Friday, September 16, 2016

हाम्रा देवस्थल- हाम्रा सांस्कृतिक सम्पदा





पृष्ठभुमि
हाम्रो सनातन मान्यतामा केदारलाई शिबजीका अनेक स्वरुप मध्येको एउटा मानिन्छ। मन्दाकिनी मुहानको केदार हिमालस्थित बद्रीकेदार यिनी मध्ये प्रख्यात छन्। मन्दाकिनीदेखि बाग्मतिसम्मको भुभागलाई केदार क्षेत्र भनिन्छ। नेपालको सुदूर पश्चिमांचल र भारतको उत्तरांचल कुमाऊभरि बद्रीकेदार समेत ग्वाल्लेककेदार, रौलकेदार, थलकेदार, धजकेदार, छिपलाकेदार, थागिलकेदार, खडदेउकेदार जस्ता कैयौ केदारस्थल स्थापित छन्।
सुदूर पश्चिमांचलमै देउताको बास मानिने खप्तड(खेचराद्री पर्बत)मा केदार पाटनको नामले बेग्लै पाटन छ। खप्तडको सर्बोच्च थुम्कोमा सहश्रलिंगकेदार छन र केदारशिला मानिने बिशाल चट्टान छ। सुदुरपश्चिम भरि नै केदार शैलीमा बनेका कैयौ मन्दिर छन र स्थानिय लोकभाकाका देवगाथाहरू केदार रागमा नै गाइन्छन्। यसै श्रृंखला अन्तरगत प्राचिनकालमा बायु पर्वत वरपर कैयौ ऋषिमुनीहरुका आश्रम थिए होलान। बायु पर्वत अर्थात ग्वाल्लेकधुरामा सहज पहुँच नहुनाले आश्रमबासीहरुलाई पायक पर्ने गरी केदारशिला स्थापना गरि पुजाआजा चलाइएको होला। यसै भावभुमीमा हाम्रो बर्णित गाउँ सुरकालमा स्थापित केहि देवस्थलहरु यो आलेखमा समेटने प्रयास गरिएकोछ।
असिमकेदारको मन्दिर
किम्बदन्तिहरुका आधारमा असिमकेदार कत्युरगढबाट तोलिको जंगलमा आएका थिए। त्यहाँको लेकमा जुकालागेर रक्ताम्य भक्तिनी महिलालाइ रजस्वला (नछुने) भएको ठानी पुजारीले मन्दिर प्रबेश गर्न दिएनछ। कालान्तरमा तिनै भक्तिनीको सरापले तेलेको लेकबाट ऐचेकाडाको लेकमा असिमकेदार सरेको मानिन्छ। यसै कारण अहिले पनि तेले लेकको सो स्थानमा जुका हुदैन भन्छन। ऐचेकाडाको डाडामा बस्दा यस क्षेत्रका देबीदेवता र कुमाउबाट आएका अठौतिमल्ल खापरेको बिचमा लडाई भयो रे। नदि किनार दोभानमा भए बगाइ दिन्थे भनेर धम्की दिएकाले ति दैत्यको शेखि झार्न हालको स्थानमा असिमकेदार सरेको हुन भन्ने मान्यता छ।
यो लडाईका बारेमा यसक्षेत्रमै थुप्रै लोकगाथा प्रचलित छन्। भनिन्छ, नन्दादेवीले रोक्ने प्रयास गर्दा गर्दै पनि कुमायुको कत्युर गढबाट आएको युद्धिन्मादि अठौतिमल्ल र खापरेको संयुक्त फौज गंगोलिहाट, गोरंगा र चौपाखे हुदै महाकाली तरेर बैतडीको ईश्वरीगाडसम्म आइ पुगे पछि यस क्षेत्रका सबै देबीदेउताहरु सरसल्लाह गर्न असिमीकेदारको पुरानो स्थापना स्थल खापरमाणौमा जम्मा भएका थिए रे। यहाँ भएको सल्लाह बमोजिम थागिल देवताले बनानी क्षेत्र, सिउनाथले हल्दु क्षेत्र, भागेश्वरले मछाइन क्षेत्र, रौलेश्वरले दोगडा क्षेत्र र कैलपालले कालीदेखि तोलीसम्मका मशानबासी गणहरु जम्मा गरी लडाइमा पुगेका थिए।
यहाँका धार्मिक गीतहरुमा असिमकेदारलाइ ससालिंग ( सम्भवत: सहश्रलिंग) र असीग्राम भनिन्छ। त्यसो त यि सबै एउटै श्रृखलाका देवता हुन्। यिनको समान पुजापध्दति र अवस्थिति छ। असिमकेदारलाई बर्षाको देवता पनि भनिन्छ। ग्वाल्लेकको आलका बिभिन्न गाउबाट पानी माग्ने भनेर जात्रा ल्याउने चलन अझै कायम छ। मन्दिर क्षेत्रको नदि किनारमा ब्रतबन्ध गर्ने र पर्ब स्नान गर्ने चलन बढदै गएकोछ। बडादशैको नवरात्र, भाद्र र माघको शुक्ल पंचमीदेखि अष्टमी सम्म ठुला पर्बको रुपमा बिशेष पुजाआजा हुन्छ। न्वागी( नयाँ अन्न) चढाउने कार्तिक र साउन शुक्लपक्ष तथा जेठको दशहरा पर्बमा समेत बिशेष पुजाआजा गरिन्छ। पुजा आजाको लागि गुठीको ब्यबस्था छ र प्रतेक सक्रान्ति, औसी र पुर्णिमा समेत पुजा लाग्दछ।
ग्वाल्कधुराबाट निक्लने गोदा गाड(गोदावरी) र दक्षिणवर्ति थरौटबाट निक्लने धारीगाड (धराबति) को दोभानमा असिमकेदारको मन्दिर अवस्थित छ । यो मन्दिर उत्तराखन्डकै बास्तुकलाको केदार शैलीमा निर्मित छ। नदिहरुमा तर्नकालगि फटकेतरको ब्यबस्था छ र वरिपरि मनोरम धार्मिक बन छ। मन्दिर पर्खालले घेरिएकोछ। नदि तटमा स्नानधाट बनाइएकाछन।
मन्दिरमा तीन खन्ड छन। सबभन्दा बाहिरको खुलाखण्डलाइ नालिउर भनिन्छ। यहा खासगरी भजन किर्तन टोलि र साधु मन्डली हुन्छन। दोस्रो खण्डमा हवन कुण्ड छ। बिभिन्न राठले चढाएका चार खाममा मन्दिरको ढाँचा टेकाइएकोछ। यसलाई चौखाम भनिन्छ र यी खाम बिभिन्न देवताका नाममा समर्पित छन। चौखामभन्दा अगाडी पुजारी भन्दा अरुलाइ निषेध गरिएकोछ। बडू बाहेकका अन्य थरघरहरुले बस्ने ठाउँ निश्चित गरिएकोछ। बिशेष राठबाहेक ठगुरीहरु भित्र आउन पाउदैनन।
तेस्रो खण्ड गब्युर (गर्भगृह)मा पुजारीले मात्र प्रबेश गर्न पाउछन। त्यहा प्राकृतिक शिलाको रुपमा असिमकेदारको पुजा बैदिक बिधिपुर्बक गरिन्छ।
यो मन्दिर यस क्षेत्रका बिभिन्न जाति उपजातिहरुको संगमस्थल समेत हो। असिमकेदारका धामीले अहिले पनि आफुलाई सुर्जको घाम, दुबलाको देउ या कालझाडीको घुग्गु भनेर उदाहरण दिने गर्दछन। यसको अर्थ हुन्छ,सर्बत्रबराबर पहुँच भएको, दुबला(गरीब)हरुको देवता र कालो जंगलमा निर्व्दन्द घुम्न सक्ने र अध्यारोमा समेत देख्नसक्ने घुग्गु लाटोकोसेरो जस्तो। यो उक्ति वास्तबमा मननीय छ।
श्रीकेदारको मन्दिर
यो पुरानो प्राकृत मन्दिर मुख्य गाउँको पश्चिमोत्तर भन्ज्यांगमा छ। असिमकेदार लाई ग्वाल्लेक केदारको आलभरि मानिन्छ भने केदारलाई सुरकाल गाऊँको सेरोफेरोमा मात्र सिमित गरिएकोछ। यहाँ खासगरी ईन्द्रजात्रा अनन्त चतुर्दशी ( भाद्र शुक्ल चतुर्दशी)का दिन बिशेष पुजा हुन्छ। यसबाहेक नवरात्रको पञ्चमी एबं  जेठ, सावन र कार्तिकमा न्वागी चढाउदा पनि पुजा लाग्दछ।
यहाँ स्थानिय भाषामा फलाँट भनिने रुखको जरामा ज्योतिर्लिग रहेको मानिन्छ। एक जना पुजारी मात्रै बस्न मिल्ने सानो मन्दिर छ। यो मन्दिरमा ढुंगाकै छानो र ढुंगाकै ढोका हाल्नु पर्ने र पर्खाल समेत नराखनु पर्ने मान्यता छ। यहाँ सुन जनै, चाँदिका फूल, तामाका गाई, त्रिशुल र घण्टहरु चढाइन्छन्। पहिला यस गाऊँका मट्टे नै केदारका पुजारी थिए भन्ने किम्बदन्ति प्रचलित छ। हाल असिमकेदारका पुजारी नै यहाँ पुजा चलाऊदछन्।
यि एकान्तबासी केदारको समेत आफनै महिमा छ। सुरकाल र ढणौन गाउको सिमानामा समेत बुढाकेदार भनेर पुरानो केदार स्थापना स्थल छ। श्री र सहकालका लागि केदार भाक्ने प्रचलन छ। केदारका धामीहरु एक अर्कालाई भैया भनेर बोलाउछन । यसै सम्बोधनबाट समेत यिनको बिशेष सम्बन्ध थाहा हुन्छ। यहाँ दुधले स्नान गराउने बिशेषपुजा हुन्छ। यहाँको अन्य पुजा बिधि र ब्यबस्थापन असिमकेदारकै जस्तो छ।
कैलपाल मन्दिर
कैलपाल देवताको मन्दिर पुजरागाउँको शिर्षमा मुलबाटो नजिकै छ। असिमकेदारको ठुलो पर्ब मानिने माघ र भाद्रको दशमी तथा बिजयादशमीमा यहाँ बिशेष पुजा हुन्छ। यहाँ नयाँ अन्नको न्वागी पनि चढाइन्छ। स्थानीय पैतोला (पाण्डे) थरका ब्यक्तिहरु मात्र यि देवताका धामी हुन्छन्। चल्तीको मूलबाटो नजिकै पर्ने हुँदा मन्दिर जिर्णोद्दार गरिएकोछ। यहाँ पुराना धर्मशालाहरु पनि छन।
कैलपाललाई असिमकेदारको गणपति मानिन्छ। नौ मन लुवाको गुर्जु(फलामको गदा) खेलाउने भनेर यहाँको लोकगाथामा बीर नायकको रुपमा यिनको पराक्रम बखान गरिएकोछ। असिमकेदारको पुजा भएकै पर्बमा यिनको पनि स्या: (सेवा) चढाइन्छ।
मट्टे मोटा बडबाबको मन्दिर
बडू बंशका पुर्खाहरु यो गाऊमा स्थापित हुनुभन्दा अगाडीका भुमिपति मानिएका मट्टेलाई माटोका मालिक भनेर पुजा गरिन्छ। यिनी भौतिकरुपमा ठुलो जिउडाल भएका बलबान ब्यक्ति थिए रे। त्यसैले यिनलाइ अझै नि मोटा बडबाब भनिन्छ। शाकाहारी सदाचारी भएकाले असिमकेदारकै पुजाको अवसरमा यिनको पनि पुजा हुन्छ। असिमकेदारकै मूल मन्दिरदेखि आधा मील नजिक मध्य खेतमा सानो स्थापना स्थल छ। यिनका जेठा छोरा साना मट्टेको भने तन्त्रोक्त बिधिपुर्बक बली चढनेहुँदा गाउँभन्दा अलिबाहिर उत्तर पाखोको चिमिर्खा भन्ने स्थानमा स्थापना गरिएकोछ। यो आल भरिनै बलि चढने भनेको यो नै एक मात्र स्थान हो। यि मोटा बडबाबहरू ततकालिन प्रतापी र सूर पुरुष हुनु पर्दछ। यिनका सन्तान सबै मारिए या अन्यत्र बसाइ सराइ गरे, यो अनुसन्धनेय बिषय हो। यिनीहरु बार भाई भएको बिश्वास गरिन्छ। बुढा मट्टेले बीस पुलासोत्तरको भारीसंगै खुट्टाले खेलाएर ल्याएको कालो पाट( कालो स्लेट ढुंगा) अहिले पनि यसै नामले सुरकालको चौरा चौतारोमा राखिएकोछ। नवरात्रीको पञ्चमीमा बुढा मट्टेको बिशेष पुजा हुन्छ। ३,३ बर्षमा बडूहरुले यिनको जागर लगाउनु पर्ने प्रचलन छ। यिनलाइ चौरा नजिकै कातहालेर मारिएको थियो भनिन्छ। जागरण गीत गाउदा यिनलाइ मार्न प्रयोग भएको अझै सुरक्षित तरवार काँप्ने गर्दछ रे। यिनका नाबालक छोरालाइ भने ब्रह्महत्याको पाप नलागोस भनेर तन्त्र शक्तिद्वारा बाघ बोलाएर मार्न लगाइएको थियो रे। जे होस युद्धको आफनै नीति र नियति छ। तर युद्दमा हार्नेहरुलाई समेत सम्मान गरिएको बिशिष्ट परम्परा यो गाऊँमा अझै प्रचलित छ।

No comments:

Post a Comment