुप बदल्यो। 

कर्णालीवारि सिञ्जाली सभ्यता हो भने पारी डोटेली सभ्यता थियो। जसको अलग्गै भाषा र संस्कृति थियो। यो सभ्यता डोटी केन्द्र भएर कर्णालीपारिदेखि भारतको कुमाउँ गढवालसम्मको विशाल भूखण्डमा फैलिएको थियो। अहिलेसम्म डोटेली भन्दा उनीहरु गौरव गर्छन्। 
उनीहरुको फरक सभ्यता नै गोर्खा राज्यमा समाहित हुन अस्वीकार गर्नुको कारण हो। यो स्वाभिमानसँग गाँसिएको हुन्छ। सुदुरपश्चिमले बेलाबेला किन विद्रोह गरेको गरेछ भन्ने अहिले सात नम्बर प्रदेशका लागि भएको संघर्षबाट थाहा हुन्छ। उनीहरुले चाहेको त स्वायत्तता रहेछ। अढाई सय वर्षपछि भए पनि हामी त्यही ठाउँमा पुगेका छौं।  
उनीहरू किन विद्रोह गर्छन्, किन काठमाडौंबाट स्वायत्तता चाहन्छन् भन्ने थाहा पाउन इतिहास केलाउनु पर्छ। इतिहासमा काठमाडौंले गरेका ज्यादती थाहा पाएपछि त्यसलाई सच्याउन सकिन्छ। यो श्रृंखलालाई हामीले गोर्खाली फौजले सुदुरपश्चिमलाई गोर्खा राज्यमा गाभेको समयबाट हेर्नुपर्छ।  
नेपालमा गाभिएसँगै कर्णालीपारिका बासिन्दाले अरू नेपालीलाई 'पूर्वीया' भन्ने धारणा बनाए। तत्कालीन गोर्खा राज्यमा समाहित पूर्वी नेपालसँग उनीहरुले न आत्मियता महशुस गरे, न सम्मान गर्न सके। उनीहरुको मनमा रहेको घृणा  केही हदसम्म अहिलेपनि छ। यो घृणा हटाउन पनि इतिहासलाई बुझेर अगाडि बढ्नु जरुरी छ।
गोर्खाली फौजले पश्चिमका विभिन्न स–साना राज्य आफ्नो राज्यमा गाभ्दै जाँदा कतै सामान्य लडाईं र कतै सुलह सम्झौताद्वारा दैलेखसम्म जित्यो। 
तर, कर्णालीपारिले गोर्खाली फौजसमक्ष आत्मसमर्पण गरेन। त्यो भाषिक र सांस्कृतिक रूपमा पनि डोटेली सभ्यताभित्रको क्षेत्र थियो। डोटीका राजा दीप शाही र कुमाउँका राजनेता हर्षदेव जोशीले सुरुमा अंग्रेजसँग मिलेर गोर्खाली फौजविरुद्ध लडेको इतिहास छ। वि.सं. १८४७ मा अमरसिंह थापाको नेतृत्वमा गोर्खाली फौजले डोटीमाथि आक्रमण गरेको थियो। डोटीले यो युद्ध हार्‍यो। हारेपछि गोर्खाली फौजले त्यहाँ निकै अत्याचार गरेको पाइन्छ। डोटी र कुमाउँ क्षेत्रमा गोर्खाली सेना बलात्कारी सेनाको रुपमा समेत चिनिएको जनश्रुती अझैसम्म जिवित छ। त्यस क्रममा गोर्खाली सेनाले १४९८ जनाको  हत्या समेत गरेको कुरा आज पनि त्यस क्षेत्रमा प्रचलित जनश्रुतीमा पाइन्छ। आत्मसमर्पण गरेका वा हारेका  थुम बस्तीका रजौटाले कर तिर्न नसक्दा करको  भर्पाईको रूपमा युवतीहरू लिने, उनीहरूमाथि यौन शोषण गर्ने र काशीमा लगेर ती युवती बिक्री गर्ने गरेको समेत इतिहास पाइन्छ।
यसरी गोर्खा राज्यमा गाभिएपछि पनि उनीहरूले स्वायत्तताका लागि पटक पटक विद्रोह गरे। कर्णालीवारिका राज्यहरूले यसरी विद्रोह गरेको पाइन्न।   
वि.सं.१९०३मा जंगबहादुर राणाको उदय भयो। त्यसको तीन वर्षपछि १९०६ मा अछामका बलदेव शाहीले काठमाडौंबाट अछाम अलग भएको घोषणा गरे। उनी अछामको राजपरिवारका सदस्य थिए। अछामेलीहरू उनलाई अहिले पनि "बाँकावीर" भनेर चिन्छन्। बाँकावीरले त्यहाँका केही रावल, क्षेत्री र दलितको समेत सहयोग लिएर काठमाडौंसँग विद्रोह गरेका थिए। 
१९०७ मा गोरखाली फौजले जाजरकोट र दैलेखको समेत सहयोग लिएर बलदेव शाही र उनका सहयोगीको हत्या गर्‍यो। अछामको जनबोलीमा यो हत्याकाण्ड अहिलेसम्म बाँचेकै छ। गोर्खा राज्य बिस्तारपछि केन्द्रसँग गरिएको यो पहिलो र सबैभन्दा ठूलो विद्रोह थियो। जुन लखन थापाको विद्रोहभन्दा २७ वर्ष अगाडिको कुरा हो। तर यहाँ लखन थापा पहिलो सहिद भए। 
एकिकरणपछि काठमाडौंले कर्णालीपारिलाई आफ्नो पकडमा राखिराख्न दमन त गरेकै थियो, पछि रक्तनाता जोड्ने क्रम पनि सुरु गर्‍यो। विवाहमार्फत् नाता जोड्ने राणाहरूको निकै ठूलो कुटनीतिक हतियार थियो। आफ्नो सत्ता टिकाउन उनीहरूले राजपरिवारसँग पनि रक्तनाता जोडे। जंगबहादुरले काशी गएर गोत्र नै फेरेर आफ्नो थर कुँवरबाट राणा बनाए।  उनीहरुले सुदुरपश्चिममा पनि अलि विद्रोह गर्ने सम्भावना भएकालाई आफ्नो नाता परिवारमा जोड्थे, उनीहरुलाई काठमाडौं नै ल्याएर राख्थे। 
यसैअनुसार चन्द्रशम्शेरले आफ्नी छोरीको विवाह बझाङका राजा जयपृथ्वीबहादुर सिंहसँग गरेका थिए। सिंह त्यस समयका निकै ठूला मानवतावादी विद्वान थिए। उनी त्यसैबेला लोकतान्त्रिक विचार राख्ने गर्थे। उनले 'नेपालमा बेलायतको जस्तो संविधान चाहिन्छ' भनेको पाइन्छ। अन्ततः उनको चन्द्रशम्शेरसँग मतभेद भयो र उनी नेपाल छोडेर हिँडे। त्यतिबेलाको काठमाडौंको भव्यता र नाता त्यागेर भारत गए। त्यसपछि चन्द्रशम्शेरकी छोरी उनलाई भेट्न भारत गएकी थिइन् तर उनले स्वीकार गरेनन् भन्ने जनश्रुती छ। यहाँ पनि सुदुरपश्चिमले फरक मत राखेको छ। 
तेस्रो प्रसंग छ, भीमदत्तको विद्रोह। उनको विद्रोह केन्द्रीय शासन विरुद्धको विद्रोह मात्रै नभएर शोषक वर्गको शासन विरुद्धको विद्रोह पनि थियो। यो विद्रोह नेपालमा प्रजातन्त्र आइसकेपछि, २००९-२०१० सालमा भएको हो। उनको विद्रोह ठूलो महत्वको थियो तर आकारको हिसाबले सानो। सुदुरपश्चिमको सानो क्षेत्रमा सिमित। उनीसँग हजार सेना पनि  थिएन। त्यो एउटा सामान्य किसान विद्रोह थियो। तर विचित्रको कुरा यो छ कि नेपालको इतिहासमा विदेशी सेना बोलाएर कुनै विद्रोह दमन गरिएको यो एउटा मात्रै घटना हो।
मुलुकमा वि. सं. २००७ मा  प्रजातन्त्र आइसकेपछि भारतबाट सेना बोलाएर राज्यले उनको हत्या गरेको थियो। त्यति मात्रै होइन, उनको टाउको लगेर डडेलधुराको टुँडिखेलमा राखियो। बाँसको लिंगो गाडेर त्यसमा उनको टाउको झुन्ड्याएर प्रदर्शन गरियो। नेपालको आधुनिक इतिहास हेर्दा यस्तो क्रुरता अन्त कहीँपनि भेटिँदैन। यस्तो किन गर्‍यो काठमाडौंले?  यो क्रुरता अन्त किन देखिँदैन? किनकि मेरो अध्ययनमा कर्णालीपारिले पहिले पनि कुमाउँ र अंग्रेजसँग मिलेर लडेको थियो। पछि बलदेव शाहीले विद्रोहको प्रयास गरे। त्यसैले, कर्णालीपारिदेखि काठमाडौं सधैं सशंकित रह्यो। त्यहाँ विद्रोह हुने बित्तिकै यो त खतरनाक कुरा हो भनेर सोच्यो।  
कर्णालीपारिको विद्रोहको श्रृंखला भीमदत्त पन्तमा रोकिएन। २०१८ सालमा बझाङको राजपरिवारका सदस्य ओम सिंहले बझाङ काठमाडौंबाट स्वतन्त्र हुनुपर्छ भनेर विद्रोह नै गरे । राजा महेन्द्रले उनीसँग पारिवारिक साइनो गाँस्न चाहेका थिए भन्ने जनश्रुती छ तर ओम सिंहले अस्वीकार गरे। महेन्द्रको प्रस्ताव मात्रै अस्वीकार गरेनन्, बझाङ राज्य फेरि स्वतन्त्र हुनुपर्छ भनेर विद्रोह गरे। उनको विद्रोह संगठित भएको थिएन। एक किसिमले फरक मत जस्तो मात्रै थियो तर उनीवरुविद्ध सेना परिचालन भइहाल्यो। उनी भाग्दै लुक्दै दार्चुला पुगेका थिए। त्यहाँ उनी बास बसेकै ठाउँमा काठमाडौंबाट गएको सेनाले गोली हानेर हत्या गर्‍यो। यो २०१९ सालको कुरा हो जुन प्रसंग त्यस क्षेत्रमा अहिले पनि चर्चित छँदैछ।
कर्णालीपारिको विद्रोहको श्रृंखला यसरी यहाँसम्म लम्बिएको छ। यसपछि मात्रै नयाँ ढंगको राजनीतिको  संघर्ष सुरु भएको हो। केही व्यक्ति छिटोभन्दा छिटो दरबारसँग सम्बन्ध बनाउन लागे। अर्को पक्ष पञ्चायती राज्यसत्ता विरुद्धको संघर्षमा रहे। संविधान निर्माणको अन्तिम चरणमा सात नम्बर प्रदेशका लागि भएको संघर्ष पनि यही संघर्षको निरन्तरता हो। कर्णालीपारिको सभ्यता र त्यसको संघर्षलाई ठीक ढंगले ऐतिहासिकश्रृङ्खलामा युवाहरूले हेर्न अब सुरू गर्नैपर्छ।

Tuesday, September 13, 2016

आउ, बानप्रस्थी बनौ

जीवनले साठीको नेटो काट्यो । आफनै इतिबृत सम्झि ल्याउदा कताकता के पाए के गुमाए भनेर हिसाब खोजनु पर्ने  अबस्था आयो । दिक्क लाग्दा दिनहरु ! । यसैकारण हाम्रा मनिषिहरुले जिबनलाई चार भागमा बाँडेर चारै आश्रमको ब्यबस्था गरेका पो हुन कि भन्ने लागेेकोछ ।
अब गृहस्थाश्रमको रहलपहल सकिनै लागेकोले यो तेस्रो आश्रम अर्थात बानप्रस्थका बारेमा जान्नपर्ने बिचार आयो । संचार-संजालको सहयोग लिए । गुगल सर्च गरे । बिकिपेडिया चहारे । साँचै गृहस्थाश्रमका छक्कापंजा छाडेर बानप्रस्थि नै हुनु निरापद लाग्दैछ । हाम्रा समाजबिज्ञानी ऋषिहरुले ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, बानप्रस्थाश्रम र सन्यासाश्रम समेत  चार आश्रम तोकिदिएका रहेछन । यसमध्ये यस लेखमा बानप्रस्थका बारेमा लेखिएका कुरा शेेयर गरौ है त ।
बानप्रस्थको व्याख्या
पच्चिस बर्षसम्म गुरु निकट रहेर बिद्या अध्ययन गरेपछि गृहस्थको जिम्मेवारी सक्दानसक्दै आधा जीवन सकिन्छ । तत्पश्चात उत्तराधिकारिलाई कार्यभार सुम्पेर आफनो ब्यक्तित्वलाई  बिस्तारै सामाजिक उत्तरदायित्व पूरा गर्नमा लगाउदै पारमार्थिकतापट्टि ढल्काउन बानप्रस्थ संस्कार गराइदो रहेछ । यसै आधारमा समाजलाई परिपक्व ज्ञान एवं अनुभव सम्पन्न, निस्पृह लोकसेवीहरु प्राप्त हुने शाास्त्रीय मान्यता छ ।
 समाजमा व्याप्त अवाञ्छनीयता , दुष्प्रवृत्ति, कुरीतिहरुको निवारण तथा सत्प्रवृत्ति र सत्प्रयोजन विकासको दायित्व यिनै लोकसेवीहरुको रहन्छ । समाजसेबा र अध्यात्मको संयोजन गरेर यिनिहरु नयाँ युग निर्माणमा लाग्ने बिश्वास गरिन्छ । हाम्रा अध्येताहरूको यो सफल र सार्थक प्रयोग हो ।
ढल्दो उमेरको लागि त बानप्रस्थ कर्तब्य नै हो । पारिवारिक जिम्मेवारी हस्तान्तरण गर्दै आफन्तभावलाई क्रमस: समाजतर्फ सार्ने उपक्रम नै बानप्रस्थ हो । यो संस्कार धर्म संस्कृति रक्षार्थ ग्रहण गर्नै पर्छ । यसले जिबनको समस्यालाई उचित समाधान दिन्छ र युबाबस्थाको कुसंस्कारको शमन गर्दै बिगतका अबान्छित कार्यको प्रायश्चित साधना समेत गर्न सिकाउछ । बानप्रस्थले समाजको ऋणबाट मुक्त गराउछ । शाास्त्र भन्छ, जसरी बिबाह संस्कार पूरा नगरेसम्म प्रेमीको सहचरत्व संदिग्ध हुन्छ, त्यसरी नै भावनाको आँँधिहरू कालक्रममा शिथिल नहुन भनेर बानप्रस्थ संस्कार धारण गर्नु पर्दछ ।
 बानप्रस्थको  बिधान
प्राचिनकालमा समाज निर्देशित गर्ने दायित्व साधु, ब्राह्मण वा बानप्रस्थीहरुलाई सुम्पिएको थियो । यस्ता परमार्थ परायण जनसेवीहरूका कारण समाजमा शिक्षा, स्वास्थ्य, सदाचार, न्याय, बिबेक, शाासन, बिज्ञान, सुरक्षा ब्यबस्थामा निष्कण्टकता कायम रहन्थ्यो । बानप्रस्थ परम्पराको अबसानसंगै बृद्धहरु झन लोभमोहमा लागे । समाज पतनोन्मुख बन्यो ।
यसकारण बानप्रस्थ संस्कार धारण गर्न केही प्राबधान तोकिएका रहेछन् । जस्तै:-
१- समुचित आशन तयारी राख्ने ।
२-बिधिबत स्नान गराई पहेलो बस्त्र, पञ्चगब्य, पहेलो यज्ञोपवित, मेखला कोपिन( कमरबन्द र लगौठि ) , पहेलो दुपट्टा, ससाना पाँच कचौरा सहित बानप्रस्थिलाई पुष्प अक्षत वृष्टि र मंगलाचरण सहित  आसनमा बिराजमान गराउने ।
३-ऋषिपुजनका लागि सात मुठा कुश, बेदपुजनकालागि पहेलो कपडामा बेरेर बेद या कुनै पबित्र किताब, यज्ञपुरुषको निम्ति नरियल र अभिषेककोलागि यथाशक्ति ५-२४ कलशको पुर्ब ब्यबस्था हुनुपर्छ ।
४- सबैलाई यथास्थान बसालि संस्कारको महत्व र महान उतरदायित्वका बारेमा बताउने ।
५- षटकर्म, संकल्प, तिलक र रक्षासुत्र ।
६- समयानुसार सामान्य पुजन ।
७- पुष्पाक्षता र जल सहित संकल्प ( सार्बजनिक घोषणा ) गर्ने ।


ॐ तत्सदद्य श्रीमद् भवगतो महापुरुषस्य विष्णोराज्ञया प्रवत्तर्मानस्य अद्य श्री ब्रह्मणो
द्वितीये पराधेर् श्रीश्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे भूलोर्के जम्बूद्वीपे भारतवर्षे भरतखण्डे आयार्वत्तैर्क नेपालराष्ट्राान्तर्गते - ....... क्षेत्रे......... मासानां मासोत्तमेमासे......... पक्षे......... तिथौ......... वासरे......... गोत्रोत्पन्नः......... नामाऽहं स्वजीवनं व्यक्तिगतं न मत्वा
 सम्पूर्ण- समाजस्य एतत् इति ज्ञात्वा, संयम-स्वाध्याय-उपासनेषु विशेषतश्च लोकसेवायां
 निरन्तरं मनसा वाचा कमर्णा च संलग्नो भविष्यामि इति संकल्पं अहं करिष्ये  ।
८-यज्ञोपबित परिबर्तन गर्ने ।

९-यज्ञोपवीत सिञ्चन गर्ने ।
मन्त्रोच्चारण सहित यज्ञोपवीतमा जल छर्कने र नमस्कार गर्ने, - ॐ प्रजापतेयर्त्सहजं पवित्रं, कापार्ससूत्रोद्भवब्रह्मसूत्रम्॥ ब्रह्मत्वसिद्ध्यै च यशः प्रकाशं, जपस्य सिद्धिं कुरु ब्रह्मसूत्र॥
१०-पञ्चदेवाव्हान
निम्नस्थ मन्त्र सहित यज्ञोपवितमा देबताहरुको आव्हान गर्ने ।  
(१) ब्रह्मा- ॐ ब्रह्म जज्ञानं प्रथमं पुरस्ताद्, विसीमतः सुरुचो वेन आवः। स बुध्न्याऽउपमाऽ अस्यविष्ठाः, सतश्चयोनिमसतश्च विवः॥ ॐ ब्रह्मणे नमः। आवाहयामि, स्थापयामि, ध्यायामि। -१३.३
(२) विष्णु - ॐ इदं विष्णुविर्चक्रमे, त्रेधा निदधे पदम्। समूढमस्य पा सुरे स्वाहा॥ ॐ विष्णवे नमः। आवाहयामि, स्थापयामि, ध्यायामि। -५.१५
(३) शिव - ॐ नमस्ते रुद्र मन्यव ऽ, उतो तऽइषवे नमः। बाहुभ्यामुत ते नमः॥ ॐ रुद्राय नमः।
आवाहयामि, स्थापयामि, ध्यायामि। -१६.१
(४) यज्ञपुरुष - यज्ञोपवीत खोलने । दुबै हात जोडेर यज्ञ भगवानको आव्हान गर्ने र यज्ञ पुरुषकोो
पुजन गर्नुपर्छ । 
ॐ यज्ञेन यज्ञमयजन्त देवाः, तानि धमार्णि प्रथमान्यासन्। तेह नाकं महिमानः सचन्त, यत्र पूर्बेे
साध्या सन्ति देवाः॥ ॐ यज्ञपुरुषाय नमः। आवाहयामि, स्थापयामि, ध्यायामि॥ -३१.१६
(५) सूर्य - दुबै हात उठाएर सुर्य आव्हान गर्ने ।
ॐ आकृष्णेन रजसा वत्तर्मानो, निवेशयन्नमृतं मत्यर्ं च। हिरण्ययेन सविता रथेना, देवो याति
भुवनानि पश्यन्॥ ॐ सूयार्य नमः। आवाहयामि, स्थापयामि, ध्यायामि। -३३.४३
११-यज्ञोपवीतधारण
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुंच शुभ्रं, यज्ञोपवीतं
बलमस्तु तेजः॥ -पार०गृ०सू० २.२.११
१२-जीर्ण यज्ञोपवित विसजर्न ( निम्न मन्त्र सहित )
ॐ एतावद्दिन पयर्न्तं, ब्रह्म त्वं धारितं मया। जीणर्त्वात्ते परित्यागो, गच्छ सूत्र यथासुखम्॥
१३-पञ्चगव्यपान

पंचगव्यपान  भनेको पछिल्लो जिबनमा गरेको गल्तिको प्रायश्चित हो । दोषको स्विकारोक्ति र
दोषहरुसंग सम्बन्धबिच्छेद । प्रायश्चितले चित्त शुुद्ध हुन्छ र देबकृपा प्राप्त हुन्छ ।

 पंचगब्यको कचौरा बायाँ हातले समाति दायाँ हातको मध्यमाले चलाउने र यो गौ द्रब्यमा दिब्य चेेतना   अभििमन्त्रित हुदैछ भन्ने भाावना राख्नुपर्छ । मन्त्र यस्तो छ।
ॐ गोमूत्रं गोमयं क्षीरं, दधि सप्पिर्ः कुशोदकम्। निदिर्ष्टं पंचगव्यं, तु पवित्रं मुनिपुंगवैः॥
दिब्य संस्कारद्वारा पापको जडमा प्रहार र पुण्यको अंंकुरण गर्दैछु भन्ने भावनाकासाथ निम्न मन्त्रसहित पंचगब्य पान गर्नुपर्छ  ।
ॐ यत्त्वगस्थिगतंपापं, देहे तिष्ठति मामके। प्राशनात्पंचगव्यस्य, दहत्वग्निरिवेन्धनम्॥

१४-धर्मदण्ड, मेखला र कौपिन धारण

ॐ यो मे दण्ड । तमहं पुनराददऽआयुषे, ब्रह्मणे ब्रह्मवचर्साय॥ - पार०गृ०सू० २.२१२
सादा बस्त्र( यथासम्भव पहेलो ) धारण गर्ने
 सादा पीतबस्त्र त्यागी वीर परमार्थपरायणहरुले लगाउछन् । निम्न मन्त्रले अभिमन्त्रित गरेपछि
काँधमा दुपट्टा समेत धारण गर्नुपर्ने बिधान छ ।

ॐ सूर्यो मे चक्षुवार्तः, प्राणो३न्तरिक्षमात्मा पृथिवी शरीरम्। अस्तृतो नामाहमयमस्मि स,

आत्मानं नि दधे द्यावापृथिवीभ्यां गोपीथाय॥ -अथवर्० ५.९.७

ऋषि, बेद र यज्ञ पुरुष पुजन
आत्मकल्याण र लोककल्याणको निम्ति पुष्पाक्षत सहित निम्न मन्त्रोच्चाारण र ध्यानपुर्वक तेजस्वी ब्यक्तित्वका धनी,
महान परंपराका श्रोत ऋषिहरुको ध्यान गर्नु पर्दछ । 

ॐ इमावेव गोतमभरद्वाजा, वयमेव गोतमोऽयं भरद्वाजऽ, इमावेव विश्वामित्रजमदग्नी, अयमेव विश्वामित्रोऽयं जमदग्निः, इमावेव वसिष्ठकश्यपौ, अयमेव वस्ाष्ठोऽयं कश्यपो वागेवात्रिवार्चाह्यन्नमद्यतेऽत्तिहर् वै, नामैतद्यत्रिरिति सवर्स्यात्ता भवति, सवर्मस्यान्नं भवति य एवं वेद॥ -बृह० उ० २.२.
ॐ सप्तऋषीनभ्यावतेर्। ते मे द्रविणं यच्छन्तु, ते  मे ब्राह्मणवचर्सम्। ॐ ऋषिभ्यो नमः। दु:खको कारण बनेको अज्ञान हटाउन ज्ञाानको भण्डार बेदको ध्यान निम्न मन्त्रबाट गर्नुपर्दछ ।
ॐ वेदोऽसि येन त्वं देव वेद, देवेभ्यो वेदोऽभवस्तेन मह्यं वेदो भूयाः। देवा गातुविदो गातुं, वित्त्वा गातुमित। मनसस्पतऽ इमं देव, यज्ञ स्वाहा वाते धाः। ॐ वेदपुरुषाय नमः। आवाहयामि, स्थापयामि, पूजयामि, ध्यायामि। -२.२१
, स्थापयामि, पूजयामि, ध्यायामि। -अथवर्० १०.५.३९    


कुबेर जस्तो धन भए पनि मन भएन भने सब बेकार हुन्छ । अत: शाास्त्रमा निम्न मन्त्र सहित यज्ञपुरुषको पनि पुजा गर्नु बताइए
कोछ ।

ॐ यज्ञेन यज्ञमयजन्त देवाः, तानि धमार्णि प्रथमान्यासन्। ते ह नाकं महिमानः सचन्त, यत्र पूवेर् साध्याः सन्ति देवाः। ॐ यज्ञपुरुषाय नमः। आवाहयामि, स्थापयामि, पूजयामि, ध्यायामि। 
यसपछि भिन्न भिन्न स्वभाव, गुण र शक्तिसम्पन्न देबदेबीको स्मरण गरि अभिषेक आहुति र प्रबज्ज्याको कर्म पूरा गर्नुपर्छ ।

ॐ अग्ने व्रतपते व्रतं चरिष्यामि, तत्ते प्रब्रवीमि तच्छकेयम्। तेनध्यार्समिदमहम्, अनृतात्सत्यमुपैमि। ॐ अग्नये नमः॥१॥
ॐ वायो व्रतपते व्रतं चरिष्यामि, तत्ते प्रब्रवीमि तच्छकेयम्। तेनध्यार्समिदमहम्, अनृतात्सत्यमुपैमि। ॐ वायवे नमः॥२॥
ॐ सूयर् व्रतपते व्रतं चरिष्यामि, तत्ते प्रब्रवीमि तच्छकेयम्। तेनध्यार्समिदमहम्, अनृतात्सत्यमुपैमि। ॐ सूयार्य नमः॥३॥
ॐ चन्द्र व्रतपते व्रतं चरिष्यामि, तत्ते प्रब्रवीमि तच्छकेयम्। तेनध्यार्समिदमहम्, अनृतात्सत्यमुपैमि। ॐ चन्द्राय नमः॥४॥
ॐ व्रतानां व्रतपते व्रतं चरिष्यामि, तत्ते प्रब्रवीमि तच्छकेयम्। तेनध्यार्समिदमहम्, अनृतात्सत्यमुपैमि। ॐ इन्द्राय नमः॥५॥ -मं०ब्रा०१.६.९.१३
यसपछि अभिषेक र आहुतिको अनुष्ठानको पालो आउछ ।
समाजका सम्भ्रान्त र सदाचारिमध्येका बढिमा २४ जना र गच्छे अनुसार कन्याहरुबाट अभिषेक गराउनु भनिएकोछ । कलश लिएर निम्न मन्त्रोच्चार अभिषेक हुनुपर्छ । " ऋषिकल्प जीवन बिधान अनुरुप म बीजरुप प्रबृति उमार्दैछु । समय अनुसार यी फल्ने फुुल्ने छन ।यसरी मेरो जीवन श्रेष्टतम रसमा भाागिदार भएर परमात्मसत्तामा प्रााप्त हुनेछु ।"






ॐ आपो हि ष्ठा मयोभुवः ता न ऽऊजेर् दधातन। महे रणाय चक्षसे। ॐ यो वः शिवतमो रसः, तस्य भाजयतेह नः। उशतीरिव मातरः। ॐ तस्मा अरंगमाम वो, यस्य क्षयाय जिन्वथ। आपो जनयथा च नः। -३६.१४-१६

अभिषेकपछि अग्नीस्थापना गरि बिधिबत यज्ञस्थापना र सात विशेष आहुति दिनुपर्दछ । सोचौ कि युगदेवता विशाल यज्ञ चलाउदैछन् र यसमा समिधा रुपमा म सम्मिलित हुदैछु ।
ॐ ब्रह्म होता ब्रह्म यज्ञा, ब्रह्मणा स्वरवो मिताः। अध्वयुर्ब्रर्ह्मणो जातो, ब्रह्मणोऽन्तहिर्तं हविः स्वाहा। इदं अग्नये इदं न मम। -अथवर्० १९.४२.१
अन्त्यमा प्रब्रज्या लिनुपर्छ । परिब्राजकको काम हो हिडिरहनु । कुनै सिमामा नबाधिनु । लोकमंगलका लागि संकिर्णता बाहिर रहि सुखसुबिधा छाडेर तपस्वी जीवन अपनाउनु पर्छ ।

 चरैवेति मन्त्र जप्दै सच्चा परिब्राजक बनेर दिब्यानुदानयुक्त सत्पात्र बन्ने संकल्प गर्नुपर्दछ । 
१-ॐ नाना श्रान्ताय श्रीरस्ति, इति रोहित शुश्रुम।
पापो नृषद्वरो जन, इन्द्र इच्चरतः सखा। चरैवेति चरैवेति॥
२- पुष्पिण्यौ चरतो जंघे, भूष्णुरात्मा फलग्रहिः।
शेरेऽस्य सवेर् पाप्मानः श्रमेण प्रपथे हताः। चरैवेति चरैवेति॥
३- आस्ते भग आसीनस्य, ऊध्वर्स्तिष्ठति तिष्ठतः।
शेते निपद्यमानस्य, चराति चरतो भगः। चरैवेति चरैवेति॥
४- कलिः शयानो भवति, संजिहानस्तु द्वापरः।
उत्तिष्ठँस्त्रेताभवति, कृतं संपद्यते चरन्। चरैवेति चरैवेति॥
५- चरन् वै मधु विन्दति, चरन् स्वादुमुदुम्बरम्।
सूयर्स्य पश्य श्रेमाणं, यो न तन्द्रयते चरन्। चरैवेति चरैवेति॥
यसपछि  समापन पुर्णाहुति आदि उपचार गराई मन्त्र अक्षता सहित शुुभकामना आशिर्बाद आदि लिनु दिनु पर्छ ।  
ल यति संस्कार ग्रहण गरेपछि हामी बानप्रस्थी जिबनमा प्रबेश गर्दछौ ।